Tag: सेना दिवस

  • आज सेना दिवस, सैनिक मञ्च टुँडिखेलमा विशेष समरोह हुँदै

    आज सेना दिवस, सैनिक मञ्च टुँडिखेलमा विशेष समरोह हुँदै

    काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाले महाशिवरात्रि एवं सेना दिवस आज मुलुकभर विविध कार्यक्रम गरी मनाउँदैछ । यस अवसरमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको हुँदैछ ।

    यससँगै मुलुकभर सेनाका सबै कार्यालय, विभाग, फर्मेशन, पृतना, बाहिनी, युनिट तथा सव–युनिटले पनि आआफ्नो क्षेत्रमा विभिन्न कार्यक्रम गरी सेना दिवस भव्यताका साथ मनाउँदै छ ।

    नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । सैनिक मञ्चमा परेड तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् ।

    समारोहमा राइफल तथा तोपबाट बढाइँ कवाज, त्रिभुवन आर्मी क्लबका खेलाडी र राष्ट्रिय सेवा दलका क्याडेटलगायत विभिन्न युनिटबाट मार्चपाष्ट, बख्तरबन्द गाडी, हतियार र इक्युप्मेन्ट प्रदर्शन, ब्याण्ड डिस्प्ले, हेलिकप्टरबाट नेपालको राष्ट्रिय झण्डा र सेना दिवस लेखिएको ब्यानर प्रदर्शनी साथै पुष्पवृष्टि गरिनेछ ।

  • यसरी मनाइयो टुँडिखेलमा सेना दिवस (फोटो फिचर)

    यसरी मनाइयो टुँडिखेलमा सेना दिवस (फोटो फिचर)

    काठमाडौं । नेपाली सेनाले आज स्थानीय सैनिकमञ्च टुँडिखेलमा आकर्षक सैनिक कौशल प्रदर्शनसहित विविध कार्यक्रम गरी सेना दिवस मनाएको छ ।

    सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले समारोहमा सहभागी भई सबै क्रियाकलापको  अवलोकन गरिन् । महाशिवरात्रिका दिन आज आयोजित समारोहमा उनलाई सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । उनले सैनिक स्मारकमा पुष्पहारार्पण पनि गरेकी थिइन् ।

    समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, सभामुख अग्निप्रसाद सापकोटालगायत सरकारका मन्त्री, सचिव, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि एवं अन्य उच्चपदस्थ विशिष्ट व्यक्तिको सहभागिता थियो ।

    समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रिय झण्डा र ब्यानर प्रदर्शन तथा पुष्टवृष्टि गरिएको थियो । सेनाले महाशिवरात्रि बढाइँ तथा कवाज एवं हातहतियार तथा यन्त्र उपकरण प्रदर्शन गर्दै सातै प्रदेशका संस्कृति झल्कने नृत्य एवं झाँकीसमेत देखाएको थियो ।

    यस्तै आकर्षक सैनिक कला, खुकुरी ड्रिल र खोज उद्धार प्रदर्शनी पनि भएको थियो । सेनाले राष्ट्रिय गौरवका सडक निर्माण आयोजना, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण र विश्वशान्ति स्थापनामा सहभागितालगायत विविध गतिविधि झल्कने झाँकीसमेत प्रदर्शन गरेको थियो ।

    समारोहमा राष्ट्रपति भण्डारीले ‘नेपाल एकीकरणको इतिहास (विसं १८०१–१८७२)’, नेपालको ऐतिहासिक गढी, किल्ला तथा युद्धस्थलहरुको परिचय’ र ‘सिपाही वार्षिक २०७७’, पुस्तकसमेत विमोचन गरे। राष्ट्रपति भण्डारीले फ्रिफल जम्पका विजेता खेलाडीलाई पुरस्कार प्रदान गरिन्। सैनिक कलाकारले देशभक्तिपूर्ण गीतमा नृत्य, साङ्गीतिक धून तथा शिवताण्डव नृत्य प्रस्तुत गरेका थिए ।

    
    
     
     
     
     
     
     
    
  • आज सेना दिवस, टुँडिखेलमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने

    आज सेना दिवस, टुँडिखेलमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने

    रासस । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले महाशिवरात्रि एवं सेना दिवस बिहीबार मुलुकभर विविध कार्यक्रम गरी मनाउँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने बढाइँ कवाजसहितको विशेष समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुनुहुनेछ ।

    नागरिकको आस्था र भरोसाको केन्द्रबिन्दुका रुपमा रहेको नेपाली सेनाकी उनी परमाधिपति हुन् । समारोहमा राष्ट्रपतिबाट नेपाल एकीकरणको इतिहास, नेपालको ऐतिहासिक गढी, किल्ला तथा युद्धस्थलको परिचय र सिपाही वार्षिक–२०७७ लोकार्पणका साथै ‘फ्रि–फल जम्प’मा प्रथम र द्वितीय हुनेलाई पुरस्कार वितरण हुनेछ ।

    सैनिक मञ्च, टुँडिखेलमा मुख्य समारोह तथा मुलुकभर सेनाका सबै कार्यालय, विभाग, फर्मेशन, पृतना, बाहिनी, युनिट तथा सव–युनिटले पनि आआफ्नो क्षेत्रमा विभिन्न कार्यक्रम गरी सेना दिवस भव्यताका साथ मनाउने सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए ।

    नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् ।

    समारोहमा राइफल तथा तोपबाट बढाइँ कवाज, त्रिभुवन आर्मी क्लबका खेलाडी र राष्ट्रिय सेवा दलका क्याडेटलगायत विभिन्न युनिटबाट मार्चपाष्ट, बख्तरबन्द गाडी, हतियार र इक्युप्मेन्ट प्रदर्शन, ब्याण्ड डिस्प्ले, हेलिकप्टरबाट नेपालको राष्ट्रिय झण्डा र सेना दिवस–२०७७ लेखिएको ब्यानर प्रदर्शनी साथै पुष्पवृष्टि गरिनेछ ।

    काठमाडौँमा गत वर्ष तीन हजार ६०० को सङ्ख्यामा सेनाको जनशक्ति महाशिवरात्री तथा सेना दिवसका कार्यक्रममा सहभागी रहेकामा यस वर्ष कोभिड–१९ का कारण त्यो सङ्ख्या कटौती गरी दुई हजार ४०० मा सीमित तुल्याइएको छ ।

    राष्ट्रिय गौरवका सडक निर्माण आयोजना, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण र विश्वशान्ति स्थापनामा सहभागिता तथा विपद् व्यवस्थापनसम्बन्धी विविध गतिविधि झल्कने झाँकीसमेत प्रदर्शन हुनेछ । नेपाली सेनाको सङ्गठन प्रमुखमा हाल प्रधानसेनापति पूर्णचन्द्र थापा हुनुहुन्छ । आकर्षक सैनिक कला फ्रि–फल जम्प र खुकुरी ड्रिल प्रदर्शन गरिनेछ ।

    सेना दिवसका अवसरमा कल्याणकारी कोषबाट ऋण सहयोग लिइ उत्कृष्ट कार्य गर्ने किसानलाई प्रधान सेनापति उत्कृष्ट कृषक सम्मान, उत्कृष्ट उद्यमीलाई प्रधानसेनापति लघुवित्त उद्यमी सम्मान र सर्वोत्कृष्ट भूतपूर्व सैनिक सम्मान गर्ने पनि कार्यक्रम छ ।

    प्रकृति संरक्षण, युद्धकार्य एवं पेशागत निरीक्षण २०७७ मा उत्कृष्ट नतिजा हासिल गर्ने युनिटलाई मुख्य समारोहपछि प्रधानसेनापतिले ट्रफी तथा पुरस्कार प्रदान गर्नुका साथै पदोन्नति हुनेलाई दज्र्यानी चिह्न तथा वर्षभरी उत्कृष्ट कार्य गर्नेलाई प्रधानसेनापति प्रशंसा निशान प्रदान गरिनेछ ।

    सेना दिवसका उपलक्ष्यमा जङ्गीअड्डा मातहतका युनिटले दिपावली गर्ने, वीरगति प्राप्तका सम्मानमा वीर स्मारकमा माल्यार्पण तथा श्रद्धाञ्जलि अर्पण गर्ने, वीरगति प्राप्त सैनिकका एकल महिला तथा घाइते सैनिकलाई आमन्त्रण गरी विभिन्न कार्यक्रम सञ्चालन गर्नुका साथै जिम्मेवारी क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन, मठ, मन्दिर र इलाका सरसफाइ, रक्तदान, मैत्रीपूर्ण खेलकूद भइरहेको छ ।

    सेनाको इतिहास र अन्तर्राष्ट्रिय छवि

    नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आएको छ ।

    वर्तमान सेनाको साङ्गठनिकस्वरूपको १८१९ सालदेखि शुरुआत भएको हो । देशभक्ति, समर्पण र आम नेपालीको हितलाई केन्द्रबिन्दुमा राखी सम्पादन गरेका गौरवशाली कार्यबाटै नागरिकका बीचमा सेनाले आस्था र विश्वासको अटल छाप छोड्न सफल भएको छ ।

    सैनिक वीरपुर्खाको अदम्य साहस, वीरता र बलिदानका आधारमा नेपाल राष्ट्र स्थापना भएको हो । राष्ट्रिय एकता कायम राख्नु नेपाली सेनाको संवैधानिक जिम्मेवारीभित्र पर्छ । सेनामा अनुशासन, चेनअफ कमाण्ड र राजनीति निरपेक्ष चरित्र, एकताको भावना उच्च संस्कारका रुपमा रहने गर्छ ।

    नेपाली सेना मुलुकमा मात्र होइन, अन्तरराष्ट्रिय क्षेत्रमा समेत भरपर्दो र विश्वसनीय फौजको छवि बनाउन सफल भएको छ । समावेशीका हिसाबले अहिले नेपाली सेनाको सङ्गठन ‘चार जात, छत्तिस वर्ण’को फूलबारी जस्तै बनेको छ । महिलाको सहभागिता पनि उल्लेखनीयरुपमा वृद्धि हुँदै गएको छ ।

    संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ नेपाली सेनाले प्रदान गरेको अतुलनीय योगदानको राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रबाट मुक्तकण्ठले प्रशंसा हुँदै आएको छ ।

    संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा नेपाली सेनाको सहभागिता सन् १९५८ देखि आरम्भ भएको थियो । हालसम्म ४३ शान्ति मिसनमा रही एक लाख ३५ हजार ४१ सैनिकबाट विश्व शान्तिका लागि योगदान भइसकेको छ ।

    विश्वका कतिपय द्वन्द्वग्रस्त मुलुकमा शान्तिका लागि ज्यानको बाजी लगाउँदै नेपालका ६८ सैनिकले जीवन बलिदान दिइसकेका छन् भने ६६ सैनिक गम्भीर घाइते छन् । विश्वमा हाल खडा भएका १२ शान्ति मिसनमा ८७ महिला सैनिकसहित पाँच हजार १३९ हजारको सङ्ख्यामा नेपाली शान्ति सैनिक परिचालित छन् । शान्ति स्थापनाका लागि सेना खटाउने मुलुकको कोटीमा नेपाल चौथो स्थानमा छ । नेपालले संयुक्त राष्ट्रसङ्घलाई आवश्यक परेको खण्डमा १० हजारको सङ्ख्यामा एकै पटक शान्ति सैनिक पठाउनसक्ने प्रतिबद्धता जनाइसकेको छ ।

    विश्वका अत्यन्त शक्तिशाली मुलुकका सैनिकका लागिसमेत नेपाल पेशागत क्षमता र दक्षता अभिवृद्धि गर्ने पाठशाला बनिरहेको छ ।
    वीरेन्द्र शान्ति कार्य तालीम केन्द्र, भक्तपुर खरिपाटीस्थित सैनिक शिक्षालय र शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेजमा विश्वका कैयौँ मुलुकका सैनिक सहभागीले यसलाई पुष्टि गर्छ । विश्वका कुनै पनि महादेशका द्वन्द्वग्रस्त क्षेत्रका पीडित जनताबीच शान्ति सेनाका रुपमा पहिलो रोजाइमा नेपाली सेना नै पर्ने गरेको छ ।

    सेनाले पछिल्लो समय मुलुकभित्र विपद् व्यवस्थापन र सडकलगायत पूर्वाधार निर्माणमा भरपर्दो छवि स्थापित गर्न सफल भएको छ । सेनाकै व्यवस्थापनमा राष्ट्रिय गौरवको काठमाडौँ–तराई मधेश द्रूतमार्गको आम भइरहेको छ ।

    दरबार, सङ्ग्राहलय, ऐतिहासिक महत्वका संरचना, विद्युत् गृह, भौतिक पूर्वाधार र प्राकृतिक सम्पदाको सुरक्षा तथा विकास निर्माणको जिम्मेवारीले सैनिक–नागरिकसँगको सम्बन्धलाई बलियो बनाउँदै लगेको छ ।

  • सेना दिवसमा हुने खुला म्याराथनमा आजबाट आवेदन खुला

    सेना दिवसमा हुने खुला म्याराथनमा आजबाट आवेदन खुला

    काठमाडौं । सेना दिवसको अवसरमा प्रधासेनापति खुला म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । जंगीअड्डाको खेल मैदानबाट सुरु हुने गरी फागुन २२ गतेबाट प्रतियोगिता हुन लागेको नेपाली सेनाले पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो ।

    पुरुष खुलातर्फ ४२ दशमलव १९७ किलोमिटर, हाफ म्याराथन २१ किलोमिटरतर्फ महिला र पुरुष र ४५ वर्षसम्म खुला, १० किलोमिटरतर्फ सैनिक अधिकृत र गैरसैनिक महिला पुरुषबीच प्रतियोगिता हुने सैनिक शारीरिक तथा खेलकुद केन्द्रले जनाएको छ ।

    ५ किलोमिटरतर्फ सैनिक महाविद्यालय र विद्यालय (उपत्यकाभित्र ७ देखि १२ कक्षासम्म) अध्ययन गर्ने विद्यार्थी र सेनाका भूपू र बहालवाला छोराछोरीबीच प्रतिस्पर्धा हुने केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ५ किलोमिटर वाकाथनतर्फ सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारी, श्रीमती संघ र अन्यबीच प्रतिस्पर्धा हुने छ ।

    खुला पुरुष म्यराथनको प्रथम पुरस्कार राशी ३ लाख, द्धितियलाई २ लाख, तृतियलाई १ लाख र चौथो हुनेलाई ५० हजार दिइने छ । दशौं स्थानसम्म आउनेले पुरस्कार पाउने नेपाली सेनाले जनाएको छ। हाफ म्याराथनको पुरस्कार राशि पनि क्रमशः ७५ हजार, ५० हजार र ३५ हजार रुपैयाँको छ ।

    प्रतियोगितामा सहभागी हुनका लागि आजबाट नेपाली सेनाको वेवसाइट www.nepalarmy.mil.np मा गएर अनलाइन आवेदन दिन सकिनेछ । सैनिक अधिकृतले भने लिखित रुपमा फाराम भरेर बुझाउनुपर्ने जनाइएकाे छ ।