Tag: सुरेन्द्र पाण्डे

  • धनगढी पुगेर पाण्डेले भने- एमाले सरकारमा जान इच्छुक छैन

    धनगढी पुगेर पाण्डेले भने- एमाले सरकारमा जान इच्छुक छैन

    कैलाली। नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकारमा जान इच्छुक नभएको बताएका छन् । पछिल्लो पटक एमसीसीका कारण गठबन्धन कमजोर भइरहेको बताइएका बेला उनले एमाले सरकारमा जान इच्छुक नभएको प्रतिक्रिया दिएका हुन् ।

    प्रेस चौतारी नेपाल कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘एमाले सरकार जना इच्छुक छैन तर एमाले नभई देश नचल्ने अवस्था सृजना हुन पनि सक्छ। त्यो भएमा त्यहाँ जानु पनि पनि हुन सक्छ ।’

    उनले आफूहरू एमसीसीबारे धारणा बनाउन तयार रहेको बताए । तर, त्यो भन्दा पहिले सरकारको तर्फबाट साझा धारणा आउन आवश्यक रहेको टिप्पणी गरे । एमसीसी पास गर्न वा नगर्ने भन्नेमा दुई तिहाइ नभई बहुमतले निर्णय गर्ने हुँदा सरकारलेनै पार लगाउनु पर्नेमा उनले जोड दिए ।

    ‘सरकार बहुमतमा छ । पास गर्न कर्तव्य सरकारको हो ’उनले भने, ‘यसमा दुई तिहाइ चाहिँदैन । सरकारले आफ्नो धारणा बनाएपछि हामी पनि एमसीसीबारे निर्णय गर्न तयार छौँ । ’ पाण्डेयले यस विषयमा सरकार नै अलमलमा रहेको बताए ।

    उनले सरकारका रहेका दलहरूले दोहोरो चरित्र देखाइरहेको समेत आरोप लगाए । उनले भने, ‘सडक पनि मेरो सरकार पनि मेरो मान्न पाइन्छ रु दुई मध्य एउटा हुन्छ । ’

    पछिल्लो केही दिन यता प्रधानमन्त्री शेरबहादुर देउवासँग भइरहेको छलफलबाट पनि कुनै निष्कर्ष आउन नसकेको उनले जनाएका छन्। उनले प्रधानमन्त्री अरू विषयमा भन्दा बढी एमसीसीकै बारेमा गम्भीर हरेको हुँदा सहमति हुन नसकेको जनाए ।

    ‘प्रधानमन्त्री एमसीसी पारित गर्ने कुरामा मात्रै चासो राख्नु हुन्छ हामी संसद्मा हाम्रो मुद्दा लिएर लडिरहेका छौँ ’ उनले भन ‘ रचनात्मक निष्कर्ष निकाल्न हामी तयार छौँ तर,भइरहेको छैन । एमसीसी पारित गर्ने उद्देश्यले मात्रै हामी संग वार्ता गर्न नआनुहोस् भनेका छौँ ।’

    पाण्डेले सभामुखका विषयमा प्रस्ट नहुँदा सम्म प्रधानमन्त्रीसँग छलफल उपलब्धि पूर्ण हुन नसक्ने सङ्केत गरेका थिए ‘एमालेले केही सदस्यहरूलाई कारबाही गरेको थियो । त्यो बेला सभामुखले गलत गर्नु भयो । एमाले विभाजन गर्ने उद्देश्यले सभामुखले काम गर्नुभयो । त्यो गलत थियो ’ उनले भने, ‘त्यो मुद्दामा सरकारले के भन्छ । त्यसपछि हाम्रो विषयमा आउँछ ।’

    पाण्डेले अहिलेको गठबन्धनबाट देश अघि बढ्न नसक्ने समेत बताएका थिए । उनले भने ‘यो गठबन्धनले मुलुकलाई अगाडी लैजान सक्दैन । चुनौती समाधान गर्न सक्दैन ।’उनले संकल्प प्रस्ताव पारित गर्ने कुराले पनि खासै अर्थ नराख्ने टिप्पणी गरेका थिए । त्यो गठबन्धन जोगाउने चलखेल भएको उनको बुझाइ छ।

    ‘संकल्प प्रस्ताव गरेर भएर पनि गठबन्धन जोगाउने काम सुरु भइरहेको छ । अमेरिकाले कुनै संशोधन गर्न चाहँदैन ’ उनले भने ‘त्यो भएर संकल्प प्रस्ताव गर्नुको पनि अर्थ छैन ।’ निर्वाचन समयमा हुनुपर्नेमा जोड दिएका थिए । उनले भने, ‘एमसीसीलाई गिजोलेर मुलुकलाई अँध्यारोमा तर्फ धकेल्नु हुँदैन , समाधान खोज्नु पर्छ । निर्वाचन समयमा हुनुपर्छ।’

    देश आर्थिक सङ्कट तर्फ धकेलिँदै गएको समेत बताए । ‘बजारमा पैसाको अभाव सुरु भइसकेको छ । भएका रोजगारी पनि गुम्ने अवस्था सृजना भएको छ ’ उनले भने, स्वार्थमा गठबन्धन गरेर देशलाई सङ्कटमा धकेल्नु हुँदैन । ’

  • सुरेन्द्र पाण्डेको प्रष्टोक्तिः व्यक्तिलाई टार्गेट गरेर चितवनमा महाधिवेशन गर्न लागेको होइन (भिडिओ)

    सुरेन्द्र पाण्डेको प्रष्टोक्तिः व्यक्तिलाई टार्गेट गरेर चितवनमा महाधिवेशन गर्न लागेको होइन (भिडिओ)

    चितवन । नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले कुनै पार्टी वा व्यक्ति विशेषलाई टार्गेट गरेर राष्ट्रिय महाधिवेशन चितवनमा गर्न लागिएको आरोपको खण्डन गरेका छन् ।

    आज विहान भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेता पाण्डेले केहि मानिसहरुको डराएको मनको अभिव्यक्तिका रुपमा त्यसलाई लिनसमेत अनुरोध गरेका छन् ।

    ‘विधान महाधिवेशनमै हामीले चितवनमा गर्नेबारे छलफल गरेका थियौं । तर ठाउँको उपलब्धताको ग्यारेन्टी नभएको हुनाले निश्चित गर्न सकिएन । त्यतिबेला अध्यक्षले बुटवल घोषणा गर्दा पनि अन्य सम्भावना कायमै रहने भन्नुभएको थियो,’ नेता पाण्डेले भने, ‘पछि सबै कोणबाट छलफल गर्दा चितवन नै पायक पर्ने देखियो । कुनै पार्टी वा व्यक्तिलाई टार्गेट गरेर आएको हाइन । उहाँहरुको मन डराएको हो, डराएको मनको अभिव्यक्ति हो ।’

    केहि दिनअघि चितवन भ्रमणका क्रममा नेकपा माओवादी अध्यक्ष प्रचण्ड तथा भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले अन्तै तय भएको महाधिवेशन चितवन सारिनुमा आफूहरुलाई टार्गेट गरिएको अभिव्यक्ति दिएका थिए ।

    अध्यक्ष केपी शर्मा ओली पनि आजै चितवन जाँदैछन् । उनले महाधिवेशनको उद्घाटन स्थल नारायणगढको नारायणी किनार र बन्दसत्र स्थल सौराहाको अवलोकन गर्नेछन् । जिल्ला पार्टी कार्यालयमा महाधिवेशन मूल व्यवस्थापन समितिको कार्यालयको उद्घाटन पनि आजै ओलीले गर्नेछन् ।

    नेता पाण्डेले उद्घाटन समारोहमा ५ लाख कार्यकर्ता उतार्ने लक्ष्यअनुसार सबै प्रदेशबाट सहज आगमनका लागि योजना बनाइसकेको बताए । उनले तिहारलगत्तै पूर्ण क्षमतामा महाधिवेशन तयारीमा जुट्ने जानकारी दिए ।

    ‘बागतमीबाट साढे २ लाख, गण्डकीबाट ५० हजार, लुम्बिनीबाट ७५ हजार, प्रदेश २ बाट १ लाख जनसंख्या चितवन ल्याइने । अन्य प्रदेशबाट स्वयम्सेवकका रुपमा ल्याइने योजना बनाइएको छ,’ उनले थपे, ‘जिल्लाजिल्लाबाट मानिस ल्याउन योजना बनेका छन् । मूल व्यवस्थापन समितिको मातहतमा १२ वटा समितिहरु बनाइएको छ ।’

    महाधिवेशनमा कुन पदका लागि उम्मेद्वारी दिने तयारी छ ? भनेर सोधिएको प्रश्नमा नेता पाण्डेले पार्टीभित्र कुनै पदमा पनि उम्मेद्वारीबारे छलफल नभएको दावी गरे ।

    ‘कम्युनिस्टहरुको परम्परामा म पहिल्यै यो पदका लागि उठ्छु भन्ने चलन हुँदैन । कतिपय बुर्जुवा पार्टीहरुमा त्यस्तो हुन्छ । तर हामी त्यस्तो अभ्यासबाट आएका होइनौं । हामी सबै सहमतिमा गर्ने प्रयासमा हुनेछौं,’ उनले भने, ‘यसपल्ट इलेक्ट्रोनिक भोटिङ प्रणालीबाट चुनावमा जानेछौं । १०० वटा मेसिन अर्डर गरिसकेका छौं । केहि पदमा चुनाव पनि हुनसक्छ किनभने त्यो मेसिनको प्रयोग पनि त गर्नुप¥यो नि ।’

  • सुरेन्द्र पाण्डेको आँकलन- माधव नेपाल फुट्दा एमालेलाई ५ देखि १० प्रतिशत क्षति

    सुरेन्द्र पाण्डेको आँकलन- माधव नेपाल फुट्दा एमालेलाई ५ देखि १० प्रतिशत क्षति

    पोखरा । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले माधव नेपाल समूहको फुटका कारण एमालेलाई ५ देखि १० प्रतिशतसम्म क्षति पुग्ने आँकलन गरेका छन् । पोखरामा मंगलबार आयोजित एमालेको भेलालाई सम्बोधन गर्दै पाण्डेले औसत ५ प्रतिशत नोक्सान हुने बताए ।

    पाण्डेले भने, ‘देशैभरिका स्थिति हेर्दा ५ देखि १० प्रतिशतमात्र एमालेलाई नोक्सान हुन सक्छ । तर पनि हामी यसलाई कभर गर्छौं । जति तल गयो त्यति मतदाता लेभलसम्म पुग्दा माधव नेपालजीहरूको पार्टी छैन ।’

    पाण्डेले एमालेलाई छिन्नभिन्न पार्ने खेल माओवादी भित्रिएपछि शुरू भएको भन्दै आफूहरू एमाले एकताका पक्षमा उभिएका कारण माधव नेपालसँग न्यून संख्यामा मान्छे गएको बताए ।

    माधव नेपालले अझै पनि एमालेमा फर्किएमा क्षमादान हुन सक्ने भन्दै पार्टी फुटाएर गम्भीर गल्ती गरेको आरोप पाण्डेले लगाए । आफैंले गठन गरेको कार्यदलप्रति पनि विश्वास नगरी माधव नेपाल अन्यत्रैबाट चलेको उनको आशंका छ ।

    अध्यक्ष केपी ओलीसहित पाण्डे पोखरामा गएका हुन् । उनी तत्कालीन माधव नेपाल समूहको समानान्तर अभ्यासका बेला गण्डकी प्रदेशको इन्चार्जको भूमिकामा थिए ।

  • सुरेन्द्र पाण्डेले भने- देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको छैन, पुरानो हस्ताक्षर दुरुपयोग भयो

    सुरेन्द्र पाण्डेले भने- देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको छैन, पुरानो हस्ताक्षर दुरुपयोग भयो

    काठमाडौं । नेकपा एमालेका सुरेन्द्र पाण्डेले शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन वैकल्पिक सरकार दावी गर्ने २७ जना एमाले सांसदको हस्ताक्षर दुरुपयोग भएको बताएका छन् ।

    नेपाल प्रेससँग कुरा गर्दै नेता पाण्डेले आफूले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको र पुरानै दस्तखत प्रयोग गरिएको हुन सक्ने बताए ।

    पाण्डेले भने- पुरानै दस्तखत होला, मैले गरेको छैन र थाहा पनि छैन । मैले नेताहरूलाई त्यो बाटोमा नजानुस् भनेको थिएँ ।

  • सुरेन्द्र पाण्डे भन्छन्- हामीमाथिको कारवाही फिर्ताको निर्णय सकारात्मक कदम

    सुरेन्द्र पाण्डे भन्छन्- हामीमाथिको कारवाही फिर्ताको निर्णय सकारात्मक कदम

    काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले आफूसहित चार नेतामाथिको निलम्बनको कारवाही फिर्ता लिने निर्णयलाई सकारात्मक भनेका छन् । एमाले स्थायी कमिटीको आज बसेको बैठकले माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारवाही फिर्ता लिएको थियो ।

    नेपाल प्रेससँग संक्षिप्त कुरा गर्दै नेता पाण्डेले भने, ‘कारवाही फिर्ता लिने निर्णय सकारात्मक छ । हामीले त हिजो पनि यो गलत भयो भनेका थियौं । अब अरु विषय पनि सकारात्मक ढंगले अध्यक्ष केपी ओलीले हल गर्नुहुन्छ भन्ने आशा गरेका छौं ।’

    पाण्डेले अब तत्कालीन एमालेकालको स्थायी कमिटी बैठक बोलाएर अन्य विषयहरुलाई सम्बोधन गर्न कार्यदल गठन गर्न सकिने बताए । एकताबद्ध एमालेका लागि भइरहेका प्रयासलाई सकारात्मक निष्कर्षमा पुर्‍याउनुपर्ने उनको भनाइ छ ।

    यो पनि पढ्नुहोस्: माधव नेपालसहित एमालेका चार नेतामाथिको कारवाही फुकुवा

  • सुरेन्द्र पाण्डेको जवाफ- हाम्रो गतिविधि एकता जोगाउन, ओलीको विधानविपरीत (पूर्णपाठ)

    सुरेन्द्र पाण्डेको जवाफ- हाम्रो गतिविधि एकता जोगाउन, ओलीको विधानविपरीत (पूर्णपाठ)

    काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले स्पष्टीकरण बुझाएका छन् ।

    गत चैत ४ र ५ गते ललितपुरमा आयोजना गरिएको राष्ट्रिय कार्यकर्ता भेला कुनै पार्टी खोल्न नभइ नवौं राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक मार्ग निर्देशन र विधानको प्रतिरक्षा तथा एमालेको एकता र हितमा केन्द्रित रहेको पाण्डेको जिकिर छ ।

    चार पेजको जवाफमा पाण्डेले अध्यक्ष केपी ओलीको पछिल्ला कदमलाई विधानविपरीतको संज्ञा दिएका छन् । ‘नेपालको कम्युनिष्ट आन्दोलन नै समाप्त पार्ने प्रकृतिका भएकाले यो सबै प्रकृया अविलम्व रोकी पार्टीलाई एकतावद्ध गर्न आवश्यक पहल गर्न समेत आह्वान गर्न चाहन्छु’, उनले लेखेका छन् ।

    ५ बुँदामा जवाफ दिएका पाण्डेले पार्टी अध्यक्ष ओलीको कदमले निम्त्याउने दुष्परिणामको भागीदार उनी नै हुनुपर्ने चेतावनीसमेत दिएका छन् ।

  • कारबाहीपछि सुरेन्द्र पाण्डेको प्रतिक्रिया- केपी ओली गुटपरस्त मानिस हो

    कारबाहीपछि सुरेन्द्र पाण्डेको प्रतिक्रिया- केपी ओली गुटपरस्त मानिस हो

    काठमाडौं । आजै मात्र पार्टीबाट निलम्बित नेकपा एमाले नेता सुरेन्द्र पाण्डेले अध्यक्ष केपी शर्मा ओलीलाई गुटपरस्त मानिस भएको अरोप लगाएका छन्।

    आफूमाथि गरिएको कारबाहीप्रति प्रतिक्रिया जनाउँदै उनले यसलाई पूर्व नियोजित र अपेक्षित भनेका छन्। ‘यो कदम पूर्व नियोजित र अपेक्षित नै थियो,’ सामाजिक संजालमार्फत प्रतिक्रिया जनाउदै पाण्डेले भनेका छन्, ‘पार्टी अध्यक्ष केपी शर्मा ओली लामो कालदेखि गुटपरस्त मानिस हो। गुटबन्दी गर्दैगर्दै गएर नवौँ महाधिवेशनमा पार्टी कब्जा गर्नुभयो । गुटद्वारा कब्जा गर्दै पार्टीका मानिस निकाल्ने, गुटद्वारा शासन गर्ने सिलसिलाकै जारी रूप हो।’

    यसले कम्युनिस्ट आन्दोलनलाई नै नोक्सान गर्ने भन्दै पाण्डेले कम्युनिस्ट आन्दोलनको झण्डालाई झुक्न नदिने बताएका छन्। ‘यसले आन्दोलनलाई नोक्सानी गर्छ नै,’ उनको भनाइ छ, ‘एमाले र मुलुकको कम्युनिस्ट आन्दोलन नै समाप्त गर्ने दिशातिर लाग्नु भएको छ। हामी कम्युनिस्ट आन्दोलनको झण्डालाई झुक्न दिँदैनौँ । यसलाई अघि बढाउने कुरामा कुनै कसर बाँकी राख्दैनौँ।’

    पाण्डेले चुनावका बेला घोषणा पत्रमार्फत गरिएका बाचाहरू पुरा गर्न थप जुझारू बन्ने बताएका छन् । उनले भनेका छन्, ‘घोषणा पत्र मार्फत गरिएको बाचाहरू, समृद्ध नेपाल निर्माण गर्ने अभिभाराहरू हामी पुरा गर्नेछौ । थप सशक्त, अझ जुझारू र गम्भीर भएर अघि बढ्छौँ ।’

  • गण्डकीमा माधव नेपाल पक्षको बेग्लै कमिटी, सुरेन्द्र पाण्डे बने संयोजक

    गण्डकीमा माधव नेपाल पक्षको बेग्लै कमिटी, सुरेन्द्र पाण्डे बने संयोजक

    पोखरा । नेकपा एमालेको माधव नेपाल पक्षले विहीबारमात्रै पार्टी सदस्यबाट निलम्वनमा परेका नेता सुरेन्द्र पाण्डेलाई गण्डकी प्रदेशको संयोजक बनाएको छ ।

    पोखरामा माधव नेपालको उपस्थितिमा भएको भेलाले पाण्डेलाई गण्डकी संयोजक बनाएको हो ।

    गण्डकीका अधिकांश सिनियर नेता संस्थापन पक्षमा रहेकाले माधव पक्षले पाण्डेलाई गण्डकीको नेता बनाएको हो । भेलाले गण्डकी प्रदेशका सबै जिल्लामा समानान्तर कमिटी गठन गरेको छ ।

    जस अनुसार कास्कीमा धनराज आचार्य, स्यांजामा रामचन्द्र भट्टराई, म्याग्दीमा बालकृष्ण सुवेदी, बागलुङमा इन्द्रलाल सापकोटा, पर्वतमा भक्त कुँवर, तनहुमा शंकरनारायण श्रेष्ठ अध्यक्ष चयन भएका छन् ।

    प्रदेश कमिटीको सहसंयोजकमा तुलबहादुर गुरुङ र श्रीमाया थकाली रहेको केन्द्रीय सदस्य दिलकुमारी पन्तले जानकारी दिइन् । यो कमिटीले पार्टी कामको संयोजनमात्र गर्ने र अर्को पदाधिकारीहरु चयन गर्ने उनले नेपाल प्रेसलाई बताइन् ।

  • सुरेन्द्र पाण्डेलाई एमालेको चेतावनी–सच्चिन दिएको मौकालाई कमजोरी ठाने थप कारबाही (पत्रसहित)

    सुरेन्द्र पाण्डेलाई एमालेको चेतावनी–सच्चिन दिएको मौकालाई कमजोरी ठाने थप कारबाही (पत्रसहित)

    काठमाडौं । स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै नेकपा (एमाले)ले नेता सुरेन्द्र पाण्डेलेलाई ६ महिनाका लागि निलम्बन गरेको छ ।
    पाण्डेले १७ चैतमा पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएका थिए।

    अहिलेको कारबाही सच्चिनको लागि अन्तिम मौका भएको भन्दै निलम्बन पत्रमा यसलाई कमजोरी ठाने थप कारबाही हुने चेतावनी दिइएको छ।

    ‘तपाईँलाई सच्चिनको लागि यो अन्तिम मौका हो,’ पत्रमा भनिएको छ, ‘आफ्ना विचार र क्रियाकलापहरु सच्याई पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधिको बीचैमा पनि निलम्बनको अबधि घटाउने निर्णय गर्न सकिने र यस सच्चिन दिईएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरु कायमै राखेमा निलम्बनको अवधि बीचमै थप कारवाही गर्न सकिने व्यहोरा समेत जानकारी गराईन्छ।’

    ७ चैतमा बसेको एमालेको केन्द्रीय कमिटी बैठकले माधव नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीरकण सोध्ने निर्णय गरेको थियो। स्ष्टीकरणको जवाफ चित्त बुझ्दो नभएको भन्दै एमालेले नेपाल, रावल र भुसाललाई ६ महिनाका लागि निलम्बन गरिसकेको छ।

  • यस्तो छ सुरेन्द्र पाण्डेले एमाले अध्यक्षलाई पठाएको स्पष्टीकरण (पत्रसहित)

    यस्तो छ सुरेन्द्र पाण्डेले एमाले अध्यक्षलाई पठाएको स्पष्टीकरण (पत्रसहित)

    काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले आफूलाई सोधेको स्पष्टीकरणको जवाफ अध्यक्ष केपी शर्मा ओलीलाई फर्काएका छन् ।

    पाण्डेको स्पष्टीकरणका प्रायः सबै कुरा यसअघि घनश्याम भुसालले दिएको प्रष्टीकरणकै यथावत छन् ।

    पाण्डेले ओलीमाथि पार्टी विभाजन गर्न खोजेको भन्दै २०७५ जेठ २ मा नफर्किए एमालेको एकता नजोगिने बताएका छन् ।

    पाण्डेले केपी ओलीमाथि कंगारु अदालत खडा गर्न खोजेको र आफूलाई सोधिएको स्पष्टीकरणपत्र शत्रुलाईजस्तै भाषा प्रयोग गरेको उल्लेख गरेका छन् ।

  • जवाफ नदिएपछि सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पुनः स्पष्टीकरण

    जवाफ नदिएपछि सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पुनः स्पष्टीकरण

    काठमाडौं । नेकपा एमालेले स्पष्टीकरण पेश नगरेका नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुसालाई पुनः स्पष्टीकरण सोध्ने भएको छ ।

    दुवैजनाले यसअघि सोधिएको स्पष्टीकरणको जवाफ दिएका छैनन् । यसअघिको स्पष्टीकरणको जवाफ नदिनुको कारणसहित अविलम्ब पुनः स्पष्टीकरण सोध्ने निर्णय भएको एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए।

    पार्टी हितविपरीत काम गरेको भन्दै एमालेले नेताहरू माधव नेपाल, भीम रावल, पाण्डे र भुसालाई स्पष्टीकरण सोधेको थियो ।

    नेपाल र रावलले पार्टी अध्यक्ष केपी ओलीप्रति प्रतिप्रश्न सोध्दै स्पष्टीकरण पत्र बुझाएका थिए । स्पष्टीकरण चित्तबुझ्दो नरहेको भन्दै एमालेले नेपाल र रावललाई ६ महिनाका लागि साधारण सदस्यबाट निलम्बन गरेको छ ।

  • यस्तो छ एमालेले सुरेन्द्र पाण्डेलाई सोधेको ५ बुँदे स्पष्टीकरण (पत्रसहित)

    यस्तो छ एमालेले सुरेन्द्र पाण्डेलाई सोधेको ५ बुँदे स्पष्टीकरण (पत्रसहित)

    काठमाडौं । नेकपा एमालेले पार्टीका नेता सुरेन्द्र पाण्डेमाथि पार्टी फुटाउने क्रियाकलापको अगुवाइ गरेको भन्दै कारबाहीको प्रक्रिया अघि बढाएको छ ।

    पाण्डेलाई महासचिव ईश्वर पोखरेलले सोधेको स्पष्टीकरणमा पार्टी एकताविरोधी भेला गर्नुको कारण र भेलाबाट एकताविरोधी प्रस्ताव पारित गर्नु गराउनुको कारण मागिएको छ ।

    नेपाल प्रेसलाई प्राप्त स्पष्टीकरणपत्रमा पाण्डेलाई पार्टीका बैठकमा सहभागी हनुको साटो पार्टी तथा जनसंगठनहरूको नाम, झण्डा र चिन्हको दुरुपयोग गरेको आरोप लगाइएको छ । पाण्डेमाथि प्रचण्डको मतियार बनेर नेकपा एमाले विभाजन गर्न खोजेको र प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरे/गराएको सन्दर्भमा समेत जवाफ मागिएको छ ।

    तीन दिनभित्र जवाफ पेश गर्न भनिएकोमा दुई दिन बितिसकेको छ । पाण्डेले मंगलबार राजधानीमा आयोजित अनेरास्ववियूको समानान्तर भेलामा ओलीलाई नै स्पष्टीकरण सोधिने बताएका थिए ।

    एमालेले माधव नेपालसँग १० बुँदे स्पष्टीकरण माग गरेको छ भने पाण्डेसँग ५ बुँदामा स्पष्टीकरण मागिएको छ ।

  • भोलिको भेला पार्टी एकताका लागि हो : सुरेन्द्र पाण्डे

    भोलिको भेला पार्टी एकताका लागि हो : सुरेन्द्र पाण्डे

    काठमाडौं । सत्तारुढ नेकपा एमालेको असन्तुष्ट समूहले भोलि र पर्सि आयोजना गरिएको गुट भेला पार्टी एकताकै लागि भएको दाबी गरेको छ । आज आयोजित पत्रकार सम्मेलनमा नेताहरूले केपी ओली समूह पार्टी फुटाउन अग्रसर रहेको प्रत्यारोप लगाए ।

    नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले पत्रकार सम्मेलनमा बोल्दै भने, ‘पार्टी विभाजनको आरम्भ ओलीजीले गर्नुभएको हो । २८ गतेको बालुवाटार वैठकले विभाजनको बिजारोपण गरेको हो । ती सबै निर्णय फिर्ता नभएसम्म पार्टी एकता सम्भव छैन ।’

    आफूहरुले गरेको गुट भेला भने विधानसम्मत रहेको उनले प्रष्ट पारे ।

    ‘पार्टीको विधानले यस्ता भेला तथा राजनीतिक गतिविधि गर्ने छुट दिएको छ । भोलि र पर्सिको भेला पार्टी एकताको सुदृढीकरणका लागि हो ’, पाण्डेले भने ।

    अध्यक्ष ओलीले भोलिको भेलामा उपस्थित हुनेहरुलाई कारबाहीको चेतावनी दिनुभएको छ नि ? भन्ने पत्रकारको प्रश्नमा पाण्डेले ओलीमाथि नै कारबाही हुन सक्ने बताए ।

    उनले भने, ‘आफैं गलत आधारमा खडा भएको अध्यक्ष कारबाहीको भागीदार हुन्छ कि हुँदैन ? त्यो अस्तिको कदम नै गलत र कारबाहीयोग्य थियो । यसप्रकारको कारबाहीको कुरा गर्नु कार्यकर्तालाई अनावश्यक तर्साउन खोजिएको मात्र हो ।’

  • सुरेन्द्र पाण्डेको दाबी- ओलीले २३ गते हिन्दू राष्ट्र घोषणा गर्न सक्छन्

    सुरेन्द्र पाण्डेको दाबी- ओलीले २३ गते हिन्दू राष्ट्र घोषणा गर्न सक्छन्

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-माधव पक्षका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले २३ गते हिन्दू राष्ट्र घोषणा गर्न सक्ने दाबी गरेका छन्।

    आइतबार माइतीघर मण्डलामा आयोजित प्रतिनिधिसभा विघटनविरुद्धको धर्नालाई सम्बोधन गर्दै पाण्डले यस्तो भने, ‘यही २३ गते नै ओलीले हिन्दू राष्ट्र घोषणा गर्छन भन्ने चर्चा चल्दैछ । ओलीले यो गर्न सक्छन्।’विभाजित नेकपाको ओली पक्षले २३ माघमा काठमाडौंमा वृहत आमसभाको तयारी गर्दै गर्दा पाण्डेले यस्तो बताएका हुन् ।

    ओलीको कदमले दक्षिणपन्थी खुशी भएको र २३ गतेको आमसभामा राजावादीहरू सहभागी उनको दाबी छ । ‘ओलीको कदमले दक्षिणपन्थी खुशी भएका छन्,’ पाण्डेले भने, ‘उनीहरू ओलीजस्ता राजनेता कोही छैनन् भन्दै छन् । हिजो ऋषि देवकोटा ‘आजाद’ को हत्या गर्नेहरु नै ओलीको प्रशंसा गरिरहेका छन् । मैले सुनेको हुँ, २३ गतेको कार्यक्रममा राजावादीहरू पनि उर्दी जारी गरेर सहभागी हुँदैछन् ।’

    ओलीले झ्यालको बाटो छाडी भीरको बाटो हिँडेर प्रतिनिधिसभा विघटन गरेको पाण्डेको टिप्पणी छ । उनले ओली अब कम्युनिष्ट नरहेको र धर्मका कुरा गरेर जनतालाई भुलाउन खोजेको आरोप लगाए।

    ‘हिजोमात्रै ओलीले राममन्दीर बनाउने घोषणा गरे । ओली अब कम्युनिष्ट रहेनन् । केपी ओली पूजापाठतिर लागेका छन् । ओली नयाँ मठाधिश बनेर, धर्मका कुरा गरेर जनतालाई अल्मल्याउन कोसिस गरेका छन् ।’

    ओलीको यो कदमले देशको सार्वभौमिकतामाथि चुनौती थपिएको पाण्डेले दाबी गरेका छन् ।

  • सुरेन्द्र पाण्डेको टिप्पणी– केपी ओलीले बम ब्लास्ट गरे

    सुरेन्द्र पाण्डेको टिप्पणी– केपी ओलीले बम ब्लास्ट गरे

    काठमाडौं । विभाजित नेकपाका नेता सुरेन्द्र पाण्डेले २७५ सांसद रहेको प्रतिनिधिसभामा प्रधानमन्त्री केपी ओलीले बम ब्लास्ट गरेको आरोप लगाएका छन् ।

    पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विभाजित पार्टीको महासचिव दावी गरिरहेका पाण्डेले केन्द्रीय कमिटीमा अ‍ोलीको पक्षमा २५ प्रतिशतमात्र सदस्य रहेकाले आधिकारिक नेकपा प्रचण्ड–माधव पक्ष नै हुने बताए ।

    पाण्डेले भने– २७५ जनाको प्रतिनिधिसभामा केपी ओलीले बम ब्लास्ट गर्नुभयो। अहिले ओली र उहाँको केन्द्रीय कमिटीमा २५ प्रतिशत मात्रै उपस्थिति भए । ४३५ मध्य ३०० केन्द्रीय सदस्य हामीसँग हुनुहुन्छ । त्यसले नेकपा र सूर्य हामीसँगै रहनेछ। अब कोही पनि अलमल रहन आवश्यक छैन ।

    आफूहरु नै मूलधर भएकाले छाडेर जानेले नयाँ पार्टी बनाउनुपर्ने पाण्डेले बताए ।

  • प्रचण्ड-माधव पक्षको बैठक सर्‍याे, सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने तयारी

    प्रचण्ड-माधव पक्षको बैठक सर्‍याे, सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने तयारी

    काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लैजाने तयारी गरेको छ ।

    विहान सिनामंगलमा शीर्ष नेताहरुबीचको छलफलपछि पाण्डेलाई महासचिव बनाउने तयारी भएको हो । अहिले प्रचण्ड पक्षधर नेकपाको सचिवालय बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ ।

    महासचिवका लागि भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, हरिबोल गजुरेल, वर्षमान पुन, जनार्दन शर्मालगायतका नेताहरु प्रतिस्पर्धामा छन् । पाण्डे नेकपा एमालेको नवौं महाधिवेशनमा ईश्वर पोखरेलसँग महासचिवमा पराजित भएका थिए ।

    सचिवालय र स्थायी कमिटीमा छलफलपछि केन्द्रीय कमिटीमा प्रस्ताव लगेर निर्णय हुनेछ । त्यसका लागि बिहान ११ बजे निर्धारित बैठक अपरान्ह १ बजेलाई सरेको छ ।