Tag: सुरुङमार्ग

  • हेटौंडा-काठमाडौं सुरुङमार्गबाट वागमती सरकारले किन झिक्यो हात ?

    हेटौंडा-काठमाडौं सुरुङमार्गबाट वागमती सरकारले किन झिक्यो हात ?

    काठमाडौं । वागमती प्रदेश सरकारले हेटौंडा-काठमाडौं सुरुङमार्ग तत्काललाई स्थगित गरेको छ । प्रदेश सरकारसँग सुरुङ मार्गका लागि बजेट नभएकाले आयोजना स्थगित गरेको वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बताएका छन् ।

    राजधानीलाई वागमती प्रदेशसँग जोड्ने छोटो मार्गको रूपमा हेटौंडा-काठमाडौं सुरुङमार्ग अघि बढाइएको थियो । तर, नयाँ मुख्यमन्त्रीको रूपमा आएका पाण्डेले आर्थिक-प्राविधिक दृष्टिकोणबाट अध्ययन नभएको र बजेट नभएको भन्दै सुरुङमार्ग स्थगित गरेका हुन् ।

    पाण्डेले भने, ‘निजी क्षेत्रले लगानी सुनिश्चित गरेर आयो भने हामी निर्माण गर्न दिन्छौं । तर प्रदेश सरकारसँग भने बजेट छैन । बजेट नभएपछि कुरामात्रै गरेर भएन ।’

    डोरमणि पौडेलको नेतृत्वमा रहेको अघिल्लो प्रदेश सरकार भने हेटौंडा-काठमाडौं सुरुङमार्ग आफैंले निर्माण निर्माण गर्न अगाडि बढेको थियो ।
    पूर्वमुख्यमन्त्री पौडेलका अनुसार प्रदेश सरकारमार्फत डीपीआरको निर्माण सकेर सुरुङमार्ग निर्माणका लागि टेण्डर आव्हान गर्ने तयारी थियो ।

    उनले भने, ‘अहिलेको सरकार विकासविरोधी भयो । निर्माणका लागि डीपीआर नै तयार भएर ठेक्का लगाउने तयारी भएको आयोजना स्थगित गरेर सरकारले विकासविरोधी काम गरेको छ ।’

    सहज र सरलरूपमा हेटौंडा-काठमाडौं आउजाउका लागि यो सुरुङमार्ग निर्माण अत्यावश्यक रहेको उनी बताउँछन् ।

    जहिले पनि किचलो !

    पहिले पनि निजी क्षेत्रले हेटौंडा–काठमाडौं सुरुङमार्ग निर्माणका लागि अग्रसरता लिएको थियो । नेपाल उद्योग वाणिज्य महासंघका तत्कालीन अध्यक्ष कुशकुमार जोशीले यस आयोजनाको नेतृत्व गरेका थिए ।

    पूर्वाधार विकास कम्पनी दर्ता गरेर सर्वसाधारणसँग पैसा उठाइएका थियो । कम्पनीले सन् २०१२ मा सरकारसँग गरेको सम्झौता अनुसार काम भएको भए १ जनवरी ०१७ मै सुरुङमार्ग निर्माण सकेर सञ्चालनमा आउने थियो । तर कम्पनीले सर्वसाधारणको पैसा मात्रै उठाएर केही काम गरेन ।

    पूर्वाधार विकास कम्पनीले ५ वर्षमा सुरुङमार्ग सम्पन्न गर्ने गरी जिम्मा लिएको थियो । तर जिम्मा लिएको १० वर्षसम्म पनि कम्पनीले काम सुरु गर्न नसकेपछि वागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री पौडेलले सुरुङमार्ग प्रदेश सरकारले बनाउने भनेर काम सुरू गरेका थिए ।

    पूर्वाधार विकास कम्पनीले सबैसँग गरी सुरुङमार्ग निर्माणको लागि ३५ अर्ब रूपैयाँ उठाउने योजना बनाएको थियो । नेपाली जनतासँग मात्रै ३१ करोड ७६ लाख रकम उठाइसकेको थियो ।

    सुरुङ मार्ग निर्माण गर्न राखेको प्रस्तावलाई २०६९ वैशाखमा मन्त्रिपरिषदले पारित गरेको थियो ।

    कम्पनीका अध्यक्ष ४ पटक फेरिए तर सुरुङ मार्ग बनेन । संस्थापक अध्यक्ष कुशकुमार जोशी, त्यसपछि गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, लाल केसी र फेरि भवन भट्ट अध्यक्ष भएका थिए ।

    सुरुङमार्ग क्षेत्रमा पर्ने मकवानपुर, खोकना र काठमाडौंको चाल्नाखेल लगायतका क्षेत्रका करिब ११ सयभन्दा बढी स्थानीयले सेयर लगानी गरेका थिए ।

    केहीलाई पैसा फिर्ता दिएको कम्पनीले दाबी गरेको छ । धेरैले पैसा उठाएर कम्पनीले खाएकोसमेत आरोप लगाइरहेका छन् ।

  • सुरुङ युगमा नेपाल- वर्षमा दुईवटा सुरुङमार्ग सम्पन्न गर्ने दौडमा सडक विभाग

    सुरुङ युगमा नेपाल- वर्षमा दुईवटा सुरुङमार्ग सम्पन्न गर्ने दौडमा सडक विभाग

    काठमाडौं । पहाडका टाकुरा एकैछिनमा सुरुङमार्गबाट छिचोल्दै चिल्ला सडकमा गुड्ने सपना कुन नेपालीको नहोला ? विदेशी भूमिमा सुरुङको विकास लामो समय अघिदेखि नै भए पनि नेपालमा भने भर्खरै यसको शुरुवात गरिँदैछ ।

    ढिलै शुरुवात गरिएपनि तीव्र गतिमा सुरुङमार्ग निर्माण गर्ने दौडमा सडक विभाग लागेको छ । द्रूत गतिमा निर्माण हुँदै गरेको नेपालको पहिलो सुरुङमार्ग ‘नागढंगा सुरुङमार्ग’ ले पनि यसको प्रतिनिधित्व गरेको छ । यो सुरुङमार्गबाट नेपालीले यात्रा गर्नलाई धेरै कर्नु नपर्ने देखिन्छ ।

    यसैगरी, वर्षमा दुईवटा सुरुङ निर्माण गर्ने योजनाका साथ अहिले सडक विभाग धमाधम यसको गृहकार्यमा जुटेको छ । सडक विभागका गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक डा. विजय जैशीका अनसुसार विभागले नेपालमा डेढ दर्जन सुरुङमार्ग निर्माणका लागि विभिन्न चरणमा कार्य गरिरहेको छ । ‘वर्षमा दुईवटा सुरुङ निर्माण गर्ने गरी काम अघि बढिरहेको छौं,’ उनी भन्छन् ।

    सुरुङमार्ग निर्माण गर्न सडक जस्तो सजिलो नहुने उनी बताउँछन् । यो सडक निर्माणभन्दा खर्चिलो पनि हुन्छ तर, दीर्घकालीन रुपमा भने सडकभन्दा धेरै नै सस्तो पर्ने उनको भनाइ छ ।

    यसमा सडक बनाउन जस्तो सुरुङ बनाउँदा वातावरण प्रभाव मूल्याकनका लागि ईआई गर्नु पर्ने छैन् । यसमा आईमात्र गरे पुग्छ । यसले पनि सडक निर्माणभन्दा सुरुङ निर्माण गर्दा योजना बनेपछि सम्पन्न हुन ढिलाइ हुँदैन् । साथै सुरुङ निर्माण गर्दा जमीनलाई चलाउनु पर्दैन । यसमा पहाडमा प्वाल बनाएर सुरुङ निर्माण गरिन्छ । सुरुङमार्गमा भुइचालोमा पनि डर नहुने निर्देशक जैशीको भनाइ छ । साथै, यसमा सडकको जस्तो मर्मत संभार गरिरहनु पर्दैन

    देशैभर सुरुङमार्ग निर्माण हुँदै

    निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार आफ्नो कार्याकालको उपलब्धी सुनाउने क्रममा भन्ने गरेको कुरा हो- अब देश सुरुङ युगमा प्रवेश गरेको छ । सुरुङमार्गमार्फत पूर्वाधार विकासले नेपाल समृद्धिको बाटोमा अघि बढेको छ ।

    त्यसलाई पुष्टि गर्दै सडक विभागका निर्देशक जैशी भन्छन्- अब नेपाल सुरुङमार्ग निर्माणमा अघि बढिसकेको अवस्था छ । अहिले डेढ दर्जन सुरुङ निर्माणका लागि अध्ययन भइरहेका छन् । केही सुरुङमार्ग निर्माणका लागि प्रक्रिया नै अघि बढिसकेका छन् । केही त बनिरहेका पनि छन् ।

    यस अघि सुरुङमार्ग निर्माणका लागि कानून नै थिएनन् । कानून नै नभएपछि सडक विभागले सुरुङ निर्माण गर्न नसकेको निर्देशक जैशीको भनाइ छ । तर, गत वर्षबाट सुरुङ निर्माणका लागि सम्पूण नीति नियम बनेको बताउँछन् उनी ।

    नागढुंगा सुरुङमार्ग

    देशको गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधीन नागढुंगा सुरुङको चर्चा जताततै सुनिन्छ । र, यो सुरुङ अन्य गौरवका आयोजना जस्तो सुस्त गतिमा निर्माण गरिँदैछैन् । अत्याधुनिक रुपमा निर्माण भइरहेको नागढुंगा सरुङमार्गमा समायवधिमा नै सक्नका लागि अहिले दिनरात नभनी ६ सयभन्दा बढी मजदूर तथा ५० भन्दा बढी देशी र बिदेशी इन्जिनियरले धमाधम दुई सिफ्टमा काम गरिरहेको बताउँछन् आयोजनाका निर्देशक नरेशमान शाक्य ।

    उनका अनुसार अहिले नागढुंगा सुरुङ खन्ने काम २ सय ६८ मिटर पूरा भएको छ । जसमा मुख्य काठमाडौं तर्फको सुरुङ १ सय ४ मिटर खनिएको छ भने धादिङतर्फको मुख्य मार्ग १ सय ६४ मिटर खनिएको छ । यसैगरी, आपतकालीन टनेलतर्फ ५ सय १२ मिटर टनेल खनिएको छ । साथै एउटा टनेलबाट अर्को टनेलमा जानका लागि ३० मिटरको प्यासेज राखिएको छ जसमा अहिलेसम्म ९.५ मिटर खनिएको छ ।

    आयोजनका निर्देशक शाक्यका अनुसार अहिलेसम्म सबै गरेर ९ सय १० मिटर खनिसकिएको छ । सुरुङको लम्बाई ५४ सय मिटर रहेको उनले जानकारी दिए ।

    कोरोनाको दोस्रो लहरका कारण मजदुर कम भएपनि अहिले सम्पूर्ण मजदूर आइसकेको उनले बताए । कोरोनाकै कारण सुरुङ निर्माण कार्य ४ सय दिन पर धकेलिएको पनि उनले जानकारी दिए । तर, त्यस समयलाई पनि खिचेर द्रूत गतिमा सुरुङ निर्माण गरी समयमा नै आयोजना सक्ने उनको भनाइ छ ।

    मुआब्जा समस्या

    अहिले नागढुंगा सुरुङमार्ग निर्माणमा सबैभन्दा समस्या जग्गा मुआब्जा रहेको छ । बलम्बुमा रहेको जग्गाको मुआब्जा मूल्य निर्धारण हुन नसक्दा सुरुङमार्गको काममा बाधा परेको निर्देशक शाक्यको भनाइ छ । साथै बलम्बुमा नै रहेको पाँचवटा घर भत्काउनका लागि अहिले निर्माण आयोजक अख्तियारको निणर्य पर्खेर बसेको अवस्था छ । अख्तियारमा ती घर सरकारी की निजी जग्गामा बनेका हुन् भनेर उजुरी परेपपछि भत्काउन नसकिएको हो । मुआव्जाका लागि मात्र ६ अर्ब रुपैयाँ छुट्याइएको छ ।

    जापानिज कम्पनी हाज्माले बनाइरहेको यो सुरुङ निर्माणका २०७६ मा साढे १३ अर्ब रुपैयाँमा ठेक्का प्राप्त गरेका हो । यो आयोजना ४२ महिनामा सक्नु पर्नेछ । यसका लागि जापानी सहयोग नियोग (जाइका) ले सहुलियतपूर्ण ब्याजदरमा कर्जा उपलब्ध गराएको छ ।

    साथै, २०७३ सालमा करिब १६ अर्ब रुपैयाँ कर्जा उपलब्ध गराउने सम्बन्धमा अर्थमन्त्रालय र जाइकाबीच सम्झौता भएको थियो । जाइकाले नेपाललाई ०.०१ प्रतिशत ब्याजदरमा ४० वर्षका लागि कर्जा उपलब्ध गराएको हो । काठमाडौंको बलम्बुस्थित तोतीपाखाबाट शुरु भइ धादिङको सिस्नेरीखोलामा पुगेर सकिने छ । यो सुरुङमार्गबाट थानकोटबाट १० मिनेटमा नौबिसे पुग्न सकिने छ ।

    सिद्धबाबा सुरुङमार्ग

    निर्देशक जैसीका अनुसार अर्को चर्चित सुरुङमार्ग हो सिद्धबाबा सुरुङमार्ग । यो सुरुङमार्ग यसकारणले पनि चर्चित छ कि यो सुरुङमार्ग हुँदै महाभारत क्षेत्रबाट गिट्टी-ढुंगा उत्खनन् गर्ने सरकारको योजना छ । निवर्तमान उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णु पौडेलको ‘ड्रिम प्रोजेक्ट’ हो, यो आयोजना ।

    करिब आठ अर्ब रुपैयाँ बराबरको लागत लाग्ने अनुमान गरिएको यो सुरुङमार्गको लम्बाई साढे दुई किलोमिटरको हुने बताइएको छ । यसमा सुरुङमार्ग १.२ किलोमिटर र रकसेड १.३ किलोमिटर लम्बाइको हुनेछ ।

    तीन वर्षदेखि यो सुरुङमार्ग निर्माण गर्ने भनिए पनि यो वर्षमात्र यसको ठेक्का व्यवस्थापन सकेर ठेक्का प्रक्रियाका लागि अन्तराष्ट्रिय बोलपत्र आह्वान गरेको छ । ठेक्का प्रक्रिया पूरा भएपछि दू्रत गतिमा यो सुरुङमार्ग तत्काल निर्माण गरिने छ । साथै सिद्धवावाबाट सधै सुख्खा पहिरो खस्ने भएकाले यसको रोकथमका लागि पनि यो सुरुङमार्ग निर्माण गर्न सजिलो हुन्छ ।

    यो सुरुङमार्गका लागि स्विस सहयोग नियाग (एसडीसी) ले प्रारम्भिक डिजाइन तयार पारेको हो । सोही डिजाइनका आधारमा अहिले ठेक्काको लागि सूचना निकालिएको निर्देशक जैशीको भनाइ छ ।

    फाष्ट ट्र्याकमा ३ सुरुङमार्ग

    काठमाडौं तराई–मधेश दू््रतमार्ग (फाष्ट ट्रयाक) मा तीनवटा सुरुङमार्ग रहेका छन् । नेपाली सेनाले निमार्ण गरिरहेको यो द्रूतमार्गमा महादेवडाँडा ३.३५ किलोमिटर, धोन्द्रै १.३७ किलोमिटर र लेनडाँडा १.४ किलोमिटरका ३ वटा सुरुङमार्ग निर्माण हुनेछन् । ती सुरुङमार्ग निर्माण गर्नका लागि सेनाले ठेक्का पनि दिइसकेको छ । फाष्ट ट्राकमा पर्ने सुरुङमार्ग र त्यहाँ बनाइने पुल निर्माणका लागि ४३ अर्ब ६६ करोड रुपैयाँमा ठेक्का सम्झौता भइसकेको सेनाले बताएको छ ।

    जडिबुटी-कोटेश्वर सुरुङमार्ग

    भक्तपुर आउजाउ गर्ने मुख्य सडकका रुपमा रहेको कोटेश्वरको पट्यार लाग्दो सवारी जामलाई हटाउनका लागि यो सुरुङमार्गको परिकल्पना गरिएको हो । यो सुरुङमार्गका लागि सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि १ अर्ब ८० करोड रपैयाँ विनियोजन गरिएको छ । यो सुरुङमार्गका लागि जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) ले अध्ययन गरिररहेको छ ।

    थप सुरुङमार्ग

    धरान-धनकुटा सुरुङमार्गमा बन्ने तीनबटा सुरुङमार्गका लागि बोलपत्र आहन नै भएको छ । अपर तामाकोशीमार्गमा चीन जोड्नका लागि सुरुङमार्ग निमार्ण गरिने निर्देशक जैसी बताउँछन् ।

    विपी राजमार्ग खुर्कोट–चियाबारी खण्डमा पनि सरुङमार्ग निर्माणका लागि भर्खरै अध्ययन सकिएको छ । काडमाढौंको टोखा-छहरे-गुर्जभंज्याङ, वेत्रावती-स्याफ्रबेशी सुरुङमार्गका लागि डीपीआर तयार गरिने भएको छ ।

    कुलेखानी-भीमफेदी सुरुङमार्ग, पृथ्वीराजमार्गमा पर्ने मझिमटार-शक्तिखोर, पोखरा बाग्लुङ राजमार्गअन्तर्गत पर्ने हेम्जा-नयाँपुल, पूर्वपश्चिम राजमार्गको दाउन्नेमा रहेको दुम्कस्वास-वर्दघाट, सुर्खेत-दैलेख सडकको कपासे-सियाकोट, पाल्पा-तम्घास सडकको प्रभास-जोर्ते गर्ने बजेटमा नै उल्लेख छ ।

  • हेटौँडा-काठमाडौं सुरुङमार्ग प्राथमिकताका साथ अघि बढेको छ: मुख्यमन्त्री पौडेल

    हेटौँडा-काठमाडौं सुरुङमार्ग प्राथमिकताका साथ अघि बढेको छ: मुख्यमन्त्री पौडेल

    काठमाडौं । हेटौँडा र काठमाडौंलाई जोड्न सुरुङमार्गको निर्माणलाई प्राथमिकता दिइएको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले बताएका छन् ।

    सुरुङमार्ग आयोजना सम्बन्धि छलफलमा बोल्दै मुख्यमन्त्री पौडेलले सुरुङमार्गले दुई जिल्लालाई सुरुङमार्फत जोड्नुको साथै देशको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

    उनले भने,‘नेपालको दीर्घकालीन विकासको कोसेढुङ्गा हुने विश्वाससहित प्रदेश सरकारले सुरुङमार्गको योजना अगाडि बढाएको छ ।’
    उनका अनुसार मार्ग कुन ढाँचामा निर्माण गरिने भन्ने प्राविधिक तयारी सकिएको छ ।

    हाल भीमफेदीदेखि सिस्नेरीसम्म साढे तीन किलोमिटर सुरुङ खनिने तथा हेटौँडा–भीमफेदी सडक र सिस्नेरी काठमाडौंलाई फराकिलो बनाइने योजना रहेको मुख्यमन्त्री पौडेलले बताए ।

    सुरुङमार्ग निर्माणपछि हेटौँडा–काठमाडौंको झञ्झटिलो र घण्टौंको यात्रा समय घटेर एक घण्टामा आउने र देशका प्रायः सबै क्षेत्रबाट काठमाडौंसम्मको यात्रा अवधि तथा आर्थिक बचतसमेत गराउने उनले विश्वास व्यक्त गरे।

    सुरुङ राजमार्गले हेटौँडा हुँदै नेपालको सम्पूर्ण पश्चिमी, दक्षिणी र पूर्वी भागलाई जोड्ने र देशको समग्र अर्थतन्त्रलाई उल्लेख्य वृद्धि गर्ने मुख्यमन्त्री पौडेलको भनाइ छ ।

    प्रदेश सरकारको परियोजनामध्य सबैभन्दा महत्वपूर्ण परियोजनाको रूपमा रहेको सुरुङमार्ग निर्माण पूर्वको सम्पूर्ण काम लगभग सकिएको र अब १ महिनाभित्र बोलपत्र प्रक्रियामा जाने भौतिक पूवाधार विकास मन्त्रालयका सचिव बरालले जानकारी दिए ।

    भारतबाट हाल अमलेखगञ्जसम्म आएको पेट्रोलियम पाइपलाइन सुरुङमार्ग हुँदै काठमाडौं पुर्याउने योजना पनि सुरुङमार्ग निर्माणसँगै जोडेर अगाडि बढाइने योजना रहेको जनाइएको छ ।

    ७२ किलोमिटरमा अमलेखगञ्ज काठमाडौं पाइपलाइन विस्तार गर्न सकिने र पाइपलाइनले पनि देशको ठूलो ढुवानी खर्च बचत गर्ने उनको भनाइ छ ।

    सन्जिव बरालका अनुसार सो मार्गको सञ्चालनपछि देशको इन्धन र स्पेयरपाट्र्समार्फत खर्च हुने वार्षिक एक अर्बभन्दा बढी रकम बचत हुने, समय र ऊर्जा यात्राको अवधिसमेत बचत हुने तथा सडक मर्मत लागतमा कटौती हुने, राजधानी काठमाडौंको जनघनत्व विस्तार भइ सन्तुलन कायम हुने, काठमाडौंका उद्योगधन्दामा कम ढुवानीमा कच्चा पदार्थ पुर्याउन सकिने हुँदा उत्पादन लागत कम हुनेलगायतका फाइदा रहनेछ ।

  • नागढुंगामा शुरु भयाे­ सुरुङमार्ग निर्माण

    नागढुंगामा शुरु भयाे­ सुरुङमार्ग निर्माण

    काठमाडौंको नागढुंगादेखि धादिङको सिस्नेखोला जोडने सुरुङ्मार्गको निर्माण कार्य शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको १४ महिनापछि सुरुङ खन्ने काम शुरु भएको हो । सन् २०२२ को अन्तिमसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने यो सुरुङमार्ग कोभिडका कारण प्रभावित भएपछि सुरुङ खन्ने काम ढिलो गरी शुरु भएको छ ।

  • नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण अर्को सातादेखि

    नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण अर्को सातादेखि

    धादिङ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण कार्य पुस दोश्रो साताबाट शुरु हुने भएको छ । देशका विभिन्न जिल्लाबाट काठमाडौँ भित्रने सहज मार्गका रूपमा हेरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण पुस १० गतेबाट शुरु हुने आयोजकले बताएको छ ।

    अहिले ‘सुरुङ खन्नुपूर्व ‘सेट’ गर्नुपर्ने ढोकाको चौकोस आकारको स्टिलको पोर्टल फ्रेम राख्ने काम भइरहेको आयोजनाका इन्जिनियर कल्पना अधिकारी सुवेदीले जानकारी दिइन् ।

    उनका अनुसार कम्पनीले सुरुङ बाहिरका सम्पूर्ण पूर्व तयारीका कामहरु पुरा गरिसकेको छ । अब सुरुङको काम अघि बढाउन मात्र बाँकी छ । केही दिन भित्रनै सुरुङको होल खोप्ने काम शुरु हुनेछ ।

    कोभिड–१९ र जग्गा मुआब्जाका कारण आयोजना निर्माणमा ढिलाई भएपनि तोकिएकै समयमा आयोजना सम्पन्न हुने आयोजनाका टीम नेता अच्युत भट्टले बताए ।

    उनका अनुसार आयोजना स्थलभित्र पर्ने केही घर जग्गाको मुआब्जाको बिषयमा अझै टुंगो लाग्न सकेको छैन । बर्षौदेखि बसोबास गर्दै आएका स्थानीयबासीमध्ये केही स्थानीयको नाममा जग्गाको लालपुर्जा नभएकाले मुआब्जा वितरणमा समस्या आएको जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालले बताए ।

    आयोजनाले जग्गा अधिग्रहण बापत मात्र साढे ५ अर्ब रुपैयाँ मुआब्जा वितरण गरिसकेको छ । आयोजनाका लागि अधिग्रहण र मुआब्जाको विषयमा विवाद भएपछि केही जग्गाको स्वामित्वको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेकाले आयोगको फैसला नआउँदासम्म मुआब्जा बितरण नहुने भएको छ ।

    सुरुङमार्गमा ‘सुरुङ र सडक गरी कुल ५ दशमलव १३ किलोमिटर लामो तीन लेनको हुनेछ  । उपत्यका प्रवेश गर्ने सवारीसाधन दुई लेनबाट यात्रा गर्नेछन भने बाहिरिने सवारीसाधन एक लेनबाट जाने आयोजकले बताएको छ । यस मार्गमा सुरुङको कुल लम्बाइ २ दशमलव ६ सय ८८ किमि र सडकको लम्बाइ २ दशमलव ४५ किमि हुनेछ ।

    निर्माण शरु भएको ४२ महिनाभित्र सुरुङमार्गको सम्पूर्ण काम सकेर नेपाल सरकारलाई हस्तान्तरण गर्नु पर्ने सहमति भएको छ । आयोजना स्थलमा हाल ३ सय बढी जनशक्तिले नियमित काम गरिरहेका छन् ।

    सु्रुङमार्ग निर्माण सम्झौता अनुसार सुङमार्ग प्रवेशका लागि त्रिभुवन राजपथबाट काठमाडौंतर्फ थानकोटको बस्नेत छापसम्म २.३० किमी र धादिङतर्फ धुनिबेसीको सिस्नेखोलाबाट ५ सय ६५ मिटर पक्की सडक समेत बनाउनुपर्ने छ ।

    सुरुङमार्ग बनेपछि नौबिसे–थानकोटको झण्डै ८ किलोमिटर लम्बाई छोटिने छ भने सोबाट झण्डै ३० मिनेट यात्रा समय छोटिने अपेक्षा लिइएको छ । कुल २२ अर्ब रुपैयाँमा ४२ महिना भित्र सम्पन्न गर्ने गरी जापानी कम्पनी हाज्मा–आन्द्रो जेभीले नागढुंगा–नौबिसे सुरुङमार्गको निर्माण ठेक्का लिएको हो ।

    जापान सकारको करीब १६ अर्ब रुपैयाँ सहुलियतपूर्ण कर्जामा नेपाल सरकारको समेत लगानीमा बन्ने सो आयोजनाका लागि नेपाल सरकार र ठेकेदार कम्पनीबीच गत बर्ष निर्माण सम्झौता भएको थियो ।

    धादिङको धुनिबेसी नगरपालिकाको सिस्ने खोलाबाट शुरु भई काठमाडौंको चन्द्रागिरी नगरपालिका बलम्बुमा निस्किने सुरुङमार्गको गत वर्षको कात्तिक ४ गते प्रधानमन्त्री केपी ओलीले आयोजनाको शिलान्यास गरेका थिए ।