Tag: सुनसरी

  • १ मतले हारेपछि पुनः मतगणनाको माग गर्दै निवेदन, अन्य पदको मतगणना रोकियो

    १ मतले हारेपछि पुनः मतगणनाको माग गर्दै निवेदन, अन्य पदको मतगणना रोकियो

    सुनसरी । नेपाली कांग्रेस सुनसरी उपसभापतिका उमेदवार गफार अन्सारी मिँया र सचिवका उमेदवार रञ्जेश भट्टराईले पुनः मतगणनाको माग गर्दै निर्वाचन कार्यालय इनरुवामा निवेदन दिएका छन् ।

    जिल्ला उपसभापतिका उम्मेदवार अन्सारी र सचिवका उमेदवार भट्टराईले मतगणनामा धाँधली भएको भन्दै निवेदन दिएका हुन् ।

    संस्थापन पक्षबाट उमेदवार रहेका अन्सारीले १ हजार २९७ मत प्राप्त गरेका थिए भने विजयी हुने संस्थापन इतर प्यानलका पंकजकुमार महतोले १ हजार ३१३ मत प्राप्त गरेका थिए । १६ मतान्तरले पराजित बनेका अन्सारीले धाँधली रूपमा मतगणना भएको भन्दै पुन: गणना गर्न माग गरिएको जानकारी दिए ।

    सचिवमा १ मतले पराजित भट्टराईले आफ्नो पक्ष बलियो हुँदाहुँदै लापरबाही तरिकाले मतगणना गरिएको भन्दै निवेदन दिएको बताए । सचिवमा संस्थापन इतर प्यानलका माधवबहादुर घिसिङले १ हजार २२९ मत प्राप्त गरी विजयी भएका थिए । संस्थापन प्यानलका सचिव पदका उम्मेदवार भट्टराईले १ हजार २२८ मत ल्याएर पराजित भएका थिए ।

    निर्वाचन कार्यालयमा निवेदन परेपछि जिल्ला निर्वाचन समितिले मतगणना स्थगित गरेको छ । सहायक जिल्ला निर्वाचन अधिकृत वेनु सिग्देलले सहमति नहुन्जेल मतगणना स्थगित गरिएको जानकारी दिए ।

    उनले दुई समूहका उमेदवार, जिल्ला नेताको सर्वपक्षीय छलफलबाट निष्कर्ष निकालिने बताए ।

  • कोरोना फैलिएपछि इनरुवा नगरपालिकाभित्रका बिद्यालय बन्द, भिडभाड गर्न निषेध

    कोरोना फैलिएपछि इनरुवा नगरपालिकाभित्रका बिद्यालय बन्द, भिडभाड गर्न निषेध

    सुनसरी । कोरोना संक्रमण समुदायस्तरमै फैलिएको भन्दै सुनसरी सदरमुकामको इनरुवा नगरपालिकाले आफ्नो क्षेत्रभित्रका बिद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

    नगर प्रमुख राजन मेहताले आइतबार विज्ञप्ति जारी गरी कोरोनालाई थप फैलन नदिन नगरभित्रका बिद्यालय बन्द गर्ने तथा सभा सम्मेलन, मेला, जात्राजस्ता मानिसको भिडभाड हुने कार्यहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको जानकारी दिएका हुन् ।

    सर्वपक्षीय छलफलपछि नगरपालिकाले याे निर्णय गरेकाे हाे । स्थानीय सरकारले सरोकारवालासँग छलफल गरेर निर्णय गरेको इनरुवाको नगर शिक्षा समिति सदस्य वसन्त सुवेदीले जानकारी दिए। सुवेदीका अनुसार इनरुवाका दुई बिद्यालयका दुई विद्यार्थीमा नयाँ भेरियन्टको कोरोना संक्रमण पुष्टि भएपछि यस्तो निर्णय भएको हो।

    सरकारले संक्रमणको अवस्था हेरेर बिद्यालय तथा अन्य क्षेत्र बन्द गर्ने निर्णय सम्बन्धित स्थानीय तहलाई नै दिएपछि पहिलोपल्ट सुनसरीमा इनरुवा नगरपालिकाले त्यस्ता क्षेत्र बन्द गर्ने निर्णय गरेको हो ।

    नगरप्रमुखको वक्तव्यमा कोरोना जोखिम रोकथाम तथा नियन्त्रणमा सहयोगका लागि स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न पनि नगरवासीलाई अनुरोध गरिएको छ ।