Tag: सुदूरपश्चिम

  • नयाँ प्रकारको कोरोना भित्रिएसँगै सुदूरपश्चिममा पहिलोपल्ट संक्रमितको मृत्यु

    नयाँ प्रकारको कोरोना भित्रिएसँगै सुदूरपश्चिममा पहिलोपल्ट संक्रमितको मृत्यु

    धनगढी । नयाँ प्रकारको कोरोना संक्रमणबाट कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ ।

    जिल्लाको भीमदत्त नगरपालिका–१५ का ४५ वर्षीय संक्रमित पुरुषको बुधवार बिहान मृत्यु भएको हो । उनको कञ्चनपुर स्थित महाकाली अस्पतालमा उपचार भइरहेको थियो ।

    भारतको गुजरातबाटै कोरोना संक्रमित भएर आएका पुरुषको नेपालमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

    २२ गते अस्पतालमा भर्ना भएका सङ्क्रमित पुरुषको उपचारको क्रममा बुधवार बिहान मृत्यु भएको महाकाली अस्पतालका व्यवस्थापक दीपेन्द्र रावलले जानकारी दिए ।

    सुदूरपश्चिम प्रदेशमा नयाँ प्रकारको कोरोना संक्रमण भित्रिएपछि पहिलो पटक सङ्क्रमितको मृत्यु भएको हो । अहिले कैलाली र कञ्चनपुरमा सङ्क्रमितको सङ्ख्या बढिरहेको छ ।

  • सुदूरपश्चिममा नेपाल समूहको समानान्तर कमिटी, संयोजकमा भीम रावल

    सुदूरपश्चिममा नेपाल समूहको समानान्तर कमिटी, संयोजकमा भीम रावल

    कैलाली । नेकपा एमालेको माधव नेपाल समूहले सुदूरपश्चिममा भीम रावलको संयोजकत्वमा समानान्तर कमिटी निर्माण गरेको छ । सो समूहको मंगलबार सम्पन्न प्रदेशस्तरीय विस्तारित बैठकले समानान्तर कमिटी बनाएको हो ।

    प्रदेश, जिल्ला, स्थानीय तह र भातृ संगठनमा समेत रिक्त पदमा जिम्मेवारी तोकिएको स्रोतले बतायो । स्रोतका अनुसार दार्चुलाबाहेक प्रदेशका ८ जिल्लाको जिम्मेवारी तोकिएको छ ।

    जसअनुसार कैलाली अध्यक्षमा दीर्घ सोडारी, कञ्चनपुरमा तारा लामा तामाङ, डोटीमा चक्रबहादुर मल्ल, डडेल्धुरामा तारा जोशी, बैतडीमा महादेव भट्ट, अछाममा शेरबहादुर कुँवर, बझाङमा दिलबहादुर सिंह र बाजुरामा गगन रावललाई जिम्मेवारी दिइएको छ ।

    नेपाल पक्षको एमाले प्रदेश कमिटी सदस्य तथा कार्यालय सचिव दिनेश सुवेदीले प्रदेशमा सबै कमिटीलाई पूर्णता दिने जानकारी दिए । कमिटीको विस्तारित स्वरूपबारे केही दिनमै पत्रकार सम्मेलन गरिने उनले बताए ।

  • सुदूरपश्चिममा माधव समूहको बैठक, एमालेको तत्कालीन कमिटीलाई नै सक्रिय बनाउने

    सुदूरपश्चिममा माधव समूहको बैठक, एमालेको तत्कालीन कमिटीलाई नै सक्रिय बनाउने

    कैलाली । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको माधव समूहको प्रदेश कमिटी बैठक बसेको छ । नेता भीम रावलको नेतृत्वमा सोमबार प्रदेश पार्टी कार्यालय बैठक बसेको हो ।

    बैठकमा नेपाल समूहका नेता रावलसहित, प्रदेश अध्यक्ष भानुभक्त जोशी, प्रतिनिधिसभा सदस्य झपट रावललगायत उपस्थित छन् ।

    प्रदेशको विस्तारित बैठकमा नेपाल समूहका केन्द्रीय सदस्य, प्रदेश र जिल्लाका पदाधिकारीहरू पनि छन् ।

    एमालेलाई बलियो बनाउन आवश्यक रणनीति तयार गर्न बैठक आह्वान गरिएको प्रदेश कमिटी सदस्य दिनेशचन्द्र सुवेदीले बताए ।

    एमाले पूर्ववत् अवस्थामा फर्किएपछि तत्कालीन कमिटीलाई चलायमान गराउन बैठक आह्वान गरिएको भनिएको छ ।

    ‘प्रधानमन्त्री ओलीले एकपक्षीय रूपमा गरेको कारबाहीलाई हामी मान्दैनौँ’ प्रदेश कमिटिका एक सदस्यले भने ‘अधिवेशन र महाधिवेसबाट आएका सदस्य र पदाधिकारी नै आधिकारिक हुन् ।’

    प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता रावललाई अहिले ६ महिनाको लागि निलम्बन गरेका छन् ।

    सुदूरपश्चिम इन्चार्ज समेत रहेका रावललाई २८ फागुनमा हटाएर लेखराज भट्टलाई सो जिम्मेवारी दिएका थिए । सोमबारको बैठकमा कारबाहीमा परेका पदाधिकारी तथा सदस्यहरूको पनि उपस्थिति छ ।

    उनीहरूले २८ फागुनको निर्णय समेत नमान्ने बताउँदै आएका छन् ।

     

  • सुदूरपश्चिममा जघन्य अपराध बढ्दो, घरभित्रै असुरक्षा

    सुदूरपश्चिममा जघन्य अपराध बढ्दो, घरभित्रै असुरक्षा

    कैलाली । अघिल्लो मंगलबार बैतडी पञ्चेश्वरका राजबहादुर चन्दले आफ्नै छोरालाई जाँतोमा पछारेर हत्या गरे । छोराको हत्यापछि उनले बुवा र भाइलाई कुटे ।

    ११ फागुनमा कञ्चनपुरको बेलौरीकी वसन्ती चौधरीले फरुवा प्रहार गरी श्रीमानको हत्या गरिन् ।

    २८ माघमा कञ्चनपुरकै भीमदत्त नगरपालिका–२ पशुपति टोलमा बुहारी सीता र नाति अर्जुन थापाले ७६ वर्षीय प्रेम थापाको कुटेर हत्या गरे । कुटपिटपछि घाइते भएका थापाको उपचारका क्रममा फागुन १० गते मृत्यु भयो ।

    माघ २१ गते बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कार र हत्या पनि उनकै भाइ नाता पर्ने दिनेश भट्टले गरेका थिए ।

    त्यसअघि २७ असोजमा कञ्चनपुर शुक्लाफाँटा– ८ स्थित सुनबरा खोलामा माछा मार्न गएकी कालीदेवी खुनाको उनकै देवरले हत्या गरेका थिए ।

    यी त पछिल्लो केही घटना मात्रै हुन् । गत वर्ष भीमदत्त नगरपालिका–२ उल्टाखामका डम्बर चन्दले १४ वर्षीय छोरा सुर्वण चन्दको धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए ।

    त्यसअघि पनि कञ्चनपुर भीमदत्त नगरपालिका, ८ तिलाचौरका केशव कार्कीले श्रीमती सरस्वती कार्कीको हत्या गरेका थिए ।

    सोही दिन गोदावरी नगरपालिका–१० ओलानीकी २२ वर्षीया लक्ष्मी बडैलाले प्रेमी दीपक खत्रीसँग मिलेर श्रीमान् तेजबहादुर विष्टको हत्या गरिन् ।

    त्यतिबेलै भजनी नगरपालिका–९ भुरुवामा निर्मला राजीले प्रेमी दिलिप राजीसँग मिलेर पति नन्दु राजीको हत्या गरेकी थिइन् ।

    त्यसलगत्तै कैलालीको लम्की चुहा नगरपालिका– ९ प्रतापुरमा धारिलो हतियार प्रहार गरी इन्द्र चौधरीले आफ्नै श्रीमती गर्भी चौधरीको हत्या गरे ।

    केहि समयअघि मात्रै कैलालीको घोडाघोडी नगरपालिका– ११ सिसैयामा ५५ वर्षीय उदे रावतले ७५ वर्षीय बुवा काल्चे रावतलाई धारिलो हतियारले हानेर हत्या गरे ।

    यी त केही प्रतिनिधि घटना मात्रै हुन् । पछिल्लो सुदूरपश्चिम प्रदेशमा घरकलहका कारण हत्यालगायत जघन्य अपराध बढ्दो छ । आवेग र उत्तेजनामा यस्ता घटना बढिरहेको बताउँछन् सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेश कुमार सिंह ।

    ‘घर भित्रै बिभत्स अपराधका शृंखला बढिरहेका छन्’ एसएसपी सिंह भन्छन्, ‘यो आवेग र उत्तेजनाको परिणाम हो ।’

    अधिकांश यस्ता अपराधमा मादक पदार्थ सेवनको प्रभाव धेरै भएको उनको भनाइ छ । जनचेतनाको कमीले पनि पारिवारिक अपराध बढिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रतिक बिष्ट बताउँछन् ।

    ‘पारिवारीक झै–झगडाहरुले ठूलो रुप लिएको पाइएको छ’ उनी भन्छन् ‘यसको लागि सबै भन्दा पहिले चेतनाको स्तर वृद्धि गर्न आवश्यक छ ।’

    बदलिँदो सामाजिक परिस्थिति, बढ्दो सामाजिक सञ्जालको प्रयोग, आर्थिक अभावलगायतका कारण अपराध बढिरहेको जानकारहरु बताउँछन् ।