Tag: सुख्खा बन्दरगाह

  • निर्माण सकिएको चोभार सुक्खा बन्दरगाहमा भन्सार र क्वारेन्टिनको पर्खाइ

    निर्माण सकिएको चोभार सुक्खा बन्दरगाहमा भन्सार र क्वारेन्टिनको पर्खाइ

    काठमाडौं । चोभारमा निर्माण सम्पन्न भएको सुख्खा बन्दरगाह भन्सार र क्वारेन्टिन नबस्दा सञ्चालनमा आउन सकेको छैन । बन्दरगाहको जिम्मा पाएको नेपाल इन्टरमोडल यातायात विकास समितिले भौतिक निर्माणको काम सम्पन्न गरेको हो ।

    समितिले भन्सार र क्वारेन्टिनको लागि भवन निर्माणसमेत गरेर कार्यालय स्थापनाको लागि भन्सार र क्वारेन्टिनलाई जानकारी गराएको थियो । भन्सार कार्यालयले भने प्रतिस्थापन विधेयकमा चोभार सुख्खा बन्दरगाहको नाम समाबेश गरेर कार्यविधि निर्माणको चरणमा रहेको बताएको छ ।

    नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल समितिले भौतिक संरचनाको निर्माण पूरा गरिसकेको जानकारी दिए ।

    गजुरेलले भने, ‘हामीले गर्नुपर्ने काम सकियो । अब भन्सार कार्यालय र क्वारेन्टीन आएर बसेपछि सुख्खाबन्दगाह सञ्चालनमा आउने छ ।’

    भन्सार विभागका निर्देशक विक्रम खड्काले चोभार सुख्खा बन्दरगाहमा भन्सार कार्यालय स्थापनाका लागि काम भइरहेको बताए । प्रक्रियागत विषयमा छलफल जारी रहेको उनको भनाइ छ ।

    खड्काले भने, ‘भन्सार विभागले सुख्खा बन्दरगाह कसरी सञ्चालन गर्ने भनेर कार्यविधि बनाएर अर्थ मन्त्रालयलाई पठाएको छ । केही दिनमा त्यो स्वीकृत भएर आउँछ होला ।’

    खड्काका अनुसार प्रतिस्थापन विधेयकभन्दा पहिले चोभार सुख्खा बन्दरगाह भन्ने शब्द कतै पनि थिएन । प्रतिस्थापन विधेयकमा पहिलोपटक यसलाई समावेश गरिएको छ । त्यही अनुसार कार्यविधि निर्माण गरेर मन्त्रालय पठाएको उनले जानकारी दिए ।

    ‘मन्त्रालयबाट कार्यविधि स्वीकृत भएर आएपछि चोभारमा भन्सारको कार्यालय स्थापना हुने छ,’ उनले भने ।

    कस्ता वस्तुहरु चोभारको सुख्खा बन्दरगाहमा ल्याउन दिने भन्ने समेन एकिन भएको छैन । सीमानाकाबाट छुटेर चोभार आएका बस्तुहरु बाटैमा हराउन नदिनका लागि सफ्टवेयर निर्माणको काम पनि भन्सार विभागले गरिरहेको खड्काले बताए ।

    खड्काले भने, ‘चीनतर्फको नाकाबाट काठमाडौंमा नै भन्सार तिर्छु भनेर आएको गाडी बुटवल गए भने के गर्ने ? यस्ता भन्सार छली हुन नदिनका लागि के–कस्ता उपायहरु प्रयोग गर्ने भन्ने विषयमा पनि हामीले काम गरिरहेका छौं ।’

    खड्काका अनुसार त्यहाँ भन्सार स्थापना गर्दा २९ जना कर्मचारीको आवश्यक पर्ने अनुमान गरिएको छ । त्यसअनुसार कार्यविधिमा लेखेर पठाइएको उनले बताए ।

    ‘कार्यविधि पास भएर आउने अन्तिम चरणमा छ,’ उनले भने ।

    व्यापारीले दाबी गरेको मात्रै बैंक ग्यारेन्टी लिने कि, त्योभन्दा धेरै लिने भन्ने पनि निर्णय भइसकेको छैन । व्यापारीहरुले बैंक ग्यारेन्टी नै लिनपर्ने बताइरहेका छन् । १० लाखको सामान भनेर ल्याएको गाडीमा ५० लाखको सामान रहेछ भने त्यसले राजस्वलाई असर गर्ने खड्का बताउँछन् ।

    कृषि मन्त्रालय अन्तगतको प्लान्ट क्वारेन्टीन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईंले सुख्खा बन्दरगाहमा क्वारेन्टीनको कार्यालय राख्नका लागि कृषि मन्त्रालयसँग कर्मचारी स्वीकृतिको माग गरेको बताए ।

    उनले भने, ‘हामीले मन्त्रालयसँग चोभार सुख्खा बन्दरगाहको लागि ६ जना कर्मचारी माग गरेर मन्त्रालयलाई फाइल पठाएका छौं । त्यो स्वीकृत भएर आएपछि क्वारेन्टीनको कार्यालय स्थापनाको काम अगाडी बढ्ने छ । अहिले नै सुख्खा बन्दरगाहमा सामान ल्याउने हो पनि भने हामी यहीँबाट कर्मचारी पठाएर काम गर्न सक्ने अवस्थामा छौं ।’

    सो बन्दरगाह सञ्चालनमा आएपछि विदेशबाट आयात हुने वस्तु सिधै चोभार ल्याउन पाइनेछ । नेपालबाट निर्यात हुने वस्तु पनि यही बन्दरगाहबाट सबै प्रक्रिया पूरा गरी लैजान सकिनेछ । नेपालमा आयात हुने वस्तु धेरै मात्रामा काठमाडौंमा खपत हुने भएकाले आयातकर्तालाई सहज हुनेछ ।

    स्थानीयको विरोध र कोरोना महामारीका कारण निर्धारित मितिभन्दा करिब १ वर्ष ढिला बन्दरगाह निर्माण सकिएको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ माघ ३ गते बन्दरगाह शिलान्यास गरेका थिए ।

    बन्दरगाह निर्माणका लागि शुरूमा छुट्ट्याइएको १ अर्ब ४० करोडबाट १२ प्रतिशत लागत बढेर १ अर्ब ६० करोड खर्च भएको छ । निर्माणमा विश्व बैंकले सहयोग गरेको हो । आशिष र साक्षी ज्वाइन्ट भेन्चरले निर्माणको जिम्मा लिएका थिए । निजगढ–काठमाडौं द्रुतमार्ग, भारतसँगको रेलमार्ग, केरुङ रेलमार्ग र बाहिरी चक्रपथसँग जोडिने यो बन्दरगाहबाट व्यापारिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ । व्यापारीले आफ्नो सामानको भन्सार तिर्न कोलकता, वीरगञ्ज, विराटनगर नगई चोभार सुख्खा बन्दरगाहबाट नै सबै काम गर्नसक्ने छन् ।

    यस्तो छ बन्दरगाह

    दुई सय २० रोपनीमा बन्दरगाह निर्माण भएको बन्दरगाहमा ५ सय कन्टेनर राख्न सकिने सुविधा छ । पाँचवटा ब्लकको गोदाम बनेका छन् । १ हजार ३ सय वर्गमिटरमा खुला जाँचक्षेत्र रहेको छ । यस्तै, यहाँ सामान जाँच्ने स्टेसन, लोड–अनलोड, नापतौल र नियन्त्रण कक्ष, पार्किङ तथा सडक निर्माण गरिएको छ ।

    बन्दरगाहमा ३ वटा मुख्य गेट, भन्सार, क्वारेन्टाइन र प्रशासनिक गरी ३ वटा भवन, ३ वटा गोदाम, ३ वटा सवारीसाधनको चेकजाँच गर्ने संरचना निर्माण भएका छन् ।

    हाल वीरगञ्ज, भैरहवा, तातोपानी र विराटनगरबाट नै भन्सारको सबै काम सकेर सामान आयात हुने गरेको छ । ती स्थानबाट सामान आयात हुँदा त्यहाँको भन्सारमा सामान्य प्रक्रिया मात्रै गरेर चोभारको सुख्खा बन्दरगाह ल्याएर भन्सार तिर्न सकिने छ ।

  • चोभारमा सुख्खा बन्दरगाह निर्माण सकियो, तीन महिनापछि सञ्चालनमा

    चोभारमा सुख्खा बन्दरगाह निर्माण सकियो, तीन महिनापछि सञ्चालनमा

    काठमडौं । तीन वर्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलले शिलान्यास गरेको काठमाडौंको चोभारस्थित सुख्खा बन्दरगाह निर्माणको काम करिब सकिएको छ । स्थानीयको विरोध र कोरोना महामारीका कारण निर्धारित मितिभन्दा एक वर्ष ढिला निर्माण सकिएको बन्दरगाह अबको तीन महिनापछि सञ्चालनमा आउने भएको छ । उक्त बन्दरगाहको २०७५ माघ ३ गते शिलान्यास भएकाे थियाे ।

    ‘भौतिक संरचना निर्माणको काम सकिएको छ’, आयोजनाका कार्यकारी निर्देशक आशिष गजुरेलले भने, ‘भन्सार, सुरक्षालगायतको काम बाँकी छ, अबको तीन महिनापछि बन्दरगाह उद्घाटन गर्ने योजना बनाएका छौं ।’ समयमा नै काम सक्ने प्रतिवद्धताका साथ निर्माण अघि बढाए पनि कोरोना महामारी र स्थानीयको अवरोधका कारण एक वर्ष ढिला भएको उनको भनाइ छ ।

    समयमै काम नसकिएपछि गत साल आयोजना निर्माणका लागि एक वर्ष म्याद थपिएको थियो ।

    तीन महिनाभित्र खुख्खा बन्दरगाहमा चाहिने कन्टेनरको शुल्क निर्धारण, फर्निचर सेटअप, कर्मचारी भर्ती तथा अन्तिम फिनिसिङको काम पनि सकिने बताइएको छ ।

    बन्दरगाह निर्माणका लागि एक अर्ब ४४ करोड रुपैयाँ बजेट छुट्याएको थियो । तर, लागत १२ प्रतिशतले बढेर १ अर्ब ६० करोड पुगेको निर्देशक गजुरेलेको भनाइ छ । उनका अनुसार योजनामा नपरेका काम पनि सम्पन्न गर्नुपर्ने भएकाले लागत बढेको हो ।

    बन्दरगाह बनेको ठाउँमा यसअघि हिमाल सिमेन्टको कारखाना थियो । सिमेन्ट उद्योगको १ हजार ५४ रोपनीमध्ये २ सय २० रोपनीमा बन्दरगाह निर्माण भएको हो । बाँकी जग्गामा अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बनाइने छ ।

    निजगढ-काठमाडौं द्रूतमार्ग, भारतसँगको रेलमार्ग, केरुङ रेलमार्ग र बाहिरी चक्रपथसँग जोडिने यो बन्दरगाहमा व्यापारिक गतिविधि उल्लेख्य हुने आँकलन गरिएको छ ।

    बन्दरगाह संचालनमा आएसँगै व्यापारीले ठूलो राहत पाउने निर्देशक गजुरेल बताउँछन् । अब व्यापारीले आफ्नो सामानको भन्सार तिर्न कोलकता, वीरगञ्ज, विराटनगर नै जानुपर्ने वाध्यताको अन्त्य हुने गजुरेलेको भनाइ छ ।

    उनका अनुसार बन्दरगाहमा ३ सय ८० वटा २० फिटका कन्टेनर राख्न सकिने छ । यहाँ पाँचवटा ब्लकको गोदाम बनेका छन् । साथै, १ हजार ३ सय वर्गमिटरमा खुला जाँच क्षेत्र रहेको छ । यस्तै, यहाँ सामान जाँच्ने स्टेसन, लोड-अनलोड, नापतौल र नियन्त्रण कक्ष, पार्किङ तथा सडक निर्माण गरिएको छ ।

    सबै तस्बिर: सराेज बैजु/नेपाल प्रेस

  • दोधरा चाँदनीमा यस्तो बन्दै छ सुख्खा बन्दरगाह, एकीकृत जाँच चौकीसहित गुरुयोजना तयार

    दोधरा चाँदनीमा यस्तो बन्दै छ सुख्खा बन्दरगाह, एकीकृत जाँच चौकीसहित गुरुयोजना तयार

    काठमाडौं । कञ्चनपुरको दोधरा चाँदनीमा सुख्खा बन्दरगाह निर्माण हुने भएको छ ।

    सुख्खा बन्दरगाहको मास्टर प्लानबारे परियोजनाका इन्जिनियर कमल प्रसाद जोशीले ६.२ किलोमिटर बाटोपछि महाकालीको नयाँ पुल निर्माण हुने बताए । पुलबाट नजिकै बन्दरगाहको ४ वटा विकल्पहरु छन् ।

    प्रकाश दाहाल नेतृत्वको प्राविधिक कमिटीले सामुदायिक जंगलमै बनाउन सिफारिस गरेको छ । आइसीडिमा अध्यागमन हुन्न बाँकी आइसीपी हो । भैरहवा र नेपालगन्जबाट कन्टेनर सो बन्दरगाहमा आउने छन् ।

    पहिलो स्टेजमा रेलबाहेकको संरचना ६ अर्ब ९८ करोड ७ अर्ब र दोस्रो १२ अर्ब लागत रहेको छ । सो परियोजना सरकाले नै निमार्ण गर्ने छ ।
    सो मास्टर प्लान ३ महिना टेण्डर र ३ वर्ष १० महिनामा बनाउने लक्ष्य लिएको छ ।

    ५० वर्षमा ५ हजार ट्रक कन्टेनर अट्नेछन् ।इआईए र डिपिआरको पुर्वस्वीकृतिका लागि वन मनत्रालयमा पठाइएको छ । सो बन्दगाहमा गौरीशंकर र मायापुरी जंगल छ रहेको छ ।

    दिल्ली ३०० सय किलोमिटर, तोकलहावाद र मुन्द्रा पोर्ट नजिक रहेको छ ।