Tag: सीसीएमसी

  • सबै परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयद्वारा सीसीएमसीलाई सिफारिस

    सबै परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयद्वारा सीसीएमसीलाई सिफारिस

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले सबै तहका परीक्षाहरु स्थगित गर्न सीसीएमसीलाई सिफारिस गरेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ट्वविटमार्फत सो जानकारी दिएका हुन् ।

    कोभिड- १९ संक्रमण फैलदै गएको परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति मन्त्रालय संवेदनशील रहेको मन्त्री श्रेष्ठले उल्लेख गरेका छ्न् ।

    ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको जानकार गराउँछु,’ उनले लेखेका छन् ।

  • वैदेशिक रोजगारीमा जानेलाई १० दिन होटल क्वारेन्टीन खर्च सरकारले दिने

    वैदेशिक रोजगारीमा जानेलाई १० दिन होटल क्वारेन्टीन खर्च सरकारले दिने

    काठमाडाैं । कोभिड १९ व्यवस्थापन निर्देशक समितिले वैदेशिक रोजगारीमा जानेलाई सरकारले १० दिनको होटल क्वारेन्टीन खर्च उपलब्ध गराउने गरी निर्णय गरेको छ ।

    निर्देशक समितिको हिजो बसेको दोस्रो बैठकले संक्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्ति सहित ‘स्मार्ट लक डाउन’तर्फ जाने निर्णयसमेत गरेको छ । अबको साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मुल्यांकन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराइ केही क्षेत्र खुल्ला गरिनुपर्ने समितिको निष्कर्ष छ ।

    प्रधानमन्त्री एवं समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले नेपाली श्रमिक अधिक संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई , जापान र मलेशिया जस्ता देशहरुमा हवाई उडान पुनः संचालन गर्ने निर्णय गरेको छ । यी देशहरुबाट सातामा दुई हजार जना यात्रु भन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन हुनेछन् ।

    बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय समेत गरेको छ । कुल १५ दिन बस्नुपर्ने क्वारेन्टाइनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्नेछ ।

    बैठकले सिसिएमसी केन्द्रको प्रशासनिक कार्यका लागि बजेट व्यवस्था गर्ने तथा निर्माण क्षेत्र र अत्यावश्यक उद्योगलाई स्वास्थ्य मापदण्ड पालनाका साथ खोल्न दिइने समेत निर्णय गरेको छ ।

    यसैगरी गैरआवासीय नेपालीहरुले पठाउन लागेको अक्सिजन सिलिन्डर ल्याउन हवाई ढुवानी भाडा सरकारले उपलब्ध गराउने एवं इजरायल सरकारबाट सहयोग स्वरुप दिन लागिएको सघन उपचारमा प्रयोग हुने सामग्री स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ ।

    बैठकमा प्रधानमन्त्री ओलीले स्वास्थ्य मापदण्डमा कडाइ गर्दै लकडाउनलाई सक्रमणको जोखिम नहुने हदसम्म मात्र खुकुलो गर्न सकिने बताएका थिए ।

    कोभिड नियन्त्रणका लागि सबै भन्दा महत्वपूर्ण र अनिवार्य कुरा खोप नै भएको भएकाले चीनबाट ४० लाख डोज खोप ल्याउन गृहकार्य भइरहेको र साउनदेखि लगाउन थालिने बताए । त्यसबाहेक अन्य देशसँग पहल प्रयत्न भइरहेकोले खोपको अभाव क्रमशः हल हुँदै जाने उनको विश्वास छ ।

  • सीसीएमसी खारेज भएको छैन : उपप्रधानमन्त्री पोखरेल

    सीसीएमसी खारेज भएको छैन : उपप्रधानमन्त्री पोखरेल

    काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाभाइरस रोकथाम र नियन्त्रणका लागि गठन गठित उच्चस्तरीय समिति कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) खारेज नगरिएको स्पष्ट गरेका छन् ।

    सिंहदबारस्थित आफ्नै कार्यकक्षमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सीसीएमसी खारेज नभई थप सशक्त बनाइएको स्पष्ट पारे । ‘सीसीएमसी खारेज भएको होइन । कोभिड-१९ रोकथाम र नियन्त्रण गर्ने मुख्य जिम्मेवारी सीसीएमसीको नै हो ।’ उनले भने, ‘सीसीएमसीलाई थप व्यवस्थित मात्र बनाइएको हो । सीसीएमसी छँदैछ ।’

    उनले केही सञ्चारमाध्यमले सीसीएमसी खारेज गरेको हल्ला फिजाएको भन्दै त्यस्तो नभएको स्पष्ट पारे । उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा गठन गरिएको निर्देशक समितिले देशभरी कोभिड-१९ व्यवस्थापन कार्यलाई निर्देशन दिने जानकारी दिए ।

    सरकारले कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश-२०७८ बाट यही जेठ ६ गते कोभिड-१९ को रोकथाम, नियन्त्रण, निदान र उपचारको व्यवस्थापनसम्बन्धी कार्यलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको अध्यक्षतामा १० सदस्यीय निर्देशक समिति समेत गठन गरेको थियो ।

    उनले आफ्नै पार्टीका प्रधानमन्त्रीविरुद्ध हस्ताक्षर गरेकोले नेता माधवकुमार नेपाल समूहलाई कारबाही गरिएको बताए। ‘आफ्नो पार्टीका अध्यक्षको कामकारबाही चित्त नबुझे पार्टीभित्र छलफल र महाविधेशनबाट हटाउन सकिन्छ,’ उनले भने, ‘तर पार्टीभित्र छलफल नगरी आफ्नै पार्टीका अध्यक्षविरुद्ध हस्ताक्षर गरेर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने कुरा पार्टी हित विपरीत छ ।’

    उनले पार्टीमा अहिले देखिएको अन्तरविरोध साम्य पार्नतिर लाग्नुपर्ने तथा पार्टी र आन्दोलनलाई नयाँ ढङ्गबाट लैजानुपर्नेमा जोड दिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता गर्दा ताका भएका भ्रुणहरु विकसित भएर अहिलेको अवस्थामा पुगेको उनको भनाइ छ ।

  • सीसीएमसीको कार्यकारी निर्देशकमा पूर्व रथी बालानन्द शर्मा नियुक्त

    सीसीएमसीको कार्यकारी निर्देशकमा पूर्व रथी बालानन्द शर्मा नियुक्त

    काठमाडौं । सरकारले कोभिड–१९ निर्देशन समिति अन्तर्गत कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को मुख्य कार्यकारी निर्देशकमा पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई कार्यकारी निर्देशक नियुक्त गरेको प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए ।

    यसअघि उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको सीसीएमसीमा जेठ ७ गते नयाँ अध्यादेश जारी भएपछि कोभिड–१९ निर्देशक समिति मातहत आएको थियो । जसको संयोजन प्रधानमन्त्री ओलीले गर्नेछन् ।

    नयाँ ऐनले व्यवस्था गरेअनुसार सरकारले समितिको मुख्य कार्यकारी निर्देशकमा पूर्व रथी शर्मालाई नियुक्त गरेको हो ।

    नयाँ अध्यादेशले कोभिड–१९ निर्देशक समिति अन्तर्गत सीसीएमसी रहने व्यवस्था गरेको थियो ।

    शर्मा यसअघि विद्रोही माओवादी शान्ति प्रक्रियामा आएपछि माओवादी सेनाका लडाकूहरुको रेखदेख समायोजन तथा पुनर्स्थापना विशेष समिति अन्तर्गतको सचिवालयका संयोजक थिए ।

  • तत्काल ‘स्वास्थ्य संकटकाल’ लाग्दैन : परराष्ट्रमन्त्री ज्ञवाली

    तत्काल ‘स्वास्थ्य संकटकाल’ लाग्दैन : परराष्ट्रमन्त्री ज्ञवाली

    काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले तत्काल ‘स्वास्थ्य संकटकाल’ को सम्भावना नरहेको बताएका छन् ।

    कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकको निर्णय जानकारी गराउँदै मन्त्री ज्ञवालीले संक्रामक रोग ऐनमा भएका व्यवस्था र कार्यान्वयको विश्लेषण नगरी स्वास्थ्य संकटकाल लगाउने कुरा हतारो हुनसक्ने बताएका हुन् ।

    ‘नतिजा आउने भए मात्रै लगाउने । नभए किन लगाउने । हामी तुलनात्मक अध्ययन गरिरहेका छौं । अहिले हामीलाई तीनवटा क्षेत्रमा समस्या देखिएको छ । देशको समग्र स्वास्थ्य प्रणालीलाई एकिकृत ढंगले महामारीविरुद्ध लगाउनु जरुरी छ । हामीसँग स्वास्थ्य मन्त्रालय र त्यस मातहतका अस्पताल छन् । विभिन्न प्रतिष्ठानहरु छन् ती झण्डै झण्डै स्वायत्त जस्ता छन् । प्रादेशिक अस्पतालहरु छन् र स्थानीय तहहरुले सञ्चालन गरेको स्थानीय आधारभूत अस्पताल छन् । ती सबैलाई युनिफाईड ढंगले सञ्चालन गर्न हामीलाई केही कानुनी प्रबन्धहरू चाहिएको छ’, ज्ञवालीले भने, ‘दोस्रो हाम्रा खरिद प्रक्रियाहरुमा अहिले पनि समस्याहरु छन् । त्यसैले केही कानुनी प्रबन्धहरु गर्नुपर्ने छ । अहिलेको माहामारी विरुद्ध लड्न हामीलाई केही थप कानुनी संरचना आवश्यक भएको हामीले महसुस संक्रामक रोग ऐन २०२० का प्रावधानले मात्रै नपुग्ने भएकाले त्यस विषयमा आवश्यक तयारी गर्नका लागि कानून मन्त्रालय र सम्बद्ध अरु निकायहरुलाई भनिएको छ ।’”

  • महामारी नियन्त्रणका लागि सबै शक्ति परिचालन गर्ने सीसीएमसीको निर्णय

    महामारी नियन्त्रणका लागि सबै शक्ति परिचालन गर्ने सीसीएमसीको निर्णय

    काठमाडौं । सरकारले नयाँ भेरियन्टसहितको कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सबै शक्तिलाई आफ्नो क्षमता अनुसार प्रयोग गर्ने निर्णय गरेको छ ।

    सिंहदरबारमा बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले देशको स्वास्थ्य प्रणालीलाई एकीकृतरूपमा महामारीविरुद्ध लगाउने निर्णय भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । ‘त्यसका लागि स्वास्थ्य मन्त्रालय, प्रादेशिक अस्पताल, ती सबैलाई सञ्चालन गर्न हाल रहेको कानूनी जटिलतासमेत फुकाएर काम गर्नेछौं ।’

    खोपको तत्काल आपूर्तिको लागि सम्बन्धित निकायलाई निर्देशन दिएको पनि मन्त्री ज्ञवालीले बताए । ‘देशभित्रका अक्सिजन उद्योगलाई पूर्ण क्षमतामा चलाउने । उद्योगलाई बिजुलीमहसुललगायतमा सहुलियत दिने । लिक्विड अक्सिजन ल्याउन भारतसँग आग्रह गर्ने पनि निर्णय गरेका छौं ।’

    सीसीएमसीको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित थिए । प्रधानमन्त्रीको निर्देशन उद्धृत गर्दै मन्त्री ज्ञवालीले भने, ‘हाम्रा प्रक्रियामा अल्झिएर या आर्थिक स्रोतको अभावले कुनै पनि नागरिकको ज्यान जानु हुँदैन । त्यसोभएको हुनाले प्रक्रिया झन्झटिला छन् भने छोट्याएर हप्तामा हुने कामलाई दिनमा, दिनमा हुने कामलाई घण्टामा गरेर भएपनि तत्काल नागरिको जीवन रक्षाका लागि जे जे गर्नुपर्छ त्यो गर्नुहोस् र त्यसका लागि आवश्यक कानून मिलाउनुपर्ने भए कानून मिलाउनुहोस्, प्रक्रिया मिलाउनु पर्ने भए प्रक्रिया मिलाउनुहोस्, क्विक रेस्पोन्स टिम बनाउनुहोस् तर हरहालतमा नागरिको जीवन रक्षा हुनुपर्‍यो । तदनुरुप काम गर्नुहोस् भन्नुभएको छ । ”

  • सिंहदरबारमा सीसीएमसी बैठक जारी, प्रधानमन्त्री पनि उपस्थित

    सिंहदरबारमा सीसीएमसी बैठक जारी, प्रधानमन्त्री पनि उपस्थित

    काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक जारी छ । सिंहदरबारमा बसिरहेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी छन् ।

    नयाँ भेरियन्टसहितको कोरोना संक्रमण दर तीव्र बनिरहेको बेला डाकिएको बैठकले महामारी नियन्त्रण तथा रोकथाममा महत्वपूर्ण निर्णय गर्ने बताइएको छ ।

    प्रधानमन्त्री ओलीले हिजोमात्र बालुवाटारमा स्वास्थ्य क्षेत्रका विज्ञ, निजी क्षेत्र तथा सरोकारवाला व्यक्तिहरूबीच कोरोना नियन्त्रणका लागि गर्नुपर्ने कामका विषयमा परामर्श लिएका थिए ।

  • आजदेखि स्वास्थ्य मन्त्रालयबाट अक्सिजन सिलिन्डर वितरण हुने

    आजदेखि स्वास्थ्य मन्त्रालयबाट अक्सिजन सिलिन्डर वितरण हुने

    काठमाडौं । उपत्यकामा अक्सिजन सिलिन्डरको वितरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट शुक्रबारदेखि हुने भएको छ ।

    कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिले शुक्रबार विज्ञप्ती जारी गर्दै मन्त्रालयबाट अक्सिजन वितरण हुने जानकारी गराएको हो ।

    अक्सिजन सिलिन्डर मागको आपुर्तीलाई अभाव हुन नदिन मन्त्रालयबाटै वितरण गर्ने निर्णय गरेको सीसीएमसी सचिवालयका महासचिव नुरहरी खतिवडाले जानकारी दिए ।

    सिलिण्डरको अभावलाई थप व्यवस्थापनका लागि मन्त्रिपरिषद्ले ५० हजार खाली सिलिण्डर विदेशवाट ल्याउने निर्णय गरेको छ । ३० हजार सिलिण्डर चिनबाट अनुदानमा ल्याउने भने पनि ४०० वटा मात्र ल्याएको छ  ।

  • अक्सिजन उद्योगमा विजुली नकाट्न प्राधिकरणलाई सीसीएमसीको निर्देशन

    अक्सिजन उद्योगमा विजुली नकाट्न प्राधिकरणलाई सीसीएमसीको निर्देशन

    काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी)ले अक्सिजन उद्योगहरुमा नियमित विद्युत् आपुर्तिको व्यवस्थापन मिलाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ ।

    बजारमा अक्सिजनको आपुर्ति सहज हुन नसकेको विद्यमान अवस्थामा विद्युत् अभावमा उत्पादन नरोकियोस् भन्ने उद्देश्यले सिसिएमसिले अक्सिजन उद्योगहरुमा २४ सै घण्टा विद्युत् आपुर्तिको व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

    कोभिड १९ संक्रमितको संख्या बढे संगै अधिकांश विरामीलाई उपचारका लागि अक्सिजन आवश्यक पर्ने र अक्सिजन अभावमा मृत्यु हुने घटना बढेपछि केन्द्रले अक्सिजनको वितरणलाई समानुपातिक र न्यायपुर्ण बनाउन मेडिकल अक्सिजन वितरण कार्यविधि २०७८ पनि ल्याएको छ ।

    सोही कार्यविधि अनुसार अस्पतालहरुलाई अक्सिजन वितरण गर्ने काम भएको छ । बजारमा माग थेग्ने गरि अक्सिजन उत्पादन हुन नसकेपछि केन्द्रले अहिले ग्यास उद्योगहरुको अनुगमन सुरु गरिसकेको छ । सबै उद्योगमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    सिंहदरबारमा मंगलबार बसेको सीसीएमसीको बैठकमा सचिव खगराज बरालले अक्सिजनको अवस्था र व्यवस्थापनका सम्बन्धमा भएका प्रयास बारे जानकारी गराएको थियो ।

    उनले काठमाडौं उपत्यका र बनेपामा रहेका सबै ९ वटा ग्यास उद्योगहरुको अनुगमन गरि विवरण संकलन गरिएको, अक्सिजन उद्योगको क्षमता वृद्धि र मर्मत कार्यमा सहजीकरण र सहयोग गर्ने,उत्पादन, भण्डारण र वितरणको तथ्यांक अद्यावधिक गर्ने काम भएको बताए ।

    त्यसैगरी अस्पतालहरुलाई अक्सिजनको न्युनतम कोटा तोकिएको तथा खाली सिलिण्डरहरु संकलन गरि उद्योगमा फिर्ता गर्ने प्रयास भईरहेको पनि उनले जानकारी दिए ।

    सिसिएमसीले सबैलाई बाँचौ र बचाऔै भन्ने मूल आशयसहित अक्सिजनको आपूर्ति, ढुवानी, प्रयोग र उपयोगमा सहयोग गर्न पनि सबैलाई आग्रह गरेको छ । सिसिएमसिले काठमाडौं उपत्यका र काभे्रेका उद्योग समेतमा गरि दैनिक ७ हजार २ सय सिलिण्डर उत्पादन रहेको बताएको छ ।

    तर अक्सिजन उत्पादक संघले भने दैनिक ९ हजार सिलिण्डर उत्पादन हुने गरेको बताईसकेको छ । संघले तत्काल बैकल्पिक उपायबाट अक्सिजनको आपुर्ति सहज बनाउन भनिसकेको छ ।

    उसले अस्पतालका लागि मात्रै ग्यास उपलब्ध गराउने सरकारको निर्णय व्यवहारीक नभएको भन्दै दीर्घरोगी र घरमै कोभिडको उपचार गराईरहेकाको लागि पनि अक्सिजनको व्यवस्था गर्न माग गरेको छ । उनीहरुका लागि अक्सिजनको व्यवस्थापन गर्न नसक्ने हो भने नागरिकस्तरबाट आउने दबाबलाई उद्योगले धान्न नसक्ने संघले जनाएको छ ।

  • सीसीएमसीद्वारा उपत्यकाका अस्पतालमा अक्सिजनको कोटा निर्धारण (सूचीसहित)

    सीसीएमसीद्वारा उपत्यकाका अस्पतालमा अक्सिजनको कोटा निर्धारण (सूचीसहित)

    काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) ले कोरोना संक्रमितको उपचार गर्न उपत्यकाका अस्पतालहरुका लागि कोटा निर्धारण गरेको छ ।

    उपत्यकाका अस्पतालहरूमा लागि तोकिए बमोजिम दैनिक न्यूनतम अक्सिजन सिलिन्डर भरेर उपलब्ध गराउन अक्सिजन उद्योगलाई सीसीएमसीले अनुरोध गरेको हो ।

    ‘हामीले अक्सिजनको अभाव नहोस् भनेर अस्पतालमा कोटा नै निर्धारण गरेका छौं । यसले आवश्यकताको आधारमा अक्सिजन उपलब्ध हुने र अभाव हुन नदिन सहज बनाउने विश्वास छ’, सीसीएमसी सचिवालयका सहसचिव नूरहरि खतिवडाले नेपाल प्रेसलाई बताए ।

    स्वास्थ्य मन्त्रालयले आजै एक सूचना निकालेर ‘मन्त्रालयको तथ्याङ्कमा आधारित रही देशभरका अस्पतालमा अक्सिजनको आवश्यकतामा आधारमा वितरण व्यवस्थापन सीसीएमसीबाट गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ’ जानकारी गराएको
    थियो ।

    कुन अस्पताललाई कति अक्सिजन सिलिन्डरको कोटा हेर्नुस् सूची:

  • अक्सिजनको व्यवस्था सीसीएमसीले गर्ने

    अक्सिजनको व्यवस्था सीसीएमसीले गर्ने

    काठमाडौं । अब कोभिड-१९ का संक्रमितको उपचारका लागि आवश्यक पर्ने अक्सिजनको व्यवस्था कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमी)ले गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले आज सूचना जारी गर्दै देशभरिका अस्पतालमा अक्सिजनको आवश्यकताको आधारमा सिसिएमसीले उपलब्ध गराउने जानकारी दिए ।

    यसअघि सङ्क्रमितका लागि आवश्यक पर्ने अक्सिजनको व्यवस्थापन अस्पताललाई मन्त्रालय गर्ने गरेको थियो । ‘मन्त्रालयको तथ्याङ्कमा आधारित रही देशभरका अस्पतालमा अक्सिजनको आवश्यकतामा आधारमा वितरण व्यवस्थापन सीसीएमसीबाट गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ’ सूचना भनिएको छ ।

    आइतवार मात्र सीसीएमसीले संक्रमितको उपचारमा आवश्यक पर्ने अक्सिजन अस्पतालमा सहज उपलब्ध गराउनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन गरेको थियो । अहिले २७ हजार ७६१ अक्सिजन सिलिण्डर रहेको छ ।

  • भारत र अमेरिकासहित १० मुलुकको उडान रोक्ने सरकारको तयारी, आन्तरिक उडान पनि बन्द गर्न सिफारिस

    भारत र अमेरिकासहित १० मुलुकको उडान रोक्ने सरकारको तयारी, आन्तरिक उडान पनि बन्द गर्न सिफारिस

    काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोनाभाइरसबाट अति प्रभावित १० मुलुकबाट नेपालसँग हुने सीधा अन्तर्राष्ट्रिय उडानमा रोक लगाउन मन्त्रिपरिषद्मा सिफारिस गरेको छ ।

    सीसीएमसीको शुक्रबार बेलुका बसेको बैठकले मुलुकभित्र कोरोनाको संक्रमण भयावहरुपमा फैलिएको निष्कर्ष निकाल्दै आन्तरिक उडान समेत बन्द गर्न सिफारिस गरेको हो ।

    नेपाल प्रेससँग कुरा गर्दै पर्यटनमन्त्री भानुभक्त ढकालले कोरोना अतिप्रभावित मुलुकहरु भारत, अमेरिका, बेलायत लगायतका दस मुलुकबाट हुने उद्गम स्थलको उडानलाई रोक लगाउन सिफारिस गरिएको बताए । उनका अनुसार ट्रान्जिट हुँदै आउने विमानमा भने यो नियम लागु हुनेछैन ।

    ‘आन्तरिक उडान पनि बन्द गरौं भन्ने प्रस्ताव भएको छ । परिस्थिती भयावह भएको निष्कर्ष रह्यो’ मन्त्री ढकालले भने ।

    सीसीएमसीले गरेका सिफारिस मन्त्रिपरिषद्को आगामी बैठकले पारित गर्ने र त्यसपछि कार्यान्वयनमा जाने बताइएको छ । भाइरसबाट अति प्रभावित भारतबाट हुने उडानमा रोक लगाउनुपर्ने सुझाव विज्ञहरुमा दिँदै आएका थिए । बैठकले भारतसँगका २२ नाका बन्द गर्न पनि मन्त्रिपरिषद्मा सिफारिस गरेको छ ।

     

  • निषेधाज्ञालाई थप कडाइ गर्ने सीसीएमसीको निर्णय

    निषेधाज्ञालाई थप कडाइ गर्ने सीसीएमसीको निर्णय

    काठमाडौं । कोभिड संकट तथा व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोनाभाइरस संक्रमणको स्थिती जटिल बन्दै गएको निष्कर्ष निकाल्दै निषेधाज्ञा लागु भएका जिल्लामा थप कडाइ गर्ने निर्णय गरेको छ ।

    शुक्रबार सिंहदरबारमा बसेको बैठकले सो निर्णय गरेको हो ।

    सीसीएमसी संयोजक एवं उपप्रधानमन्त्री इश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेका अनुसार बैंक तथा वित्तिय संस्थाहरुलाई एक चौंथाइ कर्मचारी राखेर मात्र काम गर्न दिन सिफारिस गरेको छ ।

    बैठकले सार्वजनिक निर्माणका सबै काम बन्द गर्न पनि सिफारिस गरेको छ । उद्योगहरु संचालन गर्नुपर्ने भए मजदूर र कर्मचारीलाई उद्योग परिसरभित्र नै रहनेगरि संचालन गर्न दिन समेत सिफारिस गरेको छ ।

    बैठकले नीजि अस्पतालहरुलाई कोभिड अस्पतालको रुपमा प्रयोग गर्न तयारी थाल्ने निर्णय पनि गरेको छ । सीसीएमसीको सिफारिसमाथि मन्त्रिपरिषद्को आगामी बैठकमा छलफल हुने भएको छ ।

    साथै बैठकले भारतसँग सीमा जोडिएका १३ वटा नाकामात्र खुलाउन मन्त्रिपरिषद्मा सिफारिस गरेको छ । बाँकी २२ वटा नाकालाई पूर्णरुपमा बन्द गर्न सिफारिस भएको छ ।

  • मन्त्रिपरिषद् बैठक : आन्तरिक उडान तत्काल नरोक्ने निर्णय

    मन्त्रिपरिषद् बैठक : आन्तरिक उडान तत्काल नरोक्ने निर्णय

    काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गरेका विभिन्न सिफारिसलाई परिमार्जनसहित पारित गरेको छ । आन्तरिक उडान भने तत्काल नरोक्ने मन्त्रिपरिषद्को निर्णय छ ।

    आज साँझ बसेको मन्त्रिपरिषद् बैठक कोरोना रोकथामका विषयमा केन्द्रित थियो । बैठकले सीसीएमसीले बैशाख १५ गतेदेखि आन्तरिक हवाई उडान रोक्न सिफारिस गरे पनि मन्त्रीपरिषद्ले अहिले यसबारे निर्णय नगरेको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपाल प्रेसलाई बताए ।

    ‘अहिले स्वास्थ्य मापदण्डहरु पालना गरेर उडान यथावत सञ्चालन गर्ने कुरा भएको छ,’ उनले भने, ‘पछि आवश्यक पर्यो भने अर्को निर्णय लिन सकिन्छ ।’

    सबै प्रकारका परीक्षा स्थगित गर्न सीसीएमसीले गरेको सिफारिस पनि मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ ।

    पहाडी क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० भन्दा बढी सक्रिय संक्रमित भएमा निषेधाज्ञा लगाउनुपर्ने सीसीएमसीको सिफारिस पनि मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ।

  • सरकारी कार्यालयलाई सातामा दुई दिन बिदा दिन सीसीएमसीको सिफारिस

    सरकारी कार्यालयलाई सातामा दुई दिन बिदा दिन सीसीएमसीको सिफारिस

    काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सरकारी कार्यालयमा दुई दिन बिदा दिन मन्त्रिपरिषद्मा सिफारिस गरेको छ ।

    संक्रमण रोकथामका लागि भीडभाड कम गर्न शनिबार र आइतबार बिदा दिन प्रस्ताव गरिएको जनाइएको छ । सीसीएमसीको यो प्रस्तावमाथि आज बस्ने मन्त्रिपरिषद् बैठकमा छलफल हुनेछ ।

    आवश्यक पर्ने न्यूनतम कर्मचारीलाई राखेर कार्यालय संचालन गर्न पनि सिफारिस गरिएको छ । संक्रमण उच्च भएका ठाउँमा अत्यावश्यक सेवा बन्द गर्ने समेत उल्लेख छ ।

    नीजि क्षेत्रको व्यापार तथा व्यावसायलाई बन्द गर्ने निर्णय चाहिँ जिल्ला प्रशासन कार्यालयले गर्न सक्ने अधिकार दिन भनिएको छ । निषेधाज्ञाको निर्णय संघीय सरकारले नभएर जिल्ला प्रशासनले गर्ने अधिकार दिन समेत सीसीएमसीले सिफारिस गरेको छ ।

  • सबै परीक्षाहरु रद्द गर्ने सीसीएमसीको निर्णय

    सबै परीक्षाहरु रद्द गर्ने सीसीएमसीको निर्णय

    काठमाडौं । कोरोनाभाइरसको नयाँ प्रजाति संक्रमणको जोखिम कम गर्न कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले अर्को आदेश नभएसम्मका लागि भौतिक उपस्थितीमा हुने पूर्वनिर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

    निर्णयपछि सोमबारदेखि सबै पूर्वनिर्धारित परीक्षा स्थगित हुने सीसीएमसीले जनाएको छ ।

    आइतबार बसेको सीसीएमसी बैठकको निर्णयले भौतिक उपस्थिती नभई भर्चुअल र वैकल्पिक माध्यमबाट पठनपाठन जारी राख्ने निर्णय समेत गरेको छ ।

    सीसीएमसी सचिवालय संयोजक खगराज बरालले विज्ञप्ती जारी गर्दै उक्त कुरा जनाएका छन् ।

  • गाउँमा दुई सय र सहरमा पाँच सय संक्रमित भेटिएमा निषेधाज्ञा

    गाउँमा दुई सय र सहरमा पाँच सय संक्रमित भेटिएमा निषेधाज्ञा

    काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले गाउँमा दुई सय र सहरी क्षेत्रमा पाँच सय कोरोना संक्रिमित भेटिए निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरेको छ ।

    गाउँमा दुई सय र सहरी क्षेत्रमा पाँच सय संक्रमित नाघे सम्बन्धीत जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गर्न सीसीएमसीले सरकारलाई सिफारिस गरेको हो ।

    त्यस्तै, आज बसेको बैठकले भारतसँगका सीमानाकाहरुबाट विदेशी नागरिकहरुलाई नेपाल प्रवेश गर्न रोक लगाउन सरकारलाई सिफारिस गरेको छ । बैठकले भोलिदेखि सञ्चालन हुने सबै परीक्षा स्थागित गर्न पनि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

     

  • भोलिदेखिका सबै परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिस

    भोलिदेखिका सबै परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिस

    काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले भोलिदेखि सञ्चालन हुने सबै परीक्षा स्थागित गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । पछिल्लो समय कोरोना संक्रमण दर बढिरहेकाकाले परीक्षा स्थागित गर्न सिफारिस गर्ने निर्णय भएको उपप्रधानमन्त्री ईश्वार पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।

    विद्यालयदेखि विश्वविद्यालयसम्मले सञ्चालन गर्ने सबै परीक्षा स्थगित गर्न सिफारिस गर्ने निर्णय भएको पाण्डेले बताए ।

    विद्यार्थीमा कोरोना संक्रमण देखि स्थानीय तहलाई नै लडडाउन गर्न आग्रह गर्ने पनि सीसीएमसीले निर्णय गरेको छ ।

    त्यस्तै बैठकले सीमानाकाबाट विदेशी नागरिकलाई नेपाल प्रवेशमा पनि रोक लगाउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

  • कोरोनोका दोस्रो लहर भयावह बन्दै, सीसीएमसीको बैठक बोलाइयो

    कोरोनोका दोस्रो लहर भयावह बन्दै, सीसीएमसीको बैठक बोलाइयो

    काठमाडौं । पछिल्लो स्वास्थ्य संकटबारे कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक बोलाइएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि सीसीएमसीका अध्यक्ष उपप्रधानमन्त्री ईश्वर पोखरेलले अपरान्ह बैठक बोलाएका हुन् ।

    यसअघि शनिवार प्रधानमन्त्री ओलीसहित बालुवाटारमा सीसीएमसीको विस्तारित बैठक बसेको थियो । सो बैठकमा स्वास्थ्य मन्त्रालयको प्रस्तावमाथि छलफल भएको थियो भने सीसीएमसीको तयारीबारे समेत ब्रिफिङ गरिएको थियो ।

    प्रधानमन्त्रीको आवश्यक निर्देशन र सुझावपछि बैठक बोलाइएको हो । सरकारले देशभर एकैपटक लकडाउन नगर्ने नीति लिएको छ । यसबाहेक संक्रमण नियन्त्रणका प्रभावकारी उपायबारे छलफल गरी केही क्षेत्रमा थप कडाई र केही सेवा क्षेत्र नियन्त्रित रुपमा चलाउने निर्णय हुन सक्ने बताइएको छ ।

    कोरोनाको दोस्रो लहर भयावह बन्न सक्ने भएकाले कडाइका साथ स्वास्थ्य मापदण्ड लागु गर्न प्रधानमन्त्रीले निर्देशन दिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । यही रूप जारी रहेमा धेरै गार्‍हो हुनसक्ने भएकाले अक्सिनका थप सिलिण्डर मगाउने काम भइरहेको उनले बताए ।

  • कोरोनाको नयाँ भेरियन्ट देखिएका ठाउँमा विद्यालय बन्द गर्न सिफारिस, रात्रीकालिन व्यवसायमा नयाँ मापदण्ड

    कोरोनाको नयाँ भेरियन्ट देखिएका ठाउँमा विद्यालय बन्द गर्न सिफारिस, रात्रीकालिन व्यवसायमा नयाँ मापदण्ड

    काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोनाको नयाँ भेरियन्टको जोखिम कम गर्न शहरी क्षेत्रका विद्यालय बन्द गर्न सिफारिस गरेको छ ।

    नयाँ भेरियन्ट भेटिएका ठाउँहरुमा वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन गर्न प्रस्ताव आएको र सोही अनुसार छलफल भएको पर्यटनमन्त्री भानुभक्त ढकालले बताए ।

    सीसीएमसीको बैठकमा जनस्वास्थ्य मापदण्डमा कडाइ गर्ने तथा विभिन्न सेवा सञ्चालनका बिधिबारे छलफल भए पनि कुन क्षेत्र कसरी सन्चालन गर्ने र कहाँ बन्द गर्ने भन्ने निर्णय मन्त्रिपरिषद बैठकबाटै हुने ढकालले नेपाल प्रेससँग भने ।

    मन्त्री ढकालले भने- २२/२३ वटा प्रस्तावहरु आएका छन् । सबै विषयमा छलफल भएको छ र शहरी क्षेत्रका विद्यालय विशेषगरि नयाँ भेरियन्ट देखिएका ठाउँमा वैकल्पिक विधिबाट पठनपाठन सन्चालन गर्नुपर्छ भनेर सिफारिस भएको छ । कहिलेदेखि कहिलेसम्म बन्द गर्ने भन्ने निर्णय क्याबिनेटबाट हुन्छ ।

    रात्रीकालिन व्यवसायहरुमा विगतको भन्दा कडाई गर्ने र जनस्वास्थ्यका मापदण्ड लागु भए नभएको कडा अनुगमन गर्ने बारेमा समेत सीसीएमसीमा छलफल भएको छ ।

    संक्रमणको दायर हेरेर कतिपय क्षेत्र बन्द गर्नुपर्ने हुनसक्ने बैठकका एक सहभागीले बताए । रात्रीकालिन व्यवसायका लागि अलग्गै मापदण्ड समेत बनाइने भएको छ ।

  • मन्त्रिपरिषद बैठक साँझ बस्दै, सीसीएमसीको प्रस्तावमाथि छलफल हुने

    मन्त्रिपरिषद बैठक साँझ बस्दै, सीसीएमसीको प्रस्तावमाथि छलफल हुने

    काठमाडौं । मन्त्रिपरिषदको बैठक आज साँझ बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा नियमित बैठक बस्न लागेको हो ।

    नयाँ प्रजातिको कोभिड संक्रमणको जोखिम बढिरहेका बेला नियन्त्रणका लागि सरकारले चाल्ने थप कदमबारे आजको बैठकमा छलफल हुने बताइएको छ ।

    उपप्रधानमन्त्री ईश्वर पोखरेल अध्यक्ष रहेको सीसीएमसीको शनिवारको बैठकले पछिल्लो जोखिम नियन्त्रणका लागि ११ बुँदे प्रस्ताव मन्त्रिपरिषदमा सिफारिस गरेको छ ।

    सीसीएमसीको सो सिफारिसमाथि बैठकमा छलफल हुनेछ । सीसीएमसीले काठमाडौंलगायतका शहरी क्षेत्रमा ३ साता विद्यालय बन्द लगायत अन्य नयाँ मापदण्डहरु सिफारिस गरेको छ ।

    यसबीचमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले खोप आपूर्तिका लागि भारतीय समकक्षीहरुसँग टेलिफोन संवाद गरिरहेका छन् । सरकार कोभिडको दोस्रो लहर नियन्त्रणतर्फ केन्द्रित रहेको सरकारका प्रवक्ता पार्वत गुरुङले बताए ।

  • कोरोनाको नयाँ लहर : विद्यालय , पार्टी प्यालेस, फिल्म हल बन्द गर्न सीसीएमसीलाई सिफारिस

    कोरोनाको नयाँ लहर : विद्यालय , पार्टी प्यालेस, फिल्म हल बन्द गर्न सीसीएमसीलाई सिफारिस

    काठमाडाैं । स्वास्थ्य मन्त्रालयले काेराेना भाइरसको नयाँ लहर फैलिएको भन्दै शिक्षण संस्थाहरुको प्रत्यक्ष पठनपाठन, फिल्म हल र पार्टी प्यालेस बन्द गर्न सिफारिस गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकमा सिफारिसमाथि छलफल हुने बताए ।

    नेपाल प्रेससँग कुरा गर्दै मन्त्री त्रिपाठीले भने, ‘नयाँ खाले युके भेरियन्टको असर युवाहरुमा देखियो । हामीले पठनपाठन भर्चुअल माध्यमबाट गरौं भनेर विद्यालयहरु बन्द गर्न सिफारिस गरेका छौं । वालवालिकाहरुलाई कुनै जोखिम नहोस भन्नेमा सरकार गम्भीर छ ।’

    मन्त्री त्रिपाठीले स्वास्थ्य मापदण्डमा सबै सचेत नहुने हो भने अवस्था फेरि भयावह हुने बताएका छन् । विद्यालयमात्र होइन सिनेमा हल र पार्टी प्यालेसहरु पनि बन्द गर्न सिफारिस गरिएको छ ।

  • कोरोना संक्रमण नकारात्मकतातिर जान खोज्या छ, तर स्थिति भयावह छैन: प्रधानमन्त्री

    कोरोना संक्रमण नकारात्मकतातिर जान खोज्या छ, तर स्थिति भयावह छैन: प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय कोरोना संक्रमण बढे पनि स्थिति भयावह भने नरहेको बताएका छन् ।  बुधबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीबाट प्रकाशित नेपालमा कोभिड–१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा प्रधानमन्त्री ओलीले कोभिड–१९ को संक्रमण नकारात्मकतातिर जाने लक्षण देखिएको भन्दै भयावह हुन नदिन ध्यान दिनुपर्ने बताए।

    ‘तीन दिनदेखि लक्षण फेरि नकारात्मकतातिर जान खोज्या होकी, यद्यपी स्थिति भयावह छैन तर, भयावह हुन नपाओस् भनेर हुनभन्दा अगाडि नै हामीले ध्यान दिनुपर्दछ,’ ओलीले भने, ‘अहिले स्थिति भयावह छैन । यसको अर्को जेनेरेशन चाहीँ अझ बढी खतरनाक ढंगले अर्कै प्रकृतिमा पैदा भएको छ ।’

    भाइरस पूर्ण रुपमा नियन्त्रण नगरेसम्म खतरा भइरहने प्रधानमन्त्रीको भनाइ छ। ‘हिजोको कोभिड–१९ लाई हेरेर तयार गरेको खोपले नयाँ भाइरसलाई काम गर्छ कि गर्दैन त्यो पनि थाहा छैन,’ ओलीको भनाइ छ, ‘एकपटक कडाइका साथ नियन्त्रण गरेर निर्मुल गर्नुपर्ने । खोप लगाएर निर्मुलन हुन सजिलो छैन । पूर्ण रुपमा नियन्त्रण नगरेसम्म खतरा भइरहन्छ।’

  • नेपाल र भारतका बीचमा यातायात सञ्चालन गर्न सीसीएमसीकाे सिफारिस

    नेपाल र भारतका बीचमा यातायात सञ्चालन गर्न सीसीएमसीकाे सिफारिस

    काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)ले नेपाल र भारतका बीचमा यातायात सञ्चालन गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ ।

    बिहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको सीसीएमसीको बैठकले नेपाल र भारतबीचको यातायात सञ्चालन गर्नको निम्ति मन्त्री परिषद्लाई सिफारिस गर्ने निर्णय गरेको हो ।

    नेपाल भारत यातायताका १३ वटा रुट बाट पूर्ववत् रुपमा यातायता सञ्चालनको निम्ति मन्त्रीपरिषद्लाई सिफारिस गरिएको सीसीएमसीका सचिव खगराज बरालले बताए ।

    यात्रुहरुले पूर्ण रुपमा स्वास्थ्य मापदण्ड प्रयोग गर्नुपर्ने तथा ७२ घण्टा अगाडीको पिसिआर रिपोर्ट नेगेटिभ आएका हुनुपर्ने उनको भनाई छ ।

    त्यसैगरी बैठकले नेपाल भारत सिमानामा नेपाल तर्फ भन्सार तिरेर सञ्चालन हुने भारतिय नम्बर प्लेटका यातायातका साधन पनि चलाउन दिने सिफारिस गरेको छ ।

    गत चैत्र ११ गतेदेखि नेपालका कोभिड १९ संक्रमणका कारण लकडाउन गरिएपछि नेपाल भारत यातायात हालसम्म ठप्प रहेको छ । यातायातका साधन ठप्प भएपनि सिमानाबाट हजारौँको संख्यामा दैनिक रुपमा आवत् जावत् भइरहेको सन्दर्भमा यातायातका साधन पनि चलाउनको लागि पहल गरिएको सीसीएमसीका सचिव खगराज बरालले बताए ।