Tag: सिन्धुपाल्चोक एमाले

  • सिन्धुपाल्चोक एमालेले टुंग्यायो सबै स्थानीय तहका प्रमुख-उपप्रमुखको उम्मेदवार (सूचीसहित)

    सिन्धुपाल्चोक एमालेले टुंग्यायो सबै स्थानीय तहका प्रमुख-उपप्रमुखको उम्मेदवार (सूचीसहित)

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोक एमालेले आगामी स्थानीय तह निर्वाचनका लागि बाह्रवटै स्थानीय तहका लागि उम्मेदवार टुंगो लगाएको छ । पटक–पटकको छलफलपछि शनिबार राति एमालेले सबै स्थानीय तहका उम्मेदवार टुंगो लगाएको हो ।

    एमाले सिन्धुपाल्चोकका अनुसार स्थानीय तह प्रमुख र प्रमुखका उम्मेदवारसूची यस्तो छ–

    १. बाह्रबिसे नगरपालिका

    मेयरः निमफुन्जो शेर्पा, उपमेयरः कल्याणी घिसिङ

    २. चौतारा साँगाचोकगढी नगरपालिका

    मेयरः ईन्द्रबहादुर नेपाल, उपमेयरः बालकुमारी सापकोटा

    ३. मेलम्ची नगरपालिका

    मेयरः बालकृष्ण देउजा, उपमेयरः उमा प्रधान

    ४. भोटेकोशी गाउँपालिका

    अध्यक्षः अमृत खड्का, उपाध्यक्षः सुन्तलीमाया तामाङ

    ५. त्रिपुरासुन्दरी गाउँपालिका

    अध्यक्षः मेघनाथ पौडेल, उपाध्यक्षः सविता श्रेष्ठ

    ६. लिसंखुपाखर गाउँपालिका

    अध्यक्षः सुर्य बहादुर लामा, उपाध्यक्षः कन्चन लामा

    सुनकोशी गाउँपालिका

    ७. अध्यक्षः टपिन्द्र प्रसाद तिमल्सिना, उपाध्यक्षः मन्जु भण्डारी

    ८. बलेफी गाउँपालिका
    अध्यक्षः नारायण काजी श्रेष्ठ, उपाध्यक्षः चन्द्रावती थापा

    ९. जुगल गाउँपालिका

    अध्यक्षः जयबहादुर लामा

    १०. ईन्द्रावती गाउँपालिका

    अध्यक्षः झम्कनाथ नेपाल, उपाध्यक्षः शोभना तामाङ

    ११. पाँचपोखरी गाउँपालिका

    अध्यक्षः टासी लामा, उपाध्यक्षः सुनिता अधिकारी

    १२. हेलम्बु गाउँपालिका

    अध्यक्षः हस्त बहादुर पण्डित

     

  • सिन्धुपाल्चोक एमालेको नेतृत्व छनोट टुंगियोः अध्यक्षमा नेपाल, आचार्य सचिव

    सिन्धुपाल्चोक एमालेको नेतृत्व छनोट टुंगियोः अध्यक्षमा नेपाल, आचार्य सचिव

    सिन्धुपाल्चोक । करिब एक महिना लामो प्रयासपछि सिन्धुपाल्चोक एमालेमा सर्वसम्मत नेतृत्व चयन भएको छ । अध्यक्षमण्डलले अध्यक्षमा कमल नेपालसहित पदाधिकारीको टुंगो  लगाएको हो । यद्यपि, अध्यक्षमण्डलले औपचारिकरुपमा घोषणा भने गरेको छैन ।

    अध्यक्षमण्डलले उपाध्यक्षमा रामचन्द्र बस्नेत र उपसचिवमा शुशीला पाख्रिन र चिरन तामाङलाई चयन गरेको बताइएको छ ।

    पुस २३ गते बाह्रविसेमा एमाले सिन्धुपाल्चोकको नवौं जिल्ला अधिवेशनको उद्घाटन भएको थियो । त्यसपछि विभिन्न कारण नेतृत्व चयन हुन सकेको थिएन ।

    सिन्धुपाल्चोक एमाले अध्यक्षका लागि नेपालसहित केदार क्षेत्री, बालकृष्ण देउजा, होमनारायण श्रेष्ठ र डोल्मा तामाङले उम्मेदवारी दिएका थिए ।

  • सिन्धुपाल्चोक एमालेमा ‘गुटको धङधङी’ कायमै, एक महिनासम्म पनि नेतृत्व छनोट हुन सकेन

    सिन्धुपाल्चोक एमालेमा ‘गुटको धङधङी’ कायमै, एक महिनासम्म पनि नेतृत्व छनोट हुन सकेन

    सिन्धुपाल्चोक । नेकपा एमाले सिन्धुपाल्चोकको अधिवेशन सुरु भएको एक महिना पूरा भयो । तर अझै आन्तरिक विवादका कारण नेतृत्व छनोट हुन सकेको छैन । पुस २३ गते बाह्रविसेमा एमाले सिन्धुपाल्चोकको नवौं जिल्ला अधिवेशनको उद्घाटन भएको थियो ।

    अधिवेशन उद्घाटनलगतै अध्यक्षमण्डलको तर्फबाट एमाले स्थायी कमिटी सदस्यसमेत रहेका शेरबहादुर तामाङले माघ २ गतेभित्र अधिवेशन सम्पन्न गरेर मेलम्चीमा नयाँ नेतृत्व घोषणा गर्ने बताएका थिए ।

    अध्यक्षमण्डलको निर्णयअनुसार प्राय सबै स्थानीय तहले आफूले पाएको संख्याअनुसार जिल्ला कमिटी सदस्यहरु सर्वसम्मतरुपमा छनोट गरेपनि पदाधिकारीहरुमा भने अझै सहमति हुन सकेको छैन । सहमति नभए निर्वाचनमार्फत नेतृत्व चयन गर्ने अध्यक्षमण्डका अध्यक्ष तामाङले जानकारी गराएका थिए ।

    उद्घाटन भएको एक महिनासम्म नेतृत्वमा सहमति हुन सकेको छैन भने निर्वाचनमा जान पनि केन्द्रीय नेताहरु अनिच्छुक देखिएको अध्यक्षका दाबेदार मध्येका एक केदार क्षेत्रीले जानकारी दिए । ‘हामीले सर्वसम्मत् होस भनेर अध्यक्षमण्डललाई नै सबै अधिकार दिएर उम्मेदवारी फिर्ता लिएका छौं तर अहिलेसम्म नेतृत्व छनोट हुन सकेन ।’ क्षेत्रीले भने ।

    अध्यक्षका लागि कमल नेपाल, केदार क्षेत्री, होमनारयण श्रेष्ठ, बालकृष्ण देउजा र डोल्मा तामाङले उम्मेदवारी दर्ता गराएका थिए । तर सर्वसम्मतरुपमा नेतृत्व छनोट गर्ने एमाले नेताहरुले भनेपछि अध्यक्षका सबै उम्मेदवारहरुले उमेदवारी फिर्ता लिएका थिए । एमाले केन्द्रीय कार्यालयमा दिनहुँजसो एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, पोलिटब्युरो सदस्य अरुण नेपाल, केन्द्रीय सदस्य सरेश नेपाल र अध्यक्षका उम्मेदवारहरुबीच बैठक हुने गरेपनि सहमति नभएको अध्यक्षका अर्का उम्मेदवार कमल नेपालले जानकारी दिए ।

    अध्यक्षमण्डलका सदस्य एवम एमाले पोपलटब्युरो सदस्य अरुण नेपाल भने आफूहरुले धेरै प्रयास भएपनि सहमति भइनसकेको बताउँछन् । ‘हामी आज पनि छलफलमा नै बस्छौं, भए सहमति नभए निर्वाचनको माध्यमबाट भएपनि नेतृत्व छनोट गछौं’, नेपालले भने, ‘अहिले पनि चुनावको विकल्प बाँकी नै छ ।’

    अध्यक्षका पाँच उम्मेदवारमध्ये डोल्मा तामाङले अध्यक्षमण्डलले गर्ने निर्णय स्वीकार गरेर जाने बताएकी छन् भने केदार क्षेत्रीले सर्वसम्मत हुने हो भने आफ्नो समर्थन कमल नेपाललाई भएको बताएका छन् । त्यस्तै अर्का उम्मेदवार होमनारयण श्रेष्ठले आफ्नो समर्थन बालकृष्ण देउजालाई रहेको बताएको अध्यक्षमण्डलका एक सदस्यले जानकारी दिए ।

    ‘अध्यक्षका पाँच उम्मेदवारबाट अब कमल नेपाल र बालकृष्ण देउजा मात्रै हुनुहुन्छ, छलफलको घेरा साँघुरिएको छ, बेलुकीसम्म सहमति हुन्छ होला’, एमाले पोलिटब्युरो सदस्य अरुण नेपालले भने ।

    अध्यक्षमण्डका तीन सदस्य र अध्यक्षका उम्मेदवारहरुबीचमा मात्रै छलफल भए पनि वागमती प्रदेश कमिटीका सदस्य रहेका युवा संघका नेता अशोक चौलागाईलाई समेत बैठकमा राखेपछि भने अध्यक्षका अन्य उम्मेदवार र अध्यक्षमण्डलका अन्य सदस्यहरुले समेत आपत्ति जनाएका थिए । ‘उहाँको सम्बन्ध माथिसम्म होला तर यहाँ सीमित नेताहरु बीचमा भएको छलफलमा उहाँलाई कसरी ल्याइयो ?’ अध्यक्षका दाबेदार केदार क्षेत्रीले भने ।

    नेता चौलागाई भने आफू ‘बालकोट’को प्रतिनिधि भन्दै बैठकमा सहभागी भएको बताएका छन् । अध्यक्षमा सहमति नजिकै पुगेको जस्तो भएपनि उपाध्यक्ष, सचिव र दुई उपसचिवमा नेताहरुबीच सहमति हुन सकेको छैन ।

    एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ र चौलागाईले अध्यक्षमा १० बुँदे पक्षधरबाट कमल नेपाल हुने हो भने उपाध्यक्ष, सचिव र उपसचिवमा आफूहरुको पक्षबाट आउनुपर्ने अडान बैठकमा राखेका छन् ।

    अध्यक्षका उम्मेदवार कमल नेपाललाई टेलिफोन गरेर चौलागाईले ‘बालकोटले जसरी पनि बालकृष्ण देउजालाई अध्यक्ष बनाउनु भनेर हामी निर्देशन छ, तर हामीले भुगोलको पनि अवस्था हेरेर लचिलो भएका छौं, अन्य तीनजनाको सवलामा तपाईंहरु सकारत्मक हुनहोस्’ भनेर भनेका छन् ।

    तर अध्यक्षका उमेदवार नेपालले भने त्यसलाई अस्वीकार गरेका छन् । ‘पदाधिकारी छनोट गर्दा भौगोलिक, जातीयलगायतलाई पनि हेर्नुपर्छ, बालकोटको ‘इन्ट्रेस्ट पनि त्यहीं हो भने तपाईंहरुलाई जे मन लाग्छ त्यहीं गर्नुहोस्’ भनेर आफूहरु बैठकबाट बाहिरिएको नेपालले जानकारी दिए ।

  • सिन्धुपाल्चोक एमाले अध्यक्षका लागि पाँचजनाको उम्मेदवारी, पदाधिकारीमा क–कसले दिए ?

    सिन्धुपाल्चोक एमाले अध्यक्षका लागि पाँचजनाको उम्मेदवारी, पदाधिकारीमा क–कसले दिए ?

    सिन्धुपाल्चोक । नेकपा एमाले सिन्धुपाल्चोकको अध्यक्ष पदका लागि पाँचजनाले उम्मेदवारी दिएका छन् । नवौं जिल्ला अधिवेशनअन्तरगत नेतृत्व चयनका लागि सुरु भएको चुनावी प्रक्रियमा अध्यक्षका लागि अहिलेका सचिव कमल नेपाल, नेताहरु केदार क्षेत्री, बालकृष्ण देउजा, होमनारायण श्रेष्ठ र डोल्मा तामाङले उम्मेदवारी दिएका हुन् ।

    त्यस्तै दुई उपाध्यक्षका लागि चारजनाको उम्मेदवारी परेको छ । जसमा जेपी सिलवाल, मित्रलाल चौलागाइँ, उमा प्रधान र चन्द्र थिङ रहेका छन् । त्यस्तै एक सचिवका लागि आठजनाले उम्मेदवारी दिएका छन् । रामचन्द्र बस्नेत, सोमर बम्जन, विष्णुमणि आचार्य, कृष्णगोपाल तामाङ, अर्जुनकुमार भण्डारी, फइन्द्र तामाङ, यज्ञ सापकोटा र नेत्र पौडेलले सचिवका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

    दुई उपमहासचिवका लागि नौजनाले उम्मेदवारी दिएका छन् । रामबहादुर सुनार, कुष्माखर नेपाल, निर्मल बञ्जरा, चिरन तामाङ, सुशीला पाख्रिन, राजकुमार सुवेदी, रामचन्द्र नेपाल, शिवहरी सापकोटा र डबले लामाले उपसचिवका लागि उम्मेदवारी दिएका हुन् ।

    त्यस्तै सदस्यका लागि एक सय ७४ जनाको उम्मेदवारी परेको सिन्धुपाल्चोक एमालेले जनाएको छ ।

    २३ गते उद्घाटन भएको सिन्धुपाल्चोक एमालेले नेतृत्व चयनका लागि आजदेखि चुनावी प्रक्रिया सुरु गरेको हो । पाँचजनाको उम्मेदवारी परे पनि सहमतिमै नेतृत्व चुन्ने प्रयास भइरहेको सिन्धुपाल्चोक एमाले इन्चार्ज शेरबहादुर तामाङले बताए ।

    उम्मेदवारी दिनेहरुले भने चुनावको सामना गर्ने तर सहमतिका नाममा कसैले घोषणा गरेको नाम नस्वीकार्ने बताइरहेका छन् ।

    अध्यक्षका उम्मेदवार नेपाल यसअघिका सचिव हुन् भने केदार क्षेत्री वाग्मती प्रदेश सदस्य एवम् बलेफी गाउँपालिकाका अध्यक्ष हुन् । जुगल गाउँपालिकाका अध्यक्ष श्रेष्ठ गाउँपालिका राष्ट्रिय महासंघका समेत अध्यक्ष हुन् । उनी यसअघि जिल्ला अध्यक्षमा झम्क नेपालसँग पराजित भएका थिए । बालकृष्ण देउजा भूमिहीनको पक्षमा आवाज उठाउने नेताका रुपमा परिचित छन् ।

  • सुवास कर्माचार्यको राष्ट्रिय चर्चा र सिन्धु एमालेभित्रको वास्तविक कथा

    सुवास कर्माचार्यको राष्ट्रिय चर्चा र सिन्धु एमालेभित्रको वास्तविक कथा

    गत कात्तिक १३ गते नेकपा एमाले सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क मञ्चले दशैं, तिहार, छठ, नेपाल संवत आदि पर्वहरूलाई लक्षित गर्दै शुभकामना आदानप्रदान कार्यक्रम राख्यो । प्रमुख अतिथि थिए, पार्टी अध्यक्ष केपी ओली ।

    उक्त कार्यक्रममा एमाले सिन्धुपाल्चोकका अधिकांश नेताहरूले आ-आफ्नो विचार पस्के । तीमध्ये एक थिए सुवास कर्मचार्य । उनले पनि पार्टी अध्यक्ष भन्दा पनि २/४ कदम अघि बढेर उग्र क्रान्तिकारी भएर भाषण गरे ।

    हिजो के भएको थियो त्यो सबै बिर्सनुपर्छ । नेकपाकाल अनि एमाले विभाजन हुने बेलाको घटनालाई बिर्सनुपर्छ भन्ने उनको आशय थियो, किनकी त्यसबेला उनी एमालेको मूलधारको विपक्षमा थिए ।

    उनले पद भनेको गौण कुरा हो, आन्दोलनमा लाग्नु या पार्टीको मूल प्रवाहमा रहनु महत्वपूर्ण विषय हो भनेका थिए । र, उनले एउटा महत्वपूर्ण कुरासमेत गरे । हामीहरू अब सामाजिक सञ्जालबाट पार्टी अन्तरविरोधको कुरा गर्ने छैनौं र गर्नु हुन्न । एकअर्कालाई खुइल्याउने अनि विगतका कुराहरू लेख्ने छैनौं । जे गर्ने परे पनि बैठकबाटै गर्नेछौं ।

    तर, एक महिना नबित्दै उनी आफैंले सामाजिक सञ्जालबाट विद्रोहको कुरा गरे । उनले मंसिर १६/१७ तिर एउटा स्टाटस हाले ‘अन्याय र अपमानविरुद्ध विद्रोह मानिसको नैसर्गिक अधिकार हो’।

    केही घण्टाको अन्तरालमा आफैं स्टाटस डिलिट गरेका उनले फेरि पुस ११ गते अपरान्ह फेसबुकमा अर्को स्टाटस लेखे । ‘नेकपा एमालेसँगको ४० वर्षभन्दा लामो राजनीतिक यात्रा समाप्त भएको घोषणा गर्दछु । उनले त्यो स्टाटस पनि मेटिसके ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेजस्तै- हिजो प्रचण्ड माधवहरूले डढेलो लगाएर हिँडेपछि पलाएका पालुवा नै भोलिको एमालेका वास्तविक शक्ति हुन् । पटक-पटक अवसर दिगएर सुवास कर्माचार्यमाथि पार्टीले जुन अन्याय गरेको थियो, अब त्यसबाट उनी मुक्त भएका छन् र सिन्धुको राजनीतिक आकाशमा नयाँ तारा उदाउनेछन् ।

    कर्माचार्यको पछिल्लो फेसबुक स्टाटसले राष्ट्रिय मिडियामै ठूलो कभरेज पाएपछि अहिले उनी चर्चामा छन् । कतिपय मिडियाले एमालेलाई कमजोर पार्न महत्वपूर्ण कडीका रूपमा सुवास कर्माचार्यलाई मरमसला गरेर बेचिरहेका छन् ।

    कतिपय मिडियाका समाचार र त्यहाँ सुवास कर्माचार्यलाई दिइएको स्थान हेर्दा लाग्छ- उनको एमाले परित्याग माधव नेपालहरूको एमालेबाट पलायन भएको भन्दा ठूलो घटना हो । अनि सुवास कर्माचार्यजस्ता विलक्षण प्रतिभालाई एमालेले घोर अन्याय गरेकाले देशभरी प्रभाव पार्न सकिन्छ जसरी मिडियामा स्पेस दिइरहेका छन् ।

    वास्तविकता के हो त ? जिल्लाका एउटा नेताले पार्टी छाड्दा भएको राष्ट्रिय चर्चाले एकोहोरो स्थान पाएपछि केही बोल्नैपर्ने भयो । कर्माचार्यको बारेमा एकपटक सामान्य चर्चा गरौं ।

    के सुवास कर्माचार्य साँच्चिकै पीडित हुन् ?

    पनौती काभ्रे पुर्ख्यौली थातथलो भएका कर्मचार्य २०३७/३८ सालदेखि नै सिन्धुपाल्चोकमा विद्यार्थी राजनीतिमा सक्रिय थिए। अनेरास्ववियु सिन्धुपाल्चोकको झन्डामुनि गोलबद्ध हुँदै वामपन्थी आन्दोलनमा होमिएका थिए ।

    २०४९ सालमा डम्बरबहादुर अर्याल सचिव उनी उपसचिव भए। त्यो बेलामा एमालेमा बहुपदीय व्यवस्था थिएन । सचिव नै पार्टी प्रमुख हुन्थे भने उपसचिव दोस्रो व्यक्ति । अरु पदाधिकारी हुँदैन थिए ।

    उनी सदरमुकामको वासिन्दा । डम्बर अर्याल मेलम्चीको बासिन्दा । उपसचिव भए पनि सचिवको काम धेरै जसो उनले नै गरे । पार्टी बैठक, भेला, र प्रशिक्षण, औपचारिक कार्यक्रममा अध्यक्षता ग्रहण गर्ने काम डम्बर अर्यालबाट हुन्थ्यो । अरु सांगठानिक तथा राजनीतिक काम उनैले गर्थे ।

    जसले चारपटक संसदीय टिकट (दुईपटक संविधानसभा र दुईपटक प्रतिनिधिसभा) मा पायो त्यो व्यक्ति अन्यायमा परेको मान्ने हो भने एमालेले सधैँ सुवासलाई मात्र अवसर दिएर अन्याय गरेकै हो ।

    २०५७ देखि २०६६ पुस सम्म करिव १० वर्ष उनी जिल्ला सचिव भए अर्थात उनी सिन्धुपाल्चोक एमालेको प्रमुख नेता बने । उनको हालिमुहाली त मज्जाले नै चल्यो । उनकै कार्यकार्लमा कयौं कार्यकर्ताहरू माओवादीको अपहरणमा परे । गाउँमा बस्न नसकेर विस्थापित भए । केहीको त हत्या समेत गर्‍यो उनले खासै कार्यकर्ताको संरक्षणसमेत गर्न सकेनन् । बरु आफ्नो संरक्षणमा उनले पदलाई प्रयोग गरे ।

    अहिले आफू जिल्लाकै सहकर्मी नेता कमरेडहरूबाट अन्याय र पेलानमा परेको भनेर राष्ट्रिय चर्चा कमाइरहेका कर्माचार्यले आफू पार्टीको हालीमुहालीमा रहको बेला सहकर्मीमाथि कतिसम्म अत्याचार र दमन गर्थे भन्ने केही उदाहरण हेरौं ।

    १. सुवास कर्मचार्यको दमनचक्र यति चलेको थियो कि २०६० को सुरूआतमा पार्टीमा जिम्मेवारी नपाएर सरेश नेपालले झन्डै झन्डै पार्टी छाड्नु परेको थियो ।

    २. सुवासकै समकालीन नेता बालकृष्ण देउजाले त केही समय एनजीओमा समेत काम गर्न जानुपरेको थियो । तीनै देउजाले एक वर्षअघि प्रचण्ड माधव समूहले नेकपा विभाजन गरेपछि सुवास कर्माचार्यहरू पार्टीविरुद्ध लागेको संकटको बेला सिन्धुपाल्चोकको अध्यक्ष बनेर पार्टी जोगाए ।

    ३. २०६६ सालमा हस्त पण्डितले पुस्ता हस्तान्तरणको एजेन्डा लिएर जिल्ला अधिवेशनमा गैररहदा, हस्त पण्डित सर्वसम्मत अध्यक्ष हुने लगभग पक्का भयो । जब आफ्नो दाल नगल्ने देखे त्यसपछि उनले हस्तलाई सर्वसम्मत हुन दिएनन् । किनकी उनी अरुको अस्तित्व स्वीकार नगर्ने असहिष्णु नेता हुन् ।

    ४. ३ वर्ष जिल्ला अध्यक्ष भएका हस्त पण्डितलाई उनले विभिन्न बहानामा सहज ढंगले काम गर्न दिएनन् । किनकी उनको हालिमुहाली चल्न पाएन ।

    ५. पछि आफैले जे भने पनि मान्ने एसम्यान खोज्ने क्रममा उनले झम्क नेपाललाई अध्यक्ष बनाए । झम्क नेपाल अहिलेसम्म अध्यक्ष छन् तर अध्यक्ष हुँ भन्ने भान नेपालले अहिलेसम्म दिन सकेका छैनन् र सुवासको छायामा नै रमाइरहेका छन् ।

    ६. स्थानीय तहको निर्वाचन नभएको भए, होमनारायण श्रेष्ठहरूले टाउको उठाउन पाउथेनन् । जुगल गाउँपालिका अध्यक्ष तथा गाउँपालिका महासंघका केन्द्रीय अध्यक्ष होमनारायण जस्ता नेतालाई उनले आफ्नो प्रभाव रहेको जिल्ला कमिटीमा १२५ भित्र पनि अटाउन दिएनन् ।

    ७. सुवास कर्माचार्यलाई अहिले मिडियाले हिरो बनाउने क्रममा एमालेले अन्याय गरेको र अवसर नदिएको भनिरहेका छन् । अन्याय र अवसर नदिएको भन्ने परिभाषा अब सायद बदल्ने होला ।

    जसले चारपटक संसदीय टिकट (दुईपटक संविधानसभा र दुईपटक प्रतिनिधिसभा) मा पायो त्यो व्यक्ति अन्यायमा परेको मान्ने हो भने एमालेले सधैँ सुवासलाई मात्र अवसर दिएर अन्याय गरेकै हो ।

    २०५१ देखि २०७० सम्म करीव २० वर्ष सुवासले मात्र टिकट पाए जसमा एकपटक २०५६ मा जिते भने बाँकी तीन चुनावमा सानदार पराजय भोगे । सधैँ आफैँले टिकट पाउँदा आफू सरहका कमरेडहरूमाथि अन्याय भएको उनले कहिल्यै महसुस गरेनन् । बरु म टिकटका लागि जन्मेको हुँ, अरु चाहिँ मलाई नेता बनाउनका लागिमात्र हुन् भन्ने सोचे ।

    ८. सुवास कर्माचार्यले आफूलाई चुनौती हुन सक्ने कार्यकर्तालाई कोपिलामै कसरी निमोठ्छन् भन्ने दुईवटा उदाहरणमात्र काफी छन् । २०५९ सालमाा अनेरास्ववियुको जिल्ला सम्मेलन लामोसाँघुमा हुँदै थियो । जिल्ला अध्यक्ष हुने पक्कापक्की थियो प्रमोद न्यौपानको । उनी सम्मेलन आयोजक कमिटीका संयोजक थिए । तर, सुवासले उनलाई अध्यक्ष नै बन्न दिएनन् । तत्कालीन समयमा सिन्धु विद्यार्थी आन्दोलनको परिदृष्यमा समेत नरहेका विष्णुमणि आचार्यलाई अध्यक्ष बनाए । प्रमोद न्यौपानेले राजनीति नै छोडे । अहिले पत्रकारितामा मज्जाले जमेका छन् ।

    अर्को उदाहरण हुन् दीपक सुवेदी । अखिलको १५ औं राष्ट्रिय सम्मेलनमा जिल्लाबाट प्रतिनिधि अनि रापसका उम्मेदवार थिए दीपक सुवेदी । उनले राजेन्द्र राईलाई होइन भक्त गुरुङलाई अध्यक्ष बनाउनुपर्छ भनेर लागे । त्यसको बदलामा दीपकलाई रापस हराउन सुवास कर्माचार्यले उर्दी जारी गरे । र, उनलाई आजको दिनसम्म पछिसम्म पार्टीको जिम्मेवारीबाट वञ्चित गरियो ।

    हो, सुवास कर्मचार्यजत्तिको राजनीति योगदान गरेको मान्छे पार्टीको केन्द्रीय सदस्य बन्नुपथ्र्यो । संख्या कम आकांक्षी धेरै हुँदा उनी बन्न सकेनन् । उच्च तहका नेताहरूले ब्यवस्थापन गर्ने वचन समेत दिएका थिए । त्यो चिज विस्तारै कार्यान्वयन हुने थियो । तर, उनले उक्त पद हाताहाती नै खोजेको हुँदा तत्काल नपाएका हुन् । ४०औं वर्ष राजनीति गरेको मान्छेले यस्तो कुरा त बुझ्नुपर्ने हो ।

    तर, अर्को कुरा के पनि सत्य हो भने सुवासभन्दा धेरै सिनियर नेताहरू आजसम्म केन्द्रीय कमिटीमा नपुगेरै पनि एमालेको राजनीतिमा उनीभन्दा बफादार भएर लागेकै छन् । जिल्लाकै कुरा गर्ने हो भने उनीभन्दा जुनियरलाई पार्टीले माथि लगेको पनि छैन ।

    अमृत बोहरा, अरुण नेपाल, शेरबहादुर तामाङ पहिले देखि नै केन्द्रमा थिए । सरेश नेपाल केन्द्रीय लेखा आयोगको सदस्य थिए । उनले कसको रिस गरेका हुन् ? के यी व्यक्ति सुवासभन्दा कम हुन् ? उनीहरूलाई नबनाएर सुवासलाई बनाउनुपर्ने थियो ? यस्ता तर्कको कुनै अर्थ छैन ।

    उनले झै पद नपाएको भन्दै सिन्धपाल्चोक एमालेका होनहार नेता, अग्रज व्यक्तिहरू जगन्नाथ आचार्य, मेघनाथ पौडेल, धर्मकृष्ण श्रेष्ठ, माधव पाण्डे आदिले पार्टी छाडेका भए सुवास कर्माचार्यले न त सांसदको चुनाव जित्थे न त पार्टीको नेतृत्व पाउँथे ।

    संसदीय चुनावको टिकट होस् वा पार्टीको पद सधैँ मैलेमात्र पाउनुपर्छ भन्ने उनको सोच नै अहिलेको आत्मघाती विद्रोहको कारक हो । यस्तो प्रवृतिको विसर्जन एकदिन अनिवार्य नै हुन्छ । सुवास कर्माचार्यले उपयुक्त समयमा विसर्जनवादको बाटो अँगाले । कम्तीमा केन्द्रीय सदस्य पद नपाएकै कारण उनले पार्टी छाडेको भनेर सिन्धुपाल्चोकका कार्यकर्ता र जनतामा यो कुरा स्थापित भयो । एउटा पदका लागि पार्टी छाड्ने व्यक्तिलाई अहिलेसम्म नेता मानेर हिँडिएछ भनेर उनको पछि लागेकाहरूलाई पश्चाताप गर्ने मौका पनि दिएका छन् कर्माचार्यले ।

    र, अन्त्यमा

    यो समय बितेर जानेछ । निजले एमाले पार्टी छोडे भनेर कोहि उत्पातै खुसी र कोही चाहिँ लौ बर्बादै हुने भयो भनेर दुःखी हुनु जरुरी छैन । पद, प्रतिष्ठा र पावरबिना बाँच्नै नसक्ने एउटा पात्रको आत्मघाती विद्रोहले नकारात्मक भने पनि योगदान नै हुनेछ ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेजस्तै- हिजो प्रचण्ड माधवहरूले डढेलो लगाएर हिँडेपछि पलाएका पालुवा नै भोलिको एमालेका वास्तविक शक्ति हुन् । पटक-पटक अवसर दिगएर सुवास कर्माचार्यमाथि पार्टीले जुन अन्याय गरेको थियो, अब त्यसबाट उनी मुक्त भएका छन् र सिन्धुको राजनीतिक आकाशमा नयाँ तारा उदाउनेछन् ।

    आउनेलाई स्वागत, जानेलाई बिदाई । राजनीतिमा यस्तै हो ।

    (देउजा नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटी सदस्य हुन् ।)

  • सिन्धुपाल्चोकमा एमालेको आक्रामक अभियान, सिंगो बस्तीका सबै एमालेमा प्रवेश

    सिन्धुपाल्चोकमा एमालेको आक्रामक अभियान, सिंगो बस्तीका सबै एमालेमा प्रवेश

    सिन्धुपाल्चोक । कात्तिक ६ गते सिन्धुपाल्चोकका १०३ वडामा एकैसाथ अधिवेशनको तयारीमा रहेको नेकपा एमालेले त्यसको पूर्वसन्ध्यामा विभिन्न वडाका बस्ती–बस्तीमा पुगेर भेटघाट तथा छलफल गरिरहेको छ । जसक्रममा बलेफी गाउँपालिका– ७ चिम्लीङमा भएको भेलामा सिंगो बस्तीका सबै नै एमालेमा प्रवेश गरेका छन् ।

    यसअघि माओवादी केन्द्रमा रहेका दलित बस्तीका सबै स्थानीय एमालेमा प्रवेश गरेका हुन् । शुक्रबार बिहान दलित बस्तीमा भएको भेटघाट र छलफलपछि सबै नै एमालेको विचार र सिद्धान्तप्रति प्रतिबद्ध हुँदै एमालेमा प्रवेश गरेको नेकपा एमाले वागमती प्रदेश कमिटीका सदस्य एवम बलेफी गाउँपालिका अध्यक्षसमेत रहेका केदार क्षत्रीले जानकारी दिए ।

    दलित बस्तीमा रहेका करिब ५० जना एमालेमा प्रवेश गरेका थिए । माओवादी केन्द्रमा रहेका उनीहरु सबै एमालेमा प्रवेश गरेपछि बलेफी–७ मा आफूहरुको संगठन अब पहिलाको भन्दा झन् बलियो भएको क्षेत्रीले बताए ।

    नवप्रवेशीहरुलाई क्षत्रीले खादा, अबिर लगाएर एमालेमा प्रवेश गराएका थिए । एमाले भित्रको अन्तरविरोध साम्य भएपछि बलेफीका विभिन्न वडाहरुबाट कांग्रेस, माओवादीलगायतका दलबाट एमालेमा हालसम्म करिब ३ सय प्रवेश गरेको क्षत्रीले दाबी गरे ।

    वडा अधिवेशनमा पनि सबै वडाहरुबाट विभिन्न पार्टी परित्याग गरेर एमालेमा प्रवेश गर्नेहरुको सूची लामो रहेको अध्यक्ष क्षत्रीले बताए ।

    पार्टीमा समस्या हुँदा केही समय आफूहरु पार्टीको काममा सक्रिय हुन नपाएको र अहिले नेकपा एमाले एकताबद्ध भएपछि एकताको सन्देश लिएर गाउँगाउँमा पुग्दा स्थानीय उत्साही भएको क्षत्रीले बताए ।