झापा कारागारमा रहेका कैदीबन्दीले बुधबार सिन्धुपाल्चोकस्थित हेम्लबू गाउँपालिकाका बाढी पीडितका लागि ५० हजार १ सय नगद पठाइदिएका छन् ।
वर्षायामको शुरुआती दिनमै सिन्धुपाल्चोकमा बाढी पहिरोका कारण ठूलो धनजनको क्षति भएपछि पीडित परिवारलाई राहतस्वरुप सहयोग गर्ने उद्देश्यले सो नगद रकम कैदीबन्दीले पठाइदिएका हुन् ।
‘परिस्थितिले हामी जहाँ रहे पनि जस्तो रहे पनि मानवीय संवेदना हुनुपर्छ,’ कारागार झापामा कैदीबन्दीतर्फको आन्तरिक प्रशासन प्रमुख शेरबहादुर थेबेले भने, ‘सिन्धुपाल्चोकका बाढी पीडितको पीडामा मलमपट्टि पुगोस् भनेर हामीले एक दिनको छाक कटाएर सहयोग पठाएका हौँ ।’
कैदीबन्दीले जम्मा गरेको रकम बुधबारै पालिकाको विपद् राहत कोषको खातामा जम्मा गरिदिएको जिल्ला कारागार झापाका प्रमुख राजेन्द्र गौतमले बताए । कारागारमा ७६ महिला र एक हजार १४६ पुरुष कैदीबन्दी रहेका छन् ।
सिन्धुपाल्चोक । बाँसको चित्राले वरिपरि बेरिएको अस्थाई आवासको एक छेउमा फलामे चुल्होको अँगेनो छ ।
छेउमा लहरै राखिएका छन् भाँडावर्तन । नजिकै सुकाएर राखिएका छन् साना बच्चाका कपडा । गोठको साँघुरो कुनामा आलु यत्रतत्र छरिएका छन् । सँगै बाँसको चित्रा ओच्छ्याइएको छ ।
चित्रामाथि पातलो चाइनिज ब्ल्याङ्केट ।
चुल्होको छेउमै बसिरहेकी छन्, मीना तामाङ । काँखमा सात महिनाको दूधे बालकलाई फकाइफुल्याइ गरिरहेकी छन् । सामुन्यमा दुई नाबालक छोरी एकोहोरो आमाको मुखमा हेरिरहेका छन् । मीनाका श्रीमान् हेलिकोप्टेरमा राहत आएको थाहा पाएपछि उतै लागेका थिए ।
मीनाको परिवार अस्थाइ गोठभित्र यसरी बसेको पनि २२ दिन बितिसक्यो । गोठमूनि निरन्तर बगिरहने याङग्री खोला अनि गोठमाथि डरलाग्दो भीर । यही डर र कष्टपूर्ण ढंगले उनीहरूको दैनिकी बितिरहेको छ ।
१ असार । त्यो दिन सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका, हेलम्बु पाँचपोखरी थाङपाल गाउँपालिकाको लागि कालो दिन हुन पुग्यो । अविरल वर्षासँगै मेलम्ची नदी उर्लेपछि नदी आसपासका बस्ती नै सखाप पार्याे ।
बाढीले याङरी,लार्के र इन्द्रावती उर्लेर आउदा पाँचपोखरी थाङपाल गाउँपालिकाको सडक सम्बन्धसमेत टुट्यो । र, सुनिचौरका १७ घरपरिवार विस्थापित भए । त्यही मध्येकी एक हुन् मीना । उनको बाढीले न घर रह्यो न, खेतबारी । उसो त घरबाट केही पनि निकाल्न नपाउँदाको पीडाले उनलाई पोलिरहन्छ ।
वस्तीमा त्यहाँ अहिले विद्युत छैन । फोन सम्पर्क छैन । ‘हेलिकोप्टेरबाहेक यहाँ खाद्यान लगायत राहातका सामग्री लैजानका अरु कुनै विकल्प छैन,’ वडा अध्यक्ष पासाङ तामाङ सुनाउँछन् ।
अर्की बाढीपीडित माइली तामाङ त्यो दिन सम्झँदा भक्कानिन्छिन् । ‘हामी डरैडरमा बाच्यौं । बाढी गएपछि खानका लागि केही पनि थिएन । उद्धार र राहतको लागि मानिसहरू आउँदा भगवान आएजस्तो भयो,’ उनी सुनाउँछिन् ।
कर्मायान्चेन तामाङ खोलाले आफ्नो बगाएको आफ्नो जायजेता सम्झँदै सुँक्सुकाउँछिन् । ‘दुःखले बनाएको घर र अलि अलि भएको अन्नपात/लुगाफाटा पनि सबै बगायो,’ उनी दुःखेसो पोख्छिन् ।
सुलिचौरका १७ परिवार अहिले एक्लिएका छन् । एक सय घर पूर्ण क्षति र पाँच सय जना विस्थापित छन् ।
गाउँपलिका अध्यक्षको टोलीले केही खाद्यान, टेण्ट र पाल लगिदिएपछि अहिले जसोतासो पीडितहरूले रात काटिरहेका छन् ।
५ सय बिस्थापित
असार १ गतेको बाढीले याङरी खोलाको बाढीले पाँचपोखरी थाङपाल गाउँपालिकाको याङरी,दलित बस्ती,सुचनौर,छोटुक्पा,मैयाखर्क लगायतका बस्तीका स्थानीयका घरखेत बगाएको छ ।
त्यस्तै लार्के खोलाले लार्के,काजीबगैचा, लगायतका बस्तीमा क्षती पुर्याएको छ ।
दुवै नदि मिसिएपछिको इन्द्रावती खोलाले चिलाउनेको महाकाल, लर्काे बेसी तिपेनी लगायतका बस्तीमा ठुलो समस्या बनाएको गाउँपालिका अध्यक्ष टासी लामा ह्योल्मोले जानकारी दिए ।
प्रत्यक्ष रुपमा सय परिवार बिस्थापित भएका छन् तर सडक सम्बन्ध टुटेपछि ६\७ सय परिवार नै समस्यामा रहेको अध्यक्ष लामाले बताए ।
हामी अहिले सबै सडक सञ्जालबाट टाढिएका छौ,विकट बस्तीमा हेलिकोप्टरबाहेक अन्य कुनै पिकल्प नै छैन उनले भने–‘स्थानीय सरकारले मात्रै सबै गर्न सकिएला जस्तो छैन ।’ हामी विपदमा छौ,ममानवीय क्षती छैन तर हामीलाई असार १ ले सधै सधैका लागि नमिठो प्रहार गरेको छ अध्यक्ष लामाले भने ।
विपदमा स्थानीय र केन्द्र सरकारको समन्वय
बाढीले सडक, विद्युत र टेलिफोन सम्र्पक सबै टुटेपछि त्यसको भोलिपल्ट वडा अध्यक्ष पासाङ फिल्डमा खटिए । गाउँपालिका अध्यक्ष टासी लामा पनि राहातसहित त्यहाँ पुगिसकेका छन् । स्थानीय तहले सक्दो सहयोग गरिरहेको पीडित परिवारहरू त बताउँछन् । तर त्यो पर्याप्त पटक्कै छैन ।
विस्थापितहरूको बस्तीमा खाद्यान लगायत अन्य सामग्री लैजान कठिन भएपछि जिल्ला विपद् व्यवस्थापन समितिले नेपाली सेनाको हेलिकोप्टर लग्यो । सोही हेलिकोप्टरमार्फत् सगरमाथा आरोही माया गुरुङ लगायतको समूहले दिएको ७ सय थान जस्तापात लिएर प्रमुख जिल्ला अधिकारी अरुणकुमार पोखरेल, नेपाली सेना गोरखबक्स गणका गणपति प्रमुख सेनानी निर्मलकुमार श्रेष्ठ सहितका सरकारी टोली सुनीचौर पुगेका थिए ।
विस्थापित बस्तीमा पुगेर प्रमुख जिल्ला अधिकारी पोखरेलले आश्वासन दिएका त छन्- ‘कोही भोकै बस्नु पर्र्दन । समस्या भए जानकारी गराउनुस् ।’
तर, यो आश्वासनले सुनीचौरबासीको अभावमा मेटिनेवाला छैन । एक पोका राहत र एउटा टेण्टले उनीहरूको जीवन चल्नेवाला छैन । उनीहरूको घाउ पुरिनेवाला छैन । उनीहरूको डर मेटिनेवाला छैन ।
आकाशमा हेलिकोप्टर देख्यो कि आशाको नजर डुलाउने सुनिचौरवासी यतिबेला उद्धारको पर्खाइमा छन् । उनीहरूको निराशा भरिएको मुद्राले एउटै कुरा भनिरहेको छ- हाम्रो पीडा कसले सुनिदिन्छ ?
सिन्धुपाल्चोक । अविरल वर्षापछि हिजो मेलम्चीमा आएको बाढीले कम्तिमा ५० जना सम्पर्कविहीन बनेका छन् ।
बाढीले एउटा बजार र चारवटा पक्की पुल बगाएको छ । हिजो बेलुका साढे ६ बजे हेलम्बु १ स्थित नाकोटे भन्ने ठाउँमा ठूलो पहिरो गएको थियो ।
बाढी र पहिरोले हेलम्बुको तिम्बु बजार सिंगै बगाएको छ । यसैगरी चनौटे भन्ने बजार पनि डुबानमा परेको छ । नदीेउका घरटहरा सबै बगेका छन् ।
मेलम्ची आयोजनाको सुरक्षार्थ रहेको सशस्त्र प्रहरी र चिनियाँको क्याम्प पनि डुबानमा परेका छन् । हिजो रातको समय भएकाले घटनास्थलमा पुग्न नसकेको प्रहरीले विहानबाट वेपत्ताको खोजी र उद्दार कार्य सुरु गरेको छ ।
अहिलेसम्म मानवीय क्षति पुष्टि भएको छैन । यसैबीच मेलम्चीबाट निर्वाचित पूर्वसांसद तथा स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ आज हेलिकोप्टर चढेर स्थलगत अनुगमनमा आउन लागेका छन् ।
सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिका- ६ थुम्पाखर, गोल्मेमा एउटा सुन्दर बस्ती छ । पहिला अलि धेरै बस्ती भएपनि अहिले जम्मा १३ घर मात्रै रहेको छ । तामाङ समुदायको यो बस्तीबाट अहिले धेरै परिवार बसाई सरेर अन्यत्र नै गइसकेका छन् ।
१३ घरपरिवार भने पुर्खाहरुको जन्मथलो भनेर बस्ती छाड्न सकेका छैनन् र गाउँमा नै बसिरहेका छन् । सुनकोशी गाउँपालिका भित्र सम्भवत सबैभन्दा उच्च स्थानमा रहेको यो बस्तीबाट अन्यत्र बसाई सराइ गर्नु पर्ने मुख्य कारण खानेपानी नै हो ।
समुन्द्री सतहबाट २१ सय मिटर उचाईमा रहेको गोल्मेका तामाङ समुदायले वषौंदेखि खानेपानीको चरम अभाव भोग्न बाध्य भएपछि धेरैले यो ठाउँ छाडेर पानीको सुविधा भएको ठाउँमा गएको स्थानीय गंगाबहादुर तामाङले बताए ।
गाउँमाथी रहेको सानो कुवाको पानी यहाँका समुदायलाई खानेपानीको रुपमा उपयोग गर्दे आएपनि भुकम्पमा कुवाको पानी भाँसिएपछि यहाँका स्थानीय अहिले १ घण्टाको दुरीमा रहेको लिसंखुपाखरको डाँडापाखरमा गएर पानी ल्याउने गरेका छन् । गोल्मेमा पानीको स्थलगत रिपोर्टिङमा पुग्दै गर्दा बस्तीकी ५० वर्षीया लक्ष्मीकुमारी तामाङ डाँडापाखाबाट डोकोमा पानी बोकेर असिनपसिन हुदै घर जादै थिइन। आउन जान झण्डै डेढ घण्टा लाग्ने र छिटो गए मात्रै पानी पाउने उनले सुनाईन ।
लुगाधुने, नुहाउने त कल्पना मात्रै हो, खानेपानी नै समस्या छ, लक्ष्मीले भनिन्-‘लुगाधुन र नुहाउन त अन्यत्रै टाढा जानुपर्छ ।’
बस्तीका गंगाबहादुर उमेरले अहिले ५२ वर्ष भए तर उनले थाहा पाउदा देखि नै बस्तीमा पानीको समस्या यस्तै नै रहेको उनले सुनाए । हरेक बर्ष खानेपानीको लागि थोरै बजेट आउँछ, कहिले यताको ट्याङकी उता सार्ने, कहिले उताको ट्याङकी यता सार्ने यती मात्रै काम भो तर पानी पेटभरी कहिल्यै खान पाइएन ।’
अब भने दुःखका दिन गए
पुस्तौदेखि खानेपानीको चरम समस्या खेप्दै आएका गोल्मेबासीले अब भने पेटभरी खानको लागि मात्रै होइन सिञ्चाइ गर्न सम्म पुग्ने गरी पानी पाउने भएका छन् । गोल्मेबासीले मात्रै होइन आसपासका झण्डै ५ सय घरधुरीलाई खानेपानी सुविधा हुने गरी सुनकोशी गाउँपालिकाले डिपबोरिङ गरेर खानेपानीको अभावलाई पुरा गर्न सुरु गरेको छ ।
सुनकोशी गाउँपालिकाले गोल्मे र वडा नम्बर-६ को सानोपाखर, पाटीडाँडा लगायतका आसपासका बस्तीमा खानेपानी पुर्याउने उदेश्यले गोल्मेको बस्तीमाथी डिपबोरिङ गरेर जमिनमुनीबाट पानी निकाल्न सुरु गरेको छ । २ हजार मिटर उचाईको डाँडामा गाउँपालिकाले यो वर्ष ३० लाख रुपियाँ खर्च गरेर पानी निकाल्न सुरु गरेको छ । अब को केही दिन भित्रै पानी जमिनमुनीबाट निकालीने गाउँपालिका अध्यक्ष श्रवण कुमार जिसी (विनोद)ले जानकारी दिए ।
पाँच दिन अघिदेखि जमिनमुनीबाट पानी निकाल्न सुरु गरिएको र अहिले १ सय ८० मिटर गहिराईमा पुग्दा पानी आउन सुरु भएको अध्यक्ष जिसीले जानकारी दिए । शनिबार बिहानदेखि पानी आउन सुरु भएको स्थानीय युवा भत्तबहादुर तामाङले जानकारी दिए । सुख्खा डाँडोमा ह्वालह्वाली पानी आएपछि गोल्मेका स्थानीय खुसी भएका थिए । अब पानीको दुःख नहुने भयो, यति धेरै वर्षपछि गाउँपालिकाले हामीलाई पानी खुवाउने भएको छ, तामाङले पानी निस्केपछि खुसी हुदै भने ।
यसरी सुरु भयो डिपबोरिङबाट पानी निकाल्ने अभियान
सुनकोशी गाउँपालिकाको ठोकर्पालाई केही वर्ष अघि सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको थियो । गाउँपालिका अध्यक्ष श्रवणकुमार जिसीले रामेछापको एउटा बस्तीमा डिपोरिङबाट पानी निकालेको थाहा पाएपछि त्यस ठाउँलाइ हेरेर आएपछि आफ्नो बस्तीमा पनि पानी निकाल्न सकिने रहेछ भनेर योजना बनाए ।
सुरुमा त कसैले पनि पत्याएनन् तर जब पानी आयो सबै खुसी भए अध्यक्ष जिसीले भने । आफुहरुले डिटीएच रक ड्रिलीङ कम्पनीलाई ल्याएर स्थलगत देखाएपछि पानी निकाल्न सकिन्छ भनेर आफुहरुलाई हौसला दिएको अध्यक्ष जिसीले बताए ।
हामीले सुनकोशी- १ र २ मा दुई वटा डिपबोरिङ गरेका छौं । १ मा अहिले दैनिक ५ सय घरधुरीले पानीको सुविधा पाइरहेका छन् भने २ मा ४ सय घरधुरीले पानीको सुविधा पाएको अध्यक्ष जिसीले जानकारी दिए ।
वडा नम्बर १ मा प्रति घण्टा ३५ हजार लिटर पानी आउने गरेको र २ मा ४८ हजार लिटर पानी जमिनमुनीबाट आउने गरेको र सबै बस्तीलाई पर्याप्त खानेपानी पुगेको अध्यक्ष जिसीले जानकारी दिए ।
चाैतारा । कोरना संक्रमितहरु बढ्दै गएपछि बाह्रविसे नगरपालिकाकी उप-प्रमुख सुशीला पाख्रिनले आफूले प्रयोग गर्दै आइरहेको सवारी साधन एम्बुलेन्सको रुपमा प्रयोग गर्नका लागि स्वास्थ्य संस्थालाई दिएकी छन् ।
नगरपालिकामा सीमित संख्यामा मात्रै एम्बुलेन्स हुदा संक्रमितहरुको उपचार, संकलन गरिएको स्वाब परीक्षणका लागि धुलिखेलसम्म लैजान समस्या भएपछि पाख्रिनले आफूले प्रयोग गर्दै आएको गाडी बाह्रविसे प्रथामिक स्वास्थ्य केन्द्रलाई प्रयोगका लागि दिएकी हुन् ।
केही दिन यता संक्रमितहरुको संख्या बढेको र स्वाब परीक्षणका लागि धुलिखेलसम्म जानु पर्ने भएपछि नगरपालिकाका रहेको एम्बुलेन्सले मत्रै नपुगेपछि आफूले प्रयोग गर्दै आइरहेको गाढी दिएको उपप्रमुख पाख्रिनले बताइन् ।
सिन्धुपाल्चोकमा स्वाब परिक्षण गर्ने सुविधा छैन, स्वाब लिएर दैनिक धुलिखेल जानुपर्छ, एम्बुलेन्सले मात्रै सम्भव भएन,’ नगर उप–प्रमुख पार्खिनले नेपालप्रेससँग भनिन् । बिरामी बोक्न, स्वाब परीक्षणका लागि लैजान तथा अन्य आवश्यक कामका लागि गाडी प्रयोग गर्न सकिने उनले बताइन् ।
बाह्रविसे नगरपालिकामा मात्रै नयाँ भेरियन्टका संक्रमितको संख्या ४० पुगेको छ । कोरोनाका विरामी बढ्दै गएपछि बाह्रविसे नगरपालिकाले केही दिन अघि मत्रै अक्सिजन सहितको बेडहरु तयारी अवस्थामा राखेको उपप्रमुख पाख्रिनले जानकारी दिइन् ।
चाैतारा । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका चौतारा साँगाचोकगढी नगरपालिका-४ कुभिण्डेका ५२ वर्षीया एक पुरुषलाई सोमबार बिहान सदरमुकाम चौतारा अस्पतालमा ल्याइयो ।
चिकित्सकहरुले अवस्था जटिल रहेको भन्दै तुरुन्तै आईसीयू शय्या भएको अस्पतालमा लैजान भने । गम्भीर अवस्थाका विरामीलाई करिव ५० किलोमिटर टाढा धुलिखेल अस्पताल लानुपर्ने भयो । एम्बुलेन्सबाट साँगाचोक नपुग्दै उनको निधन भयो । मृत्युपछि उनमा कोरोना संक्रमण देखियो ।
केही दिनअघि पनि सोही वडाका एक जनाको चौतारा अस्पतालमा उपचार हुन नसकेपछि उपचारको लागि धुलिखेलमा लगिए पनि त्यहाँ आईसीयू शय्या नपाएरै प्राण गयो ।
कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमणले अहिले सिन्धुपाल्चोकलाई आक्रान्त बनाउँदै लगेको छ । तर, सदरमुकाम चौतारामा रहेको अस्पतालमा आईसीयू र भेन्टिलेटरको सुविधा छैन । जिल्लाको वाह्रविसे, मेलम्ची र जलवीरेमा डाक्टर सहितको स्वास्थ्य केन्द्रहरु छन् तर त्यहाँ अक्सिजन सिलिण्डरसमेत छैन ।
सदरमुकाममा रहेको चौतारा अस्पताल र जिल्लाका अन्य क्षेत्रमा डाक्टरसहित रहेका अस्पताल अहिले वागमती प्रदेश अन्र्तगत छन् । चौतारा अस्पतालका तत्कालीन प्रमुख डाक्टर सागरकुमार राजभण्डारीले अस्पतालको सेवामा केही सुधारको प्रयास गरे पनि त्यसयता लामो समयदेखि चौतारा अस्पताल स्वयम ‘कोमामा’ नै रहेको सर्वसाधरणले मात्रै होइन जनप्रतिनिधिहरुले समेत आरोप लगाउने गरेको छन् ।
चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमान सिंह तामाङले त केही दिन अघि सार्वजनिक रुपमा नै चौतारा अस्पतालको सेवाप्रति तीव्र आक्रोश पोखेका थिए ।
चौतारा अस्पताल मात्रै होइन डाक्टरहरु नै रहेको मेलम्ची, वाह्रविसे र जलवीरेको स्वास्थ्य संस्थाहरुको अवस्था सदरमुकाम चौताराको अस्पतालभन्दा अझै नाजुक नै छ, सिटामोल र ब्यान्डेजसमेत नभएका यी स्वास्थ्य संस्थाहरुका कोरोनाका बिरामीहरुलाई उपचार गर्न सकिन्छ भन्ने त कल्पना भन्दा बहिरकै विषय भयो ।
एक वर्ष अघि कोरोना महामारी सुरु हुँदा वागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल थिए । उनी सिन्धुपाल्चोकको चौतारा क्षेत्रकै जनप्रतिनिधि हुन् । उनको कार्यकालमा पनि अस्पतालको अवस्था सुध्रिएन । अहिले उनका क्षेत्रका मतदाता उपचार नपाएर बाटो बाटोमा नै मृत्युवरण गरिरहेका छन् ।
वागमती प्रदेश सरकारले बरु धुलिखेलको अस्पतालालाई मोटो रकम दियो तर चौतारा अस्पताल र जिल्लाका अन्य स्वास्थ्य संस्थाहरु सुधारका लागि केही पनि गरेन ।
सामाजिक विकास मन्त्री मात्रै होइन वागमती प्रदेशमा अर्का शक्तिशाली मन्त्री पनि सिन्धुपाल्चोककै थिए- अरुण नेपाल । उनको क्षेत्रमा रहेको वाह्रविसे प्रथामिक स्वास्थ्य केन्द्रको अवस्था पनि उस्तै छ ।
सभामुख अग्निप्रसाद सापकोटाको गृह गाउँ अहिले कोरोनाको ‘हटस्पट’ बनेको छ । अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ भने तीन दिनको बीचमा संक्रमितको संख्या ३२ पुगेको छ । संक्रमितहरुको संख्या बढ्दै गएपछि नगरपालिकाले कुभिण्डे र कदमबासलाई शिल गरेको छ ।
सामाजिक सञ्जालमा ‘शिघ्र स्वास्थ्य’ लाभको कामना गर्ने र मृत्युपछि ‘हार्दिक श्रदाञ्जली’ दिने भन्दा बाहेक राजनीतिक नेतृत्व र सरकारमा रहेकाहरुले यतिबेलासम्म केही गरेका छैनन् ।
अघिल्ला वर्षको संक्रमणमा स्थानीय सरकारहरुले पनि कोरोना रोकथाम र नियन्त्रणका लागि लिएको सक्रियता लोभलाग्दो थियो, क्वारेन्टाइन निर्माण देखि स्वास्थ्य सामग्री वितरणमा समेत स्थानीय सरकारको सक्रियता थियो तर अहिले स्थानीय सरकार समेत आफै अलमलमा परेको देखिन्छ ।
जिल्लाका सबै स्थानीय सरकारले गत वर्ष कम्तीमा पनि ५० लाख रुपैयाँ कोरोना रोकथाम र नियन्त्रण शीर्षकमा खर्च गरेका थिए त्यो रकम सबै स्वास्थ्य सामग्री वितरणमा नै सकिएको थियो ।
स्थानीय सरकारले पनि आफ्नो क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरुमा केही सुविधा राखेर आपत्तमा जनतालाई सेवा दिन सकिन्छ भनेर योजना बनाएर काम गरेका थिए । अहिलेको महामारीमा कम्तिमा अक्सिजन दिन सकिने अवस्था हुने थियो तर त्यो कुनै पनि स्थानीय सरकारले गर्न सकेनन् ।
स्वास्थ्य कार्यालयको तथ्यांक हेर्ने हो भने सिन्धुपाल्चोकमा जम्मा ३० जना क्षमता रहेको केही आइसोलेसन कक्षहरु मात्रै रहेका छन् । स्थानीय सरकार, राजनीतिक दलका नेताहरु मात्रै होइन संघीय सरकारको प्रतिनिधिका रुपमा रहेका कर्मचारीहरुले पनि निषेधज्ञा लगाउने भन्दा बाहेक ठोस कार्यक्रमहरु अघि सारेको देखिँदैन ।
सिन्धुपाल्चोकमा नयाँ भेरियन्ट सहितको कोरोना संक्रमितको संख्या १ सय ५० पुगिसकेको छ । संक्रमितहरु प्राय सबै होम क्वारेन्टाइनमा नै बसिरहेका छन् तर उनीहरुको अवस्था कस्तो छ, कसरी बसिरहेका छन्, गाह्रो भए के गर्ने कुनै पनि निकायसँग यसको जवाफ छैन अहिले । भगवना भरोसा बाहेक सिन्धुवासीसँग अहिले कोरोनासँग जुध्न सक्ने विकल्प छैन ।
बल्ल जाग्दैछन् स्थानीय तह
कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गएपछि स्थानीय सरकारहरु आफूसँग भएको सीमित स्रोत र साधनलाई उपयोग गरेर जनातालाई सेवा दिनका लागि योजना बनाएर कार्यन्वयन सुरु गरेका छन् ।
बलेफी र जुगल गाउँपालिकाले सयुक्त रुपमा जुगल गाउँपालिकाको चनौटेमा रहेको रत्नराज्य मावि भवनमा अक्सिजनसहितकाे आइसोलसन बनाउन सुरु गरेका छन् । त्यस्तै लिसंखुपाखर गाउँपालिका र सुनकोशी गाउँपालिकाले पनि सयुक्त रुपमा आइसोलेसन निर्माणका लागि पहल गरेका छन् ।
वाह्रविसे, चौतारा-साँगाचोकगढी नगरपालिका लगायतका स्थानीय सरकारले आफ्नो क्षेत्रमा अक्सिजन सहितका बेडहरु निर्माण गरेर तयारी हालतमा राख्न सुरु गरेका छन् ।
चौतारा । कोरोना महामारी नियन्त्रणका लागि केन्द्रीय संरचनाअन्तर्गत जिल्ला स्तरका कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को नेतृत्व प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को रहन्छ । त्यसका सदस्यहरु जिल्ला प्रहरी प्रमुख, स्वाथ्य प्रमुखलगायत रहन्छन् ।
जिल्लामा कोरोना नियन्त्रण, रोकथामका, न्युनीकरण र सचेतना लगायत कार्यहरु सन्चालन गर्दागर्दै आफैं संक्रमित भएका सिन्धुपाल्चोकका प्रजिअ अरुण पोखरेल र प्रहरी प्रमुख एसपी राजन अधिकारी आइसोलेसनबाटै जिल्लाको कमाण्ड संहालिरहेका छन् ।
प्रमुख जिल्ला अधिकारी अरुण पोखरेललाई एक साता अघि कोरोना संक्रमण पत्ता लागेपछि सरकारी क्वार्टरमै आइसोलेट भएका छन् । एसपी अधिकारीलाई तीन दिनदेखि संक्रमणले सताएको छ । उनी पनि जिप्रकाकै क्वार्टरमा छन् । होम आइसोलेसनमा बस्दा तनावबाट मुक्त भएर आरम गर्नुपर्ने भए पनि दुवै कमाण्डरलाई आइसोलेसनबाटै नेतृत्व लिनुपर्ने बाध्यता छ ।
‘सुरुका केही दिन त अलि गाह्रो नै भयो तर खोप लगाएकाले धेरै असहज भएन,’ प्रजिअ अधिकारीले भने, ‘हामी आफैै आइसोलेसनमा बस्दा आम जिल्लावासीको मनोबल उच्च राख्न निरन्तर लागि नै रहेका छौं । आइसोलेसनमा बस्दा पनि नियमित काम रोकिएको छैन ।’
भौतिक रुपमा मात्रै आफू कार्यालयमा उपस्थिति नभएको तर गर्नुपर्ने निर्णय र दिनु पर्ने निर्देशन सबै भर्चुअल माध्यमबाटै गरिरहेको प्रजिअ पोखरेलले बताए । ‘हामीले डीसीसीएमसीका सबै सदस्यहरुबीच ‘ग्रुप च्याट’ मार्फत निरन्तर संवाद गरेर कोरोना नियन्त्रण र रोकथामाका लागि के गर्ने भनेर छलफल र बैठक गर्ने गरेका छौं,’ पोखरेलले भने ।
कोरोना बाहेक कतिपय मुद्दाहरुको म्याद थप लगायतका कामहरुमा समस्या भए पनि त्यसलाई आइसोलेसनबाटै समाधान गर्ने गरेको र सहायक प्रमुख जिल्ला अधिकारी सहितका टिमले राम्रो समन्वय गरेर काम गरेकाले आइसोलेसनमा बस्दा पनि कुनै समस्या नभएको पोखरेलले बताए ।
प्रहरी प्रमुख एसपी राजन अधिकारी अहिले दोस्रो पटक आइसोलेसनमा छन् । २४ सै घण्टा प्रहरीलाई फिल्डमा उतार्नु पर्ने प्रहरीका कमाण्डर नै आइसोलेसनमा रहदा काम गर्न भने समस्या नभएको एसपी अधिकारीले बताए ।
‘हामी सधैं टिमवर्कमा रहेर काम गर्ने हो, अहिले पनि टिमले नै काम गरिरहेको छ । भौतिक रुपमा मात्रै कार्यालयमा उपस्थिति हुन नसकेको हो, आवश्यकता पर्दा निश्चित दूरीमा रहेर अन्य कमाण्डरहरुसँग बैठक र छलफल गर्न सकिन्छ,’ एसपी अधिकारीले भने ।
आइसोलेसनमा बसे पनि उच्च मनोवलका साथ जिम्मेबारी वहन गरिरहेको उनको भनाई छ । प्रहरीका कमाण्डर नै आइसोलेसनमा रहँदा मातहतका कर्मचारीहरुको मनोवल कस्तो होला ? भन्ने प्रश्नमा अधिकारीले भने, ‘जिल्लाका एक जना प्रहरी कर्मचारीको पनि मनोबल कम भएको छैन, बरु जवानहरु समेतले मेराे मनोबल उच्च राख्न दैनिक फोन गर्ने गरेका छन् ।’
सबैको हौसलाले आफ्नो मात्रै होइन सिंगो टिमको नै मनोबल उच्च भएकाले आइसोलेसनमा बस्दा पनि कुनै समस्या नभएको एसपी अधिकारीले बताए ।