Tag: सिंहदरबार

  • नयाँ मन्त्रीका कार्यकक्ष र नेमप्लेटः कुनै झकिझकाउ, कुनै कामचलाउ (तस्बिरहरू)

    नयाँ मन्त्रीका कार्यकक्ष र नेमप्लेटः कुनै झकिझकाउ, कुनै कामचलाउ (तस्बिरहरू)

    काठमाडौं । सरकार गठनको ८८ दिनपछि देउवा नेतृत्वको मन्त्रिपरिषद्ले आज पूर्णता पाएको छ । यतिका दिनसम्म राजनीतिक नेतृत्वविहीन रहेका मन्त्रालयहरू अहिले नयाँ मन्त्रीको स्वागतको तयारीमा छन् ।

    नवनियुक्त मन्त्रीहरूको सपथग्रहणको तयारी भइरहँदा सिंहदरवारमा रहेका मन्त्रालयहरूभित्र भने नेमप्लेट र कार्यकक्ष तयार गर्ने काम भइरहेको थियो । मन्त्रालयहरुले आ-आफ्नै ढर्रामा नेमप्लेट राखेका छन् । कुनै झकिझकाउ छन् त कुनै कामचलाउ ।

    हेर्नुस् केही तस्बिर :

  • १२ भवनसहितको नयाँ संसद भवन निर्माणाधीन, बगैंचादेखि बंकरसम्म बन्दै (फोटो/भिडियो)

    १२ भवनसहितको नयाँ संसद भवन निर्माणाधीन, बगैंचादेखि बंकरसम्म बन्दै (फोटो/भिडियो)

    काठमाडौं । दुई वर्षअघि तीन वर्षमा सम्पन्न गर्ने गरी बनाउन थालिएको अत्याधुनिक संसद भवनको निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ । सिंहदरवारमा निर्माण भइरहेको सरकारी संसद भवन निर्माणको काम कोरोनाका कारण भएको निषेधाज्ञाबीच पनि जारी रह्याे । यद्यपि, कोरोनाका कारण काम प्रभावित भएको भन्दै निर्माण कम्पनीले सरकारसँग म्याद थपका लागि आग्रह गरिरहेको छ ।

    निषेधाज्ञाकाललाई शून्य अवधि मानेर म्याद थपको माग गरिरहेको निर्माण कम्पनीले मजदुरलाई निर्मालस्थलमै खानेबस्ने व्यवस्था गरेर काम गरिरहेको छ । कोरोना संक्रमणदर तीव्र भएका बेला पनि मजदुरको स्वास्थ्योपचारको जिम्मा लिएर कम्पनीले निर्माण कार्यलाई निरन्तरता दिएको हो ।

    २०७६ साल असोज १६ गते चिनियाँ र नेपालीको संयुक्त कम्पनी एसएचईसी र टुण्डीले अत्याधुनिक संघीय संसद भवन तीन वर्षमा बनाइसक्ने गरी सम्झौता गरेको थियो । तर यसअघि पहिलो चरणको लकडाउनका कारण काम प्रभावित भएको भन्दै निर्माणका लागि ६ महिना म्याद थप गरिएको छ ।

    निर्माण कम्पनीले पहिलो चरणको भन्दा दोस्रो चरणको लकडाउनले बढी असर गरेको भन्दै फेरि म्याद थप्न आग्रह गरिरहेको छ । कम्पनीले लकडाउनको समयलाई शून्य समय मानेर म्याद थप्न आग्रह गरेको हो ।

    भ्याटबाहेक ५ अर्ब २ करोड रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी संसद भवन निर्माण सम्झौता भएको थियो ।

    अहिले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भाडामा लिएर संसद सञ्चालन भइरहेको छ । निर्माण सम्पन्न भइसकेपछि संसद नयाँ सरकारी भवनमा सर्नेछ ।

    कस्तो बन्दैछ अत्याधुनिक संघीय संसद ?

    संसद भवनको निर्माण आयोजनाका सहायक निर्देशक तथा सिनियर सिभिल इन्जिनियर हिमाल केसीका अनुसार सिंहदरवारको उत्तरपूर्वी भेगमा करिब १५१ रोपनी क्षेत्रफलमा नयाँ संसद भवन निर्माण भइरहेको छ ।

    यहाँ संघीय संसद भवन, राष्ट्रियसभा भवन, भीभीआईपी भवन र सेन्टर लभीलगायत १२ वटा भवन हुनेछन् । यहाँ बफरजोन र उत्तरतिर फराकिलो सडक दायाँबायाँ रुखहरु रोपिनेछ । यो भवन परिसर छिर्नका लागि चार वटा गेट हुने पनि उनले बताए ।

    निर्माणाधीन संसद भवनका परामर्श दाता प्रमुख ईन्द्रबहादुरका अनुसार राष्ट्रियसभा र संसद भवन अढाइ तला र सेन्टर लभी ३ तलाको हुनेछ भने अरु ३, ४ र ५ तलाको हुनेछ ।

    भवनभित्र पस्दा गाडी र सामानको स्क्यान हुनेछ, जसले सुरक्षालाई मजबुत बनाउँछ । त्यस्तै सुरक्षाका लागि चार घेरा निर्माण हुनेछ ।

    भवन सात रेक्टरस्केलसम्मको भूकम्पले ढाल्न नसक्नेगरी बनाइँदैछ । त्यस्तै उक्त भवन बमप्रतिरोधी हुनेछ । निकै शक्तिशाली बम प्रहार भएमा सांसदहरुको सुरक्षाका लागि बंकर(लुक्ने ठाउँ)समेत निर्माण भइरहेको छ ।

    नेपाली मौलिक डिजाइनमा बन्ने भवनमा आगलागी वा विद्युत् सर्ट भएमा तत्काल जानकारी हुने प्रविधि जडान हुनेछ । विपद्का बेला भवनभित्रै खान-बस्न मिल्नेगरी भवनको निर्माण भइरहेको श्रेष्ठले बताए ।

    अहिलेसम्म भवन निर्माणको ३५ प्रतिशत भौतिक प्रगति भएको छ भने आर्थिक प्रगाति २८ प्रतिशत भएको छ । कतिपय भवन बन्दै छन् भने कतिपयमा फिनिसिङको काम भइरहेको छ । निषेधाज्ञा नभइदिएको भए अहिलेसम्म ५० प्रतिशत काम सकिइसक्ने केसीले बताए ।

    कोरोना र निषेधाज्ञाका कारण काम प्रभावित

    कोरोना र निषेधाज्ञाका कारण अपेक्षा गरेजति द्रुत गतिमा काम अघि बढाउन नसकिएको बताउँछन्, आयोजनाका सहायक निर्देशक केसी । निषेधाज्ञाका समयमा निर्माण सामग्री ढुवानीका लागि सवारीचालक पाउनसमेत मुस्किल भएको उनले बताए ।

    चिनियाँ र नेपालीको संयुक्त कम्पनी टुण्डी भेन्चरका डेपुटी प्रोजेक्ट म्यानेजर राजेश महर्जनले आमचासोको विषय भएकाले भवन निर्माणलाई महत्वका साथ तीव्रता दिइएको बताए । सम्झौतामा उल्लेख मितिभन्दा पहिल्यै कामसक्ने योजना भए पनि कोरोनाका कारण गाह्रो परेको उनको भनाइ छ । यद्यपि, निर्धारित समयमा काम सक्ने उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।

    निषेधाज्ञाको हल्ला चल्नुभन्दा पहिल्यै निर्माण सामग्री जोहो गरेका कारण काम रोक्न नपरेको उनको भनाइ छ ।

    उनले अहिले बिहान ७ बजेदेखि बेलुका १० बजेसम्म काम भइरहेको बताए । ‘अहिले चार सय मजदुर र एक सय कर्मचारीलाई निर्माणस्थलमै बस्ने व्यवस्लथा गरेर काम भइरहेको छ’ महर्जनले भने, ‘तीन सिफ्टमा काम गरेर भए पनि समयमै निर्माण सक्ने विश्वास छ ।’

  • सिंहदरबारको गेटमा अर्धनग्न झुण्डिएकी उमा र सांसद उमा

    सिंहदरबारको गेटमा अर्धनग्न झुण्डिएकी उमा र सांसद उमा

    कैलाली । १७ असार, २०६४ मा २३ जिल्लाका पाँच सयभन्दा बढी वादी समुदायका महिला ‘मुक्तिको सपना’ बोकेर काठमाडौं पुगे ।

    २६ बुँदे मागपत्र लिएर गाउँदेखि काठमाडौं पुगेका उनीहरुले माइतीघर मण्डलामा धर्ना दिए, जुलुस गरे । सरकारले आवाज नसुनेपछि उनीहरु सिंहदरवारतिर गए ।

    माइतीघरबाट सिंहदरवार जाने जुलुसको नेतृत्व गरेकी थिइन्, उमा वादीले । त्यतिबेलाको क्षण सम्झँदै उमा भन्छिन्, ‘गाउँबाट धेरै गएको भए पनि त्यतिबेला मेरो पछाडि करिब २०/२५ जना मात्रै महिला थिए । हामी सोझै सिंहदरबारको गेटमा पुग्यौँ । सुरक्षाकर्मीले गेट बन्द गरे । हाम्रो आक्रोश थामिनसक्नु भयो । अनि सिंहदरवारको गेटमा चढेर अर्धनग्न हुँदै सरकारविरुद्ध नाराबाजी गर्यौं ।’

    उक्त दृश्यले धेरैको ध्यान खिच्यो । सञ्चारमाध्यम र मानव अधिकारकर्मीले वादी समुदायको आन्दोलनलाई साथ दिए । आन्दोलनले विस्तारै गति लियो । सञ्चारमाध्यमले आन्दोलनका बारेमा लेख्न थाले । बल्ल मात्रै आन्दोलनका बारेमा सरकारले चासो दियो ।

    तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उमादेवी लगायतलाई बालुवाटार बोलाए । कोइरालाले आन्दोलन रोक्न आग्रह गर्दै नेपालगन्जमा गाँसबासको व्यवस्था गर्ने आश्वासन दिए । उनले वादी समुदायको समस्या नेपालगन्जमा मात्रै नभएर देशैभर रहेको कुरा कोइरालालाई अवगत गराइन् ।

    यही बेलामा कञ्चनपुरका वादी अगुवाले उमादेवीलाई शेरबहादुर देउवालाई भेट्ने सुझाव दिए । उनीहरु देउवाको निवास पुगे ।

    देउवाले सबै कुरा सुने । तत्कालीन शान्तिमन्त्री रामचन्द्र पौडेललाई फोनमार्फत कुरा सुनाए । एकैछिनपछि पौडेलका पिएले उमालाई फोन गरेर वार्तामा आउन भने । २०६४ भदौ २८ गते पौडेलकै कार्यकक्षमा वार्ता भयो । कांग्रेस नेता एनपी साउद, रामजनम चौधरी, फकिरसिंह कडायतले वादी समुदायको पक्षबाट कुरा राखे । सरकार वादी समुदायको समस्यालाई सम्बोधन गर्ने गरी अघि बढ्यो ।

    ‘अ’नागरिक हुनुको पीडा

    त्यसबेला वादी महिलाहरू ‘यौन पेसा’ गरेर जीविकोपार्जन गर्थे । त्यही क्रममा उनीहरूबाट बच्चा जन्मिन्थे । ती बच्चाका बाउको पहिचान हुँदैन थियो । बाउको पहिचान नभएपछि बच्चाहरूले नागरिकता पाउन सक्दैन थिए ।

    नागरिकतामा बाउको नाम उल्लेख हुनुपर्ने अनिवार्य कानुनी व्यवस्था थियो । वादी समुदायका अधिकांश व्यक्तिहरू नागरिकताविहीन थिए । उनीहरु नागरिकता नभएकै कारण शिक्षा र रोजगारीलगायतबाट वञ्चित थिए ।

    ‘बाबु थाहा छ । तर किटान गर्नसक्ने अवस्था अहिले पनि छैन’, उनले भनिन्, ‘कैलालीको टिकापुरस्थित वडा नम्बर १, ६, ७, ८ र ९ नम्बरमा कयौँ व्यक्तिहरुको समस्या यस्तो छ ।’

    नागरिक हुनुको पहिलो परिचय नागरिकता हो भन्ने कुरा उमादेवीका मनमा लाग्यो । उनले नागरिकता नभएका कारण थुप्रै व्यक्तिहरूले दुःख पाएको कुरा महसुस गरिन् । त्यसपछि आमाका नाममा पनि नागरिकता पाउनु पर्छ भन्ने एजेन्डा अघि सारिन् ।

    ‘मलाई नागरिकता नहुनुको पीडा महसुस भयो, यस्तो पीडामा बाँच्नेहरू धेरै थिए तर कसैले बोल्ने हिम्मत गरेका थिएनन्, मैले यसविरुद्ध आवाज उठाउने योजना बनाएँ’ उनले भनिन् ।

    आमाका नाममा नागरिकता पाउने कुरा त्यत्ति सहज थिएन । एकातिर कानुनी अफ्ठ्यारो, अर्काेतिर पितृसत्तात्मक सोच । ‘मैले यस्तो कुरा गर्दा धेरैले मजाक बनाए तर मैले हिम्मत हारिनँ । मलाई जसरी पनि वादी महिला र तिनका सन्तानहरूलाई न्याय दिनु थियो’ उनले भनिन् ।

    वादी समुदायले आमाको नाममा जन्मदर्ता र नागरिकता, स्थायी बसोबास, यौन पेसाको अन्त्य, निःशुल्क शिक्षा, एचआइभी-एड्स परीक्षण, छुवाछुत अन्त्यलगायतका मागहरू लिएर उनले आन्दोलनको मोर्चा सम्हालिन् ।

    सुदूरपश्चिम प्रदेशका सबैजसो जिल्लामा बादी समुदायको बसोबास छ । करिब १० हजार बढी बादी समुदायका नागरिक यहाँ रहेको उनी बताउँछिन् ।

    कैलालीको टिकापुर, लम्कि चुहाको बलचौर र बर्दगोरीयाको मुढामा उनीहरु बसिरहेका छन् ।

    यहाँ केही परिवार अहिले पनि नागरिकताबिना बसिरहेका छन् । बुवाको पहिचान नहुँदा सन्तानहरू आमाले पालिरहेका छन् ।

    ‘उच्च शिक्षा पढ्दासम्म पनि जन्म दर्ता र नागरिकता नभएपछि हामी आन्दोलित भएका हौँ’ उनले २०६५ सालको आन्दोलन सम्झिँदै भनिन् ‘त्यो बेला त अधिकांशको नागरिकता त के जन्म दर्ता पनि थिएन, अहिले धेरैले पाए, केही छुटेका छन् ।’

    अझै ४० बर्षसम्मका केही पुरुषको नागरिकता नरहेको उनी बताउँछिन् ।

    ‘नाति नातिनी हुँदासम्म पनि हजुरआमा हजुरबुवासँग नागरिकता छैन’ उनी भन्छिन्, ‘त्यो बेला आमाको नामबाट नागरिकता लिने चलन थिएन अहिले कहिले पाएका छैनन् ।

    परिवर्तनको सुरुवात आफैंबाट…

    उनको परिवार टीकापुरमा बस्न थाल्यो । २० वर्ष कटेपछिको समय थियो त्यो । गाउँकै प्रेमलाल भट्टसँग प्रेम भयो । उनीहरुको विवाह भयो । प्रेमको परिवारले अन्तरजातीय भएका कारण स्वीकारेन । उनीहरुलाई छुटाउन निकै प्रयत्न गरे । तर छुटाउन सकेनन् ।

    लामो समयसम्म पनि उनीहरुको बच्चा भएन । उनले आफ्नै बहिनीका छोरालाई पालिन्, पढाइन् । अहिले एउटा छोरो राकेश दोलखास्थित क्याम्पसमा प्राध्यापक छन् । अर्को छोरा गौरव काठमाडौंमा जागिरे छन् ।

    उनी पहिले भन्दा समाजको नजरमा बादी समुदायका नागरिकलाई हेर्ने दृष्टिकोण फेरिएकोमा भने निकै खुसी छिन् ।

    ‘पहिले बादी समुदायलाई हेर्ने दृष्टिकोण र अहिले हेर्ने दृष्टिकोण आकाश जमिनको फरक छ । त्यो बेला अपमानको दृष्टिले हेर्ने गरेका थिए । अहिले सम्मानको दृष्टिकोणले हेर्ने गरेका छन्’ उनी भन्छिन्, ‘अहिले यो समुदाय असभ्य होइन, सभ्य भएर हिँडिरहेको छ भन्छन् । ’

    फेरिएन जीवनशैली र पेसा

    २०६५ पुस २३ गते बादी समुदायका महिलालाई बाध्यात्मक यौन पेसाबाट छुटाएर पुनःस्थापना गर्ने निर्णय भयो । तर, सरकारले पुनःस्थापनामा ध्यान नदिँदा अझै पनि उनीहरु यौन पेसा अंगाल्ल उनीहरु बाध्य छन् ।

    केही समयअघि मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाउन आएका बादी समुदायका महिलाहरूले देहव्यापारको लागि आइसेन्स समेत मागेका थिए ।

    उमा बाध्यताले महिलाहरू लाइसेन्स माग्नसम्म पुगेको बताउँछिन् ।

    ‘यौन शोषण गराउने सरकारको चाहाना हो भने लाइसेन्स देओस् भनेका हुन्’, उनले भनिन्, ‘बादी समुदायका नागरिकको बाध्यता हो ।’

    उनले भनिन्, ‘अहिले पनि यौन शोषण छ । यता कोरोनाको कहर छ अर्काेतिर पेटको आगो छ । बालबच्चा छन् । परिवार चलाउन पनि यौन पेसा अपनाउनैपर्ने वाध्यता अझै छ ।’

    यही नियतिबाट कयौँ बादी महिला एचआइभी संक्रमित भए । कयौँ पाका उमेरका महिला पनि यौन शोषणमा परे । बाबुको पहिचान नभएका कयौँ बालबालिकाहरू अहिले पनि बाबु कुरिरहेका छन् ।

    फिरन्ते जीवनबाट आएकी उमा

    २०२१ सालमा सल्यानको थापा गाउँमा जन्मिएकी उमाको बाल्यकाल घुमफिरमै बित्यो, सोखले होइन, बाध्यताले । जग्गाजमिन थिएन, आम्दानीको स्रोत भएन । परिवार गाउँ डुल्दै, गीत गाउँदै, खानेकुरा माग्दै हिँड्थिन् ।

    महिना दिन, दुई महिना या तीन महिना । आधा वर्षसम्म एउटा गाउँमा बित्थ्यो । आमाबुबाले स्कुल त भर्ना गरिदिन्थे, तर वर्ष दिन कुनै स्कुलमा पढ्न मिल्दैनथ्यो ।

    ‘कति हो कति स्कुल पुगेँ । सबै त याद नै छैन तर कहीँ पनि परीक्षा दिउन्जेलसम्म पढ्न पाइनँ’, उमासँग स्कुले जीवनको धमिलो सम्झना छ ।

    केही वर्षपछि उमाको परिवार कैलाली आयो । कैलालीमा स्थायी बसोबास कतै थिएन । सल्यानमा जस्तै कैलालीमा पनि उही पेसा अंगाले ।

    उनीहरु राजपरिवारकहाँ हुने उत्सव र चाडबाडमा नाचगान गर्थे । त्यसबापत केही जिन्सी र नगद पाउँथे । जीविकोपार्जन यतिले मात्र धानिन्नथ्यो । कतिपय महिलाहरू देहव्यापार गर्थे । युवा पुरुष मादल बजाउँथे । यसरी नै बित्थ्यो फिरन्ते जीवन ।

    उनले सुनाइन् ‘बस्ने ठाउँ कतै थिएन, माग्दै हिँड्ने भएपछि स्थायी बसोबास हुने कुरै भएन ।’

    बादी समुदायकी एक्ली सांसद

    उमादेवी बादी, बादी समुदायकी एक्ली सांसद हुन् । नेपाली काँग्रेसका तर्फबाट उनी समानुपातिक तर्फबाट सांसद भएकी हुन् । हुन त उनलाई काँग्रेसले २०६४ को संविधानसभामा समानुपातिक तर्फ राख्ने निकै चर्चा थियो । तर अन्तिम अवस्थामा उनको नाम काटियो । २०७० मा भने उनको नाम लिस्टमा अट्यो तर पछि हट्यो ।

    यसपटक भने महिला र दलित समुदायलाई अनिवार्य समेट्नुपर्ने बाध्यकारी व्यवस्थाका कारण उनको नाम काट्नै नमिल्ने गरी छनोटमा प¥यो ।

    अहिले उनी संसदमा उपस्थित भएर आफ्ना समुदायको हक अधिकारका बारेमा कुरा राख्छिन् । शून्य समय र विशेष समयमा पनि उनले बादी समुदायको बसोबास, सामाजिक सुरक्षा भत्ता र बालबालिकाको निःशुल्क शिक्षाको व्यवस्था हुनुपर्ने भन्दै आवाज उठाउँछिन् ।

    ‘म माथि धेरैको विश्वास अडेको छ, हिजो जस्तो जीवन भोलि व्यतीत गर्न नपरोस् भन्नका लागि सबै एउटा आवाज उठाउछु’, उनले भनिन् ‘हामी सम्मानजनक रूपले बाँच्न पाउनु पर्छ ।’

    सांसद हुँदाको क्षण

    २०७४ साल माघ २१ गते । सबै आ-आफ्नै सुरुमा थिए । पुरुष दौरा सुरवाल र कोट, पाइन्टमा । महिला साडी चोलीमा चिटिक्क । कोही भने आफ्नै जातीय पहिरनमा सजिएका थिए । सांसदहरु प्रदेशसभामा सपथका लागि उपस्थित थिए । त्यसैबीच पुरानो साडी र ब्लाउज लगाएर प्रदेशसभामा पुगिन्, उमा ।

    उमादेवी बादी प्रदेश सभा भित्र प्रवेश प्रवेश गर्दा त्यहाँको माहोल नै फेरियो । उनलाई स्वागत गर्न पुगेका दलित तथा बादी समुदायका नागरिकहरूले प्रदेशसभा भवनबाहिर नाराबाजी गरे ।

    उनले आफ्नो समुदायतर्फ हात हल्लाइन् र अघि बढिन् । त्यो बेला उनले विगत सम्झिएर आँसु थाम्नै सकिनन् । ‘त्यो क्षण मेरो जीवनको सबैभन्दा खुसीको क्षण थियो’ उनले भनिन्, ‘हिजो पशुभन्दा पनि तल्लो स्तरको जीवन बाँच्न बाध्य म, आज नीति निर्माण गर्न तहमा पुगें जस्तो लाग्यो ।’

    सरकारले केही वर्ष बादी समुदायका लागि घर जनता आवास कार्यक्रम ल्यायो । हुनेखानेले धमाधम घर बनाउन थाले पनि हुँदा खानेहरूले भने अझै पुरानै स्थितिमा छन् ।

    सरकारले ल्याएका सीपमूलक कार्यक्रमले बादी महिलाले पुस्तौँदेखि अँगाल्दै आएको यौन पेसालाई प्रतिस्थापन गर्न सकेको छैन । उनीहरुमध्ये कतिपयले अहिले पनि बाध्यकारी यौन पेसा अंगाल्दै आएका छन् । कतिपय नेपालमै त कतिपय भारतमा यौन व्यवसाय गरिरहेका छन् ।

    यौन पेसामा लागेका बादी महिलाहरूलाई पेसाबाट अलग गरेर समाजमा आत्मसम्मानका साथ पुनःस्थापना गर्ने उमादेवीको धोको छ ।

  • देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने निवर्तमान सांसद नागरिकतासहित सिंहदरबारमा

    देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने निवर्तमान सांसद नागरिकतासहित सिंहदरबारमा

    काठमाडौं । संविधानको धारा ७६ को उपधारा ५ बमोजिम वहुमत सांसदको हस्ताक्षर बुझाउँदा पनि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नबनाइएको भन्दै कानूनी लडाइँका लागि विपक्षी गठबन्धनका नेता तथा विघटित संसदका सांसद सर्वोच्च जाने तयारीमा छन् ।

    देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १४९ जना सांसदको तर्फबाट दायर हुन लागेको रिटमा हस्ताक्षर गरेर सबैजना भौतिक रूपमा अदालतमा उपस्थित हुने बताइएको छ।

    सिंहदरबार कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी सांसदहरूलाई बोलाएर नागरिकता समेत मागिएको छ। सबै प्रक्रिया पुर्‍याएर सर्वोच्च जाने विपक्षी सांसदहरूको तयारी छ ।

    नागरिकता र सांसदकाे परिचयपत्र कांग्रेस संसदीय दलमा बुझाइएको छ। रिटमा हस्ताक्षर भने संसद भवनकाे ल्हाेत्से हलमा गराउने तयारी छ ।

  • सिंहदरबारमा सीसीएमसी बैठक जारी, प्रधानमन्त्री पनि उपस्थित

    सिंहदरबारमा सीसीएमसी बैठक जारी, प्रधानमन्त्री पनि उपस्थित

    काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक जारी छ । सिंहदरबारमा बसिरहेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी छन् ।

    नयाँ भेरियन्टसहितको कोरोना संक्रमण दर तीव्र बनिरहेको बेला डाकिएको बैठकले महामारी नियन्त्रण तथा रोकथाममा महत्वपूर्ण निर्णय गर्ने बताइएको छ ।

    प्रधानमन्त्री ओलीले हिजोमात्र बालुवाटारमा स्वास्थ्य क्षेत्रका विज्ञ, निजी क्षेत्र तथा सरोकारवाला व्यक्तिहरूबीच कोरोना नियन्त्रणका लागि गर्नुपर्ने कामका विषयमा परामर्श लिएका थिए ।

  • सुनसान सिंहदरबार

    सुनसान सिंहदरबार

    काठमाडौं । अघि पछि सांसद, कर्मचारी र सर्वसाधारणले भरिभराउ हुने मुलुकको प्रमुख प्रशासनिक अड्डा सिंहदरबार हिजो आज सुनसान छ ।

    काम र भेटघाटका लागि चाप बढ्ने सिंहदरबारको दक्षिणी गेटमा पनि भीड देखिन्न । नयाँ भेरियन्टसहितको कोरोना संक्रमणदर तीव्र बनेपछि उपत्यकामा वैशाख १६ देखि लकडाउन जारी छ । सरकारले अत्यावश्यकबाहेकका सेवामात्र खुल्ला गरेको छ ।

    त्यस्तै कतिपय सरकारी निकायका कर्मचारीलाई आलोपालो लगाइएको छ ।

    निषेधाज्ञामा सुनसान सिंहदरबारलाई हामीले क्यामेरामा कैद गरेका छौं ।

     

  • यस्तो छ आज प्रधानमन्त्री सर्ने सिंहदरबारको भवन र कार्यकक्ष (तस्बिरहरु)

    यस्तो छ आज प्रधानमन्त्री सर्ने सिंहदरबारको भवन र कार्यकक्ष (तस्बिरहरु)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले तीन वर्ष पूरा गरेकै दिन आज सिंहदरबारमा पुनर्निमित प्रधानमन्त्री कार्यालय भवनबाट तीन वर्षका उपलब्धी सार्वजनिक गर्दैछन् । संयोग नै मान्नुपर्छ ओली सरकारको चौथो वर्ष प्रवेशकै दिन सिंहदरवारको प्रधानमन्त्री कार्यालय भवन पुननिर्माण पनि सम्पन्न भएको छ । ओलीले सो भवनको पनि उद्घाटन गर्दैछन् ।

    २०७२ सालको भूकम्पले क्षतिग्रस्त सिंहदरबारको पूर्व, उत्तर र दक्षिणी भाग प्रबलीकरण सम्पन्न भएको छ ।पश्चिमतर्फको भाग केही बाँकी छ  । पूर्व, उत्तर र दक्षिणी भागको प्रवलीकरण र आन्तरिक साजसजावटसमेत सकेर उद्घाटनका लागि तयार पारिएको छ ।

    उद्घाटनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अब यहिँबाट सन्चालन हुनेछ । सिंहदरबारका तीन भाग प्रबलीकरणका लागि फागुन मसान्तसम्मको अवधि भए पनि पहिलो हप्तामै काम सकिएको छ ।

    उत्तर, पूर्व र दक्षिण भाग प्रवलीकरणको लागत ८७ करोड रुपैयाँ रहेको पुननिर्माण प्राधिकरणले जनाएको छ । सिंहदरबार पश्चिमी भाग प्रबलीकरणको काम भने विसं २०७६ चैतमा शुरु भएको थियो । पश्चिमी भाग २०७८ असोजसम्ममा सकिने एकाइले जनाएको छ ।

    सिंहदरबार पश्चिम मूल ढोकाको सेनाको भवन पुनर्निर्माणको काम समेत शुरु भइसकेको छ । सिंहदरबार राणा प्रधानमन्त्री चन्द्रशम्शेर जबराको पालामा निर्माण भएको हो । पश्चिम खण्ड विसं २०३० को आगलागीबाट बचेको मौलिक भाग हो ।

    उक्त आगलागीबाट उत्तर, पूर्व र दक्षिण भाग जलेर नष्ट भएको थियो । जसको विसं २०३७ मा पुरानै शैलीमा पुनःनिर्माण गरिएको हो ।

    सिंहदरबारको पूर्वी मूल ढोकामा प्रहरीको भवन पनि बनाउन लागिएको एकाइले जनाएको छ । भूकम्पले क्षतिग्रस्त सिंहदरबार पुनःनिर्माण गर्ने कि प्रबलीकरण भनेर लामो विवाद भएको थियो ।

    सीसीटिभी जडान, बगैँचालगायत सौन्दर्यकरणका काम सम्पन्न गरिएको छ । हालको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको मौजुदा सङ्गठन संरचनाअनुरुप आवश्यकपर्ने कार्यकक्ष तथा बैठक कक्षसमेत निर्माण गरिएका छन् । साथै फिनिसिङ तथा फर्निचरकोसमेत पर्याप्त तथा उपयुक्त ढङ्गले व्यवस्था गरिएको छ ।

  • सिंहदरबार अगाडि उभिनु मात्रै शक्तिप्रदर्शन होइन : विश्वप्रकाश (भिडियो सहित)

    सिंहदरबार अगाडि उभिनु मात्रै शक्तिप्रदर्शन होइन : विश्वप्रकाश (भिडियो सहित)

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सिंहदरबारको अगाडि उभिनुमात्रै शक्तिप्रदर्शन नभएको बताएका छन् ।

    कांग्रेस केन्द्रीय समितिको बैठकपछि पत्रकारहरुसंग कुराकानी गर्दै प्रवक्ता शर्माले संसद विघटनविरुद्ध देशका हरेक कुनामा जनमत अभिव्यक्त हुनुपर्ने बताए ।

    संसद विघटनविरुद्ध कांग्रेसले गरेको आन्दोलनलाई कमजोर नआँक्न आग्रह गर्दै प्रवक्ता शर्माले देशभरका वडा– वडामा सरकारको कदम विरुद्ध कांग्रेसले आवाज उठाएको बताए ।

    ‘कांग्रेसको आन्दोलन कमजोर होइन । सिंहदरबार अगाडि उभिनुमात्रै शक्तिप्रदर्शन होइन । हरेक वडा– वडामा जनता उतारेर कांग्रेसले वास्तविक शक्ति प्रदर्शन गरेको छ ’, शर्माले भने ।

    उनले आन्दोलनका विभिन्न शैली हुने भन्दै अहिले कांग्रेस देशव्यापी आन्दोलनमा रहेको र आवश्यकता अनुसार काठमाडौं केन्द्रीत प्रदर्शन पनि हुने बताए ।