काठमाडौं । सुनसरीको वराहक्षेत्रमा आयोजना हुने विद्यार्थीलक्षित कविता वाचन रियालिटी शो ‘स्कुलमा कविता’ आगामी माघ-३ गतेबाट सुरु हुने भएको छ ।
वराहक्षेत्रको साविक भरौलबाट अडिसन सुरु भई क्रमश चतरा, चक्रघट्टी र प्रकाशपुरमा अडिसन आयोजना हुने स्वर्णिम साहित्य समाजका निवर्तमान अध्यक्ष प्रकाश दिप्साली राईले जानकारी दिए ।
प्रतियोगितामा वराहक्षेत्रभरिका माध्यमिक विद्यालबाट कक्षा ६ देखि १० सम्मका विद्यार्थी सहभागी हुन पाउने छन् । विद्यालय आफैंले प्रतिनिधित्वका रुपमा एक छात्रा अनिवार्यसहित दुई उत्कृष्ट प्रतियोगी छनोट गर्दै आएका छन् । ‘प्रत्येक विद्यालयका उत्कृष्ट दुई जना फाइनल राउण्डमा प्रवेश गर्नेछन्, ‘ कवि दिप्सालीले भने, ‘फाइनलका उत्कृष्टलाई स्कुलमा कविताको विजेता घोषणा गरिने छ ।’
उनका अनुसार फाइनल राउण्डका प्रथमसहित, द्वितीय, तृतीय र सान्त्वनाले नगद र आकर्षक पुरस्कार प्राप्त गर्नेछन् । स्कुलमा कविताको तेस्रो संस्करणलाई प्याब्सन बराहक्षेत्रले मुख्य प्रायोजन गर्ने बताइएको छ ।
प्रतियोगितामा प्रत्येक राउण्डमा अतिथि निर्णायक र फाइनल राउण्डमा विशिष्ट निर्णायक रहँदै आएका छन् । पहिलो संस्करणमा आर्यन निरौला र दोस्रो संस्करणमा सबिना बानियाँले स्कुलमा कविताको उपाधि जितेका थिए ।
नमस्कार आवाज विहीनहरूको आवाजमा यहाँहरूलाई स्वागत छ म युवराज न्यौपाने
झन्डै १८ वर्ष पहिले धनगढी मोहनपुरमा रहेको रेडियो खप्तडमा प्रत्येक दिन गुन्जिन्थ्यो । समाचार ,अन्तर्वार्ता, साहित्य कार्यक्रम मात्रै होइन रेडियोका विज्ञापनमा पनि सबैभन्दा धेरै आवाज त्यही थियो।
रेडियो पत्रकारिताको मेरो प्रारम्भ पनि यी नै आवाज सुनेर भयो ।
‘म रेडियोको संवाददाता बन्न चाहन्छु’ त्यो बेला उहाँ (युवराज न्यौपाने) लाई नै मैले पहिलो पटक कार्यालयमै भेटेर प्रस्ताव गरेको थिए ।
‘हुन्छ नि’ त्यही उत्तरबाट मेरो रेडियो पत्रकारिता सुरु भयो ।
संवाददाता हुँदै समाचार बाचकसम्म पुग्न उहाँको ठुलो भूमिका थियो । साथी प्रकाश मिश्र र म कयौँ पटक हाम्रो घरबाट किशोर किशोरीसँग मनका कुरा चलाउन साइकलमा पुगेका छौँ । सडक बन्द हुँदा अन्य विकल्पहरू नपाएपछि करिब ४५ किलोमिटर साइलमा ओहोरदोहोर गरेका पहलहरू स्मरण छन्।
मैले यो ब्लगमा मेरो सङ्घर्ष र अतीत भन्दा पनि ती सङ्घर्ष र अतीतका मार्ग दर्शकको विषयमा उल्लेख गर्न खोजिरहेको छु ।
‘युवराज सर जानुभएको हो र ? ’ बुधवार एक मित्रले फोनमा सोधेको प्रश्नले बेचैन बनायो ।
‘कहाँ ?’
‘विदेश ।’
‘घुम्न ?’
‘नाइँ काम गर्न रे ’ फेसबुक हर्नुहोस् न ।
मैले ढिलो नगरी फेसबुक खोले र सर्च गरे।
बाध्यता… अनि बिदाइ,
खाली निदार , खुसी उडेको मुहार, कालो चस्मामा उज्यालो ज्याकेट विमानस्थल बाहिरकै तस्बिरले बिदेसिन लागेको सङ्केत गरेको थियो ।
कलमलाई हतियार बनाएर समाज बदल्ने सपना बोकेको १९ वर्ष भयो । आवाज विहीनका आवाज बन्ने सङ्कल्प थियो र प्रयास पनि गरेकै हो , जारी रहने छ, तर अब त्यही आवाज केही समयका लागि मौन हुँदै छ। पत्रकारिता मेरो जीवनको एक मात्र पहिचान थियो, रहिरहनेछ पनि। तर परिस्थितिले अब यो माटोबाट टाढिनु परेको छ ।
बिदेसिने निर्णय रहर होइन, बाध्यता बन्यो। घर-परिवार, करिअर, अनि आत्मसम्मानको लडाइँमा मैले केही वर्षका लागि यो बाटो रोज्नु पर्यो। प्रेस पास बोक्ने हातमा अब श्रम स्वीकृति थपिएको छ।
साथीहरूलाई प्रश्न लाग्न सक्छ- “पत्रकार भएर पनि किन विदेश?”
उत्तर एउटै छ- भोकले कहिल्यै पेसा हेर्दैन ।
यो माटो माया हो, तर माया मात्र खाएर बाँच्न सकिँदैन रहेछ। आशा छ, केही वर्ष पछि फर्किएर फेरि कलम समात्न पाउनेछु – अझै जागरूक भएर अझ सशक्त भएर, अझ निष्पक्ष भएर ।
केही समय देशलाई टाढाबाट माया गर्नेछु, कलम जहाँ गए पनि मन त नेपाली रहन्छ नै ।
बिदा… केही समयका लागि। सबैलाई माया र सम्मान छ ।
विमानस्थल बाहिरको तस्बिरसहित मामा लेख्नुभएको यी शब्दहरूले भावुक बनायो ।
म उहाँलाई गुरु मान्छु । मामा भन्छु । मामाको बाध्यात्मक विदेश यात्रा कसरी बन्न पुग्यो त्यो म जान्दिन तर, एउटा पेशगत पत्रकारको बहिर्गमनले मन पोल्यो ।
१९ वर्ष उहाँले पत्रकारितामा के गर्नुभएन न , खप्तड एफएमलाई चिनाउनेदेखि लम्कीमा सामुदायिक रेडियो बनाउने सम्म उहाँ नै हो । कैलाली कञ्चनपुरमा सयौँलाई पत्रकारिता सिकाउनु भयो । पढाउनु भयो ।
तत्कालीन अवस्थामा खप्तड एफएम पछि एभिन्युज टेलिभिजनमा मामा जोडिनु भयो । उहाँकै हौसला र ऊर्जाले रेडियो पत्रकारिता पछि ममा पनि टेलिभिजन मोह जाग्यो । धनगढी ब्युरोमा दाइ (हिम्मत रावलबाट) धेरे कुरा हामीले सिक्ने मौका पायौँ ।झन्डै एक वर्षपछि मामालाई एभिन्युज केन्द्रीय कार्यालयले बोलायो । धनगढीमा मैले खुलेर रिपोर्टिङ गर्दा गर्दै फेरी त्यो अवसर मलाई पनि आयो । हामी दुवै जना धनगढी हुँदै काठमाडौँमा पनि जम्ने अवसर पायौँ ।
उहाँको ओझिलो आवाज टेलिभिजनमा गुन्जिरहन्थ्यो । बुधवार सामाजिक सञ्जालमा तत्काललाई पत्रकारिता छोडेर विदेश यात्रा लाग्न थालेको सन्देश पछि म ती दिन र ती क्षणहरू स्मरण गरिरहेको छु ।
हुन त पत्रकारितामा छोडेर विदेश जान बाध्य भएको उहाँ मात्रै पहिलो व्यक्ति होइन । अन्तिम पनि हुनुहुने छैन । अरू को के कुरा म आफै पनि मलेसिया पुगेको कुरा स्मरण हुन थाल्यो ।
एभिन्युज टेलिभिजनको लोकप्रिय कार्यक्रम अफ ट विटको उत्पादन कक्षमा बसेर देखिने बाहेकका सबै काम गर्दै आइरहेको थिए । तत्कालीन प्रस्तोता सुमन ढुङ्गानासँग सिके । उहाँ खबर भित्रको खबरमा गएपछि जिम्मेवारी थपियो । चिरञ्जीवी शाह प्रस्तोता बन्नु भयो मैले कार्यक्रम तयार गर्न थाले ।
अब धेरै काठमाडौँमा रुमल्लिन हुँदैन भन्दै आफ्नै गाउँमा एउटा रेडियो सुरु भयो । म त्यसको प्रसारण प्रमुखसहितको जिम्मेवारीसहित कैलाली फर्किए । त्यसको केही समयपछि म पनि बिदेसिन बाध्य भए । जसरी अहिले मामा बाध्य हुनु भयो ।
‘उहाँलाई पैसाको खासै अभाव थिएन म्याडमको राम्रो जागिर थियो सरले पनि राम्रै कमाइरहनु भएको थियो कि विदेश जानु पर्ने भएछ ? ’ एक पत्रकारले मलाई सोध्न भयो ।
‘म पनि त हिजो मलेसिया श्रम गर्न गएको थिएन नि , कहिले काहीँ आर्थिक अवस्था भन्दा पनि परिस्थिति कमजोर बन्दो रहेछ ’ मैले आफ्नो अनुभवसँगै वास्तविकता बताए ।
हिजो जय स्वविमानको नारा घन्काउने प्रेम बानिया एक मुट्ठी रगत र पसिना रहँदासम्म देशको लागि केही गर्नु पर्छ भन्नुहुन्थ्यो । त्यसको केही समय पछि उहाँ पनि बिदेसिनु भयो । यस्ता कयौँ पत्रकार छन् । कोही अध्ययनको लागि त कोही श्रमको लागि नेपाल छोडिरहेका छन् । बलियो आर्थिक स्रोत भएकाहरू अस्ट्रेलिया अमेरिका उड्छन् । कमजोर आर्थिक स्रोत भएकाहरू खाडीमा पुग्छन् । सबै नेपालीहरूको वास्तविक पीडा हो यो ।
000
बुधवारबाट लम्की महोत्सव सुरु भएको छ । अघिल्लो पटकको उद्घोषण समेतको जिम्मेवारी पाउनु भएका उहाँ त्यही दिन विमानस्थलबाट नेपाल छोड्दै हुनुहुन्थ्यो ।
‘आफ्नो जीवनको ऊर्जावान् समय व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाजलाई समर्पण गर्नुभयो। बिहान-साँझ नभनी समाचारको खोजी, सत्यको पक्षमा अडिग यात्रा- ती सबै सम्झिँदा आज मन भारी भइरहेको छ… तर परिस्थिति सधैँ हाम्रो पक्षमा कहाँ हुन्छ र ?’ एउटा पत्रकारको विदेश यात्रामा उनलाई भनिरहेका छन्, ‘आज त्यही माटो, जहाँबाट पत्रकारिताको यात्रा सुरु भयो, त्यही माटो छोडेर युरोपको लामो यात्रामा निस्किनु पर्ने बाध्यता…’
कलम बोक्ने हातमा श्रम स्वीकृतिको कागज थपिएको छ । कहिल्यै प्रेस पास नछोड्ने तपाइले पासपोर्ट सम्हालेर राख्नु पर्ने छ । बाध्यताले बिदेसिए पनि यात्रा सुखद रहोस् । उपलब्धि पूर्ण रहोस् ।
पाकिस्तान र त्यहाँको राजनीतिको चर्चा हुँदा पाकिस्तानी सेनाको राजनीतिक भोकबारे चर्चा नगरी पूरा हुँदैन । अल्लाहको नाममा आर्मीले अदालतलाई नियन्त्रणमा लिएर पाकिस्तान चलाइन्छ । यसै महिना पाकिस्तानको संविधानमा २७औँ संशोधन गरी केही गम्भीर परिवर्तनहरू ल्याइएको छ, जसले पाकिस्तानी सेना र यसको शीर्ष नेतृत्वलाई, विशेषगरी सेना प्रमुखलाई विस्तारित विशेषाधिकार प्रदान गरेको छ ।
जस्तै- रक्षा बल प्रमुख (चिफ अफ डिफेन्स फोर्सेज) पदको सिर्जना र त्यसलाई फिल्ड मार्सल असिम मुनिरले सम्हाल्ने, आजीवन उन्मुक्ति (यसअन्तर्गत शीर्षस्थ सैन्य अधिकारीहरूलाई फौजदारी अभियोजन र नागरिक कारबाहीबाट आजीवन उन्मुक्ति प्रदान गरिनेछ), हटाउने कठिन प्रक्रिया (पाँचतारे श्रेणीको अधिकारीलाई हटाउन संसदमा दुईतिहाइ बहुमत चाहिन्छ, जुन निर्वाचित प्रधानमन्त्रीलाई हटाउन आवश्यक साधारण बहुमतभन्दा उच्च थ्रेसहोल्ड हो) र आणविक सम्पत्तिमाथि नियन्त्रण (पाकिस्तानको आणविक शक्तिहरूको निरीक्षण गर्ने राष्ट्रिय रणनीतिक कमान्डलाई प्रभावकारी रूपमा सेनाको अधीनमा राख्दै पहिलाको ‘कलेजियल’ राष्ट्रिय कमान्ड प्राधिकरणबाट नियन्त्रण हटाएको छ, जुन नागरिक निरीक्षण सुनिश्चित गर्न तयार पारिएको थियो) ।
त्यस्तै, न्यायपालिकामाथि प्रभावसम्बन्धी गरिएको संशोधनले सबै संवैधानिक मामिलाहरू सम्हाल्न नयाँ सङ्घीय संवैधानिक अदालत सिर्जना गरेर न्यायपालिकामा पनि महत्त्वपूर्ण परिवर्तनहरू ल्याउँछ र न्यायिक नियुक्ति प्रक्रियाको पुनर्संरचना गर्दछ । जसले कार्यकारी र विस्तारमा सैन्य प्रतिष्ठानलाई न्यायिक नियुक्ति र स्थानान्तरणहरूमा बढी नियन्त्रण दिन्छ ।
पाकिस्तान एउटा यस्तो देश हो, जसको सदुपयोग वा दुरुपयोग गर्ने महाशक्तिहरू अहिले पनि त्यहाँ आफ्नो ‘स्वार्थको पहलवानी’ खेलिरहेको देख्न सकिन्छ । पाकिस्तानको प्रधानमन्त्री शहबाज सरिफ भए पनि सत्ताको लगाम पाकिस्तानी सेनाको नियन्त्रणमा रहँदै आएको छ । हुन त कतिपय आलोचकहरूले फातिमाको यो पुस्तकलाई अमेरिकाविरोधी पुस्तकको रूपमा समेत आलोचना गरेका छन् ।
आर्थिक रूपले ध्वस्त भएको जस्तो आँकडाका बाबजुद पाकिस्तान चर्चामा रहने गरेको छ । गत महिना मैले रुचिका साथ पढेका पुस्तकहरूमध्येको एक हो- “रगत र तरबारका गीतहरू” (सङ्स अफ ब्लड एन्ड स्वर्ड) । सन् १९९६ मा कराँचीको घरबाहिर भएको गोली हानाहानपछि फातिमा भुट्टो १४ वर्षकी थिइन्, जब उनका बुबा मीर मुर्तुजालाई प्रहरीले गोली हानी हत्या गरेको थियो । लेखिका फातिमा भुट्टोले आफ्नो आँखाबाट देखेको उनको जीवनको विवरणलाई गद्य (प्रोज) शैलीमा पाकिस्तानी शक्ति राजनीतिको क्रूर र भ्रष्ट संसारको जीवन्त छाप दिएकी छिन् ।
सन् २०१० मा प्रकाशित ४७० पृष्ठको यो पुस्तक पेन्गुइन, नेसन बुक (यूएस), जोनाथन क्याप (यूके), भिन्टेज जस्ता प्रकाशकहरूले प्रकाशन गरेका छन् । वर्तमान परिवेशमा पाकिस्तान, बलुचिस्तान, बङ्गलादेशलगायतका क्षेत्रमा देखिएको अशान्त राजनीतिक माहोललाई बुझ्न फातिमाको यो पुस्तकले इतिहासलाई बुझ्न र पाकिस्तानमा सेनाको राजनीतिक महत्त्वाकांक्षा सम्बोधित हुँदा त्यसले कस्तो प्रभाव पार्दछ भन्ने कुरा प्रस्ट्याउँछ । समग्रमा भन्दा, पाकिस्तानको आगामी दशा र दिशा बुझ्न यो पुस्तक सहयोगी छ ।
जुल्फिकरको कट्टरपन्थी सोच भर्सेस जियाको जुन्टा
आफ्नो राजनीतिक शासनकालको अन्त्यतिर जुल्फिकरले असफलता बेहोरिरहेका थिए । सार्वजनिक रूपमा जुल्फिकरलाई एक सक्षम र बुद्धिमान् राजनीतिज्ञको दर्जा दिने हेनरी किसिन्जरले पाकिस्तानको आणविक महत्त्वाकांक्षालाई अगाडि बढाएको कारण ठूलो नसिहत दिएका थिए । जुल्फिकरले १९७३ को संविधानमा धेरै पटक संशोधन गरे, सङ्घीय सरकारलाई राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाउन अनुमति दिए । अदालतको शक्तिलाई नियन्त्रित गरे ।
आफ्नो राजनीतिक स्थिति सुरक्षित गर्ने ध्येयका साथ जुल्फिकरले ‘मुस्लिम को हो ?’ भन्ने मापदण्ड परिभाषित गर्न संविधान संशोधन गर्दै सङ्ख्यामा सानो तर भयका कारण शक्तिशाली धार्मिक दलहरूसँग मिलाप गरे । उनले मदिरामाथि प्रतिबन्ध लगाउनेदेखि मनोरञ्जन उद्योगहरूलाई भूमिगत अवस्थामा पुर्याए । शुक्रबार प्रार्थनाको दिन सार्वजनिक बिदा घोषणा गरे ।
सन् १९७४ मा जुल्फिकरले इस्लामिक देशहरूको दोस्रो शिखर सम्मेलनको आयोजना गरे, जसमा मोहम्मद रेजा पहलवी उर्फ शाह-अफ-इरान उपस्थित हुन तयार भएनन् भने आमन्त्रित नगरिए पनि इदी अमिन आइपुगेका थिए । ३८ इस्लामिक देशहरूको उपस्थितिमा सम्पन्न शिखर सम्मेलनको सफलताको घोषणा गर्ने क्रममा जुल्फिकरले भनेका थिए, ‘हामी पाकिस्तान इस्लामको लागि आफ्नो रगत दिनेछौँ ।
संसारमा कुनै इस्लामिक देशमाथि खतरा आउँदा पाकिस्तानले सहयोगको अभाव महसुस हुन दिँदैन ।’ यद्यपि त्यस्तो केही हुन सकेन । अमेरिकाले पाकिस्तानका छिमेकी इरान र अफगानिस्तानमाथि आक्रमण गर्दा पाकिस्तानले नम्रतापूर्वक आफ्नो आकाशको सिमाना खोलिदिएको थियो । फातिमा भन्छिन्- जुल्फिकर जीवित भएको भए पाकिस्तानको यो कदमप्रति घृणा महसुस गर्थे ।
सन् १९७६ मा जब ‘बङ्गालको कसाइ’ भनेर चिनिने जनरल टिक्का खान सेनाबाट अवकाश प्राप्त गरिरहेका थिए, जुल्फिकरले उनको ठाउँमा जिया उल हकलाई पाँच वरिष्ठ जनरलहरूको क्रमसङ्ख्यालाई मिच्दै जनरल पदमा नियुक्त गरे । जुल्फिकर जियालाई आफ्नो अधीनस्थ ठान्थे, यद्यपि जिया धूर्त, महत्त्वाकांक्षी र क्रूर थिए ।
जनरल जियाले जुन्टा (बलपूर्वक सत्ता लिएपछि देशमा शासन गर्ने सैन्य वा राजनीतिक समूह) को पक्षमा न्यायपालिकाको विकास गर्न थाले । १९७७ को आम निर्वाचनपछि व्यापक राजनीतिक अशान्ति र चुनावी धाँधलीको आरोप लागेपछि जनरल जियाले सैन्य विद्रोह गर्दै लोकतान्त्रिक रूपमा निर्वाचित भुट्टोको सरकारलाई अपदस्थ गरिदिए ।
सन् १९७९ आइपुग्दा सरकारमा सेनाको लागि उत्साहको कमी देखाउने न्यायाधीशहरूलाई तुरुन्तै बर्खास्त गरी प्रतिस्थापन गरिएको थियो । नागरिक अदालतहरूको शक्तिमा कटौतीसँगै शासनको आदेश पालना गर्न सरिया अदालतहरू र सैन्य न्यायाधिकरणहरू सिर्जना गरिएको थियो । जियाको शासन अत्यधिक क्रूर मात्र थिएन, सार्वजनिक रूपमा कोर्रा हान्नेदेखि फाँसी दिने व्यवस्थाको गलत अभ्यास सुरु भयो, पाकिस्तानको सबै कार्यालय, व्यावसायिक थलो र विद्यालयहरूमा पाँच पटकको प्रार्थना अनिवार्य गर्यो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा क्षमा याचिकाका बाबजुद सर्वोच्च अदालतले १९७९ मा दोषी ठहर गर्दै मृत्युदण्डको सजायलाई सदर गर्यो ।
जुल्फिकरलाई फाँसीको सजाय दिइँदा नेपालमा भर्खरै सुरु हुन लागेको दलविहीन पञ्चायती व्यवस्थाविरुद्धको प्रदर्शन ठूलो जुलुसमा परिणत हुँदै विद्यार्थीहरू काठमाडौँमा अवस्थित पाकिस्तानी दूतावासतिर मार्च गरेका थिए । नेपालमा भएको जनमतसङ्ग्रहताकाको इतिहासको चर्चा हुँदा जुल्फिकरको फाँसीलाई एउटा रोमाञ्चक राजनीतिक घटनाको रूपमा चर्चा गरिन्छ ।
बलोचले नेपालजस्तै स्वतन्त्रता चाहेको थियो
फातिमा भुट्टोले आफ्नो पुस्तकमा पाकिस्तान अधीनस्थ बलोचको चर्चा गर्ने प्रसङ्गमा ‘नेपाल’ को स्वतन्त्र हैसियतको चर्चा समेत गरेकी छिन् । दशकौँदेखि बलुचिस्तानीहरू पाकिस्तानबाट आजादीको लडाइँ लडिरहेका छन्, आज पनि । ब्रिटिस राज्यको समयमा बलुचिस्तान मुगल, फारसी र अफगान राज्यहरूको हिस्सा थियो र सांस्कृतिक, भाषिक र जातीय रूपमा यसको जनसङ्ख्यामा थपिएको थियो । उन्नाइसौँ शताब्दीसम्ममा त्यहाँ रहेका चार रियासतहरूमध्ये धेरैजसो ब्रिटिस राजको अधिपत्यमा ल्याइएको थियो । युद्ध र साम्राज्यवादी सङ्घर्षले अहिलेको बलुचिस्तान भनेर चिनिने ठूलो क्षेत्रलाई एकताबद्ध बनायो, जुन खनिज स्रोतसाधनले भरिपूर्ण प्रान्त हो ।
संसारमा कुनै इस्लामिक देशमाथि खतरा आउँदा पाकिस्तानले सहयोगको अभाव महसुस हुन दिँदैन ।’ यद्यपि त्यस्तो केही हुन सकेन । अमेरिकाले पाकिस्तानका छिमेकी इरान र अफगानिस्तानमाथि आक्रमण गर्दा पाकिस्तानले नम्रतापूर्वक आफ्नो आकाशको सिमाना खोलिदिएको थियो । फातिमा भन्छिन्- जुल्फिकर जीवित भएको भए पाकिस्तानको यो कदमप्रति घृणा महसुस गर्थे ।
उपमहाद्वीप टुक्रिन थालेपछि सोधिएको थियो- उनीहरू कहाँ जान चाहन्छन् ? बलोचहरूले न भारत न पाकिस्तान- हामीहरू “नेपालझैँ स्वतन्त्र” बस्न चाहने चाहनाका पक्षमा मतदान गरेका थिए (पृष्ठ-११५) । तर बलुचिस्तानमा केही समय त्यहीँका राजकुमारहरूले शासन चलाए, जसलाई पाकिस्तानी सत्ताले भ्रष्टीकरण गर्दै सेना पठाएर कलातका राजकुमार मीर अहमद यार खानसँग स्वतन्त्रताको बलुचिस्तानी दाबी खारेज गर्ने सम्झौतामा हस्ताक्षर गरायो ।
फातिमाले पुस्तकको गद्य पूरा गर्न पाकिस्तानको बलोच प्रान्तका एकजना बलोच नेता खैर बक्स मारीसँग गरेको कुराकानीको प्रसङ्गसमेत उल्लेख गरेकी छिन् । खैर बक्सले बलुची स्वतन्त्रताको भावनालाई प्रतिनिधित्व गर्दै भनेका रहेछन्, ‘धेरै कम देशहरू स्वतन्त्र छन् । तर, पाकिस्तान अहिले पनि बेलायतीहरूदेखि अमेरिकी साम्राज्यवादीहरूको उपनिवेश नै रहेको छ । उपनिवेशको स्वतन्त्र दृष्टिकोण कसरी हुनसक्छ ?’
त्यसबेलाको भूराजनीति
सन् १९५० को दशकमा धेरैजसो अन्य राष्ट्रहरू जस्तै पाकिस्तान पनि शीतयुद्धको दलदलमा फसेको थियो । त्यतिबेला पनि पाकिस्तानी राजनीतिको डोरी तान्ने सैन्य समूहले तटस्थता वा असंलग्नतालाई विकल्प मानेन । ७ अक्टोबर १९५८ मा जनरल अयुब खानले “अप्रत्याशित कू” गरेर राष्ट्रपति इस्कन्दर मिर्जाबाट सत्ता खोसेका थिए । पाकिस्तानभित्र ठूलो अराजकता र राजनीतिक अनिश्चितताको समयमा सत्तामाथि अवैध कब्जा गर्यो, जसलाई लिएर धेरैजसो पाकिस्तानीहरूमा जनरलले गरेको कब्जाप्रति उदासीनता छाएको थियो ।
तीस वर्षको उमेरमा जुल्फिकर भुट्टो तत्कालीन सरकारमा इन्धन, ऊर्जा र प्राकृतिक स्रोत मन्त्रीको रूपमा काम गर्दै सामेल भएका थिए । १९६० मा जुल्फिकरले सोभियत सङ्घसँग तेल सम्झौताको वार्ता गर्ने संवेदनशील कामको जिम्मा पाएका थिए । जुल्फिकरको भ्रमणले पाकिस्तानभित्र थप तेल अन्वेषणको लागि कोष १२ करोड रुबलको कर्जा र कार्यक्रमको लागि अनुभवी विशेषज्ञहरू र उपकरणहरू आपूर्ति गर्ने सम्झौताको साथ सोभियत सङ्घको वाचा लिएर फर्किएका थिए ।
यता अमेरिकाको साथमा उभिने पाकिस्तानी सत्ताको जिद्दीका कारण सोभियत सङ्घसँग पाकिस्तानको सम्बन्ध सुस्तरी कठिन मोडमा गइरहेको थियो । कस्तो थियो भने, पाकिस्तानका सैन्य तानाशाहहरूले आफूलाई बचाउने वाचा गर्ने कुनै पनि शक्तिलाई अँगालो हाल्ने प्रवृत्ति थियो/छ । तत्कालीन पाकिस्तानी सेनाले पनि आफ्नो सैन्यवादलाई प्रायः सक्षम बनाउने शक्ति संयुक्त राज्य अमेरिका नै हो भनी ठम्याएको थियो । पहिले नै प्रभावशाली रूपमा आफ्नो सेनालाई आधुनिकीकरण गर्ने बहानामा पाकिस्तानले १९५४ मा अमेरिकासँग पारस्परिक रक्षा सम्झौतामा हस्ताक्षर गर्यो ।
सम्झौताकै एक भागको रूपमा पाकिस्तानलाई सेप्टेम्बर १९५४ मा दक्षिण पूर्वी एसियाली सन्धि सङ्गठन र पछि १९५५ मा केन्द्रीय सन्धि सङ्गठनमा सामेल हुन प्रोत्साहित गरिएको थियो । द्विपक्षीय सम्बन्ध जुल्फिकरको विदेश नीतिको केन्द्रबिन्दु भए पनि जनरल अयुबको नेतृत्वमा पाकिस्तान र चीनबीचको सम्बन्ध गम्भीर रूपमा बिग्रिएको तथ्यलाई बेवास्ता गर्ने कुनै सजिलो उपाय थिएन ।
आफ्नो राजनीतिक शासनकालको अन्त्यतिर जुल्फिकरले असफलता बेहोरिरहेका थिए । सार्वजनिक रूपमा जुल्फिकरलाई एक सक्षम र बुद्धिमान् राजनीतिज्ञको दर्जा दिने हेनरी किसिन्जरले पाकिस्तानको आणविक महत्त्वाकांक्षालाई अगाडि बढाएको कारण ठूलो नसिहत दिएका थिए ।
जनरलले अमेरिकाको लागि ठाउँ बनाउन चीनलाई निरन्तर बाहिर धकेलिरहेका थिए र चीनको चाहनाविपरीत अमेरिकासँगको सम्बन्धले १९६३ मा तीव्र मोड लियो, जब पाकिस्तानको द्विपक्षीय विदेश नीतिका शिल्पकारको रूपमा हेरिने जुल्फिकरले विदेशमन्त्रीको पद सम्हाले । १९६२ मा चीनसँग पाकिस्तानको सम्भावित सम्बन्ध र युवा विदेशमन्त्रीको समाजवादी झुकावको प्रत्याशामा अमेरिकाले स्टेट बैंक अफ पाकिस्तानबाट पाकिस्तानभित्र सञ्चालित अमेरिकी वाणिज्य बैंकहरूलाई क्रेडिट विस्तार सुरु गर्नको लागि ३० करोड रुपैयाँ समकक्षी कोषमा स्थानान्तरण गर्यो, जसलाई पाकिस्तानको लागि स्पष्ट चेतावनीको रूपमा देखिएको थियो ।
बङ्गलादेशलाई पूर्वी पाकिस्तानको आँखाबाट हेर्ने शक्तिहरू वर्तमान पाकिस्तानमा मात्र नभई फिल्ड मार्सलका विदेशी मित्रहरू पनि हुन् । अवामी लिगको मुख्य विपक्षी दल बङ्गलादेश राष्ट्रवादी पार्टी हो, जसको ऐतिहासिक जरो इस्लामवादी पार्टी बङ्गलादेश जमात-ए-इस्लामीसँग गहन गठजोड रहेको छ र १९७१ देखि निरन्तर त्यसको जरो पाकिस्तानमा रहँदै आएको छ ।
पाकिस्तान एउटा यस्तो देश हो, जसको सदुपयोग वा दुरुपयोग गर्ने महाशक्तिहरू अहिले पनि त्यहाँ आफ्नो ‘स्वार्थको पहलवानी’ खेलिरहेको देख्न सकिन्छ । पाकिस्तानको प्रधानमन्त्री शहबाज सरिफ भए पनि सत्ताको लगाम पाकिस्तानी सेनाको नियन्त्रणमा रहँदै आएको छ । हुन त कतिपय आलोचकहरूले फातिमाको यो पुस्तकलाई अमेरिकाविरोधी पुस्तकको रूपमा समेत आलोचना गरेका छन् ।
पाकिस्तानी संविधानविद्, इमरान खानको पार्टीको लोकप्रिय मतादेश कैदखानामा रहेको अवस्थामा ‘डिजुरे प्रधानमन्त्री’ शहबाजलाई विश्वासमा लिएर फिल्ड मार्सलको पहलकदमीमा गरिएको संविधान संशोधन र वर्तमान भूराजनीतिक परिवेशमा यसले निम्त्याउन सक्ने कठोर राजनीतिक कदमहरूको प्रभाव केवल पाकिस्तानमै सीमित नरहने निश्चित छ ।
अन्त्यमा, माथि उल्लेखित संविधान संशोधनलाई इतिहासको कसौटीमा राखेर समीक्षा गरिरहँदा पाकिस्तानसहित सिङ्गो दक्षिण एसियामा पुनः एकपटक ‘रगत र तरबारका गीतहरू’ गुञ्जयमान नहोला भन्न सकिन्न !
सामान्यतया कथा भनेको जीवनका विभिन्न पक्ष, भाव, घटना र अनुभूतिको कलात्मक अभिव्यक्ति हो । जसमा मानवीय व्यवहार, विचार, समाज र संस्कृति चित्रण हुन्छ । यस्ता कथाहरुले कस्ता विचार सम्प्रेषण गर्छन् भन्ने बारे भने कथाकार को हो ? कुन पृष्ठमूमिको हो ? कुन धरातलमा उभिएको छ ? कस्ता व्यक्तिहरुको सङ्गतमा छ ? भन्नेले निर्धारण गर्छ ।
यसैले कथाकारको विश्वदृष्टिलाई प्रभाव पार्छ । त्यसैले कुनै पनि कृति पढ्नु भनेको त्यसमा भएको अक्षर पढ्नु मात्र होइन, लेखकलाई पनि पढ्नु हो ।
मेरो र सुरेशजीको आजसम्म प्रत्यक्ष भेट भएको छैन, व्यक्तिगत चिनजान छैन तर, जब उहाँको कथा सङ्ग्रह ‘पेनिबा’ भित्रका कथाहरु एकदम गहिरिएर पढेँ, तब म सुरेशजीसँग परिचित भएँ ।
यसको मतलब उहाँको वैयक्तिक जीवन कस्तो छ भन्ने होइन, बरु उहाँको विश्वदृष्टि कस्तो छ ? समाजलाई कसरी हेर्नुहुन्छ ? के सोच्नुहुन्छ ? महिलाप्रति उहाँको दृष्टि कस्तो छ ? आफ्नो समुदायप्रतिको धारणा कस्तो छ भन्नेबारे थाहा पाएँ ।
मैले सुरेशजीका कथाहरु पढेपछि उहाँ कोमल, करुणाले भरिएको, महिला पीडा समबोधी, मानिसको मनोविज्ञान बुझ्न सक्ने, पहिचानप्रति सचेत र संस्कृतिप्रेमी हुनुहुन्छ भन्ने थाहा पाएँ ।
‘पेनिबा’ कथा सङ्ग्रहमा सङ्ग्रहित कथाहरुमा प्रेम, विश्वास, गरिबी, आत्मग्लानि र सामाजिक अन्याय विरुद्धको बुलन्द आवाज मुखरित भएका छन् । लेखक पात्रहरुको जीवनमा घटेका साना घटनाहरुबाट गहिरो दर्शन व्यक्त गर्न सफल देखिन्छन् । उनले परिवार, समाज र व्यक्ति–मनोविज्ञानको स्पष्ट चित्र प्रस्तुत गरेका छन् । हरेक कथा साधारण पात्रको अनुभूतिजस्तो देखिए पनि त्यसमा मानवीय वेदना र अस्तित्वको अर्थ खोज्ने प्रयत्न छ ।
सङ्ग्रहका अधिकांश कथाहरु प्रेम र विश्वास परिपरि घुमेका छन् तर, यहाँ प्रेम केवल रोमान्टिक मात्र नभई पितृप्रेम, आत्मप्रेम र आध्यात्मिक प्रेमसम्म फैलिएको छ । जस्तै ‘नयाँ जुत्ता’ शीर्षकको कथामा बाबु–छोराबीचको सम्बन्धमा गलत बुझाइले दिएको पछुतोमा प्रेमको गहिरो र पीडादायी रुप देख्न सकिन्छ । यो कथाले प्रेमको सुक्ष्म रुप उजागर गरेको छ ।
सुरेशजीका कथाहरुमा बारम्बार आइरहने विषय हो, मध्यमवर्गीय परिवारको मनोवृत्ति र मनोद्वन्द्व हो । उहाँका कथाका अधिकांश पात्रहरु सधैँ जिम्मेवारी र आवश्यक्ताबीच मानसिक द्वन्द्वमा फसेको पाइन्छन् ।
‘नयाँ जुत्ता’ कथाकै सन्दर्भ लिने हो भने, कथाको मुख्य पात्र नयाँ जुत्ता नकिन्ने निर्णयमा पुग्नु अघिको मनोदशाले मध्यम वर्गीय परिवारको प्रतिनिधित्व गर्छ भने यहाँ नयाँ जुत्ता नकिन्नु केवल मितव्ययी हुन खोज्नु मात्र नभई परिवारप्रतिको जिम्मेवार व्यक्तिको प्रतीकको रुपमा आएको छ ।
त्यस्तै ‘कन्येकान्छा’ कथाले विदेशमा युवा उमेर व्यतित गरेका बुढ्यौली उमेरका पात्रहरुको भावानात्मक सङ्घर्षलाई उजागर गरेको छ । हङकङजस्तो ठाउँमा बसोबास गर्ने नेपालीहरु पनि आर्थिक र मानसिक रुपमा कति असुरक्षित जीवन बाँचिरहेका छन् भन्ने यस कथाबाट थाहा पाउन सकिन्छ । हङकङ उनीहरुको लागि रोजगारीको ठाउँ मात्र नभई एकप्रकारले त्यहाँ आत्म–निर्वासन पनि हुन पुगेको छ ।
‘छोरा मार्ने आमाको बयान’ र ‘डान्सबारमा छापा’ जस्ता कथाहरुले महिलामाथिको सामाजिक दबाब, गरिबी र नैतिक दोधारलाई उजागर गरेको छ । कठोर जीवनले महिलाहरुमा आत्मसम्मान र निर्णय गर्ने क्षमता अझ मजबुत बनाउँछ भन्ने भावबाट यी कथाहरु लेखिएका छन् ।
सुरेशजीका केही कथाहरुले भने राज्य, न्याय र प्रशासनिक प्रणाली असफल रहेको यथार्थ उजागर गरेको छ । ‘बैंकिङ कसुर’ कथामा मानिसमा देखिएको सामाजिक मूल्य र संस्थागत इमानको पतनप्रति आलोचनात्मक दृष्टि राखेको छ भने शीर्ष कथा ‘पेनिबा’ विशेषत: मुन्धुम दर्शनमा आधारित छ ।
जसले लिम्बू समुदायको जीवन, मृत्युप्रतिको अवधारणा उजागर गर्छ । यो कथाले प्रेम र सृष्टिबीचको आपसी सम्बन्धलाई सांस्कृतिक पक्षपोषण गरेको छ । वास्तवमै यो कथा दर्शन र सांस्कृतिक चेतले भरिपूर्ण छ ।
‘पेनिबा’ कथा सङ्ग्रह सरल भाषामा लेखिएका, गहिरो जीवनबोध दर्शाउने संवाद, घटना र पात्रहरुको सम्मिश्रण हो । कठोर भन्दा कठोर जीवन भोग्ने क्रममा मान्छेमा देखिने राक्षसीपनको निरुपण करुणा र आत्मग्लानिबाट मात्र सम्भव छ भन्ने भावमा अधिकांश कथा बुनिएका छन् ।
वास्तवमै यो कथा सङ्ग्रह आधुनिक नेपाली कथा साहित्यमा यथार्थवाद, मानवीय संवेदना र सांस्कृतिक दर्शनको सशक्त कृति हो । यो कथा सङ्ग्रह नेपाली समाज र व्यक्ति–मनोविज्ञानको जटिल तर सजीव दस्तावेज हो भन्दा फरक पर्दैन ।
जुन बेलादेखि मैले राजनीतिको बारेमा बुझ्न र चासो राख्न थालेँ, त्यही बेलादेखि नै मैले पछ्याइरहेको नेपाली राजनीतिका थोरैमात्र पात्रमध्ये तपाईं एक महत्वपूर्ण पात्र हुनुहुन्छ । तपाईंको स्पष्ट विचार, विषयवस्तुमाथिको गहिरो अध्ययन, समयअनुकूल परिवर्तनलाई आत्मसात गर्ने क्षमता, दूरदृष्टि, विगतको समीक्षा, वर्तमानको संघर्ष र भविष्यको योजनासहित आफूलाई राजनीतिमा अघि बढाउन सक्ने क्षमताको म प्रशंसक हुँ ।
सँगै, सार्वजनिक खपतका लागि अनावश्यक विषयमा बोलेको वा कहिलेकाहीँ भावनात्मक तथा उत्तेजित अभिव्यक्ति दिएको विषयमा म भद्र आलोचक पनि हुँ । यद्यपि पछिल्लो समय तपाईंमा आफ्ना विगतका कमजोरी स्वीकार गर्ने प्रवृत्ति देखेको छु, जसले तपाईंप्रतिको मेरो सकारात्मक धारणा अझ बलियो बनाएको छ । किनकि नेपाली राजनीतिमा, विशेषगरी उच्च तहका नेताबाट, आफ्ना कमजोरी स्वीकार गर्ने संस्कृति अपेक्षा गर्नु नै व्यर्थजस्तै भइसकेको छ ।
आजसम्म कुनै सार्वजनिक कार्यक्रमबाहेक तपाईंलाई प्रत्यक्ष देखेको वा भेटेको छैन । तर तपाईंका विभिन्न अन्तर्वार्ता, लेख, भनाइ, भाषण तथा सार्वजनिक अभिव्यक्तिका आधारमा तपाईंप्रतिको धारणा बनाउँदै आएको छु । पछिल्लो पटक तपाईंले अहिले जारी केन्द्रीय समितिको बैठकमा राखेको करिब एक घण्टाको भाषण हेरेपछि केही कुरा सार्वजनिक रूपमा लेख्नुपर्छ जस्तो लाग्यो, र यही अनुभूतिको आधारमा यो खुला पत्र लेख्दैछु ।
विगतमा, विशेषगरी पार्टी महामन्त्रीका रूपमा निर्वाचित भएपछि, पार्टीका विभिन्न निर्णयमा फरक मत राख्नुभएको, पार्टीका केही निर्णयको नकारात्मक परिणाम थाहा हुँदाहुँदै पनि स्वीकार्नुपरेको, विरोध गरे पनि विद्रोह गर्न नसकिएको वा आफ्नो मतलाई पार्टीको औपचारिक मत बनाउन नसकिएको थुप्रै उदाहरणहरू तपाईंले स्वयम् प्रस्तुत गर्नुभएको थियो । तपाईंले भन्नुभएन कि ती निर्णयहरू कागजी रूपमा त पार्टीकै थिए, तर वास्तविक निर्णयकर्ता भने पार्टी सभापति शेरबहादुर देउवा थिए, जसका निर्णयलाई केन्द्रीय समितिका ८० प्रतिशत सदस्यले सदर गरिदिन्थे र त्यसैलाई पार्टीको औपचारिक निर्णय बनाइदिइन्थ्यो ।
औपचारिक रूपमा तपाईं संस्थापनकै पक्षमा परे पनि राजनीतिक दलभित्र ‘औपचारिकता’ धेरैजसो केवल औपचारिकताको लागि मात्र हुने रहेछ । शक्तिशाली महामन्त्रीले आफू समावेश दलले अर्को दलसँग मिलेर सरकार बनाउने निर्णय भइसकेको कुरा पत्रिकाबाट थाहा पाउने अवस्था—त्यस्तो परिवेशमा ‘फरक मतलाई पार्टीको मत बनाउन नसक्नु गल्ती’ थियो भन्ने स्वीकारोक्ति व्यवहारिक रूपमा सत्य भए पनि औपचारिक रूपमा त्यसको औचित्य कम देखिन्छ ।
तपाईंको जीवनको सिङ्गो उमेरमा अर्को एक दशक थप्दा मात्रै तपाईंका सभापतिको राजनीतिक अनुभव बराबर पुग्छ । यति लामो राजनीतिक यात्राको बोझ बोक्ने, पार्टीभित्र विभिन्न फोरममा पर्याप्त बहुमत राख्ने, जसको एक शब्दलेै विधान मिच्ने क्षमता राख्ने, र वरिपरि परम्परागत सोच तथा पश्चगामी विचारका घेराले घेरेका व्यक्तिबाट आजको युगले मागेको निर्णयको अपेक्षा गर्नु नै गलत थियो भन्ने मेरो बुझाइ हो ।
प्रजातान्त्रिक मूल्य–मान्यता अवलम्बन गर्ने पार्टीभित्र फरक मत राखेर त्यसलाई प्रजातान्त्रिक प्रक्रियाबाट सबैको मत बनाउन खोज्ने औपचारिक बाटो—तपाईंका सभापतिको निर्णय शैली तथा त्यसलाई अन्तिम सत्य ठान्ने समर्थकहरूको विशाल संख्याले पहिल्यै बन्धक बनाइसकेको थियो । त्यसै गलत निर्णयको परिणाम आज देशले, पार्टीले, र व्यक्तिगत रूपमा तपाईंका सभापतिले समेत भोग्नुपरेको छ ।
गत भदौ २३ र २४ को आन्दोलनपछि देश एकदमै फरक मोडमा प्रवेश गरेको छ । कसैले कल्पना नगरेका घटनाक्रमबाट देश गुज्रिरहेको छ । के हुन्छ भन्ने अनिश्चितता त छ, तर आम जनमानसमा आशा र विश्वास पनि समानान्तर रूपमा बढिरहेको छ । जस्तै, एउटा अध्यारो रातपछि उज्यालो विहान आउँछ, त्यसैगरी नेपालमा पनि तपाईंले कल्पना गर्नुभएको “समुन्नत नेपाल, सम्मानित नेपाली” को आकांक्षा पूरा गर्ने सुनौलो बिहान आउनेछ । तर त्यो बिहान आफैँ आउने छैन—त्यसका लागि प्रमुख राजनीतिक दल, राज्यका संयन्त्र, र विशेषगरी सार्वभौमसत्ता सम्पन्न नेपाली जनताले संयम, धैर्य, विवेक र परिपक्व निर्णय गर्नुपर्नेछ । यसको मूल आधार आगामी निर्वाचन हो ।
यो निर्वाचन केवल सामान्य निर्वाचन होइन- सुशासनयुक्त, पारदर्शी, भ्रष्टाचारमुक्त समाज निर्माणतर्फको ऐतिहासिक मोड हो । त्यसका लागि नेपालको सबैभन्दा पुरानो, गौरवशाली इतिहास बोकेको, विभिन्न कालखण्डमा राष्ट्रिय समस्याको समाधानमा महत्वपूर्ण भूमिका खेल्दै आएको दलका रूपमा तपाईंको पार्टी अझ जिम्मेवार र उत्तरदायी हुनुपर्छ, र पार्टीलाई सोहीअनुरूप उभ्याउने जिम्मेवारी आजको दिनमा तपाईंको काँधमा छ ।
हिजो स्वीकार गर्नुभएको गल्तीको प्रायश्चित यही हो- अब अर्को गल्ती गर्ने छुट छैन । पार्टीभित्र वा बाहिर राख्दै आएका तपाईंका फरक मत, विगतमा सुरु गर्नुभएको सुधारका पहल-यी सबैलाई एकमत बनाएर अघि बढ्नुको विकल्प छैन । मूलधारको पार्टीमा आमूल रूपान्तरण हुनु भनेको केवल पार्टीको लागि मात्र होइन, देशकै हितका लागि परिवर्तनको बाटो खोल्नु हो ।
आज तपाईंले ‘रूपान्तरण’ को मुद्दामा आफ्नो अडान सतीसालझैँ कडा रूपमा उभ्याउनुभएको छ-आशा छ, यस अडानमा अडिग रहनुहुनेछ । यो तपाईंका लागि ‘गर या मर’ को घडी हो । तपाईं सफल हुनु भनेको केवल विगतका गल्तीको क्षतिपूर्ति मात्र होइन, देशलाई नयाँ दिशातर्फ डोर्याउने सेतु बन्नु पनि हो ।
तपाईंले विगतमा गरेका कर्म र राखेका फरक मत नै तपाईंको वास्तविक शक्ति हुन् । हिजोका त्यही फरक मत अब सिङ्गो पार्टीको मत बन्नुपर्छ । सम्पूर्ण नेपाली नागरिकले आफू नेपाली भएकोमा गर्व गर्न सक्ने वातावरण बन्नुपर्छ । म जस्ता ‘नेपालमै केही गर्छु’ भन्ने हजारौँ युवाका लागि पर्याप्त अवसर सिर्जना हुनुपर्छ । अहिले जताततै फैलिएको ‘यो देशमा केही छैन’, ‘देश बर्बाद भयो’ भन्ने गलत भाष्य चिर्दै—‘देशमा अपार सम्भावना छ’, ‘पहिचान हामी आफैँले निर्माण गर्ने हो’, ‘देश बन्छ र यसको निर्माता हामी नै हौँ’ भन्ने सकारात्मक सोच बलियो बन्नुपर्छ ।
राजनीति अब सबैको भावनाको प्रतिनिधित्व र अपनत्वसहित अघि बढ्नुपर्छ-र त्यसको नेतृत्व गर्ने अवसर तपाईंलाई प्राप्त होस् ।
तपाईंले देख्नुभएको “समुन्नत नेपाल, सम्मानित नेपाली” को आकांक्षा पूरा होस्- यही शुभकामना ।
बेलबारी । ‘साहुले जाल गरेर बढाएको ऋण चाँडै चुक्ता गराउन ‘चुडेल्नी’ बनाइएकी पात्र मनिषा जो एक सामन्तको आर्थिक, मनोवैज्ञानिक र शारीरिक शोषणमा पर्दछे । नायक पात्र मोदनाथले उनीमाथि सहानुभूति राख्नु मानवीय संवेदनाको उपल्लो नमुना हो ।’ कथाकार ईरानराईको कथासङ्ग्रह ‘चुडेल्नी’ को मोरङको बेलबारीमा परिचर्चा गरिएको छ ।
कथा सङ्ग्रहको शीर्ष कथा ‘चुडेल्नी’ ले सामन्तवादको विरोध गरेको बेलबारी प्रज्ञा–प्रतिष्ठानकी अध्यक्ष रेखा सुवेदीले परिचर्चा गरिन् ।
‘दलित समुदायको झले कामी गरिब थियो तर परिश्रमी थियो, इमानदार थियो । उसले राति राति पहाडको एउटा थुम्को सम्यायो र उर्वर खेत बनाएर धान उमार्यो । गाउँलेको दिमागमा भूतले सम्याएको जमिन भन्यो । तर भूतले नभएर झले कामीले सम्याएको सन्देश दिएर कथाकारले भूतप्रेतलाई अन्धविश्वासका रुपमा उजागर गरेका छन् । अर्कातिर श्रम–संस्कृतिको उदाहरण दिएर प्रगतिशील लेखनको धार पक्रेका छन् ।’ कथासङ्ग्रहमाथि परिचर्चा गर्दै बेलबारी प्रज्ञा–प्रतिष्ठानका उपाध्यक्ष धनजित पराजुलीले भने ।
‘बोक्सी’ शब्दलाई लैङ्गिक विभेदका रूपमा पनि लिनुपर्दछ, पुरुषलाई खराब देखाउने ‘बोक्सो’ भन्ने शब्द हत्तपत्त नभेटिने विषय संविधान सभाको महिला तथा बालबालिका समितिमा छलफल भएको संविधान सभा सदस्यसमेत रहेकी परिचर्चाकार मधु गुरुङ (रत्नदेवी) ले बताइन् । राजनैतिक, आर्थिक, सामाजिक र शारीरिक रूपमा कमजोर महिलाहरूलाई मात्र ‘बोक्सी’ भनेर दुर्व्यवहार गर्ने, विभेद गर्ने र दिसा-पिसाब खुवाउने जस्ता घृणित कुकार्यलाई कथाले उजागर गरेको उनको भनाइ थियो ।
कथाकार राईको सङ्ग्रहभित्र ‘मुर्कुटा’ कथाले सशस्त्र द्वन्द्वको चित्रण गरेको छ । कथा सङ्ग्रहमाथि परिचर्चा गर्ने क्रममा साहित्यकारहरुले ‘बोक्सो’ कथाले नारीप्रति पुरुषहरूको घृणित मनोविज्ञानलाई उजागर गर्दै व्यङ्ग्य गरेको उल्लेख गरे । अशिक्षित र कमजोर महिलाहरूलाई होच्याउने, विभेद गर्ने र विद्यमान कुरीतिको भण्डाफोर गर्ने काम ‘डाइनी’ कथाले गरेको छ । सामर्थ्य हुनेहरुले मात्र न्याय पाउने अमर्यादित मानसिकताको विपक्षमा ‘डङ्किनी’ कथा उभिएको छ । अन्धविश्वासलाई हटाउनुपर्ने सन्देश ‘राक्षसनी’ कथाले दिएको छ । ‘किचकन्नी’ कथाले मनगढन्ते मनोदशामाथि व्यङ्ग्य गरेको परिचर्चा गरिएको छ ।
कथासङ्ग्रहमाथि स्रष्टा समाज बेलबारीका अध्यक्ष जे.बी. थुलुङ, प्रलेस केन्द्रीय सदस्य तिला लेकाली, कोशी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरही, बेलबारी साहित्य विकास समितिकी उपाध्यक्ष लक्ष्मी रेग्मी सुवेदी, बेलबारी प्रज्ञा–प्रतिष्ठानकी सदस्य निरू गौतम, कण लघुकथा मञ्च, कोशी प्रदेशका अध्यक्ष दीप मङ्ग्रातीलगायतले परिचर्चा गरेका थिए ।
मोबाइलको ब्यालेन्स सकिएझैँ मान्छेको पनि ऊर्जा सकिन्छ।
प्रकृतिमा पुग्न नपाउँदा म आफै चार्ज नभएको मोबाइल जस्तै हुन्छु।
प्रकृतिमा नपुग्दा म आफै ब्यालेन्स सकिएको मोबाइल जस्तै हुन्छु।
यो थोत्रो सहर हेर्दाहेर्दै, धुलाम्मे प्रदूषणमा सास फेर्दाफेर्दै, र मान्छेका अनावश्यक गफहरू (जस्तै: ‘म’, ‘मैले’, ‘मजस्तो अरू को ?’ किसिमका, गर्न र गरेको केही होइन फेरि) सुन्दासुन्दै चिडचिडाहाट हुन्छ र त्यसैले हाईकिङ वा ट्रेकिङ जान्छु।
अनि ब्यालेन्स र ब्याट्री थपेर आउँछु र फेरि चल्ने मोबाइल जस्तै हुन्छु।
हामी प्राकृतिक जीव हौं।
जन्म आमाबुबाबाट भए पनि, हामी प्रकृतिका सन्तान हौं। हाम्रो भित्र प्रकृति छ, पञ्चतत्व छ। त्यो पञ्चतत्व प्रकृतिको विशालतामा गएपछि रिचार्ज हुन्छ, रिब्यालेन्स हुन्छ। जीउ थाके पनि मुहार तेजिलो हुन्छ। अरूलाई ‘कल’ लगाउन मोबाइलले पाएझैँ, अरूसँग हाँसी-हाँसी बोल्न सक्ने भइन्छ। शरीर थाके पनि मन रिचार्ज भएपछि मान्छे मस्त र मनमग्न हुन्छ।
त्यसैले म हिँडिदिन्छु।
सहरका स्वार्थी मान्छेहरूभन्दा गाउँका सादा र सरल जीवन भएका मान्छेको चित्र दिमागले खिच्छ। सास फेर्न नसकिने प्रदूषणभन्दा जतिबेर पनि फेरिरहुँ लाग्ने खुल्ला हावाले मन छुन्छ। अनेक टाँटाँटुटु (ध्वनि) भन्दा चिरबिरमा पुगिन्छ। खोलाको मुहानमा पुग्दा पो थाहा हुन्छ, नदी त खोला, नाला र खोल्सा-खोल्सीहरू मिलेर बनेको हुन्छ। अनि नयाँ ज्ञान हुन्छ: सानो मुहानको पानी जसरी खोला बन्छ, मान्छे पनि एक-अर्कासँग मिलेर पो एक बन्ने रहेछ।
मान्छेभित्र रहेको हार्दिकता हराइसक्नु हरेक सहरको विशेषता नै हो। मानव सागर बोकेको हरेक महानगरमा मान्छे जस्तो मान्छे नै पाइँदैन। अझ, आजकल त सहरमा माटो नै छैन भन्दा पनि हुन्छ। भएको थोरै पार्कको माटो पनि विशुद्ध बनिसक्यो।
पहाडको माटोको महकले मन नै प्रफुल्लित हुन्छ। रङ्गीचङ्गी फूल र फलहरूले क्यामेराले खिचेभन्दा बढी हृदयमा चित्र बनाउँछ। जङ्गलको औराले असाध्यै आनन्द आउँछ। अग्ला घर भएका साना मनका मान्छेभन्दा साना घर र ठूला मन भएका मान्छे हेर्दा हिजोको आफू हुर्केको गाउँमा पुगेझैँ हुन्छ। धान लगाएका खेतहरूले किसानलाई नमस्कार गर्न सम्झाइरहेका हुन्छन्। देख्न छाडिसकेको दृश्य देखेपछि, त्यो दृश्यले अन्तर्दृष्टि बदलिदिन्छ।
यसैले नै म हिँडिदिन्छु।
कहिले कहाँ, कहिले कहाँ ?
यो पाला पनि नसुनेको नाम धुसकोट सेलतापगढी पदयात्रा थियो। लैजाने उही ह्याप्पी हाईकर्स थियो। सदाझैँ चप्पल कारखानामा ५:२५ मा गाडी आयो। सिंगो सहर चक्कर लगाएर गाडी बनेपा, धुलिखेल, पाँचखाल, दोलालघाट, सुकुटे हुँदै बलेफी पुग्यो।
बलेफीको मूल बाटो छाडेर देब्रेपट्टिको ‘गोले वंश उत्थान’ लेखिएको मूल गेटबाट गाडी भित्र छिऱ्यो। धान काटेर सुकाइरहेको, कोदो लडिरहेको, पहेँलपुर हलुवाबेद फलिरहेको, केराको घारी राताम्मे भएर पाकिरहेको जीवन्त गाउँ हेर्दै पिच बाटो गाउँ उक्लियो। केही पर गएपछि पिच पनि थिएन। डोजरले कोरेको सानो बाटो मात्रै थियो।
गणतन्त्रपछि गाउँपालिकाहरू बने। गाउँ-गाउँमा पिच उकालो उक्लिए। तर एउटा समस्या के छ भने, सानो बाटो भएकाले उताबाट गाडी आयो भने आपत आइलाग्ने किसिमका बाटोहरू बनेका छन्। घुमाउँरो बाटोमा अर्को गाडी आए कसरी पास हुने भन्ने लागिरहेथ्यो। ठ्याक्कै अर्को गाडी आइहाल्यो। बिञ्जयालमा बस्ती थियो, त्यहीँ भएको स्कुलको गाडी रहेछ। कनिकनी पास भए दुई गाडी। मलाई त ‘ओर्लिऊँ कि क्या हो?’ फेरि दुई गाडीले हुक्का-चिलिम (दुर्घटना) हुने हो कि भन्ने पनि लाग्यो। तर केही भएन। उकालो लाग्दै-लाग्दै गएपछि बिञ्जयालबाट चिलाउनी हुँदै चौताराबाट उत्तर-पूर्वको डाँडो धुसकोट आइपुग्यो।
कालो ज्याकेट, आकाशे जिन्स र सेतो टी-सर्टमा सजिएका हाँसिला मान्छेले परैबाट नमस्कार गरे। उनी रहेछन् प्रितम गोले तामाङ। दुवै गालामा डिम्पल भएका उनी त्यो समाजका चल्तीका मान्छे रहेछन्। सानैमा विवाह गरिसकेका उनको पत्नी बलेफी गाउँपालिकाको उपाध्यक्ष रहिछन्। उनी भने पत्रकार, कलाकार र समाजसेवामा जोडिएका रहेछन्। ह्यान्डसम प्रितम प्रियकर लाग्यो। मेमे ट्रेकिङका गाइड इन्सुहाँङ राई यो हाईकका जुइनो (संयोजक) रहेको उनले बताए।
प्रितम ।
जुगल हिमाल अगाडि रहेको सुन्दर गुम्बा अगाडि उनको टोली स्वागतको लागि तयार भएको रहेछ। त्यो गाउँमा हाईकिङको लागि गएको पहिलो टोली हाम्रै रहेछ। त्यहीँ भएर गाउँका धेरै मान्छेहरू त्यहीँ जम्मा भएका रहेछन्। उनीहरूले तामाङ सेलो गाए। आमाहरूले डम्फु बजाउनुभयो। गुम्बा पछाडि हिमाल हाँसिरहेको थियो। गुम्बा अगाडि आमाहरू हाँसिरहनु भएको थियो। ती दुवै देख्दा हाईकर्सहरूको मन हाँसिरहेको थियो।
डम्फु बजिरहँदा मैले भक्त स्याङ्तानले लेखेको “डम्फुको आत्मलाप” किताब पढिरहेको झैँ लाग्यो। तामाङ संस्कृति र सभ्यता मिलाएर हामीलाई कागजको टीका र फूल दिएर स्वागत गरियो। बलेफी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष रितेश तामाङ त्यहीँ थिए। उनी पनि खुब खुसी भए। भने, “तपाईं आएर शुभ पाइला राखेकोमा धन्यवाद, पर्यटकीय र सांस्कृतिक बुझ्न चासो दिएकोमा धन्यवाद।”
गोलेहरूको गोलो रहेको धुसकोटमा पाख्रिन, स्याङ्तान, घिसिङ, स्याङ्बो लगायत ६ सय धुरी तामाङ रहेको जानकारी पाइयो।
स्वागत मन्तव्य सकिएपछि राताम्मे लुगामा सजिएका लामा गुरुज्यूबाट मन्त्र पाठ गरियो। गुम्बाको चहलपहल सकिएपछि हामी खाजा खाने ठाउँमा चल्यौँ।
नयाँ ठाउँ, नयाँ खाजा, नयाँ मान्छेहरूसँग घरको पिँढीमा बसेर रोटी, चना, अण्डा र कालो चिया खायौँ। अनकन्टार त्यो ठाउँमा यसरी बसेर खाइरहँदा पुरातन समाजको फिल्ममा अभिनय गरिरहेझैँ लाग्दै थियो। नजिकै धारो कलकल बगिरहेको थियो। चराहरू कराइरहेका थिए। गाउँका सामुदायिक कुकुरहरू हामीलाई पनि केही दिन्छन् कि भनेर नजिकै आएर बसेका थिए। गाईवस्तु कराइरहेका थिए। चराहरू सुसेली हालिरहेका थिए।
खाजा खाइसक्दा बिहानको ११ः०० बज्न लागिसकेको थियो। आर्मीको टोली जस्तै छिटो खाएर हामी हाईक गर्न थाल्यौँ। बाफ्रे! उकालो हेर्दा टोपी झर्ने थियो। एक जोडी हाईकर त ‘अब सकिँदैन’ भनेर बसमा आएर बसेको माथि पुगेपछि थाहा पाइयो। अरू साथी पनि कति पछि हो कति! माथि उकालोमा आफू हुँदा तलको मान्छे हेर्दा कमिलाको ताँती जस्तो देखिन्थ्यो। उत्तर-पूर्वमा गौरीशंकर हिमाल चिहाइरहेको थियो। दक्षिणमा चौतारा, ‘म कति भिड भइसकेँ, हेर्नु’ भन्दै थियो।
जस्तोसुकै चिसो होस्, उकालोले पसिना छुट्टाइहाल्छ। पसिनाको पानीले पानीढल भइसकेका थियौँ। बस्दै पसिना सुकाउँदै, आफ्नै स्वाँस्वाँ रोक्दै हिँड्दै डेढ घण्टा ठाडो उकालो लागेपछि पुगियो सेलताप मंगला देवी मन्दिर। रुखको टोड्कामा रहेको मंगला माई साक्षात् भएको र उहाँले सबैको रक्षा गर्नुभएको बताउँदै हुनुहुन्थ्यो स्थानीय मिङमार गोले तामाङ।
भन्दै थिए, “हेत्तेरी! माईको शक्तिको कुरै नगर्नुस्, साक्षात् हो साक्षात्! तपाईंलाई थाहै छैन, परबाट डढेलो लाग्दै आयो, सेलताप माईको वरपर आएपछि आफैँ निभ्यो। अर्को कुरा, बन्दुक पड्काए पनि पड्कँदैन यो ठाउँमा। बुझ्नुभयो? जे माग्यो त्यही वर पुग्ने देवी हो उहाँ।”
उनको कुरा परीक्षण गर्ने समय थिएन। बन्दुक पनि थिएन। डढेलो लगाउने हामी हुँदै होइनौँ। वर केही मागिएन। देवता भए थाहा पाएर दिइहाल्नुहुन्छ भन्ने लाग्यो। देवीको थानसम्म बाटो पनि आइपुगेको रहेछ। हामी पुग्दा जिप बसिरहेको थियो। गाह्रो-साह्रो परेकोलाई जिपले तल लगिदिने व्यवस्था रहेको प्रितमले भन्दै थिए।
पिकनिक खाने ठाउँ जस्तै बनोस् भनेर मज्जाले जस्ताको छानोको पाटीहरू बनाइँदै रहेछ। रुखको छेउमा बलि दिने प्रचलन रहेछ। पोथी बलि एक ठाउँमा र भालेको बलि एक ठाउँमा दिइने चलन रहेछ। भारतीय संस्कृतिको प्रभाव स्थानीयभन्दा बढी त्यहाँ पुगिसकेछ। ढुङ्गाका खम्बाहरूको ठाउँमा फलामे कवाडी जस्तै खम्बाहरू हालिएछ। त्रिशूल र घण्टले हाहाकार गरिरहेका थिए। टोड्कामा स्थापना गरिएको साक्षात् देवीलाई प्रतिस्थापन गरेझैँ गर्दैथियो भारतीय शैलीको दुर्गाको मूर्तिले। यो कुरामा स्थानीय स्तरकै भए राम्रो भनेर नमागेको सुझाव दिए हाईकर्सले।
मन्दिर दर्शनपछिको पालो थियो सेलताप गढी। जहाँ पृथ्वीनारायण शाहले उतिबेला बनाएको किल्लाको आकृति गाउँपालिकाले संरक्षण गरेर राखेको रहेछ। १८औँ शताब्दीका पृथ्वीनारायण शाहको जस्तो बुद्धि कुनै राजाको भएन भन्ने लाग्यो। २० वर्षमा राजा भएका उनले बनाएको साँगाचोक गढीमा यसअघि पुगेका थियौँ।
चिसापानी गढी, साँगाचोक गढी, सेलताप गढी, मुन्दला गढी र जुगुना गढी गरेर एकीकरण मार्ग वा गोर्खाली ट्रेल्स बनाउन सकिने रहेछ। गोर्खाली सेनाले पानी खान बनाएको धारो देखियो। हामीसँग हिँडेका तामाङ दाइ भन्दै थिए, “हामी कहिलेकाहीँ आवेशमा क्षेत्री-बाहुनलाई गाली गर्दछौँ, उतिबेला यो ढुङ्गा ल्याएर यसरी क्षेत्री-बाहुनले बनाएको बाटोमा अहिले हिँड्दैछौँ, कत्ति मेहनत गरेको होला है?”
हुन पनि शत्रु पक्ष आयो भने एक गढीले अर्को गढीलाई मद्दत गर्दै उतै रोक्दै राजधानी आउन नदिने कस्तो राम्रो योजना पृथ्वीनारायण शाहको भन्ने लाग्यो। त्यसै नेपाल देश बचेको होइन भन्ने लाग्यो। यसरी बनेको देश आज अरूको एजेन्ट बनेर थोरै पैसाको लागि लागेर आफ्नो राष्ट्रको इतिहास धरापमा पार्ने कुलङ्गारहरूलाई गाली पनि गरे साथीहरूले।
अबको पालो थियो भुसुने झरनाको। जङ्गलभित्र हराउँदै, रमाइलो कुराकानी गर्दै, बाटो नभएको बाटो हुँदै लड्दै, पड्दै, जुकालाई रगत चुसाउँदै पुगियो झरना। कात्तिकमा भुसुने झरना भुसुना झैँ भएको रहेछ। भिर मौरीले पारेको मह एक चराले खाँदै गरेको सुन्दर दृश्य हेर्दा लाग्यो, एक-अर्कासँग मिलेर जङ्गलका जीवनहरू बाँचेका छन्।
आएकै बाटो फर्कनु जीवनकै नियम नै हो। हामी आएको बाटो फर्कँदै डोजरे विकासको बाटो आइपुग्यौँ। भुसुने झरनाबाट डेढ घण्टा हिँडेपछि पहिलेकै ठाउँमा आएर खाना खाइयो। ११ः०० बजे बिहान हिँडेको हामी कहीँ-कहीँ सुस्ताउँदै, वाटर ब्रेक, गढी ब्रेक, देवी थान ब्रेक, खाजा ब्रेक, झरना ब्रेक गर्दै सात घण्टामा खाना खाने ठाउँमा पुगियो। गाडीमा बस्न जाँदा सूर्यले राताम्मे भएर बिदा भन्दै थियो। हामी सूर्यलाई बाइबाई गर्दै धुसकोटबाट कच्ची बाटो हुँदै बलेफी आइपुग्यौँ।
बलेफीमा आएपछि फेरि गाडी बिग्रियो। ‘स्टार्ट’ नै नहुने रोग लाग्यो। यसले अर्को ३० मिनेट खायो। गाडीमा गुड्दा पेट्रोल सकिँदै थियो। बाटोमा बियर साथीहरू थप्दै थिए। बियर खाने र फाल्ने गर्दा अर्को एक घण्टा ढिलो भयो। ६ः०० बजे रात परिसकेको थियो। घर पुग्दा १०ः३० भइहाल्यो। यसरी बिहान ४ः३० उठेदेखि रातीको १०ः३० सम्मको १८ घण्टाको दिन छिनभरमै सकिए जस्तै भयो।
०००
त्यो १८ घण्टा एक हप्ताको रिचार्ज कार्ड थियो।
गाडीमै ६/७ घण्टा बिताउँदा र बियर पिउनेहरूको बकवास समयले हैरानी भए पनि हानि भएन। गाडीका ‘बुझ्नुभयो, मैले त पहिले नै भनेको होइन र?’ किसिमको गफ मनले नमाने पनि कानले सुनिरहेको थियो।
यी सबै बाहेक सुन्दर धुसकोटका मनोहर गुम्बा, मन्दिर र गढी मनमा बसिरहेछ। त्यहाँको स्थानीयले तामाङ सेलो शैलीमा प्रितम गोलेको रचना, डम्फुको सङ्गीत र संयुक्त गायन गुञ्जिरहेको छ:
देवताको रूपमा पाल्नुहुने पाहुना ज्यू, फूलले गर्दछु स्वागत, जलले गर्दछु स्वागत। जुगल हिमाल हिउँझूसी, भयो भयो हाम्रो मनखुसी। सुनको औँठी गाड्नुभयो, टाढाको पाहुना पाल्नुभयो। जुगल हिमाल हिउँझूसी, भयो भयो हाम्रो मनखुसी।
हामी पनि फरक ठाउँ, फरक गाउँ, फरक मान्छे र फरक खाना खाएर फर्कँदा मोबाइलमा ब्याट्री चार्ज भएझैँ भएका छौँ। ब्यालेन्स सकिएर फोन नलाग्ने जस्तो भएको शरीरमा धुसकोटको ब्यालेन्स रिचार्ज गरेका छौँ। यो हप्ताको रिचार्ज किन्न जम्मा १२ सय लिएको थियो ह्याप्पी हाईकर्सले। यसरी ब्यालेन्स र ब्याट्री शरीरमा थप्नेहरू निम्न थिए:
काठमाडौं । यात्रा ! गन्तव्यमा पुग्ने उत्साह । यही उत्साहका कारण कठिनभन्दा कठिन चुनौती पार गर्न बल मिल्छ । संसार घुम्न सजिलो छ । नाङ्गो आँखाले भ्याएजति देख्न पनि सजिलै छ । तर, कुनै यस्तो एक यात्रा छ, जहाँ पुग्दापुग्दै आफैँ हराइन्छ, आफैँ बिलाइनेछ । आफैँ गुमाएर आफूलाई नै पाउने अनुभूति जगाउने त्यो, एक अद्भुत यात्रा हो ‘अन्तर मनको यात्रा’ अर्थात् ‘विपश्यना ध्यान’ विधि ।
तन–मन शिथिल पारेर थपक्कै बसेर मनको आँखाले शरिरभित्र डुलाउने प्रक्रिया अद्भुत रहेछ । दसैँको मुखैमा विपश्यना शिविर पुगेँ । ध्यानका सुरुका तीन चार/दिन शरीर दुखेर रुन मन लाग्यो । विचारका पहाडहरु चिर्दै, शरीरभरि उठिरहेका बग्रेल्ती सुखद र दुखद संवेदनाहरुको अनुभूति गर्दै अन्तरमन भरी दौडिन साँच्चिकै सजिलो रहिन छ । यसको वास्तविक अनुभूति विपश्यना ध्यान शिविरमा सहभागी भएपछि महसुस गरेँ ।
विपश्यना ध्यान विधिले जिउने कला सिकाउँछ । घण्टौँ पलेटी कसी बसेर आफ्नो श्वास प्रश्वासलाई नियाल्दा धैर्य भई बस्न सक्ने क्षमता विस्तार गराउँछ । पलेटीकसी बस्दा बस्दै छेउछाउका केही साथीहरु घुरेका आवाजहरु कानमा गुन्जिन्थे । बसीबसी निदाएरै १० दिन बताउने साधकहरु पनि थिए । एक साधकले १० दिन पूरा गरेपछि भनिन्, “बाख्राको पुच्छर खाए जस्तै चुलचुले थिएँ, अचम्मै लाग्यो म यतिका दिन कसरी बस्न सकेँ ?”
उनले भने जस्तै, विपश्यनाले धर्यता, सहनशीलता, आफूप्रतिकै इमानदारीताप्रति आफू नै साक्षात्कार हुन सिकाउँछ । विपश्यना शिविरमा १० दिन (आर्य मौन बस्ने) सम्म शब्द उच्चारण गर्ने त कुरै भएन कुनै इशारा वा सङ्केत समेत गर्न मिल्दैन । न फोनको घण्टी बज्छ, न त कुनै म्यासेजको टिन टिन सुन्नुपर्छ । न कुनै गाडीको ट्याँ…ट्याँ… न कुनै उद्योगको ध्वनि प्रदूषण । दश दिन बाहिरी दुनियाँबाट पूरै बेखबर हुँदा अन्तरमुखी भएर जिउनुको रस बेग्लै हुने रहेछ ।
विपश्यना ध्यान विधिलाई अपनाइरहदा छैटौँ दिनमा अनौठो महसुस भयो । शरीरभरि तरङ्ग नै तरङ्ग फैलिए । एकपल त म को हुँ ? तरङ्ग मात्रै हुँ ? भन्ने भान भयो । अर्को दिन त्यही संवेदना रुपान्तरित भएर विन्दु–विन्दु (थोप्ला) भएको संवेदना महसुस भयो । थुप्रै विन्दुहरुको समग्र रुप नै शरीर हो कि ? या एक विन्दु मात्रै म हुँ ? शरीरभित्र उत्पन्न हुने र हराउने यी संवेदनाहरुको बेगले म को हुँ ? भनी सोच्न बाध्य बनाउँछ । उत्पन्न सोचहरुबीच ध्यान जारी छ ।
शरीरभित्र उत्पन्न भएका अनेक संवेदनाहरुको लहर चलिहरन्छ । केही क्षणमै बम विस्फोट भए जस्तै शरीर पड्किए झैँ भयो । ती ठूला संवेदनाहरु थिए । जसको आवाज थिएन तर, झट्का भने कुनै बमभन्दा कम लागेको थिएन । आत्तिएछु, आँखाभरि डर, त्रास र थोरै रहस्य भाव बोकेर अचार्य गुरु माँलाई सोधेँ, “शरीरभरि बम पट्किए जस्तै भयो, अत्यास लाग्यो ।”
उहाँले मन्दमुस्कान र शालीन भाव पस्किँदै भन्नुभयो, “आत्तिनु पर्दैन । त्यो पनि संवेदना नै हो आउँछ, जान्छ, क्षणभङ्गुर छ । मात्रै साक्षी भावले हेरिरहनु ।”
वास्तवमा कुनै प्रतिक्रिया बिना नै उत्पन्न भइरहेको घटनाको साक्षी हुनुमै शान्तिको मुहान लुकेको हुँदोरहेछ । यो विपश्यना ध्यान विधिले गराएको अर्को महत्वपूर्ण अनुभूति थियो । जहाँ दुख्छ या पीडा बोध हुन्छ, त्यहाँ जति साक्षी भावले नियाल्यो त्यति छिट्टै बिलीन हुन्छ । फेरि अर्को कुनै ठाउँ अर्को संवेदना जाग्छ । संवेदनाहरु जाग्नु र हराउने प्रक्रिया निरन्तर शरीरमा चरिरहन्छ । संवेदनाहरुको उतारचढावको वेग चुपचाप नियाल्नुमा ठूलो धैर्यता चाहिने रहेछ ।
शरीरभरि फैलिएका यस्ता अनौठा संवेदनाहरु यसअघि कहिल्यै यति सूक्ष्म तरिकाले महसुस गरेकी थिइन् । दैनिकी भागदौडमा हामीले हाम्रो शरीरको कुन अङ्गलाई यति ध्यान दिन भ्याउँछौँ र ? अझ अन्तर मनको तरङ्ग सुन्ने सुक्षमता त गुमनाम भइसकेको छ । विपश्यना ध्यान विधिले आफूमै केन्द्रित हुन सिकाउँछ । सहन सक्ने शक्ति बढाउछ, दुखाइ र पीडालाई स्वीकार गरेर सहज रुपमा लिने स्वभावको विकास गराउँछ । अझै महत्वपूर्ण सिकाइ भनेको शरीरभित्र दौडिरहेका हरेक प्रकारका संवेदनाहरुप्रति तटस्थ रुपमा साक्षी एवं द्रष्टा भावको जागरण गराउँछ ।
विपश्यनाको सातौँ दिन । पूर्णिमाको रात थियो । चन्द्रमा पूरै उदाएका थिए । चकमन्न रातमा । केही टिम टिम तारा । राति ९ बजेको प्रवचन र ध्यान सकाएर धम्म(ध्यान) सभाबाट त्यस दिनको ध्यान सकेर सुत्ने कक्षमा पुग्दा बाहिर आकाशतिर आँखा पुग्यो । त्यो दिन चन्द्रमा पूर्ण गोलो आकारमा थियो । मनले पूर्णिमा रात रहेको चाल पायो । एकटक उभिएर चन्द्रमा नियाली रहे । उही चन्द्रमा, उही आकाश, अनि यिनै आँखा । तर, चन्द्रमाप्रतिको अनुभूति र बोध भने विगतभन्दा फरक महशुस गरेँ ।
चम्किरहेको चन्द्रमालाई मैले पहिलो पटक उ जस्तो छ त्यस्तै रुपमा देखेँ । पहिला भने चन्द्रमासँग थुप्रै अलङ्कार जोडेर रोमाञ्चित हुन्थेँ । झुटो चन्द्रमाको परिकल्पना गरेर झुटै कल्पनामा रमाउने बानी परेको थियो । तर, त्यो रात चन्द्रमा साँच्चै विशुद्ध चन्द्रमाकै रुपमा नियालेँ । त्यहाँ कुनै प्रतीक जोडिन । उ मलाई हेरिरहेको छ, म उसलाई । हामी मात्रै एक अर्काका द्रष्टा मात्रै थियौँ । कल्पनाको जालो जब विस्तारै विलिन हुन्छ, तब मात्रै वस्तुगत यथार्थ नियाल्न सम्भव हुने रहेछ । यी कुराहरु मैले कतै न कतै सुनेकी थिएँ, अनुभूति गर्न पाएकी थिइन् ।
प्रत्येक वर्ष घुमफिर गरेर रमाइलो गर्ने मेरो स्वभाव छ । सम्भव भएसम्म घुम्ने, डुल्ने । यसै क्रममा अहिलेसम्म चार हजार १३० मिटर उचाईमा रहेको अन्नपूर्ण आधार शिविर (एबिसी), चार हजार १०० मिटर उचाईमा रहेको पाँचपोखरी र चार हजार २५० मिटर उचाईको मर्दी ट्रेकमा पुगेको छु । देशदेखि विदेशसम्मको यात्रा गरेको अनुभूति पनि छ । समुन्द्र, पहाड, हिमाल, तराईको अनुभव । उकाली र ओराली अनुभूति । सबै दृश्यको साक्षात्कार गरेकी मलाई विपश्यनामा पुगेर गरेको अन्तरमनको यात्रा सयौँ गुणा सुखद् रह्यो ।
यात्राको प्रक्रिया कुनै पहाड चढ्नुभन्दा कम सजिलो छैन । यससँगै थुप्रै चुनौतीहरु भोग्नु पनि तयार हुनुपर्छ । आफूभित्रको अन्तरद्वन्द्वको सामना गर्न कठिन छ । तर, जसरी लामो कष्टर पदयात्रापछि गन्तव्यमा पुगेर प्राप्त हुने खुसी जस्तै अन्तरमनको यात्राले दिने आनन्द र उत्सव त्यो भन्दा कहिल्यौँ गुणा बढी हुँदोरहेछ ।
विपश्यनाका लागि शिविरमा नाम दर्ता गर्दा उदासिनको बादल छाएको हामी सबै साधकहरुको अनुहार १० दिनपछि शिविर पूरा गरेर निस्किदा उज्यालो, चम्किलो र एक उत्साह भरिएको जीवन लिएर फर्कियौँ । यस्तो, लाग्दै थियो, ‘मेमरी फूल’ भएको ‘हार्डडिक्स पूरै फर्म्याट’ भएको छ । हलुका र प्रफूलित मुहार लिएर, हामी शिवपुरी सैनिक क्याम्प नजिकबाट घर फिर्ता हुन जमलस्थित ज्योति भवनसम्मको गाडीमा चढ्यौँ ।
विपश्यना शिविरको एउटै कोठामा बस्ने साथी सुस्मिताले भनिन्, “प्रफूल्लित भएको यो मन अब दैनिक जीवनमा फर्किएपछि कति दिन टिक्ला ?” उनले गरेको यो प्रश्न सबै विपश्वी साधकको साझा चुनौती हो । तर, म भने विपश्यना ध्यान विधिले आत्मबोध गराएको हरेक चुनौतीलाई साक्षी भावले नै हेरौँला भनेर मुस्कानसहित घर फर्किएँ ।
नेपालको राजनीतिक परिवर्तनको यात्रा सधैं युवाको उर्जासँग जोडिएको छ । विभिन्न समयका स्वतन्त्रताको आन्दोलनदेखि सामाजिक पुनर्निर्माणसम्म, युवाहरूले देशको दिशा तय गर्दै आएका छन्।
यो यात्राको केन्द्रमा पछिल्लो कालखण्डमा एउटा नाम घन्किन्छ – केपी शर्मा ओली । उनी न केवल राजनीतिज्ञ, बरु युवा चेतना र आत्मनिर्भर नेपालको प्रतिक पनि हुन्। नेपालमा युवा आन्दोलनको नयाँ धाराको कडी जोड्ने इतिहास पनि उनीसँगै जोडिएको छ ।
२०४७ जेठ १ को युवा एकता २०४७ जेठ १ गते, देशभक्त, प्रगतिशील र जनवादी युवाहरूलाई एकताबद्ध गर्दै तत्कालीन नेकपा (एमाले) का नेता केपी शर्मा ओलीको नेतृत्वमा‘प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपाल (प्ररायुसंघ)’ स्थापना गरिएको थियो ।
यसले युवालाई राष्ट्रिय आकांक्षासँग जोड्ने आन्दोलनको बीउ रोप्यो।समयक्रममा यो संगठन विकसित हुँदै राष्ट्रिय युवा संघ नेपालका रूपमा देशभर फैलियो । संघले सरकारको राम्रो कार्यमा साथ र गलत कदममा विरोध गर्दै सडकदेखि संसद् सम्म युवाको आवाज बुलन्द पार्ने परम्परा कायम राखेको छ ।
ओली र युवाप्रतिको दृष्टि-
“अवसर सिर्जना गर्ने युवाहरू चाहिन्छ” भनेका केपी शर्मा ओलीको राजनीतिक यात्राको केन्द्रमा सधैं युवा रहे । उनी युवालाई नेतृत्व, नीति र अवसरको केन्द्रमा राख्ने राष्ट्रप्रेमी नेता हुन्।
२०७२ सालमा राष्ट्रिय युवा परिषद् गठनका क्रममा उनले कार्यकारी उपाध्यक्षमा माधव प्रसाद ढुङ्गेललाई नियुक्त गर्दै “युवा लगानी, सीप विकास र उद्यमशीलता” लाई राष्ट्रिय नीति तहमा पुर्याए। “रोजगारी खोज्ने होइन, अवसर सिर्जना गर्ने युवाहरू चाहिन्छ भनेर उनले २०७२ सालमा पहिलोपटक प्रधानमन्त्री भएका बेला प्रष्ट बताएका थिए ।
ओलीको यस दृष्टिकोणले नेपालको युवा आन्दोलनलाई आर्थिक सशक्तिकरणतर्फ मोड्ने आधार बनायो । अर्कोतिर पार्टीभित्रको युवा नीति निर्माण पनि ओलीले नेपालका राजनीतिक दलहरुमा मानक स्थापित गरेका हुन् ।
नेतृत्व हस्तान्तरणको संस्कारको कुरा गर्दा नेकपा (एमाले) ले युवालाई जिम्मेवारीमा ल्याउने संस्थागत संस्कार स्थापित गरेको छ। ३० वर्षभन्दा कम उमेरका युवालाई पार्टीका हरेक तहमा भूमिका दिने व्यवस्था ओलीकै दृष्टिकोण हो ।
“नेतृत्व हस्तान्तरण क्रमशः हुनुपर्छ, तर योग्यतालाई आधार बनाउनुपर्छ।” ओलीको यहि दृष्टिकोणले एमालेलाई केवल राजनीतिक संगठन होइन, युवा–केन्द्रित र भविष्यमुखी शक्तिका रूपमा पुनःस्थापित गरेको छ।
४० वर्षमुनिका युवालाई पार्टीका हरेक कमिटीमा प्रतिनिधित्वको सुनिश्चिततामात्र होइन आसन्न महाधिवेशनमा कोटा तोकेरै प्रतिनिधिमा अवसर दिने कामको नेतृत्व ओलीबाट भएको छ । युवालाई टिकट दिएर संसदमा लैजाने, प्रमुख सचेतक तथा सचेतक र मन्त्री बनाउने अनि लोकप्रिय युवाहरूलाई स्थानीय तहमा जिम्मेवारी दिने काम पनि त ओलीबाटै भएको हो ।
नेतृत्व विकासमा ओलीले हवल्दारबाट असई बढुवा शैली होइन, तलबाटै फ्री कम्पिटिशनको युवा नेतृत्व स्थापित गर्न योजनाबद्ध पहल गरेका हुन् । यहि पहलकै कारण सुहाङ नेम्वाङ,सुनिता डंगोलदेखि महेश बर्तौला र सुनिता बरालहरुले राष्ट्रिय राजनीतिमा स्थापित हुने मौका पाएका होइनन् ? ६० कटेका ‘युवा नेता’लाई नेतृत्व किस्तीमा राखेर दिने कि ४० नकटेका युवालाई नेतृत्वमा ल्याउने ? आजको बहस यो होइन र ?
उद्यमशीलता र स्टार्टअप नीति –
आत्मनिर्भर युवातर्फ ओली सरकारले ल्याएको स्टार्टअप कर्जा नीति नेपालको युवा नीतिमा ऐतिहासिक मोड थियो। नविन सोच, सीप र क्षमताका साथ युवाहरूलाई स्वावलम्बी र सृजनशील व्यवसायतर्फ उन्मुख गराउने यो योजनाले हजारौं युवाको जीवनमा नयाँ अध्याय खोलेको छ।
विदेशिनु समस्याको समाधान होइन, सृजनशील सोच नै भविष्य हो ।” जेनजी आन्दोलन- डिजिटल युगको नयाँ चेतना आजको पुस्ता — Gen Z वा Zenz y — डिजिटल दुनियाँमा हुर्किएको, स्वतन्त्र सोच र नवीन दृष्टिकोण बोकेको पुस्ता हो।
उनीहरू सडकमा होइन, स्क्रिनमार्फत आवाज उठाउँछन्। नीति, समाज र राष्ट्रियतामा डिजिटल सहभागिता जनाउँदै,डिजिटल राष्ट्रियताको नयाँ रूप प्रस्तुत गर्छन्।तर उनीहरूको प्रेरणाको स्रोत अझै पुरानै छ ।
केपी शर्मा ओली, जसले युवामा देश बनाउन सक्ने आत्मविश्वास जगाएका छन्।ओली र Zenz y पुस्ता — सोच फरक, लक्ष्य एउटै २०४७ सालमा ओलीले उद्घोष गरेका थिए — “युवाशक्ति नै राष्ट्रशक्ति ।” त्यो नारा आजको Zenz y आन्दोलनमा डिजिटल स्वरूपमा पुनर्जीवित भएको छ।
Zenz y पुस्ता असफलताबाट डराउँदैन, परिवर्तन चाहन्छ र अवसर खोज्छ —ठ्याक्कै ओलीको दर्शनजस्तैः “डर होइन, सोच बदल्नुपर्छ; सपना देख्नुपर्छ, पूरा गर्न जुट्नुपर्छ।”
मानवीय अपेक्षा र नेतृत्वको उत्तरदायित्व आजको Zenz y पुस्ता प्रविधिमा अगाडि भए पनि मानवीय दृष्टिले अपेक्षाको संसार त्यत्तिकै असीमित छ। अपेक्षा किन असिमित हुन्छन् ? किनकी ती एकपछि अर्को थपिँदै जाने मानवीय चाहना हुन्।तर पूरा गर्नका साधन सीमित छन् — त्यसैले विवेक र प्राथमिकता आवश्यक हुन्छ।नेता र प्रतिनिधि केवल राजनीतिक होइन, सामाजिक पनि हुन्छन्।
घरदेखि समाजसम्म प्रत्येक जिम्मेवार व्यक्ति कुनै न कुनै रूपले नेतृत्व गर्छ। यस अर्थमा हरेक सचेत व्यक्ति स्वयं पनि एक प्रतिनिधि हो।जब हरेक व्यक्तिले आफ्ना अपेक्षा र जिम्मेवारी सन्तुलित रूपमा पूरा गर्न सिक्छ,त्यहीँबाट वास्तविक नेतृत्वको चेतना सुरु हुन्छ।
त्यसैल युवाशक्ति नै राष्ट्रशक्ति २०४७ सालको युवा आन्दोलनदेखि २०८२ दशकको Zenz y चेतनासम्मको यात्रा नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक विकासको साक्षी हो।यस यात्रामा केपी शर्मा ओलीको नेतृत्व, नीति र प्रेरणा अपरिहार्य र ऐतिहासिक रहेका छन्।
राष्ट्रिय युवा संघ नेपाल र Zenz y आन्दोलन दुवै एउटै विचारमा उभिएका छन् – “देशको विकास युवाको नेतृत्व र उद्यमशीलताबाट मात्रै सम्भव छ।” आज आलोचना सजिलो छ, तर सिंहदरबारभित्र समाधान खोज्ने आँट चाहिन्छ।
डिजिटल हिरोहरूले वास्तविक नीति–निर्माता हिरोहरूलाई कमजोर बनाउँदा देश छोटो लोकप्रियतामा रमाएर दीर्घकालीन समृद्धिको बाटो बिर्सिने खतरा हुन्छ।त्यसैले —केपी शर्मा ओली मात्र नेता होइनन्, उनी युवा पुस्ताका प्रेरणाका शाश्वत स्रोत हुन्।
(रमिला नेपाल राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सचिवालय सदस्य तथा कानून विभाग प्रमुख हुन्)
बिहानको न्यानो किरण झ्यालबाट पस्दै आउँछ, हावामा कफीको तातो गन्ध मिसिन्छ, अनि सहर बिस्तारै जाग्दै जान्छ ।
धनगढीको बिहान अब चियाको कपसँग मात्र सुरु हुँदैन, अब सुरु हुन्छ कफीको कपसँग, विचार र उर्जाको स्वादसँग ।
इथियोपियाको गोठालोदेखि धनगढीका गल्लीसम्म
कफीको कथा संसारकै पुरानो स्वादकथामध्ये एक हो । इथियोपियाको काल्दी नामक गोठालोले बाख्राहरू रातो फल खाएर नाच्न थालेपछि पहिलोपटक कफी खोजे ।
त्यो फलले दिने ऊर्जा आज लाखौँ मानिसको बिहानको स्रोत बनेको छ । यमनका सूफी साधुहरूले लामो रातमा ध्यान गर्न यो फलको रस प्रयोग गरे,टर्की र अरबका सहरहरूमा पहिलो कफी हाउस खुले, युरोप पुगेपछि यो बुद्धिजीवी र कलाकारहरूको प्रिय पेय बन्यो, र भारत हुँदै यसले नेपालमा पाइलो राख्यो ।
नेपालमा कफीको यात्रा
नेपालमा कफीको बीउ सन् १९३८ तिर गुल्मीमा रोपियो — शुरूमा केवल जिज्ञासाको रूपमा, तर त्यसले एउटा नयाँ सम्भावना बोकेको थियो ।
समयसँगै कफी खेती पश्चिमका डाँडाहरू हुँदै पाल्पा, लमजुङ, इलाम, काभ्रे र सिन्धुपाल्चोकसम्म फैलियो ।
नेपालको उचाइ, चिसो हावा र अर्गानिक माटोले यसलाई अद्भुत स्वाद दिएको छ । आज “नेपाल अर्गानिक कफी” विदेशी बजारमा पनि चर्चित छ । तर अझ रोचक कुरा — यो स्वाद अब केवल निर्यातका लागि होइन, नेपाली जीवनशैलीकै अंश बन्न थालेको छ ।
धनगढी : पश्चिमको नयाँ सुगन्धित सहर
धनगढी पश्चिम नेपालको मुटु, व्यापारको केन्द्र, र सांस्कृतिक संगमको रुपमा परिचीत छ । अहिले यही सहरमा कफीको नयाँ संस्कार जन्मिइरहेको छ । पहिले बिहानको बजारमा चियाको भाप मात्र उड्थ्यो, तर अहिले Americano, Cappuccino, Latte, Espresso, Mocha का नामहरू स्थानीय भाषामा पनि झन् परिचित हुन थालेका छन् ।
शहरका गल्लीहरूमा अब “कफी हाउस”, “लाउञ्ज”, “क्याफे”हरूको श्रृंखला भेटिन्छ — युवाहरूले यहाँ पढ्छन्, काम गर्छन्, सपनाबाँड्छन्, र प्रेम पगाल्छन् । कफीले धनगढीको स्वरूप बदलिदिएको छ —पहिले केवल बजारको सहर, अब संस्कृतिको सहर । जहाँ कफी केवल पेय होइन, भेटघाटको बहाना, सोच्ने ठाउँ, र आत्माको संवाद बनेको छ ।
धनगढीको रोजाइ र कफीको तान
पहिले स्थानीयहरू कफीलाई “विदेशी स्टाइल” भनेर हेर्थे । तर अहिले कफी यहाँको दैनिकीको हिस्सा बन्दै गएको छ । धनगढीका धेरै युवा उद्यमीहरू अहिले आफ्नै लोकल कफी ब्रान्ड स्थापित गर्न थालेका छन् ।
“स्थानीय कफी” ले अहिले बजारमा चर्चा पाउन थालेको छ —र यसले सहरलाई आत्मनिर्भरताको नयाँ ऊर्जा दिएको छ । अब सहरका हरेक उमेरका मानिसको आफ्नो स्वाद छ — कोही ब्ल्याक कफीको तिक्ततामा रमाउँछन्, कोही मोकाको मिठासमा, र धेरैलाई लाटेको न्यानोपनले आफ्नोपनको अनुभूति दिन थालेको छ ।
कफी हाउसहरू : संवादका नयाँ चौतारा
पहिले चौतारी र टोलका चिया पसलहरूमा गफ हुने गर्थ्यो, आज त्यो संवाद कफी हाउसमा सरेको छ ।
त्यहाँ गफ मात्र होइन, विचार बन्छ, व्यापार बन्छ, र कहिलेकाहीँ प्रेम पनि जन्मिन्छ । धनगढीका युवाहरू अब कफीका कपसँगै नयाँ योजनाहरू बनाउँछन्, सामाजिक संजालका पोस्टहरू कफीको टेबलमा लेखिन्छन्, र पुराना साथीहरू फेरि भेटिन्छन् — “एउटा कप कफी खाउँ न!” भन्ने निम्तोसँग । मेरो लागि कफी केवल स्वाद होइन — यो मनको संवाद हो, जसले बिहानलाई नयाँ अर्थ दिन्छ ।
पहिलो सिपले मलाई जागाउँछ, दोश्रो सिपले सोच्न बाध्य बनाउँछ, र अन्तिम सिपमा म लेख्न थाल्छु — जीवनका कथा, अनुभूति र शब्दहरू ।
कफीको धुवाँसँगै म कहिलेकाहीँ अतीत सम्झन्छु,कहिलेकाहीँ भविष्यको योजना बुन्छु । तर हरेकपटक महसुस गर्छु —यो सानो कपमा जीवनको सम्पूर्ण स्वाद मिसिएको छ । कफी अब केवल पेय होइन — यो संवादको संस्कृति, सहरको संकेत र ऊर्जाको प्रतीक बनेको छ ।
धनगढी जस्ता सहरहरूमा यसको फैलावटले नयाँ पहिचान दिएको छ — शान्त, सभ्य, र सृजनशील जीवनशैलीको । सहरले साँझको ट्राफिकमा पनि अब कफीको सुगन्ध महसुस गर्छ, र बिहानको सुरुमा पनि यही स्वादले चेतनालाई जगाउँछ ।
कफीले मानिसहरूलाई जोडेको छ — विचारहरूलाई तातो बनाएको छ,र सहरलाई एउटा नयाँ सांस दिएको छ ।
अब धनगढीको बिहान कफीको कपसँग मात्र सुरु हुँदैन, त्यो सुरु हुन्छ नयाँ सोच, नयाँ सपना र नयाँ ऊर्जासँग । एक कप कफी, एउटा सहरको पहिचान — धनगढी अब केवल जागिरहेको छैन, ऊर्जामय भएर बाँचिरहेको छ
आजको समयमा हाम्रा भावना र विचार केवल शब्दमा सीमित छैनन् । हाम्रा भावना र विचारहरू स्क्रिनमा देखिन्छन् । भिडियोमा देखिन्छन् । पहिले एक ठाउँको खबर अर्को ठाउँ पुग्न महिनौँ लाग्थ्यो, अहिले एक मिनेटमै सारा संसार विचरण गर्छ ।
तर, हजारौँ दर्शक/पाठकसम्म पुग्ने भावना भावना र विचारलाई जब उनीहरूले मानिदिँदैनन् वा सुनिदिँदैनन्, हाम्रो मन भित्रैबाट भाँचिएर जान्छ । झनै सामाजिक सञ्जालसँग जोडिएका हाम्रा भावना र विचारलाई एकै पटक अस्वीकार गरिँदा त्यसको परिणाम धेरै नै भयावह र विकराल बनेर जान सक्छ ।
पछिल्लो समय यस्ता घटनाहरू दिन प्रतिदिन घटिरहेका छन् । केही दिनअघि मात्रै गायिका नितु पौडेल आत्मदाह प्रकरणले सामाजिक सञ्जाल रंगियो । नितु पौडेल प्रकरण पछिल्लो समय गहिरो सामाजिक मनोवित्रान उजागर गर्ने प्रतिनिधि घण्टा हो ।
गायिका नितुले प्रेमसम्बन्ध, पारिवारिक दबाब, व्यावसायिक अड्चन र सामाजिक अस्वीकृतिका कारण आफूलाई पेट्रोल खन्याएर आत्मदाह गरिन् । उनले सामाजिक सञ्जालमा आफ्नो निर्णय लेखिन् । प्रहरी वृत्त पुगिन् । अनि अन्ततः आगोको मुस्लोमा परिणत भइन् ।
यस घटनाले देखाउँछ, सामाजिक/प्रेम सम्बन्धमा हुने अस्वीकृतिले व्यक्तिको आत्म-मूल्यांकनमा धक्का पुर्याउँछ । सामाजिक सञ्जालमा व्यक्त गरिएको सम्भावित संकेत (उदाहरणका लागि “आजको दिन सबैभन्दा ठूलो निर्णय लिँदैछु” भन्दै पोस्ट) अक्सर समयमै नबुझिन सक्छ । अस्वीकृतिको विभिन्न तह, पारिवारिक दबाब, सामाजिक अपेक्षा, प्रेम सम्बन्ध मिलेर विषाक्त संयोजन बन्न सक्छ ।
यो केवल व्यक्तिगत कमजोरी होइन । यो सामाजिक र डिजिटल युगको डरलाग्दो मनोवैज्ञानिक सन्देश हो । मानव प्राणी स्वभावतः सामाजिक हो । उसलाई अरूले आफूलाई विना दोहोरो संवाद “बुझोस्” भन्ने चाहना हुन्छ । तर जब कसैले हाम्रो कुरा सुन्न वा मान्न तयार हुँदैन, मस्तिष्कले त्यसलाई अस्तित्वमाथिको खतरा ठान्छ ।
मनोवैज्ञानिक म्यास्लोको आवश्यकताको पिरामिडमा “स्वीकृति” र “सम्मान” बिना जीवन असन्तुलित हुन्छ । त्यही कारण जब हामीलाई बुझिँदैन, हामी पीडित महसुस गर्छौँ । जब हाम्रो कुरा अस्वीकार गरिन्छ, हामी रिसाउँछौँ । जब हाम्रो अस्तित्व नै नदेखिए जस्तो लाग्छ, हामी मन भित्रबाटै दुखी हुन्छौँ । अरूले कुरा नमान्दा मान्छे पहिले दुखी हुन्छ । त्यो दुःखलाई रोक्न नसक्दा ऊ रिसाउँछ, चिच्याउँछ, गाली गर्छ । तर त्यो गाली दुःखी भएर मात्रै गरिएको हुँदैन, भित्रैदेखि टुटिसकेपछि पोखिएको पीडा हो ।
पछिल्लो समयमा पूर्व फुटबलर तथा टिभी प्रस्तोता अमन प्रताप अधिकारीले संसद् भवन अगाडि भएको आन्दोलनका क्रममा सार्वजनिक प्लेटफर्ममा उग्र भाषा (अश्लील शब्दसहित) र धम्कीपूर्ण अभिव्यक्ति सहितको भिडियो साझा गरेका छन् । जसमध्ये उनले भनेका छन्, “अब सबको ज्यान जान्छ…” ।
यसले देखाउँछ कि डिजिटल प्लेटफर्मले भावनालाई तुरुन्त सार्वजनिक बनाउँछ, तर त्यसको परिणाम सामाजिक र कानुनी दुवै रूपमा गम्भीर हुन सक्छ । यस्तो व्यवहार केवल एक व्यक्तिको रिस होइन, नबुझिएको समाजको मनोवैज्ञानिक प्रतिबिम्ब हो । यो अवस्थालाई “इगो हर्ट रेस्पोन्स” भनिन्छ । अहम् वा आत्मसम्मानमा चोट पुगेपछि मस्तिष्कले प्रतिक्रिया स्वरूप आक्रोश निकाल्छ । तर यस्तो प्रतिक्रिया क्षणिक मात्र हुन्छ ।
दुःखले शान्ति माग्छ, तर रिसले युद्ध जन्माउँछ । जब शब्दले काम गर्दैन, मान्छेले धम्की, मुद्दा, अपमान, वा प्रतिशोधका रूपमा व्यवहारिक नियन्त्रण खोज्छ । उसको मनोविज्ञानले भन्छ, “अब बल प्रयोगले मात्र मलाई सबैले सुन्नेछन्।” तर यस्तो व्यवहारले सम्बन्ध र समाज दुवै टुटाउँछ ।
जब सबै प्रयास विफल हुन्छन्, तब लाग्छ- “अब केही बाँकी छैन ।” त्यो क्षण सबैभन्दा नाजुक र पीडादायक हुन्छ । यहीँबाट आत्मविनाशको विचार सुरु हुन्छ । उसले सोच्दछ, “कम्तीमा मेरो अन्त्यले त अरूलाई महसुस गराओस् !” तर वास्तवमा त्यो कुनै प्रतिशोध होइन, त्यो एक मौन सन्देश हो, “मेरो भावनालाई मैले आफ्नो ठानेको मान्छेले वा अरू कसैले बुझेन ।”
आज यो सम्पूर्ण मनोवैज्ञानिक यात्रा सामाजिक सञ्जालमा झन् तीव्र बनेको छ । हजारौँ मान्छेको अगाडि सामाजिक सञ्जालले मानिसको भावना, आक्रोश, र पीडालाई उत्तेजित गर्छ । सामाजिक सञ्जालमा “लाइक”, “रियाक्सन”, “कमेन्ट”, “फलोअर” नै आत्मसम्मानको मापन बनेका छन् । कसैले हाम्रो पोस्टमा प्रतिक्रिया दिएन भने हामी सोच्न थाल्छौं, “म महत्त्वपूर्ण छैन।” यही सोचले मानिसलाई डिप्रेशन, एक्लोपन र आत्मग्लानीतर्फ ढलाउँदै लगिरहेको छ ।
पहिले अस्वीकृति केवल दुई जनाबीच सीमित हुन्थ्यो, तर अहिले त्यही कुरा फेसबुक, टिकटक, एक्समा भाइरल हुन्छ । जब कसैको विचार वा भावना ट्रोलिङ र अपमानमा बदलिन्छ, त्यो डिजिटल भीडको सामूहिक हिंसा हो । सामाजिक सञ्जालले सबैले आफ्नो ‘सफल’ रूप मात्र देखाउँछन् । तर अरूको सफलता हेर्दा र आफ्नो कमजोरी देख्दा आत्मविश्वास घट्छ । त्यस्तो निरन्तर तुलनाले अन्ततः मानसिक सन्तुलन बिगार्छ ।
हामीले बुझ्नुपर्ने कुरा सरल छ- हरेक आक्रोशको पछाडि एक नबुझिएको पीडा हुन्छ । व्यक्तिगत स्तरमा अरूको कुरा सुन्ने अभ्यास गरौँ, केवल उत्तर दिने होइन । सामाजिक सञ्जालमा आलोचना होइन, सहानुभूति बढाऔँ । सामाजिक स्तरमा विद्यालयमा मानसिक स्वास्थ्य र सहानुभूति शिक्षाको अभ्यास सुरु गरौँ । साइबर उत्पीडन, डिजिटल बुलिङ र उग्र भाषणविरुद्ध ठोस नीति बनाऔँ । मानसिक स्वास्थ्य, आत्महत्या रोकथामका हेल्प लाइनहरूलाई समान पहुँचयोग्य गराऔँ । सार्वजनिक प्लेटफर्ममा बोल्ने/लेख्ने मानिसहरूलाई उत्तरदायित्ववोध बढाऔँ । “मेरो लेखाइले, मेरो प्रतिक्रियाले, मेरो बोलीले अरूलाई कसरी असर गर्छ?” भन्ने प्रश्न आफूलाई सोध्ने संस्कार बढाऔँ । आफूभित्रको सामाजिक संस्कार र चेतको विकास गरौँ, सबै कुरालाई राजनीतिसँग जोडेर व्यक्ति र समाजवाद विखण्डनतिर नधकेलौँ ।
जब मानिसको कुरा सुन्ने कोही हुँदैन, ऊ मौन हुन्छ । जब मौनता पनि कसैले महसुस गर्दैन, ऊ हराउँछ । कहिलेकाहीँ त सधैँका लागि हराउँछ । सामाजिक सञ्जालले हामीलाई जोडेको छ, तर बुझ्ने क्षमताबाट टाढा पुर्याएको छ । अब समय आएको छ- “रियाक्सन” होइन, “रिलेशन” बनाउने संस्कृतिको किनभने अन्ततः हरेक मान्छेलाई सामाजिक प्राणीको रूपमा बाँच्न केवल एक कुरा चाहिन्छ, त्यो हो: “मलाई कसैले बुझोस् !”
तिहार अर्थात् यमपञ्चक, नेपाली समुदायले बडादशैँ पछिको दोस्रो ठूलो पर्वका रूपमा मनाउने एक विशेष चाड हो। सामान्यतया पाँच दिनसम्म मनाइने यस पर्वमा काग, कुकुर, गाई, गोरुको पूजा गरिन्छ र अन्तिम दिन भाइटीका अर्थात् दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरङ्गी टीका लगाइदिएर असीम प्रेम साट्ने गर्छन्।
झिलिमिली बत्ती, मखमली र सयपत्रीको सुगन्ध, देउसी–भैलोको मीठो धुनले यो पर्व नेपाली समाजको एक महत्वपूर्ण हिस्सा हो। तिहारसँगै देउसी–भैलो खेल्ने चलन छ लक्ष्मीपूजाको दिन भैलो र गोवर्धन पूजारभाइटीकाको दिन देउसी खेल्ने प्रचलन रहँदै आएको छ।
विगतको उल्लास र मौलिक रौनक विगत भनौँ या करिब ६–७ वर्षअघिसम्म गाउँघरमा तिहार आउनुअगावै छुट्टै रमझम छाउँथ्यो। तिहारको माहोल दशैँ सकिएलगत्तै सुरु भइहाल्थ्यो। दिदीबहिनीहरू भाइटीकाको तयारीमा जुट्थे भने गाउँका टोलैपिच्छे देउसी–भैलो खेल्ने समूहहरूको चहलपहल बढ्थ्यो। सेलरोटी पाक्ने बास्ना, घर लिपपोत गर्ने चटारो र फूलमाला गाँस्ने होडबाजीले गाउँका गल्लीहरू गुञ्जयमान हुन्थे।
देउसी–भैलोमा टोलहरूबीच कसले बढी दक्षिणा बनाउने भनेर प्रतिस्पर्धा नै चल्ने गर्थ्यो। मौलिक लोकगीतहरूमा ‘सिमल बारुलै’ गीतमा मनैदेखि नाच्दै, ‘भन भन भाइ हो देउसिरे, राम्ररि भन देउसिरे’ भन्दै भट्याउँथे।
‘ए रातो माटो चिप्लो बाटो’ लड्डैर पर्डै हामी त्यसै आयनौ बलिराजाले पठाय भन्दै भट्याउँदै अरुण उपत्यका को देउसी गीतमा गाउँका दाजु, दिदी, साथीभाइ मिलेर देउसी खेल्दै हिँड्दाको रमाइलो अविस्मरणीय हुन्थ्यो। दक्षिणामा पाएको चामल बोक्ने पालो कसको भनेर झगडा पर्थ्यो, र प्रायः जो अलिक सोझो छ, उसलाई चामल बोक्ने जिम्मेवारी पर्थ्यो। दक्षिणा बाँड्दा भट्याउनेलाई केही बढी दिएर अरूले बराबरी बाँड्ने प्रचलनले त्यो बेलाको उत्साह र रौनक बेग्लै थियो।
वर्तमानको सन्नाटा र संस्कृतिमा ह्रास
तर, अहिले ती सबै क्षणहरू केवल ‘सम्झनामा मात्र सीमित हुन थालेका छन्। अहिले धेरै गाउँको तस्वीर फेरिएको छ। तिहारको झिलिमिली र उल्लास शहरकेन्द्रित भएको छ भने ग्रामीण भेगहरू शून्यप्रायः छन्। विगतमा घरका दलिनमा फूलमालाको चाङ लाग्थ्यो यसपालि त फूल टिप्ने मान्छे नै कम छन्’ भन्ने गुनासो गाउँका पाका व्यक्तिहरूका मुखबाट सुन्न पाइन्छ।
गाउँ सुनसान हुनुको मुख्य कारण रोजगारी, शिक्षा र स्वास्थ्यका लागि भएको बसाइँसराइ हो। अधिकांश युवापुस्ता अध्ययन, रोजगारी वा अन्य कामका सिलसिलामा सहर तथा विदेशतिर पलायन भएका छन्। तिहारमा हुनुपर्ने चहलपहल अब सुनसान हुँदै गएको छ। गाउँमा न त देउसिरे भट्याउनेहरू छन्, न ती भैलेनी गाउने ६–७ वर्षअघिका अनुहारहरू नै छन्। चाडपर्व मनाउन भनेर मुस्किलले आएका ३–४ जनाभन्दा बढी युवापुस्ताका अनुहार भेट्न सकिँदैन।
पहिले जसरी देउसी–भैलो खेल्ने र रमाउने रहर अब उनीहरूमा पनि छैन। गाउँमा प्रायः वृद्ध उमेरका बुढाबुढी र विद्यालय जाने उमेरका बालबालिका मात्र रहेका छन्। जसले अहिले देउसी भैलो खेल्ने प्रयास गर्छन्, तिनीहरू पनि साउन्डबक्समा अनेक थरीका गीत बजाएर नाच्ने किसिमले मात्र गर्छन्, आफैँ भट्याउन जान्दैन्न।
पर्वको मर्म र चुनौती
यस वर्षको सुनसान गाउँले स्पष्ट रूपमा देखाउँछ कि युवा पुस्ताको बसाइँसराइको चपेटामा परेर हाम्रो मौलिक संस्कृति र चाडपर्वको वास्तविक मर्म आफैँ हराउँदै जाँदै छ। गाउँले जनशक्तिको अभावमा तिहारको मौलिकता र रौनकतामा ह्रास आउनु एक गम्भीर सामाजिक चुनौती हो।
यदि यस्तै क्रम जारी रहे, भोलिका दिनमा हाम्रा पर्व र संस्कृतिहरूलाई जगेर्ना गर्ने को रहलारु सम्बन्धहरूलाई जोड्ने र समुदायलाई एकताबद्ध गर्ने हाम्रो महान् चाड तिहारले फेरि गाउँघरमा आफ्नो पुरानो रमझम फर्काउन सकोस्। तिहारको बत्तीले सहरलाई मात्र होइन, गाउँका हरेक घरलाई उज्यालो बनाओस्, जहाँबाटै हाम्रो संस्कृतिले जीवन पाएको छ।
गाउँको माटोमा एउटा गन्ध हुन्थ्यो- जसले चाडपर्व आउँदै छ भन्ने संकेत दिन्थ्यो। बिहानै घर-आँगन लिप्ने आवाज, गोबर-माटोको सुगन्ध, ढोकामा सगुनको धुप, अनि बर्खे धानका बालामा खेलेको घाम- यी सबै मिलेर तिहारको आगमनको आभास दिन्थे। त्यो समयको तिहार केवल धार्मिक विधि थिएन, त्यो गाउँको आत्मा थियो। गाउँका मानिसहरू तिहार आउँदा एउटै मुटुका धड्कनजस्ता बन्थे- एक घरमा रमाइलो भयो भने सारा गाउँ रमाउँथ्यो, एउटा घरमा दुख भयो भने सबैको आँखा रसाउँथ्यो।
त्यो बेला तिहार मनाउने शैलीमा न कुनै आयातित चमक थियो, न विदेशी भड्किलो झिलमिल। जे थियो, आफ्नै ढङ्ग थियो- अर्ग्यानिक, आत्मीय, र मनदेखि निस्किएको। देउसी भैलो गाउँभर गुन्जिन्थ्यो, बालबालिकाका हाँसोले आँगनहरू उज्याला बन्थे। गोरस पात बाँडिचुँडी खाने चलन गर्विलो थियो। हुनेले नहुनेलाई दिने परम्परा गर्वको विषय थियो, दान होइन- साझेदारीको संस्कृति थियो।
गाउँमा तिहार आउँदा कुनै परिवार एक्लो महसुस गर्दैनथ्यो। सबैको हातमा माटो, सबैको मनमा श्रद्धा। बत्ती माटोको तेलबाट बल्थ्यो, तर त्यो उज्यालो आत्माको हुन्थ्यो। घर-आँगनमा रंगोली बन्ने, रातभर देउसी भैलो गुञ्जिने, र बिहान उदाउँदो घामसँगै गाउँ नै उत्सवको रूप लिने। त्यो माटोको गन्धमा खुसी मिसिएको हुन्थ्यो- त्यो खुसी जसको मूल्य पैसाले होइन, सम्बन्धले तोकिन्थ्यो।
तर आजको तिहार फरक छ। सहरको बत्तीहरू झन् धेरै बल्छन्, तर आत्माको उज्यालो घट्दै गएको छ। अहिलेको तिहारमा माटोको सुगन्ध छैन, केवल प्लास्टिकको चमक छ। पहिले घरमा आफ्नै हातले बनाइएको तोरण टाँसिन्थ्यो, अब बजारबाट किनिएको रेडिमेड सजावट टाँसिन्छ। पहिले फूलमालाको गन्धले आँगन सुवासित हुन्थ्यो, अब कृत्रिम फुलले सजावट हुन्छ।
पहिले देउसी भैलो गाउँको आवाज थियो, अब DJ को ध्वनि छ। पहिले मिठाई छिमेकीसँग साटिन्थ्यो, अब मोबाइलमा ‘ह्याप्पी दीपावली’ को इमोजी पठाइन्छ। तिहार अब सम्बन्धको पर्व होइन, प्रदर्शनको बनिरहेको छ। कसको घरमा कति महँगो लाइट, कसले कस्तो गिफ्ट पठायो- यही तुलना चल्छ। त्यो आत्मीयता, त्यो साझेदारी, त्यो सहानुभूति अब माटो सँगै पुरिँदै गएको छ।
समय बद्लिनु स्वाभाविक हो, तर मूल्यहरूसँगको दूरी खतरनाक हुन्छ। हामी आधुनिक बनेका छौँ, तर भावनात्मक रूपमा परावलम्बी। पहिलेको तिहार गाउँलेहरूका लागि मिलन र सम्झनाको समय थियो, अहिले सहरका मानिसहरूका लागि बिदाको समय मात्रै। पहिले चाडपर्वले मानिसलाई नजिक ल्याउँथ्यो, अहिले यसले फरक-फरक बनाइरहेको छ। सहरमा अब तिहार फोटो खिच्ने र स्टोरी पोस्ट गर्ने अवसर बनेको छ।
कहिलेकाहीँ लाग्छ, हामीले उज्यालो देखाउने कुरा त सिक्यौँ, तर उज्यालो बाँड्ने कुरा बिर्सियौँ। पहिले गाउँलेहरू साँचो आत्मीयता बाँड्थे- कसैको घरमा बत्ती नभए, छिमेकीको घरबाट ज्योति ल्याइन्थ्यो। अहिले सहरमा बत्ती त हजारौँ बल्छ, तर छिमेकीको घर अँध्यारो भयो कि होइन, कोही सोध्दैन। त्यो नै हाम्रो संस्कारको वास्तविक क्षय हो।
शहरीकरण र व्यस्तताले मानिसहरूलाई व्यक्तिगत बनायो। ‘मेरो घर’, ‘मेरो खुसी’, ‘मेरो सेलिब्रेशन’- यही सोचले सामूहिकता हरायो। बजारले संस्कार प्रतिस्थापन गर्यो- पहिले घरका दिदीबहिनीहरू मिलेर फूलमाला गुथ्थे, अब बजारबाट प्लास्टिकको ल्याइन्छ। पहिले रंगोली आफ्नै हातले बनाइन्थ्यो, अहिले तयार स्टिकर टाँसिन्छ।
सामाजिक सञ्जालले पनि हाम्रो संवेदना मेटाइरहेको छ। पहिले देउसीभैलोको हाँसोले गाउँ गुन्जिन्थ्यो, अहिले फेसबुक र टिकटकमा म्यूजिक भिडियो गुञ्जिन्छ। पहिले चाडको अर्थ भेटघाट थियो, अहिले लाइक र कमेन्टको संख्या बनेको छ। प्रविधिले हामीलाई प्रकाश दिएको छ, तर सम्बन्ध निभाएको छ। हामी बिजुली बाल्दैछौं, तर बत्तीले उज्यालो भन्दा बढी दूरी सिर्जना गरिरहेको छ।
हामीले समयसँगै धेरै कुरा सुधार्यौं- सजावट, रमाइलो, दृश्यता- तर मौलिकता हरायौँ।
त्यो मौलिकता जसमा प्रकृति र सम्बन्ध दुवै एकै सूत्रमा बाँधिएका थिए।
तिहार केवल घर सफा गर्ने पर्व थिएन, मन सफा गर्ने अवसर थियो।
देउसी भैलो केवल मनोरञ्जन थिएन, सामाजिक सम्बन्ध सुदृढ गर्ने अभ्यास थियो।
भाइटीका केवल दिदीबहिनी र भाइबीचको सम्बन्ध होइन,
नारी स्नेह र पुरुष जिम्मेवारीको सन्तुलनको प्रतीक थियो।
तर अहिले यी सबै कुरा फोटो फ्रेममा सीमित छन्। टिका राख्दा ममताको चमकभन्दा बढी ‘फोटो राम्रो आयो कि छैन’ भन्ने चिन्ता हुन्छ। भाइटीकाको निधारमा माया भन्दा ‘फिल्टर’ को छाया बढी देखिन्छ। देउसीभैलोमा गीत भन्दा ‘बीट्स’ बढी सुनिन्छ। गाउँमा त्यो तिहारको आत्मा अझै बाँकी छ होला, तर सहरमा त्यो आत्मा झन् हराउँदै छ।
मौलिकता फर्काउने बाटो भने असम्भव छैन। केवल भड्किलो देखावटीपन कम गर्नुपर्छ, आत्मीयता बढाउनुपर्छ। छिमेकीसँग भेट्न, मिठाई साट्न, केही बोल्न समय निकाल्नुपर्छ।
बालबालिकालाई देउसी-भैलो सिकाउनुपर्छ, न केवल गीतको लय, तर त्यसमा रहेको अर्थ पनि।
गाईको गोबरले घर लिप्ने कुरा सहरमा सम्भव नहोला, तर माटोको गन्ध सम्झन त सक्छौँ।
मौलिकता किन्ने कुरा होइन, बाँच्ने शैली हो। त्यो केवल बत्ती बाल्ने होइन, मन बाल्ने कला हो।
तिहारलाई फेरि आत्मीय बनाउनका लागि हामीले हृदयका ढोका खोल्नुपर्छ।
सहरमा बसेर पनि गाउँको संस्कार बाँच्न सकिन्छ, यदि हामीले त्यो आत्मा सम्झ्यौँ भने।
देउसी भैलो गाउने समय नहुन सक्छ, तर कसैको घरमा उज्यालो ल्याउने काम गर्न सक्छौँ।
फूलमाला नहुँदा पनि हाँसोको माला बाँध्न सक्छौँ।
तिहारको अर्थ यही हो- आत्मीयताको उज्यालो फैलाउने।
अन्ततः, तिहार केवल बत्तीको पर्व होइन, त्यो हाम्रो आत्माको प्रतिबिम्ब हो।
हामीले सजावट बदल्न सक्छौँ, तर संवेदना हराउन दिनु हुँदैन।
गाउँको त्यो माटो, त्यो गोठको धुवाँ, त्यो गाईको घण्टी र त्यो रातको भैलो- यी केवल सम्झना होइनन्, ती हाम्रो पहिचान हुन्।
शहरमा बत्ती बल्छ, तर त्यो उज्यालो माटोको गन्ध बराबर हुन सक्दैन।
पहिले गाउँलेहरू बत्ती होइन, हृदय बाल्थे; अहिले हामी हृदय निभाएर बत्ती बालिरहेका छौँ।
हामीले सम्झनु पर्छ- उज्यालो देखाउने होइन, उज्यालो बाँड्ने हो।
किनभने, जबसम्म बत्ती केवल बिजुलीमा बल्छ, त्यो त अस्थायी उज्यालो हो;
तर जब त्यो हृदयमा बल्छ, त्यो नै चिरस्थायी तिहार हो।
समय बदलिन्छ, पुस्ता बदलिन्छ, तर संस्कार नबदलियोस्।
हामी फेरि त्यो गाउँको तिहार फर्काउन सक्छौँ-
जहाँ खुसी किनिँदैनथ्यो, बाँडिन्थ्यो;
जहाँ बत्ती झिलमिल गर्थ्यो, तर मन झन् उज्यालो हुन्थ्यो;
जहाँ हरेक उज्यालोको अर्थ थियो-
“एक अर्कोको जीवनमा उज्यालो ल्याउने।”
त्यो नै हाम्रो मौलिक तिहार हो-
अर्ग्यानिक, आत्मीय र सधैँ बाँचिरहने।
देश अप्रत्याशित संकटको भूमरीमा परेको छ । जुनसुकै आग्रह, दुराग्रह वा योजनामा जेनजी आन्दोलन भएको भए पनि आखिर एक न एक दिन देशले यस्तो कुनै घटना व्यहोर्नु नै थियो, भयो पनि । यसले मुख्य मुख्य राजनीतिक दललाई रूपान्तरण, पुस्तान्तर, पुनर्गठन र समग्रमा गहन समीक्षा गर्नुपर्ने ठाउँमा ल्याएको छ । घटनाक्रमको मुख्य केन्द्र नेकपा (एमाले), त्यसको नेतृत्व र सिङ्गो सांगठानिक पङ्क्ति बन्न पुग्यो । त्यसैले अरुलाई भन्दा बढी चुनौती एमालेका निम्ति छ ।
यस्तो जटिल परिस्थितिलाई फेरि पनि नेकपा एमालेबाट मात्रै हल गर्न सकिन्छ । उसले नेतृत्व र जिम्मेवारीको सही प्रयोगमार्फत देश र पार्टी दुवैको हित सुनिश्चित गर्न सक्दछ । त्यसका लागि योग्य नेता शंकर पोखरेल हुन् । उनी विद्यार्थी राजनीति हुँदै पार्टीको सङ्गठित सदस्य बनेका, अनुभव, सिद्धान्तमा विश्वास गर्ने, अनुशासित र निष्कलंक छविका नेता हुन् । उनको पुस्तामा थोरै बेदागी नेताभित्र उनी अग्रणी हुन् ।
शंकरको राजनीतिक यात्रा केवल व्यक्तिगत उपलब्धिमा सीमित छैन, मदन भण्डारीको जबजको लिगेसीको निरन्तरतामा आधारित पनि छ । मदन भण्डारीले नेपाली राजनीति र एमालेलाई लोकतान्त्रिक, जनमुखी र सिद्धान्तमा आधारित नेतृत्वको मार्गदर्शन दिए । उनको योगदानले पार्टीलाई जनताको विश्वास र राष्ट्रिय हितमा केन्द्रित बनायो । शंकरले यही लिगेसीलाई आत्मसात् गर्दै पार्टी र राष्ट्र दुवैको हितमा काम गर्ने प्रतिबद्धता देखाएका छन् । उनले नेतृत्वको सत्ता वा व्यक्तिगत स्वार्थ होइन, सिद्धान्त, अनुशासन र राष्ट्रप्रतिको जिम्मेवारीलाई सर्वोच्च प्राथमिकतामा राखेका छन् ।
नेपालमा वर्तमान राजनीति अस्थिर र अनिश्चित छ । दलभित्रको गुटबन्दी, सत्ताको भागबन्डा र व्यक्तिगत स्वार्थले नीति कार्यान्वयनमा बाधा पुर्याउँदै आएको छ । जनता स्थिर नेतृत्व,परिणाममुखी नीति र विकास निर्माणको अपेक्षा राख्छन् । तर, राजनीतिक अस्थिरता र नेतृत्व संकटले जनविश्वास कमजोर पारेको छ । यस्तो अवस्थामा एमालेले सक्षम नेतृत्वमार्फत मात्र आफ्नो संगठन बलियो बनाउन र राष्ट्रहित सुनिश्चित गर्न सक्छ । शंकरले यही क्षमताको उदाहरण प्रस्तुत गरेका छन् ।
आजको चुनौतीपूर्ण राजनीतिक परिवेशमा उनको नेतृत्वमा एमालेले देश र पार्टी दुवैको हित सुनिश्चित गर्दै स्थिर, जिम्मेवार र राष्ट्रमुखी नेतृत्वको उदाहरण प्रस्तुत गर्न सक्छ । उनले पार्टीलाई पुनःसंगठित, अनुशासित र दीर्घकालीन लक्ष्यमा केन्द्रित बनाउने क्षमता राख्छन् । यसरी, एमाले र राष्ट्र दुवैको भविष्य उज्ज्वल बन्ने सम्भावना अत्यन्त उच्च देखिन्छ ।
केपी शर्मा ओलीले वर्तमान राजनीतिक र संगठनात्मक परिस्थितिमा शंकर पोखरेललाई नेतृत्व हस्तान्तरण गर्नु आवश्यक छ । पार्टीभित्रको लामो अस्थिरता, विवाद र गुटबन्दीले एमालेको शक्ति र प्रभावमा कमी ल्याएको छ । ओलीको नेतृत्वमा पार्टी भित्रका गुट र वैचारिक मतभेद लामो समयदेखि स्पष्ट रूपमा देखा परेका छन् । शंकरलाई अध्यक्ष बनाउनुको कारण केवल व्यक्तिगत प्रतिस्थापन होइन । यो पार्टी एकता,संगठनात्मक स्थिरता र दीर्घकालीन रणनीतिक मजबुति सुनिश्चित गर्ने उपाय पनि हो ।
शंकरको नेतृत्वले पार्टी भित्रको गुटबन्दी मत्थर पार्दै अन्य पार्टीभित्रका सबै धारलाई समेट्ने क्षमता राख्छ । जब पार्टी एकजुट हुन्छ, तब मात्रै यसले नीति निर्माण, विकास योजना कार्यान्वयन र राष्ट्रिय निर्णय प्रक्रियामा दीर्घकालीन स्थिरता ल्याउन सक्छ ।
उनको नेतृत्वले पार्टीभित्र अनुशासन, आर्थिक पारदर्शिता र जबाफदेहिता कायम गर्नेछ । यो केवल पार्टीभित्रको स्थिरता मात्र होइन, राष्ट्रिय हित र जनताको विश्वासको पुनः स्थापनाका लागि पनि आवश्यक छ । ओलीले पार्टी सत्ता वा व्यक्तिगत प्रभाव कायम राख्नुको सट्टा, शंकर पोखरेललाई नेतृत्व हस्तान्तरण गर्नुको मुख्य उद्देश्य पार्टीको दीर्घकालीन मजबुती, राष्ट्रिय हित र लोकतान्त्रिक मूल्यको संरक्षण पनि हो ।
यति चर्चा गर्दा बिर्सनुहुँदैन कि, शंकरले केही ‘सीप’, ‘कला’ वा क्षमता राख्दैनन् । उनले भ्रष्टाचार गर्ने ‘कला’ जानेनन् । गुट बनाएर त्यसलाई चम्काउने र भरिभराऊ बनाउने ‘सीप’ जानेनन् । नैतिक पतन र चरित्रहीनताका कुनै पनि विषय, घटना र चर्चाभित्र उनी छैनन् । यिनले नजानेका केही ‘सीप’, ‘कला’ भएकाहरू हावी हुने राजनीतिककै कारण मूलधारको राजनीतिप्रति वितृष्णाको उपज जेनजी आन्दोलन थियो । त्यसैले अब शंकर र उनीजस्ता राजनीतिक मानिस राजनीतिको केन्द्रमा स्थापित हुनुपर्छ ।
उनले पार्टीभित्र नवयुवालाई सक्रिय रूपमा संलग्न गराउने नीति अपनाएका छन् । यो रणनीति केवल पार्टीको दीर्घकालीन मजबुतीका लागि मात्रे होइन, यसले नेतृत्वमा निरन्तरता, वैचारिक स्पष्टता र नवप्रवर्तनशील दृष्टिकोण सुनिश्चित गर्छ । ओलीले शंकरलाई नेतृत्व हस्तान्तरण गरेमा पार्टीले केवल वर्तमान संकट समाधान मात्रै गर्दैन, भविष्यका चुनौतीको सामना गर्न सक्षम रणनीति निर्माण गर्न पनि सक्षम हुनेछ ।
मदन भण्डारीको जबजको लिगेसी केवल पार्टीको बल र संगठनात्मक दृष्टि होइन, यो नेतृत्वमा सिद्धान्त र जनमुखी दृष्टिकोणको निरन्तरता पनि हो । शंकर पोखरेलले मदनको लिगेसीलाई निरन्तरता दिँदै पार्टी निर्णय, नीति कार्यान्वयन र राष्ट्रिय हितमा निर्णायक भूमिका निर्वाह गर्ने वातावरण सिर्जना गरेका छन् । यही कारण ओलीले आफ्नो व्यक्तिगत सत्ता स्थापनामा नअड्किएर शंकरलाई नेतृत्व हस्तान्तरण गर्नु पार्टी र राष्ट्र दुवैको हितमा महत्त्वपूर्ण कदम हो ।
एमालेको बल र प्रभाव केवल संगठनात्मक संरचना र नेतृत्वमा मात्रै निर्भर हुँदैन । यसले राष्ट्रिय हित र समग्र विकासमा पनि निर्णायक प्रभाव पार्छ । शंकर पोखरेलले पार्टी निर्णय प्रक्रियामा पारदर्शिता र जबाफदेहिता कायम गरेर राष्ट्रिय हितको रक्षा गर्नेछन् । उनी केवल पार्टी अध्यक्ष मात्रै हुने होइनन्, उनी राष्ट्र निर्माणको प्रक्रियामा निर्णायक, अनुशासित र दूरदर्शी नेता पनि हुन् ।
नेतृत्व केवल सत्ताको दाबी होइन । नेतृत्व भनेको जिम्मेवारी, दूरदर्शिता र राष्ट्रप्रतिको प्रतिबद्धता पनि हो । शंकरको नेतृत्वले पार्टी र राष्ट्र दुवैको हितलाई प्राथमिकता दिँदै नीति निर्माण,विकास कार्य र सामाजिक न्यायमा सक्रिय योगदान दिन सक्छ । यसबाट एमालेले केवल चुनाव जित्ने शक्ति मात्र नभई राष्ट्रिय नीति र विकास प्रक्रियामा निर्णायक दल बन्ने अवसर पाउँछ ।
नेपालमा दीर्घकालीन स्थिरता ल्याउन नेतृत्वले कार्यान्वयन,अनुशासन र सङ्गठित सदस्यहरूको सहभागितामा जोड दिनुपर्छ । उनको नेतृत्वमा पार्टीले यी सबै अभियानलाई सँगै राखेर सशक्त, अनुशासित र राष्ट्रमुखी सङ्गठनको उदाहरण प्रस्तुत गर्न सक्छ । उनका अनुभव, सिद्धान्त र संगठनात्मक क्षमता पार्टीलाई राष्ट्रिय हितमा केन्द्रित रणनीति कार्यान्वयनमा सक्षम बनाउँछ ।
उनले पार्टीभित्र विवाद र गुटबन्दी समाधान गर्दै सबै पार्टी सदस्यलाई एकजुट गर्ने क्षमता देखाएका छन् । पार्टी एकजुट हुँदा मात्र यसले राष्ट्रिय नीति,विकास र स्थिरतामा निर्णायक भूमिका खेल्न सक्छ । शंकर पोखरेलको नेतृत्वले यही अवसर प्रस्तुत गर्दछ । उनी पार्टी नेतृत्वको मात्र होइन, राष्ट्र निर्माणको प्रक्रियामा निर्णायक र जिम्मेवार नेता हुन् ।
वर्तमान राजनीतिक चुनौती जस्तै अस्थिर गठबन्धन, विकासमा ढिलाइ, भ्रष्टाचार र नेतृत्व संकटको सामना गर्न शंकर पोखरेलको नेतृत्वमा पार्टीले दृढ रणनीति, अनुशासन र पारदर्शिताको माध्यमबाट समाधान खोज्न सक्छ । नेतृत्वले केवल पार्टीको आन्तरिक संरचना मात्रै सुधार्दैन, यसले राष्ट्रिय निर्णय प्रक्रिया,विकास योजना र नीति कार्यान्वयनमा दीर्घकालीन स्थिरता पनि ल्याउँछ ।
अन्ततः एमाले र राष्ट्र दुवैको हित सुनिश्चित गर्ने जिम्मेवारी अबको नेतृत्वको काँधमा छ । उनी अनुभव, सिद्धान्त र संगठनात्मक क्षमता बोकेका नेता हुन्, जसले यो जिम्मेवारी सहजै निर्वाह गर्ने ल्याकत राख्दछन् । उनको नेतृत्वमा पार्टीले एकजुट, सशक्त, र राष्ट्रमुखी दिशा लिनेछ । यसले केवल वर्तमान राजनीतिक चुनौतीको समाधान मात्रै गर्दैन कि,भविष्यका चुनौतीहरू सामना गर्न पनि पार्टीलाई सक्षम बनाउँछ । उनी जे भन्छन्, जे गर्छन्, विचार, सिद्धान्त र नेतृत्वको अधीनमा रहेर भन्छन्, गर्छन् ।
केपी शर्मा ओलीले वर्तमान राजनीतिक र संगठनात्मक परिस्थितिमा शंकर पोखरेललाई नेतृत्व हस्तान्तरण गर्नु आवश्यक छ । पार्टीभित्रको लामो अस्थिरता, विवाद र गुटबन्दीले एमालेको शक्ति र प्रभावमा कमी ल्याएको छ । ओलीको नेतृत्वमा पार्टी भित्रका गुट र वैचारिक मतभेद लामो समयदेखि स्पष्ट रूपमा देखा परेका छन् । शंकरलाई अध्यक्ष बनाउनुको कारण केवल व्यक्तिगत प्रतिस्थापन होइन । यो पार्टी एकता,संगठनात्मक स्थिरता र दीर्घकालीन रणनीतिक मजबुति सुनिश्चित गर्ने उपाय पनि हो ।
उनले पार्टी र राष्ट्र दुवैको हितलाई सर्वोच्च प्राथमिकता दिनेछन् । उनको दृष्टि, निर्णय क्षमता र अनुभवले एमालेलाई केवल शक्तिशाली दल बनाउने मात्र होइन, राष्ट्रिय हित, विकास र लोकतन्त्रको रक्षा गर्ने दल पनि बनाउनेछ । शंकरको नेतृत्वले मात्रै एमाले पार्टी र नेपाल राष्ट्र दुवैको भविष्य सूर्य जस्तै चम्किलो बनाउँछ ।
आजको चुनौतीपूर्ण राजनीतिक परिवेशमा उनको नेतृत्वमा एमालेले देश र पार्टी दुवैको हित सुनिश्चित गर्दै स्थिर, जिम्मेवार र राष्ट्रमुखी नेतृत्वको उदाहरण प्रस्तुत गर्न सक्छ । उनले पार्टीलाई पुनःसंगठित, अनुशासित र दीर्घकालीन लक्ष्यमा केन्द्रित बनाउने क्षमता राख्छन् । यसरी, एमाले र राष्ट्र दुवैको भविष्य उज्ज्वल बन्ने सम्भावना अत्यन्त उच्च देखिन्छ ।
समग्रमा, शंकर पोखरेल केवल पार्टी अध्यक्ष मात्र होइनन्, उनी मदन भण्डारीको जबजको लिगेसीको निरन्तरता बोकेका, राष्ट्र निर्माणको प्रक्रियामा निर्णायक, अनुशासित र दूरदर्शी नेता हुन् । ओलीले आफ्नो व्यक्तिगत सत्ता स्थापनामा नअड्किँदै शंकरलाई नेतृत्व हस्तान्तरण गर्नु पार्टी र राष्ट्र दुवैको हितमा अपरिहार्य कदम हो । एमालेको बल, राष्ट्रको स्थिरता र लोकतन्त्रको रक्षा शंकर पोखरेलको नेतृत्वमा मात्र सुनिश्चित हुनेछ ।
चितवन। जेनजी प्रदर्शनका क्रममा चितवनका अधिकांश स्थानीय निकायसहित तिनका जनप्रतिनिधि समेत निसानामा परेका छन् । स्थानीय जनप्रतिनिधिहरूका अनुसार यही भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा घुसपैठ भई स्थानीय तहका भौतिक संरचनामाथि तोडफोड तथा आगजनी भएको हो । जनप्रतिनिधिहरू पनि निशानामा परे ।
यसै सन्दर्भमा कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मी विशेषगरी जनप्रतिनिधिहरूको घर–परिवारमाथि समेत आक्रमण गर्नेक्रममा आफूमाथि अमानवीय व्यवहार भएको, आक्रोशित भीडबाट जोगिनका लागि पदबाट राजीनामा समेत दिनुपरेको र परिस्थिति सहज बन्दै गएको अवस्थामा अब क्षतिग्रस्त संरचनाको निर्माणसहित नगरवासीको सेवा गर्न सक्रिय हुनुपरेको बताउँछन् ।
त्यसदिनको घटना उनकै शब्दमा-
श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ । हामी भागेपछि एक हुल मानिस नाराबाजी गर्दै घर तोडफोडमा उत्रिए । सक्ने जति फोरेर उनीहरु फर्किए ।
दूधे बालकलाई लिएर धानबारीमा कतिबेर बस्ने ? कहिले जान्छन्, फेरि के हुन्छ भन्ने भएपछि छोरालाई छिमेकीको घरमा छोडेर पुनः आफू धानबारीमा गई बसेको उनले सुनाए । पुनः आक्रमणकारी आएर घरमा थप क्षति गरे । छोरी र श्रीमतीमाथि अपशब्द प्रयोग गर्ने, छोरालाई काट्छु भनेको सुनियो । भीड अराजक र उदण्ड बन्यो । प्रहरी, सेना, सिडिओ, पार्टी कतैतिर पनि सम्पर्क हुन सकेन । आकाश खसेकोजस्तो परिस्थिति भयो ।
सुरूमा वडा कार्यालयहरु हान्ने, जनप्रतिनिधिलाई मार्ने, काट्ने भन्ने म्यासेजहरू आए । तँ भाग, यसो गर, उसो गर भन्ने ‘म्यासेज’ आए । सल्लाह र छलफल गर्न सम्पर्क गर्न खोज्दा कसैसँग सम्पर्क हुन सकेन । परिस्थितिले च्याप्दै-च्याप्दै ल्यायो । केही समयभित्र घटना हुँदैछ, नगरपालिका हान्दैछन्, वडा कार्यालय हान्दैछन् भन्दाभन्दै हान्न थालिहाले । सोधौँ कसलाई सोधौँ, भेटौँ कसलाई भेटौँ । अत्यन्त अप्ठ्यारो स्थितिको सामना गर्न बाध्य भयौँ ।
ठूलो सङ्ख्यामा मानिसहरू हातमा खुँडा, खुकुरी, भाला बोकी भय र त्रासको वातावरण सिर्जना गर्ने प्रयास भयो । एउटा बाढी नै आएको अवस्था भयो । घरमा हेर्दा के कुरा जोगाउने भन्ने भयो । के लिएर जाने, कहाँ जाने ? कसले आश्रय दिन्छ त्यो बेलामा । दुई चार ठाउँमा फोन गरेँ, जिउज्यानका खतरा भएकाले बाहिर हिँड्ने उपयुक्त समय नभएको सुझाव आयो, विलखबन्दमा परेँ ।
दुई घण्टाभित्र पार्टी छाड्ने निर्णय गरिनस् भने तेरो घर जलाउँछौँ तँलाई पनि जलाउँछौँ भनेर धम्की आयो । घर र परिवार जोगाउनका लागि पार्टी परित्याग गरेको एउटा स्टाटस लेखेर हुन्छ भने किन नलेख्ने भनेर पार्टी छोडेको स्टाटस लेखेँ । त्यतिबेला मैले परिवार जोगाउनका लागि घरजग्गा नै नामसारी गर्दै भनेको भए पनि गरिदिनुपर्ने परिस्थिति थियो । मेरो परिवार बच्छ भने, म जे गर्न पनि तयार थिएँ । त्यो तत्कालीन परिस्थितिमा गर्नुपर्ने अवस्था थियो । अहिले त्यो स्टाटस डिलिट गरेँ, म पार्टीमै छु ।
परिस्थिति मैले भोगेको छु । इस्टमित्र नातागोताले पनि बास दिने परिस्थिति भएन । जुन कुरा मलाई परेको छ, त्यो व्यक्त गर्न सक्दिनँ । पीडादायी अवस्था बन्यो । एमालेहरुलाई खोजीखोजी काटीकाटी मार्ने भन्ने हल्ला फैलिएको भन्दै उहाँले आगो, लगाउँछन्, मार्छन्, काट्छन् भनेपछि परिस्थिति जटिल बन्यो ।
मेरो घरमा तोडफोडबाट ६ लाख ५० हजार बराबरको क्षति भएको छ । वडा नं १ देखि ७ सम्मका सबै वडा कार्यालय जलेर नष्ट भए छन् । ८ र ९ मा पनि तोडफोड भएको छ । नगरसभा हल पूर्ण रुपमा जल्यो ।अहिले भइरहेको भाडाको घरमा तोडफोड र केही सामान कार्यालय बाहिर ल्याएर जलाइएको छ ।
कार्यालय प्रयोजनका लागि बन्दै गरेको नयाँ भवन तोडफोड भएको छ । नयाँ भवन अगाडि रहेको तीन वटा सवारीसाधन र दुई वटा मोटरसाइकल जलेर नष्ट भएका छन् । डोजर, ग्रेडर, टिपर, बोलेरो र जेसिबी तोडफोड गरिएको छ । अहिले नगरपालिका अस्तव्यस्त बनेको छ । यकिन तथ्याङ्क आइनसके पनि झण्डै ८० करोड हाराहारी क्षति भएको छ । मोटरसाइकलमा सबै वडा पुगेर नगरवासीलाई सेवा दिनबाट नचुक्ने वाचा र प्रतिबद्धता गरिरहेको छ ।
असैह्य पीडा व्यहोर्नु पर्यो यो घटनाबाट पाठ सिकी नगरबासीको सहयोग र सहकार्यमा पुनर्निर्माण अभियानमा सबै जुटौं ।
म भाटभटेनी सुपरमार्केट धरानको एक कर्मचारी हुँ । यो देशमा अनेक आन्दोलन हुन्छन् । तर, आन्दोलन जुन मुद्दामाथि भए पनि एउटा अराजक समूहको सधैँ लक्ष्य हुन्छ, भाटभटेनीलाई लुटपाट गर्ने !
हजारौँ मान्छेलाई देशमा रोजगारी दिएको, अस्पताल, विद्यालय, मठमन्दिर लगायत विभिन्न क्षेत्रमा दान, सहयोग गरेको भाटभटेनीमाथि बारम्बार आक्रमण हुनु एकदमै दुःखलाग्दो कुरा हो । राज्यलाई कर तिरेर हजारौं मान्छेलाई रोजगारी दिएको कम्पनीलाई बारम्बार दुःख दिएको देख्दा एकदमै पीडा महसुस भएको छ ।
भाटभटेनी मात्रै नभएर निजी कम्पनीहरुलाई यसरी तर्साएपछि यो देशमा लगानी गर्न को आउँछ ? विदेशी कम्पनीहरूलाई राज्यले लगानी गर्न अनुरोध गर्छ । तर, सुरक्षाको ग्यारेन्टी खै ? अबका आन्दोलनहरुमा राज्य र सुरक्षा निकायहरुले निजी क्षेत्रलाई ध्यानमा राखेर पूर्ण रूपमा सुरुवातदेखि नै सुरक्षा दिन सकोस् । मीनबहादुर सरले रोजगारी सृजना गर्नुभएर ठूलो पाप गर्नुभएछ, त्यसैको फल आज उहाँले पाउनुभएको हो ।
भाटभटेनी धरानमा अन्जनासहितका स्टाफहरू ।
उहाँले टिचिङ हस्पिटल बनाइदिनुभयो, दुर्गम ठाउँमा स्कुल बनाइदिनुभयो, देशमै रोजगारी सृजना गर्दै बार्षिक १६ अर्ब कर राज्यलाई तिर्नुभयो, विपतको घडीमा जनतालाई सहयोग गर्न अघि सर्नुभयो । यो नै उहाँको पाप हो ? एउटा पहाडे जनजातिको छोरा, जसले भाटभटेनीको सम्राज्य खडा गर्नुभयो । हजारौं नेपालीहरूलाई रोजगारी दिनुभयो । अरबौं कर राज्यलाई तिरिसक्नुभयो । नेपालको सुपरमार्केट संस्कृतिलाई युरोपियन स्ट्यान्डर्डको बनाउन भूमिका खेल्नुभयो । एउटा नागरिकले देश विकासमा खेल्न सक्ने भूमिका यस्तै त हुन्छ होला ।
हामीलाई आफूले दुःखले जोडेको, किनेको एक दुईवटा पाँच छ सयको सामान हरायो या चोरी भयो भने कति नरमाइलो लाग्छ । तर, जब आँखै अगाडि जिन्दगीभरको पसिना, मिहेनत र वर्षौंको सोच जलाएर खरानी बनाइदिँदा उहाँलाई कस्तो भएको होला ? आफूले काम गर्ने ठाउँ, आफ्नो कर्मथलो आँखैअगाडि आगो लगाइदिँदा मजस्तै हजारौं कर्मचारीहरुलाई कस्तो महसुस भयो होला ?
मीनबहादुर गुरुङ सर एक सोच हो । हजारौं परिवारका अन्नदाता हुन् । प्रेरणाका स्रोत हुन् । उहाँलाई ढल्न र मर्न दिनु हुँदैन । उहाँ कुनै पनि कुरामा दोषी भए सजाय दिने अदालत थियो । तर बिनादोष हजारौं नेपालीको गरिखाने बाटोलाई तहसनहस बनाइ दशैंका मुखमा आगो लगाउने ती पापी नरपिचासहरूलाई कहिल्यै भलो नहोस् । निर्दोष मीनबहादुर सर र हामी सबै भाटभटेनी परिारको आँसुले भतभत् पोलोस् ।
मीनबहादुर सर जराबाट पलाएको व्यक्ति मात्रै होइन, एक प्रतिष्ठान, एक संस्था र राष्ट्रवादी व्यापारीका लागि प्रेरणाको स्रोत हुनुहुन्छ । निभेर चम्किएको दियो हुनुहुन्छ । हामी उज्यालो किरण बनेर फेरि चम्किनेछौं ।
(अन्जना राई धरानस्थित भाटभटेनीको कर्मचारी हुन् । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा धरानको भाटभटेनीमा पनि आगजनी र लुटपाट भएको थियो । त्यहाँ जलेको अवस्थामा चारजनाको शव पनि भेटिएको छ । त्यहाँ भाटभटेनी सुचारू हुन सकेको छैन ।)
मंसिर २४ गते २०७९ ! म यो देशलाई आफ्नो घर ठानेर पहिलोपटक भित्रिएकी थिएँ । आफ्नो देश छाडेर श्रीमानको घरलाई आफ्नो ठानेर आएकी थिएँ ।
मेरो २१ वर्षकै उमेरमा विवाह भएको थियो । म त खर्साङ, दार्जिलिङमा जन्मिएकी हुँ । बाउबिना हुर्किएकी थिएँ । आफ्नो घरबिना हुर्किएकी थिएँ । यही देशमा, यही देशको लाखौं घरमध्ये एक घरमा मैले आफ्नो अस्तित्व पाएँ । बाउ-आमा र मेरो जीवनसाथीको माया पाएँ ।
उनीहरूको स्नेहले मेरो मनको खाली ठाउँ भरेको थियो । उनीहरूको ममताले मलाई आत्मीयताको अनुभूति गराएको थियो । र, एक क्षणका लागि भए पनि मैले पूर्ण महसुस गरेँ ।
बिहे गरेर यो देशको आँगनमा रम्दारम्दै मभित्र एउटा सानो पुतलीको बास भएछ । मेरा स्वादहरू फरक भएको हुनाले म प्रायः बौद्धतिर गएर खानेकुरा खान रुचाउँथेँ । अनि घर फर्कँदा प्रायः बाबाको रिसाको जस्तो अनुहार देखेपछि अलिकति डर पनि लाग्थ्यो । भाटभटेनीबाट घरको सामान ल्याउँदा पनि बाबाको पढ्ने कोठाबाट तिखो तिखो आँखाले हेरिरहेको देख्थेँ ।
‘घाँटी हेरेर हाड निल्नु पर्छ’ भन्ने घरमा प्रायः मैले सुनिरहनु पर्थ्यो । म कहिलेकाहीँ सोच्थेँ- यस्तो ठूलो पार्टी एमालेको ठूलो पोस्टमा भएको ईश्वर पोखरेलजस्तो मानिस । एक समय देश चलाउने मानिस । घरभित्र यस्तो किन देखिनुहुन्छ ?
समय बित्दै गयो, स-साना कुराबाट मैले धेरै सिकें । सिक्दै गएँ । पैसा भन्ने कुराको मूल्य बुझेँ । पैसा बचाउन सिकेँ । पैसाको मूल्य, बचतको अनुशासन र विवेक भन्ने कुरा मैले परिवारबाट सिकेँ ।
कति मान्छेले भनेको सुन्थेँ, – ‘ईश्वर पोखरेलजस्तो नेताको बुहारी त हो, चाहिएको चिज सबै पुगिहाल्छ नि !’
पुगेको पनि थियो । मलाई ब्रान्डेड ब्याग, घडी अनि लुगा किन्ने इच्छा कहिल्यै पनि भएन ! सानैदेखि यस्ता कुरामा रहर थिएन पनि । दुःखमा हुर्केको भएर होला, म स-साना कुरामा नै खुशी पाउँथेँ । कसैले उपहार ल्याइदिए भने मुस्कुराउँदै लगाउँथेँ, तर आफ्नै पैसाले त्यस्ता कुरामा खर्च गर्थिनँ ।
बाबाको हातमा अहिलेसम्म मैले सुन लगाएको देखिनँ । मामुको हातमा सुनको स-साना दुईवटा चुरा हुन्थे । जुन चुरा उहाँ आफैंले शिक्षक हुँदा पहिलो कमाईले किन्नु भएको थियो । हाम्रो परिवार धेरै सामान्य थियो । ठूलो स्वरले झगडा गरेको, एक अर्कालाई नराम्रो भनेको कहिले पनि देखिनँ, सुनिनँ । कुनै विशेष परिस्थिति आयो भने बैठक बस्नु पथ्र्यो । अनि त्यो समस्याको हल सबैजना मिलेर निकाल्थ्यौं ।
समय बित्दै गयो, म एउटा सानी छोरीको आमा भएँ । हाम्रो घरको पहिलो छोरी ! हजुरबा हेर्दै हुर्केकी छोरीले सानैदेखि खेलौनाको साटो किताब रोज्न थाली । बाबाको पढ्ने कोठामा गएर किताब निकालेर पाना-पाना पल्टाउँदै हुर्किन थाली ।
‘बच्चाले घरमा जे देख्छ त्यही सिक्छ’ भन्ने आहानलाई मैले पनि राम्ररी बुझ्ने अवसर पाएँ । र, यसरी दुई वर्ष नपुग्दै मेरी छोरीले किताब-कलम रोज्न थालेकी छ ।
मेरी छोरी एक वर्ष नपुग्दै हामीले एक ठाउँमा जागिर खाने मौका पायौं । म र मेरो श्रीमान् एउटा अफिसमा सँगै काम गथ्र्यौं । बिहान उठेर छोरीलाई खाजा खुवाएर हामी अफिस जान्थ्यौं । बाबा अनि हाम्रो दाइ (जेठाजु ) र हामी सबै अफिसका लागि निस्कन्थ्यौं । घरमा आमा, छोरी अनि सहयोगी बहिनीहरू मात्र हुन्थे । हरेक दिन यसरी नै बित्थ्यो । आमालाई प्रायः सन्चो हुन्नथ्यो । त्यही भएर कहिलेकाहीँ अफिसबाट दौडेर घर पुग्थ्यौं । हाम्रो परिवारका दिनहरू सामान्य तरिकाले बित्दै थिए ।
यो बीचमा मेरो उमेर समूहका ‘जेन जी’ नाम पुस्ताले भ्रष्टाचारको विरोधमा आवाज उठायो । त्यो दिन हामी अफिस नगई घरमै बसेका थियौं । आन्दोलन चर्कियो । आन्दोलनमा साना साना बच्चाहरूले ज्यान गुमाएको थाहा पाएँ । हामीजस्ता कतिको ज्यान गयो, कतिको कोख रित्तियो भन्ने कुराले मन दुः खेर आयो । तिनका अनुहार, तिनका पीडा देख्दा मेरो मुटु चिरियो । रातभर म निदाउन सकिनँ ।
त्यसको भोलिपल्ट भदौ २४ गते बिहानको अवस्था अर्कै थियो । बिहानदेखि मन विचलित भइसकेको थियो । खाना खान र अरु केही काम गर्न मन लागिरहेको थिएन । त्यो दिन पनि फेरि कता तिर हो आन्दोलन भइरहेको भन्ने थाहा भयो ।
त्यस्तै १०:०० बजेतिर म भान्सामा केही पकाउन भनेर पसेँ । त्यो बेला एउटा बाइकमा निलो कलरको ज्याकेट लगाएको शंकास्पद मान्छे आयो । हाम्रो घरको मेन गेटबाट बाइक घुमाउँदै घरभित्र यसो चियाएर भागेको देखेँ । त्यो शंकास्पद मन्छे देख्नसाथ मन चिसो भयो । यसबारे मैले मेरो श्रीमानलाई सुनाएँ ।
ऊहाँ आत्तिँदै थप कुरा बुझ्न तल जानुभो । माथि आएर ‘यहाँ बस्न एकदमै असुरक्षित हुन्छ’ भन्नुभयो । त्यस बेलासम्म पनि के भइरहेको छ भन्ने कुरा बुझ्न मलाई गाह्रो भइरहेको थियो । लगाइरहेको एक जोडी कपडा बाहेक एउटा धागो पनि नलिएर हामी सपरिवार कुनै सुरक्षित स्थानमा गएर बस्यौं । हामी कपडा, सम्झना, आशा लगायत सबैकुरा घरमै छाडेर भाग्न बाध्य भयौँ ।
हामी भागेको एक घण्टा नबित्दै चार पाँच सय मानिसहरू आएर हाम्रो घरमा तोडफोड गरेर सबै आगो लगाइदिए । बाबाको गाडी, पिएसो अशोक दाइको बाइक, सबैलाई दन्दनी बालिएछ । हामीले सजाएको त्यो हरेक कुरा, हामीले बिताएका सबै पलहरू, मेरो आशाभरोसा सबैलाई सखाप पारिएछ । सबैलाई खरानी पारिएछ ।
त्यहाँ हुलमा भएका मान्छेहरूले ‘यहाँका मान्छे खै ?’ भनेर सोध्दा त्यहाँ भएको एकजना सहयोगी दाइले ‘उनीहरू बिहानै अस्पताल जानु भएको थियो’ भनिदिनुभएछ । चित्त त तब दुख्यो, जब तीमध्ये एउटा मान्छेले ‘यहाँको छोरा बुहारी अनि त्यो सानो बच्चा खै, निकाल् बाहिर’ भन्न थाले रे ! किन ? बलात्कार गर्न कि घरमा जिउँदै जलाउन ? हुन त अपराधी मानसिकता बोकेको त्यो अराजक जत्थाले आफ्नै देशको सम्पत्ति भष्म पारेका थिए । तिनीहरूले निर्दोष मानिसलाई के कदर गर्थे र ! के छोड्थे र !
कठिनाइमा सम्बन्ध हराउँछन् भन्ने कुरा त्यतिबेला थाहा पाएँ । आफन्त र साथीहरूले सान्त्वना दिनुपर्ने बेलामा उल्टै टाढा भए । कसैले हाम्रो दुःख बाँडेनन् । कतिपय त अरूको घर तोड्नमै व्यस्त देखिए । त्यस दिन मैले बुझेँ,- नातागोता भन्दा ठूलो स्वार्थ पो रहेछ । स्नेह र सहयोगको ठाउँमा डर, लोभ र निर्दयता हावी रहेछ ।
जुन घरलाई आफ्नो घर मानेर आएँ, त्यो घरमा आज खरानी बाहेक केही रहेन । जुन ठाउँलाई आफ्नो ठानेर आएँ, जहाँका मानिसहरूलाई भरोसा गरेर आएँ, तिनै मानिसहरूले झण्डै घरभित्र जिउँदै जलाइदिए ।
केही अराजक र आपराधिक मानसिकताका कारणले गर्दा सबैको संसार भताभुङ्ग भयो । नेपालीहरूको मन त कोमल हुन्छ भन्थे तर, मैले त्यो कोमलता कसैको मुखमा देखिनँ । के बिहे गरेर त्यो घरमा जोडिनु मेरो गल्ती थियो ? कि मेरो श्रीमानसँग माया गर्नु मेरो गल्ती थियो ? कि मेरो छोरी यो देशमा, यो परिवारमा जन्मिनु गल्ती भयो ?
तपाईँहरूले चिनेको मेरो परिवार र मैले आफैले बसेर देखेको मेरो परिवार आकाश-पातलको फरक छ । बाहिरका कतिपयले सुनेको ‘ईश्वर पोखरेल’ र मैले चिनेको ‘ईश्वर पोखरेल’मा आकाश पाताल फरक छ । तर, सम्पूर्ण परिवारलाई यसरी तहसनहस पार्नु गलत हो, अपराध हो ।
मेरो पासपोर्टमा कुनै देशको भिसा छैन किनकि तपाईँहरूले सोच्नु भएको जस्तो मैले देश-विदेश देखेको छैन । कपडा किन्दा सस्तो रोज्ने म । खाना खाँदा लोकल ठाउँ मनपर्ने मान्छे म । किन थाहा छ ? किनभने महँगो थाई, कोरियन खाना मेरो मुखले मान्दैन । साधारण जीवन मेरो रोजाइ हो ।
म मेरो श्रीमानको जिन्दगीमा आएदेखि मैले उनको सबै कुरामा परिवर्तन देखेको छु । म गर्वको साथ भन्छु, ऊ पनि सामान्य जीवन बिताउन मन पराउँछ । मैले मेरो छोरीलाई सानैदेखि हिलो माटो, खोला-नाला, गाउँघरमा देखाएर हुर्काइरहेकी छु । सकेसम्म उनलाई प्रकृतिको काखमा हुर्काउन कोसिस गर्दैछु ।
‘नेपोकिडस्’ भनेर ट्यागलाइन धेरै फेमस देख्छु । त्यसमा मेरो नाम कहिले आएन । म आज जे पनि काम गर्छु मेरो छोरीको राम्रो होस् भनेर गर्छु । अरू मलाई केही इच्छा लाग्दैन । बस मेरो छोरीले कहिले केहि कुरा दबाउन नपरोस् भनेर सोच्छु ।
आफूसँग भएको थोरै कुरा दिएर के फरक पर्छ ? हामी मेहनत गरेर काम गर्छौं । सम्पत्ति जोड्छौं । आखिर केका लागि ? न हामीले मास्नलाई जोड्छौं न त सँगै बोकेर जानलाई । जे छ, त्यो छोराछोरीलाई जिम्मा लगाएर जान्छौं, होइन र ?
मलाई आफू जन्मेको देशमा बसेर, एउटा ठुलो अफिसर बन्ने चाह थियो । र, अझैँ पनि कतै कुनामा त्यो चाह गुम्सिरहेछ जस्तो लाग्छ । त्यो चाहलाई मनमा राखेर सबै सपनाहरु त्यागेर म यो देशमा बसेकी हुँ ।
तर, यहाँ कसैले आफ्नो मान्दैनन् । कतिले हेप्छन् । कतिले त ‘दार्जिलिङ्ग पनि नेपाल हो’ भनेर गाली गर्छन् । तर म बच्चादेखि ‘जन गन मन’ सुन्दै हुर्केको मान्छे, मेरो के गल्ती ? इन्डियन पासपोर्ट भएको मान्छे यहाँ काम गर्नु नै गाह्रो छ । नागरिकता लिन पनि गार्हो छ । लिए पनि हामी जस्ताको लागि सबै कुरा असाध्यै कठिन छ ।
नेपालको कुनै नागरिकमाथि इण्डियामा केही घटना घट्दा सबैजना आक्रोशमा आउँछन् । मार्न, मर्न तयार हुन्छन् । तर, हामी जस्ताको लागि को छ ? को बोल्छ ? हाम्रो निर्दोषिता कसले प्रमाणित गर्छ ?
मेरो मन त्यो घटनाले भाँचिन पुगेको छ । यहाँको मानिसहरू देखेर डर लाग्न थालेको छ । भोलिको भविष्य के होला भनेर सोच्न बाध्य बनाइरहेको छ । आफ्नो भविष्य र आफ्नो छोरीको पालनपोषण सोच्दाखेरि आफ्नै देश फर्किंऊँ जस्तो लाग्छ । तर फेरि मेरो श्रीमान्, मेरा यहाँ रहनु भएका आमा–बाबाको जिम्मेवारीले यत्तिकै रोकेर राख्छ । मलाई थाहा छ- म अब यहीँकी भएर सधैँसधैँका लागि रहनुपर्छ ।
यत्ति हो, मानवताभन्दा ठूलो अरु कुनै पार्टी, राजनीति, देश हुँदै । करुणा, सहानुभूति र दया मानवताको आधार हो । मानवताबिना संसार सम्भव छैन ।
(शेर्पा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलकी बुहारी हुन् ।)
नेपालको राजनीति फेरि एउटा निर्णायक मोडमा पुगेको छ । संक्रमणका दशक, असफल नेतृत्व र नागरिक असन्तुष्टिका भारीबीच देश फेरि एक पटक नयाँ प्रश्नको घेरामा छ, देश बन्छ त अब ?
इतिहासका आन्दोलनः आशा र निराशाको चक्र
नेपालले यस्ता प्रश्नहरू पहिले पनि धेरै पटक सोधिसकेको छ । २०४६ को जनआन्दोलनले नेपालमा बहुदलीय प्रजातन्त्र फर्कायो । जनताले ठूलो मूल्य चुकाएर ल्याएको लोकतन्त्रप्रति अपार आशा राखे । तर, त्यस यता सत्ता–संघर्ष, भ्रातृघाती कलह र नेताहरूको स्वार्थी व्यवहारले छिट्टै निराशामा परिणत भयो ।
२०६२ ६३ को जनआन्दोलनले राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना गर्यो । त्यो बेला पनि जनताले सोचे अब देश नयाँ बाटोमा लाग्छ । तर गणतन्त्र स्थापनापछि दलहरूको चरम विभाजन, असफल सत्ता व्यवस्थापन, चरम भ्रष्टाचार र असमानताले फेरि नागरिकको भरोसा खिइयो । यी आन्दोलनहरूले व्यवस्था बदल्ने काम त गरे, तर सोच, संस्कार र राजनीतिक कार्यशैलीमा जति सुधार हुनुपर्ने थियो, त्यो हुन सकेन । यही कारण, आजको पुस्तामा निराशा बढेको छ ।
पुरानोको विरोध, नयाँ खोजी
हालैको जेनजी आन्दोलन त्यही इतिहासको निरन्तरता मात्र होइन, समृद्धिको नयाँ चेतनासमेत हो ।
पुराना दलहरूले बारम्बार असफलता दोहोर्याएपछि, नयाँ पुस्ताले अब पुराना बाटोले हुँदैन भन्ने निष्कर्ष निकालेका छन् । उनीहरूको क्रोध र आक्रोश केवल नारा मात्र होइन, एक पुस्ताको सामूहिक बेचैनी हो, रोजगारको अवसर नपाउने, भ्रष्टाचारको दलदलमा भविष्य गुमाउने, अनि न्यायालयदेखि संसदसम्मै दलको हस्तक्षेप सहनुपर्ने स्थितिको ।
तर, जेनजी आन्दोलन केवल असन्तुष्टिको विष्फोटमात्र होइन । यसले देखायो कि, नयाँ पुस्ता व्यवस्थाभित्रै सुधार खोज्छ र क्रान्ति होइन, सुधारमार्फत भविष्य सुरक्षित गर्न चाहन्छ । नेपालको राजनीतिक इतिहास नियाल्दा, प्रत्येक पुस्ताले आफ्नै तरिकाले परिवर्तनका लागि आवाज उठाएको देखिन्छ । २०४६ सालको प्रजातान्त्रिक आन्दोलनले बहुदलीय व्यवस्था पुनस्र्थापना गर्यो, २०६२र६३ को जनआन्दोलनले गणतन्त्र, संघीयता र समावेशी लोकतन्त्रलाई संस्थागत गर्यो। यी आन्दोलनहरूमा युवाको अग्रसरता प्रमुख थियो ।
हालको जेनजी आन्दोलन पनि यही ऐतिहासिक यात्राको निरन्तरता हो, तर यसले पुराना आन्दोलनभन्दा फरकखालको नयाँ चेतना बोकेको छ । अघिल्ला आन्दोलनहरूको केन्द्रमा राजनीतिक दल, विचारधारा र सत्ताको पुनर्संरचना थिए । तर, जेनजी आन्दोलनको केन्द्रमा व्यवस्था भित्रै सुधार, पारदर्शिता, रोजगारी, अवसर र समान पहुँचको माग छ ।
यो पुस्ता अन्तर्राष्ट्रिय प्रवृत्तिबाट पनि प्रभावित छ– सामाजिक सञ्जाल, डिजिटल प्लेटफर्म र वैश्विक मूल्य बोध यसको हतियार र दिशानिर्देशक बनेका छन् ।
इतिहासमा जनताले सडकमा उत्रेर अधिकार माग गरेका छन् । जेनजी आन्दोलनले पनि सडक रोज्यो, तर यसको भाषाशैली फरक छ – समानता, पारदर्शिता, सुशासन र समृद्धि ।
जहाँ पुराना आन्दोलनले संरचनात्मक परिवर्तनमा जोड दिए, यो आन्दोलनले संस्थागत अभ्यास सुधार र राजनीतिक संस्कृतिको परिमार्जनमा जोड दिएको छ । जेनजी पुस्ता केवल राजनीतिक परिवर्तन होइन, आर्थिक रूपान्तरण चाहन्छ । यसले शिक्षा, प्राविधिक सीप, रोजगारी, उद्यमशीलता, सामाजिक न्याय, वातावरणीय दिगोपन जस्ता मुद्दालाई प्राथमिकतामा राखेको छ । राजनीति सत्ता प्राप्तिको खेल भन्ने धारणालाई यस आन्दोलनले तोड्दै, राजनीति समृद्धि र सुशासनको मार्ग भन्ने नयाँ दृष्टिकोण स्थापित गर्न खोजेको छ ।
किन आवश्यक छ पार्टी पुनर्गठन ?
दलीय व्यवस्था लोकतन्त्रको आधार हो । पुराना दलहरूको पुनर्गठनबिना यो चेतना संस्थागत गर्न सजिलो छैन । नेपालका राजनीतिक दल दशकौँसम्म सत्तासंघर्षमै अल्झिए । नीति, विचार र सिद्धान्तमा भन्दा पनि सत्ता र स्वार्थमा केन्द्रित रहँदा देशले अवसर गुमायो । आन्तरिक लोकतन्त्रको अभावमा नेताहरू जीवनभर पदमा टाँसिने, नेतृत्व हस्तान्तरण नहुने परम्परा पुराना राजनैतिक दलमा व्याप्त छ । विचार र कार्यशैलीमा स्थिरता नहुँदा जनताका प्राथमिकताभन्दा पदको हिसाबले गठबन्धन बनाउने परम्परा निरन्तर चल्यो । भ्रष्टाचार र पहुँचवादी राजनीतिक अभ्यासमा लिप्त पार्टीहरू युवाको उर्जा र विशेषज्ञतालाई प्रयोग गर्ने ठाउँ नभई, पहुँच र पैसाले चल्ने संरचना बनाउनमै केन्द्रीत भए ।
यी प्रवृत्तिले दलहरूलाई संस्थागत कमजोर बनाएको छ । दल कमजोर हुँदा लोकतन्त्र नै संकटमा पर्ने अवस्था सिर्जना भयो । अब दलहरु व्यापक पुनर्गठनको दिशामा लाग्नुको अर्को विकल्प छैन । अब दलहरूले केवल नामका साइनबोर्ड फेरेर वा कार्यकर्तामुखी घोषणापत्र जारी गरेर मात्र जनताको विश्वास पाउने छैनन् । अहिलेको नागरिक असन्तुष्टि केवल दलहरूप्रति होइन, राजनीतिक प्रणाली नै संकटमा परेको अनुभूतिमा बदलिएको छ । दशकौँदेखि पदमा बसिरहेका नेताले मार्गदर्शन मात्र गर्ने, वास्तविक नेतृत्व युवा पुस्ताले लिन सक्ने वातावरण सृजना गर्न सक्ने प्रतिवद्धता आवश्यक छ ।
दलभित्रै पारदर्शी निर्वाचन, जवाफदेही नेतृत्व र नीति–निर्माणमा कार्यकर्ताको सहभागितामा आन्तरिक लोकतन्त्र मजबुत बनाउने अभ्यासमा सामुहिक निर्णय जरुरी छ । ठग्ने अस्थायी गठबन्धन होइन, दीर्घकालीन नीति र सिद्धान्तमा आधारित राजनीति लाई संस्थागत गर्न विचार र नीतिको स्पष्टता विना जनतालाई विश्वास दिलाउन सक्ने अवस्थामा दलहरु छैनन् । पार्टीको गतिविधि केवल चुनावको बेला मात्र होइन, निरन्तर नागरिकसँग संवादमा आधारित बनाउन जरुरी छ । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति व्यवहारिक अभ्यासमा लागु गर्नुपर्छ, जनताको सबैभन्दा ठूलो माग यही हो ।
सुशीला कार्कीको नेतृत्व र जेनजी पुस्ताको ऊर्जा मिलेर एउटा नयाँ सुरुवात गर्ने सम्भावना देखिएको छ । तर, यदि पुराना दल जस्ताको तस्तै रह्यो भने, त्यो सम्भावना पनि इतिहासकै अर्को असफलतामा परिणत हुनेछ । तर, यदि यो पुस्ता आफ्नो नैतिकता, पारदर्शिता र समृद्धिको एजेन्डामा अडिग रहनसक्छ भने, यसले नेपाललाई अवस्थामात्र होइन, दिशा बदल्ने क्षमता राख्छ । जेनजी आन्दोलन कुनै अचानक जन्मिएको घटना होइन, यो नेपालको राजनीतिक इतिहासको क्रमागत निरन्तरता हो । तर, यसको विशिष्टता भनेको– यसले केवल विगतलाई निरन्तरता दिने मात्र होइन, भविष्यलाई समृद्धि, अवसर र सुशासनको नयाँ चेतना दिने क्षमता बोकेको छ ।
यसैबीच, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको प्रधानमन्त्री नियुक्तिले देशको राजनीतिक दिशा फेरिएको छ । कार्कीलाई न्यायपालिकामा इमानदार, दृढ र भ्रष्टाचारविरोधी नेताको रूपमा जनताले पहिचान गरेका छन् ।
उनको नेतृत्वमा सरकार बनेपछि नागरिकमा आशा जागेको छ । अब प्रणाली सफा हुन्छ । राजनीतिक स्वार्थभन्दा इमान्दारिता अग्रसर हुन्छ । तर, चुनौति गम्भीर छ । पुराना दलले आफ्नो शक्ति र स्वार्थ गुमाउन चाहँदैनन् । कार्कीलाई असफल बनाउन, अवरोध सिर्जना गर्न र फेरि पुरानै सत्ता खेलतर्फ फर्काउने प्रयास हुने सम्भावना उच्च छ । इतिहासले देखाएको छ, २०४६ र २०६२–६३ मा नागरिकले प्रणाली बदल्न सके, तर संस्कार बदल्न सकेनन् । तर, जेनजी पुस्ता मुलुक निर्माणका निम्ति आतुर देखिन्छ । उत्साहित देखिन्छ ।
अब, जेनजी आन्दोलन र सुशीला कार्कीको नेतृत्वबीच एउटा नयाँ अवसर आएको छ । प्रश्न यहीँ छ, के हामी फेरि पुरानै गल्ती दोर्होयाउँदै रु कि, यसपटक सचेत नागरिक, दबावमूलक युवा पुस्ता र इमानदार नेतृत्वको संयोजनले वास्तवमै प्रणालीलाई सुधार गर्छ रु यदि हामीले यो अवसर गुमायौँ भने, फेरि दशकौँसम्म देश बन्छ त अब रु भन्ने प्रश्न उठिरहने छ ।
तर, यदि यसपटक नागरिक निरन्तर सचेत भए, दलहरूलाई जवाफदेही बनाउन सके र सुधारलाई संस्थागत गर्न सके नेपालले अबको यात्रा नयाँ अध्यायका रूपमा लेख्नेछ ।