काठमाडौं । विभिन्न माग राखेर संघर्षरत यातायात व्यवसायीहरूले आज पनि प्रदर्शन गरेका छन् । उपत्यकाको माइतीघरमा प्रदर्शनसँगै उनीहरूले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सार्वजनिक सवारीसाधनको साँचो बुझाउने बताएका छन् ।
सार्वजनिक यातायात केन्द्रीय महासंघको आव्हानमा गरिएको प्रदर्शनमा यातायात क्षेत्रमा काम गर्नेहरूलाई कोरोनाविरूद्ध खोप लगाउनुपर्ने, महामारीका कारण संकटमा परेको व्यवसायलाई मौद्रिक नीतिमार्फत समाधान गर्नुपर्ने, यातायातको बीमा छुट समायोजन गर्नुपर्ने, नवीकरण र जरिवाना छुट गर्नुपर्ने माग राखिएको छ ।
७ बुँदे मागमा यीबाहेक यातायातको भाडा समायोजन गरिनुपर्ने, २० वर्ष सवारीको अवधि थप गर्नुपर्ने र सडक कानून लागू गर्नुपर्ने माग पनि उनीहरूको छ ।
आफूहरूको माग पूरा नगरे सार्वजनिक सवारी ठप्प पार्ने व्यवसायीले चेतावनीसमेत दिएका छन् ।
काठमाडौं । निषेधाज्ञाका कारण लामो समय असर परेको यातायात क्षेत्र केही दिनअघि मात्र आंशिकरूपमा खुलेको छ । तर सार्वजनिक सवारी शुरू भएको केही दिनमै व्यवसायीले आन्दोलन थालेका छन् । आज काठमाडौंको चक्रपथ क्षेत्रमा भाडा समायोजनको माग गर्दै बस, ट्रक, टेम्पो, ट्याक्सीलगायतका सवारी सडकमा ल्याएर ट्राफिक अस्तव्यस्त हुने गरी प्रदर्शन गरिएको छ ।
सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको आव्हानमा गरिएको सवारी प्रदर्शनमा २० हजार सवारी सडकमा उतारिएको दावी गरिएको छ । एकान्तकुनाबाट शुरू भएको सवारीसाधनसहित प्रदर्शनले चक्रपथ परिक्रमा गरेको छ ।
महासंघका महासचिव भरत नेपाल ९ वर्षदेखि भाडा वृद्धि नभएको तर पेट्रोलियम पदार्थको मूल्य भने निरन्तर वृद्धि भइरहेकोले त्यसैको विरोधमा आन्दोलन गरेको बताए ।
नेपालले भने, ‘बैंकले व्याज लिएर नाफा कमाइरहने तर त्यही बैंकलाई ऋण लिएर व्यवसाय गरेका यातायात घाटामा उठ्नै नसक्ने गरी थला परेका छन् । अब आउने मौद्रिक नीतिमा यातायात व्यवसायीका समस्या सामाधान हुनुपर्यो । अब अन्तर प्रदेश नभनी सरकारले सबैतिर ५० देखि ६० प्रतिशत भाडा वृद्धि गर्ने बेला आएको छ । ९ वर्षमा पेट्रोलियम पदार्थ मूल्य कति वृद्धि भएको छ । बुझेर सरकारले वैज्ञानिक भाडादर लागू गर्नुपर्छ ।’
सरकारले भाडा समायोजन र बैंकको ब्याजमा सहुलियत दिने निर्णय नगरे सबै सवारीसाधनको चावी सीडीओमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने नेपालले बताए । उनले नेपाल प्रेससँग भने, ‘सरकारले हाम्रो माग नसुने भित्री सडकमा सवारी साधनहरू राखेर नै प्रदर्शन गर्ने छौं । सरकारले त्यति गर्दा पनि माग सम्बोधन नगराए देशभरको यातायात बन्द गराउने छौं । १० हजार पर्ने टायरको मूल्य वृद्धि भएर ५० हजार भइसक्यो तर भाडा तर भने पहिलेको नै छ । विगत दुई वर्ष कोरोनाले सबैभन्दा धेरै यातायात क्षेत्र नै समस्यामा परेको छ ।’
यातायात व्यवस्था विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले यातायात व्यवसायीले आन्दोलनको विषयमा विभागलाई केही जानकारी नभएको बताए । उनले भने, ‘संघीय सरकारले लामो दूरीको यातायातको भाडा वृद्धि गरिसकेको छ । अब प्रदेश अन्तर्गतको प्रदेशले नै निर्णय गर्ने हो । हामीले केही गर्न र भन्न मिल्दैन । यातायात व्यवसायीले कुरा नबुझेर काठमाडौं उपत्यकामा प्रदर्शन गरेका होलान् ।’
सरकारले केही दिनअघि अन्तर प्रदेश सवारीसाधनको भाडा २८ प्रतिशत वृद्धि गरेको थियो । सर्वसाधारणले भने यो भाडावृद्धिको समेत विरोध गरेका छन् ।
अन्तर प्रदेशमा मात्र बढाइएको भाडाले समस्या समाधान नहुने भन्दै आजको आन्दोलन शक्ति प्रदर्शनका लागि भएको यातायात व्यवसायीको दावी छ । पहिलो र दोस्रो लहरको कोरोना महामारीका कारण करिब १ वर्ष सार्वजनिक सवारी बन्द भए । कमाइ नहुँदा पनि बैंकको बैंकको ताकेता गरिरहेको उनीहरूको भनाइ छ ।
नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले हिजो उद्योग परिसंघको साधारणसभामा महामारीले थला पारेको निजी क्षेत्रको लागि राहतको प्याकेज ल्याउने आश्वासन दिएका थिए । उनले त्यसका लागि सम्बोधन गर्नुपर्ने समस्याको फेहरिस्त दिन निजी क्षेत्रलाई आग्रहसमेत गरेका छन् ।
काठमाडौं । पछिल्ला दिनमा कोरोना महामारीको दोस्रो लहर बढेसँगै उपत्यकाको सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्डमा कडाइ गरिने भएको छ ।
यातायात व्यवसायीसहित जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा बसेको बैठकमा कोरोना जोखिम वृद्धि भएको भन्दै सार्वजनिक सवारीसाधनमा महामारी नियन्त्रणका लागि ८ वटा मापदण्ड लागू गराउने निर्णय भएको हो ।
जिल्ला प्रशासन कार्यलयका काठमाडौंमा सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले महामारीको जोखिमलाई मध्यनजर गर्दै सार्वजनिक यातायतमा स्वास्थ्य सुरक्षा मापदण्डमा कडाइ गर्ने निर्णय भएको बताए ।
उनले भने, ‘पछिल्लो समय कोरोना संक्रमण वृद्धि भएकाले सार्वजनिक यातायतमा सिट क्षमता भन्दा धेरै यात्रु राख्न नपाउने र सबै यात्रुले अनिवार्य प्रयोग गर्नुपर्ने छ ।’
अब सार्वजनिक यातायातमा यात्र गर्दा यात्रु आफैंले पनि कोरोनासँग सर्तक रहनु पर्ने उनको भनाइ छ ।