Tag: सरकार पुनर्गठन

  • सुदूरपश्चिम सरकार पुनर्गठन, चार मन्त्री थपिए

    सुदूरपश्चिम सरकार पुनर्गठन, चार मन्त्री थपिए

    कैलाली । सुदूरपश्चिम सरकार पुनर्गठन भएको छ । प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार सरकार पुनर्गठन गरेका हुन् ।

    प्रदेश सरकारको सामाजिक विकासमन्त्रीमा लालबहादुर खड्का, आन्तरिक मामिला तथा कानुनमन्त्रीमा पूर्णा जोशी,  भौतिक पूर्वाधार विकासमन्त्रीमा दीर्घ सोडारी र उद्योग वन तथा वातावरणमन्त्रीमा मानबहादुर धामी चयन भएका छन् ।

    त्यस्तै राज्यमन्त्रीहरुमा चुनकुमारी चौधरी, मनाकुमारी साउद, अर्चना गहतराज र मानबहादुर सुनार राज्यमन्त्री बनाएका छन् ।

    तारा लामा तामाङलाई मन्त्री बनाउनकै लागि आजै प्रमुख सचेतकबाट हटाइएको थियो । तर, उनले पार्टीमा विवाद रहेको भन्दै मन्त्री पद अस्वीकार गरेका छन् । नेकपा एमालेका नवनियुक्त प्रमुख सचेतक लालबहादुर खड्कालाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका प्रकाश शाहले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पनि लिने भएका छन् ।

     

  • कर्णालीमा सरकार पुनर्गठनको सकस, फ्लोर क्रस गर्ने एमाले नेताको भएन पुनःनियुक्ति

    कर्णालीमा सरकार पुनर्गठनको सकस, फ्लोर क्रस गर्ने एमाले नेताको भएन पुनःनियुक्ति

    सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मन्त्री छान्न पार्टीभित्रै सकस परेको छ । नेपाली कांग्रेससँग सम्झौता गरेर र नेकपा एमालेका चार जना सांसदको फ्लोर क्रसबाट सरकार जोगाउन सफल भएका मुख्यमन्त्री शाहीलाई माओवादी भागमा परेका मन्त्रालयमा नयाँ मन्त्री चयन गर्न दवाव बढेको छ ।

    नेकपा एमालेका चार जना सांसदमध्ये तीन जनालाई मन्त्री बनाएका मुख्यमन्त्री शाहीले कांग्रेसलाई भनेर सामाजिक विकास मन्त्रालय छुट्याएका छन् । कांग्रेसले यज्ञबहादुर विसीलाई उक्त मन्त्रालयमा पठाउने भने पनि हालसम्म निर्णय भएको छैन ।

    मुख्यमन्त्री शाहीले पुराना अनुहारलाई हटाएर नयाँ अनुहार छान्ने भने पनि दलभित्र जनार्दन शर्मा गुट र शक्ति बस्नेत गुटका कारण पुरानालाई कायम राख्ने वा नयाँलाई मन्त्री बनाउने भन्ने बारेमा विवाद देखिएको छ ।

    माओवादी भागमा परेका मन्त्रालयमा आन्तरिक मामिला तथा कानून मन्त्रालयमा पुराना मन्त्री नरेश भण्डारी र आर्थिक मामिला तथा योजना मन्त्रीमा विमला केसी छन् । उनी यसअघि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री थिइन ।

    ‘मुख्यमन्त्रीज्यूले पुराना सबैलाई फेरबदल गरेर नयाँलाई अवसर दिउँ भनेर भन्नु भएको थियो तर पार्टी भित्रको आन्तरिक विवादले अहिलेसम्म मन्त्री के गर्ने भन्ने बारेमा निर्णयमा पुग्नु भएको छैन,’ मुख्यमन्त्री शाही निकट श्रोतले नेपालप्रेसलाई भन्यो ।

    मुख्यमन्त्रीको रोजाईमा विन्दमान विष्ट पहिलो नम्बरमा छन् । केहि दिन अघि बसेको माओवादी संसदीय दलको वैठकमा विमला केसीले मन्त्री पद नछोड्ने बताएपछि मुख्यमन्त्री अप्ठेरोमा छन् ।

    ‘मन्त्री केसीले आफूले कृषि मन्त्रालय सम्हालेको र त्यसमा कुनै गल्ती भएको खण्डमा मात्रै मन्त्री फेर्नुपर्ने प्रस्ताव गरिन् । उनले आफू मन्त्री भइरहने चाहना समेत व्यक्त गरेकी थिइन,’ एक सांसद भन्छन्, ‘ उनले सोझै आफ्नो विकल्प नभएको बताएकी छिन् । अथवा महिला अर्थमन्त्री भएको पहिलो इतिहास भएको दाबी गर्दै यो बजेट ल्याउन आफूलाई दिइनुपर्नेमा उनको जोड छ । उनको यो भनाइका कारण पनि मुख्यमन्त्री शाही अप्ठ्यारोमा परेका हुन् ।’

    मन्त्री बन्ने लाइनमा सुर्खेतका विन्दमान विष्ट, रुकुमका गोपाल शर्मा र सुर्खेतकै सीता नेपालीको नाम चर्चामा छ । सीता नेपाली अहिले माओवादी संसदीय दलको प्रमुख सचेतक छन् ।

    गोपाल शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्री बनाउन जनार्दन शर्माबाट निरन्तर दबाब मुख्यमन्त्रीलाई आइरहेको छ । सुर्खेतकै ठम्मर विष्टलाई पनि मन्त्री बनाउने आश्वासन दिएर एमालेमा लाग्न नदिई माओवादीमै फर्काइएको थियो । अर्का सांसद धर्मराज रेग्मीलाई मन्त्री बनाउने भनेर आश्वासन दिएपनि उनले भने माओवादी परित्याग नै गरे र एमाले बने ।

    ‘कसलाई मन्त्री बनाउने भन्ने कुरा मुख्यमन्त्रीको विचारको कुरा हो,’ सांसद विन्दमान विष्ट भन्छन्, ‘त्यस्तो खासै मन्त्री बन्न हानथाप भएको भन्ने कुरा मलाई खासै जानकारी भएन । तर मन्त्री नयाँ बनाउने वा पुरानो राख्ने भन्ने बारेमा सामान्य छलफल भने भएको हो ।’

    अर्थ नपाउँदा ज्वाला जिल्ल

    नेकपा माओवादी केन्द्रको सरकार जोगाउन फ्लोर क्रस गरेका एमालेका निर्वतमान सांसद प्रकाश ज्वाला जिल्ल परेका छन् । विगतमा आर्थिक मामिला तथा योजना मन्त्रालय सम्हालेका मन्त्री ज्वालाले यसपटक पनि आर्थिक मामिला तथा योजना मन्त्रालय माग गरेका थिए ।

    तर नेकपा माओवादीले अर्थ मन्त्रालय आफैसँग राख्ने अडान नछोडेपछि प्रकाश ज्वाला माधव नेपाल, प्रचण्ड लगायतका नेताहरुसँग छलफल गर्न काठमाडौंतर्फ लागेको मुख्यमन्त्री स्रोतले नेपालप्रेसलाई बतायो ।

    ‘उहाँलाई भौतिक पूर्वाधार मन्त्री बन्न मुख्यमन्त्री शाहीले प्रस्ताव गर्नु भएको हो । आर्थिक मामिला दिने भए मात्रै मन्त्री बन्छु भन्ने अडान उहाँले लिनुभयो,’ श्रोत भन्छ, ‘माओवादी केन्द्रका सांसदहरुले आर्थिक मामिला अरुलाई दिन नहुने कुरा जोडदार रुपमा उठाएपछि मुख्यमन्त्रीज्यू ब्याक हुनुभएको हो ।’

    यता फ्लोर क्रस गरेर मन्त्री बनेका अम्बरवहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाको पुनः सपथग्रहण पनि यहि विवादका कारण हुन सकेको छैन । माओवादीभित्रकै विवादले कतै आफूहरु आठ दिनकै मन्त्रीमा सिमित हुनुपर्ने हो कि भन्ने डर पनि उनीहरुलाई छ ।