Tag: सरकारी कार्यालय

  • सरकारी कार्यालय आजदेखि खुले : उपत्यकामा बढ्यो चहल पहल

    सरकारी कार्यालय आजदेखि खुले : उपत्यकामा बढ्यो चहल पहल

    काठमाडौं । बडादसैँ (विजयादशमी)मा बन्द भएका सरकारी कार्यालय खुलेका छन् । राजधानी काठमाडौं उपत्यकासहित देशभरका सरकारी कार्यालय खुलेपछि चहलपहल बढेको छ ।

    आज सरकारी तथा निजी कार्यालय सञ्चालनमा आएकाले काठमाडौं उपत्यकामा सवारी साधनको केही चाप बढेको छ । दसैँमा सुनसान प्रायःबनेको काठमाडौँमा नियमितजसो सबै प्रकारका सेवा सञ्चालनमा आएका छन् ।

    प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा चहलपहल बाक्लिएको छ । सबैजसो मन्त्रालयमा मन्त्री, कर्मचारी तथा आगन्तुकको बाक्लो उपस्थिति देखिन्थ्यो ।

    दसैँको टीकाको तेस्रो दिन आज पनि आफन्त तथा मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद लिनेक्रम जारी रहेको छ । विजयादशमीको टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दसैँको टीका लगाउने चलन छ ।

    उपत्यकामा पनि दसैँको टीका लगाउन आफन्त तथा मान्यजनकहाँ पुग्ने सर्वसाधरणको आवतजावत बाक्लोरूपमा देखिएको छ । उपत्यकामा औषधि, खाद्यान्न, दूध तथा तरकारीका पसल खुलेका छन् ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आज पनि काठमाडौँ उपत्यकामा दसैँको टीका र आशीर्वाद थाप्न जानेको चहलपहल बाक्लै छ । बाक्लो संख्यामा सवारी साधन चले पनि ट्राफिक जाम नरहेको ट्राफिक प्रहरीको भनाइ छ ।

    दसैँ मनाउन गाउँघर गएका सर्वसाधरण पनि धमाधम काठमाडौँ भित्रिरहेका छन् । कोटेश्वर, कलङ्की, गोङ्गबु, बल्खुलगायत नाकामा दसैँ मनाएर राजधानी फर्कनेको भिडभाड देखिन्छ । मानिवसको चहलपहल र सवारीसाधनको आवतजावत तथा बजार पसल पनि क्रमशः खुल्न थालेकाले राजधानी काठमाडौँ पुरानै लयमा फर्कन थालेको अनुभूति हुन्छ ।

  • धनुषाका दुई सरकारी कार्यालय बन्द, महोत्तरीमा पूजापाठ गर्न नपाइने

    धनुषाका दुई सरकारी कार्यालय बन्द, महोत्तरीमा पूजापाठ गर्न नपाइने

    जनकपुरधाम । कोरोना भाइरसको संक्रमण तीब्र गतिमा बढ्न थालेपछि धनुषाका दुई सरकारी कार्यालय आइतबारबाट बन्द हुने भएको छ । महोत्तरी जिल्ला प्रशासन कार्यालयले भने मठमन्दिरमा पूजापाठ र बलीमा रोक लगाएको छ ।

    भूमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालय धनुषाले आइतबारदेखि सेवा बन्द गर्ने निर्णय गरेको हो । मालपोत कार्यालयले मुद्दाबाहेकका सबै सेवा बन्द हुने सूचना जारी गरेको छ ।

    कोरोना भाइरस संक्रमणको प्रकोपबाट बँच्न आइतबारदेखि अर्को सूचना नभएसम्मका लागि सेवा स्थगित गरिएको प्रमुख मालपोत अधिकृत बासुप्रसाद कोइरालाले जानकारी दिए । यता, नापी अधिकृत विन्देश्वर यादवले पनि सूचना जारी गरेर अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण सेवा प्रवाह स्थगित गरिएको बताएका छन् ।

    जिल्ला प्रशासन कार्यालय महोत्तरीले बलवा नगरपालिकास्थि कारिकस्थान, पिपरा गाउँपालिकास्थित बौधिमाई मन्दिर, सम्सी गाउँपालिकास्थित अनहेरभाटलगायतका धार्मिक स्थलहरुमा दर्शनार्थीको अत्यधिक भीड भइ कोरोना संक्रमणको जोखिम बढेकाले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि नित्य पूजाबाहेक अन्य पूजामा रोक लगाउने निर्णय गरेको छ ।

    कोही कसैले सूचनालाई अटेर गरेको पाइएमा संक्रमण रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही हुने चेतावनी समेत सूचनामार्फत दिएको छ । कोरोना भाइरस संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै मन्दिरमा नित्य पूजा बाहेक सबै पूजा र बलीमा रोक लगाइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकरी दिए ।