Tag: सम्पदा

  • सम्पदाभन्दा सम्पति प्यारो, सयवर्ष पुरानो पिपल मासेर सटर

    सम्पदाभन्दा सम्पति प्यारो, सयवर्ष पुरानो पिपल मासेर सटर

    गलेश्वर । म्याग्दीको बेनी नगरपालिका– ७ बेनी सामुदायिक माविको छेवैमा रहेको करिब १०० वर्ष पुरानो पिपलको रुख मासेर व्यापारिक प्रयोजनका लागि सटर बनाइएको छ ।

    बेनी बजार विस्तारसँगै हिन्दूहरुले भगवान् विष्णुको अवतार मानेर पूजा गर्ने र वातावरणीय दृष्टीले पनि महत्व रहेको पिपलले बटुवालाई सितलता दिलाउँछ भन्दै १९९७ मा भट्टचन थर गरेका एक व्यक्तिले पिपल रोपेका थिए । पिपलको रूख रातारात हटाउन खोज्दा सबैतिरबाट चर्को विरोध पनि भएको थियो ।

    सर्वसाधारणलाई पैदल हिँडन्, सवारीसाधनबाट आवतजावत गर्न र विद्यालयको पार्किङ्स्थलका लागि पिपल काटिएको वडाका जनप्रतिनिधिले जिकिर गरे । घाम चर्कदा र पानी पर्दा ओत लाग्ने सानो प्रतिक्षालय जस्तै बनेको पिपल मास्ने कार्य नरोखिएको भन्दै चौतर्फी भएको विरोधलाई बेवास्ता गर्दै नगरपालिकाले आन्तरिक आम्दानीको नाममा मनलाग्दी तरिकाले सटर बनाएर भाडा दिएको हो ।

    अस्थायी ट्याङ्की राख्न सम्झौता गरी प्रति हात ६०० भाडा तिरेका व्यापारीले सम्झौता विपरीत शक्ति र पहुँचको आडमा पक्की संरचना बनाउदासमेत नगरपालिका मौन बसेको छ । वडा नं ७ र ८ भित्र बढ्दो सहरीकरणले व्यस्त सडकसहित खाली रहेकास्थान सार्वजनिक हितका लागि प्रयोग गरिनुपर्नेमा ठाउँ खाली देख्ने वित्तिकै भाडामा दिने गरिएको छ । बजारभित्र सार्वजनिकस्थानमा वडाका जनप्रतिनिधिको अगुवाइमै भाडामा लगाउने गरिएको छ ।

    दैनिक लाखौको करोबार गर्नेलेसमेत सस्तोमा बस्न पाएपछि सार्वजनिक जग्गामा अस्थायी संरचना हालेर व्यवसाय गर्ने होडबाजी नै चलेको एक स्थानीयवासीले बताए । ‘विपन्नलाई जीविकोपार्जनका लागि बनाइएका संरचनामा पनि व्यापारीको नजर परेको छ, नगरलाई समेत जानकारी नदिई पक्की संरचना बनाउन थालिएका छन्’ ट्याङ्कीको व्यवसाय गरेकी एक महिलाले गुनासो गरे।

    उनका अनुसार भाडामा दिइएका संरचनासमेत नगरपालिकासँग कुनै समन्वय नगरी कङ्क्रिटको पिल्लर ठड््याएर, महँगोमा खरिदबिक्रीसमेत भएको छ । जिल्लाको प्रमुख प्रशासनिक क्षेत्र वीरेन्द्रचोक, पुस्तकालय चोकआसपास तथा कालीपुल, बसपार्कका सार्वजनिक जग्गामा बनाइएको संरचना प्रयोग गरेबापत व्यापारीले प्रतिहात ६०० देखि एक हजार १०० सम्म तिर्ने गरेको नगरपालिकाले जनाएको छ ।

    बजारभित्र ट्याङ्की र ठेलासहितका ६० वटा अस्थायी संरचनालाई मासिक भाडा तिर्ने गरी प्रयोग गर्न दिइएको छ । गतसाता सदरमुकामलाई व्यवस्थित र सुन्दर बनाउन सरोकालाबीच भएको छलफलमा प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले भाडामा दिइएको संरचनालाई आवश्यकताअनुसार हटाउन सकिने बताए ।

    नगरपालिकाले नै भाडामा दिएका संरचना नै बेनीबजारलाई सुन्दर र व्यवस्थित बनाउन बाधक बनेको भन्दै नगरको आम्दानीको नाममा पार्किङ तथा सार्वजनिक महत्वको स्थान अतिक्रमणले खुम्चिएको सरोकार निकायका प्रतिनिधिले चर्को गुनासो गरेका थिए । ‘खाली ठाउँमा सटर हालेर आम्दानी गर्ने प्रवृत्तिले समस्या हुनाका साथै ट्राफिक व्यवस्थापनमा पनि निकै समस्या भयो’ प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले भने ।

    उनले यस्ता अनेकन समस्याका कारण एकतर्फी पार्किङसहितको अभियान नै प्रभावकारी बनाउन असहज भएको बताए । सार्वजनिकस्थललाई नगरपालिकाले कमाइको भाँडो बनाइरहेकामा आलोचनासमेत भएको थियो । सार्वजनिक ठाउँलाई व्यापारिक प्रयोजनका लागि प्रयोग गर्दा बढ्दो सहरीकरणले बजारभित्र पानी पर्दा ओत लाग्ने एउटा प्रतिक्षालयका लागि ठाउँसमेत छैन् । बेनी सामुदायिक विद्यालयका प्रधानाध्यापक दीपक श्रेष्ठले सटर र आसपासमा राखिएका ठेला व्यवसायका कारण उक्त माविमा अध्ययनरत विद्यार्थीलाई प्रवेशमा ठूलो समस्या भएको बताए।

    ‘विद्यार्थीलाई हिँड्न अप्ठेरो भएको छ,‘विद्यालयको समस्यामा सरोकार निकाय मुखदर्शक बनेको छ’ उनले भने । विद्यालयको प्रवेशद्वारमा ठेला, सटर हाल्ने, सवारीसाधनको पार्किङलाई हटाउन पटक–पटक नगरपालिका, प्रशासनलगायत सरकारी निकायलाई ज्ञापनपत्र समेत बुझाइए पनि वास्ता नगरिएको प्रअ श्रेष्ठको भनाइ थियो ।

    बजारमा विभिन्न व्यवसायीले घरभन्दा बाहिर जस्तापाता राखेर सडक ढोक्ने गरी सामान झुड्याउने गरेकाले त्यसलाई हटाउनका लागि दिइएको एक हप्ताको सूचना बुधबार सकिँदै छ । नगरपालिकाको आयोजनामा जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, जिल्ला उद्योग वाणिज्य संघबीच ट्राफिक कार्यालयबीच ७ र ८ वडामा पर्ने सदरमुकामलाई सुन्दर बनाउन व्यवस्थित पार्किङ, फराकिलो बाटो, सार्वजनीकस्थलमा सरसफाइ, सिसी क्यामरा जडानलगायत कार्यलाई व्यवस्थित बनाउन पटक–पटक भएका छलफल र सार्वजनिक प्रतिबद्धता कार्यान्वयन नहँुदा बजार लथालिङ्ग भएको छ । रासस

  • विश्वविद्यालयको सम्पदाप्रेम

    विश्वविद्यालयको सम्पदाप्रेम

    विश्वविद्यालय ज्ञान, प्रज्ञान र विचारको संगम हो । यसको कार्यक्षेत्र विस्तृत छ । यद्यपि नेपालको सन्दर्भमा विश्वविद्यालयहरूले औपचारिक अध्ययनलाई नै केन्द्रमा राख्दै आएका छन् । उसको काम केवल विद्याको सर्टिफिकेट वितरण गर्ने निकायजस्तो बन्दै गएको देखिन्छ ।

    तर, काठमाडाै‌ विश्वविद्यालय औपचारिक अध्ययनको परिधिबाट निकै पर फैलिएको छ । राष्ट्रका प्रमुख सम्पदा संरक्षण र कलाको विकासमा निरन्तर काम गर्दै आएको छ । जीर्ण बनेका सम्पदा संरक्षण, लोकबाजा, साहित्यकारका घर संरक्षणमा विश्वविद्यालय नेतृत्व नै लागिपरेको छ ।

    युरोपबाट सुरु भएको ‘म्युजिकोलोजी’ भन्ने विषय विस्तारै संसारभर लोकप्रिय हुन थालेको अवस्था छ । जब यस विषयको सुरुवात भयो त्यतिबेला केही ऐजेन्डाहरू निर्मित भएका थिए । संगीतको विकास र वृद्धिकै निम्ति सुरु गरिएको यस विषयको मूल लक्ष्य भनेको नै सांगितिक बाजा तथा विविध सांगीतिक विधाहरूको संरक्षण थियो । त्यसैको लागि अनेकौं अनुसन्धान हुन थाल्यो ।

    यही उद्देश्यका साथ काठमाडौं विश्वविद्यालयले कला तथा संगीतको लागि छुट्टै विभाग बनायो । जसको अभिभाकत्वद्धारा अहिले नेपालमै हालसम्म नगरिएका कामहरू भइरहेका छन् । विभागको प्रमुखको रूपमा डा।लोचन रिजालले कार्यभार सम्हालेको निकै लामो समय भइसकेको छ । विश्वविद्यालयका निवर्तमान उपकुलपति डा। रामकण्ठ मकजु श्रेष्ठको निर्णयक भूमिका रहेर कला संरक्षणका विविध कार्य अघि बढेको पाइन्छ ।

    त्रिपुरेश्वरमा रहेको ललित त्रिपुरा सुन्दरीद्वारा र्निमित त्रिपुरेश्वर महादेवको मन्दिर निकै जीर्ण अवस्थामा थियो । महाभूकम्प २०७२ पश्चात् झनै जीर्ण भएको त्यस स्थलको नेपाली संस्कृति र संगीतमा ठूलो महत्त्व छ । त्यसै अनुरूप काठमाडौं विश्वविद्यालय र डा।श्रेष्ठकोे अगुवाइमा यसको पुनर्निर्माण कार्य सुरु भयो । दुईसय वर्षको इतिहास बोकेको त्रिपुरासुन्दरी मन्दिर क्षेत्र अब संस्कृति र संगीतको आधुनिक थलो हुने भयो ।

    संगीत केबल मञ्चमा बजाउनको लागि मात्र होइन भन्ने अभिप्रायका साथ म्युजिकोलोजीले यसका धारहरू बनाएको हो । यसको सम्बन्ध समय काल र परिस्थितिसँग उत्तिकै प्रगाढ रूपमा गाँजिएको छ भन्ने कुरा आम मर्मज्ञहरूले बुझ्न जरुरी देखिन्छ । समय फेरिन्छ यस सँगै संगीतका प्रकारहरू रूचाउने सिमित वर्ग फेरिन्छन् तर संगीत भने यदाकदा बाँचिरहन्छ ।

    त्यसै कुराको आधार लिएर संगीतका मानवशास्त्रहरू बारे आजभोलि अध्ययन भइ नै रहेको छ । मानिसहरूले कुन कालखण्डमा कुन किसिमका संगीत रूचाइरहेका छन् भन्ने कुरालाइ नै संगीतको मानवशास्त्रसँग जोड्न सकिन्छ । शास्त्रीय रूपमा समाज, मानव सबैसँग मिश्रित रहेर बाँच्ने माथिल्लो ओहोदाको विधा हो संगीत ।

    यस्तै बुँदागत महत्त्व तथा ऐतिहासिक महत्त्व बोकेको सम्पदाहरूमा जीवन हालिरहेको छ काठमाडौं विश्वविद्यालय । ‘ललित त्रिपुरा सुन्दरी’द्वारा र्निमित त्रिपुरेश्वर महादेवको मन्दिर निर्माणधीन छ । यसको लागि विश्वविद्यालयले आर्थिक, सामाजिक, भौतिक हरेक कोणबाट अनुसन्धान गरी सो काम गरिरहेको छ । हाल ७० प्रतिशत काम सकिएको र आगामी ११ महिनाभित्र पूर्ण काम सकाउने विश्वविद्यालयको लक्ष्य छ । यो जानकारी दिँदै गर्दा काठमाडौं विश्वविद्यालय संगीत विभाग प्रमुख डा. रिजाल निकै भावुक देखिन्थे । उपकुलपति डा‍. रामकण्ठ मकजु श्रेष्ठप्रति नतमस्तक हुँदै रिजाल सम्मान भावहरू प्रकट गर्ने बिन्दुमा उभिएका थिए ।

    उपकुलपति डा. श्रेष्ठ आफैंमा एक वरिष्ठ सर्जन हुन् । मेडिकल विषयका मानिस भएर कला, संस्कृति र इतिहासप्रतिको यो मोह र काम गर्ने अठोट हामी सबैको निम्ति निकै सुखद आश्चर्य पनि हो । उहाँकै पहलमा यस मन्दिर पुनर्निर्माणको निम्ति थाइ सरकारबाट निकै बलियो आर्थिक सहयोग पनि भएको छ । यसको डिजाइन, सम्पूर्ण विस्तृत विवरण र डिपिआर तयार गर्नको निम्ति केभिपिटिको सहयोग रहेको छ । केभिपिटि अर्थात् ‘काठमाडौं भ्याली प्रिजरभेसन ट्रस्ट’ ।

    अमेरिकी मातहतमा रहेको यस कम्पनीलाई अहिले डा। रोहित रञ्जितकरले आफ्नो अगुवाइमा चलाइरहेका छन् । यस कार्यको निम्ति लाग्ने जनशक्ति, खर्च र समयको अनुमानित विवरणहरू सो कम्पनीकै सहयोगमा बनेको हो ।

    सम्पदा जोगाउन यदि विश्वविद्यालयहरू नै लाग्ने हो भने कार्य सम्पन्न भएपश्चात् पनि निकै राम्रो हेरचाह यी सम्पदाहरूले पाउँछन् भन्ने कुरामा खास दुविधा रहँदैन पनि । कुन अर्थमा भने, विश्वविद्यालयहरू यसको सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बुझ्न सफल हुन्छन् ।

    करिब दुई वर्षदेखि निरन्तर रूपमा त्यहीँ बसेर संयोजकको भूमिका निर्वाह गरिरहेका छन् विभागीय प्रमुख डा।रिजाल । संगीतकार तथा प्राध्यापक रिजालले यस कार्यलाई उद्घाटन गर्नकै निम्ति केही पूँजी संकलन गरे । कन्सर्ट, सांगितिक विर्मशहरूबाट केही पूँजी संकलन गरेका डा।रिजाल यो कार्य सम्पन्न गर्नको निम्ति आफ्नो सर्वस्व समय लगानी गरिहेका छन् ।

    समयको कालखण्डमा केही चिजहरू केहीभन्दा कम हुँदैनन् । तर यी कुराहरू बारे जानकारी भएन भने हामीले डा।श्रेष्ठ र डा।रिजालजस्ता व्यक्तिहरूलाई सम्मान गर्न पाउँदैनौं । प्रचारबाजीमा तल्लीन हुने निकै ठूलो जमातले मात्र वाहावाही पाउँछन् । यद्यपि, यस्तै छ समाज ।

    बन्दैछ बालकृष्ण समको जीर्ण घर

    नाट्यसम्राट बालकृष्ण समको जीर्ण भएको घरलाई ‘सम सेन्टर’ बनाउने अभिप्राय लिएर अघि बढेको छ काठमाडौं विश्वविद्यालय । त्रिपुरेश्वरको काम अन्तिम चरणमा रहँदै गर्दा हालै काठमाडौ विश्वविद्यालयले बालकृष्ण समको जीर्ण भएको घरलाई पुरानै ढाँचामा सम सेन्टरमा रूपान्तरण गर्न लागेको हो । तमाम कलाप्रेमीहरूको निम्ति यो अत्यन्तै सुखद समाचार ठहरिएको छ । समको घरलाई आम कलाप्रेमीहरू समक्ष खडा गर्नको निम्ति ‘केयू’ले गरिरहेको काम अत्यन्तै प्रशंसनीय छ ।

    भोलि हरेक कलाप्रेमीहरूको लागि खुला रहने स्थल बन्नेछ, सम सेन्टर । कार्यशाला, सांगीतिक विमर्श तथा अनेक कार्यको निम्ति सधैं खुला रहने सम सेन्टरले जीवन पाउनु भनेको आम कलाप्रेमीले आनन्दमय सास फेर्नु हो ।

    आइतबार भएको भेटघाटमा यस ठाउँले कला प्रर्बधनको निम्ति नेपाली वाङ्मयमा ठुलो सहयोग पुर्याउने तर्क राख्दै देखिनुभयो कलाकार सुनिल थापा । लेखक कुमार नगरकोटी, कलाकार सुनिल थापा, गौरव पहाडी, डा. रिजाल र उपकुलपति ड. श्रेष्ठलगायत पत्रकारहरूको उपस्थिति रहेको सो भेलामा काठमाडौ विश्वविद्यालयको काम निकै उल्लेखनीय रहेको सबैले आफ्नो मन्तव्य राख्दा बताए । यी आदरणीय समुदायको उपस्थिति रहेर यस्ता कामहरू हुने हो भने हाम्रो इतिहास र संस्कृतिको भविष्य निकै राम्रो हातमा छ भनेर हामी सुनिश्चित हुन सक्छौं ।

    यसरी काठमाडौं विश्वविद्यालय, निवर्तमान उपकुलपति डा। श्रेष्ठ र विभागीय प्रमुख डा। रिजाललाई मनभरिको कृतज्ञता ज्ञापन गर्दै सम्पदा संरक्षणको कामको सफलताको निम्ति हार्दिक बधाई तथा शुभकामना !