Tag: सम्पत्ति विवरण

  • अझै सार्वजनिक भएन प्रधानमन्त्रीसँगै मन्त्रीहरूको सम्पत्ति विवरण

    अझै सार्वजनिक भएन प्रधानमन्त्रीसँगै मन्त्रीहरूको सम्पत्ति विवरण

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूको सम्पत्ति विवरण अझै सार्वजनिक भएको छैन । गत २९ असारमा प्रधानमन्त्री बनेका देउवा र २५ सदस्यीय मन्त्रीमण्डलका सदस्यको सम्पत्ति विवरण अझै गोप्य राखिएको छ ।

    सम्पत्ति विवरण सार्वजनिक गर्नैपर्ने कानून व्यवस्था छ । यसअघिका प्रधानमन्त्री र मन्त्रीहरुले नियुक्त भएको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्दै आएका थिए । सार्वजनिक पदधारण गरेका र कर्मचारीले सरकारलाई सम्पत्ति विवरण बुझाउनुपर्छ ।

    उक्त विवरण गोप्य रहने भए पनि आर्थिक पारदर्शिताका लागि भन्दै प्रधानमन्त्री र मन्त्रीहरू सम्पत्ति विवरण सार्वजनिक गर्ने गरिन्छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेभसाइटमा प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण प्राप्त भएको उल्लेख छ । तर सार्वजनिक गरिएको छैन ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादी केन्द्र, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी नेपाललगायत राजनीतिक दलको सहभागिता छ ।

    यसअघिका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वका केही मन्त्रीहरू ९प्रधानमन्त्रीसहित० ले मात्र सम्पत्ति विवरण सार्वजनिक गरेका थिए । ०७४ मा गठन भएको सरकारका मन्त्रीको सम्पत्ति विवरण २ महिनामै सार्वजनिक गरिएको थियो । तर, त्यसपछि नियुक्त भएका मन्त्रीहरूले भने सम्पत्ति विवरण सार्वजनिक गरेका थिएनन् ।

    यद्यपि, ओली मन्त्रिपरिषद्‍मा दोस्रो पटक मन्त्री बनेका शेरबहादुर तामाङले भने दुवैपटक सम्पत्ति विवरण सार्वजनिक गरेका थिए । मन्त्री बन्दा र सरकारबाट बाहिरिँदा गरी दुई पटक सम्पत्ति विवरण सार्वजनिक गर्ने मन्त्री प्रदीपकुमार ज्ञवाली बनेका थिए ।

  • कर्णालीका चार मन्त्रीले अझै बुझाएनन् सम्पत्ति विवरण

    कर्णालीका चार मन्त्रीले अझै बुझाएनन् सम्पत्ति विवरण

    सुर्खेत । कर्णाली प्रदेश सरकारका चार मन्त्रीले अझैसम्म सम्पत्ति विवरण बुझाएका छैनन् । ऊर्जा तथा सिंचाइमन्त्री दिनबन्धु श्रेष्ठ, सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्री, भौतिक पूर्वाधार विकासमन्त्री अम्मरबहादुर थापा र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले अझैसम्म सम्पत्ति नबुझाएको पाइएको छ ।

    मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा, आन्तरिक मामिला तथा कानूनमन्त्री सीता नेपाली, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले भने सम्पत्ति विवरण बुझाएका छन् ।

    स्रोतका अनुसार मुख्यमन्त्री शाही र मन्त्री बुढाले पनि २०७४ सालयता सम्पत्ति विवरण अद्यावधिक गरेका छैनन् ।

    मुख्यमन्त्री शाहीले टिकापुरमा श्रीमती चन्द्राकुमारी शाहीका नाममा कैलालीको टीकापुरमा दुई लाख ३५ हजारमा १६ हजार ९५० वर्गमिटर जग्गा खरिद गरेको उल्लेख गरेका छन् ।

    मुख्यमन्त्री शाहीको सम्पत्ति विवरणअनुसार एभरेष्ट बैंकमा दुई लाख र राष्ट्रिय वाणिज्य बैंकमा पाँच लाख रुपैयाँ भएको र त्यो रकम तलब तथा व्यापारबाट कमाएको उल्लेख गरेका छन् ।

    त्यस्तै, कृषि सहकारी संस्था (ठाउँ र ठेगाना उल्लेख नभएको)मा संस्थापक सदस्य १० हजार सेयर रहेको र शाही नै अध्यक्ष रहेको सुर्जा मल्टीप्रपोज प्रालिमा १० लाख रुपैयाँ लगानी रहेको उल्लेख छ । आफ्नो नाममा मारुतीकार रहेको मुख्यमन्त्री शाहीले उल्लेख गरेका छन् ।

    यसका अलावा मुख्यमन्त्री शाहीको कालिकोटको पचालझरना गाउँपालिका–९ मा पाँच रोपनी जग्गा रहेको, धनबहादुर शाहीका नाममा २५ हजार वर्गमिटर जग्गा रहेको (नाता उल्लेख नगरिएको) र सुन ६ तोला, चाँदी दुई सय तोला पुख्र्यौली सम्पत्ति रहेको उल्लेख गरिएको छ ।

    शाहीले मुख्यमन्त्री भएपछि ७ चैत ०७४ मा पेस गरेको सम्पत्ति विवरणमा पाँच हजार कुखुरापालन गरेको र त्यो १० लाखमा खरिद गरेको उल्लेख गरेका छन् । कुखुरापालन गर्ने ठाउँ र ठेगाना उल्लेख गरिएको छैन ।

    त्यस्तै, दुई लाख ५० हजारमा फलफूल तथा तरकारी उत्पादन गर्ने गरेको उल्लेख गरेका छन्, त्यसको पनि ठाउँ र ठेगाना उल्लेख गरिएको छैन ।

    सम्पत्ति विवरणअनुसार कसैले दाइजो धेरै पाएका छन् भने कसैले पुख्र्यौली सम्पत्तिबाहेक अन्य केही नभएको उल्लेख छ ।

    आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले श्रीमती अञ्जु दहितका नाममा दाइजो स्वरूप बर्दियामा जग्गा प्राप्त गरेको उल्लेख गरेका छन् ।

    बर्दियाको बारबर्दिया नगरपालिका–६ मा पाँच लाखमा श्रीमती अञ्जुका नाममा ३३८ दशमलव ६३ वर्गमिटर जग्गा खरिद गरेका छन् । अञ्जुका नाममा सोही नगरपालिकाको वडा नम्बर ११ मा ३४०, १३ सय ५५ वर्गमिटर, ३९३५ दशमलव ४८ वर्गमिटर जग्गा बकस पाएको शर्माले उल्लेख गरेका छन् । त्यस्तै नौ लाख ६० हजारमा खरिद गरेको सोही नगरपालिका वडा नम्बर ५ मा ३३८६ दशमलव ३० वर्गमिटर जग्गा पाँच लाख ऋण सापटीमा किनेको र श्रीमतीको नाममा दुई तोला सुन माइतीबाट दाइजोस्वरुप उनले जनाएका छन् ।

    त्यस्तै, शर्माको एनआइसी एसिया बैंकमा एक लाख ५२ हजार ४२५ रुपैयाँ पारिश्रमिक बैंकमा बचत रहेको, अञ्जुको नाममा साइन रेसुङ्गा डेभलमेन्ट बैंकमा पाँच लाख ३९ हजार चार सय ५५ रुपैयाँ सेवासुविधा जग्गा बिक्री तथा व्यवसायिक आय भएको, श्रीमतीकै नाममा राष्ट्रिय वाणिज्य बैंकमा एक लाख ३३ हजार रुपैयाँ बचत रहेको पनि उनले विवरणमा उल्लेख गरेका छन् ।

    शर्माले श्रीमतीको नाममा आस्था बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा १० हजार कित्ता सेयर रहेको र श्रीमतीका नाममा बारबर्दिया नगरपालिका काष्ठ फर्निचर उद्योगसमेत रहेको उल्लेख गरेका छन् ।

    आन्तरिक मामिला तथा कानूनमन्त्री सीता नेपालीले बुझाएको सम्पत्ति विवरणमा श्रीमान रामबहादुर चपाईका नाममा लेकबेसी नगरपालिका–४ मा आठ कट्टा जमिन रहेको र ऐलानी जग्गामा दुई तले घर बनाएको उल्लेख गरेकी छन् ।

    सुर्खेतको लेकबेसी नगरपालिका–१ मा २७३२ दशमलव ४२ वर्गमिटर जग्गो, एनआइसी एसिया बैंकमा एक लाख ५० हजार रुपैयाँ नगद र प्राइम सहकारीमा ६ लाख ७१ हजार ८१२ रुपैयाँ बचत रहेको पनि उनको विवरणमा उल्लेख छ ।

    उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले २०७४ सालमै बुझाएको सम्पत्ति विवरणमा डोल्पाको ठूलीभेरी नगरपालिका–४ मा हजारौं वर्गमिटर जग्गा पुख्र्यौली सम्पत्ति, १५ तोला सुन र एक किलो चाँदी रहेको उल्लेख गरेका छन् ।

  • दीपक मनाङेले सम्पत्ति विवरण सार्वजनिक गर्न सकेनन्, कहाँ–कति छ भन्नेमै ‘कन्फ्यूज’

    दीपक मनाङेले सम्पत्ति विवरण सार्वजनिक गर्न सकेनन्, कहाँ–कति छ भन्नेमै ‘कन्फ्यूज’

    पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजिव गुरूङ (दीपक मनाङे)ले सम्पत्ति विवरण सार्वजनिक गर्न ढिलाइ गरेका छन् । उनले आफ्नो सम्पत्ति कहाँ–कति छ भन्नेमा ‘कन्फ्यूज’ भएकाले सम्पत्ति विवरण सार्वजनिक गर्न नसकेको बताएका छन् ।

    आइतबार एक कार्यक्रममा मनाङेले भने– सापटी दिएको पैसा फिर्ता भएको छैन, फिर्ता गर्ने हो कि होइन, अलिअलि भएको जग्गा पनि मुद्दा मामिलामा छ । मलाई नै कम्फ्यूज छ कि मसँग के छ, के छैन भनेर ।’

    उनले विवरण बुझेर सार्वजनिक गर्न अझै केही समय लाग्ने बताए ।

    मुख्यमन्त्रीसहित अरु मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरिसकेका छन् । तर गुरुङले विभिन्न कारण देखाउँदै विवरण सार्वजनिक गरेका छैनन् ।

    भ्रष्टाचार निवारणसम्बन्धी ऐन, २०५९ ले सार्वजनिक पद धारण गरेको व्यक्तिले पद धारण गरेको ६० दिनभित्र आफ्नो वा परिवारको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।

    गण्डकी प्रदेशमा मनाङेसँगै भूमि, व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले पनि सम्पत्ति विवरण बुझाएका छैनन् ।

  • निजामती कर्मचारीलाई दु्ई महिनाभित्र सम्पत्ति विवरण बुझाउन सरकारको परिपत्र

    निजामती कर्मचारीलाई दु्ई महिनाभित्र सम्पत्ति विवरण बुझाउन सरकारको परिपत्र

    काठमाडौं । सरकारले निजामती कर्मचारीलाई २ महिना अर्थात ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन सबै कर्मचारीलाई परिपत्र गरेको छ । राष्ट्रिय किताबखानाले मंगलवार एक सूचना जारी गर्दै २०७७–७८ को सम्पत्ति विवरण बुझाउन परिपत्र गरेको हो । सम्पत्ति विवरण बहालवाला र चालु आर्थिक वर्षामा सेवा निवृत्त दुवैले बुझाउनुपर्ने किताबखानाका महानिर्देशक नेत्र प्रसाद सुवेदीले नेपाल प्रेसलाई जानकारी दिए ।

    उनका अनुसार सेवा निवृत्त भएका कर्मचारीले समेत आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण सम्बन्धित कार्यालय मार्फत किताबखानामा दर्ता गर्नुपर्नेछ । सम्पत्ति विरण बुझाउने दायित्व सम्बन्धित कर्मचारीमा हुने व्यवस्था भएकोले कानूनले तोकेको समय सीमाभित्र सम्पत्ति विवरण बुझाउन सबै निजामती कर्मचारीलाई आग्रह गरिएको महानिर्देशक सुवेदीले बताए ।

    तोकिएको २ महिना अर्थात ६० दिनपछि प्राप्त भएको सम्पत्ति विवरणलाई प्राप्त नभएको सरह मानी अभिलेख नराखिने कितावखानाले जारी गरेको सूचनामा भनिएको छ ।