Tag: सभापति

  • कांग्रेसका दुई जिल्ला सभापतिको कित्ता परिवर्तन, पौडेल पक्षको भेलामा सहभागी

    कांग्रेसका दुई जिल्ला सभापतिको कित्ता परिवर्तन, पौडेल पक्षको भेलामा सहभागी

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको पूर्वसन्ध्यामा संस्थापन पक्षबाट जितेका दुई जिल्ला सभापति रामचन्द्र पौडेल पक्षमा खुलेका छन् ।

    पौडेल पक्षले बुधवार बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा राखेको भेलामा संस्थापन पक्षको समर्थनबाट जितेका दुई जिल्ला सभापति सहभागी भएर कित्ता फेरेका हुन् ।

    यसरी पौडेल पक्षमा खुल्नेमा ललितपुरका जितेन्द्र श्रेष्ठ र तनहुका जितप्रकाश आले छन् । श्रेष्ठलाई प्रकाशमान सिंहको पनि समर्थन थियो । यद्यपी ललितपुरमा संस्थापन पक्षकै दुई उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो ।

    उता तनहुँमा भने पौडेल निकट उम्मेदवार बैकुण्ठ न्यौपानेलाई पराजित गरेका जितप्रकाश आलेलाई देउवा पक्षका शंकर भण्डारी,गोविन्द भट्टराई लगायतको समर्थन थियो । आले यसअघि पौडेल पक्षमा रहे पनि महाधिवेशनबाट सभापति बन्ने बेला संस्थापन पक्षको उम्मेदवार बनेका थिए ।

    ललितपुरको सभापति निर्वाचनमा शुरुमा मीनकृष्ण महर्जन,जितेन्द्र श्रेष्ठ र रामकृष्ण चित्रकारबीच प्रतिस्पर्धा भएको थियो ।दोस्रो चरणमा संस्थापन पक्षका मीनकृष्णले श्रेष्ठलाई साथ दिएका थिए भने देउवा निकट नेताहरु उदय शमसेर जबरा र तरुण दलका अध्यक्ष जितजंग बस्नेतको समर्थन पनि श्रेष्ठलाई थियो ।

    आफूहरुको समर्थनमा चुनाव जितेर कित्ता परिवर्तन गरेको भन्दै संस्थापन पक्षका कार्यकर्ताले श्रेष्ठको आलोचना गरेका छन् ।

  • अर्घाखाँची कांग्रेस सभापतिमा पौडेल समूहका श्रेष्ठ विजयी

    अर्घाखाँची कांग्रेस सभापतिमा पौडेल समूहका श्रेष्ठ विजयी

    रूपन्देही । नेपाली कांग्रेस अर्घाखाँचीको सभापति पदमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका केशव श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठ सभापतिमा निर्वाचित हुँदा शेरबहादुर देउवा पक्षीय यादव प्रसाद घिमिरेले सवैभन्दा कम मत प्राप्त गरेका छन् ।

    घिमिरेलाई कांग्रेस नेतृ पुष्पा भुसाल र मानबहादुर बिश्वकर्माले अगाडि सारेका थिए । नेपाली कांग्रेस अर्घाखाँचीको १४ औं अधिवेशनबाट निकटतम प्रतिद्वन्दी ईन्द्रमणि पौडेललाई पराजित गर्दै केशव श्रेष्ठ सभापति पदमा विजयी भएका हुन् ।

    केशव श्रेष्ठले ७३१ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी इन्द्रमणि पौडेलले ३५२ मत प्राप्त गरेका छन् । त्यस्तै यादव प्रसाद घिमिरेले ३०९ मत प्राप्त गरेका छन् । २७ मत बदर भएको छ । गएराती सम्पन्न निर्वाचनमा कुल १४३८ मतदातामध्ये १४२१ मत खसेको थियो ।

    निवर्तमान सभापतिसमेत रहेका बिष्णुप्रसाद खनाल (मुस्कान)ले उम्मेदवारी फिर्ता गरेपछि महासमिति सदस्य केशब श्रेष्ठ, महाधिवेशन प्रतिनिधि ईन्द्रमणि पौडेल र नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष यादव घिमिरेबीच सभापति पदमा निर्वाचन भएको थियो ।

  • विमलेन्द्रको दावी- मेरै नेतृत्वमा आउँदो चुनावबाट कांग्रेस पहिलो पार्टी (भिडियो)

    विमलेन्द्रको दावी- मेरै नेतृत्वमा आउँदो चुनावबाट कांग्रेस पहिलो पार्टी (भिडियो)

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले आगामी निर्वाचनपछि नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउनका लागि १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने बताएका छन् ।

    नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका उपसभापति निधीले शुक्रबार नयाँ बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालयको उद्घाटन गर्दै आगामी निर्वाचनमा तीन वटै तहमा नेपाली कांग्रेसलाई बहुमत प्राप्त गराउनका लागि आफूले सभापतिमा उम्मेदवारी दिन लागेको बताएका हुन् ।

    उनले आफूले कसैलाई पराजित गर्न र कसैलाई असक्षम घोषित गर्नका लागि सभापतिको उम्मेदवार बन्न नखोजेको पनि स्पष्ट पारे । आफू कसैलाई रिटायर्ड गराउनका लागि सभापतिको उम्मेदवार नभएको उल्लेख गर्दै उनले कांग्रेसलाई मजबुत बनाउँदै रुख छापलाई हिमाल, पहाड, मधेशमा स्थापित गराउन र मतदाता र जनतासँग जोड्न आफ्नो उम्मेदवारी रहेको उनले स्पष्ट पारे ।

    निधीले भने,‘मलाई विश्वास छ, नेपाली कांग्रेसलाई आगामी एक, डेढ वर्षपछि हुने आम चुनावमा, देशको सबै तहको चुनावमा रुख छापलाई जिताउन हामी सफल हुनेछौँ मलाई पूरा विश्वास छ । मेरो सम्पूर्ण ध्यान नेपाली कांग्रेसको सभापति हुने कुराको लागि मेरो उद्देश्य भनेको आगामी आम चुनावमा नेपाली कांग्रेसको रुख छापलाई देशभरमा बहुमत प्राप्त गराउनका लागि सम्पूर्ण आफ्नो बुद्धि, विवेक र संगठनलाई एकतावद्ध बनाएर, सबैलाई समेटेर आफ्नो भूमिका प्रस्तुत गर्नु नै मेरो सभापतिको उम्मेदवारीको उद्देश्य हो । म कसैलाई पराजित गर्न, कसैलाई असक्षम घोषित गर्न, कसैलाई रिटायर्ड गर्नको लागि म सभापतिको उम्मेदवार हुन खोजेको होईन ।’

    उपसभापति निधीले नेपाली कांग्रेसको दूरदर्शिताका कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै वर्तमान प्रणाली र संविधानको स्वामित्व नेपाली कांग्रेसले लिनुपर्ने बताए ।

    आफूहरु संघीयता र संविधानको सफल कार्यान्वयनको पक्षमा रहेको कुरा जनतालाई बुझाउनु आवश्यक रहेको भन्दै उनले १४ औँ महाधिवेशनबाट कांग्रेसलाई ताजा बनाएर वैचारिक रुपमा प्रष्ट र वैचारिक रुपमा प्रतिवद्ध बनाएर लैजानुपर्ने बताए ।

    उनले भने,‘यो संविधानको स्वामित्व नेपाली कांग्रेसले लिनुपर्दछ । नेपाली कांग्रेसको सभापति भएपछि म मतदाता र जनाको विचमा गएर भन्न चाहान्छु, जो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली देशमा ल्याएका छौँ, त्यो प्रणाली लाबारिस छैन । त्यो जिम्मेवारी हाम्रो हो । यो संविधान लावारिस छैन, यो संविधानको जिम्मेवारी हाम्रो हो । त्यसको सफल सञ्चालन र कार्यान्वयन गर्ने जिम्मेवारी हाम्रो हो । त्यस कारणले अब तपाईहरुले ध्यानमा राख्नुहोला, मतदाता र जनतालाई भन्न सक्नुप¥यो, हामीले भन्छौँ अब भाँडभैलो हुदैनँ । ’

    उपसभापति निधीले नेपाली कांग्रेसको नेतृत्वमा क्रमिक रुपमा युवा पुस्ता आउनुपर्ने भन्दै युवा पुस्तालाई नेतृत्वमा ल्याउनका लागि आफूले सहजकर्ताको भूमिका निर्वाह गर्ने बताए ।

  • देउवाले सुरु गरे दोहोरिने दौड

    देउवाले सुरु गरे दोहोरिने दौड

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी नेतृत्वमा दोहोरिन ‘राजनीतिक दौड’ सुरु गरेका छन् । भदौ १६ गतेदेखि १९ गतेसम्म हुने १४ औं महाधिवेशनको कार्यतालिका केन्द्रीय कार्यसमितिबाट पारित भएसँगै देउवाले चुनावी तयारी सुरु गरेका हुन् ।

    सभापति देउवाले आफू निकट नेताहरुसँग प्रदेशगत छलफल सुरु गरेका छन् । शनिबार प्रदेश १ र २ का केन्द्रीय नेताहरुसँग छुट्टाछुट्टै छलफल गरेका देउवाले आज बागमती प्रदेश र गण्डकी प्रदेशका नेताहरुसंग छलफल गर्दैछन् ।

    आफूनिकट नेताहरुसँगको छलफलमा सभापति देउवाले आसन्न महाधिवेशनमा आफू सभापति पदमा उम्मेदवार हुने बताएका छन् । आफ्नो जित निश्चित हुनेगरी महाधिवेशन प्रतिनिधि जिताएर ल्याउनसमेत देउवाको निर्देशन छ ।

    देउवाको दाउ

    २०७२ साल फागुनमा सम्पन्न १३ औं महाधिवेशनबाट पार्टी नेतृत्वमा स्थापित भएका सभापति देउवा अझै एक कार्यकाल नेतृत्वमै रहन चाहन्छन् । अघिल्लो महाधिवेशनमा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई पराजित गरेका देउवासँग यसपटक प्रतिस्पर्धी को-को रहनेछन् भन्ने निश्चित भइसकेको छैन ।

    यद्यपि आफ्नै समूह व्यवस्थापन गर्नुपर्ने चुनौती पनि देउवासामू छ । देउवा समूहबाट उपसभापति विमलेन्द्र निधिले पनि सभापतिको उम्मेदवार बन्ने बताइसकेका छन् ।

    शनिबार देउवासँगको छलफलमै निधिले आफूले लामो समयदेखि सघाएको भन्दै यसपटक आफूलाई सघाउन अनुरोध गरेका थिए । सभापति देउवाले आफू उम्मेदवार बन्ने भएकोले तयारी गर्न निर्देशन दिएपछि निधिले उम्मेदवार त आफू पनि रहेको बताएका थिए ।

    ‘मैले लामो समयदेखि तपाईंलाई सहयोग गरेको छु । यसपटक तपाई प्रधानमन्त्री बन्नुस् मलाई सभापतिमा प्रस्ताव गर्नुस्’, निधिको भनाई थियो । देउवाले सभापतिमा लड्ने कुरा निधिको व्यक्तिगत अधिकारको विषय रहेको जवाफ दिए ।

    छलफलमा सहभागी एक नेता देउवा र निधि दुवैको तयारीले समूहमा समस्या पर्नसक्ने बताउँछन् । ‘दुवै नेता आदरणीय हुनुहुन्छ । उहाँहरुमध्ये एकजनामात्रै उम्मदेवार भए हामीलाई सहज हुन्छ । अन्तिमसम्म कुरा मिल्छ होला भन्ने लाग्छ’, ती नेताले भने । चार पटक मुलुकको कार्यकारी प्रमुख भइसकेका देउवालाई विद्यार्थी राजनीतिदेखि नै निधिले सघाउँदै आएका छन् । पार्टी विभाजनको बेलासमेत देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिमा निधि महामन्त्री थिए ।

    किन दोहोरिन चाहन्छन् देउवा ?

    नेपाली कांग्रेसको विगत हेर्दा पनि नेतृत्वमा स्थापित भइसकेपछि सहज ढंगले नेतृत्व हस्तान्तरण गरेको उदाहरण भेटिँदैन । सभापति देउवाले सभापतिमा दोहोरिन चाहनुको मुख्यकारण पार्टीलाई बलियो स्थितिमा पुर्‍याउने चाहना हो ।

    अघिल्लो निर्वाचनमा पार्टीले व्यहोरेको लज्जास्पद हारका कारण बनेको असफल सभापतिको छवि सुधार्न देउवा आतूर छन् । अबको निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन सके सफल सभापतिका रुपमा स्थापित भइने देउवाको बुझाई छ ।

    ‘संविधान कार्यान्वयन मैले नै गराएको हो । अब पार्टीलाई एक नम्बर बनाएर मात्रै विश्राम लिन्छु’, देउवालाई उधृत गर्दै एक नेताले भने । कम्युनिष्ट पार्टीमा देखिएको विभाजनको लाभ लिँदै अबको निर्वाचनमा पार्टीलाई सबैभन्दा ठूलो बनाउन सकिने देउवाको बुझाई छ ।

    देउवाका प्रतिस्पर्धी

    आसन्न महाधिवेशनमा देउवासंग प्रतिस्पर्धा गर्न चाहने कांग्रेस नेताहरुको संख्या आधा दर्जन बढी छ । अघिल्लो पटक देउवासँग पराजित वरिष्ठ नेता पौडेल, महामन्त्री डा.शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता डा.शेखर कोइराला देउवाका मुख्य प्रतिस्पर्धी हुन् ।

    देउवाइत्तर पक्षबाट एकजना मात्रै उम्मेदवार रहने सम्भावना कम देखिन्छ । सबै नेताले दावेदारी प्रस्तुत गर्दै आफूले मात्रै देउवालाई हराउन सक्ने दावी गर्दै आएका छन् ।

    देउवा समूहबाट उपसभापति निधि र तेस्रो धारबाट पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पनि सभापतिका आकांक्षी छन् । विपक्षमा धेरै आकांक्षी हुँदा देउवालाई सहज हुने देखिन्छ । यद्यपि निधिलाई मनाउने चुनौती भने देउवासँग बाँकी नै रहेको छ ।