Tag: सफल परीक्षण

  • नेपालमै अक्सिजन सिलिण्डर उत्पादन गरिने, नाष्टले गर्‍यो सफल परीक्षण

    नेपालमै अक्सिजन सिलिण्डर उत्पादन गरिने, नाष्टले गर्‍यो सफल परीक्षण

    ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले नेपालमा पहिलोपटक अक्सिजन  सिलिण्डर उत्पादन परीक्षण गरेको छ ।

    कोभिडको महामारी फैलिएको र अक्सिजन सिलिन्डरको चरम अभाव भैरहेको बेला नयाँ सिलिण्डर निर्माण गरी परीक्षण गरिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सिलिण्डर परीक्षणको शुभारम्भ गरेका थिए।

    नाष्टका वैज्ञानिकसँग भएको भेटको क्रममा मन्त्री श्रेष्ठले सिलिण्डर उत्पादन गर्न सक्ने अवस्थाबारे जानकारी लिए लगत्तै नाष्टले सफल परीक्षण गरेको हो । अब नेपालले प्रेसर धान्न सक्ने सिलिण्डर उत्पादन गर्न विभिन्न कम्पनीलाई अनुमति दिनेछ ।

    नाष्टका प्रविधि संकाय प्रमुख डा. रविन्द्र ढकालले प्रेसर धान्न सक्ने सिलिण्डर तयार भएको जानकारी दिए । उनले भने,‘सुरक्षाको अन्तिम उपाय अबलम्बन गर्न बाँकी छ , केही दिनमा सिलिण्डर उत्पादन गर्ने कम्पनीसँग छलफल गरी व्यवसायिक उत्पादन गर्न अनुमति दिनेछौं ।

    उनका अनुसार नेपालमा पाइने सिलिण्डरको न्युनतम मुल्य करिब १५ हजार पर्नेछ भने नाष्टको प्रबिधि प्रयोग भएको सिलिन्डरको करिब १० हजार भन्दा कम मुल्य पर्नेछ ।

    परीक्षण अवलोकन गर्न नाष्टको मुख्यालय पुगेका मन्त्री श्रेष्ठले नाष्टका उपकुलपति डा .सुनिलवावु श्रेष्ठ, वैज्ञानिक शंकर ढकाल लगायत सबै टिमलाई धन्यावाद दिएका थिए ।

    उनले भने,‘नेपालका वैज्ञानिकको मेहेनतको कारण गएको कोभिड संक्रमण नियन्त्रण गर्न स्वाब कलेक्सन भ्यान, स्यानीटाइजर, धुनमिल्ने मास्क निर्माण गरेर कोभिड नियन्त्रणमा महत्वपुर्ण योगदान गरेको छ । अब सिलिण्डर तयार गरेर कोरोना संक्रमितको प्राणवायु अक्सिजन भर्ने सिलिन्डर निर्माण गर्ने प्रबिधिको सफल परीक्षण गरेर महत्वपूर्ण काम गरेको छ ।’

    उनले अक्सिजन बनाउन प्रयोग हुने जियोलाइटको अभावपुर्ति गर्न सरकार गम्भीर रुपमा लाग्ने बताए । मन्त्री श्रेष्ठले नाष्टले अझै धेरै आविष्कार गर्न बाँकी रहेको बताउदै त्यसकोे लागि सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । सफल परीक्षण भएको सिलिण्डर वैज्ञानिक शंकर ढकालको समूहले तयार गरेको हो ।

    सो सिलिण्डर ग्याँस सिलिण्डरमा ग्याँसको दवाव २२५ बारसम्म भए सुरक्षित रहन्छ । ‘परीक्षण गर्दा ग्याँसको दवाव २३५ बार सम्म पुगेपछि सिलिन्डरमा जोडिएको पाइपमा सामान्यसमस्या आएको थियो । त्यसैले अन्तिम परीक्षण गर्न बाकी रहेको हो’प्रविधि संकाय प्रमुख रविन्द्र ढकालले भने ।

    नेपाल यस्तो सिलिण्डर निर्माण हुने गरेको छैन भने आयातित सिलिण्डरको गुणस्तर परीक्षण समेत हुने गरेको छैन ।
    मन्त्री श्रेष्ठले ठूला अस्पतालमा अक्सिजनउत्पादन प्लान्ट नहुनु विडम्बना भएको बताउँदै भने,‘विगतमा अस्पताल सञ्चालन अनुमति दिँदाअक्सिजन प्लान्टको व्यवस्था अस्पतालभित्र अनिवार्य हुनुपर्ने नियम बनाइएको भए आज अभावको समस्या भोग्नुपर्ने थिएन ।’

    अस्पताललाई आवश्यक पर्ने अक्सिजन अन्य निकायमा बढी खपत भएको कारण समस्या बढेको बताउँदै भने,‘अब सबै निकायबाट अक्सिजन सिलिन्डर ल्याएका छौ, अब समस्याको समाधान हुदै जानेछ ।’

    नाष्टका उपकुलपति डा. सुनीलबाबु श्रेष्ठले नास्टले स्वाब परीक्षण गर्न मोबाइल भ्यानतयार गरी सुरक्षाका तीनवटै निकायलाई हस्तान्तरण गरेको बताए । उनले नाष्टले कोभिड नियन्त्रणकोलाई महत्वपुर्ण काम गरिरहेको दाबी गर्दै भविष्यमा अन्य कार्य अघि बढाईने जानकारी दिए । उनले अब नाष्टलाई स्मार्ट नाष्ट बनाउने गरी कार्ययोजना अघि बढाईएको जानकारी दिए ।