Tag: सन्दीप लामिछाने

  • सन्दीपबारे लिजेन्ड क्रिकेटर वसन्त रेग्मी भन्छन्- विश्वकपमा नेपालले निकै राम्रो खेलाडी गुमायो (भिडिओ)

    सन्दीपबारे लिजेन्ड क्रिकेटर वसन्त रेग्मी भन्छन्- विश्वकपमा नेपालले निकै राम्रो खेलाडी गुमायो (भिडिओ)

    काठमाडौं । नेपालले सन् २०१४ मा पहिलो पटक आईसिसी टी–२० विश्वकप खेल्दा टोलीका महत्त्वपूर्ण सदस्य थिए स्पीनर वसन्त रेग्मी । त्यतिबेला नेपालले पहिलो चरणमा हङकङ र अफगानिस्तानलाई हराएको थियो भने बंगलादेशसँग पराजित भएको थियो ।

    नेपाल नेट रनरेटमा पछाडि रहेर पहिलो चरणबाट माथि उक्लिन सकेन । नेपालले खेलेका तीनवटै खेलमा वसन्तले विकेट लिएका थिए । पहिलो खेलमा हङकङलाई ८० रनले हराउँदा उनले ४ ओभरमा १४ रन खर्चिएर ३ विकेट लिए । दोस्रो खेलमा बंगलादेशसँग नेपाल ८ विकेटले पराजित भएको थियो । त्यसमा वसन्तले ३ ओभरमा १४ रन खर्चिएर एक विकेट हात पारेका थिए । तेस्रो खेलमा अफगानिस्तान ९ रनले पराजित हुँदा एक सय ४२ रनको लक्ष्य दिएको नेपालका लागि वसन्तले ३ ओभरमा २८ रन दिएर १ विकेट हासिल गरे ।

    वसन्त वर्ल्ड क्रिकेट लिग–डब्लूसीएलमा विश्वकै सर्वाधिक एक सय १८ विकेट लिने बलर हुन् । सन् २०१८ मा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएयता वसन्तको राष्ट्रिय टोलीमा प्रदर्शन फिक्का हुन थाल्यो । खास गरी सन्दीप लामिछानेको उदयले अन्य स्पीनरहरु छायामा पर्न थालेका थिए । टीममा नियमित स्थान बनाउन नसकिरहेको अवस्थामा वसन्त सन् २०२१ मा अमेरिकातर्फ लागे । संकटमा परेको नेपाललाई पटक पटक उद्धार र पुनरागमन गराएका कारण उनी नेपाली क्रिकेटमा ‘क्राइसिस म्यान’ उपनामले समेत परिचित छन् ।

    अमेरिका र वेस्ट इन्डिजमा आगामी महिना सुरु हुने विश्वकपमा सहभागी हुने नेपाली टोलीको बिदाइ कार्यक्रममा वसन्तलाई पनि निम्त्याइएको थियो । सोल्टी होटलमा आयोजित कार्यक्रममा उनीसँगै नेपालका लागि विश्वकप खेलेका शक्ति गौचन पनि सहभागी थिए । त्यतिबेला कप्तान रहेका पारस खड्का अहिले नेपाल क्रिकेट संघ–क्यानका सचिव छन् ।

    नेपाल प्रेसले सोल्टी होटलमा वसन्तसँग संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश–

    लामो समयपछि सार्वजनिक कार्यक्रममा देखिनुभएको छ । नेपाली टोलीलाई बिदाइ गर्ने कार्यक्रममा उपस्थित हुने संयोग कसरी जर्यो ?

    – म सोचिरहेको थिएँ कि नेपाल टिमलाई अमेरिकामै स्वागत गर्छु भनेर । प्लस आफूले जानेको केही कुराहरू उहाँलाई बताउन सकेँ भने त्यो महत्त्वपूर्ण हुन्छ जस्तो लाग्छ, स्पीनरमा । केटाहरूले सोध्ने पनि गर्छन् र म नाइँ पनि भन्दिनँ । जति ज्ञान बाँड्यो त्यति बढ्दै जाने हो । मैले भनेको एउटा शब्दले पनि उनीहरूलाई फाइदा मिल्यो भने मलाई सन्तोष महसुस हुन्छ ।

    आफूपछिको पुस्तालाई विश्वकपमा बिदाइ गरिरहँदा कस्तो महसुस भइरहेको छ ?

    म एकदम खुसी छु । हामी बीचमा क्वालिफाई गर्न हुन नसक्दा त्यसमा चाहिँ दुखी थिएँ । ३/४ वटा विश्वकपमा हामी छनोट हुन सकेनौँ । कहिले ग्लोबल राउन्डमा पुगेर त कहिले एसीसी प्रतियोगिताहरूबाटै बाहिरिन पुग्यौँ । तर यो नयाँ पुस्ताले अहिले राम्रो गरिरहेको छ । त्यसका लागि गर्व फिल गर्छु ।

    उहाँहरूलाई अग्रिम शुभकामना दिन्छु- राम्रो गर्नु, देशको झन्डा फहराउनु । जहिले पनि राम्रो पर्फम गर्नु, फ्यानहरूलाई खुसी राख्नुस् । जे गर्नु हुन्छ मनदेखि सफलता दिलाउने प्रयास गर्नुस् । कहिलेकाहीँ तलमाथि हुन्छ त्यसमा दुखी नहुनुस् । सबैको लाइफमा हुन्छ, गेममा पनि हुन्छ । तलमाथिलाई सफलताको सिँढी बनाएर अगाडि बढ्नुस् भन्ने शुभकामना दिन चाहन्छु ।

    विश्वकप खेलिसकेको खेलाडीले यसरी बिदाइमा आउँदा म पनि खेल्न पाएको भए हुन्थ्यो भन्ने लोभ चाहिँ हुन्छ कि हुँदैन ?

    त्यस्तो मलाई कहिले पनि हुँदैन । म बाहिर भए पनि टिमभित्रै छु जस्तो लाग्छ । नखेले पनि, दर्शक भएर हेरे पनि मेरो टिम हो, म टिममै छु जस्तो लाग्छ । म गएको भए अझ राम्रो गर्न सक्थेँ कि भन्ने चाहिँ हुन्छ त्यो प्राकृतिक कुरा हो । जुनसुकै पुरानो खेलाडीलाई त्यस्तो सोच आउँछ । तर म उहाँहरू (अहिलेको राष्ट्रिय टोली) देखि नै खुसी छु । मलाई त्यहाँ जानुपर्ने जरुरत नै छैन ।

    यो बीचमा क्रिकेट कत्तिको मिस गर्नु भयो ?

    त्यस्तो मिस भएको थिएन। मैले अमेरिकामा दुई सिजन माइनर लिग खेलेँ । त्यसमा राम्रो भएको थियो । गत वर्ष मात्र मैले खेलिनँ । अमेरिकामा नेपाली समुदायका बच्चाहरूलाई क्रिकेट सिकाउने सोच बनाएको छु । नेपालमा पनि मैले प्लान गरिरहेको छु । अमेरिका फर्कनुभन्दा पहिला ट्रेनिङ गराउँछु भनेर सोचिरहेको छु ।

    १० वर्षअघि विश्वकप खेलेको टिम र अहिले विश्वकप खेल्न लागेको टिममा के फरक देख्नु भएको छ ?

    त्यतिबेला खेल्नका लागि राम्रो सुविधा उपलब्ध हुन सक्थेन । अहिलेको टिमले त्यो पाइरहेको छ । यो नेपालको टिमका लागि प्लस प्वाइन्ट हो । राम्रो पनि गरिरहनु भएको छ । अहिले उहाँहरूले गर्व गर्ने मौका दिइरहनु भएको छ । त्यतिबेला हामीले पनि यत्तिको पाएको भए हामी अझ अगाडि बढ्न सक्थ्यौँ की !

    तपाईँहरूको समयमा नेपालको स्पीन बलिङ निकै सशक्त थियो । पछिल्लो समय सन्दीप लामिछाने टिममा छैनन् । स्पीन बलिङ समस्यामा देखिन्छ । यसलाई कसरी हेरिरहनु भएको छ ?

    नेपालले अहिले निकै राम्रो खेलाडी गुमाएको विश्वकपमा । निश्चितरुपमा, सन्दीपले निकै राम्रो गरिरहेको थियो । बाहिर गएर प्रोफेसनल क्रिकेट पनि खेलिरहेको थियो । त्यसबाट उसले अनुभव बढी प्राप्त गरेको थियो । त्यसले गर्दा टिमलाई जहिले पनि सपोर्ट भइरहेको थियो । अहिले पनि जुन स्पीनरहरु छन्, उनीहरू पनि नराम्रो छैनन् । उहाँहरूले प्लानिङ र एक्जिक्युसनको कुरामा मात्र काम गर्नुपर्छ ।

    विश्वकप अमेरिकामै गएर हेर्ने की नेपालमा बसेर ?

    – मेरो योजना त अमेरिकामा गएर हेर्ने भन्ने छ । तर यहाँ पनि व्यक्तिगत कामहरू छन् । ती कामहरू चाँडै पुरा भए भने अमेरिकामै गएर हेर्छु ।

  • सन्दीपलाई विश्वकप खेलाउनुपर्ने माग चर्को, अदालती ‘छलछाम’ को व्यथा अर्को

    सन्दीपलाई विश्वकप खेलाउनुपर्ने माग चर्को, अदालती ‘छलछाम’ को व्यथा अर्को

    काठमाडौं । नेपालले टी-२० विश्वकपका लागि टीम घोषणा गरेसँगै समर्थकहरूले स्पिनर सन्दीप लामिछानेको न्यायका लागि आवाज बुलन्द गर्न थालेका छन् । १५ सदस्यीय टोलीमा सन्दीप छुटेपछि सामाजिक सञ्जालमा समर्थकहरूको चर्को आक्रोश देख्न सकिन्छ ।

    अदालतमा मुद्दा विचाराधीन भएका कारण सन्दीप विश्वकप खेल्ने टीममा पर्न सक्ने अवस्था थिएन । यद्यपि, उनको ढोका पूर्णरुपमा बन्द भइसकेको छैन । अदालतले समयमै फैसला गरेर उनलाई आरोपमुक्त गरेमा पहिलो पटक विश्वकपमा नेपालका स्टार खेलाडी सन्दीपको बलिङ हेर्ने समर्थकहरूको चाहना पूरा हुन सक्छ ।

    नेपाल क्रिकेट संघ (क्यान) पनि फैसलाको पर्खाइमा छ । कुनै देशले आफ्नो विश्वकप टीममा हेरफेर गर्न सक्ने अन्तिम डेडलाइन मे २५ हो । त्योभन्दा अगाडि नै उच्च अदालतले सन्दीपलाई सफाइ दिएको खण्डमा अन्तिम क्षणमा भए पनि उनलाई समेट्ने क्यानको योजना छ । सन्दीप स्वयम् पनि यही आशामा रहेका छन् । यही आशामा उनले आफ्नो फिटनेसलाई पनि मेन्टेन गरेर राखेका छन् ।

    तर, क्यानले चाहेर मात्रै हुने अवस्था छैन । सन्दीपको विश्वकप यात्रा मात्र नभएर उनको सिंगो करिअर नै अदालतको हातमा छ ।

    यसअघि उनलाई जिल्ला अदालत काठमाडौंले दोषी ठहर गरेर ८ वर्षको फैसला सुनाएको थियो । उक्त फैसला उच्च अदालतले उल्टाउने आशा सन्दीप, उनका समर्थक र क्यानले लएका छन् ।

    उच्च अदालतका न्यायमूर्तिहरुको भने चेष्टा अर्कै छ । कुनै पनि न्यायाधीश सन्दीपको मुद्दा हेर्नलाई हिम्मत देखाइरहेका छैनन् ।

    जिल्ला अदालतले गरेको फैसलाको धरातल कमजोर रहेको उनीहरूले बुझेका छन् । तर सन्दीपलाई सफाइ दिँदा केही कहलिएका राजनीतिकर्मी, महिलावादी र केही ठूला मिडियाको निशानामा पर्ने डरले उनीहरू भागाभागको अवस्थामा छन् ।

    यसअघि जिल्ला अदालतमा पनि यही स्थिति थियो । कयौंपटक स्थगन भएर बल्लतल्ल मुद्दाको फैसला भयो । न्यायाधीश शिशिर ढकालले सन्दीपलाई दोषी ठहर्‍याएका थिए । तर, उनले बाह्य प्रभावमा परेर बिना प्रमाण फैसला गरेको भन्दै चर्को विरोध भएको थियो । उक्त फैसलालाई सच्याउने वा नसच्याउने अब उच्च अदालतको हातमा छ ।

    यदि उच्चले पनि सोही फैसला सदर गर्‍यो भने सन्दीपले विश्वकपमा जान मात्र होइन, क्रिकेट खेल्न पनि वञ्चित हुनुपर्ने छ । उनीले अन्तिम विकल्पका रूपमा सर्वोच्च अदालतमा जान सक्नेछन् ।

    सर्वोच्चले मुद्दा किनारा नलगाउन्जेल जेल जानु भने पर्दैन । यदि, सन्दीपले सफाइ पाए भने पनि सरकारी पक्ष सर्वोच्च जाने पक्का जस्तै छ । त्यसैले यो मुद्दाको अन्तिम छिनोफानो सर्वोच्चबाटै हुने हो ।

    उच्चमा सन्दीपको मुद्दा सुनवाइ चार पटक स्थगित भइसकेको छ । पहिलो पेसीमा झगडिया झिकाउने आदेश भएको थियो । यो एउटा औपचारिक प्रक्रिया भएकाले प्रश्न उठाउने ठाउँ छैन । तर, त्यसपछिका तीनवटा सुनवाइ स्थगित हुनुमा कुनै औचित्यपूर्ण कारण थिएन । न्यायाधीशहरुले मुद्दाको फैसला आफूबाट पन्छाउन चाहेका छन् ।

    दोस्रो पेसीमा गौशाला २६ को जन्ममिति सम्बन्ध कागजात स्थानीय तहबाट फेर मगाउने आदेश दिएर न्यायाधीशले सुनवाइ टारिदिएका थिए । तेस्रो पेशी समयाभावको कारण भन्दै ‘हेर्न नभ्याइने’ मा राखियो । जबकि अदालतसँग मुद्दाको सुनवाइ सुरु गर्न पर्याप्त समय थियो । न्यायाधीशले ठाडै ‘मुद्दालाई हेर्दाहेर्दैमा नराख्ने’ अडान लिएर सुनवाइ सुरु गर्न इन्कार गरेका थिए ।

    चौथो पेसी पनि उच्च अदालतका मुख्य न्यायाधीशसमेतको इजलासमा परेको थियो । तर, उनले आफूले हेर्न नमिल्ने भनेर पन्छाएका छन् । झगडिया झिकाउने आदेश आफूले नै दिएको हुँदा स्वार्थको द्वन्द्व उत्पन्न हुने उनको तर्क छ । यद्यपि, उनले हेर्न चाहेको भए कानूनतः कुनै पनि अड्चन थिएन ।

    सन्दीपको अर्को पेसी जेठ १ गतेलाई तोकिएको छ । उक्त दिन पनि मुद्दाको सुनवाइ होला भनेर ढुक्क हुने अवस्था छैन । तर, सामाजिक सञ्जालमा बढिरहेको दबाबले पक्कै पनि न्यायमूर्तिहरुलाई छोएको हुनुपर्छ ।

    थुप्रै चर्चित व्यक्तिहरूले पनि खुलेर सन्दीपको पक्षमा आवाज उठाउन थालेका छन् । अदालतको नियत र कार्यशैलीमाथि गम्भीर प्रश्न खडा भइरहेको छ ।

  • ओमानमा गुमेको अवसरलाई बिर्सिएर सन्दीपलाई सम्झिँदा

    ओमानमा गुमेको अवसरलाई बिर्सिएर सन्दीपलाई सम्झिँदा

    काठमाडौं । चार देश सम्मिलित टी-२० अन्तर्राष्ट्रिय शृंखला र टी-२० विश्वकप छनोटका लागि ओमान प्रस्थान गर्नुअघि सन्दीप लामिछाने चर्चाको शिखरमा थिए । नेपाल क्रिकेट संघ-क्यानले अनुशासन कारबाही गरेर ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाउँदै सन्दीपलाई जिम्मेवारी दिएको थियो । राष्ट्रिय टोलीका धेरै खेलाडीहरु क्यानको निर्णयविरुद्धमा उत्रिएका थिए । सन्दीपलाई कप्तान स्वीकार गर्न उनीहरु तयार थिएनन् ।

    तर नयाँ प्रमुख प्रशिक्षकका रुपमा पुबुदु दासानायकेको नेपाल आगमनपछि असन्तुष्टि खेलाडी शान्त बनेका थिए । स्वयम् मल्ल पनि अडानबाट पछाडि हटे । विश्वका प्राय सबै ठुला व्यावसायिक लिग खेलिसकेका युवा खेलाडी सन्दीपलाई लामो भविष्य हेरेर कप्तानी जिम्मेवारी दिइएको क्यानको तर्क थियो । विश्वकप छनोटजस्तो महत्वपूर्ण प्रतियोगिताको पूर्व सन्ध्यामा पाएको उक्त जिम्मेवारीले सन्दीपको करियरमा चुनौती थप्नु अस्वभाविक थिएन ।

    उनी आफै पनि व्यावसायिक करियरमा संघर्षरत थिए । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कुनै फ्रेन्चाइजले आबद्ध गर्ने पखाईमा थिए उनी । गत सिजन दिल्ली क्यापिटल्सले रिलिज गरे पनि अन्य टोलीले आवद्ध नगरेपछि उनी आइपीएल बाहिर हुन पुगे ।

    त्यसको प्रमुख कारण उनको निर्णायक प्रदर्शनको अभाव थियो । विकेट लिइरहने र कसिलो बलिङ गरिरहने भए पनि उनले अस्ट्रेलियाको बिग बास लिगमा प्लेयर अफ दी म्याचस्तरको प्रदर्शन गर्न सकिरहेका थिएनन् ।

    ओमानमा भने सन्दीपको कप्तानी यात्रा सुखद् रह्यो । चार देश सम्मिलित शृंखलाको पहिलो खेलमै नेपालले घरेलु टोली ओमानलाई पराजित गर्‍यो । त्यसको भोलिपल्ट नेपालले यूएईसँग खेल्दै थियो र आइपीएलमा मेगा अक्सन पनि हुँदै थियो । त्यस दिन नेपालको बलिङ जम्न सकेन भने सन्दीप पनि आईपीएलमा बिकेनन् । श्रृंंखलाको तेस्रो तथा अन्तिम खेलमा नेपालले कसिलो बलिङ गर्दै आयरल्यान्डलाई एक सय २७ रनमा सीमित गरेको थियो ।

    सन्दीपले एक विकेट लिँदै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पुरा गरेका थिए । उनी यो सफलता हात पार्ने पहिलो नेपाली बलर पनि बने । चार देश सम्मिलित शृखंलाको प्रदर्शनका आधारमा नेपाल विश्वकप छनोटमा बलियो दावेदार देखिएको थियो ।

    समूहगत चरणका तीनवटै खेल जित्दै सेमिफाइनलमा स्थान बनाएको नेपालले निर्णायक मोडमा यूएईसँग पराजित भएर मिसन पुरा गर्न असफल भयो ।

    तेस्रो स्थानका लागि भएको खेलमा ओमानलाई ९ विकेटले पराजित गर्दै नेपाल शुक्रबार स्वदेश फर्किएको छ । सन्दीप स्पीन बलर हुन् र बलिङका रुपमा नेपालले ओमान भ्रमणका रुपमा उल्लेख्य प्रदर्शन ग¥यो । विश्वकप छनोटअन्तर्गत समूहगत चरणमा नेपालले ओमानलाई ७८, फिलिपिन्सलाई ८२ र क्यानडालाई ८० रनमा सिमित गरेको थियो । तेस्रो स्थानका लागि भएको खेलमा ओमानलाई पनि ८७ रनमा सिमित ग¥यो ।

    बलरका रुपमा सन्दीपले व्यक्तिगत र टिमका रुपमा बेजोड प्रदर्शन गरे । उनी प्रतियोगितामा १२ विकेटसहित सर्वाधिक विकेट लिने बलर बने । छनोट प्रतियोगिताका ५ खेलमा २० ओभर बलिङ गरेका सन्दीपले ७८ रन खर्चिएका थिए । उनको बलिङ इकोनोमी केवल ३.९ रह्यो । प्रतियोगितामा सर्वाधिक विकेट लिने शीर्ष २२ बलरमध्ये सन्दीप सबैभन्दा किफायती बलर रहेका थिए ।

    पछिल्लो प्रदर्शनसँगै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपको बलिङ इकोनोमी पनि सुधार भएको छ । उनले ३४ खेलमा ६२ विकेट लिएका छन् भने बलिङ इकोनोमी ६.३२ रहेको छ । ओमान भ्रमणमा निस्कनुअघि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपको बलिङ इकोनोमी ६.८१ रहेको थियो । ओमान भ्रमणमा सन्दीपको अर्को उल्लेख्य सफलता भनेको उनी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपटक प्लेयर अफ दी म्याच पनि भए । उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३० खेलपछि यो सफलता हात पारेका हुन् । उनी विश्वकप छनोटमा दुईपटक प्लेयर अफ दी म्याच घोषित भए ।

    सन्दीपले चार देश सम्मिलित शृंखलाको पहिलो खेलमा ओमानविरुद्ध १७ रन खर्चिएर १ विकेट लिएका थिए भने दोस्रो खेलमा यूएईविरुद्ध २३ रन खर्चिएर १ विकेट हात पारेका थिए । तेस्रो खेलमा आयरल्यान्डविरुद्ध २६ रन खर्चिएर एक विकेट हात पारेका थिए ।

    विश्वकप छनोटका खेलमा उनले ओमानविरुद्ध २० रन खर्चिएर २ विकेट, क्यानडाविरुद्ध ९ रन खर्चिएर ३ विकेट, क्यानडाविरुद्ध १२ रन खर्चिएर ३ विकेट, यूएईविरुद्ध २४ रन खर्चिएर एक विकेट र ओमानविरुद्ध १३ रन खर्चिएर ३ विकेट हात पारेका हुन् ।

    प्रतियोगितामा सहभागी सबै टोलीका बलरमध्ये सन्दीपले आफुलाई अब्बल सावित गरेका हुन् । बलरको प्रयोग र फिल्डिङ सेट अपमा पनि उनको कप्तानी अधिकांश खेलमा सफल देखियो । तर ब्याट्सम्यानबाट भने उनी केही निराश भए ।

    आयरल्यान्डलाई एक सय २७ रनमा सिमित गरे पनि नेपालले जित हात पार्न सकेन । विश्वकपको सेमिफाइनलमा तल्लो क्रमसम्म ब्याट्सम्यानहरु भएर पनि नेपालले यूएईसँग एक सय ७६ रनको लक्ष्य पुरा गर्न सकेन । सन्दीप ब्याटिङमै समस्या निम्तिएको बताउँछन् ।

    ‘हामी अलराउन्ड प्रदर्शन गर्न चुक्यौँ । यो पीच एक सय ८० रनको लक्ष्य पनि पुरा गर्न सकिने खालको थियो,’ सेमिफाइनलमा यूएईसँग हार ब्यहोरेपछि सन्दीपले भनेका थिए,’ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अगाडि बढ्न हामीले १७०÷८० रनको लक्ष्य पुरा गर्न सक्ने सामथ्र्य राख्नुपर्छ ।’

    नेपाली टोलीमा युवा खेलाडीको प्रभाव रहेकाले उनीहरुबाट भविष्यमा धेरै अपेक्षा रहेको सन्दीपको भनाई छ । नेपालले अब एकदिवसीय विश्वकपको छनोट प्रतियोगिताका रुपमा आईसिसी विश्वकप लिग–२ का खेलहरु खेल्ने छ । यी प्रतियोगितामा पनि सन्दीपको कप्तानी र उनको बलिङ नेपालका लागि महत्वपूर्ण बन्ने छ ।

    ‘अब गुनासो गरेर बसिरहन सकिँदैन । एउटा राम्रो लेभलको क्रिकेट खेल्ने हो भने यो सबैबाट मुभ अन भएर अगाडि बढ्न जरुरी छ,’ आशावादी रहेका सन्दीप भन्छन्, ‘हाम्रो क्रिकेट पहिलाको भन्दा धेरै माथिल्लो लेभलमा छ । तर, अझै लेभल बढाउन बाँकी छ ।’

    सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म १६ खेल खेल्दै ४१ विकेट लिएका छन् । एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको बलिङ इकोनोमी ३.८७ रहेको छ ।

     

  • विश्वभरका लिगमा ‘डिमान्डेड’ सन्दीप आईपीएलमा किन बिकेनन् ?

    विश्वभरका लिगमा ‘डिमान्डेड’ सन्दीप आईपीएलमा किन बिकेनन् ?

    काठमाडौं । सन् २०२० सम्म सन्दीप लामिछानेको करियरमा सबै कुरा ठिकठाक चलिरहेको थियो । प्लेइङ सेटमा नियमित नपरेपनि इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा उनी आबद्ध नै थिए ।

    विश्वभरका अन्य व्यवसायीक लिग प्रतियोगिताहरु खेलिरहकै थिए । विग वास लिग (बिबिएल) देखि क्यारेवियन प्रिमियर लिगसम्ममा ‘फ्रेन्चाइज’ को नजर उनीमाथि थियो । गत वर्ष आइपीएलमा ‘मेगा अक्सन’ को पालो थियो । तर त्यसपटक मेगा अक्सन नभएर मिनी अक्सनमै सिमित भयो ।

    दिल्ली क्यापिटल्सले तीन वर्षको आबद्धतापछि सन्दीपलाई रिलिज गर्‍यो । तर मिनी अक्सनमा उनलाई कुनैपनि फ्रेन्चाइजले लिन चाहेनन् ।

    शनिबार र आइतबार सम्पन्न मेगा अक्सनमा सन्दीपलाई विक्री हुन सक्ने खेलाडीका रुपमा हेरिएको थियो । तर केवल ४० लाख भारतीय रुपैयाँ ‘बेस प्राइस’ राखिएका सन्दीपलाई कुनै पनि फ्रेन्चाइजले इच्छा देखाएनन् ।

    पहिलो चरणमा विक्री नभएका सन्दीपको आईपीएल खेल्ने सम्भावना, आईतबार साँझ भएको एक्सिलेरेटेड अक्सनमा कुनैपनि टोलीले उनको नाम नलिएपछि सकिएको हो ।

    पहिलो चरणमा नविकेका खेलाडीलाई खरिद गर्न चाहने टोलीलाई नाम बुझाउन फ्रेन्चाइज क्लबलाई दुईपटक अवसर दिइएको थियो । तर नाम दिएका खेलाडीलाई ती टोलीले खरिद गर्नु नै पर्छ भन्ने बाध्यता थिएन । कुनैपनि टोलीले सन्दीपको नाम लिएनन् ।

    यसलाई लिएर अनेक विश्लेषण सुरु भएको छ । सन्दीपलाई आवद्ध नगरेर नेपाली क्रिकेटलाई के सन्देश दिन चाहन्छन् आईपीएल फ्रेन्चाइजहरु ? विश्वका अन्य व्यवसायिक प्रतियोगिताका नियमित प्लेइङ सेटको खेलाडीमा परिरहेका सन्दीपलाई आईपीएल फ्रेन्चाइजले किन ‘अन्डर एस्टिमेट’ गरिरहेका हुन् ? कि सन्दिप नै ‘ओभर रेटेड’ खेलाडी हुन् ?

    सन्दीपलाई सन् २०१८ मा आयोजित मेगा अक्सनमा तत्कालीन दिल्ली क्यापिटल्सले २० लाख भारुको ‘बेस प्राइस’ मा लिएको थियो । उनी आइपीएलमा आबद्ध हुने पहिलो नेपाली क्रिकेटर बनेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका बेला सन्दीपको नामै लिएर आइपीएल खेलेको भन्दै प्रशंसा गरेका थिए । संविधानमा मधेशको विषयलाई नसमेटिएको भन्दै भारतले नेपालमाथि लगाएको नाकाबन्दीपछि आईपीएलमा सन्दीपको आबद्धता र मोदीको उक्त अभिव्यक्तिलाई निरपेक्ष रुपमा हेर्न सकिने अवस्था थिएन ।

    त्यो सिजन सन्दीपले सुरुका ११ खेलसम्म अवसर पाएनन् । दिल्ली क्यापिटल्स अगाडि नबढ्ने निश्चित भएपछि १२ औँ खेलमा दिल्लीले सन्दीपलाई ओपनिङ बलरका रुपमा उतारेको थियो । सन्दीपले तीन खेलमा ५ विकेट लिएर आईपीएलको आफ्नो पहिलो सिजनलाई स्मरणीय बनाएका थिए । पहिलो सिजन उनको बलिङ इकोनोमी ६.८३ रहेको थियो ।

    आईपीएलमा हरेक तीन वर्षमा मेगा अक्सन हुन्छ । फ्रेन्चाइजले रिलिज नगर्दासम्म खेलाडीहरुले त्यही मुल्यमा तीन वर्षसम्म खेल्नुपर्छ । सैद्धान्तिकरुपमा अर्को मेगा अक्सन नहुँदासम्म । सन्दीपको हकमा पनि त्यही भयो । तर आईपीएलका लागि आबद्ध भएपछि सन्दीपका लागि विश्वका अन्य ठुला व्यवसायीक लिगका ढोकाहरु खुला भए ।

    ती प्रतियोगिताहरुका प्राय खेलमा सन्दीप पहिलो रोजाई बने । आईपीएलको दोस्रो सिजन सन्दीपले दिल्लीका लागि ६ खेल खेल्दै ८ विकेट लिए । उनको बलिङ इकोनोमी ९.१३ रह्यो । सुरुमा सन्दीपमाथी विश्वास गरिए पनि पछिल्ला खेलहरुमा स्थान बनाउन छाडेका थिए । सन् २०२० को सिजन भने सन्दीपले एकै खेल पनि खेल्ने मौका पाएनन् । २२ वर्षीय यी स्पीनरका लागि त्यो सिजन दुर्भाग्यपूर्ण रह्यो । यद्यपि दोस्रो ठुलो ब्यवसायिक क्रिकेट लिग मानिने बिग बासमा भने उनले स्थान बनाइनै रहे ।

    सन्दीपको तुलनामा अफगानिस्तानका लेग स्पीनर रसिद खानसँग हुने गरेको छ । एसोसिएटका सबैभन्दा अब्बल स्पीनर भनेर उनको चर्चा हुने गर्छ । रसिदलाई लिन आईपिएल फ्रेन्चाइजहरु तँछाडमछाड गर्छन् । कराेडौँको बोली लगाउँछन् ।
    अफगानिस्तानकै अर्का स्पीनर मुजिब उल रहमानले पनि करोडौँको मुल्य पाइरहेका छन् । तर ४ वर्षदेखि शीर्षस्तरको व्यवसायीक क्रिकेट लिग खेलिरहेका सन्दीप ४० लाख भारतीय रुपैयाँमा पनि विक्री नहुनु स्वभाविक देखिँदैन ।

    सन्दीपले १६ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा ४१ र २६ टि-२० अन्तर्राष्ट्रिय क्रिकेट खेलमा ४९ विकेट लिएका छन् । टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दिपको बलिङ इकोनोमी ६.६७ रहेको छ । सन्दीपले बिग बासमा ४३ खेल खेल्दै ४८ विकेट लिएका छन् । बिग बासमा उनको बलिङ इकोनोमी ७.४२ रहेको छ । बिबिएलको पछिल्लो सिजनमा पनि उनको प्रदर्शन सन्तोषजक थियो ।

    हाल सन्दीप नेपाली टोलीको कप्तान हुन् । उनको कप्तानीमा नेपालले ओमानमा चार देश सम्मिलित टि-२० अन्तर्राष्ट्रिय श्रृंखला र त्यसपछि टी-२० विश्वकपको विश्वस्तरको छनोट खेल्दै छ । आइपीएललाई जवाफ दिने उनका लागि यो राम्रो मौका हुन सक्छ ।

  • सन्दीपलाई दासानायकेको समर्थन, कप्तानीमा सफल हुने विश्वास

    सन्दीपलाई दासानायकेको समर्थन, कप्तानीमा सफल हुने विश्वास

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुबुदु दासानायेकेले नवनियुक्त कप्तान सन्दीप लामिछानेको प्रशंसा गरेका छन् । सन्दीप कप्तानको भूमिकामा सफल हुने आशा उनले व्यक्त गरे ।

    नेपाल क्रिकेट संघले ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाउँदै सन्दीपलाई नयाँ कप्तान नियुक्त गरेदेखि तीव्र विवाद उत्पन्न भएको छ । क्रिकेट खेलाडीहरुले क्यानको निर्णय फिर्ता हुनुपर्ने माग गरेका छन् । क्यानमाथि राजनीतक दबाब पनि छ । तर, दासानायेकेले भने कप्तान परिवर्तनको निर्णयलाई स्वभाविक मानेका छन् ।

    आज आयोजित पत्रकार सम्मेलनमा उनले यो विषय क्रिकेट बोर्डकै भएको भन्दै आफूले हस्तक्षेप नगर्ने बताए । सन्दीप कप्ताानका लागि योग्य रहेको टिप्पणी समेत उनले गरे । स्मरणीय छ कि सन्दीपलाई नेपालको राष्ट्रिय टिममा स्थापित गराउन मुख्य भूमिका दासानायकेले नै खेलेका थिए ।

    पात्रकार सम्मेलनमा दासानायेकले सन्दीपको खुलेर प्रशंसा गरेका थिए । एसोसिएट राष्ट्रहरुमा सन्दीप जति ‘क्यालिबार’ भएको अर्को खेलाडी नरहेको उनको भनाइ थियो ।

    सन्दीपले अन्डर १९ तथा फ्रेन्चाइज लिग इपीएलमा कप्तानी गरिसकेको उनले सम्झिए ।

    उनले भने, ‘सन्दीपले विभिन्न देशका लिगहरुमा उच्चस्तरको क्रिकेट खेलिरहेका छन् । संसारका उत्कृष्ट खेलाडीहरुसँग काँधमा काँध मिलाएर खेल्न सक्नु चानचुने कुरा होइन ।

    तर, पनि उनीसँग राष्ट्रिय टिमका कप्तानका रूपमा उनको टेस्ट हुने छ । उनका अगाडि धेरै चुनौती छन् । मलाई विश्वास छ, पछिल्लो ३-४ वर्षमा गरेको प्रगतिलाई हेर्दा उनी कप्तानी भूमिकामा पनि धेरै सफल हुन सक्छन् ।

  • क्रिकेट विवादको राजनीतिकरण, कारबाहीमा पुनर्विचार गर्न बाध्य बन्दै क्यान

    क्रिकेट विवादको राजनीतिकरण, कारबाहीमा पुनर्विचार गर्न बाध्य बन्दै क्यान

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले ४ जना खेलाडीहरूमाथि गरेको कारबाहीका कारण उत्पन्न विवादले अझै निकास पाएको छैन । खेलाडीहरूले निर्णयमा पुनर्विचारका लागि आग्रह गरिरहेको बेला क्यानमाथि राजनीतिक दबाब पनि बढेको छ ।

    क्यानले राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित चारजना खेलाडीहरूलाई आचारसंहिता उल्लंघनको आरोपमा कारबाही गर्ने निर्णय लिएको थियो । ज्ञानेन्द्रलाई कप्तानबाट हटाएर सन्दीप लामिछाने नयाँ कप्तान नियुक्त भइसकेका छन् । यस्तै, चार खेलाडीहरूलाई कारबाही स्वरूप सेन्ट्रल कन्ट्राक्टबाट ६ महिना बाहिर राख्ने क्यानको निर्णय छ ।

    यो पनि पढ्नुहोस् : कान्छा कप्तान सन्दीप: ‘युथ आइकन’ को काँधमा नेपाली क्रिकेट

    क्यानको निर्णय बाहिर आएपछि सामाजिक सञ्जालमा आलोचना भएको थियो । लगत्तै सत्तारुढ दल माओवादीका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर यस विषयमा ‘चासो’ राखेका थिए । देउवाले पनि क्यान अध्यक्ष चतुरबहादुर चन्दसँग चासो राखेका छन् । अर्कोतर्फ खेलकुदमन्त्रीको चासो छँदैछ । यसरी राजनीतिक तहबाट चासोमाथि चासोको घानमा परेको कान निर्णयमा पुनर्विचार गर्न बाध्य बन्ने देखिएको छ ।

    क्यानका अध्यक्ष चन्द सत्तारुढ दल नेपाली कांग्रेसका बैतडी जिल्ला सभापतिसमेत हुन् । उनी गत महिना भएको जिल्ला अधिवेशनमा शेखर कोइराला नेतृत्वको गैरसंस्थापन खेमाबाट सभापति निर्वाचित भएका थिए । यस हिसाबले उनलाई पार्टीभित्रैको पनि दबाब छ ।

    नेपाल प्रेससँग कुरा गर्दै क्यानका अध्यक्ष चन्दले खेलाडीहरूसँग आफू संवादमा रहेको बताए ।

    उनले भने, ‘अनौपचारिक कुराकानी भइरहेको छ । चाँडै निकास निस्किन्छ ।’ चन्दले थप प्रतिक्रिया दिन चाहेनन् ।

    क्यान सुरूमा कारबाहीको निर्णयमा अडिग थियो । कुनै पनि हालतमा निर्णयमा पुनर्विचार नगर्ने भने पनि राजनीतिक दबाबकै कारण खेलाडीसँग संवादका लागि चन्द तयार भएका हुन् । कारबाहीमा परेका चार खेलाडीले दुई दिनअघि पत्रकार सम्मेलन गर्दै निर्णयमा पुनर्विचार गर्न क्यानलाई आग्रह गरेका थिए ।

    खेलकुदमन्त्रीको मध्यस्थता प्रयास

    खेलकुदमन्त्री महेश्वरजंग गहतराजले क्यान र खेलाडीबीचको विवाद समाधानका लागि पहल अगाडि बढाएका छन् । उनले अस्ति क्यानका पदाधिकारीसँग र हिजो खेलाडीहरूसँग भेटेर कुराकानी गरेका थिए ।

    मन्त्री गहतराज दुवै पक्षबीच समझदारीका लागि आफूले मध्यस्थ भूमिका निभाइरहेको बताउँछन् । यसलाई राजनीतिक हस्तक्षेप भन्न नमिल्ने उनको तर्क छ ।

    उनले नेपाल प्रेससँग भने, ‘देशका लागि समर्पित भएर खेल्ने खेलाडीहरूमाथि यसरी कारबाही गर्नु ठीक भएन भनेर मैले भनेको छु । क्यानका अध्यक्षले सकारात्मक जवाफ दिनुभएको छ । सम्भवतः चाँडै निकास निस्कने छ ।’

    विभागीय मन्त्रीको हिसाबले क्रिकेट विवादलाई समाधानतर्फ लैजानु आफ्नो दायित्व भएको उनले बताए ।

    यो पनि पढ्नुहोस् : क्यानको कारबाहीले क्रिकेट टिममा हलचल, सन्दीपसँग खेलाडीहरुको ‘कोल्ड वार’

    मन्त्री गहतराजले भने, ‘अरुको विषयमा मलाई थाहा भएन । तर, मैले दवावका रुपमा भन्दा पनि सुझावका रूपमा भनेको हुँ । खेलाडीहरूमाथि गरिएको कारबाहीलाई जनस्तरमा पनि राम्रो मानिएको छैन । यसर्थ कारबाहीमा पुनर्विचार गर्नुपर्छ भन्ने नै हो ।’

    खेलाडीहरूले पनि आफ्नो अनुशासनमा बस्नुपर्ने र धेरै मिडियावाजीमा उत्रिन नहुने गहतराज बताउँछन् ।

    ‘यो कुरा मैले उहाँहरूलाई भेटेर सम्झाएको छु । सबैले मिलेर विवाद समाधान गरौं भन्ने प्रयास हो,’ उनले भने । खेलाडीहरूबाट अनुशासन उल्लंघनको गम्भीर विषय आफूले नपाएको गहतराजले बताए ।

    बीचको बाटो खोजी

    यतिबेला विवाद समाधानका लागि सर्प पनि मर्ने र लाठी पनि नभाँचिने बीचको बाटो आवश्यक देखिएको छ । खेलाडीहरूको आत्मसम्मानमा चोट नपुग्ने र क्यानको प्रतिष्ठामा पनि आँच नआउने गरी ‘विन-विन’ को समाधान के हुन सक्छ ?

    यदि क्यानले ज्ञानेन्द्रलाई कप्तानबाट हटाउने मात्रै निर्णय लिएर नयाँ कप्तान नतोकेको भए उसलाई निर्णयबाट ब्याक हुन खासै समस्या हुने थिएन । तर, सन्दीप लामिछानेलाई नयाँ कप्तान नियुक्त गरेर यसको जानकारी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सम्म पुगिसकेको छ । त्यसैले अब सन्दीपलाई दिएको कप्तानी खोसेर फेरि ज्ञानेन्द्रलाई सुम्पिन जटिलता छ । यसले अस्थिरता निम्त्याउने मात्रै होइन, आईसीसीबाट क्यानमाथि नै कारबाहीको खतरा समेत उत्पन्न हुन सक्छ ।

    यसअघि क्यानले नेपाल क्रिकेट संघलाई राजनीतिक हस्तक्षेपकै कारण लामो समय निलम्बनमा राखेको थियो । यदि अहिले पनि राजनीतिक दवावमा निर्णय फिर्ता लिन बाध्य पारिएको खण्डमा आईसीसीले झन् कडा कदम चाल्न सक्ने क्यानका पदाधिकारी बताइरहेका छन् ।

    क्यान अहिले कप्तान परिवर्तनको निर्णय यथावत राखेर चार खेलाडीहरूलाई ‘सेन्ट्रल कन्ट्राक्ट’ बाट बाहिर राख्ने निर्णय फिर्ता लिन सकारात्मक रहेको स्रोतले दाबी गरेको छ । यसैलाई ‘विन विन’ को समाधानका रुपमा व्याख्या गरिएको हो । सेन्ट्रल कन्ट्राक्टमा पुनः समेटिएपछि खेलाडीहरूले राष्ट्रिय टिमबाट आत्मसम्मानपूर्वक खेल्न सक्नेछन् ।

    बन्द प्रशिक्षण रोकियो

    क्यान र खेलाडीहरूबीचको विवादका कारण आजबाट सुरू हुने भनिएको खेलाडीहरूको बन्द प्रशिक्षण रोकिएको छ । पोखरामा गर्ने भनिएको बन्दसत्र कहिलेबाट सुरु हुन्छ भन्ने औपचारिक जानकारी क्यानले दिएको छैन ।

    नेपाली क्रिकेट टिमका नवनियुक्त प्रशिक्षक पुबुदु दासानायेके नआइपुगेकाले बन्द प्रशिक्षण हुन नसकेको क्यानको दावी छ । यद्यपि, प्रशिक्षक नहुँदैमा बन्द प्रशिक्षण सामान्यतया रोकिँदैन । नेपालले आगामी फेब्रुअरीमा टी-२० विश्वकपछि र विश्व क्रिकेट लिग-२ खेल्नुपर्ने भएकाले बन्द प्रशिक्षण सुरू गर्न ढिला भइसकेको छ ।

  • क्रिकेट टिमभित्र चरम गुटबन्दी, सन्दीपलाई एक्ल्याउने प्रयास (अन्तरकथा)

    क्रिकेट टिमभित्र चरम गुटबन्दी, सन्दीपलाई एक्ल्याउने प्रयास (अन्तरकथा)

    काठमाडौं । नेपाल क्रिकेट संघले चार खेलाडीहरूमाथि गरेको कारवाहीको विषयले राष्ट्रिय क्रिकेट टिमभित्र केही समययता देखिएको गुटबन्दीलाई सतहमा ल्याइदिएको छ । टिमबाट सन्न्यास लिइसकेका पूर्वकप्तान पारस खड्कासमेत विवादमा तानिएका छन् ।

    ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीप लामिछानेलाई कप्तान नियुक्त गर्ने क्यानको निर्णय धेरैका लागि अप्रत्याशित र विष्मयकारी थियो । तर, क्यान र खेलाडीहरूबीचको द्वन्द्वलाई नजिकबाट नियालिरहेकाहरू यसलाई अपेक्षित नै मान्छन् । खेलाडीहरूको गुटबन्दी र क्यानका पदाधिकारीहरूको पूर्वाग्रहले समस्या निम्त्याएको उनीहरूको भनाइ छ ।

    क्यानले आचारसंहिता उल्लंघन आरोपमा चार खेलाडीहरूमाथि कारबाही गर्ने निर्णय लिएको थियो । कप्तान मल्ल र उपकप्तान दिपेन्द्र सिंह ऐरीलाई पदमुक्त गरिएको छ भने उनीहरूसहित चारजनालाई ६ महिना सेन्ट्रल कन्ट्राक्टबाट बाहिर राख्ने निर्णय भएको छ । क्यानको यस्तो निर्णयले राष्ट्रिय टिमभित्रै विभाजन ल्याइदिएको छ ।

    यो पनि पढ्नुहोस् : कान्छा कप्तान सन्दीप: ‘युथ आइकन’ को काँधमा नेपाली क्रिकेट

    नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का र राष्ट्रिय क्रिकेट संघबीचको पुरानो द्वन्द्वले अहिलेको परिणाम ल्याएको जानकारहरू बताउँछन् । उनीहरूको भनाइमा खेलाडीहरूको वर्गीकरणलाई लिएर निकालिएको विवाद पनि ‘रेडिमेड’ हो ।

    पारस फ्याक्टर

    एक दशकभन्दा लामो समय नेपाली क्रिकेट टिमको कप्तान रहेका पारसले सन् २०१८ को सेप्टेम्बरमा अचानक पदबाट राजीनामा दिए । नेपाली क्रिकेट संघ (क्यान) माथि अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको प्रतिबन्ध फुकुवा भएको भोलिपल्टै पारसको राजीनामा आउनु संयोगमात्रै थिएन ।

    नेपाली क्रिकेटको नियामक निकायका रुपमा रहेको नेपाल क्रिकेट संघ क्यानसँग पारसको सम्वन्ध पहिल्यैदेखि खराब थियो । क्यानको कार्यशैलीसँग असन्तुष्ट थिए पारस । क्यानका पदाधिकारीहरूका गलत क्रियाकलापविरुद्ध उनले खुलेर बोल्ने पनि गरेका थिए । पारसकै नेतृत्वमा एकपटक तलब-सुविधाको विषयलाई लिएर खेलाडीले मैदानमै आन्दोलन गरेका थिए । तर, पारसको ‘हाइट’ र लोकप्रियताका कारण उनीमाथि कारबाही गर्ने हिम्मत क्यानले गरेन ।

    जब अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले क्यानलाई प्रतिवन्धित गर्‍यो, पारस निकै शक्तिशाली बने । आईसीसीद्वारा नेपाल प्रतिनिधिको रूपमा नियुक्त गरिएकी भावना घिमिरेसँग उनको राम्रो ट्युनिङ मिल्थ्यो । टिम छनोटदेखिका हरेक कुरा पारसको हातमा थियो । उनी टिममा सर्वस्वीकार्य पनि थिए । आफ्नो कप्तानी भूमिकामा उनले कहिल्यै प्रश्न उठ्न दिएनन् । मैदानभित्र र बाहिर उत्तिकै प्रभावशाली थिए । सबै खेलाडीले पारसलाई लिजेन्डका रूपमा आदर र सम्मान गर्थे ।

    आईसीसी निलम्बनको अवस्थामा प्रशिक्षक, कप्तान र आइसीसीका एक प्रतिनिधिले टोली छनोट गर्ने गरिएको थियो । सबै खेलाडीहरूको क्षमताबारे जानकार भएकाले टोली छनोटमा पारस नै हावी हुन्थे । राष्ट्रिय टिमको छनोट गर्दा पारसले भेदभावपूर्ण व्यवहार गरेको आरोप पनि लाग्यो । त्यसबेला राष्ट्रिय टिममा नपरेर असन्तुष्ट बनेका एक खेलाडी सुशील कँडेलले पारसविरुद्ध वक्तव्य नै दिएका थिए । धनगढी प्रिमियर लिगको पहिलो संस्करणमा सर्वोत्कृष्ट खेलाडी बनेका कँडेल टिममा नपरेपछि क्रिकेट नै छोडेर जापान पलायन भएका थिए ।

    तर, यो अपवादको मात्रै घटना थियो । अन्यथा कप्तानका रुपमा पारसको योगदान नेपाली क्रिकेटमा अतुलनीय रह्यो । धेरै प्रतियोगिताहरूमा उनले नेपाललाई जिताए । नेपालले टि-२० विश्वकप खेल्नेदेखि ओडीआई स्टाटस प्राप्त गर्नेसम्मका उपलब्धी पारसको कार्यकालमा हासिल भए ।

    पारसले अचानक राजीनामाको घोषणा गर्दा धेरै क्रिकेट समर्थक निराश बनेका थिए । त्यसबेला उनले निलम्बन फुकुवा भएको क्रिकेट संघलाई नयाँ तरिकाले अगाडि बढ्न बाटो खुलोस् भन्ने चाहनाले राजीनामा दिएको बताएका थिए । तर, मुख्य कारण चाहिँ क्यान पदाधिकारीसँग उनको पुरानो तुष नै थियो । क्यानले उनको राजीनामा फिर्ता गराउनका लागि गम्भीर प्रयास पनि गरेन ।

    कप्तानी छोडेपछि एक वर्ष खेलाडीका रुपमा टिममा आवद्ध रहेका पारसले करिब ५ महिनाअघि राष्ट्रिय टिमबाटै सन्न्यास लिएका छन् । जबकि उमेरको हिसाबले उनीसँग अझै ४-५ वर्ष खेल्ने समय छ । पारस अब नेपाली क्रिकेटको व्यवस्थापनमा आउन चाहन्छन् । यसको अर्थ क्यानको नेतृत्व लिने नै हो । त्यसनिम्ति पृष्ठभूमि बनाइरहेका उनले अहिले पनि नेपाली क्रिकेट टिममा आफ्नो प्रभुत्व कायम राख्न खोजिरहेको क्यानका एक पदाधिकारीको आरोप छ ।

    ‘धेरै खेलाडीहरू अहिले पनि पारसकै इशारामा चल्छन्,’ ती पदाधिकारीले भने, ‘उहाँले खुलेआम क्रिकेट टिममा गुट चलाइरहनुभएको छ ।’

    पारस र ज्ञानेन्द्रबीच राम्रो सम्बन्ध छ । टिमका प्राय खेलाडीहरूले पारसलाई मार्गदर्शक मान्छन् । यता, क्रिकेट संघमा पारससँग निकट सम्वन्ध भएका छुम्बी लामा बोर्ड मेम्बर छन् । यसरी पारस-ज्ञानेन्द्र-छ्म्बीको गठबन्धनले क्रिकेट संघविरुद्ध अभियान चलाइरहेको स्रोतको दाबी छ ।

    क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले हालै एक कार्यक्रममा पारसप्रति लक्ष्यित गर्दै गम्भीर आरोप लगाएका थिए । वाईवाई यू-१९ क्रिकेटका फाइनलमा भाषण गर्दै उनले क्यानलाई असफल पार्न र फेरि आईसीसीको प्रतिवन्ध नित्याउन सन्यास लिएका खेलाडीसमेत सक्रिय रहेको उनले बताएका छन् ।

    पारस भने आफू सधैँ खेलाडीहरूको हकहितको पक्षमा रहेको बताउँछन् । तर, पछिल्लो विवादमा आफ्नो कुनैहात नभएको उनको प्रष्टीकरण छ ।

    नेपाल प्रेससँग उनले भने, ‘हरेक घटनामा मलाई दोष देखाउने गरिन्छ । तर, अहिले मेरो राष्ट्रिय टिममा कुनै भूमिका छैन ।’

    सन्दीपलाई एक्ल्याउने प्रयास

    क्यानले कप्तान नियुक्त गरेका सन्दीप लामिछाने उत्साहित देखिएका छन् । उनी टिमको कप्तानी लिन पहिल्यैदेखि व्यग्र थिए । तर, उनका लागि टिमको कप्तानी सहज देखिएको छैन । टिमका अधिकांश खेलाडीहरू क्यानको निर्णयका विरुद्ध उभिएका छन् ।

    क्रिकेट संघको कारबाहीपछि धेरै क्रिकेटरहरूले सामाजिक सञ्जालमार्फत विरोध जनाएका छन् । उनीहरूले क्यानको कारबाही विज्ञप्ति इन्स्टामा सेयर गर्द एकैसाथ लेखेका छन्- ‘(आइ एम डन) मलाई पुग्यो । यसरी क्यान विरुद्ध उत्रिनेमा करण केसी, कुशल भुर्तेल, आसिफ शेख, अविनाश बोहरा, पृथु बास्कोटा, रोहितकुमार पौडेल, सन्दीप जोरा, ईशान पाण्डेलगायत छन् । उनीहरू सबै राष्ट्रिय टिमबाट खेल्दै आएका खेलाडी हुन् ।’

    ज्ञानेन्द्र र दीपेन्द्रले भने सामाजिक सञ्जालमा केही पनि लेखेका छैनन् । क्यानको निर्णय सार्वजनिक भएयता ज्ञानेन्द्रको मोबाइल निरन्तर अफ छ । आज पत्रकार सम्मेलन गर्दै उनले आफ्ना धारणा सार्वजनिक गर्ने तयारी गरेका छन् । टिमका सबैभन्दा सिनियर खेलाडी शरद भेषावकर भने मौन छन् । उनी पारस-ज्ञानेन्द्रको समूहमा नरहेको बुझिएको छ ।

    यता, नवनियुक्त कप्तान सन्दीप भने अहिले अष्ट्रेलियामा छन् । एक दैनिकलाई दिएको अन्तरवार्तामा उनले आफू कप्तानीको जिम्मेवारीका लागि तयार रहेको उनले बताएका छन् । सन्दीपका अनुसार यस विषयमा उनको क्यान र नयाँ प्रशिक्षक पुबुदु दासानायकेसँग पनि छलफल भएको छ । उनले टिमका सबै खेलाडीलाई मिलाएर लैजाने आत्मविश्वास पेस गरेका छन् ।

    सन्दीप नेपाली राष्ट्रिय टिमको कप्तानीका लागि लालायित नै थिए । पारसले कप्तानी छाडेदेखि सन्दीपमा कप्तानीको महत्वाकांक्षा सवार भएको हो । क्यानले दीपेन्द्र ऐरीलाई उपकप्तानमा नियुक्त गर्दा सन्दीप केही निराश बनेका थिए । तर, धेरै सिनियर खेलाडीलाई उछिन्दै उनी २१ वर्षको उमेरमा कप्तान नियुक्त भएका छन् ।

    सबैजसो खेलाडीहरू पारस-ज्ञानेन्द्रको पक्षमा भएकाले नयाँ नेतृत्वको छनोट गर्दा क्यानसँग धेरै विकल्प थिएनन् । सिनियर खेलाडीका रूपमा रहेका शरद भेषवाकरको प्रदर्शन खस्कँदो अवस्थामा छ । अर्का विनोद भण्डारीको प्रदर्शनमा एकरूपता छैन र टिममा उनको स्थान मजबुत छैन । यस्तो अवस्थामा क्यानको अगाडि सन्दीप निर्विकल्पजस्तै बनेका थिए ।

    सन्दीपमा कप्तानीका प्रशस्तै गुण छन् । तर, उनलाई अरु खेलाडीले सहजरुपमा स्वीकार्नेमा प्रश्न उब्जिएको छ । अहिले सामाजिक सञ्जालमा खेलाडीहरूले ‘आई एम डन’ भन्दै हालेका पोष्टहरू हचुवा होइनन् भने उनीहरूबाट विद्रोहको सम्भावनालाई नकार्न सकिनन् । खेलाडी र सामाजिक सञ्जालबाट समेत दबाब बढेमा क्यान पछाडि फर्किन बाध्य हुन सक्छ ।

    वर्गीकरणमा अन्याय भएकै हो ?

    अहिले सतहमा आएको मुख्य मुद्दा भनेको क्यानले गरेको खेलाडीहरूको नयाँ वर्गीकरण हो । कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीहरूको वर्गीकरणलाई लिएर असन्तुष्टि मिडियामा सार्वजनिक भएको थियो । यद्यपि, असन्तुष्टिका विषय खासै ठूला र धेरै छैनन् ।

    बर्गीकरणमा तीन खेलाडीहरूलाई अन्याय भएको भनिएको छ । बलर सोमपाल कामीले आफूलाई ‘बी’ ग्रेडमा राखिएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । ब्याट्सम्यान रोहित पौडेललाई वर्गीकरणमै समावेश नगरिएको भनेर आलोचना भएको छ । यस्तै, कमल सिंह ऐरीले आफूलाई सी श्रेणीमा राखिएकोमा चित्त बुझाएका छैनन् । गुलशन झालाई पनि वर्गीकरणमा पार्नुपर्थ्यो भन्न माग रहेको छ । कप्तान ज्ञानेन्द्रसहित ४ असन्तुष्ट खेलाडीहरूले सेन्ट्रल कन्ट्राक्टमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् ।

    यी खेलाडीहरूमाथि अन्याय भएको हो वा होइन भनेर निष्कर्षमा पुग्न वर्गीकरणको विधि र प्रक्रियाबारे बुझ्नु आवश्यक हुन्छ ।

    क्यानले गत वर्षबाट क्रिकेट खेलाडीरुको बर्गीकरण गरेर उनीहरूलाई नियमित तलव उपलब्ध गराउन थालेको हो । अन्तर्राष्ट्रिय अभ्यासअनुसार निश्चित अवधिमा अन्तर्राष्ट्रिय म्याचहरूमा खेलाडीले गरेको प्रदर्शनलाई आधार बनाएर तीन श्रेणीमा विभाजन गर्ने गरिन्छ । क्यानले ‘ए’, ‘बी’ र ‘सी’ श्रेणीमा १८-१८ जना पुरुष र महिला खेलाडीलाई विभाजन गरेको छ । ए श्रेणीका पुरुष खेलाडीलाई ५० हजार, बी श्रेणीलाई ४० हजार र सी श्रेणीलाई ३० हजार रुपैयाँ दिने गरिएको छ । यसरी वर्गीकरणमा परेका खेलाडीहरूलाई क्यानले सम्झौतामा हस्ताक्षर गराउँछ, जसलाई सेन्ट्रल कन्ट्राक्ट भनिन्छ ।

    क्यानका तत्कालीन उपाध्यक्ष राजुबाबु श्रेष्ठ नेतृत्वको समितिले मापदण्ड बनाएर गत साउनमा खेलाडी वर्गीकरणको सूची क्यानलाई बुझाएको थियो । उक्त खेलाडीको सूची अनुमोदन गर्न क्यानले निकै समय लगायो । समस्या उत्पन्न हुनुको एउटा प्रमुख कारण यो पनि हो । गत असोजमा बसेको क्यानको बोर्ड वैठकले २०२१ को अप्रिलदेखि डिसेम्बरसम्म नौ महिनाको लागि वर्गीकरण गरेको थियो ।

    क्यानले सन् २०२१ को सम्झौता वर्षको सुरूआतमै गर्नुपर्ने थियो, तर वर्ष सकिनलाग्दा गर्‍यो । जुन अवधिको प्रदर्शन मूल्यांकन गरेर सूची बनाइएको थियो, सार्वजनिक हुने बेलासम्म नेपालले थप प्रतियोगिताहरू खेलेकाले त्यसमा राम्रो प्रदर्शन गर्ने खेलाडी छुटेका हुन् । क्यानले २०२० फेब्रुअरीमा भएको नेपाल, ओमान र अमेरिकाको त्रिकोणात्मक श्रृंखला, मार्चमा भएको थाइल्यान्ड भ्रमण र २०२१ को अप्रिलमा भएको नेपाल, मलेसिया र ओमानबीचको त्रिकोणात्मक श्रृंखलामा गरेको प्रदर्शनलाई आधार बनाएर खेलाडीको वर्गीकरण गरेको बताएको छ ।

    ती श्रृंखलामा रोहित पौडेल र गुलशन झा सहभागी थिएनन् । त्यसैले उनीहरू वर्गीकरणमा छुटेका हुन् । अर्को वर्गीकरणमा अवश्य पर्न सक्छन् । सोमपाल कामीको कुरा गर्ने हो भने उनी टोलीका प्रमुख बलर हुन्, तर पछिल्लो समय उनको प्रदर्शन सन्तोषजनक छैन । त्यसेले उनी एबाट बीमा झरेका हुन् । राम्रो प्रदर्शन गर्दा माथि उक्लिने र खराब प्रदर्शन गर्दा तल झर्ने क्रम भइनै रहन्छ । अरु देशमा पनि हुने यही नै हो ।

    यद्यपि, यसमा खेलाडीले असहमति राख्नै सक्दैनन् भन्ने होइन । मिडियामा दिएका सामान्य प्रतिक्रियालाई आधार बनाएर क्यानले गरेको कारबाही उत्तेजनापूर्ण देखिन्छ, यदि अरु विषय नजोडिएका भए ।

    क्यानले गरेको वर्गीकरणमा अघिल्लो वर्ष पनि विवाद उत्पन्न भएको थियो । त्यसबेला पनि मिडियावाजी भएको थियो । तर, क्यानले खेलाडीलाई कारवाहीको सट्टा आफैं वर्गीकरण सच्याउन तयारी भयो ।

    यसपाली वर्गीकरणका विषयमा मिडियामा असन्तुष्टि राखेपछि क्यानले खेलाडीहरूलाई स्पष्टीकरण सोधेको थियो । दुईपटक सोधेको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नआएको भन्दै क्यानले कारबाहीको निर्णय लिएको हो । यता, खेलाडीहरूले पनि ११ बुँदे मागपत्र क्यानलाई बुझाएका छन् ।

    १९ जना खेलाडीहरूको हस्ताक्षरसहित बुझाइएको मागपत्रमा एक हप्ताभित्र जवाफ दिन ‘अल्टिमेटम’ दिइएको थियो । खेलाडीको यो रवैयाले क्यानलाई थप आक्रोशित बनाएको हो । पारसले नै खेलाडीहरूलाई उचालेर यस्तो कदम चाल्न लगाएको बुझाइ क्यान पदाधिकारीहरूको छ ।

  • पाकिस्तान सुपर लिगमा सन्दीपसहित ११ नेपाली खेलाडी बिकेनन्

    पाकिस्तान सुपर लिगमा सन्दीपसहित ११ नेपाली खेलाडी बिकेनन्

    काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) २०२२ को आइतबार सम्पन्न ड्राफ्टमा लेग स्पिनर सन्दीप लामिछानेसहित ११ नेपाली खेलाडी अनुबन्धन भएनन् । सन्दीप लगातार तेस्रो पटक पीएसएलमा अनुबन्ध हुन असफल भएका हुन् ।

    ड्राफ्टमा प्लाटिनम क्याटगोरीमा रहेका सन्दीपलाई कुनै पनि टोलीले अनुबन्ध गरेन । यस्तै, विकेटकिपर ब्याट्समेन विनोद भण्डारी गोल्ड क्याटगोरीमा रहेका थिए ।

    सिल्भर क्याटगोरीमा रहेका अन्य खेलाडी सोम्पाल कामी, साहब आलम, सुशन भारी, शरद भेषवाकर, सुवास खकुरेल, ललितनारायण राजवंशी, पवन सर्राफ, वसन्त रेग्मी र विक्रम सोबलाई पनि कुनै टोलीले अनुबन्ध गरेनन् ।

  • बिगबासको पहिलो खेलमा सन्दीपको एक विकेट

    बिगबासको पहिलो खेलमा सन्दीपको एक विकेट

    काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्पीनर सन्दीप लामिछानेले अस्ट्रेलियन फ्रेन्चाइज क्रिकेट– बिग बास लिगमा होबर्ट हुरिकेन्सको पहिलो खेलमा १ विकेट लिएका छन् । आइतबारदेखि सुरू भएको लिगको पहिलो खेलमा सन्दीप सम्मिलित हुरिकेन्सले बुधबार सिड्नी सिक्सरसँग १४ रनको साँघुरो पराजय बेहोर्दा सन्दीपले औसत बलिङ गरे ।

    लन्चेस्टनस्थित औरोरा स्टेडियममा टस जितेर फिल्डिङ रोजेको हुरिकेन्सविरुद्ध सिड्नीले १ सय ४५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । सोही क्रममा आफ्नो क्वोटाको पूरा ४ ओभर बलिङ गरेका सन्दीपले २४ रन खर्चेर १ विकेटमात्रै लिए ।

    सिड्नीका लागि छैठौं नम्बरमा ब्याटिङ गनै क्रिजमा उत्रिएका ड्यान क्रिस्चियनलाई सन्दीपले जोर्डन कक्सको हातबाट ब्याच आउट गराएका थिए । ड्यानले १० बलमा ५ रन जोडेका थिए ।

    दोस्रो इनिङमा सन्दीपको हुरिकेन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रन मात्रै बनाउँदा उनले ब्याटिङको मौका पाएनन् ।

    सन्दीपको हुरिकेन्सले आगामी खेलमा शनिबार सिड्नीसँगै खेल्ने छ ।

  • सन्दीप लामिछाने बने ‘आईसीसी प्लेयर अफ द मन्थ’

    सन्दीप लामिछाने बने ‘आईसीसी प्लेयर अफ द मन्थ’

    काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्टार स्पीनर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को सेप्टेम्बरको ‘प्लेयर अफ दी मन्थ’ घोषित भएका छन् । कुनै पनि नेपाली खेलाडी आईसीसीको प्लेयर अफ दी मन्थ बनेको यो नै पहिलोपटक हो ।

    आईसीसीले असोज १० गते जारी गरेको मनोनयनमा सन्दीपसँगै बंगलादेशका नसुम अहमद अमेरिकी पावर हिटर जस्करण मल्होत्रा पनि मनोनयनमा परेका थिए ।

    सन्दीपले सेप्टेम्बरमा आईसीसी क्रिकेट विश्व कप लिग-२ अन्तर्गत ओमान भ्रमणका क्रमममा ६ एकदिवसीय खेलेका थिए । ओमान भ्रमणमा ७।३८ को इकोनेमीमा बलिङ गर्दै सन्दीपले १८ विकेट लिएका थिए । पपुवा न्युगिनीविरुद्धको खेलमा ६/११ को आँकडामा बलिङ गरेका सन्दीपले विश्व क्रिकेटको ध्यान फेरि एक पटक आफूतिर खिचेका थिए ।

    समर्थकको भोटको आधारमा अर्को साता विजेताको भएको हो ।

    नेपालबाट महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा पर्ने सन्दीप दोस्रो खेलाडी हुन् । यसअघि कुशल भुर्तेल आईसीसीको मनोनयनमा परेका थिए । यद्यपि, उनी विजेता बन्न सकेका थिएन् ।

    महिला खेलाडीतर्फ न्यूजिल्याडकी हेथर नाइट प्लेयर अफ द मन्थ बनेकी छन् ।
  • आईसीसी सेप्टेम्बर ‘प्लेयर अफ दी मन्थ’ को मनोनयनमा सन्दीप लामिछाने

    आईसीसी सेप्टेम्बर ‘प्लेयर अफ दी मन्थ’ को मनोनयनमा सन्दीप लामिछाने

    काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्टार स्पीनर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सेप्टेम्बरको प्लेयर अफ दी मन्थको मनोनयनमा परेका छन् ।

    आईसीसीले बुधबार जारी गरेको मनोनयनमा सन्दीपसँगै बंगलादेशका नसुम अहमद अमेरिकी पावर हिटर जस्करण मल्होत्रा पनि मनोनयनमा परेका छन् ।

    सन्दीपले सेप्टेम्बरमा आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गत ओमान भ्रमणका क्रमममा ६ एकदिवसीय खेलेका थिए । ओमान भ्रमणमा ७.३८ को इकोनेमीमा बलिङ गर्दै सन्दीपले १८ विकेट लिएका थिए । पपुवा न्युगिनीविरुद्धको खेलमा ६/११ को आँकडामा बलिङ गरेका सन्दीपले विश्व क्रिकेटको ध्यान फेरि एक पटक आफूतिर खिचेका थिए ।

    समर्थकको भोटको आधारमा अर्को साता विजेताको घोषणा हुनेछ । समर्थकहरूले यहाँ क्लिक गरेर भोट गर्न सक्नेछन् ।

    नेपालबाट महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा पर्ने सन्दीप दोस्रो खेलाडी हुन् । यसअघि कुशल भुर्तेल आईसीसीको मनोनयनमा परेका थिए । यद्यपि, उनी विजेता बन्न सकेनन् ।

  • ईपीएल आजदेखि: अफ्रिदीको काठमाडौं र ललितपुर भिड्दै

    ईपीएल आजदेखि: अफ्रिदीको काठमाडौं र ललितपुर भिड्दै

    काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करण आजदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ । कोरोना भाइरसका कारण सन् २०१९ र २०२० मा हुन नसकेको ईपीएल आजदेखि दर्शकसहित हुँदैछ ।

    शनिबार हुने उद्घाटन खेलमा काठमाडौं उपत्यकाका दुई टोली- ललितपुर प्याट्रिओट्स र काठमाडौं किङ्ग्स-११ भिड्ने छन् । नेपाली समयअनुसार शनिबार दिउँसो १२:१५ बजे सुरु हुने खेलमा साविक विजेता जितसहित उपाधि रक्षा अभियान सुरु गर्न चाहन्छ ।

    यद्यपि, पाकिस्तानी पूर्व कप्तान शाहिद अफ्रिदीको उपस्थितिले उत्साहित काठमाडौं पनि धमाकेदार सुरुआत गर्ने तयारी छ । ललितपुर युवा स्टार कुशल भुर्तेलको नेतृत्वमा खेल्ने छ भने काठमाडौंको कप्तानी स्टार स्पीनर सन्दीप लामिछानेले गर्नेछन् ।

    ललितपुरका पूर्व घोषित कप्तान ज्ञानेन्द्र मल्लले प्रतियोगिता सुरु हुनु दुई दिनअघि मात्रै नाम फिर्ता लिएपछि ललितपुरले कुशललाई कप्तान चयन गरेको हो ।

    यसअघि यी दुई टोलीबीच भएका तीन खेलमा ललितपुरले एकतर्फी नतिजा निकालेको छ । दोस्रो सिजन २०१७ मा ७ विकेटले हारेको काठमाडौं २०१८ मा १० र १ विकेटले पराजित भएको थियो ।

    काठमाडौं किग्स-११: सन्दीप लामिछाने, अमित श्रेष्ठ, सुवास खकुरेल, राजु रिजाल, शेर मल्ल, सिद्धान्त लोहनी, मोहम्मद समसद शेख, दीपेन्द्र रावत, जितेन्द्र मुखिया,आशाक चन्द, अमरसिंह रौटेला, गुल्शन झा ।

    विदेशी खेलाडी: शाहिद अफ्रिदी, जनक प्रकाश, रेयान ब्रुल, रहमानउल्ला गुरबाज ।

    ललितपुर प्याट्रिओट्स: ज्ञानेन्द्र मल्ल, सूर्य तामाङ, पवन सर्राफ, सन्दीप जोरा, सोनु तामाङ, रासिद खान, शंकर राना, योगेन्द्रसिंह कार्की, कुशल भुर्तेल, नारायण जोशी, ललित राजवंशी, अरियो पौडेल, विभत्सु थापा, कमल खत्री, रिजन ढकाल, नागराज सिंह ।

    विदेशी खेलाडी: अज्मतुल्ला ओमरजाई, ओसाडा फर्नान्डो, मिक्यो दोर्जे, सेनडन विराक्योडी ।

  • काठमाडौंका मेयरले सन्दीप लामिछानेलाई भने- अफ्रिदीसँग नआत्तिनू !

    काठमाडौंका मेयरले सन्दीप लामिछानेलाई भने- अफ्रिदीसँग नआत्तिनू !

    काठमाडौं । एभरेष्ट प्रिमियर लिग खेल्न आएका पाकिस्तानी क्रिकेटर साहिद अफ्रिदी ईपीएल खेल्न आउँदा नेपाली क्रिकेट समर्थकमा ठूलै उत्साह छ । तर, उनले जम्माजम्मी दुई म्याचमात्रै खेल्ने कुराले निराशा पनि ।

    हिजो नेपाल ओर्लनासाथ पत्रकारहरूसँग अफ्रिदीले आफू दुई म्याच मात्रै खेल्ने खुलासा गरेका थिए । आज उनको टिम किङ्स ११ काठमाडौंले अफ्रिदीलाई समेत राखेर प्रिम्याच प्रेस मिट गर्‍यो । त्यसमा पत्रकारको चासो थियो- किन दुई म्याचमात्रै । जवाफमा अफ्रिदीले आफू व्यस्त रहेको बताएर टारे ।

    ‘म निकै व्यस्त थिएँ र छु, त्यसैले यसपाली दुई म्याच मात्रै खेल्ने भएँ,’ उनले भने, ‘तर, अर्कोपटक पनि आएँ भने पक्कै पूरा सिजन खेल्नेछु ।’

    नेपाललाई सुन्दर देश भन्दै उनले परिवारसहित घुम्न आउने चाहना पनि व्यक्त गरे । आफू दुई म्याच खेल्न मात्र नभइ पाकिस्तान र नेपालबीच सम्बन्ध राम्रो बनाउनका लागि आएको उनको भनाइ छ ।

    ‘नेपालमा मैले न्यानो आतिथ्य पाएँ, यी दुई दिन खुशीसाथ बितेका छन्,’ उनले भने, ‘हाम्रो टिमको नेतृत्व गर्न लागेको सन्दीपलाई अल द बेस्ट भन्न चाहन्छु । मेरो साथ र समर्थन टिमलाई रहनेछ ।’

    अफ्रिदीले नेपाली क्रिकेट टिमले आवश्यक सम्झेको खण्डमा जहिले पनि आउन तयार रहेको बताए ।

    काठमाडौंका मेयर विद्यासुन्दर शाक्य पनि प्रेसमिटमा उपस्थित थिए । उनले टिभीमा हेर्दै आएको खेलाडीलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताए । उनले अफ्रिदीको उपस्थितिबाट नआत्तिन किङ्स ११ का कप्तान सन्दीप लामिछानेलाई सुझाव दिए ।

    ‘कहिलेकाहीँ आफूभन्दा तगडा खेलाडी देख्दा डराउने प्रवृत्ति हुन्छ,’ शाक्यले भने, ‘म सन्दीपलाई नआत्तिइकन खेल्न सुझाव दिन्छु । यसपाली जितेर आएपछि उनले अघिल्लो संस्करणमा आफूले टिमको जर्सी डिस्प्ले गर्दाको क्षण सम्झिए ।

    ‘त्यसबेला मैले जितेर आएपछि सँगै खुशीयाली मनाउनुपर्छ भनेर शुभकामना दिएको थिएँ । तर, खेलको नियम हो, सबैले जित्न सक्दैनन्, त्यसबेला सफल हुन सकिएन,’ उनले भने, ‘यसपाली मेरो र सिंगो महानगरपालिकाको तर्फबाट शुभकामना दिन्छु । जितेर आएपछि सँगै खुशीयाली मनाउने अधुरो इच्छा यसपाली पूरा हुने अपेक्षा छ ।’

    किङ्स ११ का कप्तान सन्दीपले अफ्रिदीको उपस्थितिले आफ्नो टिममा धेरै फरक पार्ने बताए ।

    उनले भने, ‘हाम्रो टिमले मात्र नभएर अरु टिमले पनि साहिद भाइबाट धेरै सिक्न पाउनेछन् । उहाँको उपस्थिति नै ठूलो कुरा हो हाम्रो लागि ।’

  • अमेरिकाविरुद्ध सन्दीपको पहिलो विकेट

    अमेरिकाविरुद्ध सन्दीपको पहिलो विकेट

    काठमाडौं । अमेरिका विरुद्धको खेलमा लेग स्पिनर सन्दीप लामिछानेले नेपालका लागि दोस्रो विकेट लिएका छन् । उनले व्यक्तिगत रुपमा भने पहिलो विकेट लिएका हुन् ।

    आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत ओमानमा जारि त्रिकोणत्मक एक दिवसिय सिरिजमा अमेरिकासँगको खेलमा उनले ९।६ ओभरमा सुसान्त मोदानिलाई पेभिलियन फर्काएसँगै नेपालले दोस्रो सफलता हात पारेको हो ।

    अमेरिकाले अहिले १५ ओभरमा २ विकेट गुमाएर ७० रन जोडेको छ ।

  • सन्दीपको शानदार बलिङमा नेपाल विजयी

    सन्दीपको शानदार बलिङमा नेपाल विजयी

    काठमाडौं । स्टार स्पीनर सन्दीप लामिछानेको ६ विकेट प्रेरित नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा पपुवा न्युगिनीलाई १ सय ५१ रनले पराजित गरेको छ ।

    नेपालको सशक्त बलिङसामु निरिह बनेको पिएनजीले २० ओभर पनि खेल्न सकेन । नेपालविरुद्ध २ सय ३४ रनको लक्ष्य पछ्याएको पिएनजीले १९.१ ओभरमा सबै विकेट गुमाएर ८२ रनमा सीमित भयो ।

    अल अमेरत क्रिकेट मैदानमा नेपलाकालागि शानदार बलिङ गरेका सन्दीपले ५.१ ओभरमा ११ रन खर्चेर ६ विकेट लिए । यस्तै, सुशन भारी, विक्रम शोब र सोमपाल कामीले १/१ विकेट लिए ।

    पिएनजीका लागि लेगा सियाकाले १९ तथा चार्ल्स अमिनीले १६ बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्नसकेनन् ।

    यसअघि, रोहित पौडेलको अर्धशतकप्रेरित नेपालले पपुवा न्युगिनीलाई दोस्रो ओडीआईमा २ सय ३४ रनको लक्ष्य दिएको थियो ।

    मध्यक्रमका युवा ब्याटसम्यान रोहित कुमार पौडेलको उत्कृष्ट ब्याटिङसँगै नेपालले पिएनजीलाई २३४ रनको लक्ष्य दिएको छ । आठौं नम्बरमा आएका बलर करण केसीले आक्रामक पारी खेल्दै नेपालको स्कोर उकास्न मद्दत गरेका थिए ।

    खराब सुरुआत र खराब समापन गरेको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाएर १३३ रनको योगफल बनाएको थियो ।

    ओपनरद्वय १३/३ रन बनाएर पेभेलियन फर्किँदा कप्तान ज्ञानेन्द्र मल्लले ४५ रनको योगदान गरेका थिए । ओमानको अल अमेरत क्रिकेट मैदानमा ७० बलको सामना गरेका ज्ञानेन्द्रले ३ चौका र २ छक्कासहित महत्त्वपूर्ण ४५ रन जोडेका थिए ।

    त्सस्तै युवा ब्याट्सम्यान रोहितको शानदार अर्धशतकीय इनिङसँगै नेपालले सम्मानजनक योगफल तयार गर्‍यो । नेपालका लागि १२३ बलको सामना गरेका रोहितले २ चौका र ३ छक्कासहित ८६ रन जोडे ।

    त्यस्तै, करण केसी २६ बलमा ४२ रन जोडेर पेभेलियन फर्किँदा विनोद भण्डारीले १७ रन जोडे ।

    पिएनजीका लागि चाड सोपरले सर्वाधिक ३ विकेट लिँदा नोर्मन भानुवा र कबुआ मोरेयाले २/२ विकेट लिए । यस्तै, चार्ल्स अमिनीले पनि एक विकेट लिए ।

    त्रिदेशीस एकदिवसीय शृंखलाको तयारी स्वरुप खेलिएको पहिलो खेलमा मंगलबार नेपाल २ विकेटले विजयी भएको थियो भने यो दोस्रो खेल थियो ।

    नेपालले ओमान र अमेरिकासँग सोमबारदेखि एकदिवसीय शृंखला खेल्ने छ ।

  • पिएनजीविरुद्ध सन्दीपको चार विकेट

    पिएनजीविरुद्ध सन्दीपको चार विकेट

    काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्टार स्पीनर सन्दीप लामिछानेले पपुवा न्युगिनीविरुद्ध ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा चार विकेट लिएका छन् ।
    ओमानको अल अमेरत क्रिकेट मैदानमा जारी खेलमा टस हारेर फिल्डिङको निम्तो पाएको नेपालले पिएनजीलाई ३३ ओभरको समाप्तिमा १३४ रनमा अल आउट गरेको थियो । नेपालको शानदार फिल्डिङमा उत्कृष्ट बलिङ गरेका सन्दीपले १० ओभरमा ३५ रन खर्चेर चार विकेट लिए  ।
    सन्दीपले पिएनजीका लागि २३ रन बनाएका चार्ल्स अमिनीलाई आशिफ शेखको हातबाट क्याच आउट गराएका थिए । यस्तै, सेसे बाउलाई पनि कुशल मल्लको हातबाट क्याच आउट गराएका थिए । जसवन किला र नोसेइना पोकनालाई एलबी डब्लू धरापमा पारेका सन्दीपले सर्वाधिक चार विकेट लिन सफल भएका थिए ।
    अमेरिका-ओमान- नेपालको तयारी स्वरुप तय भएका दुई ओडीआईमध्ये अहिले जारी पहिलो खेल हो । पिएनजीसँगै शुक्रबार दोस्रो एकदिवसीय हुनेछ ।
  • पिएनजीविरुद्ध सन्दीपलाई दोस्रो सफलता

    पिएनजीविरुद्ध सन्दीपलाई दोस्रो सफलता

    काठमाडौं । ओमानमा जारी पपुवा न्युगिनीविरुद्ध जारी एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालका स्टार स्पीनर सन्दीप लामिछानेले व्यक्तिगत दोस्रो तथा नेपालका लागि पाँचौं विकेट लिएका छन् ।

    अल अमेरत क्रिकेट मैदानमा जारी खेलको २०औं ओभरको पहिलो बलमा सन्दीपले २३ बलमा १४ रन जोडेका शेशे बाउलाई कुशल मल्लको हातबाट क्याच आउट गराउँदै पेभेलियन फर्काएका हुन् ।

    पिएनजीले २० ओभरको खेल सकिँदा ५ विकेट गुमाएर ८७ रन जोडेको छ ।

    ट्राई नेसन सिरिजको अभ्यास स्वरुप आयोजित दुई ओडीआईमध्ये यो पहिलो खेल हो । दोस्रो खेल नेपालले शुक्रबार खेल्ने छ ।

  • पिएनजीविरुद्ध सन्दीपलाई सफलता

    पिएनजीविरुद्ध सन्दीपलाई सफलता

    काठमाडौं । नेपालका स्टार स्पीनर सन्दीप लामिछानेले पपुवा न्युगिनी (पिएनजी)विरुद्ध जारी एकदिवसीय अन्तर्राष्ट्रियमा न्पालका लागि तेस्रो विकेट लिएका छन् ।

    डेब्यूट्यान्ट विक्रम शोबले सुरुआती दुई विकेट लिएर राम्रो सुरुआत गराएको नेपालका लागि सन्दीपले १२औं ओभरको पाँचौं बलमा तेस्रो विकेट लिएका हुन् ।

    ओमानको अल अमेरत क्रिकेट मैदानमा जारी खेलमा पिएनजीका लागि २३ बलमा ३ चौकासहित २३ रन बनाएका चार्ल्स अमिनीलाई आरिफ शेखको हातबाट क्याच आउट गराएका हुन् ।

  • सन्दीप बीबीएलमा आवद्ध भएपछि सन्दीपलाई अष्ट्रेलियन राजदूतले भनिन्- मेलबर्नमा आफ्नो जादु देखाऊ

    सन्दीप बीबीएलमा आवद्ध भएपछि सन्दीपलाई अष्ट्रेलियन राजदूतले भनिन्- मेलबर्नमा आफ्नो जादु देखाऊ

    काठमाडौं । नेपालका अन्तर्राष्ट्रिय स्टार सन्दिप लामिछाने अष्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) मा आवद्ध भएपछि नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले सामाजिक सञ्जालमा बधाइ दिएकी छन् ।

    सन्दिपलाई हेर्न आफूहरु उत्साहित रहेको उनको भनाइ छ ।

    ट्विटरमा उनले लेखेकी छन्, ‘बीबीएलमा हुरिकान्सका लागि खेल्न सम्झौता गरेकोमा बधाइ छ । हामी तिम्रो बलिङ हेर्न आतुर छौं । मेलबर्नमा केही जादु देखाऊ ।’

    भोल्कले बीबीएलको फ्रेन्चाइज होबार्ट हुरिकान्सको पोस्ट सेयर गर्दै उक्त ट्विट गरेकी हुन् । होबार्टले दुई दिनअघि टिममै यस सिजनको पहिलो अन्तर्राष्ट्रिय खेलाडीका रुपमा सन्दिपलाई हस्ताक्षर गराएको जानकारी दिएको थियो ।

    सन्दिप अघिल्लो सिजनमा पनि यही टिमबाट खेलेका थिए । बीबीएलको उक्त १० औं संस्करणमा सन्दिपले ८ खेलमा ८ विकेट लिएका थिए । बीग ब्यासयता उनले कुनै पनि अन्तर्राष्ट्रिय लिग खेलेका छैनन् ।

    बिग ब्यासको ११ औं संस्करण आगामी डिसम्बर ५ देखि २०२२ को जनवरी २८ सम्म हुने छ ।

  • सन्दीप काठमाडौं किंग्सको कप्तानमा नियुक्त

    सन्दीप काठमाडौं किंग्सको कप्तानमा नियुक्त

    काठमाडौं । नेपाली स्टार स्पिनर सन्दीप लामिछाने काठमाडौं किङ्स एलेभेनको कप्तान बनेका छन् ।

    आगामी सेप्टेम्बर २५ देखी अक्टोबर ९ सम्म राजधानीमा आयोजना हुने चौथो संस्करण एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा किङ्स एलेभेनले सन्दीपलाई नियुक्त गरेको हो ।

    सन्दीपले तेस्रो संस्करण इपिएल ललितपुर पेटरियट्सबाट खेलेका थिए । सन्दीपको टोलीबाट पाकिस्तानी महान क्रिकेटर शाहिद अफ्रिदी पनि खेल्ने छन् ।

  • सन्दीपको भिसा प्रकरणः नेपाली स्टारमाथि ईसीबीको हेपाहा व्यवहार, क्यानको मौनता

    सन्दीपको भिसा प्रकरणः नेपाली स्टारमाथि ईसीबीको हेपाहा व्यवहार, क्यानको मौनता

    काठमाडौं । ईंग्ल्यान्डमा टी-२० लिग खेल्न गएका नेपाली क्रिकेटर सन्दीप लामिछाने त्यहाँको क्रिकेट बोर्डबाट अपमानित हुँदै स्वदेश फर्किएका छन् । सन्दीपका अनुसार ईंग्ल्यान्ड क्रिकेट बोर्ड (ईसीबी) ले उनको भिसालाई ‘अवैध’ मान्दै स्वदेश फर्किहाल्न भनेको थियो ।

    उनको भिसा के कारणले अवैध भयो भन्ने प्रष्ट जवाफ ईसीबीले दिएको छैन । दर्जनौं देशहरूमा गएर टी-२० लिग खेलिसकेका नेपाली स्टार ईसीबीको यो व्यवहारले दु:खी भएका छन् । उनले ईसीबीसँग जवाफ मागिरहेका छन्, तर पाएका छैनन् । यता, नेपालको क्रिकेट संघ भने स्वदेशी खेलाडीमाथि हेपाहा व्यवहार हुँदा मौनता साँधेर बसिरहेको छ ।

    सन्दीपले फेसबुकमा यस्तो लेखेका थिए, ‘म जुलाइ ९ मा युके आउँदा अध्यागमनमा केही पनि समस्या भएन । त्यसपछि म सरकारले व्यवस्थापन गरेको क्वारेन्टाइनमा गएर बसेँ । मेरो १० दिनको क्वारेन्टाइन सकिनुभन्दा दुई दिनअघि जुलाइ १९ मा मलाई ईसीबीले भन्यो कि मेरो भिसा वैध छैन र मैले चाँडोभन्दा चाँडो देश छोड्नुपर्ने छ । म के गलत भयो भनेर सोधिरहेको छु, तर ईसीबीका कसैसँग पनि सही जवाफ छैन । कम्तीमा मेरो भिसा के कारणले वैध भएन भन्ने स्पष्ट जवाफ पाउने हक म राख्छु ।’

    सन्दीपले यस्तो लेखेपछि पनि ईसीबीले आधिकारिकरूपमा उनलाई कुनै जवाफ दिएन । त्यसपछि सन्दीप चुपचाप स्वदेश फर्किन वाध्य भए ।

    क्रिकेटसम्वन्धी चर्चित वेबसाइट क्रिकइन्फो डटकमले सन्दीपसँग भिसा भए पनि त्यसले हन्ड्रेडमा खेल्न अनुमति नदिने बुझिएको जनाएको छ ।

    समाचारमा भनिएको छ, ‘यो बुझिएको छ कि लामिछाने वैध भिसामार्फत बेलायत प्रवेश गर्न सफल भएका थिए, तर त्यसले उनलाई द हन्ड्रेडमा खेल्न अनुमति दिन्थेन ।’

    अन्तर्राष्ट्रिस्तरमा नै चर्चित टी-२० प्लेयर सन्दीप लामिछानेलाई पछिल्लो समय एकपछि अर्को धक्का लागिरहेको छ । विश्वकै सर्वाधिक ठूलो टी-२० लिग आइपीएलमा उनी यसपाली मिस भए । दिल्ली क्यापिटल्सले रिलिज गरेपछि उनलाई अर्को फ्रेन्चाइजले खरिद गरेन ।

    समाचारमा जनाइएअनुसार सन्दीपले समस्या समाधानका लागि ईसीबीसँग पहल गरेका थिए, तर उनलाई भनियो कि यस प्रतियोगितामा खेल्नका लागि फेरि आवेदन गर्न उनीसँग पर्याप्त समय छैन ।

    ईसीबीका एक बेनामी प्रवक्तालाई उद्धृत गर्दै क्रिकइन्फोनले लेखेको छ, ‘भिसा समस्याका कारण सन्दीपले ‘हन्ड्रेड’ को पहिलो संस्करण खेल्न नसकेकोमा हामी वास्तवमै दु:खी छौं । हामीलाई आशा छ क्रिकेट फ्यानहरूले भविष्यमा यस प्रतियोगितामा उनलाई देख्न सक्नेछन् ।’

    तर, सन्दीपले यसअघि पनि ईंग्ल्यान्डमा टायर फाइभ भिसा लिएर नै क्रिकेट खेल्ने गरेको उनका म्यानेजर रमण सिवकोटी बताउँछन् । यसपाली के कारणले समस्या देखाइएको हो भन्ने प्रष्ट नभएको उनको भनाइ छ ।

    ‘त्यहाँ खेल्ने त टायर फाइभ भिसाले नै हो । तर, उहाँले दुईवटा प्रतियोगिता (भाइटालिटी ब्लास्ट र द हन्ड्रेड) खेल्नुपर्ने थियो । पहिलो प्रतियोगिताका लागि पाएको स्पोन्सरसीप दोस्रो प्रतियोगितामा स्वीकार नगरिएको हो कि भन्ने अनुमान छ । तर, स्पष्ट कारण भनिएको छैन,’ उनले भने ।

    यदि ईसीबीले भनेअनुसार सन्दीपको भिसा नै वैध थिएन भने उनलाई किन बेलायतमा प्रवेश दिइयो भन्ने प्रश्न उठ्छ । यदि टायर फाइभ भिसाबाट खेल्न पाउँथेनन् भने ८ दिनसम्म किन अरु विदेशी खेलाडीसँगै सरकारी क्वारेन्टाइनमा राखियो भन्ने प्रश्न उठ्छ । सन्दीप यिनै प्रश्नको जवाफ खोजिरहेका छन् ।

    सन्दीपले ईंग्ल्यान्डमा अघिपछि आयोजना हुने दुई टी-२० लिग ‘भाइटालिटी ब्लास्ट’ र ‘द हन्ड्रेड’ का लागि टायर फाइभ भिसा एप्लाइ गरेका थिए । दुवै प्रतियोगिताका लागि एउटै सर्टिफिकेट अफ स्पोन्सरसीप काफी हुने उनलाई बताइएको थियो । तर, कोभिड १९ का कारण भिसा आउन ढिलाइ भयो र उनले भाइटालिटी ब्लास्टमा भाग लिन सकेनन् । त्यसपछि आफूलाई अफिसियलहरूले स्पोन्सरसीपको म्याद जुलाइ १० सम्म बाँकी रहेकाले त्योभन्दा अगाडि युके आइपुगेमा समस्या नहुने आश्वासन दिएको उनले बताएका छन् । त्यस बमोजिम सन्दीप जुलाइ ९ मा नै युके पुगेका हुन् ।

    सबै सर्त र प्रक्रियाहरू पूरा गर्दा पनि सन्दीपले प्रतियोगिता खेल्न नपाउनु र तत्काल स्वदेश फर्किन वाध्य पार्नुले ईसीबीको हेपाहा व्यवहार झल्किएको छ । यस सम्वन्धमा नेपालको क्रिकेट बोर्डले भने अहिलेसम्म मौनता साँधिरहेको छ ।

    क्यानका अध्यक्ष चतुरबहादुर चन्दले यस विषयमा आफूले मिडियाबाट मात्र थाहा पाएको बताए । सन्दीपको तर्फबाट क्रिकेट संघमा अहिलेसम्म कुनै जानकारी नगराइएकाले कुनै पहलकदमी नलिएको उनको भनाइ छ ।

    चन्दले नेपाल प्रेससँग भने, ‘उनको भिसा नै मिलेन भन्ने कुरा मैले मिडियाबाट थाहा पाएको हो । त्योभन्दा बढी जानकारी छैन । सन्दीपको तर्फबाट हामीलाई कुनै लिखित वा मौखिक गुनासो आएको खण्डमा हामीले पहल गर्ने कुरा हुन्छ ।’

    सन्दीपलाई ईंग्ल्यान्डमा खेल्न ‘नो अब्जेक्सन लेटर’ उपलब्ध गराउनेबाहेक संघको अरु भूमिका नरहेको उनी बताउँछन् ।

    ‘यदि अन्याय नै भएको रहेछ भने हामी ईंग्ल्यान्डको बोर्डदेखि आइसीसीमा पनि पत्राचार गर्न सक्नेछौं । तर, सन्दीपलाई के कारण देखाएर खेल्न नदिइएको हो भन्ने मुख्य कुरा हो । लिखितरूपमै केही भनिएको हुनुपर्छ । यस विषयमा हामीलाई सन्दीपबाट औपचारिक जानकारी आउनुपर्‍यो,’ उनले भने ।

    यदि ईसीबीले भनेअनुसार सन्दीपको भिसा नै वैध थिएन भने उनलाई किन बेलायतमा प्रवेश दिइयो भन्ने प्रश्न उठ्छ । यदि टायर फाइभ भिसाबाट खेल्न पाउँथेनन् भने ८ दिनसम्म किन अरु विदेशी खेलाडीसँगै सरकारी क्वारेन्टाइनमा राखियो भन्ने प्रश्न उठ्छ । सन्दीप यिनै प्रश्नको जवाफ खोजिरहेका छन् ।

    सन्दीपका म्यानेजर सिवाकोटीले यो विषयलाई सम्बन्धित निकायहरूमा पुर्‍याउने सम्बन्धमा छलफल भइरहेको बताए । यद्यपि, सन्दीप अहिले यसलाई थाती राखेर चितवन जाँदैछन् ।

    सन्दीपलाई एकपछि अर्को धक्का

    अन्तर्राष्ट्रिस्तरमा नै चर्चित टी-२० प्लेयर सन्दीप लामिछानेलाई पछिल्लो समय एकपछि अर्को धक्का लागिरहेको छ । विश्वकै सर्वाधिक ठूलो टी-२० लिग आइपीएलमा उनी यसपाली मिस भए । दिल्ली क्यापिटल्सले रिलिज गरेपछि उनलाई अर्को फ्रेन्चाइजले खरिद गरेन ।

    यसै वर्ष उनी पाकिस्तान सुपर लिगको ड्राफ्टमा समावेश भए पनि ‘अनसोल्ड’ रहे । यद्यपि, अफगानिस्ताका रसिद खानले प्रतियोगिताबाट हात झिकेपछि उनले मौका पाएका थिए । तर, कोभिडका कारण यो लिग पनि स्थगित भएपछि सन्दीपले खेल्न पाएनन् ।

    बेलायतमा हुने भाइटालिटी ब्लास्ट र द हन्ड्रेडका लागि छानिँदा सन्दीप निकै उत्साहित थिए । यी दुवै प्रतियोगिताका लागि उनी पहिलोपटक छानिएका हुन् । तर, कोभिडका कारण भिसा आउन ढिलाइ भएकाले भाइटालिटी ब्लास्ट उनले गुमाए । यो प्रतियोगिता जून ९ देखि शुरू भएर सेप्टेम्बर १८ मा सकिएको छ ।

    भाइटालिटी ब्लास्ट गुमाए पनि द हन्ड्रेडको पहिलो संस्करणमा भाग लिन सन्दीप समयमै बेलायत पुगेका थिए । तर, फेरि पनि अभागी सावित भएर घर फर्केका छन् । ईंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले नै आयोजना गरेको द हन्ड्रेडमा सन्दीपले ओभल इन्भिन्सिवल्सबाट खेल्न लागेका थिए । सो क्लवले उनलाई ६० हजार पाउण्डमा खरिद गरेको थियो । सन्दीपले खेल्न नपाउने भएपछि ओभल्सले उनको स्थानमा हाल विश्व वरियताको एक नम्बरमा रहेका टी-२० बलर ताब्राइज साम्सीलाई आवद्ध गरेको छ ।

    विश्वकै व्यस्तमध्येका टी-२० क्रिकेटर सन्दीपले गत माघमा अष्ट्रेलियामा आयोजना भएको बिग ब्यासयता कुनै पनि अन्तर्राष्ट्रिय टी-२० लिगमा खेल्न पाएका छैनन् । यसबाट उनलाई आर्थिक रूपमै पनि ठूलो नोक्सानी भएको छ ।

  • ईसीबीले भिसा अवैध भनेपछि सन्दीप लामिछानेले बेलायत छाडे

    ईसीबीले भिसा अवैध भनेपछि सन्दीप लामिछानेले बेलायत छाडे

    काठमाडौं । ईंग्ल्याण्डमा टी-२० क्रिकेट लिग खेल्न हुन गएका नेपाली स्पिनर सन्दीप लामिछाने एउटा पनि खेल नखेली नेपाल फर्किएका छन् । ईंग्ल्याण्ड क्रिकेट बोर्डले उनको भिसा अवैध भएको भन्दै तत्काल नेपाल फर्किन आदेश दिएको थियो ।

    बोर्डको चेतावनीपछि हिजै बेलुकी नै सन्दीप ईंग्ल्यान्डबाट नेपालका लागि उडेका हुन् । उनी भोलि काठडमाडौं ओर्लिने सन्दीपका म्यानेजर रमण सिवाकोटीले जानकारी दिए ।

    ईंग्ल्यान्डमा आयोजना हुने टी-२० क्रिकेट लिग ‘द हन्ड्रेड’ खेल्न सन्दीप जुलाई ९ मा त्यहाँ पुगेका थिए । ६० हजार पाउन्डमा ओभल इन्भिन्सिबलमा आबद्ध भएका उनले २२ जुलाईमा पहिलो म्याच खेल्नुपर्ने थियो । ईंग्ल्यान्डमा पुगेर नियमानुसार सरकारले व्यवस्थापन गरेको होटमा ९ दिन क्वारेन्टाइन बसिसकेपछि सन्दीपको भिसामा समस्या देखाइएको थियो ।

    सन्दीपले फेसबुकमा दिएको जानकारी अनुसार उनीसँग रहेको टायर फाइभ भिसालाई ईसीबीले अवैध बताएको छ । तर, के कारणले अवैध भयो भन्ने नखुलाइएको सन्दीपले बताएका छन् ।

    यसअघि भिसाको ढिलाइका कारण सन्दीपले ईंग्ल्यान्डमै आयोजित दी भाइटालिटी ब्ल्लास्ट गुमाएका थिए ।

  • बेलायतको भिसा नआएर चिन्तामा सन्दीप

    बेलायतको भिसा नआएर चिन्तामा सन्दीप

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटर तथा ग्लोबल आइकन सन्दीप लामिछानेले भिसाका लागि आह्वान गरेको करिब एक महिना बितिसक्दा पनि दूतावासबाट फलोअप नआएपछि ‘भाइटालिटी ट्वान्टी-२० ब्लास्ट’ तथा ‘द हन्ड्रेड’ लिगमा सहभागिता चिन्ताको विषय बनेको छ । एक महिना अगाडि आफूले भिसाका लागि आह्वान गरे पनि अहिलेसम्म नआएपछि निराश बनेका सन्दीपले ट्वीट लेखेका छन् ।

    फलोअपका लागि पटक-पटक फोन गरेर सोध्दा पनि स्पष्ट उत्तर नआएको उल्लेख गर्दै सन्दीपले बेलायती दूतावास, राजदूत निकोला पोलिट, प्रधानमन्त्री र परराष्ट्रमन्त्री लगायतलाई मेन्सन गर्दै सहयोगका लागि अपील गरेका छन् ।

    सन्दीप इंग्ल्यान्डमा जुन ९ देखि सुरु हुने ‘भाइटालिटी ट्वान्टी-२० ब्लास्ट’ तथा जुलाई २२ तारिख देखि हुने ‘द हन्ड्रेड’ लिगमा सहभागी हुन बेलायत जान लागेका हुन् ।

    यसअघि २०१९ मा क्यारेबियन प्रिमियर लिगमा वेस्ट इन्डिज जानका लागि अमेरिका हुँदै जान भिसाका लागि आह्वान गर्दा अमेरिकी राजदूतावासले अस्वीकार गरेको थियो । सन्दीपले सोही समस्या ट्वीटरमा पोखेपछि उनका समर्थक दूतावासविरुद्ध खनिएका थिए । जसको फलस्वरुप दूतावासले सोही दिन सन्दीपलाई बोलाएर भिसा दिएको थियो ।

  • ‘मरुभूमि’ मा पनि चम्किए नेपाली बलर, सन्दीपको यस्तो कीर्तिमान

    ‘मरुभूमि’ मा पनि चम्किए नेपाली बलर, सन्दीपको यस्तो कीर्तिमान

    काठमाडौं । त्रिवि क्रिकेट मैदानमा पछिल्लो साता रनको वर्षात् भयो । तीन देश सहभागी टी-२० सिरिजमा नेपालका ब्याट्सम्यानहरूले अभुतपूर्व ब्याटीङको प्रदर्शन गर्दै किर्तिमानमाथि कीर्तिमान राखे ।

    ब्याट्सम्यानहरू चम्किएको प्रतियोगितामा बलरहरूले भने खासै चर्चा पाएनन् । खासमा त्रिविको पीच यसपाली ब्याट्सम्यानको लागि स्वर्ग र बलरका लागि मरुभूमि बराबर थियो । थारो भैंसी दुहुनजस्तै कठिन थियो यो पीचमा बलिङ गरेर विकेट निकाल्न ।

    तर, यस्तो ‘मरुभूमि’मा पनि नेपालका स्बलरहरूले आफ्नो उत्कृष्टता देखाउन चुकेनन् । नेदरल्यान्ड्स र मलेसियाका बलरहरूको तुलनामा नेपालका बलरहरूको अर्कै स्तर देखियो । प्रतियोगिताभर सर्वाधिक विकेट लिने बलरहरूको सूचीमा नेपालका बलरहरू हावी छन् ।

    नेपालका सुपरस्टार बलर सन्दीप लामिछानेले प्रतियोगितामा कीर्तिमानी बलिङ गरे । पाँच खेलमा उनले १३ विकेट लिन सफल भए, जुन कुनै पनि टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपाली बलरको उच्च प्रदर्शन हो । प्रतियोगितामा सर्वाधिक विकेट लिने बलर बनेका छन् उनी ।

    सन्दीपले कुल १९.५ ओभर बलिङ गर्दा ८.२१ को इकोनोमीमा १६३ रन खर्चिए । उनी केही महंगा अवश्य भएका हुन् । तर, आफ्नो ‘विकेट टेकर’ छविलाई कायम राख्न उनी सफल भए । उनले १२.५३ को औसत कायम गरेका छन् ।

    विकेट लिनमा सन्दीप अगाडि भए पनि इकोनोमीमा नेपालका फास्ट बलरहरू अगाडि छन् । सामान्यतया स्पिनरभन्दा धेरै रन खाने गरेका फास्ट बलरहरूले यो प्रतियोगितामा निकै कसिलो बलिङ गरे । अग्रपंतिका दुई बलर सोमपाल कामी र करण केसीले विपक्षी ब्याट्सम्यानहरूलाई खुलेर खेल्न दिएनन् । करण फाइनलमा म्यान अफ दी म्याचसमेत बनेका थिए ।

    सर्वाधिक विकेट लिनेमा दोस्रो स्थानमा रहेका करणले ७ विकेट आफ्नो पोल्टामा पारे । उनले ६.५७ को इकोनोमी तथा १६.४२ को औसतमा बलिङ गरेका छन् ।

    नेपालका प्रमुख फास्ट बलर सोमपाल कामीको प्रदर्शन पनि उल्लेख्य रह्यो । विकेट संख्या कम भए पनि उनले मितव्ययी बलिङ गरेका थिए । पाँच म्याचमा उनले पाँचै विकेट लिए । उनको इकोनोमी ५.३१ र औसत १७ छ ।

    यही प्रतियोगिताबाट डेब्यू गरेका नेपाली बलर कमलसिंह ऐरीले पनि छाप छोड्न सफल भए । उनको डेब्यू स्मरणीय बनेको छ । अन्तिम दुईवटा म्याचमा मात्रै मौका पाए पनि उनले आफ्नो क्षमता देखाउन सफल भए ।

    कमलले आफ्नो डेब्यू खेलमै ३ विकेट लिएका थिए । डेब्यू टी-२० म्याचमा सर्वाधिक विकेट लिने राष्ट्रिय कीर्तिमान उनले बताएका छन् । फाइनलमा पनि २ विकेट लिएर उनले आफ्नो विकेट संख्या ५ पुर्‍याए ।

    कमलको इकोनोमी र औसत दुवै उत्कृष्ट छ । उनले ५.३० को इकोनोमी र ७.६० को औसतमा बलिङ गरेका थिए ।

    नेपालका अन्य दुई बलर अविनाश बोहोरा र सहाब आलम भने अपेक्षित सफल हुन सकेनन् । ३ म्याच खेलेका साहब र ४ म्याच खेलेका अविनाशले २-२ विकेट लिएका थिए ।

    नेपालका बलरको तुलनामा अन्य दुई देशका बलरको आँकडा नाजुक छ । अरु कुन पनि देशका बलरले एउटा म्याचमा दुईभन्दा बढी विकेट लिन सकेनन् । सर्वाधिक विकेट लिने पाँच बलरको सूचीमा नेदरल्यान्ड्सका थोमस सेबास्यिान ब्राट मात्रै छन् । ५ विकेट लिएका उनी पाँचौ स्थानमा छन् । तर, उनले ११.५० को इकोनोमीमा खर्चिलो बलिङ गरेका थिए ।

  • १००औं टी-२० मा सन्दीपले लिए ३ विकेट

    १००औं टी-२० मा सन्दीपले लिए ३ विकेट

    काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेले आफ्नो करियरको १००औं ट्वान्टी-२० खेलमा ३ विकेट लिएका छन् ।

    त्रिवि क्रिकेट मैदानमा ट्राई नेसन ट्वान्टी-२० अन्तर्राष्ट्रिय सिरिजमा मलेसियाविरुद्ध २१८ रनको योगफलको बचाउ गरिरहेको नेपालका लागि सन्दीपले ४ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए ।

    इन्डियन प्रिमियर लिग (आईपीएल)बाट २०१८ मा उनले ट्वान्टी-२० क्रिकेटमा खेल्न सुरु गरेका थिए । आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका सन्दीप त्यसपछि विश्वभरका फ्रेन्चाइज लिग खेल्दै आएका छन् ।

    ग्लोबल क्रिकेटरको रूपमा आफूलाई स्थापित गरिसकेका सन्दीपले जारी ट्राई नेसन सिरिजका चार खेलमा ११ विकेट लिइसकेका छन् । नेदरल्यान्ड्सविरुद्ध २, मलेसियाविरुद्ध २, नेदरल्यान्डविरुद्ध चार विकेट लिएका सन्दीपले आजको तीनसहित ११ विकेट लिएका हुन् ।

  • पारस खड्का र सन्दीप लामिछानेले लगाए चिनियाँ खोप

    पारस खड्का र सन्दीप लामिछानेले लगाए चिनियाँ खोप

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका दुई सदस्य पारस खड्का र सन्दीप लामिछानेले कोभिड–१९ विरुद्धको चिनियाँ खोप लगाएका छन् ।

    स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरुसहित राष्ट्रिय क्रिकेट टोलीका अन्य सदस्यले पनि खोप लगाएका थिए । बुधबारदेखि चीनको सिनोफार्मले विकास गरेको भेरोसेल खोप लगाउन सुरु गरिएको छ ।

    चीन अध्ययन गर्न जाने विद्यार्थी, व्यवसायी र अत्यावश्यक सेवामा खटिने अन्य कर्मचारीलाई लक्षित गर्दै चिनियाँ खोप लगाउन सुरु गरिएको हो ।

  • मेयर–११ले वाग्मतीलाई दियो २४५ रनको लक्ष्य

    मेयर–११ले वाग्मतीलाई दियो २४५ रनको लक्ष्य

    काठमाडौं । काठमाडौं मेयर कपमा मेयर–११ ले वाग्मती प्रदेशलाई २४५ रनको लक्ष्य दिएको छ । मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मेयर–११ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २४४ रनको योगफल तयार गरेको हो ।

    खराब सुरुआत गरेको मेयर–११ का लागि अन्त्य क्रमका ब्याट्सम्यानले इनिङ सम्हाल्दै सम्मानजनक योगफलतर्फ डोर्याए । मेयर–११ का लागि सौरभ खनालले अविजित रहँदै बनाएको ४९ रन नै इनिङको सर्वाधिक बन्यो ।

    त्यस्तै, कप्तान सन्दीप लामिछानेले २० बलमा ६ छक्कासहित ४२ रनको आक्रामक इनिङ खेल्दा बिपिन कार्की ३२, सिद्धान्त लोहनी ३४ र सन्दीप रजालीले ३३ रनको योगदान गरे ।

    अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । वाग्मतीका लागि नन्दन यादवले १० ओभरमा ४१ रन खर्चेर १ मेडनसहित सर्वाधिक ४ विकेट लिए । आरियो पौडेल र रामनरेश गिरीले २/२ तथा दिपेश श्रेष्ठले १ विकेट लिए ।

    शनिबार भएको खेलमा नेपाल पुलिस क्लबसँग दुई रनले पराजित भएको वाग्मती फाइनल प्रवेशका लागि आजको खेल जित्नै पर्ने दबाबमा छ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा जारी प्रतियोगितामा पाँच टोली सहभागी छन् ।

    राउन्ड रोबिन पद्धतिमा जारी प्रतियोगिताको पहिलो चरणको समाप्तिबाट शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

  • सन्दीप लामिछोनेले मेयर्स कपमा काठमाडौं-११ को कप्तानी गर्ने

    सन्दीप लामिछोनेले मेयर्स कपमा काठमाडौं-११ को कप्तानी गर्ने

    काठमाडौं । सन्दीप लामिछाने भोलिदेखि सुरु हुने काठमाडौं मेयर्स कपमा काठमाडौं–११ टीमको कप्तानी गर्ने भएका छन् । पाकिस्तान सुपर लिग (पीएसएल) कोरोना भाइरसको महामारीका कारण स्थगित भएपछि सन्दीप शुक्रबार काठमाडौं फर्किँदै छन् ।

    काठमाडौं आएसँगै उनको कोभिड–१९ परीक्षण गर्दा नेगेटिभ देखिए महानगरपालिकाको टोलीको कप्तानी गर्ने नेपाल क्रिकेट संघ (क्यान)का सचिव अशोकनाथ प्याकुरेलले बताए ।

    भोलिदेखि त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा २९ गतेसम्म चल्ने प्रतियोगितामा कूल पाँच टोलीको सहभागिता रहनेछ । गत महिना सम्पन्न भएको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका चार सेमिफाइनलिस्ट टोली र बाँकी टोलीका खेलाडी समेटेर तयार पारिएको महानगरपालिकाको टोली रहेका छन् ।

    भोलि हुने उद्घाटन खेलमा प्रधानमन्त्री कपको फाइनलमा भिडेका दुई टोली– नेपाल आर्मी क्लब (विजेता) र नेपाल एपीएफ क्लब (उपविजेता) आमनेसामने हुँदैछन् । प्रधानमन्त्री कपका दुई सेमिफाइनलिस्ट नेपाल पुलिस क्लब र वाग्मति प्रदेशले प्रतियोगितामा सहभागिता जनाउने छन् ।

  • आईपीएलमा बिक्री भएनन् सन्दीप लामिछाने

    आईपीएलमा बिक्री भएनन् सन्दीप लामिछाने

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल)मा ‘अन्सोल्ड’ भएका छन् । बिहीबार चेन्नईमा जारी अक्सनमा उनी ४० लाख भारतीय रूपैयाँमा उपलब्ध थिए ।

    तर, कुनै पनि टोलीले उनलाई भित्र्याउन नचाहेपछि उनले आगामी सिजन आईपीएल खेल्न नपाउने भएका हुन् । यद्यपि, अर्को चरणमा कुनै टोलीले भित्र्याउन सक्नेछन् ।

    सन्दीपले यसअघिका तीन सिजन दिल्ली क्यापिटल्सबाट खेलेका थिए । उनले दिल्लीका लागि ९ खेलमा १३ विकेट लिएका थिए ।

  • पहिलो खेलमै सन्दीपले लिए दुई विकेट, होबार्ट हरिकेन्स विजयी

    पहिलो खेलमै सन्दीपले लिए दुई विकेट, होबार्ट हरिकेन्स विजयी

    अष्ट्रेलिया । बिग बास लिगअन्तर्गत सन्दीप लामिछानेले शनिबार आफ्नो टीम होबार्ट हरिकेन्सको तर्फबाट पहिलो खेल खेलेका छन् । नयाँ टीमको लागि सन्दीपले दुई विकेट पनि लिए । उनको टीमले मेलबर्न स्टार्सलाई २१ रनले हरायो ।

    पहिले ब्याटिङ रोजेको होबार्टले पाँच विकेटमा १६४ रन बटुलेको थियो । डाविड मलानाले सर्वाधिक ७६ रन बनाए । मेलबर्नले ९ विकेट गुमाएर १४३ रनमात्र बनाउन सक्यो । नेपाली लेग स्पिनर सन्दीपले ४ ओभरमा ३८ रन खर्चे । उनले हिल्टन कार्टराइट र बेन डन्कको विकेट लिए ।

    मेलबर्न स्टार्सको तर्फबाट ग्लेन म्याक्सवेलले सर्वाधिक ७० रन बनाए ।

  • सन्दीपले बिगबासमा नयाँ टिमबाट शनिबार पहिलो खेल खेल्ने

    सन्दीपले बिगबासमा नयाँ टिमबाट शनिबार पहिलो खेल खेल्ने

    काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग बास लिगमा यस यामको पहिलो खेल शनिबार खेल्ने भएको छ ।
    चौध दिनको अनिवार्य क्वारेन्टाइनको समय सकिएपछि उनले पहिलो खेल मेलवर्न स्टार्सविरुद्ध खेल्न लागेका हुन् ।

    लामिछानेले मेलवर्न स्टार्सविरुद्धको खेल खेल्ने पक्का भएको उनका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए। होबार्ट हुरिकेन्समा आबद्ध लामिछानेले कोरोना भाइरसको सङ्क्रमणका कारण यस यामका शुरुआतका ६ खेल गुमाएको थियो ।

    नेपालमै छँदै कोरोनाबाट संक्रमित भएका कारण लामिछानेलाई बिगबास लिग खेल्नका लागि अष्ट्रेलिया जान ढिला भएको थियो । अस्ट्रेलिया पुगेपछि पनि अनिवार्य १४ दिन क्वारेन्टाइन बस्नुपर्ने भएका कारण उनले प्रारम्भका ६ खेल खेल्नबाट वञ्चित भएको व्यवस्थापक शिवाकोटीले जानकारी दिए ।

    लामिछाने सम्मिलित टोली होबार्ट सातौँ खेल खेल्ने तयारीमा छ । हालसम्म खेलेका ६ खेलमा होबार्ट चारमा जित तथा दुई खेलमा हारका साथ आठ टोली सम्मिलित बिगबासको तेस्रो स्थानमा रहेको छ ।

    बिगबास खेल्न लामिछाने गत मङ्सिर ३० गते अष्ट्रेलिया गएका थिए । क्वारेन्टाइन अवधि सकिएपछि उनी नियमित अभयासमा जुटेका छन् । लामिछानेले खेल्ने शनिबारको खेल नेपाली समय अनुसार बिहान पौने १२ बजे शुरू हुने बताइएको छ । उनले तेस्रो पटक बिगबास लिग खेल्न लागेको हो । लामिछानेले यसअघि दुई यामको बिगबास मेलवर्न स्टार्सबाट खेलेका थिए ।