Tag: सनाखत

  • प्रदेश २ मा थप तीन सांसदले गरे लोसपाको पक्षमा सनाखत, जसपा छाड्ने सांसद १५ पुगे

    प्रदेश २ मा थप तीन सांसदले गरे लोसपाको पक्षमा सनाखत, जसपा छाड्ने सांसद १५ पुगे

    जनकपुरधाम । प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा)का थप तीन सांसदले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् । सांसदहरु रानी शर्मा तिवारी, अभिराम शर्मा र उपेन्द्र महतोले जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर लोसपा पक्षमा सनाखत गरेका हुन् ।

    उनीहरुलाई सनाखत गराउन प्रदेशका पूर्वमंत्री एवं सांसद जितेन्द्र सोनल निर्वाचन कार्यालय पुगेका थिए । तर उनले अझै सनाखत गराएका छैनन् ।

    तत्कालीन राजपाकी सांसद शर्मा उपेन्द्र यादव समूहमा गएकी थिइन् । लोसपा अध्यक्ष महन्थ ठाकुर उनलाई आफ्नो पार्टीमा सनाखत गराउन सफल भएका छन् ।

    यसअघि जसपाका १२ सांसदले लोसपा पक्षमा सनाखत गरिसकेका छन् । अब लोसपामा १५ सांसद पुगेका छन् ।

    पूर्वमन्त्रीसमेत रहेका सांसद सोनलले पनि लोसपाकै पक्षमा सनाखत गर्नेछन् ।

  • प्रदेश २ मा एमालेका ११ सांसदको एकीकृत समाजवादीमा सनाखत (सूचीसहित)

    प्रदेश २ मा एमालेका ११ सांसदको एकीकृत समाजवादीमा सनाखत (सूचीसहित)

    जनकपुरधाम । नेकपा एमाले प्रदेश २ का संसदीय दलका नेता शत्रुधन महतोसहितका ११ सांसदले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् ।

    जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर एमालेका सांसदले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् । १० सांसद निर्वाचन कार्यालयमा सशरीर उपस्थित भए भने डिल्लीप्रसाद उप्रेतीले भारतको दिल्लीबाटै सनाखत गरेका छन् ।

    सांसद शत्रुधन महतोले भने, ‘जसरी झलनाथ खनाल कमरेड दिल्लीबाटै सनाखत गर्नुभयो, त्यसरी नै सांसद उप्रेतीको पनि सनाखत भएको छ ।’

    प्रदेश २ मा नेकपा एमालेका २१ सांसद थिए । माधव पक्षका भनिएका सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले भने सनाखत गराएनन् । उनीहरु अहिले काठमाडौंमा छन् । महतोले उनीहरुको भोलिसम्ममा सनाखत हुने बताए ।

    आज सनाखत गराउने सांसदहरु

    १) शत्रुधन महतो
    २) अशोक यादव
    ३) प्रमोद यादव
    ४) मदनसेन श्रीवास्तव
    ५) नागेन्द्र यादव
    ६) गोविन्द न्यौपाने
    ७) रवीन्द्र बैठा
    ८) मञ्जु यादव
    ९) हसिना खातुन
    १०) बेची लुङ्गेली
    ११) डिल्ली उप्रेती

  • कैलालीमा नेकपा एस र लोसपामा सनाखत गर्न स्थानीय तहलाई पत्राचार

    कैलालीमा नेकपा एस र लोसपामा सनाखत गर्न स्थानीय तहलाई पत्राचार

    कैलाली । प्रादेशिक निर्वाचन कार्यालय कैलालीले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गर्न इच्छुक जनप्रतिनिधिलाई बोलाएको छ ।

    कैलालीको १३ वटै स्थानीय तहलाई पत्र पठाउँदै निर्वाचन कार्यालयले सनाखत गर्न इच्छुक जनप्रतिनिधिलाई बोलाएको हो।

    निर्वाचन आयोगले भदौ २२ गते गते सम्म नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पाटी रोज्न पाउने व्यवस्था लागू गरेको छ ।

    सोही अनुसार जिल्लामा स्थानीय तहमा पत्राचार गरिएको प्रदेश निर्वाचन अधिकारी प्रेम भट्टले जानकारी दिए ।

    अहिले सम्म कैलालीमा १३ जनाको मात्रै सनाखत भएको छ । बुधबार सम्म १० जना प्रदेश सभा सदस्यले नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेका छन् । भने ३ जना स्थानीय तहका जन प्रतिनिधिले पनि नेकपा (एकीकृत समाजवादी) सनाखत गरेका छन् ।

    बुधबारसम्म लोकतान्त्रिक समाजवादी पार्टीमा कसैले पनि सनाखत गरेका छैनन् ।

  • वागमती प्रदेशका १२ सांसदले एमाले छाडे, नेकपा एसको पक्षमा सनाखत (सूचीसहित)

    वागमती प्रदेशका १२ सांसदले एमाले छाडे, नेकपा एसको पक्षमा सनाखत (सूचीसहित)

    काठमाडौं । वागमती प्रदेशसभामा नेकपा एमालेबाट निर्वाचित १२ जना प्रदेशसभा सदस्यले माधव नेपाल नेतृत्वको नेकपा एस रोजेका छन् ।

    उनीहरूले हेटौंडास्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर नेकपा एसको पक्षमा सनाखत गरेका हुन् ।

    सामाजिक विकास मन्त्री कृष्ण खनालले पनि नवगठित पार्टी रोजेका छन् । अष्टलक्ष्मी शाक्यले आफू मुख्यमन्त्री भएकै दिन उनलाई नेपाल पक्षमा जानबाट रोक्न मन्त्री बनाएकी थिइन् ।

    एमालेका ५६ जनामध्ये १२ सांसदले नेकपा एस रोजेसँगै अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको छ । अब उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।

    नेकपा एस रोज्ने सांसदहरू यस प्रकार छन् :-

    १. राजेन्द्र पाण्डे

    २. मुनु सिग्देल

    ३. वसुन्धरा हुमागाईं

    ४. लक्ष्मण लम्साल

    ५. राजेन्द्रमान श्रेष्ठ

    ६. पार्वती सिलवाल

    ७. ईन्द्रमाया गुरुङ

    ८. माधव पौडेल

    ९. वसन्त मानन्धर

    १०. रमा आले मगर

    ११. कुसुमकुमार कार्की

    १२. कृष्ण खनाल

  • भीम रावलबाट जोगाउन सुदूरपश्चिममा नेकपा एसका सांसदको आजै सनाखत गराइँदै

    भीम रावलबाट जोगाउन सुदूरपश्चिममा नेकपा एसका सांसदको आजै सनाखत गराइँदै

    कैलाली । सुदूरपश्चिम प्रदेशमा एमाले छाडेर नेकपा एकीकृत समाजवादी भएका सांसदको आज सनाखत गर्ने तयारी छ । निर्वाचन आयोगले २२ गतेसम्म पार्टी रोज्न पाउने व्यवस्था गरेपछि सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूको आजै सनाखत हुन लागेको प्रदेशसभा सदस्य पूर्णा जोशीले जानकारी दिइन् ।

    आज बेलुका ५ बजेसम्म प्रदेश निर्वाचन कार्यालयमा पुगेर सनाखत गर्ने तयारीमा प्रदेश सांसद जुटेका हुन् । एमालेमा १० बुँदे सहमतिको कार्यान्वयन र पार्टी संरचना जेठ २ मा ब्युँतिएसँगै भीम रावलले सुदूरपश्चिम इन्चार्जको भूमिका पाइसकेका छन् । आज त्यहाँ जान लागेका रावलले व्यक्ति-व्यक्तिगसँग डिल गरिरहेकाले प्रदेश सदस्यहरुको मन भाँडिदिने डरले एकीकृत समाजवादीले आजै सबैको सनाखत गर्न लागेको हो ।

    सुदूरपश्चिम प्रदेशमा एमालेका २५ सांसद छन् । नेकपा एकीकृत समाजवादीले आफूसँग १४ सांसद हुने दावी गरेको छ।

    ५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा अहिले ५२ सांसद छन् । अहिले सभामुखसहित एमालेका २५, माओवादी केन्द्रको १२ कांग्रेसका १२ र जसपाका २ सांसद छन् ।

    प्रदेश निर्वाचन अधिकारी प्रेम भट्टले आजै सनाखत गर्न आउने जानकारी गराइएको बताए ।

  • जसले माधवतिर लागेर पनि एकीकृत समाजवादी गठनमा सनाखत गर्न पाएनन्

    जसले माधवतिर लागेर पनि एकीकृत समाजवादी गठनमा सनाखत गर्न पाएनन्

    काठमाडौं । नेकपा एमालेका तीनजना संघीय सांसद र चार केन्द्रीय सदस्यले माधव नेपाललाई साथ दिएर निर्वाचन आयोग पुगे पनि दल विभाजनमा सनाखत गर्न पाएनन् । दल दर्ताको निवेदनका बेला उनीहरुको नाम र हस्ताक्षर नभएकाले सनाखत हुन नसकेको हो ।

    दिल्लीमा रहेका झलनाथ खनालको भने सनाखत भएको छ । प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचित सांसद तथा केन्द्रीय सदस्य सोमप्रसाद पाण्डे, समानुपातिक सांसद माया ज्ञवाली र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टले दल विभाजनमा सनाखत गर्न पाएनन् ।

    पाण्डे शुरुमा एमाले एकता अभियानमा थिए । माधव नेपालका सम्धी भएकाले उनी अन्तिममा एकीकृत समाजवादीमै लाग्ने भनेर आयोगमा गए पनि यसअघि निवेदनमा नाम नभएकाले आयोगले सनाखत गर्न नमानेको हो ।

    त्यस्तै केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य राजन राई, केन्द्रीय सदस्य विक्रम शाही र रामप्रित पासवानको पनि सनाखत हुन सकेन । तर उनीहरु एकीकृत समाजवादीको केन्द्रीय समितिमा छन् । भाष्कर काफ्लेको पनि सनाखत हुन नसकेको नेता प्रेम आलेले बताए ।

    सनाखत नहुने सांसदले अब एमाले त्यागेमा सांसद पद जाने भएकाले निर्वाचन आयोगविरुद्ध उनीहरु सर्वोच्च अदालत जाने सम्भावना छ ।

  • एकीकृत समाजवादीका ५५ केन्द्रीय सदस्य र २९ सांसदको सनाखत सकियो (सूचीसहित)

    एकीकृत समाजवादीका ५५ केन्द्रीय सदस्य र २९ सांसदको सनाखत सकियो (सूचीसहित)

    काठमाडौं । माधवकुमार नेपालको नेतृत्वमा नवगठित नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि पेश भएको नामवलीको सनाखत गर्ने काम लभगभ सकिएको छ । निर्वाचन आयोगले ५५ केन्द्रीय सदस्य र २९ सांसदको सनाखत भएको हो ।

    दल दर्ताका लागि ५६ जनाको नामावली आयोगमा पठाइएको थियो । उनीहरुमध्ये भाष्कर काफ्लेबाहेक ५५ जनाको सनाखत भएको छ । बाँकी हस्ताक्षर नभएका चारजना विक्रम शाही, सोमप्रसाद पाण्डे, रामप्रित पासवान र राजन राईको विषयमा छलफल भइरहेको पार्टीका नेता मेटमणि चौधरीले जानकारी दिए ।

    भारतमा उपचाररत रहेका नेता झलनाथ खनालको पनि आयोगले सनाखत गरेको छ । उनले दूतावासमार्फत पठाएको पत्रका आधारमा सनाखत गरिएको हो ।

  • झलनाथसहित ७ नेताको सनाखत नहुने, यी हुन् एमाले फुटाउन सही गर्ने केन्द्रीय सदस्य (सूचीसहित)

    झलनाथसहित ७ नेताको सनाखत नहुने, यी हुन् एमाले फुटाउन सही गर्ने केन्द्रीय सदस्य (सूचीसहित)

    काठमाडौं । नेकपा एमाले विभाजनका लागि निर्वाचन आयोगमा नाम पेस भएका ५८ जनामध्ये ७ जनाको सनाखत नहुने भएको छ । नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा कायम रहेको एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीका ५८ जनाको नाम पेस भएको छ ।

    तीमध्ये झलनाथ खनाल, प्रदीप नेपाल, खगेन्द्र चुँडाल, रविन कोइराला, धर्मनाथप्रसाद साह, रत्नेश्वर गोइत र रविन्द्र बैठाको निवेदनमा हस्ताक्षर छैन । हरि पराजुली र केदार न्यौपानेको नाम अन्तिममा हातले थपिएको छ ।

    यी नेताहरू दल विभाजनकै पक्षमा रहे पनि उनीहरूको हस्ताक्षर नभएकाले सनाखत नहुने भएको हो । निर्वाचन आयोगका सचिव सुरेश अधिकारीले दल दर्ताको निवेदनमा ज-जसको हस्ताक्षर उनीहरूले मात्र बुधवार सनाखत गर्न पाउने बताए । ।

    यसअघि झलनाथ खनालले दिल्लीबाटै मन्जुरीनामा पठाउने र प्रदीप नेपाललगायतका नेताले आयोगमा गएर हस्ताक्षर गर्ने भनिएको थियो । तर अब साविक एमालेको २०३ सदस्यीय कमिटीका ५१ जनाकोमात्र सनाखत हुनेछ ।

    दल विभाजनका लागि ४१ जना सदस्य भए माधव नेपाललाई पुग्छ । यद्यपी एमालेले नेपालसहित ९ जना केन्द्रीय सदस्य तथा १४ जना सांसदलाई दल दर्ताको निवेदन दिनुअघि नै निष्कासन गरिएको भन्दै उनीहरूको हस्ताक्षर मान्यता नदिन आयोगलाई आग्रह गरेको छ ।

    एमाले निर्वाचन आयोगका प्रमुख अग्नि खरेलले आयोगमा पुगेर हस्ताक्षर नगरेकाको सनाखत नलिन र कारवाहीमा परेका १४ जनाको समेत हस्ताक्षरलाई मान्यता नदिन आग्रह गरेका छन् ।

    आयोगमा माधव नेपाल पक्षले पेश गरेको आधिकारिक हस्ताक्षरसहितको सूची यसप्रकार छ ।

  • सनाखतका लागि माधव नेपाल र महन्थ ठाकुरलाई आयोगले बोलायो

    सनाखतका लागि माधव नेपाल र महन्थ ठाकुरलाई आयोगले बोलायो

    काठमाडौं । निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूलाई सनाखतका लागि भदौ ९ गते बोलाइएको छ ।

    निर्वाचन आयोगले भदौ ९ गते सम्बन्धित दलको केन्द्रीय समितिमा रहेका नेताहरुलाई नागरिकतासहित सनाखतका लागि उपस्थित हुन निर्देशन दिएको छ । सनाखत सम्पन्न भएपछि आयोगले प्रक्रिया पुर्‍याएर नयाँ दल दर्ताको प्रमाणपत्र दिनेछ ।

    राजनीतिक दलसम्बन्धी ऐन दोस्रो संशोधन अध्यादेश जारी भएपछि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नयाँ दल दर्ताको निवदेन आयोगमा दिइएको छ । त्यस्तै जसपा नेपालका महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि पनि आयोगमा निवेदन परेको छ ।