Tag: सदन अवरोध

  • प्रतिनिधिसभा बैठकमा आज पनि एमाले सांसदको अवरोध (लाइभ)

    प्रतिनिधिसभा बैठकमा आज पनि एमाले सांसदको अवरोध (लाइभ)

    काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक पनि एमाले सांसदहरूले अवरोध गरेका छन् । सभामुखको भूमिकाप्रति असन्तुष्टी जनाउँदै प्रमुख प्रतिपक्ष नेकपा एमालेले सदनमा निरन्तर नारावाजी र विरोध गर्दै आएको छ ।

    आज बैठक शुरू हुनासाथ एमाले सांसदहरू वेलमा एकत्रित भएका छन् । सभामुखले एमालेको नारावाजीकै बीच बैठक अघि बढाएका छन् ।   सदन नियमित गर्न हिजो सभामुख अग्नि सापकोटाले सर्वदलीय बैठक बोलाए पनि एमाले अध्यक्ष केपी ओली बैठकमा गएनन् ।

    एमालेले आफूले कारवाही गरेका १४ जना सांसदलाई पदमुक्तको सूचना टाँस्न या राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने भन्दै सभामुखसमक्ष दुई सर्त अघि सारेको छ ।

  • एमालेले भन्यो- सभामुख माओवादी गुरिल्लाका रूपमा प्रस्तुत भए, अप्रिय घटना हुनसक्छ

    एमालेले भन्यो- सभामुख माओवादी गुरिल्लाका रूपमा प्रस्तुत भए, अप्रिय घटना हुनसक्छ

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुख निरंकुश र एकपक्षीय ढंगले चलेको भन्दै कुनै पनि बेला संसदमा अप्रिय घटना हुने चेतावनी दिएको छ ।

    शुक्रबार दोस्रोपटक एमालेको अवरोधका बीच सदनको कारवाही अघि बढाएर १५ मिनेट स्थगन गरेका सभामुखले प्रमुख विपक्षसँग छलफल गरेका छैनन् । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखका कारण अप्रिय घटना हुन सक्ने चेतावनी दिए ।

    भट्टराईले नेपाल प्रेससँग भने, ‘सभामुखमा जनयुद्धकालीन गुरिल्लाको अनुहार प्रकट भएको छ । प्रतिपक्षसँग परामर्श नगरी एकलौटी ढंगले माओवादी कार्यकर्ताको भूमिकामा प्रस्तुत हुने हो भने कुनै पनि बेला अप्रिय घटना हुन सक्छ ।’

    उनले एमालेको विरोध यथावत रहेको बताए । कानूनविपरीत सभामुखले एमाले विभाजनमा भूमिका खेलेको भन्दै यसले संसदको बाँकी अवधि सहज नहुने चेतावनी दिएका छन् ।