Tag: सत्यमोहन जोशी

  • १०२ वर्षमा उक्लिएका सत्यमोहनको जीवनका १०२ सत्य

    १०२ वर्षमा उक्लिएका सत्यमोहनको जीवनका १०२ सत्य

    इटहरी । संस्कृतिविद् सत्यमोहन जोशी वैशाख ३० गतेबाट १०२ वर्ष लागेका छन् । संयोगले त्यही दिन संघीय व्यवस्था लागू भएपछिको दोस्रो स्थानीय तह चुनाव भयो ।

    अर्को संयोग, तीन महिनाअगाडि बुक हिलले प्रकाशन गरेको ‘सत्यमोहन’ पुस्तकका लेखक गिरिस गिरी पनि यो चुनावी मैदानमा छन् । गिरी वीरगञ्ज महानगरपालिकाको मेयरमा राप्रपाका उम्मेदवार हुन् ।

    १९७७ साल वैशाख ३० गते ललितपुरको बखुंबहास्थित घरमा जन्मेका हुन् सत्यमोहन । १०२ औं जन्मोत्सवका अवसरमा उनको जीवनका १०२ रोचक तथ्यहरु यहाँ समेटिएको छ ।

    १. जोशीलाई उनलाई शताब्दी पुरुष भनिन्छ । तर, शताब्दी पुरुषको उपाधि भने उनलाई ९५ वर्षकै हुँदा २०७१ मंसिर १५ गते प्रदान गरिएको थियो । त्रिमूर्ति निकेतनका संस्थापक नरेन्द्रराज प्रसाईंको अगुवाइमा त्यो उपाधि प्रदान गरिएको थियो ।

    २. त्रिमूर्ति निकेतनले शताब्दी पुरुष घोषणा गरेपछि नेपाल सरकारले समेत जोशीलाई त्यस्तै उपमा दियो । उनलाई ‘वाङ्मय शताब्दी पुरुष’ भनिएको छ ।

    ३. जोशीको बिहे भएको ८४ वर्ष पुगेको छ । उनीभन्दा उनकी पत्नी राधा पात्रवंश ४ वर्षमात्रै कान्छी छिन् ।

    ४. १८ वर्षको उमेरमा बिहे गरेका सत्यमोहन जोशीले आफ्नी श्रीमतीको अनुहार देख्न चार दिन कुर्नु परेको थियो ।

    ५. सत्यमोहन जोशी र उनकी बहिनीको बिहे एकैदिन भएको थियो । १९९४ साल फागुनमा उनीहरुको बिहे भएको थियो ।

    ६. अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेर राणाको महाराजगञ्जस्थित ‘खर्च अड्डा’का जागिरे भएकाले छोरा र छोरी दुवैको एकै दिन विवाह गर्दा जोशीका पितालाई २४९ रुपैयाँ आम्दानी भएको थियो । अड्डामा काम गर्नेको एक सन्तानको बिहे हुँदा १२० रुपैयाँ रकम आउँथ्यो । दुई जनाको एकै पटक बिहे भएपछि जोशीका पिताले दोब्बर रकम पाएका थिए ।

    ७. सत्यमोहनका परिवारमा धेरैको भने कम उमेरमै मृत्यु भएको थियो । जोशीका मातापिताका सात सन्तानमा चारजना सानै उमेरमा बितेका थिए । जेठा पुत्र जोशीसँगै लामो समय बाँच्नेमा उनका भाइ र बहिनी थिए । अहिले जिवित जोशीमात्रै छन् । जोशीकै आठ सन्तान थिए । एक छोरी र एक छोरा सानैमा बिते । अहिले तीन छोरा र तीन छोरी छन् ।

    ८. १२ वर्षको उमेर हुँदा महाराजगञ्ज बस्ने क्रममा जोशीलाई पिताले दरबार हाईस्कुलमा भर्ना गरेका थिए । उनी कक्षा ७ मा भर्ना भएका थिए । जोशीको समयमा कक्षा १ बाट १० सम्म नभएर १० बाट क्रमशः घट्दै फस्र्ट क्लास पुगेर पास भएपछि मेट्रिक पास हुने चलन थियो ।

    ९. जोशीले तीन वर्ष हुञ्जेल आमाको दूध पिएका थिए । आफ्नो दीर्घायुमा उनी त्यो पनि एक कारण मान्ने अनुमान गर्छन् ।

    १०. १९९० साल माघ २ गते भूकम्प आउँदा जोशी महाराजगञ्जमा खेल्दै थिए । दरबार स्कुलको बिदा थियो । भूकम्प आउँदा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर सुदूरपश्चिम सिकार खेल्न गएका थिए । उनले भूकम्पको जानकारी पाउन चार दिन लागेको थियो । उनलाई घोडचढीबाट सूचना पठाइएको थियो । २० दिनपछि मात्रै जुद्धशमशेर काठमाडौं आएका थिए ।

    ११. १९९० सालको भूकम्पबाट मुलुक सामान्य अवस्थामा फर्कन चार वर्ष लागेको जोशीले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । मोहनशमशेरले ऋण मिनाहा गरेर सहयोग गरेका थिए ।

    १२. १९९० सालको भूकम्प अगाडि पाठ्यक्रममा भूकम्प समावेश भएकै थिएन । भूकम्पपछि बबरशमशेरका छोरा ब्रह्मशमशेरले भने ‘नेपालको महाभूकम्प १९९० साल’ पुस्तक लेखेर त्यसमा सहयोग गरेको आफूले पाएको जोशीले बताएका छन् ।

    १३. १९९७ सालमा त्रिचन्द्र कलेजबाट आईए पास गरेका जोशीले २००२ सालमा बीए पास गरेका थिए ।

    १४. जोशीलाई काठमाडौं विश्वविद्यालयले २०६७ साल भाद्र २ गते महाविद्यावारिधि प्रदान गरेको थियो ।

    १५. २००१ मा राणा प्रधानमन्त्री जुद्धशमशेरको निगाहामा बनेको ‘औद्योगिक–व्यापारिक समाचार संग्रह अड्डा’ मा जोशीले जागिर सुरु गरेका थिए ।

    १६. जोशीको पहिलो जागिर निगाहाको नभएर गोरखापत्रमा प्रकाशन भएको विज्ञापनमा भिडेर पाएका थिए । पाँच पदमा ३० जनाले आवेदन दिएका थिए । पहिलो नम्बरमा आएका नयनबहादुर केसीले छोडेकाले बैकल्पिक उम्मेदवार जोशीले जागिर पाएका थिए ।

    १७. २००१ साल दशैं आसपासबाट जोशीको सरकारी जागिर सुरु भएको थियो । जागिर हुँदा उनी बीए पढ्दै थिए । जागिरको योग्यता आईए निर्धारण गरिएको थियो ।

    १८. औद्योगिक–व्यापारिक समाचार संग्रह अड्डा जनताका छोरा भीमबहादुर पाँडेको नेतृत्वमा बनेको थियो । पाँडे कलकत्ता विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा स्नातकोत्तर गरेर नेपाल आएका थिए । पाँडेकै नेतृत्वमा जोशीले जागिर गरेका थिए ।

    १९. नेपाल संयुक्त राष्ट्रसंघको सदस्य बन्नु अगाडि नै सन् १९४९ नोभेम्बरदेखि सन् १९५० को फेबु्रअरीसम्म भारतको राजधानी नयाँदिल्लीमा एक तालिम भयो । तथ्यांक संकलनको त्यही तालिम लिएर आउनेहरुमा सत्यमोहन पनि एक थिए । तालिम लिएर देशभरको तथ्यांक संकलनको तयारी हुँदै गर्दा नेपालमा राणाशासन ढलेर थियो । प्रजातन्त्रको स्थापना भएको थियो ।

    २०. राणाशासन ढल्नुलाई जीवनकै एक अविस्मरणीय क्षण मान्छन् जोशी । जन्मँदै पेटमै सैन्य उपाधि पाउने राणाशासन सुन्नेभन्दा भोग्नेलाई धेरै जानकारी हुने भएको भन्दै उनले त्यो क्षण जीवकै अविस्मरणीय भनेका छन् । सिंहशमशेरका छोरा अर्जुनशमशेरलाई पेटमै हुँदा जर्नेल घोषणा गरिएको तथ्य दिँदै जोशीले जहानियाँ राणा शासनको कुरीति अनुभव गरेका छन् ।

    २१. १९९७ मा शुक्रराज शास्त्रीलाई टेकुमा झन्ड्याएर मारेको दृश्यका जोशी प्रत्यक्षदर्शी हुन् ।

    २२. चार सहिद मारिँदासमेत आफू पढ्ने त्रिचन्द्र क्याम्सपमा कुनै हल्लिखल्ली नभएको जोशीको अनुभव छ ।

    २३. ललितपुरका समाजसुधारक तुलसीमेहर श्रेष्ठले राणाविरुद्ध सांकेतिक आन्दोलन गरेका थिए । ‘हरे राम हरे कृष्ण, रघुपति राघव, सबको सम्पत्ति दे भगवान’ जस्ता नारा लगाइएको जुलुसमा जोशीसमेत सहभागी भएका थिए ।

    २४. २००७ सालमा त्रिभुवन परिवार भारतीय दूतावास हुँदै दिल्ली शरणमा पुगेका थिए । बालक ज्ञानेन्द्रलाई राणाले राजा घोषणा गरेका थिए । तर, काठमाडौंका नेवारहरुले ज्ञानेन्द्रलाई राजा नमानेर राणालाई राजासहित हुने कार्यक्रमहरुमा समस्या भएको जोशीले बताएका छन् ।

    २५. २००७ को क्रान्तिपछि बनेको नयाँ राणा–कांग्रेस सरकारताका भरतशमशेर नेतृत्वको गोरखा दलले आतंक मच्चाउँदा ललितपुरमा रक्षामण्डल निर्माण भएको थियो । त्यसको अध्यक्ष जोशी थिए ।

    २६. रक्षामण्डलको उपादेयता सकिएपछि त्यो समूहले ललितपुरमा विद्यालय सञ्चालन गरेको थियो ।

    २७. नेपालबाट न्यूजिल्यान्ड जान संयुक्त राष्ट्रसंघले छात्रवृत्ति दिएको थियो । तर, दक्षिणी गोलाद्र्धको पिँधको मुलुक भनेर धेरै जान डराए । जोशी डराएनन् । उनी न्यूजिल्याण्ड पुगे । न्यूजिल्याण्ड पुग्ने प्रथम नेपाली आफू भएको उनको दाबी छ ।

    २८. २०१० साल जेठमा जोशी न्यूजिल्यान्ड पुग्दा सगरमाथाको प्रथम आरोहण न्यूजिल्याण्डका एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गेले गरेका थिए ।

    २९. सगरमाथाको देशबाट सगरमाथाको प्रथम आरोहण भएकै समयमा न्यूजिल्याण्ड पुगेकाले जोशीले अत्यधिक मिडियाको चासो पाएका थिए । उनको अन्तर्वार्ता न्यूजिल्यान्डका धेरै मिडियामा आएको थियो ।

    ३०. काठमाडौं, पटना, मुजफ्फपुर, कलकत्ता, सिंगापुर, जकार्ता (इन्डोनेसिया), डार्विन (अस्टे«लिया), सिड्नी (अष्टे«लिया) हुँदै न्यूजिल्यान्डको राजधानी वेलिङ्टन अवतरण गरिएको थियो जोशीलाई ।

    ३१. न्यूजिल्याण्डबाट फर्केपछि २०११ सालमा हाल महेन्द्र गुफा भनिने ‘साहुको भ्वाङ’ मा जोशी छिरेका थिए । त्यहाँ छिर्ने आफू पहिलो भएको जोशीको दाबी छ ।

    ३२. वैदिक सनातन हिन्दू धर्मका अनुयायी जोशी २०१३ कात्तिक ३० मा भएको चौथो विश्व बौद्ध सम्मेलनका आयोजक थिए ।

    ३३. कवि चित्तधर हृदय, दयावीरसिंह कंसाकार, आशाराम शाक्यलगायतका १५ सदस्य समितिमा जोशी पनि एक सदस्य थिए । हाल जिवित एक्ला उनै जोशी छन् ।

    ३४. विश्व बौद्ध सम्मेलन पहिलोपटक श्रीलंका, दोस्रोपटक जापान र तेस्रो पटक वर्मामा भएको थियो ।

    ३५. चौंथो विश्व बौद्ध सम्मेलन टुँडिखेलको खरिबोटमा आयोजना भएको थियो ।

    ३६. सिंहदरबारको ग्यालरी बैठकदेखि अन्य सबै कोठामा अटाउन नसकेकोले खुला ठाउँमा सम्मेलन आयोजना गरिएको थियो ।

    ३७. नेपालमा भएको विश्व बौद्ध सम्मेलनमा भारतको संविधानका मस्यौदाकार डाक्टर भीमराव अम्बेडकर पनि आएका थिए । उनी पटना हुँदै विमानबाट नेपाल आएका थिए ।

    ३८. सम्मेलनमा बालकृष्ण समले ‘हरित तारा’ र भीमनिधि तिवारीले ‘सिद्धार्थ गौतम’ नामक नाटक देखाएका थिए ।

    ३९. २०१० सालमा बनारसमा चन्द्रशमशेरका छोरा मदनशमशेरको निधन भयो । उनकै स्मृतिमा २०१२ सालमा मदन पुरस्कार स्थापना गरियो ।

    ४०. पहिलो मदन पुरस्कार नै पाएका थिए सत्यमोहन जोशीले २०१३ सालमा ।

    ४१. ‘हाम्रो लोक संस्कृति’ नामक पुस्तकको लागि उनले प्रथम मदन पुरस्कार पाएका थिए ।

    ४२. जोशीले मात्रै एकल पुरस्कार भने पाएका थिएनन् । उनीसँगै अरु दुई जनाले उक्त पुरस्कार पाएका थिए । चितरञ्जन नेपालीले ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ पुस्तकको लागि पुरस्कार पाएका थिए । बलराम जोशीले ‘अधिकविभव स्थिर विद्युत उत्पादन’ पुस्तकका लागि पाएका थिए ।

    ४३. प्रथम मदन पुरस्कार पाएको कृति ‘हाम्रो लोक संस्कृति’ प्रकाशित पुस्तक नभएर पाण्डुलिपि थियो ।

    ४४. लमजुङ र तनहुँ क्षेत्रका लोक भाकाहरु टिपेर निकालेको पुस्तकबाट मदन पुरस्कार पाउन जोशी सफल भएका थिए ।

    ४५. जोशीले पाएको प्रथम मदन पुरस्कारको राशि ६ हजार रुपैयाँ हाराहारी थियो ।

    ४६. तत्कालीन समयमा सरकारको खरदार रहेर मासिक ५० रुपैयाँ तलब पाउने जोशीलाई ६ हजार ठूलो रकम थियो ।

    ४७. जोशीलाई मात्रै हैन घरमा र समाजमा पनि ६ हजार रुपैयाँ पाउनु ठूलै कुरा थियो । त्यही भएर ऋण माग्ने र सम्पत्ति बेच्न खोज्नेहरुको घरमा भीड हुने जोशीले लेखेका छन् ।

    ४८. राष्ट्रकवि माधवप्रसाद घिमिरेले समेत कपुरधारामा घर बनाउन मदन पुरस्कारकै रकम ऋण मागेको जोशीले लेखेका छन् । तर, जोशीले ऋण दिएनन् । घिमिरेले जोशीका साथी नरकान्त अधिकारीमार्फत् ऋण मागेका थिए ।

    ४९. मदन पुरस्कार पाएको कृति ‘हाम्रो लोक संस्कृति’ लाई प्रकाशन भने रत्न पुस्तक भण्डारले गरेको थियो । बनारसबाट छापेर पुस्तक रत्न पुस्तकले बजारमा ल्याएको जोशीले लेखेका छन् ।

    ५०. जोशीले लोक संस्कृतिको शब्द आफैले पहिलोपटक औपचारिक रुपमा प्रयोग गरेको दाबी गरेका छन् । झ्याउरे, असारे तथा ग्रामीण गीत भनिने कुरालाई आफूले लोक भनेको जोशीले दाबी गरेका छन् ।

    ५१. वीपी कोइराला नेतृत्वको नेपाली कांग्रेसको प्रथम जननिर्वाचित सरकारले जोशीलाई पुरातत्व तथा संस्कृति विभागको पहिलो निर्देशक बनाएको थियो ।

    ५२. तत्कालीन संख्य विभाग (हालको तथ्यांक विभाग) कुनै बेला संसदीय मामिला मन्त्रालय मातहत थियो । सचिव थिए चन्द्रबहादुर थापा । तर, तिनै थापाले जनगणना आवश्यकतै नभएको बताउने गरेको जोशीले बताएका छन् ।

    ५३. जनगणना अनावश्यक भनेर जोशीलाई भन्ने थापा राणाकालमा राणा र प्रजातन्त्रकालमा कांग्रेससँग निकट भएर पछि पञ्चायतमा राजासँग पनि उत्तिकै मिलेको जोशीले बताएका छन् ।

    ५४. २०१६ सालसम्म लुम्बिनीमा कुनै गुलजार अवस्था नभएको जोशी बताउँछन् । आफू पुरातत्व विभागको अधिकारीको हैसियतमा लुम्बिनी पुग्दा एक बौद्ध भिक्षु कटेरोमा बसेको पाएको जोशीले लेखेका छन् । ती भिक्षुले पनि अस्थायी बसोबास गरेका थिए ।

    ५५. जोशीकै अगुवाइमा २०१६ सालमा प्रधानमन्त्री वीपी कोइरालाबाट भक्तपुर दरबारमा राष्ट्रिय कला संग्रहालय उद्घाटन गरिएको थियो ।

    ५६. २०१६ सालमै भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरुको सहयोगमा जोशी नेतृत्वमा ‘नेपाल दर्शन’ कार्यक्रम गरिएको थियो । कार्यक्रमको उद्घाटन प्रधानमन्त्री वीपी कोइराला र महाराष्ट्रका राज्य प्रमुख श्रीप्रकाशले मुम्बईको ‘प्रिन्स अफ वेल्स म्युजियम’ मा गरेका थिए ।

    ५७. काठमाडौंमा दिग्विजयराज जोशीको एक काठ मिल थियो । पछि टाट पल्टियो । लिक्विडेसनमा पुग्यो । शिक्षा सचिव दीर्घराज कोइसालाई आग्रह गरेर जोशीले २०१६ मा त्यो जग्गा र अरु सरसामानको तीन लाख रकम भेला गरे । लिलाम रकमबाट त्यो जग्गा उनले राष्ट्रिय नाचघर बनाउन प्रयोग गरे ।

    ५८. २०२९ सालबाट राष्ट्रिय नाचघरलाई सांस्कृतिक संस्थानको रुपमा नेपाल सरकारले रुपान्तरण गरेको छ । त्यहाँको विशाल प्रेक्षालयको नाम सत्यमोहन जोशी राखिएको छ ।

    ५९. उपत्यकामा धमाधम पुराना मुद्रा फेला पर्न थाले । त्यसकै संकलन गर्न पुरातत्व विभागअन्तर्गत जोशीले ‘मुद्रा शाखा’ बनाए । भेटिएका मुद्राहरुको तथ्यांक संकलन सुरु गरे ।

    ६०. मुद्राकै नामबाट जाबो भन्ने शब्द आएको जोशी बताउँछन् । जयप्रकाश मल्लको पालामा फुक्दा उड्ने ज्यादै सानो मुद्रा बनेको र त्यसको नाम जाबा भएको भन्दै त्यहीँबाट जाबो हुन गएको जोशीको तर्क छ ।

    ६१. नेपालमा भेटिएका सबैभन्दा पुरानो मुद्रा मानदेवले जारी गरेको मानाङ्क हो । जोशीले पाँच किसिमका मानाङ्क जम्मा गरेका छन् ।

    ६२. राजा महेन्द्रको २०१७ साल पुस १ को कदमपछि पुरातत्व विभागबाट जोशीको जागिर खोसियो ।

    ६३. जागिर खोसिएपछि जोशीले सिर्जनात्मक काम बन्द गरेनन् । उनले पुराना नेपाली मुद्राहरुको विस्तृत जानकारी समेटेको पुस्तक ‘नेपाली राष्ट्रिय मुद्रा’ तयार गरे ।

    ६४. मुद्राबारेको पुस्तकको लागि पुनः जोशीले दोस्रो मदन पुरस्कार पाए । उनले २०१७ सालको पुस्तकको लागि पुरस्कार पाएका थिए ।

    ६५. २०१३ मा जस्तै २०१७ सालमा पनि उनको प्रकाशित पुस्तकले नभएर पाण्डुलिपिले पुरस्कार पाएको थियो ।

    ६६. पुरस्कार पाएपछि मदन पुरस्कार गुठीकै जगदम्बा प्रकाशन मालाले आफ्नो २४ औं ग्रन्थको रुपमा पुस्तक प्रकाशन गरेको थियो ।

    ६७. पुरातत्व विभागको हाकिम भएर मुद्रा शाखा खोलेर मुद्राको अनुसन्धान गर्दैगर्दा महेन्द्रबाट हटाइएका जोशीको ‘नेपाली राष्ट्रिय मुद्रा’ पुस्तकको तारिफ महेन्द्रले नै गरेका थिए ।

    ६८. मुद्राका शौखिन जोशीकै मुद्रा नेपाल सरकारले प्रकाशनमा ल्याएको थियो । प्रधानमन्त्री ओलीको पालामा अर्थमन्त्री युवराज खतिवडाले जोशीको नाम र तस्बिर अंकित २५ सयको मुद्रा लोकार्पण गरेका थिए ।

    ६९. जोशीको मुद्रा प्रकाशनमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको अभियानले काम गरेको थियो ।

    ७०. जोशीले अमेरिकाले नेपालमा चलाएको सेतो दरबारस्थित ‘नेपाल–अमेरिका सांस्कृतिक केन्द्र’मा सांस्कृतिक सचिवको जागिर गरेका थिए । पछि त्यो संस्था विघटन भएपछि उनको जागिर सकिएको थियो ।

    ७१. २०१७ सालमा पञ्चायतले जागिर खोसेपछि सुरु गरेको सांस्कृतिक सचिवको तलब मासिक साढे तीन सय रुपैयाँ थियो ।

    ७२. सहायक मन्त्रीले चलाएको पत्रिकामा समेत राम्रो तलब पाएका थिएनन् जोशीले । तत्कालीन सहायकमन्त्री केदारमान व्यथितले चलाएको सांस्कृतिक पत्रिकामा काम गरेका जोशीले ‘पानसुपारी’ स्तरको मात्रै पैसा पाएपछि छोडेका थिए ।

    ७३. महेन्द्रले निर्माण गरेको पूर्वपश्चिम राजमार्गको प्रचार गर्ने पत्रिकामा समेत जोशीले काम गरेका थिए । सुन्दरराज चालिसेसमेत उक्त पत्रिकामा काम गर्ने गर्थे ।

    ७४. जुद्धशमशेरले पद्मशमशेरलाई श्रीपेच लाएर श्री ३ बनाएको हेर्नेमा जोशी पनि थिए ।

    ७५. रेसुङ्गाका महाप्रभुको प्रस्तावमा राजगद्धी छोडेर जुद्धशमशेरले पद्मशमशेरलाई श्रीपेच लाइदिएको जोशीले लेखेका छन् ।

    ७६. अचानक श्रीपेच पाएपछि पद्मशमशेर क्वाँक्वाँ रुन थालेको जोशीले सिंहदरबारको पटाङ्गिनीमा देखेका थिए ।

    ७७. राजा महेन्द्रलाई जनकपुर नजान तत्कालीन चर्चित गुरु स्थानेश्वर महाप्रभुले भनेका थिए । महेन्द्र नमानेकाले बम काण्ड भएको थियो ।

    ७८. महेन्द्रले स्थानेश्वर महाप्रभुलाई जुन ठाउँमा गए पनि टिकट नलाग्ने व्यवस्था मिलाएको जोशीले बताएका छन् ।

    ७९. इटालीका विद्वान लुसिनो पेटिक आफ्ना मित्र गुसेप तुच्चीसँग २००७ सालपछि नेपाल आए । नेपाल आएर पूर्वीय सभ्यताको अनुसन्धान गरे । ‘मेडिकल हिस्ट्री अफ नेपाल’ भन्ने पुस्तक लेखे ।

    ८०. इटालीयन विद्वानको पुस्तकको सन्दर्भ ग्रन्थको एक ठाउँमा ‘कलाकार अरनिको चीन पुगेका थिए । उनको वर्णन चीनको युआन वंशको इतिहासमा पाइन्छ’ लेखिएको देखे जोशीले । यहीबाट उनले अरनिकोको खोजी सुरु गरे ।

    ८१. चीनमा बौद्ध धर्मको प्रभावबारेमा अध्ययन गर्न जोशी २०१६ सालमा चीन पुगे । नेपाल, बर्मा हुँदै चीन पुगेको टोलीले राजधानी बेइजिङमा एक विशाल श्वेत चैत्य देख्यो । यहाँका स्थानीयले त्यो नेपाली कलाकार अरनिकोले बनाएको बताए । अरनिकोबारेमा त्यहाँ लेखिएको पुस्तक दिए । यो कुराले जोशीलाई अरनिकोको बारेमा खोज्न थप हौसला बढ्यो ।

    ८२. चिनियाँ भाषामा विदेशीलाई भनिने आनिक शब्दबाटै अरनिको भएको भन्दै जोशीले अरनिकोको घर ललितपुर भएको अनुमान गरेका छन् ।

    ८३. १३औं शताब्दीमा ८० सदस्यीय नेपाली कलाकारको टोली नेताको रुपमा चीन गएका अरनिको ६२ वर्षको उमेरमा सन् १३०६ मा मृत्यु भएको बताएका जोशीले अरनिको चीनको युआन वंशका कुब्लाई खाँपछि सम्राट चंग सङको पालामा समेत कलाकारिता गरेको जोशीले लेखेका छन् ।

    ८४. अरनिकोको जीवनी नेपालभाषा र नेपाली भाषामा लेखेका जोशीले अरनिकोलाई चीनले मिङ हुई अर्थात् कुसाग्र बुद्धिको प्रतीक जस्तो चीनका सम्राट तथा मन्त्रीहरुलाई दिइने पदवी दिइएको लेखेका छन् ।

    ८५. प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओलीले चीन भ्रमण गर्दा जोशीले लेखेर साझा प्रकाशनले छापेको ‘कलाकार अरनिको’ पुस्तक लिएर चीन गएका थिए ।

    ८६. २०२२ सालको अन्ततिर चीनमा नेपाली भाषा शिक्षकको रुपमा पुग्दा माओको सांस्कृतिक क्रान्ति सुरु भएको थियो । अरनिकोले बनाएको चैत्य भत्काउलान् भनेर साङ्लो बाँधिएको थियो । यसको प्रत्यक्ष अनुभव गर्न पाए जोशीले । विदेशीले पनि श्रम गर्नुपर्ने नियमअनुसार उनले पनि श्रम गरेको बताएका छन् ।

    ८७. पहिलोपटक २०१६ मा घुमन्ते र बाँकी चारपटक चीनमा भाषा शिक्षकको रुपमा गएको समयमा अरनिकोको खोजीमा जोशीले धेरै मेहनत गरेका थिए । त्यसकै फलस्वरुप आज नेपाली भाषामा अरनिकोबारेमा धेरै जानकारीहरु सार्वजनिक छन् ।

    ८८. २०२७ सालमा कर्णालीको व्यवस्थित अध्ययन र खोजको लागि सत्यमोहन जोशी नेतृत्वको पाँच सदस्यीय टोली कर्णाली पुगेको थियो । सदस्यहरुमा कल्चरल इन्थ्रोपोलोजिस्ट विहारीकृष्ण श्रेष्ठ, भूगोलशास्त्री स्थिरजंगबहादुर सिंह, भाषाशास्त्री चुडामणि बन्धु र संस्कृतिविद् प्रदीप रिमाल रहेका थिए ।

    ८९. अमेरिकाको भाषाबारेमा अध्ययन गर्ने संस्था समर इस्टिच्युट अफ लिंग्विस्टिकले ल्याएको पाँच जना यात्रु बोक्ने जहाज चढेर जोशीको टोली कर्णालीको जुम्लामा अवतरण भएको थियो । २०२७ साल वैशाख २९ मा मध्यान्ह १२ बजे उडेको टोली दुई घन्टामा जुम्ला ओर्लिएको थियो ।

    ९०. कर्णालीको अध्ययन टोलीले जुम्ला सदरमुकाम खलङ्गामा ओर्लिएर अञ्चलाधीश बद्रीविक्रम थापासँग बुझ्दा असुरक्षाको कारण देखाएर काठमाडौं फिर्न आग्रह गरेका थिए । तर, जोशी नेतृत्वको टोलीले अडान लिएर कर्णाली क्षेत्रमा दुई महिना बिताए । उनीहरुलाई तिब्रिकोट बोहरा गाउँका महाशङ्कर देवकोटा, जुम्ला लुङ्खुका तुङ्गनाथ पाध्या, लक्ष्मीनिधि उपाध्याय, गौरीकान्त न्यौपाने, पद्मशरण पाध्या, हाटसिङ्जाका धनलाल हमाल आदिले अनुसन्धानमा सहयोग गरेका थिए ।

    ९१. कर्णाली पुगेर आएपछि पाँचै जनाले संयुक्त पुस्तक निकालेका थिए । सत्यमोहन जोशीले ‘कर्णाली लोक संस्कृति इतिहास’, स्थिरजंगबहादुर सिंहले ‘कर्णाली लोक संस्कृति–भौगोलिक दृष्टिकोण’, विहारीकृष्णले ‘कर्णाली लोक संस्कृति–जनजीवन’, चुडामणि बन्धुले ‘कर्णाली लोक संस्कृति–भाषा’ र प्रदीप रिमालले ‘कर्णाली लोक संस्कृति–साहित्य संगीत कला’ नामक विभिन्न भागमा पुस्तक बाँडिएको थियो ।

    ९२. कर्णाली लोक संस्कृतिका पाँच श्रृङ्खलाहरु नेपाल प्रज्ञा प्रतिष्ठानले गोविन्द वियोगीको मातृभूमि छापाखानाबाट छपाएको थियो ।

    ९३. कर्णालीका लोक संस्कृतिका पाँचै जनाको पाँच श्रृङ्खलाले २०२८ सालको मदन पुरस्कार पाएका थिए । २०२९ कात्तिक १७ गते प्रदान गरिएको मदन पुरस्कार पाँच जनाले पाएको त्यो पहिलो घटना थियो ।

    ९४. अहिलेसम्म तीनपटक मदन पुरस्कार पाउने एक्ला व्यक्ति सत्यमोहन जोशी हुन् । मदन पुरस्कार गुठीले एकपटकमात्रै मदन पुरस्कार दिने नयाँ नीति ल्याएकोले अब तीन पटक पुरस्कार पाएको एक्लो रेकर्ड जोशीको मात्रै हुने भएको छ ।

    ९५. ८४ वर्ष अगाडि मात्रै नेपालमा नेपाली भाषाको मौलिक नाटक मञ्चन भएको थियो । विक्रम संवत् १९९५ मा दरबार हाईस्कुलमा मञ्चन भएको नाटकको नाम थियो ‘मुकुन्द इन्दिरा’ । निर्देशक थिए बालकृष्ण सम ।

    ९६. मुकुन्द इन्दिरा यति हिट भयो कि समले कप्तानबाट मेजरमा बढुवा पाए । राम्रोसँग व्यवस्थापन गरेको भन्दै दरबार हाईस्कुलका हेडमास्र्टर रुद्रराज पाण्डेले गोरखा दक्षिणबाहु पदक पाएका थिए ।

    ९७. नाटकलाई जुद्धशमशेरले समेत औधी मन पराएका थिए । सिंहदरबारमा समेत नाटक देखाइएको जोशी बताउँछन् । नारायणहिटीमा लगेर राजाले चाँदीका थालमा कलाकारहरुलाई भोजन गराएको चर्चा चलेको जोशीले लेखेका छन् ।

    ९८. २०१९ सालमा जोशी प्रज्ञा प्रतिष्ठानमा भएको समयमै पहिलोपटक बृह्त नेपाली शब्दकोष प्रचलनमा आएको थियो । बनारसको भार्गवभूषण प्रेसबाट छापेर ल्याइएको शब्दकोषको नयाँ अवतार बृहत् नयाँ शब्दकोष जोशीको अगुवाइमै तयार भएको उनले उल्लेख गरेका छन् ।

    ९९. २०२८ सालमा इरानको राजतन्त्रले २५ सय वर्ष पुरा गरेको अवसरमा राजा वीरेन्द्रको इरान भ्रमणलाई लिएर नेपाल–इरान सम्बन्धको पुस्तक तयारीको जिम्मा जोशीलाई आइपरेको थियो । तत्कालीन इरानका राजा शाहंशाह रेजा पहलवीले लेखेको पुस्तक ‘मिसन फर फाइ कन्ट्री’ समेत हेरर उनले पुस्तक तयार गरेका थिए । पुस्तकको लेखनवृत्तको लागि जोशीलाई पाँच हजार रुपैयाँ दिइएको थियो । तर, अंग्रेजीमा अनुवाद गर्नेलाई पाँच गुणा धेरै दिइएको जोशीले बताएका छन् ।

    १००. नेपाली नयाँ राष्ट्रगान सयौं थुँगा फूलका हामी.. का छनोट समितिका संयोजक थिए जोशी । चौध सदस्यीय समितिको संयोजक हुन आफूलाई तत्कालीन संस्कृतिमन्त्री प्रदीप ज्ञवालीले आग्रह गरेको जोशीले बताएका छन् ।

    १०१. सत्यमोहन जोशी हुलाक टिकट संकलनका सौखिन थिए । उनले चन्द्रशमशेरकालीन हुलाक टिकटबाट संकलन सुरु गरेका थिए । पछि उनै जोशीकै हुलाक टिकटसमेत प्रचलनमा ल्याइयो । तत्कालीन केपी ओली नेतृत्वको सरकारले २०७६ चैत ९ गते जोशीको नाममा हुलाक टिकट प्रकाशनको निर्णय गरेको थियो । २०७७ माघ २० मा राष्ट्रपति विद्यादेवी भण्डारीले हुलाक टिकटमा टाँचा लगाएर उद्घाटन गरेकी थिइन् ।

    १०२. सत्यमोहन जोशी दम्पत्तीले आफ्नो मृत्युपर्यन्त शरीर दान गरेका छन् । शरीर दान उनीहरुले ललितपुरको किस्ट शिक्षण मेडिकल कलेजलाई गरेका हुन् । उक्त मेडिकल कलेजबाट राम्रो सेवा पाएकाले दान गरेको जोशीले बताएका छन् । आफ्नो शरीर दानमा श्रीमतीले गरेको साथलाई तारिफ गर्दै उनी भन्छन्, ‘उनले बाँचुञ्जेलमात्र हैन, मृत्युपछि पनि मसँगै रहने निधोमा पुगिन् ।’

  • सत्यमोहनका तस्विराङ्कित पर्चा अन्तर्राष्ट्रिय उडानमा राख्न पहल गरिने

    सत्यमोहनका तस्विराङ्कित पर्चा अन्तर्राष्ट्रिय उडानमा राख्न पहल गरिने

    ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् डा. सत्यमोहन जोशीका बारेमा तयार पारिएका तस्विर, पुस्तक तथा पर्चा र चित्र आदि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा राख्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत पहल गरिने बताएकी छन् ।

    दुई वर्षअघि माघ १५ गते कोरिएका ४०० मध्ये छानिएका ४० चित्रको सङ्ग्रह क्यानभासमा ‘सत्यमोहन बा’ चित्रकला प्रदर्शनी कार्यक्रमको आज उद्घाटन गर्दै उनले नेपाली कला अनि वाङ्मयको क्षेत्रमा जोशीले  पुर्‍याएको योगदानको कदर गर्दै अघि बढ्ने भनाइ राखिन् ।

    उनले भनिन्, ‘मुलुकका साथै विशेष गरी ललितपुरले जोशी जस्ता विशिष्ट व्यक्ति पाउनु अत्यन्तै गर्वकाे विषय रहेको छ ।’ उनले एउटै चित्रले जोशीका जीवनका बारेमा उनको कुरा बोल्न सक्ने भएकाले सो चित्र कोर्ने कलाकारको राष्ट्रले उच्च सम्मान गर्ने विश्वास लिएको धारणा थियो ।

    सत्यमोहन लोक साहित्य भवनलाई आफ्नो व्यक्तिगततर्फबाट ५० हजार सहयोग गर्ने जनाउँदै मन्त्री भुसालले पर्यटन मन्त्रालयलाई समेत सो काममा ध्यान दिन आग्रह गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

    शताब्दीपुरुष जोशीले आफ्नो जीवन रहँदै कोरिएका चित्र प्रदर्शन गरिनु आजसम्मको सबैभन्दा सफल दिन रहेकामा खुसी व्यक्त गरे । उनले भने, ‘योङ पिकासो जस्ता अन्य संस्थाले पनि गाउँगाउँमा पुगरे यस्ता सिर्र्जनशील प्रतिभाको खोजी गरी बाहिर ल्याएर राष्ट्रियकरण गर्न जरुरी छ ।’

    ललितपुर क्षेत्र नं २ प्रतिनिधिसभाका सांसद कृष्णलाल महर्जनले मुलुकका युवामा देखिएको चित्रकलाप्रतिको ऊर्जा र उत्साह प्रशंसनीय रहेको धारणा राख्दै सोलाई थप बढवा गर्न जरुरी रहेको औल्याए।

    नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले ललितकला प्रज्ञा–प्रतिष्ठान र पिकासोले कला क्षेत्रको विकासका लागि गरेका काम उदाहरणीय रहेको उल्लेख गर्दै सो पदर्शनीले कलाकारको समेत सम्मान गर्दै जाने भनाइ राखे ।

    पिकासोका निर्देशक एवं कलाकार अजय देशारले आफूहरुले जोशीको चित्र तेल अनि पानी तथा सिसाकल र एक्रिलिकको प्रयोग गरेर कोराएको बताए । उनले भने, ‘चित्रकलामा भाग लिएका ११ देखि ७० वर्ष सम्मका चित्रकारको कलालाई सरकारले उच्च मूल्याङ्कन गर्नुपर्छ भन्ने हामी चाहान्छौं ।’

    जोशीका सो चित्र बिक्री गरेर सङ्कलन भएको कूल रकममा ३५ प्रतिशत कलाकार अनि २० प्रतिशत लोक साहित्य भवन तथा १५ प्रतिशत पिकासोका साथै बाँकी रहेको ३० प्रतिशत गाउँगाउँमा गएर कलाको विकासका लागि खर्च गरिने देशारले जानकारी गराए । रासस

     

  • पहिलो ई-पासपोर्ट सत्यमोहन जोशीलाई

    पहिलो ई-पासपोर्ट सत्यमोहन जोशीलाई

    काठमाडौ । नेपालमा विद्युतीय राहदानी (ई-पासपोर्ट) वितरण थालिएको छ । पहिलो ई-पासपोर्ट शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरिएको छ ।

    राजधानीमा आज आयोजित औपचारिक समारोहबीच परराष्ट्रमत्री नारायण खड्काले १०२ वर्षीय जोशीलाई पासपोर्ट प्रदान गरे ।

    नेपालमा योसँगै तेस्रो पुस्ताको पासपोर्ट औपचारिक रूपमा प्रगोगमा आएको छ । यसअघि हस्तलिखित, एमआरपी राहदानी प्रचलनमा थियो । ई-पासपोर्टका लागि सर्वसाधारणले भने केही साता प्रतीक्षा गर्नुपर्ने भएको छ ।

  • एमाले महाधिवेशनलाई शताब्दी पुरुष जोशीको शुभकामना (भिडिओ)

    एमाले महाधिवेशनलाई शताब्दी पुरुष जोशीको शुभकामना (भिडिओ)

    काठमाडौं । नेकपा (एमाले) को १० औं महाधिवेशनका लागि संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीले शुभकामना दिएका छन् ।

    भिडिओमार्फत महाधिवेशन सफलताको शुभकामना दिँदै जोशीले तत्कालीन केपी ओली नेतृत्वको सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नाराको प्रशंसा गरेका छन् ।

    उक्त नारा आफूलाई ज्यादै राम्रो लागेको बताउँदै जोशीले खान पाएरमात्रै देश समृद्ध नहुने र त्यसका लागि देशको कला, संस्कृति पनि समृद्ध हुनुपर्नेमा जोड दिएका छन् ।

  • सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

    सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

    ललितपुर । शताब्दी पुरुष डा सत्यमोहन जोशी ९ दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेकाले चिकित्सकको सल्लाह बमोजिम ९ दिनपछि आज डिस्चार्ज गरिएको हो ।

    जोशीको स्वास प्रश्वासमा समस्या, छातीको संक्रमण, मुटुको चालमा गढबडी साथै रक्तचापमा कमी देखिएपछि जेठ २६ गते महालक्ष्मीस्थानस्थित किष्ट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

    पीसीआर रिर्पोट नेगेटिभ आएपनि निमोनिया संक्रमण भएको थियो । क्षयरोग सम्बन्धी परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । हाल उनको रक्तचापमा देखिएको गढबडी नियन्त्रणमा आइसकेको अस्पतालले जानकारी दिएको छ ।

  • सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना गर्ने सरकारको तयारी

    सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना गर्ने सरकारको तयारी

    ललितपुर । सरकारले संस्कृतिविद सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना गर्ने भएको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको जिवीत इतिहास बोकेका संस्कृतिविद जोशीको नाममा विद्यालय स्थापना गर्ने चाहाना व्यक्त गरेपछि सो सन्देश दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ जोशी निवास पुगेका छन्  ।

    मन्त्री श्रेष्ठले संस्कृतिविद् जोशीको नाममा सामुदायीक विद्यालय खोल्ने तयारी थाल्न र उनले चाहेकै स्थानमा विद्यालय स्थापना गर्न सरकारले पहल थाल्ने बताएका छन् ।

    ‘राष्ट्रपति ज्युले संस्कृतिविद जोशीको स्वाथ्य अवस्थाबारे जानकारी लिन र उहाको नाममा विद्यालय स्थापना गर्न चाहना व्यक्त गरेपछि राष्ट्रपतिको सन्देश लिएर म नेपालका जिवीत इतिहार बोकेका संस्कृविद जोशीको निवासमा आएको हुँ,’जोशीको निवासका आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले भने।

    उनको नाममा खुल्ने विद्यालय नेपालकै नमुनाको हुनेछ, यस्ले उत्कृष्ठ सामुदायीक विद्यालयको सूचीमा पर्नेछ,’मन्त्री श्रेष्ठले थपे । ललितपुर महानगरपालिकाका मेयर चिरिवावु महर्जन र एमाले ललितपुर पार्टी अध्यक्ष हरीकृष्ण ब्यञ्जनकार सहित संस्कृतिविद जोशी निवास पुगेका मन्त्री श्रेष्ठले उनको स्वाथ्य अवस्थाबारे जानकारी लिएका छन्।

    संस्कृतिविद जोशीले मुलुकलाई दिनुपर्ने सबै कुरा दिइसकेको छ। अब सरकारले उनको नाम अनन्तकालसम्म रहनेगरी विद्याकुञ्ज अर्थात विद्यालय निर्माण गर्ने मन्त्री श्रेष्ठको भनाई छ । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले समेत जोशीको स्वाथ्य अवस्थाबारे जानकारी लिन आग्रह गरेको बताए ।

    आफ्नो निवास पुगेका मन्त्री श्रेष्ठ सहितको टोलीलाई अभिवादन गरेर स्वागत गर्दै १ सय १ वर्ष पुरा गरेका संस्कृतिविद जोशीले आफु स्वाथ्य भएको प्रतिक्रिया दिएका छन् ।

    राष्ट्रप्रमुख एवं राष्ट्रपति विद्यादेवी भण्डारी र सरकार प्रमुख एवं प्रधनमन्त्री केपी ओलीको सन्देश लिएर आफ्नो निवासमा आउनु गौरब महशुस भएको प्रतिक्रिया दिदै संस्कृतिविद जोशीले भने,‘अहिलेसम्म मलाई सरकारले सबै सहयोग गरिसकेको छ ,मेरो नाममा विद्यालय खोल्ने तयारी गर्नु समस्त संस्कृतिविद्, इतिहासविद् र साहित्यकारको सम्मान भएको महसुस गरेको छु ।’

    ‘मेरो विषयमा राष्ट्रपति ज्युले सोधनी गर्नु अत्यन्तै खुसीको विषय हो, शिक्षामन्त्री लाई देखाउदै देशको शिक्षामन्त्री समेत आएर मेरो स्वाथ्य अवस्था बुझ्ने र मेरो नाममा विद्यालय खोल्ने घोषणा गर्नु महत्वपुर्ण विषय हो यस्ले गर्दा मलाई अति गौरब महसुस भएको छ ’जोशीले भने ।

    उनले तस्बीर अंकित हुलाक टिकटमा राष्ट्रपतिले टाचा लगाउनुमा कुनै गुनासो समेत नभएको बताए । उनले शिक्षामन्त्रीसँग भने,‘सरकारसंग मेरो कुनै गुनासो छैन, मेरो तस्बीर अंकित हुलाक टिकटमा राष्ट्रपति ज्युले प्रथम टाचा लगाउनु गौरबको विषय हो, ललितपुर महानगरपालिकाको संयोजनमा मेरो तस्बीर अंकित सिक्का बजारमा ल्याउनु महत्वपुर्ण विषय हो । अब मेरो नाममा विद्यालय खोल्ने राष्ट्रपति स्वयंले राख्नु शौभाग्यको विषय हो ।’

    आउदो बैशाख ३० गते १ सय २ वर्ष वर्ष पुरा गर्नुहुने संस्कृतिविद जोशी जिवीत अवस्थामै उहाको नाममा विद्यालय स्थापना गर्ने तयारी शुरु गरेको छ ।

    आगामी आबमा बजेट व्यवस्था गरी विद्यालय स्थापना गर्ने तयारी गरेको जानकारी गराउदै मन्त्री श्रेष्ठले भने,‘उहाँको नाममा खुल्ने विद्यालयको नाम सत्यमोहन जोशी माध्यमिक विद्यालय हुनेछ । मुल ढोकामा उहाको पुर्णकदको प्रतिमा रहनेछ । सुन्दर बगैचाको बिचमा बन्ने विद्यालय दरबार हाइस्कुल जस्तै भब्य हुनेछ । ’

    मन्त्री श्रेष्ठले त्यसो भनिरहदा सञ्चारकर्मीले जोशीलार्इ सोधे –कहाँ विद्यालय स्थापना गर्दा राम्रो हुन्छ त ? लगत्तै संस्कृतिविद जोशीले भने–यही स्थानमा स्थापना गर्नुपर्छ भन्ने छैन जहाँ आवश्यकता परेको छ त्यही स्थानमा बनाउनुस । जुन जिल्लाका विद्यार्थीले पढ्न पाएका छैनन त्यो स्थानमा स्थापना गर्नुस ।’

    लगत्तै मन्त्री श्रेष्ठले यस विषयमा मन्त्रालयले प्रकृया पुरा गर्ने प्रतिबद्धता ब्यक्त गरे। भने,‘तपाई जिवीत भएकै अवस्थामा मुलुकले सत्यमोहन जोशी माध्यमिक विद्यालय पाउनेछ, यो विद्यालय देशकै नमुनाको हुनेछ ।’ भेटका क्रममा ललितपुर महानगरपालिकाका मेयर महर्जनले राष्ट्रपतिको चाहनाको प्रशंसा गर्दै यस्ले ललितपुर महानगर र ललितपुरवासीले गौरब महसुस गरेको बताए।

    मुलुककै गहना संस्कृतिविद जोशीको चाहना पुरा गर्न महानगरले कुनै कसर बाकी नराख्ने उनले प्रतिबद्धता जनाए । सो अवसरमा एमाले ललितपुर अध्यक्ष ब्यञ्जनकारले संस्कृतिविद जोशीको नाममा विद्यालय स्थापना गर्न सम्पुर्ण सहयोग गर्ने बताए ।

  • शताब्दी पुरुष सत्यमोहन जोशीले गरे मरणोपरान्‍त शरीर दान

    शताब्दी पुरुष सत्यमोहन जोशीले गरे मरणोपरान्‍त शरीर दान

    काठमाडौं । वाङ्मय शताब्दी पुरुष डा. सत्यमोहन जोशी र उनकी पत्नी राधादेवी जोशीले मरणोपरान्त शरीर दानको घोषणा गरेका छन् ।

    सत्यमोहन १०१ वर्षमा हिँडिरहेका छन् भने पत्नी राधादेवी ९७ वर्षकी भइन् ।

    चिकित्सा विज्ञान प्रयोगात्मक ज्ञानका लागि जोशी दम्पतीले मरणोपरान्त आफ्नो शरीर दान गरेको बताएका छन् । ललितपुर महानगरको प्रांगणमा नइ प्रकाशनले आयोजना गरेको एक कार्यक्रमका बीच उनीहरूले शरीर दानको घोषणा गरेका हुन् ।

    घोषणा कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनसमेत उपस्थिति थिए । केही दिनअघि सरकारले जोशीको तस्बिरअंकित हुलाक टिकट सार्वजनिक गरिसकेको छ । जिवित हुँदा नै हुलाक टिकट प्रकाशित हुने सत्यमोहन जोशी पहिलो नागरिक हुन् । त्यस्तै नेपाल राष्ट्र बैंकले जोशीको तस्बिरअंकित सिक्का सार्वजनिक गरेको थियो ।

    
    
    

     

  • राष्ट्रपतिबाट वाङ्मय शताब्दी पुरुषको तस्वीराङ्कित हुलाक टिकटमा टाँचा

    राष्ट्रपतिबाट वाङ्मय शताब्दी पुरुषको तस्वीराङ्कित हुलाक टिकटमा टाँचा

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको तस्वीराङ्कित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरेकी छिन्।

    फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयद्वारा आज राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपतिले जोशीको तस्वीराङ्कित हुलाक टिकटमा टाँचा प्रदान गरेकी हुन् ।

    जोशीको तस्वीराङ्कित रु १० को हुलाक टिकट १० लाख थान छापिएको हुलाक टिकट व्यवस्थापन कार्यालयले जनाएको छ ।गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शताब्दी पुरुष जोशीको तस्वीराङ्कित छपाइ भइआएको हुलाक टिकट प्रकाशन गर्न स्वीकृत दिने निर्णय गरेको थियो ।

    गत चैत ९ गतेको मन्त्रिपरिषद् बैठकले सन् २०२० को फिलाटेलिक कार्यक्रम स्वीकृत गर्दै हुलाक टिकट प्रकाशन गर्ने निर्णय गरेको थियो । कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जोशीद्वारा लिखित पाँच पुस्तक र जोशीले सिर्जना गर्नुभएका गीतसङ्ग्रह ‘क्रान्तिका लहर’ नामक सिडी राष्ट्रपतिसमक्ष राखेका थिए ।

    जोशीको जन्म १९७७ वैशाख ३० गते ललितपुरको इखुम्बहालमा भएको थियो । कला, संस्कृति र साहित्यका धनी जोशीले २०७४ वैशाख २१ गते वाङ्मय शताब्दी पुरुषको उपमा पाएका थिए ।

    उनको सम्मानमा नेपाल राष्ट्र बैङ्क, मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाबाट उहाँको तस्वीराङ्कित चाँदीको सिक्का निष्काशन गरिएको छ । दुई हजार पाँच सयका २५ हजार थान, एक हजारका २५ हजार थान र एक सयको १० हजार थान दरको सिक्का निष्काशन गरिएका छन् ।

    सो अवसरमा सञ्चार तथा सूचनाप्रविधिमन्त्री पार्वत गुरुङले हुलाक टिकट प्रकाशनको इतिहासमा आफ्नो जीवनकालमै हुलाक टिकट प्रकाशन हुने सामाजिक व्यक्तित्वका रुपमा पहिलो व्यक्ति जोशी रहेको बताए ।

  • दुई मूर्धन्य व्यक्तित्व हुलाक टिकटमा, नामअघि डा. लेखिंदा कौतुहल

    दुई मूर्धन्य व्यक्तित्व हुलाक टिकटमा, नामअघि डा. लेखिंदा कौतुहल

    काठमाडौं । मन्त्रिपरिषद्को गत माघ ८ गते बसेको बैठकले राष्ट्रकवि स्व. माधवप्रसाद घिमिरे संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीको तस्वीर अंकित हुलाक टिकट प्रकाशन गर्ने निर्णय गर्‍यो । दुई आदरणीय व्यक्तित्वहरुलाई राज्यले दिएको सम्मानलाई सबैले सराहना गरे । तर, हुलाक टिकटको तस्वीर सार्वजनिक भएपछि भने विभिन्न टीका-टिप्पणी भएका छन् ।

    टिकटमा घिमिरे र जोशी दुवैको नामअगाडि ‘डा.’ लेखिएपछि सामाजिक सञ्जालमा चर्चाको विषय बनेको हो । ‘डा.’ को अर्थ डाक्टर हो, जो दुईथरी मानिसहरुले प्रयोग गर्छन् । एउटा चिकित्साशास्त्र पढेका र अर्को कुनै विषयमा विद्यावारिधि गरेका । घिमिरे र जोशी दुवै याे श्रेणीमा पर्दैनन् । यद्यपि, उनीहरू दुवै मानार्थ विद्यावारिधि प्राप्त हुन् ।

    किन लेखियो डा. ?

    मन्त्रिपरिषदले दुई व्यक्तित्वहरुको सम्मानार्थ उनीहरूको तस्वीर अंकित हुलाक टिकट प्रकाशित गर्ने निर्णय गर्यो । मन्त्रिपरिषदको निर्णयमा उनीहरुको नाम मात्रै उल्लेख छ । मानार्थ विद्यावारिधि प्राप्त गर्नेले नामअघि डा. प्रयोग गर्ने प्रचलन सामान्यतया छैन । त्यसोभए हुलाक टिकटमा कसरी डा. थपियो त ?

    यस विषयमा सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका प्रवक्ता डिल्लीराम शर्मासँग जिज्ञासा राख्दा उनले अनभिज्ञता दर्शाए ।

    नेपाल प्रेससँग कुरा गर्दै उनले भने, ‘मन्त्रिपरिषद्को निर्णय मैले हेरिसकेको छैन, यसमा थप केही बोल्न मिल्दैन ।’

    हुलाक सेवा विभागका निर्देशक तथा प्रवक्ता विनोदप्रसाद उपाध्याय पनि यसबारे आफूलाई जानकारी नभएको बताउँछन् ।

    उच्च स्रोतका अनुसार दुई व्यक्तित्वहरुकै इच्छामुताबिक नामअघि डा. राखिएको हो । टिकट प्रकाशनको प्रयोजनार्थ दुवैतर्फबाट पठाइएको बायोडाटामा नामअघि डा. उल्लेख गरिएको स्रोतको भनाइ छ । माधव घिमिरे जीवित छँदै उनको बायोडाटा सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा प्राप्त भएको थियो ।

    उनीहरु दुवैजनाले मानार्थ विद्यावारिधि उपाधि प्राप्त गरेको आधारमा कतिपय संघ-संस्थाले सम्मानपूर्वक नामअघि डा. लेख्ने गर्थे । नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, सम्वर्द्धन र विकासमा गरेको योगदान कदरस्वरूप जोशीलाई काठमाडौँ विश्वविद्यालयले विद्यावारिधि मानार्थ प्रमाणपत्र प्रदान गरेको थियो । नेपाली साहित्यमा अविच्छिन्न योगदान पुर्‍याएका राष्ट्रकवि घिमिरेलाई त्रिभुवन विश्वविद्यालयले नै २०७२ सालमा मानार्थ विद्यावारिधिको उपाधि दिएको हो । घिमिरेलाई सरकारले २०७४ माघ २६ गते नेपाली सेनाको मानार्थ सहायक रथी दर्जा प्रदान गर्ने निर्णय गरेको थियो ।

    ‘जोशीले हुलाक टिकटमा नामअघि डा. लेख्दा राम्रो हुने मौखिक सुझावसमेत दिनुभएको थियो,’ स्रोतले भन्यो ।

    सामाजिक सञ्जालको चर्चा

    टिकटमा दुवै व्यक्तित्वको नामअगाडि डा. लेखिएको कतिपयलाई चित्त बुझेको छैन । सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रियाहरु आएका छन् ।

    आम सञ्चारका प्राध्यापक भानुभक्त आचार्यले फेसबुकमा ‘मानार्थ पिएचडी र ‘पीएचडी’ फरक हुन् भन्दै आलोचनात्मक टिप्पणी गरेका छन् ।

    उनले लेखेका छन्, ‘मानार्थ पिएचडीलाई नामको अगाडि डा. लेख्ने कुरा उहाँहरूमाथिको मजाक हो । लेख्नै परेमा ‘मानार्थ विद्यावारिधि (फलानो विश्वविद्यालय)’ लेख्नुपर्छ ।’

    मानार्थ पद सम्बन्धित विश्वविद्यालयका हकमा मात्रै लागू हुने उनको भनाइ थियो । उनले उदाहरण दिंदै लेखेका छन्, ‘नेपाली सेनाले भारतीय सेनाप्रमुखलाई मानार्थ सेनापतिको सम्मान दिने चलन छ । यसको अर्थ ऊनै नेपालको सेनाप्रमुख भन्ने होइन ।’

    वरिष्ठ पत्रकार तीर्थ कोइरालाले पनि हुलाकले सार्वजनिक गरेको तस्वीर पोस्ट गर्दै लेखेका छन्, ‘उहाँहरू आफैंमा पूर्ण हुनुहहुन्छ । उहाँहरूको नाम अगाडि डा. नथपेको भए अझ बढी यथार्थ र इज्जतिलो हुन्थ्यो । जे भए पनि सरकारले गरेको यो काम प्रशंसायोग्य छ ।’

    काठमाडौं विश्वविद्यालयका प्रोफेसर डा. बालचन्द्र लुइँटेल यसरी मानार्थ विद्यावारिधिमा डा. लेख्ने चलन नभएको बताउँछन् । हुलाक टिकटमा मानार्थ विद्यावारिधिलाई डा. लेखिनु अनौठो भएको उनको भनाइ छ ।

    ‘यसबारे कानून त छैन । नामको अगाडि डा. किन दिएको होला जस्ताे मलाई लाग्यो । हुलाक टिकटमा माधव घिमिरे भन्दा जति मीठो हुन्छ डा. थप्दा मीठो सुनिन्न । बाहिर पनि त्यस्तो लेख्ने चलन छैन’, उनी भन्छन् ।

  • जोशी र घिमिरेको तस्वीर अंकित हुलाक टिकट प्रकाशन गर्ने सरकारको निर्णय

    जोशी र घिमिरेको तस्वीर अंकित हुलाक टिकट प्रकाशन गर्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले सत्यमोहन जोशी र माधव घिमिरेको तस्वीर अंकित हुलाक टिकट प्रकाशन गर्ने निर्णय गरेको छ ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा यस्तो निर्णय गरिएको आज सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वतङले जानकारी दिए ।

    यसै साता बसेको मन्त्रिपरिषद बैठकले वन ऐन नियमावली कार्यविधि लागू गर्ने निर्णय गरेको छ भने वन नियमावली, २०७१ खारेज पनि गरेको छ ।

    वन मन्त्रालयको प्रस्तावमा वैज्ञानिक वन व्यवस्थापन कार्यविधिलाई नयाँ ढंगले लागु गर्ने निर्णय पनि भएको मन्त्री गुरुङले बताए । मन्त्रिपरिषद् बैठकले नेपालमा भएका जनआन्दोलनमा बेपत्ता, योद्धा, द्धन्द्धपीडितको अभिलेख गर्ने, सम्मान परिचयपत्र उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

    यसका लागि परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको संयोजकतत्वमा तीन सदस्यीय एक समिति गठन गरेको छ । नागरिक एप र डिजिटल फ्रेमवर्कबारे यसै साता भित्र वृहत पत्रकार सम्मेलन गर्ने पनि सरकारले निर्णय गरेको छ ।

     

  • सत्यमोहन जोशीदेखि नीर शाहसम्म, ३० भन्दा बढी कलाकारले अभिनय गरेको राष्ट्रिय गीत प्रिमियर

    सत्यमोहन जोशीदेखि नीर शाहसम्म, ३० भन्दा बढी कलाकारले अभिनय गरेको राष्ट्रिय गीत प्रिमियर

    काठमाडौं । राष्ट्रिय एकता दिवस एवं पृथ्वी जयन्तीको अवसरमा सोमबार ३० जना कलाकारले एकैसाथ राष्ट्रिय गीतलाई इन्टरनेट रिलिज गरेका छन् । त्यही सच्चा नेपाली बोलको गीतमा सत्यमोहन जोशीदेखि नीर शाहसम्मले अभिनय गरेका छन् । देविका बन्दना र राजन इशानको स्वर छ ।

    सत्यमोहन जोशी
    नीर शाह

    आनन्द अधिकारीको शब्द रहेको गीतमा इशानकै संगीत समावेश छ । रोशन केसीले निर्माण एवं निर्देशन गरेकी हुन् । पशुपति क्षेत्र, पाटन, लोकतन्त्र पार्क लगायतमा फिल्मांकन गरिएको गीतमा राष्ट्रियताको भाव समावेश गरिएको छ । ‘गीतले नेता एवं कार्यकर्तालाई पनि राष्ट्रियताप्रति इमान्दार बन्न दबाब दिने आशा राखेकी छु’ उनले भनिन् ।

    जोशी र शाहसहित गीतमा गौरी मल्ल, करिश्मा मानन्धर, निर्मल शर्मा, राजाराम पौडेल, दीपाश्री निरौला, दिनेश डीसी, नम्रता सापकोटा, नीराजन प्रधान, प्रशान्त ताम्राकार, आकाश श्रेष्ठ, उषा खड्गी, दिलिप रायमाझी, अनु शाह, छुल्ठिम गुरुङ, धिरेन शाक्य, सम्राट सापकोटा लगायत ३० भन्दा बढी कलाकारले अभिनय गरेका छन् । रामशरण उप्रेतीद्धारा छायांकन गरिएको भिडियोमा विक्रम स्वाँरको नृत्य निर्देशन छ ।

    हेर्नूस गीत :