Tag: सत्ता साझेदारी

  • ओली-महन्थ समझदारी नजिक, लिखित सम्झौताको तयारी

    ओली-महन्थ समझदारी नजिक, लिखित सम्झौताको तयारी

    काठमाडौं । सरकार र जनता समाजवादी पार्टी जसपाका मुद्दा सम्बोधनदेखि सत्ता सहकार्यसम्मको समझदारी नजिक पुगेका छन् ।

    बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमत्री केपी शर्मा ओली र जसपा अध्यक्ष महन्थ ठाकुरबीच भएको वार्ता निष्कर्षको नजिक पुगेको हो ।

    प्रधानमन्त्री ओली र जसपा अध्यक्ष ठाकुरको उपस्थितिमा दुवै पक्षको कार्यदलका सदस्यहरूले रेशम चौधरी लगायत बन्दीहरुको रिहाईको प्रक्रिया र मधेश आन्दोलनको क्रममा मुद्दा खेपिरहेकाहरूको न्यायिक प्रक्रियाको बारेमा जानकारी गराएका थिए ।

    कार्यदलमा सरकारको तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रधानमन्त्रीका सल्लाहकार डा. राजन भट्टराई छन् ।

    त्यस्तै जसपाबाट लक्ष्मणलाल कर्ण र सवेन्द्रनाथ शुक्ल सदस्य छन् । कार्यदलका सदस्य समेत रहेका एमाले नेता डा.राजन भट्टराईले जसपासँग्को वार्ता सकारात्मक रहेको र चाँडै निष्कर्षमा पुग्ने नेपाल प्रेसलाई जानकारी दिए ।

    स्रोतका अनुसार सोमबारसम्म महान्यायाधिवक्ता कार्यलयले मुद्दाको प्रक्रिया एउटा टुंगोमा पुर्‍याउनेछ । सरकारले मन्त्रिपरिषदबाट निर्णय गरेर फिर्ता लिन मिल्ने मुद्दा फिर्ता हुने र रेशम चौधरीसहितका केही व्यक्तिको मुद्दा भने अदालती प्रक्रियाबाटमात्रै टुंगिने भएको छ ।

    जसपाले भन्दै आएको संविधान संशोधनको मुद्दालाई पनि प्रधानमन्त्रीले सम्बोधन गर्ने भएका छन् । त्यसका लागि सरकारले विज्ञहरु सम्मिलित आयोग गर्ने समझदारी भएको छ । कुन- कुन विषयमा संशोधन गर्ने भन्ने विषयलाई समेत सरकार र जसपाबीच हुने लिखित सम्झौतामा उल्लेख गरिने जसपाका एक नेताले बताए ।

    सरकार र जसपाको महन्थ ठाकुर पक्षबीच भएको अहिलेसम्मको वार्ता र समझदारी प्रक्रियामा बाबुराम भट्टराई, उपेन्द्र यादव पक्ष भने सहभागी छैन । चाँडै हुन लागेको लिखित सम्झौतापछि जसपा केपी ओली नेतृत्वको सरकारमा सहभागी हुनेछ ।

    बाबुराम र उपेन्द्र पक्षले सरकारमा जाने कुरा नमानेमा जसपा विभाजन हुनसक्छ । तर, जसपा नेताहरु पार्टी विभाजन नहुने बताउँछन् । प्रधानमन्त्री अर्ली इलेक्सनको पक्षमा देखिएकाले मुलुक मंसिरसम्म निर्वाचनमा जानसक्ने जसपाका नेताहरू बताउँछन् ।

  • प्रचण्ड-माधवलाई जसपाको प्रश्‍न- तपाईंको पार्टी कुन हो ? (भिडियो)

    प्रचण्ड-माधवलाई जसपाको प्रश्‍न- तपाईंको पार्टी कुन हो ? (भिडियो)

    काठमाडौं । प्रतिनिधिसभा पुन:स्थापनासँगै नयाँ सत्ता समीकरणको लागि प्रचण्ड-माधव पक्ष र जसपा नेतृत्वबीच छलफल भएको छ ।

    अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई भेट्न जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठ बिहीबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा पुगेका थिए ।

    छलफलमा आगामी दिनमा सहकार्य गरेर जानको निम्ति प्रचण्ड-माधवले आफूहरूलाई प्रस्ताव गरेको जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिए । जसपा नेताहरुले प्रचण्ड-माधव पक्षको पार्टी कुन हो स्पष्ट पार्नका लागि आग्रह गरेका छन् ।

    प्रस्तावबारे पार्टीको बैठकमा छलफल गर्ने बताएको भन्दै महतोले भने ‘कसरी अगाडि बढ्ने भन्ने कुरा गर्दै हुनुहुन्थ्यो । सहकार्य गर्न सकिन्छ कि भनेर कुराहरु राख्नुभयो । तपाईंको कुन पार्टी हो ? पार्टी सिस्टममा पार्टी चाहियो । त्यो के हो ? त्यो प्रष्ट हुनुस् भनेर हामीले जिज्ञासा राख्यौं ।’

    जसपा नेताहरूले पटक-पटक गरेको सहमतिमा आफूहरुले धोका खाएको पनि स्मरण गराएका थिए । आफ्नो पार्टीका सांसद रेशम चौधरीलगायतका नेताहरू जेलमा रहेकोमा रिहाइको शर्तलाई पनि सवालको रूपमा जसपा नेताहरूले उठाएका छन् ।

    ‘हाम्रा आन्दोलनकारी साथीहरू, निर्वाचित सांसद रेशम चौधरीलगायतले अहिले पनि बन्दी जीवन विताइरहेका छन् । यी सवालहरू छन् । हामीले याे प्राथमिकताका साथ उठाएका छौं, आगामी दिनमा पनि उठाउने छौं र यसको लागि संघर्ष गर्छौं’ महतोले भने, ‘संविधानमा रहेका त्रुटि, कमिकमजोरीहरु र बन्दी रिहाइका सवालहरु समेत जुनसुकै सरकार बने पनि त्यसको अगाडि संघर्ष गर्ने हो । विगतमा पनि संघर्ष गरेको हो । आगामी दिनमा पनि संघर्ष गर्ने हो । यही कुरा भन्यौं ।’

    यसअघि हिजो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सहकार्यका लागि दाहाल र नेपाल दुवैले संयुक्त भेट गरेका थिए ।