Tag: सडक निर्माण

  • सडक नबनाउने १३ ठेकेदारको तीनपुस्ते सार्वजनिक, १२ करोड बक्यौता उठाइने (सूचीसहित)

    सडक नबनाउने १३ ठेकेदारको तीनपुस्ते सार्वजनिक, १२ करोड बक्यौता उठाइने (सूचीसहित)

    काठमाडौं । सरकारले सडक निर्माण जिम्मा लिएर अलपत्र बनाउने ठेकेदारबाट १२ करोडभन्दा बढी रकम असुल्ने अन्तिम तयारी गरेको छ । सम्झौता सकिँदासम्म काम नसक्ने १३ ठेकेदारबाट बक्यौतावापतको सो रकम असुल गर्न महालेखा नियन्त्रक कार्यालयअन्तर्गत कुमारी चोक तथा केन्द्रीय तहसील कार्यालयले तीनपुस्ते विवरण सार्वजनिक गरेर तयारी थालेको छ ।

    सडक निर्माण जिम्मा लिएर राज्यकोषलाई नोक्सान पुर्‍याएकोले ती ठेकेदारबाट १२ करोड ४६ लाख ३६३ रूपैयाँ उठाउन लागिएको हो । सडक विभाग र मातहतका कार्यालयबाट पटक-पटक ताकेता गर्दा समेत रकम बुझाउन आनाकानी गरेपछि सरकारी असुलउपर सरह जयजेथाबाट उठाउने तहसील कार्यालयले जनाएको छ ।

    बक्यौता असुल गर्ने ठेकेदार कम्पनीहरूमा चाल्नाखेल- ५ काठमाडौंका राधाकृष्ण कार्कीको विटी/धर्मेन्द्र/टौदह जेभी कम्पनीको दुई करोड १५ लाख ८९ हजार ७९५ रूपैयाँ छ । कार्कीले सडक डिभिजन सुर्खेतको ठेक्का नं २-२०६९/७० को सम्झौताबमोजिम निर्माण कार्य सम्पन्न नगरी सरकारलाई बुझाउनु पर्ने रकम बुझाएका छैनन् ।

    त्यसैगरी पालुङ-४ मकवानपुर निवासी लोकप्रिय निर्माण सेवा सञ्चालक सुनिल कार्कीले पुष्पलाल-मध्यपहाडी लोकमार्ग आयोजनाको दुईवटा ठेक्का लिई सम्पन्न नगरेकोमा एक करोड ७४ लाख ९० हजार २६६ रूपैयाँ असुल गर्न तयारी गरेको कार्यालयका प्रवक्ता रविचन्द्र अर्यालले जानकारी दिए । मध्यपहाडी लोकमार्गअन्तर्गत तुल्सीपुर-दाङ सडक खण्ड अलपत्र पारेर कार्की सम्पर्कविहीन छन् ।

    सडक निर्माण जिम्मा लिएर राज्यकोषलाई नोक्सान पुर्‍याएकोले ती ठेकेदारबाट १२ करोड ४६ लाख ३६३ रूपैयाँ उठाउन लागिएको हो । सडक विभाग र मातहतका कार्यालयबाट पटक-पटक ताकेता गर्दा समेत रकम बुझाउन आनाकानी गरेपछि सरकारी असुलउपर सरह जयजेथाबाट उठाउने तहसील कार्यालयले जनाएको छ ।

    यता गोटीखेल स्वास्थ्य चौकी भवनको ठेक्का लिइ काम सम्पन्न नगर्ने मुलपानी-८ काठमाडौंकी लक्ष्मी बस्नेत कार्कीको खोम/यरुस जेभीबाट ७६ लाख ८३ हजार ८९० रुपैयाँ बक्यौता बाँकी छ । काठमाडौं बानेश्वरका ज्ञानबहादुर लामाले दाप्चा निर्माण सेवा प्रालिबाट भालुवाङ-प्युठान सडक निर्माणको ठेक्का लिएर काम नगरेपछि २८ लाख ९२ हजार ८९७ रुपैयाँ र सोही सडकअन्तर्गत एन एण्ड एन एस कन्ट्रक्सनका सञ्चालक भैसे-१ मकवानपुरका नन्दुकृष्ण श्रेष्ठबाट २५ लाख ६७ हजार ४६० रुपैयाँ असुल गर्न बाँकी छ ।

    भालुवाङ-प्युठान सडकअन्तर्गतकै प्रगति निर्माण सेवाका संचालक विराटनगर- ३ मोरङका यादवराज जोशीबाट पाँच लाख ८१ हजार १९ रुपैयाँ, सोही सडक निर्माण जिम्मा लिने अर्का ठेकेदार धर्म एस निर्माण सेवाका सञ्चालक बानेश्वर काठमाडौंका धर्मलाल तामाङबाट ३० लाख ९७ हजार १९६ रुपैयाँ, सोही सडक निर्माण जिम्मा लिएर फरार ठेकेदार राम्चे सिद्ध निर्माण सेवाका सञ्चालक छितापोखरी- ३ खोटाङका मोहनबहादुर खत्रीबाट तीन लाख ९१ हजार २९८ रुपैयाँ र सोही सडक निर्माण जिम्मा लिने विन्ध्याचल निर्माण सेवाका सञ्चालक हेटौंडा-२ मकावनपुरका हरिबस बर्तौलाबाट तीन लाख ७० हजार ३७० रुपैयाँ असुल गर्ने तयारी थालेको अर्यालले बताए ।

    ठेक्का सम्झौता बमोजिम किस्ता रकम नबुझाउने लामा कष्ट्रक्सन लिमिटेडका सञ्चालक पिपरा-३ सिमरा बाराका रोशनकुमार लामाबाट एक करोड तीन लाख ६५ हजार २६४ रुपैयाँ, वागमती क्षेत्रमा ढल निर्माणको ठेक्का सम्पन्न नगर्ने खुम्बु कष्ट्रक्सन प्रालिका सञ्चालक फाप्लु सल्लेरी- २ सोलुखुम्बुका निमा ग्याल्जेन लामाबाट चार करोड ३० लाख ६० हजार पाँच सय रुपैयाँ उठाउने प्रकृया कार्यालयले अघि बढाएको जनाएको छ ।

    हिले-वसन्तपुर-मुडे-चैनपुर-खाँदबारी सडक सम्झौताअनुसार निर्माण नगर्ने लामा विल्डर्स कम्पनी प्रालिका सञ्चालक बौद्ध- ६ काठमाडौं निवासी निमा लामा शेर्पाबाट एक करोड ३३ लाख आठ हजार ९४२ रुपैयाँ र सोही सडक निर्माणलाई अलपत्र बनाउने बोखिम हिराचन जेभीका सञ्चालक ललितपुरका सरोज रेग्मीबाट १२ लाख एक हजार ४६८ रुपैयाँ उठाउन लागिएको जनाएको छ ।

    कार्यालयका अनुसार विसं २०२१ साल अर्थात ५७ वर्ष अघिदेखि विभिन्न प्रयोजनमा वितरण गरेको करिब दुई अर्ब सरकारी रकम उठ्न सकेको छैन । तेजारथ सापटी, घरेलु सापटी, बेरुजु र अन्य शीर्षकमा गरी यी रकम रकम असुली गर्न बाँकी रहेको जनाएको हो ।

    कम्पनी संचालक बक्यौता
    विटी/धर्मेन्द्र/टौदह जेभी राधाकृष्ण कार्की दुई करोड १५ लाख
    लोकप्रिय निर्माण सेवा सुनिल कार्की एक करोड ७५ लाख
    खोम÷यरुस जेभि लक्ष्मी बस्नेत कार्की ७६ लाख ८३ हजार
    दाप्चा निर्माण सेवा ज्ञानबहादुर लामा २८ लाख ९२ हजार
    एन एण्ड एन एस कन्ट्रक्सन नन्दुकृष्ण श्रेष्ठ २५ लाख ६७ हजार
    प्रगती निर्माण सेवा यादवराज जोशी पाँच लाख ८१ हजार
    धर्म एस निर्माण सेवा धर्मलाल तामाङ ३० लाख ९७ हजार
    राम्चे सिद्घ निर्माण सेवा मोहनबहादुर खत्री ३ लाख ९१ हजार
    विन्ध्याचल निर्माण सेवा हरिवस बर्तौला ३ लाख ७० हजार
    लामा कष्ट्रक्सन लिमिटेड रोसनकुमार लामा एक करोड तीन लाख
    खुम्बु कष्ट्रक्सन प्रालि निमाग्याल्जेन लामा चार करोड ३० लाख
    लामा विल्डर्स कम्पनी प्रालि निमालामा शेर्पा १ करोड ३३ लाख
  • निर्माण सुरु भएको ७ वर्ष वितिसक्दा पनि नगरकोट सडक अझै अलपत्र

    निर्माण सुरु भएको ७ वर्ष वितिसक्दा पनि नगरकोट सडक अझै अलपत्र

    काठमाडौँ । निर्माण सुरु भएको सातवर्ष वितिसक्दा पनि काठमाडौँको पर्यटकीय क्षेत्र नगरकोटको सडक अझै अलपत्र छ। उकालो सडकमा जतासुकै छरिएको निर्माण सामग्रीले गर्दा पर्यटक र स्थानीयवासी सबैलाई आवतजावत गर्न समस्या भइरहेको छ ।

    भक्तपुरको कमलविनायकदेखि नगरकोटसम्मको सडक आर्थिक वर्ष २०७०/७१ मा सुरु भएकामा अझै सम्पन्न हुन नकसकेको हो । सडक धुलाम्मे हुँदा आवतजावत गर्न समस्या भएको कमलविनायक–नगरकोट सडक निर्माण दबाब समितिका संयोजक राजकुमार लामिछानेले बताए। उनका अनुसार निर्माण कम्पनीले समय–समयमा निर्माण सामग्री छरेजस्तो गरेपनि काम सकाउन खोजेको छैन ।

    मन्त्रालय वा विभागको भ्रमणमा निर्माण सामग्री र जनशक्ति बढाइने गरिए पनि अरु समयमा निर्माणको गति सुस्त छ । उनले भने, ‘बेलाबेलामा अलिअलि गरेजस्तो गरेर जनताको आँखामा छारो हाल्ने बाहेक अरु केही भएको छैन ।’ भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले आइतबार नगरकोट सडकको स्थलगत अनुगमन गरेकी थिइन् । अनुगमनका क्रममा उनले यो सडक दुई महिनाभित्रमा सम्पन्न गर्न सम्बन्धीत पक्षलाई निर्देशन दिइन् । अझै पनि ढिलाइ भएमा अवधि थप नहुने उनको भनाइ थियो ।

    एकदुई महिनाभित्र निर्माण सम्पन्न गर्नका लागि आवश्यक जनशक्ति, उपकरण र निर्माणसामग्री पर्याप्त हुनुपर्ने भक्तपुर–नगरकोट सडक योजनाका प्रमुख गौतमकुमार श्रेष्ठले बताए । उनका अनुसार चिसो सुरु भइसकेकाले मौसम अनुकूल हुँदा र निर्माण कम्पनीले व्यवस्थापन राम्रो गर्दा मात्रै काम गर्न सकिन्छ । उनले भने, ‘अब एक दुई महिनामा सक्न अहिले देखिएको व्यवस्थापनले मात्रै पुग्दैन्, त्यसमा थप्नुपर्छ ।’

    योजनाले केही दिन पहिले मात्रै निर्माण कम्पनीसँग कार्ययोजना माग गरेको थियो । निर्माण कम्पनीले एक महिनामा सम्पन्न गर्ने गरी कार्ययोजना मन्त्रालय, विभाग र योजनालाई दिएको छ । सडक निर्माण लामो समयसम्म नसकिएको र जनगुनासो आइरहेकै कारण आफू एकडेढ महिनादेखि नियमित रूपमा निर्माणस्थलमा आइरहेको प्रमुख श्रेष्ठले बताए । निर्माणमा देखिएका समस्याका विषयमा समेत योजनाले निर्माण कम्पनीलाई घच्घचाइरहेको छ । उनले भने, ‘केही उपकरण थपेको पनि छ, कम्पनीले निर्माण सामग्री नियमित आउँछ र काम गर्छु भनेको छ ।’

    नगरकोटका माथिल्लो भागमा जाडो समयमा काम गर्न सकिँदैन । तेलकोट–नगरकोटखण्डमा तल्लो भागभन्दा तापक्रम कम हुने भएकाले आगामी महिनामा काम गर्न नसकिने हुनसक्ने प्रमुख श्रेष्ठले बताए । तापक्रम कम हुँदा कालोपत्र गर्दा गुणस्तर कम हुने उनले बताए । उनले भने, ‘तापक्रम पुग्यो भने मात्रै यो महिनामा काम गर्न सकिन्छ ।’ आफूले नियमित रूपमा निर्माणस्थलमा आएर गुणस्तरमा समस्या देखिएमा यहाँ छ भनेर देखाएर काम रोक्न भनेको प्रमुख श्रेष्ठले बताए । निर्माण सामग्री यहाँ झारेपछि आफूले हुँदैन भन्दा लगानी खेर जाने भएकाले उत्पादन हुने ठाउँमा पुगेर नै हेर्छु उनले बताए । उनले भने, ‘यहाँ ल्याएर गुणस्तर नभएपछि समय खेर जाने र जनशक्ति पनि त्यसै बस्नुपर्छ ।’

    अहिलेसम्म निर्माणमा ढिलाइ हुनुको सबैभन्दा प्रमुख कारण निर्माण कम्पनीको ढिलासुस्ती नै हो । अहिले सबैतिर निर्माणस्थल खाली भएकाले अरु समस्या नभएको प्रमुख श्रेष्ठको भनाइ छ । योजनाले कतै निर्माणस्थलका कारणले समस्या आएमा तत्काल समाधान गरिने निर्माण कम्पनीलाई भन्दै आएको छ । उनले भने, ‘विगतमा जङ्गलको रुख काट्नेलगायत समस्या थियो अहिले सामाधान भइरहेको छ ।’ जिल्ला प्रशासन कार्यालय, भक्तपुर र चाँगुनारायण नगरपालिकाले पनि निर्माणमा आवश्यक सहयोग गरेको छ । निर्माण कम्पनीलाई कार्यालयका कारणले ढिला नहुने भनी विश्वास दिलाइएको उनले बताए । कम्पनीले काम गर्दा गुणस्तरमा समस्या देखिएमा रोक्न भनिए पनि योजनाबाट इञ्जिनीयर, सव–इञ्जिनीयर नआएर काम नरोकिने उनले बताए ।

    कमलविनायकको भत्केको पाटीबाट नगरकोटसम्म १५ दशमलव सात किमी छ । माथिल्लो भागमा झण्डै चार किमी सडक कालोपत्र गर्न पूरै बाँकी छ । नौ किमीमा एक तहको कालोपत्र सकिएर अर्का तहको कालोपत्र गर्न बाँकी छ । दुई दशमलव ७५ किमी सडकमा दुई तहको कालोपत्र गर्नुपर्नेमा एक तह सकिएर अर्को तह गर्न बाँकी छ । एक तह कालोपत्र भइसकेर पनि पटकपटक समस्या आइरहेकाले त्यहाँ मर्मत भइरहेको छ । सडकको चौडाइ दुई लेन अर्थात सात मिटर हुने गरी कालोपत्र भइरहेको छ । सडकको छेउछेउमा पानी जानका लागि ड्रेन बनाइएको छ । सडकमा पैदलयात्रुमार्ग भने निर्माण भएको छैन । रासस

  • मेलम्ची-हेलम्बु सडक निर्माण अनिश्चित

    मेलम्ची-हेलम्बु सडक निर्माण अनिश्चित

    सिन्धुपाल्चोक । मेलम्ची खोलामा आएको बाढीले निरन्तर कटान गरेपछि मेलम्ची हेलम्बु सडक निर्माण अनिश्चित बनेको छ । गत असार १ गतेपछि आएको बाढीले भत्काएको सडक पटक–पटक बनाएर यातायात सञ्चालन गरे पनि निरन्तरको बाढी र कटानले गर्दा सडक पुनः अवरुद्ध भएको छ ।

    सडक सञ्जाल नहुँदा मेलम्चीदेखि माथिल्लो भेगका नागरिकले सास्ती भोग्न परेको छ । सडक नहुँदा पुल निर्माण समेत बाधा पुगेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । उनले भने, ‘लगभग यतिबेला पुल निर्माणको काम सकिनै लाग्थ्यो बाटो नभएर सामान ल्याउनै पाइएन समस्या भयो ।’

    आगामी दशैँसम्ममा अस्थायी आवास निर्माणको काम सक्ने र प्रभावितलाई स्थानान्तरण गर्ने गाउँपालिकाका योजनामा समेत अहिलेको बाढीले प्रभाव पारेको छ । निरन्तरको वर्षाका कारण अहिले पनि मेलम्ची खोलामा बाढी आउँदा हेलम्बुदेखि सिपाघाटसम्मका नदी किनारका बस्ती जोखिममा परेका छन् ।

    आइतबारमात्रै पनि मेलम्ची नगरपालिका–६ तालामाराङ बजार नजिकैको एक घर बाढीले क्षति पुर्‍याएको थियो । बाढीले वितण्डा मच्चाएको हेलम्बु मेलम्चीमा अहिले पनि जोखिम कायमै रहेको छ ।

    नगर प्रमुख डम्बर अर्यालले नदी किनारको बस्तीमा बसोबास गर्नेलाई सुरक्षित स्थानमा बस्न र सतर्कता अपनाउन आग्रह गरिएको बताए । ‘नदी नियन्त्रण र नदीले अवरुद्ध बनाएको सडक खुलाउन हामीले सम्पूर्ण संयन्त्र परिचालन गरेका छौँ, करोडौँ रुपैयाँ लगानी भइसक्यो तर पनि हाम्रो लगानी र हाम्रो मिहेनत बालुवामा पानीजस्तै भएको छ’, उनले भने ।

    गत शुक्रबारदेखिको लगातारको वर्षाले हेलम्बुको तिम्बुदेखि मेलम्ची-११ को बजारसम्म खोला वारिपारि रहेका घर, टहरा, पुल, खेत तीन विद्यालय जोखिममा छन् । अहिले खेतीयोग्य सयौँ रोपनी बाढीले कटान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आज बिहानसम्म जिल्लामा यस वर्ष २७२ पक्की घर, १८५ कच्ची घर, ६६ गोठ टहरा, अन्य ५२, पक्की सात झोलुङगे पुलमा १५ क्षति भएको छ ।

  • चक्रपथबाहिर कहाँ-कहाँ बन्दैछन् नयाँ सडक ?

    चक्रपथबाहिर कहाँ-कहाँ बन्दैछन् नयाँ सडक ?

    काठमाडौं । गत आर्थिक वर्षमा मुख्य सडको निर्माणमा जोड दिएको डिभिजन सडक कार्यालयले चालू आर्थिक वर्षमा चक्रपथ बाहिरको सडक निर्माणलाई प्राथमिकता दिएको छ । चालू आर्थिक वर्षमा २० किमी सडक निर्माण सकिएको कार्यलयले जनाएको छ ।

    काठमाडौँबाट अरु जिल्लासम्म जोडिने स्थानमा पनि निर्माणको काम भइरहेको छ । तीमध्ये कतिपय नयाँ निर्माण र कतिपय पुनःस्थापनाको काम भएको कार्यालयले जनाएको छ । सिन्धुपाल्चोक जिल्ला नजिकै पर्ने भोटेचौर, जर्सिङपौवामा सडक निर्माण भइरहेको कार्यालयका प्रमुख कुबेर नेपालीले बताए।

    उनका अनुसार अहिले काभ्रेस्थली जाने सडकको निर्माण भइरहेको छ । चक्रपथ बाहिरका क्षेत्रमा बूढानीलकण्ठबाट डाडाँगाउँ, भङ्गाल र कपन क्षेत्रमा भइरहेको छ । उनले भने, “यीमध्ये धेरै ठाउँमा नयाँ बनाउने नै काम भइरहेको छ ।”

    चालू आर्थिक वर्षमा नै बूढानीलकण्ठ सडकको पुनःस्थापनाको गरिने उनले बताए। यो सडकमा अहिले नेपाल विद्युत प्राधिकरणले विद्युतीय तार बिछ्याउने कार्य गरिरहेको छ । उनले भने, “प्राधिकरणले तार भूमिगत गरेर खाल्टा टालेपछि त्यहाँ निर्माणको प्रक्रिया अघि बढाइनेछ ।”

    गत आर्थिक वर्षमा काठमाडौँका मुख्य सडकमा निर्माण वा मर्मतको काम भएकामा चालू आर्थिक वर्षमा चक्रपथ बाहिर काम बढी भएको देख्न सकिन्छ । मुख्य सडकमा पनि गत आवमा बाँकी ठाउँमा ‘ओभर ले’ गरिने प्रमुख नेपालीले बताए ।

    अहिले निर्माणको काम भइरहेको सडकमा दोहोरोपना नआओस् भनेर अरु निकायसँग समन्वयमा काम गरिरहेको कार्यालयले जनाएको छ । सडक बनाएपछि खन्न नपरोस् भनेर अरु निकायसँगको समन्वयमा काम अघि बढाइएको हो । उनले भने, “चक्रपथ बाहिर काम कम देखिने भए पनि बाहिरी क्षेत्रमा काम भइरहेको छ ।”

  • राष्ट्रिय सञ्‍जालमा जोडिने सडक निर्माणको प्रस्ताव पठाउन स्थानीय तहलाई पत्राचार

    राष्ट्रिय सञ्‍जालमा जोडिने सडक निर्माणको प्रस्ताव पठाउन स्थानीय तहलाई पत्राचार

    सरकारले पक्की सडक मार्फत राष्ट्रिय सडक सञ्जाल तथा प्रदेश राजधानीसँग नजोडिएका स्थानीय तहलाई केन्द्र जोड्ने सडक निर्माणका लागि ५ दिनभित्र प्रस्ताव पेस गर्न अनुरोध गरेको छ ।

    स्थानीय पूर्वाधार विभाग, प्रादेशिक एवम् स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम समन्वय ईकाई ललितपुरले १ वटा सडक निर्माणका लागि स्थानीय तहलाई परिपत्र गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेको थियो ।

    कार्यालयलबाट पत्र प्राप्त गरेलगत्तै ७ सय ५३ वटै स्थानीय तहलाई परिपत्र गरिसकिएको मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव वसन्त अधिकारीले नेपाल प्रेसलाई जानकारी दिए । सडक छनौट कार्य तोकिएको समयभित्रै सम्पन्न गरी सम्बन्धित निकायमा पठाउन मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गरिएको उनले बताए ।

    ‘प्रादेशिक एवम स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम सञ्चालन कार्यविधि, २०७७’ अनुसार पहिचान गरी स्थानीय तहको कार्यपालिकाको निर्णय सहित अबको ५ दिनभित्र कार्यविधि व्यवस्था गरको फारम भरी स्थानीय पूर्वाधार विभाग मातहतको प्रदेश तहमा स्थापना भएका स्थानीय पुर्वाधर विकास आयोजना कार्यालयमा पठाउन निर्देशन दिएको छ । कार्यालयका अनुसार आयोजनाको छनौट समितिले कार्यविधिको आधारमा गर्ने छ ।

    यसका लागि प्रादेशिक एवम स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम समन्वय इकाईले सडक पहिचान गर्दा विभिन्न आधार पनि तोकेको छ । जसमा पहिचान गरिएको सडक सहज, छोटो, सुरक्षित र कम लागत लाग्ने, प्रदेश यातायात गुरुयोजना र गाउँ तथा नगर यातायात गुरुयोजना तयार भएको भए त्यसको प्राथमिकतामा परेको हुनुपर्ने, तुलनात्मक रुपमा उच्च प्रतिफल प्राप्त हुने र अधिकतम नागरिकलाई सेवा पुग्ने हुनुपर्ने भनिएको छ ।

    सामाजिक, वातावरणीय तथा भौगर्भिक दृष्टिकोणले उपयुक्त देखिएको, सडकको अधिकार क्षेत्र स्पष्ट भइसकेको र पछि कार्यान्वयनमा जाँदा कुनै किसिमिको बाधा-अवरोध नआउने, सडकले ओगट्ने जग्गाको जग्गाधानीले निःशुल्करूपमा जग्गा उपलब्ध गराउन तयार रहेको हुनुपर्ने प्रादेशिक एवम स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम समन्वय इकाइले जनाएको छ ।

    संघ, प्रदेश र स्थानीय तहको लागत सहभागितामा सञ्चालन हुने यस कार्यक्रमका लागि ‘प्रादेशिक एवम् स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम सञ्चालन कार्यविधि, २०७७’ मन्त्रिपरिषद्को गत पुष १० गते बसेको बैठकले स्वीकृत गरेको थियो ।

    स्थानीय तहको केन्द्रसम्म गुणस्तरीय तथा सुरक्षित सडक सञ्जालको विस्तार गरी स्थानीय तहबाट प्रवाह हुने सेवासम्म नागरिकको पहुँच पुर्याउने, रोजगारी सिर्जना गर्नेसँगै आर्थिक र सामाजिक रुपान्तरणमा सहयोग पुर्याउने लक्ष्यका साथ स्थानीय पूर्वाधार विभाग अन्तर्गत आर्थिक वर्ष २०७६/७७ देखि ‘प्रादेशिक एवम् स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम’लागू गरेको हो ।

  • अझै सम्पन्न भएन इमाडोल–लामाटार सडक

    अझै सम्पन्न भएन इमाडोल–लामाटार सडक

    काठमाडौं । विस्तारका क्रममा रहेको इमाडोल–लामाटार सडक निर्माण शुरु भएको चार वर्ष नाँघीसक्दासमेत अझै सम्पन्न भइसकेको छैन ।

    सडक विस्तार गरी आवश्यक संरचना निर्माण र कालोपत्र तीन वर्षमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भए पनि निर्माण सुस्त रहेको छ ।

    काठमाडौं उपत्यकाका अरु स्थानमा जस्तै सडक छेउमा घर भएका स्थानीयवासीले घर र जग्गाको मुआब्जा माग गरिरहेकाले निर्माणमा ढिलाइ भएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

    अहिले सडक उपलब्ध चौडाइमा कालोपत्र गर्ने गरी काम अघि बढाइएको आयोजनाका सूचना अधिकारी लक्ष्मण देवकोटाले जानकारी दिए । उनले भने, ‘विस्तार सडक उपलब्ध चौडाइमा कालोपत्र गर्ने मन्त्रिपरिषद्को निर्णयानुसार नै काम भइरहेको छ ।’

    पहिले कम चौडाइ रहेको सो सडकलाई २० मिटर चौडा गर्ने र सडकमा ढल, पैदलयात्रु मार्गलगायतका संरचना निर्माण गर्ने भनी विसं २०७३ र २०७४ मा ठेक्का सम्झौता भएको थियो ।

    स्थानीयवासीले घर भत्काउन नमानेर सङ्गठितरुपमा अवरोध गर्दा लामो समयसम्म काम ठप्प भएको आयोजनाले जनाएको छ ।

    सडकको अधिकार क्षेत्रमा रहेका रुख र बिजुलीका खम्बा हटाउन नसकिएकाले पनि काममा बाधा पुगेको आयोजनाले जनाएको छ । अहिले अवरोध हटाएर उपलब्ध चौडाइका काम अघि बढाइएको सूचना अधिकारी देवकोटाले बताए । उनले भने, ‘जेठसम्ममा सम्पन्न गर्ने गरी काम भइरहेको छ ।’

    तीन खण्डमा विभाजित सो सडक निर्माणको जिम्मेवारी डाँफे समानान्तर जेभी, आशिष सिएम ड्रागन जेभी, लामा समानान्तर जेभीलाई दिइएको थियो ।

    तीन फरकफरक ठेक्कामध्ये डाँफे/समानान्तर जेभीले काम गरिरहेको तीन दशमलव १२ किमी सडकको प्रगति ७५ प्रतिशत छ भने आशिष सिए/ड्रागन जेभीको प्रगति ९५ प्रतिशत छ ।

    लामा/समानान्तर जेभीले काम गरिरहेको चार किमी सडकको प्रगति ८० प्रतिशत छ । तीनमध्ये एउटा ठेक्काको अवधि गत पुसमा सकिएको छ ।रासस