Tag: सञ्चालन

  • नर्भिकको ओपीडी आइतबारदेखि सञ्चालनमा आउने

    नर्भिकको ओपीडी आइतबारदेखि सञ्चालनमा आउने

    काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले बन्द रहेको ओपीडी सेवा आगामी आइतबारदेखि पूर्णरुपमा सञ्चालनमा ल्याउने भएको छ । कोभिड-१९ को दोस्रो लहरको संक्रमण तीव्र बनेसँगै बिरामीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर नर्भिकले ओपिडी सेवा बन्द गरेको थियो ।

    पछिल्लो समय कोभिड संक्रमण निरन्तर घटिरहेको छ । कोभिड संक्रमण घटेसँगै अस्पतालमा उपचारका लागि आउने कोभिड बाहेकका बिरामीको चाप ह्वात्तै बढेको छ ।

    कोभिडका बिरामीको संख्या घट्नु र कोभिड बाहेकका बिरामीको संख्या ह्वात्तै बढेपछि उनीहरुको स्वास्थ्य सेवालाई ध्यानमा राखी निजी अस्पताल सञ्चालकहरुको छाता सङ्गठन एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन अफ नेपाल (अफिन) को निर्णयअनुसार नर्भिकले ओपिडी सेवा पुनः सञ्चालन गर्ने भएको हो ।

    नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार अस्पतालमा आउने बिरामीको स्वास्थ्य जोखिमलाई ध्यानमा राखेर पूर्णरुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालनासहित ओपिडी सेवा सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।

    आइतबारदेखि नर्भिकमा कोभिडको दोस्रो लहर फैलिनुअघि सञ्चालनमा रहेका बहिरंग विभागअन्तर्गतका सम्पूर्ण सेवाहरु उपलब्ध हुने उनले बताए ।

  • दिल्लीमा महामारीका कारण अवरूद्ध मेट्रो रेल सेवा सोमबारदेखि सञ्चालन

    दिल्लीमा महामारीका कारण अवरूद्ध मेट्रो रेल सेवा सोमबारदेखि सञ्चालन

    दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा महामारीका कारण अवरूद्ध शहरी रेल सेवालाई सोमबारदेखि पुनः सञ्चालन गरिएको छ ।

    कोरोनाभाइरसको दोस्रो लहरका कारण अस्तव्यस्त भएको दिल्लीमा संक्रमणको दर घटेसँगै मेट्रो रेल सेवा पुनः सञ्चालनमा ल्याइएको हो ।

    कोरोना संक्रमण बढेपछि लगाइएको लकडाउन बिस्तारै खोल्ने क्रममा गत १० मे मा रोक लगाइएको मेट्रो सेवा फेरि शुरु गरिएको हो ।

    यद्यपि, अहिले भने ५० प्रतिशत मात्रै यात्रु राखेर चलाउन अनुमति दिइएको छ । जोर बिजोर बार पारेर पसलहरु पनि खोल्न दिइएको तर सुरक्षाका उपायहरु भने पालना गर्नुपर्ने मुख्यमन्त्री अरविन्द केजरीवालले जनाएका छन् ।

    दिल्लीमा गत अप्रिलमा दैनिक १० हजार नयाँ संक्रमित फेला परेकोमा आइतबार ३८१ जनामा मात्रै संक्रमण फेला परेको जनाइएको छ ।

    विगत २४ घण्टामा भारतभर एक लाख ६३६ जनामा संक्रमण देखिँदा दुई हजार ४२७ जनाको मृत्यु भएको छ ।

    भारतमा कुल कोभिड संक्रमितको संख्या अहिलेसम्ममा दुई करोड ८९ लाख पुगेको छ भने तीन लाख ४९ हजारभन्दा बढी संक्रमितको मृत्यु भएको छ ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राष्ट्रबासीको नाममा गरेको सम्बोधनमा भारतमा कुल २३ करोड २७ लाखलाई खोप लगाइसकिएको जानकारी दिएका छन् । उनले यो संख्यालाई आगामी दिनमा थप तीब्रतासाथ वृद्धि गरिने जानकारी पनि दिएका छन् ।

  • निःशुल्क कोभिड-१९ आइसोलेशन केन्द्र सञ्चालन

    निःशुल्क कोभिड-१९ आइसोलेशन केन्द्र सञ्चालन

    काठमाडौं । गौशालामा ५१ शय्याको निःशुल्क कोभिड-१९ आइसोलेशन केन्द्र सञ्चालनमा आएको छ । मारवाडी सेवा समितिले निर्माण गरेको केन्द्रको उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज शुभारम्भ गरेका छन् । केन्द्रमा चिकित्सकको निगरानीमा उपचार, औषधि तथा खानाको निःशुल्क व्यवस्था गरिएको मारवाडी सेवाका अध्यक्ष कैलाश गोयलले कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रं (सीसीएमसी)का संयोजक पोखरेललाई जानकारी गराएका छन् ।

    सो अवसरमा उपप्रधानमन्त्री पोखरेलले कोभिडविरुद्ध सबैले मिलेर लड्नुपर्ने बताए । उनले भने, ‘यो सरकार र राजनीतिक नेतृत्वको मात्र काम भनेर बुझ्नु हुँदैन, सरकारले अभिभावकको भूमिका खेल्छ तर यो लडाइँको मोर्चामा हामी सबै एक ठाउँमा उभिएर लड्नुपर्छ ।’ उनले केन्द्रलाई पूर्ण रुपमा सञ्चालन गर्न सीसीएमसी र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    उनका अनुसार अहिले देशका ८६ ठाउँमा पीसीआर प्रयोगशाला र केन्द्रदेखि स्थानीय तहसम्म कोभिड-१९ को उपचार गर्ने अस्पताल स्थापना भएको छ । सरकारले जनताको उपचार र जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखेको बताउँदै उनले अक्सिजन प्लान्टलगायत स्वास्थ्य सामग्री खरीद गर्न मन्त्रिपरिषद्बाट निर्णय गरी प्रारम्भ र पहल थालिएको तथा कोरोनाभाइरस विरुद्धको खोप खरीदका लागि औपचारिक प्रक्रिया प्रारम्भ गरिएको जानकारी दिए ।

    सात वटै प्रदेशमा ७ र काठमाडौंमा १ गरी एक हजार क्षमताका आठ होल्डिङ सेन्टर स्थापना गर्न अर्थ मन्त्रालयले बजेट छुट्याइसकेकाले छिट्टै नेपाली सेनाले निर्माण शुरु गरिने उनको भनाइ थियो । सेवाका अध्यक्ष गोयलले नेपाल-भारत मैत्री अस्पतालसँगको सहकार्यमा निर्मित अक्सिजन सेवासहितको आइसोलेसन केन्द्र स्थापना गरिएको जानकारी दिए ।
    -रासस

  • अक्सिजन अभावले वीर अस्पतालको नयाँ भवन सञ्चालनमा समस्या

    अक्सिजन अभावले वीर अस्पतालको नयाँ भवन सञ्चालनमा समस्या

    काठमाडौं । वीर अस्पतालले अक्सिजन अभावका कारणले नयाँ भवन सञ्चालन गर्न सकेको छैन । सरकारले अस्पतालको नयाँ सर्जिकल भवनमा कोभिड-१९ का संक्रमितको उपचारका लागि सञ्चालन गर्ने निर्णय गरे तापनि अक्सिजन अभावले सञ्चालनमा कठिनाइ भएको छ ।

    अस्पतालका निर्देशक डा. शान्ता सापकोटाले सरकारको निर्देशनानुसार नयाँ भवन सञ्चालनका लागि तयारी गरिए तापनि अक्सिजन नपाइएपछि सञ्चालन हुन नसकेको बताए ।

    नेपालमा अहिले १५ हजार अक्सिजन सिलिण्डरको माग र सात हजार २०० मात्र उत्पादन हुने गरेको छ । ‘हामीले भवनमा बिरामी राख्नका लागि सबै तयारी पूरा गरेका थियौं तर अक्सिजन नभएपछि त्यतिकै रोकिएको छ ’, उनले भने, ‘अहिले संक्रमितलाई अक्सिजन चाहिन्छ । त्यसैले अक्सिजनविना बिरामीलाई नयाँ भवनमा राख्न सकिँदैन ।’

    शुरुमा १ सयदेखि ३०० शय्या सञ्चालन गर्ने योजना थियो । सर्जिकल बिरामीका लागि बनाइएको उक्त भवन ५०० शय्याको छ । त्यहाँ बिरामी राखेर उपचार गर्नका लागि कम्तीमा ६०० सिलिण्डर अक्सिजन आवश्यक रहेको उनको भनाइ थियो ।

    उनले अक्सिजनको आपूर्ति गर्नका लागि प्रयास भइरहेको र प्राप्त हुनासाथ भवनमा बिरामीलाई राखिने जानकारी दिए ।