Tag: संसद पुनःस्थापना

  • देउवाको मुद्दामा कम्युनिष्ट वकिल हावी, कांग्रेसका कानुनविद् गुटको शिकार

    देउवाको मुद्दामा कम्युनिष्ट वकिल हावी, कांग्रेसका कानुनविद् गुटको शिकार

    काठमाडौं । विघटित प्रतिनिधिसभाका १ सय ४६ जना सांसदहरुले संसद पुनःस्थापना र संविधानको धारा ७६ को ५ बमोजिमको सरकार गठन लगायतका मागदावी राखेर दायर गरेको रिटका मुख्य निवेदक हुन्, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ।

    रिटको मुख्य मागदावी पनि देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति गर्न परमादेश जारी गर्नुपर्ने छ । यद्यपि रिटमाथिको प्रारम्भिक सुनुवाईप्रति स्वयं देउवा नै सन्तुष्ट छैनन् । रिट निवेदकको तर्फबाट बहस गर्ने वामपन्थी कानुनविदले मुद्दालाई नेकपा विभाजनको विवादसंग जोड्न खोजेकोमा कांग्रेस पंक्तिमा असन्तुष्टी छ । यही असन्तुष्टी सम्बोधन गराउन देउवाले सोमबार कांग्रेसनिकट कानुनविदसंग छलफल गरेका छन् । छलफलमा देउवाले बहसलाई मूल मुद्दामा प्रवेश गराउन र आफ्नो भूमिका प्रभावकारी बनाउन आग्रह गरेका छन् ।

    विघटित प्रतिनिधिसभाका १ सय ४६ जना सांसद रिट निवेदक भएपनि मुद्धाको अगुवा कांग्रेस सभापति देउवा हुन् । मुद्धाको सुनुवाई अघि विपक्षी गठबन्धनले कानुनविदसंग निरन्तर परामर्श गर्दै आएको थियो । यद्यपि मुद्धाको प्रारम्भिक सुनुवाईमा वामपन्थी कानुनविद हावी भएपछि देउवालाई अप्ठ्यारो परेको छ ।

    सुनुवाईको पहिलो दिनदेखि नै कानुनविद शम्भु थापा, गोविन्द बन्दी लगायतले न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठले इजलास छाड्नुपर्ने माग गर्दै बहस गरेका थिए । मंगलबार केसी र श्रेष्ठले इजलास नछोड्ने राय व्यक्त गरेपछि विषय नयाँ चरणमा प्रवेश गरेको छ । संवैधानिक इजलासमा रहेका न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलासबाट अलग हुने घोषणा गरेसंगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठताका आधारमा आफूले नयाँ इजलास बनाउने बताइसकेका छन् । अदालतको कोर्स जुन दिशातर्फ गइरहेको छ त्यसप्रति रिट निवेदक तर्फका कानुन व्यवसायीकै बीचमा फरक मत फराकिलो हुँदैछ ।

    खासगरी कांग्रेस निकट कानुन व्यवसायी र वामपन्थी कानुन व्यवसायीबीच आन्तरिक किचलो बढ्दै गएको छ । ‘यो मुद्धाको फाइल जसरी ओपन गरियो त्यो नै गलत रह्यो । प्रारम्भिक सुनुवाईमा कम्युनिष्ट हावी देखिएका छन् र नेकपा फुटेको रोदन इजलासमा भइरहेको छ’, कांग्रेसनिकट एक वरिष्ठ अधिवक्ताले भने । ती अधिवक्ताले पार्टी सभापति देउवाकै कमजोरीले गर्दा डेमोक्रेट कानुन व्यवसायी ओझेलमा परेको बताए ।

    ‘कांग्रेससंग डेमोक्रेटिक लयर्स एसोसियसन छ । बारको नेतृत्व गरिसकेका वरिष्ठ अधिवक्ता पनि छन् तर मुद्धा एमाले र माओवादीलाई जिम्मा लगाइएको छ । कांग्रेसबाट मुद्धा हेर्ने वकील छनोटमा पनि गुटगत प्रभाव परेको छ’, वरिष्ठ अधिवक्ताले नेपाल प्रेससंग भने । सभापति देउवाले कानुन व्यवसायी व्यवस्थापनको जिम्मा केन्द्रीय सदस्य रमेश लेखकलाई दिएका छन् । ‘हुन त शेरबहादुरजी ४ महिनासम्म रमण श्रेष्ठलाई महान्यायाधिवक्ता राख्ने नेता हो । विगतमा उहाँ प्रधानमन्त्री छदाँ आइजीपी नियुक्तिको मुद्धामा पनि कम्युनिष्ट वकीलकै जिम्मा लगाउनुभएको थियो । त्यतिबेला मुद्धा हारेको अहिले बिर्सिएजस्तो छ’, कांग्रेस निकट कानुन व्यवसायीको भनाई छ ।

    कांग्रेसनिकट अर्का वरिष्ठ अधिवक्ता पार्टीले पर्याप्त छलफल नगरेको गुनासो गर्छन् । पार्टीलाई समस्या पर्दा सहयोग गर्न तयार भए पनि सहयोग लिनेले नै नचाहेको उनको दावी छ । ‘मुद्दामा प्रभाव राख्ने सिनियर वकीललाई वेवास्ता गरिएको छ । गुट हेरेर जिम्मा दिने काम भइरहेको छ । हामीभन्दा जुनियर कम्युनिष्ट वकीलले मुद्दाको लिड गरेका छन् । जसले गरेको भएपनि घाटा कांग्रेसलाई नै भइरहेको छ’, ती वरिष्ठ अधिवक्ताले भने ।

    सोमबार कांग्रेस सभापति देउवाले बोलाएको छलफल इजलास रोज्ने एजेण्डामा धेरै अल्मलिन नहुने धारणा व्यक्त भएको थियो । नेकपा विभाजनको विषय जोड्नुभन्दा मुख्य विषयमै प्रवेश गर्नुपर्ने अधिकांशको धारणा सुनेपछि सभापति देउवाले मुद्दाको अगुवाई गर्न पार्टीनिकट कानुन व्यवसायीलाई आग्रह गरेका छन् । ‘मुद्दा जसरी अगाडि बढ्यो यसमा सभापति स्वयं सन्तुष्ट नभएको पायौं । मुद्दालाई हामीले लिड गर्नुपर्छ भन्ने सल्लाह भएको छ’, छलफलमा सहभागि एक अधिवक्ताले भने ।

  • संसद पुनःस्थापनाबारे सेलेव्रिटी प्रतिक्रिया : फैसला सही तर दलीय आशंका कायमै

    संसद पुनःस्थापनाबारे सेलेव्रिटी प्रतिक्रिया : फैसला सही तर दलीय आशंका कायमै

    काठमाडौं । संसद पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई लिएर सेलेब्सले आ–आफ्नै ढंगले प्रतिक्रिया दिएका छन् । कतिपयले तटस्थ जवाफ दिएका छन् भने कतिपयले अदालतको फैसला सहि भएको टिप्पणी गरेका छन् ।

    अभिनेता भुवन केसीले सर्वोच्चको निर्णयको सम्मान गर्दै शासन सत्तामा रहनेले जनतालाई ‘टेकन फर ग्रान्टेड’को रुपमा नलिन सुझाव दिएका छन् । संवैधानिक संकट टरेपनि नेतृत्वमाथिको आशंका नटरेको केसीको भनाई छ । अदालतले संवैधानिक सर्वोच्चताको रक्षा गरेको उल्लेख गरेका छन् ।

    अभिनेता दीपकराज गिरीले अदालतको फैसलालाई लिएर हार र जित कसको भन्नेतर्फ नलाग्न आग्रह गरेका छन् । हारजित भन्नेतर्फ लागे दलले जित्ने र तर देश चाहिँ हार्ने उनको भनाई छ ।

    अभिनेता निर्मल शर्माले अदालतको निर्णयपछि हाँस्ने कि रुने भनेर दोधार बनाएको लेखेका छन् । ‘प्रतिगमन पराजित भएकोमा खुशि लागेपनि, फेरि मिलिजुली देश लुट्नेछन् भन्ने कुराले पिर लाग्यो’ शर्माले फेसबुकमा लेखेका छन् ।

    अभिनेता खगेन्द्र लामिछानेले अदालतको फैसला आएपछि ‘जय संविधान’ भन्दै ट्वीट गरेका छन् । फिल्म निर्माता एवं चलचित्र व्यवसायी प्रदीप उदयले नेकपाको औपचारिक विभाजन नहुँदासम्म अन्यौलता कायमै रहेको बताएका छन् ।

  • संसद पुनःस्थापनाबारे विदेशी मिडियाको टिप्पणी : ओलीलाई ‘सेटब्याक’

    संसद पुनःस्थापनाबारे विदेशी मिडियाको टिप्पणी : ओलीलाई ‘सेटब्याक’

    काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई लिएर स्वदेशी एवं विदेशी मिडियाले महत्वका साथ समाचार प्रकाशन, प्रसारण गरेका छन् ।

    नेपाली छापा र अनलाइन माध्यमले प्रथम पृष्ठमा समाचारका साथै विशेष सम्पादकीय पनि प्रकाशन गरेका छन् । नेपाल, भारत, चीन र अमेरिकी संचारमाध्यमले विभिन्न शीर्षकमा समाचार प्रकाशन गरेका छन् ।

    आधिकारिकरुपमा कुनै मुलुकको प्रतिक्रिया नआइरहेको बेला विदेशी मिडियाले भने सर्वोच्चको फैसला प्रधानमन्त्री केपी शर्मा ओलीका लागि ‘ठूलो सेटब्याक’ भएको लेखेका छन् ।

    अमेरिकी अखबार द न्यूयोर्क टाइम्सले नेपाली समाचारलाई महत्व दिँदै संसद विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसला वर्तमान प्रधानमन्त्री ओलीका लागि ‘ठूलो सेटब्याक’ भएको लेखेको छ । फैसलापछि पनि हिमाली राष्ट्र नेपालको राजनीतिक संकट यथावत रहेको उक्त अखबारले लेखेको छ ।

    एसोसिएटेड प्रेस र वासिङ्टन पोस्टले पनि हिमाली राष्ट्र नेपाल अर्को राजनीतिक संकटमा प्रवेश गरेको उल्लेख गरेका छन् । ओलीको कार्यकाल सुरु भएपछि उनी चीनसँग नजिकिएको र यसले नेपाल र भारतबीचको परम्परागत सम्बन्ध बिग्रिएको वासिङ्टन पोस्टले लेखेको छ ।

    टाइम्स अफ इन्डियाले चुनावको तयारी गरिरहेका वर्तमान प्रधानमन्त्री ओलीलाई अदालतको फैसला ठूलो सेटब्याक भएको उल्लेख गरेको छ । आफ्नै पार्टीभित्रको विवादको कारण ओलीले संसद विघटन गरेको प्रसंग कोट्याउँदै टाइम्स अफ इन्डियाले बल अब प्रचण्ड-नेपालको पक्षको कोर्टमा गएको उल्लेख गरेको छ ।

    द इन्डियन एक्सप्रेस, हिन्दू, रिपब्लिक, जी न्यूजको ‘स्टोरी टेलिङ’ लगभग उस्तै देखिन्छ । यी भारतीय अग्रणी संचारमाध्यमले ‘ब्लो र सेटब्याक’ शब्दको उल्लेख गर्दै समाचार लेखेका छन् । जसको अर्थ हुन्छ ‘धक्का ।’ चीनको सिन्ह्वाले संसद पुनःस्थापना हेडलाइनमा सामान्य समाचार मात्र बनाएको छ ।

    केही युरोपेली, पूर्वी एसियाली मुलुकका संचारमाध्यमले पनि नेपालको समाचारलाई महत्व दिएका छन् ।

  • रामचन्द्र पौडेलको प्रश्नः वैशाख २७ पछि नेपालको शासनको अथोरिटी कोसँग हुन्छ ?

    रामचन्द्र पौडेलको प्रश्नः वैशाख २७ पछि नेपालको शासनको अथोरिटी कोसँग हुन्छ ?

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यो हुनेवाला चुनाव नभएको बताएका छन्। धरानमा शुक्रबार बीपी कोइरालाको सालिक अनावरणपछि पौडेलले भने ‘हामीले आन्दोलनबाट नै संसद फर्काएर ल्याएका हौं। शेरबहादुर देउवाले विघटन गरेको संसदलाई पनि हामीले आन्दोलनबाट फर्काएको हौं। फेरि इतिहास नदोहाेरियोस् २०६२-६३ को जस्तो।

    अदालतले संसद विघटनलाई सदर गरोस्। नगरे फेरि ठूलो आन्दोलनका बलमा संसद पुनःस्थापना गर्नुपर्ने दिन नआओस्। यो चुनाव त हुनेवाला छैन। वैशाखको २७ गतेपछि शासनको अथोरिटी अधिकार कोसँग हुन्छ ? चुनाव गर्छु भनेकाले वैशाख २७ गतेसम्म केपी ओलीसँग शासन गर्ने अधिकार होला तर त्योभन्दा पछि शासन गर्ने अधिकार कोसँग हुन्छ ? त्यसो हुँदा मुलुकमा अराजकता आउँछ। त्यसपछि यो राज्यलाई नेत्रविक्रम चन्दले पनि च्यालेन्ज गर्ने भए सेनाले पनि च्यालेन्ज गर्ने भए। जोसँग हतियार छ उसैले राज्यलाई च्यालेन्ज गर्ने भए। जोसँग हतियार छ उही शक्तिशाली हुने दिन आउँछन् । कोसँग हुन्छ शासन गर्ने अधिकार। मुलुकमा यस्तो अवस्था आउने नेता पौडेलले बताए।

    पौडेलले यो अवस्था आउँदै गर्दा नेपाली कांग्रेसले मुलुकलाई बेवारिसे छोड्न नहुने बताए । उनले भने ‘मेरो पार्टीका नेताहरुसँग यही आग्रह छ। नेपाली कांग्रेस जस्तो पार्टीले मुलुकमा संकट भएका बेलामा रमिते बन्न हुँदैन। कांग्रेस देशको वारेस हो। कांग्रेस देशको भरोसा हो। हिजो राजा थिए। आजको भरोसा राजनीतिक दल नै हुन्।

    राजनीतिक दललाई पनि नेपाली जनताले भरोसा गरेका थिए। ती जनतालाई धोका दिएर कता कता पुगे। कांग्रेस सही बाटोमा सही ढंगले उभिएन भने कांग्रेसलाई भरोसा किन गर्ने ? जनताले भरोसा नै गर्ने ठाउँ पाएनन् भने के हुन्छ ? अब हामीले भन्नुपर्छ मुलुक र जनतालाई भरोसा दिन्छौं। संविधान र लोकतन्त्र जोगाउँछौं। नेपाली जनताको ७० वर्षसम्मको पसिना खेर जान दिंदैनौं। यो परिवर्तन हामी जोगाउँछौं भनेर कांग्रेसले भन्नुपर्छ। यो संविधान र लोकतन्त्र जोगाउनका लागि हामीले कुनै पनि मूल्य चुकाउनु नहुने पौडेलको भनाइ थियो।

    उनले पार्टीमा संवैधानिक अंगका नियुक्तिको खारेजी, संसदको पुनःस्थापना र प्रदेशमा दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गरौं भन्ने तीन प्रस्ताव राखेको तर प्रस्ताव पास नभएको बताए । पार्टी निर्णयविहीन भएर बसिराखेको छ। हामी निर्णयविहीन बन्ने होइन हामीले त मुलुकलाई दिशा दिने हो, मुलुकलाई बाटो देखाउने हो पौडेलको भनाइ थियो।