Tag: श्वेतपत्र

  • नयाँ बजेट ल्याउन चुनौती दिँदै पौडेलले भने- संसदको समय किन बर्बाद गरेको ?

    नयाँ बजेट ल्याउन चुनौती दिँदै पौडेलले भने- संसदको समय किन बर्बाद गरेको ?

    काठमाडौं । पुर्वअर्थमन्त्री विष्णु पौडेलले नयाँ बजेट ल्याएर देखाउन सरकारलाई चुनौती दिएका छन् । अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको श्वेतपत्रमा टिप्पणी गर्दै पौडेलले यो सरकारलाई नयाँ बजेट ल्याउने छुट भएको बताएका छन् । नयाँ बजेट ल्याउने भए अघिल्लो सरकारको ल्याएको बजेट संसदमा प्रस्तुत गरेर सदनको समय किन बर्बाद पारेको भनी उनले प्रश्न गरेका छन् ।

    ‘प्रतिस्थापन बजेट ल्याउन लागिएको छ । यदि यो बजेट ल्याउनु नै पर्ने थियो भने यसको विषयमा प्रतिनिधिसभामा छलफल गरियो ? र समय बर्वाद गरियो ? बजेट अर्को ल्याउनु तर हामीले ल्याएको भन्दा राम्रो बजेट ल्याउनु होस् । हामीले पनि स्वागत गर्न पाउँ,’ उनले भने ।

    केपी ओली नेतृत्वको सरकारले मुलुकका समस्याहरूमा केन्द्रित रहेर यथार्थपरक, व्यवहारिक र लोकप्रिय बजेट प्रस्तुत गरिएको र त्यसलाई आर्थिक जीवनका हेरक पक्षले समेटेको पौडेलको भनाइ छ ।

    ‘निजी क्षेत्र र तिनका छाता संगठन, आर्थिक जगत र उत्पादनका हेरक इकाइहरूले ऐतिहासिक बजेट भनेर स्वागत गरेका छन्’, पूर्वअर्थमन्त्री पौडेलले भने ।

  • जनार्दन शर्मालाई विष्णु पौडेलको जवाफ- श्वेतपत्र होइन, तथ्यहीन आरोपपत्र (पूर्णपाठसहित)

    जनार्दन शर्मालाई विष्णु पौडेलको जवाफ- श्वेतपत्र होइन, तथ्यहीन आरोपपत्र (पूर्णपाठसहित)

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले संसदसमक्ष पेस गरेको श्वेतपत्रलाई पूर्वअर्थमन्त्री विष्णु पौडेलले तथ्यहीन आरोपपत्रको संज्ञा दिएका छन् ।

    श्वेतपत्रमा प्रस्तुत गरिएका विषयवस्तुहरू अघिल्लो सरकारले गरेका कामहरूको बारेमा तथ्यहीन आरोपपत्रको रूपमा प्रस्तुत रहेको पौडेलले बताए । बजेट कहाँ ल्याउनुपर्छ, कहिले ल्याउनुपर्छ, संसद विघटन गर्न हुन्थ्यो वा हुँदैन थियो अध्यादेशमार्फत आएका बजेटको कुन-कुन निकायका कस्ता कस्ता विश्लेषणहरू छन् भन्ने विषयहरूले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी नदिने उनको भनाइ थियो ।

    ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी भनिए पनि प्रस्तुत दस्तावेज विषयान्तर भएर पूर्ववर्ती सरकारको विरोधमा केन्द्रित भएको मैले पाउँछु’, उनले भने ।

    महालेखा नियन्त्रक कार्यालय, केन्द्रीय तथ्यांक, नेपाल राष्ट्र बैंकजस्ता सरकारी निकायले ल्याएको तथ्याङ्क खण्डन गर्ने आधार सरकारसँग नभएको उनले बताए । सरकारको सुविधाका लागि आर्थिक तथ्याङ्कहरुको प्रयोग उनले आरोप लगाए ।

    विगतका दुई आर्थिक वर्षहरू अमान्य आर्थिक वर्ष भएको पौडेलको भनाइ थियो । सरकारले आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को सबैभन्दा सुविधाजनक अवस्थालाई कठिन अवस्थाका आर्थिक वर्षसँग तथ्यांकहरू तुलना गरिएको उनले बताए ।

    मुद्रास्फिति , वैदेशिक व्यापार, आयात निर्यात, विदेशी मुद्राको सञ्चिति र विप्रेषण आप्रवह , बीमाको दायरा, कृषि तथा उद्योगमा लगानी भएको कर्जाजस्ता विषयवस्तुलाई श्वेतपत्रमा स्वीकार गरिएको पूर्वअर्थमन्त्रीको भनाइ थियो ।

    ‘यस्ता तथ्यहरूले अघिल्लो सरकारले अप्ठ्यारो अवस्थामा नेतृत्व गर्दा उल्लेखिय उपलब्धी हासिल भएको तथ्यलाई श्वेतपत्र स्वीकार गरेको छ’, पौडेलले भने । तथ्य र निष्कर्ष फरक ढङ्गले प्रस्तुत गरिएको उनको टिप्पणी थियो ।

    कोभिडका कारण आर्थिक वर्ष २०७६/७७ मा आर्थिक वृद्धिदर २.१ प्रतिशत ऋणात्मक भएपनि अघिल्लो आर्थिक ७ प्रतिशत भएको कुरालाई श्वेतपत्रले बिर्सिएको भन्दै उनले भने, ”केपी ओली नेतृत्वमा आउँदा पुन: निर्माणमा ३३ अर्बमात्रै खर्च भएको थियो । त्यसलाई पुन:निर्माणमा ४ खर्ब पुर्‍याएको छ । जसका कारण ऋण बढेको हो ।’

    करिव २० प्रतिशत रहेको गरिबी करिब १७ प्रतिशतमा झरेको पुगेको र अहिले कोभिडका कारण केही मात्रामा बढेको हुनसक्ने पौडेलको मत छ । यसमा बीचमा सरकारले भौतिक पूर्वाधारमा मात्रै होइन मानवीय विकासमा समेत उल्लेख प्रगति भएको उनले बताए । समाजिक सुरक्षा कोष तथा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्पत श्रमिकको हकहित र रोजगारी सृजनामा उल्लेखनीय भएका यसबीचमा भएको पौडेलले बताए ।

    त्यस्तै कोभिडका बीचमा ५८ प्रतिशत खर्च राष्ट्रिय गौरवका आयोजनामा खर्च हुनु नराम्रो नभएको उनको भनाइ थियो । पौडेलले बहुवर्षीय योजनामा ८ खर्बको दायित्वलाई घटाएर केपी ओली नेतृत्वको सरकारले ३ खर्बको हाराहारीमा ल्याएर अतुलनीय काम गरेको पौडेलको दाबी छ ।

    पौडेलले पहिलाको सरकारले गरेका हरेक निणर्य खारेज हुन्छन् कि अघि बढाइन्छन् ? भनेर प्रश्न गरेका थिए । ‘जनमानसका लागि ल्याएका सुविधाका कुरा, पूर्वाधार विकासका काम, शिक्षाको क्षेत्र के हुन्छ ? सुरक्षा भत्ता के हुन्छ ? कोभिड महामारीको समयमा पूर्वतयारी भएन भनेर अघिल्लो सरकारलाई आरोप लगाइयो तर के हामीले पूर्वतयारी गरेको थिएनौं । हामीले दक्षिण एसियामा कोभिडको खोप लगाउने दोस्रो देश भनेर बिर्सिएको छ । साथै, नेपालजस्तो देशले कोभिडका लागि नि:शुल्क खोपलगायतका अन्य उपकरणको जोहो गर्न सजिलो थियो ?’, उनले भने ।

     

  • अर्थमन्त्रीको श्वेतपत्रको शल्यक्रिया : मिथ्यांकले भरिएको ओली भर्त्सनापत्र

    अर्थमन्त्रीको श्वेतपत्रको शल्यक्रिया : मिथ्यांकले भरिएको ओली भर्त्सनापत्र

    परमादेशबाट बनेको सरकारका अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र भनेर जुन उडन्ते दस्तावेज संसदमा पेस गर्नुभएको छ, त्यसको उद्देश्य नै अत्यन्त गलत र प्रतिशोधपूर्ण छ । हुन त म अर्थशास्त्री होइन तर यति चाहिँ भन्न सकिन्छ यो कथित श्वेतपत्र ल्याउने समय नै होइन ।

    ठूलो आर्थिक सामाजिक र राजनीतिक उथलपुथलको समयमा विगतमा पाँच वा वर्षका तथ्यांकलाई लिएर ‘पोलिसी डिपार्चर’ गर्ने बेला श्वेतपत्र जारी गरिन्छ । अहिले त्यो अवस्था त होइन । यसको उद्देश्य ओली पदचाप र त्यसले सिर्जना गरेको तीव्र प्रगतिको आकांक्षालाई डिरेल गराउने हो ।

    कहीँ पनि यसलाई श्वेतपत्र मान्न सकिन्न । यो एक प्रकारको कथित राजनीतिक लालपत्र हो । ओली सरकारले अघि सारेका समृद्धिका योजनाहरुको भर्त्सना गर्ने ओली भर्त्सनापत्र हो । कांग्रेस/माओवादी सरकारले बोकाएको आर्थिक बोझलाई ओली सरकारले हल्का बनाएको थियो, त्यसको प्रतिशोध हो ।

    तुलना नै दूषित

    कथित श्वेतपत्रमा तथ्यांकहरूको तुलना नै गलत नियतबाट भएको छ । आर्थिक वर्ष २०७३/७४ को तथ्यांकहरू आव २०७७/७८ को तथ्यांक तुलना गर्ने कुन अर्थशास्त्रको सिद्धान्तअन्तर्गत पर्छ ? त्यसैले अर्थमन्त्रीले पूरै भ्रम र मिथ्यांक प्रस्तुत गरेर सदनमार्फत जनतालाई ढाँट्ने काम गर्नुभएको छ ।

    केपी ओली सरकारले ऋण लिएर घिउ खाएको होइन । ऋण लिएर ठूलो पूर्वाधारहरु बनाएको हो । यो ऋणले आर्थिक क्षेत्रमा प्रतिफल दिन्छ । कि त अब परमादेश सरकारले हामी ऋण लिएर विकास परियोजना बनाउँदैनौं भन्न सक्नुपर्छ ।

    जहिले पनि तुलना भनेको समानहरूबीच हुन्छ । ४८ केजी तौलको प्रतिस्पर्धा भयो भने दुवैले ४८ केजी बोके भनेमात्र कसले जित्यो भन्ने आउँछ । आव २०७३/७४ भनेको नर्मल अर्थतन्त्रको अवस्था हो भने अहिलेको अवस्था महामारीबाट संसार तवाह भएको एभनर्मल अवस्था हो । यसलाई तुलना गर्नु भनेको बौद्धिक दिवालीया हो ।

    कथित श्वेतपत्रका सबै पक्षमा म जान चाहन्न । तर, उहाँले एक ठाउँमा वहुवर्षीय ठेक्कामा तीन खर्बको दायित्व बोकायो भन्नुभएको रहेछ । वास्तविकता त्यो होइन । त्यसो त उहाँहरूको पालामा एउटै निर्णयबाट एक खर्बको २२ अर्वको दायित्व सिर्जना गर्नुभएको थियो ।

    महराले बोकाएको त्यो दायित्व

    प्रचण्ड प्रचधानमन्त्री र कृष्णवहादुर महरा अर्थमन्त्री हुँदा २३९ वटा परियोजना, योजना आयोगको स्वीकृतिबिना नै आर्थिक विचलनको हिसाबले बनाएर त्यो अतिरिक्त दायित्व सिर्जना गर्नुभएको थियो । त्यो कुनै स्रोतको सुनिश्चिताको निम्ति योजना आयोगबाट स्वीकृत भएको पनि होइन ।

    अर्को एउटा यसैभित्र जोडिएको कुरा के छ भने केपी ओलीले सरकार सम्हालिरहँदा अघिल्ला सरकारले छाडेको ८ खर्बको दायित्व थियो । उहाँहरूले एउटै निर्णयबाट बोकाउनुभएको थियो । अहिले तीन खर्बको दायित्व बोकायो भन्ने दृष्टान्त दिनुभएको छ,त्यो कति तथ्यको धरातलमा उभिएर गरेको हो ?

    यस हिसाबले त उहाँहरुले बोएको ८ खर्बको दायित्वबाट ५ खर्बको बोझ त केपी ओलीको सरकारले उतारेको देखियो नि । यदि यसैलाई दायित्व बोकायो भन्ने हो भने उहाँहरुलाई बहुवर्षीय ठेक्काहरू अब नचाहिने हो ? अब उहाँहरूले सबै परियोजनाहरू असरल्ल छाड्ने हो त ?

    कोभिड महामारी डेढ वर्षदेखि छ दुनियाँले भोगेको देखेको कुरा हो । डेढ वर्षदेखि कोभिडले आर्थिक क्रियाकलाप ठप्प पारेको छ । अर्थतन्त्र कसरी खत्तम स्थितिमा पुग्यो ? उहाँहरूले सतहीरूपमा राजनीतिक प्रतिशोधको कुरा गरेर अर्थतन्त्रको अवस्था ढाँट्न मिल्छ ?

    अर्को कुरा, सरकारी खातामा ट्रेजरी ब्यालेन्स १ खर्ब ७३ अर्ब छ भन्नुहुन्छ । कांग्रेस माओवादीको सत्ताले ओलीलाई हस्तान्तरण गर्ने बेला त्यो २ खर्ब ३१ अर्ब थियो । यो हिसाबले ओली सरकारले करिब ६० अर्ब जति त घटाइदिएछ नि । उहाँहरूले बोकाएको भन्दा घटाएर सरकारी खाता घाटामा होइन वचत हुँदै गएको देखियो । यसकारण पनि यो मिथ्यांक हो ।

    विदेशी मुद्रा सञ्चितीको अवस्था केपी ओलीले सकरार लिँदा करीव ७/८ महिनालाई बस्तु आयात धान्न सक्ने थियो । भुक्तानी सन्तुलनको अवस्था बिग्रियो कि भन्ने उहँहरूको प्रश्न छ । आज त १३ सय ६५ करोड विदेशी मुद्रा सञ्चित छ । केपी ओलीको सरकारले करिब ५ अर्बभन्दा बढी विदेशी मुद्रा सञ्चित गरिदिएको कुरा उहाँहरूले किन लुकाउन खोज्नुहुन्छ ?

    परमादेश सरकारलाई चुनौती

    कोभिड महामारी डेढ वर्षदेखि छ दुनियाँले भोगेको देखेको कुरा हो । डेढ वर्षदेखि कोभिडले आर्थिक क्रियाकलाप ठप्प पारेको छ । अर्थतन्त्र कसरी खत्तम स्थितिमा पुग्यो ? उहाँहरूले सतहीरूपमा राजनीतिक प्रतिशोधको कुरा गरेर अर्थतन्त्रको अवस्था ढाँट्न मिल्छ ?

    उहाँले मुद्रा स्फिति २०७३/७४ मा ५ प्रतिशतमा थियो भन्नुभएको छ । अहिले ३ दशमलब ६ कायम छ । त्यो बेलाको अवस्था र अहिलेको अवस्थालाई हेरौं । उहाँहरूले अहिलेको मुद्रा स्फिति काम गर्न सक्नुहोस् हाम्रो चुनौती भयो । केपी ओलीको सरकारको पालामा त यसलाई नियन्त्रणमा राखिएको हो ।

    विप्रेषणको स्थिति घट्यो भन्नुभएको छ । विदेशमा जाने नेपाली कामदारको संख्या ६० प्रतिशतले घटेको छ । तर, पनि रेमिट्यान्स राम्रैसँग बढेको देखिन्छ ।

    शोधान्तरका सन्दर्भमा पनि, १५ अर्बलेमात्र शोधानन्तर स्थिति ऋणात्मक छ भन्नुभएको छ । कच्चा पदार्थ आइरहेका छन् । उत्पादनशील क्षेत्रमा लगानी भएको छ । शोधानन्तर स्थिति एक प्रतिशतभन्दा कम घाटामा रहने यो भन्दा अघि कहिले थियो ? जवाफ त अब खोजिन्छ ।

    ऋण लिएर घिउ खाएको हो ?

    अर्को कुरा उहाँहरूको ऋण बढायो भन्ने छ । १७ खर्ब ऋण पुर्‍यायो भनिएको छ । सयौं परियोजनाहरू पनि त बढेका छन् । पुन:निर्माण के हो ? विभिन्न जलविद्युत आयोजनामा भएका लगानी के हुन् ? पूर्व-पश्चिम राजमार्गको स्तरोन्नतिका लागि लिएका ऋण के हुन् ?

    हाम्रो ऋण कुल जीडीपीको ४० प्रतिशत जति पुगेको छ, जबकी दक्षिण एशियामा सबैभन्दा कम ऋण लिनेमा नेपाल पर्छ । विकसित देशहरू अमेरिकाको १५० प्रतिशत छ, जापान २५० प्रतिशतभन्दा बढी छ । पाकिस्तानको ६० प्रतिशत छ । ऋणमात्र बढेको छैन, विकास पनि बढेको छ केपी ओलीको पालामा । के त्यसो भए उहाँहरु अब विकासका परियोजनाहरू अघि बढाउन चाहानुहुन्न ?

    इतिहासमा पहिलोपटक ४४ प्रतिशतले निर्यात बढेको । केपी ओलीको पालामा निर्यात बढेर १४१ अर्ब पुगेको छ । व्यापार घाटामा यसले कम गरेको छ । तर, जसरी खराबमात्र देखाएर मिथ्यांकको अडेस लगाएका छन्, आउने वर्षदेखि उनीहरूलाई यो गलपासो बन्ने छ । स्याउ र ओखरको तुलना गरेपछि हुने त्यही हो ।

    केपी ओली सरकारले ऋण लिएर घिउ खाएको होइन । ऋण लिएर ठूलो पूर्वाधारहरु बनाएको हो । यो ऋणले आर्थिक क्षेत्रमा प्रतिफल दिन्छ । कि त अब परमादेश सरकारले हामी ऋण लिएर विकास परियोजना बनाउँदैनौं भन्न सक्नुपर्छ ।

    कोभिड महामारीका कारण विश्व अर्थतन्त्रको वृद्धिदर नै ३ प्रतिशतले घटेको छ । जबकी नेपालमा २ प्रतिशतले मात्र घटेको छ । त्यसो हुँदा नेपाल कसरी खराब स्थितिमा रह्यो ? यसमा अर्थमन्त्रालयले राजनीतिक बदमासी गरेको छ । मिथ्यांकबाट भ्रम सिर्जना गर्न खोजेको छ ।

    विष्णु पौडेललाई दिएको तथ्यांक गलत थियो ?

    ओली सरकारले अर्थतन्त्र चलायनमान बनाउन सकारात्मक कदम चालेको थियो र आर्थिकवृद्धिमा २ प्रतिशतले मात्र गिरावट आयो । नत्र संसारको हेर्ने हो भने ३ प्रतिशतभन्दा धेरै तल झर्नु पर्ने हो । राजस्व पनि २२ प्रतिशतले बढेको छ । राजस्व परिचालन राम्रो भएरै त्यो सम्भव भएको हो । जनताले र व्यवसायिक फर्मले कर तिर्न सरकारले प्रोत्साहित गरेको पुष्टि हुन्छ ।

    कोभिडको कुरा गर्नुभएको छ, उहाँहरू व्यवस्थापनको समयमा होइन डेलिभरीको समया आउनुभएको छ । ओली सरकारले व्यवस्थापन गरेको हो । उहाँहरू बाँड्ने चरणमा आउनुभएको छ ।

    गरिवी बढ्यो भन्ने कुरा पनि आएको छ । बिहान कमाएर बेलुका खाने वर्ग ‘लोअर इनकम’ क्लास बढेको भनेको संसारमै महामारीको असाधारण समय हो । लकडाउन छ, आर्थिक गतिविधि र निर्माण प्रक्रिया रोकिएको छ । तर यो स्थायी हो त ? यो अस्थायी हो । आर्थिक गतिविधि चलायमान भएसँगै यो संख्या त्यही अवस्थामा रहँदैन । यो संसारभरकै अवस्था हो ।

    अर्को कुरा, जुन मिथ्यांक उहाँले प्रस्तुत गर्नुभएको छ यसमा राष्ट्र बैंक, महालेखा, तथ्यांक विभागलगायतका राज्यका निकायहरुको कुरा के हो ? तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटमा जुन आर्थिक प्रक्षेपण आएको थियो राज्यका तीनै निकायले गरेको सर्वेका आधारमा बजेट आएको हो ।

    अहिले अर्थमन्त्री जनार्दनले ल्याएको तथ्यांक सही हो भने हिजो विष्णु पौडेलले बजेट पेस गर्ने बेला तीनै राज्यका अंगले दिएको तथ्यांक गलत थियो ? राष्ट्र बैंक, महालेखा, तथ्यांक विभागहरूले विष्णु पौडेललाई गलत तथ्यांक दिएका थियौं भन्न सक्छन् ? आजको विवरण तथ्यमा आधारित हो भने हिजोको हावादारी थियो ?

    राष्ट्र बैंकले के भन्छ ? तथ्यांक विभाग र महालेखाले के भन्छ ? ती तथ्यांकहरू म्याच हुन्छन् कि हुँदैनन् ? त्यसैले यो श्वेतपत्र होइन केपी ओली भर्त्सनापत्र हो र राजनीतिक प्रतिशोधको लालपत्र हो ।

    इतिहासमा पहिलोपटक ४४ प्रतिशतले निर्यात बढेको । केपी ओलीको पालामा निर्यात बढेर १४१ अर्ब पुगेको छ । व्यापार घाटामा यसले कम गरेको छ । तर, जसरी खराबमात्र देखाएर मिथ्यांकको अडेस लगाएका छन्, आउने वर्षदेखि उनीहरूलाई यो गलपासो बन्ने छ । स्याउ र ओखरको तुलना गरेपछि हुने त्यही हो ।

    (पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री तथा प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सदस्य गोकुल बास्कोटासँग कुराकानीमा आधारित)

  • सदनमा फेरि उठ्यो सांसद विकास कोषको कुरा, अर्थमन्त्री भन्छन्- जनचाहना अनुसार हुन्छ

    सदनमा फेरि उठ्यो सांसद विकास कोषको कुरा, अर्थमन्त्री भन्छन्- जनचाहना अनुसार हुन्छ

    काठमाडौं । पूर्वअर्थमन्त्री विष्णु पौडेलले खारेज गरेको सांसद विकास कोष (सांसद पूर्वाधार साझेदारी कार्यक्रम) को निरन्तरताको लागि सदनमा आवाज उठेको छ ।

    अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र प्रस्तुत गरेपछि सुझाव दिने क्रममा नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले
    सांसद पूर्वाधार साझेदारी कार्यक्रमे निरन्तरता पाउँछ कि पाउँदैन ? भनी प्रश्न गरेका छन् । अर्थमन्त्रीले श्वेतपत्रमा प्रतिस्थापन विधेयक प्रस्तुत गरी नयाँ वजेट ल्याउने प्रतिबद्धतालाई सकारात्मक भन्दै केसीले नयाँ बजेटमा सांसद पूर्वाधार साझेदारी कार्यक्रमलाई पनि समेट्न आग्रह गरे ।

    ‘माननीय अर्थमन्त्रीले प्रतिस्थापन विधेयक ल्याएर आर्थिक वर्ष २०७८/७९ को नयाँ बजेट ल्याउने बताउनुभएको छ । यसलाई सकारात्मकरूपमा लिन सकिन्छ । अब निर्माण हुने बजेटमा अत्यन्त लोकप्रिय कार्यक्रम सांसद पूर्वाधार साझेदारी कार्यक्रमले पनि निरन्तरता पाओस् भन्ने सुझाव राख्न चाहान्छु’, केसीले भने ।

    जवाफको क्रममा अर्थमन्त्रीले आफूले कसैप्रति आग्रह/पूर्वाग्रह नराखि वर्तमान आर्थिक अवस्था यथार्थरूपमा प्रस्तुत गरेको दावी गरे । उनले कुनै पनि तथ्यांकसमेत आफूले नबंग्याएको बताए ।

    सांसद पूर्वाधार साझेदारी कार्यक्रमको निरन्तरताको सन्दर्भमा अर्थमन्त्री शर्माले जनचाहनाबमोजिम हुने बताए ।

  • सार्वजनिक संस्थानबाट नगण्य प्रतिफल , राष्ट्रिय गौरव आयोजनामा ५८ प्रतिशतमात्र खर्च

    सार्वजनिक संस्थानबाट नगण्य प्रतिफल , राष्ट्रिय गौरव आयोजनामा ५८ प्रतिशतमात्र खर्च

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक संस्थानको अवस्था कमजोर रहेको बताएका छन् । सदनमा श्वेतपत्र प्रस्तुत गर्दै मन्त्री शर्माले सरकारलाई २ प्रतिशतमात्रै प्रतिफल प्राप्त हुने गरेको सार्वजनिक गरे । निजीकरण गरिएका सार्वजनिक संस्थान मार्फतबाट समेत राम्रो प्रतिफल आउन नसकेको उनको भनाइ छ ।

    मन्त्री शर्माका अनुसार राष्ट्रिय गौरव तथा रुपान्तरणकारी आयोजनमा लक्षित बजेट खर्च नभएको बताए । गत वर्ष कुल बजेटको ५८ प्रतिशतमात्रै बजेट खर्च भएको उनको भनाइ छ । राष्ट्रिय गौरवका आयोजना २२ वटा र रुपान्तरकारी योजना १८ रहेको समेत अर्थमन्त्री शर्माले बताए ।

  • अर्थमन्त्रीको श्वेतपत्र- अर्थतन्त्रको आधार कमजोर, लक्षित वृद्धिदर हाँसिल हुँदैन

    अर्थमन्त्रीको श्वेतपत्र- अर्थतन्त्रको आधार कमजोर, लक्षित वृद्धिदर हाँसिल हुँदैन

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोरोना महामारीका कारण अर्थतन्त्रको आधार कमजोर भएको बताएका छन् । जारी संसद बैठकमा श्वेतपत्र सार्वजनिक गर्दै अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७६/७७ भन्दा अगाडि औषत ७ प्रतिशतले हासिल गर्दै आएको आर्थिक वृद्धि कोरोना जोखिमले हासिल गर्न नसकेको बताए ।

    सरकारले गत आर्थिक वर्ष ८.५ प्रतिशत ८.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको भएपनि २.१ प्रतिशतले ऋणात्मक रहेको उनको भनाइ थियो । त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा राखिएको ७ प्रतिशतको लक्ष्य समेत हासिल नहुने शर्माले उल्लेख गरेका छन् ।

    नेपालमा मुद्रास्फिति भने नियन्त्रित सीमाभित्र रहेको अर्थमन्त्रीको भनाइ छ । गत वर्ष ५ प्रतिशत रहेको मुद्रास्फिति चालु आर्थिक वर्ष ३.६ प्रतिशतको सीमाभित्र रहेको बताएका छन् । उपभोग, वचत तथा पुँजी निर्माणले अपेक्षित गति लिन नसकेको शर्माले बताए । केपी ओलीको सरकारले पनि पुँजीगत खर्च गर्ने सवालमा कमजोर देखिएको उनले बताए ।

  • अर्थमन्त्रीले संसदमा श्वेतपत्र पेस गर्ने

    अर्थमन्त्रीले संसदमा श्वेतपत्र पेस गर्ने

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधिसभाको बैठकमा श्वेतपत्र पेस गर्ने भएका छन् ।

    मन्त्री नियुक्त भएलगत्तै शर्माले श्वेतपत्र ल्याउने घोषणा गरेका थिए । उनले कसैलाई दोषी करार गर्ने नभइ मुलुकको वास्तविक आर्थिक अवस्था झल्काउन आफूले श्वेतपत्र ल्याउन लागेको बताएका थिए ।

    मन्त्रालयले यसलाई अन्तिमरूप दिने काम भइरहेको अर्थमन्त्रालय स्रोतले जनाएको छ । वर्तमान आर्थिक स्थितिलाई समेटेर अर्थमन्त्रीले संसदसमक्ष स्वेतपत्र प्रस्तुत गर्ने  सभामुखको सचिवालयले जनाएको छ ।

    वर्तमान अर्थतन्त्रको वृहत आर्थिक सूचांक, आयात निर्यात, रोजगारीको अवस्था, बजेट खर्चको अवस्था, पुँजीगत बजेट खर्च , आर्थिक वृद्धिलगायतका वर्तमान आर्थिक परिदृष्यहरूलाई श्वेतपत्रमा समेटिनेछ ।

  • अर्थमन्त्रीले भने- श्वेतपत्र कसैलाई आरोप लाउन होइन, नआत्तिनुस्

    अर्थमन्त्रीले भने- श्वेतपत्र कसैलाई आरोप लाउन होइन, नआत्तिनुस्

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफूले जिम्मेवारी सम्हाल्दा देशको अर्थतन्त्रको वास्तविक चित्र जनतालाई बताउन यथार्थपत्र सार्वजनिक गर्ने कुरा गर्दा अनावश्यक आतंक सृजना भएको बताएका छन् ।

    राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरुसहित अर्थविदहरुसँगको छलफलमा बोल्दै मन्त्री शर्माले कसैलाई आरोपित गर्न वा आफ्नो घमण्ड प्रस्तुत गर्न श्वेतपत्रको कुरा नउठाएको बताएका छन्।

    ‘श्वेतपत्र सार्वजनिक गर्दा कसैलाई आरोपित गर्ने पुरानो चलन तोड्न चाहन्छु । मैले यसो गर्छु र उसो गर्छु भनेर घमण्ड देखाउने पनि हैन । जिम्मेवारी लिँदाको वास्तविक चित्र मात्र देखाउन खोजेको हुँ ’, शर्माले भने ‘यसैलाई लिएर बजारमा आतंक सृजना भएको देखियो । आतंकित नहुन अनुरोध गर्छु ।’

    मन्त्री शर्माले पुँजीगत खर्च बढाउन अर्थविद्हरुको सुझावबमोजिम नै तालिका बनाएर अघि बढ्ने योजना रहेको जानकारी दिए। मन्त्री शर्माले विकास निर्माणको कामलाई तीव्रता दिन विद्यमान सार्वजनिक खरिद ऐनका परम्परागत प्राव्धानहरु बाधक रहको टिप्पणी गर्दै त्यसलाई समयानुकुल बनाउन प्रयत्न गर्ने बताएका छन् ।

    उनले विकास निर्माणको काममा जनपरिचालनको मोडालिटी अपनाउनुपर्ने आवश्यकता समेत औंल्याए। जनसहभागिता र समुदायमा आधारित विकास निर्माणको मोडालिटीले विकासको परम्परागत ढर्रामा परिवर्तन आउने विश्वास व्यक्त गर्दै मन्त्री शर्माले भने,‘जनताले स्वामित्व स्वीकार नगरेसम्म विकास निर्माणको कामले गति लिन सक्दैन, त्यसैले जनपरिचालनको मोडालिटी बनाउन आवश्यक देखेको छु ।’

    अन्तर्क्रियामा डा. विश्वम्भर प्याकुरेलले विकासका आयोजनामा वित्तीय लागत घटाउने गरी काम गर्न सुझाव दिए । उनले पुँजीगत खर्च नहुनु र विकासले गति लिन नसक्नुमा संरचनागत समस्या जिम्मेवार रहेको बताए ।

    नवनियुक्त अर्थमन्त्रीहरुले श्वेतपत्र सार्वजनिक गर्ने चलन पुरानै रहेको भन्दै यसमा आपत्ति जनाउनु बेइमानी हुने बताए । उनले निजी क्षेत्रलाई राज्यले निरन्तर रुपमा सुविधा र सहुलियत दिएपनि रोजगारी सृजना र आर्थिक वृद्धिमा अपेक्षित योगदान गर्न नसकेको बताए ।

    डा. खिमलाल देवकोटाले संघीयता कार्यान्वयनमा संघीय सरकारको चासो कम रहेको आरोप लगाउदै व्यूरोक्रेसीको संरचना परिवर्तन गरी प्रदेश र स्थानीय तहमा शक्ति विन्यास पर्नेमा जोड दिएका थिए ।

    डा. हरि रोकाले कोभिडबाट प्रताडित जनताको लागि तत्काल राहत प्याकेज घोषणा गर्न सुझाव दिए। कार्यक्रममा डा जनक शाह, चन्द्रमणि अधिकारी, गोविन्द नेपाल, केशव आचार्य, रामकुमार फुँयाल, चन्द्रकान्त पौडे, कुसुम शाक्य, मीन बहादुर श्रेष्ठ लगायतले आफ्नो सुझाव प्रस्तुत गरेका थिए ।

  • श्वेतपत्रको गृहकार्य गर्दै अर्थमन्त्रालय, अर्थमन्त्रीलाई नैतिक संकट

    श्वेतपत्रको गृहकार्य गर्दै अर्थमन्त्रालय, अर्थमन्त्रीलाई नैतिक संकट

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले अर्थतन्त्रको वर्तमान अवस्थाबारे स्वेतपत्र ल्याउने तयारी अगाडि बढाएका छन् । अर्थविद् डा. सुरेन्द्र उप्रेतीको संयोजकत्वमा श्वेतपत्र लेखनसम्वन्धी काम अगाडि बढिरहेको अर्थमन्त्रालयले जनाएको छ ।

    ओली सरकारका पालमा अर्थमन्त्री बनेका डा.युवराज खतिवडाले २०७४ फागुन १६ गते श्वेतपत्र जारी गर्दै राष्ट्रको ढुकुटी रित्तो रहेको दावी गरेका थिए । प्रतिपक्षी पार्टी कांग्रेसले उक्त श्वेतपत्रको विरोध गरेको थियो । श्वेतपत्रमा अर्थतन्त्रको खराब चित्र देखाएका अर्थमन्त्री डा। खतिवडा यसलाई सुधारको बाटोमा ल्याउन नपाइकन बिदा भए ।

    खतिवडासँग कुनैवेला एउटै पार्टीमा रहेका शर्माको हातमा अर्थमन्त्रालयको बागडोर परेको छ । हाल उनी रहेको नेकपा माओवादी केन्द्र र एमाले मिलेर नेकपा पार्टी बनेको थियो । विगत ४ वटा बजेट कम्युनिष्ट अर्थमन्त्रीले प्रस्तुत गरेका छन् भने चुनावअघिको एउटा वजेट पनि कम्युनिष्ट पार्टीकै अर्थमन्त्रीले प्रस्तुत गर्ने अवसर पाएका छन् ।

    आफ्नै पार्टी सरकारमा भएको समयको कामको समिक्षा गरेर त्यसलाई असफल ठहर्याउने सुविधा अर्थमन्त्री शर्मासँग नरहेको विश्लेषण भइरहेको छ । सफल देखाउन पनि उनी चाहँदैनन् । त्यसैले अर्थमन्त्री शर्र्मा नैतिक संकटमा परेका छन् । त्यसो त अध्यादेशमार्फत ओली सरकारले नै बजेट प्रस्तुत गरिसकेकाले पनि शर्माले ल्याउने श्वेतपत्रले खासै महत्व नराख्ने कतिपयको विश्लेषण छ ।

    खतिवडाले रेमिट्यान्समा आधारित आम्दानी र आयातमा आधारित राजश्व नेपालको अर्थतन्त्रको विशेषता भएको बताएका थिए । बेरोजगारी, गरीबी, भ्रष्टाचार, वित्तीय संघीयता कार्यान्वयन र व्यापारघाटा नेपालको अर्थतन्त्रको मुख्य चुनौति भएको भन्दै उनले अर्थतन्त्रको पुर्नसंरचना गर्ने बताएका थिए ।

    खतिवडाको उत्तराधिकारीकारुपमा अर्थमन्त्री बनेका बिष्णु पौडेलले अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्दै चालू आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेपछि विदा भएका छन् ।

    सर्वोच्च अदालतको फैसलापछि अर्थमन्त्री बनेका शर्माले ओली नेतृत्वको सरकारले करिव साँढे तीन वर्षमा गरेका आर्थिक प्रगतिको विवरण समेटर श्वेतपत्र जारी गर्न लागेका हुन् । श्वेतपत्रमा उनले अघिल्ला अर्थमन्त्रीले गरेका कामको समिक्षा र अर्थमन्त्रालयका आगामी कार्यदिशालाई समेटर श्वेतपत्र जारी गर्न लागेका हुन् ।

    अर्थतन्त्र चुनौतिपुर्ण अवस्थामा

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व सम्हालेपछि चारवटा वजेटहरु प्रस्तुत भएका छन् । जसमध्ये अधिकांश वजेटले लिएको लक्ष्य पुरान हुन सकेको छैन ।

    ओली सरकार आफ्नै पार्टीभित्रको आन्तरिक किचलोका कारण करिब डेढ बर्षसम्म मुलुक अस्थिरताबीच गुज्रिदा त्यसको सोझो प्रभाव अर्थतन्त्रमा पर्यो । त्यस्तै बजेट पूर्णरुपमा कार्यान्वयन नहुनुमा कोभिड १९ सबैभन्दा ठुलो कारण बन्न पुगेको छ ।

    कोभिड- १९ रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको लकडाउन र निषेधाज्ञाले आर्थिक गतिविधिहरु ठप्प बन्न पुगेका थिए । जसका कारण अघिल्लो आर्थिक वर्षको वजेट मार्फत ८.५ प्रतिशत आर्थिक बृद्धिदरको लक्ष्य राखिएकोमा २ प्रतिशत ऋणात्मक रह्यो ।

    त्यस्तै गत आर्थिक वर्षको ७ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य राखिएकोमा ४.०१ प्रतिशतले हुने अनुमान गरिएकोमा बैशाख महिनामा भएको निषेधाज्ञाका कारण उक्त लक्ष्य नभेटिने निश्चित छ । चालू आर्थिक बर्षका लागि सरकारले ६.५ प्रतिशतको आर्थिक बृद्धिदर कायम हुने बताएको छ ।

    खतिवडाले श्वेतपत्रमा उल्लेख गरेनुसार यस अवधिमा नेपालको अर्थतन्त्रको पुर्नसंरचना हुन सकेन । आन्तरिक उत्पादन बढ्न नसक्दा बस्तु आयात तथा ब्यापारघाटामा कमी आएको छैन ।

    वैदेशिक रोजगारी कोभिडका कारण प्रभावित भए पनि रेमिटान्सका आधारमा नै जनताको आम्दानी चलेको छ । सरकारको आम्दानी आयातमा आधारित राजस्वमा नै निर्भर रहेको छ । महामारीका कारण साना, मझौला तथा ठुला उद्योग व्यवसायहरु प्रभावति हुँदा उत्पादन रोजगारी र उपभोग प्रभावित भएका छन् ।

    पर्यटन क्षेत्र तथा यसमा संलग्न व्यवसायी तथा श्रमिकहरुलाई कोभिडले सबैभन्दा बढी प्रभावित बताएको छ । विश्व बैंक, एसियाली बिकास बैंक र अन्तर्राष्ट्रिय मुद्राकोष लगायतका अन्तर्राष्ट्रिय संस्थाहरुको प्रतिवेदनले नेपालमा गरिबि तथा बेरोजगारीको दर बढेको देखाएका छन् ।