Tag: शेरबहादुर देउवा

  • देउवाको नयाँ सरकार : भारत र चीनको ‘फेयर प्ले’

    देउवाको नयाँ सरकार : भारत र चीनको ‘फेयर प्ले’

    अमेरिकी राष्ट्रपतिमा जो निर्वाचित भएर आए पनि पहिलोपटक इजरायली प्रधानमन्त्रीलाई शुरूआतमै फोन संवाद गर्ने प्रचलन हुन्छ । तर, सन् २०२१ को जनवरी २० मा अमेरिकाको ४६ औँ राष्ट्रपति बनेका जो बाइडेनले त्यो हतारो गरेनन् । उनले आफ्ना दुई छिमेकी क्यानडा, मेक्सिको हुँदै बेलायत, जर्मनी, फ्रान्स, जापान, रसिया र नाटो गठबन्धनका देशका राष्ट्र तथा सरकार प्रमुखसँग पहिले संवाद गरे ।

    राष्ट्रपति भएको करिब १३ दिनपछि मात्रै बाइडेनले इजरायली प्रधानमन्त्री बेन्याबिन नेतान्याहुलाई फोन गरेको इजरालयली अखबार हाअरेजले लेखेको छ । १३ दिनपछि बोल्न पनि इजरायलले धेरै पापड बेल्नु परेको थियो । इजरायलका लागि संयुक्त राष्ट्रसंघका पूर्वस्थायी प्रतिनिधि डेनी डानोनले यो ढिलाइका विषयमा आपत्ति जनाएका थिए ।

    बाइडेनले नेतान्याहुसँग फोन संवादलाई प्राथमिकता नदिनुमा मुलतः उनले नेतान्याहुको सरकारको विभाजित जनमत बारेमा गरेको कूटनीतिक ‘फेयर प्ले’ थियो । तत्काल संवाद गर्दा बाइडेनले नेतान्याहुलाई मानेको भनेर नेतान्याहु र उनको पार्टी समर्थकहरूले व्यापक विज्ञापन गर्थे । त्यसको राजनीतिक फाइदा उनीहरूलाई मिल्थ्यो । यो बाइडेनले बुझेका थिए र उनी त्यो दृष्यमा तत्काल देखिएन ।

    अहिले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ प्रधानमन्त्री नियुक्तिमा नेपालका दुई छिमेकी भारत र चीनले पनि कूटनीतिक ‘फेयर प्ले’ गरिरहेका छन् । अष्ट्रेलियन असोसिएट प्रेसले भनेजस्तै अदालतबाट भएको फैसला राजनैतिक दलहरूका बीच ‘विवादास्पद’ नै हो । ओली पक्ष फैसलामा नकारात्मक छ । सत्तारुढ गठबन्धन सकारात्मक । यस्तो बेलामा फ्रन्टलाइनमा आएर बधाई दिँदा शक्तिशाली छिमेकीहरूको साथ गठबन्धनलाई रहेको सन्देश जान्थ्यो । यो सन्देश जान नदिन भारत र चीन दुवैले देखिने गरी ढिलाइ गरिरहेका छन् ।

    भारतले राजदूत विनयमोहन क्वात्रामार्फत मात्रै बधाई दिएको छ । तर, परम्परागतरूपमा सबैभन्दा शुरूमा वा प्रधानमन्त्री-मन्त्रीस्तरबाट आउने गरेको आएन । अमेरिकी राजदूत र्‍यान्डी बेरीले सामाजिक सञ्जालमार्फत पहिलो बधाई दिएका थिए ।

    अहिले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ प्रधानमन्त्री नियुक्तिमा नेपालका दुई छिमेकी भारत र चीनले पनि कूटनीतिक ‘फेयर प्ले’ गरिरहेका छन् । अष्ट्रेलियन असोसिएट प्रेसले भनेजस्तै अदालतबाट भएको फैसला राजनैतिक दलहरूका बीच ‘विवादास्पद’ नै हो । ओली पक्ष फैसलामा नकारात्मक छ । सत्तारुढ गठबन्धन सकारात्मक ।

    सो सामाग्री तयार पार्दासम्म चीनबाट बधाई आएको छैन । आउन त आउला नै । तर, चीनले बधाईको हतारो नदेखाउनुले देउवा सरकारप्रति उसको मनस्थिति उत्साहजनक नरहेको आँकलन गर्न सकिन्छ ।

    दुई शक्तिशाली छिमेकीको दुर्लभ ‘फेयर प्ले’

    एसियाली शक्ति बन्ने क्रममा रहेको दक्षिण एसियाली महाशक्ति भारत र विश्व शक्ति बन्ने क्रममा रहेको एसियाली महाशक्ति चीनको बीचमा छ नेपाल । यी दुई देशबीच कुटनीतिक सन्तुलन कायम गर्ने विषय नेपालका लागि सँधै पेचिलो हुने गर्छ ।

    नेपालमा भएका सबैजसो राजनीतिक घटनाक्रम र परिवर्तनमा आफ्नो हात रहेको देखाउन भारतले कहिल्यै कुनै कसर छाड्दैन । अहिले नेपालमा बनेको सत्तारुढ गठवन्धन पनि भारतका निम्ति अनुकूल रहेको विश्वास गरिन्छ । एमाओवादी अध्यक्ष प्रचण्ड यसअघि नै आफूहरूको सरकार भारका लागि कम्फर्टेबल हुने बताइसकेका छन् । ओली सरकार ढल्दा भारत निरास वा दु:खी हुनुपर्ने कारण पनि छैन ।

    तर, पनि भारतले देउवालाई उच्चस्तरबाट बधाई दिएको छैन । न प्रधानमन्त्री मोदीले, न त विदेशमन्त्री एस जयशंकरले कुनै सन्देश पठाए । भारतले देउवालाई महत्व नदिएको हो वा महत्व नदिएको अभिनय गरेको हो भन्ने प्रश्न उठ्छ । देउवाको प्रधानमन्त्रीकाल ३० दिनमै टुंगिन सक्ने खतरा बुझेर पनि भारतले धेरै उत्साह नदेखाएको हुन सक्छ ।

    २०७४ को चुनावबाट अत्यधिक बहुमत ल्याएका प्राइम मिनिस्टर-इन-वेटिङ ओलीलाई बधाई दिन भारतले धेरै हतारो गरेको थियो । ओली प्रधानमन्त्री नहुँदै तत्कालीन भारतीय परराष्ट्रमन्त्री सुष्मा स्वराज २०७४ माघ १८ मा नेपाल आइन् । बहालवाला प्रधानमन्त्रीलाई लगभग ‘बाइपास’ जस्तो गर्दै नेपाल भ्रमणमा आएकी स्वराजले ओली जस्तै आफ्नो पनि स्वाथ्य समस्या भएकोजस्ता भावनात्मक कुरा गरेकी थिइन् । भारतीय प्रधानमन्त्री मोदीले वाम गठबन्धनबाट चुनाव जित्नासाथ २०७४ पुस ६ मा ओलीलाई बधाई दिएका थिए । यस्तै, प्रधानमन्त्री बन्ने पक्का भएपछि २०७४ माघ ७ मा पुनः बधाई दिएका थिए । त्यो लेभलको भावुकता र सक्रियता अहिले भारतले देखाएको छैन ।

    अर्को चीनले पनि नयाँ सरकार निर्माण भएपछि खासै सक्रियता देखाएको छैन । गत वर्ष ओली प्रधानमन्त्री बन्दा चिनियाँ राजदूतले हतार-हतार भेटेर बधाई दिएकी थिइन् । यसपाली भने राजदूतको तर्फबाट कुनै पनि शुभकामना सन्देशसम्म जारी भएको छैन ।

    चीन धेरै देखिने गरी कूटनीतिक सक्रियता पेस गर्दैन । तर, ओली प्रधामन्त्री भएको वामपन्थी सरकार बनेताका भने चीनको परम्परागत कूटनीतिबाट नयाँ डिपार्चर भएको थियो । राजदूत हु याङ्सी निक्कै सक्रिय भइन् । अहिले त्यो सक्रियता छैन ।

    कूटनीतिमा हतारहतार बोल्दा अर्थ हुन्छ । हतारहतार नबोल्दा पनि अर्थ हुन्छ । भारतले अहिले अग्रपंक्तिमा नबोलेर आफ्नो कूटनीतिक ‘फेयर प्ले ‘गरेको छ । भारतअघि बसेर बोल्दा भारतको समर्थनले नयाँ सरकार बनेको भन्ने सन्देश मात्रै जाँदैनथ्यो, नेपालमा भएका भारतविरोधीहरूलाई आलोचनाको अर्को खुराक हुन्थ्यो । भारत र चीन दुवै मिलाएर लाने र दुवैको साथ छ भन्ने दावी गर्न र राजनीतिक सन्देश दिन देउवा र प्रचण्डलाई सुविधा हुन्थ्यो । अहिले यी केही भएनन् । भारतले देखिने तटस्थता कायम गर्‍यो ।

    हुन त अहिले अलजजिरादेखि थुप्रै भारतीय मिडियाहरूले देउवा ‘भारतका मित्र’ वा ‘भारतनिकट’ भनेर व्याख्या गरेका छन् । त्यही व्याख्यालाई राजनीतिक र कूटनैतिक सन्देश भने उच्च स्तरबाट आएन । यसको प्रत्यक्ष फाइदा स्वयं भारतलाई छ । नेपाललाई पनि छ ।

    दक्षिण एसियामा नेपाल, बंगलादेश, श्रीलंकादेखि माल्दिभ्ससम्म भारतको विकल्प र प्रतिस्पर्धी देखिने चीनले नयाँ सरकार निर्माणको कूटनैनिक सन्देशमा भने त्यस्तो प्रतिस्पर्धा गरेन । त्यसले पनि चीनलाइ नै फाइदा छ । किनभने चीन नेपालमा अनावश्यक प्रतिपर्धामा छैन भन्ने सन्देश जान्छ । नेपाललाई पनि फाइदा छ किनभने नेपालको कूटनीतिमा सधैँ भारत र चीनको प्रतिस्पर्धा हुन्न भने सन्देश हो यो ।

    त्यस कारणले आजसम्म देखिएको सिनका आधारमा भन्न सकिन्छ । नयाँ नेपाली राजनीतिक घटनाहरूमा भारत र चीनले कुनै पक्षको स्पष्ट सहयोग गरेको देखाएनन् । यो एक खालको कूटनीतिक ‘फेयर प्ले’ नै हो ।

  • सिंहदरबारमा सत्तारुढ गठबन्धनको बैठक, माधव नेपाल गएनन्

    सिंहदरबारमा सत्तारुढ गठबन्धनको बैठक, माधव नेपाल गएनन्

    काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक सिंहदरबारमा शुरू भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा गठबन्धनको बैठक शुरू भएको हो ।

    बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत उपस्थित छन् । देउवा सरकारलाई साथ दिएका एमाले वरिष्ठ नेता माधवकुमार नेपाल भने बैठकमा अनुपस्थित छन् ।

    एमाले सरकारबाट हटेसँगै आफू गठबन्धनमा नरहेको घोषणासहित देउवालाई परिस्थिति बुझिदिन आग्रह गरेका थिए ।

    बैठकमा मन्त्रालय बाँडफाँड, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

  • नेपाल र अमेरिकाबीचको मित्रता थप सुदृढ गरिने छ : प्रधानमन्त्री देउवा

    नेपाल र अमेरिकाबीचको मित्रता थप सुदृढ गरिने छ : प्रधानमन्त्री देउवा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नयाँ कार्यकालमा नेपाल र संयुक्त राज्य अमेरिकाबीचको मित्रता र साझेदारीलाई थप सुदृढ गरिने बताएका छन् ।

    आफ्नो निजी निवास बूढानीलकण्ठमा नेपालका लागि अमेरिकाका राजदूत ¥यान्डी बेरीसँगको भेटमा प्रधानमन्त्री देउवाले सो कुरा बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    मंगलबार पद तथा गोपनीयताको शपथ लिएका प्रधानमन्त्री देउवालाई राजदूत बेरीले सोही दिन सामाजिक सञ्जालमार्फत बधाई दिएका थिए ।

  • राष्ट्रसंघद्वारा देउवालाई बधाई : तीन प्राथमिक विषयमा सरकारसँग काम गर्न राष्ट्रसंघ इच्छुक

    राष्ट्रसंघद्वारा देउवालाई बधाई : तीन प्राथमिक विषयमा सरकारसँग काम गर्न राष्ट्रसंघ इच्छुक

    काठमाडौं । संयुक्त राष्ट्रसंघले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाइ तथा शुभकामना दिएको छ । राष्ट्रसंघको नेपाल कार्यालयकी निर्देशक सारा बिसोलो न्यान्तीले बधाइ दिएकी हुन् ।

    कोभिड–१९ महामारी, अल्पविकसित मुलुकबाट स्तरोन्नती र सन् २०३० मा दिगो विकास लक्ष्य हासिल गर्न नेपालसँग मिलेर काम गर्न राष्ट्रसंघ तयार रहेको समेत बधाइ सन्देशमा उल्लेख छ ।

    प्रधानमन्त्री देउवालाई बेलायत, अमेरिका, युरोपेली युनियन लगायतका मुलुकले बधाई ज्ञापन गरेका छन् ।

  • देउवाद्वारा नेपाल पक्षलाई सरकारमा आउन प्रस्ताव, दल विभाजनका लागि कानूनी प्रवन्ध मिलाउने आश्वासन

    देउवाद्वारा नेपाल पक्षलाई सरकारमा आउन प्रस्ताव, दल विभाजनका लागि कानूनी प्रवन्ध मिलाउने आश्वासन

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई आज भेटेर सरकारमा आफ्नो पक्षलाई सहभागी गराउन प्रस्ताव गरेका छन् । नेपाल निवास कोटेश्वरमै पुगेर देउवाले यस्तो प्रस्ताव राखेका हुन् ।

    स्रोतका अनुसार देउवाले आवश्यक परेको खण्डमा पार्टी विभाजनका लागि आवश्यक कानूनी तारतम्य मिलाइदिन सक्ने आश्वासन पनि नेपाललाई दिएका थिए ।

    देउवाको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘म तपाईंको अप्ठेरो फुकाउन तयार छु । तपाईंले मलाई सहयोग गर्नुभएको छ । म पनि तपाईंलाई सहयोग गर्छु । जसरी संसद जोगाउनका लागि हामी सँगै अदालत गयौं, भोली पनि संसद जोगाउन सँगै रहनुपर्छ । तपाईं एमालेमा रहन नसक्ने भए दल विभाजन गर्न आवश्यक कानूनी प्रवन्ध मिलाउन पनि तयार छु ।’

  • माधव नेपाल भेट्न प्रधानमन्त्री देउवा कोटेश्वर जाँदै

    माधव नेपाल भेट्न प्रधानमन्त्री देउवा कोटेश्वर जाँदै

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल भेट्न कोटेश्वर प्रस्थान गरेका छन् ।

    सिंहदरबारबाट नेता नेपाल भेट्न प्रधानमन्त्री देउवा बाहिरिएका हुन् । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का यसअघि नै कोटेश्वर पुगिसकेका छन् ।

    संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री बन्न एमालेको माधव पक्षका २३ जना सांसदहरूले देउवालाई समर्थन दिएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालसँग संवादको औचित्य नरहेको बताएलगत्तै देउवा नेपाल निवास जान लागेका हुन् ।
  • राष्ट्रपतिको तस्वीरमा ‘सेतो पट्टि’! के हो वास्तविकता ?

    राष्ट्रपतिको तस्वीरमा ‘सेतो पट्टि’! के हो वास्तविकता ?

    काठमाडौं । शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएर हिजो नयाँ मन्त्रीपरिषद गठन भयो । हिजो नै मन्त्रीपरिषदको बैठक सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बस्यो । उक्त बैठकको राष्ट्रिय समाचार समितिद्वारा सञ्चारमाध्यममा प्रेषित गरिएको तस्वीरले धेरैको ध्यानाकर्षण गरेको छ ।

    बैठक कक्षको भित्तामा राष्ट्रपति विद्यादेवी भण्डारीको तस्वीर छ, जसको ठिक सामुन्ने प्रधानमन्त्री शेरबहादुर देउवा बसेका छन् । राष्ट्रपति भण्डारीको तस्वीर नियालेर हेर्दा उनको आँखा सेतो कागज वा टेपले छोपिएको जस्तो दखिएको छ ।

    कतिपयले यसलाई फोटोसप गरिएको भनेका छन् त कतिले राष्ट्रपतिसँगको रिसइबीका कारण सरकारले नै यस्तो हर्कत गरेको आशंका गरेका छन् ।

    यस विषयमा हामीले राष्ट्रिय समाचार समितिका महाप्रवन्धक सिद्धराज राईसँग प्रश्न गर्दा उनले फोटोमा कुनै छेडखानी नगरिएको बताए ।
    ‘जस्तो फोटो खिचिएको थियो, हामीले त्यस्तै प्रेषित गरेका हौं, फोटोसप गरिएको छैन,’ उनले भने, ‘राष्ट्रपतिको तस्वीरमा देखिएको सेतो भागको वास्तविकता के हो भन्ने हामी बुझ्दैछौं ।’

    सो तस्वीर खिच्ने राससका फोटोपत्रकार रोसन सापकोटाले चाहिँ क्यामराको लाइट राष्ट्रपतिको तस्वीरमा परेकाले सेतो भाग देखिएको दाबी गरेका छन् ।

    उनले भने, ‘नेपाल टेलिभिजनको लाइट प्रधानमन्त्रीको आँखामा सोझै परेपछि सिलिङतिर फर्काइएको थियो । त्यही लाइटका कारण राष्ट्रपतिको फोटोमा त्यस्तो देखिएको हो ।’

    मन्त्रिपरिषद् कार्यालयका एक सचिवले यस विषयमा आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिए ।

    हिजो राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियूक्त गर्दा संविधानको धारा उल्लेख नगरेको भनेर पहिलो विवाद सिर्जना भएको थियो । त्यसलगत्तै यस्तो तस्वीर बाहिर आएपछि विभिन्नथरि आशंका व्यक्त भएको हो ।

  • देउवालाई विश्वासको मत दिलाउन एमालेको नेपाल पक्षले सहयोग गर्ने

    देउवालाई विश्वासको मत दिलाउन एमालेको नेपाल पक्षले सहयोग गर्ने

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा नेकपा (एमाले)को माधव नेपाल पक्षले सहयोग गर्ने भएको छ । सकभर सिंगो एमालेलाई नै विश्वासको त दिन लगाउने नभए आफूहरुले देउवालाई विश्वासको मत दिने नेपाल पक्षका केन्द्रीय सदस्य मेटमणि चौधरीले बताए ।

    एमालेको नेपाल पक्षका २३ सहित १ सय ४६ सांसदले हस्ताक्षर गरेर सर्वोच्च अदालतमा रिट हालेपछि प्रधानमन्त्रीबाट केपी शर्मा ओली पदमुक्त भएका छन् । सर्वोच्च अदाले उक्त रिटमाथि फैसला सुनाउँदै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो।

    ‘सकभर सिंगो पार्टीलाई नै देउवाका लागि विश्वासको मत दिन लगाउने, नभए हामी २३ जनाले भए पनि मत दिने भन्ने कुरा छ,’ नेपाल प्रेससँग चौधरीले भने, ‘हामी आँखा चिम्लेर विश्वासको मत दिन्छौं । नभए यो व्यवस्था टिक्दैन ।’

    सर्वोच्चको फैसलापछि संविधानको धारा ७६ (५) बमोजिम देउवा प्रधानमन्त्रीमा नियुक्त भइ कार्यभार ग्रहण गरिरहेका छन् । तर, देउवाले ३० दिन भित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्छ । सर्वोच्चको फैसलामा संविधानको धारा ७६ (५) अन्तर्गत नियुक्त भएका प्रधानमन्त्रीले विश्वासको मत लिँदा दलीय ह्वीप नलाग्नेसमेत उल्लेख छ । विश्वासको मत लिन देउवा सफल नभए प्रतिनिधिसभा स्वतः विघटन भएर देश चुनावतिर जाने छ।

    सर्वोच्चको फैसला आएकै दिन सोमबार बसेको विपक्षी गठबन्धनको बैठकमा नेता नेपालले आफूहरु गठबन्धनबाट बाहिरिने घोषणा गरेका थिए । सर्वोच्चको फैसला र कार्यदलमा भएको १० बुँदे सहमतिले पार्टीमा नयाँ परिस्थिति निर्माण भएको भन्दै परिस्थिति विझिदिन नेता नेपालले अन्य नेताहरुसँग आग्रह गरेका थिए ।

    तर फैसलापछि ओली पक्ष माधव नेपालसँग रुष्ट बनेको छ। एमालेको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङ फैसलापछि नेपालको गतिविधिले संवादको सम्भावाना नरहेको बताउँछन् । उनले भने, ‘फैसलापछि उहाँको गतिविधि जुन देखिएको छ, त्यसले स्थिति त्यति धेरै सकरात्मक देखिन्न।’

    विपक्षी गठबन्धनमा लागेर नेपाल पक्ष सर्वोच्चमा गएका कारण ओली पदमुक्त हुनुपरेपछि संस्थापन पक्ष नेपाल पक्षसँग रुष्ट छ। नेपाल पक्षका केन्दीय सदस्य चौधरी यसलाई बालुवाटार छोड्नु परेको पीडा र आवेग भन्दै त्यो केही समय मात्रै रहने बताउँछन्।

    सर्वोच्चको फैसला आउनु अघिल्लो दिन विवाद समाधान गर्न गठित कार्यदलले १० बुँदे सहमति जुटाएको थियो। कार्यदलले उक्त सहमतिको प्रतिवेदन ओली र नेपाल दुवैलाई हस्तान्तरण गरिसकेको छ ।

    उक्त सहमतिलाई क्रमशः स्थायी कमिटी र केन्द्रीय कमिटीबाट अनुमोदन गर्ने, त्यसअघि ओली र नेपाल भेटघाट गरेर त्यसलाई अन्तिमरुप दिने सहमति कार्यदलमा बनेको थियो।

  • शेरबहादुर देउवा : असीग्रामदेखि पाँचौपटक सिंहदरबारको सिंहासनसम्म

    शेरबहादुर देउवा : असीग्रामदेखि पाँचौपटक सिंहदरबारको सिंहासनसम्म

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौपटक मुलुकको कार्यकारी पदमा पुगेका छन् । सोमबार सर्वोच्च अदालतको परमादेशअनुसार देउवा मंगलबार पाँचौपटक प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

    २००३ सालमा डडेल्धुराको असीग्राममा जन्मिएका देउवाले स्थानीय असीग्राम प्राविबाटै प्रारम्भिक शिक्षा हासिल गरेका थिए । डोटीको सीताराम माविबाट माध्यमिक शिक्षा पूरा गरेका देउवा विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् ।

    उच्च शिक्षाका लागि काठमाडौंको त्रिचन्द्र क्याम्पसमा भर्ना भएसंगै देउवा राजनीतिक गतिविधिमा क्रियाशील हुन थालेका थिए । २०१७ साल पुस १ गतेको कदमविरुद्ध संघर्षमा रहेको नेपाली कांग्रेसको विचारबाट प्रभावित देउवा आफूलाई ‘डेमोक्रेट’ भन्न रुचाउँथे ।

    नेपाल विद्यार्थी संघको स्थापनापूर्व नै विद्यार्थी राजनीतिमा क्रियाशीलता बढाएका देउवा २०२८ सालमा नेविसंघको सभापति बने । राजनीतिक जीवनकालमा पटक–पटक गरी १० वर्षभन्दा बढी समय जेल जीवन बिताएका देउवाले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

    कानुनमा स्नातक समेत गरेका देउवा सर्वोच्चको फैसलापछि पाँचौपटक प्रधानमन्त्री बनेका हुन् । आफूलाई ज्योतिषले ७ पटकसम्म प्रधानमन्त्री हुने भविष्यवाणी सुनाएको बताउने देउवा २०४८ सालदेखि यताका सबै निर्वाचनमा अपराजित छन् ।

    गृहजिल्ला डडेल्धुराबाट लगातार ६ पटकसम्म निर्वाचन जितेका देउवा २०७२ साल फागुनमा सम्पन्न कांग्रेसको १३ औं महाधिवेशनबाट पार्टी सभापति बन्न सफल भएका थिए । २०४८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री रहेका देउवा २०५२ सालमा पहिलोपटक प्रधानमन्त्री बनेका थिए ।

    मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिष्ट सरकार ढलेपछि देउवाले सरकारको नेतृत्व गर्ने अवसर पाए । २०५८ सालमा दोस्रोपटक प्रधानमन्त्री बनेका देउवालाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५९ साल असोज १८ मा अपदस्त गरेका थिए ।

    त्यसअघि देउवाले पार्टी निर्णयविपरीत संकटकाल लगाउने निर्णय लिएपछि कांग्रेसले कारवाही गरेको थियो । पार्टीले गरेको कारवाहीको राजनीतिक प्रतिवाद गर्ने क्रममा देउवाले आफ्नै सभापतित्वमा नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरे । प्रतिनिधिसभा विघटन गरे । २०६१ मा तत्कालीन राजा ज्ञानेन्द्रले देउवालाई नै पुनः प्रधानमन्त्रीमा नियुक्त गरे । ‘गोर्खाली राजाले न्याय गरेको’ भन्दै देउवाले एमालेसहितको सरकार सञ्चालन गरे । यद्यपि २०६१ माघ १९ मा ज्ञानेन्द्रले दोस्रोपटक असक्षम भन्दै देउवालाई अपदस्त गरेर प्रत्यक्ष शासन सुरु गरे ।

    लोकतान्त्रिक आन्दोलनपछि संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा देउवा नेतृत्वको नेपाली कांग्रेस प्रजातान्त्रिक र कोइराला नेतृत्वको नेपाली कांग्रेसबीच एकता भयो । २०५७ सालमै कोइरालाविरुद्ध सभापतिमा प्रतिस्पर्धा गरेका देउवाले २०६७ मा सम्पन्न कांग्रेसको १२ औं महाधिवेशनमा सुशिल कोइरालासंग प्रतिस्पर्धा गरे । २०७२ फागुनमा कांग्रेसको सभापति बनेपछि देउवा पुनः राजनीतिको केन्द्रमा छाए ।

    केपी ओली नेतृत्वको एमाले–माओवादी गठबन्धन सरकार ढालेर प्रचण्डलाई प्रधानमन्त्री बनाएका देउवाले माओवादीकै समर्थनमा २०७४ जेठमा चौथोपटक सत्तारोहण गरे । चौथोपटक प्रधानमन्त्री हुँदा तीन वटै तहको निर्वाचन गराउने महत्वपूर्ण कार्यभार देउवाले पूरा गरे । यद्यपि निर्वाचनमा पार्टी जिताउन असमर्थ भएपछि २०७४ मंसिरपछि देउवा प्रमुख प्रतिपक्षी दलको नेताको भूमिकामा थिए । नेकपा विवाद र प्रधानमन्त्री ओलीले चालेका पछिल्ला राजनीतिक कदमबाट प्रत्यक्ष लाभ लिदै देउवा पाँचौ पटक सत्तामा पुगेका छन् ।

    संविधानतः १ महिनाभित्र संसदमा विश्वासको मत लिनैपर्ने बाध्यता देउवासामू छ । विश्वासको मत नपाए मध्यावधि निर्वाचन सम्पन्न गराउने दायित्व देउवाकै काँधमा आउनेछ । पार्टीको १४ औं महाधिवेशनबाट सभापतिमा दोहोरिने तयारी गरिरहेका देउवालाई यसपटकको सत्तारोहण कत्तिको फाप्ला ? अझै केहीदिनको राजनीतिक परिस्थितिले निर्धारण गर्नेछ ।

  • देउवा बल्ल शीतलनिवासमा, सपथमा किन भयो ढिलाइ ?

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको सपथमा ढिलाइ भएको छ । प्रधानमन्त्री नियुक्तिका विषयमा राष्ट्रपति कार्यालयबाट जारी भएको विज्ञप्तीको भाषा सच्याउन देउवाले माग गरेका छन् ।

    विज्ञप्ती सच्याएपछि खबर गर्न मुख्यसचिव शंकरदास वैरागीलाई भनेका देउवा राष्ट्रपति कार्यालय पुगेका छन् । यद्यपि विज्ञप्ती सच्चिएको निश्चित नभएकाले सपथमा ढिलाइ भएको बताइएको छ ।

    देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपति कार्यालयको विज्ञप्तीमा संविधानको धारा उल्लेख नगरी सर्वोच्च अदालतको फैसलाबमोजिम भनेर उल्लेख गरिएको थियो ।

  • देउवाको नियुक्ति संविधानको कुन धाराअन्तर्गत ? बोलेन शीतल निवास

    देउवाको नियुक्ति संविधानको कुन धाराअन्तर्गत ? बोलेन शीतल निवास

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संविधानको कुन धाराअन्तर्गत प्रधानमन्त्री नियुक्त भएका हुन् ? राष्ट्रपति कार्यालय यसबारेमा मौन बसेको छ ।

    राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिबाट देउवालाई संविधानको कुन धारा अन्तर्गत नियुक्त गरियो भन्ने उल्लेख छैन ।

    राष्ट्रपतिले संविधानको धारा उल्लेख गरेर प्रधानमन्त्री नियुक्त गर्ने प्रचलन रहे पनि देउवाको नियुक्तिमा सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८ असार २८ गतेको फैसला बमोजिम नियुक्त गरिएको उल्लेख छ ।

    अदालतले देउवालाई संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गर्न परमादेश जारी गरेको थियो । राष्ट्रपतिले सो धारा बमोजिम दावी गरेका देउवा र केपी शर्मा ओली दुवैको दावी नपुगेको भन्दै जेठ ७ गते प्रधानमन्त्रीमा दुवैलाई नियुक्त नगरेपछि प्रतिनिधिसभा विघटन भएको थियो ।

    राष्ट्रपति कार्यालय स्रोतका अनुसार अदालतको परमादेश पालना गरिएको हो । संविधानको धारा ७६ (५) मा प्रधानमन्त्री नियुक्त गर्ने अधिकार राष्ट्रपतिलाई दिएकोमा सर्वोच्चले परमादेश दिएपछि देउवाको नियुक्ति अदालतको आदेशका कारण भएको हो ।

  • देउवाको सपथग्रहण बेलुका ६ बजे, ओलीले भोलि बालुवाटार छोड्ने

    देउवाको सपथग्रहण बेलुका ६ बजे, ओलीले भोलि बालुवाटार छोड्ने

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको सपथग्रहण आज बेलुकी ६ बजेका लागि तय भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा उनको सपथ ग्रहण हुने छ ।

    सर्वोच्च अदालतको परामादेश कार्यान्वयन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरिसकेकी छन् । आज सपथग्रहणपछि सानो आकारको मन्त्रिमण्डल बनाउने देउवाले तयारी गरेका छन् ।

    यसैबीच निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भोली सरकारी निवास बालुवाटार त्याग्ने भएका छन् । बुधबार बिहान ११ बजे उनी बालुवाटारबाट आफ्नो निजी निवास बालकोट सर्न लागेको स्रोतले बतायो ।

  • अदालतको परमादेश बमोजिम देउवा प्रधानमन्त्री नियुक्त, सपथको लागि साइत जुराउँदै

    अदालतको परमादेश बमोजिम देउवा प्रधानमन्त्री नियुक्त, सपथको लागि साइत जुराउँदै

    काठमाडौं । सर्वोच्च अदालतको परमादेश बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छन् ।

    संविधानको धारा ७६ (५) बमोजिम देउवा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । देउवा प्रधानमन्त्री नियुक्त भए पनि सपथग्रहणका लागि समन्वय भइरहेको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले बताए ।

    देउवा अहिले गठबन्धनसँग छलफलमा छन् । सपथका लागि साइत समेत जुराउनुपर्ने भएकाले साँझ अबेरसम्म शीतल निवासमा नयाँ प्रधानमन्त्रीको सपथग्रहण हुने बताइएको छ ।

  • देउवालाई बधाई थाप्न भ्याइनभ्याइ, निवासमा नेता-कार्यकर्ताको घुइँचो (तस्बिरहरू)

    देउवालाई बधाई थाप्न भ्याइनभ्याइ, निवासमा नेता-कार्यकर्ताको घुइँचो (तस्बिरहरू)

    काठमाडौं । सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री नियुक्तिको पर्खाइमा रहेका शेरबहादुर देउवालाई बधाई दिन कांग्रेसका नेता-कार्यकर्ता बूढानीलकण्ठस्थित उनको निवासमा भीड लागेका छन् । आज सपथग्रहणको तयारीमा रहेका देउवालाई बिहानैदेखि निवासमा बधाई थाप्न भ्याइनभ्याइ छ ।

    पार्टीका केन्द्रीय सदस्य, केही सांसदहरू तथा अन्य कार्यकर्ता देउवा निवासमा आएका छन् । उनीहरूले खादासहित देउवालाई बधाई दिएका थिए । कोभिडका कारण देउवाले खादा गलामा लगाएनन् । प्रफुल्लित मुद्रामा उनले नमस्कार गर्दै सबैलाई धन्यवाद दिइरहेका छन् ।

    देउवा मन्त्रिपरिषद् विस्तारका सम्वन्धमा केही नेताहरूसँग छलफल पनि गरिरहेका छन् । देउवा निवासमा अहिले बालकृष्ण खाँड, मिनेन्द्र रिजाललगायतका नेताको उपस्थिति छ ।

  • अदालतका प्रधानमन्त्री देउवा नियुक्त नहुँदै अल्पमतमा परिसक्नुभो

    अदालतका प्रधानमन्त्री देउवा नियुक्त नहुँदै अल्पमतमा परिसक्नुभो

    सर्वोच्च अदालतको फैसला हाम्रो संविधानका अभ्यास, संसदीय प्रणाली र शक्ति पृथकीकरणको सिद्धान्तविपरीत छ भन्ने कुरा हामीले तत्कालै आफ्नो प्रतिक्रियामार्फत प्रष्ट पारेका छौं । वास्तवमा यो फैसला नभएर राजनीति हो । यसका दुष्परिणाहरूले भविष्यमा पुष्टि गर्ने नै छन् ।

    हाम्रो संविधानको एउटा बनावट छ, त्यसमा हाम्रो प्रणालीका सन्दर्भमा प्रष्टसँग उल्लेख गरेको छ । संविधानले संसदीय प्रणाली भन्दै आवधिक निर्वाचनको कुरा गरेको छ । आवधिक निर्वाचनमा जनताले निर्णय गर्छ । जनताले सबै कुराको छिनोफानो पनि गरिदिन्छ । त्यसैले नै संविधानमा जनतामा जाने व्यवस्था गरिएको हो ।

    सर्वोच्च अदालतको फैसलाले अब सरकार बनाउने वा प्रधानमन्त्री चयन गर्ने अधिकार जनता,संसद र त्यसका आधारमा राष्ट्रपतिले नियुक्त गर्ने नभई सीधै अदालतले भन्ने अवस्था आयो । अब नेपालमा दलीय प्रणाली छैन, कुनै निर्वाचित जनप्रतिनिधि दलको अधीनस्थ हुँदैनन् भन्ने व्याख्या गरिदियो ।

    फैसलाको अन्तर्य नै केपी ओलीलाई प्रधानमन्त्रीबाट जसरी पनि हटाउने र शेरबहादुर देउवालाई नियुक्त गर्ने खालको देखियो । अदालतले फेरि संसद पुनःसस्थापना भयो, जसले बहुमत प्राप्त गर्न सक्छ सरकार बनाऊ भनेको भए एउटा कुरा हुन्थ्यो । धारा ७६ (५) को सरकार बनाउनलाई प्रक्रिया आरम्भ गर भनेको भए केही हदसम्म मान्न सकिन्थ्यो ।

    फैसलाप्रति मलाई धेरै केही भन्नु छैन तर बेथितिहरूको बिजारोपण हुनेछ । हाम्रो प्रणालीमाथि प्रहार भएको छ ।

    त्यो भदौ १२, यो असार २८ अनि माधव नेपाल

    यहाँ हामीले स्मरण गर्नुपर्छ कि, २०५२ साल भदौ १२ को फैसलाबारे एमालेले गरेको विश्लेषण सही साबित भयो कि भएन ? त्यसबेला हाम्रो पार्टीको शक्तिसाली महासचिव कमरेड माधव नेपाल भएको बेला सर्वोच्चले संविधान, कानूनको आधारमा नभएर राजनीतिक फैसला गरेको भन्यौं । यो पार्टीको निर्णय थियो र त्यो फैसला मानेर अघि बढ्यौं ।

    भदौ १२ को त्यो राजनीतिक फैसलाले प्रधानमन्त्री र प्रणालीमाथि नै कुठाराघात भयो । यदि सर्वोच्चले राजनीतिक फैसला नगरी निर्वाचन भएको भए एमाले बहुमतमा आउने थियो । देश अर्कै ढंगले अघि बढ्ने थियो । तर, हामीलाई जनतामा जानबाट रोकियो । जनताले छिनोफानो गर्न पाएनन । त्यसपछि हामीले भोगेकै हो,प्रधानमन्त्री प्रणाली कमजोर भयो ।

    सर्वोच्चको त्यो भदौ १२ को फैसलापछि नेपालको संसदीय प्रणाली कति विकृत भयो ? कस्ता कस्ता खरिदबिक्री र सुरा सुन्दरी प्रकरणहरू भित्रिए । पजेरो काण्ड भित्रियो । तर, जे भए पनि सर्वोच्च अदालतको एउटा राजनीतिक फैसलाले देशको प्रणालीलाई नै विकृत बनाउन सघायो र व्यवस्था नै कमजोर भयो । कतिपयले त माओवादी जनयुद्ध पनि त्यसैको परिणाम भन्ने गरेका थिए ।

    असार २८ ले खोलिदिएको बेथितिको बाटो

    अहिले आएर सर्वोच्चले फेरि थुप्रे बेथितिहरूलाई उजागर र स्थापित गर्ने ढंगले फैसला दिएको छ । सर्वोच्च अदालतले यस्तो फैसला गर्न पाउँदैन भनौं भने फैसला गर्न उसलाई अधिकार छ । तर, उसले यस्तो कुराहरुमा हस्तक्षेप गर्न खोज्यो कि अब राजनीतिमा बेथितिको स्थिति आउने भयो ।

    सर्वोच्चले राष्ट्रपतिलाई प्राप्त अधिकारमाथि अंकुश लगायो । संसदले सरकार बनाउन सक्ने पनि स्थिति रहेन । संसदले सरकार दिनै सकेको थिएन । जनतामा जाने एउटा बाटो थियो, त्यो बाटो पनि विभिन्न नाममा सर्वोच्चले हस्तक्षेप गरेर बन्द गरिदियो । परिणाम के भयो भने सरकार संसदले जन्माएन । राष्ट्रपतिले अपवादको अवस्थामा प्रधानमन्त्री नियुक्त गर्न सक्थ्यो तर राष्ट्रपति र जनताले गर्न पाएन ।

    केही समय अगाडि स्वयं शेरबहादुर देउवाले हामीलाई सरकारमा जाने जनादेश छैन भन्नुभएको थियो । वास्तवमा त्यो यथार्थ थियो । जनताले शेरबहादुरजीलाई विपक्षीमा बस्नू भनेको थियो । तर, सर्वोच्च अदालतले जबर्जस्ती प्रधानमन्त्री बनाइदियो । यो फैसला त उहाँलाई जसरी पनि प्रधानमन्त्री नियुक्त गर्नका लागि आयो ।

    नेकपा विभाजन भएर आज हामी दुईतिर हुँदा पनि नेकपा एमाले भन्दा कांग्रेसको आकार आधा सानो हो । आज अदालतले उहाँलाई जबर्जस्ती प्रधानमन्त्री बनाइदिँदै गर्दा पनि उहाँसँग बहुमत छैन । देउवाजी जनताले बनाएको प्रधानमन्त्री त होइन । गलत ढंगले, गलत फैसलाको आधारमा सर्वोच्चले नियुक्त गर्‍यो ।

    बहुमत प्राप्त गर्ने दलको नेता केपी शर्मा ओली जोसँग १२१ जना एमाले र जसपाका २० जना सांसद छन् । तर, त्यसलाई त्यसलाई अदालतले जबर्जस्ती बाटो छेक्ने फैसला गर्‍यो ।

    अहिलेको प्रधानमन्त्री (देउवा) भनेको सर्वोच्चबाट नियुक्त भएका हुन् । अब जनता र संसदबाट नआएको प्रधानमन्त्रीले अहिलेका समस्याको समाधान गर्न सक्छन् ? हिजो एउटा विघटनबाट पुनःस्थापित भएर आउँदा त्यत्रो बहुमात प्राप्त सरकारले त समास्या समाधान गर्न सकेको थिएन भने बहुमत नै नभएको प्रधानमन्त्रीले के गर्न सक्नुहोला ?

    देउवा जनताका होइन अदालतका प्रधानमन्त्री

    शेरबहादुर देउवाजी, जसलाई अदालतले नियुक्त गर्‍यो । जसलाई सरकार चलाउने जनादेश छैन, त्यसले यी सबै समस्या समाधान गर्न सक्ला ? यो गम्भीर प्रश्न हो र यस्ता धेरै बेथितीहरू त समयक्रममा आउनेछन्, यो फैसलाले त्यो बाटोमा लगेको छ हामीलाई ।

    फैसलाको अन्तर्य नै केपी ओलीलाई प्रधानमन्त्रीबाट जसरी पनि हटाउने र शेरबहादुर देउवालाई नियुक्त गर्ने खालको देखियो । अदालतले फेरि संसद पुनःसस्थापना भयो, जसले बहुमत प्राप्त गर्न सक्छ सरकार बनाऊ भनेको भए एउटा कुरा हुन्थ्यो । धारा ७६ (५) को सरकार बनाउनलाई प्रक्रिया आरम्भ गर भनेको भए केही हदसम्म मान्न सकिन्थ्यो ।

    तर, शेरबहादुरलाई सजिलो बनाइदिन केपी ओलीले दावी गर्न पाउँदैनन् भन्यो । त्यसको मतलब अदालतले सबै कुरालाई मिचेर शेरबहादुरलाई प्रम बनाउन खोजेको देखियो । अदालतले नियुक्त गरेका प्रधानमन्त्रीले अब कसरी पार लगाउनुहुन्छ हामी हेर्छौं ।

    शेरबहादुरजी ६१ जना सांसदको नेता हुन् । उहाँलाई माओवादीको ४९ र उपेन्द्र यादवजीको १२ जनाको समर्थन छ । एमाले संसदीय दल अहिले पनि १२१ कै छ र माधव नेपालले अब म विपक्षी गठबन्धनमा छैन भन्नुभएको छ । यो हिसाबले त उहाँले २३ भोट पनि पाउनु हुन्न । उहाँ त अहिले नै अल्पमतमा परिसक्नुभयो ।

    बहुमत प्राप्त गर्ने दलको नेता केपी शर्मा ओली जोसँग १२१ जना एमाले र जसपाका २० जना सांसद छन् । तर, त्यसलाई त्यसलाई अदालतले जबर्जस्ती बाटो छेक्ने फैसला गर्‍यो ।

    नियुक्त नहुँदै अल्पमतमा रहेको र जसलाई जनादेश समेत छैन उसलाई जबर्जस्ती अदालतले प्रधानमन्त्री घोषित गरिदिएको छ । नेपाली राजनीतिमा यसका धेरै दुष्परिणामहरू भोग्नुपर्ने छ । अहिले हामीलाई हेरेर ठीकै हो भन्ने साथीहरूले पछुताउने दिन टाढा छैनन् ।

    (संविधानसभा अध्यक्ष तथा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसँग कुराकानीमा आधारित)

  • सर्वोच्चको परमादेश शीतल निवासमा,देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी

    सर्वोच्चको परमादेश शीतल निवासमा,देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा सर्वोच्च अदालतको परमादेश बमोजिम आज प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन् । राष्ट्रपतिले सर्वोच्चले दिएको समय आज साँझ ५ बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

    सपथग्रहणका बारेमा देउवासँग समेत कुरा गरेपछि समय निश्चित हुने बताइएको छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले सर्वोच्च अदालतको फैसला र परमादेश प्राप्त भएको बताए ।

    सर्वोच्चले आज साँझ ५ बजेभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयका नाममा परमादेश जारी गरेको थियो । देउवाले आजै सपथग्रहणपछि सानो आकारको मन्त्रिपरिषद गठनको तयारी थालेका छन् ।

  • पाँचौपटक देउवाको सत्तारोहण निश्चित, सरकारको आयु अनिश्चित

    पाँचौपटक देउवाको सत्तारोहण निश्चित, सरकारको आयु अनिश्चित

    काठमाडौं । केपी शर्मा ओलीलाई विस्थापित गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौपटक देशको प्रधानमन्त्री बन्ने तयारीमा छन् । सर्वोच्च अदालतले सोमबार सुनाएको फैसलासँगै देउवा प्रधानमन्त्री बन्ने द्वार खुलेको हो ।

    देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिन्छ अदालतले भन्ने कुरा स्वयं रिट निवेदकहरुले पनि विश्वास गरेका थिएनन् । धेरै हुँदा धारा ७६ (४) बमोजिम केपी शर्मा ओलीले विश्वासको मत नलिएकाले सोही प्रक्रियाबाट जान आदेश दिने अनुमान धेरैको थियो । तर, अदालतले देउवाले जे-जे मागे सबै माग पूरा गरिदियो ।

    गत २०७४ सालको संसदीय चुनावमा जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्ने म्यान्डेट दिएका थिए । चुनावी परिणामलाई स्वीकारेर कांग्रेसले पाँच वर्ष प्रतिपक्षमा नै बस्ने मुड बनाएको भए पनि सत्तारुढ दलमा किचलो उत्पन्न हुन थालेसँगै उसले सत्ताको गन्ध महसुस गर्न थाल्यो ।

    स्वभावविपरीत देउवाले केही समय संयम पनि देखाएका हुन् । तर, प्रचण्ड र माधव नेपालले काँधमै बोकेर प्रधानमन्त्रीको कुर्सीमा आसिन गराउन तत्पर बनेपछि उनले नाइ भन्ने कुरा थिएन । ज्योतिषिले पनि उनलाई ‘सातचोटि प्रधानमन्त्री बन्ने योग रहेको’ भनेर हौसला दिएकै थिए ।

    देउवासँग प्रधानमन्त्रीको कुर्सीमा धेरै लामो समय भने छैन । अब बन्ने नयाँ सरकारको आयु बढीमा डेढ वर्ष हो । त्यसपछि संसदीय चुनावमा जानैपर्छ । तर, डेढ वर्ष सत्ता टिकाउनका निम्ति पनि देउवाले अनेक कसरत गर्नुपर्ने हुन सक्छ । प्रधानमन्त्री बनेकै दिनबाट दिनगन्ती शुरू हुन सक्ने अवस्था छ ।

    झण्डै दुई तिहाइ बहुमतसहित सत्तामा पुगेको नेकपामा आएको विभाजन र पछि नेकपा एमालेको आन्तरिक कलहले कांग्रेसको भाग्य चम्केको छ । सर्वोच्च अदालतले सयमसीमासमेत निर्धारण गर्दै देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेशसमेत दिएको छ । सर्वोच्चको परामादेशमा कुनै पनि प्रकारको पुनरावेदन लाग्दैन । तसर्थ, देउवाको सत्तारोहणमा अब कुनै बाधा-अड्चन छैन । यद्यपि, सत्तारोहणपछिका राजनीतिक जटिलताहरू भने बाँकी नै छन् ।

    ७५ वर्षको उमेरमा हिँडिरहेका शेरबहादुर देउवा कुनै आशालाग्दा नयाँ अनुहार भने होइनन् । आमजनतामाझ उनी लोकप्रिय छैनन् । क्षमता, विशेषता र विगतको अनुभवलाई नियाल्दा देउवाबाट देशले ठूलो योगदान पाउनसक्ने सम्भावना झिनो देखिन्छ ।

    उनी ‘टेस्टेड एन्ड फेलर’ नेताहरूमध्येकै एक हुन् । विगतमा चारपटक प्रधानमन्त्री बने पनि उनीबाट कुनै स्मरणीय उपलब्धी हाँसिल भएको पाइँदैन । देश विकासको भिजन र अठोट उनले अहिलेसम्म देखाउन सकेका छैनन् । बौद्धिकताको कमी, रिसाहा स्वभाव र सत्ताका लागि जुनसुकै सम्झौता गर्ने चरित्र उनका अन्य कमजोरी हुन् ।

    सवल पक्षको कुरा गर्दा छिटो र बोल्ड निर्णय लिन सक्ने देउवामा छ । उनी अरु नेताजस्ता चिप्ला र ढोंगी कुरा गर्दैनन् । आफूभित्र जे छ, बाहिर लगभग त्यही रूपमा प्रस्तुत हुन्छन् । लामो समय प्रजातान्त्रिक संघर्षमा बिताएको हुँदा देउवाको प्रजातन्त्रप्रति निष्ठा छ भन्ने धेरैले ठान्छन् । यद्यपि, तेस्रोपटक प्रधानमन्त्री बन्दा दरबारमा प्रजातन्त्र बुझाएको आरोप उनीमाथि लाग्ने गरेको छ ।

    प्रजातान्त्रिक संघर्षको कुरा गर्दा उनीसँग सम्बन्धित केही ‘सकारात्मक अफवाह’ हरूको फाइदा पनि देउवालाई मिलिरहेको छ । अहिले पनि धेरैले विश्वास गर्छन् कि पञ्चायतकालमा प्रहरी हिरासतभित्र करेन्ट लगाएर उनको जिभ्रो काटिएको थियो । यद्यपि, यो झूटो अफवाह मात्र हो भनेर देउवाले कहिले पनि प्रष्ट्याउन चाहेका छैनन् ।

    सत्ता राजनीतिका चतुर खेलाडी मानिन्छन् देउवा । समकालीन नेता रामचन्द्र पौडेल अहिलेसम्म एकपटक पनि प्रधानमन्त्री बन्न नसक्दा उनी पाँचपटक प्रधानमन्त्री बन्नुमा यही चतुरताले काम गरेको छ । पार्टीभित्र ‘लो प्रोफाइल’ मै भएका बेला २०५२ सालमा देउवाले गिरिजाप्रसाद कोइरालालाई चक्मा दिँदै प्रधानमन्त्री हात पारेका थिए । त्यसयता पनि उनले बारम्बार सत्ता राजनीतिमा आफ्नो अब्बलता देखाउँदै आएका छन् । अहिले चाहिँ उनी आफ्नो चतुरताले भन्दा अन्य तालमेल मिलेर प्रधानमन्त्री पदमा पुग्दैछन् ।

    यद्यपि, देउवासँग प्रधानमन्त्रीको कुर्सीमा धेरै लामो समय भने छैन । अब बन्ने नयाँ सरकारको आयु बढीमा डेढ वर्ष हो । त्यसपछि संसदीय चुनावमा जानैपर्छ । तर, डेढ वर्ष सत्ता टिकाउनका निम्ति पनि देउवाले अनेक कसरत गर्नुपर्ने हुन सक्छ । प्रधानमन्त्री बनेकै दिनबाट दिनगन्ती शुरू हुन सक्ने अवस्था छ ।

    नेपाली कांग्रेससँग एक्लै सरकार बनाउने संख्या छैन । उनले अन्य पार्टीहरूको सहयोग लिनैपर्छ । देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १४६ सांसदमध्ये २३ जना हालको सत्तारुढ दल एमालेका हुन् । पार्टीभित्र चरम विवाद उत्पन्न हुँदा उनीहरू आफ्नै पार्टीको सरकार ढाल्न अग्रसर भएका थिए र देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए । उनीहरुले योबीचमा हस्ताक्षर फिर्ता लिएका छैनन् । तर, हिजो मात्रै एमालेमा एकताको सहमति भएपछि उनीहरूमा नैतिक दबाब उत्पन्न भएको छ ।

    मन्त्रिमण्डलको गठनदेखि नै प्रचण्डलाई खुशी पारेर अघि बढ्नुपर्ने बाध्यता देउवालाई हुनेछ । त्यसपछि पनि सरकारका हरेक कामकारवाहीमा उनले प्रचण्डको (हुन सक्छ माधव नेपालको पनि) चित्त बुझाउनैपर्छ । विगतमा जसरी ओलीले गर्थे, त्यसैगरी प्रचण्डसँग नियमित खुसामद गर्नुपर्ने नै हुन्छ । एउटै पार्टीका भएर त ओलीले प्रचण्डलाई थुम्थुम्याएर सरकार चलाउन सकेनन् भने देउवाले कसरी सक्लान् ?

    हिजो भएको सहमतिमा ‘संसद विघटनसम्बन्धी मुद्दाको फैसला र आगामी सरकारको विषयलाई पार्टी एकता र मर्मको आधारमा विधि र प्रक्रियासम्मत तरिकाले अघि बढाउने’ भनिएको छ । यदि पार्टी एकताको स्पिरिटमा अघि बढ्ने हो भने सांसदहरूले संसदीय दलको ह्वीप उल्लंघन गरेर अघि बढ्न मिल्दैन । संवैधानिक प्रावधानअनुसार एक महिनाभित्र देउवाले विश्वासको मत माग्दा एमालेले उनको विपक्षमा मतदान गर्न ह्वीप जारी गर्न सक्छ । त्यो बेलामा एमाले एकजुट भयो भने देउवाले बहुमत पुर्‍याउन नसक्ने खतरा टड्कारो छ ।

    प्रारम्भिक रुझान हेर्दा माधव नेपाल पक्षले पार्टी एकतालाई दाउमा राखेर भए पनि देउवालाई सघाउने देखिन्छ । नेपालले त आजै आफ्नो निवासमा विपक्षी गठवन्धनको बैठक डाकेका छन् । उनको पक्षका नेताहरुले पनि सर्वोच्चको फैसलालाई स्वागत गरेका छन् । सर्वोच्चले देउवालाई समर्थन गर्ने सांसदहरूलाई कारवाही हुन नसक्ने बताएर उनीहरुको बाटो थप सहज तुल्याइदिएको छ ।

    शेरबहादुर देउवा एउटा उग्रपन्थी कम्युनिष्ट पार्टीको समर्थनमा प्रधानमन्त्री बन्दैछन् । वैचारिक आधारमा कांग्रेस र नेकपा माओवादी केन्द्रबीच अन्त्यन्त ठूलो अन्तराल छ । विचार नमिलेकाहरूको सहयात्रा प्राय लामो टिक्दैन ।

    मन्त्रिमण्डलको गठनदेखि नै प्रचण्डलाई खुशी पारेर अघि बढ्नुपर्ने बाध्यता देउवालाई हुनेछ । त्यसपछि पनि सरकारका हरेक कामकारवाहीमा उनले प्रचण्डको (हुन सक्छ माधव नेपालको पनि) चित्त बुझाउनैपर्छ । विगतमा जसरी ओलीले गर्थे, त्यसैगरी प्रचण्डसँग नियमित खुसामद गर्नुपर्ने नै हुन्छ । एउटै पार्टीका भएर त ओलीले प्रचण्डलाई थुम्थुम्याएर सरकार चलाउन सकेनन् भने देउवाले कसरी सक्लान् ? सकेनन् भने फेरि सत्ता परिवर्तनको नयाँ खेलकुद शुरू गरिने नै छ ।

    गत संसदीय चुनावअघि शेरबहादुर देउवा भन्ने गर्थे- ‘कम्युनिष्टको सरकार आयो भने रुन पनि पाइँदैन ।’ चुनावपछि कम्युनिष्टकै सरकार आयो । केपी ओली प्रधानमन्त्री भएपछि जनताले रुन कति पाए-पाएनन्, हाँस्न भने मज्जाले पाएका थिए । तर, कामबाट भन्दा भाषणबाट ओलीले जनता हँसाए । देउवासँग भाषणबाट हँसाउने क्षमता छैन । उनले कामबाटै हँसाउनुपर्छ । तर, त्यो क्षमता पनि देउवासँग छैन ।

    सर्वोच्चको फैसलापछि दोस्रोपटक प्रतिनिधिसभा पुनर्जीवित भयो । सर्वोच्चको फैसला संवैधानिक हिसाबले ‘दूधको दूध पानीको पानी’ नहोला । सर्वोच्चबाट फलानोलाई यति घन्टाभित्र प्रधानमन्त्री नियुक्त गर भनेर आदेश दिने कार्यले शक्ति पृथकीकरणको सिद्धान्तलाई कति घात गर्‍यो त्यो आफ्नो ठाउँमा होला । तर, ओलीद्वारा घोषित मध्यावधि चुनावलाई लिएर भने जनतामा कत्ति पनि उत्साह थिएन । जनताले चुनावमा पाँच वर्षका लागि दिएको बहुमत खेर फ्याँकेर अल्पायुमै संसद विघटन गर्नु ओलीको गलत कदम नै थियो । त्यसैले सर्वोच्चको फैसलाले जनमानसमा सकारात्मक तरंग नै ल्याएको छ । यद्यपि, यो फैसलाले देशमा राजनीतिक स्थिरता र स्थायित्वको सुनिश्चितता भने गर्दैन । आगामी दिनहरू अझै अस्थिर र कचिङ्गलपूर्ण हुन सक्छन् ।

  • देउवाले भने- अब विधिको शासन कायम हुन्छ

    देउवाले भने- अब विधिको शासन कायम हुन्छ

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् ।

    प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसलाबाट संविधान र लोकतन्त्र रक्षाका लागि मद्दत पुगेको भन्दै देउवाले अब मुलुकमा विधिको शासन कायम हुने बताए ।

    ‘ओलीजीले बारम्बार संविधान मिच्नुभएको थियो । हामीले असंवैधानिक कदमको विरोध गर्दै आएका थियौँ । सर्वोच्चको आदेशपछि विधिको शासनको जित भएको छ’, देउवाले भनेका छन् । उनले संसद पुनःस्थापनाको पक्षमा रहेका सबै दलसँग छलफल र परामर्श गरेर अगाडि बढ्ने समेत बताएका छन् । ‘गठबन्धनको बैठक बस्दैछौँ । सबैसँग सल्लाह गरेर अगाडि बढ्छु’, देउवाले भने ।

    सर्वोच्चले संसद पुनःस्थापनासँगै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश समेत जारी गरेको छ ।

  • सुदूरपश्चिम कांग्रेसः ९ जिल्ला सभापतिका लागि ३० बढीको दाबेदारी, कुन जिल्लाबाट को छन् टिकटको दौडमा ?

    कैलाली । नेपाली कांग्रेस महाधिवेशन नजिकिँदै गर्दा सुदूरपश्चिम प्रदेशमा उम्मेदवार छनोटको सरगर्मी बढेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको ‘गृहप्रदेश’ भएका कारण पनि यहाँ उम्मेदवार छनोटको चर्चा बढी छ ।

    यो प्रदेशका ९ जिल्लामा ३० जना भन्दा बढीले सभापतिमा दाबी प्रस्तुत गरेका छन् । १३ औं महाधिवेशनमा ९ जिल्लामध्ये ६ जिल्लाका सभापतिमा देउवा निकट नेता निर्वाचित भएका थिए । दार्चुला, बैतडी र देउवाकै गृहजिल्ला डडेल्धुरामा भने देउवानिकट नेता पराजित भएका थिए ।

    अहिले गृहप्रदेशमा उपस्थिति अझै बलियो बनाउन देउवाले चुनाव जित्ने नेतालाई टिकट दिने गरी तयारी थालिरहेका छन् । उता पौडेलका नेताहरू पनि आन्तरिक रुपमा महाधिवेशनको तीब्र तयारी जुटेका छन् ।

    कैलालीमा अधिवेशनको सरगर्मी बढी छ । सुदूरपश्चिम प्रदेशको राजधानी रहेको कैलालीमा आधा दर्जन बढी नेता सभापतिकोको दौडमा छन् ।

    वर्तमान जिल्ला सभापति नरनारायण शाह (मनु)ले दुई कार्यकाल पार्टी सभापति पदको जिम्मेवारी पूरा गरिसकेका छन् । उनलाई तेस्रोपटक जिल्ला सभापतिको नेतृत्व लिन पार्टी विधानले मिल्दैन ।

    त्यसकारण कैलालीले नयाँ सभापति पाउने निश्चित छ । त्यसका लागि प्रकाश बम, नारायणदत्त भट्ट, भीम बडुवाल, खेमराज चौधरी, कमल शाह, डा.रणबहादुर रावल, दिनेशराज जोशी, गणेश देउवालगायतको नाम चर्चामा छ ।

    देउवा समूहमा बम, भट्ट, रावल, चौधरी, बडुवाल र शाहको दाबी छ भने पौडेल प्यानलबाट जोशी र देउवाको दाबी बलियो छ ।

    सभापति देउवा गृहजिल्ला डडेल्धुरामा सबैभन्दा बलिया नेतालाई सभापतिमा उठाउने योजनामा छन् । त्यसको लागि देउवाले पर्शुराम नगरपालिका मेयर भीमबहादुर साउदलाई अगाडि सारेका छन् ।

    देउवालाई अहिले पनि वर्तमान जिल्ला सभापति कर्णबहादुर मल्लले काउन्टर दिने योजनामा छन् ।

    दुई कार्यकाल जिल्लाको नेतृत्व सम्हालेका मल्ल सभापति उठ्न पाउने छैनन् तर उनले सभापति देउवाका उम्मेदवार हराउने नेता खोजिरहेका छन् ।

    साउदसँग मल्लले वर्तमान उपसभापति करुणकर भट्टलाई प्रतिस्पर्धामा उभ्याउने रणनीति बनाएको देखिन्छ ।

    देउवा टीमबाट रघुवर भट्ट र गोविन्द बोहराले साउदलाई समर्थन गरिसकेका छन् । तर, देउवा समूहबाटै नवलबहादुर मल्लको दाबी पनि कायमै छ ।

    कञ्चनपुरमा वर्तमान सभापति हरि बोहराले दोस्रो कार्यकाल जिल्ला सभापति हुने आकांक्षा राखेका छन् । पदम बोगटी पनि सभापतिको उम्मेदवार बन्ने चर्चा छ । यस्तै, बहादुर सिंह थापाको नाम पनि चर्चामा छ ।

    एनपी साउद निकट बोगटी र थापा सभापतिको दौडमा छन् । रमेश लेखक निकट बोहरा पनि सभापतिका आकांक्षी हुन् ।

    डोटीमा वर्तमान सभापति प्रदीप देउवा पुनः सभापतिको आकांक्षी देखिएका छन् । उनीबाहेक सीताराम जोशी, रामप्रसाद उपाध्यक्ष, दीपक विष्ट र भूमिराज बडू पनि सभापतिको लाइनमा छन् । उनीहरु सभापति देउवा समूहका सभापतिका आकांक्षी हुन् ।

    अछाममा वर्तमान सभापति भरतकुमार स्वाँर पुन सभापति हुने दाउमा छन् । पुष्पबहादुर शाह, मेघराज खड्का र गणेशबहादुर विष्ट पनि सभापतिको दौडमा देखिएका छन् । उनीहरु पनि देउवा निकट हुन् ।

    अछाममा पौडेल पक्ष कमजोर देखिएको छ । पौडेल पक्षले बलबहादुर कुँवर, ध्वजबहादुर कुँवर र टीकाराम खनाल मध्ये एक जनालाई सभापतिको रुपमा उठाउने देखिएको छ ।

    बाजुरामा मनबहादुर रावल र कविराज पण्डित सभापतिको दौडमा छन् । रावल पूर्व र पण्डित वर्तमान सभापति हुन् ।

    रावल पौडेल र पण्डित देउवा पक्षका हुन् । रामसिंह रावल र प्रेमबहादुर शाही पनि लबिङमा छन् ।

    बैतडीमा वर्तमान सभापति नरेन्द्रसिंह थापा पुन सभापति बन्ने दौडमा छन् ।

    उपसभापति चतुर बहादुर चन्द र सचिव वीरबहादुर विष्ट भने थापालाई पन्छाएर आफू सभापति बन्ने लाइनमा छन् ।

    दार्चुलामा आधा दर्जन नेताहरू सभापतिका आकांक्षी देखिएका छन् । पौडेल पक्षको लागि प्रदेशमा सबै भन्दा बलियो जिल्ला दार्चुला हो ।

    त्यस्तै ललितसिंह बोहरा, विक्रम धामी, जगदीश पाल, अमर धामी, हर्क विष्ट लगायतका नेताहरूलाई जिल्ला सभापतिका दाबेदारका रुपमा हेरिएको छ ।

    पौडेल पक्षबाट बोहरा, धामी र बिस्टबीच सभापतिका लागि रस्साकस्सी छ । यस्तै, देउवा टीमबाट विक्रम धामी र पाललगायतलाई सभापतिको उम्मेदवारका रुपमा हेरिएको छ ।

    बझाङमा हर्कजंग बहादुर सिंह, पृथ्वीबहादुर सिंह, चेतराज बजाल, देवराज शर्मा र जगत जोशीको नाम चर्चामा छ । यस्तै खड्गबहादुर बोहरा र रमेश भण्डारी पनि सभापतिका बलिया दाबेदार हुन् । उनीहरु देउवा पक्षका हुन् ।

    पौडेल पक्षबाट सत्यराज भण्डारी र चन्दा जोशीलाई सभापतिको उम्मेदवारका रुपमा हेरिएको छ ।

  • देउवा भन्छन्ः हार्न तयार छु, तर महाधिवेशन गरेरै छाड्छु

    देउवा भन्छन्ः हार्न तयार छु, तर महाधिवेशन गरेरै छाड्छु

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू हार्ने भए पनि पार्टीको महाधिवेशन गराएरै छाड्ने बताएका छन् । आफूनिकट पदाधिकारी र केन्द्रीय सदस्यहरुसँगको छलफलमा सभापति देउवाले महाधिवेशन गर्न नसकेको कलंक बोक्न आफू तयार नरहेको बताएका हुन् ।

    पदाधिकारी बैठकमा क्रियाशील सदस्यताबारे बनेको सहमतिको जगमा महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुनेगरी आ–आफ्नो जिम्मेवारी पूरा गर्नपनि देउवाले निर्देशन दिए । ‘महाधिवेशन गर्नैपर्ने बाध्यता छ । म जिते पनि हारे पनि महाधिवेशन गराएरै छाड्छु । त्यसका लागि अब धमाधम काम हुनुपर्यो । जसले जे जिम्मेवारी पाउनुभएको छ बेलैमा सक्नुपर्यो’, देउवाले भने ।

    उनले सदस्यता छानबिन समितिमा रहेका नेताहरुलाई अधिकतम सहमति जुटाउन र विवाद नटुंगिए स्थगित गरेर अगाडि बढ्नसमेत निर्देशन दिएका छन् । ‘जति कुरा मिल्छ मिल्छ । जहाँ मिल्दैन, त्यसलाई अर्को महाधिवेशनमा हेरौंला । अहिले महाधिवेशन रोक्ने स्थिति छैन’, देउवाले भने । सभापति देउवाले १४ औं महाधिवेशनमा दोस्रो कार्यकालका लागि सभापतिको उम्मेदवार बन्ने बताइसकेका छन् ।

    बैठकमा उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सह–महामन्त्री डा.प्रकाशशरण महत, सदस्यता छानबिन समितिका संयोजक रमेश लेखक र सदस्यहरु रहेका थिए । बैठकमा क्रियाशील सदस्यताको सन्दर्भमा भएका कामबारे छलफल भएको छानबिन समितिको सदस्य समेत रहेका नेता श्यामकुमार घिमिरेले जानकारी दिए ।

    ‘अहिलेसम्म भएका कामबारे जानकारी गराएका छौं । सभापतिजीबाट हिजोको सहमतिअनुसार काम सक्न निर्देशन प्राप्त भएको छ’, घिमिरेले नेपाल प्रेससंग भने । अन्य पार्टीबाट कांग्रेस प्रवेश गर्नेको हकमा विवाद देखिए पार्टी नेतृत्व तहबाटै टुंगो लगाउने तयारी छ ।

    कांग्रेसको महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ । महाधिवेशन कार्यतालिका अनुसार आइतबारसम्म क्रियाशील सदस्यता छानबिन समितिले केन्द्रीय समितिलाई क्रियाशील सदस्यताको सूची बुझाउनुपर्नेछ ।

    कांग्रेसमा क्रियाशील सदस्यहरु तल्लो तहको अधिवेशनमा प्रत्यक्ष मतदाताका रुपमा रहेका छन् । वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि र क्षेत्रीय प्रतिनिधिबाट महाधिवेशन प्रतिनिधि चुनिने वैधानिक व्यवस्था छ । यसपटक कांग्रेसले क्रियाशील सदस्यहरुको संख्या १० लाख पु¥याउँदैछ ।

  • ओलीबारे देउवाको टिप्पणी : छुद्र भाषा बोल्नेले के देश चलाउँछ ? (भिडियो)

    ओलीबारे देउवाको टिप्पणी : छुद्र भाषा बोल्नेले के देश चलाउँछ ? (भिडियो)

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिमाथि छुद्र भाषा बोल्ने मान्छेले देश चलाउन नसक्ने टिप्पणी गरेका छन् । प्रधानमन्त्री ओलीले सोमबार एक कार्यक्रममा देउवालाई लोकतान्त्रिक मुल्य मान्यता छोडेर प्रचण्डपथमा हिँडेको आरोप लगाएका थिए ।

    ओलीलाई जवाफ दिँदै विपक्षी गठवन्धनद्वारा आयोजित अन्तरक्रियामा देउवाले भने, ‘रेस्पेक्ट गर्न सक्ने व्यक्तिले देश बनाउँछ । छुद्र भाषामा बोलेर केही हुँदैन । छुद्र भाषा बोल्ने मान्छेले के देश चलाउँछ ?’

    देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति पदको गरिमालाई नै समाप्त पारेको आरोप लगाए । आफूले बहुमत पुर्याएर प्रस्ताव लैजादा पनि राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त नगरेर ओलीको कार्यकर्ता बनेको उनको आरोप थियो ।

    संविधानको अन्तिम व्याख्या गर्ने संस्था अदालत भएको र न्यायालयको निस्पक्षता तथा स्वतन्त्रतामा विश्वास गर्ने देउवाले उल्लेख गरे । उनले संविधानमा भएको व्यवस्था अनुसार नै अदालतको फैसला आउनेमा आफुहरु विश्वस्त रहेको बताए ।

  • देउवालाई ओलीले सोधे- माघ १९ लाई ‘कु’ भन्ने हिम्मत किन भएन ?

    देउवालाई ओलीले सोधे- माघ १९ लाई ‘कु’ भन्ने हिम्मत किन भएन ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने उत्कट इच्छाका कारण लोकतान्त्रिक मार्ग छोडेको आरोप लगाएका छन् । लोकतान्त्रिक आन्दोलनमा योगदानको इतिहास भएको कांग्रेस पार्टी अहिले ‘प्रचण्डपन्थी’ बनेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

    बालुवाटारमा आयोजित एक कार्यक्रममा ओलीले भने, ‘शेरबहादुरजीले प्रधानमन्त्री हुने उत्कट इच्छाले लोकतान्त्रिक मार्ग छोड्नुभो । केही जाली-फटाहा टिपेर कृत्रिम र अलोकतान्त्रिक मार्गबाट प्रधानमन्त्री बन्न खोज्नुभो । संसदबाट बनेको भए हुन्थ्यो । जनतामा गएर बनेको भए हुन्थ्यो । जनतामा जाने बाटोलाई अवरोध गरेर अन्तैबाट प्रधानमन्त्री बन्न खोज्ने ?’

    ओलीले थपे, ‘जनतामा जाने कुरालाई ‘कु’ भन्यो कांग्रेसले । जनतामा जाने प्रस्ताव ‘कु’ हो भने १७ सालको लोकतान्त्रिक अभ्यास के थियो ? कांग्रसले कु भनेको के हो बिर्सिसकेछ । शेरबहादुरलाई सोध्न चाहन्छु ? माघ १९ के थियो । उहाँलाई लोकतान्त्रिक विधिबाट सत्ता हस्तान्तरण गरिएको थियो ? असोज १८ के थियो ? कु थियो कि थिएन ? त्यतिबेला कु भन्ने शब्द उहाँको मुखबाट आउने हिम्मत किन भएन ?’

    ओलीले पूर्वराजा ज्ञानेन्द्रमाथि पनि निसाना साँधे ।

    ‘निर्वाचित प्रधानमन्त्रीलाई अपदस्थ गरेर ‘अदक्ष’ कि के अरे ? ‘अ दक्ष’ भएको हुनाले हटाइयो । ‘अक्षम’ हुनाले हटाइदिएँ । जननिर्वाचित प्रधानमन्त्री सक्षम छ कि छैन भनेर निर्णय गर्ने आर्टिफिसियल्ली बनेको तथाकथित गद्दीमा बस्ने व्यक्तिको काम होइन । त्यो जनताको काम हो । त्यतिबेला देउवाले किन ‘कु’ भन्न सक्नुभएन ? अहिले जनताका बीचमा जाने कुरा गर्दा कु भन्या छ । प्रतिगमन भन्या छ । प्रचण्डको भाषासमेत सापटी लिएर । भाषा सापटी मात्रै होइन आफ्नै बनाइसक्नुभो । दया लाग्छ । लोकतान्त्रिक आन्दोलनमा इतिहास भएको पार्टी यस ढंगले प्रचण्डपन्थी भएको देख्दा अचम्म लाग्छ ।’

  • देउवाले भने- संवैधानिक अंग कब्जा गर्न खोजियो, आवश्यक परे जनपरिचालन

    देउवाले भने- संवैधानिक अंग कब्जा गर्न खोजियो, आवश्यक परे जनपरिचालन

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा गरिएको संसद विघटनले मुलुक संकटमा परेको बताएका छन् ।

    बहुमत सांसदहरुको दावी राष्ट्रपतिबाट अस्वीकार गरेपछि पाँच दल अदालत जानुपरेको उनको भनाइ छ ।

    आज सम्पादकहरुसँगको अन्तरक्रियामा बोल्दै देउवाले भने, ‘संवैधानिक अंग कब्जा गर्न खोजिएको छ । अदालतले असंवैधानिक काम रोक्दै आएको छ ।’

    सभापति देउवाले आवश्यक परे जनपरिचालन गर्ने पनि बताए ।

    देउवाले भने, ‘हामी सबै मुलुकसँग सुमधुर सम्बन्ध राख्न चाहन्छौं, नेपालको आन्तरिक मामिलामा नेपालीले नै निर्णय गर्न पाउनुपर्छ ।’ उनले नागरिक समाज, मिडिया सबैसँग आन्दोलनमा साथ खोजेका छन् ।

  • कांग्रेस महाधिवेशनको छेकमा आरजुले सार्वजनिक गरिन् ‘अर्थपूर्ण’ पारिवारिक तस्वीर

    कांग्रेस महाधिवेशनको छेकमा आरजुले सार्वजनिक गरिन् ‘अर्थपूर्ण’ पारिवारिक तस्वीर

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि एकपटक पार्टीको नेतृत्व लिने दौडमा छन् । महाधिवेशनको सरगर्मी सुरू हुँदै गर्दा आज देउवापत्नी आरजुले अर्थपूर्णरूपमा एउटा पारिवारिक तस्वीर सार्वजनिक गरेकी छन् ।

    फेसबुकमा आरजुले राखेको तस्वीरमा देउवा दम्पतीका साथ छोरा जयवीरसिंह पनि छन् । अहिलेसम्म सार्वजनिक रूपमा खासै नदेखिएका जयवीरसिंह देउवा दम्पतीका एक्ला सन्तान हुन् । तस्वीर कुनै धार्मिक समारोहमा खिचिएको जस्तो देखिन्छ । देउवा र उनका छोराले राधेराधे लेखिएको खादा लगाएका छन् ।

    तस्वीर कहिलेको हो भन्ने आरजुले खुलाएकी छैनन् । उनले क्याप्सन यति मात्रै लेखेकी छन्, ‘जीवनको आँधीमय समुद्रमा परिवार एउटा लाइफ ज्याकेट हो ।’

    कांग्रेस महाधिवेशनमा धर्म पनि एउटा महत्वपूर्ण एजेन्डा हुने गर्छ । कांग्रेसभित्र नेपाल हिन्दू राज्यमा फर्किनुपर्छ भन्ने मत निकै बलियो छ । सोही मत आकर्षित गर्नका लागि आरजुले यो तस्वीर सार्वजनिक गरेको हुन सक्ने बुझाइ कतिपयको छ ।

  • कांग्रेस सभापतिमा दोहोरिन आज ३ प्रदेशका नेतासँग छलफल गर्दै देउवा

    कांग्रेस सभापतिमा दोहोरिन आज ३ प्रदेशका नेतासँग छलफल गर्दै देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी सभापतिमा आफ्नो सम्भावित उम्मेदवारीबारे आज पनि आन्तरिक छलफल गर्दैछन् । देउवाले आज लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केन्द्रीय पदाधिकारी एवं सदस्यहरुसँग छलफल गर्न लागेका छन् ।

    छलफलका लागि ती प्रदेशबाट प्रतिनिधित्व गर्ने देउवा समूहका नेताहरु बुढानिलकण्ठ पुगिसकेका छन् । यसअघि शनिबार प्रदेश १ र २ तथा आइतबार बागमती र गण्डकी प्रदेशका नेताहरुसँग देउवाले छलफल गरेका थिए ।

    कांग्रेसको १४ औं महाधिवेशन आगामि भदौ १६ देखि १९ गतेसम्म आयोजना हुँदैछ । महाधिवेशनबाट फेरि एक कार्यकालका लागि सभापति बन्न देउवाले चाहेका छन् ।

    पार्टीलाई अझै एक कार्यकाल नेतृत्व दिन र सबैभन्दा ठूलो पार्टीका रुपमा स्थापित गराउन आफूले चाहेको देउवाले बताउने गरेका छन् । आफ्नो समूहका अधिकांश नेताको समर्थन पाए पनि उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा दावी गरेपछि देउवालाई दवाव बढेको छ ।

    पूर्व उपसभापति गोपालमान श्रेष्ठले पनि देउवाको उत्तराधिकारी आफू हुनुपर्ने बताएका छन् । यस्तो अवस्थामा आफ्नै समूहलाई एकतावद्ध बनाउनुपर्ने चुनौती देउवासामू देखिएको छ ।

    यसअघि भएका छलफलमा अधिकांश केन्द्रीय सदस्यहरुले निधि, श्रेष्ठलगायतलाई सहमत गराउन देउवालाई सुझाएका थिए ।

  • फेरि सभापति बनेर कांग्रेसलाई एक नम्बर बनाउने देउवाको इच्छा, सिटौलाको साथ खोज्ने

    फेरि सभापति बनेर कांग्रेसलाई एक नम्बर बनाउने देउवाको इच्छा, सिटौलाको साथ खोज्ने

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनबाट पुनः नेतृत्वमा दोहोरिने विषयमा आफ्नो समूहका नेताहरुसंगको छलफललाई तीव्रता दिइरहेका छन् । शनिबार प्रदेश १ र २ का आफूनिकट केन्द्रीय सदस्यहरुसंग छलफल गरेका देउवाले आज बागमती र गण्डकी प्रदेशका केन्द्रीय सदस्यहरुसंग छलफल गरे ।

    देउवा निवास बुढानिलकण्ठमा बिहान ९ बजेदेखि ४ घण्टासम्म भएको छलफलमा सभापति देउवाले उम्मेदवारी घोषणा गर्दै सुझाव दिन आग्रह गरेका थिए । बैठकमा सहभागि अधिकांश केन्द्रीय सदस्यहरुले देउवाको दावी स्वभाविक भएकोले पार्टीका सबै पक्षलाई सकारात्मक बनाउन पहल गर्नुपर्नेमा जोड दिए । पार्टी र विपक्षी गठबन्धन दुवैलाई देउवाले नेतृत्व गरेर अगाडि बढ्नु नै उपयुक्त हुने अधिकांशको सुझाव थियो ।

    सिटौला समूहसँग सहकार्यको रणनीति

    बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले अघिल्लो महाधिवेशनमा जस्तो दोस्रो चरणमा नभई पहिलो चरणमै जित्नेगरी तयारी गर्नुपर्ने सुझाव दिएका छन् । केन्द्रीय सदस्यहरु सुरेन्द्र पाण्डे, शंकर भण्डारी लगायतले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको समूहलाई समेटेर जानुपर्नेमा जोड दिएका थिए ।

    अघिल्लो महाधिवेशनमा देउवाले रामचन्द्र पौडेल र सिटौलालाई सभापतिमा पराजित गरेका थिए । पहिलो चरणमा नतिजा ननिस्किएपछि दोस्रो चरणमा सिटौला समूहले देउवालाई सहयोग गरेको थियो । आसन्न महाधिवेशनमा भने सिटौला समूहलाई पहिले नै सहमत गराउनुपर्ने देउवा पक्षको निष्कर्ष छ ।

    ‘हामीप्रति सिटौलाभन्दा पौडेलपक्ष बढी आक्रामक छ । पौडेल र सिटौलाबीच कुरा मिल्ने सम्भावना पनि कम छ । त्यसैले सिटौलाजीलाई मिलाएर लैजान सुझाव दियौं’, बैठकमा सहभागी एक नेताले भने । ती नेताका अनुसार सभापति देउवाले अघिल्लो महाधिवेशनमा सिटौलाले गरेको सहयोग आफूले नबिर्सेको बताएका थिए । देउवा पक्षको आजको बैठकमा सिटौला समूहका नेता शिव हुमागाईं सहभागी थिए । उनले देउवा-सिटौला सहकार्यबारे छलफल गर्ने बेला भइनसकेको बताए ।

    ‘फेरी एकपटक सभापति बनेर पार्टीलाई अबको चुनाव जिताउँछु भन्ने सभापतिजीको भनाई थियो । हामीले सबैसँग छलफल गरेर अगाडि बढ्नुस भन्ने सुझाव दिए,’ हुमगाईंले भने ।

    राष्ट्रिय र पार्टी राजनीतिमा सिटौलाको भूमिका निर्णायक हुने भन्दै हुमागाइँले आफूले सिटौलाकै नेतृत्वमा कांग्रेस अगाडि बढेको हेर्न चाहेको बताए । ‘कृष्णप्रसाद सिटौंलाको योगदान आन्दोलनदेखि शान्ति प्रक्रिया हुँदै संविधान निर्माणसम्म नेतृत्वदायी रहेको छ । त्यसैले आज कांग्रेसको नेतृत्वको विषय आउँदा उहाँको भूमिकालाई कसैले कमजोर आँक्न मिल्दैन । तर अहिले नै कसले कसलाई सघाउने भनेर छलफल भएको छैन’, हुमगाइँले भने ।

    देउवा समूहका केही नेताले सिटौलालाई भावी प्रधानमन्त्री वा कार्यवाहक सभापतिको रुपमा प्रस्तुत गरेर जान सकिने बताउँदै आएका छन् ।

    विधानले बाटो छेकेको छैनः देउवा

    बैठकमा सभापति देउवाले अझै एक कार्यकाल सभापति बनेर पार्टीलाई सफल बनाउने आफ्नो ईच्छा रहेको बताए । अघिल्लो महाधिवेशलगत्तै मुलुक निर्वाचनमा होमिएको र वामगठबन्धनका कारण पार्टी कमजोर भएको भन्दै आफूलाई सबैले असफल भन्ने गरेको गुनासो देउवाको थियो ।

    ‘मेरै कारणले पार्टीले चुनाव हारेको झैं देखाउन खोजिएको छ । त्यसैले यो पार्टीलाई चुनाव जिताएर नम्बर एक बनाउन म फेरी सभापति बन्न खोजेको हुँ’, बैठकमा देउवाले भने । उनले पार्टीको विधानमै दुई कार्यकाल सभापति हुनसक्ने व्यवस्था भएकोले कसैले अन्यथा सोच्न नहुने स्पष्ट पारेका थिए । केन्द्रीय सदस्य किरण गिरीले सभापति देउवाको दावी स्वभाविक रहेको बताए ।

    ‘पार्टीलाई बलियो बनाउन एकपटक जिम्मेवारी लिन्छु भन्नु गलत होइन । हिजो चुनाव हारेको उहाँको व्यक्तिगत कारण पनि होइन । त्यसैले अधिकांश केन्द्रीय सदस्यहरुले उहाँको उम्मेदवारीलाई स्वागत गरेका छौं’, गिरीले नेपाल प्रेससंग भने ।

    अर्को पक्ष शान्त

    महाधिवेशन कार्यतालिका पारित भएलगत्तै सभापति देउवाले आफ्नो सक्रियता बढाइरहँदा देउवाइतर पक्ष भने खास तरंगित देखिदैन । देउवाइतर पक्षमा सभापतिका आकांक्षी धेरै भएका कारण पनि अलमल बढेको देखिन्छ ।

    ‘शेरबहादुर दाईलाई चुनाव लागिसक्यो । हाम्रोमा त नेतै धेरै छन् । को लड्ने को नलड्ने भन्ने अहिलेसम्म निधो भएको छैन । त्यसैले शान्त छन् सबै,’ देउवा इत्तर समूहका एक नेताले भने । इतरपक्षमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा.शेखर कोइराला सभापति पदका आकांक्षी छन् । देउवाले जारी राखेको छलफललाई ‘वाच’ गरेको बताउने इतर पक्षका एक नेताले केहीदिनमै आफ्नो समूहको बैठक बसेर साझा धारणा बनाउन प्रयास हुने बताए ।

  • देउवाले सुरु गरे दोहोरिने दौड

    देउवाले सुरु गरे दोहोरिने दौड

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी नेतृत्वमा दोहोरिन ‘राजनीतिक दौड’ सुरु गरेका छन् । भदौ १६ गतेदेखि १९ गतेसम्म हुने १४ औं महाधिवेशनको कार्यतालिका केन्द्रीय कार्यसमितिबाट पारित भएसँगै देउवाले चुनावी तयारी सुरु गरेका हुन् ।

    सभापति देउवाले आफू निकट नेताहरुसँग प्रदेशगत छलफल सुरु गरेका छन् । शनिबार प्रदेश १ र २ का केन्द्रीय नेताहरुसँग छुट्टाछुट्टै छलफल गरेका देउवाले आज बागमती प्रदेश र गण्डकी प्रदेशका नेताहरुसंग छलफल गर्दैछन् ।

    आफूनिकट नेताहरुसँगको छलफलमा सभापति देउवाले आसन्न महाधिवेशनमा आफू सभापति पदमा उम्मेदवार हुने बताएका छन् । आफ्नो जित निश्चित हुनेगरी महाधिवेशन प्रतिनिधि जिताएर ल्याउनसमेत देउवाको निर्देशन छ ।

    देउवाको दाउ

    २०७२ साल फागुनमा सम्पन्न १३ औं महाधिवेशनबाट पार्टी नेतृत्वमा स्थापित भएका सभापति देउवा अझै एक कार्यकाल नेतृत्वमै रहन चाहन्छन् । अघिल्लो महाधिवेशनमा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई पराजित गरेका देउवासँग यसपटक प्रतिस्पर्धी को-को रहनेछन् भन्ने निश्चित भइसकेको छैन ।

    यद्यपि आफ्नै समूह व्यवस्थापन गर्नुपर्ने चुनौती पनि देउवासामू छ । देउवा समूहबाट उपसभापति विमलेन्द्र निधिले पनि सभापतिको उम्मेदवार बन्ने बताइसकेका छन् ।

    शनिबार देउवासँगको छलफलमै निधिले आफूले लामो समयदेखि सघाएको भन्दै यसपटक आफूलाई सघाउन अनुरोध गरेका थिए । सभापति देउवाले आफू उम्मेदवार बन्ने भएकोले तयारी गर्न निर्देशन दिएपछि निधिले उम्मेदवार त आफू पनि रहेको बताएका थिए ।

    ‘मैले लामो समयदेखि तपाईंलाई सहयोग गरेको छु । यसपटक तपाई प्रधानमन्त्री बन्नुस् मलाई सभापतिमा प्रस्ताव गर्नुस्’, निधिको भनाई थियो । देउवाले सभापतिमा लड्ने कुरा निधिको व्यक्तिगत अधिकारको विषय रहेको जवाफ दिए ।

    छलफलमा सहभागी एक नेता देउवा र निधि दुवैको तयारीले समूहमा समस्या पर्नसक्ने बताउँछन् । ‘दुवै नेता आदरणीय हुनुहुन्छ । उहाँहरुमध्ये एकजनामात्रै उम्मदेवार भए हामीलाई सहज हुन्छ । अन्तिमसम्म कुरा मिल्छ होला भन्ने लाग्छ’, ती नेताले भने । चार पटक मुलुकको कार्यकारी प्रमुख भइसकेका देउवालाई विद्यार्थी राजनीतिदेखि नै निधिले सघाउँदै आएका छन् । पार्टी विभाजनको बेलासमेत देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिमा निधि महामन्त्री थिए ।

    किन दोहोरिन चाहन्छन् देउवा ?

    नेपाली कांग्रेसको विगत हेर्दा पनि नेतृत्वमा स्थापित भइसकेपछि सहज ढंगले नेतृत्व हस्तान्तरण गरेको उदाहरण भेटिँदैन । सभापति देउवाले सभापतिमा दोहोरिन चाहनुको मुख्यकारण पार्टीलाई बलियो स्थितिमा पुर्‍याउने चाहना हो ।

    अघिल्लो निर्वाचनमा पार्टीले व्यहोरेको लज्जास्पद हारका कारण बनेको असफल सभापतिको छवि सुधार्न देउवा आतूर छन् । अबको निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन सके सफल सभापतिका रुपमा स्थापित भइने देउवाको बुझाई छ ।

    ‘संविधान कार्यान्वयन मैले नै गराएको हो । अब पार्टीलाई एक नम्बर बनाएर मात्रै विश्राम लिन्छु’, देउवालाई उधृत गर्दै एक नेताले भने । कम्युनिष्ट पार्टीमा देखिएको विभाजनको लाभ लिँदै अबको निर्वाचनमा पार्टीलाई सबैभन्दा ठूलो बनाउन सकिने देउवाको बुझाई छ ।

    देउवाका प्रतिस्पर्धी

    आसन्न महाधिवेशनमा देउवासंग प्रतिस्पर्धा गर्न चाहने कांग्रेस नेताहरुको संख्या आधा दर्जन बढी छ । अघिल्लो पटक देउवासँग पराजित वरिष्ठ नेता पौडेल, महामन्त्री डा.शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता डा.शेखर कोइराला देउवाका मुख्य प्रतिस्पर्धी हुन् ।

    देउवाइत्तर पक्षबाट एकजना मात्रै उम्मेदवार रहने सम्भावना कम देखिन्छ । सबै नेताले दावेदारी प्रस्तुत गर्दै आफूले मात्रै देउवालाई हराउन सक्ने दावी गर्दै आएका छन् ।

    देउवा समूहबाट उपसभापति निधि र तेस्रो धारबाट पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पनि सभापतिका आकांक्षी छन् । विपक्षमा धेरै आकांक्षी हुँदा देउवालाई सहज हुने देखिन्छ । यद्यपि निधिलाई मनाउने चुनौती भने देउवासँग बाँकी नै रहेको छ ।

  • युद्धस्तरमा उद्धार र राहतका लागि देउवाको ध्यानाकर्षण

    युद्धस्तरमा उद्धार र राहतका लागि देउवाको ध्यानाकर्षण

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको मेलम्चीसहित देशका विभिन्न स्थानमा बाढी पहिरोका कारण उत्पन्न समस्या युद्धस्तरमा हल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

    देउवाले एक विज्ञप्ति जारी गर्दै युद्धस्तरमा उद्धार, हराएकाहरुको खोजी, मानिसहरुलाई सुरक्षित स्थलतर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको काममा सक्रियतासाथ लाग्न सरकारलाई आग्रह गरेका हुन् ।

    सभापति देउवाले पार्टी पंक्तिलाई पनि उद्धार राहत लगायतका काममा लाग्न निर्देशन समेत दिएका छन् । ‘बाढी पहिरोको जोखिम अबका केही दिनमा थप बढ्नसक्ने पूर्व घोषणा दृष्टिगत गरेर देशभर सबैलाई सजग भएर यसको सामना गर्न आग्रह गर्दै तीन वटै तहका सरकारहरुलाई जरुरी समन्वय र व्यवस्थित योजना साथ आवश्यक सम्पूर्ण तयारी गर्न नेपाली कांग्रेस पार्टीका तर्फबाट अपील गर्दछु’, देउवाले भनेका छन् ।

  • बाढी-पहिरो पीडितको उद्धारमा जुट्न कार्यकर्तालाई कांग्रेस सभापतिको निर्देशन

    बाढी-पहिरो पीडितको उद्धारमा जुट्न कार्यकर्तालाई कांग्रेस सभापतिको निर्देशन

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मनसुनी वर्षाका कारण देशका विभिन्न क्षति पुगेको अवस्थामा तत्काल आ-आफ्नो क्षेत्रमा उद्धार र राहतमा खटिन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

    आज विहान सामाजिक सन्चालमाफर्त उनले भनेका छन्, ‘केहि दिनदेखिको अविरल वर्षाका कारण सिन्धुपाल्चोक, मनाङलगायत देशका विभिन्न क्षेत्रमा क्षति हुन थालेको छ । कठिन अवस्थामा नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरुलाई तत्काल आ-आफ्नो क्षेत्रमा उद्धार र राहतमा खटिन निर्देशन गर्दछु ।’

    प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका देउवाले विपदमा परेका जनतालाई तत्काल उद्धार गरेर सुरक्षित स्थानमा सार्न र उनीहरुलाई आवश्यक राहत प्याकेजको घोषणा गर्न सरकारसँग मागसमेत गरेका छन् ।

  • कोटेश्वर वार्ता : संघदेखि प्रदेशसम्म गठवन्धनलाई निरन्तरता दिने सहमति

    कोटेश्वर वार्ता : संघदेखि प्रदेशसम्म गठवन्धनलाई निरन्तरता दिने सहमति

    काठमाडौं । विपक्षी गठवन्धनका प्रमुख तीन नेताले संविधान र लोकतन्त्रको रक्षार्थ भएको सहकार्यमा आपसी अविश्वास उत्पन्न हुन नदिने निर्णय लिएका छन् । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा बसेको बैठकले प्रदेशदेखि संघसम्म नै गठबन्धनलाई निरन्तरता दिने र सरकारविरुद्ध दृढ भएर उभिने निश्चय गरेको छ ।

    बैठकमा नेता नेपालसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का उपस्थित थिए ।

    ‘यो गठबन्धन संविधान, लोकतन्त्र र जनताको सवाल सम्बोधन गर्न बनेको हो । गठबन्धनलाई अझ दह्रो बनाउने, आपसमा अविश्वास बढाउन हुनसक्ने चलखेलप्रति सचेत रहने र ओली सरकारको असंवैधानिक कदमको विरुद्ध दृढ रहने निर्णय भयो,’ कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले नेपाल प्रेससँग भने ।

    महामन्त्री खड्काले सबै प्रदेशमा विपक्षी गठबन्धनको कार्यगत एकता कायम रहने भन्दै त्यसलाई भत्काउन हुनसक्ने प्रयत्नप्रति सचेत रहनेबारे छलफल भएको बताए ।

    गठबन्धनले सर्वोच्च अदालतमा विचाराधीन रहेका विषयलाई सरकारले विभिन्न माध्यमबाट प्रभावित गर्न खोजेको भन्दै आपत्तिसमेत जनाएको छ । निर्वाचन आयोग लगायतका संवैधानिक निकायको कामबारे प्रश्न गर्दै गठबन्धनले संवैधानिक निकायले सरकारको स्वार्थअनुसार काम गरेको ठहर समेत गरेको छ ।

    ‘संवैधानिक अंगहरुलाई प्रभावमा पार्न सत्ताको दुरुपयोग भइरहेको छ, त्यसलाई दृढतापूर्व प्रतिवाद गर्नेछौं । स्वतन्त्र न्यायापालिकाको भूमिकामाथि विभिन्न ढंगले प्रहार गर्न खोजिएकोप्रति हाम्रो ध्यानाकर्ष भएको छ’, खड्काले भने ।
    बैठकले जनतालाई कोरोनाविरुद्धको खोप दिलाउन सरकार असफल भइसकेको र निषेधाज्ञाले मारमा परेको विपन्न वर्गप्रति सरकार उदासीन भएको ठहर समेत गरेको छ ।

  • माधव नेपालको निवास पुगे कांग्रेस सभापति देउवा

    माधव नेपालको निवास पुगे कांग्रेस सभापति देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा पुगेका छन् ।

    देउवा र नेपालबीच पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भइरहेको छ । भेटमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्कापनि सहभागि छन् ।

  • कांग्रेसको सत्तारोहण यात्रा : आइपरेको कि हत्ते गरेको ?

    कांग्रेसको सत्तारोहण यात्रा : आइपरेको कि हत्ते गरेको ?

    काठमाडौं । २०७४ साल असोज १७ गते मुलुकका दुई ठूला कम्युनिष्ट घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रले वामगठबन्धनको घोषणा गरे । पार्टी एकतासम्मको उद्घोषसहित २०७४ मंसिरमा सम्पनन प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा एमाले र माओवादीबीच देशभर चुनावी तालमेल भयो ।

    वामगठबन्धनका सामु देशका अधिकांश स्थानमा नेपाली कांग्रेस निराश भयो । १ सय ६५ प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा क्षेत्रमध्ये २३ सिटमा मात्रै कांग्रेस बिजयी भयो । वामगठबन्धनले झण्डै दुई तिहाई हासिल गरेयता कांग्रेस राजनीतिक रुपमा ‘संकट’ मा थियो । कांग्रेस कार्यकर्तामा कम्युनिष्टले दशकौसम्म शासन गर्नेछन् भन्ने ‘निराशा’ थियो ।

    यद्यपि साढे ३ वर्षमै कांग्रेस सत्तामा फर्किन थालेको छ । कम्युनिष्ट एकतामा परेको संकटले कांग्रेसलाई सत्तारोहणको बाटो खोलिदिएको छ । सात वटा प्रदेश र संघीय सरकारमा प्रतिपक्षमा सिमित बनेको कांग्रेस क्रमशः सत्ताको भर्‍याङ उक्लदैछ ।

    गण्डकी प्रदेशमा कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बनेका छन् भने कर्णाली र प्रदेश नम्बर २ मा कांग्रेस मन्त्रिपरिषदमा सहभागी भइसकेको छ । दुवै प्रदेशमा कांग्रेसबाट २-२ जना मन्त्री भएका छन् ।

    संघीय सरकारमा पनि सत्ताको नेतृत्व गर्न कांग्रेस आतुर छ । विपक्षी गठबन्धनका तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवाले गरेको दावी सर्वोच्च अदालतमा विचाराधीन छ । विपक्षीको आसनबाट सत्ताको शिखर तर्फ लम्किरहेको कांग्रेसका लागि अबको बाटो सहज भने हुनेछैन । विपक्षमा बसेर सरकारलाई तेर्स्याएको प्रश्नको हल अब कांग्रेस आफैले दिनुपर्नेछ ।

    यसरी सम्भव भयो सत्तारोहण

    राजनीति चुनावी परिणाम मात्रै होइन भन्ने कांग्रेसको सत्तारोहण सुरु भएबाट प्रमाणित हुन्छ । देशभर ५ वर्ष सरकार हाँक्ने जनादेश पाएको नेपाल कम्युनिष्ट पार्टीको विभाजनबाटै कांग्रेसको सत्तारोहण सम्भव भएको हो ।

    लामो समयको आन्तरिक विवादपश्चात गत फागुन २३ को सर्वोच्च अदालतको आदेशबाट नेकपा औपचारिक रुपमा विभाजित भयो । सबैभन्दा ठूलो दल नेकपा एमाले र अर्को दल जसपा पनि विभाजनको संघारमा छन् । विभाजित दुई पार्टीसँग सहकार्यबाटै कांग्रेसको सत्तामा चढिरहेको छ ।

    एकथरिले चाहिँ कांग्रेस अहिले सत्तामा जान हतारिनुभन्दा अर्को चुनावसम्म धैर्य गरेको भए राम्रो हुने मत राख्दै आएका छन् । विपक्षी पार्टीको विवादबाट फाइदा उठाएर सत्तामा जाँदा आगामी चुनावमा कांग्रेसलाई फाइदा नहुने उनीहरुको तर्क छ । तर, कांग्रेसका नेताहरुले चाहिँ पार्टीले सत्ता चाहेको नभइ आइपरेको अर्थमा व्याख्या गर्दै आएका छन् ।

    कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल जनमत पाएकाहरुले ‘जनमतको भारी’ बोक्न नसकेपछि कांग्रेसले अग्रसरता लिनुपरेको बताउँछन् । यद्यपि सत्ताको स्वादभन्दा जनताको सरोकारलाई कांग्रेसले प्राथमिकतामा राख्नुपर्ने पौडेलको भनाई छ ।

    ‘कम्युनिष्ट पार्टीले पाएको जनमत थेग्न सकेन । जनताको सेवाभन्दा आन्तरिक किचलोमा कम्युनिष्टहरु लागेपछि निकास दिन कांग्रेस अगाडि आएको हो । तर कांग्रेसले सत्तामा पुगेर मात्रै हुँदैन, जनताको सरोकारलाई पनि सम्बोधन गर्न सक्नुपर्छ’, पौडेलले नेपाल प्रेससंग भने ।

    संघीय सरकारमा प्रधानमन्त्री केपी ओलीको विकल्प राजनीतिक रुपमा अनिवार्य भएपनि सत्तामा पुगेपछि के गर्ने ? भन्नेमा कांग्रेसले प्रष्ट दृष्टिकोण बनाउनुपर्ने पौडेलको सुझाव छ ।

    ‘प्रदेशमा जो जो सरकारमा जानुभएको छ उहाँहरुले कांग्रेसलाई जनतासंग जोड्नेगरी काम गर्नुपर्छ । सत्ताको स्वादमा भुल्ने छुट कांग्रेसलाई छैन’, पौडेलले भने ।

    कांग्रेसका लागि अवसर

    राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भने कांग्रेसका लागि ‘महान अवसर’ प्राप्त भएको बताउँछन् । कम्युनिष्ट पार्टीको जनमत इतिहासमै सबैभन्दा बढी खण्डित भएकोले कांग्रेसले ‘असल काम’ गरेर देखाउनुपर्ने चुनौती रहेको आचार्यको भनाई छ ।

    ‘कांग्रेसको भविष्य निर्धारण गर्ने राजनीतिक घटना अहिले भइरहेको छ । सत्तामा जानु यतिबेला कांग्रेसको दायित्व बनेको छ । तर सत्तामा गएर उन्मत्त हुनुहुँदैन’, आचार्यले नेपाल प्रेससंग भने ।

    आचार्यको बुझाईमा कांग्रेसका लागि ‘अभि नही तो कभी नही’ भनेझै अवसर आएको छ ।

    ‘कांग्रेसले आफ्नो उपादेयता पुष्टी गर्ने र आफूलाई सुधार्न यो अन्तिम अवसर हो । सत्ताबाट सही काम गर्न सके कांग्रेस पुनः स्थापित हुन्छ अन्यथा भविष्य नै संकटमा पर्नसक्छ’, आचार्यको भनाई छ ।

    अहिले जुनसुकै तहको सरकारमा भएपनि कांग्रेसले कोरोना नियन्त्रण, हरेक नागरिकलाई खोप वितरण र भ्रष्टाचार निरुत्साहनको एजेण्डामा काम गर्नुपर्ने आचार्यको सुझाव छ ।

    आचार्यको बुझाईमा कांग्रेसको सत्तारोहणको यात्रा आगामी निर्वाचनसम्म पार्टीलाई निर्विकल्प बनाउने अवसर र चुनौतीका रुपमा रहेको छ ।

  • महाधिवेशनबारे निर्णय लिन देउवाले बोलाए बैठक

    महाधिवेशनबारे निर्णय लिन देउवाले बोलाए बैठक

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबारे निर्णय लिन सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

    सभापति देउवाले शनिबार अपरान्ह २ बजे बूढानीलकण्ठमा बस्नेगरी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् । कांग्रेसको महाधिवेशन भदौ ७ गतेदेखि १० गतेसम्मका लागि तोकिएको छ ।

    कोरोना महामारीबाट उत्पन्न संकटका कारण महाधिवेशन अनिश्चित हुने सम्भावना बढेका बेला सभापति देउवाले बैठक बोलाएका हुन् । यसअघि देउवाले भदौमा महाधिवेशन गर्न आफू प्रतिवद्ध रहेको भन्दै विज्ञप्ति जारी गरेका थिए ।

    त्यसअघि कांग्रेसका ७ जना युवा नेताले महाधिवेशन सम्पन्न गर्न वैकल्पिक उपाय खोज्नुपर्ने भन्दै सभापति देउवालाई भेटेका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पनि महाधिवेशन भदौमै सम्पन्न गर्न दबाब दिने निर्णय लिएको थियो । शनिबारको बैठकबाट महाधिवेशनबारे साझा धारणा बनाइने बताइएको छ ।

    ‘महाधिवेशन गर्नेमा कसैको विमति छैन । यद्यपि कोरोना संकटका बीच कसरी महाधिवेशन सम्पन्न गर्ने भन्ने विकल्पबारे छलफल गरेर साझा धारणा बनाउँछौं’, बैठकबारे एक कांग्रेस नेताले भने ।

  • भदाैमा महाधिवेशन गर्न प्रतिवद्ध छु : देउवा

    भदाैमा महाधिवेशन गर्न प्रतिवद्ध छु : देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदाैमा पार्टीको १४ औं महाधिवेशन हुनेमा शंका नगर्न आग्रह गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले असार र साउन महिनाभित्र महाधिवेशनका लागि सबै तयारी पूरा गरिने बताएका हुन् ।

    ‘२०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ । यसमा म पूर्ण प्रतिबद्ध छु । पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषयमात्रै नभएर याे एक महत्त्वपूर्ण राजनीतिक अभियान हाे’, देउवाले भनेका छन् ।

    कसैले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउने गरी आएका अभिव्यक्तिप्रति देउवाले आपत्ति समेत जनाएका छन् ।

  • माधव नेपाललाई भेटेलगत्तै प्रचण्ड पुगे देउवा निवास बूढानीलकण्ठ

    माधव नेपाललाई भेटेलगत्तै प्रचण्ड पुगे देउवा निवास बूढानीलकण्ठ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) एमालेबाट निष्कासनमा परेका नेता माधवकुमार नेपालसँगको छलफल सकेर कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा पुगेका छन् ।

    प्रचण्ड र नेपालबीच करिव पौने एक घण्टा कोटेश्वरमा वार्ता भएको थियो । एमाले अध्यक्ष केपी ओलीले एमाले एकताका लागि आह्वान गरे लगत्तै प्रचण्ड र नेपालबीच आइतवार राति पनि छलफल भएको थियो ।

    नेपाल आफ्नै समूहभित्र पनि दबाबमा रहेका बेला प्रचण्डसँग अदालतमा विचाराधीन मुद्दा र पार्टीको आन्तरिक विषयमा छलफल भएको बताइएको छ ।

    नेपाललाई भेटेलगत्तै प्रचण्ड अहिले देउवासँग छलफलका लागि बूढानीलकण्ठ पुगेका छन् ।