Tag: शेरबहादुर देउवा

  • कुलमानलाई प्राधिकरण फर्काउन यसकारण उत्सुक छन् देउवा

    कुलमानलाई प्राधिकरण फर्काउन यसकारण उत्सुक छन् देउवा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई फर्काउने प्रक्रिया सुरु गर्न उर्जा मन्त्री पम्फा भुषाललाई निर्देशन दिएका छन् । लोडसेडिङ हटाएर जनताको मनमा बास गरेका कुलमान प्राधिकरणमा फर्किने चर्चा मात्रै पनि देशभर सकारात्मक तरंगको सञ्चार गरेको छ ।

    प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा आफ्नो कार्यकाल सकिएर गत वर्ष भदौ २९ गते कुलमानले अनिवार्य अवकाश पाएका थिए । त्यतिबेला उनलाई पुनःनियुक्ती गर्न सरकारमाथि चौतर्फी दवाव परेको थियो । तर केपी ओली सरकार उनलाई दोहोर्‍याउन तयार भएन । उनको ठाउँमा प्राधिकरणकै उप-कार्यकारी निर्देशक ह्रृतेन्द्रदेव शाक्यलाई प्रमुख बनाइयो । यो कदमले सरकार निकै आलोचित बनेको थियो ।

    अवकाशपछि फुर्सदमा रहेका कुलमानलाई सरकार परिवर्तनसँगै प्राधिकरणमा फर्किन ढोका खुलेको छ । अहिले उर्जामन्त्रीमा माओवादी केन्द्रकी पम्पा भुुसाल छिन् । कुलमानलाई विगतमा माओवादीकै सरकारले प्राधिकरणमा ल्याएको थियो र उनी अहिले पनि माओवादीसँग निकट मानिन्छन् । यसर्थ प्रधानमन्त्रीले ग्रीन सिग्नल दिइसकेपछि मन्त्री भुषाललाई उनलाई प्राधिकरणमा ल्याउन बाटो खुलेको छ ।

    देउवाको रणनीति

    केपी ओलीको सरकारलाई विस्थापित गरेर प्रधानमन्त्री बनेका शेरबहादुर देउवालाई सुरुमै केही लोकप्रिय निर्णयहरु लिएर आफ्नो विगतको छवि सुधार्न चाहन्थे । ओली सरकारको तीव्र विरोध गरेर सरकारमा आएको हुँदा आफूलाई ओलीभन्दा श्रेष्ठ प्रमाणित गर्नुपर्ने चुनौति उनलाई छ ।

    तर, उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाउँदा उनलाई ‘ब्याकफायर’ भयो । अब उनले कुलमानलाई अघि सारेर त्यसको क्षतिपूर्ति गर्न खोजेको कतिपयको विश्लेषण छ । यसले आफूलाई ठूलै राजनीतिक लाभ मिल्ने देउवा स्वयम्ले बुझेका छन् ।

    विगतमा ४ पटकसम्म प्रधानमन्त्री हुँदा देउवाको रेकर्ड राम्रो भएन । आफ्नो विगतको खराब रेकर्ड सच्याउने अवसर उनलाई छ । कुलमानलाई प्राधिकरणमा ल्याउनु आफ्नो लोकप्रियता उकास्न रामवाण हुने आशामा छन् देउवा । ओलीनिकट मानिने ह्रृतेन्द्रदेव शाक्य कार्यकारी निर्देशक हुँदा मन्त्री भुषाललाई उनीसँग ट्यूनिङ मिलाउन सजिलो छैन । तसर्थ उनी स्वयम् पनि कुलमानलाई फर्काउने पक्षमा थिइन् । भुषालले कुलमानलाई प्रस्ताव गर्नु पहिल्यै निर्देशन दिएर देउवाले यसको जस लिन चाहेको देखिन्छ ।

    सरकारका आलोचकहरुले चाहिँ कुलमानप्रतिको विशाल जनसमर्थनलाई भजाएर देउवाले आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न खोजेको विश्लेषण गरेका छन् । प्राधिकरणलाई राम्रो बनाउने भन्दा पनि कुलमान देखाएर आफ्नो छवि सुधार्ने चेष्टा मात्रै देउवाले राखेको उनीहरुको मत छ । तर, जुन नियतले गरे पनि कुलमान प्राधिकरण फर्किएमा आमजनता खुशी हुने र देउवाले स्यावासी पाउने पक्का छ ।

    को हुन् कुलमान ?

    जलविद्यूत तथा इलेक्ट्रिकल इन्जिनिरिङ क्षेत्रमा नै मास्टर्स गरेका घिसिङ प्राधिकरणमा सामान्य पदबाट जागिरको सुरुवात गरी प्राधिकरणको निर्देशकसम्म बनेका हुन् ।

    प्राधिकरणमा २० वर्षसम्म काम गरेका घिसिङ चिलिमे जलविद्युत आयोजनका प्रवन्ध निर्देशक थिए । २०७३ साल भदौ २९ गते पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले उनलाई नेपाल विद्यूत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति दिएको थियो । त्यसवेला अहिलेका अर्थमन्त्री जनार्दन शर्मा उर्जामन्त्री थिए ।

    कार्यकारी निर्देशन नियुक्त भएको दुई महिनामा नै काठमाडौं उपत्यकामा लोडसेडिङ हटाएका कुलमानले २०७५ बैशाख ३१ गते नेपाललाई लोडसेडिङमुक्त बनाएका थिए । उनले भारतबाट विद्युत आयात गरेरै भए पनि कुनै समय १८ घण्टासम्म भएको लोडसेडिङ हटाउन भुमिका खेलेका थिए ।

    कसरी हट्यो लोडसेडिङ ?

    लोडसेडिङ मुक्त नेपाल बनाउन कुलमानले विद्युत प्राधिकरणको लोड व्यवस्थापन, विद्यूत चुवहावट तथा चोरी नियन्त्रण, ट्रान्सफर्मरहरुको व्यवस्थापन र अपुग विद्युत भारतबाट आयात गर्नेजस्ता रणनीतिहरु अख्तियार गरे । उनले व्यवस्थापकीय कौशलबाटै लोडसेडिङ अन्त्य भएको बताउने गरेका छन् ।

    विद्युत प्राधिकरणमा समस्याग्रस्त भएर थन्किएका कतिपय आयोजनाहरु सम्पन्न गर्न उनले महत्वपूर्ण भूमिका खेलेका थिए । माथिल्लो तामाकोशीको ९० प्रतिशतभन्दा बढी कामसमेत उनकै नेतृत्वमा सम्पन्न भएको थियो ।

    कर्मचारीलाई तलव खुवाउन समेत ऋण खोज्नुपर्ने अवस्थामा रहेको प्राधिकरणलाई अब्बल संस्थामा रुपान्तरण गर्न उनको नेतृत्वदायी भुमिका कारण सम्भव भएको बताइन्छ । ३४ अर्ब रुपैयाँ घाटा बोकेर हिँडेको प्राधिकरण उनको कार्याकालमा १४ अर्ब नाफाको अवस्थामा पुगेको थियो । ८०१ मेगावट नेपालको कुल विद्युत उत्पादन रहेकोमा उनले आफ्नो ४ वर्षे कार्याकालमा थप ५०० मेगावट विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडे ।

    कुनै समय २६ प्रतिशतभन्दा बढी विद्युत चुहावट तथा चोरी हुने गरेकोमा उनले यसलाई १४.५ प्रतिशतमा झारेका थिए । प्राधिकरणको नाफा बृद्धि हुनुमा यो मुख्य फ्याक्टर सावित भएको थियो । १ प्रतिशत विद्यूत चुहावट नियन्त्रण गर्दा करिब ७० करोड रुपैयाँले आम्दानी बढ्ने बताइन्छ ।

  • मन्त्री माग्न गएका एमाले सांसदलाई देउवाको जवाफ- माधवजीले भन्नुपर्छ

    मन्त्री माग्न गएका एमाले सांसदलाई देउवाको जवाफ- माधवजीले भन्नुपर्छ

    काठमाडौं । मन्त्रिपरिषद् विस्तारको कसरत चलिरहेका बेला एमालेको माधव नेपाल पक्ष सरकारमा जानेबारे अनिर्णित बनेको छ ।

    एमाले विभाजन नभइ सरकारमा जाँदा केपी ओलीले सांसद पद खाइदिने भन्दै माधव नेपालले २२ सांसदको भेलामा व्यक्तिगत ‘रिस्क’ मोलेर जाने भए जान भनेका थिए ।

    यसबीचमा माधव नेपाल पक्षका चार-पाँच जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सरकारमा सहभागी हुने चाहना व्यक्त गरेको माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी बैठकमा सुनाएका छन् । आइतबारको बैठकमा प्रचण्डले माधव नेपाल तत्कालै सरकारमा जाने अवस्थामा नरहेको भन्दै नेपालनिकट सांसदहरू भने व्यक्तिगतरूपमा मन्त्री बन्न खोजिरहेका बताएका हुन् ।

    प्रचण्डको भनाइ उदृत गर्दै एक नेताले भने, ‘एमालेका चार-पाँच जना सांसदले प्रधानमन्त्रीलाई भेटेर सांसद पद गए पनि हामी मन्त्री बन्छौं भनेछन् । तर, प्रधानमन्त्रीले माधव नेपालले भनेमात्र हुन्छ भनेर फर्काएछन् । माधव समूह नै सहभागी नभई व्यक्तिलाई बनाउन हुन्न भन्ने मेरो पनि मत हो । तर, माधवजी अप्ठेरोमा छन् ।’

    माधव नेपालसहित २२ जना एमाले सांसदले देउवालाई विश्वासको मत दिएका थिए । २२ सांसदको पछिल्लो भेलामा पनि सरकारमा जान नेपालमाथि दबाब परेको थियो । तर नेपालले भने निर्णय गर्न सकेका छैनन् ।

    माधव नेपाल पक्ष सरकारमा नजाँदा देउवा सरकार अल्पमतमा पर्ने र सरकार ढल्ने भएकाले आफूले बनाएको सरकारमा जानुपर्ने तर्क नेपाल पक्षधर सांसदहरूको छ ।

  • प्रधानमन्त्री सचिवालयको भिडियो सन्देश : शेरबहादुर देउवा श्रीपेचबिनाका राजकुमार हुन्

    प्रधानमन्त्री सचिवालयको भिडियो सन्देश : शेरबहादुर देउवा श्रीपेचबिनाका राजकुमार हुन्

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालय पछिल्लो समय निकै सक्रिय छ । फेसबुक र ट्वीटरमा मात्रै होइन भाइबर र इन्स्टाग्राममा पनि देउवाका गतिविधि छाउन थालेका छन् । देउवाको सचिवालयले विगतमा उनको नेतृत्वमा भएका कामको प्रचार गर्न श्रव्यदृश्य सबै खालको प्रयत्न गरिरहेको छ । हालै देउवाको आधिकारीक भाइबर ग्रुप हुँदै सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोले भने कांग्रेस वृत्तमा धेरै चर्चा कमाएको छ ।

    ‘मलाई शेरबहादुर देउवा मनपर्छ किनभने’ भन्ने शीर्षकमा तयार पारिएको भिडियो सामाग्रीमा देउवाको गृहजिल्ला डडेल्धुराका कांग्रेस नेता तीर्थ शाहीले आफ्नो धारणा राखेका छन् । उनले देउवाको पक्षमा धारणा राख्ने क्रममा देउवा वीपी कोइरालापछिको दोस्रो महान् व्यक्ति रहेको टिप्पणी गरेका छन् । देउवाको गुणगान उनले यत्तिमै रोकेका छैनन्, उनले भनेका छन्- बिपीले पनि झापा सम्मेलनमा भन्नुभएको थियो, शेरबहादुर देउवा बिना श्रीपेचका राजकुमार हुन् ।

    मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको १३ वर्ष पूरा भइसकेको छ । ‘बिना श्रीपेचको राजकुमार’ भन्ने विशेषण वर्तमान समयमा प्रधानमन्त्रीका लागि उपयुक्त देखिदैन । यद्यपि श्रव्यदृश्य निर्माणमा देउवालाई ‘महान्’ देखाउन प्रयोग गरिएको धारणा अहिले कांग्रेसवृत्त व्यंग्यको विषय बनेको छ । ‘शेरबहादुर देउवाको योगदानको अवमूल्यन गरिनुहुँदैन तर उहाँ बिना श्रीपेचको राजकुमार हो, बिपीपछिको दोस्रो महान् व्यक्तित्व हो भनेर आफ्नै जिल्लाका मान्छेलाई भन्न लगाएर प्रचार गर्नुभनेको गलत हो । यो अलि मपाईत्व भयो कि जस्तो लाग्छ’, भिडियो हेरेपछि कांग्रेसका एक नेताले भने ।

    यस्तो छ देउवाको सचिवालयले सार्वजनिक गरेको भिडियो-

  • सत्ता गठबन्धनका दुःख- संसद जोगायौं भन्नेले मन्त्री छान्न सकेनन्

    सत्ता गठबन्धनका दुःख- संसद जोगायौं भन्नेले मन्त्री छान्न सकेनन्

    काठमाडौं । गत असार २८ गते सर्वोच्च अदालतले गरेको फैसलाबाट प्रतिनिधिसभा पुनःस्थापना मात्रै भएन, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन हुने निश्चित समेत भयो ।

    संविधानको धारा ७६ (५) बमोजिम देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश लगायतको माग गरेर कांग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र नेकपा एमालेको माधव नेपाल समूह सर्वोच्च अदालत पुगेका थिए ।

    माग बमोजिमको सबै आदेश भएपछि गठबन्धनले सर्वोच्चको फैसलाको स्वागत मात्रै गरेन, संविधानर लोकतन्त्र जोगाउन महत्वपूर्ण रहेको ठहर समेत गर्‍यो । संविधान जोगाउन सफल भएको निष्कर्षमा पुगेको ५ दलीय गठबन्धन ३ सातासम्म सरकार विस्तार गर्न भने असफल देखिएको छ । संविधान जोगाउन ‘एक’ देखिएका दलहरुभित्र सत्तामा जाने विषयमा ‘अनेक’ विवाद देखिएका छन् ।

    गठबन्धनको मुख्य घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केहीदिन अघि नै ‘मन्त्री माग्नेहरुबाट आफू हैरान भइसकेको’ प्रतिक्रिया दिएका थिए । माओवादीमा सबै सांसद मन्त्रीको दावेदार रहेको र सबैले मन्त्री नबनाए ‘देखाइदिने’ घुर्की दिएको प्रचण्डले बताएका थिए ।

    यही हैरानीका कारण माओवादीले सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउन सकेको छैन । सरकारको नेतृत्व गरेको कांग्रेसको हालत उस्तै छ । आफ्नै शपथको दिन प्रधानमन्त्री देउवाले कांग्रेसका बालकृष्ण खाणलाई गृह र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानून मन्त्रीमा नियुक्त गरेका थिए ।

    सोही दिन माओवादीका जनार्दन शर्माले अर्थ र पम्फा भूसालले ऊर्जा मन्त्रीको जिम्मेवारी पाएका थिए । गत साउन १० गते कांग्रेस सांसद उमेश श्रेष्ठलाई प्रधानमन्त्री देउवाले स्वास्थ्य राज्यमन्त्रीको रुपमा शपथ गराए । व्यापारीक पृष्ठभूमिका श्रेष्ठलाई मन्त्री बनाएकोमा प्रधानमन्त्रीको तीव्र आलोचना भयो ।

    असार २९ मा प्रधानमन्त्रीको शपथ लिएका देउवाले ३ सातासम्म मन्त्रिपरिषदलाई पूर्णता दिन नसक्नुमा कांग्रेसभित्रको विवाद पनि महत्वपूर्ण हो । कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सरकारमा सम्मानजनक हैसियत खोजेको छ ।

    पौडेलले कम्तीमा चार मन्त्रालय पाउनुपर्ने दावी गरेका छन् । देउवा भने पौडेललाई बढीमा ३ र कृष्णप्रसाद सिटौला पक्षलाई १ मन्त्री दिने पक्षमा छन् । यसबारे कांग्रेसमा सहमति जुटिसकेको छैन ।

    गठबन्धनमा सहभागि एमालेको माधव समूह पनि सरकारमा आउने भएमा भागबण्डा अझ जटिल बन्नेछ । अहिले कांग्रेसले ८ तथा माओवादी र जसपाले ७-७ मन्त्रालय लिने सहमति बनेको छ ।

    जसपाले अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागि हुने तयारी गरेपनि मन्त्री बन्नेको नामावली तयार गरिसकेको छैन । यसरी सबै दलभित्रको आन्तरिक विवादका कारण मन्त्रिपरिषद विस्तारमै प्रधानमन्त्री देउवालाई सकस परेको छ ।

    ‘गठबन्धनमा भएका सबै दलको मात्रै होइन गुटको पनि चित्त बुझाइदिनुपर्ने बाध्यता प्रधानमन्त्रीसामु छ । त्यसैले मन्त्रिपरिषद विस्तारमा ढिलाई भएको हो’, प्रधानमन्त्रीनिकट कांग्रेस नेताले भने । ती नेताका अनुसार आज दिनभर सबैसंग परामर्श गरेर मन्त्रिपरिषद विस्तार गर्नेगरी तयारी भइरहेको छ ।

  • सोसल मिडियामा सक्रियता बढाउँदै प्रधानमन्त्री देउवा

    सोसल मिडियामा सक्रियता बढाउँदै प्रधानमन्त्री देउवा

    काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सञ्जालहरूमा आफ्नो सक्रियता बढाएका छन् । यसअघि फेसबुक र ट्वीटरमा मात्रै सक्रिय देउवा प्रधानमन्त्री भएसँगै भाइबर ग्रुप र इन्स्टाग्राममा पनि सक्रिय देखिएका छन् । देउवाको सामाजिक सञ्जाल सञ्चालन र व्यवस्थापनमा सचिवालयसँगै छोरा जयवीरसिंह देउवा पनि सक्रिय रहेका छन् ।

    भाइबरमा रहेको ग्रुप अन्तरक्रियात्मक छैन । यद्यपि त्यसमा प्रधानमन्त्री देउवाका गतिविधि, तस्बिर र भिडियोहरू अपलोड हुने गरेको छ । त्यस्तै फेसबुक र ट्वीटमार्फत प्रधानमन्त्रीका गतिविधि, धारणाहरू सार्वजनिक हुने गरेका छन् ।

    ‘हामीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीका हालका गतिविधिमात्रै होइन, विगतमा उहाँको नेतृत्वमा भएका सफल कामहरूको प्रचारसमेत गरिरहेका छौं’, सचिवालय स्रोतले नेपाल प्रेससँग भन्यो, ‘केहीदिनमै टिकटकबाट पनि प्रधानमन्त्री देउवाका नयाँ पुराना भिडियो सामाग्रीहरू सार्वजनिक गरिनेछ ।’

  • देउवालाई माधवको सुझाव- क्षमतावान सहयोद्धाहरू लिएर काम गर्नुस् (भिडियो)

    देउवालाई माधवको सुझाव- क्षमतावान सहयोद्धाहरू लिएर काम गर्नुस् (भिडियो)

    काठमाडौं । सत्तारुढ गठबन्धनको घटकमध्येका एक एमाले माधव समूहका नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई क्षमतावान व्यक्तिलाई साथ लिएर काम गर्न सुझाव दिएका छन् ।

    विश्व बाघ दिवसको अवसरमा बिहीबार बालुवाटारमा आयोजित कार्यक्रममा नेपालले भने ‘प्रधानमन्त्रीमात्रै पर्याप्त हुँदो रहेनछ । सहयोगी, सहयोद्धाहरु पनि त्यस्तै काविल चाहिन्छ । समर्पित चाहिन्छ । रचनात्मक चाहिन्छ ।’

    आफू प्रधानमन्त्री रहँदा सहयोद्धाहरू राम्रो भएकाले प्रकृति संरक्षणको सम्बन्धमा राम्रो काम गर्न सकेको भन्दै त्यसप्रति आफूलाई आनन्द र गौरवबोध हुने उनले दावी गरे ।

    कार्यक्रममा प्रधानमन्त्री देउवाले बाघको बासस्थानका लागि जंगल आवश्यक रहेको र जंगल जोगाउने तर्फ ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिए । उनले भने, ‘बाघको लागि जंगल आवश्यक छ । जंगल र बाघ एक अर्काको लागि आवश्यक कुरा हुन् । बाघको बासस्थान सुरक्षित गर्न विशेष ध्यान दिनुपर्छ ।’

  • भदौ १६ मा कांग्रेस महाधिवेशन नहुने

    भदौ १६ मा कांग्रेस महाधिवेशन नहुने

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ १६ गतेदेखि आयोजना हुने कुनै सम्भावना छैन । तर, यो सत्य सार्वजनिक गर्न कुनै नेता तयार छैनन् । बुधबार कांग्रेसका शीर्ष नेताहरूको बैठकमा सभापति शेरबहादुर देउवाले भने-महाधिवेशन भदौ १६ मै हुन्छ, हुन्छ, हुन्छ ।

    तर कसरी ? सभापति देउवाकै निकट नेताहरू अलमलमा छन् ।

    ‘महाधिवेशन भदौ १६ मै हुन्छ भनेर सभापतिले भन्नुभएको छ । कसरी हुन्छ भन्ने पनि उहाँबाहेक अरुलाई थाहा छैन’, देउवानिकट एक नेताले भने ।

    बुधबारकै बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन एक दिन पनि सार्न नहुने बताए । तर, क्रियाशील सदस्यताको समेत टुंगो नलागेको अवस्थामा १ महिनाभित्रै कांग्रेसको वडादेखि केन्द्रसम्मको महाधिवेशन कसरी हुन्छ ?

    पौडेलनिकट नेताहरू पनि ढुक्क छैनन् । ‘परिस्थिति हेर्दा महाधिवेशन नहुने निश्चित भइसकेको छ तर रामचन्द्र दाइको कन्फिडेन्स किन बढेको हो ? जसरी नि महाधिवेशन हुन्छ भन्नुहुन्छ’, पौडेलनिकट नेताहरूको भनाइ छ ।

    महाधिवेशन नहुने निश्चित

    नेपाली कांग्रेसको विधिसम्मत महाधिवेशन भदौ १६ मा हुन सम्भव छैन । किनकी निर्वाचन समितिले नै प्रक्रिया शुरू भएको कम्तीमा ५३ दिनपछि महाधिवेशन गर्न सकिने खाका शीर्ष नेताहरूलाई देखाइसकेको छ ।

    निर्वाचन समितिले मतदाता नामावली प्रकाशन, निर्वाचन प्रतिनिधिको प्रशिक्षणदेखि सबै काम सकेर दू्रत गतिमा अधिवेशन सक्दापनि ५३ दिन लाग्ने बताइसक्दापनि नेताहरु महाधिवेशनको विकल्प वा नयाँ मितिबारे बोलन खोजिरहेका छैनन् । अहिले नै यसबारे बोल्दा महाधिवेशन गर्न नसकेको अपजस आइपर्ने चिन्ता नेताहरूमा देखिन्छ ।

    भदौ १६ आउन ३५ दिन बाँकी छ । क्रियाशील सदस्यता छानविन समितिले प्रतिवेदन बुझाएपनि कतिपय जिल्लाको विवाद थाँती नै छ । समायोजनका नाममा बाँडिएका क्रियाशील सदस्यताको विवाद अझै सुल्झेको छैन । निर्वाचन निर्देशिका तयार भएकै छैन । यस्तो अवस्थामा नहुने महाधिवेशनको रटान लगाउन कांग्रेस नेताहरुले छाडेका छैनन् । ‘भदौ १६ मा महाधिवेशन नहुने निश्चित छ तर यसको घोषणा गर्न अझै केही समय लाग्छ’, कांग्रेसका एक पदाधिकारीले नेपाल प्रेससँग भने ।

    पछिल्लो कार्यतालिका अनुसार साउन १२ मा हुनुपर्ने वडा अधिवेशन प्रभावित भएका कारण कांग्रेस महाधिवेशनको कार्यतालिका निष्क्रिय भइसकेको छ । सभापति देउवाले भदौ १६ मै महाधिवेशन हुनेगरी नयाँ कार्यतालिका ल्याउन निकट नेताहरूलाई निर्देशन दिएका छन् । तर महिनादिनमै महाधिवेशन गर्ने विश्वासिलो आधार पहिल्याउन उनीहरूलाई अप्ठ्यारो परेको छ ।

    ‘अरे हामी पनि उपाय खोजीराछौ, हतार नर्गनुस् न यार’, कार्यतालिकाको जिम्मा पाएका एक नेताले नेपाल प्रेससँग भने ।

    सेलायो उम्मेदवारको सक्रियता

    केही दिनअघिसम्म कांग्रेसका जिल्लादेखि केन्द्रसम्मका आकांक्षीहरूको सक्रियता चुलिएको थियो । विस्तारै यो क्रम सेलाएको छ । महाधिवेशन केन्द्रित भेला, छलफल र वार्ता हुन छाडेका छन् । सभापति देउवाको नेतृत्वमा सरकार बनेसंगै अधिकांश नेताको सरोकार पनि फेरिएको छ ।

    ‘सरकारमा कति मन्त्री पाउने , कसलाई पठाउने भन्नेमै धेरै छलफल हुन थालेको छ । महाधिवेशन हुने भए एक महिना बाँकी हुँदा कांग्रेसमा यस्तो सन्नाटा हुन्थ्यो र ?’,एक नेताले प्रश्न गरे ।

    सभापति देउवा, वरिष्ठ नेता पौडेलदेखि उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा.शेखर कोइराला, कल्याण गुरुङ लगायतले १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । तर केही समयअघि चुलिएको दावेदारहरूको छलफलको श्रृंखला अहिले रोकिएको छ ।

    भित्रभित्रै विकल्पको खोजी

    सभापति देउवाले बारम्बार महाधिवेशन गर्न नसकेको कलंक नबोक्ने बताउँदै आएका छन् । प्रधानमन्त्री बनेपछि उनको व्यस्तता बढ्दो छ । आन्तरिक बैठकमा जसरी पनि महाधिवेशन हुने ठोकुवा गरेपनि भरपर्दो विकल्पबारे देउवाको परामर्श जारी छ ।

    ‘महाधिवेशन नहुने अवस्थामा के गर्ने भन्नेमा छलफल चलि नै रहेको छ । सभापतिलाई चित्त बुझेको विकल्प केही दिनमा फ्लोर हुन्छ’, देउवानिकट एक नेताले भने । ती नेताका अनुसार क्रियाशील सदस्यताको काम मात्रै नभए पनि तत्काललाई टुंग्याउने नेतृत्वको इच्छा छ । अहिले क्रियाशील टुंग्याउन सके छोटो समय थप गरेर कात्तिकसम्म महाधिवेशन गर्न सकिन्छ की भन्ने विकल्पमा छलफल भइरहेको ती नेताको भनाइ छ ।

    त्यसबाहेक लकडाउन भए बराबरको अवधि थप गर्ने, निर्वाचन आयोगबाट स्वीकृति लिएर महाधिवेशनका लागि थप समय लिने, पुरानै प्रतिनिधिबाट महाधिवेशन गर्ने, सहमतिको महाधिवेशन गर्ने लगायतका विकल्प पनि शीर्ष तहमा छलफलमै छन् ।

  • नेम्वाङलाई देउवाको प्रश्न- तपाईं सभामुख हुनुन्थ्यो, धारा ७६ (५) किन लेख्नुभो ?

    नेम्वाङलाई देउवाको प्रश्न- तपाईं सभामुख हुनुन्थ्यो, धारा ७६ (५) किन लेख्नुभो ?

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभाका अध्यक्ष समेत रहेका एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधानको गलत व्याख्या गरेको टिप्पणी गरेका छन् ।

    प्रतिनिधिसभाको आजको बैठकमा नवनियुक्त प्रधानमन्त्रीलाई बधाई दिँदै नेता नेम्वाङले सर्वोच्चको परमादेशबाट राज्यका अंगबीच सन्तुलन खलबलिएको बताएपछि जवाफमा देउवाले संविधानको धारा ७६ (५) बारे अरुलाई भन्दा बढी नेम्वाङलाई थाहा भए पनि गलत व्याख्या गरेको आरोप लगाए ।

    उनले भने, ‘पूर्वसभामुख नेम्वाङ पनि आफूले बोलेको जवाफ नसुनि हिँडनुभयो । त्यो संविधानमा ७६ (५) किन लेख्नु भयो ? भनी प्रश्न सोध्नेवाला थिए । उहाँ सभामुख हुनुहुन्थ्यो । संविधान जारी गर्ने बेला अब कहिल्यै पनि पार्लियामेन्ट भंग हुने छैन । म उहाँले बोल्नु भएको कुरा आज स्मरण गराउन चाहन्छु । यी सबै कुरा सभामुख नेम्वाङले स्पष्ट पार्नुपर्नेमा उल्टो व्याख्या गरेर जानुभयो ।’

    प्रधानमन्त्री देउवाले आफूले विश्वासको मत लिने बेला पार्टीका सांसदहरूलाई ह्वीप नलगाएको दावी गरे । ‘पार्टीको पक्षमा मतदान गर्न मैले एमालेलगायतका सबै दललाई अनुरोध गरेको हुँ’, उनले भने’ ‘तर नेम्वाङले अनुरोध गरेको कुरालाई ह्वीप भनेर उल्टो कुरा गर्नु भयो ।”

    सदनमा बधाईप्रति धन्यवाद ज्ञापन गर्दै प्रधानमन्त्री देउवाले ऋण लिएर जतिसुकै महंगो परे पनि सबै नेपालीलाई कोरोना खोप पुर्‍याउने प्रतिवद्धता व्यक्त गरे ।

  • अनसन बसेका कार्यकर्ताको माग सुनुवाइ गर्न देउवाको निर्देशन

    अनसन बसेका कार्यकर्ताको माग सुनुवाइ गर्न देउवाको निर्देशन

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै अनसन बस्दै आएका नेता, कार्यकर्ताको माग तत्काल सुनुवाइ गर्न क्रियाशील सदस्यता छानवीन समितिलाई निर्देशन दिएका छन् ।

    बूढानीलकण्ठस्थित निवासमा आज बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले अनसन बसेकाहरूको माग आज दिनभरमा सुनुवाइ गरी भोलि बिहानको बैठकमा पेस गर्न निर्देशन दिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

    ‘सभापतिजीले निर्देशन दिनु भएको छ- पार्टीको क्रियाशील सदस्यताको विषयलाई लिएर जो पार्टी कार्यालयमा अनसन बस्दै आउनु भएका छ, उहाँहरुको मागको सुनुवाइ आजै गरी भोलि बस्ने बैठकमा पेस गर्नू,’ देउवाको भनाइ उद्धृत गर्दै शर्माले भने ।

    बैठकमा क्रियाशील सदस्यता छानवीन समितिका संयोजक रमेश लेखकले साउन १० गते आफ्नो समितिको प्रतिवेदन बुझाउने जानकारी गराएका छन् । भोलि बिहान ९ बजे बोलाइएको पदाधिकारी बैठकमा आसन्न १४ औं महाधिवेशनका लागि साउन १२ गतेदेखि तय गरिएको तल्लो तहको अधिवेशन सार्ने गरी मिति तय गर्ने पनि जनाएको छ ।

    क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदनसमेत नआएकाले सो सम्बन्धी मिति तय गर्ने विषयमा पनि भोलि बोलाइएको पदाधिकारी बैठकमा छलफल हुने निर्णय गरिएको प्रवक्ता शर्माको भनाइ छ । उनले भने, ‘क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदन आएपछि मात्रै निर्वाचन समितिलाई सो बुझाउनुपर्ने हुन्छ । सो बुझाएपछि मात्रै तल्लो तहको पार्टीको अधिवेशन शुरू हुने भएकाले भोलिको पदाधिकारी बैठकले त्यसको अधिवेशन मिति सार्ने विषयमा पनि टुंगो लगाउनेछ ।’

    केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदन प्राप्त भएपछि मात्रै तल्लो तहको अधिवेशन शुरू गर्न सकिने भएकाले त्यसको मिति सार्न बैठकमा प्रस्ताव राखेका थिए ।

  • देउवाप्रति सुवास नेम्वाङको कटाक्ष – गोलीको त आँखा हुँदैन, यो कसले भनेको बिर्सिएँ

    देउवाप्रति सुवास नेम्वाङको कटाक्ष – गोलीको त आँखा हुँदैन, यो कसले भनेको बिर्सिएँ

    काठमाडौं । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्री शेरबहादुर देउवाप्रति कटाक्ष गर्दै उनको कार्यकालमा भएका घटनाको स्मरण गरेका छन् ।

    प्रतिनिधिसभाको आजको बैठकमा नवनियुक्त प्रधानमन्त्री देउवालाई बधाई दिने क्रममा नेम्वाङले ३० वर्षअघिको एउटा घटना सम्झिए । ‘उहाँलाई बधाई दिन म उभिएको छु, बधाई दिँदा केही जिज्ञासा छन्,’ उनले भने, ‘थुप्रै घटनाक्रम सम्झिन्छु । कसको पालामा हो त्यो चाहिँ बिर्सेँ । रोचक, घोचक घटना मैले सम्झिन्छु । सार्है रोचक चाहिँ संसदमा सवाल-जवाफ थियो । एउटा बच्चा मरेको कुरा थियो । एकजनाले जवाफ दिनु भयो-गोलीको त आँखै नहुने रहेछ, लाग्यो । यो कसको पालामा हो त्यो मैले बिर्सिएँ ।’

    २०४८ सालमा देउवा गृहमन्त्री हुँदा तत्कालीन विपक्षी एमालेको आन्दोलनमा ७ वर्षका बालक अनिश शाक्य र १३ वर्षीकी सम्झना दाहालको गोली लागि मृत्यु भएको थियो । त्यसबारे देउवाले संसदमा जवाफ दिँदा ‘गोलीको आँखा नहुने’ बताएका थिए ।

    नेम्वाङले आफ्नो पार्टी जिम्मेवार प्रतिपक्षको भूमिकामा बस्ने बताए । उनले जनादेशबाट नभइ अदालतको आदेशबाट सरकार प्राप्त भएको जिकिर गरे ।

    ‘सम्माननीय प्रधानमन्त्रीले भनेको सुनेको थिए- सरकारमा जानलाई हामीलाई जनादेश छैन,’ नेम्वाङले भने, ‘अहिले त उहाँलाई बधाई दिनुपर्ने अवस्था आयो । उहाँले कहिले जनादेश पाउनु भएछ ? अदालतको आदेशबाट हामीले प्रधानमन्त्री प्राप्त गरेका छौं । यो मैले अन्यथा कुरा भनेको होइन ।’

  • सुदूरपश्चिममा कांग्रेस महाधिवेशनको सरगर्मी- यी हुन् जिल्लादेखि केन्द्रसम्मका आकांक्षी

    कैलाली । नेपाली कांग्रेसको महाअधिवेशन मिति नजिकिँदै जाँदा वडादेखि प्रदेशसम्म चुनावी सरगर्मी बढिरहेको छ । उनीहरु अहिले टिकटका लागि दौडधुपमा छन् ।

    केन्द्रीय पदाधिकारीमा सभापति शेरबहादुर देउवासहित सुदूरपश्चिम प्रदेशका ६ जनाले दावी पेस गरिरहेका छन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा सभापतिमा पुनः उम्मेदवारी दिने योजनामा देखिन्छन् ।

    नेताहरु रमेश लेखक, एनपी साउद, दिलेन्द्र बडू, बद्री पाण्डे र ईश्वरी न्यौपाने पदाधिकारीका लागि टिकटको दौडमा छन् ।

    रमेश लेखक, एनपी साउद र दिलेन्द्र बडू महामन्त्रीको लबिङमा छन् । उनीहरू निकटका नेताका अनुसार महामन्त्रीको दौडमा रहेको तीनै जना अन्तिममा सह-महामन्त्रीसम्म भएपनि दावी गर्ने बताउँछन् ।

    आरक्षण कोटा (पिछडिएको क्षेत्र)बाट पाण्डेले सह-महामन्त्री र महिला कोटाबाट न्यौपाने सह-महामन्त्रीमा दावी गरेका छन् ।

    प्रदेशका आकांक्षी

    सुदूरपश्चिम प्रदेश अध्यक्षमा आधा दर्जनले इच्छा व्यक्त गरेका छन् । वर्तमान कैलाली सभापति नरनारायण शाह (मनु) पनि प्रदेश सभापतिको दौडमा छन् । उनी कैलालीमा दुई पटक सभापति भइसकेका छन् । विधान अनुसार जिल्लामा २ पटक भन्दा बढी सभापति हुन नपाइने भएपछि उनी प्रदेश अध्यक्षको दौडमा छन् ।

    बझाङका अर्जुन बहादुर सिह, कञ्चनपुरका बहादुरसिंह थापा, अछामका बलबहादुर कँुवर र गोविन्द शाह पनि प्रदेश सभापतिको दौडमा छन्।

    यी हुन् जिल्लाका आकांक्षी

    नेपाली कांग्रेसको जिल्लाको अधिवेशन २६ साउनमा हुँदैछ । सुदूरपश्चिम प्रदेशमा जिल्ला सभापतिका आकांक्षीले आआफ्नो दावी प्रस्तुत गर्न थालेका छन् । १३ औं महाधिवेशनमा ९ जिल्ला मध्ये ६ जिल्लाका सभापतिमा शेरबहादुर देउवा निकट नेताहरू निर्वाचित भएका थिए ।

    प्रदेशको राजधानी कैलालीमा जिल्ला सभापतिका आकांक्षी धेरै देखिएका छन् । प्रकाश बम, नारायणदत्त भट्ट, भीम बडुवाल, खेमराज चौधरी, कमल शाह, डा.रणबहादुर रावल, दिनेशराज जोशी, गणेश देउवालगायतको नाम चर्चामा छ ।

    कञ्चनपुरमा पनि जिल्ला सभापतिको रस्साकस्सी सुरु भइसकेको छ । जिल्लामा वर्तमान सभापति हरि बोहरा, गत अधिवेशनमा बोहरासँग पराजित पदम बोगटी, गोपाल गुरुङ लगायतको नाम चर्चामा छ ।

    सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा जिल्ला सभापतिका लागि हरिप्रसाद भट्ट र परशुराम नगरपालिका मेयर भीमबहादुर साउदले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

    बाजुरामा पूर्व सभापति मनबहादुर रावल र वर्तमान सभापति कविराज पण्डित दोस्रो पटक जिल्ला सभापतिमा भिड्ने तयारीमा देखिन्छन् ।

    बैतडीमा वर्तमान सभापति नरेन्द्रसिंह थापा दोहोरिने योजनामा छन् भने उपसभापति चतुरबहादुर चन्द र सचिव वीरबहादुर विष्ट पनि सभापति बन्ने लबिङमा छन् । यस्तै, पूर्व सभापति शिवराज भट्ट पनि पुनः सभापति भन्ने दौडमा छन् । चतुरबहादुर चन्द नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्षसमेत हुन् ।

    अछाममा वर्तमान सभापति भरतकुमार स्वाँर, पूर्वसभापतिद्वय पुष्पबहादुर शाह, मेघराज खड्का, नेता गणेशबहादुर विष्ट, रामबहादुर विष्ट, बलबहादुर कुँवर, ध्वजबहादुर कुँवर र टीकाराम खनालको नाम चर्चामा छ ।

    डोटीमा जिल्ला सभापतिका लागि वर्तमान सभापति प्रदीप देउवा, शिखर नगरपालिकाका मेयर सीताराम जोशी, नेताहरू रामप्रसाद उपाध्यक्ष, दीपक विष्ट र भूमिराज बडूको नाम चर्चामा छ ।

    बझाङमा वर्तमान सभापति हर्कजंग बहादुर सिंह, पूर्व सभापति पृथ्वीबहादुर सिंह, चेतराज बजाल, पूर्व सभापति देवराज शर्मा, नेता जगत जोशी, खडग बहादुर बोहरा र रमेश भण्डारीको नाम चर्चामा छ ।

    पौडेल पक्षीय नेता दिलेन्द्र बडूको गृह जिल्ला दार्चुलामा वर्तमान सभापति ललितसिंह बोहरा, १३ औं जिल्ला अधिवेशनमा पराजित विक्रम धामी, पूर्व सभापति जगदीश पाल, उपसभापति अमर धामी, सचिव हर्क बिस्टलगायतका नेताहरूको नाम जिल्ला सभापतिका लागि चर्चामा छ ।

    कांग्रेस महाधिवेशनको कार्यतालिका अनुसार साउन १२ गतेदेखि वडा तहको अधिवेशन सुरु हुनेछ । १६ साउनमा स्थानीय तह, २० साउनमा प्रदेशसभा क्षेत्र र २३ साउनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र एवं जिल्लाको अधिवेशन हुनेछ ।

    एकभन्दा बढी निर्वाचन क्षेत्रहरू भएका जिल्लाको अधिवेशन २६ साउनमा हुनेछ भने भदौ १ र २ गते सातै प्रदेशको अधिवेशन हुनेछ ।

  • कांग्रेस पदाधिकारी बैठक बोलाइयो

    कांग्रेस पदाधिकारी बैठक बोलाइयो

    काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक बोलाइएको छ । बैठक भोलि बिहान ९ बजे सभापति देउवाको निवास बूढानीलकण्ठमा तय गरिएको हो ।

    पार्टीको आन्तरिक बैठक सरकारी निवास बालुवाटारमा नराख्न नेताहरूको सुझावबमोजिम बैठक निजी निवासमा बोलाइएको एक नेताले बताए ।

    भोलिको बैठकमा महाधिवेशनको कार्यतालिका संशोधन , निर्वाचन निर्देशिकालगायतका विषयमा छलफल हुने बताइएको छ ।

  • देउवा र प्रचण्डलाई ओलीले भने – राष्ट्रपतिलाई महाअभियोग लगाउने असम्भव सपना नदेख

    देउवा र प्रचण्डलाई ओलीले भने – राष्ट्रपतिलाई महाअभियोग लगाउने असम्भव सपना नदेख

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले अदालतको फैसलालाई ‘प्रतिगमन’को संज्ञा दिएका छन् । प्रतिगमनको हल्ला गर्दै वास्तविक प्रतिगमन भएको उनले टिप्पणी गरे ।

    पार्टीको केन्द्रिय समिति बैठकलाई सम्वोधन गर्द ओलीले भने, ‘प्रतिगमनको हल्ला गर्दै गरिएको प्रतिगमन हो अदालतको फैसला । समयमै पलाएको एजेरु उखेल्न नसक्नु हाम्रो कमजोरी रह्यो ।’

    पार्टीभित्र उत्पन्न विवाद र विभाजनको अवस्थालाई ओलीले माउसुलीको पुच्छरको उदाहरणसहित व्याख्या गरेका थिए ।

    उनले भने, ‘माउसुलीले कहिलेकाहीँ पुच्छर फाल्दिन्छ । तर, त्यो कारण उ आत्तिदैन किनकि पुच्छर तुरुन्तै पलाउँछ । अहिले हामीले पुच्छर फाल्नु परे पनि तयार हुनु पर्ने बेला आएको छ ।’

    वरिष्ठ नेता नेपालले वर्गविरोधि तथा कम्युनिष्ट विचार र जनताका विरोधिसँग साँठगाँठ गरेको आरोप ओलीले लगाए । नेपालले गरेको गद्दारी गिनिज बुकमै लेखिने उनले टिप्पणी गरे । अदालतको फैसला पनि संसारमै नयाँ रेकर्डका रुपमा रहने ओलीको भनाइ थियो ।

    एकताका लागि आफूले अझै प्रयास जारी राख्ने ओलीले बताए । उनल भने, ‘मसँग अझै आग्रह छैन । म एकताको मोही अझै मथ्दै छु । सकभर उता लागेका सबैलाई आफ्नो राजनीतिक जीवन बचाउन, आन्दोलन बचाउन अनुरोध गर्दछु । एमालेको बिभाजन गर्न अध्यादेश ल्याउने, राष्ट्रपतिबिरुद्ध महाअभियोग ल्याउने असम्भब सपना नदेख्न देउबा र प्रचण्डलाई सचेत गराउँछु ।’

    ओलीले भने, ‘म यो अन्तिम क्षणमा साथीहरुलाई भन्छु, पार्टी एकतामा आउनुहोस् । नत्र भोलि पुस्पलाल स्मृति दिबसको कार्यक्रम सकिएपछि ३ बजे फेरि बैठक बस्छ र उचित निर्णय गर्छ ।’

  • अर्थतन्त्रलाई चलायमान बनाउन कोरोना नियन्त्रण प्रमुख सर्त : प्रधानमन्त्री देउवा

    अर्थतन्त्रलाई चलायमान बनाउन कोरोना नियन्त्रण प्रमुख सर्त : प्रधानमन्त्री देउवा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक क्षेत्रलाई चलायमान बनाउन कोरोना कोरोना नियन्त्रण प्रमुख आवश्यकता रहेको बताएक छन् ।

    नेपाल उद्योग परिसंघको १८औं वार्षिक साधारणसभामा उनले भने, ‘कोरोना नियन्त्रणमा लागि निजी क्षेत्रले सहयोग गरेको छ । अब सरकारले कोरोनाविरुद्धको खोप सबैलाई उपलब्ध गराएर देशको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्नेछ ।’

    नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले देशको अर्थतन्त्र माथि उठाउनका लागि मेक इन नेपाल अभियान शुरू गरेको बताए । मोरले भने, ‘स्वदेशी बस्तु तथा सेवाको उत्पादन प्रवर्द्धन र उपभोग वृद्धि गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणको लागि मेक इन नेपाल अभियानले सहयोग गर्ने छ । अघिल्लो सरकारले पनि मेक इन नेपाल अभियान बजेटमा नै समावेश गरेको र यो सरकारले पनि देशमा नै उत्पादन वृद्धि गर्न सहयोग गर्ने छ ।’

    अर्थमन्त्री जनार्दन शर्माले महामारीले थला परेको अर्थतन्त्रलाई अब उत्पादनमूखी अभियान चलाएर उठाउनुपर्ने बताए । मन्त्री शर्माले भने, ‘सरकारले कोरोनाको कारण थला परेका क्षेत्रहरुको लागि राहतको प्याकेज ल्याउँदैछ । त्यसमा तपाईंहरूको केही सुझाव छ भने जानकारी गराउनुस् । सबै मिलेर नै देशको अर्थतन्त्रलाई उत्पादनमूलक बनाउने हो ।’

    सांसद तथा उद्योगपति विनोद चौधरीले नेपालले चाहेमा छिमेकी देश भारत र चीनबाट ५० लाख धेरै पर्यटन भित्र्याउन सकिने बताए ।
    उनले भने, ‘चौधरी ग्रुपले सञ्चालन गरेको गरिखाने अभियानमा ८०० योजना अगाडि बढेको र अब गरिखाने अभियानलाई सरकारले नै अगाडि बढाउनु पर्नेछ । प्रधानमन्त्री देउवाले नै यो अभियानको शुरू गरेको र अब यसलाई सरकारले नै अगाडि बढाउनुपर्छ । अब यो सरकारको योजना बनोस् ।’

  • महन्थलाई देउवाको प्रश्न- सरकारमा आउने हो र ?

    महन्थलाई देउवाको प्रश्न- सरकारमा आउने हो र ?

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच ‘वान टु वान’ वार्ता भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटार पुगेका ठाकुरले प्रधानमन्त्रीसँग जसपाको केन्द्रीय कार्यकारिणी समितिले गरेका निर्णय र राखेका मागबारे जानकारी गराएको बताइएको छ । जसपाको ठाकुर पक्षले संविधान संशोधन, रेशम चौधरीलगायतका नेता कार्यकर्ताको रिहाइ, मुद्दा फिर्तालगायतका माग पूरा गर्न सरकारलाई दबाब दिने निर्णय गरेको थियो ।

    ‘प्रधानमन्त्रीसँगको भेटमा अध्यक्षज्यूले पार्टीका राजनीतिक मागहरू राख्नुभएको छ । विश्वासको मत दिनुअघि नै प्रधानमन्त्रीले केही प्रतिबद्धता गर्नुभएको छ । त्यसैलाई स्मरण गराउने काम भएको छ’, ठाकुरनिकट एक नेताले भने ।

    ठाकुरसँगको भेटमा प्रधानमन्त्री देउवाले आफूलाई विश्वासको मत दिएकोमा धन्यवाद दिँदै आगामी दिनमा पनि सहकार्यको अपेक्षा राखेको बताएका थिए । देउवाले ठाकुरलाई सरकारमा सहभागी हुनेबारे जिज्ञासा समेत राखेका थिए । ‘प्रधानमन्त्रीले विश्वासको मत दिएकोमा धन्यवाद दिनुभयो, माग पूरा गर्न सकारात्मक रहेको बताउनुभयो र सरकारमा आउनेबारे महन्थजीको धारणा सोध्नुभयो’, भेटबारे प्रधानमन्त्रीको सचिवालयले भन्यो ।

    जवाफमा ठाकुरले सरकारमा सहभागी हुनेभन्दा माग पूरा गराउने आफ्नो उद्देश्य रहेको बताएका थिए । ठाकुरले सरकारले आफ्ना माग पूरा गर्न सक्रियता देखाए सरकारमा सहभागी हुन समस्या नरहेको बताएका थिए । ‘हाम्रो पार्टीमा केही समस्या छ, त्यो टुंगो लाग्नुपर्ने छ । हाम्रो माग पूरा गर्नुपर्‍यो, सरकारमा जानेबारे हामी विचार गर्छौं’, ठाकुरलाई उद्धृत गर्दै स्रोतले भन्यो ।

  • वीपी ‘भर्सटाइल’ नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री देउवा

    वीपी ‘भर्सटाइल’ नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री देउवा

    काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी कोइरला ‘भर्सटाइल नेता’ भएको बताएका छन् ।

    वीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको भर्चुअल अन्तरक्रियामा प्रधानमन्त्री देउवाले राजनीति, साहित्य र मनोविज्ञानको क्षेत्रमा वीपीको योगदान अतुलनीय रहेको बताएका हुन् ।

    ‘वीपी कोइराला अलराउण्डर नेता हो । राजनीतिमा पनि नम्बर वान, साहित्यमा पनि नम्बर वान । वीपी सानो देशको ठूलो मान्छे हुनुहुन्छ’, देउवाले भने ।

    वीपीले आफ्नो ज्यानको परवाह नगरी प्रजातन्त्रका लागि संघर्ष गरेको भन्दै देउवाले वीपीलाई स्मरण गर्दा मात्रै पनि कांग्रेसमा उत्साह बढ्ने बताए । ‘वीपीले बोलेका भाषण मात्रै सुन्दा पनि धेरै ज्ञान मिल्छ । वीपीलाई सम्झना गर्दा पनि हामीले धेरै प्रेरणा पाउछौं’, देउवाको भनाइ छ ।

    अन्तरक्रियामा कांग्रेस नेता प्रदीप गिरीले वीपी कोइरालाले गरेको समाजवादको व्याख्या समकालीन विश्वमै अनुकरणीय रहेको बताए ।

  • कोरोनाप्रति सजग रहँदै बकर इद मनाउन प्रधानमन्त्री देउवाको आग्रह

    कोरोनाप्रति सजग रहँदै बकर इद मनाउन प्रधानमन्त्री देउवाको आग्रह

    काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल अज्हाको अवसरमा सम्पूर्ण नेपाली मुसलमान समुदायमा शुभकामना दिँदै प्राणघातक भाइरस कोरोनाबाट सजग रहन आग्रह गरेका छन् ।

    शुभकामना सन्देशमार्फत उनले संयमता, धैर्यता, विश्वशान्ति भाइचाराको सन्देश दिने यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा बसोबास गरिरहेका सम्पूर्ण नेपाली मुस्लिम समुदायको उन्नति, प्रगति र समृद्धिको कामना गरेका छन्।

    कोभिड–१९ को महामारीका कारण हाम्रा सामाजिक र सांस्कृतिक धरोहरका यस्ता पर्वहरू सबैले सँगै बसेर हर्षोल्लासका साथ मनाउन कठिनाइ भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले कोभिड–१९ को प्रभाव नपरोस् भनी स्वास्थ्यका मापदण्ड अपनाउँदै इद पर्वलाई सजगताका साथ मनाउन सबैमा अनुरोध गरे ।

    प्रधानमन्त्री देउवाले सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र वेषभूषाको विविधता रहेको हाम्रो मुलुकमा यो पर्वले एकता र सहकार्यको वातावारणलाई अझ मजबुत बनाउन सहयोग गरोस् भन्ने कामना गरेका छन् ।

  • प्रचण्ड निवासमा कारुणिक दृष्य : उहाँ प्रधानमन्त्री क्या, शेरबहादुरजी ! (भिडियो)

    प्रचण्ड निवासमा कारुणिक दृष्य : उहाँ प्रधानमन्त्री क्या, शेरबहादुरजी ! (भिडियो)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल लामो समयदेखि अस्वस्थ छिन् । आज प्रधानमन्त्री शेरबहादुर देउवाले निवासमै पुगेर भेटेको दृष्य हेर्दा उनको स्वास्थ्य निकै जिर्ण बनेको महसुस हुन्छ ।

    ‘उहाँ प्रधानमन्त्रीजी क्या, शेरबहादुजी !’ प्रचण्ड आफ्नी पत्नीलाई देउवासँग चिनाउन खोज्छन् ।

    एक सहयोगीले सीतालाई अप्ठेरोसँग सहारा दिएर काखमा राखेकी थिइन् । खाटमा हजुरआमाकै छेउमा आफ्नै सुरले खेलिरहेका छन् नाति (प्रकाश र बिना मगरका पुत्र) प्रणव ।

    मास्कलाई चिउँडोमा अड्याएका देउवा झुकेर नमस्कार गर्दै भन्छन्, ‘राम्रै छ ?’

    तर, सीताको अवस्था राम्रो छैन । उनको शरीर सुकेर हाडछाला मात्रै बाँकी रहेको छ । मुखबाट प्रष्ट आवाज निस्किँदैन । नजिकका मानिसहरु पनि चिन्न मुस्किल पर्छ उनलाई ।

    देउलालाई उनले असहज तरिकाले नमस्कार फर्काउँछिन् र अस्पष्ट आवाज निकाल्छिन् ।

    ‘चिन्यौं नि तिमीले ?’ पत्नीलाई हौस्याउन खोज्दै प्रचण्ड भन्छन् ।

    देउवा भन्छन्, ‘म शेरबहादुर ।’

    ‘चिन्न त चिनेको जस्तो छ,’ प्रचण्ड फुस्फुसाउँछन् ।

    ‘आरजु पनि आउनुहुन्छ तिमीलाई भेट्न,’ प्रचण्डले अलि ठूलो स्वरले सीतालाई भन्छन् । सीताले केही प्रतिक्रिया जनाउँदिनन् ।

    छोरी गंगाले थप्छिन्, ‘आउँछु भन्नुभाको छ ।’

    स्तब्ध देखिएका देउवा खासै केही बोल्न सक्दैनन् । अनि, प्रचण्ड सोफाबाट उठ्दै भन्छन्, ‘यस्तो भेटघाटले उसको मनोबल अलि उठ्छ क्या । यसो छोइदिनुस् ।’

    त्यसपछि देउवा अघि बढेर सीताको हात समाउँछन् र हौसला दिन्छन् ।

    केही दिनअघि सीतालाई प्रचण्डका पूर्व सहयोद्धा नेत्रविक्रम चन्द विप्लवले भेटेका थिए । उनलाई पनि सुरुमा नचिनेकी सीताले चिनेपछि भावुक बन्दै अंगालो हालेकी थिइन् ।

    के भएको हो सीतालाई ?

    स्वस्थ छँदा सीताको बेग्लै छवि थियो । उनी धेरै ठाउँमा प्रचण्डसँगै देखिने गर्थिन् । उनको शैली र स्वभावलाई लिएर आलोचना पनि हुने गर्थ्यो । तर, पछिल्ला वर्षहरुमा रोगले गालेपछि सीताको अवस्था दयनीय बनेको छ ।

    पार्किन्सन्सजस्तै लक्षण भएको प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पिडित छिन् सीता । यो एउटा दुर्लभ रोग हो, जुन एक लाख मानिसमा ५-६ जनालाई देखिन्छ । यो रोग लागेका बिरामीहरुलाई मस्तिष्कमा पनि समस्या देखिने गर्छ । यो रोगको पूर्ण उपचार सम्भव नहुने चिकित्सकहरु बताउँछन् ।

    पत्नीको उपचारका लागि प्रचण्डले हरसम्भव कोशिष गरे पनि अपेक्षित सुधार आउन सकेन । सीताको शारीरिक अवस्था अहिले निकै कमजोर छ । उनी सहाराबिना उठबस गर्न सक्दिनन् ।

  • विश्वासको मत लिनुअघि गरेको प्रतिबद्धता पूरा गर्न महन्थद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

    विश्वासको मत लिनुअघि गरेको प्रतिबद्धता पूरा गर्न महन्थद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले विश्वासको मत लिनुअघि गरेको प्रतिबद्धता तत्काल पूरा गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ ।

    जसपाको केन्द्रीय कार्यकारिणी समितिको आज बसेको बैठकले संविधान संशोधन, रेशम चौधरीलगायत बन्दीहरूको रिहाई, नागरिकतासम्बन्धी समस्या समाधान, स्थानीय तहको पुनःसरंचना, लाल आयोगको प्रतिवेदन सार्वजनिकलगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।

    बैठकपछि विज्ञप्ति जारी गर्दै अध्यक्ष ठाकुरले आफ्ना माग पूरा गराउन वर्तमान प्रधानमन्त्रीसँग माग गर्ने र अघिल्लो सरकारले गरेका सकरात्मक कामका लागि धन्यवाद दिने निर्णय भएको जनाएका छन् ।

    बैठकले कोभिड १९ को खोप सबै नागरिकलाई तत्काल उपलब्ध गराउन तथा विपन्न नागरिकका लागि विशेष आर्थिक प्याकेज घोषणा गर्नसमेत सरकारसँग माग गरेको छ । त्यस्तै वर्षाका कारण मुलुकको विभिन्न स्थानमा बाढी, पहिरो र डुबानजस्ता समस्यामा परेका जनतालाई तत्काल राहत, उद्धार र क्षतिपूर्ति सुनिश्चित गर्न समेत जसपाले माग गरेको छ ।

  • निजी क्षेत्रका लागि सहजीकरण गर्न तयार छौँ : प्रधानमन्त्री देउवा

    निजी क्षेत्रका लागि सहजीकरण गर्न तयार छौँ : प्रधानमन्त्री देउवा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निजी क्षेत्रको लगानी अभिवृद्धिमा आफूले सधैँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल उद्योग परिसंघका प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री देउवाले औद्योगिक विकासका लागि निजी क्षेत्रले लगानी वृद्धि गर्नुपर्ने भन्दै त्यसको सहजीकरणका लागि आफू तयार रहेको बताएका हुन् ।

    प्रधानमन्त्री देउवाले परिसंघले अघि बढाएको मेक इन नेपाल स्वदेशी अभियानलाई सरकारको साथ रहेको जानकारी दिए ।

    भेटमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले प्रधानमन्त्री देउवालाई बधाई ज्ञापन गर्दै निजी क्षेत्रले सरकारबाट ठूलो अपेक्षा गरेको बताए । उनले नीतिगत सहजीकरणमार्फत् लगानी अभिवृद्धिको वातावरण बनाउन पनि आग्रहसमेत गरे ।

    मोहरले भने , ‘आयातमुखी नेपाली अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन हामी प्रयासरत छौँ । यसका लागि सरकारले नीतिगत र प्रक्रियागत सहजीकरण गरिदिनुपर्छ । नीतिगत स्थिरताले लगानी बढाउन सहयोग गर्ने भन्दै सरकारले त्यसमा ध्यान दिनुपर्‍यो ।’

    परिसंघका निवर्तमान् अध्यक्ष हरिभक्त शर्माले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन र यसको नेतृत्व गर्न निजी क्षेत्र सक्षम रहेको भन्दै त्यसमा सरकारले साथ दिनुपर्ने बताए ।

  • गगन थापा समेत झुक्किने प्रतिनिधिसभाको २ मतको रहस्य के थियो ?

    गगन थापा समेत झुक्किने प्रतिनिधिसभाको २ मतको रहस्य के थियो ?

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेका २२ जना सांसदको लिस्टमा कृष्णलाल महर्जनको नाम पनि छ । एमाले कार्यकर्ताले गद्दार २२ जना भन्दै कारवाहीको माग गरेकाहरूमा उनी पनि छन् ।

    तर, संघीय संसद सचिवालयको विश्वासको मतका पक्षमा मतदान गर्ने सांसदहरूको सूचीमा १६३ जनामात्र छन् । १६५ जनाले विश्वासको मत दिएकोमा १६३ मात्र किन भयो ?

    यो संख्याले कांग्रेस सांसद गगन थापालाई समेत झुक्याएको थियो । उनले संसदमा मतदान सकिएलगत्तै मत सच्याउन सभामुखले समय दिनुअघि ट्वीट गरे- १६३ ।

    कतिपय मिडियाले समेत गगनलाई आधार मानेर देउवालाई १६३ सांसदले विश्वासको मत दिएको भनेर समाचार प्रकाशन प्रसारण गरे । तर, अन्तिम मत परिणाम सुनाउँदा सभामुखले विश्वासको मतको पक्षमा १६५ सांसद रहेको बताए ।

    आखिर २ जना कहाँबाट थपिए ? यसको खास कारण थियो कोभिड संक्रमित दुई सांसदलाई अलग्गै मतदानको व्यवस्था । १६३ जना विश्वासको मत दिने सूचीमा सत्तारुढ माओवादीकी सांसद धर्मशीला चापागाईले पनि हस्ताक्षर गरेकी छन् ।

    माधव नेपाल पक्षधर ललितपुर २ बाट निर्वाचित सांसद कृष्णलाल महर्जनले नेपाल प्रेससँग कुरा गर्दै आफू र धर्मशीला चापागाई कोभिड संक्रमित भएकाले अलग्गै मतदान गरेकाले शुरूमा १६३ को समाचार प्रवाह भएको बताए ।

    उनले भने, ‘मैले देउवालाई नै विश्वासको मत दिएको हुँ । संक्रमित भएकाले माओवादी सांसद धर्मशीलाजी र मलाई अलग्गै व्यवस्था गरिएको थियो । त्यसैले शुरूमा १६३ मात्र गणना हुँदा धेरै झुक्किएछन् ।’

  • थिग्रियो देउवा सरकार, तर विश्वासको डोरी कति बलियो ?

    थिग्रियो देउवा सरकार, तर विश्वासको डोरी कति बलियो ?

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसदबाट विश्वासको मत पाएसँगै उनको नेतृत्वको सरकार तत्काललाई थिग्रिएको छ । सांसदमा ६३ मात्र भएको कांग्रेसले १ सय ६५ सांसदको समर्थनसहित सरकारको नेतृत्व गर्नु बम्पर चिठ्ठाभन्दा कम होइन । तर, के यो मतपरिणामपछि देउवा डेढ वर्ष ढुक्कले निदाउन सक्छन् त ?

    सुरुमा संसदको विद्यमान संरचना हेरौं । सबैभन्दा ठूलो दलका रुपमा रहेको एमालेसँग १ सय २१ सांसद छन् भने त्यसको करिब आधा संख्यामा कांग्रेस छ । सरकारलाई काँध हालेको माओवादीसँग ५० जना छन्, जो तेस्रो ठूलो दल हो । यस्तै देउवालाई विश्वासको मत दिएको जनता समाजवादी पार्टीका दुई गुटसँग ३४ जना छन् । राप्रपा र राष्ट्रिय जनमोर्चाका एक–एक सांसद छन् भने एक स्वतन्त्र सांसद छन् ।

    एमालेबाटै देउवालाई २२ भोट प्राप्त भएको छ । यसप्रकार बहुमतका लागि आवश्यक १ सय ३६ भन्दा २९ बढी भोट देउवालाई मिलेको छ जुन सुविधाजनक अवस्था हो । त्यसैले बीचमा एकाध सांसदले स्वविवेकीय रुपमा समर्थन फिर्ता लिए भने पनि सरकार खतरामा परिहाल्दैन ।

    अब अहिलेको संवैधानिक व्यवस्था हेरौं । संविधानको धारा १०० को उपधारा ४ मा प्रधानमन्त्री नियुक्त भएको पहिलो दुई वर्षसम्म र एकपटक राखेको अविश्वासको प्रस्ताव असफल भएको एक वर्षभित्र अविश्वास प्रस्ताव पेश गर्न नसकिने स्पष्ट उल्लेख छ । त्यसैले प्रतिनिधिसभाको नियमित अवधि डेढ वर्ष मात्रै बाँकी रहेको अवस्थामा अब देउवा सरकारविरुद्ध अविश्वासको प्रस्ताव आउन सक्ने ढोका बन्द भएको छ ।

    यद्यपि, सरकार कुनै पनि तवरबाट ढल्नै नसक्ने अवस्था भने होइन । सोही धाराको उपधारा २ मा उल्लेख भएअनुसार प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्छ । अब देउवा सरकार ढल्न सक्ने एक मात्र ‘अप्सन’ यही हो । त्यस्तो अवस्थामा फेरि बैकल्पिक सरकार बन्न सक्छ वा वाध्यात्मकरुपले चुनावमै जानुपर्छ भन्नेमा संविधानमा स्पष्टता अभाव छ ।

    वर्तमान प्रधानमन्त्री संविधानको धारा ७६ को उपधारा ५ अनुसार नियुक्त भएका हुन्, जुन प्रधानमन्त्री चयनको अन्तिम विकल्प हो । एकथरि तर्क के छ भने अन्तिम विकल्पको प्रयोग पनि असफल भइसकेपछि चुनावमा जानु निर्विकल्प हुन्छ ।

    संविधानको धारा ७६ को उपधारा ७ मा लेखिएको छ, ‘उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी छ महीनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ ।’

    यसर्थ हिजो देउवाले विश्वासको मत प्राप्त गर्न नसकेको भए देश चुनावमा धकेलिने निश्चित थियो । तर, विश्वासको मत पाइसकेपछि बीचमा फेरि कसैले समर्थन झिक्यो र एक महिनाभित्र विश्वासको मत लिन सरकारले सकेन भने के हुन्छ ? त्यो चाहिँ संविधानमा उल्लेख छैन । यो बीचमा प्रधानमन्त्रीले राजीनामा दिई घर बसेमा वा कुनै कारणले काम गर्न नसक्ने भएमा के हुन्छ, त्यो पनि प्रष्ट छैन ।

    यदि बीचमा कुनै दलले समर्थन झिकेमा देउवाले ३० दिनभित्र विश्वासको मत माग्नुपर्ने हुन्छ । पाएनन् भने चुनावमा जाने वा फेरि प्रधानमन्त्री चयनको नयाँ चक्र सुरु गर्ने भन्नेमा संवैधानिक विवाद उत्पन्न हुन सक्ने देखिन्छ, जसको निरोपण सर्वोच्च अदालतले नै गर्नुपर्ने छ । यसअघिका दुई फैसलामा सर्वोच्चले सरकार गठनको विकल्प बाँकी हुन्जेल प्रतिनिधिसभा विघटन गर्नु नहुने कुरालाई जोड दिएको छ । यही स्पिरिटमा सर्वोच्चले फैसला गर्यो भने बाँकी अवधिका लागि अर्को गठवन्धन सरकार बन्न पनि सक्छ । तर, त्यसले ठूलो संवैधानिक र राजनीतिक विवादको सिर्जना गर्ने छ ।

    राजनीतिक परिदृष्य

    जनता समाजवादी पार्टीको महन्थ ठाकुर खेमाले ‘लास्ट आवर’ मा आएर सरकारलाई समर्थन गर्ने निर्णय ग¥यो । यो सत्तामा जाने लालसाको कारण मात्र हो वा अरु केही भन्ने खुलेको हो भन्ने खुलेको छैन । हिजो एमालेसँग गठवन्धन बनाएर सरकारमा सहभागीसमेत भएको यो समुह आज देउवासँग टाँसिन पुग्दा राजनीतिक नैतिकताको प्रश्न त उठ्छ नै । तर, सत्ताको तर मार्ने अभियानमा रहेकाहरुका लागि राजनीतिक नैतिकता गौण विषय हो । जे भए पनि विभाजनको औपचारिकता मात्रै बाँकी रहेका जसपाका दुई गुट सत्ताको गन्ध सुँघ्दै एक ठाउँमा आइपुगेका छन् ।

    नेपालका मधेसवादी दल र तीनका नेताहरुसँग विगतदेखि नै केही रेडिमेड एजेन्डाहरु छन्, जसलाई भ¥याङ बनाएर उनीहरु बारम्बार सत्तामा उक्लिन्छन् । यसअघि नागरिकता र रेशम चौधरीको विषयमा सम्झौता गरेर जसपाको महन्थ ठाकुर समूह ओली सरकारमा सहभागी भएको थियो । अहिले देउवा सरकारमा भने जसपाले औपचारिक तवरबाट कुनै शर्त तेस्र्याएको छैन ।

    नेपाल समूहबाट समर्थनको आश्वासन पाएका देउवाले महन्थ ठाकुरलाई ठूलो भाउ दिएका थिएनन् । उपेन्द्र समूह त पहिल्यैदेखि देउवासँगै थियाे । तसर्थ, अहिले निशर्त रुपमा देउवा सरकारले जसपाको समर्थन पाएको छ । तर, भोलिका दिनमा पार्टी एक भए पनि वा नभए पनि दुवै समूहले आफ्ना ‘बार्गेनिङ टुल्स’हरु झिक्ने नै छन् । त्यो पूरा नभएको खण्डमा सरकार भत्काउन अग्रसर होला वा नहोलान् भन्ने अनुमान अहिले गर्न सकिन्न । नेपालको राजनीतिमा यस्तै पूर्वानुमानै गर्न नसकिने मोडहरु आउने गरेका छन् ।

    यता, संसदको सबैभन्दा ठूलो दल एमाले अर्कै भूमरीभित्र छ । अन्तिम समयसम्म देउवा सरकार टिकाउन एमालेको माधव नेपाल निर्णायक देखिएको थियो । तर, जसै जसपाको ठाकुर समूह सरकारको पक्षमा उभियो, नेपाल समूहको भोटको वजन स्वाट्टै घट्न पुग्यो । नेपाल समूहले भोट नदिएको भए पार्टी एकताका हिसाबले ‘सर्प पनि नमर्ने र लठठी पनि नभाँचिने अवस्था हुन्थ्यो । तर, यद्यपि, राजनीतिक इगोका कारण नेपाल समूहका १४ जनाले सरकारलाई समर्थन जनाएका छन् ।

    एमाले अहिले एकता र विभाजनको दोसाँधमा छटपटाइरहेको छ । भोलि जसपाले कथंकदाचित कुनै बहानामा सरकारलाई समर्थन झिक्यो भने माधव पक्षले काँध थाप्ला त ? सर्वोच्च अदालतको फैसलाले फ्लोर क्रस गरेर सरकारलाई विश्वासको मत दिने सांसदहरुलाई कारवाही गर्न नमिल्ने फैसला सुनाएको छ । तर, त्योबेलासम्म एमाले एकता वा विभाजन कता जान्छ भन्नेले सबैकुरा निधो गर्छ । यदि एमालेमा एकता र मेलमिलाप भयो भने पार्टी एक ठाउँमा उभिने छ । त्यो परिस्थितिको आँकलन अहिले गर्न सकिने अवस्था छैन ।

    जे होस विद्यमान राजनीतिक परिस्थितिमा ठूलो फेरबदल नआएमा यो सरकारको आयू डेढ वर्ष लगभग निश्चित भएको छ । तर, त्यसबेलासम्म नेकपा माओवादीका अध्यक्ष प्रचण्डदेखि जसपाका उपेन्द्र यादव र एमालेका माधव नेपालसम्मलाई हरेक क्षण रिझाएर, पाइला–पाइलामा सम्झौता गरेर देउवाले सरकार हाँक्नुपर्ने हुन्छ ।

  • बालुवाटारमा पार्टीको बैठक नराख्न देउवालाई गगन थापाको अनुरोध

    बालुवाटारमा पार्टीको बैठक नराख्न देउवालाई गगन थापाको अनुरोध

    काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले शेरबहादुर देउवालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छन् ।

    प्रधानमन्त्री देउवाले आफू सरकारी निवासमा सरेको भोलिपल्टै कांग्रेस पदाधिकारीको बैठक बालुवाटारमा बोलाएपछि त्यसको आलोचना भएको थियो ।

    आज विहान सामाजिक सन्जालमार्फत नेता थापाले आफूहरुले पार्टीका कामहरु बलुवाटारबाट नगर्न अनुरोध गरेको र त्यसमा प्रधानमन्त्री सकारात्मक रहेको जनाएका छन् ।

    उनले भनेका छन्, ‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको बैठक नराख्न अनुरोध गरेका छौं । उहाँले पार्टी कार्यालयमा धर्ना भएका कारण बालुवाटारमा गरेको हो, अवदेखि त्यस्टो हुँदैन भनेर विश्वास दिलाउनुभएको छ । प्रधानमन्त्री ज्यू यो विश्वासलाई कायम राखिदिनुहोला ।’

    यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको बैठकदेखि मन्त्रिपरिषद बैठकसमेत बालुवाटारमै राखेकोमा आलोचना हुँदै आएको थियो ।

  • देउवाले पाए विश्वासको मत, पक्षमा १ सय ६५ सांसद

    देउवाले पाए विश्वासको मत, पक्षमा १ सय ६५ सांसद

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत हासिल गरेका छन् । विश्वासको मत लिन उनले प्रतिनिधिसभामा राखेको प्रस्तावको पक्षमा १ सय ६५ जना सांसदहरुले समर्थन गरे ।

    विश्वासको मतको विपक्षमा ८३ जना सांसदले मत दिएका छन् । एकजना सांसद तटस्थ रहे । सभामुख अग्निप्रसाद सापकोटाका अनुसार आजको बैठकमा २ सय ४९ जना सांसद उपस्थित थिए । २१ जना सांसद अनुपस्थित रहेका थिए ।

    नेकपा एमालेको संस्थापन पक्षमा रहेका सांसदहरुले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि देउवाको पक्षमा रहने सांसदहरुको संख्या बढेको हो । एमालेकै माधव नेपाल पक्षका केही सांसदहरु भने आज अनुपस्थित रहेका थिए ।

  • माओवादीलाई ‘होच्याउने’टिप्पणीमा प्रचण्ड-बाबुरामको संयुक्त प्रतिवाद

    माओवादीलाई ‘होच्याउने’टिप्पणीमा प्रचण्ड-बाबुरामको संयुक्त प्रतिवाद

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने प्रयोजनका लागि आइतबार दोस्रो पटक बसेको प्रतिधिसभाको बैठकको शुरुमै दलीय प्रतिनिधिका रुपमा एमाले प्रवक्ता प्रदीप ज्ञवालीले आफ्ना भनाइ राख्ने मौका पाए ।

    आफ्नो सम्बोधनका क्रममा ज्ञवालीको माओवादी लक्षित एउटा टिप्पणीले माओवादी र पूर्व माओवादीहरुको चित्त दुखेको पाइयो । माओवादी सशस्त्र जनयुद्धसँगै हाँकेका तर पछिल्लो समय छुट्टिएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराईले यसको संयुक्त प्रतिवाद गरे । संविधान निर्माण यताका मुद्दामा प्रचण्ड-बाबुराम अलग भए पनि माओवादी जनयुद्धको प्रतिरक्षा गर्ने मामिलामा एकै ठाउँमा देखिए ।

    देउवाको प्रस्तावमाथि प्रतिनिधिसभामा भएको छलफलमा ज्ञवालीले ‘युद्ध जित्न नसकेर हारेर आएर लोकतन्त्र मानेका होइनौं’ भन्दै माओवादीप्रति व्यंग्य कसे । यसले आफ्नो चित्त दुःखेको प्रचण्डले भन्दै त्यसको प्रतिवाद गरे ।

    यसले आफू र र शान्ति सम्झौताका सहयात्री सबैलाई चित्त दुख्ने कुरा भएको भन्दै ज्ञवाली लक्षित भनाइ राखे । उनले भने, ‘तपाईं एमालेको ती नै नेतामध्ये होइन, जो माओवादी आन्दोलनका नेताहरुसँग संविधानसभा गणतन्त्रमा सहमति गरौं भन्ने तपाईंहरु नै होइन ? तपाईं पनि हुनुहुन्थ्यो नि एकचोटि युद्धमा । टाउको काट्नेमा तपाईं हुनुहुन्नथ्यो र ?’

    प्रचण्डले एमाले नेता ज्ञवालीर्ला शान्ति सम्झौता गलत थियो भन्न खोजेको हो भनेर प्रश्न पनि गरे । ‘हामीले हारेको, तपाईंहरुले जितेको हो ? यसले नेपालको शान्ति प्रक्रियालाई दिगो बनाउँछ ?’

    उनले एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै माओवादी आन्दोलन विभाजित भएको छ, यसलाई मिचिदिए हुन्छ भन्ने ठानेको भए हलुका नसोच्न आग्रह गरे । उनले माओवादीलाई आगोसँग तुलना गर्दे नखेल्न पनि चेतावनी दिए। प्रचण्डले भने, ‘आगोसँग खेल्ने कुरा राम्रो होइन, कति राम्रोसँग यो आगोलाई इनर्जीमा रुपान्तरणतिर ल्याइएको छ । यसलाई हेप्न थाल्नुभयो भने आगो फेरि सल्किनसक्छ । त्यो बुद्धितिर कोही पनि नजाऔं ।’

    बाबुरामले पनि ज्ञवालीको भनाइको उसै गरि प्रतिवाद गरे । माओवादी जनयुद्धमा भूइँ तहका मान्छेहरु होमिएर आफ्नो अधिकारका निम्ति ज्यान फालेको भन्दै तीनको त्याग र बलिदानलाई न्युनिकरण गर्न गर्न नमिल्ने बताए। उने भने, ‘दश बर्सीय जनयुद्ध त्यो एउटा महान उथलपुथ थियो। अहिले अपराधीकरण गर्न जुन खोज्नुहुन्छ । कमरेड प्रचण्ड अलि भावावेगमा आउनुभयो, हामी त रगत संगसँगै बगाएर आएका मान्छेहरु । हामीलाई त थाहा छ नि त्यसभित्रको पीडा । नेपाली जनातले, भूइँ तहमा भएका जनताहरु, महिलाहरु, जनजातीहर, पिछडिएका जनताहरु, किसानहरु कसरी होमिएर आफ्नो अधिकारका निम्ति ज्यान फालेका थिए । तीनको त्याग र बलिदानलाई न्युनिकरण गर्न मिल्छ ?’

    माओवादी विद्रोह लोकतन्त्रलाई पूर्णता दिने अभियानको कडी भएको भन्दै उनले भने, ‘त्यो विद्रोह हुँदैनथ्यो भने, नेपाली समाजमा आर्थिक, समाजिक परिवर्तन आउँदैन्थ्यो भने संघीय लोकतान्त्रिक गणतन्त्र आउथ्यो ? संविधानसभाबाट संविधान बन्थ्यो ?’

    भट्टराइले आफूहरुले हार्न पनि नहारेको र पुरै जित्न पनि नजितेको बताए। ‘तर, फेरि जनयुद्ध एक्लैले सक्दैन्थ्यो, हुँदैन्थ्यो,’ उलने भने, ‘ त्यही आत्मसाथ गरेर आउनुहोस् मिलेर जाऊ भनेर एउटा विन्दूमा पुगेपछि हामीले नै पहल गरेको हो त्यतिबेला । यो भ्रममा कोही पनि पर्नु भएन- माओवादी नसकेर आएको हो । माओवादी हारेर आएको हो ? माओवादी सिद्धिन तयार थियो, हामी त मर्न तयार थियौं । तपाईंहरुले नै ५० हजार हाम्रो टाउकामा हाल्नु भएन । हामी त हाँसीहाँसी हिँडेका थियौं । त्यसको अपराधीकरण गर्नु न्यायपूर्ण हुँदैन् ।

    र, फेरि माओवादी एक्लैले जित्थ्यो, उत्पात हुन्थ्यो भन्नु पनि गलत हुन्थ्यो ।’

  • प्रधानमन्त्रीले भने : मेरो प्राथमिकता खोप, खोप र खोप हो

    प्रधानमन्त्रीले भने : मेरो प्राथमिकता खोप, खोप र खोप हो

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पहिलो, दोस्रो र तेस्रो प्राथमिकता खोप रहेको बताएका छन् ।

    प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा सांसदहरुका सवालको जवाफ दिदै प्रधानमन्त्री देउवाले आफ्नो प्राथमिकता जनताको जीवन भएको बताए । उनले सरकारले छ्टिटै सबै नागरिकलाई कोभिड १९ विरुद्धको खोप दिने बताए ।

    ‘मेरो पहिलो प्राथमिकता खोप हो । दोस्रो प्राथमिकता खोप हो । तेस्रो प्राथमिकता पनि खोप हो । विकासभन्दा जनताको जीवन महत्वपूर्ण छ । पहिले लाइफ, अनि विकास’, देउवाले भने ।

    आफू नेतृत्वको सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध सुमधुर राख्ने भन्दै भारत, चीन वा जुनसुकै देशसंग सम्बन्ध सुदृढ राखेर राष्ट्रिय हित प्रबर्धन गर्ने बताए । ‘हाम्रो राष्ट्रिय हित भनेकै छिमेकी देशहरुसंगको सुदृढ सम्बन्धमा छ । हाम्रो देश गरिब छ, सबैको सहयोग लिनुपर्छ’, देउवाले भने ।

    प्रधानमन्त्री देउवाले राष्ट्रको जीवनमा खास-खास समयमा राष्ट्रिय सरकार आवश्यक पर्ने भन्दै सहमतिको सरकार बनाउन आफू तयार रहेको बताए । ‘मिल्छ भने सरकारमा आउनुस्, सहमतिको सरकार बनाऔं ।

  • देउवाले विश्वासको मत पाउने निश्चित

    देउवाले विश्वासको मत पाउने निश्चित

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत पाउने निश्चित भएको छ ।

    प्रतिनिधिसभाको जारी बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादीसहित जनता समाजवादी पार्टीको दुवै पक्षले मत दिने जानकारी गराइसकेकोले देउवाको पक्षमा बहुमत पुग्ने निश्चित भएको हो ।

    २ सय ७१ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पारित हुन कम्तीमा १ सय ३६ सांसदको समर्थन आवश्यक पर्छ । कांग्रेसको ६१ , माओवादीको ४८, जसपा उपेन्द्र यादव पक्षको २० र जसपा महन्थ ठाकुर पक्षको १२ गरी देउवाको पक्षमा १ सय ४१ मत पुगेको छ । त्यसबाहेक राष्ट्रिय जनमोर्चाको १ , स्वतन्त्र जितेर माओवादी प्रवेश गरेका १ सांसदले पनि देउवालाई विश्वासको मत दिदैछन् । यसरी देउवाको पक्षमा नेकपा एमालेको माधव नेपाल पक्षबिनै १ सय ४३ मत निश्चित भएको छ ।

  • विश्वासको मत माग्दै देउवाले भने- साझा चुनौती सामना गर्न सबैसँग सहकार्य गर्छु

    विश्वासको मत माग्दै देउवाले भने- साझा चुनौती सामना गर्न सबैसँग सहकार्य गर्छु

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत मागेका छन् । प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै देउवाले राजनीतिक विचार र दलका आधारमा प्रतिस्पर्धा स्वभाविक भएपनि साझा चुनौती सामना गर्न सरकारले सबैसँग सहकार्य गर्ने बताए ।

    ‘बहुदलीय व्यवस्थामा फरक राजनीतिक विचार, दल र प्रतिस्पर्धा स्वभाविक हुन् । यी आवश्यक पनि छन् । तर, हाम्रा केही साझा चुनौती , गन्तव्य र उद्देश्य छन् । त्यसका लागि हामीले सहकार्य गर्नैपर्छ । नेपालको संविधानको संरक्षण र यसको कार्यान्वयन हाम्रो साझा गन्तव्य हो’, देउवाले भने ।

    पटक-पटकको प्रतिनिधिसभा विघटनको कारण देशमा राजनीतिक अन्योल र अनिश्चितताको अवस्था देखिएको भन्दै प्रधानमन्त्री देउवाले अब जनताका समस्या समाधान गर्न सरकार केन्द्रित हुने बताए । निवर्तमान प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका राम्रा कामलाई आफूले निरन्तरता दिने भन्दै देउवाले अहिलेसम्म गरेका असल कामका लागि ओलीलाई धन्यवादसमेत दिए ।

    कोभिड १९ को रोकथामका लागि सरकारले सम्पूर्ण प्रयत्न गर्ने भन्दै प्रधानमन्त्री देउवाले सबै राजनीतिक दल र प्रतिनिसिभाबाट सरकारले सहयोगको अपेक्षा राखेको बताए ।

  • माधव पक्षले पनि देउवालाई विश्वासको मत दिने

    माधव पक्षले पनि देउवालाई विश्वासको मत दिने

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा (एमाले) को माधव नेपाल पक्षले पनि विश्वासको मत दिने भएको छ।

    जनता समाजवादीको महन्थ ठाकुर पक्षले देउवालाई विश्वासको मत दिने निर्णय गरेसँगै कतिपयले नेपाल पक्षले पार्टी विभाजन रोक्न संसदमा अनुपस्थित हुने वा विपक्षमा मत दिने आँकलन गरेका छन् ।

    तर, नेपाल पक्षका सांसद मेटमणि चौधरीले आफूहरूले औपचारिक निर्णय नगरे पनि देउवालाई विश्वासको मत दिने समझदारी बनेको जानकारी नेपाल प्रेसलाई दिए ।

    नेपाल पक्षकै सांसद भीम रावलले सांसद पदबाट राजीनामा दिएपछि नेपाल पक्ष आन्तरिक छलफलमा जुटेको थियो । छलफलमा संसद जोगाउने धारणालाई निरन्तरता दिन पनि विश्वासको मत दिनेबारे कुराकानी भएको उनले बताए।

    नेपाल पक्षका सबैले मत दिन्छन् या केहीले मात्रै भन्ने कुरा चाहिँ अझै पनि खुलेको छैन ।

  • प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रक्रिया शुरू

    प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रक्रिया शुरू

    काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रक्रिया शुरू भएको छ ।

    जारी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विश्वासको मत माग्नेछन् । देउवालाई नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधव नेपाल पक्षको समर्थन प्राप्त हुने देखिएको छ ।

    प्रतिनिधिसभामा हाल २ सय ७१ सदस्य कायम छन् । विश्वासको मत हासिल गर्न कम्तीमा १ सय ३६ सांसदको समर्थन आवश्यक पर्छ ।
  • देउवाले महन्थसँग मागे विश्वासको मत

    देउवाले महन्थसँग मागे विश्वासको मत

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरसँग विश्वासको मत मागेका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले औपचारिक पत्र लेखेरै ठाकुरसँग विश्वासको मत मागेका हुन् ।

    जसपाको ठाकुर पक्ष केपी ओली नेतृत्वको सरकारमा सहभागी भएको थियो ।

    प्रधानमन्त्री देउवाले लेखेको पत्रमा भूमिका नबाँधी विश्वासको मत मात्रै मागिएको छ । ‘प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने कार्यक्रम रहेकोले उक्त प्रस्तावमा यहाँ र यहाँ सम्वद्ध माननीय सदस्यहरुको तर्फबाट समर्थन गर्न गराईदिनुहुन हार्दिक अनुरोध गर्दछु’ देउवाले ठाकुरलाई पठाएको पत्रमा उल्लेख गरिएको छ ।

    देउवाले पत्र पठाएपनि ठाकुरसहितका सांसदहरूले विश्वासको मत नदिने निर्णय गरिसकेका छन् । उनीहरू प्रतिनिधिसभाको जारी बैठकमा प्रतिपक्षको लहरमा बसेका छन् ।

     

  • विश्वासको मतमा माधव पक्ष विभाजित, यी हुन् देउवालाई मत दिन तयार सांसद

    विश्वासको मतमा माधव पक्ष विभाजित, यी हुन् देउवालाई मत दिन तयार सांसद

    काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने सन्दर्भमा सांसदहरूलाई स्वविवेक प्रयोग गर्न दिने छलफल भएको छ । माधव समूहमै दुइथरी मत आएपछि नेता नेपालसहितका अधिकांस सांसदले मत दिने भएका छन् ।

    कार्यदलमा रहेका नेताहरूले समूहले निर्णय गरेर शेरबहादुर देउवालाई विश्वासको मत दिँदा पार्टी एकताको ढोका आफैंले बन्द गरेको सन्देश जाने भन्दै त्यसो नगर्न आग्रह गरेका छन् । उनीहरूले १० बुँदे बमोजिम संस्थागत निर्णयको पक्षमा बोलेका छन् ।

    कार्यदलमा रहेका र नरहेका स्थायी कमिटी सदस्यहरूसँग वरिष्ठ नेता नेपालले छलफल गरेका थिए । भीम आचार्य, गोकर्ण विष्टलगायतका नेताले एमाले मिल्न लाग्यो भनेर हतार-हतार विश्वासको मत लिन खोजिएको र देउवा-प्रचण्डको नियत एमाले फुटाउने प्रष्ट देखिएको बताएका थिए ।

    माधव नेपाल पक्षबाट कार्यदल संयोजकसमेत रहेका उपाध्यक्ष भीम रावल र सुरेन्द्र पाण्डेलगायतका नेता पनि संस्थागत निर्णय गरेर जाने १० बुँदे सहमतिको स्पिरिटविपरीत हुने भनेर पछि हटेका छन् ।

    तर, माधव नेपालसहित सांसदहरू मेटमणी चौधरी, झपट रावल, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, यज्ञराज सुनुवार, निरा जैरु, सरला यादव, पुष्पा कर्ण कायस्थ, दीपकप्रकाश भट्ट, मुकुन्द न्यौपाने, कलिला खान, लक्ष्मी चौधरी, कल्याणी खड्कालगायतले विश्वासको मत दिने भएका छन् ।

    झलनाथ खनाल बिरामी परेर दिल्लीमा छन् । उनले विश्वासको मत दिन आह्वान गरिसकेका छन् । कार्यदलमै रहेका घनश्याम भुसाल पनि संसद जोगाउन आफूहरू अदालत गएकाले त्यसको पक्षमा मतदान गर्नुपर्ने पक्षमा छन् ।

    कतिपय ओली पक्षका सांसदले समेत विश्वासको मत दिने दावी नेपाल पक्षले गरेको छ । माधव नेपालले कार्यदलका नेताहरूसँग आफू एक्लै भने पनि विश्वासको मत दिने पक्षमा रहेको बताएका थिए ।

    एमालेले देउवालाई विश्वासको मत दिनेहरू आजैबाट एमाले नरहने निर्णय गरिसकेको छ ।

  • विश्वासको मतका लागि प्रस्ताव दर्ता, देउवालाई एमालेका कम्तीमा ८ सांसदको साथ आवश्यक

    विश्वासको मतका लागि प्रस्ताव दर्ता, देउवालाई एमालेका कम्तीमा ८ सांसदको साथ आवश्यक

    काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवाले आजै विश्वासको मत लिने गरी संघीय संसद सचिवालयमा प्रस्ताव दर्ता भएको छ । पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत लिएर देउवाले सरकारको आयु सुनिश्चित गर्न खोजेका हुन् ।

    कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले आजै विश्वासको मत लिन सचिवालयमा प्रस्ताव दर्ता गराएको जानकारी दिइन् ।

    विश्वासको मत लिने प्रस्ताव कानूनमन्त्री ज्ञानेन्द्रवहादुर कार्कीद्वारा सभामुखमार्फत संसद सचिवालयमा दर्ता भैसकेको र आजै बस्ने दोस्रो बैठकमा प्रधानमन्त्रीले संविधानबमोजिम विश्वासको मत लिने सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिएका छन् ।

    कांग्रेस र माओवादीसँग १ सय १० सांसद छन् । जसपाको उपेन्द्र यादव पक्षका १२ जनाले देउवाको पक्षमा हस्ताक्षर गरेका थिए । अहिले यो संख्या बढेर १७ पुगेको यादव पक्षले जनाएको छ । त्यसो हुँदा प्रस्तावको पक्षमा १२७ सांसद हुन्छन् ।

    राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल गठबन्धनमै छन् । त्यो अवस्थामा एमालेको माधव नेपाल पक्षका ८ जना सांसदले विश्वासको मत दिए देउवाको सरकार जोगिन्छ ।

    माधव नेपाल पक्षका २३ जना सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए ।

  • पुनःस्थापित संसदको पहिलो बैठकमा आजै विश्वासको मत लिने देउवाको तयारी

    पुनःस्थापित संसदको पहिलो बैठकमा आजै विश्वासको मत लिने देउवाको तयारी

    काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवाले पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत लिने भएका छन् । देउवा निकट स्रोतका अनुसार आजै विश्वासको मत लिने तयारी मिलाउन संसद सचिवालयलाई जानकारी गराइएको छ ।

    ढिला गर्दा एमाले मिल्न सक्ने र त्यसपछि विश्वासको मत प्राप्त नहुने अवस्था आउनसक्ने भएकाले आजै विश्वासको मत लिन लागिएको स्रोतले जनाएको छ ।

    देउवा निकट स्रोतले भन्यो, ‘रात रहे अग्राख पलाउँछ, एमालेका माधव नेपाल समूहका केही नेता पार्टी एकता भन्दै विश्वासको मत नदिने पक्षमा उभिन लागेका छन् । अहिले माधवजी विश्वासको मत दिएर संसद जोगाउन दृढ भएकै बेला विश्वासको मत लिइहाल्ने कुरा भएको छ ।’

    सभामुख अग्नि सापकोटाले अहिले केहीबेरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । एमाले सचेतक शान्ता चौधरीले विश्वासको मत आजै लिने भन्ने जानकारी आफूहरुलाई पनि प्राप्त भएको बताइन् ।

  • प्रधानमन्त्री देउवा आज सरकारी निवास बालुवाटार सर्दै

    प्रधानमन्त्री देउवा आज सरकारी निवास बालुवाटार सर्दै

    काठमाडौ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्ने भएका छन्। आज बिहान ९ बजेर ५७ मिनेटकाे साइतमा देउवा बालुवाटार सर्न लागेका हुन् ।

    मंगलबार प्रधानमन्त्री नियुक्त भएका देउवा निजी निवास बुढानिलकण्ठमा बस्दै आएका थिए। देउवाको सचिवालयले दिएको जानकारीअनुसार उनी शुक्रबार बिहान सरकारी निवास सर्न लागेका हुन्।