काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सक्रिय राजनीतिको उत्तरार्धमा छन् । त्यसैले उनी राजनीतिको मैदानमा ‘अन्तिम पारी’ अर्थात ‘लास्ट इनिङ’ खेल्न चाहन्छन् । आफ्नो चाहना उनले सार्वजनिक मञ्चबाटै व्यक्त गरिसकेका छन् ।
‘हामीले एकचोटी देशलाई यसरी विकास, यसरी सुशासन, यसरी समृद्धि भनेर देखाउनै पर्नेछ । मेरो हुनसक्छ यो लास्ट इनिङ होस र यो पछिसम्मको सन्ततिलाई सम्झने गरी देशलाई केही चीज दिने सपना देखिरहेको छ’, शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले भने । उनको भनाईको अर्थ स्पष्ट छ, उनी फेरी प्रधानमन्त्री बन्न चाहन्छन् ।
आफू प्रधानमन्त्री बन्नेबाहेक दोस्रो चाहना पनि प्रचण्डले सार्वजनिक गरिसकेका छन् । उनी नेकपा माओवादी केन्द्रलाई वामपन्थीहरुमध्ये पहिलो पार्टी बनाउन चाहन्छन् । संसदीय निर्वाचन सन्निकट रहँदा नेपाली कांग्रेस पहिलो पार्टी बन्नेमा प्रचण्ड विश्वस्त भइसकेका छन् । त्यसैले एमालेलाई उछिनेर दोस्रो हुने चाहना प्रचण्डले राखेका छन् । त्यसका लागि आफ्नो मेहेनतमा मात्रै प्रचण्डको भर छैन, उनी कांग्रेसले माओवादीलाई दोस्रो बन्न मद्दत गर्नुपर्ने अडानमा छन् । माओवादीलाई दोस्रो दल बनाउन कांग्रेसले सहयोग नगरे माओवादीले पनि कांग्रेसलाई पहिलो दल बन्न मद्दत नगर्न सक्छ । यो संकेत प्रचण्डले सार्वजनिक अभिव्यक्तिदेखि गठबन्धनको शीर्ष बैठकमा समेत गरिसकेका छन् ।
‘मैले नेपाली कांग्रेसका नेताहरुसँग कुराकानी गर्दा पनि भनेको छु , सायद पहिलो त कांग्रेस नै हुने देखियो । दोस्रो चै माओवादी केन्द्र हुने हो । त्यसमा सहयोग गर्ने हो भने सब चीज सहज जान्छ, होइन भने सहज जाँदैन’, प्रचण्डले भनेका छन् ।
कांग्रेस तयार छ त ?
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसले कुनै पार्टीलाई पहिलो वा दोस्रो बनाउन नसक्ने बताउँछन् । निर्वाचनमा कुन पार्टीलाई कुन साइजमा राख्ने भन्ने निर्णय जनताले गर्ने महतको भनाई छ । माओवादी अध्यक्ष प्रचण्डले शर्तकै रुपमा माओवादीलाई दोस्रो बनाउने जिम्मा कांग्रेसले लिनुपर्ने अडान नराखेको विश्वास महतले व्यक्त गरे ।
‘कांग्रेसले नै माओवादीलाई दोस्रो बनाइदिने भन्ने कुरा त नहोला । यो त जनताको अभिमतको कुरा हो । हाम्रो निर्वाचन प्रणालीमा ४० प्रतिशत समानुपातिकको व्यवस्था छ । प्रत्यक्षमा हामीले सिट बाँडेर तालमेल गरेपनि समानुपातिकमा त माओवादीले आफ्नो मत आफैं बढाउनुपर्ला’, महतले नेपाल प्रेससँग भने ।
स्थानीय निर्वाचनमा तालमेल गर्दापनि कांग्रेसले उदारता प्रस्तुत गरेको भन्दै प्रवक्ता महत आगामी निर्वाचनमा पनि व्यवहारिकता हेरेर सिट बाँडफाँट गर्न कांग्रेस तयार रहेको बताउँछन् । तालमेल गर्दा उम्मेदवारी दिनेभन्दा चुनाव जित्ने लक्ष्य निर्धारण गर्नुपर्ने महतको भनाई छ ।
‘लेफ्टहरुमध्ये सबैभन्दा ठूलो दल बन्ने माओवादीको ईच्छामा हाम्रो शुभेच्छा छ । तर त्यो कांग्रेसले बनाइदिने होइन । समानुपातिकमा उहाँहरुले मत बढाउनुपर्यो, प्रत्यक्षमा पनि व्यवहारिक बाँडफाँट हुनुपर्यो’, महतले भने ।
चुनावपछि प्रचण्डको ‘लास्ट इनिङ’ सुरु हुनेबारे छलफल भइनसकेको कांग्रेसको भनाई छ । प्रवक्ता महतका अनुसार सीट र शक्ति बाँडफाँटबारे गठबन्धनको शीर्ष तहमा छलफल हुनै बाँकी छ । ‘यसबारे औपचारिक छलफल सुरु भएपछि नै तय होला । अहिले नै को प्रधानमन्त्री भन्ने स्थिति छैन । सबै पार्टीमा गहन छलफल भएपछि को के हुने भन्ने टुंगो लाग्ला’, महतले भने ।
महतका अनुसार कांग्रेस चुनावी तालमेल र गठबन्धनमा शर्त राख्ने पक्षमा छैन । यद्यपि तालमेलका लागि सिट बाँडफाँट गर्दा व्यवहारिकता मिल्दो र जनाधार पुष्टी हुनेगरी गर्नुपर्ने कांग्रेसको भनाई छ ।
काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्य समिति बैठकमा महामन्त्री गगन थापा सभापति शेरवहादुर देउवा र उनको टिमप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन् । महामन्त्री थापाले निर्वाचित महामन्त्रीले पार्टी र सरकारका कामबारे बाहिरबाट थाहा पाउनुपरेपछि प्रतिक्रिया पनि बाहिरबाटै दिनुपरेको बताए ।
थापाको भनाइ उदृत गर्दै एक केन्द्रीय सदस्यले भने–सभापतिले महामन्त्रीहरुको जिम्मेवारी र हैसियतबारे प्रष्ट पार्नुस् । केन्द्रीय सदस्य साथीहरुले सभापति खुसी बनाउँन हामीलाई गाली गर्ने कुराले पार्टी र सभापति दुवैलाई फाइदा गर्दैन । गुटको भेला पार्टी प्यालेसमा राखियो भन्ने सन्दर्भमा ठूलो घर हुनेले बुढानिलकण्ठमा घरमै गरेको पनि हो । ठूलो घर नहुनेले पार्टी प्यालेसमा गर्छन् । महामन्त्री थापाले लगातार आलोचना गरेपछि देउवाले ‘महामन्त्रीज्यू,फोन चाहिँ उठाउने गर्नुस् न’ भन्ने जवाफ थिए ।
महामन्त्री थापाले पार्टी सञ्चालन प्रक्रियामा आपत्ति जनाउँदै निर्वाचित महामन्त्रीको भूमिका सभापति र उपसभापतिले गरेका निर्णयमा ताली बजाउँनेमात्र नभएको बताएका थिए । उनले कांग्रेसमा एक्लै लडेर चुनाव जितिन्छ भन्ने आत्मविश्वास गुम्दै गएकोमासमेत टिप्पणी गपरेका थिए ।
उनले भने– अहिले ३ सय भन्दा धेरै जित्यौ भनेर दम्भ प्रकट भएको छ। त्यो नराखेको राम्रो । ठूला सहरमा धक्का लागेको छ । लघुताभाषका साथ हामी एक्लै लड्न सकिन्छ ? ०६८ सालमा सुशील कोइरालालाई राजिनामा बुझाएर शेरबहादुर देउवा हिँड्दा आफूहरुले फकाएको भन्दै थापाले आज एजेण्डामा आफूहरुले छलफल गर्दा खेद्ने काम भएको बताए ।
रुपन्देही । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको महाधिवेशनले नै गठबन्धन गरेर जाने निर्णय गरेकाले सबै नेपाली कांग्रेसका कार्यकर्ताले पालना गर्नुपर्ने बताएका छन् ।
आज बुटवलमा भएको ५ दलीय गठबन्धनले आयोजना गरेको जनसभामा बोल्दै पार्टीको महाधिवेशनले गरेको हरेक सदस्यले पालना गर्नुपर्ने दायित्व भएको बताए ।
‘प्रजातान्त्रिक अधिकार बचाउन अहिलेको सरकार बनेको हो, यो गठबन्धन कुनै रहरले बनेको होइन’ देउवाले भने । ओली नेतृत्वको सरकार पूर्ण असफल भएपछि अहिलेको गठबन्धन भएको देउवाको भनाइ थियो ।
‘अहिले कुनै त्रास छैन, कुनै दुःख दिएको छैन, ओलीले जनता तर्साउने गरेको थिए, त्यसैका लागि प्रजातन्त्रको भविश्यका लागि स्थायी बनाउन गठबन्धन गरेको हो । गठबन्धनका पार्टीहरुले त्यसमा ध्यान दिनेछन् ।’ कांग्रेस सभापति देउवाले भने । ओलीबाट ठूलो अत्याचार गरेकाले गठबन्धन गर्न बाध्य भएको उनको भनाइ थियो ।
‘ओलीको विरोध गरे संसद भंग गर्ने, अदालतबाट फिर्ता भए संसद चल्न नदिने रोक्ने, संविधानमै त्यो व्यवस्था छैन, रहर लहरले त्यो भंग गर्न पाउदैन, अदालतले रोके पनि चल्न दिनुभएन, संसद चलेन, कानुन बनेन तर पनि उहाँहरुलाई केही चिन्तै छैन’ देउवाले भने,‘ यही कुरा ध्यानमा राखेर गठबन्धन बनेको हो ।’
गठबन्धनलाई वडास्तरमा कार्यान्वयन गर्न कार्यकर्तालाई निर्देशन दिँदै उनले भने, ‘सबैलाई जिताएनौं भने गठबन्धनभित्र संकट उत्पन्न हुन्छ, अनि ओलीलाई नै फाइदा हुन्छ, उनको दम्भ फेरी बढ्छ, त्यसैले गठबन्धनलाई बलियो बनाऔं ।’
नगरको विकासमा गठबन्धनका नेताहरुको प्रतिवद्धता, विकासका योजनाले समग्र बुटवलको विकास हुने र केन्द्र सरकार त्यसमा पूर्ण सहयोगी बन्ने उनको प्रतिवद्धता थियो ।
उनले भने,‘भूमि आयोग बनेको छ त्यो छिटै समाधान हुन्छ, नागरिकताको समस्या छ त्यसलाई पनि सिधैका लागि समाधान हुन्छ । बुटवलबाट भालुवांग हुँदै पश्चिम जान्छ, एमसीसीले यहाँको ठूलो विकास हुन्छ ।’ नेता देउवा, पौडेल र महत मन्तव्य सकेर आजै दमौली गइसकेका छन् ।
वीरगंज । प्रधानमन्त्री शेरबहादुर देउवा आज विभिन्न कार्यक्रममा सहभागी हुन वीरगञ्ज पुगेका छन्। केही समयअघि वीरगञ्ज पुगेका प्रधानमन्त्री देउवालाई स्थानीय पार्टी नेता कार्यकर्ता तथा विभिन्न सरकारी निकायका प्रमुखहरुले स्वागत गरेका थिए ।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले पार्टीको पर्सा जिल्लाका नवनिर्वाचित कार्यसमिति पदाधिकारीलाई बधाई तथा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको छ ।
आजै प्रधानमन्त्री देउवाले नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २५ औँ राष्ट्रिय महाधिवेशन तथा केन्द्रीय महिला उद्यमी समितिको २२ औँ राष्ट्रिय महिला सम्मेलनको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सामाजिक न्याय र लैङ्गिक समानता : दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ मनाउन लागिएको ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सबैमा शुभकामना व्यक्त गरेका छन् ।
उनले शुभकामना सन्देशमार्फत महिलाका हक, अधिकार र न्याय सुनिश्चित गर्न योगदान गर्नुहुने तथा जीवन समर्पण गर्ने महिला योद्धाहरूलाई विशेष सम्मानका साथ स्मरणसमेत गरेका छन् ।
प्रधानमन्त्री देउवाले महिलालाई सामाजिक, राजनीतिक, सांस्कृतिक र आर्थिक अवसरहरूमा विना कुनै भेदभाव समान अवसर उपलब्ध गराउन र लैङ्गिक समानताको बाटोमा अघि बढ्न आजको दिनले सबैलाई उत्प्रेरित गर्दै आएको उल्लेख गरेका छन् ।
‘नेपालको संविधानले महिलाउपर हुने सबै प्रकारका भेदभावहरूको अन्त्य गर्दै समानुपातिक, समावेशी एवं समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको छ । संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा स्थापित गरी महिलालाई लैङ्गिक भेदभावविना समान वंशीय हक, सुरक्षित मातृत्व र प्रजननसम्बन्धी हक, पैतृक सम्पत्तिलगायत सबै विषयमा समान हक आदिको प्रत्याभूति गरेको छ । राज्यका सबै निकायमा महिलाहरूको समानुपातिक समावेशितालाई सुनिश्चित गरेको छ । महिलाविरुद्ध हुने कुनै पनि किसिमको हिंसाजन्य कार्य र शोषणलाई दण्डनीय बनाएको छ, उनले उल्लेख गरेका छन् ।
महिला सशक्तीकरण हामी सबैको साझा सरोकारको विषय भएकाले तीनवटै तहका सरकारले आ–आफ्नो क्षेत्रबाट समन्वयात्मक तवरले पहलकदमी लिन आवश्यक रहेको उल्लेख गर्दै उनले देशको मूल कानूनले गरेका समस्त व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयन गरी महिलाको लैङ्गिक, सामाजिक, आर्थिक र राजनीतिक अधिकार सुनिश्चित गर्न हामी सबै प्रतिबद्ध हुन आवश्यक रहेकामा जोड दिएका छन् ।
प्रधानमन्त्री देउवाले लैङ्गिक समानता र महिला विकासका लागि राज्यका तर्फबाट भएका नीतिगत, कानूनी, संरचनागत एवं प्रक्रियागत सुधारको फलस्वरूप राजनीति र प्रशासनको क्षेत्रमा महिलाको प्रतिनिधित्व र सहभागिता उल्लेखनीय रूपमा वृद्धि भएको बताउँदै नेपालको लैङ्गिक विकास सूचकाङ्कमा भएको सुधारबाट राज्यले महिला हक अधिकारको क्षेत्रमा अवलम्बन गरेका नीति र कार्यक्रमहरूले राम्रो प्रतिफल दिएको मान्न सकिन्छ भनी उल्लेख गरेका छन् ।
उनले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी, महिला अधिकारकर्मीलगायत महिला हक, अधिकारको संरक्षण र प्रवद्र्धनका क्षेत्रमा कार्य गर्नुहुने सम्पूर्ण व्यक्ति तथा सङ्घसंस्थाहरूमा शुभकामना व्यक्त गरेका छन् ।
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेलाई संसदभित्र आएर भाग लिने वातावरण बनाउन आफू सबै उपायमा छलफल गर्न तयार रहेको बताएका छन् ।
कांग्रेस र एमालेका शीर्ष नेताहरूबीचको छलफलमा प्रधानमन्त्रीले एमालेका माग सम्बोधन गरेर सदन सञ्चालन गर्न आवश्यक सहयोग गर्ने कुरा राखेको बैठकपछि कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिए ।
आजै साँझ साढे ७ बजे प्रधानमन्त्री देउवा र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीबीच फेरि वार्ता हुने उनले बताए । थापाकाअनुसार एमसीसी अनुमोदन गर्ने विषय अब नेपालको अन्तर्राष्ट्रिय सम्बन्धको विश्वसनियतामा गाँसिएकाले गठबन्धन सरकार के होला भन्ने चिन्ता नरहेको प्रधानमन्त्रीले बताएका छन् ।
थापाले भने, ‘सबै प्रबन्धमा कुराकानी गरौं । सदनमा आएर एमालेलाई छलफल गर्ने वातावरण बनाउन के गर्नु पर्ने हो सबै विकल्पमाथि छलफल गरौं भन्नुभयो प्रधानमन्त्रीले । आजै साँझ उहाँहरू दुईजनाको वार्ता हुन्छ । अब सरकार रहने कि नरहने, अंकगणित के हुने भन्दा पनि हाम्रो अन्तर्राष्ट्रिय विश्वसनियताको कुरा भइसक्यो भन्ने उहाँको धारणा हो ।’
थापाले अब अहिलेको सत्ता गठबन्धन धरापमा परिसकेको र यो अघि बढ्ने अवस्था नरहेको बताए ।
काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूको चर्को नाराबाजीबीच अमेरिकी सहयोग सम्झौता एमसीसी टेबल भयो । संसद बैठकबाट बाहिरिने क्रममा पत्रकारहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरे- एमसीसी अब के हुन्छ ?
प्रधानमन्त्री देउवाले ‘कन्फिडेन्ट’देखाउँदै भने – अब पास हुन्छ ।
प्रधानमन्त्री देउवामात्रै होइनन्, उनको पार्टी नेपाली कांग्रेसका प्रायः नेता र सांसदहरू एमसीसी पारित हुनेमा ढुक्क देखिन्छन् । संसदमा रहेकामध्ये कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीले मात्रै अहिलेसम्म एमसीसी पारित गर्नुपर्ने निर्णय गरेका छन् ।
कांग्रेसको कन्फिडेन्सको अर्को कारण प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग जारी संवाद हो । गत विहीबार प्रधानमन्त्री देउवा आफैं बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग वार्ता गरेका छन् । एमसीसी पारित गर्ने शर्तमा गठबन्धनबारे पुनर्विचार गर्नुपर्ने मत कांग्रेसमा बलियो रहेको छ ।
प्रमुख प्रतिपक्ष नेकपा एमालेले निरन्तर संसद अवरोध गरिरहेको छ भने माओवादी र नेकपा एकीकृत समाजवादी प्रष्टरूपमा एमसीसी अनुमोदनको विपक्षमा उभिएका छन् । प्रतिनिधिसभाको विद्यमान अंकगणित अनुसार एमसीसी पास हुन आवश्यक सामान्य बहुमत कांग्रेससँग छैन । यद्यपि कांग्रेस नेतृत्व एमसीसी पारित हुनेमा कन्फिडेन्ट देखिन्छ ।
कांग्रेस किन कन्फिडेण्ट ?
एमसीसी सन्दर्भमा सबैभन्दा प्रष्ट निर्णय लिने पार्टीमध्ये कांग्रेस पर्छ । संसदीय दल र केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाटै कांग्रेसले एमसीसी पारित गर्नुपर्ने निर्णय लिएको थियो ।
पार्टीभित्रका आन्तरिक विवाद थाती भएपनि एमसीसीका सन्दर्भमा कांग्रेसमा सबै नेताहरूको साझा मत रहेको छ । प्रधानमन्त्री देउवालाई पार्टीभित्र एमसीसीका सन्दर्भमा कसैको असहयोग छैन । बरु देउवाविरोधी खेमाका नेताहरूपनि एमसीसी पारित गराउन सक्रिय छन् ।
पार्टीभित्रको आन्तरिक एकताले कांग्रेसलाई कन्फिडेण्ट बनाएपनि त्यतिले मात्रै एमसीसी पारित हुने अवस्था भने छैन । कांग्रेसको कन्फिडेन्सको अर्को कारण गठबन्धनमा भइसकेको सहमति नै हो ।
गत माघ १५ गते माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले एमसीसी पारित गर्न प्रधानमन्त्री देउवा र गठबन्धनका संयोजक रामचन्द्र पौडेलसँग सहमति जनाएका थिए । सो सहमति कार्यान्वयनका लागि प्रचण्डले १० दिनको समय पनि मागेका थिए ।
कांग्रेस नेताहरू गठबन्धनमा भइसकेको सहमति र गठबन्धनको निरन्तरताका लागि पनि माओवादी र समाजवादी एमसीसीको पक्षमा उभिने दाबी गर्छन् । ‘पहिलो कुरा त गठबन्धनको आवश्यकता हामीलाई भन्दा उहाँहरूलाई छ । गठबन्धन जोगाउने भए एमसीसी पारित गर्नुपर्छ भनेर हामीले भनिसकेका छौं । अन्तिमसम्म उहाँहरू आउन सक्नुहुन्छ’, कांग्रेसका एक पदाधिकारी भन्छन् ।
‘एमसीसीमा कुरा मिलेन भने धेरै कुरा तलमाथि हुन्छ । पहिलो कदम भने कांग्रेसले प्रधान्यायाधीशविरुद्धको महाअभियोग फिर्ता लिनेछ’, एक सांसदले नेपाल प्रेससँग भने ।
कांग्रेसको कन्फिडेन्सको अर्को कारण प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग जारी संवाद हो । गत विहीबार प्रधानमन्त्री देउवा आफैं बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग वार्ता गरेका छन् । एमसीसी पारित गर्ने शर्तमा गठबन्धनबारे पुनर्विचार गर्नुपर्ने मत कांग्रेसमा बलियो रहेको छ ।
एमसीसीबारे एमालेले आफ्नो धारणा सार्वजनिक गरिसकेको छैन । यद्यपि गठबन्धन तोड्ने, सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाअभियोग लगाउने लगायतका विषयमा सहमति जुटे एमाले नेतृत्वले एमसीसीमा समर्थन गर्ने सम्भावना छ ।
विगतमा आफ्नै नेतृत्वको सरकारले दर्ता गराएको प्रस्ताव भएकाले एमसीसीबारे एमालेको संस्थापन पक्ष आक्रामक देखिदैन । ‘एमसीसीमा गठबन्धनका दलहरूले मत नदिने हो भने गठबन्धन टुट्छ । त्यस्तो अवस्थामा एमालेसँग कांग्रेसले नयाँ सम्झौता गर्नसक्छ । त्यो सम्झौताको जगमा पनि एमसीसी पास हुने चान्स छ’, कांग्रेस नेताको भनाइ छ ।
२०५४ सालमा एमाले विभाजनपछि कांग्रेसले वामदेव गौतम नेतृत्वको नेकपा मालेलाई सरकारमा सामेल गराएका थियो । एमाले विभाजनमा त्यसबेला कांग्रेसले सघाएको थियो । तर, ७ महिनामै कांग्रेसले मालेलाई सरकाबाट हटाएर एमालेसँग सहकार्य गर्यो ।
कांग्रेस र एमाले मिलेर सरकार बनाए, चुनावमा प्रतिस्पर्धा गरे । कांग्रेसले बहुमत ल्यायो, मालेले देशभर एक सिट पनि जित्न सकेन । अहिले पनि गठबन्धनमा रहेका प्रचण्ड-माधव समूहलाई सरकारबाहिर पुर्याएर एमाले र कांग्रेसले सरकार बनाउने र चुनावमा प्रतिस्पर्धा गर्ने नीति लिए भने आश्चर्य हुने छैन ।
महाअभियोगबाट पछि हट्ने चेतावनी
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाअभियोग लगाउने एजेण्डा माओवादी र एकीकृत समाजवादीको थियो । एमसीसी पारित हुने शर्तमा कांग्रेसले महाअभियोगमा समर्थन जनाएको थियो । कांग्रेस नेताहरू एमसीसीमा धोका भए राणाविरुद्धको महाअभियोगबाट कांग्रेस पछि हट्ने बताउँछन् ।
‘एमसीसीमा कुरा मिलेन भने धेरै कुरा तलमाथि हुन्छ । पहिलो कदम भने कांग्रेसले प्रधान्यायाधीशविरुद्धको महाअभियोग फिर्ता लिनेछ’, एक सांसदले नेपाल प्रेससँग भने ।
२०५४ सालमा एमाले विभाजनपछि कांग्रेसले वामदेव गौतम नेतृत्वको नेकपा मालेलाई सरकारमा सामेल गराएका थियो । एमाले विभाजनमा त्यसबेला कांग्रेसले सघाएको थियो । तर, ७ महिनामै कांग्रेसले मालेलाई सरकाबाट हटाएर एमालेसँग सहकार्य गर्यो ।
राणाविरुद्धको महाअभियोगमा हस्ताक्षर गर्ने ९८ जनामध्ये ३९ जना कांग्रेसका सांसद हुन् । उनीहरूले फिर्ता लिनासाथ महाअभियोग निष्क्रिय हुन्छ । यो सन्दर्भलाई कांग्रेसले एमसीसीका सन्र्दभमा गठबन्धनमा सहमति जुटाउन वा एमालेका साथ लिन प्रयोग गर्नसक्छ ।
‘हामीले महाअभियोगको हस्ताक्षर फिर्ता लिनासाथ माओवादी र समाजवादी समस्यामा पर्छन् । एमालेसँग विश्वासको वातावरण पनि बन्छ । एमसीसी पास गर्ने योपनि एउटा उपाय हो’, कांग्रेस सांसदको भनाइ छ ।
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले म्याद सकिएका र स्वतः पदमुक्त भएका भ्रातृ एवं शुभेच्छुक संस्थाका पदाधिकारीहरूको थमौतीका लागि विधानको दफा नै निलम्बन गर्न प्रस्ताव गरेको छ ।
सभापति शेरबहादुर देउवालाई संस्थापन पक्षका अधिकांश नेताले भ्रातृ एवं शुभेच्छुक संस्थाको पदाधिकारी पार्टीको तहमा निर्वाचित भए भ्रातृ एवं शुभेच्छुक संस्थाको पद स्वतः रिक्त हुने दफा नै बहुमतले निलम्बित गर्नुपर्ने सुझाएका हुन् ।
कांग्रेस विधानको दफा ४२ को उपदफा १ को ङ र दफा ४२ को उपदफा २ को ग मा पार्टीको कुनैपनि तहको कार्यसमितिमा निर्वाचित वा मनोनित हुने भ्रातृ र शुभेच्छुक संस्थाको पदाधिकारी वा सदस्यको पद स्वतः रिक्त हुने उल्लेख छ ।
बुधबार बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी बैठकमा सभापति देउवाले नै निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा नयाँ समिति बनाउनुभन्दा विधानको दफा निलम्बन गरेर अहिलेकै नेतृत्वलाई महाधिवेशन गर्न दिनुपर्ने प्रस्ताव गरेका थिए ।
नेविसंघ अध्यक्ष राजीव ढुंगाना, तरुण दल अध्यक्ष जितजंग बस्नेत, महिला संघकी अध्यक्ष उमा रेग्मी, दलित संघका अध्यक्ष मीन विश्वकर्मा र मुस्लिम संघका अध्यक्ष अब्दुल सतार कांग्रेस केन्द्रीय सदस्य बनेपछि उनीहरूको भ्रातृ संस्थाको पद विधानतः स्वतः रिक्त रहेको छ ।
महिला संघकी उपाध्यक्ष सरस्वती अर्याल, महासचिव मञ्जु खाण र कोषाध्यक्ष जानकी सिंह पनि कांग्रेस केन्द्रीय सदस्य बनेका छन् । सभापति देउवाले विधान निलम्बन गरेर उनीहरूलाई नै निरन्तरता दिन प्रस्ताव गरेपछि पदाधिकारी बैठकमा संस्थापन पक्षका नेताहरू कुनै प्रतिक्रिया दिएनन् । नेता कृष्णप्रसाद सिटौलानिकट सहमहामन्त्री उमाकान्त चौधरीले सभापति देउवाको प्रस्तावमा समर्थन जनाएका थिए ।
‘विधानको दफा नै कार्यसम्पादन समितिबाट निलम्बन गरेर विधानतः पदमुक्त भएकाहरूलाई निरन्तरता दिन सकिने प्रस्ताव सभापतिले सुनाउनुभयो’, बैठकमा सहभागी एक पदाधिकारीले नेपाल प्रेससँग भने । ती पदाधिकारीका अनुसार अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन पनि स्थानीय चुनावसम्म स्थगित गर्न देउवाको प्रस्ताव छ ।
‘स्थानीय चुनावको घोषणा भइसकेकोले बाँकी जिल्ला अधिवेशन वैशाखपछि गर्ने कि भन्ने पनि सुझाव आएको छ’, देउवाले बैठकमा भनेका थिए ।
कांग्रेसमा नेता डा. शेखर कोइराला नेतृत्वको समूह भने म्याद सकिएका भ्रातृ संस्थाहरूमा तदर्थ समिति बनाएर महाधिवेशनको म्यान्डेट दिनुपर्ने पक्षमा रहेको छ । कोइराला पक्षका पदाधिकारीहरूले विधानमा उल्लेख भएअनुसार पदमुक्त भएकाहरूलाई निरन्तरता दिन नहुने अडान राखेका छन् ।
बैठकमा प्रवक्ता डा. प्रकाशशरण महतले विधानतः रिक्त भएका पदाधिकारीको स्थानमा मात्रै मनोनयन गर्नेगरी भ्रातृ संस्थाको म्याद थप्न सकिने प्रस्ताव पनि सुनाएका थिए ।
कांग्रेसको कार्यसम्पादन समिति बैठक आज बस्दैछ । बैठकमा भ्रातृ एवं शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी जिल्ला र स्थानीय निर्वाचनको तयारीबारे छलफल हुनेछ ।
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ । देउवा सहभागी हुने भाइब्रेन्ट गुजरात समिट नै कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनका कारण स्थगित भएपछि देउवाको भ्रमण रद्द भएको हो ।
जनवरी १० देखि १२ तारिखसम्म भारतको गुजरातमा हुने सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री देउवासहितको प्रतिनिधिमण्डल आइतबार त्यसतर्फ जाने तय भएको थियो । कोरोनाको नयाँ भेरि ओमिक्रोन भेरिएन्टको कारण देखाउँदै गुजरात सरकारले नै सम्मेलन स्थगित गरिसकेको छ ।
‘सम्मेलन नै नहुने भएपछि भ्रमण हुने कुरा भएन । भ्रमणसम्बन्धी पूर्व निर्धारित सबै कार्यक्रम रद्द गरिएको छ’, प्रधानमन्त्रीनिकट स्रोतले नेपाल प्रेससँग भन्यो ।
भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग गुजरातमै साइडलाइन वार्ता गर्ने तय भएको थियो ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो २४ घण्टामा २ पटक कांग्रेसको केन्द्रीय समिति विस्तार गरे । दईपटकमा गरेर देउवाले १३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्दा एउटा स्पष्ट सन्देश दिएका छन्- त्यो हो शेखर कोइरालालाई पन्छाउने र बाँकी सबैलाई खुसी पार्ने ।
१४ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि देउवाले सबैलाई समेटेर जाने बताएका थिए । यद्यपि, दुई चरणको मनोनयनबाट प्रतिस्पर्धी खेमालाई ‘इग्नोर’ गरेर देउवा अघि बढ्न खोजेको देखिन्छ । निर्वाचनमा प्रत्यक्ष-अप्रत्यक्षरूपले सहयोग गर्नेदेखि आफ्नो समूहबाट पराजित पदाधिकारीका प्रत्याशीलाई देउवाले केन्द्रीय समितिमा ल्याएका देउवाले शेखरको समूहलाई बेवास्ता गरेका छन् ।
केन्द्रीय समितिमा दुई तिहाईभन्दा बढी वर्चस्व भएका कारण देउवाको हरेक निर्णय बहुमतले सदर हुने अवस्था छ । यही कारण शेखर समूहलाई ‘साइज’ मा राख्ने रणनीति देउवाले अंगीकार गरेका हुन् । ‘सुरूदेखि नै भाउ दिन खोज्यो भनेपछि गार्हो पर्न सक्छ । केन्द्रीय समितिमा उपस्थिति हेर्दा शेखर पक्षलाई धेरै मिलाउनपर्ने देखिँदैन । त्यसैले सभापतिजी यसपटक सुरूदेखि नै प्रष्ट भएर हिँड्न खोज्नुभएको छ’, देउवानिकट एक नेताले भने ।
कांग्रेस विधानको दफा २१ ले सभापतिलाई ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्ने अधिकार दिएको छ । हालसम्म देउवाले १३ जना मनोनीत गरेका छन् । १३ जना मनोनीत गर्दा देउवाले आफ्ना निकटतम प्रतिस्पर्धी डा. शेखर कोइरालाको समूहबाट प्रतिस्पर्धा गरी पराजित भएका नेताहरूलाई भने समेटेनन् ।
सभापति देउवाले आफ्नो टिमबाट उपसभापतिमा पराजित भएका विजयकुमार गच्छदार, महामन्त्रीमा पराजित डा. प्रकाशशरण महत र प्रदीप पौडेलसँगै सहमहामन्त्रीमा पराजित जीवनबहादुर शाहीसम्मलाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । महाधिवेशनको चुनावी प्रक्रिया बहिष्कार गरेका रामचन्द्र पौडेल र चुनाव नलडी देउवाको प्रस्तावक बनेका कृष्णप्रसाद सिटौला पनि केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।
त्यस्तै पहिलो चरणमा सभापतिको उम्मेदवार बनेर दोस्रो चरणमा देउवालाई नै सघाएका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले पनि मनोनीत केन्द्रीय सदस्य बन्ने अवसर पाएका छन् । सिंहको प्यानलबाट उपसभापतिमा पराजित सुजाता कोइरालादेखि प्रतिस्पर्धामै नउत्रिएका डा. नारायण खड्का, मीन विश्वकर्मा र उमा रेग्मी पनि केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।
कांग्रेस विधानको दफा २१ ले सभापतिलाई ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्ने अधिकार दिएको छ । हालसम्म देउवाले १३ जना मनोनीत गरेका छन् । १३ जना मनोनीत गर्दा देउवाले आफ्ना निकटतम प्रतिस्पर्धी डा. शेखर कोइरालाको समूहबाट प्रतिस्पर्धा गरी पराजित भएका नेताहरूलाई भने समेटेनन् । उपसभापतिमा पराजित डा. चन्द्र भण्डारी र महामन्त्रीमा पराजित डा. मिनेन्द्र रिजाललाई देउवाले केन्द्रीय सदस्यमा मनोनीत गरेका छैनन् ।
उपसभापतिमा स्वतन्त्र उम्मेदवारी दिएका पूर्वमन्त्री महेश आचार्यलाई पनि देउवाले मनोनीत गरेका छैनन् । आफूलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गरेकालाई मात्रै देउवाले २ चरणको मनोनयनमा समेटेका हुन् । देउवा पक्षका नेताहरूले यसलाई सभापतिले आफ्नो अधिकार प्रयोग गरेको रूपमा व्याख्या गरेका छन् भने कोइराला पक्षका नेताहरूले ‘गुटबन्दीको सुरूआत’ गरेको आरोप लगाएका छन् ।
कांग्रेस नेता अर्जुनरसिंह केसी सभापतिले देउवाको निर्णयले ‘पहिलो गाँसमै झिँगा परेको’ टिप्पणी गर्छन् । पार्टीभित्रको प्रतिपक्षी शक्तिलाई पेलेर जाने नीति लिनु देउवाका लागि प्रत्युत्पादक हुनसक्ने केसीको भनाइ छ ।
‘महाधिवेशनमा प्रतिस्पर्धा गरेकै आधारमा एक पक्षलाई निषेध गरेर जाने मनोवृत्ति सुरूमै देखिएको छ । कांग्रेसलाई एकताबद्ध बनाउने हो भने सभापतिजी त्यो मनोवृत्तिबाट बाहिर आउनुपर्छ । पार्टीभित्र फरक मत राख्नेहरूलाई पाखा लगाउने प्रयास गलत छ’, केसीले भने । उनले पदाधिकारीमा पराजित अरु नेताहरू केन्द्रीय सदस्य मनोनीत हुँदा महेश आचार्य, चन्द्र भण्डारी र मिनेन्द्र रिजाललाई नजरअन्दाज गरिनु गलत भएको बताए ।
सभापति देउवानिकट केन्द्रीय सदस्य जितजंग बस्नेतले भने निर्वाचित सभापतिले आफ्नो सहजता खोज्नु स्वभाविक भएको बताए । विधानले दिएको अधिकार प्रयोग गर्दा आलोचना गर्नुको औचित्य नभएको बस्नेतको भनाइ छ ।
‘सभापतिजीले वरिष्ठ नेतादेखि पूर्वपदाधिकारीहरू सबैलाई समेट्नुभएको छ । एकताको सन्देश दिनुभएको छ । सबैजना अट्न सम्भव नहुन सक्छ । जितेको सभापतिले चलाउन पाउनुपर्यो नि । अहिलेदेखि नै विरोध गर्नुको अर्थ छैन,’ बस्नेतले नेपाल प्रेससँग भने ।
विधानको प्रयोग भयो, तर विवेकको भएन : उपसभाति गुरुङ
कांग्रेस उपसभापति धनराज गुरुङ केन्द्रीय सदस्य मनोनित गर्ने अधिकार सभापति देउवालाई नै भएको बताउँछन् । विधानले दिएको अधिकार प्रयोग गरे पनि विवेकको प्रयोग गरे/नगरेको विषयमा चै मूल्यांकन हुनुपर्ने उनको भनाइ छ ।
‘उहाँले विधानले दिएको अधिकार प्रयोग गरेर आवश्यक ठानेका नेताहरूलाई मनोनीत गर्नुभयो । मनोनीत गर्दा एक पक्षलाई उहाँले वेवास्ता गर्नुभएको छ । विधानको पालना त भयो तर विवेकको पालना भएन कि ? यसलाई सबैले मूल्यांकन गर्नुपर्ला,’ गुरुङले नेपाल प्रेससँग भने । पार्टीलाई एकताबद्ध बनाएर लैजाने मूल जिम्मेवारी सभापतिकै हुने भन्दै उपसभापति गुरुङले आम नेता कार्यकर्ता र जनताले सभापतिको कामको मूल्यांकन गरिरहेको बताए ।
विरोधीलाई बढी भाग दिनुभयो : सहमहामन्त्री यादव
सभापति देउवानिकट कांग्रेस सहमहामन्त्री महेन्द्र यादव भने मनोनयन गर्दा प्रतिस्पर्धीलाई बढी महत्व दिइएको दाबी गर्छन् । देउवाले केन्द्रीय सदस्य मनोनीत गरेका रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंह, सुजाता कोइराला र कल्याण गुरुङ देउवाको विकल्प खोज्ने नेताहरू रहेको यादवले बताए ।
‘देउवालाई हराउनैपर्छ भन्ने नेताहरूलाई नै उहाँले केन्द्रीय सदस्य मनोनीत गर्नुभएको छ । यसमा त बरु देउवाका मान्छेहरूलाई दुःख लाग्नुपर्ने हो । किनकी हिजोसम्म देउवाको विरोध गर्नेहरूलाई नै उहाँले मनोनित गर्नुभएको छ । सभापतिजीले सबैलाई समेट्न खोज्नुभएको होला’, यादवले भने ।
मनोनीत गर्ने संख्या सीमित रहेकोले केही नेताहरू छुट्नसक्ने भन्दै यादवले सभापतिले उदारता देखाउँदा समेत विरोध गरिएको बताए ।
‘शेखरदाइले त सभापतिलाई धन्यवाद भन्नुपर्छ । सभापतिले सबैलाई समेट्न खोज्नुभएको छ । केही छुटेका नेताहरूलाई पनि छिट्टै समेट्नुहुन्छ होला । अहिले विरोध गर्नुपर्ने म केही देख्दिन’, यादवले नेपाल प्रेससँग भने ।
काठमाडौं । आगामी माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि एक महिनाको समय बाँकी छ । निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार पुस २० गते अर्थात १ सातापछि उम्मेदवारहरूको मनोनयन दर्ता गर्नुपर्नेछ ।
भर्खरै १४ औं महाधिवेशन सम्पन्न गरेको सत्तारुढ दल नेपाली कांग्रेसले एमालेविरुद्ध राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ दलहरूबीच गठबन्धन गर्ने निर्णय गरिसकेको छ । निर्वाचन कार्यतालिका अनुसार पुस १७ गते निर्वाचन आयोगले मतदाता नामावली सार्वजनिक गर्नेछन् ।
सत्तारुढ गठबन्धनबीच औपचारिकरूपमा राष्ट्रियसभाको सिट बाँडफाँट नभए पनि अनौपचारिक संवादका क्रममा नेताहरूले निर्वाचन हुने १९ मध्ये १० सीट नेपाली कांग्रेसले पाउँने बताउँदै आएका छन् । माओवादी र नेकपा एसले ४-४ जना राष्ट्रियसभा सदस्य पाउँदा जनता समाजवादी पार्टीले पनि १ जना पाउँनेछ ।
संविधानतः राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सांसद र स्थानीय तहका प्रमुख/उपप्रमुख मतदाता रहने प्रावधान रहेको छ । प्रदेशसभा सांसदको मतभार ४८ रहनेछ भने स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १८ हुन्छ ।
पुस १९ मा अन्तिम मतदाता नामावली सार्वजनिक गरेपछि निर्वाचन आयोगले पुस २० मा उम्मेदवारहरूको मनोनयन दर्ता गर्नेछ । पुस २५ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक र निर्वाचन चिन्ह प्रदान गरिनेछ । आयोगले माघ १२ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म तोकिएका मतदान केन्द्रहरूमा मतदान हुने जनाएको छ ।
गठबन्धनमा कसरी हुँदैछ सीट बाँडफाँट ?
राष्ट्रियसभाका २० सदस्यहरूको पदावधि आगामी फागुन २० गते सकिँदैछ । जसमध्ये नेकपा एमालेका ८ जना, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका ४-४ जना तथा कांग्रेसका ३ जना रहेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने १ जना राष्ट्रियसभा सदस्यको पनि अवधि सकिँदैछ ।
संविधानतः जुन समूहको प्रतिनिधित्व रिक्त हुने हो सो समूहका लागि नै निर्वाचन हुने व्यवस्था छ । यहीकारण रिक्त हुने २० मध्ये १९ जना निर्वाचनबाट र १ जना मन्त्रिपरिषद्को सिफारिसमा पूर्ति गरिनेछ ।
सत्तारुढ गठबन्धनबीच औपचारिकरूपमा राष्ट्रियसभाको सिट बाँडफाँट नभए पनि अनौपचारिक संवादका क्रममा नेताहरूले निर्वाचन हुने १९ मध्ये १० सीट नेपाली कांग्रेसले पाउँने बताउँदै आएका छन् । माओवादी र नेकपा एसले ४-४ जना राष्ट्रियसभा सदस्य पाउँदा जनता समाजवादी पार्टीले पनि १ जना पाउँनेछ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूबीच भएको यो सहमतिलाई केहीदिनमै औपचारिकता दिइनेछ ।
‘राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गर्ने सहमति पहिले नै बनिसकेको छ । कुन पार्टीले कति संख्या राख्ने भन्नेमा पनि सहमत छौं तर कुन समूहमा कुन पार्टीको उम्मेदवार बनाउने भन्नेमा केही दिनमा निर्णय लिन्छौं’, सत्तारुढ गठबन्धनका एक नेताले बताए ।
कांग्रेसको तयारी के छ ?
विगतमा राष्ट्रियसभामा कमजोर उपस्थिति रहेको नेपाली कांग्रेसले आगामी निर्वाचनबाट आफ्नो उपस्थिति मजबुत बनाउने तयारी गरेको छ । गठबन्धन कायम रहेको अवस्थामा गठबन्धनका उम्मेदवारले जित हासिल गर्ने लगभग निश्चित भएकोले कांग्रेसभित्र राष्ट्रियसभा सदस्य बन्न आन्तरिक दौडधुप सुरू भइसकेको छ ।
१४ औं महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय समितिको पहिलो बैठकले राष्ट्रियसभा निर्वाचनमा पार्टीको उम्मेदवारलाई आधिकारिक पत्र (टिकट) प्रदान गर्ने अधिकार सभापति शेरबहादुर देउवालाई प्रदान गरिसकेको छ ।
आधिकारिक उम्मेदवारको प्रमाणीकरण सभापतिले गरे पनि कांग्रेस विधानमा राष्ट्रियसभा निर्वाचनको उम्मेदवार संसदीय समितिले सम्बन्धित प्रदेश समितिको परामर्शका आधारमा तय गर्ने उल्लेख छ ।
कांग्रेस विधानको दफा ३२ को ९ मा प्रदेश कार्यसमितिले राष्ट्रियसभा सदस्यका लागि मातहतका जिल्लाबाट प्राप्त नाममध्ये एक सीटका लागि कम्तीमा ३ जनाको नाम सहमति वा बहुमतबाट केन्द्रमा सिफारिस गर्नुपर्ने उल्लेख छ । प्रदेश समितिबाट प्राप्त नाममा केन्द्रीय संसदीय समितिले सहमति वा बहमतबाट उम्मेदवारको नाम टुंगो लगाइ केन्द्रीय समितिबाट अनुमोदन गराउनुपर्नेछ ।
विधानमा उम्मेदवार छनोटका लागि प्रष्ट व्यवस्था भए पनि कांग्रेसले संसदीय समिति बनाइसकेको छैन । सभापति देउवाले केन्द्रीय समितिलाई पूर्णता दिनसमेत बाँकी छ ।
कांग्रेस विधानको दफा ३१ को ‘घ’ मा केन्द्रीय संसदीय समिति गठनसम्बन्धी प्रावधान रहेको छ । केन्द्रीय संसदीय समितिमा सभापतिसहित पदाधिकारीहरू र सभापतिको प्रस्तावमा केन्द्रीय समितिले अनुमोदन गरेका बढीमा ११ जना सदस्यहरू रहनेछन् ।
संसदीय समितिमा जुन प्रदेशको उम्मेदवारबारे निर्णय लिनुपर्ने हो त्यो प्रदेशको सभापतिलाई पनि आमन्त्रित गर्नुपर्ने व्यवस्था रहेको छ ।
सभापति देउवाले संसदीय समिति गठनबारे छलफल गरिसकेका छैनन् । वरिष्ठ नेता रामचन्द्र पौडेलसहित नेताहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौलालगायत केन्द्रीय समितिबाहिरै रहेकाले उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेपछि मात्रै संसदीय समिति बनाउने देउवाको तयारी छ ।
यद्यपि १ साताको समयमात्रै बाँकी रहेकोले पदाधिकारीमा छलफल गरेरै उम्मेदवार टुंग्याउन पनि देउवालाई सुझाव छ । ‘विधानमा रहेको व्यवस्था कार्यान्वयन गर्न समस्या छैन । केही सिनियर नेताहरू पनि समेटेर जानुपर्ने हुन्छ । सकेसम्म संसदीय समिति नभए पदाधिकारी बैठकबाट निर्णय लिन्छौं’, सभापतिनिकट एक पदाधिकारीले भने ।
कांग्रेस महामन्त्री गगन थापा विधानको पालना गरेरै राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंगो लगाइने बताउँछन् । ‘विधानले संसदीय समितिमा पदाधिकारी स्वतः रहने व्यवस्था गरेको छ । थप ११ जना सदस्यसमेतको पूर्णसंसदीय समितिबाट उम्मेदवार टुंगो लगाउने तयारी छ । सम्बन्धित प्रदेशबाट नाम माग्ने र पर्याप्त छलफलबाट मात्रै उम्मेदवार टुंगो लगाउने काम हुनेछ’, थापाले नेपाल प्रेससँग भने ।
काठमाडौं । सार्वजनिक मञ्चहरूमा प्रायः झर्कोफर्को गरिरहने प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटनको मञ्चमा ४ घण्टा बिताए ।
युज पोत्जरले २ सय वर्षअघि लेखेको कम्युनिष्टहरूको अन्तर्राष्ट्रिय गानदेखि नेताहरूको लम्बेतान भाषणसम्म सुनेका प्रधानमन्त्रीले माओवादी मञ्चमा कुनै झर्कोफर्को गरेनन् । बरु आफ्नै पार्टीको महाधिवेशनको उद्घाटन सभामा ढिलो गरेको भन्दै उनले उद्घोषक विश्वप्रकाश शर्माको आलोचना गरेका थिए ।
माओवादी मञ्चमा भने हतार नगरी देउवाले ४ घण्टा बिताए । पम्फा भुसालको स्वागत मन्तव्यदेखि कुन्ती शाही, सीपी गजुरेल, दुर्गा पौडेल, अनिल झा, उपेन्द्र यादव, शंकर पोखरेल, मातृका यादव, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठसम्मको भाषण सुनेपछि मात्रै देउवाको बोल्ने पालो आयो । यो बीचमा देउवाले झण्डै १ दर्जन जनसांस्कृतिक प्रस्तुतिहरू समेत हेरिसकेका थिए ।
अरुबेला भन्दा ‘कुल’ मुडमा प्रस्तुत भएका देउवाले तुलनात्मक रूपमा लामो मन्तव्य दिए । सात मिनेट लामो मन्तव्यमार्फत् देउवाले खास सन्देश दिन खोजेका छन् । पाँच दलीय गठबन्धनको निरन्तरताको चर्चादेखि एमसीसीको पक्षपोषणसम्म त देउवाको मन्तव्य स्वाभाविक नै थियो । यद्यपि उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रशंसामै अधिक समय खर्चिए । प्रचण्डको प्रशंसाका दौरान उनले आफ्नै पार्टीको इतिहास र आफ्नै पार्टीका अग्रज नेताहरूको अवमूल्यनसम्म गर्न बाँकी राखेनन् ।
संविधानसभाको एजेण्डा कसको ?
नेपाली राजनीतिमा संविधानसभाको एजेण्डा पहिलोपटक नेपाली कांग्रेसले नै उठान गरेको हो । २००७ सालको जनक्रान्तिमै कांग्रेसले जनताद्वारा निर्वाचित प्रतिनिधिले संविधान लेख्नुपर्ने माग गरेको थियो । प्रजातन्त्र स्थापनाको घोषणामै तत्कालीन राजा त्रिभुवनले नेपालको शासन अबउप्रान्त जनताबाट निर्वाचित सभाले तय गरेको विधानअनुसार हुने घोषणा गरेका थिए ।
समयक्रममा संविधानसभाको मुद्दा ओझेलमा पर्यो । त्रिभुवनको निधनपछि तत्कालीन राजा महेन्द्रले संसदीय निर्वाचन घोषणा गरे । कांग्रेसले संविधानसभाको माग थाती राखेर पहिलो आमनिर्वाचनमा भाग लियो । त्यसयता संविधानसभा नभएर प्रजातन्त्र पुनःस्थापनाका लागि राजनीतिक लडाइँ लड्नुपर्ने अवस्थामा कांग्रेस पुग्यो ।
२०५२ सालमा देउवा नै प्रधानमन्त्री रहेका बेला माओवादीले ४० बुँदे माग राख्दै सशस्त्र आन्दोलन सुरु गरेको थियो । द्वन्द्वकालमा देउवाकै सवारीलाई लक्षित गरेर माओवादीले एम्बुस विस्फोट गराएको थियो भने देउवाले पनि माओवादी नेताविरुद्ध रेडकर्नर नोटिस जारी गरेर ‘टाउकोको मूल्य’ तोकेका थिए ।
यद्यपि माओवादी मञ्चमा देउवाको अभिव्यक्तिले वीपी, जीपी र सुशिलको इतिहास र योगदानमाथि नै प्रश्न उठाएको छ । ‘प्रचण्डको प्रशंसा गर्ने नाममा आफ्नै इतिहासमाथि प्रहार नगरेको भए हुन्थ्यो’, देउवाको अभिव्यक्तिबारे एक कांग्रेस नेताले भने ।
नेपाली कांग्रेसले आजपर्यन्त शान्ति र संविधानको अगुवा भनेर आफैलाई दाबी गर्दै आएको छ । गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरू भएको शान्ति र संविधानको यात्रा सुशिल कोइरालाको कार्यकालमा पूरा भएको दाबी कांग्रेसको हरेक तहका नेता कार्यकर्ताहरूले गर्दै आएका हुन् ।
यद्यपि आफ्नो मन्तव्यका क्रममा प्रधानमन्त्री देउवाले संविधानसभा र संविधान निर्माणको एकलौटी जस माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिए । देउवाले प्रचण्डकै बलमा कांग्रेसले संविधानसभा स्वीकार गरेको मात्रै बताएनन् संविधान निर्माणमा सबैभन्दा बढी योगदान प्रचण्डकै रहेको उल्लेख गरे । देउवाको अभिव्यक्तिले ‘शान्ति र संविधान’ को एजेण्डामा अपनत्व दाबी गर्ने कांग्रेसजनलाई निराश बनाएको छ ।
‘संविधानसभाको एजेण्डा कांग्रेसकै थियो । समयक्रममा माओवादीले त्यसलाई बोके पनि गिरिजाप्रसादले स्वीकारेपछि मात्रै संविधानसभा सफल भएको हो । संविधान पनि सुशिल कोइरालाको नेतृत्वमा बनेको हो । हाम्रै सभापतिले यसको जस प्रचण्डलाई दिनु पार्टी र इतिहासमाथिको अन्याय हो’, कांग्रेसका एक नेताले भने ।
वीपी-जीपी-सुशिलको इतिहास
नेपाली कांग्रेसका संस्थापन नेता वीपी कोइराला संगठकमात्रै नभएर विचारक समेत थिए । संविधानसभाको एजेण्डालाई २००७ सालमै सम्बोधन गराउन कांग्रेस सफल भएको थियो । यद्यपि तत्कालीन राजनीतिक परिस्थिति र विभिन्न घटनाक्रमका कारण संविधानसभा कार्यान्वनयन हुन सकेन ।
माओवादीले सशस्त्र आन्दोलनको मुख्य मुद्दाका रूपमा संविधानसभाको माग गरेको पनि सत्य हो । यद्यपि गिरिजाप्रसाद कोइराला नेतृत्वको नेपाली कांग्रेसले संविधानसभाको एजेण्डा स्वीकार गरेपछि मात्रै नेपालमा संविधानसभाको एजेण्डा स्थापित भएको हो । त्यतिबेला देउवा नेपाली कांग्रेस (प्रजातान्त्रिक) को सभापतिमात्रै थिएनन् ढिलोगरी ‘प्रतिगमनविरुद्धको आन्दोलन’ मा जोडिन पुगेका थिए ।
वीपी कोइरालाले देखेको संविधानसभाको सपनालाई गिरिजाप्रसादले सम्भव तुल्याएको कांग्रेसजनहरूको दाबी छ । गिरिजाप्रसादकै अगुवाइमा भएको १२ बुँदे समझदारी र लोकतान्त्रिक आन्दोलनको जगमा संविधानसभाको एजेण्डा कार्यान्वयन भएको थियो । यद्यपि संविधानसभाबाट संविधान बनेको हेर्ने गिरिजाप्रसादको चाहना पूरा भएन ।
देउवाले माओवादी मञ्चबाट प्रचण्डको अति प्रशंसा गर्नु र प्रचण्डले तत्कालै देउवालाई ‘इनोसेन्ट’ देख्नुले दुवै नेताले मञ्चको नियोजित उपयोग गरेको पुष्टि हुन्छ । देउवाको अभिव्यक्तिले कांग्रेसवृत्तमा तरंग पैदा गरेकै छ । यद्यपि यसको परिणाम देखिन अझै केही समय लाग्ने नेताहरू बताउँछन् ।
पहिलो संविधानसभामा बनेका ४ वटा वाम सरकारले संविधान दिन नसकेको पृष्ठभूमीमा सुशिल कोइराला नेतृत्वको सरकारले दोस्रो संविधानसभाको २ वर्षे कार्यकालभित्र संविधान बनाएको थियो । यसर्थ कांग्रेसजनले श्रद्धापूर्वक सुशिललाई ‘संविधानको पिता’ भन्दै आएका छन् ।
यद्यपि माओवादी मञ्चमा देउवाको अभिव्यक्तिले वीपी, जीपी र सुशिलको इतिहास र योगदानमाथि नै प्रश्न उठाएको छ । ‘प्रचण्डको प्रशंसा गर्ने नाममा आफ्नै इतिहासमाथि प्रहार नगरेको भए हुन्थ्यो’, देउवाको अभिव्यक्तिबारे एक कांग्रेस नेताले भने ।
गठबन्धन निरन्तरताको उद्घोष
आफ्नो मन्तव्यमा प्रचण्डको अति प्रशंसा गरेका देउवाले ‘गठबन्धनलाई धेरै अगाडिसम्म लैजाने आफ्नो इच्छा’ रहेको समेत बताए । कांग्रेसभित्र चुनावमा गठबन्धन गरेर जान नहुने मत अधिक छ । अघिल्लो स्थानीय निर्वाचनमा माओवादीसँग गठबन्धन गर्दा कांग्रेसले आफ्नै जनमत समेत गुमाएको थियो ।
यद्यपि प्रधानमन्त्री देउवाले गठबन्धन पूरा समयमात्रै नभएर त्यसअगाडिसम्म निरन्तर रहने संकेत गरेका छन् ।
‘गठबन्धन कसैका विरुद्धमा होइन । गठबन्धन पूरै समय टिक्छ कसैले शंका गर्नुपर्दैन । मेरो चाहना त अझै अगाडिसम्म गठबन्धन हुनुपर्छ भन्ने हो’, माओवादी मञ्चबाट देउवाले भनेका छन् । देउवाको यो उद्घोषले कांग्रेसले अब चुनावमा पनि माओवादी र एकीकृत समाजवादीसँग सीट बाँडेर गठबन्धन गर्ने निश्चित भएको छ ।
देउवाको अभिव्यक्तिमात्रै होइन त्यसप्रति प्रचण्डको जवाफ पनि उत्तिकै चर्चायोग्य रह्यो । देउवापछि बोलेका प्रचण्डले देउवालाई एक ‘इनोसेन्ट’ नेताको संज्ञा दिदैं सत्य बोल्ने हिम्मत गरेकोमा धन्यवाद दिए ।
देउवाले माओवादी मञ्चबाट प्रचण्डको अति प्रशंसा गर्नु र प्रचण्डले तत्कालै देउवालाई ‘इनोसेन्ट’ देख्नुले दुवै नेताले मञ्चको नियोजित उपयोग गरेको पुष्टि हुन्छ । देउवाको अभिव्यक्तिले कांग्रेसवृत्तमा तरंग पैदा गरेकै छ । यद्यपि यसको परिणाम देखिन अझै केही समय लाग्ने नेताहरू बताउँछन् ।
देउवाको भनाइ जस्ताको तस्तै
पुष्पकमल दाहालजीले नेपालको राजनीतिमा धेरै ठूलो योगदान दिनुभएको छ । संविधानसभाको चुनाव उहाँको शर्त थियो । शान्तिप्रक्रियाका लागि संविधानसभा चाहिन्छ भन्ने उहाँको अडान थियो । यो सत्य कुरा हो की उहाँकै बलले संविधानसभामा हामीहरू गएका हौं । यसमानेमा संविधानसभाबाट संविधान बनाउने कुरा जो हो, सात सालमा कांग्रेस पार्टीले प्राप्त गरेको कुरा धेरै ठूलो लडाइँ भएपछि पुष्पकमल दाहालजीकै अगुवाइमा संविधानसभाको चुनाव भएर आज संविधानसभाबाट संविधान बनेको छ । यो संविधान समावेशी छ, समानुपातिक आधारमा छ, संघीयता र गणतन्त्र पनि छ । यो संविधान अत्यन्तै महत्वपूर्ण बनेको छ । यो संविधान बनाउने काममा पुष्पकमल दाहालजीको सबैभन्दा योगदान छ भन्ने कुरा हामी सबैले मान्नुपर्छ ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध अनुशासनको कारबाही माग गर्दै गोरखा महासमिति सदस्य राजेन्द्र बजगाईंले दिएको उजुरी साढे २ वर्षपछि फिर्ता लिएका छन् ।
बजगाईंले चितवनमा चुनावमा माओवादीसँग गठबन्धन गरेको, तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रममा समर्थन जनाएकोजस्ता विषय उठाएर देउवाले पार्टी र संसदीय व्यवस्थाकै अहित गरेकाले अनुशासन कारबाहीको मागसहित २०७५ चैत १४ मा पार्टी कार्यालयमा उजुरी दर्ता गरेका थिए ।
पार्टी नेतृत्वमा देउवाले भारी मत प्राप्त गरिसकेको र आफ्नो निवेदनको औचित्य पनि सकिएको भन्दै बजगाईले उजुरी फिर्ता लिएका छन् ।
श्रीमान् सभापति ज्यू,
नेपाली कांग्रेस केन्द्रीय कार्यालय
विषय: निवेदन फिर्ता सम्बन्धमा।
संसदीय अभ्यासको सर्वमान्य सिद्धान्त अनुरूप तात्कालीन प्रधानमन्त्री श्री केपी ओली ज्यूको सरकारको निति र कार्यक्रम माथि प्रमुख प्रतिपक्ष दल हाम्रो पार्टी प्रतिपक्षको भूमिकामा थियो भने संसदीय दलको नेतामा सम्माननिय प्रधानमन्त्री शेर बहादुर देउवा हुनुहुन्थ्यो। १४औं महाधिवेशन बाट पुन: पार्टी सभापतिमा विशाल पार्टी -अभिमतबाट चुनिनु भएका प्रधानमन्त्री माथि मैले नैतिक प्रश्न उठाएको थिएँ।
मैले मिति २०७५/१२/१४ (११५ दर्ता नम्बर) मा कांग्रेस केन्द्रीय कार्यालयमा राखेको निवेदन लगतै श्रदेय सभापतिमाथि मेरो निवेदनलाई लिएर दाङ जिल्लाको पार्टी कार्यक्रममा एक प्रश्न सोधिएको थियो। प्रत्युत्तरमा उहाँबाट ‘कांग्रेस यसकारण पनि लोकतान्त्रिक पार्टी हो कि यहाँ नेताहरूको विरुद्ध पनि बोल्ने निवेदन गर्ने छुट छ’ सभापति ज्यूको त्यो संयोग अत्यन्तै शालीन थियो। मैले निवेदनमा पुनर्विचार गर्ने बिचार गरेर उहाँ पाँचौं पटक प्रधानमन्त्री नबन्दै र १४ औं अधिवेशनको संघारमा उहाँलाई निवासमै गएर भेट्दा उहाँबाट कुनै रोष वा नराम्रो प्रतिक्रिया भएन न निर्देशन वा आग्रह नै।उक्त क्षणमा पनि राखेको निवेदनमा मैले पुन: प्रतिक्रिया केहि छकि भनेर सोधें उहाँबाट म माथि दबाव हैन बरू ‘टेक ईट ईजी’ भनेर अत्यन्त भद्र उत्तर आयो। यि कारणहरूले गर्दा मैले १४ औं महाधिवेशन अगावै निवेदन फिर्ता लिंदा गलत टिप्पणी र अर्थहरू फैलिने सम्भावना देखेर त्यसो गरिन।
बदलिंदो परिस्थितिमा हामिले विघटित संसद देखि पुनर्स्थापित संसद मात्र नभएर संवैधानिक पुनर्ब्याख्यामा परमादेशबाटै प्रधानमन्त्री पाईसक्यौं जस्ले आफ़्नो नेतृत्वमा भारी पार्टी-अभिमत प्राप्त गरिसक्नु भएको छ, यसकारण पनि मैले मेरो निवेदनको औचित्य समाप्त भएको महसूस गरें। श्रदेय सभापति तथा सम्माननीय प्रधानमन्त्रीको पुनरागमन लाई पार्टीका साथीहरूले परिपक्क नेतृत्वको अवश्यकता ठान्नु भएको भन्ने बुझ्दै उहाँहरू संग विगत २५ वर्ष राजनैतिक सहकार्य व्यतित् गरेको स्मरण गर्दै उक्त निवेदन फिर्ता लिने घोषणा गर्दछु/ जय नेपाल!
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो दोस्रो कार्यकाल शुक्रबारदेखि सुरू गर्दैछन् । केन्द्रीय निर्वाचन समितिले विहीबार बेलुकीसम्म मतगणना सम्पन्न गरि शुक्रबार निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्ने तयारी गरेको छ । त्यसपछि सभापति देउवा नेतृत्वको नयाँ कांग्रेस केन्द्रीय समितिले आफ्नो काम थाल्नेछ ।
पहिलो बैठकको तयारी
सभापति देउवाले पुस १० गते शनिबार पहिलो बैठक बोलाउने तयारी गरेका छन् । पदभार लगत्तै बोलाइने केन्द्रीय समितिको बैठकबाट महाधिवेशन सफल पार्न सहयोग पुर्याउनेलाई धन्यवाद ज्ञापन गरिनेछ । कांग्रेस विधानको दफा २१ को १२ हरेक २ महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्ने उल्लेख छ । केन्द्रीय समितिको आकार विगतभन्दा झण्डै दोब्ब भएको छ । सभापति देउवाले तत्कालका लागि पहिलो केन्द्रीय समिति बैठकको तयारी गर्न सचिवालयलाई निर्देशन दिएका छन् ।
‘हामीलाई शनिबार नै बस्नेगरी बैठकको तयारी गर्न भन्नुभएको छ । निर्वाचन समितिको काम सकिनेवित्तिकै बैठक आह्वान हुन्छ’, कांग्रेस केन्द्रीय कार्यालयको भनाई छ ।
मनोनयनमा कसलाई प्राथमिकता ?
कांग्रेस विधानले सभापति देउवालाई बढीमा ३३ जनासम्म केन्द्रीय सदस्य मनोनीत गर्ने अधिकार दिएको छ । कांग्रेसको विगतको परम्परा हेर्दा केन्द्रीय समितिमा निर्वाचन नलडेका र पराजय व्यहोरेका केही शीर्ष नेताहरुलाई समेट्ने देउवाको तयारी छ ।
कांग्रेस विधानको दफा २१ को उपदफा १० मा ‘कम्तीमा दश वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएका केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट केन्द्रीय सभापतिले कार्यसमितिमा एक तिहाई सदस्य महिला हुनु पर्ने व्यवस्था, समावेशी सिद्धान्त र अपाङ्गता भएका वा अल्पसङ्ख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्व समेतलाई ध्यानमा राखी तेत्तीस जना सदस्य मनोनीत गर्ने’ उल्लेख छ ।
महाधिवेशनको प्रतिस्पर्धा अनुसार कांग्रेस केन्द्रीय समितिमा १ पदाधिकारीसहित ४१ महिला निर्वाचित हुँदैछन् । १ सय ६८ सदस्यीय कांग्रेस केन्द्रीय समितिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ । त्यसका लागि सभापति देउवाले कम्तीमा १५ जना महिलालाई मनोनीत गर्नैपर्ने अवस्था छ । बाँकी १८ जना केन्द्रीय सदस्यमा पनि समावेशीतालाई ध्यान दिनुपर्ने हुन्छ ।
सभापति देउवासामु वरिष्ठ नेता रामचन्द्र पौडेल , नेता कृष्णप्रसाद सिटौला, सभापतिमा पराजित प्रत्याशीहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ, उपसभापमिा पराजित विजयकुमार गच्छदार, महेश आचार्य र सुजाता कोइराला, डा. चन्द्र भण्डारी, महामन्त्रीमा पराजित डा. प्रकाशशरण महत, डा. मिनेन्द्र रिजाल र प्रदीप पौडेललाई मनोनीत गर्नैपर्ने दबाब छ ।
देउवाले निर्वाचन नलडेरै सहयोग गरेका डा. नारायण खड्का, मीन विश्वकर्मालगायतका नेताहरूलाई पनि केन्द्रीय समितिमा ल्याउनुपर्ने अवस्था छ । सभापतिका निकटतम प्रतिस्पर्धी डा. शेखर कोइराला भने कांग्रेस विधानकै व्यवस्थाअनुसार स्वत: केन्द्रीय सदस्य हुनेछन् ।
पहिलो केन्द्रीय समिति बैठकअघि देउवाले सबै नेतालाई मनोनीत गर्नसक्ने सम्भावना कम छ । यद्यपि वरिष्ठ नेता पौडेल, पूर्व महामन्त्रीद्वय सिटौला र सिंहलाई पहिलो बैठकअघि नै देउवाले मनोनीत गर्नेछन् । यद्यपि पहिलो बैठकअघि नै आफ्नै टिमबाट पराजित गच्छदार, महत र पौडेललाई केन्द्रीय सदस्य मनोनीत गर्नपनि देउवालाई दबाब छ ।
हार्नेजति सबै मनोनीत नहुने
देउवाले अघिल्लो कार्यकालमा पदाधिकारीमा पराजित सबैलाई केन्द्रीय समितिमा मनोनीत गरेका थिए । यसपटक भने सबैलाई मनोनीत गर्नसक्ने अवस्थामा देउवा छैनन् । पदाधिकारीमा पराजित नेताहरूको संख्यामात्रै डेढ दर्जन बढी रहेको छ ।
‘देउवालाई सभापति बनाउन निर्वाचन छाडेर सक्रिय भएका नेताहरुको संख्या नै एक दर्जन छ । निर्वाचन हारेका सबैलाई समेट्दा वचन दिएका साथीहरू छुट्नुहुन्छ’, देउवा पक्षका एक नेताले भने । ती नेताका अनुसार पार्टीभित्र प्रभाव भएका सिनियर नेताहरुलाई मात्रै मनोनीत गर्ने सम्भावना धेरै छ ।
काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको निर्वाचनअन्तर्गत हालसम्म पदाधिकारीसहित ९७ जनाको परिणाम सार्वजनिक भएको छ ।
१ सय ३४ पदका लागि भएको निर्वाचनमा ९७ जनाको परिणाम आउँदा सभापति शेरबहादुर देउवा पक्षले ८० प्रतिशत पदमा जित हासिल गरेको छ ।
पदाधिकारीतर्फ सभापति देउवा समूहले १ उपसभापति र ६ सहमहामन्त्री जितेको छ । डा. शेखर कोइराला पक्षले उपसभापति १, महामन्त्री १ र २ सहमहामन्त्री जितेको छ । प्रकाशमान सिंह नेतृत्वको प्यानलबाट महामन्त्रीमा १ जना विजयी भएका छन् ।
केन्द्रीय सदस्यतर्फ डा. शशांक कोइराला, राजेन्द्रकुमार केसी र मुक्ताकुमारी यादव साझा प्यानलमा परेका थिए । कोइराला सबै समूहमा, केसी प्रकाशमान र शेखरको समूहमा तथा यादव देउवा र शेखर दुवैको समूहमा परेकी थिइन् । यी तीनजनाबाहेक पनि परिणाम आएका ९७ मध्ये ७७ जना देउवा प्यानलका विजयी भएका छन् । त्यस्तै शेखर पक्षबाट उम्मेदवार बनेका १७ जना केन्द्रीय समितिको पदाधिकारी र सदस्यमा निर्वाचित भएका छन् ।
शेखर समूहबाट उपसभापतिमा धनराज गुरुङ, महामन्त्रीमा गगन थापा, सहमहामन्त्रीमा बद्री पाण्डे र जीवन परियार पदाधिकारीमा विजयी भएका छन् । शेखर पक्षबाट खुल्ला केन्द्रीय सदस्यमा नौ जना विजयी हुँदा प्रदेश १ र गण्डकी प्रदेशबाट १-१ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।
खुला महिला र मधेशी खुलातर्फ पनि शेखर पक्षका १-१ जना मात्रै निर्वाचित भएका छन् । त्यसबाहेक सबै क्लष्टरमा देउवा पक्षका उम्मेदवारहरु विजयी भएका छन् ।
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।
आज बिहानको भेटमा प्रचण्डले नेपाली कांग्रेसको महाधिवेशनबाट निर्वाचित सभापतिसहित पदाधिकारीलाई सभापति देउवामार्फत बधाई तथा शुभकामना प्रदान गरेका प्रचण्डको निजी सचिवालयले जनाएको छ।
सदन सुचारु गर्नेलगायतका समसामयिक राष्ट्रिय मुद्दामा सर्वदलीय बैठक बोलाउने विषयमा पनि दुई नेताबीच छलफल भएको छ । ‘भेटघाटको क्रममा सदन सुचारु गर्नेलगायतका समसामयिक राष्ट्रिय मुद्दामा प्रमले सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भयो,’ सचिवालयले भनेको छ ।
प्रचण्डले क्रिकेट खेलाडीमाथि गरिएको भनिएको कारबाहीबारे प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराएका थिए ।
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई बधाईज्ञापन गरेका छन् । आफ्नोसमेत समर्थनमा देउवा निर्वाचित भएपछि सिंहले फेसबुकमार्फत बधाई दिएका हुन् ।
सिंहले राखेको बधाई पोष्टमा कमेन्ट गर्न नमिल्ने बनाइएको छ । संस्थापनइतर नेता सिंहले देउवालाई समर्थन गर्ने क्रममा अवाञ्छित लेनदेन गरेको भन्दै आलोचना भएको थियो । सम्भवत: नकारात्मक प्रतिक्रियाको सामना गर्नुपर्ने डरले उनले कमेन्ट अफ गरेका हुन् ।
सिंहलाई उपप्रधानमन्त्री बनाउने सम्झौता गरेर देउवाले उनको समर्थन हासिल गरेको समाचार सञ्चारमाध्यममा आएका थिए ।
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी रुपान्तरणका मुद्दामा नवनिर्वाचित सभापति शेरबहादुर देउवासँग सहकार्य हुने बताएका छन् ।
१४ औं महाधिवेशनबाट दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएकोमा देउवालाई बधाई दिँदै थापाले पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको सुरूआत गर्ने अपेक्षा व्यक्त गरेका छन् ।
सभापतिमा पराजित डा. शेखर कोइराला नेतृत्वको प्यानलबाट महामन्त्रीको उम्मेदवार रहेका थापाले आम कार्यकर्तामा रहेको एकताको अपेक्षालाई आत्मसात गर्नसमेत सभापति देउवालाई आग्रह गरेका छन् ।
आदरणीय @SherBDeuba ज्यू,पुन: सभापतिमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई! आम कांग्रेसजनको एकताको अपेक्षालाई आत्मसात गर्दै पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको शुरुआत गर्नु हुनेछ भन्ने अपेक्षा गर्छु।समुन्नत नेपालको अभियान र पार्टी रुपान्तरणका मुद्दामा सहकार्य हुने नै छ।
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।
मंसिर २४ गतेबाट राजधानीमा जारी महाधिवेशन अन्तरगत सभापतिको अन्तिम मतपरिणाम अनुसार देउवाले विजयी हासिल गरेका हुन् ।
मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा कुल खसेको ४६२३ मतमध्ये देउवाले २७३३ मत प्राप्त गरे ।
यस्तै डा. शेखर कोइरालाले १८५५ मत ल्याए । ३५ मत बदर भएको छ । यद्यपि निर्वाचन समितिले आधिकारिक घोषणा गर्न बाँकी रहेको छ ।
सोमबार भएको पहिलो चरणको निर्वाचनमा कुनै पनि सभापतिका उम्मेदवारहरुले ५० प्रतिशत कटाउन नसक्दा दोस्रो चरणमा निर्वाचन भएको थियो । दोस्रो चरणमा सबैभन्दा बढी मत ल्याउने देउवा र कोइरालाको प्रतिस्पर्धा थियो ।
दोस्रो चरणको मतदानमा देउवालाई प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले समर्थन गरेका थिए ।
काठमाडौं । देशको सबैभन्दा जेठो पार्टी नेपाली कांग्रेसको १४ औं महाधिवेशनले शेरबहादुर देउवालाई निर्विकल्प नेता निर्वाचित गरेको छ । पाँचौ पटक मुलुकको प्रधानमन्त्री बनेका देउवा दोस्रो पटक कांग्रेस सभापतिमा निर्वाचित भएका छन् ।
कुल खसेकाे मतकाे ५० प्रतिशत मत कटाएपछि देउवा विजयी भएका हुन् । ३८१९ मत गणना गर्दा उनले २२८८ मत गरे भने, शेखर काेइरालाले १५०१ मत प्राप्त गरेका छन् । सबै मत गणना गर्नु अगाडी नै देउवा विजयी भएका हुन् । अहिलेसम्म ३० बदर भएकाे छ ।
१३ औं महाधिवेशनमा पनि दोस्रो चरणको मतदानबाट सभापति निर्वाचित भएका देउवा १४ औं महाधिवेशनमा चुनौति सामना गरिरहेको थिए । तर दोस्रो चरणमा प्रवेशसँगै सभापतिका तीन प्रत्यासी प्रकाशमान सिंह, विमलेन्द्र निधी र कल्याण गुरुङको समर्थन पाएपछि उनको विजय सुनिश्चित भएको थियो ।
नेपाली कांग्रेसमा गिरिजाप्रसाद कोइरालापछि सर्वाधिक शक्तिसाली नेता बन्ने मौका देउवाले पाएका छन् । नेतृत्व परिवर्तनको एजेण्डा बोकेर चुनावी मैदानमा उत्रिएका दोस्रो पुस्ताका नेताहरुले देउवासामु सरेन्डर गरेपछि उनको विजय पूर्व सुनिश्चित थियो ।
देउवा सभापतिमा निर्वाचित भएका छन् । तर शेखर कोइरालाको नेतृत्वमा कांग्रेसका ‘क्रिम लिडर’हरु पदाधिकारी र केन्द्रीय सदस्यको प्रतिस्पर्धामा छन् । देउवाले दोस्रो पटक कांग्रेस सभापति निर्वाचित हुँदै गर्दा कांग्रेसलाई भावनात्मक रुपमा एक गराउने चुनौति पनि सँगै वरण गरेका छन् । किनकी अब बैशाखदेखि मुलुकमा तीनै तहको निर्वाचन प्रारम्भ हुनेछ ।
कांग्रेसका यसपटक नेतृत्व परिवर्तनको जबर्जस्त एजेण्डा थियो । गगन थापा लगायतका नेताले थपिएका २० लाख नयाँ मतदातालाई आकर्षित गर्न नेतृत्व परिर्वतनको एजेण्डा उठाएका थिए ।
देउवाको सहज जितले उनको टिमलाई खुसी तुल्याए पनि कांग्रेसप्रति नयाँ मतदाताको आकर्षणका लागि भने कुनै योगदान नहुने टिप्पणी नेताहरुले नै गरिरहेका छन् ।
सभापतिको निर्वाचनपछि पदाधिकारी र अन्य सदस्यको मतगणना शुरु हुनेछ । तर सभापतिको निर्वाचन परिणामले कांग्रेसमा परिवर्तन चाहनेहरु भने निराश भएका छन् ।
महाधिवेशन प्रतिनिधिहरुको रोजाइमा देउवा नै लोकप्रिय बनेका छन् ।
काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान जारी छ । सभापतिका प्रमुख प्रत्यासी शेरबहादुर देउवा मतदानपछि मतदाता रिझाउनमा व्यस्त छन् ।
भोट हाल्न मतदाता बसेको लाइननजिकै देउवा कुर्सीमा बसेका छन् । देउवा आफूलाई भोट माग्दै मतदानस्थलमा प्रतिनिधिहरूलाई हात जोडिरहेका छन् । प्रतिस्पर्धी शेखर कोइराला पनि पल्लोपट्टी आफ्नो टिमसहित भोट माग्न व्यस्त छन् ।
हिजो भएको मतदानमा कसैले पनि बहुमत ल्याउन नसकेपछि आज दोस्रो चरणको मतदान भएको हो । यस मतदानमा शेरबहादुर देउवा र शेखर कोइरालाले प्रतिस्पर्धा गर्दैछन् ।
पहिलो चरणमा पराजित तीन उम्मेदवारले देउवालाई समर्थन गर्ने घोषणा गरिसकेका छन् ।
काठमाडौं । कांग्रेस सभापतिको दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवाको दाबेदारी बलियो बनेको छ । पहिलो चरणमा ८२ मत मात्रै अपुग भएर रोकिएका उनले दोस्रो चरणमा भने जित लगभग निश्चित गरेका छन् ।
संस्थापन इतरसमूहका नेताहरू छिन्नभिन्न भएपछि देउवाले सभापतिका रूपमा दोस्रो कार्यकाल खाने सम्भावना प्रबल बनेको हो । पहिलो चरणको चुनावमा उनका निकट प्रतिस्पर्धीका रूपमा रहेका शेखर कोइरालाले दोस्रो चरणमा संस्थापनइतर समूहलाई एक ठाउँमा ल्याउन सकेनन् । यस समूहका प्रमुख नेता रामचन्द्र पौडेल नै तटस्थ बनेपछि कोइराला अप्ठेरोमा परेका छन् ।
पहिलो चरणमा सिंहले ३७१ भोट ल्याएका थिए भने निधिले २४९ मत ल्याएका थिए । यी दुई नेताको आह्वानमा उनीहरू निकट प्रतिनिधिको सानो अंशले देउवालाई भोट दिए भने पनि उनलाई जित्न पर्याप्त हुनेछ ।
यदि संस्थापनइतरका नेताहरू रामचन्द्र र प्रकाशमानका साथै अर्का उम्मेदवार विमलन्द्र निधिले समेत समर्थन गरेको भए मात्र कोइरालाले दोस्रो चरणमा देउवालाई टक्कर दिन सक्ने सम्भावना थियो । तर, रामचन्द्र तटस्थ बस्दा प्रकाशमान देउवाको पक्षमा खुलिसकेका छन् । यस्तै निधिले पनि देउवालाई नै समर्थन गर्ने भएपछि दोस्रो चरणको चुनाव औपचारिकतामा सीमित हुने देखिएको छ ।
सत्ता राजनीतिको दाउपेचमा देउवाका अगाडि शेखर कमजोर देखिए । पहिलो चरणमा आफूलाई समर्थन गरेका रामचन्द्रलाई पनि उनले दोस्रो चरणमा साथमा राख्न सकेका छैनन् । आज आफैंले आयोजना गरेको चियापानमा पौडेलले महाधिवेशन प्रतिनिधलाई विवेक प्रयोग गर्न सुझाव दिएका थिए । यसले शेखरलाई निराश बनाएको छ ।
पहिलो चरणको चुनावमा १७०२ भोट ल्याएका शेखर देउवाभन्दा निकै पछाडि छन् । उनीहरूबीच पाँच सयभन्दा बढी मतको अन्तराल छ । देउवा बाहेकका सबै उम्मेदवारले समर्थन गर्दा मात्रै शेखरले सभापतिको चुनाव जित्ने आशा राख्न सक्थे । तर, ८२ मत प्राप्त गरेका देउवा अब रेसमा निकै अगाडि देखिएका छन् ।
संस्थापन इतरसमूहका नेताहरू छिन्नभिन्न भएपछि देउवाले सभापतिका रूपमा दोस्रो कार्यकाल खाने सम्भावना प्रबल बनेको हो । पहिलो चरणको चुनावमा उनका निकट प्रतिस्पर्धीका रूपमा रहेका शेखर कोइरालाले दोस्रो चरणमा संस्थापनइतर समूहलाई एक ठाउँमा ल्याउन सकेनन् ।
पहिलो चरणमा सिंहले ३७१ भोट ल्याएका थिए भने निधिले २४९ मत ल्याएका थिए । यी दुई नेताको आह्वानमा उनीहरू निकट प्रतिनिधिको सानो अंशले देउवालाई भोट दिए भने पनि उनलाई जित्न पर्याप्त हुनेछ ।
देउवालाई सभापतिमा हराउनका लागि संस्थापन इतर पक्षबाट साझा उम्मेदवार उठाउन अन्तिमसम्म प्रयास भएको थियो । तर, यस पक्षका नेताहरु आफ्नो नाममा मात्रै सहमति गर्ने अडान लिए । सहमति नभएपछि सबै लाखापाखा भए । संस्थापनइतर पक्षबाट शेखर र प्रकाशमान उम्मेदवार भए भने रामचन्द्र र शशांक कोइरालाले मैदान छाडेर हिँडे ।
शशांकले खुलेर शेखरका पक्षमा भोट मागे पनि रामचन्द्रको भूमिका अस्पष्ट रह्यो । उनी आफैं चुनावमा भोट हाल्न गएनन् । दोस्रो चरणमा उनले आफूलाई तटस्थ राख्ने निर्णय गरेका छन् ।
काठमाडौं । कांग्रेस सभापति निर्वाचनको पहिलो चरणमा २२ मत पाएका पाँचौ उम्मेदवार कल्याण गुरुङले पनि दोस्रो चरणमा शेरबहादुर देउवालाई समर्थन गरेका छन् । साथीहरूसँग सल्लाहपछि पहिलो हुनेलाई नै समर्थन जनाएको उनले बताए ।
अब शेखर कोइरालाबाहेक सभापतिका सबै उम्मेदवार देउवासँग उभिएका छन् । पहिलो चरणमा सभापतिका प्रत्यासी गुरुङले २० मत ल्याएका थिए ।
काठमाडौं । कांग्रेस सभापतिको दोस्रो चरणको चुनावमा प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् ।
आफूलाई भेट्न आएका देउवासँग उनले यस विषयमा सहमति गरेका हुन् ।
दोस्रो चरणको चुनावअघि सिंहलाई भेट्न देउवा उनको निवास चाक्सीबारीमा पुगेका हुन् । दुई नेताबीच वार्तापछि दोस्रोचरणमा देउवालाई सघाउन सिंह सहमत भएका छन् ।
भेटमा देउवाले आफ्नो कमजवोरी सच्याउँदै पार्टीलाई सुधार गरेर लैजाने वचनबद्धता व्यक्त गरेका थिए । सिंहको समर्थनसँगै दोस्रो चरणको चुनावमा देउवाको दाबेदारी बलियो बनेको छ । पहिलो चरणमा चुनाव जित्न उनलाई ८२ भोट मात्र अपुग भएको थियो ।
काठमाडौं । नेपाली कांग्रेसको आगामी नेतृत्व चयनका लागि प्रतिनिधीहरुको भोट ट्याङ्कीमा खस्न थालिसकेका छन् । अब सबैलाई चासो र प्रतिक्षा छ मत परिणामको ।
कागजी मतदान भएकाले मत परिणाम आउन लामै समय धुकधुकी थामेर पर्खिनुपर्ने हुन सक्छ ।
कांग्रेसले मेसिनमा भन्दा ट्याङ्कीमा भरोसा गरेपछि मतगणना कार्य लामो र झण्झटिलो हुने भएको हो । यद्यपि, दुई प्यानलबीच तीव्र प्रतिस्पर्धा हुने अवस्थामा मतगणना उत्तिकै रोचक र खुल्दुलीपूर्ण हुन सक्छ ।
यसपाली पार्टीका मुल नेतृत्व अर्थात सभापतिको प्रतिस्पर्धा निकै पेचिलो हुने देखिएको छ । सभापतिमा ५ उम्मेदवार भए पनि शेरबहादुर देउवा र शेखर कोइरालाबीच द्विपक्षिय प्रतिस्पर्धा हुने सबैले आँकलन गरिरहेका छन् । उनीहरुमध्ये को अगाडि छ भन्न सकिने स्थिति छैन । यद्यपि, एकथरि विश्लेषणअनुसार यदि देउवाले पहिलो चरणमा चुनाव जितेनन् भने दोस्रो चरणमा शेखरले खेल उल्टाउन सक्छन् ।
कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत अर्थात ५१ प्रतिशत प्राप्त गर्नुपर्ने हुन्छ । अहिलेको गुटगत सन्तुलन हेर्दा दुवै उम्मेदवारले पहिलो चरणमा ५१ प्रतिशत ल्याउन कठिन हुन सक्ने विश्लेषण गरिएको छ । यदि त्यसो भएन भने नयाँ सभापतिका लागि फेरि अर्को निर्वाचन गर्नुपर्ने हुन्छ ।
पहिलो चरणको चुनावमा पहिलो र दोस्रो सर्वाधिक मत प्राप्त गर्ने दुई उम्मेदवारले मात्रै दोस्रो चरणको चुनाव लड्न पाउने छन् । त्यसैले दोस्रो चरणमा दुईमध्ये एकजनाले बहुमत ल्याउने निश्चितप्राय: हुन्छ ।
कांग्रेसको अघिल्लो १३ औं महाधिवेशनमा देउवाले दोस्रो चरणमा जित हासिल गरेका थिए । पहिलो चरणमा पहिलो र दोस्रो सर्वाधिक मत ल्याएका देउवा र रामचन्द्र पौडेलबीच दोस्रो चरणमा भिडन्त भएको थियो । त्यसमा देउवाले १८ सय २२ मत लयाएर विजयी भए भने पौडेल १२ सय ९६ मत ल्याएर पराजित बने । ५ सय २६ मतको भारी अन्तरले देउवाले चुनाव जितेका थिए ।
यो पटक देउवाले पहिलो चरणमै जित हासिल गर्न चाहेका छन् । कृष्ण सिटौलाको टिमको समर्थन प्राप्त गरेकाले पनि देउवा पहिला चरणमा आशावादी छन् ।
संस्थापनइतर समूहबाट दुई बलिया उम्मेदवार भएकाले उनीहरुको भोट बाँडिने र आफूहरुलाई अनुकुलता मिल्ने बुझाइ देउवा पक्षमा छ ।
संस्थापन पक्षबाट पनि विमलेन्द्र निधीले सभापतिमा उम्मेदवारी दिएका छन् । तर, उनले देउवाको भोट खासै नकाट्ने संस्थापन पक्षका नेताहरुको दावी छ ।
यता संस्थापनइतर समूह चाहिँ सभापतिको चुनाव दोस्रो चरणमा धकेल्ने रणनीतिमा देखिएको छ । पहिलो चरणमा देउवाभन्दा पछि परे पनि दोस्रो चरणमा उनलाई उछिन्न सकिने विश्वास संस्थापन इतरका नेताहरुले व्यक्त गरिरहेका छन् ।
दोस्रो चरणमा देउवाबाहेकका सबै उम्मेदवारले आफूलाई समर्थन भन्ने विश्वासमा छन् शेखर । विगतमा देउवा निकट रहेका सभापतिका उम्मेदवार विमलेन्द्रले दोस्रो चरणमा देउवाविरुद्ध सबैको मोर्चाबन्दी हुने हिजो बताए । यसबाट संस्थापनइतर समूह हौसिएको छ ।
यदि साँच्चै दोस्रो चरणमा देउवाविरुद्ध सबै एकजुट भए भने शेखरको सम्भावना बलियो बन्न सक्छ । देउवाका परम्परागत प्रतिस्पर्धी र पार्टीमा बलियो गुट भएका रामचन्द्र पौडेलको समर्थन शेखरको शक्तिको सबैभन्दा ठूलो स्रोत हो ।
यस्तै, सभापतिका अर्का आकांक्षी पूर्वमहामन्त्री सशांक कोइरालाले पनि उनलाई समर्थन गरेका छन् ।
पहिलो चरणको चुनावमा प्रकाशमान र विमलेन्द्र छाँटिए भने उनीहरुको समर्थन दोस्रो चरणमा महत्वपूर्ण बन्न सक्छ । विमलेन्द्रले शेखरलाई सघाउने बाचा गरेका छन्, तर प्रकाशमानको रणनीति स्पष्ट छैन । आफू हारेपछि दोस्रो चरणमा उनी मौन बस्न सक्ने सम्भावना पनि छ ।
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापतिका प्रत्यासी शेरबहादुर देउवाले कांग्रेसमा प्रधानमन्त्री र पार्टी सभापति फरक-फरक हुनु नहुने तर्क पेस गरेका छन् । उनले गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईको दृष्टान्तसमेत दिएर आफूलाई नै सभापति बनाउन भोट मागे ।
कांग्रेस निर्वाचनको पूर्वसन्ध्यामा देउवाले पत्रकार सम्मेलन आयोजना गर्दै आफू फेरि पार्टी सभापति बन्नु अति आवश्यक भएको बताए ।
उनले भने, ‘पहिले गिरिजाप्रसाद कोइराला र किसुनजीको पालामा प्रधानमन्त्री र पार्टी सभापति फरक-फरक हुँदा कति झगडा भएको थियो हामीलाई थाहा नै छ । एउटै व्यक्ति सभापति र प्रधानमन्त्री भए देशमा पनि स्थायित्व हुन्छ । त्यसैले म पार्टी सभापति हुनु अति आवश्यक छ ।’
देउवाले आफू सभापति बनेको खण्डमा कांग्रेसलाई स्थानीय तह र प्रदेशदेखि केन्द्रसम्म विजयी बनाउने वाचा गरे । देउवा र गिरिजाबाबुको पालोमा पार्टी र सरकार प्रमुख फरक फरक हुँदा समस्या आएको उनले बताए ।
देउवाको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका वरिष्ठ नेता कृष्ण सिटौलासमेत उपस्थित थिए ।
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको महाधिवेशनस्थलमा महाधिवेशन प्रतिनिधिहरूसँगै खाना खाएका छन् ।
महाधिवेशन प्रतिनिधिहरूका लागि भृकुटीमण्डपमा खानाको व्यवस्थापन गरिएको थियो । सभापति पदका उम्मेदवारसमेत रहेका प्रधानमन्त्री देउवाले अन्य प्रतिनिधिहरूसँगै लाइनमै उभिएर खाना खाएका हुन् ।
खाना खानेक्रममा देउवाले प्रतिनिधिहरूसँग भलाकुसारीसमेत गरेका छन् । देउवाले आफू निर्वाचन हारे सरकार पनि ढल्ने भन्दै प्रतिनिधिहरूसँग मत मागेका थिए ।
काठमाडौं ।नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले जसरी पनि सभापतिमा जित्न आवश्यक रहेको बताएका छन् ।
आइतबार लैनचौरको एक बैंक्वेटमा आदिवासी जनजाति विभागले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले आफूले फेरि सभापतिमा जित्न आवश्यक भएको भन्दै सहयोगका लागि प्रतिनिधिसँग भोट मागेका छन् ।
‘मैले हारेँ भने मलाई प्रधानमन्त्रीबाट हटाउँछन् । त्यसैले मैले जित्नै पर्छ, जित्न आवश्यक छ । पार्टीको चुनाव पनि नजित्नेले देश कसरी चलाउँछन भनेर मलाई प्रश्न गर्छन्’, देउवाले भने ।
आफूले सभापतिमा हारे सरकारबाट पनि हटाउन सक्ने चिन्ता ब्यक्त गर्दै देउवाले भने, ‘मलाई जिताइदिनु होला । विगतमा पनि कांग्रेसलाई सबैको पार्टी बनाएर लगिरहेको हो । अब पनि मेरोभन्दा हाम्रो अनि सबैको साझा पार्टी बनाएर लैजानुपर्छ ।’
देउवाले आफू कांग्रेस महाधिवेशनमा हारेको खण्डमा मुलुकमा फेरि केपी ओली सत्तामा फर्किने खतरा रहेको समेत बताए ।
काठमाडौं । नेपाली कांग्रेसको भावि सभापतिका लागि ६ जना उम्मेदवार खडा भएका छन् । सतहमा हेर्दा हालका सभापति शेरबहादुर देउवा र संस्थापनइतरका उम्मेदवार शेखर कोइरालाबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।
सभापतिका लागि कांग्रेसका चर्चित हस्तीहरु देउवा, कोइराला, विमलेन्द्र निधि र प्रकाशमान सिंहले उम्मेदवारी दिएका छन् । यस्तै, ‘लो प्रोफाइल’का नेताहरु कल्याण गुरुङ र युवराज न्यौपानेको पनि सभापतिमा उम्मदवारी परेको छ, यद्यपि उनीहरु ‘रेस’मा पछाडि छन् ।
पाँचपटक देशको प्रधानमन्त्री समेत भइसकेका देउवाको कांग्रेसमा आफ्नै लिगेसी छ । आमजनतामा ‘ग्ल्यामर’ भएका नेता होइनन् देउवा, तर कांग्रेसभित्र तल्लो पंक्तिसम्म उनले बलियो जरा गाढेका छन् । त्यसैले उनको बिरासतलाई हल्लाउन अन्य प्रतिस्पर्धीलाई सहज छैन । सुदूरपश्चिमलाई आफ्नो राजनीतिको मुख्य धरातल बनाएका देउवाले अहिलेसम्म कुनै पनि संसदीय चुनाव हारेका छैनन् ।
विपक्षीहरुका लागि देउवाका आलोचनाका पक्ष अनगिन्ती छन् । विचार-सिद्धान्तमा खासै रुची नराख्ने, भाषणमा कमजोर, विलासी जीवनशैली, अनेकन विवाद र काण्डमा मुछिएको, कांग्रेसलाई दिशाहीन र कमजोर बनाएको आदि आदि । उनको सवल पक्ष भनको रणनीतिक चातूर्यता र निर्णय क्षमता हो । यही सवलताले गर्दा उनले कांग्रेसमा समकालीन नेताहरुलाई उछिनेर पटक-पटक प्रधानमन्त्री अनि पार्टी सभापति बने । अहिले पनि प्रधानमन्त्री पदमा छन् । यसले पनि उनको पक्षमा चुनावी माहोल बलियो छ ।
यसपालीको चुनावमा देउवाका लागि थप अनकुलता भनेको कृष्ण सिटौलाको समर्थन हो । अघिल्लो महाधिवेशनमा सभापतिकै प्रत्याशी रहेका सिटौलाको गुट देउवामा समाहित भएको छ । यद्यपि, यस गुटका प्रभावशाली नेता गगन थापा उछिट्टएर संस्थापनइतर क्याम्पमा पुगेका छन् ।
देउवाले उभ्याएको प्यानल हेर्दा प्राय पार्टीका पुराना अनुहारहरु हावी छन् । महामन्त्रीमा भने उनले जुनियर नेता प्रदीप पौडेललाई समेटेका छन् । सिटौलाको समर्थन लिने क्रममा उनले महामन्त्री पदमा आफ्नो गुटमा विश्वप्रकाश शर्मालाई हुत्याएर प्रदीपलाई अघि सारेका हुन् । प्रदीपको उम्मेदवारीलाई लिएर देउवाको समूहमा असन्तोष नरहेको होइन, तर कसैले पनि खुलेर विरोध गरेनन् ।
देउवाका अर्का महामन्त्रीमा डा. प्रकाशशरण महत छन् । हालका सहमहामन्त्री महतको महामन्त्रीमा दावेदारी स्वभाविक थियो । उनी औसत क्षमताका नेताका रुपमा चिनिन्छन् ।
उपसभापति पदमा देउवाले पार्टी आफ्ना पुराना सहयोगी पूर्णबहादुर खड्का र दुई वर्षअघि कांग्रेसमा पुनरागमन गरेका विजय गच्छदारलाई उभ्याएका छन् । देउवाका विश्वासपात्र खड्का धेरैपटक मन्त्री र कांग्रेस महामन्त्री भएर पनि राष्ट्रिय पहिचान बनाउन नसकेका नेता हुन् । यस्तै, गच्छेदार जनमानसमा अलोकप्रिय अनुहार हुन् । यद्यपि, गुट बलियो भएकाले उनीहरुको दावेदारी स्वतः बलियो हुने छ ।
सभापतिका अर्का प्रतिस्पर्धी शेखर कोइराला एक प्रकारले ‘अनटेस्टेड’ नेता हुन् । उनी अहिलेसम्म पार्टी वा सरकारको महत्वपूर्ण जिम्मेवारीमा पुगेका छैनन् । नेपाली कांग्रेसमा कोइराला परिवारको अत्यन्तै ठूलो विरासत छ । वीपी कोइरालाका दाजु केशव कोइरालाका छोरा शेखर यसअघिको महाधिवेशनमा सर्वाधिक लोकप्रिय मतका साथ केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।
२०४७ सालपछि मात्रै राजनीतिमा सक्रिय भएता पनि पछिल्लो कालखण्डमा उनी कांग्रेसका हस्ती नेताका रुपमा चिनिएका छन् । उनी केन्द्रीय सदस्यबाट एकैचोटि सभापतिको दावेदार बन्दा पनि त्यसलाई अस्वभाविक मानिएको छैन ।
कोइरालाको बलिया पक्ष भनेको निस्कलंक छवि हो । विपक्षीहरुले उनीमाथि प्रहार गर्न सक्ने गतिलो प्वाइन्ट छैन । यद्यपि, उनको नेतृत्व क्षमतामा भने प्रश्न उठाउने गरिएको छ । बोल्ड निर्णय लिन नसक्ने र संगठनमा मजबुतभएकाले उनले कांग्रेसलाई नयाँ गति दिन नसक्ने आलोचक बताउँछन् ।
जे भए पनि यसपाली देउवाका कठिन प्रतिस्पर्धीका रुपमा कोइरालालाई हेरिएको छ । रामचन्द्र पौडेलको समर्थनले गर्दा एउटा ब्लकको भोट आउने निश्चित नै छ । साथै, उनले आफ्नो प्यानलमा डा. मिनेन्द्र रिजाल, गगन थापा, धनराज गुरुङ, चन्द्र भण्डारीजस्ता प्रभावशाली नेताहरुलाई समेटेका छन् । कागजीरुपमा उनको प्यानल बलियो देखिएको छ ।
सभापति पदका लागि उभिएका प्रकाशमान सिंह र विमलेन्द्र निधी पनि कांग्रेसका खम्बाहरु हुन् । यद्यपि, उनीहरुसँग सशक्त गुट छैन । रामचन्द्र पौडेल र शशांक कोइरालाले शेखरलाई समर्थन गरेकाले सिंहको दावेदारी कमजोर बनेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा वाध्यात्मक अवस्थामा उनको प्यानलबाट महामन्त्री उठेका छन् भने कोइराला परिवारबाट विद्रोह गरेर सुजाता कोइरालाले उपसभापति पदमा उम्मेदवारी दिएकी छन् ।
निधिको प्यानलबाट उपसभापति र महामन्त्रीमा उम्मेदवारी परेको छ । यद्यपि, उनीहरु कांग्रेसमा चिनिएका नाम होइनन् । देउवासँगको लामो साझेदारी तोडेर सभापति बन्न कस्सिएका निधि चुनावसम्म आइपुग्दा दौडमा पछि परेका छन् ।
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी संख्या थप्ने तयारी गरिएको छ । भोलिबाट सुरू हुन लागेको १४औँ महाधिवेशनमा नेताहरूको व्यवस्थापन हेरेर प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले खुला सहमहामन्त्री थप्ने तयारी गरेका हुन् ।
अहिले कांग्रेसमा ८ जना सहमहामन्त्री छ । खुला २ जना सहमहामन्त्री थपेर १० बनाउन लागिएको हो ।
१३औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति सदस्यको आज बस्ने अन्तिम बैठकमा देउवाले पदाधिकारी संख्या थप गर्ने प्रस्ताव लैजाने तयारी भइरहेको छ ।
विधान संशोधन गरेर सहमहामन्त्री थप गर्ने देउवाको तयारीमा असहमति जनाउँदै वरिष्ठ नेता रामचन्द्र पौडेल बैठकमा नजाने भएका बताइएको छ ।
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनले सकेसम्म सहमतिमा नेतृत्व चयन गर्ने बताएका छन् । सहमतिका लागि गरिएको प्रयास असफल भएमात्र निर्वाचन हुने उनले बताए ।
सहमहामन्त्री डा. प्रकाशशरण महतद्वारा लिखित ‘नेपाली कांग्रेस एण्ड नेशन बिल्डिङ’ नामक पुस्तकको विमोचन गर्दै देउवाले नेतृत्व चयनका लागि हुने प्रतिस्पर्धालाई लिएर कुनै पनि किसिमको कटुता, मनोमालिन्य र असहिष्णुता प्रदर्शन नगर्न आग्रह गरे ।
महाधिवेशनलाई सफलताका साथ सकेर गाउँघर फर्की कांग्रेसलाई आगामी आम निर्वाचनमा सबैभन्दा ठूलो पार्टी बनाउने अभियानमा जुट्न पनि नेता, कार्यकर्तालाई उनले आह्वान गरे । देउवाले भने, ‘नेपालको प्रजातान्त्रिक भविष्यका लागि यो महाधिवेशन अत्यन्तै महत्वपूर्ण हो । सबै मानिस उत्साहित भएर आएका छन । मलाई विश्वास छ- यस उत्साहपूर्ण घडीमा यसलाई सफल पारेर फर्किँदा साथीहरू अत्यन्तै उत्साहका साथ गाउँघरमा फर्केर पार्टीलाई बलियो बनाएर भोलिको आमचुनावमा नेपाली कांग्रेसलाई फष्ट पार्टी बनाउने काममा लाग्नुहोला ।’
‘हामीहरू भरसक सहमतिका साथ अगाडि जान्छौं । केही लागेन भने महाधिवेशनमा प्रतिस्पर्धा पनि होला । तर, प्रतिस्पर्धामा जितहार हुन्छ । त्यसमा हार्नेले जित्नेलाई सहयोग गर्ने, जित्नेले हार्नेको सहयोग लिने’, देउवाले भने, ‘यसलाई सामान्य प्रक्रियाको रूपमा लिने, कुनै पनि किसिमको कटुता, मनोमालिन्य, एकअर्कामा असहिष्णुता नआओस् । यी कुराहरूबाट अगाडि बढनुपर्छ ।’
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षको बैठकले पार्टीमा अझै एक कार्यकाल सभापति शेरबहादुर देउवाको नेतृत्व अपरिहार्य भएको ठहर गरेको छ ।
सभापति देउवाको बूढानीलकण्ठस्थित निवासमा बसेको संस्थापन पक्षको बैठकले देउवाकै नेतृत्वमा महाधिवेशनमा होमिने निर्णय गरेको छ । बैठकले पदाधिकारी र केन्द्रीय सदस्यमा आकंक्षा राख्नेहरूको व्यवस्थापनका लागि पुनः शीर्ष तहमा छलफल गर्ने निर्णयसमेत गरेको छ ।
बैठकमा सहमहामन्त्री डा. प्रकाशशरण महत, गृहमन्त्री बालकृष्ण खाण, संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, प्रवक्ता विश्वप्रकाश शर्मा, नेता एनपी साउदलगायतले महामन्त्री लड्ने आकांक्षा व्यक्त गरेका छन् । केही केन्द्रीय सदस्यहरूले सहमहामन्त्रीमा दाबी प्रस्तुत गरेका छन् ।
बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै सहमहामन्त्री महतले महाधिवेशनमा संस्थापन पक्षलाई एकताबद्ध र अझ बलियो बनाउने विषयमा छलफल भएको बताए । बैठकले नेतृत्व परिवर्तन आवश्यक नरहेको र मुलुकले नै देउवाको नेतृत्व आवश्यक रहेको ठहरसमेत गरेको छ ।
‘राष्ट्रिय राजनीतिमै हाम्रो सभापति शेरबहादुर देउवाजीको नेतृत्व स्थापित भएको बेला उहाँकै नेतृत्वमा कांग्रेस अगाडि बढ्नुको विकल्प छैन भन्ने निष्कर्ष रह्यो । पार्टीभित्र उहाँले बहुमतको प्रयोग नगरी सहमतिका लागि प्रयास गर्दै आउनुभएको हो । फेरि पनि उहाँकै नेतृत्वमा हामी गोलबन्द हुने भयौ’, महतले भने ।
उनले पदाधिकारीका उम्मेदवारबारे पर्याप्त छलफल गरेर सहमतिमै टुंगो लगाइने जानकारी समेत दिए ।
काठमाडौं । महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्यहरूको प्यानल बनाउन कांग्रेस संस्थापन र पौडेल समूह छुट्टाछुट्टै छलफलमा जुटेका छन् ।
सभापति शेरबहादुर देउवाले बूढानीलकण्ठस्थित आफ्नो निवासमा आफूपक्षीय केन्द्रीय पदाधिकारी र सदस्यहरूलाई बोलाएका हुन् । सो बैठकमा उपसभापति विमलेन्द्र निधिलाई भने बोलाइएको छैन ।
बूढानीलकण्ठमा संस्थापन पक्षको बैठक चलिरहँदा अनुपम फुडल्याण्डमा रामचन्द्र पौडेल पक्षको बैठक जारी छ । बैठकलाई सम्बोधन गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल मिलेर जानुको विकल्प नभएकोले के गर्दा उपयुक्त हुन्छ सहभागीको सुझावको आधारमा आफूहरू अघि बढ्ने भन्दै छलफलका लागि ‘फ्लोर ओपन’ गरेर बाहिरिएका छन् ।
पार्टीका निवर्तमान र नवनिर्वाचित जिल्ला सभापति, प्रदेश सभापति र प्रत्यासी तथा केन्द्रीय सदस्यहरूसहितको भेलामा पौडेलबाहेक सभापतिका अन्य दाबेदार प्रकाशमान सिंह र शेखर कोइराला सहभागी नहुने र भेलाको सुझाव अनुसार नेताहरू फेरि बस्ने हिजै समझदारी भएको थियो ।
काठमाडौं । आसन्न महाधिवेशनमा पदाधिकारीका उम्मेदवार तय गर्न र केन्द्रीय सदस्यहरूका प्यानल बनाउनेबारे छलफल गर्न नेपाली कांग्रेसको संस्थापन पक्षको बैठक बसिरहेको छ ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलण्ठमा बसेको बैठकमा उपसभापति विमलेन्द्र निधिलाई भने बोलाइएको छैन ।
यसअघि संस्थापन पक्षमै रहेका निधिले सभापतिको उम्मेदवारी घोषणा गरेका छन् । निधिले आफूलाई बैठकमा नबोलाइएको भन्दै संस्थापन पक्षले आफूलाई नबोलाउनु स्वाभाविक रहेको प्रतिक्रिया दिए ।
बैठकमा अन्य पदाधिकारी र देउवा पक्षधर केन्द्रीय सदस्यहरू छन् । संस्थापन पक्षबाट सभापतिमा देउवालाई निधिले चुनौती दिएकाले उनलाई बैठकमा नबोलाइएको हो ।