Tag: शुल्क

  • खोप लगाएकाको प्रमाणपत्रको शुल्क नलिन मन्त्रालयको आग्रह

    खोप लगाएकाको प्रमाणपत्रको शुल्क नलिन मन्त्रालयको आग्रह

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाएकाको क्युआर कोडसहित प्रमाणपत्रको शुल्क नलिन आग्रह गरेको छ ।

    केही म्यानपावर कम्पनीले प्रमाणपत्रका लागि वैदेशिक रोजगारमा जाने व्यक्तिसँग शुल्क लिइरहेको जानकारीमा आएकाले विज्ञप्ति जारी गर्दै सो आग्रह गरिएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए ।

    विदेश जानुपर्ने कतिपय व्यक्तिले कोभिड–१९ विरुद्धको खोप लगाएको क्युआर कोडसहितको प्रमाणपत्र लिन अनलाइन फाराम भरी म्यानपावर कम्पनीलाई शुल्क बुझाउनु परेको गुनासा प्राप्त भएकाले त्यसो नगर्न अनुरोध गरिएको र शुल्क लिनेलाई कडा कारवाही गरिने पनि विज्ञप्तिमा उल्लेख छ ।

  • हेलिकप्टर कम्पनीलाई बढी शुल्क नलिन क्यानको निर्देशन

    हेलिकप्टर कम्पनीलाई बढी शुल्क नलिन क्यानको निर्देशन

    काठमाडौं । आकस्मिक उद्धारका नाममा हेलिकप्टर कम्पनीले तोकेभन्दा बढी शुल्क लिएको भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    प्राधिकरणले विज्ञप्ति जारी गर्दै कोरोना सङ्क्रमित यात्रुलाई ओसारपसार गर्दा हेलिकप्टर कम्पनीले लिने गरेको अतिरिक्त शुल्कलाई अझ न्यून गर्न प्राधिकरणले सबै हेलिकोप्टर कम्पनीलाई निर्देशन दिइसकेको स्पष्ट पारेको छ ।

    यस्तै, उडानमा बिचौलियामार्फत हुन सक्ने अवाञ्छित गतिविधिलाई कडाइका साथ नियन्त्रण गर्न सबै हेलिकप्टर कम्पनीलाई सम्पर्क कर्मचारी र टेलिफोन नम्बरसमेत सार्वजनिक गर्न निर्देशन दिएको क्यानले जनाएको छ ।

    क्यानको निर्देशनबमोजिम हेलिकोप्टर कम्पनीले सरकारले तोकेको प्रतिघिण्टाको भाडादरमा समेत सहुलियत प्रदान गरी उडान सञ्चालन गरिरहेको तर कोभिड–१९ सङ्क्रमित यात्रु बोक्नु पर्दा भने त्यस यात्रुको व्यवस्थापन एवम् चालक दल तथा अन्य संलग्न कर्मचारीको स्वास्थ्य जोखिमबापत थप अतिरिक्त शुल्कसम्बन्धी हेलिकोप्टर कम्पनीले लिँदै आएको पाइएको विज्ञप्तिमा उल्लेख छ ।

    निर्धारित शुल्कभन्दा बढी रकम नलिन तथा यस सम्बन्धमा कुनै किसिमको गुनासो भए प्राधिकरणको पदाधिकारीलाई सम्पर्क गर्नसमेत क्यानले सबैमा हार्दिक अनुरोध गरेको छ ।

    यसैबीच, हवाई सेवा सञ्चालकहरूको छाता सङ्गठन वायु सेवा सञ्चालक सङ्घले पनि छुट्टै विज्ञप्ति जारी गर्दै कोभिडका बिरामी उद्धारका नाममा बढी भाडा नलिन आफ्ना सबै सदस्य कम्पनीलाई अनुरोध गरेको छ ।

    अहिलेको परिस्थितिमा सदस्य वायुसेवा कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व सम्झी कोभिड बिरामी उद्धार उडानमा खटिएको स्मरण गराउँदै सङ्घले नियामक क्यानको नीति नियममा रहेर उडान गरिरहेको स्पष्ट पारेको छ ।

    सङ्घले तीन वर्षअघि क्यान र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरेको एएस ३५० हेलिकोप्टरको युएस डलर १५०० प्रतिघण्टा एवम् रोविन्सन्स हेलिकोप्टरहरूको युएस डलर एक हजार प्रतिघण्टा दरभाउमा हाल पनि उडान गर्दै आइरहेको र हाल सो दरभन्दा पनि कममा उडान गरिरहेको सङ्घले जनाएको छ ।

    कोभिड बिरामी उद्धार उडानमा मात्र संलग्न भएका कम्पनीका प्रतिनिधिहरूलाई सम्पर्क गर्नसमेत अनुरोध सङ्घले गरेको छ । यदि कहीँ कतै बढी रकम लिएको र गलत गरेको लागेमा यस सङ्घ र क्यानमा सिधै सम्पर्क गरी गुनासो एवं जानकारी गराई दिनसमेत सबैमा अनुरोध गरेको छ ।

     

  • चिकित्सा शिक्षामा शुल्क नबढाउन प्रधानमन्त्री ओलीको निर्देशन

    चिकित्सा शिक्षामा शुल्क नबढाउन प्रधानमन्त्री ओलीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षामा शुल्क नबढाउन निर्देशन दिएका छन् ।  शुक्रबार भएको बैठकमा  चिकित्सा शिक्षा आयोगका शुल्क निर्धारण सिफारिस कार्यदलले पेश गरेको शुल्क घटाउन प्रधानमन्त्री ओलीले निर्देशन दिएका हुन् ।

    बैठकमा  आयोगले शैक्षिकसत्र २०७७–०७८ मा एमबिबिएस कार्यक्रमको लागि ८ लाख रुपिया बढाउनुपर्ने प्रस्ताब पेश गरेको थियो ।

    आयोग शुल्क निर्धारण कार्यदलले विभिन्न कारण देखाउदै ४० लाख २३ हजार २ सय ५० रुपियाबाट वृद्धी गरी ४८ लाख रुपिया सिफारिस गरेको थियो ।
    आयोगको अध्यक्ष समेत रहेका प्रम ओलीले योवर्ष शुल्क नबढाउन निर्देशन दिएका हुन् । ‘कोरोनाले अर्थतन्त्र धरासायी बनिरहेको वेला शुल्कवृद्धी गर्नु हुदैन,’ प्रधानमन्त्री ओलीले भने,  अहिले शुल्क बढाउने कुरा नगर्नुस, स्थगित गर्नुहोस  ।’

    प्रम ओलीले कार्यदललाई निर्देशन दिंदै भने बरु शुल्क घटाउने विषयमा कुरा गर्नुस , बढाउनु हुदैन । लगत्तै आयोगका सहअध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले गलत शन्देश जाने भएकोले यो अवस्थामा शुल्क नबढाउन सुझाव दिए ।

    सिफारिस समितिले १७ विषय मध्ये अधिकांसमा बढाउने सिफारिस गरेको थियो । बिडिएस, एमडिएमएस, एमडिएस साइन्स,एमडि आयुर्वेद, एमएन एमएस्सी नर्सिङ, एम फर्मा, एमएस्सी मेडिकल माइक्रबायोलोजी, एमएस्सी बेसिक साइन्स, एमफिल क्लिनिकल साइकोलोजी मा शुल्क बढाउन सिफारिस गरेको थियो ।

    बैठकमा  बिडिएसमा करिब एक लाखरुपिया बढाउन सिफारिस गरेको थियो । एमडिएमएस क्लिनिकल, र एमडिएस क्लिनिकलमा यथावत राख्न सिफारिस गरेको थियो । बैठकले यो विषयमा कुनै निर्णय गर्न नसकेपनि तत्कालको अवस्था विश्लेषण गरी शुल्क निर्धारण गर्न मन्त्री श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय कार्यदल बनाउने निर्णय गरेको छ ।

    कार्यदलमा सहअध्यक्ष एवं स्वाथ्यमन्त्री हृदयश त्रिपाठी, शिक्षा सचिव गोपीनाथ मैनाली, स्वाथ्य सचिव लक्ष्मण अर्याल, राष्ट्रिय योजना आयोगका सदस्य (शिक्षा) डा.उषा झा, आयोगका उपाध्यक्ष डा.श्रीकृष्ण गिरी र आयोगका सदस्य सचिव डिल्लीराम लुईटेल रहेका छन् ।

    सो समितिले सिफारिस गरेको आधारमा शुल्क निर्धारण हुनेछ । तर ८ लाख रुपिया बढाउने विषयमा कसैको सहमति रहेको छैन । आयोगका सहअध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्रेष्ठले यस्तो अवस्थामा शुल्क बढाउन नहुने बताए ।

    बैठकमा उनले शुल्क बढाउने विषयमा छलफल भएतापनि अहिले निर्णय गर्न नसकिने उल्लेख गरे । उनले समितिको बैठकले गरेको निर्णय कार्यान्वयन हुने बताए ।

    बैठकले शुल्क निर्धारण सगै सबै निर्णय एकैपटक स्विकृत गर्नेगरी बैठक सकिएको छ । बैठकमा सहअध्यक्ष सहित अधिकांसले अन्य विषयका कुनै प्रतिक्रिया नजनाएपनि शुल्क बढाउन नहुने धारणा राखेका थिए । अध्यक्ष एवं प्रधानमन्त्री ओलीको धारणा र निर्देशनलाई सबैले समर्थन गरेका थिए ।

    भत्ता नलिऔ : प्रम
    प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीले आयोगको बैठक भत्ता नलिन आग्रह गरे । बैठकमा सम्बोधन गरेर बाहिरिनेक्रममा भत्ताको विषय उठान भएपछि प्रम ओलीले सबैको महत्वपुर्ण विषयमा कुनैपनि किसिमको भत्ता लिन नहुने बताए । यस्तो बैठकको भत्ता कसैले नलिऔ– आयोगका अध्यक्ष समेत रहेका प्रम ओलीले सबैलाई भने ।
    अध्यक्षको भनाईलाई सबैले सहमति जनाएपछि पाचौ बैठकमा कसैलाईपनि भत्ता उपलब्ध गराइएको थिएन ।