Tag: शिवराज सुवेदी

  • ‘कोरोना कहरमा नागरिकका सारथि बन्यौं, अरु पनि देखिने थुप्रै काम भएका छन्’

    ‘कोरोना कहरमा नागरिकका सारथि बन्यौं, अरु पनि देखिने थुप्रै काम भएका छन्’

    कोभिडको बेलामा जताततै त्रास थियो, आफ्नै घरमा समेत कसैलाई संक्रमित भए छुन त के नजिकै पर्न डराउने अवस्था थियो । त्यसबेलामा बुटवलका मेयर शिवराज सुवेदी स्वास्थ्यकर्मी बोकेर संक्रमितको घरदैलोमा पुगेका थिए । यो मुलुकमा कहीँ पनि नभएको काम बुटवलबाट सुरु भएको हो । संक्रमितको घरदैलोमा पुगेर स्वास्थ्य लाभको कामना गर्ने, हौसला बढाउने, आयुर्वेद ओखती प्रदान गर्ने र योगा सिकाउने कामको सुरुआत गर्ने पहिलो जनप्रतिनिधि बुटवलका मेयर सुवेदी हुन् ।

    त्यस अभियानमा उपप्रमुख गुमादेवी आचार्य, प्रवक्ता रामप्रसाद रेग्मी, सम्बन्धित वडाका अध्यक्ष र जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरु निरन्तर सहभागी भएर हजारौं संक्रमितको घरदैलोमा पुगेका थिए । संक्रमण नियन्त्रण र सचेतनामा पनि बुटवलले नै अगुवाई गरेको थियो । २४ घण्टामा आइसीयूसहितको ५० बेडको कोरोना विशेष अस्पताल बनाउने, क्वारेन्टिन र आइसोलेशन बनाउने पनि बुटवल नै हो । लुम्बिनी प्रादेशिक अस्पताल र यहाँका विभिन्न सामाजिक संघसंस्था एवम् निजी क्षेत्रलाई साथमा लिएर बुटवलले कोभिड महामारीमा मुलुककै अभिभावकको रुपमा काम गरेको थियो ।

    घरघरमा अक्सिजन सिलिण्डर र आयुर्वेदका औषधि बोकेर जाने, जोखिममा रहेका समुदायको पहिचान गरेर घुम्ती टोली खटाउने, सुत्केरी र गर्भवती लक्षित पोषणलाई निरन्तरता दिने, कोभिड कालमा पनि नियमित खोपलाई जारी राख्नेजस्ता महत्वपूर्ण कामले बुटवललाई मुलुकभरमा अगुवाइ गर्ने पालिकाका रुपमा चिनाएको छ । महामारी नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारणले आफ्नो थातथलोमा जान नसकेका, बाटोमा अलपत्र परेकालाई ठाउँ–ठाउँमा उद्दार केन्द्र स्थापना गरेर खाना खुवाउने, गन्तव्यसम्म पुर्याउने व्यवस्था मिलाउने र बेखर्चीलाई रकम समेत सहयोग गरेर धेरैलाई भरोशाको केन्द्र बनाउने काम भएको छ ।

    यस अवधिमा बुटवलमा के के काम भए र के कस्ता योजना तय गरियो भन्ने विषयमा बुटवलका प्रमुख सुवेदीसंग गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ-

    तपाईं मेयर भएपछि अगाडि बढाएका प्रमुख काम के–के हुन् ?

    हिजो सिंहदरबारप्रति जवाफदेही हुँदै सिंहदरबारको योजना र प्राथमिकीकरणमा परेका धेरै सेवाहरुलाई अहिले स्थानीय तहमार्फत् प्रवाह गरिएको अवस्था छ । हामीले आफुलाई सेवादेही अर्थात् सेवक र पालिकालाई सेवा केन्द्रका रुपमा विकास गरेका छौं । नागरिकको पहिलो र आधारभूत सेवाकेन्द्रका रुपमा स्थानीय पालिका रहेका छन् ।

    संविधानमै किटान गरेर राज्यशक्तिको बाडँफाँड र त्यसको प्रयोग गर्ने अधिकार प्राप्त स्थानीय तहको निर्वाचनमार्फत जनताले आफ्नो सबैभन्दा नजिकको सरकार प्राप्त गरेका छन्, संघीयताको असली कार्यान्वयन भएको अनुभूति गरेका छन् । यो अवधिमा कानून निर्माण, समृद्धिका आधार तय गर्ने र तिनलाई क्रमशः कार्यान्वयन गर्ने काम भइरहेका छन् । संविधानले प्रत्याभूत गरेका कार्यकारिणी, व्यवस्थापिकीय र न्यायिक अधिकारहरुको सदुपयोग गर्दै राज्य सत्ताको स्रोत र शक्तिमा जनताको पहुँच स्थापित भएको विषयलाई सकारात्मक रुपमा लिनुपर्छ ।

    संघीयता कार्यान्वयनको यो पहिलो प्रयासमा अरु मुलुकका तुलनामा हामीकहाँ छोटो अवधिमा पनि धेरै काम सम्पन्न भएका छन् जुन शुभसंकेत हुन् । यसमा पनि हामीलाई दुई वर्षदेखि कोभिड महामारीले सताएको अवस्था छ र महामारीबाट जोगिँदै, जोगाउँदै सेवाप्रवाह सूचारु राख्नुपर्ने पनि छ । यद्यपि यो अवधिमा हामीले बुटवल चिनाउने धेरै महत्वका काम गरेका छौं, अगाडि बढाएका छौं ।

    जनप्रतिनिधिका रुपमा आइसकेपछि नगर गौरव, प्रदेश सरकारसंगको सहकार्यमा अगाडि बढाइएका प्रदेश गौरव र संघीय सरकारसंगको सहकार्यमा राष्ट्रिय गौरवका आयोजनाहरुको पूर्णता दिनेतर्फ ध्यान दियौं । वडालाई सेवाकेन्द्रका रुपमा सञ्चालन गर्न भवन निर्माण, प्रमुख प्रशासकीय भवन निर्माण, नगर शिक्षा योजना, सहरी विकास गुरुयोजना निर्माणदेखि बुटवललाई डिजिटल सहरका रुपमा विकास गर्ने कुरा, सहयोगापेक्षी सडकमानवमुक्त र लैंगिक हिंसामुक्त सहर घोषणा गर्ने कुरा, समृद्धिका आधार तय गर्ने कुरा, राष्ट्रिय स्वाभिमानको जितगढी सम्पदाको संरक्षण, विस्तार र त्यसलाई उजागार गर्नेकुरा, बुटवलमा जितगढी संग्रहालय बनाउने कुरा, मुलुककै पहिलो ढुवानीग्राम निर्माणको कुरा, बुटवल बधशाला निर्माणको कुरा, सिमसारको संरक्षण गर्दै डुंगा सयर गर्न मिल्ने बैठौलिया ताल विस्तारको कुरा, बहुउद्देश्यीय सपिङ कम्प्लेक्स निर्माणका कुरा, आन्तरिक वाइपास सडक निर्माण, पुलपुलेसा निर्माण, उज्यालो सहर निर्माण सम्पन्न भइसकेका छन् ।

    यसका अतिरिक्त कैयन महत्वका काम हामीले सम्पन्न गरिसकेका छौं र जारी राखेका पनि छौं । समग्र बुटवल एक विद्यालयको अवधारणा तय गरेर त्यसलाई कार्यान्वयन गर्ने चरणको सुरुआत गरिएको छ । यो अवधारणा मुलुकमै नमूना हो भन्नेमा म ढुक्क छु । यसका बारेमा अलग्गै छलफल गर्नुपर्ने छ ।

    समृद्ध बुटवल, सुखी बुटवलवासी भन्ने मूल नाराका साथ नगरसभाबाट पारित विकास गुरुयोजना र निर्वाचनका समयमा घोषणापत्रमार्फत जनतासंग गरिएका प्रतिबद्धताहरुको आवधिक, मध्यकालीन र दीर्घकालीन योजनाअनुरुप कार्यान्वयन गरिरहेका छौं । भौतिक विकास र मानवीय विकासको सन्तुलनसहित नगर सरकारले अगाडि सारेका बहुवर्षे परियोजनाहरु र जनतासँग प्रत्यक्ष जोडिएका सवालहरु प्राथमिकतामा राखेर कार्यान्वयन गरिरहेका छौं । आवधिक योजनाहरु पूरा हुने र दीर्घकालीन महत्वका योजनाहरु प्रभावकारी रुपमा अगाडि बढिरहेको अवस्था छ ।

    बुटवलको पहिचान विस्तार भयो त ?

    बुटवल मुलुकको आर्थिक केन्द्र हो । बुटवल सांस्कृतिक सहर र पर्यटन सर्किटको प्रमुख स्थल हो । यसलाई हामीले तीनवटा पहिचानमा स्थापित गर्नेगरी योजना तय गर्ने र कार्यान्वयन गर्ने काम गरेका छौं । बुटवल बुद्धावलीको अर्थात् बुद्ध डुल्ने, खेल्ने गरेको क्षेत्र हो, बुटवल आदि मानवको सभ्यताको मुहान हो जहाँ आदिमानव रामापिथेकशको अवशेष फेला परेको छ । बुटवल राष्ट्रिय स्वाभिमानको किल्ला, वीरताको किल्ला जितगढी सम्पदा भएको स्थल हो । हामीले बुटवलका खास पहिचानमध्ये तीनवटालाई प्राथिमकतामा राखेर प्रतिविम्बित गर्ने प्रयास गरेका छौं ।

    बुद्ध, रामापिथेकश र कर्णेल उजीरसिंहलाई स्थानीय पाठ्यक्रममा समावेश गर्ने, तिनैमा केन्द्रित पर्यटन सर्किट बनाउने र साकार पार्ने काम गरिरहेका छौं । हामीले बुटवल प्रवेश गर्ने जोकोहीले पनि यीनै पहिचान देखेर केही बुझ्ने र गौरव गर्न सक्ने बनाउने पहल गरिरहेका छौं । पहिचान विस्तार गर्ने, बृहत बुटवलको लक्ष्य साकार पार्ने कामको सुरुआत यसैबाट गरिएको छ ।

    नागरिकले केही फरक अनुभूति गर्न पाए त ?

    संविधान जारी भएपछिको पहिलो स्थानीय सरकारका रुपमा हामी निवाचित भएका हौं । बुटवल नगरपालिकाका रुपमा स्थापित भएको ६३ वर्ष भएको छ । तर, नयाँ संवैधानिक व्यवस्थासहितको पहिलो कार्यकालका लागि हामी चुनिएर आयौं । नयाँ व्यवस्था सहितको कार्यपालिकाबाट हामीले बुटवलको सहरी विकास गुरुयोजना निर्माण गर्यौं, आवधिक रुपमा के–के गर्न सकिन्छ भनेर यकिन गर्यौं र दीर्घकालीन रुपमा बुटवलका लागि के कस्ता योजना बनाएर काम गर्न सकिन्छ भन्नेमा समेत अध्यय्न गरेर योजना तय गरि कार्यान्वयन गरिरहेका छौं ।

    पहिलो कुरा त हामीले आफूहरुलाई साशकका रुपमा होइन सेवकका रुपमा लिएर काम गरेका छौं । सेवकका रुपमा रहेर बुटवलका लागि के कस्ता योजना तय गरिए र ती योजनाहरुको कार्यान्वयन गर्ने के कस्ता कार्यक्रम बनाइए भन्ने कुराकै आधारमा मूल्याकंन हुने हो । हामीलाई विश्वास छ यो अवधिमा हामीले बृहत्त बुटवलको अवधारणा बनाएर त्यसलाई साकार पार्ने तर्फ महत्वपूर्ण काम गरेका छौं ।

    ऐतिहासिक नगरी बुटवललाई पहिलो कार्यकालमा के कस्तो बनाउने, त्यसपछिको दश वर्षमा कस्तो बनाउने, २० वर्षमा कस्तो र आगामी ५० वर्षमा कस्तो बनाउने भन्ने दीर्घकालीन महत्वका योजना तय गरिएको छ । त्यसरी योजना तय गर्दा हामीले प्रत्येक वडा, प्रत्येक टोल वस्तीमा पुगेर विभिन्न चरणमा छलफल चलायौं । समुदायको चाहना र अपनत्व झल्किने गरी योजना छनौट र ती योजनालाई कार्यान्वयन गर्ने उपयुक्त कार्यक्रम पनि बनाएका छौं । तिनै कार्यक्रमहरुलाई अहिले अगाडि बढाइरहेका छौं ।

    अबको कम्तिमा ५० वर्षपछिको यहाँको जनघनत्वको अनुमान गर्दै बृहत्त बुटवलको खाका बनाउने र त्यसलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्दै जाने काम भइरहेको छ । हामीले बनाएको सहरी विकास गुरुयोजनाले पनि आगामी केही दशकपछिको अवस्थाको आँकलन गर्दै सोही अनुरुपका योजना छनौट गरेको छ ।

    शिक्षा, स्वास्थ्य, उद्योग, व्यापार, कृषि, पर्यटन र रोजगारीलाई बुटवलको समृद्धिका आधारमा रुपमा लिने र तिनलाई साकार पार्नेगरि गुरुयोजनामा समेटिएको छ । अहिलेको घना बस्तीमा विजुली, पानी, फुटपाथ, सरसफाई, सुरक्षाको प्रवन्ध र नयाँ बस्ने बस्तीलाई प्लानिङसहितको स्याटेलाइट सिटीका रुपमा विकास गर्नेगरि प्राविधिक अध्यय्न पूरा भएको छ । बुटवलमा बहुतलाका बहुउद्देश्यीय भवन निर्माण गर्ने, योजनाबद्ध सहर निर्माण गर्ने र ति बस्तीलाई नयाँ उपसहरका रुपमा विकास गर्नेगरी काम अगाडि बढिरहेको छ ।

    नयाँ व्यवस्था र जनअपेक्षाको सम्बोधनमा कस्ता अप्ठेराहरू आए ?

    नागरिक तथा राजनीतिक अधिकार प्राप्तिका लागि लामो र कठिनपूर्ण संघर्ष गरेर जनताका प्रतिनिधिद्वारा जनताको संविधान बनाउन सक्ने अवस्थासम्म आइपुग्दा धेरै सपुतको योगदान छ । हामीहरु आफै सरिक भएर ल्याएको नयाँ व्यवस्था हो । यो व्यवस्थामा पनि कतिपय सुधार गर्नुपर्ने छ । नयाँ व्यवस्था त ल्यायौं तर नागरिकको अवस्था सुधार्न सकेनौं भने परिवर्तनको अनुभूति हुन सक्तैन भन्नेमा हामी गम्भीर छौं । तसर्थ अफ्ठ्याराहरुलाई समाधन गर्दै जनअपेक्षाको प्राथमिकीकरण गरेर कार्यान्वयन गर्नेतर्फ अगाडि बढेका छौं ।

    विभिन्न चरणमा यस्ता कठिनाइपूर्ण राजनीतिक तथा नागरिक अधिकार प्राप्तिको आन्दोलन लामो समयसम्म चल्यो । यो अवधिमा अनेक कारणले मुलुकको विकास निर्माणको काम प्रभावित भयो । साशन सत्तामा रहेकाहरुमा मुलुकको भन्दा पनि आफ्नै अनेक स्वार्थ झल्किन थाले । प्रभावित भएका र अवरुद्ध रहेका हरेक क्षेत्रमा जनप्रतिनिधि चुनिएपछि अपेक्षा बढ्नु अस्वभाविक होइन । तर, ती आम अपेक्षालाई पूरा गर्न हामीकहाँ प्रयाप्त साधन स्रोत नभएको अवस्थामा प्राथमिकता निर्धारण गरेर अगाडि बढ्यौं । यसक्रममा अनेक अफ्ठ्यारा पर्ने नै भए तर, ती अफ्ठ्यारालाई सामथ्र्यका आधारमा समाधान गर्दै आएका छौं ।

    चुनावी वाचा र प्राथमिकता के कति काम भए ?

    खासमा भन्ने हो भने हामीले चुनावमा गरेको घोषणाभन्दा धेरै काम गरेका छौं । हामीले यसका लागि कुनै बनावटी र असम्भव कुरा गरेका थिएनौं र बुटवलको हरेक अवस्थाका बारेमा अनभिज्ञ पनि थिएनौं । जनताकै बीचबाट राजनीतिक नेतृत्वमा स्थापित भएका कारणले पनि हामीलाई समाजको यथार्थ अवस्थाको ज्ञात थियो । यसमा पनि अहिलेको पुस्ताले अनेक प्रविधिको प्रयोग गरेर हाम्रो देशको अवस्था र अरु मुलुकको अवस्थाका बारेमा दाँजेर विश्लेषण गर्न सक्ने अवस्था छ । यसर्थ हामीले चुनावमा बुटवललाई मुलुकको एउटा सभ्य, सुसंस्कृत, समुन्नत र सबल सहरका रुपमा विकास गर्न सकिन्छ र त्यसका लागि के कस्ता कार्यक्रम गर्न सकिन्छ भन्दै तय गरेका थियौं । अहिले त्यसबेला गरेका घोषणा अनुरुपका काम भएका छन् ।

    घोषणापत्रमा भनिएका भन्दा धेरै काम पनि भएका छन् । सबै कामका फेहरिस्त यो एउटा बसाईमा व्यक्त गर्न सम्भव हुँदैन । हामीले के के काम गर्यौं, के कस्ता परिवर्तन ल्यायौं भन्ने बारेमा हाम्रा प्रगति समीक्षा सामग्रीहरु उपलव्ध छन् । तिनलाई अध्ययन गर्नुहुन अनुरोध छ । बुटवलको विकासका लागि यहाँबाट संघीय संसदमा निर्वाचित हुनुभएका आदरणीय नेता विष्णुप्रसाद पौडेल, प्रदेश संसदमा निर्वाचित आदरणीय नेताहरु लिला गिरी, भोजप्रसाद श्रेष्ठ, तुलसीप्रसाद चौधरीलगायतले बुटवलको समृद्धिका लागि आआफ्नो क्षेत्रबाट नेतृत्वदायी भूमिका र सहकार्य गर्नुभएको छ । म उहाँहरुलाई पनि यो अवसरमा सम्मानसाथ स्मरण गर्न चाहन्छु । यसका साथै बुटवलका करदाता, निजी क्षेत्र र सचेत नागरिक समुदायको सकारात्मक भूमिकाले पनि बृहत बुटवलको लक्ष्य हासिल गर्ने काममा सहयोग गरिरहेको उल्लेख गर्न चाहन्छु ।

    के कस्ता अनुभवप्राप्त भएजस्तो लाग्छ त ?

    संविधान कार्यान्वयनको पहिलो चरणका रुपमा स्थानीय पालिकामा लामो समयपछि जनताका प्रतिनिधि चुनिएर आउँदाका अवसर र चुनौतिहरु प्रसस्तै थिए र छन् । हामीले कानुन निर्माणको वर्ष, आधार निर्माणको वर्ष र कार्यान्वयनको चरणका रुपमा लिएर काम गर्दै आयौं । यसबीचमा विश्वव्यापी कोभिड महामारीको मारले हामीलाई पनि सतायो । तर महामरीसंग जुध्दै र नागरिकलाई जोगाउँदै महामारीमा पनि बुटवलमा नमुना काम अगाडि बढाउन सक्यौं ।

    बुटवल नै अनुकरणरीय बन्ने गरी र नमुना बन्नेगरी हामीले धेरै योजना तय गर्ने र साकार पार्ने काम गरेका छौं । आवधिक योजना पूरा हुने र दीर्घकालीन योजना प्रभावकारी रुपमा अगाडि बढ्ने अवस्था छ । यसअवधिमा हामीकहाँ तीनै तहका र निजी क्षेत्रकासमेत गरी झण्डै ३५ अर्ब बराबरको काम भइसकेको छ । दीर्घकालसम्म करिब एक सय अर्ब भन्दा माथिका योजना तय भइसकेको अवस्था छ । चलिरहेका योजनाको पूर्णतापछि ऐतिहासिक, पर्यटकीय, आर्थिक नगरिका रुपमा रहेको बुटवल अन्तर्राष्ट्रिय रुपमै अब्बल सहरका रुपमा स्थापित हुने हामीले विश्वास लिएका छौं ।

    यसबीचमा एक सय भन्दा धेरै कानून (ऐन, नियम, मापदण्ड, निर्देशिका, कार्यविधि, आचारसंहिता) निर्माण गरी कार्यान्वयनमा ल्याएका छौं । बुटवल उपमहानगरपालिकाको संगठन संरचनाको निर्माण तथा ८ महाशाखा र २८ शाखा रहने गरी ३६३ (स्वास्थ्य बाहेक) दरबन्दी स्विकृत गरी कार्यान्वयनमा ल्याईएको छ । प्रत्येक वडा कार्यालयहरुमा प्राविधिक र कम्प्युटर अपरेटरहरुको समेत व्यवस्था गरिएको छ ।

    वडास्तरमा समेत राजस्व, पंजिका, व्यवसाय दर्ता, योजना सम्झौता तथा मूल्याङ्कन जस्ता सेवा प्रवाहहरु विद्युतीय प्रणाली मार्फत प्रदान गर्ने काम भएको छ । वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय लगायतका कार्यालयहरुमा विद्युतिय हाजिर प्रणाली जडान गरी त्यसको कार्यान्वयन गर्ने काम भईरहेको छ । यसक्षेत्रमै पहिलो र व्यवस्थित इजलासको निर्माण गरि नियमित न्याय निरुपण गर्दै आएका छौं । नगर प्रहरी सेवालाई मर्यादित तथा चुस्तदुरुस्त बनाउन प्रहरी तालिम केन्द््र मार्फत मापदण्डका आधरमा छनौट गर्ने, आधारभूत तहको आवसिय तालिम र दर्ज्यानी चिन्ह प्रदान गरेर मात्र कार्यक्षेत्रमा खटाएका छौं ।

    सेवाग्राहीका विभिन्न समस्या तथा गुनासालाई सम्बोधन गर्न कार्यपालिका सदस्य रहने गरि जनप्रतिनिधि सेवाग्राही सेवा कक्ष सञ्चालनमा ल्याएका छौं । वडा तथा नगर नागरिक वडापत्र निर्माण गरी त्यसको कार्यान्वयन भईरहेको छ । बुटवल उपमहानगरपालिकाको कार्यालयहरुलाई बिचौलिया मुक्त बनाईएको छ । किसानको फसल धितो राखेर अनुदान दिने, सहुलियत ऋण उपलव्ध गराउने, किसानलाई मल, बीऊ र उपकरण प्रदान गर्ने, किसानका उत्पादनलाई सहकारीमार्फत बजारमा पुर्याउन सहयोग गर्ने र हौसला प्रदान गर्ने कैयन काम भएका छन् । सहरी कृषि प्रवद्र्धन, वातावरणीय संरक्षण र सम्बद्र्धन, एक वन बहुपोखरी निर्माण, हरियाली प्रवद्र्धनजस्ता काम वास्तवमै अनुकरणीय भए जसले हामीलाई पनि हौसला बढाएका छन् ।

    जिआईएसम्याप मार्फत सडक तथा घरहरु पहिचान गर्न सकिने डिजिटल हाउस नम्बरिङ्गको काम सम्पन्न भई कार्यान्वयनमा आएको छ । उपभोक्ता मार्फत सञ्चालन हुने योजनाको लागत स्टिमेट नेपालीमा तयार गर्ने, १० लाखसम्मको योजनाहरुको वडा कार्यालयबाटै स्टिमेट, सम्झौता र मूल्याङ्कन गर्ने काम प्रभावकारीरुपमा कार्यान्वयन भईरहेको छ । यसका लागि एक वडा एक प्राविधिक तथा दुई वडा १ इन्जिनियरकोे व्यवस्था गरिएको छ । निर्माण सामाग्रीको गुणस्तर परिक्षण गर्न प्रयोगशाला कार्यालय परिसरमै निर्माण गरि सञ्चालनमा ल्याईएको छ ।

    प्राविधिक अध्ययन तथा मापदण्ड निर्माण गर्ने काम सम्पन्न गरी बुटवलमा १७ तलासम्म बहुतले भवन निर्माणका लागि अनुमति प्रदान गर्ने काम शुरु भएको छ । मोतिपुर र सेमलारमा सेटलाइट सिटी तथा उपशहर निर्माण गर्नका लागि जग्गा एकिन गर्ने, गुरुयोजना निर्माण गर्ने काम सम्पन्न भएको छ । भविष्यको योजनाबद्ध सहरका रुपमा नयाँ बस्तीको योजना अगाडि बढाइएको छ ।

    चीनको ऐतिहासिक तथा सामरिक शहर सियानसंग भगिनी सम्बन्ध कायम गर्दै अनुभव तथा सहयोग आदान प्रदान गर्ने काम भईरहेको छ । बेलायत सरकार अन्तर्राष्ट्रिय विकास मन्त्रालय संगको सम्झौता मार्फत बुटवलमा आर्थिक विकास परियोजना लागु गरिएको छ ।

    वैशाख ७ गतेलाई जीतगढी विजयोत्सवका रुपमा मनाउने निर्णय गर्दै त्यसको कार्यान्वयन गरिएको छ । एप्सको प्रयोग गरि घरदैलो सर्भेक्षण मार्फत भौगोलिक, जनसांख्यिक, आर्थिक तथा सामाजिक अवस्था सहितको वस्तुगत तथ्याङ्क संकलन गरि बुटवल उपमहानगरपालिकाको प्रोफाइल तयार गरिएको छ । संक्षेपमा भन्दा बृहत बुटवलको खाका तयार पारेर प्राथमिकताका आधारमा कार्यान्वयन गर्दै अगाडि बढेको अवस्था छ ।

  • आफूमाथि आक्रमण गर्नेलाई मुद्दा नचलाउन बुटबलका मेयरको अनुरोध

    आफूमाथि आक्रमण गर्नेलाई मुद्दा नचलाउन बुटबलका मेयरको अनुरोध

    रुपन्देही । आफूलाई आक्रमण गर्न खोज्ने युवालाई कुनै मुद्दा नचलाउन बुटवल उपमहानगरपालिकाका प्रमुख तथा नेकपा एमाले रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीले अनुरोध गरेका छन् ।

    सोमबार बुटवल–३ ज्योतिनगर पहिरो प्रभावित क्षेत्र अवलोकनमा गएका सुवेदीमाथि स्थानीय गणेश पंगेनीले एक्कासी आक्रमणको प्रयास गरेका थिए ।

    चौतर्फी दबाबपछि पक्राउ परेका पंगेनीलाई तत्काल छाड्नका लागि प्रमुख सुवेदीले जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय बुटवललाई आग्रह गरिएको जानकारी गराए ।

    सुवेदीले आफ्नो कसैप्रति आग्रह–पूर्वाग्रह नभएको जनाउँदै विपद्मा परेका नागरिकमा आउने आक्रोशलाई स्वाभाविक मानेको बताए । उपमहानगरले बाढी, पहिरो तथा विपद्मा परेका नागरिकहरुको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सक्दो पहल जारी राख्ने बताउँदै उनले सो कुरा उल्लेख गरेका छन् ।

    तर जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भने आवश्यक अनुसन्धान अघि बढ्ने जनाएको छ ।

  • संक्रमितको विश्वास जित्दै बुटवल उपमहानगर, नगरप्रमुखको प्रभावकारी सक्रियता

    संक्रमितको विश्वास जित्दै बुटवल उपमहानगर, नगरप्रमुखको प्रभावकारी सक्रियता

    रुपन्देही । कोरोना संक्रमणको हटस्पट बनेको रुपन्देहीमा सबैभन्दा बढी प्रभावित बुटवल उपमहानगर नै हो । महामारीले आक्रान्त नगरवासीलाई महामारीविरुद्ध अभिभावकत्व लिनु चुनौती नै थियो । बुटवलका मेयर शिवराज सुवेदीको भूमिकाले कोरोना महामारीको यो लहरमा पनि उत्तिकै प्रभावकारी देखियो ।

    उपमहानगरको नियमित काम मात्रै हैन र कोरोना संक्रमणमा बिरामी परेका परिवारका सदस्यको हेरचाह दैनिकीजस्तै बनेको छ, उनको टिमको । अहिले जिल्लामा सबैभन्दा धेरै सकृय संक्रमित रहेको पालिका र सबैभन्दा धेरै संक्रमितको उपचार गर्ने कोरोना विशेष अस्पताल उपमहानगरकै समन्वयमा अगाडि बढेको छ । यसका साथै एन्फा टेक्निकल सेन्टरमा बनाइएको आइसोलेसन सेन्टरको व्यवस्थापन पनि उपमहानगरले गरिरहेको छ ।

    मुलुककै प्रमुख आर्थिक, व्यापारिक, पर्यटकीय केन्द्रका रुपमा र लुम्बिनी प्रदेशको आर्थिक केन्द्रका रुपमा रहेको, मुलुकका दुई प्रमुख राजमार्गले जोडिएको, अन्तर्राष्ट्रिय सीमा नाका नजिकै रहेको बुटवलमा महामारीसँगै अरु धेरै जिम्मेवारी आइपरेका छन् । मेयर सुवेदीले त्यस्ता धेरै जिम्मेवारीको कुशलतापूर्वक निर्वाह गर्दै प्रदेश स्तरको अभिभावकीय भूमिका निर्वाह गरेका छन् ।

    महामारीका दुवै लहरमा बुटवलले नमूना काम गरेको छ र त्यसको समग्र नेतृत्व मेयर सुवेदीले गरेका छन् । नगरपालिका संघ लुम्बिनी प्रदेशका संयोजक, नेकपा एमाले रुपन्देहीका अध्यक्षसमेत रहेका मेयर सुवेदीलाई स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी तथा बुटवलका सामाजिक संघसंस्था र निजी क्षेत्रले पनि उत्तिकै समन्वय गरेका छन् ।

    महामारीविरुद्ध जनेचतनामूलक कामका साथै जोखिम न्युनीकरणमा सहकार्यका साथ अभियान सञ्चालन भएका छन् । संक्रमितको घरदैलोमै पुगेर आयुर्वेद औषधि वितरण गर्ने, मनोबल बढाउन स्वास्थ्यलाभको कामना गर्ने काम मुलुकमै नमूना काम हो ।

    यसका साथै समुदायमा स्वास्थ्य समस्याको पहिचान र तिनको समाधानका उपायको खोजी, बुटवल र आसपासमा काम गर्न आएका विभिन्न जिल्लाका मजदुरको अवस्थाको सोधीखोजी र उद्दारदेखि राहत वितरणलाई निरन्तरता राखेका छन् ।

    विपन्न परिवारलाई राहत वितरण, पठनपाठन प्रभावित भएका बालबालिकालाई टेलिभिजन र अनलाइनमार्फत शिक्षण सिकाई कार्यक्रम पहिलो लहरका केही उदाहरण हुन् ।

    पछिल्लो समय अक्सिजन बैंक स्थापना गरेर स्वास्थ्यकर्मीको सिफारिसका आधारमा घरघरमा सिलिण्डर पुर्‍याउनेदेखि लक्षित समूहलाई निःशुल्क पीसीआर परीक्षण गर्ने कामलाई निरन्तरता दिएको नगर योजना आयोगका सदस्य सचिव मेघराज भट्टराई बताउँछन् ।

    कठिन र संकटग्रस्त समयमा नेतृत्वदायी भूमिका

    महामारी यसै पनि कठिनपूर्ण र संकटग्रस्तको समय हो । त्यसमा पनि महामारीको दोहोरो लहर झनै अत्यासलाग्दो छ । संकटकै बेलामा खास नेतृत्वको पहिचान हुने गर्दछ ।

    पहिलो लहरमा बुटवलमा क्वारेन्टिन निर्माण गर्ने, विशेष आइसोलेशन केन्द्र निर्माण गर्ने, लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा कोरोना विशेष अस्पताल निर्माण र सञ्चालन गर्नेेदेखि संक्रमितका घरदैलोमा आयुर्वेद औषधि, योगा अभ्यास र सात्विक भोजनको व्यवस्था मिलाउँदै कठिनपूर्ण समयमा बुटवलले गरेको नमुना काम हो ।

    अहिले दोस्रो लहरमा परीक्षण, कन्ट्रयाक्ट ट्रेसिङ, आइसोलेशन निर्माण, घरघरमा आयुर्वेद र अक्सिजन सिलिण्डरसमेत निशुल्क पुराएर बुटवलले अर्को नमुना कामको दृष्टान्त पेश गरेको छ । आइसोलेशनमा बसेका बिरामीलाई लक्षित गरेर अक्सिजन बैंक सेवा सञ्चालन गर्ने पालिका बुटवल नै मुलुकमा पहिलो हो ।

    विज्ञसँग परामर्श, सरोकारवालासँग सहकार्य र समूहमा विश्वास

    विज्ञसँग परामर्श, सरोकारवालासँग सहकार्य र टिमवर्कमा विश्वास गर्दा नै उपलव्धि हासिल हुन्छ भन्ने कुरामा नगर प्रमुख सुवेदी दृढ छन् । लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराई, मेसु डाक्टर राजेन्द्र खनाल, चिकित्सकहरु नन्दु पाठक, सुदर्शन थापालगायत, चिकित्सक, स्वास्थ्यकर्मी, प्राविधिकदेखि आयुर्वेद र योगाका विज्ञहरुसँग प्रमुखको नियमित परामर्श भएको छ । आवश्यकताका आधारमा विभिन्न विषयका विज्ञ र जानकारहरुसंग परामर्श गरेर नै योजना तय र नीति निर्माण गर्ने गरिएको छ । यस्तै प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, सामाजिक संघसंस्था, निजी क्षेत्र र अगुवाहरुसंग उहाँले समयसमयमा परामर्श गरिरहेको उनी बताउँछन् ।

    महामारीको बेलामा मेयर सुवेदीको काम गराई र खटाईलाई नजिकबाट नियालेका र बुटवलमा आएर कोरोना जितेका कपिलवस्तुका पत्रकार जानु पाण्डेले बुटवलका मेयर सुवेदीको हँसमुख र हौसला बढाउने शैलीले आफूहरु प्रभावित भएको बताउँछन् ।

    उनी गतवर्ष बुटवलको आइसोलेशनमा सेन्टरमा बसेर कोरोना जितेर हालै घर फर्किएका हुन् । उनीसँगै बुटवलकै आइसोलेशनमा बसेका कपिलवस्तुको बाणगंगा नगरपालिका–५, का वडाअध्यक्ष भिष्मराज भुसालले बुटवलका मेयरको भूमिका प्रदेशकै अभिभावकको रुपमा पाएको टिप्पणी गरेका थिए ।

    आयुर्वेद चिकित्सा अवलम्बन, करिब ५ हजारलाई घरमै औषधि

    आयुर्वेद चिकित्सा नेपालको पुरानो र प्रभावकारी उपचार विधि हो । यसलाई बुटवलले व्यवहारमै उतारेको छ । बुटवलमा संक्रमित भएका करिब पाँच हजार जनालाई आयुर्वेद ओखती वितरण गरिएको छ । बुटवलले सञ्चालन गरेका क्वारेन्टिन तथा आइसोलेशनलाई विश्व स्वास्थ्य संगठनले पूर्ण मापदण्डका रहेको बताएको छ ।

    नेपाल सरकारले पनि उत्कृष्टको मान्यता दिएको थियो । आइसोलेशन र क्वारेन्टिन निर्माणकै बेलामा डब्लूएचओका प्रतिनिधिको समेत उपस्थिति थियो । तिनै क्वारेन्टिन र आइसोलेशनमा रहेकालाई योगागुरु, आयुर्वेद विज्ञ विष्णुहरि आचार्यमार्फत योगा सिकाइएको छ । आयुर्वेद औषधि वितरण गरिएको छ ।

    सात्विक भोजन, योगाअभ्यास र सकारात्मक सोंच राख्न भन्दै प्रमुखको सन्देशसहित अपीललाई बुटवलका स्वास्थ्य शाखाका प्रमुख उमादेवी थापा, गीतादेवी पाण्डे, कल्पना भट्टराईसहितका जनस्वास्थ्य अधिकृत र वडा तथा टोलस्तरबाट पनि विभिन्न ठाउँमा सञ्चार गरिएको छ ।

    विदेशबाट आउनेलाई नाकाबाटै उद्दार गर्न गाडी

    कोरोना भाइरसको यो लहरमा पनि बुटवलले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ भने सीमा नाकाबाट आएका मानिसहरुलाई ओसारपसार गर्न छुट्टै सवारी साधनको पनि व्यवस्था गरी सञ्चालनमा ल्याएको छ । तेस्रो मुलुकबाट आउने बुटवलका मात्र नभई लुम्बिनी प्रदेशका अरु जिल्ला, कर्णाली प्रदेश र सुदूर पश्चिमका विभिन्न जिल्लाका नागरिकहरुलाई पनि बुटवलमा होल्डिङ गराएर पठाउने गरिएको छ ।

    त्यस्ता नागरिकलाई विमानबाट आउनेलाई विमानस्थलसम्म र पैदलमार्गबाट आउनेलाई बेलहिया नाकाबाटै उद्दार गर्न सवारी साधनको व्यवस्था मिलाइएको छ । चालक सेराज अहमद खानलाई बेलहिया नाकामै खटाइएको छ ।

    आश्रममा बसेकाको हेरचाहमा विशेष ध्यान

    बुटवललाई बेसहारा, सहयोगापेक्षी सडक मानवमुक्त घोषणा भइसकेको छ । नगर प्रमुख सुवेदीकै विषेश पहलमा मावनताको सहर निर्माणको काम भइरहेको छ । सहयोगापेक्षी सडक मानव भेटिँदासाथ उद्दार गर्ने, आश्रममा राख्ने, खाद्यान्नदेखि औषधोमुलोको व्यवस्था मिलाउने, ज्येष्ठ नागरिकहरुले सञ्चालन गरेका मिलन केन्द्र र विभिन्न ठाउँका आश्रमहरुमा आवश्यक खाद्य सामग्री र औषधि उपलव्ध गराइएको छ । त्यस्ता क्षेत्रको नियमित हेरचाह र रेखदेखका लागि पालो बांढेर कर्मचारी तथा जनप्रतिनिधिलाई विशेष जिम्मेवारी दिइएको छ ।

    बुटवलमा घरघरमा सेवा

    रुपन्देहीको बुटवल उपमहानगरपालिकाले कोरोना संक्रमण नियन्त्रण र उपचार प्रक्रियालाई प्रभावकारी बनाउ समुदायस्तरमा कोरोना परीक्षण गर्नका साथै अक्सिजन संकलन र उपचार सञ्चालन गरेको छ । नगरपालिकाले अहिलेसम्म अस्पतालमा शय्या नपाएका २ सय जनालाई अक्सिजन सिलिन्डरको व्यवस्था गरेको प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए । अस्पताल बिरामीले भरिएपछि नगरपालिकामा अक्सिजनको माग धेरै भएको उनको भनाइ छ ।

    कावा नगरप्रमुखको जिम्मेवारीमा रहेका प्रवक्ता रेग्मीले उपनगरपालिकाले बुटवलको एन्फा एकेडेमीमा आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएको छ भने वडा नं ११ र १३ को नवनिर्मित भवनमा थप आइसोलेशन सेन्टर बनाउने तयारी गरेको जनाए ।

    बुटवल उपमहानगरपालिकाले अक्सिजन सेवा शुरु गरेको ५ दिन आइतवारसम्म रााति र दिउसो गरि दुइृ सिफ्टमा चौबिसै घण्टा स्वास्थ्यकर्मीसहितको टोली परिचालन गरेर दिनको ५०–५५ जनाको दरले २७० भन्दा बढी कोरोना संक्रमितहरुको घरघरमा पुगेर तिनीहरुको स्वास्थ्य परिक्षण गरेको उपमहानगरपालिकाका योजना आयोगका उपाध्यक्ष मेघराज भट्टराईले जनाएका छन् । उनले तत्काल अक्सिजन आवश्यक परेका २१० जनालाई अक्सिजन सेवा दिएको बताए ।

    अक्सिजन बैंक बुटवलका होम आइसोलेसन, सामुदायिक आइसोलेसन र होटल आइसोलेसनमा बसेका कोरोना संक्रमितहरुमध्ये मापदण्डका आधारमा तत्काल अक्सिजन उपलब्ध गराउनपर्ने संक्रमितहरुको आपतकालिन सेवाका लागि प्रयोग गरिएको उनको भनाई छ । सञ्चालित बैंकबाट विभिन्न अस्पतालमा रहेका बिरामीहरु, एम्बुलेन्स सेवाहरु र बुटवल बाहेक अन्यत्र स्थानका संक्रमितहरुलाई पनि सेवा दिने इच्छा हुदाँहुदैं पनि नगरभित्रका नागरिकहरुलाई आवश्यकताका आधारमा सेवा दिने गरेको उनको भनाई थियो ।

    सहरी कृषि प्रवर्धनमा लागेका किसानलाई प्रोत्साहन

    बुटवलले सुरु गरेका फसल धितो राखेर किसानलाई अनुदान, विऊविजन, उपकरण प्रदान, हरितगृह निर्माणदेखि सहरी कृषि  प्रवर्धनका कार्यक्रमलाई मुलुककै नमुना मानिन्छ ।

    अहिलेको यो महामारीका बेला बुटवलको सहरी कृषि कार्यक्रम उपयोगी सिद्द भएको छ । किसानलाई जथाभावी विषादी प्रयोग नगर्न आग्रह गर्दै जैविक विषादीमा अनुदान, औषधीय गुणका बालीको बीऊ प्रदान, काममा सघाउन उपकारण प्रदानका कार्यक्रम चलिरहेका छन् ।

    भूमि बैंक, श्रम बैंकको स्थापना देखि कृषि उत्पादकत्व बृद्धि गर्न प्रवक्ता रामप्रसाद रेग्मीको संयोजकत्वमा गठन भएको विशेष कार्यदलले अहिले विभिन्न योजना तय गरिरहेको छ । छिमेकका पालिकाका किसान, किसानद्वारा सञ्चालित सहकारी संस्था र कृषि उपज संकलन केन्द्रहरुलाई संरक्षण र प्रवर्धन गरिएको छ । तरकारी उत्पादक किसानहरुको सहकारीमार्फत सहरका नागरिकको घरदैलोमा सुपथ मूल्यको तरकारी तथा दूग्धजन्य पदार्थहरु पुर्‍याइएको छ ।

    मेयर युवा इलम कार्यक्रम विस्तार, विदेशबाट फर्किनेलाई रोजगार

    बुटवललाई बेरोजगार शून्य घोषणाको तयारीका साथ मुलुकमै नमुना कार्यक्रमका रुपमा मेयर युवा इलम कार्यक्रम सञ्चालनमा छ । यो कार्यक्रम अन्तर्गत विभिन्न विषयमा सीप सिकेकाहरु स्वरोगार बनेका छन् भने कतिपयले सीप सिक्दा सिक्दै रोजगारी पाएका छन् ।

    हेवी इक्वीपमेन्ट र हाइड्रोलिक मेसिन, सवारीको मर्मत र सञ्चालन सम्बन्धी तालिम लिएका विभिन्न ठाउँका २७ जनाले युवाले तालिम नसक्दै रोजगारी पाएको प्रशिक्षक राधाकृष्ण देउलाले बताउनुभयो । बुटवलले अहिले महामारीको बेलामा यहीँ कार्यक्रम र उपप्रमुख महिला उद्यमशिलता विकास कार्यक्रमलाई रोजगारी गुमाएर विदेशबाट आउने नागरिकलाई पनि जोड्ने भएको छ ।

    श्रम बैंक र भूमि बैंकको अवधारणा ल्याउने काम पनि मुुलुकमै बुटवलमा पहिले भएको हो । बुटवलले यस्तो कार्यक्रम ल्याएको केही समयपछि संघीय सरकारले नीति तथा कार्यक्रममा समेत समावेश भएको थियो ।

    उपप्रमुख महिला उद्यमशीलता कार्यक्रम

    उपप्रमुखसँग सुत्केरी तथा गर्भवती भेटघाट कार्यक्रम अन्तगर्त महामारीको बेलामा गत वर्ष मात्रै बुटवलमा एक सय जनाभन्दा धेरै महिलाहरुलाई घरमै पुगेर पोषण प्रदान गरिएको छ ।

    बुटवलमा सञ्चालनमा रहेको उपप्रमुख महिला उद्यमशीलता कार्यक्रम पनि मुलुकमा नमुना कार्यक्रम बनेको छ । महिलाहरुले विभिन्न विषयमा सीप सिक्ने र त्यसलाई व्यवहारिक बनाउने काम गरेका छन् । अहिले महामारीको बेलामा महिलालाई समूह मार्फत् सामुहिक खेतीमा प्रोत्साहित गर्ने, उद्यममा आकर्षित गर्ने, जडीबुटी खेती गर्ने र स्वरोजगार बनाउँदै उत्पादनका काममा केन्द्रित गराइको उपप्रमुख आचार्यले बताइन् ।

     

  • बुटवल उपमहानगरपालिकाका विद्यालयमा काेराेना सम्बन्धी स्वास्थ्यका नयाँ मापदण्ड

    बुटवल उपमहानगरपालिकाका विद्यालयमा काेराेना सम्बन्धी स्वास्थ्यका नयाँ मापदण्ड

    रूपन्देही । केहि दिनयता कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बुटवल उपमहानगपालिकाले कोरोना जोखिमलाई न्यूनीकरण गर्न स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न आग्रह गरेको छ । कोरोनाको पुरानै र नयाँ प्रजातिसमेतको भाइरसको जोखिम बढ्दै गएपछि स्वास्थ्य सावधानीसहितको नयाँ मापदण्ड अपनाएर मात्रै विद्यालय सञ्चालन गर्न निर्देशन दिएको हो ।
    जोखिममा रहेको समुदायलाई नै पहिल्यै सुरक्षित बनाउने र समुदाय स्तरमा सचेतना जगाउने उद्देश्यले शैक्षिक संस्था सञ्चालनको नयाँ मापदण्ड बनाएर लागू गरिएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिए । बालबालिकालाई जोगाउने र उनीहरूलाई नै परिवार हुँदै समुदायमा सन्देश वाहक दुतका रुपमा पनि परिचाल गर्नेगरी योजना बनाइएको उनकाे भनाइ छ ।
    विद्यालय, शिक्षक र अभिभावक समेतलाई अलग अलग मापदण्ड बनाएर लागू गरिएकाे उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत एवम् शिक्षा,स्वास्थ्य तथा जनसंख्या महाशाखा प्रमुख मित्रमणि खनालले बताए । उपमहानगरपालिकामा रहेका सामुदायिक र संस्थागत सबै विद्यालायमा लागू हुनेगरी मापदण्ड बनाइएको उनकाे भनाइ छ ।
    विद्यालय प्रवेश र बसमा चढ्नु अघि थर्मल गनबाट अनिवार्य तापक्रम नाप्ने, गुणस्तरीय मास्क र सेनिटाइजरको अनिवार्य प्रयोग गर्ने, सकेसम्म बालबालिकालाई बसमा नचढाई अभिभावकले विद्यालय पुर्याउने र विद्यालय परिसरमा साबुनपानीको व्यवस्था मिलाउनुपर्नेलगायत अन्य स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन गरिएको वडा नम्वर १६ का अध्यक्ष समेत रहेकाे उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।
    विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीमा कोभिडसँग मिल्ने लक्षण देखिएमा पीसीआर परीक्षणका लागि नगरपालिकामा सम्पर्क गर्न आग्रह गरिएको छ । यस्तै कुनै पनि बालबालिकाका अभिभावकमा पनि कुनै लक्षण देखिएको सूचना पाएमा सम्बन्धित वडा कार्यालय मार्फत समन्वय गर्नेगरी संयन्त्र तोकिएको उपमहानगरले जनाएको छ ।
    सहरी स्वास्थ्य प्रबर्द्धन केन्द्र, स्वस्थ्य चौकी तथा स्वास्थ्य संस्थामा फिवर क्लिनिकदेखि कोरोना विशेष अस्पताल नै सञ्चालन गरेर उपमहानगरपालिकाले मुलुकमै नमुना काम गर्दै आएको छ । बुटवलमा निर्माण भएको आईसीयुसहितको कोरोना विशेष अस्पताल मुलुककै व्यवस्थित र नमुना मानिएको थियो । छोटो अवधिमै अस्पताल निर्माण गरेर सबै वडामा संयन्त्र गठन गरेर कोरोना विरोधी अभियान सञ्चालन गर्नेमा बुटवल नै पहिलो पालिका बनेको थियो ।
    हाल तिनै संयन्त्र र संस्थालाई अभियानमा जोड्नेगरि नयाँ मापदण्ड बनाइएको उपमहानगरपालिकाका उपप्रमुख तथा अनुगमन समिति संयोजक गुमादेवी आचार्यले बताइन् । बुटवलको नयाँ मापदण्डमा विद्यार्थीले खाजा पानीसमेत घरबाट ल्याउनुपर्ने र टिफिन ब्रेक नगरी लगातार कक्षा सञ्चालन गरेर छिटो विद्यार्थी छोड्न आग्रह गरिएको छ ।
    त्यसैगरी कक्षा सञ्चालन गर्दा एउटा कक्षामा ३० जनासम्म विद्यार्थी र एउटा बेञ्चमा २ जना मात्र विद्यार्थी राख्न पनि उपमहानगरले आग्रह गरेको छ । जेठमा गर्ने भनिएको वार्षिक परीक्षा जुनसुकै बेला पनि गर्नुपर्ने अवस्था आउनसक्ने भन्दै बुटवल उपमहानगरले सम्पूर्ण विद्यालयलाई तयारी अवस्थामा रहन आग्रह गरेको छ ।  साथै यो समयमा शैक्षिक भ्रमणलगायतका कार्यक्रम नराख्नसमेत विद्यालयलाई निर्देशन जारी गरिएको छ ।