Tag: शहीद दिवस

  • कलंकीमा शुरू भयो कृषि तथा तरकारी बजार

    कलंकीमा शुरू भयो कृषि तथा तरकारी बजार

    काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले कलंकी कृषि तथा तरकारी बजारको उद्घाटन गरेकी छन् । आज कलंकीस्थित कृषिबजारमा आयोजित औपचारिक कार्यक्रमकाविच मन्त्री अर्यालले कृषि बजारको उद्घाटन गरेकी हुन् । शहीद दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री अर्यालले राणा शासनकालमा जनताको पक्षमा लड्नेक्रममा बलिदानी गर्ने शहीदको तस्विरमा माल्यार्पण गरेकी थिइन ।

    शहीदको तस्बिर माल्यार्पण गर्दै उनले तत्कालीन समयमा जनताका पक्षमा आवाज उठाउने क्रममा बलिदानी दिने शहिदको योगदानकै कारण अहिलेको अवस्था सिर्जना भएको बताइन । ‘शहीदले परिवर्तनका लागि आफ्नो जीवनको आहुती दिनुभएको छ । तात्किालिन समयमा जनताका आवाज बोल्ने जनताका अगुवालाई तत्कालिन शासकले निर्ममतापूर्वक हत्या गरेको थियो’, मन्त्री अर्यालले भनिन्, ‘उहाँहरुको बलिदानीपछी मूलुकले क्रमशः धेरै राज्यसत्ता परिवर्तन गर्दै जनताको जीवनको सुधार, मुलुकको समृद्विको दिशामा अगाडी बढिरहेको छैन ।’

    ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने मूल नारासहित सरकारको दिर्घकालिन लक्ष्यलाई पुरा गर्नका लागि सरकार लागिरहेको बताउँदै उनले किसानले उत्पादन गरेको उत्पादित वस्तुको बजारको सुनिश्चितता गरिदिन यस्ता बजारले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन । गरेर होइन ठगेर खाने मानसिकताबाट नेपाली समाज लामो समय प्रताडित बनेको बताउदै उनले समृद्व जीवन बनाउनका लागि अब हरेक क्षेत्रमा गरेर खाने सोचको विकास गर्नुपर्ने बताइन ।

    ‘यो जमाना श्रमलाई सम्मान गर्ने जमाना हो । श्रमसँग जोडिदै श्रमसँग जोडिएका उत्पादक किसानलाई सम्मान गर्ने जमाना हो । चौतारीमा बस्ने, टालटुल गर्ने, ठगठाग गर्ने जमाना गए’, मन्त्री अर्यालले भनिन्, ‘गरेर खाने प्रवृत्तिको विकास गर्नका लागि सबै युवा लाग्न आवश्यक छ । तपाईहरुले सिधै उत्पादक किसानसँग सम्बन्ध राख्नुस ।’

    अहिले उत्पादनको समस्या नभएको भन्दै मन्त्री अर्यालले उत्पादित वस्तुले बजार पाउदैँन की भन्ने समस्या रहेको उल्लेख गरिन् । बजारको समस्याको अन्त्य गर्नका लागि जमिनको चक्लाबन्दी गरी ठूलो परिमाणमा उत्पादन बढाउनुपर्ने उनको भनाइ थियो ।

    ‘एकजनाले मात्रै उत्पादन गर्दा बजार खोज्दै हुनुपर्ने अवस्था हुन्छ । हामीले सामुहिकतामा चक्लाबन्दी मोडेलमा ठुला मोडेलमा तरकारी, फलफूल उत्पादन गर्‍यौं भने यस्ता बजार तपाईको गाउँमा आफै खोज्दै आउछ’, उनले भनिन्, ‘तपाईले उत्पादन गर्नुस्, कृषि मन्त्रालयले तपाईको गाउँमा संकलन केन्द्र दिन्छ । त्यो गाउँमा संकलन गर्ने, त्यहाँ यस्तै बजार पुग्छन् र बजारतिर पठाउने ।’ कम्तिमा पनि यस्ता १ सय वटा बजारलाई पुग्नेगरी ठूला परिणाममा उत्पादन गर्नुपर्ने उनको भनाइ थियो ।

    राजनीतिक दलले पनि पार्टीले विचारसँगै जनतालाई गरिखान सिकाउनुपर्ने भन्दै उनले यही बाटोबाट नै सरकारले लिएको लक्ष्य पुरा हुने बताइन । त्यसका लागि यान्त्रिकीकरणलाई जोड दिदै अगाडी बढ्न समेत मन्त्री अर्यालले आग्रह गरिन् । उनले भनिन्, ‘ठूला परिमाणमा उत्पादन गर्न अब मानवश्रमले मात्रै सकिदैन । त्यसैले यान्त्रिकीकरणमा जानुपर्छ । औजारको प्रयोग गरेर ठुला स्केलमा उत्पादन गरी बजारको ग्यारेन्टी गर्नेगरी सरकार अगाडी बढेको छ ।’

    कलंकी कृषि बजारमा हाल १ सय १५ वटा स्टल रहेका छन् । आगामी दिनमा त्यसलाई अझ बिस्तार गर्दै जाने मन्त्री अर्यालको भनाइ थियो ।

  • ललिता निवासको जग्गामा शहीद स्मारक बनाउने प्रधानमन्त्रीको संकेत (भिडियो)

    ललिता निवासको जग्गामा शहीद स्मारक बनाउने प्रधानमन्त्रीको संकेत (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारको बहुचर्चित ललिता निवासको करीव १५७ रोपनी जमिनमा शहीद स्मारक बनाउने संकेत गरेका छन् ।

    शहीद दिवसको अवसरमा लैनचौरको शहीद स्मारकमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले यस्तो संकेत दिएका हुन् ।

    प्रधानमन्त्रीले हालको शहीद स्मारक साह्रै सानो भएको र विदेशी पाहुना आउँदा श्रद्धाञ्‍जली दिन पनि अप्ठेरो तथा सर्वसाधारणलाई पनि एकैपटक आउन नमिल्ने भएकाले फराकिलो ठाउँमा शहीद स्मारक बनाउने बताए ।

    प्रधानमन्त्रीले भने, ‘स्मारकका लागि यो ठाउँ साह्रै सानो भयो । त्यसकारण तुरुन्तै एउटा विदेशी पाहुनाहरु आउँदा पनि सजिलोसँग गएर श्रद्धाञ्जली अर्पण गर्न सकिने गरी प्रशस्त पार्किङ पनि भएको ठाउँ, हुनसक्छ प्रधानमन्त्री निवास नजिकैको बालुवाटारकै जमिन होस् वा यस्तै जो अलि फराकिलो छ त्यहाँ शहीद स्मारक बनाउँछौं ।’

    प्रधानमन्त्रीले त्यस्तो स्मारक एक वर्षभित्रै बनाउन सकिने बताए ।

    ओली प्रधानमन्त्री भएपछि सो सरकारी जग्गा व्यक्तिको नाममा लगिएको प्रकरणको छानविन गरी सरकारको नाममा फिर्ता ल्याएका थिए । हाल सो जग्गा व्यक्तिको नाममा लैजाने तत्कालीन पदाधिकारी र व्यक्तिहरुमाथि विशेष अदालतमा मुद्दा चलिरहेको छ ।

  • यसरी मनाइयो शहीद दिवस

    यसरी मनाइयो शहीद दिवस

    प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी शहीद दिवस मनाइएको छ ।

    दिवसका अवसरमा शुक्रबार बिहान शान्तिवाटिका रत्नपार्कबाट शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी गरिएको छ । प्रभातफेरीमा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि सहभागी थिए ।

  • यसरी मनाइयो शहीद दिवस  (तस्बिरहरु)

    यसरी मनाइयो शहीद दिवस (तस्बिरहरु)

    काठमाडौं । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी शहीद दिवस मनाइएको छ ।

    दिवसका अवसरमा शुक्रबार बिहान शान्तिवाटिका रत्नपार्कबाट शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी गरिएको छ । प्रभातफेरीमा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि सहभागी थिए ।

    सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी शहीद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेको थियो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौरस्थित शहीद स्मारकमा माल्यार्पण गरी श्रद्धाञ्जली व्यक्त गरे ।

    वीर शहीदहरुको स्मरणमा विक्रम संवत् २०१२ देखि काठमाडौं महानगरपालिकाको संयोजनमा साताव्यापी रुपमा माघ १० देखि १६ गतेसम्म ‘शहीद सप्ताह’ मनाउने गरिएको छ ।

    साताव्यापी कार्यक्रमको अन्तिम दिन शुक्रबार शहीद उद्यान लैनचौरमा विशेष श्रद्धाञ्जलीसभा आयोजना गरिएको हो ।

     

               

     

  • मतभेद बिर्सेर शहीदका सपना पूरा गर्ने संकल्प गरौंः देउवा

    मतभेद बिर्सेर शहीदका सपना पूरा गर्ने संकल्प गरौंः देउवा

    काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवले शहीद दिवसको अवसरमा शुभकामना सन्देशमार्फत शहीदको सपना पूरा गर्न सानातिना मतभेद बिर्सेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

    आज विज्ञप्ति जारी गर्दै देउवाले मुलुकले सुम्पिएको राष्ट्रिय जिम्मेबारी पूरा गर्न र नेपाललाई एक सुन्दर, शान्त, समुन्नत राष्ट्रमा परिणत गर्न जिम्मेबार सबै पक्षलाई शहीद दिवसले प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

    ‘लोकतान्त्रिक पद्धतिमा मात्र व्यक्तिको स्वतन्त्रता र अभिमानको रक्षा हुन्छ, यसबाट नै बिसंगतीको अन्त्य हुन्छ,’ वक्तव्यमा भनिएको छ, ‘सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाल एक समुन्नत राष्ट्रमा परिणत हुनेछ भन्ने परिकल्पना र विश्वासमा ती देशभक्त वीर सपुतहरुले आफूलाई सहर्ष उत्सर्ग गरेका थिए ।’

  • घोषणा भएको १३ वर्षमा पनि बनेन राष्ट्रिय शहीद स्मारक

    घोषणा भएको १३ वर्षमा पनि बनेन राष्ट्रिय शहीद स्मारक

    रासस । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ ।

    शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट शहीदको सपना पूरा गर्न लागि परेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ ।

    शहीद दिवसका अवसरमा आज बिहान शान्तिवाटिका रत्नपार्कबाट शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरीे शहीद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ ।

    लखन थापादेखि पछिल्ला स्वतन्त्रताका आन्दोलनमा शहादत प्राप्त गर्नुहुने शहीदको सम्झनामा मन्त्रिपरिषद्को विसं २०६४ जेठ ११ गतेको निर्णयानुसार उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा निर्माण भइरहेको राष्ट्रिय शहीद स्मारकमा पनि कार्यक्रमको तयारी भइरहेको जनाइएको छ ।

    शान्ति तथा पुनःनिर्माण मन्त्रालयअन्तर्गत स्मारक निर्माण भइरहेकामा विसं २०७४ मा मन्त्रालय खारेजी भएको थियो । हाल यो आयोजनाको काम शहरी विकास मन्त्रालयअन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागबाट शुरु भएको छ । विसं २०६८ मा काम शुरु भई २०७२ मै सक्ने लक्ष्य राखिएकामा भूकम्प, नाकाबन्दी र निर्माण व्यवसायीको लापरवाहीले काम अलपत्र बनेको उद्यान निर्माण समितिका पूर्वअध्यक्ष सुदर्शन सिग्देलले राससलाई जानकारी दिए ।

    उद्यानको भौतिक प्रगति ७० प्रतिशत र वित्तीय प्रगति ५८ प्रतिशत भएर काम अलपत्र हुँदा दुःख लागेको उनले बताए । विभागका आयोजना प्रमुख मचाकाजी महर्जनले विसं २०७७ जेठ २६ गते सक्ने गरी सातैवटा निर्माण व्यवसायीसँग सम्झौता भएको बताए पनि कोरोना महामारीका कारण काम नसकिएको बताए ।

    गोकर्णको जगडोल ९यज्ञडोल० सामुदायिक वनको ६५० रोपनी क्षेत्रफलमा शहीद सङ्ग्रहालय, शहीदसम्बन्धी अध्ययन अनुसन्धान गर्न चाहनेका लागि पुस्तकालयलगायत संरचनाको निर्माण अन्तिम चरणमा पुगेर निर्माण व्यवसायीको लापरवाहीले काम अलपत्र रहेको स्मारक निर्माण समितिले जनाएको छ ।

    विसं २०६३ अघि शहीद दिवसका दिन राज्यका तर्फबाट शहीदगेटमा विशेष कार्यक्रम गरी दिवस मनाइन्थ्यो । त्यसपछि भने लैनचौरस्थित शहीद स्मारकमा विशेष कार्यक्रम हुन थालेको छ । शहीदगेटमा पनि विभिन्न सङ्घसंस्थाले कार्यक्रम गरी दिवस मनाउने गरेका छन् ।

    पछिल्लो समय नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्माण भएको गणतन्त्र स्मारकमा शहीदप्रति श्रद्धाञ्जलि गर्ने स्थल राखिने घोषणा गरिएको छ । त्यो समेत सञ्चालनमा आउन सकेको छैन । स्मारकमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायत उच्चपदस्थले शपथ लिएपछि शहीदलाई श्रद्धाञ्जलि अर्पण गर्ने गरी तयारी गरिने जनाइएको छ ।

    विदेशी पाहुना आउँदा समेत स्वतन्त्रताका लागि जीवन अर्पण गर्ने शहीदको सम्झनास्वरुप पुष्पगुच्छा अर्पण गर्ने स्थल बनाइने जनाइएको छ । शहीदको स्पष्ट परिभाषा नगरी पछिल्लो समय जोसुकैले घोषणा गरिँदा शहीदको गरिमा नै घटेको टिप्पणी पनि हुने गरेको छ ।

    उपत्यकाको अधिकांश भाग देखिने गोकर्णस्थित सामुदायिक वनको ६५० रोपनी जग्गामा तेह्र वर्ष अघिदेखि निर्माण शुरु भएको शहीद स्मारक सरोकार भएका निकायको प्राथमिकतामा नपर्दा अझै पूरा हुनसकेको छैन ।

  • शहीद दिवसमा राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

    शहीद दिवसमा राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

    काठमाडौं । शहीद दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश जारी गर्दै शहीदको बलिदानबाट प्राप्त लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गरिएको र सबैलाई समाज र राष्ट्रको हितमा निस्वार्थ रुपमा सक्रिय हुँदै अघि बढ्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।

    राष्ट्रपति भण्डारीले समस्त शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरुको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्धि पूरा गर्नेतर्फ अग्रसर हुनु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास लिएकी छन् ।

    त्यस्तै प्रधानमन्त्री ओलीको शुभकामना सन्देशमा शहीदहरुको बलिदानको प्रतिफलमा प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने अभियानमा लागेको उल्लेख छ ।

    वक्तव्यमा भनिएको छ, ‘देशको समृद्धि र जनताको सुख प्राप्तिका लागि तिनै शहीदहरुका सपनालाई मूर्तरुप दिन हामीले वितेका केही वर्षमा नवनिर्माणको चौतर्फी अभियान चलाएका छौँ । भाैतिक पूर्वाधार निर्माण, सामाजिक सुरक्षा, विपदमा परेका जनताको व्यवस्थित आवास निर्माण र स्वास्थ्य तथा शिक्षा क्षेत्रमा हामीले थालनी गरेका विकासका दूरगामी योजनाहरुले जनताको जीवनमा परिवर्तन ल्याउने छन् ।’

    वर्तमान अस्थिर राजनीतिक अवस्थाप्रति लक्षित गर्दै प्रधानमन्त्रीको वक्तव्यमा भनिएको छ, ‘सुस्थिर राजनीतिमा व्यवधान पैदा गर्दै मुलुकको विकास र समृद्धिको आकाङ्क्षा विरुद्ध खडा गरिएका चुनौतीहरुलाई हामी सबैले एकजुट भएर पराजित गर्नुपर्दछ ।’

  • ‘भाग्न खोज्दा पीठमा गोली खानेहरू शहीद होइनन्’

    ‘भाग्न खोज्दा पीठमा गोली खानेहरू शहीद होइनन्’

    काठमाडौं । आज शहीद दिवस । हरेक वर्ष माघ १६ मा शहीद दिवस आउँछ । शहीदका सपना पूरा गर्ने प्रतिबद्धता जाहेर गरिन्छन् । भोलिपल्टबाट त्यो सबैले बिर्सिन्छन् ।

    त्यसो त पछिल्लो समयमा शहीद को हुन् र को होइनन् भन्नेमा पनि व्यापक वादविवाद एवं बहस हुँदै आएको छ । गाडीले किचेर मरेकादेखि हृदयघात भएर मरेकासम्मलाई दबाबमा शहीद घोषणा गरिंदा वास्तविक शहीदको अवमूल्यन भएको भनेर चिन्ता व्यक्त भइरहेका छन् ।

    २०६२-६३ पछि देश एउटा राजनीतिक संक्रमणमा फस्यो । हरेक क्षेत्रमा बेथिति मौलाएको त्यो बेला शहीद घोषणामा पनि त्यस्तै भयो । जुन दल सरकारमा गयो, विभिन्न कारणले मरेका आफ्ना कार्यकर्तालाई आर्थिक लाभका लागि शहीद घोषणा गर्ने प्रचलन व्यापक बन्दै गयो । त्यसलाई निरुत्साहित गर्न भन्दै ६ कात्तिक २०६६ मा तत्कालीन एमाले नेता माधवकुमार नेपाल नेतृत्वको सरकारले शहीदका लागि मापदण्ड बनाउन उच्चस्तरीय कार्यदल बनायो । संयोजक तोकिए तत्कालीन एमाले नेता मोदनाथ प्रश्रित

    प्रश्रित नेतृत्वको कार्यदलले अध्ययन गरेर प्रतिवेदन त दियो, तर त्यसको कार्यान्वयन हुन सकेन । प्रतिवेदन यत्तिकै दराजमा थन्क्याइयो । त्यसपछि बाबुराम भट्टराई नेतृत्वको सरकारले ४ फागुन २०६८ मा तत्कालीन एकीकृत नेकपा माओवादी नेता नवराज सुवेदीको संयोजकत्वमा उस्तै कार्यदल बनायो । उनको कार्यदलले बुझाएको प्रतिवेदनको नियति पनि उस्तै रह्यो । फलस्वरुप शहीद घोषणामा व्याप्त विकृतिले आजपर्यन्त निरन्तरता पाइरहेको छ ।

    अघिल्लो कार्यदलका संयोजक प्रश्रित आफूहरूले दुःख गरेर बनाएको प्रतिवेदन यत्तिकै थन्काइँदा दुःखी छन् । आफूहरूले प्रतिवेदनमा शहीदको वर्गीकरण गर्न सुझाएको भए पनि अहिलेसम्म जथाभावी शहीद घोषणा भइरहेकोमा उनको चित्तदुखाइ छ । प्रस्तुत छ, प्रश्रितले नेपाल प्रेससँग व्यक्त गरेको धारणा जस्ताको तस्तैः

    ‘शहीद’ आफैंमा एउटा गहु्रँगो शब्द हो । यसलाई परिभाषित गर्न पनि त्यति सहज छैन ।

    विकसित मुलुकमा कसरी मृत्युवरण गर्नेलाई शहीद भन्ने भनेर विभिन्न खालका अध्ययन भएका छन् । हाम्रो देशमा शहीदको परिभाषा गोलमटोल छ । कसैको हकमा शहीद शब्दले न्याय गरेको छ भने कसैलाई यत्तिकै शहीद घोषणा गरिएको छ ।

    खासगरी हाम्रो राणाकालमा सहादत प्राप्त गरेका चार जनालाई हृदयदेखि शहीद मान्छौं । अहिलेको परिवेशमा सबैभन्दा पहिले सम्बोधन गर्ने, स्मरण गर्ने ती चार जनालाई नै हो । राणाशाही खत्तम गरेर प्रजातन्त्र ल्याउन खोज्दा डरलाग्दो तरिकाले उहाँहरूको हत्या गरिएको थियो ।

    सामान्यतया ज्यान जोगाउनका लागि भाग्न खोज्दा र भागेका बेला पीठमा गोली लाग्नेलाई शहीद भनिंदैन । जो भाग्न खोज्छ, ऊ शहीद हुन सक्दैन । उसले अगाडि बढेर निश्चित उद्देश्यका लागि ज्यानको आहुति दिन तयार हुन्छ । यो पूरा गर्नका लागि लड्नु परे पनि लड्छु, मर्नु परे पनि मर्छु भन्छ ।

    खास–खास अवस्थामा मृत्यु भएको मानिसलाई वास्तविक शहीद मानिन्छ । देशको सीमा रक्षा गर्ने क्रममा विदेशी शक्तिको आक्रमणमा परेर मारिएको व्यक्ति सबैभन्दा महान शहीद हो । यस्तै, आफ्नो धार्मिक आस्था अनुसार काम गरिरहेको र समाजलाई केही नोक्सानी नगरेको मान्छेलाई अर्को धर्मको मान्छेले ‘ड्याम्म’ हान्दिन्छ र त्यो मान्छे मारिन्छ भने पनि त्यसलाई शहीद नै मानिन्छ । त्यो धार्मिक शहीद भयो ।

    हामीले बुझाएको प्रतिवेदनमा शहीदलाई यसरी वर्गीकरण गर्नुपर्छ भनेर नियम बनाएका छौं । यस्तो–यस्तो परिवेशको संघर्षमा मारियो भने त्यो शहीद हो, यस्तो–यस्तो अवस्थामा मारियो भने होइन भने हामीले प्रतिवेदनमा उल्लेख गरेका छौं । बहुसंख्यक जनताको धर्म, आस्था, उद्देश्य, राष्ट्रको हित, सांस्कृतिक विषय, भूमि व्यवस्थाको रक्षा, जलस्रोतको संरक्षण गर्ने जस्ता सन्दर्भमा मारिनेलाई शहीद भनिन्छ ।

    जस्तो कि, जनयुद्धका बेला तत्कालीन एमाले र माओवादीबीच टकराव भयो । एउटाले राज्यसँग सम्बन्धित भएर काम गर्‍यो । माओवादीले नेकपा एमालेलाई हामी मेटाइदिन्छौं भन्यो । त्यस्तो अवस्थामा माओवादीबाट एमालेका कोही मारिए भने उनीहरू पार्टीगत शहीद हुन्छन्, तर देशका हुँदैनन् ।

    व्यक्तिगत रूपमा मरेका मान्छेलाई पनि शहीद भन्न खोज्ने काम विगतमा भयो । समाजको हितका लागि महान उद्देश्य बोकेर मारिने कुरा मात्रै सहादत हुन्छ । विगतमा पैसा लुट्न खोज्दा मर्नेहरू पनि दबाबमा शहीद घोषणा हुँदा विकृति देखियो ।

    हामीले निकै दुःख गरेर बुझाएको प्रतिवेदनलाई सरकारले केही वास्तै गरेन । पाँच विकास क्षेत्रमा गएर हामीले सबैलाई राखेर, अन्तर्राष्ट्रिय कानून–नियम के छन्, त्यसलाई हेरेर दुई÷तीन महिना लगाएर बनेको प्रतिवेदन हो, त्यो ।

    हाम्रो देशका अधिकांश नेताहरू अलपत्रै हुन् । हामीले प्रतिवेदन बनाएर बुझाइसकेपछि सरकारका मान्छे बसेर यस बारेमा विस्तृत छलफल गर्नुपथ्र्यो । प्रतिवेदन बनाउन भनियो, बनायौं, तर त्यसलाई यत्तिकै थन्क्याइयो ।

    हाम्रो कार्यदलमा सबै पक्षका मान्छे थिए । को कांग्रेस ? को कम्युनिष्ट ? सबै । सरकारी कर्मचारीहरू पनि थिए । सबैलाई मिलाएर गरेको हो । त्यसमा सरकारले त्यत्रो खर्च गरेको थियो । तपाईंले प्रतिवेदन दिनुभयो, धन्यवाद भन्दियो । थन्क्याइदियो, सकियो ।

    हामीले प्रतिवेदन बुझाउँदा नै सरकारलाई भनेका थियौं– हामीले त ल्यायौं । तपाईंहरूले थप्ने, घटाउने के–के गर्ने हो गर्नुहोस् । बुझाइ सकेपछि पनि बीच–बीचमा सोध्यौं । तर, त्यहाँका कर्मचारीले केही गरेनन् ।

    त्यो प्रतिवेदन कार्यान्वयन गरेको भए सबैका लागि काम लाग्थ्यो । दायित्व पूरा गरेर, यत्रो मिहिनेत गरिसकेपछि त्यसलाई महत्व दिनुपर्छ । त्यसलाई कार्यान्वयन गरेर नियम बनाउनुपर्छ भनेर हामीले सुझाव दिएका छौं ।