Tag: शल्यक्रिया

  • बोक्सी आरोपमा महिला हिंसा विश्वव्यापी, बालबालिकासमेत पीडित

    बोक्सी आरोपमा महिला हिंसा विश्वव्यापी, बालबालिकासमेत पीडित

    बोक्सी प्रथा नेपाल र भारतमा मात्र नभइ विश्वभर नै रहेको पाइन्छ, जसका कारण अबोध महिलाले बोक्सीको आरोपमा प्रताडित हुनु परेको छ । विश्वभर बोक्सी तथा अलौलिक शक्तिको अस्तित्व स्वीकार गर्ने ठूलो जमात छ । रूप–स्वरूपमा विविधता भए तापनि संसारभर नै बोक्सी विद्याबारे विश्वास राखिएको पाइन्छ ।

    केही देशमा पुरुषलाई पनि बोक्सी आरोप छिटपुट रूपमा नलगाइएको होइन । तर यस कुप्रथाबाट मुख्यतः महिलानै प्रभावित हुने गरेका छन् । अफ्रिकाका केही देशमा महिलाका साथै बालबालिकालाई पनि बोक्सीको आरोप लगाइ यातना दिनु तथा हत्या गरिनु अत्यन्त दुःखदायी कुरा हो ।

    सन् १९९८ मा इण्डोनेसियाको बन्युवान्गी जिल्लामा मात्र बोक्सी आरोपमा लगभग सय जनाको हत्या भयो । सन् २००३ मा कम्बोडियामा आठजना बोक्सी आरोपित मारिए । उक्त घटनामा मानिसका हुलले बोक्सी आरोपितलाई सामूहिक रूपमा हत्या गरेका थिए ।

    थाइल्याण्डमा बोक्सी आरोपितलाई बहिष्कार र गाउँ निकाला गरिएका धेरै घटना छन् । बंगालादेशमा छोरा वा पति विदेशमा काम गरिरहेको परिवारमा बुहारीलाई बोक्सी आरोप लगाउने गरेको पाइन्छ । ‘विच् एन्ड विच् हन्ट्ः अ ग्लोवल हिस्ट्री’का अनुसार मध्य तथा लेटिन अमेरिका बिसौँ शताब्दीमा बोक्सी आरोप लगाउनेको केन्द्र बिन्दु नै थियो ।

    बोलिभियामा बोक्सी आरोपमा जिउँदै जलाउने, जिउँदै पुर्ने जस्ता घटनाहरूको प्रतिवेदन पाइन्छन् । त्यस्ता घटना विशेष गरी आदिवासी समुदाय बसोबास गरेको स्थान जहाँ सरकारको न्यून उपस्थिति रहेको ठाउँमा हुने गरेको पाइन्छ ।

    पपुवा न्यूगिनीमा एकै वर्ष एउटै प्रान्तमा लगभग २०० महिलाहरू बोक्सीको आरोपमा मारिएका प्रमाण छन् । बोक्सी आरोपितलाई यातना दिइन्छ, भीर तथा चट्टानबाट फ्याँकिन्छ, कार वा गाडीको पछाडि घिसारिन्छ, जलाइन्छ वा जिउँदै गाडिन्छ ।

    ग्वाटिमाला र हाइटीमा पनि बोक्सी आरोपमा धेरै हत्या भएका छन् । सन् १९६० मा मेक्सिकोको एक जापोटक गाउँमा मात्र बोक्सी आरोपका ८० घटनाहरू दस्तावेजीकरण भएको पाइन्छ । सन् १९५६ देखि १९८४ सम्मका पत्रपत्रिकाका अनुसार पोल्याण्डमा बोक्सी आरोपमा धेरै हिंसा (हत्यालगायत) भएको देखिन्छ ।

    युरोपमा सन् १४५० देखि १७५० सम्म बोक्सी आरोपका घटना अत्यधिक भए । त्यस अवधिमा एक लाख बोक्सी आरोपितलाई कारवाही गरिएको र आधा जतिलाई ज्यान सजायँ दिइएको थियो । जसमध्ये तीन चौथाइ जति महिला थिए ।

    केन्याको लुग्बारा जातिमा महिलाभन्दा पुरुषलाई बोक्सीको आरोप लगाउने गरेको पाइन्छ । तर केन्याको किसी जनजाति क्षेत्रमा भने महिलालाई नै बोक्सीको आरोप लगाउने गरिन्छ । केन्याको उक्त क्षेत्रमा मे २००८ मा १५ महिलालाई बोक्सी आरोपमा हत्या गरिएको थियो ।

    २००७ को सुरुआततिर गाडी दुर्घटना गराएको भन्दै चार महिलालाई बोक्सी आरोपमा मारिएको थियो । निक स्क्वीरिस्का अनुसार पपुवा न्यूगिनीमा एकै वर्ष एउटै प्रान्तमा लगभग २०० महिलाहरू बोक्सीको आरोपमा मारिएका प्रमाण छन् । बोक्सी आरोपितलाई यातना दिइन्छ, भीर तथा चट्टानबाट फ्याँकिन्छ, कार वा गाडीको पछाडि घिसारिन्छ, जलाइन्छ वा जिउँदै गाडिन्छ ।

    जाम्बियामा त झन् बोक्सी आरोपका घटना नाटकीय रूपमा बढेको पाइन्छ । एड्सको चिकित्सा विज्ञानसम्बन्धी कुनै उपचार नभएको कारण बिरामीको मृत्युको कारण स्वतः ‘बोक्सी’माथि थोपरिन्थ्यो ।

    मानव अधिकारकर्मी सारह गरपका अनुसार त्यस्ता घटनामा ९५ प्रतिशत आरोपित महिला हुने गर्छन्, जसलाई अमानवीय यातना तथा हत्या गरिन्छ । साथै उक्त घटनाक्रममा जसले हस्तक्षेप गर्छ, उसलाई बोक्सी आरोप लगाइ हत्या गर्ने जोखिम रहन्छ ।

    तान्जेनियामा पनि बोक्सी आरोपका घटनाहरू धेरै हुने गरेका छन् । ती घटनाका आरोपित अथवा पीडित महिलाहरू नै बढी हुने गर्छन्, त्यसमा पनि वृद्ध महिलाहरू बढी प्रताडित हुने गरेका छन् । तान्जेनियाको एक सरकारी तथ्याङ्कअनुसार सन् १९९८ देखि २००१ सम्म १७ हजार २२० महिलालाई बोक्सी आरोप लगाइएको थियो, जसमा दश प्रतिशत जति मारिएका थिए । त्यस्तै अर्को एक सरकारी तथ्याङ्कअनुसार सन् १९७० देखि १९८४ सम्म ३ हजार ६९३ जना बोक्सी आरोपमा मारिएका थिए ।

    सामान्यतया अपाङ्ग, बिरामी, उद्दण्ड वा खराब आचरण भएका बालबालिकालाई यस्ता आरोप लाग्ने जोखिम हुने गर्छ । प्राय आरोपित बालबालिकाका आफ्ना बा, आमा वा दुवै नभएका र आर्थिक समस्यासँग जुधिरहेका सौतेनी अभिभावक वा संयुक्त परिवारसँग बसोबास गरेको देखिन्छ ।

    एंगोलाका बालबालिकालाई पनि यस्ता आरोपहरू लाग्ने गरेको पाइन्छ । यस्ता घटना नाइजेरियामा विद्यमान छ, जहाँ बोक्सीको आरोपमा बालबालिकालाई निर्घात कुटपिट गरिन्छ, विष पिलाइन्छ वा जिउँदै जलाउने समेत गरिन्छ । बालबालिकालाई बोक्सीको आरोप लगाइ यातना दिइ घर निकाला गर्नुको पछाडि परिवारको अत्यन्त कमजोर आर्थिक अवस्था नै प्रधान कारण रहेको देखिन्छ । नइच्छाएको बालबालिकालाई निष्कासित गर्नका लागि पनि बोक्सी आरोपलाई औचित्य साबित गर्ने हतियारको रूपमा प्रयोग गरेको पाइन्छ ।

    अफ्रिकामा विगतमा भएका स्वास्थ्य संकट (जस्तो बेनिन्मा टिटेनस्को महामारी, पपुवा न्यूगिनीमा मलेरियाको महामारी, घानामा मेनिन्जाइटिस्को उत्पात)का कारण पनि बोक्सी आरोपका घटना बढेको पाइन्छ । कङ्गो, पपुवा न्यूगिनी, तान्जियालगायतका देशमा एच्आइभी–एड्सलाई बोक्सीको शक्तिसँग जोडिन थालियो, जसका कारण बोक्सी आरोपका घटना बढेको देखिन्छ ।

    जाम्बियामा त झन् बोक्सी आरोपका घटना नाटकीय रूपमा बढेको पाइन्छ । एड्सको चिकित्सा विज्ञानसम्बन्धी कुनै उपचार नभएको कारण बिरामीको मृत्युको कारण स्वतः ‘बोक्सी’माथि थोपरिन्थ्यो ।

    भारत र नेपालमा हुने बोक्सी आरोपित घटनाका आयाम तथा स्वरूपमा धेरै एकरूपता पाइन्छ । भारतको तुलनामा नेपालमा बोक्सीको आरोपमा ज्यान गुमाउने घटना न्यून रहे पनि बोक्सी आरोपमा हुने क्रूर तथा अमानविय हिंसा भने उल्लेखनीय मात्रामा हुने गरेको पाइन्छ ।

    छिमेकी मुलुक भारतमा बोक्सीमाथिको विश्वास र यसको नाममा महिलामाथि गरिने हिंसा कहालीलाग्दो छ । भारतको राष्ट्रिय अपराध ब्यूरोका अनुसार सन् १९९१ देखि २०१० सम्म १ हजार ७०० महिलाहरूले बोक्सीको आरोपमा ज्यान गुमाइसकेका छन् भने सन् २००० देखि २०१४ सालभित्र २ हजार ५०० महिलाहरूले बोक्सीको आरोपमा ज्यान गुमाइसकेका छन् ।

    यसैगरी सन् २००१ देखि २००८ सम्म १ हजार २६१ जना महिलाले बोक्सीको आरोपमा ज्यान गुमाएका छन् । संयुक्त राष्ट्र संघको रिपोर्टअनुसार भारतमा सन् १९८७ देखि २००३ सम्म २ हजार ५५६ जना महिलाको बोक्सीको आरोपमा ज्यान गयो ।

    भारतको राष्ट्रिय अपराध ब्यूरोको तथ्याङ्कको आधारमा वर्षमा १५० देखि २०० जना महिला बोक्सीको आरोपमा मारिन्छन् । साथै भारतको झारखण्ड, हरयाणा, छत्तिसगढ, ओरिसा, पश्चिम बंगाल, मध्य प्रदेश, राजस्थान, आन्द्र प्रदेश, गुजरात, महाराष्ट्र, असाम र विहारसहित बाह्रवटा राज्यमा बोक्सी आरोपित हिंसाहरू बढी हुने गरेको पाइन्छ । बोक्सीको आरोपमा ज्यान गुमाउने घटनामा झारखण्ड पहिलो पङ्क्तिमा रहने गरको छ ।

    भारत र नेपालमा हुने बोक्सी आरोपित घटनाका आयाम तथा स्वरूपमा धेरै एकरूपता पाइन्छ । भारतको तुलनामा नेपालमा बोक्सीको आरोपमा ज्यान गुमाउने घटना न्यून रहे पनि बोक्सी आरोपमा हुने क्रूर तथा अमानविय हिंसा भने उल्लेखनीय मात्रामा हुने गरेको पाइन्छ ।

    यस्ता घटनासम्बन्धी तथ्याङ्क विभिन्न निकाय (सरकारी तथा गैर सरकारी)मा फरक फरक पाउने गरिन्छ । यस्ता धेरै घटनाहरू डर–धम्की, न्यायिक पहुँचको अभाव, मेलमिलाप आदिका कारण प्रहरीमा दर्ता हुने गरेको पाइँदैन । यही कारण पनि तथ्याङ्कमा फरकपना देखिएको हुुनसक्छ । नेपालमा पछिल्लो २४ वर्षमा (२०५३ देखि २०७७ साउन १० गतेसम्म) नेपाल प्रहरी अपराध अनुसन्धान विभागका अनुसार बोक्सी आरोपमा ३ सय ६८ जनाले यातना पाएका छन् ।

    (बोक्सीप्रथा केन्द्रित पुस्तक ‘शल्यक्रिया’बाट । उक्त पुस्तक आज सार्वजनिक हुँदैछ ।)

  • मधुमेहपीडित ८१ वर्षीया वृद्धाको दूरबिनबाट सफल शल्यक्रिया

    मधुमेहपीडित ८१ वर्षीया वृद्धाको दूरबिनबाट सफल शल्यक्रिया

    काठमाडौं । नर्भिक अस्पतालमा ८१ वर्षीया बृद्धाको दूरबिन प्रविधिबाट पाठेघरको सफल शल्यक्रिया गरिएको छ ।

    नर्भिक अस्पतालको वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. नुतन शर्मा नेतृत्वको टिमले बिहीवार बिहान विराटनगरकी विद्यादेवी भट्टराईको पाठेघरको सफल शल्यक्रिया गरेको हो ।

    छातिसम्बन्धी समस्याका साथै उच्च रक्तचाप, मधुमेह र थाइराइडको समस्याबाट ग्रसित भट्टराईको दूरबिन प्रविधिबाट शल्यक्रियामार्फत पाठेघर झिकिएको डा. शर्माले बताइन् ।

    बढी उमेर समूह र मोटोपन भएका बिरामीको दूरबिन प्रविधिबाट शल्यक्रिया सम्भव हुँदैन कि भन्ने धारणा कतिपय बिरामीमा हुने गरेको भन्दै डा. शर्माले भनिन्–‘नर्भिक अस्पतालमा दुवै उच्च जोखिम समूहका बिरामीको सफल रुपमा दूरबिनबाट शल्यक्रिया गरिसकेका छौं ।’

    यसअघि १३४ किलो तौल समूहको महिलाको पनि डा.शर्मा नेतृत्वको टिमले दूरबिन प्रविधिबाट पाठेघरको सफल शल्यक्रिया गरेको थियो । पेट चिरेर गरिनेभन्दा दूरबिन प्रविधिबाट गरिने शल्यक्रिया बिरामीका लागि सुविधायुक्त र लाभदायक हुने गर्दछ ।

    सामान्यतः वृद्धा अवस्थामा विभिन्न स्वास्थ्य समस्या भएका महिलाको दूरबिनबाट पाठेघरको अप्रेशन गर्नु जटिल मानिए पनि आफ्ना दक्ष चिकित्सकसहितको टिमले सफल उपचार गरेको नर्भिक अस्पतालले जनाएको छ ।

    ल्याप्रोस्कोपिक प्रविधिबाट शल्यक्रिया गर्दा बिरामीको अस्पताल बसाई पनि कम हुने र छिट्टै रिकभर भई नियमित दैनिकीमा फर्किनसक्ने डा. शर्माले बताइन् । शल्यक्रियापछि बिरामीको अवस्था सामान्य रहेको र भोलि शनिवार बिरामीलाई डिस्चार्ज गरिने अस्पतालले जनाएको छ ।

     

  • १३६ केजीकी मुटुरोगी महिलाको एकै पटक दुई जटिल शल्यक्रिया

    १३६ केजीकी मुटुरोगी महिलाको एकै पटक दुई जटिल शल्यक्रिया

    काठमाडौं । दुरबिन प्रविधिबाट १ सय ३६ किलो तौल भएकी एक महिलाको एकैसाथ दुई जटिल शल्यक्रिया सम्भव भएको छ  । थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा आज ती महिलाको महिलाको दुरबिन प्रविधिको प्रयोग गरी पाठेघर र पित्तथैलीको एकैपटक शल्यक्रिया गरिएको हो ।

    नर्भिक अस्पतालमा वरिष्ठ स्त्री रोग विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्मा, वरिष्ठ सर्जन डा. सञ्जय पौडेल, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. जेपी जैसवाल र डा. सुरेश लामिछानेसहितको टोलीले करीब साढे २ घण्टा लगाएर ललितपुर पाटनकी ३८ वर्षीया रत्ना महर्जनको शल्यक्रिया गरेको हो ।

    सामान्यत: १ सय ३६ किलो तौल भएका बिरामीको दुरबिन प्रविधिबाट पाठेघर र पित्त थैलीको एकै पटक शल्यक्रिया गर्नु एकदमै कठिन कार्य हो । तर, गुणस्तरीय सुविधाले सहज रूपमा बिरामीको शल्यक्रिया सम्भव भएको डा. शर्माले बताइन् ।

    “पाठेघरमा अधिक मासु पलाएको र पित्त थैलीको समस्याका कारण बिरामी सामान्य हिँडडुल नै गर्न नसक्ने अवस्थामामा हुनुहुन्थ्यो,” ल्याप्रोस्कोपिक सर्जन डा. शर्माले भनिन्, “शल्यक्रियाको दुई दिनमा उहाँ राम्रोसँग हिँड्ने अवस्थामा हुनुहुन्छ, शल्यक्रियापछि तीन दिन आराम गराएर भोलि हामी उहाँलाई डिस्चार्ज गर्दैछौँ ।”

    दुरबिनबाट शल्यक्रिया गरेका कारण अवको एक हप्तापछि उनले नियमित काम गर्न सक्ने डा. शर्माले बताइन् । शरीरको बढी तौल र मुटुको समस्यासमेत भएकी बिरामीको सहज शल्यक्रिया सम्भव भएकोमा खुशी व्यक्त गरिन् ।

    बढी तौल भएकाहरूको पेट चिरेर शल्यक्रिया गर्दा रगत धेरै बग्ने, घाँउ निको हुन समय लाग्ने र घाउ पाक्ने जस्ता समस्या आउने भएकाले बिरामीलाई आवश्यक हुने जति आराम र सुविधा दिन दुरबिन प्रविधि निकै लाभदायक हुने चिकित्कहरूको भनाई छ ।

    आधुनिक प्रविधि र सुविधा भए उच्च जोखिममा रहेका बढी तौल भएका बिरामीको शल्यक्रिया पनि सहज रुपमा गर्न सकिने डा. शर्माले बताइन् ।  टेष्ट ट्युव बेबी विशेषज्ञ समेत रहेकी डा. शर्माले गत असारमा नर्भिक अस्पतालमै १ सय ६८ किलो तौल भएकी महिलाको शल्यक्रिया मार्फत सफल प्रसुती गराएकी थिइन् ।