Tag: वीरबहादुर बलायर

  • ‘समाजवादी र माओवादीमा दम्भ छ, आगामी निर्वाचनमा गठबन्धन हुँदैन’

    ‘समाजवादी र माओवादीमा दम्भ छ, आगामी निर्वाचनमा गठबन्धन हुँदैन’

    कैलाली । माओवादी नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी र नेकपा एकीकृत समाजवादी मात्रै सहभागी छन् । गठबन्धन भित्रै रहेका अन्य दुई दल नेपाली कांग्रेस र जनता समाजवादी सरकारमा सहभागी छैनन् ।

    सत्तामा जान नपाएपछि अहिले सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका नेताहरूले गठबन्धनको औचित्य नरहेको बताउँदै आइरहेका छन् । केही दिन पहिले कांग्रेस सुदूरपश्चिम सभापति वीरबहादुर बलायरले प्रदेशमा गठबन्धन नभएको भन्दै आगामी निर्वाचनमा पनि गठबन्धन नहुने प्रष्ट पारेका थिए ।

    प्रदेश सभापति बलायर र नेकपा एकीकृत समाजवादीका नेता तथा पर्यटन मन्त्री प्रेम आलेको एउटै निर्वाचन क्षेत्र हो । यसअघि बलायरलाई आलेले प्रतिनिधिसभामा हराएका थिए । गठबन्धन नगरे बलायर यहाँबाट कांग्रेसको उम्मेदवार बन्ने सम्भावना छ भने गठबन्धन भए एउटै निर्वाचनमा बलायर र आलेलाई समेट्न नेतृत्वलाई सकस पर्ने देखिएको छ । उनी अहिले कांग्रेसको अभियान लिएर आफ्नो निर्वाचन क्षेत्रमा छन् । त्यहाँ उनले गठबन्धन नहुने भन्दै आइरहेका छन् ।

    प्रस्तुत छ, गठबन्धनको अवस्था, प्रदेश सरकारमा कांग्रेसको भूमिकालगायतका विषयमा कांग्रेस प्रदेश सभापति बलायरसँग गरिएको कुराकानी नेपाल टकमा ।

    तपाईंले पछिल्लो समय कांग्रेस गठबन्धन बनाएर चुनाव नलड्ने बताइरहनु भएको छ । पार्टी केन्द्रबाट केही संकेत पाएर भन्नु भएको कि मनोगत कुरा हो ?

    त्यो यर्थात हो । म सुदूरपश्चिम प्रदेशको पार्टी सभापति हुँ । गठबन्धन भएको भए त देशभर हुनु पर्छ नि ! अहिलेसम्म सुदूरपश्चिम प्रदेशमा गठबन्धन भएकै छैन । अनि यही गठबन्धन अगाडि बढाउनु पर्छ भन्ने कहाँ हुन्छ ?

    अरु सबै प्रदेशमा हामी सरकारमा छौं तर, सुदूरपश्चिम प्रदेशमा छैनौं । यसअर्थमा अहिले नै हामी गठबन्धनमा छैनौं भने आगामी निर्वाचनमा गठबन्धनको कुरा परिकल्पना गर्ने कुरै हुँदैन ।

    सरकार बाहिर रहनुपर्दाको आक्रोश त होला नि यो, होइन त ?

    यो आक्रोश होइन । हामीलाई कोसँग आक्रोश पोख्नु छ र ! हामी त सबैको भावना समेट्ने गरी जनताको प्रगतिमा अगाडि बढौं भनिरहेका छौं । तर, उहाँहरूले केही गर्न चाहिरहनु भएको छैन । गठबन्धनलाई बलियो बनाउन र गठबन्धन अनुसार अघि बढ्न उहाँहरु नै तयार हुनुहुन्न भने हामी मात्र किन गठबन्धनको कुरा लिएर अगाडि जाने ?

    हामी त हाम्रो पार्टीलाई सक्रिय बनाएर अगाडि लैजाने अभियानमा छौं । हामी जनताको पक्षमा हाम्रा प्रतिबद्धताहरु पूरा गरेर आगामी निर्वाचनलाई एक्लै फेस गर्ने तयारीमा छौँ ।

    सुदूरपश्चिम सरकारमा सहभागी हुने कुरा उहाँहरूले चाहनु भएको वा नचाहेको कुरा मात्रै होइन । यो गठबन्धनसँग जोडिएको कुरा पनि हो । हामीसँग बहुमत छ भन्ने क्षणिक कुरालाई उहाँहरूले बुझ्नु भएको छ । उहाँहरूको त्यो बुझाइलाई पनि हामीले सहज स्वीकार गरेका छौं ।

    यहाँ कांग्रेस कमजोर भएरै सरकार बाहिर हुनपरेको सत्य त हो नि !

    कांग्रेस नेताहरू कमजोर छैनन्, कांग्रेस कमजोर छैन । त्यो कुरा त निर्वाचनपछि सबैले थाहा पाइहाल्ने छन् । सरकारमा सहभागी हुने कुरा उहाँहरूले चाहेमा पनि सम्भव नहुन सक्छ । यतिका वर्षमा उहाँहरूले गर्नु भएको कामको अन्तिममा हामी जश वा अपजश लिन हामी चाहन्नौं ।

    पार्टी सभापति एवं प्रधानमन्त्रीकै प्रदेशमा कांग्रेस किन यति कमजोर हुन पुग्यो ?

    सुदूरपश्चिममा समाजवादी र माओवादीको एउटा दम्भ छ । अहिले अंकगणितले हामी बहुमतमा छौं भन्ने लाग्यो होला र त्यही दम्भ देखाइरहनु भएको छ । त्यसमा हाम्रो कुनै आपत्ति छैन । तर, हामी सत्तापक्ष हौं कि विपक्ष हौं भन्ने कुरा पार्टीले निर्धारण गर्छ । सारमा हामी सरकारमा छैनौं ।

    पटक–पटक मुख्यमन्त्री माग्न काठमाडौं जानुभयो । तर अहिले पन्छन खोज्नु भएको हो ?

    हामी त्यो बेलासम्म गठबन्धन प्रति पूर्ण प्रतिबद्ध थियौं, जतिबेला ठूला तीन दल गठबन्धनमा थिए र उनीहरूबीच दुई–दुई प्रदेशमा एउटा–एउटा मुख्यमन्त्री र मधेस प्रदेशमा समाजवादीलाई एउटा मुख्यमन्त्री दिने सहमति भएको थियो । त्यो समझदारीलाई हामीले स्वीकार गरेका थियौं । तर त्यसो नहुने भएपछि हामीले मुख्यमन्त्री मागेका छैनौं ।

    अर्काे कुरा, योभन्दा पहिले सुदूरपश्चिम प्रदेशमा पार्टीको संरचना थिएन । १४ औँ महाधिवेशनले संरचना ल्याइसकेपछि आफ्नो पार्टीलाई सफल र सक्षम बनाउनु मेरो कर्तव्य हो । म त्यहींअनुसार अघि बढिरहेको छु ।

    तपाईंको निर्वाचन क्षेत्रमा नेकपा एसका नेता तथा अहिलेका मन्त्री प्रेम आले पनि हुनुहुन्छ । यसअघि तपाईं उहाँसँग पराजित हुनु भएको थियो । गठबन्धन भए आफू टिकट नपाउने सम्भावना देखेपछि विरोध गर्नुभएको भन्ने आरोप पनि छ नि !

    त्यस्तो केही होइन । टिकट जसले ल्याए पनि भयो । जनताको बीचमा को छ भन्ने कुरा हो । जनताले अनुमोदन गर्ने कुरा हो । म अहिले पनि जनताकै बीचमा छु । डोटीको दूरदराजमा संगठन र जनताको काम गर्दै हिँडिरहेको छु । यहाँ हामीले पार्टीको अभियानलाई तीव्र रूपमा अगाडि बढाइरहेका छौं । लोकतान्त्रिक प्रक्रियामा अन्तिममा जनताले निर्वाचनमार्फत फैसला गर्ने कुरा हो । अहिले कसले के भने भन्ने कुरातर्फ धेरै ध्यान दिन आवश्यक छैन ।

    तपाईं सुदूरपश्चिममा मात्रै गठबन्धनविरोधी हो कि देशैभरको ?

    कांग्रेसले देशैभर क्षति बेहोर्ने गरी गठबन्धन गर्दैन । कसरी र कहाँ–कहाँ गठबन्धन गर्ने भन्नेबारे केन्द्रीय कार्य समिति र पदाधिकारीबाट निर्णय हुन्छ । यो एकलरूपमा र व्यक्तिगत रूपमा भनिने र गरिने कुरा होइन । नीतिगत रूपमा आउँछ । तर कांग्रेसलाई सबल र सक्षम बनाउन गठबन्धन उपयुक्त छैन भन्ने अधिकांशको बुझाइ छ ।

  • सुदूरपश्चिम कांग्रेसको सभापतिमा देउवानिकट बलायर निर्वाचित

    सुदूरपश्चिम कांग्रेसको सभापतिमा देउवानिकट बलायर निर्वाचित

    धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको सभापतिमा वीरबहादुर बलायर निर्वाचित भएका छन् । सभापति शेरबहादुर देउवानिकट नेता बलायरले संस्थापन इतर पक्षका उम्मेदवार नारायणदत्त मिश्रलाई ४ सय ८ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।

    कुल १ हजार २६ जना प्रतिनिधिमध्ये १ हजार ३ मत खसेको थियो । बलायरले ६ सय ८८ मत ल्याउँदा मिश्रले २ सय ८० मत मात्रै ल्याए ।

    पदाधिकारीमा बलायरको प्यानल नै विजयी भएको छ । उपसभापतिमा जनकराज चौधरी र लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का तथा सह महामन्त्रीमा गोपालदत्त भट्ट चिन्तामणि भट्ट र अम्बिकाकुमारी चलाउने विजयी भएका छन् ।

    यस्तो छ मत परिणाम
    सभापति
    वीरबहादुर बलायर –६८८(विजयी)
    नारायणदत्त मिश्र –२८०

    उपसभापति
    गोपालसिंह गुरुङ –२८१
    जनकराज चौधरी –६१०(विजयी)
    मनबहादुर रावल –२६३
    लोकराज अवस्थी –५२३(विजयी)
    हिमबहादुर रावल–१२१

    महामन्त्री
    नरनारायण शाह मनु –६४८(विजयी)
    प्रताप गुर्धामी–१३३
    मेघराज खड्का –६३५(विजयी)
    रामबहादुर शाही –३०३

    सहमहामन्त्री
    गोपालदत्त भट्ट–५२९(विजयी)
    चिन्तामणि भट्ट –५३३ (विजयी)
    नरेन्द्रप्रसाद भट्ट–२१२
    पदमराज पन्त –२५४
    लक्ष्मणबहादुर शाही – १६४
    हर्कबहादुर स्वाँर–६८

    महिला सहमहामन्त्री
    अम्बिका कुमारी चलाउने–६८६(विजयी)
    खिना भण्डारी –२२३

    को हुन बलायर ?

    प्रदेश अधिवेशन उद्घाटन हुँदासम्म पूर्वभौतिक पूर्वाधारमन्त्री बलायरको कतै नाम सुनिएको थिएन । अधिवेशन उद्घाटनपछि मात्रै उनी सभापतिका लागि चर्चामा आएका थिए । अन्तिममा संस्थापन पक्षले बलायरकै नेतृत्वमा प्रदेश समिति घोषणा गर्‍यो ।

    ५७ वर्षीय बलायर विद्यार्थीकालमा युवामाझ चर्चित थिए । बीपी कोइरालाबाट प्रभावित उनी २०४९ सालमा त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको सभापति पदमा लडेका थिए । तर पराजित भए । त्यतिबेला उनी त्रिभुवन विश्वविद्यालयमा नेविसंघको अध्यक्ष थिए ।

    बलायर २०४६ सालमा गणेशमान सिंहको चाक्सीबारीस्थित निवासमा जनआन्दोलनको घोषणा हुँदै गर्दा सभाको सुरक्षा संयोजक बनेका थिए ।

    बलायरले २०६४ सालमा संविधानसभाको उम्मेदवार बन्ने मौका पाए पनि पराजित भए ।

    २०७० सालको संविधानसभा निर्वाचनमा कांग्रेसले उनलाई पुनः टिकट दियो । संविधानसभा सदस्यमा विजयी भएका उनी पार्टी सभापति शेरबहादुर नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका थिए । कांग्रेसको १२औं महाधिवेशनमा नेपाली कांग्रेस डोटी सभापति भएका बलायर १३औं महाधिवेशनमा भने केन्द्रीय सदस्यमा निर्वाचित भए ।

    सन्तनेता कृष्णप्रसाद भट्टराईसँग नजिक रहेर काम गरेका बलायर नेपाली कांग्रेस विभाजनपछि देउवाको पक्षमा उभिएका थिए । त्यसपछि उनी देउवा प्यानलमै रहेर राजनीति गरिरहेका छन् ।