Tag: वीपी कोइराला

  • वीपी ‘भर्सटाइल’ नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री देउवा

    वीपी ‘भर्सटाइल’ नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री देउवा

    काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी कोइरला ‘भर्सटाइल नेता’ भएको बताएका छन् ।

    वीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको भर्चुअल अन्तरक्रियामा प्रधानमन्त्री देउवाले राजनीति, साहित्य र मनोविज्ञानको क्षेत्रमा वीपीको योगदान अतुलनीय रहेको बताएका हुन् ।

    ‘वीपी कोइराला अलराउण्डर नेता हो । राजनीतिमा पनि नम्बर वान, साहित्यमा पनि नम्बर वान । वीपी सानो देशको ठूलो मान्छे हुनुहुन्छ’, देउवाले भने ।

    वीपीले आफ्नो ज्यानको परवाह नगरी प्रजातन्त्रका लागि संघर्ष गरेको भन्दै देउवाले वीपीलाई स्मरण गर्दा मात्रै पनि कांग्रेसमा उत्साह बढ्ने बताए । ‘वीपीले बोलेका भाषण मात्रै सुन्दा पनि धेरै ज्ञान मिल्छ । वीपीलाई सम्झना गर्दा पनि हामीले धेरै प्रेरणा पाउछौं’, देउवाको भनाइ छ ।

    अन्तरक्रियामा कांग्रेस नेता प्रदीप गिरीले वीपी कोइरालाले गरेको समाजवादको व्याख्या समकालीन विश्वमै अनुकरणीय रहेको बताए ।

  • सिक्किम विलय र बंगलादेश स्वतन्त्र भएपछि वीपीको त्यो स्वदेश फिर्ती

    सिक्किम विलय र बंगलादेश स्वतन्त्र भएपछि वीपीको त्यो स्वदेश फिर्ती

    इटहरी । आज पुस १६ गते,नेपाली कांग्रेसले राष्ट्रिय मेलमिला दिवसका रुपमा यो दिनलाई मनाउने गर्छ । ४४ वर्षअघि आजकै दिन तत्कालीन प्रतिबन्धित नेपाली कांग्रेसका सभापति तथा महेन्द्रको ‘कू’ मा परेका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला पञ्चायती शासनले फाँसीको सजाय दिनेसम्मको जोखिम मोलेर मेलमिलापको प्रस्ताव राखी स्वदेश फर्केका थिए ।

    त्यसैले आज वीपी कोइराला लामो निर्वासित जीवन भारतमा बिताएर नेपाल फर्किएको विशेष दिन हो । ‘राष्ट्रिय एकता र मेलमिलाप नीति’ लिएर वीपी २०३३ पुष १६ गते नेपाली कांग्रेसका नेता कार्यताहरुसँगै नेपाल फर्किएका थिए ।

    उनी आठ बर्षे भारत निर्वासनबाट नेपाल आउँदा तत्कालीन पन्चायत समर्थकले उनीमाथि आक्रमण प्रयास समेत गरेका थिए । उनी २०२५ कात्तिक १४ मा जेलमुक्त हुनासाथ भारत निर्वासनमा गएका थिए ।

    २०२५ को रिहाइसम्म वीपीले सुन्दरीजल जेलमा ८ बर्ष बिताएका थिए । २०१७ पुष १ गते नेपाली संसदिय इतिहाँसका पहिला निर्वाचित प्रधानमन्त्री वीपीलाइ राजा महेन्द्रले थुनेका थिए ।

    सिक्किम बिलयपछिको नेपाल आगमन

    पन्चायती जेल बसाइबाट निस्किएर वीपी भारत जाँदा र आउँदाको भूराजनीतिक नक्सा विल्कुल फरक थियो । वीपी भारत जाँदा स्वतन्त्र देश रहेको सिक्किम वीपी नेपाल आउने अघिल्लो साल भारतको २२ औं राज्य भएको थियो ।

    २०३२ जेठ २ (सन १९७५ मे १६)मा सिक्किम भारतमा गाभियो । विदेशी पत्रकार तथा पर्यवेक्षकहरुलाई निषेध गरेर सिक्किमका राजा (चोग्याल)लाई भारतीय सैन्य बलको घेराउमा २०३२ बैशाख १ (सन १९७५ अप्रिल १४)मा भएको जनमत संग्रहपछि स्वतन्त्र हिमाली राज्य सिक्किम भारतमा बिलय भएको थियो ।

    सन १९७५ को अप्रिल १६ मा प्रकाशित दि न्यु योर्क टाइम्स पत्रिकाले न्यूयोर्कमा निर्वासित अमेरिकी नागरिक समेत रहेकी तत्कालीन सिक्किमकी रानी होप कुकलाइ उदृत गर्दै जनमत संग्रह ‘अवैधानिक र असंवैधानिक’ भएको उल्लेख गरेको थियो ।

    मतदानमा ५९ हजार ६ सय ३७ जनाले भारतमा गाभिने तथा १ हजार ४ सय ९६ जनाले स्वतन्त्र मुलुक हुनुपर्ने पक्षमा मतदान गरेको भारतीय पक्षले सार्वजनिक गरेको दि न्यू योर्क टाइम्सले उल्लेख गरेको छ ।

    यसरी सिक्किमको विवादास्पद जनमनसंग्रह र भारतमा गाभिएको डेढ बर्षपछि वीपी नेपाल आएका थिए । सिक्किम प्रकरण भन्दा चार बर्ष अगाडि २०२७ चैत्र १३ (सन १९७१ मार्च २६) मा बंगलादेश पाकिस्तानबाट स्वतन्त्र भएको थियो । पूर्वी पाकिस्तानको रुपमा परिचित बंगलादेश स्वतन्त्र बनेको थियो । यिनै रोचक भूराजनितिक पृष्ठभुमिमा वीपी निर्वासित जीवन त्यागेर नेपाल आएका थिए ।

    विराटनगरको पन्च भेला, वीपीलाई फाँसीको माग

    वीपीको स्वदेश फिर्ती गाँइगुइ भएको थिएन । सार्वजनिक रुपमा चर्चा भएको फिर्ती अगाडि विराटनगरमा पन्च भेला भएको थियो । वीपी आएपछि पन्चायत विरोधी गतिविधिहरु बढ्ने र निर्दलीय व्यवस्थालाई घात हुनेमा पन्चहरु सशंकित थिए ।

    उक्त भेलामा एक कदम अगाडि बढेर राष्ट्रिय पन्चायतमा जुम्लाबाट मनोनित सदस्य धीरबहादुर हमालले वीपीलाइ फाँसीको सजायको माग गरे । आफू उक्त घटनाको साक्षी भएको बताउँदै पुराना नेपाली पत्रकार भैरव रिसालले आफ्नो पुस्तक ‘उहिलेको नेपाल’मा उल्लेख गरेका छन् ।

    रिसाल लेख्छन्– ‘वीपीलाइ फाँसीको माग पन्चायतको कुनै कोणबाट नआएकोले त्यो माग पहिलो र अत्यन्तै सनसनीपूर्ण थियो । मैले सम्झेसम्म सो भेलाको त्यो चरणको सभापतित्व (वीपका दाजु)मातृकाप्रसाद कोइरालाले गरेका थिए ।
    त्यो बेला अनुदारवादी पन्च मानिने डाक्टर तुल्सी गिरी प्रधानमन्त्री थिए । तत्कालिन राष्ट्रिय समाचार समिति (रासस)का पत्रकार रिसालले वीपीलाइ ८/९ वटा गम्भिर प्रकृतिका मुद्धाहरु भएको आफ्नो पुस्तकमा उल्लेख गरेका छन । रिसालका अनुसार वीपीले २०३६ फागुन २० मा मात्रै विशेष अदालतबाट सफाइ पाएका थिए ।

    पटनाकाे भाषणदेखि सुन्दरीजल जेलसम्म

    २०३३ पुष १६ गते नेपाल आएका वीपीको उक्त दिन अत्यन्तै व्यस्त दिन थियो । तत्कालीन शाही नेपाल वायु सेवा निगमबाट पटना हुँदै काठमाण्डौ ओर्लेका थिए वीपी । आफ्ना सहयोद्धा गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का, निलाम्बर पन्थी, रामबाबु प्रसाईसँग नेपाल आउनु अगाडि पटनामा वीपीलाइ प्रसिद्ध भारतीय समाजवादी नेता जयप्रकाश नारायणले विदाई गरेका थिए ।

    पटनाबाट विदा भएर आएका वीपी नेतृत्वको समुह काठमाडाैंमा ओर्लिनासाथ अलग्गै सोधपुछ भएको थियो । सोधपुछपछि उनीहरुलाइ सन्दुरीजल जेल लगिएको थियो ।

    गणेशमानसँगै सुन्दरीजलमा लगिएका वीपीलाई अन्चलाधीशले सोधपुध गरे । प्रहरी तथा सैन्य अधिकारीसँगै आएका अन्चलाधीशले विभिन्न सात प्रश्नहरु गरे । बयानको टेप रेकर्ड समेत गरिएको वीपीले उक्त दिनको आफ्नो जेल डायरी ‘फेरि सुन्दरीजल’मा उल्लेख गरेका छन् ।

    आफ्नो नेपाल भ्रमणको उद्देश्यदेखि गिरिजाप्रसाद भने किन भारतमै भएको हुँदै नेपालको शान्ति क्षेत्र प्रस्तावमा वीपीको धारणा लागायतका प्रश्नहरु अन्चलाधीशले सोधेका वीपीले लेखेका छन् ।

    नेपाल आएपछि जारी गरेको वक्तव्यमा नेपालको अस्तित्वकै खतरा भनेको बिषयमा पनि सोधपुछ भएको वीपीले उल्लेख गरेका छन् । २०१७ को ‘कू’पछि सुन्दरीजलमै आठ वर्ष लामो जेल जीवन सकेर पुनः आठ वर्ष भारतमा निर्वासित भएर आएपछिको पहिलो रात सुन्दरीजल जेलमा आएर वीपी आठ बजे ओच्छ्यानमा पुगेका थिए ।

    कस्ताे थियो वीपीको राष्ट्रिय एकता र मेलमिलाप नीति ?

    २०३३ पुष १६ गते (सन १९७६ डिसेम्बर ३०)मा वीपीले स्वदेश फिर्ती हुँदा नेपाली कांग्रेस सभापतिको रुपमा एक बक्तव्य सार्वजनिक गरे । यही राजनीतिक बक्तव्यमा भनिएका कुराहरुलाइ धेरैले ‘राष्ट्रिय एकता र मेलमिलाप नीति’को रुपमा व्याख्या गर्दै आएका छन् ।

    यस्तो थियो वीपीको बक्तव्यः

    लामो प्रवासकालपछि हामी स्वदेश फर्कंदैछौँ । यस अवसरमा एक दुई शब्द देशवासीहरूको नाममा सम्बोधन गर्नु उचित ठान्छु । हाम्रो देश आज राष्ट्रिय संकटमा छ । यता केही वर्षदेखि यो संकट चर्किंदै गएको कुरा सबैले महसुस गरेकै हो ।

    यसले गर्दा राष्ट्रिय अस्तित्व नै समाप्त हुने स्थिति आएको छ । यस तथ्यलाई अरूले पनि स्वीकार गरेका छन् । महाराजाधिराजलगायत सबैले बखत बखतमा राष्ट्रिय अस्तित्वमाथि परेको खतराको चर्चा गरेका छन् । यो गम्भीर वास्तविकतालाई बुझेर हामी स्वदेश फर्कंदैछौँ ।

    हाम्रो विचारमा अस्तित्वको संकट आइपर्नुको कारण राष्ट्रिय एकताको अभाव हो, जसले गर्दा हाम्रो देशमा विदेशी तत्व कुचक्र चलाउन र नेपाललाई अन्तर्राष्ट्रिय षडयन्त्रको अखडा बनाउन सफल हुन थालेका छन् ।

    राष्ट्रिय एकता सम्पूर्ण नेपाली जनताको सामूहिक प्रयासबाट हुने अभियान र कार्यले मात्र स्थापित हुन्छ । यस्तो सामूहिक अभियानले नेपाली जनताको भावनात्मक एकताको संस्थागत आधार पनि तयार पार्छ ।

    कोरा नाराले मात्र हुने भए वितेका १३ वर्षमा राष्ट्रिय एकता यसरी छिन्न भिन्न भएर यस सोचनीय स्थितिमा देशले पुग्नुपर्ने थिएन । आज देशमा स्वार्थपरायणता, साम्प्रदायित्व, व्यक्तिवादी मनोवृत्ति र विदेशपट्टि आमुख हुने प्रवृत्तिको बोलाबाला छ ।

    यस्तो परिस्थितिमा सबभन्दा पहिले हत्या राष्ट्रियताको हुन्छ । हिजोसम्म हाम्रो संघर्ष जनताको प्रजातान्त्रिक अधिकारको निम्ति मात्र थियो । त्यसो हुनाले हामीले प्रजातान्त्रिक पक्षमा मात्र बढी जोड दियौँ ।

    आज यसमा एउटा नयाँ आयम थपिएको छ । नेपाली कांग्रेसलाई आज दोहोरो जिम्मेवारी आइपरेको छ । त्यो दोस्रो जिम्मेवारी हो देशको अस्तित्वको रक्षा गर्ने । हामीले वर्तमान नेपालको परिस्थितिको दुईमुखे रूप देखेका छौं ।

    भन्नुको तात्पर्य के हो भने प्रजातन्त्र प्राप्ती र राष्ट्रको रक्षा दुवै जिम्मेवारी नेपालीले लिनुपरेको छ । यदि हामीले एउटै जिम्मेवारीको मात्र कुरा गर्‍यौं भने हामी एकपक्षीय भएर गलत बाटोतिर लागेको हुनेछौँ र यदि हामीले प्रजातन्त्र प्राप्तीमा मात्र जोड दियौँ भने राष्ट्रिय संकटको निवारणमा हाम्रो योगदन रहँदैन । त्यति मात्र होइन, यस्तो एक एकपक्षीय कार्यले हामी विदेशीहरूको चालमा पर्ने खण्डमा हुन्छौँ ।

    त्यस्तै, यदि हामीले केवल राष्ट्रियताको मात्र चर्चा गर्‍यौं भने १६ वर्षको खोक्रो राष्ट्रियताको नाराबाजीमा लाग्छौ‌ं । र अधिनायकवादको पक्षधर हुन पुग्छौं । यस्तो खोक्रो राष्ट्रियताले राष्ट्रको रक्षा गर्ने मनोबल देशवासीमा पैदा गर्न सक्दैन ।

    त्यसो हुनाले हामीले यो कुरा पनि बुझनुपरेको छ कि राष्ट्रिय एकता प्रजातन्त्रको जगमा मात्र खडा हुन सक्छ र प्रजातन्त्रको जगमा देशको उत्तरोत्तर आर्थिक विकास र न्यायपूर्ण आर्थिक व्यवस्थामा मात्र बलियो हुन सक्छ ।

    तसर्थ हाम्रो दृष्टिमा राष्ट्रियता, प्रजातन्त्र र विकास उन्नति एक अर्कामा आधारित तत्व हुन् । नेपाली कांग्रेसले आफ्नो जन्मकालदेखि नै बेलाबेलामा देश हितका लागि ऐतिहासिक र गम्भीर निर्णय लिएको सबैलाई थाहा छ । २००७ सालमा क्रान्तिको निर्णय र त्यसको कार्यान्वयन ।

    त्यसपछि आम चुनावलाई सदाका लागि स्थागित गर्ने बुझेर चुनाव गराउने राष्ट्रिय अभियानको नेतृत्व यसले लियो । त्यस आन्दोलनमा धेरै अन्य दलहरूको सहयोग पनि हामीलाई प्राप्त भएको थियो ।

    २०१७ सालमा प्रजातन्त्र उपरको निर्मम एवं सांघातिक प्रहारपछि नेपाली कांग्रेसले प्रजातन्त्रको पक्षमा सङ्घर्ष गर्यो । आज देशका उपरको खतरा बुझेर हामीले यो अर्को ऐतिहासिक निर्णय लिएका छौं, जुन निर्णय नेपाली कांग्रेसको परम्पराको अनुरूप छ ।

    प्रत्येक राष्ट्रको इतिहासमा यस्तो घडी पनि आउँछ, जब यसका बासिन्दाले आफ्नो ज्यानसमेत खतरामा हालेर यसको अस्तित्वको रक्षा गर्नुपर्छ । हामीलाई लाग्छ, आज नेपालमा त्यो घडी आएको छ ।

    हाम्रा शुभचिन्तकहरूले हाम्रो नेपाल फर्किने इरादामा निहित खतरालाई ध्यानमा राखेर नफर्किने सल्लाह दिएकोमा उनीहरूलाई हाम्रो यो भन्नु छ कि हामीमाथि यो सम्भावित खतरा राष्ट्रको अस्तित्व खतराकोसामु नगन्य भन्ठानेर नै यो एतिहासक निर्णय हामीले लिएका हौँ । नेपाली कांग्रेसका कार्यकर्ताहरूले पनि पार्टी निर्देशनअनुसार देश फर्केर अपूर्व साहस र देशप्रेमको उदाहरण प्रस्तुत गरेका छन् ।

    यस राष्ट्रिय सङ्कटको घडीमा हामी सबैले बितेका अप्रिय विवाद र अनुभव र मतभिन्नतालाई बिर्सेर र समाप्त गरेर एकताको सूत्रमा बाँधिनुपर्छ । राष्ट्र रहेन भने हामी रहन्नौँ भन्ने भावनाले प्रेरित हाम्रो कार्यक्रम हुनुपर्छ ।

    मलाई थाहा छैन देशभित्र फर्केर गएपछि म कुन परिस्थितिमा हुनेछु । यस वक्तव्यद्वारा म नेपाली कांग्रेसको अध्यक्षको हैसियतले सारा देशवासीलाई अपील गर्न चाहन्छु कि राष्ट्रको रक्षा देशको उन्नति, जनताको सुख र समृद्धिको पुनित कार्यमा हामी सबै एकमत भएर लागौं ।

    मैले अवसर पाएको खण्डमा महाराजधिराजका समक्ष पनि आफूलाई लागेका कुरा राख्नेछु । राष्ट्रलाई बचाउने जिम्मेवारी सबैको साझा जिम्मेवारी हो ।
    जय नेपाल

    वीपीको यहि वक्तव्यलाई कांग्रेसले राष्ट्रिय मेलमिलापको दस्तावेज र सिद्धान्तका रुपमा बोक्ने गरेको छ । वीपीको यो वक्तव्य विभिन्न धारका कांग्रेस र स्वयम् वीपीकै छोराहरुले पनि आ आफ्नो अनुकल व्याख्या गर्ने गरेका छन् ।

    वीपीका जेठा छोरा प्रकाश कोइराला जो नेपाली कांग्रेसमा लामो समय राजनीति गरेर सांसद पनि भए उनले राजतन्त्र फालेर कांग्रेसले वीपीको मेलमिलाप नीतिको हत्या गरेको बताउँदै आएका छन् । उनको परिभाषा अनुसार वीपीले भनेको मेलमिलाप देश जोगाउन राजा र कांग्रेस मिल्नुपर्छ भन्ने हो ।

    पन्चायतपछि राज्य व्यवस्थामा धेरै परिवर्तन आइरहे पनि कांग्रेसले पुस १६ को कर्मकाण्ड भने अहिलेसम्म मेलमिलाप दिवसकै रुपमा गरिरहेको छ । यद्यपी त्यसको सान्दर्भिकता आजको सन्दर्भमा कसरी हुनसक्छ भन्नेबारेमा कांग्रेसका पण्डितहरुले पनि ब्याख्या गर्न सकेका छैनन् ।

    वीपीको त्यो स्वदेश फिर्ती भारतमा इन्दिरा गान्धीको असहयोगका कारण बाध्यात्मक अवस्थाको उपज थियो कि,साँच्चिकै राजासँग मिलेर देश जोगाउन उनी आएका थिए ? यसमा आ आफ्ना तर्क हुनसक्छन् । तर भारत स्वतन्त्रता संग्रामकै बेलादेखि राम मनोहर लोहिया, जयप्रकाश नारायण जस्ता महान समाजवादी नेताहरुसँग निकट रहेका वीपीको सम्बन्ध कांग्रेस आइसँग घनिष्ठ हुन सकेको थिएन ।

    इन्दिरा गान्धीले संकटकाल लगाएपछि वीपीको लागि विदेशी भूमिमा अपमानित हुनुभन्दा आफ्नै राजाले फासी दिए पनि स्वीकार हुने उद्देश्यबाट पो थियो कि ? उनको वक्तव्य पढ्दा आज पनि यो प्रश्न चाहिँ उठिरहन्छ ।

  • अमेरिकालाई राजा महेन्द्रको ७ बुँदे ब्रिफिङ

    अमेरिकालाई राजा महेन्द्रको ७ बुँदे ब्रिफिङ

    इटहरी । २०१७ साल पुष १ (सन् १९६० डिसेम्बर १५)मा राजा महेन्द्रले वीपी कोइरालाको दुई तिहाइको सरकारलाई हटाएर दलविहीन पञ्चायत व्यवस्था लागू गरेका थिए । नेपालको इतिहासमा पहिलोपटक भएको आम निर्वाचनबाट बनेको दुई तिहाइ बहुमतको सरकारमाथि ‘कु’ भएको ठीक ६० वर्ष पुगेको छ ।

    एसियाका दुई ठूला शक्ति राष्ट्रबीचको सानो देश नेपालका राजा महेन्द्रले विना कुनै भूराजनीतिक सन्तुलन ‘कु’ गरेका थिएनन् । आफूले चालेको कदममा भारत, चीन, बेलायतदेखि अमेरिकासम्मलाई विश्वासमा लिने प्रयास गरेका थिए ।

    भारतको ठाडो विरोध, चीनको मौनता

    वीपी कोइराला नेतृत्वको सरकारलाई उनकै विश्वासपात्र हातमा लिएर महेन्द्रले ‘कू’ गरेका थिए । विश्वबन्धु थापादेखि डाक्टर तुल्सी गिरी जस्ता बीपीका दुई महत्वपूर्ण सहयोगीकै साथमा महेन्द्रले चालेको कदमको भारतले प्रत्यक्ष बिरोध गर्‍यो ।

    महेन्द्रको कदमको भोलिपल्ट भारतको लोकसभामा प्रधानमन्त्री जवाहरलाल नेहरुले देखिने र सुनिने गरी बिरोध गरे । नेपालको परराष्ट्र मामिलामा विद्यावारिधि गरेका भारतीय प्राध्यापक एसडी मुनीको पुस्तक ‘फरेन पोलिसी अफ नेपाल’मा यो उल्लेख भएअनुसार नेहरुले भनेका थिए, ‘प्रजातन्त्रको अभ्यासमै प्रहार भयो ।’

    भारतीय प्रधानमन्त्रीले सदनमै बिरोध गरेको महेन्द्रको कदमलाई चीनले भने मौनता साँधेर अप्रत्यक्ष समर्थन जनायो ।

    संसदको जननीले गरेन बिरोध

    बेलायतलाई संसदीय व्यवस्थाको जननी भनिन्छ । र, बेलायतको सर्वोच्च व्याक्तित्व महारानी हुन । उनै महारानीको नेपाल भ्रमणको कार्यक्रम तय भएकै समयमा निर्वाचित संसद बिघटन भएको थियो । नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु तथा संसदीय व्यवस्थाका पक्षधरहरुले महारानी एलिजावेथको नेपाल भ्रमण रद्ध हुने अनुमान गरेका थिए ।

    तर, बेलायती महारानी एलिजावेथको भ्रमण निर्धारित समयमै भयो । उनी महेन्द्रको कदमको दुइ महिनापछि २०१७ फागुन १५ देखि १७ (सन १९६१ फेबु्रअरी २६ देखि २८) सम्म नेपाल भ्रमणमा आइन् । महारानीको नेपाल भ्रमणको समय अघि र पछि पनि बेलायती पक्षबाट नेपालको बिघटित संसद पुनःस्थापना हुनुपर्ने वाक्यांश कतै समेटिएन ।

    अमेरिकालाई ७ बूँदे ब्रिफिङ

    महेन्द्रले ‘कू’ गरेको बिषयमा अमेरिका पनि आक्रामक भएन । अमेरिकी स्टेट डिपार्टमेन्टले उक्त घटनालाई ‘नेपालको आन्तरिक मामिला’ भनेको थियो । भारतीय अखबार ‘दि हिन्दू’मा डिसेम्बर १७ मा प्रकाशित समाचार उदृत गर्दै एसडसी मुनीले आफ्नो पुस्तकमा अमेरिकी पोजिसन उल्लेख गरेका छन् ।

    अमेरिका जस्तो प्रजातन्त्रको जननी मानिने देशले समेत महेन्द्रको ‘कू’लाइ आन्तरिक मामिला भनेपछि धेरैको चासो छ कि किन अमेरिका महेन्द्रको कदममा आक्रामक भएन ? केहि समय अगाडि अमेरिकाले महेन्द्र र तत्कालीन अमेरिकी पक्षबीच भएको गोप्य कुटनैतिक कुराकानीलाई सार्वजनिक गरेको छ ।

    हिस्ट्री डट स्टेट डट जीओभीमा राखिएको जानकारी अनुसार सत्ता हातमा लिएको ५ दिनपछि राजा महेन्द्रले अमेरिकी प्रतिनिधिसँग भेटेका थिए ।
    २०१७ पुस ६ गते साँझ ८ बजे राजदरबारमा भएको भेटमा राजाले नेपालका लागि प्रथम आवासीय अमेरिकी राजदूत हेनरी इन्डिकोट स्टेविन्सलाई आफ्नो कदमबारे ७ बूँदामा व्याख्या गरेका थिए ।

    आधा घन्टा भएको भेटको प्रसंगलाई व्याख्या गरी स्टेट डिपार्टमेन्टलाई पस ७ गते पठाएको खवरमा राजदूत स्टेविन्सले महेन्द्रले आँखामा आँखा जुधाएर आत्मविश्वासपूर्वक सीधा–सीधा कुरा गरेको उल्लेख गरेका छन् ।

    हाल अमेरिकाले गोप्यबाट सार्वजनिक जानकारीमा राखेको सूचना अनुसार महेन्द्रले व्याख्या गरेका सात बुँदा यस्ता थिएः

    १. राजा महेन्द्रको कदम कुनै विदेशी इशारामा चलेको कदम नभएर आफ्नै उत्तरदायित्वको कदम थियो

    २. पुस १ को कदमको लागि राजा लामो समयदेखि उचित अवसर कुरिहरेका थिए । अमेरिकी राजदूतसँग मंसिर २४ गतेको भेटपछि उचित समय पाएको बुझे ।

    ३. उनी आफू प्रजातन्त्रमा एकदमै प्रतिबद्ध भएको बताउँछन् । आफैंले नेपालमा प्रजातन्त्र ल्याएको बताउँछन । र, प्रजातन्त्रतर्फ नै यात्रा गर्ने बताउँछन् ।

    ४. उनी विश्वका सबै देशहरुसँग सौहाद्र्रपूर्ण सम्बन्ध बनाउने बताउँछन् ।

    ५. उनले सरकारलाई अपदस्त गरेको र यसका नेताहरुलाई थुन्नुमा भ्रष्टाचार गरेको तथा साम्यवादलाई सहयोग गरेको र उक्साएको कारण भनेका छन् ।

    ६. यो बर्षको अन्तसम्म उनी नयाँ सरकार गठन गर्ने र उचित समय आएको महशुस गरेपछि पुनः संसदीय चुनाव गराउने बताउँछन् ।

    ७. उनले पूर्व प्रधानमन्त्री वीपी कोइराला र उनको सरकारका अन्य सदस्यहरुलाई राम्रो व्यवहार गरेको तथा उनीहरुलाई कठोर सजायको कुनै सोचाइ नराखेको बताए ।