Tag: विश्व स्वास्थ्य संगठन

  • डब्लुएचओद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    डब्लुएचओद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    काठमाडौं । विश्व स्वास्थ्य संगठनले दुई हजार भन्दा बढी अक्सिजन कन्सनट्रेरहरु र अत्यावश्यक मेडिकल सामग्रीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।

    डब्लुएचओले मंगलबार १८ लाख अमेरिकी डलर बाराबरको अत्यावश्यक औषधी र सामग्रीहरु मन्त्रालयलाई हस्तानतरण गरेको हो ।

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग असपताल टेकुमा आयोजित एक कार्यक्रममा दुईलाख २५ हजार एम्पल्स डेक्सामेथाजोन, २ हजार अक्सिजन कन्सनट्रेटर, २४ सय वटा भेन्चुरी मास्क, करिब ५ लाख अक्सिजन नसल क्यानुला, ६ लाख मास्क र ५ लाख सर्जिकल ग्लब्स सहितका सामग्रीहरु डब्लुएचओ नेपालस्थित कार्यलयका प्रमुख डाक्टर राजेश संभाजीराव पाण्डवले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई हस्तानतरण गरेका हुन् ।

    मन्त्रालयले तयार पारेको वितरण योजना अनुसार उक्त स्वास्थ्य समग्रीहरु नेपालभरिका सातै प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन शाखा र २८ वटा अस्पतालहरुमा वितरण गरिनेछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै प्रदेशमा सामग्रीहरु ढुवानी गर्न यसै साता भित्र सुरु गर्ने लक्ष्य लिएको छ ।

     

  • डब्लुएचओले भन्यो : नेपाललाई आपतकालिन सहयोगको जरुरी

    डब्लुएचओले भन्यो : नेपाललाई आपतकालिन सहयोगको जरुरी

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाभाइरस महामारीसँग जुध्न नेपाललाई आपतकालिन सहयोगको आवश्यकता रहेको बताएको छ ।

    शुक्रबार नियमित प्रेस ब्रिफिङमा बोल्दै डब्लुएचओ प्रमुख टेड्रोस आदानोम ग्रेविएससले नेपालसहित भियतनाम, कम्बोडिया, थाइल्यान्ड र इजिप्टजस्ता मुलुकलाई पनि सहयोगको आवश्यकता रहेको बताएका हुन् ।

    उनले नेपालसहितका देशहरु संक्रमणसँग जुध्न उच्च संघर्षको अवस्थामा रहेको समेत बताए । उनले भने, ‘डब्लुएचओले सबै तरिकाबाट सम्भव भएसम्म सहयोगालाई निरन्तरता दिनेछ ।’

     

  • कोरोनाविरुद्धको चिनियाँ खोपले पायो डब्लुएचओबाट अनुमति

    कोरोनाविरुद्धको चिनियाँ खोपले पायो डब्लुएचओबाट अनुमति

    बेइजिङ । सिनोफार्मले विकास गरेको चिनियाँ खोप भेरोसेलले विश्व स्वास्थ्य संगठनबाट शुक्रबार आपतकालिन प्रयोगको अनुमति प्राप्त गरेको छ ।

    डब्लुएचओले युरोप र अमेरिकाबाहिर उत्पादन भएको खोपलाई पहिलोपटक अनुमति दिएको हो ।

    यसअघि फाइजर-बायोएनटेक, अक्सफोर्ड-अस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सन र मोर्डनाले विकास गरेका खोपले आपतकालिन प्रयोगको अनुमति प्राप्त गरेका छन् ।

    चीनले विकास गरेको भेरोसेललाई नेपालमा पनि आपतकालिन प्रयोगमा ल्याइसकिएको छ । नेपालमा हजारौंले भेरोसेल खोप लगाएका छन् । ल्याटिन अमेरिकी र एसियाली मुलुकले पनि भेरोसेललाई अनुमति दिइसकेका छन् ।

    डब्लुएचओले चिनियाँ खोप सुरक्षित, प्रभावकारी र गुणस्तरीय रहेको जनाएको छ । यो चिनियाँ खोप १८ वर्षभन्दा माथिल्लो उमेरकालाई २ डोज दिन भनिएको छ ।

  • कोभिड-१९ खोप उत्पादनका अवरोध हटाउन विश्व स्वास्थ्य संगठनको आग्रह

    कोभिड-१९ खोप उत्पादनका अवरोध हटाउन विश्व स्वास्थ्य संगठनको आग्रह

    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख एवं महानिर्देशक टेड्रस अधानोम गेब्रेयससले कोभिड-१९ संक्रमणको दर बढ्दै जाँदा र धेरै देशहरूमा खोप अभावको ‘गम्भीर समस्या सामना गर्नुपर्ने भन्दै खोप निर्माताले तत्कालका लागि बढी खोप उत्पादनका लागि बौद्धिक सम्पत्ती अधिकारलाई हटाउन सम्बन्धित कम्पनी र देशहरूलाई आग्रह गरेका छन् ।

    डब्लुएचओका प्रमुख गेब्रेयससले सोमबार पत्रकार सम्मेलनमा भने, ‘यदि धेरै व्यक्तिलाई खोप लगाई सामूहिक प्रतिरोधात्मक क्षमता विकास गर्ने हो भने हामीसँग अहिले उपलब्ध खोप भन्दा धेरै बढी खोप चाहिन्छ ।’

    ‘खोपको उत्पादन क्षमता बृद्धि हुनु पर्दछ र यसका निम्ति बौद्धिक सम्पत्ति (आइपी) अधिकारको माफी अति आवश्यक छ,’ उनले के यो परोपकारी मुद्दा होइन भन्दै खोप निर्माणलाई व्यापकता दिनुपर्नेमा जोड दिए ।

    त्यसैगरी बेलायतका पूर्व प्रधानमन्त्री गोर्डन ब्राउनले भने, ‘अफ्रिका र विश्वका अन्य भागहरूमा खोप उत्पादनको लागि खोपको आइपी अधिकारको अस्थायी रूपमा निलम्बन अत्यावश्यक भइसकेको छ ।’

    दक्षिण अफ्रिका र भारतलगायत धेरै देशहरूले विश्वव्यापी रूपमा उत्पादनका लागि कोभिड-१९ खोपहरूको आइपी अधिकार अस्थायी रूपमा निलम्बन गर्न आग्रह गरेका छन् ।

    गत हप्ता विश्व व्यापार संगठनले आइपी अधिकार माफीको बारेमा छलफल चलाएको थियो तर जेनेभामा यस सम्बन्धी अहिलेसम्म कुनै समाचार प्राप्त भइसकेको छैन ।

    बेलायतले सन् २०२१ मा जी-७ राष्ट्रहरुको समूहको अध्यक्षता गरेको छ । आगामी जुन महिनामा बेलायतले जी-७ राष्ट्रको शिखर सम्मेलनको आयोजना गर्नेछ । टेड्रोस र ब्राउन दुबैले जी-७ सम्मेलनले आइपी अधिकारको अस्थायी माफीलाई कार्यान्वयनमा ल्याउने विश्वास व्यक्त गरे ।

    ‘अर्को महिना जी-७ देशका नेताहरूको बैठक इतिहासको सबैभन्दा महत्वपूर्ण बैठक हुन सक्नेछ,’ टेड्रोसले भने । जी-७ देशहरू विश्वका आर्थिक र राजनीतिकरूपमा शक्तिशाली मानिन्छन् । उनीहरू विश्वका धेरै खोप उत्पादन गर्ने मुलुकहरू पनि हुन् ।

    ‘यदि हामी अहिले यसलाई प्रयोग गर्न सक्दैनौं भने कहिले सक्छौं र ?’ भन्ने प्रश्न गर्दै डब्ल्यूएचओ प्रमुखले कोभिड-१९ को खोप उत्पादन जतिसक्दो चाँडो बढाउने सबै विकल्प प्रयोग गर्नु पर्नेमा जोड दिए ।

    ‘आइपी अधिकार माफीको प्रावधान यस्तै आपतकालीन अवस्थाका लागि हो र यो अभूतपूर्व उपाय हो,’ उनले भने ।

    बेलायती पूर्व प्रधानमन्त्री ब्राउनले भने, ‘उनीहरूले सामूहिक रूपमा अस्थायी माफीलाई समर्थन गर्ने निर्णय लिन सकेमा कोभिड-१९ महामारी नियन्त्रणमा यो ठूलो उपलब्धि हुनेछ ।

  • खाद्य बजारमा जीवित जङ्गली जीवजन्तुको बेचबिखन रोक्न डब्लुएचओको आग्रह

    खाद्य बजारमा जीवित जङ्गली जीवजन्तुको बेचबिखन रोक्न डब्लुएचओको आग्रह

    जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नयाँ नयाँ किसिमका रोगहरुको उत्पत्ति रोक्न खाद्य बजारमा जीवित जङ्गली जीवजन्तुको बेचबिखन रोक्न मङ्गलबार आग्रह गरेको छ ।

    डब्लुएचओले ठूलो जनसंख्यालाई खाद्य तथा जीविकोपार्जन जुटाउन परम्परागत बजारले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको भएपनि जीवित जङ्गली जीवजन्तुको बेचबिखन रोक्न सकिए बजारमा काम गर्ने कामदार र ग्राहकको स्वास्थ्य सुरक्षित तुल्याउन सघाउने बताएको छ ।

    चीनको बुहानमा भेटिएका कोभिड–१९ संक्रमितहरुको सम्बन्ध स्थानीय परम्परागत खाद्य बजारसँग देखिएको भन्दै डब्लुएचओले शुरुवाती दिनमा भेटिएका संक्रमितहरु खाद्य स्टलका मालिकहरु, बजारका कामदारहरु वा बजारमा नियमित आउजाउ गर्नेहरु नै रहेको जनाएको छ ।

    यो अन्तरिम निर्देशिका विश्व जीव स्वास्थ्य संगठन (ओआइइ) र राष्ट्रसंघीय वातावरण कार्यक्रम (युनेप) को सहकार्यमा निर्माण गरिएको हो ।

    डब्लुएचओले जीवित जङ्गली स्तनधारी जीवजन्तुहरु खाद्य बजारमा ल्याएर बेचबिखन गर्नु वा राख्नु निकै हानिकारक हुने जनाएको छ । जीवित स्तनपायी जनावरलाई खाद्य बजारहरु खासगरी माछामासुको किनबेच हुने बजारमा नराख्न सदस्य मुलुकलाई आग्रह गरिएको डब्लुएचओले बताएको छ ।

    डब्लुएचओले भनेको छ, ‘जनावरहरु, खासगरी जङ्गली जनावरहरु, ले मानिसमा देखा पर्ने नयाँ संक्रामक रोगहरु ल्याउन ७० प्रतिशतभन्दा बढी भूमिका खेल्ने गरेका छन् । जङ्गली जनावरहरु नयाँ किसिमका रोगहरुका मुख्य स्रोत नै हुन् ।’

    डब्लुएचओले पर्याप्त जोखिम मूल्याङ्कन नगरी यस्ता जङ्गली स्तनपायी जनावर काटमार नगर्न, अन्य खाद्य पसलमा नराख्न र यस्ता जोखिमयुक्त बजारहरु तत्काल बन्द गराउन पनि सरकारहरुसँग आग्रह गरेको छ ।

  • अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई २० करोड सहयोग गर्ने

    अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई २० करोड सहयोग गर्ने

    संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई आर्थिक सहयोग गर्ने भएको छ । विश्व स्वास्थ्य संगठनलाई यसअघि अमेरिकाले दिँदै आएको सहयोग रोकेको थियो । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको सहयोगमा शुरुमा कटौती गरेका थिए र पछि सहयोग रकम रोकेका थिए ।

    अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिंकेनले बुधबार अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई २० करोड अमेरिकी डलर सहयोग गर्ने इच्छा व्यक्त गरेका थिए ।

    उनले अमेरिकाले सो रकम यसै महिनाको अन्त्यसम्ममा विश्व स्वास्थ्य संगठनलाई दिने भएको जानकारी दिएका छन् । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको एक बैठकमा उनले सो कुरा बताएका हुन् । बुधबार उनले भनेका थिए– अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई २० करोड जति अमेरिकी डलर रकम उपलब्ध गराउन लागेको हो ।

    विदेशमन्त्री एन्टोनीले अमेरिकाको एउटा दायित्व अन्तर्गत नै हामीले विश्व स्वास्थ्य संगठनलाई यो रकम उपलब्ध गराउन लागेको हो भनेका थिए । हालको विश्वव्यापी महामारीका क्रममा विश्व स्वास्थ्य संगठनलाई बजेट आवश्यक परेको महसुस भएको र सोही अनुसार यो रकम उपलब्ध गराउन लागेको उनले बताए ।

    गत वर्ष मात्र अमेरिकी राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिएको सहयोग रोक्ने मात्र नभएर सो संगठनबाट अमेरिका बाहिरिएको निर्णय गरेका थिए । यो निर्णयको सर्वत्र विरोध भएको थियो । अमेरिका भित्रै र बाहिर पनि सो निर्णयको विरोध भएको बताइएको थियो । पछि अमेरिकाको राष्ट्रपतिमा जो बाइडेन आएपछि अमेरिका विश्व स्वास्थ्य संगठनको सदस्यबाट बाहिरिने निर्णय खारेज गरेका थिए ।

    बाइडेनले राष्ट्रपति पदको कार्यभार सम्हालेकै दिनमा नै उनले अघिल्लो ट्रम्प प्रशासनको सो निर्णय उल्ट्याएका थिए ।

  • वुहानको समुद्री खानामा कोभिड १९ फैलिएको थियो : विश्व स्वास्थ्य संगठन

    वुहानको समुद्री खानामा कोभिड १९ फैलिएको थियो : विश्व स्वास्थ्य संगठन

    वुहानको सामुद्रिक खाना राखिएको बजारमा कोभिड-१९ को सङ्क्रमण फैलिएको अनुमान गरिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनका विशेषज्ञ अधिकारीहरुले चीनको वुहानमा पुगेर गरेको अनुसन्धानबाट यो देखिएको उनीहरुले जनाएका छन् ।

    कोभिड भने अन्यत्र कतै उत्पत्ति भएको तर त्यही सामुद्रिक खाना तथा तरकारीहरुको बजारबाट यो विस्तार भएको अुनमान गरिएको विश्व स्वास्थ्य संगठनका अधिकारीहरुले दिएको प्राप्त समाचारमा जनाइएको छ । चीनको वुहानमा यो संक्रमण फैलिएको देखिएको हो । त्यस विषयमा अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनले पहिल्यैदेखि चीन जान खोजेकोमा चीन सरकारले दिएको थिएन ।

    हालै उनीहरुले सो क्षेत्रमा पुगेर अनुसन्धान गरेका थिए । त्यस क्रममा गरिएको अनुसन्धानबाट कोभिड यहाँको सामुद्रिक खानाहरुको बजारबाट विस्तार भएको पाइएको बताएका छन् । तर पनि यो सङ्क्रमण भने अन्यत्र कतै देखिएको ती विज्ञहरुले बताएका छन् । उनीहरुले कोभिड १९ को भाइरस कहाँबाट उत्पत्ति भएको हो भन्ने बारेमा अनुसन्धान गरिरहेको बताएका छन् ।

    विश्व स्वास्थ्य संगठनको टिमले वुहान सहरमा रहेको वुहान इन्स्टिच्युट अफ भाइरोलोजीको अध्ययन गरेका थिए र उनीहरुले सो संस्थाको ल्याबको पनि अनुसन्धान गरेका थिए ।

  • नयाँ कोरोनाभाइरसले २०२१ सबैभन्दा कठिन हुनसक्छ : विश्व स्वास्थ्य संगठन

    नयाँ कोरोनाभाइरसले २०२१ सबैभन्दा कठिन हुनसक्छ : विश्व स्वास्थ्य संगठन

    जेनेभा –नयाँ कोरोना भाइरसको फैलावटसँगै विश्व स्वास्थ्य संगठनले वर्ष २०२१ अघिल्लो वर्षभन्दा बढी कठिन हुने चेतावनी दिएको छ । नियमित मिडिया ब्रिफिङमा संगठनका प्रमुख डा. टेड्रोस आधानोमले नयाँ भाइरसले यो वर्ष कठिन हुने बताएका हुन् ।

    उनका अनुसार बेलायत र ब्राजिलमा भेटिएको भनिएको नयाँ प्रजातिको कोरोना भाइरस सबै महादेशका ५० देशमा फैलिइसकेको उल्लेख गरे । नयाँ म्युटेन्ट भाइरसले विकसित खोपको प्रभावकारितालाई पनि चुनौति दिएको भन्दै उनले सरकार प्रमुखहरुलाई गम्भिर बन्न आग्रह गरे ।

    नेपालको छिमेकी मुलुक भारतमा समेत नयाँ भाइरस फैलिइसकेको विश्वास गरिएको छ । एसियामा नयाँ भाइरस फैलने क्रम जापानमा तीव्र रहेको समेत संगठनले जनाएको छ । जापानमा अहिले आपतकाल लागु भैरहेको छ । नेपालले समेत नयाँ भाइरसको सम्भावित नमुना हङकङमा परिक्षणका लागि पठाएको थियो ।

    शुक्रबारसम्म विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० लाख नाघेको छ भने संक्रमित संख्या ९ करोड नाघेको छ । यसमा सबैभन्दा बढी प्रभावित अमेरिका, ब्राजिल र भारत छन् ।

  • कोरोना महामारीको अनुसन्धानमा चीनको व्यवहारले डब्ल्यूएचओ निराश

    कोरोना महामारीको अनुसन्धानमा चीनको व्यवहारले डब्ल्यूएचओ निराश

    एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना महामारीको अनुसन्धानका क्रममा चीनको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेको छ । डब्ल्यूएचओले भनेको छ कि अनुसन्धानमा चीनले देखाएको रबैयाबाट उनीहरु निकै निराश छन् ।

    विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानमले मंगलबारको पत्रकार सम्मेलनमा चीनले कोरोना सुरुआतको अनुसन्धानका लागि असहयोग गरेको आरोप लगाएको रोयटर्सलाई उदृत गरी बीबीसीले जनाएको छ ।

    चीनले अहिलेसम्म कोरोना महामारीको सुरुआत कहाँबाट भएको र त्यसको जाँचका लागि विशेषज्ञको टोलीलाई आफ्नो देशमा आउन अनुमति नदिएको डब्ल्यूएचओको भनाई छ ।

    जनवरीको सुरुआत मै विशेषज्ञको एउटा टोली अघिल्लो वर्ष चीनबाट सुरु भइ विश्वव्यापी महामारीको रुप लिएको कोरोनाको उद्गमस्थल वुहान जाँदै थियो ।

    जेनेभामा एक अनलाइन पत्रकार सम्मेलनमा डब्ल्यूएचओका निर्देशकले भने, ‘हामीलाई थाहा भएको छ कि अहिलेसम्म चिनियाँ अधिकारीहरुले त्यहाँसम्म पुग्नका लागि अत्यावश्यक अनुमतिका लागि सहमति दिएका छैनन । म लगातार चीनका वरिष्ठ अधिकारीहरुसँग सम्पर्कमा छु र मैले यो स्पष्ट पारेको छु कि यो मिसन डब्ल्यूएचओको प्राथमिकतामा सन्चालित छ ।’

  • क्रिसमसमा मास्क लगाउन आग्रह, लन्डनमा भाइरसले बदल्यो स्वरुप

    क्रिसमसमा मास्क लगाउन आग्रह, लन्डनमा भाइरसले बदल्यो स्वरुप

    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले क्रिसमस पर्वमा अनिवार्य मास्क लगाउन आग्रह गरेको छ । युरोपमा क्रिसमस मनाउनेको संख्या अधिक रहेको र भाइरसको संक्रमण पनि उत्कर्षमा भएकाले यस्तो आग्रह गरिएको संगठनले जनाएको छ ।

    डब्लुएचओले एक विज्ञप्ती जारी गर्दै नयाँवर्ष २०२१ मा कोभिड–१९ संक्रमणलाई रोक्नको लागि पनि मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गरिएको छ । मास्क नलगाउँदा महामारी अझै बढ्न सक्ने खतरातर्फ पनि डब्लुएचओले सचेत गराएको छ ।

    सकेसम्म परिवार मात्रै भएर क्रिसमस मनाउन र बाहिर जानै परे मास्कको अनिवार्य प्रयोग गर्न पनि आग्रह गरिएको छ ।

    भाइरसले चरित्र बदलेपछि थपियो चिन्ता
    कोभिड–१९ ले स्वरुप बदलेपछि विज्ञहरुमा चिन्ता बढेको छ । बीबीसीका अनुसार बेलायतमा कोरोनाको स्वरुपमा परिवर्तन आएको प्रमाण भेटिएको छ । बेलायती स्वास्थ्य मन्त्री म्याट ह्यानककले संसदमा नयाँ स्वरुपमा कोरोना भेटिएको र द्रुतरुपमा फैलिएको जनाएका छन् ।

    बेलायतले विश्व स्वास्थ्य संगठनलाई यसबारे जानकारी गराइसकेको छ । लन्डनमा कोभिड संक्रमण वृद्धि भएपछि बुधबारदेखि थप कडा प्रतिबन्ध लगाउने घोषणा सरकारले गरेको छ ।

    संक्रमणको आधारमा उच्च अलर्ट (टियर टु)मा रहेको लन्डनलाई अति उच्च अलर्ट (टियर थ्री)मा लैजाने घोषणा बोरिस जोन्सनको सरकारले गरेको हो । बार, पव, रेष्टुरेन्ट लगायत हस्पिटालिटी व्यवसाय बन्द हुनेछन् भने टेकअवे र डेलिभरी सेवा सुचारु हुनेछन् । तर, फिल्म हलसहितका इन्डोर मनोरञ्जन भने बन्द रहनेछन् ।