Tag: विश्व प्रेस

  • भारतको जयपुर दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १४ पुग्यो

    भारतको जयपुर दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १४ पुग्यो

    काठमाडौं । भारतको राजस्थानको केन्द्र जयपुरमा सोमबार भएको सडक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ ।

    जयपुरको लोहामन्डी रोडमा मादक पदार्थ सेवन गरेका चालकले चलाएको डम्पर ट्रकले हरमाडा थाना इलाकामा कयौं गाडीलाई कुल्चँदै ५ किलोमिटरसम्म अघि बढेको भारतीय सञ्चार माध्यम आजतकले जनाएको छ ।

    प्रहरीलाई उद्धृत गर्दै आजतकले लेखेको छ– पहिले डम्परले एउटा कारलाई ठक्कर दियो । ठक्कर दिएरसमेत नरोकिएको ट्रकले अरु चारवटा गाडीलाई ठक्कर दियो । उक्त दुुर्घटनामा घटनास्थलमै १० जनाको मृत्यु भयो । ४० बढी व्यक्ति घाइते भए ।

    घटनास्थल पुगेको प्रहरीले स्थानीय क्षेत्रलाई घेराउ गरेको छ । प्रारम्भिक अनुसन्धानबाट चालकले मादक पदार्थ सेवन गरेको जानकारीमा आएको छ । घटनापछि स्थानीय आक्रोशित भएका छन् ।

  • भारतको तेलङ्गना राज्यमा बस दुर्घटना : २० जनाको मृत्यु

    भारतको तेलङ्गना राज्यमा बस दुर्घटना : २० जनाको मृत्यु

    काठमाडौं । भारतको तेलङ्गनास्थित रङ्गारेड्डी जिल्लाको चेवेल्ला नजिक मिर्जागुडामा सोमबार भएको सडक दुर्घटनामा २० जनाको मृत्यु भएको छ ।

     

    विपरीत दिशाबाट आएको बससँग ट्रक ठोक्किँदा सयौंको सङ्ख्यामा घाइते भएको चेवेल्लाका एसीपी बी किशनलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ ।

    बसमा ४० जना यात्रु सवार थिए । तेलङ्गनाका मुख्यमन्त्र ए रेवन्त रेड्डीले सडक दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

     

    यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयले सामाजिक सञ्जालमा दुःखद घटनाप्रति संवेदना व्यक्त गरेको छ ।

     

  • अफगानिस्तानमा भूकम्प : मृत्यु हुनेको सङ्ख्या २० पुग्यो, सयौं घाइँते

    अफगानिस्तानमा भूकम्प : मृत्यु हुनेको सङ्ख्या २० पुग्यो, सयौं घाइँते

    काठमाडौं । उत्तरी अफगानिस्तानमा गएको ६.३ रेक्टर स्केलको भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । सयौंको सङ्ख्यामा घाइते भएको बताइएको छ ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. शराफत जमानले २० जनाको मृत्यु भएको पुष्टि गरेका छन् । अधिकांश मृत्यु हुने उत्तरी समांगन र बल्ख प्राप्तका रहेको उनको भनाइ छ ।

    अफगान रेड क्रिसेन्ट सोसाइटीका अनुसार भूकम्पका कारण गम्भीर मानवीय क्षति र भारी वित्तीय नोक्सान भएको छ । खोज र बचाउ अभियान जारी छ ।

    बल्ख प्रान्तको राजधानी मजार–ए–शरीफमा समेत ठूलो क्षति पुगेको बताइएको छ । अधिकारीका अनुसार उत्तर–पश्चिमी बागलान प्रान्तमा समेत क्षति भएको खबर छ ।

    बदख्शां प्रान्तको शहर–ए–बोजोर्ग जिल्लाको चोगानी गाउँमा झण्डै ८०० घर आंशिक रुपमा नष्ट भएका छन् ।

  • पाकिस्तानले गोप्य रुपमा परमाणु परीक्षण गरिरहेको ट्रम्पको दाबी

    पाकिस्तानले गोप्य रुपमा परमाणु परीक्षण गरिरहेको ट्रम्पको दाबी

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक अन्तर्वार्ताका क्रममा पाकिस्तानले गोप्य रुपमा परमाणु परीक्षण गरिरहेको बताएका छन् ।

    रुस, चीन र उत्तर कोरियाजस्ता शक्तिहरुसँग तालमेल गरिरहनका लागि पनि अमेरिकाले परमाणु परीक्षण पुनः सुरु गर्ने बताए ।

    आइतबार सीबीएस न्युजको कार्यक्रम ६० मिनेटमा साक्षात्कार गर्दै ट्रम्पले तीन दशकभन्दा बढी समयदेखि अमेरिका परमाणु परीक्षणबाट टाढा रहेको बताए । उनले पाकिस्तानसहित कयौं देशले भूमिगत रुपमा परमाणु परीक्षण जारी रहेको दाबी गरे ।

    ‘हामी पनि परीक्षण गर्छौं किनभने उनीहरुले पनि परीक्षण गर्छन् ।’ ट्रम्पले भने, ‘निश्चित रुपमा उत्तर कोरियाले परीक्षण गरिहेको छ । पाकिस्तान पनि परीक्षण गरिरहेको छ । तपाईंलाई यस बारेमा बताइँदैन । उनीहरु भूमिगत परिक्षण गर्छन् । जहाँ मान्छेलाई थाहा हुँदैन त्यहाँ के भइरहेको छ, मात्र तपाईंलाई थोरै कम्पन महसुस हुन्छ ।’

     

    अमेरिकी राष्ट्रपतिले पाकिस्तानमाथि टिप्पणी गरेको पहिलो पटक भएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

    अमेरिकी परमाणु परीक्षणमाथि ३० वर्षदेखि लाग्दै आएको रोकलाई समाप्त गर्ने आफ्नो निर्णयलाई बचाउ गर्दै ट्रम्पले भने, ‘यसलाई रोक्ने अमेरिका मात्रै एउटा देश रहिरहन सक्दैन ।’

    उनले रुस र चीनले परमाणु परीक्षण गरिरहेको बताए । उनले भने, ‘हामी मात्र परीक्षण नगर्ने एउटा मात्र देश हौं । र, म एक्लो त्यस्तो देश बनाउन चाहान्न, जो परीक्षण गर्दैन ।ं’

  • बिहारमा चुनावी सरगर्मी : मोदीको ‘कट्टा’ देखि राहुलको पौडीसम्मको चर्चा

    बिहारमा चुनावी सरगर्मी : मोदीको ‘कट्टा’ देखि राहुलको पौडीसम्मको चर्चा

    काठमाडौं । आइतबार बिहार विधान सभाको चुनावी माहोलको सरगर्मी निकै बढेको देखियो । भाजपा र कांग्रेसका वरिष्ठ नेता, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र लोकसभाका विपक्षी नेता राहुल गान्धी बिहार पुगे । चुनावी अभियानमा जनसम्पर्क र गतिविधि बढाए । बिहारमा पहिलो चरणको निर्वाचनका लागि मात्र तीन दिन बाँकी छ ।

    प्रधानमन्त्री मोदीले राष्ट्रिय जनता दल (राजद) र कांग्रेस नेतृत्वको महागठबन्धनमाथि कटाक्ष गरे । उनले ‘कनपट्टीमा कट्टा’ राखेको प्रसंगदेखि राहुल गान्धीले बेगूसरायमा माछा मार्नेहरूसँग हिलाम्मे तलाउमा पौडिएको प्रसङ्गमाथि व्यङ्ग्य गरे ।

    आइतबार राजनीतिक र्‍याली र नेताहरूका महत्वपूर्ण अभियान आयोजना गरियो ।

    बिहार विधान समभा चुनावका लागि ६ नोभेम्बर र ११ नोभेम्बरमा दुई चरणमा निर्वाचन हुँदैछ । १४ नोभेम्बरमा मतगणना हुने छ । निर्वाचनमा जेडीयू–बिजेपी नेतृत्वको एनडीए र विपक्षी इन्डिया ब्लक मुख्य दावेदार छन् । चुनावी रणनीतिकार प्रशान्त किशोरको जन सुराज पार्टीको आगमनलाई समेत बलियो प्रवेशका रुपमा लिइएको छ ।

    नरेन्द्र मोदीको कनपट्टीमा कट्टा टिप्पणी

    प्रधानमन्त्री नरेन्द्र मोदीले बिहारको नवादामा राजदका नेता तेजस्वी यादवलाई मुख्यमन्त्री पदको उम्मेदवार बनाउने विषयमा टिप्पणी गरेका थिए । उनले कांग्रेसको कन्चटमा कट्टा राखेपछिमात्रै उनले मुख्यमन्त्रीको उम्मेदवारी पाएको बताएका थिए ।

    मोदीले आइतबार भोजपुर र नवादा जिल्लामा लगातार र्‍याली निकालेका थिए । र पटनामा वृहत कोणसभा आयोजना गरेका थिए ।

    प्रधानमन्त्री मोदीले विपक्षी गठबन्धनमा दुई ठूला घटक बीच तिक्तता रहेको बताएका थिए । जसले ‘इतिहासको सबैभन्दा नराम्रो हार’ तर्फ डोर्‍याउने र एनडीएले कीर्तिमानी जित निकाल्ने मोदीको दाबी थियो ।

    दशकौंदेखि भाजपाको गढ रहेको पटनामा प्रधानमन्त्री सहभागी कोणसभमा अपेक्षाभन्दा बढी भीड देखिएको भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्पसले उल्लेख गरेको छ । मोदीले सामाजिक सञ्जाल एक्समा उपस्थितलाई ‘स्नेह र आशिर्वाद’ का लागि धन्यवाद दिएका थिए । यद्यपि विपक्षीले कोणसभामा मुख्यमन्त्री र जेडी (यु) अध्यक्ष नीतीश कुमारको अनुपस्थितिका विषयमा प्रश्न उठाएका थिए । गत वर्ष भने लोकसभा चुनावका क्रममा नीतीश कुमार मोदीको कार्यक्रममा उपस्थित थिए ।

    यसैबीच गृहमन्त्री अमित शाहले मुजफ्फरपुर र वैशाली जिल्लाको भ्रमण गरेका छन् । उनले एनडीए र इन्डिया ब्लकका बीच अन्तर देखाउने प्रयास गरेका थिए । राजद नेतृत्वको गठबन्धन सत्तामा आयो भने अराजकता फर्किने र सरकारले ‘हत्या’, ‘अपहरण’ र जबरजस्ती असुलीजस्ता तीन नयाँ विभाग बनाउनुपर्ने आरोप लगाए ।

    बेगूसरायमा राहुल गान्धीको पौडी

    प्रधानमन्त्री मोदी र गृहमन्त्री शाहद्वारा भारत ब्लकमाथि आलोचनाका बीच कांग्रेस सांसद राहुल गान्धीले बेगूसराय र खगडिया जिल्लामा र्‍यालीलाई सम्बोधन गरेका थिए । उनले प्रधानमन्त्री मोदीमाथि तीखो प्रहार गरेका थिए ।

    मोदीले आफ्नो ५६ इञ्चको छाती रहेको भने पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अपरेशन सिन्दुरका क्रममा उनलाई फोन गर्दा ‘डराएको’ गान्धीले टिप्पणीगरे । मोदीले त्यसैक्रममा पाकिस्तानसँग अचानक सैन्य संघर्ष रोकेको गान्धीले आरोप लगाएका थिए ।

    सरकारले ठूला व्यापारिक घरानाको हितमा काम गरेको राहुलले आरोप लगाए । सरकारले बिहारमा ‘औने–पौने’ दाममा जमिन बिक्री गरिरहेको उनको आरोप थियो । गृहमन्त्री अमित शाहको भनाइ ‘जमिनको कमीका कारण औद्योगिक विकासमा बाधा उत्पन्न भइरहेको’ लाई गम्भीरतापूर्वक लिन राहुलले जनतालाई आग्रह गरे ।

    हिन्दुस्तान टाइम्सका अनुसार बेगूसरायमा र्‍यालीपछि उत्तर प्रदेशको रायबरेलीमा रहेको हिलाम्मे तलाउमा राहुल गान्धीले माछा मार्ने मछुआरा सहभागी कार्यक्रममा सहभागी भएका थिए । तलाउमा छातीसम्म आएको पानीमा हिंडिरहेको देखिएका थिए । उनले आफ्नो कपडा फोहोर भएको समेत वास्ता गरेनन् ।

    खगडियास्थित कोण सभामा राहुलले भने, ‘मैले जे गरेँ, गरेँ किनभने म चाहान्छु किसान, माछा मार्ने जाति र उनीहरुले महसुस गरुन राहुल गान्धी उनीहरुको साथमा उभिएको छ ।’

    ‘यदि कोही ठूला व्यवसायका मालिकले मलाई वैवाहिक कार्यक्रममा आमन्त्रित गर्छन् भने म त्यसलाई अस्वीकार गर्छु, तर यदि कोही गरिब गाउँका किसानले मलाई आमन्त्रण गर्छन् भने म त्यहाँ अवश्यै जान्छु,’ गान्धीले भने, ‘जसको परिवारमा तीन पूर्व प्रधानमन्त्री छन् र जसलाई उनीहरुका आलोचकले व्यङ्ग्यात्मक रुपमा युवराज भन्छन् ।’

    तेजस्वी यादव मैदानमा

    राजद नेता तेजस्वी यादवले पनि आइतबार आफ्नो अनवरत यात्रा जारी राखे । जित निश्चित भएको भन्दै उनले पत्रकारसँग भने, ‘१४ नोभेम्बरमा चुनावको परिणाम घोषणा हुनेछ । १८ नोभेम्बरमा शपथ ग्रहण समारोह हुनेछ । त्यसपछि २६ नोभेम्बरदेखि २६ जनवरीका बीच तेजस्वीले सुनिश्चित गर्नेछ, सबै अपराधी चाहे उनकै जाति र धर्म जेसुकै होस् ती सबै जेलमा हुनेछन् ।’ उनले अनन्त सिंहको गिरफ्तारीका विषयमा सोधिएको प्रश्नको उत्तर दिँदै थिए ।

    अनन्त सिंह एक विवादास्पद पूर्व विधायक हुन् । जो केही समयका लागि ‘राजद’ मा थिए । तर आसन्न निर्वाचनमा मोकामादेखि जदयूको टिकटमा चुनाव लड्दैछन् ।

    एनडीएको चुनावी सभामा नीतीश कुमारको अनुपस्थिति आश्चर्यजनक नरहेको तेजस्वी यादवले सोमबार बताए । उनका अनुसार गठबन्धनले उनलाई मुख्यमन्त्री बनाउने योजना बनाएको छैन।

    समाचार एजेन्सी एएनआईले तेजस्वी यादवलाई उद्धृत गर्दै भनेको छ, ‘यसमा आश्चर्यको के कुरा छ र ? सबैलाई थाहा छ कि भाजपाले नीतीश कुमारलाई मुख्यमन्त्री बनाउने छैन ।’

    मोदीले टिप्पणी गरेको ‘कट्टा’ का विषयमा तेजस्वी यादवले समेत आलोचना गर्दै भनेका छन्, ‘कहीँ कतै कुनै प्रधानमन्त्रीले यस्तो भाषा बोलेको देखिएको छैन ।’ उनले भने, ‘जसको जस्तो सोच छ त्यस्तै भावना प्रकट हुन्छ, उनी त्यस्तै काम गर्छन् र त्यस्तै बोल्छन् । हुन सक्छ उनले कसैलाई एनडीएमा प्रवेश गराउन बन्दुक देखाएका हुन् । म यस विषयमा कुनै टिप्पणी गर्न चाहान्न । तर प्रधानमन्त्रीको भाषा सुन्नुहोस् । मैले अहिलेसम्म कुनै प्रधानमन्त्रीले यस्तो भाषा बोलेको सुनेको छैन ।’

  • बेलायतमा शृङ्खलाबद्ध चक्कु प्रहार, १० जना अस्पतालमा, दुई संदिग्ध पक्राउ

    बेलायतमा शृङ्खलाबद्ध चक्कु प्रहार, १० जना अस्पतालमा, दुई संदिग्ध पक्राउ

    काठमाडौं । लण्डनतर्फ गइरहेको रेलमा १० जना यात्रुमाथि छुरा प्रहार भएको छ । पूर्वी इङ्ल्याण्ड भएको यो घटनामा दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अधिकारीहरुले यसलाई एउटा पृथक घटना भएको जनाएका छन् ।

    शनिबार घाइते भएका १० मध्ये ९ जनाको अवस्था जोखिममा रहेको बताएको थियो । आइतबार बेलायती यातायात प्रहरीका सुपरिटेन्डेन्ट जोन लभलेसले तीमध्ये चार जनालाई डिस्चार्ज गरिएको बताएका छन् ।

    आक्रमणकारी दुई जनालाई पक्राउ गरिएको छ । समाचार संस्था अलजजिराका अनुसार डोनकास्टरबाट लन्डन किङ्स क्रसका लागि साँझ ६ः२५ बजेको सेवामा रहेको रेलमा धेरै व्यक्तिमाथि छुरा प्रहार गरिएको खबर आएपछि क्याम्ब्रिजसायर प्रहरीले जनाएको छ ।

     

    प्रहरीलाई उद्धृत गर्दै अलजजिराले लेखेको छ– सशस्त्र अधिकारीहरु उपस्थित भएर र रेललाई हन्टिङडनमा रोकियो, जहाँ दुई जना पुरुषहरुलाई पक्राउ गरियो ।

    रक्षामन्त्री जोन हेलीले आइतबार बेलायतको स्काई न्युजलाई बताएअनुसार लन्डन जाने रेलमा भएको घटनापछि जनतामा व्यापक खतरा देखिएको छैन । प्रारम्भिक मूल्याङ्कनअनुसार यो एक पृथकतावादी घटना थियो र एकान्तमा गरिएको आक्रमण थियो ।

    प्रधानमन्त्री केयर स्टारमरले घटनालाई ‘चिन्ताजनक’ र ‘भयानक’ भनेका छन् । गृहमन्त्री शबाना महमूदले आफू दुःखी भएको प्रतिक्रिया दिएकी छन् ।

    सन् २०२४ मा उत्तरपश्चिम इङ्ल्याण्डको साउथपोर्टमा भएको घटनापछि सामाजिक सञ्जालमा फैलिएको अफवाह रोक्न सरकार केन्द्रित छ । तीन युवतीको हत्या भएको इन्टरनेटमा दाबी गरिएको थियो । र देशमा दिनभर दंगा भएको थियो ।

    एकजना प्रत्यक्षदर्शीले ठूलो चक्कु बोकेको मानिस देखेको बताए । द टाइम्स पत्रिकाले मानिसहरु शौचालयमा लुकेका बेला जताततै रगत देखिएको उल्लेख गरेको थियो । अर्का प्रत्यक्षदर्शीले स्काई न्यूजलाई बताएअनुसार एक संदिग्धलाई प्रहरीले हिरासतमा लिएको थियो।

     

     

  • अत्यधिक भारवहन भूउपग्रह प्रक्षेपण गर्दै भारतीय अन्तरिक्ष संगठन

    अत्यधिक भारवहन भूउपग्रह प्रक्षेपण गर्दै भारतीय अन्तरिक्ष संगठन

    काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (आईएसआरओ) ले आइतबार आफ्नो सबैभन्दा ठूलो सञ्चार उपग्रह सीएमएस–०३ प्रक्षेपणका लागि तयारी गरेको छ ।

    समाचार एजेन्सी पीटीआईका अनुसार यो उपग्रह भारतीय भूमिबाट भूसमकालिक स्थानान्तरण कक्ष (जीटीओ) तर्फ प्रक्षेपण गरिने अहिलेसम्मकै सबैभन्दा भारी उपग्रह हुनेछ ।

    यो अन्तरिक्ष यानलाई एलभीएमथ्री–एम फाइभ रकेटबाट प्रक्षेपण गरिने बताइएको छ । अत्यधिक भारोत्तोलन क्षमता भएका कारण यसलाई ‘बाहुबली’ भनिएको छ । आइतबार सोसल मिडियामा आईएसआरओले ‘काउन्टडाउन’ सुरु भएको उल्लेख गरेको छ ।

    ‘विपरीत गणना सुरु भएको छ, अन्तिम तयारी पूरा भएको छ र एलभीएमथ्री–एम फाइभ (मिसन) का लागि विपरीत गणना आधिकारिक रुपमा श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रमा सुरु भएको छ ।’

    अपडेटमा आईएसआरओले भनेको छ, ‘सबै प्रणालीहरु तयार छन् किनकि हामी प्रक्षेपणको नजिक पुग्दैछौं । प्रक्षेपण भारतीय समयअनुसार आइतबार साँझ ५ः२६ बजे निर्धारण गरिएको छ ।

     

  • अमेरिकी रक्षामन्त्रीले भने– वासिङटन र बेइजिङ सैन्य सञ्चार स्थापित गर्न सहमत

    अमेरिकी रक्षामन्त्रीले भने– वासिङटन र बेइजिङ सैन्य सञ्चार स्थापित गर्न सहमत

    काठमाडौं । अमेरिकाका रक्षामन्त्री पीट हेगसेथले वासिङटन र बेइजिङ सैन्य सञ्चार स्थापित गर्न सहमत भएको आइतबार बताएका छन् । उनले दुवै देशका बीच द्वीपक्षीय सम्बन्ध यसभन्दा अघि कहिल्यै पनि नरहेको उल्लेख गरेका छन् ।

    शनिबार अबेर राति एउटा क्षेत्रीय सुरक्षा बैठकका क्रममा चिनियाँ समकक्षी डोङ जूूनसँग कुराकानी गरेको उनले बताएका छन् । उनका अनुसार शान्ति, स्थिरता र राम्रो सम्बन्ध दुई ठूला र महान देशका लागि सर्वोत्तम मार्ग रहेकामा दुवै सहमत भएका छन् ।

    सामाजिक सञ्जाल एक्समा पोस्ट गरिएको हेगसेथको टिप्पणी ‘दक्षिण–पूर्वी एसियाली देश र दक्षिण चीन सागरसम्म चीनको बढ्दो ‘अस्थिरता’ निम्त्याउने कारबाहीका लागि स्पर्धा गर्न दृढ रहेको र आफ्नो समुद्री सेनालाई बलियो बनाउन आग्रह गरेको’ केही घण्टापछि आएको हो ।

    हेगसेथ शनिबार दक्षिण–पूर्वी एसियाली राष्ट्र संघ (आसियान) का समकक्षीका साथ बैठकमा थिए । उनले समकक्षीका बीचमा दक्षिण चीन सागरमा चीनले व्यापक क्षेत्रीय र समुद्री विवाद निम्त्याएकाले शान्तिपूर्ण तरिकाले समाधान गर्ने प्रतिबद्धता जनाएका थिए । समाचार एजेन्सी एपीका अनुसार हेगसेथले भने, ‘हामी शान्ति चाहान्छौं । हामी संघर्ष चाहाँदैनौं । तर चीन तपाईँमाथि वा कोहीमाथि हावी हुने प्रयास नगरोस् भन्ने कुरो सुनिश्चित हुनुपर्छ ।’

    दक्षिण चीन सागर एसियाको सबैभन्दा अस्थिर विवाद विन्दुमध्ये एक हो । जहाँ बेइजिङले सबै क्षेत्र आफ्नो भएको दावी गर्दै आएको छ । तर आसियानका सदस्य राष्ट्रहरू फिलिपिन्स, भियतनाम, मलेसिया र ब्रुनाईसमेत तटीय क्षेत्रको स्वामित्व दावी गर्छन् ।

    इण्डियन एक्सप्रेसको रिपोर्टअनुसार अमेरिकी सहयोगी फिलिपिन्स र चीनबीच यस क्षेत्रमा बारम्बार झडप भइरहेका छन् । फिलिपिन्सले बलियो क्षेत्रीय प्रतिक्रियाको माग गर्दै आएको भए पनि आसियानले चीनसँगको आफ्नो आर्थिक सम्बन्धलाई ध्यानमा राख्दै सन्तुलन कायम गर्न प्रयास गरिरहेको छ ।

    शनिबारको बैठकमा हेग्सेथले चीनले सन् २०१२ मा फिलिपिन्सबाट कब्जा गरेको स्कारबोरो सोललाई हालै ‘प्रकृति आरक्ष’ घोषणा गरेको कदमको कडा आलोचना गरे ।

    उनका अनुसार यो कदम चीनले आफ्नो क्षेत्रीय र समुद्री दाबी विस्तार गर्न अर्को प्रयास हो । उनले आसियान सदस्य राष्ट्रहरूलाई चीनसँग लामो समयदेखि रोकिएको समुद्री आचारसंहिता छिटो टुङ्ग्याउन आग्रह गरे ।

  • रुसमाथि युक्रेनको ड्रोन आक्रमण, तेल टर्मिनलमा ठूलो क्षति

    रुसमाथि युक्रेनको ड्रोन आक्रमण, तेल टर्मिनलमा ठूलो क्षति

    काठमाडौँ ।  युक्रेनले रुसमाथि ड्रोन आक्रमण गरेको छ । आइतबार राति ब्ल्याक सीस्थित रुसको तुआप्से पोर्टमा ठूलो असर परेको बताइएको छ । आगलागीबाट रुसी तेल टर्मिनल ठूलो असर परेको छ । रुसी हवाइ सुरक्षा दलको दावी अनुसार उसले १६४ वटा युक्रेनी ड्रोनलाई हावामा नष्ट गरिदिएको छ ।

    रुसी समाचार एजेन्सीको रिपोर्टअनुसार आइतबार राति युक्रेनबाट गरिएको आक्रमणका क्रममा सो परिमाणको ड्रोन रुसले नष्ट गरेको हो ।

    युक्रेनी ड्रोन आक्रमणले रातभरि रूसको प्रमुख कालो सागर (ब्ल्याक सी) बन्दरगाह टुआप्सेको एक प्रमुख तेल टर्मिनलमा रहेको ट्याङ्कर र पूर्वाधारमा क्षति पुर्‍याएको र आगजनी गरेको दक्षिणी क्षेत्र क्रास्नोडारका अधिकारीहरूले आइतबार बताएका छन् । रोयटर्सका अनुसार रूसको कच्चा र परिष्कृत उत्पादनहरूको दक्षिणी आउटलेटमा आक्रमण गरिएको हो । जसले रुसको निर्यात प्रवाहमा धक्का दिने खतरा बढाएको छ ।

    क्रास्नोडार प्रशासनले टेलिग्राम म्यासेजिङमा उल्लेख गरेअनुसार तुआप्सेमा यूएवी (मानवरहित हवाई वहान) को जवाफी आक्रमण गरिएको छ ।

    यो आक्रमण युक्रेनको सैन्य रसदमा बाधा पुर्याउने तीव्र अभियानको एक अङ्ग हो । मानवीय क्षतिको कुनै रिपोर्ट आइसकेको छैन । कुन बन्दरगाहको पूर्वाधारमा क्षति पुगेको हो भन्ने पनि स्पष्ट जानकारी आएको छैन ।

    क्रास्नोडार क्षेत्र प्रशासनले ड्रोनको भग्नावेशेष खस्दा बन्दरगाहको पूर्वाधारमा क्षति पुगेको र आगलागी भएको बताएको छ । बन्दरगाहमा टुआप्से तेल टर्मिनल र रोसनेफ्ट नियन्त्रित टुआप्से तेल रिफाइनरी रहेको छ । यस वर्ष युक्रेनी ड्रोनहरुले दुवै साइटहरुलाई धेरै पटक निशाना बनाएका छन् ।

    रुसी पावर ग्रिडमा भएको आक्रमणको बदला लिन किभ (युक्रेन) ले रुसी रिफाइनरी, डिपो र पाइपलाइनहरूमा आक्रमणहरु तीव्र पारेको छ । यी आक्रमणहरु इन्धन आपूर्तिमा दबाब दिन, सैन्य रसदमा बाधा पुर्याउन र रुसको युद्धकालीन खर्च बढाउने उद्देश्यले गरिएको बताइएको छ ।

    क्रास्नोडार प्रशासनका अनुसार ड्रोनको भग्नावशेषले टुआप्से बाहिरको सोस्नोभी गाउँमा रहेको एउटा अपार्टमेन्टमा क्षति पुर्याएको छ । यद्यपि त्यहाँ कुनै चोटपटक लागेको रिपोर्ट गरिएको छैन ।

  • बिहार निर्वाचन : भाजपा सांसद तिवारीमाथि आक्रमण

    बिहार निर्वाचन : भाजपा सांसद तिवारीमाथि आक्रमण

    काठमाडौं । भारतीय जनता पार्टीका सांसद मनोज तिवारीमाथि शनिबार बिहारको बक्सरमा आक्रमण भएको बताइएको छ । बिहार विधानसभा चुनाव लक्षित सडक र्‍याली गरिरहेका अवस्थामा उनीमाथि आक्रमण भएको हो ।

    तिवारीका अनुसार उनीमाथि राष्ट्रिय जनता दल (राजद) का समर्थकले आक्रमण गरेका हुन् । राजदका कार्यकर्ताहरू र्‍यालीलाई पछ्याउँदै आएको बताएका छन् । तिवारीले भने, ‘हामीले बक्सरको डुुमराँवमा एउटा कार्यक्रम गरेका थियौं । राजदका कार्यकर्ताले ममाथि आक्रमण गरे, म हैरान छु । पहिले त उनीहरुले हाम्रा लागि हुटिङ गरे र कसैले हाम्रो गाडीमा राजदको झण्डा लगाउने प्रयास गरे ।’

    उनले भने, ‘जब हामीले विरोध गर्‍याैँ,  उनीहरुले हामीलाई कुल्चने प्रयास गरे र तथानाम गाली गर्न थाले । घटना स्थलबाट बच्नका लागि हामीले सवारीलाई चाँडो अगाडि बढाउन अनुरोध गर्‍याैँ । तर उनीहरुले हाम्रो गाडीमाथि लाठी बर्साए र हामीलाई त्यहाँबाट भाग्न बाध्य बनाए ।’

    सांसद तिवारीले घटनामा संलग्नलाई कारबाही गर्न चुनाव आयोग समक्ष अपिल गरेको टाइम्स  अफ इण्डियाले उल्लेख गरेको छ । सांसद तिवारीले भने, ‘म चुनाव आयोग र प्रशासन साथै महागठबन्धनका नेताहरुसँग अपिल गर्छु, चुनावी कार्यक्रममा यो कस्तो व्यवहार हो ? यो एउटा गम्भीर अपराध हो । हामीले उजुरी गरेका छौं, एसपीसँग पनि कुरा गरेका छौं, आक्रमणमा संलग्नलाई कारबाही हुनुपर्छ ।’

    पटनाका वरिष्ठ प्रहरी अधीक्षक (एसएसपी) कार्तिकेय शर्माका अनुसार प्रहरीले मोकामा निर्वाचन क्षेत्रबाट जनता दल (युनाइटेड) का उम्मेदवार अनन्त कुमार सिंहलाई शनिबार राति पक्राउ गरेको बताएका छन् । पक्राउ परेका सिंहमाथि जन सुराज समर्थक दुलारचन्द यादवको हत्यामा संलग्न रहेको आरोपपछि अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको हो ।

    गत ३० अक्टोबरमा बिहार विधान सभा प्रचारका क्रममा मोकामामा दुई गुटबीच गोली हानाहान भएको थियो । उक्त घटनामा जन सुराज समर्थक दुलारचन्द यादवको मृत्यु भएको थियो । प्रहरीका अनुसार अनन्त सिंहसँगै उनका दुई साथी माणिकान्त ठाकुर र रन्जित रामलाई समेत नियन्त्रणमा लिइएको छ । तीनै जनालाई मजिस्ट्रेटसामु पेश गरिने छ ।

    बिहारमा २४३ सिटका लागि विधान सभाको चुनाव हुँदैछ । दुई चरणमा हुने मतदान ६ नोभेम्र र ११ नोभेम्बरमा हुने छ । मतगणना १४ नोभेम्बरमा हुने बताइएको छ ।

  • सुपरमार्केटमा आगलागी हुँदा मेक्सिकोमा २३ जनाको मृत्यु

    सुपरमार्केटमा आगलागी हुँदा मेक्सिकोमा २३ जनाको मृत्यु

    काठमाडौं । मेक्सिकोको उत्तर–पश्चिमी राज्य सोनाराको केन्द्र हर्मोसिल्लोस्थित एक स्टोरमा भीषण आगलागी र विष्फोट हुँदा २३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बालबालिका समेत रहेको बताइएको छ ।

    आगलागीमा परी १२ जना घाइँते भएका छन् । यो घटना शहरको डाउनटाउन इलाकास्थित वाल्डोज स्टोरमा भएको हो । सोनाराका गभर्नर अल्फोन्सो दुराजोले सामाजिक सञ्जालमा भिडिओ पोस्ट गर्दै घटनाको पुष्टि गरेका छन् । उनले पीडित परिवारप्रति संवेदना व्यक्त गरेका छन् ।

    राज्यका अटर्नी जनरल गुस्तावो सालास चावेजले विषाक्त ग्याँसका कारण श्वासप्रश्वासमा समस्या भएपछि मृत्यु भएको बताएका छन् । आगजनी गरिएको विषयमा एकीन जानकारी नआएको उनको भनाइ छ । घटनाका घाइँतेहरूलाई हर्मोसिल्लोका ६ अस्पतालमा भर्ना गरिएको छ ।

    राष्ट्रपति क्लाउडिया शिनबामद्वारा शोक प्रकट

    मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शिनबामले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै संवेदना व्यक्त गरेकी छन् । सरकारको राहत टोली घटनास्थलमा पुगेको बताइएको छ ।

    स्थानीय प्रशासनले निकै जटिलतापछि आगलागी नियन्त्रणमा लिएको जनाएको छ । घटना सम्बन्धमा अनुसन्धान भइरहेको बताइएको छ ।

  • क्यारेबियन सागरमा अमेरिकाको सैन्य कारबाही, लागूऔषधविरुद्ध भएको ट्रम्प प्रशासनको दावी

    क्यारेबियन सागरमा अमेरिकाको सैन्य कारबाही, लागूऔषधविरुद्ध भएको ट्रम्प प्रशासनको दावी

    काठमाडौं । अमेरिकी सेनाले क्यारेबियन सागरमा अर्को एउटा सैन्य हमला गरेको छ । हमलामा परी तीन जना लागूऔषध तस्कर मारिएको रक्षा मन्त्री पीट हेगसेथले सोसल मिडियामार्फत जानकारी दिएका छन् ।

    उनका अनुसार अमेरिकाले आतंककारी घोषित गरेको संगठन उक्त जहाजमा थिए । तर उनले कुन चाहिँ संगठन हो भन्ने खुलाएका छैनन् । सेप्टेम्बरको सुरुदेखि अमेरिकी सेनाले लागूऔषध तस्करविरुद्ध पूर्वी प्रशान्त क्षेत्रमा पर्ने क्यारेबियन सागरमा गरेको यो १५औं हवाई आक्रमण हो ।

    रक्षा मन्त्री हेगसेथले मादक पदार्थको तस्करीमा संलग्न उक्त जहाजका बारेमा गोप्य जानकारी प्राप्त भएको बताएका छन् । उनका अनुसार तस्करीका लागि कुख्यात मार्गबाट नाउ अगाडि बढेको जानकारीपछि कारबाही गरिएको हो । उक्त नाउमा ठूलो मात्रामा लागूऔषध रहेको थियो ।

    हालसम्म अमेरिकी कारबाहीमा न्युनत्तम ६४ व्यक्तिको मृत्यु भइसकेको समाचार एजेन्सीहरूले उल्लेख गरेका छन् ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो आक्रमण जायज भएको बताएका छन् । यो कारबाही अमेरिकामा लागूऔषधको आपूर्ति रोक्न आवश्यक रहेको उनको भनाइ थियो । ‘अमेरिकका ड्रग कार्टेल्सका विरुद्ध सशस्त्र संघर्षमा छ ।’ ट्रम्पले कानूनी अधिकार प्रयोग गरेर कारबाही चलाएको बताएका छन् । ट्रम्प प्रशासनले उक्त क्षेत्रमा युद्धपोतको सङ्ख्या बढाएको छ । अमेरिकाले लागूऔषधविरुद्धको कारबाही तीव्र गतिमा अघि बढाएको उल्लेख गरेको छ ।

    भेनेजुएलाको विरोध

    भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले अमेरिकी सैन्य कारबाहीको विरोध गरेका छन् । उनले यो सैन्य अभियान ट्रम्पको अस्थिर प्रशासनको गोप्य उदाहरण भएको बताएका छन् ।

    उनका अनुसार हालसम्म ट्रम्प प्रशासनले आक्रमण गरिएको नाउ ड्रग कार्टेलसँग सम्बन्धित भएको प्रमाणित गर्न सकेको छैन । साथै मारिएका व्यक्तिको पहिचानसमेत खुलाउन सकेको छैन ।

    ट्रम्प प्रशासनको सैन्य अभियानका विरुद्ध विरोध बढ्दै गएको छ । डेमोक्रेटिक सांसदहरुले कंग्रेसको सहमतिबिना नै ट्रम्पले कारबाही गरेको आरोप लगाउँदै आएका छन् । उनीहरूका अनुसार यो अन्तर्राष्ट्रिय कानूनको उल्लंघन हो । सिनेटको सशस्त्र बल समितिका सदस्य रिचर्ड ब्लुमेन्थलले यस प्रकारको सैन्य कारबाहीको विस्तार गरिनु लापरवाही हो भनेका छन् । उनले अमेरिकी सेनाको राजनीतिक उपयोग गरिएको बताएका छन् । यद्यपि राष्ट्रपति ट्रम्पले युद्धको घोषणा नगरेको स्पष्ट पारेका छन् । उनले भन्दै आएका छन्– ‘जसले अमेरिकामा ड्रग्स भित्र्याउँछ, उनीहरूलाई हामी सिध्याइदिन्छौं ।’

     

  • आप्रवासीको बायोमेट्रिक डेटा र डिएनए नमुना संकलन गर्दै ट्रम्प प्रशासन

    आप्रवासीको बायोमेट्रिक डेटा र डिएनए नमुना संकलन गर्दै ट्रम्प प्रशासन

    काठमाडौं । अमेरिकी गृह सुरक्षा विभाग (डीएचएस) ले आप्रवासीहरूको बायोमेट्रिक डेटा र डिएनए नमूुना संकलन गर्ने भएको छ । यो नयाँ नियम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले प्रस्ताव गरेको हो । यो प्रस्तावलाई अमेरिकी आप्रवासन नीतिको परिवर्तनमा एउटा ठूलो र महत्वपूर्ण कदमका रुपमा लिइएको छ ।

    अमेरिकी गृह सुरक्षा विभागले वयस्क आवेदकबाट सीमित बायोमेट्रिक्स फिङ्गर प्रिन्ट लिँदै गरेकामा यो नियम परिवर्तन गरी सबै उमेरका आप्रवासीहरूको डिएनए तथ्यांक प्रयोग गर्ने निर्णय गरेको हो । फिङ्गर प्रिन्टसँगै डिएनए, आइरिस स्क्यान, अनुहारको पहिचान, आवाज र व्यवहारको नमूनासमेत संकलन गर्ने छ । विभागले अध्यागमन प्रक्रियाका लागि मात्र नभएर गैर नागरिकलाई पक्राउ गर्दासमेत उनीहरूको बायोमेट्रिक्स संकलन गर्नेछ ।

    कानूनविद्हरूले यो नियमले अदालतमा चुनौती थप्ने बताएका छन् । नियमले गोपनियता, सरकारी शक्ति र डिएनए डेटा प्रयोगबारे जटिल संवैधानिक प्रश्न उठाउने कानूनविद्ले चिन्ता व्यक्त गरेका छन् । ओबामा प्रशासनअन्तर्गत संघीय अधिकारीले यस्तो बायोमेट्रिक्स संकलनलाई अव्यवहारिक ठानेका थिए । तर यो प्रस्ताव ट्रम्प प्रशासनले उल्टाइदिएको छ । विज्ञहरूले यो प्रस्ताव अमेरिकी सर्वोच्च अदालतसम्म पुग्न सक्ने बताएका छन् ।

     

  • अन्वेषकहरूको अन्टार्कटिकातर्फ यात्रा: एक लाख ३० हजार वर्ष पुरानो बरफको खोजीमा जलवायु अध्ययनको नयाँ प्रयास

    अन्वेषकहरूको अन्टार्कटिकातर्फ यात्रा: एक लाख ३० हजार वर्ष पुरानो बरफको खोजीमा जलवायु अध्ययनको नयाँ प्रयास

    केप टाउन । फ्रान्सका एक अन्वेषक म्याथिउ टोर्डुर र प्रसिद्ध हिमनदी विज्ञ हेइडी सेभेस्ट्रेले अन्टार्कटिकाको गहिराइमा एक लाख ३० हजार वर्ष पुरानो बरफको खोजीका लागि तीन महिनाको कठिन अभियान प्रारम्भ गरेका छन् ।

    चङ्गा स्कीसको सहायतामा पृथ्वीको सबैभन्दा चिसो र कठोर भूभाग पार गर्दै उहाँहरूले ‘सेतो महाद्वीप’ को इतिहास र भविष्य जलवायु परिवर्तनसँग कसरी सम्बन्धित छ भन्ने बुझ्ने लक्ष्य राखेका छन् ।

    दक्षिणी गोलार्धको गर्मी सिजन सुरु भएसँगै सुरू भएको यो ‘अन्डर अन्टार्कटिका’ अभियान आगामी नोभेम्बर १० देखि ब्राजिलमा हुने कोप–३० जलवायु सम्मेलन सँग मेल खाने गरी तय गरिएको छ । दुवै वैज्ञानिकको उद्देश्य जलवायु परिवर्तनविरुद्ध विश्वव्यापी कदमलाई सशक्त बनाउन र पग्लँदै गएको बरफको प्रभावबारे ठोस प्रमाण प्रस्तुत गर्नु हो ।

    – चरम यात्राको चुनौती –

    टोर्डुर र सेभेस्ट्रेले पूर्ण अलगावमा रहँदै करिब चार हजार किलोमिटर लामो बाटो पार गर्ने योजना बनाउनुभएको छ । यस अवधिमा तापक्रम माइनस ५० डिग्री सेल्सियससम्म झर्न सक्नेछ । दुवै जना चङ्गा स्कीसको सहायतामा यात्रा गर्नुहुनेछ । यसमा स्कियरले शरीरमा बाँधिएको हार्नेसमार्फत चङ्गाको बल प्रयोग गरी अगाडि बढ्छन् ।

    “यदि हावाको अवस्था अनुकूल रह्यो भने हामी दैनिक १५० देखि २०० किलोमिटर यात्रा गर्न सक्छौँ”, टोर्डुरले भन्नुभयो । गत वर्ष उहाँहरूले ग्रीनल्यान्डमा चङ्गा स्कीस प्रयोग गरी एक हजार ५०० किलोमिटर यात्रा गर्दै बरफका नमूना सङ्कलन गर्नुभएको थियो । यस पटक ९० दिनभित्र अभियान पूरा गर्ने योजना रहेको छ ।

    “हामीले जनवरीको अन्त्यअघि अन्टार्कटिकाबाट बाहिरिनै पर्छ”, ३३ वर्षीय टोर्डुरले भन्नुभयो, “त्यसपछि कुनै विमान वा रसद सहायता सम्भव हुँदैन ।”

    – चरम सीमाको महाद्वीप –

    टोर्डुरका अनुसार अन्टार्कटिका पृथ्वीको सबैभन्दा चिसो, सुक्खा, हावायुक्त र सबैभन्दा उचाइमा रहेको महाद्वीप हो । उहाँहरूले करिब तीन हजार ८०० मिटर उचाइमा यात्रा गर्नुहुनेछ । त्यहाँ कुनै मानव बस्ती वा जनावर भेटिँदैन । “जब तपाईं महाद्वीपभित्र पस्नुहुन्छ, त्यहाँ केही पनि हुँदैन—मात्र सेतो बरफको अनन्त फैलावट”, उनले भने।

    प्रत्येक अन्वेषकले आफ्नो स्लेजमा खानादेखि उपकरणसम्म सबै वस्तु बोकेका छन् । त्यसमा दुईवटा जमिनमा प्रवेश गर्ने राडार समेत छन्, जसले बरफको गहिराइ र तह स्क्यान गर्नेछ । खाना योजनासमेत अति सूक्ष्म रूपमा तयार गरिएको छ—उदाहरणका लागि बिहानको भोजनमा ७० ग्राम ओट्स, ३० ग्राम मुसेली र १४ ग्राम किसमिस समावेश हुन्छ ।

    – वेस्ट अन्टार्कटिकाको पतन सम्भव छ –

    हिमनदी विज्ञ सेभेस्ट्रेका अनुसार अभियानको प्रमुख लक्ष्य दुईदेखि तीन किलोमिटर गहिराइमा रहेको अत्यन्त पुरानो बरफ पत्ता लगाउनु हो । “हामी एक लाख ३० हजार वर्ष पुरानो बरफ खोज्दैछौँ—त्यो समय पृथ्वी अहिलेको भन्दा करिब तीन डिग्री बढी तातो थियो”, उनले भने।

    यदि त्यस्तो पुरानो बरफ फेला परेन भने सेभेस्ट्रेका शब्दमा, “यसको अर्थ हुन्छ, तापक्रम तीन डिग्री बढ्दा अन्टार्कटिकाको केही भाग पतन भइसकेको थियो ।” यस अध्ययनले भविष्यमा समुद्री सतह कति बढ्न सक्छ भन्ने वैज्ञानिक मोडेललाई स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।

    “पश्चिम अन्टार्कटिकामा यति धेरै बरफ छ कि पग्लिएमा विश्व समुद्री सतह चारदेखि छ मिटरसम्म बढ्न सक्छ”, ३७ वर्षीया सेभेस्ट्रेले भन्नुभयो, “त्यस्तो अवस्था आउँदा विश्वभरका लाखौँ मानिस विस्थापित हुनेछन् ।”

    – जलवायु परिवर्तनबारे चेतना फैलाउने उद्देश्य –

    युनेस्कोको समर्थनमा सञ्चालित यस अभियानको सन्देश नोभेम्बर २१ भित्र ब्राजिलमा भेला हुने विश्व नेताहरूमा पुगोस् भन्ने दुवैको अपेक्षा छ । “जलवायु परिवर्तनको सबैभन्दा खराब परिणामबाट बच्न अझै ढिलो भएको छैन”, सेभेस्ट्रेले भने ।

    उनका अनुसार समाधान स्पष्ट छ, “हामीले कार्बन उत्सर्जन घटाउनुपर्छ र जीवाश्म इन्धन प्रयोग कम गर्नुपर्छ । बरफका यी पिण्डहरूलाई जोगाउन यही नै मार्ग हो ।”

    यो अभियान केवल एक वैज्ञानिक अनुसन्धान मात्र नभई, विश्वलाई चेतावनी पनि हो—पृथ्वीको इतिहास पढ्न सक्ने बरफ पग्लिँदै छ र त्यससँगै मानव भविष्य पनि जोखिममा पर्न सक्छ ।

  • राष्ट्रपति ट्रम्पद्वारा भेनेजुएलामाथि आक्रमणको सम्भावना अस्वीकार

    राष्ट्रपति ट्रम्पद्वारा भेनेजुएलामाथि आक्रमणको सम्भावना अस्वीकार

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाभित्र लागुऔषध तस्करी नियन्त्रण गर्न अमेरिकी सैन्य आक्रमण गर्ने कुनै पनि योजनालाई स्पष्ट रूपमा अस्वीकार गरेका छन् । उनको यो अभिव्यक्ति भेनेजुएलामा कोकेन उत्पादन केन्द्र र तस्करी मार्गहरूलाई लक्षित गर्ने अमेरिकी योजना तयार भइरहेको भन्ने रिपोर्टहरू सार्वजनिक भएपछि आएको हो ।

    उक्त रिपोर्टहरू सत्य हुन् कि होइनन् भनी पत्रकारहरूले सोधेको प्रश्नमा राष्ट्रपति ट्रम्पले संक्षेपमा उत्तर दिए, “होइन, यो सत्य होइन ।”

    गत हप्ता अमेरिकी युद्धमन्त्री पिट हेगसेथले अमेरिकी नौसेनाको अत्याधुनिक विमानवाहक समूह युएसएस जेराल्ड आर फोर्डलाई युरोपबाट क्यारिबियन क्षेत्रतर्फ सर्न आदेश दिएका थिए । यो कदमपछि अमेरिकी सैन्य गतिविधि भेनेजुएलासँग सम्बन्धित हुनसक्ने अड्कलहरू बढेका थिए ।

    यसअघि अमेरिकी सिनेटर लिन्डसे ग्राहमले पनि भेनेजुएलामाथि सम्भावित भूमि आक्रमणलाई ‘वास्तविक विकल्प’ भन्दै चेतावनी दिएका थिए । उनका अनुसार वासिङ्टनले ल्याटिन अमेरिकामा फैलिएका नार्को–तस्करी सञ्जालहरू विरुद्धको अभियानलाई अझ सशक्त बनाउन खोजिरहेको छ ।

    सिबिएस न्युजसँग कुरा गर्दै सिनेटर ग्राहमले भनेका छन्, “राष्ट्रपति ट्रम्पले मलाई हिजो नै भन्नुभयो कि उहाँ एसियाबाट फर्किएपछि कङ्ग्रेसका सदस्यहरूलाई भेनेजुएला र कोलम्बियासँग सम्बन्धित सम्भावित सैन्य योजनाबारे जानकारी दिने सोचमा हुनुहुन्छ ।”

    यसबीच, अमेरिकाले पछिल्ला हप्ताहरूमा क्यारिबियन र प्रशान्त क्षेत्रका समुद्री मार्गहरूमा लागुऔषध तस्करीमा संलग्न भनिएका डुङ्गाहरूमा हवाई आक्रमणलाई निरन्तरता दिइरहेको छ ।

    बुधबार युद्धमन्त्री हेगसेथले पूर्वी प्रशान्त क्षेत्रमा भएको पछिल्लो हवाई आक्रमणबारे जानकारी दिँदै उक्त आक्रमणमा लागुऔषध बोकिरहेको एउटा डुङ्गा लक्षित गरिएको, जसमा चार व्यक्तिको मृत्यु भएको बताउनुभयो । सेप्टेम्बरको सुरुदेखि यो १४औँ हवाई प्रहार हो र यस क्रममा १५औँ डुङ्गा नष्ट गरिएको बताइएको छ । यी अपरेसनहरूबाट अहिलेसम्म कम्तीमा ६१ जनाको मृत्यु भइसकेको छ ।

    यस घटनाक्रमप्रति संयुक्त राष्ट्रसङ्घले गम्भीर चासो व्यक्त गर्दै अमेरिकालाई तत्काल यस्ता हवाई आक्रमण रोक्न आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घका मानव अधिकारका लागि उच्चायुक्त भोल्कर टर्कले भने, “सेप्टेम्बरको सुरुदेखि क्यारिबियन र प्रशान्त क्षेत्रमा अमेरिकी सशस्त्र बलले गरेको निरन्तर हवाई आक्रमणमा ६० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको छ, जसका लागि अन्तर्राष्ट्रिय कानूनमा कुनै स्पष्ट औचित्य देखिँदैन ।”

    उनले भने, “यी आक्रमणहरू र तिनको बढ्दो मानवीय मूल्य अस्वीकार्य छन् । अमेरिकाले तुरुन्तै यी आक्रमणहरू रोक्नुपर्छ र ती डुङ्गाहरूमा रहेका मानिसहरूको गैरन्यायिक हत्या रोक्नका लागि आवश्यक सबै उपायहरू अवलम्बन गर्नुपर्छ — उनीहरूविरुद्ध आपराधिक आचरणको आरोप जेसुकै किन नहोस् ।”

    राष्ट्रपति ट्रम्पको भेनेजुएला आक्रमण अस्वीकार सम्बन्धी अभिव्यक्तिलाई राजनीतिक विश्लेषकहरूले अमेरिकाको क्षेत्रीय रणनीतिमा सावधानीपूर्वक सन्तुलन कायम गर्न खोजेको सङ्केतका रूपमा व्याख्या गरेका छन् ।

  • थाक्सिन सिनावात्राको पार्टीमा नयाँ नेतृत्व चयन

    थाक्सिन सिनावात्राको पार्टीमा नयाँ नेतृत्व चयन

    काठमाडौं । थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राले स्थापना गरेको सत्तारूढ फेउ थाई पार्टीले शुक्रबार नयाँ नेतृत्व चयन गरेको छ ।

    पार्टी नेतृ तथा पूर्व प्रधानमन्त्री पेटोङटार्न सिनावात्राको राजीनामापछि पूर्व उप–अर्थमन्त्री जुलापुन अमोर्नभिवाटलाई नयाँ पार्टी प्रमुखका रूपमा चयन गरेको घोषणा गरेको हो ।

    अगस्ट महिनामा कम्बोडियासँगको सीमा विवादसम्बन्धी ‘नैतिक उल्लङ्घन’ को आरोपमा थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री पदबाट हटाएपछि पेटोङटार्नले गत हप्तामात्रै पार्टी नेतृत्व छोड्ने घोषणा गरेकी थिइन् । ३९ वर्षीया पेटोङटार्न पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी कान्छी छोरी हुन् ।

    राजनीतिक विश्लेषकहरूका अनुसार उनको राजीनामालाई पार्टीले सम्भावित कानूनी विवाद र न्यायिक चुनौतीबाट जोगिने रणनीतिक निर्णयका रूपमा लिएको देखिन्छ । यस घटनाले थाइल्यान्डमा सिनावात्रा परिवारको लामो राजनीतिक प्रभाव क्रमशः कमजोर हुँदै गएको सङ्केत देखिएको पनि तर्क गरिएको छ ।

    फेउ थाई पार्टीको आधिकारिक फेसबुक पृष्ठमा प्रत्यक्ष प्रसारण गरिएको मतदानपछि ५० वर्षीय जुलापुन अमोर्नभिवाट नयाँ पार्टी प्रमुख निर्वाचित भएको घोषणा गरिएको थियो । उत्तरी चियाङ माई प्रान्तका सांसदसमेत रहेका जुलापुनले पत्रकारहरूलाई सम्बोधन गर्दै भने, ‘पार्टीको नेतृत्व गर्ने अवसर पाउँदा म अत्यन्त सम्मानित महसुस गर्दछु । यो जिम्मेवारी दिनुभएकोमा सबै सदस्यहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’

    जुलापुन थाइल्यान्डका अनुभवी राजनीतिज्ञ सोमपोङ अमोर्नभिवाटका छोरा हुन् । उनले २०१९ मा उपप्रधानमन्त्रीको रूपमा सेवा गरेका थिए । उनी फेउ थाईको अघिल्लो कार्यकालमा समेत पार्टी नेतृत्वमा थिए ।

    सन् २०२३ को आम निर्वाचनअघि जुलापुन पार्टीका प्रमुख नीति–नियोजकहरूमध्ये एक थिए । उनले नागरिकलाई १० हजारबाट (झन्डै ३०० अमेरिकी डलर) नगद प्रोत्साहन र क्यासिनो सञ्चालनलाई वैधता दिने प्रस्तावहरू अघि सारेका थिए । जसले मतदातामाझ पार्टीलाई लोकप्रिय बनाएको थियो ।

    तर, राजनीतिक विश्लेषकहरूका अनुसार फेउ थाई पार्टीको नेतृत्व जोसुकैले सम्हाले पनि वास्तविक शक्ति र प्रभाव अझै पनि पार्टीका संस्थापक थाक्सिन सिनावात्रा र उनको राजनीतिक परिवारकै वरिपरि केन्द्रित रहनेछ ।

    थाक्सिन र उनका समर्थकहरू दशकौँदेखि थाइल्यान्डको सैन्य समर्थक र शाही अभिजात वर्गका प्रमुख प्रतिद्वन्द्वी बनेका छन् । उनीहरूले अघि सारेको ‘लोकप्रियतावादी नीति’ लाई देशका परम्परागत अभिजातहरूले आफ्नो सामाजिक संरचनामा चुनौतीका रूपमा लिएका छन् ।

    सन् १९९० को दशकको अन्त्यतिर थाक्सिनले फेउ थाईको पूर्वरूप रहेको थाई रक थाई पार्टी स्थापना गरेका थिए । तर सन् २००६ मा सैनिक विद्रोहपछि उनलाई प्रधानमन्त्री पदबाट हटाइयो र त्यसपछि लामो समय विदेश निर्वासनमा रहे ।

    हाल ७६ वर्षीय थाक्सिन सिनावात्रा भ्रष्टाचारसम्बन्धी मुद्दामा जेल सजाय काटिरहेका छन् । यद्यपि, उनको राजनीतिक प्रभाव र लोकप्रियता अझै पनि थाइल्यान्डको जनमत र सत्तारूढ दलको निर्णय प्रक्रियामा गहिरो रूपमा प्रतिविम्बित भइरहेको देखिन्छ ।

  • प्रदूूषणबाट दिल्ली ग्याँसच्याम्बर बनेको भारतीय मिडियाको रिपोर्ट, सर्वेक्षणले देखायो भयावह अवस्था

    प्रदूूषणबाट दिल्ली ग्याँसच्याम्बर बनेको भारतीय मिडियाको रिपोर्ट, सर्वेक्षणले देखायो भयावह अवस्था

    काठमाडौं । दिल्ली भारतको राष्ट्रिय राजधानी क्षेत्र (एनसीआर) को हावा विषाक्त हुँदै गइरहेको छ । त्यसमाथि बढ्दो भाइरलका बिरामीका कारण अवस्था झनै बिग्रिँदै गएको छ । सर्वेक्षणका अनुसार प्रत्येक चार घरमध्ये तीन घरमा कुनै न कुनै रोगका बिरामी छन् । चिकित्सकका अनुसार एचथ्रीएनटु जस्ता भाइरल र प्रदूषणको बढ्दो मात्राले जनस्वास्थ्यमा गम्भीर असर गरिरहेको छ । बिरामीमा देखिएको लक्षण खतरापूर्ण रहेको भारतीय सञ्चार माध्यम आजतकले जनाएको छ ।

    दिल्ली–एनसीआरस्थित विषाक्त वायुका कारण चिन्तित व्यक्तिमाथि भाइरसको आक्रमण आपत बनेर आइरहेको छ । आजतकका अनुसार ताजा सर्वेक्षणको नतिजाले ७५ प्रतिशत घरमा कम्तिमा १ जना व्यक्ति बिरामी छन् । यसको कारण विषाक्त हावा र भाइरल इन्फेक्सनको एकै पटक आक्रमण रहेको छ ।

    गत सेप्टेम्बरमा ५६ प्रतिशत रहेको दर ७५ प्रतिशत पुगेको छ । कम्युनिटी प्लेटफर्म लोकल सर्कलले गरेको सर्वेक्षणमा दिल्ली, गुरुग्राम, नोएडा, फरिदावाद र गाजियावादका १५ हजार बढी व्यक्ति सहभागी थिए ।

    चिकित्सकका अनुसार यो समय दिल्लीमा एचथ्रीएनटु इन्फ्लुएन्जा र अन्य भाइरल इन्फेक्सनका बिरामी बढिरहेका छन् । ज्वरो, खोकी, घाँटीमा समस्या, टाउको दुखाइ र थकानजस्ता लक्षण देखिएका छन् । बिरामीहरू निको हुन १० दिन समय लाग्ने बताएका छन् । सर्वेक्षणको प्रतिवेदन अनुसार बिरामीबाट बच्चा, वृद्ध र रोगीहरु बढी प्रभावित भएका छन् ।

    तिहारपछि दिल्लीको हावा पुनः विषाक्त बन्दै गएको छ । एयर क्वालिटी इन्डेक्स (एक्युआई) ४०० देखि ५०० का बीचमा रहेको छ । परालहरु जल्दा, पटाकाहरु पड्कँदा र स्थानीय प्रदूषणका कारण हावा विषाक्त बनेको छ । पीएमटुप्वाइन्टफाइभ को स्तर ३५० माइक्रोग्राम पर क्युबिक मिटरसम्म पुगेको छ । जुन डब्ल्यूएचओको सुरक्षित सीमाभन्दा १० गुणा बढी हो । यसको अर्थ प्रत्येक श्वासप्रश्वासमा शरीरभित्र विष प्रवेश गरिरहेको छ ।

    चाँडै नै सुरक्षाको उपाय नअपनाए बिरामी बढ्दै जाने सर्वेक्षणको प्रतिवेदनले चेतावनी दिएको छ । प्रदूषणयुक्त वाहन, निर्माणको कामबाट उडिरहेको धुवाँधुलो, आगजनीजस्ता कारक तत्व नियन्त्रणमा लिन सरकारलाई चेतावनी दिइएको छ । स्थानीयलाई माक्स लगाउन, वायुस्वच्छताका उपाय अपनाउन र भीडबाट बच्न सल्लाह दिइएको छ ।

  • युद्धविराम जारी राख्न अफगानिस्तान र पाकिस्तान सहमत

    युद्धविराम जारी राख्न अफगानिस्तान र पाकिस्तान सहमत

    काठमाडौं । अफगानिस्तान र पाकिस्तानबीच शान्ति स्थापनाका लागि युद्धविराम कायम राख्न दुवै देशका उच्चस्तरीय प्रतिनिधिमण्डल सहमत भएका छन् । टर्की र कतारको मध्यस्थतामा उनीहरुले अक्टोबर २५ देखि ३० सम्म इस्तानबुलमा शृङ्खलाबद्ध बैठक गरेका थिए ।

    टर्कीको विदेश मन्त्रालयले शुक्रबार सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको संयुक्त विज्ञप्ति अनुसार बैठकको उद्देश्य अक्टोबर १८–१९ मा दोहामा अफगानिस्तान र पाकिस्तानबीचको युद्धविरामलाई सुदृढ पार्नु रहेको जनाइएको छ । परिणाम स्वरुप दवै पक्ष युद्धविराम जारी राख्न सहमत भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    आगामी ‘नोभेम्बर ६ मा इस्तानबुलमा हुने प्रमुख स्तरको बैठकमा युद्धविराम कार्यान्वयनका थप विधिहरूबारे छलफल गरी निर्णय गरिने समेत जनाइएको छ ।

    विज्ञप्तिमा सबै पक्षहरू प्रमाणीकरण संयन्त्र स्थापना गर्न सहमत भएको उल्लेख गर्दै यसले शान्ति कायम राख्ने पक्षलाई सजाय दिने सुनिश्चित गर्ने जनाइएको छ ।

    सहमती पछि मध्यस्थकर्ताका रूपमा, टर्की र कतारले दुवै पक्षको सक्रिय योगदानको प्रशंसा गरेका छन् भने स्थायी शान्ति र स्थिरताका लागि दुवै पक्षसँग सहयोग जारी राख्न तयार रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    इस्तानबुलमा पछिल्लो चरणको बैठक पाकिस्तान र अफगानिस्तानबिचको बढ्दो तनावको पछि भएको थियो । पाकिस्तानसँग मित्रवत सम्बन्ध राख्ने टर्की र कतारले छलफललाई सहज बनाउन महत्वपूर्ण भूमिका खेलेका छन् ।

    कतारले यस अघि अफगान तालिबान र नेटो सेनाबीचको वार्ताका क्रममासमेत मध्यस्थकर्ताको रूपमा काम गरेको सञ्चार माध्यम ‘डन’ ले जनाएको छ ।

    डनको रिपोर्ट अनुसार पाकिस्तानले तालिबानलाई ‘आतङ्कवादी समूहहरूलाई पाकिस्तानविरुद्ध आफ्नो भूमि प्रयोग गर्नबाट रोक्न’ बारम्बार आग्रह गरेको छ, भने तालिबानले आरोपलाई अस्वीकार गरेको छ ।

    अक्टोबर– ११ को घटनापछि सीमामा धेरै झडपहरू भएका छन् भने पाकिस्तानी आक्रमणले ‘अफगानिस्तानका शिविरहरू’ लाई लक्षित गरेको बताइएको छ ।

  • ‘आणविक परीक्षण अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि हानिकारक’

    ‘आणविक परीक्षण अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि हानिकारक’

    काठमाडौं । विस्फोटक आणविक हतियारको परीक्षण अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि हानिकारक रहेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

    आणविक–परीक्षण–प्रतिबन्ध सन्धि सङ्गठनका कार्यकारी सचिव रोबर्ट फ्लोइडले आणविक हतियार परीक्षणको बारेमा चलिरहेका बहसतिर ध्यान आकर्षित भएको भन्दै विज्ञप्ति जारी गरेका छन् ।

    फ्लोइडले वर्तमान अवस्थामा विश्वका नेताहरूलाई आणविक–परीक्षण–प्रतिबन्ध सन्धि (सीटीबीटी) र आणविक हतियार परीक्षणबाट मुक्त संसारको पक्षमा काम गर्ने अवसर अझै बाँकी रहेको बताए ।

    संस्थाको अनुगमन प्रणाली परीक्षण पत्ता लगाउन र सीटीबीटी हस्ताक्षरकर्ता राज्यहरूलाई तथ्याङ्क प्रदान गर्न तयार रहेको फ्लोइडले बताएका छन् ।

    – सिन्ह्वा

  • मलेसियामा भ्रष्टाचार विरोधी कारबाहीमा दुई हजारभन्दा बढी पक्राउ

    मलेसियामा भ्रष्टाचार विरोधी कारबाहीमा दुई हजारभन्दा बढी पक्राउ

    काठमाडौं– गत महिनामा मलेसियामा भ्रष्टाचार विरोधि राष्ट्रव्यापी कारबाहीमा दुई हजार भन्दा बढी सदस्यहरू पक्राउ गरिएको मलेसिया प्रहरीले जनाएको छ ।

    बुकित अमन वाणिज्यिक अपराध अनुसन्धान विभागका निर्देशक रुस्दी इसाले प्रेस ब्रीफिङ्मा सेप्टेम्बर २२–२८ सम्म एक हजार ३ सय ३ जनालाई पक्राउ गरिएको बताए । उनका अनुसार अन्य अपरेसनको क्रममा भ्रष्टाचारमा संलग्न ७९० जना पक्राउ परेका थिए ।

    अनलाइन माध्यमबाट पैसा प्राप्त गर्न नक्कली खाताहरूको प्रयोग गर्ने व्यावसायिक अपराधहरू विरुद्ध लड्ने उद्देश्यले ‘राष्ट्रिय स्क्याम रेस्पोन्स सेन्टर’ को संयोजनमा अपरेसनहरू सुरु गरिएको रुस्दीले बताएका छन् ।

    देशभर सञ्चालन भएको ‘इ–कमर्स’ घोटालाको कल सेन्टर सञ्चालनमा प्रत्यक्ष संलग्न भएको आशंकामा अन्य ३० जनालाई पक्राउ गरिएकोसमेत उनले बताए । यस समूहको क्रियाकलापले जनवरी र मईको बीचमा १२.८ मिलियन अमेरिकी डलर नोक्सान पुर्‍याएको जनाइएको छ ।

    त्यस्ता क्रियाकलापहरू पछिल्लो समयमा थप परिष्कृत हुँदै सीमापार सम्म पनि सञ्चालित भइरहेको भन्दै उनले चेतावनी दिएका छन् । जनतालाई अन्य पक्षहरूलाई बैंक खाता र बैंक कार्डहरू नदिन सुझाउँदै उनले त्यस्ता सामग्रीहरू आपराधिक पक्षले गैरकानुनी गतिविधि र मनी लान्ड्रिङका लागि दुरुपयोग गर्न सक्ने बताएका छन् ।

    – सिन्ह्वा

  • भारत र अमेरिकाबीच १० वर्षे रक्षा साझेदारी सम्झौतामा हस्ताक्षर

    भारत र अमेरिकाबीच १० वर्षे रक्षा साझेदारी सम्झौतामा हस्ताक्षर

    काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंह र अमेरिकी युद्धमन्त्री पिट हेगसेथले शुक्रबार मलेसियाको राजधानी क्वालालम्पुरमा ऐतिहासिक १० वर्षे ‘भारत–अमेरिका प्रमुख रक्षा साझेदारी ढाँचा’ मा हस्ताक्षर गरेका छन् ।

    दुई देशबीच बढ्दो रणनीतिक सहकार्यलाई बलियो बनाउने उद्देश्यले गरिएको यो सम्झौताले भारत–अमेरिका रक्षा सम्बन्धलाई नयाँ युगतर्फ अग्रसर गराउने बताइएको छ ।

    सम्झौतापछि अमेरिकी युद्धमन्त्री हेगसेथले आफ्नो सामाजिक सञ्जाल एक्समा लेख्दै भारतसँगको सम्बन्ध ‘पहिला कहिल्यै यति बलियो नभएको’ उल्लेख गरेका छन् । उनले उक्त सम्झौतालाई ‘क्षेत्रीय स्थिरता र प्रतिरोधका लागि आधारशिला’ भन्दै दुवै देशबीचको रक्षा साझेदारीले इन्डो–प्यासिफिक क्षेत्रमा शान्ति र सुरक्षालाई सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

    हेगसेथका अनुसार नयाँ रक्षा ढाँचाले समन्वय, सूचना आदानप्रदान र प्रविधिक सहयोगलाई अझ विस्तार गर्नेछ । उनले भने, ‘हामीले हाम्रो सहकार्य, सूचनात्मक साझेदारी र प्राविधिक तालमेललाई नयाँ स्तरमा पुर्‍याउँदैछौं । भारतसँगको हाम्रो रक्षा सम्बन्ध अब सबैभन्दा बलियो चरणमा पुगेको छ ।’

    भारतीय रक्षामन्त्री सिंहले पनि उक्त भेटवार्तालाई ‘फलदायी’ भन्दै १० वर्षे सम्झौता ऐतिहासिक उपलब्धि भएको बताए । उनले एक्समा लेखेका छन्, ‘मलेसियामा अमेरिकी समकक्षी पीट हेगसेथसँग फलदायी भेटवार्ता सम्पन्न भयो । हामीले ‘फ्रेमवर्क फर द युएस–इन्डिया मेजर डिफेन्स पार्टनरसिप’ नामक १० वर्षे सम्झौतामा हस्ताक्षर गर्‍यौँ, जसले हाम्रो बलियो साझेदारीमा नयाँ युगको सुरुआत गर्नेछ ।’

    रक्षामन्त्री सिंहले यो ढाँचाले भारत–अमेरिका रक्षा सम्बन्धको सम्पूर्ण दायरालाई स्पष्ट नीतिगत दिशा प्रदान गर्ने बताए । उनले लेखेका छन्, ‘यो हाम्रो बढ्दो रणनीतिक अभिसरणको प्रतीक हो र साझेदारीको नयाँ दशकको सुरुआत हो । रक्षा क्षेत्र हाम्रो द्विपक्षीय सम्बन्धको प्रमुख स्तम्भका रूपमा रहिरहनेछ, जसले स्वतन्त्र, खुला र नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था सुनिश्चित गर्न मद्दत पुर्‍याउने छ ।’

    क्वालालम्पुरमा आयोजित आसियान–भारत रक्षा मन्त्रीहरूको अनौपचारिक बैठकको अवसरमा दुवै मन्त्रीबीच भेटवार्ता भएको हो । आगामी नोभेम्बर १ मा हुने आसियान रक्षा मन्त्रीहरूको बैठक (एडिएमएम प्लस) अघि यो अनौपचारिक भेट आयोजना गरिएको थियो ।

    रक्षामन्त्री सिंहले भ्रमण अघि नै आसियान–भारत बैठकको उद्देश्य आसियान सदस्य राष्ट्रहरू र भारतबीचको रक्षा तथा सुरक्षा सहयोगलाई सुदृढ पार्नु र भारतको ‘एक्ट इस्ट नीति’लाई थप अघि बढाउनु हो भनेका थिए ।

    दुई देशका उच्च अधिकारीबीचको यो भेटवार्ताले भारत–अमेरिका रक्षा सहयोगको निरन्तर गतिलाई झल्काउँछ र इन्डो–प्यासिफिक क्षेत्रमा क्षेत्रीय स्थिरता, शान्ति र रणनीतिक सहकार्यका लागि दुवै राष्ट्रको साझा प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ ।

  • भाजपाको घोषणापत्रमा एक करोडलाई जागिरदेखि महिलालाई करोडपतिसम्मको वाचा

    भाजपाको घोषणापत्रमा एक करोडलाई जागिरदेखि महिलालाई करोडपतिसम्मको वाचा

    काठमाडौं । गठबन्धनका सबै वरिष्ठ नेताहरूको उपस्थितिमा शुक्रबार बिहान पटनामा भारतीय जनता पार्टी (भाजपा) ले आफ्नो चुनावी घोषणापत्र जारी गर्‍यो । बिहार विधानसभा चुनावको लागि पटनामा द नेशनल डेमोक्रेटिक अलाइन्स (एनडीए) को चुनावी र्‍यालीमा केन्द्रीय गृहमन्त्री अमित शाह हात हल्लाउँदै गरेको देखिए ।

    राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले बिहारमा २०२५ को विधानसभा चुनाव अघि आधिकारिक रूपमा आफ्नो घोषणापत्र जारी गरेको छ । जसमा युवा रोजगारी, महिला सशक्तीकरण र पिछडिएका वर्गलाई सहयोग गर्ने उद्देश्यले महत्वाकांक्षी प्रतिज्ञाहरूको दस्तावेज तयार गरिएको छ ।

    हिन्दुस्तान टाइम्सका अनुसार गठबन्धनका सबै वरिष्ठ नेताहरूको उपस्थितिमा बिहान पटनामा घोषणापत्र जारी गरिएको थियो ।

    मोदीको नजरमा बिहारको जंगलराजका यी ५ पहिचान, चुनावी सभामा विपक्षीमाथि तीखो प्रहार

    एनडीए बिहार घोषणापत्रका प्रमुख प्रतिज्ञाहरू हेरौं ।

    बिहारमा १ करोडभन्दा बढी सरकारी जागिरहरू सिर्जना गरिने ।

    युवाहरूको सीप विकासको लागि बिहारको प्रत्येक जिल्लामा ‘मेगा सीप केन्द्र’ सञ्चालन गरिने ।

    तालिम पछि बिहारका युवाहरूलाई कामको लागि विश्वभर पठाइने ।

    महिलाहरूको लागि २ लाख भारतीय रुपैयाँसम्मको आर्थिक सहयोग गरिने ।

    १ करोड ‘लखपति दिदीहरू’ योजनाअन्तर्गत महिलाहरुले १ लाख रुपैयाँ कमाउने वातावरण सिर्जना गरिने । महिलाहरूलाई करोडपति बन्न मद्दत गर्न ‘मिसन करोडपति’ अभियान सञ्चालन गरिने ।
    अति पिछडिएका वर्ग (ओबीसी) का लागि १० लाख भारतीय रुपैयाँसम्मको आर्थिक सहायता प्रदान गरिने ।

    अत्यन्त पिछडिएका वर्गका लागि कल्याणकारी योजनाहरू तयार गर्न समर्पित समिति निर्माण गरिने ।

    किसानहरूको लागि न्यूनतम समर्थन मूल्यको लागि कानूनी ग्यारेन्टी गरिने ।

    बिहार विधानसभा चुनावको मिति नजिकिँदै गर्दा दलहरुले जनतालाई आश्वासन दिने र चुनवी सभा गर्ने क्रम बढ्दै गइरहेको छ । बिहारमा आगामी अक्टोबर ६ र ११ तारिकमा निर्वाचन हुँदैछ ।

  • बेलायती राजकुमार एन्ड्रयूको शाही उपाधि खोसियो, के थियो कसुर ?

    बेलायती राजकुमार एन्ड्रयूको शाही उपाधि खोसियो, के थियो कसुर ?

    काठमाडौं । यौन अपराधी जेफ्री एपस्टाइनसँग एन्ड्रयूको कथित सम्बन्धलाई लिएर कारबाही गर्न हप्तौंदेखिको तीव्र दबाबका बीच बेलायती राजकुमार एन्ड्रयूको शाही उपाधि खोसिएको छ । बिहीबार राजा चार्ल्स तृतीयले उनको शाही उपाधि खोसेका हुन् । उनलाई शाही निवासबाट निष्कासन गरिएको छ । उपाधि खोसिएपछि उनलाई एन्ड्रयू माउन्टबेटन विन्डसरको नामले चिनिनेछ ।

    मिडिया एजेन्सीहरूले लेखेका छन्– यो दुर्लभ स्थानान्तरण पछि एन्ड्रयू अब राजकुमार रहने छैनन् र उनले विन्डसर क्यासल नजिकै रहेको आफ्नो रोयल लज हवेली पनि खाली गर्नुपर्नेछ । जहाँ उनी आफ्नी पूर्व पत्नी सारा फर्गुसनसँग बस्छन् । उनी नोर्फोक काउन्टीको स्यान्ड्रिङ्घम स्टेटमा सर्ने अपेक्षा गरिएको छ । जुन राजा चार्ल्स तृतीयको निजी स्वामित्वमा छ । एसोसिएटेड प्रेसको रिपोर्ट अनुसार एन्ड्रयूले राजाबाट निजी आर्थिक सहयोग प्राप्त गर्नेछन् ।

    राजकुमार एन्ड्रयू को हुन् ?

    एन्ड्रयू स्वर्गीय महारानी एलिजाबेथ द्वितीयका दोस्रो छोरा र राजा चार्ल्स तृतीयका कान्छा भाइको रूपमा शाही विशेषाधिकार प्राप्त व्यक्ति थिए ।

    उनले सारा फर्गुसनसँग विवाह गरेका थिए, जसलाई यस महिनाको सुरुमा राजकुमारले ड्यूक अफ योर्कको उपाधि त्यागेपछि सारालाई समेत डचेस अफ योर्कका रुपमा चिनिने छैन । उनीहरूका दुई छोरीहरू छन् । राजकुमारी बीट्रिस र राजकुमारी युजेनी ।

    एन्ड्रयूले २२ वर्षसम्म रोयल नेवीमा सेवा गरे । उनले सन् १९८२ को फोकल्याण्ड युद्धको समयमा हेलिकप्टर पाइलटको रूपमा काम गरेका थिए । पछि उनले माइन काउन्टरमेजर जहाज एचएमएस कोटेस्मोरको कमान्ड लिएका थिए । सन् २०१९ मा सार्वजनिक जीवनबाट पछि हटेपछि उनको सैन्य भूमिका निलम्बन गरिएको थियो ।

    राजकुमार एन्ड्रयूले किन शाही उपाधि गुमाउन पुगे ?

    एपस्टाइनसँगको कथित सम्बन्धलाई लिएर एन्ड्रयू हालै बढ्दो दबाबमा थिए । एपस्टाइनका पीडितहरू मध्ये एक, भर्जिनिया रोबर्ट्स गिफ्रेको मरणोपरान्त संस्मरण मार्फत पुनः यौन दुर्व्यवहारको आरोपका बीच राजकुमारलाई रोयल लजबाट हटाउन मागहरू बढ्दै गएका थिए ।

    मिडिया रिपोर्ट अनुसार एन्ड्रयूले पहिलो पटक एपस्टाइनलाई सन् १९९९ मा स्वर्गीय फाइनान्सरकी तत्कालीन प्रेमिका घिसलेन म्याक्सवेल मार्फत् भेटेका थिए । सन् २००८ मा एपस्टाइनलाई संयुक्त राज्य अमेरिकामा वेश्यावृत्तिका लागि नाबालिग ल्याउने आरोपमा दोषी ठहराइएको थियो र १८ महिनाको जेल सजाय सुनाइएको थियो ।

    दोषी ठहरिएपछि पनि सन् २०१० मा उनीहरू दुई जनालाई न्यूयोर्कको सेन्ट्रल पार्कमा सँगै हिँडिरहेको देखिएको थियो । उक्त भेटपछि उनीहरूको मित्रताको अन्त्य भएको एन्ड्रयूले बताएका थिए । यद्यपि यो वर्षको सुरुमा सार्वजनिक गरिएका बेलायती अदालतका कागजातहरूले फेब्रुअरी सन् २०११ मा एपस्टाइनलाई ूब्रिटिश शाही परिवारका एक सदस्यबाट (एन्ड्रयू भएको विश्वास गरिएको) इमेल पठाएको देखाइएको थियो । त्यसमा लेखिएको थियो– ‘नजिक सम्पर्कमा रहनुहोस् र हामी चाँडै नै केही खेल्नेछौं ।’

    अगस्ट सन् २०२१ मा गिफ्रेले एन्ड्रयू विरुद्ध मुद्दा दायर गरेकी थिइन् । जसमा उनले १७ वर्षको उमेरमा दुई पटक यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । यस महिनाको सुरुमा प्रकाशित आफ्नो संस्मरण नोबडीज गर्लमा गिफ्रेले एपस्टाइनले उनलाई बेचबिखन गरेको र तीन पटक एन्ड्रयूसँग यौनसम्पर्क गर्न बाध्य पारेको लेखेकी थिइन् ।

    फेब्रुअरी २०२२ मा गिफ्रे र एन्ड्रयूका वकिलहरूले अमेरिकी अदालतमा बुझाएको संयुक्त पत्रमा दुवै पक्षले उनको नागरिक मुद्दा समाधान गर्न अदालत बाहिर सम्झौता गरेको खुलासा भएको थियो । एन्ड्रयूले कुनै पनि गल्ती स्वीकार नगरी ‘अज्ञात रकम’ तिर्न सहमत भएका थिए । मिडिया एजेन्सी एएफपीको रिपोर्ट अनुसार भुक्तानी १२ मिलियन डलर (९ मिलियन पाउण्ड) भन्दा बढी थियो ।

    जनवरी २०२२ मा महारानी एलिजाबेथ द्वितीयले एन्ड्रयूलाई गिफ्रेको २०२१ को नागरिक मुद्दा खारेज गर्न असफल भएपछि उनको सैन्य पदवी र शाही संरक्षण खोसेकी थिइन् ।

  • चाबहार बन्दरगाहमा भारतलाई राहत, अमेरिकी प्रतिबन्ध ६ महिनालाई छुट

    चाबहार बन्दरगाहमा भारतलाई राहत, अमेरिकी प्रतिबन्ध ६ महिनालाई छुट

    काठमाडौं । इरानस्थित चाबहार बन्दरगाहमा अमेरिकाले भारतलाई लगाएको प्रतिबन्ध ६ महिनाका लागि छुट गरेको भारतीय विदेश मन्त्रालयले बिहीबार जनाएको छ ।

    मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भने, ‘इरानमा चाबहार बन्दरगाहका लागि हामीलाई अमेरिकी प्रतिबन्ध ६ महिनाको छुट दिइएको छ ।’ यो कदमले रणनीतिक रुपबाट महत्वपूर्ण मानिएको बन्दरगाह परियोजनामा आफ्नो भागीदारी जारी राख्न नयाँ दिल्लीलाई मद्दत पुगेको भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । यो बन्दरगाह पाकिस्तानलाई किनारा लगाउँदै अफगानिस्तान र मध्य एसियाका लागि एक प्रमुख व्यापार र सम्पर्क मार्गका रुपमा रहेको छ ।

    भारतलाई अस्थायी छुट दिइने अमेरिकाको नयाँ निर्णय ‘इरानमा चाबहार बन्दरगाह परियोजनामाथि २९ सेप्टेम्बरमा लगाइएको प्रतिबन्ध’ को एक महिनापछि आएको हो । यो प्रतिबन्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्र्म्पद्वारा इरानमाथि उसको परमाणु कार्यक्रमलाई लिएर दबाब बढाउने प्रयास स्वरुप आएको हो । जसको असर भारतमाथिसमेत परेको थियो ।

    यो प्रतिबन्ध विशेष रुपले चाबहार बन्दरगाहको विकासमा भारतको सहभागितालाई लिएर लक्षित रहेको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । यो उपाय इरानमाथि अमेरिकाको व्यापक प्रतिबन्धलाई पुनः लागू गरिएपछि लगाइएको हो ।

    सन् २०१८ मा ट्रम्प प्रशासनले भारतका लागि भने यो नियम अपवादका रुपमा लागू गरेको थियो । भारतीय कम्पनीलाई इरानमा व्यापक अमेरिकी प्रतिबन्ध भए पनि चाबहारमा परिचालन जारी राख्ने अनुमति प्राप्त थियो । यद्यपि क्षेत्रीय गतिशीलतामा परिवर्तन, विशेषगरी अफगानिस्तानमा पश्चिमी समर्थित सरकारको पतनका कारण वासिङटनले पछिल्लो समय छुट फिर्ता लिएको थियो । जसका कारण यो परियोजना नयाँ प्रतिबन्धका रुपमा अगाडि आएको थियो ।

    रुसी कच्चा तेलको आयात

    रुसबाट भारतले तेल आयात गर्ने विषयमा मन्त्रालयका प्रवक्ता जयसवालले सरकारको निर्णय स्वभाविक रुपले विश्व तेल बजारको बढ्दो गतिशीलतालाई ध्यानमा राख्दै गरिएको बताए ।

    उनले भने, ‘हामी अमेरिकाले रुसी तेल कम्पनीलाई लगाएको प्रतिबन्धको प्रभाव अध्ययन गर्ने क्रममा छौं ।’ वासिङटनसँगको भारत सम्बन्धमाथि टिप्पणी गर्दै जयसवालले भने, ‘नयाँ दिल्ली अमेरिकासँग आफ्नो साझेदारीलाई सदैव महत्व दिन्छ । भारत–अमेरिका सम्बन्ध एउटा ठूलो विश्व रणनीतिक साझेदारी हो । हामी यसलाई अझ प्रगाढ बनाउन निरन्तर सहकार्यमा छौं ।’

    ट्रम्प प्रशासनले भारतबाट आयातित सबै वस्तुमा ५० प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेको छ । साथै भारतले आयात गर्ने तेलमा २५ प्रतिशत अतिरिक्त जरिमाना समेत लगाएको छ । मस्कोसँग भारतले गर्ने तेल व्यापारले अप्रत्यक्ष रुपमा युक्रेनमाथि रुसले गरेको आक्रमणलाई आर्थिक पोषण गरिरहेको अमेरिकाको भनाइ छ ।

  • मोदीको नजरमा बिहारको जंगलराजका यी ५ पहिचान, चुनावी सभामा विपक्षीमाथि तीखो प्रहार

    मोदीको नजरमा बिहारको जंगलराजका यी ५ पहिचान, चुनावी सभामा विपक्षीमाथि तीखो प्रहार

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार बिहारको मुज्जफ्फरपुरमा आयोजित एक र्‍यालीलाई सम्बोधन गर्दै विपक्षी दलप्रति तीखो टिप्पणी गरेका छन् ।

    उनले राष्ट्रिय जनता दल (राजद) र कांग्रेसमाथि प्रहार गर्दै भने, ‘यी दुई पार्टीले बिहारको जंगलराजको पाँच पहिचानको प्रतिनिधित्व गर्छन् ।’ मोदीले उल्लेख गरेको बिहारको जंगलराजका पाँच पहिचानहरू कट्टा (देशी बन्दुक), क्रुरता, कटुता, कुशासन र भ्रष्टाचार हुन् ।

    विपक्षी नेतामाथि प्रहार गर्दै मोदीले छठ पूजाका अवसरमा आयोजित कार्यक्रमलाई ‘नाटक’ भनेको भन्दै बिहारको आस्थाको अपमान गरेको आरोप लगाए ।

    हिन्दुस्तान टाइम्सका अनुसार माेदीले भने, ‘छठ भक्ति र समानताको प्रतीक हो, सरकारले यो पर्वलाई युनेस्को हेरिटेज उत्सवका रुपमा दर्ता गर्ने काम गर्दै छ । तर कांग्रेस र राजदका नेताले यसलाई नौटङ्की भनिरहेका छन् ।’ राहुल गान्धीप्रति इंगित गर्दै मोदीले यस्तो बताएका हुन् । ‘यमुनामा स्नान गर्ने योजना बनाएर छठको नाटक गरेको’ एक दिन अघि मोदीमाथि राहुल गान्धीले आरोप लगाएका थिए ।

    मोदीले भने, ‘हेर्नुहोस् भोटका लागि यिनीहरु कतिसम्म गिर्न सक्छन् । यो यस्तो अपमान हो जुन अपमानलाई बिहारले शताब्दीऔंसम्म भुल्न सक्दैन ।’

    राजद–कांग्रेस पानी तेलजस्तै हुन् : मोदी

    मोदीले राजद र कांग्रेसको गठबन्धन अप्राकृतिक भएको बताउँदै उनीहरु तेल र पानीजस्तै भएको टिप्पणी गरे ।

    यिनीहरुको गठबन्धन बिहारलाई पुनः लुट्नका लागि बनाइएको मोदीको आरोप थियो । एनडीए (राष्ट्रिय लोकतान्त्रिक गठबन्धन) सांस्कृतिक संरक्षण र विकासका लागि काम गर्दै आएको बताउँदै मोदीले विपक्षी हिंसा र भ्रष्टाचारका लागि चिनिने बताए ।

    उनले राजदको शासन कालमा बिहारमा ३५ हजारदेखि ४० हजार अपहरणका घटना भएको आरोप लगाए । गुण्डाले गाडीका शोरुम लुटेको उल्लेख गर्दै मोदीले आज विपक्षीको चुनावी गीतमा कट्टा र दुई नाले बन्दुकको कुरा आइरहेको बताए ।

    द ब्याटल अफ बिहार

    द ब्याटल अफ बिहारका रुपमा चर्चा गरिएको निर्वाचन आगामी अक्टोबरदेखि नोभेम्बरसम्म हुँदैछ । बिहार विधानसभा चुनाव २०२५ का लागि २४३ निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा हुँदैछ ।

    मुख्यमन्त्री नितीश कुमारको जनता दल (युनाइटेड), भारतीय जनता पार्टी, हिन्दुस्तानी आवाम मोर्चा (सेक्युलर), सहयोगी दल र एनडीए गठबन्धन अर्को कार्यकालसमेत हात पार्ने दाउमा भिडन्त गर्दैछन् ।

    तेजस्वी यादव नेतृत्वको राजदले सत्तारुढ गठबन्धनलाई चुनौती दिनका लागि इन्डिया ब्लकअन्तर्गत कांग्रेसी र वामपन्थी दलका साथ गठबन्धन गरेका छन् । राजनीतिक रुपमा नवआगन्तुक प्रशान्त किशोरको जनसुराज पार्टी समेत २४३ सिटका लागि चुनाव लड्दैछ । राजनीतिमा प्रशान्त किशाेरको औपचारिक प्रवेश हो ।

    बिहार विधान सभामा वर्तमान सङ्ख्या

    भाजपा– ७८ विधायक
    जेडी (यु) – ४५ विधायक
    अन्य एनडीए गठबन्धन र विद्रोही– ९
    एनडीए कुल सङ्ख्या – १३२ (बहुमत १२२ भन्दामाथि)

    राजद– ७५ विधायक
    कांग्रेस– १९ विधायक
    सीपीआई (एमएल) – १२ विधायक
    सीपीआई र सीपीआई (एम)– २ विधायक
    एआईएमआईएम– १ विधायक

  • २०३० सम्ममा चीनले चन्द्रमामा नयाँ टोली पठाउने, स्पेस स्टेशनको काम तीव्र

    २०३० सम्ममा चीनले चन्द्रमामा नयाँ टोली पठाउने, स्पेस स्टेशनको काम तीव्र

    काठमाडौं । सन् २०३० सम्ममा चीनले चन्द्रमामा नयाँ टोली पठाउने बिहीबार घोषणा गरेको छ । यो कामका लागि दृढतापूर्वक लागि परेको बिजनेस स्ट्याण्डर्डले उल्लेख गरेको छ । चीनले अन्तरिक्ष पठाइने नयाँ टोलीको परिचयसमेत गराएको छ । यो टोली नयाँ अन्तरिक्ष स्टेशनबाट प्रस्थान गर्ने छ, जसको निर्माण कार्य जारी छ । यो मिसन अन्तरिक्षको क्षेत्रमा अग्रणी रहने बताइएको छ ।

    मानवयुक्त अन्तरिक्ष कार्यक्रमका प्रवक्ता झाङ जिङबोले भने, ‘हाल मानवलाई चन्द्रमामा पठाउने योजनासँग सम्बन्धित सबै अनुसन्धान र विकास परियोजनाको काम अघि बढिरहेको छ ।’ उनका अनुसार लङ मार्च–१० रकेट, मुन ल्याण्डिङ सुट र एक्सप्लोरेस भेइकल जस्ता परियोजना तीव्र गतिमा अघि बढिरहेको छ । ‘सन् २०३० सम्ममा चिनियाँ व्यक्ति चन्द्रमामा पुर्‍याउने हाम्रो संकल्प दृढ छ ।’ प्रवक्ता झाङले भने ।

    चीनले निर्माणाधीन तियाङयोङ अन्तरिक्ष स्टेशनमा टोलीको फेरबदल जारी राखेको छ । प्रत्येक टोलीले ६ महिनासम्म स्टेशनमा वैज्ञानिक अनुसन्धान गर्छन् । नयाँ टोलीमा झाङ लू, वु फेई र झाङ होङझाङले पहिलो पटक अन्तरिक्ष यात्रा गर्नेछन् ।

    यो टोलीले दुई वटा भाले र दुईवटा पोथी गरी चार वटा मुसा आफूसँगै लाने छ । यसबाट भारहीनता र वातावरणीय प्रभावको अध्ययन गरिने बताइएको छ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको कार्यक्रमबाट चीन बाहिरिएपछि उसले तीयाङयोङ अन्तरिक्ष केन्द्रको काम अघि बढाएको थियो । अमेरिकाले चीनको अन्तरिक्ष कार्यक्रम र चिनियाँ पिपुल्स आर्मीसँगको सिधा सम्बन्धका विषयमा सुरक्षा चिन्ता रहेको उल्लेख गरेको थियो ।

  • अमेरिका र चीनबीच व्यापारिक सम्झौतामा छलफल, घट्दैछ ट्रम्प ट्यारिफ

    अमेरिका र चीनबीच व्यापारिक सम्झौतामा छलफल, घट्दैछ ट्रम्प ट्यारिफ

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच दक्षिण कोरियामा भएको भेटमा आर्थिक र व्यापारिक सम्झौतामा छलफल भएको छ ।

    अमेरिकाले चीनमाथि लगाएको कर नीतिमा पुनर्विचार गर्ने भएको छ । सञ्चार माध्यमका अनुसार चाइना ट्यारिफ ५७ प्रतिशतबाट ४७ प्रतिशतमा घट्ने बताइएको छ । ट्र्म्पका लागि टाउको दुुखाइको विषय बनेको सोयाबिन खरिद सहमतिपछि पुनः सुरु हुने बताइएको छ ।

    ट्र्म्पले बिहीबार चिनियाँ राष्ट्रपति सीसँग आर्थिक र व्यापारिक सम्झौताका विषय घोषणा गरेका हुन् । उनले चीनमा लगाइँदै आएको ट्यारिफ १० प्रतिशत कटौती गरिएको बताए । यो बैठकपछि अमेरिका र चीन सम्बन्ध नयाँ तरिकाले सुरुवात भएको बताइएको छ ।

    दक्षिण कोरियाको बुसानमा ट्र्म्प र सीबीच झण्डै २ घण्टा छलफल भएको थियो । छलफलका विषयमा चाँडै नै निष्कर्ष सार्वजनिक गरिने बताइएको छ ।

  • व्यस्तता देखाउँदै ट्रम्पले भेट्न चाहेनन् किम जोङ उनलाई

    व्यस्तता देखाउँदै ट्रम्पले भेट्न चाहेनन् किम जोङ उनलाई

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पाँच दिने एसिया भ्रमणको क्रममा व्यस्त तालिकाका कारण उत्तर कोरियाका नेता किम जोङ उनसँग कुरा गर्न नसक्ने बताएका छन् ।

    दक्षिण कोरियाबाट प्रस्थान गर्ने क्रममा एयर फोर्स वानमा पत्रकारहरूसँग ट्रम्पले भने,’हामीले कुरा गर्न सकेनौं किनभने, हेर्नुहोस् म धेरै व्यस्त थिएँ मलाई लाग्छ यदि हामीले भेट गरेका थियौं भने चिनियाँ नेता सी जिनपिङसँगको भेटको महत्त्वको अनादर हुने थियो । त्यसैले म किम जोङ उनको सम्मानमा फेरि आउनेछु ।’

    यसअघि ट्रम्पले उत्तर कोरियाली नेतालाई भेट्न चाहेको बताएका थिए । किमसँग भेट्नकै लागि आफ्नो एसिया भ्रमणलाई लम्ब्याउन ट्रम्पको तयारी थियो । बिहीबार दक्षिण कोरियाबाट प्रस्थान गर्ने क्रममा बोल्दै ट्रम्पले सीसँगको भेटवार्ताको लागि आगामी अप्रिलमा एसिया फर्कने बताए ।

    ट्रम्पले आफ्नो पहिलो कार्यकालमा किमलाई धेरै पटक भेटेका थिए, ऐतिहासिक शिखर सम्मेलनहरू आयोजना गरेका थिए । तर अन्ततः उत्तर कोरियाले आफ्नो आणविक हतियार त्याग्ने सम्बन्धमा अर्थपूर्ण सफलता हासिल गर्न सकेन ।

    युक्रेन युद्धमा चीनले अमेरिकासँग मिलेर काम गर्ने ट्रम्पको भनाइ

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार दक्षिण कोरियाको बुसानमा भएको भेटमा चिनियाँ नेता सी जिनपिङसँग युक्रेनमा रुसको युद्धको बारेमा ‘धेरै कडा’ छलफल गरेको बताएका छन् ।

    ट्रम्पलाई उद्धृत गर्दै सीएनएनले उल्लेख गरे अनुसार रसिया युक्रेन बीचको ‘युद्ध समाप्त गर्न सकिन्छ कि भन्ने’ विषयमा सहमति गरिएको हो । ट्रम्पले एयर फोर्स वानमा पत्रकारहरूलाई भने, ‘सीले हामीलाई मद्दत गर्नुहुनेछ र हामी युक्रेनमा सँगै काम गर्नेछौं ।’

    ट्रम्पले गत हप्ता दुई प्रमुख रूसी तेल फर्महरूमाथि प्रतिबन्ध लगाएका थिए ।

  • गाजामा इजरायली आक्रमण : बालबालिका सहित कम्तीमा ६० जनाको मृत्यु

    गाजामा इजरायली आक्रमण : बालबालिका सहित कम्तीमा ६० जनाको मृत्यु

    काठमाडौं । गाजामा रातभर इजरायली हवाई आक्रमणमा कम्तीमा ६० जना नागरिकको ज्यान गएको छ । मारिनेमा बालबालिका र महिलाहरू पनि रहेका छन् ।

    स्थानीय अस्पतालका अधिकारीहरूले बुधबार जानकारी दिँदै यो घटनालाई यस महिनाको सुरुदेखि लागू भएको नाजुक युद्धविरामका लागि सबैभन्दा गम्भीर चुनौती भएको बताएका छन् ।

    यो घटनापछि गाजामा पुनः तनाव चर्किएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै गाजामा ‘शक्तिशाली आक्रमण’ गर्न सेनालाई निर्देशन दिएका थिए । उक्त निर्देशनपछि रातभर गाजाका विभिन्न क्षेत्रमा तीव्र बमबारी गरिएको थियो । प्रतिक्रियामा हमासले अर्को बन्धकको शव हस्तान्तरणमा ढिलाइ गर्ने चेतावनी दिएको छ ।

    मध्य गाजाको देइर अल–बालाहस्थित अल–अक्सा अस्पतालमा इजरायली हवाई आक्रमणपछि तीन महिला र छ बालबालिका सहित कम्तीमा १० जनाको शव ल्याइएको अस्पतालको स्रोतले जनाएको छ । दक्षिणी गाजाको खान युनुसस्थित नासेर अस्पतालमा पाँचवटा हवाई आक्रमणपछि २० शव पुर्‍याइएको थियो, जसमा १३ बालबालिका र दुई महिला रहेका थिए ।

    त्यसैगरी, मध्य गाजाको अर्को अस्पताल अल–अवदामा ३० वटा शव ल्याइएको छ । तीमध्ये १४ जना बालबालिका रहेको पुष्टि गरिएको छ । घाइतेहरूको ठूलो भीडका कारण अस्पतालहरूमा उपचारका साधनहरू अभाव भएको चिकित्सकहरूले बताएका छन् ।

    इजरायली पक्षका एक अधिकारीका अनुसार दक्षिणी गाजामा इजरायली सेनामाथि गोली प्रहार भएको घटनापछि नेतान्याहुले आक्रमणको आदेश दिएका हुन्। सो आक्रमण सोमबार हमासले एउटा बन्धकको ‘आंशिक अवशेष’ हस्तान्तरण गरेपछि भएको जनाइएको छ । इजरायलले ती अवशेष युद्धको सुरुआती चरणमा अपहरणमा परेका आफ्ना नागरिकका भएको दाबी गरेको छ ।

    संयुक्त राज्य अमेरिकाले स्थिति नियन्त्रणमा ल्याउन कूटनीतिक पहल थालेको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले ‘हिंसात्मक झडपहरू चाँडै अन्त्य हुने’ आशा व्यक्त गरेका छन् । तर, गाजामा भइरहेका निरन्तर आक्रमण र तीव्र हताहतीका घटनाले युद्धविराम पुनः जोखिममा परेको विश्लेषकहरूको ठम्याइ छ ।

    दर्जनौँ परिवारहरू अहिले भग्नावशेषभित्र बेपत्ता रहेका छन् भन्दै स्थानीय अधिकारीहरूले यदि आक्रमण रोकिएन भने मानवीय सङ्कट झनै भयावह बन्ने चेतावनी दिएका छन् ।

  • शेख हसिनाको चेतावनी – अवामी लिग बिना निर्वाचनले बङ्गलादेशमा विभाजनको बीज रोप्नेछ

    शेख हसिनाको चेतावनी – अवामी लिग बिना निर्वाचनले बङ्गलादेशमा विभाजनको बीज रोप्नेछ

    काठमाडौं । बङ्गलादेशकी फरार पूर्व प्रधानमन्त्री शेख हसिनाले आफ्नो पार्टी अवामी लिग बिना हुने आगामी निर्वाचनले देशमा नयाँ विभाजनको ‘बीज रोप्ने’ चेतावनी दिएकी छन् ।

    उनले एएफपीलाई पठाएको लिखित प्रतिक्रियामा, आफ्नो पतनपछि पहिलो पटक सार्वजनिक रूपमा बोल्दै मानवता विरुद्धको अपराधको मुद्दालाई ‘न्यायशास्त्रको मजाक’ र ‘पूर्वनिर्धारित फैसला’ भन्दै कडा आलोचना गरीन् ।

    सन् २०२४ अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहपछि उनको १५ वर्ष लामो शासन अन्त्य भएको थियो । भीडले सरकारी निवासमा आक्रमण गरेपछि उनी हेलिकप्टरमार्फत देशबाट भागेकी थिइन् । संयुक्त राष्ट्रसङ्घका अनुसार आन्दोलनमा दमनका क्रममा करिब एक हजार ४०० जनाको मृत्यु भएको थियो । यो अहिले उनीमाथि चलिरहेको मुद्दाको केन्द्र विषय बनेको छ ।

    ७८ वर्षीया हसिनाले अहिले भारतमा शरण लिइरहेकी छन् । उनले आफूविरुद्धको आरोपलाई राजनीतिक प्रतिशोधको परिणाम बताउँदै भनीन्, ‘ममाथि लगाइएका सबै आरोपहरू पूर्ण रूपमा अस्वीकार्य र प्रमाणरहित छन् । यो अनिर्वाचित प्रशासनले तयार पारेको राजनीतिक षड्यन्त्र हो ।’

    उनले भनीन्, ‘अवामी लिगको सहभागिताबिना हुने निर्वाचन विश्वसनीय हुन सक्दैन । यस्ता कदमले देशमा भविष्यको विभाजन र अस्थिरताको बीज रोप्नेछ ।’

    नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा बनेको अन्तरिम सरकारले मे महिनामा अवामी लिगमाथि आतङ्कवाद विरोधी ऐन अन्तर्गत प्रतिबन्ध लगाएको थियो । यसलाई ह्युमन राइट्स वाचले ‘कठोर र अलोकतान्त्रिक’ भन्दै निन्दा गरेको थियो ।

    हसिनाले स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि सबै दलहरूको प्रत्यक्ष सहभागिता आवश्यक रहेको बताउँदै भनीन्, ‘निर्वाचन भनेको विचारहरूको प्रतिस्पर्धा हो । तपाईंले कुनै पार्टीलाई मन नपरेर बहिष्कार गर्न सक्नुहुन्न ।’

    उनले विद्रोहका दिनहरू सम्झँदै भनीन्, ‘ती डरलाग्दा क्षणहरूमा ज्यान गुमाएका सबैका लागि म गहिरो शोक व्यक्त गर्छु ।’ उनले आफ्नो शासनकालमा भएका गल्तीहरू स्वीकार गर्दै पनि भनीन्, ‘केही त्रुटिहरू आदेशको शृङ्खलामा भएका थिए, तर निर्णयहरू सद्भावका साथ, हिंसा घटाउने उद्देश्यले गरिएका थिए ।’

    अभियोजन पक्षले अदालतमा प्रहरीद्वारा प्रमाणित अडियो टेप प्रस्तुत गरेको छ, जसमा हसिनाले सुरक्षाकर्मीहरूलाई प्रदर्शनकारीहरू विरुद्ध ‘घातक हतियार प्रयोग गर्न’ आदेश दिएको उल्लेख छ । तर उनले ती रेकर्डिङलाई ‘सन्दर्भबाट बाहिर निकालिएको’ बताइन् ।

    उनले हालै आफ्ना समर्थकमाथि भइरहेको दमनलाई पनि औँल्याउँदै भनीन्, ‘अपरेसन डेभिल हन्ट नामक कारबाहीमा हजारौँ अवामी लिग कार्यकर्ता पक्राउ परेका छन्, यो पूर्ण रूपमा राजनीतिक सफाया हो ।’

    यसैबीच, उनले आफ्नै शासनकालमा बेपत्ता भएका नागरिकहरूको विषयमा कुनै प्रतिक्रिया जनाएकी छैनन् । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) मा अवामी लिगका वकिलहरूले हालै ‘प्रतिशोधात्मक हिंसा’ का घटनाहरूको अनुसन्धानको माग गरेका छन् ।

    नोभेम्बर १३ मा फैसला हुने यो मुद्दामा दोषी ठहरिए मृत्युदण्ड हुन सक्ने बताइएको छ । त्यसबारे हसिनाले भनीन्, ‘दुःखको कुरा, फैसला पहिले नै तय भइसकेको छ, त्यसैले जब त्यो आउँछ, म आश्चर्यचकित हुनेछैन ।’

    भविष्यमा राजनीतिमा फर्कनेबारे प्रश्न गर्दा उनले जवाफ दिइन्, ‘मेरो प्राथमिकता बङ्गलादेशको स्थिरता र जनताको कल्याण हो, व्यक्तिगत सत्ता होइन ।’

  • ट्रम्पद्वारा क्यानाडाली सामानमा १० प्रतिशत कर वृद्धि घोषणा

    ट्रम्पद्वारा क्यानाडाली सामानमा १० प्रतिशत कर वृद्धि घोषणा

    काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानाडाली सामानहरूमा थप १० प्रतिशत कर वृद्धि गर्ने घोषणा गरेका छन् ।

    यो निर्णय क्यानाडाले प्रसारण गरेको एउटा एन्टी–ट्यारिफ विज्ञापन अभियानको प्रतिक्रियामा आएको हो । उक्त विज्ञापनमा दिवङ्गत अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको पुरानो सम्बोधन प्रयोग गरिएको थियो ।

    राष्ट्रपति ट्रम्पले उक्त विज्ञापनलाई ‘नक्कली र भ्रामक’ भन्दै क्यानाडासँगका सबै व्यापार वार्ता दुई दिनअघि नै समाप्त गरेका थिए ।

    “उनीहरूले त्यो विज्ञापन तुरुन्तै हटाउनुपर्ने थियो, तर उनीहरूले गत रात विश्व शृङ्खलाको समयमा समेत प्रसारण गरे, यो ठगी नै हो”, उनले आफ्नै ट्रुथ सोसल प्लेटफर्ममार्फत एसियाली क्षेत्रका प्रमुख नेताहरूसँगको बैठकका लागि लेखे “तथ्यहरूको गम्भीर गलत प्रस्तुतीकरण र शत्रुतापूर्ण व्यवहारका कारण म क्यानाडामाथि हाल तिर्दै आएको करमा थप १० प्रतिशत वृद्धि गर्ने आदेश दिन्छु ।”

    ओन्टारियो प्रान्तको विज्ञापनमा सन् १९८७ मा राष्ट्रपति रेगनले दिएको व्यापारसम्बन्धी रेडियो सम्बोधनका अंशहरू प्रयोग गरिएको थियो । उक्त सम्बोधनमा रेगनले विदेशी आयातमा उच्च भन्सार शुल्क लगाउँदा अमेरिकी अर्थतन्त्रमा नकारात्मक असर पर्ने चेतावनी दिएका थिए ।

    रोनाल्ड रेगन प्रेसिडेन्सियल लाइब्रेरीको आधिकारिक वेबसाइटमा उपलब्ध भाषणसँग मेल खाने उद्धरणमा भनिएको छ, “उच्च भन्सार शुल्कले विदेशी देशहरूको प्रतिशोध निम्त्याउँछ र गम्भीर व्यापार युद्धको रूप लिन्छ ।”

    यसैबीच, रोनाल्ड रेगन फाउन्डेसनले ओन्टारियो सरकारले ‘चयनात्मक अडियो र भिडियो’ प्रयोग गरेको आरोप लगाउँदै कानूनी विकल्पहरूको समीक्षा भइरहेको जनाएको छ ।

    विज्ञापन विवादबीच बेसबलको विश्व शृङ्खलामा क्यानाडाको टोली टोरन्टो ब्लू जेसले अमेरिकी टोली लस एन्जलस डोजर्ससँग प्रतिस्पर्धा गरिरहेको छ । शुक्रबार भएको पहिलो खेलमा ब्लू जेसले डोजर्सलाई ११–४ ले पराजित गरेको थियो ।

    ओन्टारियो सरकारले सोमबार आपत्तिजनक विज्ञापन फिर्ता लिने र वार्ता पुनः सुरु गर्न तयार रहेको जनाएको थियो, तर शनिबार राति दोस्रो खेलको प्रसारणका बेला उक्त विज्ञापन फेरि देखाइएको थियो ।

    राष्ट्रपति ट्रम्पका विश्वव्यापी कर नीतिहरू—विशेषगरी स्टिल, एल्युमिनियम र अटो उद्योगमा—क्यानाडाको अर्थतन्त्रका लागि निकै गम्भीर साबित भएका छन् । यी नीतिका कारण क्यानाडामा रोजगारी गुम्ने र व्यवसायहरूमा दबाब बढ्ने अवस्था आएको छ ।

    हाल संयुक्त राज्य अमेरिका र क्यानाडा युएसएमसिए भनिने उत्तर अमेरिकी व्यापार सम्झौताअनुसार चलिरहेका छन्, जसले दुवै देशबीचको करिब ८५ प्रतिशत सीमापार व्यापार करमुक्त बनाएको छ ।

    तर बुधबार क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी भन्सार शुल्क ‘ग्रेट डिप्रेसन’ को समयपछिकै उच्चतम स्तरमा पुगेको टिप्पणी गरेका थिए । उनले भने, “हाम्रो आर्थिक रणनीति अब नाटकीय रूपमा परिवर्तन गर्नु अपरिहार्य छ, यो प्रक्रियामा केही त्याग र समय लाग्नेछ ।”

    आगामी बुधबार दक्षिण कोरियामा हुने एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) सम्मेलनका अवसरमा राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री कार्नी दुवै सहभागी हुने कार्यक्रम छ, तर ट्रम्पले उनलाई भेट्ने कुनै योजना नरहेको स्पष्ट पारे ।

     

  • इस्तानबुल वार्तामा अफगानिस्तान–पाकिस्तानद्वारा युद्धविराम दृढ पार्ने सहमति

    इस्तानबुल वार्तामा अफगानिस्तान–पाकिस्तानद्वारा युद्धविराम दृढ पार्ने सहमति

    काठमाडौं । अफगानिस्तान र पाकिस्तानका वरिष्ठ वार्ताकारहरू शनिबार इस्तानबुलमा पछिल्ला रक्तपातपूर्ण झडपपछि दुवै देशबीचको सीमामा स्थायी युद्धविराम कायम गर्ने उद्देश्यका साथ सुरक्षा सम्बन्धी मुद्दाहरूमा छलफल गर्दैछन् ।

    दुई हप्ता अघि मध्य काबुलमा भएको विस्फोटपछि सुरु भएको झडपमा दर्जनौँ मानिसको ज्यान गएको थियो, जसमा सर्वसाधारण पनि परेका थिए ।

    उक्त घटनापछि तालिबान सरकारले पाकिस्तानमाथि सीमापार आक्रमण गरेको आरोप लगाएको थियो । इस्लामाबादले भने अफगान भूमिमा रहेका सशस्त्र समूहहरूविरुद्ध ‘सटीक आक्रमण’ गरेको दाबी गरेको थियो ।

    त्यसपछिका भिडन्तमा सैनिक र सर्वसाधारणको मृत्यु भएपछि दुवै देशले प्रारम्भिक ४८ घण्टाको युद्धविराम घोषणा गरेका थिए, तर त्यो दुई दिनमै भङ्ग भयो । त्यसपछि कतार र टर्कीको मध्यस्थतामा दोहामा भएको वार्तापछि दोस्रो युद्धविराम कायम गरिएको थियो, यद्यपि यसका सर्तहरू अस्पष्ट छन् ।

    शनिबारको इस्तानबुल वार्तामा दोहामा घोषित स्थिरतालाई कायम राख्ने संयन्त्रबारे ठोस रूपरेखा तयार पारिने अपेक्षा गरिएको छ । यद्यपि वार्ता कहिले र कहाँ सुरु हुने भन्ने स्पष्ट गरिएको छैन । अफगान पक्षको नेतृत्व उप–आन्तरिक मन्त्री हाजी नाजिबले गर्दै हुनुहुन्छ भने पाकिस्तानले आफ्नो प्रतिनिधिमण्डलको विवरण सार्वजनिक गरेको छैन ।

    तालिबान सरकारले आफ्नो देशको क्षेत्रीय अखण्डता सुनिश्चित गर्ने लक्ष्य दोहोर्‍याएको छ । इस्लामाबादका लागि भने वार्ताको प्रमुख उद्देश्य अफगान भूमिबाट पाकिस्तानतर्फ फैलिँदै गएको आतङ्कवादको खतरा नियन्त्रण गर्नु रहेको विदेश मन्त्रालयका प्रवक्ता ताहिर हुसेन अन्द्राबीले बताए।

    सुरक्षा विषय दुवै देशबीचको सम्बन्धमा दीर्घकालीन तनावको केन्द्रविन्दु रहँदै आएको छ । पाकिस्तानले अफगानिस्तानमा रहेका पाकिस्तानी तालिबान (टिटिपी) लडाकूहरूलाई काबुल सरकारले संरक्षण दिएको आरोप लगाउँदै आएको छ । उक्त आरोपलाई काबुलले अस्वीकार गर्दै आएको छ ।

    इस्लामाबादले तालिबान अधिकारीहरूलाई आफ्नो भूमिमा रहेका यस्ता लडाकूहरूमाथि नियन्त्रण पुनःस्थापना गर्न माग गरेको थियो ।

    यसै प्रसङ्गमा अफगानिस्तानका विश्लेषक इब्राहिम बाहिसले भनेका छन् “इस्तानबुलको बैठक अत्यावश्यक छ, किनभने पाकिस्तानलाई अफगानिस्तानभित्रका पाकिस्तानविरोधी तत्वहरूको गतिविधिबाट चिन्ता छ । सम्भावित संयन्त्रमा दुवै देशबीच गुप्तचर साझेदारी हुन सक्छ ।”

    उनका अनुसार पाकिस्तानले टिटिपी लडाकू वा कमान्डरहरूको स्थानसम्बन्धी सूचना दिनेछ र अफगानिस्तानले ती व्यक्तिहरूविरुद्ध प्रत्यक्ष कारबाही गर्ने अपेक्षा गरिन्छ ।

    तर उनले यस उपायले समस्या पूर्ण रूपमा समाधान नहुने उल्लेख गर्दै भने, “यो प्राविधिक संयन्त्रले गहिरा कारणहरूलाई सम्बोधन गर्न सक्छ कि सक्दैन भन्ने अनिश्चित छ ।”

    पाकिस्तान लामो समयदेखि तालिबानको प्रमुख समर्थक रहँदै आएको छ, जसलाई उसले भारतविरुद्धको रणनीतिक गहिराइको रूपमा हेर्दै आएको थियो ।

    दुई हप्ता अघि काबुलमा भएको विस्फोट तालिबानका विदेशमन्त्रीको भारत भ्रमणकै क्रममा भएको थियो । — उक्त विस्फोटले हालको तनावलाई बढाएको थियो ।

    टर्कीले शनिबारको वार्ताको विवरण सार्वजनिक नगरे पनि दोहामा ‘शान्ति र स्थिरता बलियो बनाउने संयन्त्र स्थापना गर्ने’ दुवै पक्षको निर्णयको प्रशंसा गरेको छ र उक्त प्रयासमा निरन्तर सहयोग गर्ने वाचा गरेको छ ।

     

  • क्षेत्रीय तनावबीच प्रधानमन्त्री ताकाइचीद्वारा जापानको रक्षा खर्च र सैन्य क्षमता वृद्धि गर्ने प्रतिबद्धता

    क्षेत्रीय तनावबीच प्रधानमन्त्री ताकाइचीद्वारा जापानको रक्षा खर्च र सैन्य क्षमता वृद्धि गर्ने प्रतिबद्धता

    (रासस/एपी) काठमाडौं । जापानकी नयाँ प्रधानमन्त्री साने ताकाइचीले शुक्रबार संसद्मा पहिलो नीतिगत सम्बोधन गर्दै देशको रक्षा क्षमता अभिवृद्धि र सैन्य खर्च बढाउने स्पष्ट प्रतिबद्धता व्यक्त गरेकी छन् ।

    चीन, उत्तर कोरिया र रुससँग बढ्दो क्षेत्रीय तनावका बीच उनले जापानको सुरक्षा रणनीति छिट्टै अद्यावधिक गर्ने र राष्ट्रिय सुरक्षालाई सुदृढ पार्ने योजना सार्वजनिक गरेकी हुन् ।

    जापानकी पहिलो महिला प्रधानमन्त्रीको रूपमा मङ्गलबार पदभार ग्रहण गर्नुभएकी ताकाइची महिनौँ लामो राजनीतिक अनिश्चितता अन्त्य गर्दै सत्तासीन भएकी हुन्  । लगातार निर्वाचन पराजयपछि सत्तारूढ दलभित्रको सत्तासङ्घर्षका कारण सिर्जित राजनीतिक शून्यता उहाँको नेतृत्वमा अन्त्य भएको बताइन्छ ।

    प्रधानमन्त्री ताकाइचीले आफ्नो सम्बोधनमा जापानले सन् २०२७ भन्दा पहिले नै रक्षा खर्चलाई कुल घरेलु उत्पादन (जिडिपी) को दुई प्रतिशतमा पुर्‍याउने लक्ष्य हासिल गर्ने बताइन्। “हामी मार्चसम्म यो लक्ष्य पूरा गर्नेछौँ”, उनले भनिन् ।

    साथै उनले जापानको राष्ट्रिय सुरक्षा रणनीति सन् २०२६ को अन्त्यसम्म पुनः संशोधन गरिने पनि बताइन्। जापानले विगतमा यो रणनीति प्रत्येक दशकमा एक पटक मात्र संशोधन गर्ने परम्परा राख्दै आएको छ । अन्तिम पटक सन् २०२२ मा अद्यावधिक गरिएको थियो ।

    उनले युक्रेनमा रुसको आक्रमण र मध्यपूर्वका द्वन्द्वका कारण विश्व सुरक्षा वातावरणमा आएको अस्थिरताले जापानलाई पनि आफ्नो रणनीति तत्काल परिमार्जन गर्न बाध्य बनाएको बताइन्  । “स्वतन्त्र, खुला र स्थिर अन्तर्राष्ट्रिय व्यवस्था अहिले शक्ति सन्तुलन र भूराजनीतिक प्रतिस्पर्धाको तीव्रताले गहिरो रूपमा हल्लिएको छ”, उनले भनिन्, “चीन, उत्तर कोरिया र रुसका सैन्य गतिविधिहरूले जापानका लागि गम्भीर चिन्ता उत्पन्न गरेका छन् ।”

    ताकाइचीले जापानको आत्मरक्षा बल ९सेल्फ डिफेन्स फोर्स० लाई बलियो र सक्षम बनाउन आक्रामक रणनीति आवश्यक रहेको बताइन्।  उनका अनुसार जापानले आफ्नो रक्षा संरचनाको आधारभूत निर्माणलाई तीव्र रूपमा अघि बढाउनेछ ।

    प्रधानमन्त्री ताकाइचीको यो घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आगामी अक्टोबर २७ देखि २९ सम्म हुने टोकियो भ्रमणअघि आएको हो । उक्त भ्रमणमा दुवै नेताबीच जापान–अमेरिका सम्बन्ध, रक्षा खर्च वृद्धि र अमेरिकी हतियार खरिदसम्बन्धी छलफल हुने अपेक्षा गरिएको छ । ट्रम्पसँगको यो भेट ताकाइचीका लागि प्रमुख कूटनीतिक परीक्षा मानिएको छ ।

    ताकाइचीले विश्वास र परस्पर सम्मानका आधारमा जापान–अमेरिका गठबन्धनलाई अझ सुदृढ पार्ने आफ्नो इच्छा व्यक्त गरिन्। साथै,उनले चीनसँग पनि स्थिर र रचनात्मक सम्बन्ध कायम गर्नुपर्नेमा जोड दिइन् । तर, उनले दुई देशबीच सुरक्षा चिन्ताहरू रहँदै आएको पनि स्वीकार गरिन्।

    विश्लेषकहरूका अनुसार ताकाइचीको कट्टर राजनीतिक विचारधारा, जापानको युद्धकालीन इतिहासप्रतिको दृष्टिकोण र यासुकुनी मन्दिरप्रतिको उनको विगतको आवागमनले टोकियो–बेइजिङ सम्बन्धमा पुनः चिसोपन ल्याउन सक्छ ।

    सुरक्षा रणनीतिमा हुने संशोधनले जापानलाई थप आक्रामक भूमिकातर्फ उन्मुख गराउन सक्छ । यसले हतियार निर्यातसम्बन्धी कानूनी प्रतिबन्धहरू खुकुलो पार्न र सैन्य बजेट बढाउन सहयोग पुर्‍याउन सक्छ । यद्यपि, उनले यी कार्यक्रमहरूको वित्तीय स्रोतबारे विस्तृत विवरण दिएकी छैनन् ।

    अल्पसङ्ख्यक सरकारले यी नीतिहरू कार्यान्वयन गर्न विपक्षी दलहरूको सहयोग आवश्यक पर्ने भएकाले ताकाइचीको कार्य चुनौतीपूर्ण रहने देखिन्छ ।

    घरेलु रूपमा भने उनको प्रमुख प्राथमिकता बढ्दो मुद्रास्फीति, स्थिर ज्याला दर र जनताको घट्दो खरिद क्षमतालाई सन्तुलनमा ल्याउनु रहेको छ । साथै, आफ्नै दलभित्रका रूढिवादी समूहहरूबाट पुनः समर्थन प्राप्त गर्नुपर्ने आवश्यकता पनि उनका लागि महत्त्वपूर्ण चुनौती बनेको छ ।

    लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) र दक्षिणपन्थी जापान इनोभेसन पार्टीबीचको नयाँ गठबन्धनले जापानको राजनीति अझ दक्षिणतर्फ झुक्ने आशङ्का पैदा गरेको छ ।

    ताकाइचीले देशमा बढ्दो श्रम अभावलाई सम्बोधन गर्न विदेशी कामदारहरूको आवश्यकता रहेको स्वीकार गरिन् । तर, उनले जापानको कानून र नियमको पूर्ण पालना गर्ने विदेशीहरूलाई मात्र अनुमति दिइने स्पष्ट पारिन् । “केही विदेशीद्वारा नियम उल्लङ्घन र गैरकानूनी गतिविधिका कारण जापानी जनतामा असहजता र अन्यायको भावना उत्पन्न भएको छ”, उनले भनिन्, “तर यसलाई विदेशप्रतिको घृणा (जेनोफोबिया) का रूपमा लिनु हुँदैन ।”

    यसै सन्दर्भमा प्रधानमन्त्री ताकाइचीले आर्थिक सुरक्षामन्त्री किमी ओनोडालाई विदेशीहरूद्वारा जापानमा गरिने जमिन खरिद र कानूनी अनुपालनको अध्ययन तथा नियमन सुदृढ गर्न निर्देशन दिनुभएको छ । यो पहल विशेष गरी चिनियाँ लगानीकर्ताहरूसँग सम्बन्धित रहेको बताइन्छ ।

    उक्त कदमले ती जापानी नागरिकहरूलाई आकर्षित गर्ने उद्देश्य राखेको छ, जो हालका वर्षहरूमा ‘जापानी फस्र्ट’ नीतिलाई समर्थन गर्ने अति–दक्षिणपन्थी समूहहरूप्रति आकर्षित भएका छन् । यद्यपि सरकारी तथ्याङ्कअनुसार जापानमा विदेशी जनसङ्ख्याको वृद्धि भए पनि तिनीहरूमध्ये अपराध दर घट्दो क्रममा रहेको छ ।

    प्रधानमन्त्री ताकाइचीको नयाँ नीतिहरूले जापानलाई सुरक्षा, अर्थतन्त्र र सामाजिक नीतिका क्षेत्रमा नयाँ दिशातर्फ लैजाने अपेक्षा गरिएको छ ।

     

  • दक्षिण भारतमा बस आगलागीमा कम्तीमा २५ जनाको मृत्यु

    दक्षिण भारतमा बस आगलागीमा कम्तीमा २५ जनाको मृत्यु

    हैदराबाद । दक्षिणी भारतको कुर्नुल जिल्लामा शुक्रबार बिहान मोटरसाइकलले यात्रु बसलाई पछाडिबाट ठोक्किएपछि बसमा आगो लागेपछि कम्तीमा २५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यस घटनामा अन्य धेरै घाइते भएका छन् ।

    आन्ध्र प्रदेश राज्यको कुर्नुल नजिकै राजमार्गमा भएको दुर्घटनामा ४४ यात्रु बोकेको बस तेलङ्गाना राज्यको हैदराबादबाट कर्नाटकको बेङ्गलुरु तर्फ जाँदै थियो ।

    बसमा आगो केही मिनेटभित्रै फैलियो र केही यात्रु झ्याल फुटाएर बाहिर निस्कन सफल भए भने धेरैको मद्दत पुग्नु अघि नै जलेर मृत्यु भयो ।

    वरिष्ठ प्रहरी अधिकारी विक्रान्त पाटिलका अनुसार मोटरसाइकलले बसलाई पछाडिबाट ठोक्किँदा स्पार्कले बसको इन्धन ट्याङ्कीलाई भेटेको थियो ।

    बस चालकले आगो निभाउने प्रयास गरे पनि आगो नियन्त्रण गर्न नसकेको बताइएको छ । दुर्घटनाको समयमा अधिकांश यात्रु सुतिरहेका थिए । घटनामा अज्ञात बाइक सवारको पनि मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

    फरेन्सिक विज्ञहरूको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र आन्ध्र प्रदेशका वरिष्ठ अधिकारी एन चन्द्रबाबु नायडूले शोक व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

    यो भारतमा दुई हप्ताभन्दा कम समयमा भएको दोस्रो घातक बस आगलागी हो । यसै महिनाको सुरुमा राजस्थान राज्यमा पनि यात्रु बसमा सर्ट सर्किटका कारण आगो लागेको थियो र कम्तीमा २० जनाको मृत्यु भएको थियो ।

  • लगानीको अभावमा मलेरियाविरूद्धको अभियान प्रभावित

    लगानीको अभावमा मलेरियाविरूद्धको अभियान प्रभावित

    काठमाडौं । दुई दशकसम्मको प्रगतिका बाबजुद् मलेरिया विरुद्धको लडाइँ रोकिएको अभियानकर्ताहरूले बताएका छन्।

    जलवायु परिवर्तन र जनसङ्ख्या वृद्धि र अन्य सम्भावित घातक रोगको पुनरुत्थान रोक्ने अभियानमा ध्यान केन्द्रित हुँदा दुई दशकको प्रगतिपछि मलेरिया विरुद्धको लडाइँ प्रभावित बनेको अभियानकर्ताहरूले मङ्गलबार बताएका छन्।

    लामखुट्टेबाट सर्ने रोग मेलेरियाविरुद्ध अपर्याप्त रकमका कारण लाखौंको ज्यान र अर्बौं डलर खर्च भएको अभियान अवरुद्ध भएको उनीहरूले बताएका छन्।

    अफ्रिकन लिडर्स मलेरिया एलायन्स (एएलएमए)र मलेरिया नो मोर यूकेले एक नयाँ प्रतिवेदनमा भनेका छन्, “यो प्रभाव अफ्रिकामा सबैभन्दा गहिरो रूपमा महसुस गरिनेछ । सन् २०२३ मा विश्वव्यापी रूपमा पाँच लाख ९० हजार व्यक्तिको मृत्यु मलेरियाका कारण भएको थियो तर यस रोगको ९५ प्रतिशत प्रभाव अफ्रिकामा रहेको थियो।

    धेरै अफ्रिकी देशहरूले भारी वर्षापछि सन् २०२५ जनवरीदेखि जुनको बीचमा सङ्क्रमणको वृद्धि भएको रिपोर्ट गरेका छन् ।

    विगत दुई दशकमा औलोको मृत्युदर आधा घटेको दक्षिण अफ्रिकामा नोभेम्बर २१ को बैठकअघि जारी गरिएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा क्षयरोग र मलेरियासँग लड्न विश्वव्यापी कोषमा योगदान सुरक्षित जारी गर्न आह्वान गरिएको छ जसले मलेरियाको खर्चको ५९ प्रतिशत समेट्छ।
    “अपर्याप्त कोषले मलेरियाविरूद्धको लडाईँमा प्रगति रोकेको छ,“ उनले भने।

    “जलवायु परिवर्तन, बढ्दो औषधि र कीटनाशक प्रतिरोध, व्यापार अवरोध, र विश्वव्यापी असुरक्षाको एक उत्तम आँधीले मलेरिया हस्तक्षेपको प्रभावकारितालाई अझ कमजोर पार्छ।

    संयुक्त राष्ट्रसङ्घको विश्व मलेरिया रिपोर्ट २०२४ का अनुसार सन् २०२३ मा विश्वव्यापी रूपमा औलोका लगभग २६३ लाख सङ्क्रमित विरामी भेटिएका थिए यो अघिल्लो वर्षको तुलनामा एक करोड १० लाखभन्दा बढीले सङ्क्रमितहरूको वृद्धि हो।

    –फैलिँदो समस्या–

    अल्माका कार्यकारी सचिव जोय फुमाफीले एएफपीसँग भने, “जलवायु परिवर्तनका कारण बढ्दो तापक्रम र बाढीले लामखुट्टेको प्रजनन स्थलको सङ्ख्या बढेको छ ।

    “उदाहरणका लागि, रुवान्डामा यी साइटहरू अहिले पहिलेको भन्दा बढी उचाइमा अवस्थित छन्,” उनले एक अन्तर्वार्तामा भने

    एसियाबाट मलेरिया बोक्ने ‘एनोफिलिस स्टेफेन्सी’ लामखुट्टे अफ्रिकामा फैलिएको छ भने कीटनाशक प्रतिरोध बढेको उनले बताए ।

    लामखुट्टेको लार्भा मार्ने रसायनहरू छर्न ड्रोनको प्रयोग र मच्छरदानीजस्ता नयाँ पुस्ताका दोहोरो कीटनाशक रोकथाम विधिहरू प्रभावकारी भए पनि महँगो पनि रहेको उनले बताए।

    त्यस्तै, विगत ३० वर्षमा अफ्रिकाको जनसंख्या झन्डै दोब्बर भइसकेको छ । “यो अधिक महँगो छ, तर हामीले पहिलेको भन्दा ठूलो जनसङ्ख्यालाई पनि समेट्नुुपर्नेछ,“ फुमाफीले भने ।

    बच्चाहरूमा सिक्ने र संज्ञानात्मक अवरोध पनि निम्त्याउने मलेरिया नाइजेरियामा सबैभन्दा बढी प्रचलित समस्या मलेरिया कामदार र विद्यार्थीको अनुपस्थितिको एक प्रमुख कारण हो ।

    फुमाफीका अनुसार जीवन बचाउनुका साथै रोगबाट मुक्त गर्ने देशहरूले उत्पादकत्व र पर्यटनलाई बढावा दिनेलगायत अर्थतन्त्रमा ठूलो प्रतिफल दिनेछ ।
    उनले भने “कम विकशित राष्ट्रमा मलेरिया गरिबीको प्रमुख कारण बनेको छ किनकि घरपरिवारका लागि यसले ठूलो मात्रामा पैसा खर्च गर्ने अवस्थालाई निम्त्याउँछ।

    “जब मलेरियाविरूद्धको उपचार सुरक्षित हुन्छ तिनीहरूको क्रय शक्ति बढ्छ।”

    अफ्रिकाका २३ देशमा प्रयोगमा रहेको मलेरिया विरुद्धको खोप करिब ४० प्रतिशत प्रभावकारी थियो र यसका साथै अन्य रोकथामका उपायहरू पनि अपनाउनुपर्ने थियो। मानव परीक्षणमा भइरहेको नयाँ खोपले ८० प्रतिशत प्रभावकारिता देखाउने आशा गरिएको छ।

    कोषमा योगदान भएको अवस्थाले के देखाएको छ भने मोडेलले देखाएको छसबै रोकथाम हस्तक्षेपहरू रोक्दा सन् २०३० सम्ममा अफ्रिकाको कुल गार्हस्थ्य उत्पादनमा ८३ अर्ब डलर घाटा हुन सक्छ साथै ५२ करोड ५० लाख थप सङ्क्रमितहरू र नौ लाख ९० हजार थप मृत्यु हुन सक्छ।
    रासस एपी