Tag: विश्व प्रेस

  • सुपर टाइफुन ‘फङ–वोङ’को प्रहारअघि नै फिलिपिन्समा करिब १० लाख नागरिक विस्थापित

    सुपर टाइफुन ‘फङ–वोङ’को प्रहारअघि नै फिलिपिन्समा करिब १० लाख नागरिक विस्थापित

    काठमाडौं । यस वर्ष फिलिपिन्सलाई प्रत्यक्ष असर पार्ने सबैभन्दा शक्तिशाली आँधी सुपर टाइफुन फङ–वोङ (स्थानीय नाम उवान) ले आइतबार देशको उत्तर–पूर्वी तटमा नजिकिँदै गर्दा विनाशकारी हावा र मुसलधारे वर्षाका साथ प्रहार गर्न थालेको छ । तीव्र गतिका कारण देशभर बिजुली अवरुद्ध भएको छ भने करिब १० लाख मानिसलाई सुरक्षित स्थानमा सार्न बाध्य बनाएको छ ।

    फङ–वोङले दक्षिणपूर्वी एसियाली द्वीपसमूहको करिब दुई–तिहाइ भू–भागलाई आफ्नो एक हजार ६०० किलोमिटर (९९४ माइल) चौडा हावा र वर्षाको घेराभित्र ल्याउने सम्भावना छ । यो आँधी फिलिपिन्स पुग्नुअघि नै प्रशान्त महासागरबाट तीव्र रूपमा नजिकिँदै थियो, त्यही बेला देश अझै पनि हालैको टाइफुन कलमेगीले पारेको व्यापक विनाशसँग जुधिरहेको थियो । कलमेगीले गत मङ्गलबार देशका मध्य प्रान्तहरूमा कम्तीमा २२४ जनाको ज्यान लिएको थियो ।

    राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले कलमेगीको विनाश र फङ–वोङबाट हुनसक्ने सम्भावित क्षतिका कारण राष्ट्रव्यापी आपतकाल घोषणा गरेका छन्।

    फिलिपिन्स मौसम विभागका अनुसार फङ–वोङले आइतबार दिउँसोसम्ममा पूर्वी क्याटान्डुआनेस प्रान्तको पान्डान सहर नजिक तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको छ । एक सय ८५ किलोमिटर प्रतिघण्टा (११५ माइल प्रतिघण्टा) को निरन्तर हावा र २३० किलोमिटर प्रतिघण्टा (१४३ माइल प्रतिघण्टा) सम्मका झोकासहितको यो आँधी उत्तरपश्चिम दिशातर्फ सर्दै अरोरा वा इसाबेला प्रान्तको तटमा आइतबार बेलुका वा सोमबार बिहान अवतरण गर्न सक्ने बताइएको छ । मुसलधारे वर्षा र बाक्लो कुहिरोका कारण प्रभावित क्षेत्रमा दृश्यता अत्यन्त सीमित बनेको छ ।

    फिलिपिन्समा १८५ किलोमिटर प्रतिघण्टा वा सोभन्दा बढी वेगका उष्णकटिबन्धीय चक्रवातहरूलाई ‘सुपर टाइफुन’ का रूपमा वर्गीकृत गरिन्छ — यो वर्गीकरण हालका वर्षहरूमा बढ्दो चरम मौसमी अवस्थासँग सम्बन्धित जोखिमलाई विशेष रूपमा औँल्याउन लागू गरिएको हो ।

    देशको उत्तरपूर्वी क्षेत्र विशेषगरी बिकोल प्रान्तका तटीय गाउँहरूमा बाढी र माटोको बहावको जोखिम अत्यधिक रहेको बताइएको छ । त्यहाँ देशकै सबैभन्दा सक्रिय ज्वालामुखीमध्ये एक मायोन पनि अवस्थित छ । अधिकारीहरूले उच्च जोखिम भएका क्षेत्रमा रहेका नौ लाख १६ हजारभन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा सारिसकेको जनाएका छन् ।

    रक्षा मन्त्रालयका प्रमुख गिल्बर्टो टिओडोरो जुनियरले शनिबार टेलिभिजन सम्बोधनमार्फत नागरिकहरूलाई सचेत रहन आग्रह गर्दै भने , ‘फङ–वोङ अत्यन्त शक्तिशाली छ । यसको प्रभावले देशको विशाल भू–भागलाई असर गर्न सक्छ — विशेषतः हालै कलमेगीले तहसनहस पारेका मध्य प्रान्तहरू, सेबू र राजधानी क्षेत्र महानगरीय मनिलासहित ।’

    नागरिक सुरक्षा कार्यालयका अनुसार तीन करोडभन्दा बढी मानिस प्रत्यक्ष रूपमा फङ–वोङको खतरामा पर्न सक्ने सम्भावना छ । टिओडोरोले उच्च जोखिमका क्षेत्रका बासिन्दालाई तुरुन्तै सुरक्षित ठाउँमा सार्न र अधिकारीहरूको निर्देशन पालना गर्न आग्रह गर्दै भने, ‘जब टाइफुन आइसक्छ र बाढी सुरु हुन्छ, त्यसपछि मानिसहरूलाई उद्धार गर्न निकै कठिन हुन्छ । त्यसैले पूर्वतयारी नै जीवनरक्षक उपाय हो ।’

    फिलिपिन्सले कलमेगीपछि तत्काल अन्तर्राष्ट्रिय सहायता नमागे पनि रक्षामन्त्री टिओडोरोले देशका दीर्घकालीन मित्रराष्ट्रहरू संयुक्त राज्य अमेरिका र जापान आवश्यक सहयोगका लागि तयार रहेको बताएका छन् ।

    फङ–वोङले नजिकिँदै जाँदा देशका धेरै पूर्वी सहर र गाउँहरूमा बिजुली आपूर्ति पूर्ण रूपमा बन्द भएको छ । नागरिक रक्षा कार्यालयका उप–प्रशासक बर्नार्डो राफेलिटो अलेजान्ड्रोका अनुसार हावा र वर्षाको तीव्रताका कारण धेरै स्थानहरूमा सम्पर्क र सञ्चार अवरुद्ध भएको छ, जसले उद्धार र राहत कार्य कठिन बनाइरहेको छ ।

    उत्तरी प्रान्तका अधिकारीहरूले सोमबार र मङ्गलबार विद्यालय र सरकारी कार्यालयहरू बन्द गर्ने आदेश दिएका छन् । सप्ताहन्त र सोमबारसम्म ३२५ आन्तरिक र ६१ अन्तर्राष्ट्रिय उडानहरू रद्द भएका छन् र १०९ बन्दरगाहहरूमा छ हदार ६०० भन्दा बढी यात्रु र कर्मचारीहरू फसेका छन् । तटरक्षकले उच्च समुद्री जोखिमका कारण जहाजहरूलाई समुद्रमा जान निषेध गरेको छ ।

    मौसम पूर्वानुमानकर्ताहरूले महानगरीय मनिलासहित २० भन्दा बढी प्रान्त र क्षेत्रहरूमा तीन मिटर (१० फिट) भन्दा अग्ला समुद्री छाल र जीवनघातक आँधीबेहरीको जोखिम रहेको चेतावनी दिएका छन् ।

    फिलिपिन्स विश्वकै सबैभन्दा विपद्–संवेदनशील देशहरू मध्ये एक हो । हरेक वर्ष करिब २० वटा टाइफुन र आँधीबेहरीले यस देशलाई असर पार्छन् । साथै, बारम्बार भूकम्प आउने र एक दर्जनभन्दा बढी सक्रिय ज्वालामुखीहरू रहेकाले पनि यो द्वीपसमूह निरन्तर प्राकृतिक जोखिमको सामना गर्दै आएको छ ।

    – रासस/एपी

  • आतङ्कवादी सूचीबाट हटाउने निर्णयपछि सिरियाली राष्ट्रपति र ट्रम्पबीच भेटवार्ता हुँदै

    आतङ्कवादी सूचीबाट हटाउने निर्णयपछि सिरियाली राष्ट्रपति र ट्रम्पबीच भेटवार्ता हुँदै

    काठमाडौं । शुक्रबार अमेरिकी विदेश मन्त्रालयले सिरियाका राष्ट्रपति अहमद अल–सारालाई आतङ्कवादी सूचीबाट हटाउने निर्णय गरेपछि सारा शनिबार संयुक्त राज्य अमेरिकाको आधिकारिक भ्रमणका लागि वासिङ्टन पुगेका छन् ।

    सिरियाको सरकारी समाचार एजेन्सीका अनुसार यो भ्रमण अमेरिकी सरकारले राष्ट्रपतिलाई ‘आतङ्कवाद कालोसूची’ बाट हटाएको एक दिनपछि सम्पन्न भएको उल्लेख गरेको छ । शासक बशर अल–असदलाई अपदस्थ गर्दै गत वर्ष सत्तामा आएका राष्ट्रपति साराले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउसमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

    यी दुई नेताबीचको दोस्रो भेट हो । उनीहरूले यसअघि गत मे महिनामा राष्ट्रपति ट्रम्पको क्षेत्रीय भ्रमणका क्रममा साउदी अरबको राजधानी रियादमा पहिलो पटक भेट गरेका थिए । सिरियाका लागि अमेरिकी विशेष दूत टम बाराकका अनुसार राष्ट्रपति साराले यस भ्रमणका क्रममा इस्लामिक स्टेट (आइएस) विरुद्धको अमेरिकी नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय गठबन्धनमा सिरियाको आधिकारिक सहभागिता सुनिश्चित गर्ने सम्झौतामा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ ।

    यसैबीच, सिरियाका एक वरिष्ठ कूटनीतिक स्रोतले संयुक्त राज्य अमेरिका ‘मानवीय सहयोग समन्वय गर्न र सिरिया–इजरायल सीमामा सुरक्षा अवस्थाको अवलोकनका लागि’ दमास्कस नजिकै सैन्य आधार स्थापना गर्ने तयारीमा रहेको बताएका छन् ।

    शुक्रबार अमेरिकी विदेश मन्त्रालयले राष्ट्रपति सारालाई आतङ्कवादी सूचीबाट हटाउने निर्णय गरेको थियो । उक्त निर्णय धेरै हदसम्म अपेक्षित मानिएको थियो । विदेश मन्त्रालयका प्रवक्ता टोमी पिगटले भने,’राष्ट्रपति साराको सरकारले बेपत्ता अमेरिकी नागरिकहरूको खोजी, बाँकी रहेका रासायनिक हतियारहरूको नाश र मानवतावादी समन्वयजस्ता अमेरिकी मागहरू पुरा गर्ने प्रतिबद्धता जनाइरहेको बताए ।

    यसअघि बिहीबार वासिङ्टनले संयुक्त राष्ट्र सुरक्षा परिषद्मा सिरियामाथि लगाइएका प्रतिबन्ध हटाउनका लागि मतदानको नेतृत्व पनि गरेको थियो ।

    समाचार संस्था एएफपीका अनुसार राष्ट्रपति साराको राजनीतिक पृष्ठभूमि निकै विवादास्पद रहँदै आएको छ । उनी पहिले अल–कायदासँग सम्बद्ध समूह हयात ताहरिर अल–शाम (एचटिएस) का प्रमुख नेतामध्ये एक थिए । एचटिएसलाई वासिङ्टनले यसै वर्षको जुलाईमा आधिकारिक रूपमा आतङ्कवादी सङ्गठनको सूचीमा राखेको थियो ।

    तर सत्तामा आएपछि राष्ट्रपति साराले आफ्नो देशको नयाँ नेतृत्वलाई हिंसात्मक अतीतबाट टाढा राख्ने र सिरियाली जनताका साथै अन्तर्राष्ट्रिय समुदायसमक्ष सहिष्णु र व्यावहारिक छविको रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेका छन् ।

    सिरियाको नयाँ नेतृत्वले पछिल्ला महिनाहरूमा राजनीतिक मेलमिलाप, धार्मिक सहअस्तित्व र पुनर्निर्माणका एजेन्डा अघि सारेको छ । अमेरिकाको यो भ्रमण त्यसै प्रयासको निरन्तरता भएको बताइन्छ, जसले सिरिया–अमेरिका सम्बन्धमा नयाँ अध्याय सुरु गर्न सक्ने आशा गरिएको छ ।

  • अम्बानीको छोराले सञ्चालन गरेको मेगा चिडियाखाना भान्तारा फेरि विवादमा

    अम्बानीको छोराले सञ्चालन गरेको मेगा चिडियाखाना भान्तारा फेरि विवादमा

    काठमाडौं । भारतको विशाल मेगा–चिडियाखाना भान्तारा फेरि विवादको घेरामा परेको छ । प्रमुख वन्यजन्तु संरक्षण विज्ञहरूले उक्त संस्थाद्वारा गरिएका जनावरहरूको सामूहिक अधिग्रहणबारे गम्भीर चिन्ता व्यक्त गर्दै भारत सरकारलाई विश्वका सबैभन्दा दुर्लभ र खतरामा परेका प्रजातिहरूको आयात तत्काल रोक्न आग्रह गरेका छन् ।

    पश्चिमी गुजरात राज्यमा अवस्थित यो विशाल सुविधालाई आधिकारिक रूपमा हरित प्राणीशास्त्रीय उद्धार तथा पुनर्वास केन्द्र भनेर चिनिन्छ । यसलाई एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीको पुत्रद्वारा सञ्चालन गरिएको हो । भान्ताराले हालका वर्षहरूमा दशौँ हजार जनावर उद्धार गरेको दाबी गरेको छ । यसबारे सर्वोच्च अदालतले समेत समीक्षा गरी कुनै गलत आचरण नभएको ठहर गरेको थियो ।

    तर, अन्तर्राष्ट्रिय वन्यजन्तु व्यापार नियमन संस्था कन्भेन्सन अन इन्टरनेसनल ट्रेड इन एन्डेन्जर्ड स्पिसिज अफ वाइल्ड फौना एन्ड फ्लोरा (सिआइटिइएस) का विज्ञहरूले भने भान्ताराले अन्तर्राष्ट्रिय नियमको उल्लङ्घन गर्दै अत्यधिक खतरामा रहेका प्रजातिहरू आयात गरेको हुनसक्ने चेतावनी दिएका छन् ।

    यसै सन्दर्भमा, यस महिनाको सिआइटिइएस वार्तापूर्व प्रकाशित प्रतिवेदनले भान्ताराद्वारा गरिएका आयातहरू ‘विश्वका सबैभन्दा दुर्लभ र खतरामा परेका प्रजातिहरू ‘एपेन्डिक्स–१०’ सम्बन्धी संरक्षण नियमहरूसँग असङ्गत रहेको जनाएको छ । विज्ञहरूले भान्ताराले ‘अन्जानमा जङ्गली जनावरहरूको अवैध कारोबारलाई प्रोत्साहन नदेओस्’ भनी सशक्त सुधारका लागि भारत सरकारलाई सिफारिस गरेका छन् ।

    भान्तारा र भारतको वातावरण मन्त्रालयले यसबारे एएफपीको टिप्पणी अनुरोधको जवाफ दिएका छैनन् ।

    संरक्षणविद्हरूले भान्ताराको जनावर सङ्ख्यामा बारम्बार शङ्का व्यक्त गर्दै आएका छन् । उक्त संस्थाले एक लाख ५० हजार जनावर रहेको दाबी गरेको भए पनि सिआइटिइएस अधिकारीहरूले सेप्टेम्बरमा गरेको निरीक्षणमा झण्डै ४७ हजार जनावर मात्र फेला परेको बताएका छन् ।

    वाइल्डलाइफ संस्था बोर्न फ्रीका नीति प्रमुख मार्क जोन्सले भने, “यो प्रतिवेदनले उत्तरभन्दा बढी प्रश्नहरू खडा गर्छ । सङ्ख्यामा यस्तो विसङ्गति किन ? संसारका यति धेरै प्रजातिबाट जनावरहरू किन ल्याइएका छन् रु तिनीहरूको आपूर्तिकर्ता को हुन् र के यी जनावरहरू नाफाको लागि व्यापार भइरहेका हुन् ?”

    सिआइटिइएस प्रतिवेदनले भान्तारामा विश्वका सबैभन्दा दुर्लभ ठूला बाँदर, जस्तै इन्डोनेसियाको तपानुली ओराङ्गुटान, लगायतका खतरामा परेका जनावरहरूको आयातमा शङ्का प्रकट गरेको छ ।

    यसै वर्षको सुरुमा एएफपीले भान्ताराले संयुक्त अरब इमिरेट्समार्फत इन्डोनेसियामा उत्पत्ति भएका तपानुली ओराङ्गुटानहरू प्राप्त गरेको खुलासा गरेको थियो । सिआइटिइएस नियमअनुसार यस्तो व्यापार निषेधित छ, यद्यपि ‘बन्दी प्रजनन’ जनावरहरूको सीमित अपवाद रहन्छ ।

    भान्ताराले धेरै दुर्लभ जनावरहरूलाई पनि यही शीर्षकमा वर्गीकृत गरेको थियो । तर, धेरै विज्ञहरूले इन्डोनेसियामा उक्त प्रजातिका लागि कुनै बन्दी प्रजनन कार्यक्रम नै नभएको पुष्टि गरेका छन् । संसारमा झण्डै ८०० मात्र बाँकी रहेका यी ओराङ्गुटानहरू जङ्गलमै बसोबास गर्छन् ।

    यस्तै, सिरियाका चितुवा, हाइटीका गोरिल्ला र इराकका बोनोबोहरू सम्बन्धी घटनाहरू पनि सिआइटिइएसद्वारा अनुसन्धानको दायरामा परेका छन् ।

    इन्डोनेसियाको ओराङ्गुटान सूचना केन्द्रका संस्थापक पानुत हादिसिस्वोयोले भने, “यो प्रतिवेदन भान्ताराका समस्याग्रस्त अधिग्रहणहरूको ठोस प्रमाण हो । यसले साँच्चै स्तब्ध पार्ने तथ्यहरू देखाउँछ ।”

    उनले भारतमा तस्करी गरेर ल्याइएका ओराङ्गुटानहरूको पुनःस्थापनाका लागि लामो समयदेखि प्रयास गरिरहेको उल्लेख गर्दै भने, “भान्ताराले कानूनी कमजोरीको फाइदा उठाउँदै सिआइटिइएसका नियमहरू कमजोर बनाइरहेको छ ।”

    सिआइटिइएस प्रतिवेदनअनुसार भान्ताराले दुई हजारभन्दा बढी एपेन्डिक्स–१ श्रेणीका अत्यधिक खतरामा परेका जनावरहरू र करिब नौ हजार कम जोखिममा रहेका प्रजातिहरू आयात गरेको छ ।

    स्वतन्त्र वन्यजन्तु विशेषज्ञ डेनियल स्टाइल्स भन्छन्, “यो प्रतिवेदन भान्ताराको वास्तविक मूल्याङ्कन हो । अब हेर्न बाँकी छ — के यसपछि सुधारका ठोस कदम चालिन्छन् कि ?”

    सिआइटिइएसले भारतलाई यस सम्बन्धी प्रगतिको प्रतिवेदन पेश गर्न आग्रह गरेको छ । यदि भारतले उचित सुधार नगरेको खण्डमा अन्तर्राष्ट्रिय व्यापार निलम्बनजस्ता प्रतिबन्धात्मक कदमको सामना गर्न सक्ने चेतावनी दिइएको छ ।

    भारत र दक्षिणपूर्व एसियामा लामो अनुभव भएका संरक्षण विज्ञ के। योगानन्दले भन्नुभयो, “यी आयातहरूमा देखिएका अनियमितताहरूले भारतको अन्तर्राष्ट्रिय संरक्षण विश्वसनीयतामाथि गहिरो असर पारेका छन् । अब भारतले विश्वसनीयता पुनःस्थापित गर्न उदाहरणीय र पारदर्शी कदम चाल्न आवश्यक छ ।”

     

  • भारतबाट भुटान लगियो भगवान बुद्धका अवशेष

    भारतबाट भुटान लगियो भगवान बुद्धका अवशेष

    काठमाडौं । भारत र भुटानबीचको गहिरो आध्यात्मिक र सांस्कृतिक सम्बन्धको प्रतीकस्वरूप भगवान बुद्धका पवित्र अवशेषहरू शनिबार भुटानको यात्रामा लागेका छन् ।

    नयाँदिल्लीस्थित राष्ट्रिय सङ्ग्रहालयमा सुरक्षित ती अवशेषहरूलाई भारतका केन्द्रीय सामाजिक न्याय तथा अधिकारिता मन्त्री डा. वीरेन्द्र कुमारको नेतृत्वमा रहेको उच्चस्तरीय प्रतिनिधिमण्डलले भारतीय वायुसेनाको विमानमार्फत थिम्पू पुर्‍याएको हो ।

    नोभेम्बर ८ देखि १८ सम्म भुटानमा हुने सार्वजनिक प्रदर्शनी भुटानका चौथो राजा जिग्मे सिङ्गे वाङचुकको ७० औँ जन्मदिवसको अवसरमा आयोजना गरिएको ग्लोबल पिस प्रेयर फेस्टिभल (जिपिपिएफ) को प्रमुख अङ्ग हो । यसको उद्देश्य विश्व शान्ति र मानव कल्याणको सन्देश प्रवद्र्धन गर्नु रहेको छ ।

    वज्रयान बौद्ध धर्मको एक मात्र आधिकारिक राष्ट्र भुटानले आफ्नो गहिरो आध्यात्मिक परम्पराको सम्मानका रूपमा यो घटनालाई अत्यन्त महत्त्वका साथ मनाउँदैछ । पवित्र अवशेषहरू भुटान सरकार र मठीय निकायको ऐतिहासिक केन्द्र ताशिचो जोङस्थित कुएनरी हलमा प्रदर्शित गरिनेछन् ।

    प्रदर्शनीसँगै गुरु पद्मसम्भवको जीवन, भगवान बुद्धका अवशेषहरूको उत्खनन र बुद्धका शिक्षाको अन्वेषण गर्ने गरी तीनवटा विशेष प्रदर्शनीहरू पनि आयोजना गरिने कार्यक्रम छ ।

    यसअघि नोभेम्बर ४ मा भुटानका प्रधानमन्त्री सेरिङ तोब्गेको उपस्थितिमा थिम्पूको चाङ्लिमिथाङ स्टेडियममा ग्लोबल पिस प्रेयर फेस्टिभल २०२५ सुरु भएको थियो । यो १३ दिने आध्यात्मिक महोत्सवमा विश्वभरका बौद्ध धर्मगुरु, अभ्यासकर्ताहरू र शान्ति समर्थकहरू एकत्रित भई करुणा, सद्भाव र विश्व शान्तिको सन्देश फैलाउने अभियानमा संलग्न छन् ।

    भुटानको शाही सरकारले आयोजना गरेको यस पर्वमा पवित्र अनुष्ठान, गैर–साम्प्रदायिक शान्ति प्रार्थना, बाजागुरु मन्त्रको सामूहिक पाठ, सार्वजनिक आशीर्वाद र कालचक्र सशक्तीकरणजस्ता धार्मिक कार्यक्रमहरू समावेश छन् ।

    थेरवाद, महायान र वज्रयान परम्पराका प्रख्यात बौद्ध आचार्य, विद्वान र गुरुहरूले सहभागी हुँदै भुटानले विश्व शान्ति र सद्भावका लागि माया, दया र जागरूकताको रूपान्तरणकारी शक्ति प्रयोग गर्ने आफ्नो प्रतिबद्धता प्रदर्शन गरिरहेको छ ।

    यो चाड केन्द्रीय मठ निकायद्वारा कुएन्सेलफोद्राङमा सम्पन्न जब्जी धोचोग नामक पवित्र अनुष्ठानबाट सुरु भएको हो । यो दुर्लभ धार्मिक विधिले शरीर, वाणी र मनका नकारात्मक कर्महरूलाई शुद्ध पार्ने उद्देश्यले शान्तिपूर्ण प्रसाद र क्रोधित संरक्षण दुवैको संयोजन गर्दछ ।

    चाङ्लिमिथाङ मैदानमा विभिन्न बौद्ध सम्प्रदायका प्रतिनिधिहरूले अङ्ग्रेजी, तिब्बती र जोङ्खासहित विविध भाषामा विश्व शान्तिका लागि प्रार्थना गर्नेछन् । प्रदर्शनी र अनुष्ठानका क्रममा शिक्षा, व्याख्या र अनुवादहरू पनि उपलब्ध गराइनेछन् ।

    कार्यक्रमका प्रमुख लामाहरूले भक्तजनहरूलाई सार्वजनिक आशीर्वाद दिनेछन् र त्यसपछि विश्व शान्तिका साझा आकांक्षामा एकताबद्ध हुने उद्देश्यले बाजागुरु मन्त्रको सामूहिक पाठ गरिनेछ, जसले श्रद्धा, ध्यान र करुणाको भावनालाई बलियो बनाउनेछ ।  रासस

  • सुरक्षा खतरा देखाउँदै रूसी नागरिकविरूद्ध इयूले भिसामा थप कडाइ गर्दै

    सुरक्षा खतरा देखाउँदै रूसी नागरिकविरूद्ध इयूले भिसामा थप कडाइ गर्दै

    ब्रसेल्स । युक्रेन युद्धको लगभग चार वर्ष पछि युरोपेली सङ्घले शुक्रबार यूरोपमा सुरक्षा खतरा बढेको भन्दै रूसी नागरिलाई दिइदै आएको मल्टिपल इन्ट्री भिसा अस्वीकार गर्ने बताएको छ।

    “युरोपमा आक्रमण गर्नु र स्वतन्त्र रूपमा घुम्न अपेक्षा गर्नुलाई पुष्टि गर्न गाह्रो छ,” इयू विदेश मामिला प्रमुख काजा कल्लासले एक्समा लेखे ।

    उनले भने “युरोपेली भूमिमा निरन्तर ड्रोन अवरोध र तोडफोडका घटनापछि इयूले रूसी नागरिकहरूको लागि भिसा नियमहरू कडा गर्दैछ।”

    धेरै देशहरूमा ड्रोन आक्रमण र आगजनीका संदिग्ध घटनापछि इयूमा रूसी ‘हाइब्रिड युद्ध’ को खतरा बढेको भन्दै भिसा प्रतिबन्धको उपाय अपनाइएको हो।

    ब्रसेल्सले भनेको छ, “अबदेखि रूसी नागरिकहरूले इयू यात्रा गर्ने योजना बनाउँदा प्रत्येक पटक नयाँ भिसाको लागि आवेदन दिनुपर्नेछ । यसले कुनै पनि सम्भावित सुरक्षा जोखिम कम गर्न आवेदकहरूको नजिक र बारम्बार छानबिन गर्न अनुमति दिनेछ।”

    नयाँ नियमहरू ‘स्वतन्त्र पत्रकार र मानव अधिकार रक्षकजस्ता जायज मामिलाहरूको लागि अपवाद’ हुने बताइएको छ।

    गत महिना नयाँ प्रतिबन्धहरूमा २७ सदस्य राष्ट्रहरूको समूह ९इयू० मा तैनाथ रूसी कूटनीतिज्ञहरूको यात्रामा समूहले पहिले नै कडा नियन्त्रण गरिसकेको छ।

    रूसप्रति कडा अडान राख्ने केही देशहरूले युक्रेनमा युद्ध चलिरहेको बेला पर्यटनको लागि स्वतन्त्र रूपमा सहज यात्रा गर्न सम्भव छैन भन्दै लामो समयदेखि साधारण रूसीहरूमा कडा भिसा सीमाको लागि जोड दिइरहेका थिए ।

    उनीहरूले सन् २०२२ मा रूससँगको आफ्नो भिसा सहजीकरण सम्झौता निलम्बन गरेको र सदस्य राष्ट्रहरूलाई रूसीहरूको लागि भिसामा ‘रोक’ लगाउन निर्देशन गरेको छ।

    ब्रसेल्सका अनुसार इयूले रूसीहरूलाई दिएको भिसाको सङ्ख्या युद्धअघिको ४० लाख थियो भने यो सन् २०२३ पछि घटेर पाँच लाखमा सीमित भएको छ।

    कूटनीतिज्ञहरूले स्वीकृतिको सङ्ख्या पछिल्ला दिनहरूमा फेरि बढ्न थालेको बताएका छन् ।

    पर्यटक आकर्षण केन्द्र फ्रान्स, स्पेन र इटाली यसरी सबैभन्दा धेरै भिसा प्रदान गर्ने देशहरू हुन्।

    कडा रोक लगाउनु पर्ने पक्षधर मुलुकहरूले साधारण रूसीहरूले युद्धबाट बढी प्रभाव महसुस गर्नुपर्छ भन्ने कुरामा जोड दिए पनि, क्रेमलिनका विपक्षीहरूले समूहलाई युरोपबाट उनीहरूलाई अलग नगर्न आग्रह गरेका छन्।

    विपक्षी नेता युलिया नाभाल्नायाले सेप्टेम्बरमा भनेका थिए, “व्यापक प्रतिबन्धहरू लगाउने निर्णय ‘गम्भीर गल्ती’ हुनेछ किनकि यसले सबै रूसीहरूप्रति युरोप शत्रुतापूर्ण धारणा राख्छ भन्ने क्रेमलिनको दावीलाई बढावा दिनेछ ।

    उनले युरोपेली सङ्घलाई राष्ट्रपति भ्लादिमिर पुटिनको नजिकका अभिजात वर्गलाई लक्षित गर्दै रूसी नेतालाई दबाब दिन प्रयास गर्न तर सबै रूसी नागरिकलाई आवतजावतमा रोक नलगाउन आग्रह गरे ।

    “युरोपमा शान्ति प्राप्त गर्ने उद्देश्यका लागि रूसी समाजलाई अलग गर्न रूसी अधिकारीहरूलाई सहयोग गर्नु प्रतिकूल हुनेछ,” नाभाल्नायाले कल्लासलाई लेखेको पत्रमा उल्लेख गरिएको छ।

  • अमेरिकासँगको नौसेना प्रतिस्पर्धा चर्किँदै जाँदा चीनको पछिल्लो ‘विमानवाहक जहाज’ सार्वजनिक

    अमेरिकासँगको नौसेना प्रतिस्पर्धा चर्किँदै जाँदा चीनको पछिल्लो ‘विमानवाहक जहाज’ सार्वजनिक

    काठमाडौं । चीनको पछिल्लो र सबैभन्दा सक्षम विमानवाहक जहाज आधिकारिक रूपमा सेवामा प्रवेश गरेको बताइएको छ । अमेरिकासँगको नौसेना प्रतिस्पर्धा चर्किँदै जाँदा चीनको पछिल्लो विमानवाहक सेवा सुरु हुनुलाई महत्वपूर्ण कदम मानिएको छ ।

    चिनियाँ राष्ट्रपति सी जिनपिङले यस हप्ताको सुरुमा हेनान टापुको सान्यामा रहेको सैन्य बन्दरगाहमा फुजियानको आयोगिङ समारोहमा सहभागी भएको चीनको सरकारी प्रसारक सीसीटीभीले शुक्रबार जनाएको छ ।

    चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार फुजियान चीनको तेस्रो र सबैभन्दा उन्नत विमानवाहक जहाज हो । जसमा इलेक्ट्रोम्याग्नेटिक क्याटापल्टहरू छन् जसले तीन प्रकारका विमानहरू प्रक्षेपण गर्न सक्छन् ।

    इमल्स (EMALS) भनेर चिनिने नयाँ प्रविधिले विमानहरूलाई भारी हतियार र इन्धन भारसहित उडान गराउन सक्ने बताइएको छ । यसका सहायताले धेरै दूरीमा लक्ष्यलाई प्रहार गर्न सहज हुनेछ ।

    इमल्स प्रणाली भएको विश्वको एक मात्र अर्को विमान वाहक अमेरिकी नौसेनाको सबैभन्दा नयाँ वाहक युएसएस जेराल्ड आर फोर्ड हो । जसलाई २०२२ को वसन्तमा इमल्स प्रणाली प्रयोग गरेर उडान गर्नसक्ने प्रमाणित गरिएको थियो ।

    फुजियानको लागि प्रविधि अपनाउने निर्णय सीले व्यक्तिगत रूपमा लिएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

    बुधबार दिउँसो भएको झण्डा समारोहमा सीले सम्मान रक्षकको रूपमा भाग लिँदा दुई हजार भन्दा बढी नौसेना र विमान वाहक निर्माण कर्मचारी डकको छेउमा उभिएर हेरेका थिए । सीसीटीभीका अनुसार सीले जहाजको भ्रमण गरे । उनले मेस हलको निरीक्षण र जहाजको क्याटापल्ट बटनको परीक्षण गरेका थिए ।

    यो जहाजलाई चीनभित्र एक प्रमुख विमान वाहक शक्तिको रूपमा प्रशंसा गरिएको छ । यो वाहनले ८० हजार टन भार बोक्ने जनाइएको छ ।

    विवादित दक्षिण चीन सागरमा चीनले आफ्नो दाबी बढाउँदै लगेको सीएनएनले उल्लेख गरेको छ । समाचारअनुसार चीन सागरसहित अन्य टाढाका क्षेत्रमा समेत चीनले आफ्नो नौसैनिक शक्ति प्रदर्शन गर्न खोजिरहेको छ । चीनले सीको नेतृत्वमा तीव्र गतिमा उच्च-प्रविधियुक्त युद्धपोतहरू प्रक्षेपण गर्दै विश्वको सबैभन्दा ठूलो नौसेना निर्माण गरेको छ ।

  • इन्डोनेसियाको राजधानी जकार्तामा विस्फोट, ५४ जना घाइते

    इन्डोनेसियाको राजधानी जकार्तामा विस्फोट, ५४ जना घाइते

    काठमाडौं । इन्डोनेसियाको राजधानी जकार्तामा शुक्रबारको प्रार्थनाको समयमा एक हाई स्कूल परिसर भित्र रहेको मस्जिदमा विस्फोट हुँदा कम्तीमा ५४ जना घाइते भएको प्रहरीले जनाएको छ ।

    उत्तरी जकार्ताको केलापा गडिङ क्षेत्रको नौसेना परिसरभित्र रहेको राज्य उच्च माध्यमिक विद्यालय एसएमए २७ को मस्जिदमा प्रवचन सुरु हुँदा दिउँसोतिर कम्तीमा दुईवटा ठूला विस्फोटहरू सुनेको प्रत्यक्षदर्शीहरूले स्थानीय टेलिभिजन स्टेशनहरूलाई बताएका छन् ।

    मस्जिदभरि धुवाँ भरिएपछि विद्यार्थीहरू र अन्य आतंकित भएर बाहिर भागेको बताइएको छ । शहरका प्रहरी प्रमुख एसेप एडी सुहेरीका अनुसार अधिकांश पीडितहरूलाई सिसाका टुक्राका कारण चोट लागेको छ ।

    समाचार एजेन्सी एपीका अनुसार बीस जना विद्यार्थी अझै अस्पतालमा छन् । जसमध्ये तीन जना गम्भीर घाइते छन् । अन्यलाई उपचारपछि डिस्चार्ज गरिएको छ ।

     

  • बिहार निर्वाचन : राहुल गान्धीको आरोप- दिल्लीमा मतदान गर्ने केही भाजपा नेताले बिहारमा पनि भोट हाले

    बिहार निर्वाचन : राहुल गान्धीको आरोप- दिल्लीमा मतदान गर्ने केही भाजपा नेताले बिहारमा पनि भोट हाले

    काठमाडौं । बिहारमा जारी विधान सभाको दोस्रो चरणको चुनाव अघि कांग्रेस नेता राहुल गान्धीले बिहारको बांका र भागलपुरका चुनावी सभाहरूलाई सम्बोधन गरेका छन् । भारतीय जनता पार्टी (भाजपा) माथि आलोचना गर्दै राहुलले दिल्लीमा मतदान गर्ने केही भाजपा नेताहरूले बिहार चुनावको पहिलो चरणमा पनि मतदान गरेको आरोप लगाएका छन् ।

    ‘मलाई हिजो थाहा भयो, दिल्लीमा मतदान गर्ने भाजपा नेताहरूले बिहार चुनावको पहिलो चरणमा पनि मतदान गरेका छन् ।’ लोकसभाका विपक्षी नेता गान्धीले भागलपुरको र्‍यालीमा भने,’केही भाजपा नेताहरू छन् जो उत्तर प्रदेशमा बस्छन्, यूपीमा मतदान गर्छन्, र चुनावको समयमा उही मानिसहरूले हरियाणामा मतदान गर्छन् ।’

    आम आदमी पार्टीले बिहीबार राज्यसभा सांसद राकेश सिन्हा र दिल्ली भाजपाका पूर्वाञ्चल मोर्चाका अध्यक्ष सन्तोष ओझा लगायतका भाजपा नेताहरूले फेब्रुअरीमा दिल्लीमा मतदान गरेका थिए र नोभेम्बर ६ मा बिहारमा पनि मतदान गरेको दाबी गरेपछि यो कुरा आएको हो । सिन्हा र ओझा दुवैले दावी अस्वीकार गरेको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

    बांकास्थित एक चुनावी सभालाई सम्बोधन गर्दै राहुलले नोभेम्बर ५ मा पत्रकार सम्मेलनको क्रममा कांग्रेसले हरियाणामा ‘भोट चोरी’ सम्बन्धी ‘प्रमाण’ पेश गरेको पनि बताए । उनले थपे, ‘निर्वाचन आयोगले यी आरोपहरूलाई अस्वीकार गर्न सक्दैन ।’

    बिहारका चुनावी सभामा राहुलले पहिले लगाइएका ‘मत चोरी’ का आरोपहरू पुन: दोहोर्‍याएका छन् । हरियाणाका २ करोड मतदाताहरू मध्ये २९ लाख मतदाताहरू नक्कली रहेको उनको दाबी छ ।

  • ट्रम्पले भने- इरानमाथि लगाइएका प्रतिबन्ध हटाउने विषयमा छलफल गर्न इच्छुक छु

    ट्रम्पले भने- इरानमाथि लगाइएका प्रतिबन्ध हटाउने विषयमा छलफल गर्न इच्छुक छु

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरानमाथि लगाइएका कडा अमेरिकी प्रतिबन्धहरूबारे छलफल गर्न आफू खुला रहेको बताएका छन् । उनका अनुसार तेहरानले बारम्बार ती प्रतिबन्धहरू हटाउन माग गर्दै आएको छ ।

    मध्य एसियाली नेताहरूसँगको रात्रिभोजका क्रममा राष्ट्रपति ट्रम्पले भने, ‘स्पष्ट रूपमा भन्नुपर्दा, इरानले प्रतिबन्धहरू हटाउन सकिन्छ कि भनेर सोधिरहेको छ । उनीहरू अत्यन्त कठोर अमेरिकी प्रतिबन्धको चपेटामा छन्, जसले उनीहरूको स्थिति साँच्चै कठिन बनाएको छ । म यो विषय सुन्नका लागि खुला छु र के हुन्छ भनेर हेर्नेछौँ, तर म यसबारे छलफल गर्न इच्छुक छु ।’

    संयुक्त राज्य अमेरिका र पश्चिमी मुलुकहरूले लामो समयदेखि इरानमाथि आणविक हतियार प्राप्त गर्ने प्रयास गरेको आरोप लगाउँदै आएका छन्, तर इरानले आफ्नो आणविक कार्यक्रम पूर्णतः शान्तिपूर्ण उद्देश्यका लागि भएको दाबी गर्दै आएको छ ।

    सन् २०१८ मा अमेरिका तत्कालीन अन्तर्राष्ट्रिय आणविक सम्झौताबाट पछि हटेपछि र पुनः कठोर आर्थिक प्रतिबन्धहरू लागू गरेपछि इरान वर्षौंको अन्तर्राष्ट्रिय नाकाबन्दीमा परेको थियो ।

    यस वर्ष जुन महिनाको मध्यतिर इजरायलले इरानविरुद्ध अभूतपूर्व हवाई आक्रमण अभियान सुरु गरेपछि युद्ध भड्किएको थियो । सो आक्रमणका क्रममा अमेरिकाले पनि केही समयका लागि इजरायलको पक्षमा इरानी आणविक स्थलहरूमा आक्रमणमा भाग लिएको देखिएको थियो ।

    १२ दिन लामो उक्त युद्धमा इजरायली बमबारीको प्रत्युत्तरमा इरानले मिसाइल र ड्रोन आक्रमण गरेको थियो, जसका कारण तेहरान र वासिङ्टनबीच अप्रिलमा सुरु भएको आणविक वार्ता स्थगित भएको थियो ।

    राष्ट्रपति ट्रम्पले भने,’इरान एक समय मध्यपूर्वको ‘बदमाश’ राष्ट्र थियो, तर अहिले त्यसले आणविक हतियारको सम्भावना गुमाइसकेको छ ।’ जनवरीमा दोस्रो कार्यकालका लागि पदभार ग्रहण गरेपछि उनले हालको आक्रमणले इरानको आणविक कार्यक्रमलाई पूर्ण रूपमा नष्ट गरेको बारम्बार दाबी गर्दै आएका छन् । यद्यपि, क्षतिको वास्तविक स्तर अझै स्पष्ट भएको छैन ।

    गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घले बेलायत, फ्रान्स र जर्मनीको पहलमा ‘स्न्यापब्याक’ संयन्त्रमार्फत तेहरानविरुद्धका पुराना प्रतिबन्धहरू पुनः लागू गरेको थियो । ती प्रतिबन्धले इरानको आणविक र ब्यालिस्टिक क्षेप्यास्त्र गतिविधिसँग सम्बन्धित सबै आर्थिक कारोबारलाई रोक लगाएका छन् ।

    अमेरिका–इरानबीचको आणविक वार्ताका धेरै चरणको संयोजन गरिसकेको ओमानले पुनः दुवै पक्षलाई वार्तामा फर्किन आग्रह गरेको छ । वार्ताको उद्देश्य नयाँ सम्झौता तर्जुमा गर्नु हो, जसअन्तर्गत इरानले आफ्नो आणविक गतिविधि सीमित गर्ने सर्तमा प्रतिबन्धहरूको केही राहत पाउनेछ ।

    राष्ट्रपति ट्रम्पले भनेका छन् , ‘यदि इरानले शान्तिपूर्ण बाटो रोज्छ भने, भविष्यमा सहकार्यका ढोका खुला रहनेछ ।’

    – रासस/एएफपी

  • बिहार विधानसभा निर्वाचन : पहिलो चरणमा कीर्तिमानी मतदान

    बिहार विधानसभा निर्वाचन : पहिलो चरणमा कीर्तिमानी मतदान

    काठमाडौं । बिहार विधानसभा निर्वाचनको पहिलो चरणमा कीर्तीमानी मतदान भएको सञ्चारमाध्यहरुले जनाएका छन् ।

    पहिलो चरण ६ नोभेम्बरमा भएको निर्वाचनमा ६४.६९% मतदान भएको छ । भारतीय मिडियाले यसलाई बम्पर भोटिङको नाम दिएका छन् । राज्य निर्वाचनको इतिहासमा यसलाई सबैभन्दा ठूलो तथ्याङ्क भनिएको छ ।

    मतदानको बढोत्तरीलाई सामान्य रुपमा सत्ता विरोधी लहरको संकेत मानिन्छ । तर सन् १९९५ र सन् २००० का उदाहरण पनि छन्, जहाँ बम्पर भोटिङका बावजूद पनि सत्ताधारी पार्टीकै आगमन भएको थियो ।

    बिहार निर्वाचन : १२१ विधानसभा सिटमा १३१४ उम्मेदवार

    भाजपाको घोषणापत्रमा एक करोडलाई जागिरदेखि महिलालाई करोडपतिसम्मको वाचा

    बिहारमा चुनावी सरगर्मी : मोदीको ‘कट्टा’ देखि राहुलको पौडीसम्मको चर्चा

  • उत्तर कोरियाद्वारा पूर्वी समुद्रमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

    उत्तर कोरियाद्वारा पूर्वी समुद्रमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

    काठमाडौं । उत्तर कोरियाले शुक्रबार आफ्नो पूर्वी समुद्री क्षेत्रमा कम्तीमा एउटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ ।

    प्योङयाङले पछिल्ला महिनाहरूमा हतियार परीक्षणको गति तीव्र पार्दै आएको बेला यो नयाँ प्रक्षेपण भएको हो । वासिङ्टन र सियोलसँगको वार्ता लामो समयदेखि अवरुद्ध रहँदा उत्तर कोरियाको यस्तो गतिविधिले क्षेत्रीय तनाव पुनः बढाएको देखिन्छ ।

    दक्षिण कोरियाका संयुक्त प्रमुख सेनानी (ज्वाइन्ट चिफ्स अफ स्टाफ) का अनुसार उक्त क्षेप्यास्त्रको प्रकार, दायरा वा उडान दूरीबारे विस्तृत विवरण हालसम्म सार्वजनिक गरिएको छैन ।

    गत महिनादेखि उत्तर कोरियाले आफ्नो हतियार परीक्षणलाई निरन्तरता दिँदै आएको छ । यस अवधिमा प्योङयाङले हाइपरसोनिक र क्रुज मिसाइलहरू फायर गरेको थियो र ती परीक्षणहरूलाई आफ्नो आणविक–सशस्त्र सेनाको क्षमतावृद्धिका रूपमा व्याख्या गरेको थियो ।

    यसै हप्ता, दक्षिण कोरियाली सेनाले सोमबार उत्तर कोरियाले आफ्नो पश्चिमी समुद्री क्षेत्रमा करिब १० राउन्ड तोप आक्रमण गरेको पत्ता लगाएको जनाएको थियो । सो दिन अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले दक्षिण कोरियाको दुई दिने औपचारिक भ्रमण सुरु गरेका थिए ।

    दक्षिण कोरियाको ग्योङ्जु सहरमा यही शनिबार दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङ र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच हुन लागेको शिखर सम्मेलनअघि उत्तर कोरियाले फेरि समान सङ्ख्यामा आर्टिलरी प्रहार गरेको बताइएको छ । उक्त सम्मेलनमा राष्ट्रपति लीले बेइजिङलाई वासिङ्टन र सियोलसँगको वार्तामा उत्तर कोरियालाई पुनः सहभागी गराउन सक्दो पहल गर्न अनुरोध गरेका थिए ।

    मङ्गलबार दक्षिण कोरियाली रक्षा अधिकारीहरूसँग सम्पन्न वार्षिक सुरक्षा वार्तापछि अमेरिकी रक्षामन्त्री हेग्सेथले उत्तर कोरियाको बढ्दो आणविक खतरा र क्षेत्रीय अस्थिरताको सामना गर्न दक्षिण कोरियाले आफ्नो सैन्य खर्च विस्तार गर्ने निर्णयको प्रशंसा गरेका थिए ।

    उत्तर कोरियाली नेता किम जोङ उनले वासिङ्टन र सियोलसँगको कूटनीतिक वार्ता पूर्ण रूपमा तोडेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकाल सन् २०१९ मा प्रतिबन्ध हटाउने विषयमा असहमतिका कारण वार्ता असफल भएपछि किम पुनः वार्तामा फर्किएका छैनन् ।

    त्यसयता उनले आफ्नो आणविक र मिसाइल कार्यक्रमलाई तीव्र बनाउँदै रुससँगको सम्बन्ध सुदृढ पारेका छन् । उनले रुसलाई हजारौँ सैनिक र ठूलो मात्रामा सैन्य उपकरण पठाएर राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेनविरुद्धको युद्धलाई समर्थन गरेका छन् ।

    किमको शस्त्रागारमा अहिले एसिया र प्रशान्त क्षेत्रका साथै अमेरिकी मुख्यभूमि लक्षित गर्न सक्ने विभिन्न दायराका आणविक क्षमतायुक्त मिसाइलहरू समावेश छन् । गत महिनाको प्योङयाङमा आयोजित रुस, चीन र भियतनामका वरिष्ठ अधिकारीहरू सहभागी भएको ठूलो सैन्य परेडमा किमले नयाँ अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइलसहित शक्तिशाली हतियारहरू प्रदर्शन गरेका थिए । जुन परीक्षणको तयारीमा रहेको अनुमान गरिएको छ ।

    किमले कूटनीति पुनः सुरु गर्न अमेरिकासँगको पूर्वशर्त—आणविक हतियार आत्मसमर्पण—त्याग्न आग्रह गरेका छन् । गत हप्ता दक्षिण कोरियामा सम्पन्न एसिया–प्यासिफिक इकोनोमिक कोअपरेशन (एपेक) सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले भेट्ने प्रस्ताव गरे पनि किमले त्यसलाई अस्वीकार गरेका थिए ।

    यसैबीच, उत्तर कोरियाले बिहीबार अमेरिकी प्रशासनले आफ्ना साइबर अपराधहरूलाई लक्षित गरी थप प्रतिबन्ध घोषणा गरेकोप्रति आपत्ति जनाउँदै वासिङ्टनमाथि ‘दुष्ट शत्रुताको नीति’ अपनाएको आरोप लगाएको छ र अनिर्दिष्ट ‘प्रतिकारात्मक कदम’ लिने चेतावनी दिएको छ । केही विश्लेषकहरूले उत्तर कोरियाको यो वक्तव्यले प्योङयाङ तत्काल वासिङ्टनसँग वार्ता पुनः खोल्न इच्छुक नरहेको सङ्केत गरेको बताएका छन् ।

  • डोनाल्ड ट्रम्पको दाबी- भारतले रुसबाट तेल खरिद गर्न बन्द गरिसक्यो

    डोनाल्ड ट्रम्पको दाबी- भारतले रुसबाट तेल खरिद गर्न बन्द गरिसक्यो

    काठमाडौं । भारत र रुसबीचको तेल व्यापार धेरै हदसम्म रोकिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन् । भारतले रुससँग गर्दै आएको तेल खरिद धेरै हदसम्म रोकिएको ह्वाइटहाउसमा पत्रकारहरुसँगको अन्तर्क्रियामा ट्रम्पको दाबी थियो ।

    ट्रम्पले शुक्रबार ह्वाइट हाउसमा मिडिया अन्तर्क्रियाको क्रममा अर्को वर्ष भारत भ्रमण गर्न सक्ने संकेत पनि दिएका छन् । ‘भारतसँगको व्यापार वार्ता राम्रो भइरहेको छ, उनले (मोदीले) रूसबाट तेल किन्न लगभग बन्द गरेका छन् । उनी मेरा साथी हुन् र हामी कुराकानी गर्छौं, उनी चाहान्छन् म भारत जाऊँ । हामी समस्याको समाधान गर्छौं । म जान्छु । ट्रम्पले भने।

    भारत-रूस ऊर्जा सम्बन्धको भविष्यको बारेमा ट्रम्पको पछिल्लो दाबी नयाँ दिल्ली र वाशिंगटन बीच चलिरहेको व्यापार वार्ताको पृष्ठभूमिमा आएको छ र रूसी तेल त्यो छलफलको केन्द्रबिन्दु  रहेको छ ।

    ट्रम्पले भारतीय आयातमा ५०% कर लगाएका थिए । जुन अगस्टदेखि लागू भएको थियो । त्यसबेलादेखि भारतप्रति ट्रम्पको लगावमा परिवर्तन आएको छ, तर उनी भारतले रूसी तेल व्यापार रोक्नुपर्ने मागमा अडिग छन्।

    भारतले रूससँगको ऊर्जा सम्झौतालाई उद्धृत गर्दै आधा भन्सार शुल्क लगाइएको थियो । ट्रम्पले लगाएको उच्च ट्यारिफलाई युक्रेनसँगको युद्ध अन्त्य गर्न रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दबाब दिने रूपमा हेरिएको थियो ।

    युक्रेन युद्धलाई लिएर अमेरिकाले पहिलो पटक मस्कोमाथि प्रतिबन्ध लगाएपछि भारत रूसी कच्चा तेलको सबैभन्दा ठूलो खरिदकर्ता बनेको छ। २०२५ को पहिलो नौ महिनामा, भारतले प्रतिदिन १.७ मिलियन ब्यारेल आयात गरेको रिपोर्ट छ । जुन कुल कच्चा तेल आयातको ३४% हो।

    भारतले चाँडै नै रूससँगको तेल व्यापार बन्द गर्ने भन्दै मोदीले ट्रम्पलाई ‘आश्वस्त’गराएको ट्रम्पको दाबी थियो । ‘भारतले तेल किनिरहेकोमा म खुसी थिइनँ । र उनले (मोदीले) आज मलाई आश्वासन दिए कि उनीहरूले रूसबाट तेल किन्ने छैनन् । त्यो ठूलो कदम हो,’ ट्रम्पले पहिलो पटक अक्टोबरमा भनेका थिए, त्यसपछि धेरै पटक यो दाबी दोहोर्‍याए ।

    यद्यपि भारतले ट्रम्पको दाबीलाई अस्वीकार गर्दै ट्रम्प र मोदी बीचको कुनै पनि फोन कलको बारेमा जानकारी नभएको बताएको थियो । प्रधानमन्त्री मोदी र राष्ट्रपति ट्रम्पबीच कुराकानी वा टेलिफोन कल भएको थियो कि भन्ने प्रश्नमा दुई नेताहरू बीच भएको कुनै पनि कुराकानीको बारेमा जानकारी नभएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भनेका थिए ।

    यद्यपि डोनाल्ड ट्रम्पको पछिल्लो दाबीले परिवर्तनको संकेत गरेको हिन्दूस्तान टाइम्सले जनाएको छ । ट्रम्पले अब भारतले ‘धेरै हदसम्म’ तेल खरिद गर्न बन्द गरेको दाबी गरेका छन् । ट्रम्पको यो टिप्पणी युक्रेनमा युद्ध अन्त्य गर्न मस्कोलाई दबाब दिन दुई रूसी तेल फर्महरू, रोसनेफ्ट र लुकोइलमाथि अमेरिकाले लगाएको प्रतिबन्धपछि आएको हो।

    भारतले अमेरिकी प्रतिबन्धहरूको प्रभावको जाँच गरिरहेको बताएको थियो र भनेको थियो, ‘हाम्रा निर्णयहरूले स्वाभाविक रूपमा विश्वव्यापी बजारको परिवर्तनशील गतिशीलतालाई विचार गर्नेछन् ।’

  • भारतले सुरु गर्‍यो सन् २०२७ का लागि डिजिटल जनगणनाको तयारी

    भारतले सुरु गर्‍यो सन् २०२७ का लागि डिजिटल जनगणनाको तयारी

    काठमाडौं । भारत सरकारले सन् २०२७ मा आयोजना गर्न लागिएको विश्वकै सबैभन्दा ठूलो र पहिलो पूर्ण डिजिटल जनगणनाको तयारी स्वरूप मोबाइल सफ्टवेयर प्रणालीको परीक्षण प्रारम्भ गरेको छ ।

    यो जनगणना सन् २०११ पछि पहिलो हुनेछ र स्वतन्त्र भारतमा पहिलो पटक नागरिकहरूको जाति विवरण दर्ता गरिनेछ । जाति गणना अन्तिम पटक सन् १९३१ मा ब्रिटिश शासनकालमा गरिएको थियो । जाति गणनालाई राजनीतिक रूपमा संवेदनशील अभ्यासका रूपमा हेरिन्छ ।

    गृह मन्त्रालयका अनुसार दक्षिणी राज्य कर्नाटकका चयन भएका क्षेत्रहरूमा नोभेम्बर १० देखि २० दिनसम्म परीक्षण सञ्चालन गरिनेछ । उक्त परीक्षणले मोबाइल एपमार्फत डाटा सङ्कलन प्रणाली र आत्म–गणनाको वैकल्पिक विकल्पको कार्यक्षमता परीक्षण गर्नेछ ।

    ‘यस परीक्षणको उद्देश्य विभिन्न भौगोलिक क्षेत्रहरू-सहरी क्षेत्रदेखि सीमित मोबाइल नेटवर्क भएका दुर्गम स्थानहरूसम्म-डिजिटल प्रणालीको कार्यक्षमता र विश्वसनीयताको मूल्याङ्कन गर्नु हो’, मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ, ‘यो अभ्यास परम्परागत कागज–आधारित प्रणालीलाई विस्थापित गर्दै भारतको पहिलो पूर्ण डिजिटल जनगणनातर्फको ऐतिहासिक कदम हो ।’

    डिजिटल जनगणनाको तयारी भारतका लागि ठूलो प्राविधिक र व्यवस्थापकीय चुनौती पनि हो । सन् २०२४ को आमनिर्वाचनमा देशले इलेक्ट्रोनिक मतदान प्रणाली अपनाएको थियो र यो छ हप्तासम्म सात चरणमा सम्पन्न भएको थियो । तर जनगणना भने देशव्यापी रूपमा एकै पटक सम्पन्न गर्नुपर्ने भएकाले यो अझ जटिल कार्य हुनेछ ।

    मुख्य गणना सन् २०२७ मार्च १ मा सुरु हुने तय गरिएको छ । यद्यपि, हिमालयका उच्च उचाइ क्षेत्रहरू-हिमाचल प्रदेश, उत्तराखण्ड, लद्दाख र जम्मू-काश्मीरका विवादित क्षेत्रहरूमा-हिमपात सुरु हुनु अघि नै सन् २०२६ अक्टोबर १ देखि जनगणना सुरु गरिनेछ ।

    भारतमा जाति सामाजिक संरचनाको शक्तिशाली निर्धारक मानिन्छ । यसले नागरिकहरूको सामाजिक हैसियत, शैक्षिक अवसर र स्रोत–साधनप्रतिको पहुँचमा गहिरो प्रभाव पार्दछ ।

    अनुमानअनुसार भारतको करिब एक अर्ब ४० करोड जनसङ्ख्यामध्ये दुई तिहाइभन्दा बढी व्यक्ति ऐतिहासिक रूपमा वञ्चित समुदायमा पर्ने विश्वास गरिन्छ । सहस्राब्दी पुरानो हिन्दू सामाजिक पदानुक्रमले मानिसहरूलाई कार्य र सामाजिक स्थितिका आधारमा वर्गीकृत गरेको पाइन्छ ।

    प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा) ले विगतमा जाति–आधारित गणनाको विरोध गर्दै यस्तो अभ्यासले सामाजिक विभाजनलाई गहिरो बनाउने तर्क गरेको थियो । तर, यस वर्ष मे महिनामा सरकारले नयाँ सर्वेक्षणलाई समर्थन प्रदान गरेको छ ।

    समर्थकहरूले विस्तृत जनसाङ्ख्यिकीय तथ्याङ्क सामाजिक न्यायका कार्यक्रमहरूका लागि अत्यावश्यक हुने बताउँदै आएका छन् । यसमा विश्वविद्यालयका सिटहरू र सरकारी सेवामा सामाजिक रूपमा वञ्चित समुदायका लागि आरक्षण व्यवस्था थप प्रभावकारी बनाउन सकिने अपेक्षा गरिएको छ ।

    अघिल्ला सरकारहरूले प्रशासनिक जटिलता र सम्भावित सामाजिक अशान्तिको डर देखाउँदै जाति सम्बन्धी तथ्याङ्क अद्यावधिक गरेका थिएनन् । साथै, सन् २०११ को जनगणनासँगै गरिएको जाति सर्वेक्षणको नतिजा अधिकारीहरूले त्रुटिपूर्ण भएको बताउँदै सार्वजनिक गरेका थिएनन् ।

    भारतले यसपटकको डिजिटल जनगणनालाई राष्ट्रिय प्रशासनिक प्रणालीको आधुनिकीकरणतर्फको ऐतिहासिक मोडका रूपमा हेरेको छ ।

  • एलन मस्कको स्टारलिङ्क इन्टरनेट भारत आइपुग्यो

    एलन मस्कको स्टारलिङ्क इन्टरनेट भारत आइपुग्यो

    काठमाडौं । विश्वका चर्चित उद्यमी एलन मस्कको स्वामित्वमा रहेको स्टारलिङ्क इन्टरनेट सेवा अब भारतमा आधिकारिक रूपमा सुरु हुन लागेको छ । राजधानी वित्तीय केन्द्र मुम्बई रहेको भारतको महाराष्ट्र राज्य यो सेवा सञ्चालन गर्ने पहिलो भारतीय राज्य बन्ने भएको मुख्यमन्त्रीले बुधबार घोषणा गरेका छन् ।

    स्टारलिङ्कले कम–कक्षीय उपग्रहहरू (लो–अर्थ अर्बिट स्याटेलाइट्स) मार्फत दुर्गम तथा पहुँचविहीन क्षेत्रमा उच्च–गतिको इन्टरनेट सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । यो प्रक्षेपणले भारतमा मूल्य प्रतिस्पर्धा, स्पेक्ट्रम वितरण र बजार नीतिहरू सम्बन्धी गम्भीर बहसलाई पुनः ताजा बनाएको छ ।

    भारतमा यस वर्षको अन्त्यसम्म ९० करोडभन्दा बढी इन्टरनेट प्रयोगकर्ता हुने अनुमान छ । यही पृष्ठभूमिमा सरकारले जुन महिनामा स्टारलिङ्कलाई देशमा सेवा सञ्चालनका लागि इजाजतपत्र प्रदान गरेको थियो ।

    ‘महाराष्ट्र स्टारलिङ्कसँग औपचारिक रूपमा सहकार्य गर्ने पहिलो भारतीय राज्य बन्ने तयारीमा छ’, महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फड्नाविसले मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल एक्समा लेख्दै भने,’यो सहकार्यले भारतलाई स्याटेलाइट–सक्षम डिजिटल पूर्वाधारमा अग्रणी बनाउनेछ ।’

     

    यसअघि, भारतका सबैभन्दा ठूला दूरसञ्चार कम्पनीहरू जियो प्लेटफर्म्स र यसको प्रतिस्पर्धी भारती एयरटेलले समेत आफ्ना ग्राहकहरूलाई स्टारलिङ्क इन्टरनेट उपलब्ध गराउन मस्कको कम्पनी स्पेसएक्ससँग सम्झौता गर्ने योजना सार्वजनिक गरेका थिए ।

    स्टारलिङ्ककी व्यापार सञ्चालन उपाध्यक्ष लरेन ड्रेयरले भारतको डिजिटल दृष्टिकोणलाई समर्थन गर्न पाउँदा आफू ‘अत्यन्त उत्साहित’ भएको बताउँदै एक विज्ञप्तिमा भने, ‘स्टारलिङ्कले अन्तिम स्वीकृति प्राप्त गरेपछि हामी भारतका सबैभन्दा दुर्गम तथा असम्बन्धित क्षेत्रहरूमा विद्यालय, स्वास्थ्य संस्था र सार्वजनिक सेवाहरूलाई इन्टरनेटसँग जोड्नेछौँ ।’

    अहिले विश्वको पाँचौँ ठूलो अर्थतन्त्र भारतमा प्रमुख प्रविधि कम्पनीहरू तीव्र रूपमा आफ्नो व्यवसाय विस्तार गर्नतिर लागिरहेका छन् । अक्टोबर महिनामा गुगलले आगामी पाँच वर्षभित्र भारतमा १५ अर्ब डलर लगानी गरी देशकै सबैभन्दा ठूलो एआई हब र डेटा सेन्टर निर्माण गर्ने घोषणा गरेको थियो ।

    त्यस्तै, अमेरिकी प्रविधि कम्पनीहरू एन्थ्रोपिक र ओपनएआईले भारतमा आफ्ना कार्यालय खोल्ने तयारी गरिरहेका छन् भने पप्लेर्क्सिटीले जुलाईमा भारतीय दूरसञ्चार कम्पनी एयरटेलसँग ठूलो रणनीतिक साझेदारीको घोषणा गरेको थियो ।

    भारतको डिजिटल रूपान्तरणमा अब स्टारलिङ्कको प्रवेशले ग्रामीण र दुर्गम क्षेत्रका लाखौँ नागरिकलाई इन्टरनेट पहुँच दिलाउने नयाँ अध्याय सुरू गर्ने अपेक्षा गरिएको छ ।

     

  • दिल्लीमा बढ्दो वायु प्रदूषण : श्वासप्रश्वास जन्य रोगको उच्च जोखिम

    दिल्लीमा बढ्दो वायु प्रदूषण : श्वासप्रश्वास जन्य रोगको उच्च जोखिम

    काठमाडौं । दिल्लीमा वायु प्रदूषका कारण श्वासप्रश्वास जन्य रोगहरू जस्तै रूघा खोकी, दम र आँखाबाट पानी बग्ने, नाक बग्ने जस्ता रोगहरूबाट पीडित बिरामीहरुको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको दिल्लीका चिकित्सकहरूले बिहीबार बताएका छन् ।

    मिडियाका अनुसार भारतको नयाँ दिल्लीका अस्पतालहरू विगत केही दिन देखि त्यस्ता बिरामीहरूले भरिएका छन् ।

    दिल्लीको दक्षिणी भागमा धुवाँको तह बढ्दै गए पछि बिहीबार, दिल्लीका धेरै क्षेत्रहरूमा वायु गुणस्तर सूचकाङ्क ‘खराब’ श्रेणीमा रहेको जनाइएको छ ।

    वायु प्रदूषण नियन्त्रण गर्न सरकारले रुख तथा ‘सडकमा पानी छर्कने दिल्लीको शान्ति पथ क्षेत्रमा स्ट्रिटलाइटका खम्बाहरूमा वाटर मिस्ट स्प्रेयरहरू जडान गर्ने’ जस्ता विभिन्न उपायहरू गरिरहेको जनाइएको छ ।

    प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) का अनुसार ‘दिल्लीमा प्रदूषित र विषाक्त धुवाँको तह बढ्दै गएका कारण डाक्टरहरूले आँखाको समस्यामा ६० प्रतिशतले वृद्धि भएको रिपोर्ट गरेका छन् । डाक्टरहरूले प्रदूषित धुवाँ फोक्सोका लागि मात्र नभई आँखाका लागि पनि हानिकारक हुने चेतावनी दिएका छन् ।’

    दिल्लीस्थित राम मनोहर लोहिया अस्पतालमा मेडिसिनका प्राध्यापक पुलिन कुमार गुप्ताले आफू काम गर्ने अस्पतालमा वायु प्रदूषण सम्बन्धी रोगबाट पीडित बिरामीहरूको सङ्ख्या २२–२५ प्रतिशत रहेको बताएका छन् ।

    वायु प्रदूषणका कारण दिल्लीका बासिन्दाहरु प्रभावित भएको उल्लेख गर्दै बालबालिका र वृद्धवृद्धाहरू सबैभन्दा धेरै जोखिममा रहेको डाक्टरहरुले बताएका छन् । उनीहरुले दिल्लीका बासिन्दाहरूलाई सकेसम्म बाहिरी गतिविधिमा संलग्न नभइ अत्यावश्क कार्यहरु घर भित्रै बसेर गर्न सल्लाह दिएका छन् ।

  • फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु, सयभन्दा बढी बेपत्ता

    फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु, सयभन्दा बढी बेपत्ता

    काठमाडौं ।  मध्य फिलिपिन्समा आएको विनाशकारी टाइफुन ‘कलमेगी’ ले कम्तीमा १४० जनाको ज्यान लिएको छ भने १२७ जना अझै बेपत्ता रहेको पुष्टि गरिएको छ । देशका विभिन्न भागमा आएको अभूतपूर्व बाढी र भूस्खलनका कारण ठूलो जनधनको क्षति भएको छ । यसैबीच, यो आँधी हाल भियतनामतर्फ अगाडि बढिरहेको छ ।

    विपद् डेटाबेस इएम–डाटका अनुसार कलमेगी सन् २०२५ को अहिलेसम्मको सबैभन्दा घातक टाइफुन बनेको छ । गत वर्ष फिलिपिन्समै आएको ट्रामी तेस्रो सबैभन्दा घातक टाइफुन थियो, जसले १९१ जनाको ज्यान लिएको थियो ।

    यसपटक, सेबु प्रान्तका सहरहरूमा आएको अभूतपूर्व बाढीले नदी किनारका झुपडीदेखि सवारीसाधन र ठूला ढुवानी कन्टेनरहरूसम्म बगाएको छ । बाढीका कारण जनजीवन पूर्णरूपमा अस्तव्यस्त बनेको छ ।

    राष्ट्रिय नागरिक सुरक्षा कार्यालयका अनुसार बिहीबारसम्म ११४ जनाको मृत्यु पुष्टि गरिएको थियो, तर सेबु प्रान्तका अधिकारीहरूले थप २८ जनाको मृत्यु दर्ता गरेपछि कुल सङ्ख्या १४० पुगेको छ ।

    सेबु सहर नजिकैको लिलोन सहरमा मात्र ३५ वटा शव प्राप्त भएको छ । एएफपीका प्रत्यक्षदर्शी पत्रकारहरूले बाढीले कारहरू एक–अर्काको माथि थुप्रिएको, घरका छत भत्किएका र बासिन्दाहरूले माटो र भग्नावशेषबाट आफ्ना प्रियजनलाई खोज्ने हतास प्रयास गरिरहेको दृश्य देखेका छन् ।

    स्थानीय बासिन्दा क्रिस्टिन एटोनले आफ्नी अपाङ्ग बहिनी मिशेललाई बाढीको पानीले बगाउँदा बचाउन नसकेको दुःखद अनुभव सुनाए । ‘हामीले ढोका फुटाउन भान्साको चक्कु र क्रोबार प्रयोग गर्‍यौँ तर त्यसले काम गरेन । फ्रिज बग्न थाल्यो । म र मेरा बुबा तैरेर बाहिर निस्क्यौँ तर मेरी बहिनी फँसिन्’, आँखा रसाउँदै उनले भने, ‘बुबाले भन्नुभयो, ‘यदि हामी फर्क्यौं भने हामी सबै मर्छौं ।’

    अर्का बासिन्दा, दुई सन्तानका पिता चिरोस रोआले भने, ‘हाम्रो कुकुरको भोको आवाजले हामीलाई बचायो । पानी घरमा पस्दा हामी छतमा पुगेका थियौँ । तर उद्धारका लागि बोलाउँदा कोही पनि आएनन्—हामीले सुनेका थियौँ, केही उद्धारकर्ताहरू करेन्टमा परेका रहेछन् ।’

    राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले ‘राष्ट्रिय विपत्तिको अवस्था’ घोषणा गर्दै राहतका लागि सरकारी कोष खोल्ने तथा आवश्यक सामग्रीहरूको मूल्यमा सीमा तोक्ने आदेश दिएका छन् ।

    राज्य मौसम विज्ञ बेनिसन एस्टारेजाले भने, ‘कलमेगीले सेबुमा सामान्यतया नोभेम्बर महिनामा पर्ने वर्षाको भन्दा १.५ गुणा बढी पानी पर्‍यो । यस्तो घटना करिब ‘हरेक २० वर्षमा एकपटक’ मात्र देखिन्छ ।’ उनका अनुसार सेबुको अत्यधिक सहरीकरणले बाढीको क्षति अझै भयावह बनाएको हो ।

    स्थानीय व्यापारी रेनाल्डो भर्गारा भन्छन्,  बिहान ४–५ बजेतिर पानीको बहाव यति शक्तिशाली थियो कि बाहिर निस्कनै सकिँदैनथ्यो । मैले यस्तो दृश्य जीवनमा कहिल्यै देखेको थिइनँ ।’ उनको पसल पूर्ण रूपमा नष्ट भएको छ ।

    प्रान्तीय गभर्नर पामेला बारिकुएट्रोले एक रेडियो अन्तर्वार्तामा अवस्थालाई ‘अभूतपूर्व’ भन्दै जनतालाई उच्च सतर्क रहन आग्रह गरे ।

    वैज्ञानिकहरूका अनुसार मानवसिर्जित जलवायु परिवर्तनका कारण हालका टाइफुनहरू अझ शक्तिशाली र विनाशकारी बन्दै गएका छन् । तातो महासागरहरूले आँधीलाई द्रुत रूपमा बलियो बनाउँछन् र तातो वायुमण्डलले बढी आद्र्ता राख्ने भएकाले वर्षा असामान्य रूपमा तीव्र हुन्छ ।

    यता, कलमेगी बिहीबार साँझसम्म भियतनामतर्फ बढ्दै गएको छ । टाइफुनको हावाको गति बढ्दै गएको र यसले मध्य भियतनाममा आठ मिटर अग्लो छाल र शक्तिशाली वर्षा ल्याउने अनुमान गरिएको छ ।

    भियतनामका उपप्रधानमन्त्री ट्रान होङ हाले स्थानीय प्रशासनलाई कलमेगीलाई ‘तत्काल र खतरनाक आपत’ का रूपमा लिँदै पूर्वतयारीका सम्पूर्ण कदम चाल्न निर्देशन दिएका छन् । तटीय क्षेत्रका हजारौँ बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सार्न आदेश दिइएको छ ।

    सामान्यतया हरेक वर्ष १० वटा टाइफुन वा उष्णकटिबन्धीय आँधीबेहरीले भियतनाममा प्रत्यक्ष वा अप्रत्यक्ष असर गर्छन्, तर कलमेगी सन् २०२५ को १३औँ टाइफुन हो ।

    फिलिपिन्समा यस वर्ष मात्रै २० वटा आँधीबेहरी आइसकेका छन् । राज्य मौसम विज्ञ चार्मेन वारिलाका अनुसार डिसेम्बरको अन्त्यसम्म ‘कम्तीमा तीनदेखि पाँच थप आँधीबेहरी’ आउन सक्ने सम्भावना छ ।

    त्यस्तै, देशको पूर्वी भागमा अझै ट्रपिकल स्टोर्म ‘फङ–वोङ’ सक्रिय छ । यसले मुख्य टापु लुजोनतर्फ अघि बढ्दै शक्तिशाली सुपर टाइफुनमा रूपान्तरण हुने चेतावनी दिइएको छ ।

    फिलिपिन्स सरकारले राहत, उद्धार र पुनःस्थापनाका कार्यलाई तीव्र पार्दै देशव्यापी सतर्कता आदेश जारी गरेको छ ।

    – रासस

  • बिहार निर्वाचन : चार घण्टामा २७ प्रतिशत भोट खस्यो, नक्सल प्रभावित क्षेत्रमा बीस वर्षपछि मतदान

    बिहार निर्वाचन : चार घण्टामा २७ प्रतिशत भोट खस्यो, नक्सल प्रभावित क्षेत्रमा बीस वर्षपछि मतदान

    काठमाडौं । बिहार विधानसभाको पहिलो चरणको निर्वाचन बिहीबार बिहान ७ बजेदेखि सुरु भएको छ । मुंगेर जिल्लास्थित नक्सल प्रभावित क्षेत्र भीमबन्दमा २० वर्षमा पहिलो पटक मतदान भएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । समाचारअनुसार स्थानीयहरूले अन्ततः आफ्नो मताधिकार प्रयोग गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् ।

    बिहान ११ बजेसम्म २७.६५% मतदाताले मतदान गरेको भारतीय निर्वाचन आयोगले जनाएको छ ।

    आयोगका अनुसार पहिलो चरणको विधानसभा चुनावको पहिलो चार घण्टामा बेगुसरायमा ३०.३७% मतदान भएको छ भने राज्यको राजधानी पटनामा बिहान ११ बजेसम्म २३.७१ प्रतिशत मतदान भएको छ।

    मतदान सुरु हुँदा कम सहभागिता देखिएको लखीसरायमा ३०.३२ प्रतिशत पुगेको छ। अन्य जिल्लाहरूमा गोपालगञ्ज ३०.०४%, बक्सरमा २८.०२%, भोजपुरकम २६.७६%, दरभंगामा २६.०७%, खगरियामा २८.९६%, मधेपुरामा २८.४६%, मुंगेरमा २६.६८%, मुजफ्फरपुरमा २९.६६%, साहारामा २९.६६%, सहरमा २९.६८%, समस्तीपुर २७.९२%, सारन २८.५२%, शेखपुरा २६.०४%, सिवान २७.०९%, वैशालीमा २८.६७% मतदान भएको तथ्याङ्क छ ।

     

  • आईपिएलको नयाँ च्याम्पियन रोयल च्यालेन्जर्स बेङ्गलुरुलाई २ अर्ब डलरसम्ममा बेच्ने तयारी

    आईपिएलको नयाँ च्याम्पियन रोयल च्यालेन्जर्स बेङ्गलुरुलाई २ अर्ब डलरसम्ममा बेच्ने तयारी

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटको नयाँ च्याम्पियन रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) का मालिकहरूले टोली बिक्री गर्ने सम्भावनाबारे गम्भीर रूपमा विचार गर्न थालेका छन् । यो प्रतिष्ठित फ्रेन्चाइजको मूल्याङ्कन करिब दुई अर्ब अमेरिकी डलरसम्म पुग्ने अनुमान गरिएको छ ।

    विश्वप्रसिद्ध पेय पदार्थ कम्पनी डियाजियोको भारतीय शाखा युनाइटेड स्पिरिट्स लिमिटेड (युएसएल) ले मुम्बई स्टक एक्सचेन्जमा दर्ता गराएको विवरणमा आरसिबीमा गरेको लगानीको ‘रणनीतिक समीक्षा’ सुरू भएको औपचारिक रूपमा जनाएको छ ।

    युएसएलका प्रमुख कार्यकारी अधिकृत प्रवीण सोमेश्वरले बुधबार पठाइएको पत्रमा आरसिबीलाई ‘एक मूल्यवान र रणनीतिक सम्पत्ति’ भनेका छन् । तथापि, उनले यसलाई ‘हाम्रो मुख्य अल्कोबेभ व्यवसायसँग प्रत्यक्ष रूपमा सम्बन्धित नभएका’ कारण समीक्षा आवश्यक भएको बताए ।

    ‘यो निर्णयले युएसएल र डियाजियो दुवैको भारतस्थित व्यवसायिक पोर्टफोलियोको समीक्षा र सुदृढीकरणप्रति प्रतिबद्धता झल्काउँछ’, सोमेश्वरले भने, ‘हामी आरसिबी र त्यससँग सम्बन्धित सम्पूर्ण हितलाई प्राथमिकतामा राख्नेछौँ ।’

    यो समीक्षा प्रक्रिया पुरुष तथा महिला दुवै टोलीका स्वामित्व सम्हाल्ने रोयल च्यालेन्जर्स स्पोर्ट्स प्राइभेट लिमिटेड सम्म फैलिने बताइएको छ र आगामी वर्षको मार्चसम्ममा यसको निष्कर्ष आउने अपेक्षा गरिएको छ ।

    सन् २००८ मा स्थापना भएको यो चर्चित टी–२० क्रिकेट लिगमा आरसिबीले पहिलो पटक यसै वर्ष जुन महिनामा आइपिएल उपाधि जित्दै ऐतिहासिक उपलब्धि हासिल गरेको थियो । ब्लुमबर्ग न्युजका अनुसार, टोलीका मालिकहरू अहिले ‘क्लबको केही हिस्सा वा सम्पूर्ण स्वामित्व बिक्री गर्ने सम्भावनाबारे विचार गर्दै’ दुई अर्ब डलरसम्मको मूल्याङ्कन लक्ष्य राखिरहेका छन् ।

    तर विजयको उत्सवपछि आरसिबीमाथि दुःखद क्षण पनि आयो । अहमदाबादमा अन्तिम जित हासिल गरेको एक दिनपछि, बैङ्गलोरको एम. चिन्नास्वामी स्टेडियम बाहिर आयोजित विजय परेडमा ठेलमठेल हुँदा ११ जना प्रशंसकको मृत्यु भयो भने ५० भन्दा बढी घाइते भए । हजारौँको भीडले आफ्ना प्रिय नायक विराट कोहली र विजयी टोलीलाई घर फर्किँदा स्वागत गर्न सडकमा उत्रिएका थिए ।

    प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनालाई ‘पूर्ण रूपमा हृदयविदारक’ भन्दै गहिरो शोक प्रकट गरेका थिए । कप्तान कोहलीले पनि सामाजिक सञ्जालमार्फत लेख्दै आफू ‘शब्दविहीन र अत्यन्त पीडित’ भएको प्रतिक्रिया दिएका थिए ।

    आरसिबीको सम्भावित बिक्रीबारे हुने यो समीक्षा र निर्णयले भारतीय खेल इतिहासमै सबैभन्दा ठूलो व्यावसायिक सम्झौता बन्ने सम्भावना देखिएको छ ।

  • विधानसभा चुनावका लागि बिहारमा पहिलो चरणको मतदान सुरु

    विधानसभा चुनावका लागि बिहारमा पहिलो चरणको मतदान सुरु

    काठमाडौं । भारतको बिहार राज्यमा आजदेखि विधानसभा चुनावको पहिलो चरण अन्तर्गत मतदान सुरु भएको छ । कुल २४३ सिटमध्ये पहिलो चरणमा १८ जिल्लाका १२१ सिटका लागि बिहान ७ बजेदेखि मतदान भइरहेको हो, जुन साँझ ६ बजेसम्म चल्नेछ ।

    पहिलो चरणको मतदानमा चर्चित नेतादेखि कलाकारसम्म प्रतिस्पर्धामा छन् । तेजस्वी यादव, तेजप्रताप यादव, अनन्त सिंह, लोक गायिका मैथिली ठाकुर, भोजपुरी गायक रितेश पाण्डे, फिल्म स्टार खेसारी लाल यादव र ओसामा शाहबलगायतका उम्मेदवार चर्चामा रहेका छन ।

    मतदान पटना, वैशाली, नालन्दा, दरभंगा, बक्सर, सारण, सिवान, सहरसा, बेगुसराय, गोपालगञ्ज, समस्तीपुर, मधेपुरा, मुंगेर, लखीसराय, भोजपुर, मुजफ्फरपुर, खगरिया र शेखपुरा जिल्लामा भइरहेको छ ।

    करिब ३ करोड ७५ लाख मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने अपेक्षा गरिएको छ। पहिलो चरणमा १,३१४ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

    मतगणना नोभेम्बर १४ मा हुने तय गरिएको छ । निर्वाचनका लागि ४५,३४१ मतदान केन्द्र स्थापना गरिएको छ भने सुरक्षाका लागि करिब ४ लाख ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

  • अमेरिकी सरकारी शटडाउन इतिहासकै सबैभन्दा लामो, हवाई सेवा र जनजीवनमा असर

    अमेरिकी सरकारी शटडाउन इतिहासकै सबैभन्दा लामो, हवाई सेवा र जनजीवनमा असर

    काठमाडौं । अमेरिकी इतिहासको सबैभन्दा लामो सरकारी शटडाउन बुधबार पूरा भएको छ । यो शटडाउनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालको ३५ दिनको रेकर्ड तोडेको छ । कङ्ग्रेसले गत सेप्टेम्बर ३० सम्म बजेट पारित गर्न असफल भएपछि सरकारी कोष रोकिँदै आएको छ । यसले सङ्घीय निकायहरूदेखि सर्वसाधारणको दैनिकीसम्म गम्भीर असर पारेको छ ।

    सरकारी कार्यक्रमहरू ठप्प हुँदा लाखौँ अमेरिकीलाई अत्यावश्यक खाद्यान्न र सहायता पाउन कठिनाइ भइरहेको छ । हाल १४ लाखभन्दा बढी सङ्घीय कर्मचारी — एयर ट्राफिक कन्ट्रोलरदेखि राष्ट्रिय पार्कका वार्डनसम्म — तलब बिना काम गरिरहेका छन् वा जबरजस्ती बिदामा बस्न बाध्य भएका छन् ।

    मध्यरातमा रेकर्ड तोडिनु अघि नै ट्रम्प प्रशासनले आगामी सात दिनभित्र हवाई सेवा पूर्ण रूपमा अव्यवस्थित हुन सक्ने चेतावनी दिएको थियो । कर्मचारीहरूको अभावका कारण देशका प्रमुख विमानस्थलहरूमा लामो पङ्क्ति र सम्भावित उडान रद्द हुने स्थिति देखिएको छ ।

    ‘यदि डेमोक्रेटहरूले अहिले समाधान खोजेनन् भने एक हप्ताभित्र देशव्यापी हवाई अराजकता देख्न सकिनेछ’, यातायातमन्त्री सीन डफीले फिलाडेल्फियामा आयोजित पत्रकार सम्मेलनमा भने, ‘हामीसँग आवश्यक सङ्ख्यामा नियन्त्रक नभए हवाई क्षेत्रका केही भागहरू बन्द गर्नुपर्ला ।’

    अमेरिकी अटोमोबाइल एसोसिएसन (एएए) का अनुसार यस वर्षको थ्याङ्क्सगिभिङमा ५८ लाख नागरिकले हवाई यात्रा गर्ने अनुमान छ — जुन नयाँ रेकर्ड हुनेछ । तर ६० हजारभन्दा बढी हवाई यातायात नियन्त्रक र ट्रान्सपोर्ट सुरक्षा अधिकारीहरू तलब बिना काममा निरन्तर खटिँदा सेवा प्रभावित हुने जोखिम बढेको छ ।

    सन् २०१९ मा भएको यस्तै शटडाउन अन्त्य गराउन पनि हवाई कर्मचारीहरूको सामूहिक बिरामी बिदा निर्णायक बनेको थियो ।

    शटडाउनको मूल कारण भनेको स्वास्थ्य सेवासम्बन्धी खर्च हो । डेमोक्रेटहरू लाखौँ अमेरिकीका लागि स्वास्थ्य बीमामा दिइँदै आएको अनुदानको म्याद सकिएपछि मात्र बजेटमा सहमति जनाउने अडानमा छन् । तर रिपब्लिकनहरू स्वास्थ्य विषयलाई पछि सम्बोधन गर्ने शर्तमा अहिले नै सरकारी कार्य पुनः सुरु गर्न दबाब दिइरहेका छन् ।

    यद्यपि, पछिल्ला दिनहरूमा केही मध्यमार्गी सांसदहरूले समाधानको सङ्केत देखाएका छन् । दुई पार्टीका चार प्रतिनिधिले स्वास्थ्य बीमा लागत घटाउने उद्देश्यसहित सोमबार एउटा प्रारम्भिक समझदारी ढाँचा सार्वजनिक गरेका छन् ।

    डेमोक्रेटहरूले अमेरिकी नागरिकहरूले नयाँ वर्षका लागि स्वास्थ्य बीमा लिन खोज्दा बढ्दो प्रिमियमको सामना गरेपछि रिपब्लिकनहरू सम्झौता गर्न बाध्य हुनेछन् भन्ने आशा गरेका छन् । तर राष्ट्रपति ट्रम्प भने अझै अडिग देखिएका छन् । सिबिएस न्युजसँगको अन्तर्वार्तामा उनले भने, ‘म जबरजस्ती स्वीकार गर्ने पक्षमा छैन ।’

    शटडाउनलाई आफ्ना राजनीतिक विरोधीहरूलाई दबाबमा राख्ने माध्यम बनाउने ट्रम्प प्रशासनले सङ्घीय कामदारहरूलाई तलब नदिने चेतावनी जारी गरेको छ । साथै प्रगतिशील नीतिहरूमा कटौती गर्न खोजेको आरोप पनि लागेको छ ।

    अदालतहरूले केही कदमहरू रोकेका छन्, तर प्रशासनले ‘सप्लिमेन्टल न्युट्रिशन असिस्टेन्स प्रोग्राम’ (एसएनएपी) अन्तर्गत चार करोड २० लाख अमेरिकीलाई किराना किन्न सहयोग गर्ने कोष रोक्ने धम्की दोहोर्‍याएको छ । तर ह्वाइट हाउसले पछि स्पष्टीकरण दिंदै भनेको छ, ‘सरकार आफ्नो कानूनी दायित्वको पूर्ण रूपमा पालना गर्दैछ र सकेसम्म चाँडो आंशिक सहायता वितरण गर्ने प्रयासमा छ ।’

    -राससएएफपी

  • बिहार निर्वाचन : १२१ विधानसभा सिटमा १३१४ उम्मेदवार

    बिहार निर्वाचन : १२१ विधानसभा सिटमा १३१४ उम्मेदवार

    काठमाडौं : भारतको बिहार विधान सभाको पहिलो चरणको निर्वाचन ६ नोभेम्बरमा हुँदैछ । चुनाव आयोगले पहिलो चरणका लागि सबै तयारी पूरा गरेको बताएको छ ।

    बिहारमा पहिलो चरणको मतदान भोलि अर्थात् ६ नोभेम्बर हुन गइरहेको छ । ११५ विधानसभा सिटका लागि ४५ हजार ३ सय ४१ मतदान केन्द्रमा बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म मतदान हुँदैछ ।

    ६ विधानसभा क्षेत्रका २ हजार १ सय ३५ मतदान केन्द्रमा बिहानबजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदैछ ।

    बुधबार बिहानदेखि नै मतदानका लागि आवश्यक सामग्री तयार गरिएको छ । साँझ सबै मतदान केन्द्रमा सुरक्षा बलको उपस्थित रहने छ । बिहीबार बिहान ५ बजेदेखि बुथ एजेन्टको उपस्थितिमा पोल निर्माण गरिने छ । सात बजेदेखि मतदान सुरु हुनेछ ।

    पहिलो चरणमा १८ जिल्लाका १२१ सिटमा मतदान हुँदै

    भारतीय सञ्चारमाध्यम अमरउजालाका अनुसार पहिलो चरणमा १८ जिल्लाका १२१ सिटमा मतदान हुनेछ । जिल्लाहरुमा मधेपुरा, सहरसा, दरभंगा, मुजफ्फरपुर, गोपालगंज, सिवान, सारण, वैशाली, समस्तीपुर, बेगूसराय, खगडिया, मुंगेर, लखीसराय, शेखपुरा, नालंदा, पटना, भोजपुर, र बक्सर रहेका छन् ।

    यी १२१ सिटमा कुल २ हजार ४ सय ९६ उम्मेदवारी परेको थियो । जाँच अनुसन्धानका क्रममा १ हजार ९ सय ३९ लाई वैध मानिएको छ । ती मध्ये ७० प्रत्यासीले उम्मेदवारी फिर्ता लिएका छन् ।

    छनोट गर्दै जाँदा उम्मेदवारको कुल वास्तविक सङ्ख्या १ हजार ३ सय १४ पुगेको छ । ती मध्ये १ हजार १ सय ९२ पुरुष र १ सय २२ महिला उम्मेदवार छन् । पहिलो चरणमा १०२ सामान्य र १९ अनुसूचित जातिका लागि आरक्षित सिटमा मतदान हुने बताइएको छ ।

    १०० वर्षभन्दा बढी उमेरका ६७३६ मतदाता

    सञ्चारमाध्यमका अनुसार पहिलो चरणको निर्वाचनमा जम्मा ३ करोड ७५ लाख १३ हजार ३०२ मतदाताले मताधिकार प्रयोग गर्नेछन् ।

    एक करोड ९८ लाख ३५ हजार ३२५ पुरुष र एक करोड ७६ लाख ७७ हजार २१९ महिला र ७५८ लैङ्गिक अल्पसङ्ख्यक मतदाता छन् ।

    यस्तै एक लाख ९०४ सर्भिस भोटरले पनि मतदान गर्नेछन् । मतदान केन्द्रमा अपाङ्गता भएका र ज्येष्ठ नागरिक मतदाताका लागि विशेष सुविधा सुनिश्चित गरिएको छ ।

    ३ लाख २२ हजार ७७ मतदाता अपाङ्गता भएका छन् भने ५ लाख ३१ हजार ४२३ ज्येष्ठ नागरिक रहेका छन् । (जसमध्ये ८० वर्षदेखि बढी उमेरका ५ लाख २४ हजार ६८७ र १०० वर्षभन्दा बढी उमेर समूहका ६ हजार ७ सय ३६ मतदाता रहेका छन् ।)

    पहिलो चरणको मतदानमा सात लाख ३७ हजार ७६५ मतदाताले पहिलो पटक मतदान गर्नेछन् । तीमध्ये १८ वर्षदेखि १९ वर्ष उमेरका मतदाता छन् । त्यस्तै १८ देखि ४० वर्षका बीचका १ करोड ९६ लाख २७ हजार ३३० युवा मतदाता निर्वाचनमा सहभागी हुनेछन् ।

  • अमेरिकी सामानमा लगाइने अतिरिक्त शुल्क एक वर्षका लागि स्थगित गर्ने चीनको निर्णय

    अमेरिकी सामानमा लगाइने अतिरिक्त शुल्क एक वर्षका लागि स्थगित गर्ने चीनको निर्णय

    काठमाडौं । चीनले अमेरिकी सामानमा लगाइने अतिरिक्त शुल्क एक वर्षका लागि स्थगित गर्ने निर्णय गरेको छ । यससँगै विश्वका दुई ठूला अर्थतन्त्रबीचको नाजुक व्यापार युद्धविराम आगामी वर्षसम्म कायम रहने भएको छ ।

    चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गत हप्ताको भेटवार्तामा भएको सम्झौतालाई औपचारिक रूप दिँदै चीनले यस्तो निर्णय गरेको बेइजिङको स्टेट काउन्सिललाई उद्धृत गर्दै चीनको वित्त मन्त्रालयले बुधबार आफ्नो वेबसाइटमार्फत प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ ।

    ‘अमेरिकी सामानहरूमा लगाइने २४ प्रतिशत कर एक वर्षका लागि स्थगित गरिनेछ र १० प्रतिशत कर भने यथावत् रहनेछ ।’ उक्त निर्णय नोभेम्बर १० देखि लागू हुनेछ । मन्त्रालयका अनुसार यो कदम ‘चीन–अमेरिका आर्थिक र व्यापार परामर्शमा पुगेको सहमति’ अनुसार आएको हो ।

    दुई राष्ट्रका शीर्ष नेताहरूले अक्टोबरको अन्त्यतिर दक्षिण कोरियामा भएको भेटवार्तामा आपसी सहमतिबाट व्यापारिक तनाव घटाउने प्रारम्भिक कदम चालेका थिए । त्यसले पछिल्ला महिनाहरूमा अनेकौँ चरणमा चलेको वार्तालाई स्थायित्व दिँदै प्रभावकारी रूपमा एक वर्षको व्यापार युद्धविराम विस्तार गरेको बताइएको छ ।

    मङ्गलबार राष्ट्रपति ट्रम्पले नोभेम्बर १० बाट लागू हुने गरी वासिङ्टनले चिनियाँ आयातमा लगाइएको अतिरिक्त शुल्क २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा ल्याउने निर्णय घोषणा गरेका थिए ।

    गत वर्षदेखि एकअर्काका वस्तुहरूमा लगातार उच्च कर लगाइँदै आएपछि बेइजिङ र वासिङ्टनबीचको तनावले विश्व बजारमा अनिश्चितता निम्त्याएको थियो । कुनै चरणमा दुवै देशका कर दरहरू तीन अङ्कको स्तरमा पुगेका थिए, जसले द्विपक्षीय व्यापारलाई ठप्प पार्ने अवस्था ल्याएको थियो ।

    हालैका महिनाहरूमा निर्यात नियन्त्रण, प्रविधि हस्तान्तरण र औद्योगिक नीतिजस्ता विषयमा उत्पन्न तनावका बीच दुवै देशका शीर्ष आर्थिक अधिकारीहरूले वार्ताको माध्यमबाट असहज शान्ति कायम राखेका समाचार संस्था एएफपीले उल्लेख गरेको छ ।

    छुट्टै वक्तव्यमा, चीनले अमेरिकी कृषि उत्पादनहरूमा लगाइएको ‘अतिरिक्त कर उपायहरू कार्यान्वयन गर्न अस्थायी रूपमा रोक लगाउने’ घोषणा गरेको छ । यो निर्णय ट्रम्प प्रशासनले चीनमाथि फेन्टानिल नियन्त्रणसम्बन्धी कठोर नीति अपनाउँदै अतिरिक्त कर दोब्बर बनाउने कदमको प्रतिक्रियास्वरूप आएको हो । अब ती करहरू पुनः १० प्रतिशतमा झर्नेछन् ।

    बेइजिङले विगतमा अमेरिकाबाट आयात हुने कुखुरा, गहुँ, मकै र कपासमा १५ प्रतिशत र सोयाबिन, सुँगुरको मासु, गाईको मासु, दुग्ध तथा अन्य कृषि उत्पादनहरूमा थप १० प्रतिशत शुल्क लगाएको थियो । ती कदमले विशेषतः अमेरिकी किसानहरू—ट्रम्पको मुख्य राजनीतिक समर्थन आधार—लाई गम्भीर असर पारेको थियो ।

    गत वर्ष मात्र अमेरिकी सोयाबिन निर्यातको आधाभन्दा बढी चीनमा गएका थिए, तर व्यापार विवाद तीव्र बन्दै गएपछि चीनले ती सबै अर्डरहरू रद्द गरेको थियो ।

    वार्तापछि चीनले दुर्लभ पृथ्वी तत्वहरूको निर्यातमा लगाइएका प्रतिबन्धहरू पनि एक वर्षका लागि निलम्बन गर्न सहमति जनाएको छ । यी तत्वहरू रक्षा उद्योग, विद्युतीय सवारी साधन र उपभोक्ता इलेक्ट्रोनिक्स निर्माणमा अत्यावश्यक मानिन्छन् र यस क्षेत्रमा चीनको वैश्विक प्रभुत्व रहेको छ ।

    चिनियाँ वाणिज्य मन्त्रालयका अनुसार वासिङ्टनले पनि कालोसूचीमा परेका विदेशी कम्पनीहरूका ५० प्रतिशत साझेदारी भएका सहायक कम्पनीहरूमा लगाइने ‘एन्टिटी लिस्ट’ निर्यात प्रतिबन्ध एक वर्षका लागि स्थगित गर्ने सहमति जनाएको छ ।

    त्यसैगरी, अमेरिकी सरकारले चीनको जहाज निर्माण उद्योगमाथि लक्षित प्रतिबन्धात्मक उपायहरू पनि एक वर्षका लागि रोक्ने निर्णय गरेको छ । यससँगै दुवै पक्षले एकअर्काका जहाजहरूमा लगाइँदै आएका पोर्ट शुल्कहरू पनि निलम्बन गर्ने भएका छन् ।

    अमेरिकाको पछिल्लो कदमपछि चीनले आफ्नो ‘प्रतिआक्रमणात्मक शुल्क नीति’ पनि एक वर्षका लागि स्थगित गर्ने घोषणा गर्दै द्विपक्षीय आर्थिक सम्बन्ध सुधारतर्फ सकारात्मक सन्देश दिएको छ ।

    – रासस

  • नेपालबाट प्रभावित राहुल गान्धी भन्छन् : भारतीय जेन-जीसँग सत्य र अहिंसासँगै प्रजातन्त्र पुनर्बहाली गर्ने सामर्थ्य छ

    नेपालबाट प्रभावित राहुल गान्धी भन्छन् : भारतीय जेन-जीसँग सत्य र अहिंसासँगै प्रजातन्त्र पुनर्बहाली गर्ने सामर्थ्य छ

    काठमाडौं । बिहार विधान सभाको पहिलो चरणको निर्वाचनका लागि एक दिनमात्रै समय छ । भारतीय कांग्रेसको राष्ट्रिय मुख्यालय नयाँ दिल्लीमा बुधबार आयोजित पत्रकार भेटघाटमा कांग्रेस सांसद तथा विपक्षी दलका नेता राहुल गान्धीले जेन-जीसँग शक्ति भएको उद्घोष गरे ।

    तस्बिरमा उनी एउटा प्रेजेन्टेसनअघि उभिएका छन् । उनको पृष्ठभूमिमा ‘भारतीय जेन-जी र युवासँग सत्य र अहिंसासँगै प्रजातन्त्र पुनर्बहाली गर्ने सामर्थ्य छ ।’ भन्ने वाक्यांश लेखिएको छ ।

    हिन्दुस्तान टाइम्स लेख्छ- राहुलको ध्यान जेन-जीमाथि थियो ।  ५ नोभेम्बरमा आयोजित पत्रकार सम्मेलनमा स्पष्ट देखिएको थियो । जेन-जी छिमेकी देश नेपालमा सरकार ढाल्ने प्रदर्शनकारीको उमेर समूह हो ।

    कांग्रेस नेता राहुल गान्धीले चुनाव आयोग र सत्तारुढ भाजपाद्वारा धाँधली गरिएको प्रमाण नयाँ दिल्लीमा पेश गरे ।

    हरियाणामा गत वर्ष कांग्रेस भाजपासँग पराजित भएको थियो । बिहारमा आसन्न निर्वाचनमा भाजपा-जदयू गठबन्धनलाई कांग्रेसले पराजित गर्ने अपेक्षा गरिएको छ । राहुलको आरोपको मूल आधार फर्जी मतदाता ‘भाजपालाई सहयोग गर्नका लागि’ समावेश गरिएको थियो वा हटाइएको थियो ।

    कांग्रेस राष्ट्रिय मुख्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा पहिला केही वाक्यमा नै राहुलले जेन-जीलाई सम्बोधन गरेका थिए । बिहार चुनावमा मतदान हुन केही समय बाँकी रहेको अवस्थामा उनले आयोजित पत्रकार सम्मेलनमा आफ्नो केही प्रस्तुतीकरण दिएका थिए । उनले भने,’म चाहान्छु कि जेन-जीले यी विषयको गम्भीर्यता बुझ्नुपर्छ, किनभने तपाईंको भविष्य तपाईंबाट खोसिंदैछ ।’

  • न्युयोर्कमा जोहरानको जितपछि फेरि चर्चामा छिन् ‘कान्छी कम्युनिस्ट’ मेयर आर्या

    न्युयोर्कमा जोहरानको जितपछि फेरि चर्चामा छिन् ‘कान्छी कम्युनिस्ट’ मेयर आर्या

    काठमाडौं । कुरा पाँच वर्षअगाडिको हो। अमेरिकाको न्यूयोर्क सहरका युवा जोहरान माम्दानीले दक्षिण भारतको एक समाचार ट्वीटरमा सेयर गरेका थिए । समाचार थियो-२१ वर्षकै उमेरमा मेयर भएकी आर्या राजेन्द्रनको ।

    आर्याले भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) बाट कम्युनिस्ट शासित केरल प्रदेशको थिरुवनन्तपुरमको मेयर पदमा विजय प्राप्त गरेकी थिइन्। उक्त पोस्ट सेयर गर्दै जोरामले लेखेका थिए- ‘त्यसैले अब न्यूयोर्कलाई कस्तो खालको मेयर चाहिन्छ ?’

    विश्वकै कान्छी मेयरको रूपमा चर्चित बनेका कमरेड आर्याको पोस्टमा सन् २०२० मा चासो देखाएका जोरामले अहिले ३४ वर्षको उमेरमा डेमोक्रेटिक पार्टीबाट न्युयोर्कको मेयरमा बाजी मारेका छन् । उनले न्युयोर्कको सय वर्षको इतिहासमा सबैभन्दा कान्छो मेयरको कीर्तिमानमात्र राखेका छैनन्, पहिलो दक्षिण एशियाली मूलको मेयरको रेकर्ड पनि कायम गरेका छन् ।

    डेमोक्रेटहरूले जित्दै आएको अमेरिकाको सबैभन्दा ठूलो सहरमा उनी मेयर उम्मेदवार हुने प्रथम दक्षिण एसियाली मुस्लिम मूलका युवा थिए । उनको पुर्ख्यौली देश भारत हो । उनीका आमा मीरा नायर भारतीय अमेरिकी फिल्म निर्देशक हुन् ।

    हुन त डोनाल्ड ट्रम्पले ममदानीलाई कम्युनिस्ट र यहुदीविरोधी भन्दै उनले जितेमा संघीय सहयोग रोक्ने चेतावनी दिइसकेका छन् । ममदानी कम्युनिस्ट हुन् कि होइनन् उनले प्रष्ट पारको छैनन् तर उनी कट्टर यहुदीविरोधी र इजरायली नरसंहारको भने आलोचक हुन् ।

    को हुन् आर्या राजेन्द्रन

    भारतको केरल राज्यकी २६ वर्षीय आर्या राजेन्द्रन फेरि चर्चामा छिन् । उनले सन् २०२० मा भारतकी सबैभन्दा कान्छी मेयर बनेर इतिहास रचेकी थिइन्, र अहिले अमेरिकी सांसद तथा न्युयोर्कका नवनिर्वाचित मेयर जोहरन ममदानीले उनको प्रशंसा गरेपछि फेरि एकपटक राष्ट्रिय र अन्तर्राष्ट्रिय मिडियामा उनको नाम गुञ्जिएको छ ।

    आर्या राजेन्द्रन केरला राज्यको राजधानी तिरुवनन्तपुरम (त्रिवेन्द्रम) महानगरपालिकाको मेयर हुन् । उनी भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) को केन्द्रीय सदस्य हुन्। केवल २१ वर्षको उमेरमा मेयर बनेकी आर्याले भारतको शहरी राजनीतिमा नयाँ पुस्ताको प्रतिनिधित्व गरेकी मानिन्छ ।

    आर्या राजेन्द्रनको राजनीति विद्यार्थी जीवनदेखि सुरु भएको हो। विद्यार्थी जीवनमै उनी कम्युनिस्ट पार्टीको भातृ संगठन स्टुडेन्ट्स फेडरेशन अफ इण्डिया मार्फत राजनीतिमा सक्रिय भइन् । जसको परिणामस्वरूप उनले २०२० डिसेम्बरमा तिरुवनन्तपुरम महानगरपालिकाको मेयर पद हात पारिन् ।

    आर्या जनताको मेयर भनेर चिनिन्छिन् । उनका पति पनि कम्युनिस्ट पार्टीका युवा नेता तथा केरलाको विधान सभाका सांसद हुन् । मेयर बनेपछि आर्याले आफ्नो ध्यान सफा शहर, सार्वजनिक यातायात सुधार, र वातावरणमैत्री नीतिहरूमा केन्द्रित गरेकी छन् ।

  • ममदानीले ‘टर्न द भोल्यूम अप’ भनेपछि डोनाल्ड ट्रम्पको एउटा रहस्यमय नोट – एण्ड सो इट बिगिन्स् !

    ममदानीले ‘टर्न द भोल्यूम अप’ भनेपछि डोनाल्ड ट्रम्पको एउटा रहस्यमय नोट – एण्ड सो इट बिगिन्स् !

    काठमाडौं । न्युयोर्क शहरका नवनिर्वाचित मेयर जोहरान ममदानीले मंगलबार राति आफ्नो विजय भाषणमा डोनाल्ड ट्रम्पलाई सिधा आह्वा गर्दै भने- ट्रम्प विभाजन र नातावादको राजनीतिको सामना गर्न दृढ योजनाका साथ सिटी हलमा प्रवेश गर्नेछन् । जसले उनलाई ह्वाइट हाउसमा पुर्‍याउन मद्दत गरेको थियो ।

    पूर्व गभर्नर एन्ड्रयू कुओमोमाथि निर्णायक जितहासिल गरेपछि ब्रुकलिनमा समर्थकहरूलाई सम्बोधन गर्दै ममदानीले भने – न्युयोर्कले ‘राजनीतिक अन्धकारको क्षण’ मा ‘प्रकाशित’ हुने सङ्केत देखाएको छ।

    ट्रम्पले कम्युनिस्ट भनेका जोहरान ममदानी न्युयोर्कको मेयरमा निर्वाचित, राखे यस्ता कीर्तिमान

    ‘यहाँ हामी ती मानिसहरुका लागि उभिने कुरामा विश्वास गर्छौं कि जसले हामीलाई माया गर्छ । चाहे तपाईं आप्रवासी हुनुहोस्, ट्रान्स समुदाय होस्, डोनाल्ड ट्रम्पले संघीय जागिरबाट निकालेका धेरै अश्वेत महिलाहरूमध्ये होस्, किराना सामानको मूल्य घट्ने प्रतीक्षामा रहनु भएकी एकल आमा हुनुहोस्, वा पर्खालमा ढाड सेक्ने अरू कोही,’ शहरको पहिलो मुस्लिम मेयर बनेका ममदानीले भने, ‘अब न्यूयोर्क त्यस्तो शहर हुनेछैन जहाँ तपाईं इस्लामोफोबियाको त्रास देखाएर चुनाव जित्न सक्नुहुन्छ।’

    निर्वाचित मेयरले राष्ट्रपतिलाई सिधा आह्वान गर्दै भने – ट्रम्पलाई कसरी हराउने भनेर यदि कुनै शहरले देशलाई देखाउन सक्छ भने, त्यो ‘उनलाई जन्म दिने शहर’ हो ।

    यदि कुनै तानाशाहलाई डर देखाउने कुनै तरिका छ भने त्यस्तो परिस्थितिको अन्त्य गर्नुपर्छ जसको कारण उसले सत्ता प्राप्त गरेको होस् । यो मात्र ट्रम्पलाई रोक्ने तरिका होइन, आगामी ट्रम्पहरुलाई रोक्ने तरिका पनि हो ।’

    न्युयोर्क मेयर चुनाव : कम्युनिष्ट उम्मेदवारलाई भोट नहाल्न ट्रम्पको धम्की, ममदानीले जिते सहायता रोक्ने

    जोडदार तालिका बीच ममदानीले भने, ‘उसो भए डोनाल्ड ट्रम्प, किनभने मलाई थाहा छ, तपाईंले हेरिरहनु भएको छ, मसँग तपाईंका लागि चार शब्द छन्, ‘टर्न द भोल्यूम अप’ आवाजको तीव्रता अझ बढाउनुहोस् ।

    सञ्चार माध्यम द गार्जियनका अनुसार मध्यराति ममदानी कुओमोभन्दा ८ प्रतिशत बढी अङ्कले अघि थिए । यो परिणामले जून महिनामा भएको प्राइमरी इलेक्सन विजयीपश्चात् प्रजातान्त्रिक समाजवादी धारको आश्चर्यजनक प्रगति देखाउँछ भने अत्यधिक धनराशि खर्च गरेर स्वतन्त्र उम्मेदवारी पेश गरेका कुओमोको प्रतिष्ठामा नाटकीय गिरावट देखाउँछ ।

    ममदानीले मंगलबार राति समर्थकका अघि आफ्ना प्रमुख नीतिको फेहरिस्त सुनाए । उनले ट्रम्पको एजेण्डासँग कसरी प्रतिस्पर्धा गर्नेसमेत बताए । अर्बपति वर्गलाई फाइदा पुग्ने भ्रष्टाचारको संस्कृतिको अन्त्य, श्रम सुरक्षाको विस्तार र युनियनका साथ उभिने योजना ममदानीले सुनाए ।

    उनले भने, ‘न्युयोर्क प्रवासीको शहर भइरहनेछ । प्रवासीद्वारा निर्मित, प्रवासीद्वारा सञ्चालित र आज रातिदेखि एक प्रवासीको नेतृत्वमा । तसर्थ राष्ट्रपति मेरो कुरा ध्यानपूर्वक सुन्नुहोस्, हामीमध्ये कोही एकसम्म पुग्नका लागि तपाईंलाई हामीसबैसँग भएर अघि बढ्नुपर्ने हुन्छ ।’ ममदानीले थपे, ‘जब हामी ५८ दिनमा सिटी हलमा प्रवेश गर्नेछौं, त्यतिबेला अपेक्षा धेरै नै हुनेछ । हामी त्यसमा खरो रुपमा उत्रने छौं ।

    ममदानीको अनुमानित जित मंगलबार राति डेमोक्रेट्सको कयौं जितमध्ये एक थियो । मिकी शेरिललाई न्युजर्सीको गभर्नरका रुपमा निर्वाचित गरिएको थियो । र एबिगेल स्पेनबर्गर भर्जिनियाकी पहिलो महिला गभर्नर निर्वाचित भएकी थिइन् ।

    ट्रम्पले मंगलबार अबेर राति ट्रुथ सोसलमा डेमोक्रेटिक पार्टीको जितमाथि प्रतिक्रिया दिँदै सांसदसँग आग्रह गरेका थिए, उनीहरु तुरुन्त फिलिबस्टर (मतदानलाई ढिलाइ गर्न वा रोक्न प्रयोग गरिने रणनीति) लाई समाप्त गर्दै मतदान अधिकार सुधार पारित गर्नका लागि अगाडि बढ्नुहोस् ।

    जब ममदानी बोलिरहेका थिए, उनले राष्ट्रपति ट्रम्पलाई आवाज बढाउन अनुरोध गरिरहेका थिए त्यसको केही समयपछि ट्रम्पले ट्रुथ सोसलमा एउटा रहस्यमय नोट पोस्ट गरे- …एण्ड सो इट बिगिन्स् ! …र यसरी यो सुरु हुन्छ !

  • फिलिपिन्समा कालमेगी आँधीको बबन्डर

    फिलिपिन्समा कालमेगी आँधीको बबन्डर

    काठमाडौं । फिलिपिन्समा कालमेगी नामको आँधीबाट मृत्यु हुनेको संख्या ६६ पुगेको छ । सबैभन्दा बढी प्रभावित प्रान्त सेबुका बासिन्दाले ठूलो विनाशको सामना गरिरहेको समाचार संस्था रोयटर्सले जनाएको छ । समाचारका अनुसार घरहरू भग्नावशेषमा परिणत भएका छन् । सडकहरू भग्नावशेषले भरिएका छन् र जनजीवन अस्तव्यस्त छ ।

    मानवीय उद्धारका क्रममा मिन्डानाओ टापुको अगुसान डेल सुरमा हेलिकप्टर दुर्घटनाग्रस्त भएका ६६ जना सैन्य कर्मचारीमध्ये छ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । २६ जना बेपत्ता भएको र १० जना घाइते भएको स्थानीय प्रकोप एजेन्सीले जनाएको छ ।

    स्थानीय भाषामा टिनो भनिने कालमेगी आँधीबाट आएको विनाश उत्तरी सेबुमा ६.९ म्याग्निच्युडको भूकम्प गएको एक महिनापछि आएको हो । भूकम्पबाट दर्जनौंको मृत्यु भएको थियो र हजारौं विस्थापित भएका थिए ।

    समाचार अनुसार ‘फिलिपिन्समा आइपुगेको २० औं आँधी कालमेगी दक्षिण चीन सागर पार गर्दै भियतनाम जाँदै गर्दा थोरै तीव्र भयो, जहाँ शुक्रबार आँधी आउने अनुमान गरिएको छ र यसको पूर्वतयारी भइरहेको छ । मंगलबार बिहान जमिनमा पुगेपछि कमजोर बनेको कालमेगी दक्षिण चीन सागरमाथि पुनः बलियो हुने पूर्वानुमान राज्यको मौसम विज्ञान विभाग पगासाले आफ्नो पछिल्लो बुलेटिनमा जनाएको छ । घरहरू डुबानमा पार्ने र व्यापक बाढी र विद्युत आपूर्ति अवरुद्ध भएको छ । आँधी आउनुभन्दा पहिले दक्षिणी लुजोन र उत्तरी मिन्डानाओका केही भागहरू सहित भिसायास क्षेत्रभरि दुई लाखभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको थियो ।

    सेप्टेम्बरमा सुपर टाइफुन रागासाले उत्तरी लुजोनलाई बगाएको थियो । जसले गर्दा तीव्र हावा र मुसलधारे वर्षा ल्याएकाले विद्यालय र सरकारी कार्यालयहरू बन्द गर्नुपरेको थियो । राज्य मौसम एजेन्सी पागासाले कालमेगी र शियर लाइनको संयोजनले भिसाया र नजिकैका क्षेत्रहरूमा भारी वर्षा र तेज हावा ल्याएको बताएको छ। मंगलबार प्रभावित क्षेत्रहरूमा जाने र आउने १८० भन्दा बढी उडानहरू रद्द गरिएका थिए । समुद्रमा रहेकाहरूलाई तुरुन्तै नजिकको सुरक्षित बन्दरगाहमा जान र बन्दरगाहमै बस्न सल्लाह दिइएको थियो ।

    भियतनामी सरकारले मंगलबार पनि कालमेगीको प्रभावको लागि तयार रहेको भन्दै सबैभन्दा खराब परिस्थितिको लागि तयारी गरिरहेको बताएको छ। भियतनामको मध्य क्षेत्रहरूमा बिहीबार राति समेत आँधी आउने पूर्वानुमान गरिएको छ । गत हप्तामा आएको बाढीका कारण कम्तीमा ४० जनाको मृत्यु भएको छ भने अन्य छ जना बेपत्ता भएका छन् ।

    ‘यो एकदमै शक्तिशाली आँधी हो, जुन पूर्वी समुद्रमा प्रवेश गरेपछि बलियो हुँदै गइरहेको छ,’ सरकारले दक्षिण चीन सागरलाई उल्लेख गर्दै एक विज्ञप्तिमा भनेको छ । प्रत्येक वर्ष औसत २० वटा उष्णकटिबंधीय आँधीबेहरीको चपेटामा पर्ने फिलिपिन्स हालैका महिनाहरूमा भूकम्प र गम्भीर मौसमी घटनाहरू लगायतका प्रकोपहरूको शृङ्खलाबाट मुक्त हुँदै गर्दा कालमेगी आएको हो ।

  • ट्रम्पले कम्युनिस्ट भनेका जोहरान ममदानी न्युयोर्कको मेयरमा निर्वाचित, राखे यस्ता कीर्तिमान

    ट्रम्पले कम्युनिस्ट भनेका जोहरान ममदानी न्युयोर्कको मेयरमा निर्वाचित, राखे यस्ता कीर्तिमान

    काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्युनिस्ट भनेर भोट नदिन आह्वान गर्दा पनि न्युयोर्कको मेयरमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जोहरान ममदानी विजयी भएका छन् । भारतीय मूलका ममदानीलाई वामपन्थी भन्दै ट्रम्पले उनले मेयर जितेमा सहयोग रोक्ने चेतावनी दिएका थिए ।

    ३४ वर्षीय ममदानी न्युयोर्कको एक सय वर्षको इतिहासमा सबैभन्दा कम उमेरको मेयर बनेका छन् भने उनी पहिलो दक्षिण एशियाली मूलका मेयर समेत बनेका छन् । सन् १९९१ म युगाण्डामा जन्मिएका ममदानीकी भारतीय फिल्म निर्देशक मीरा नायरका छोरा हुन् । ममदानी इजरायलका आलोचक हुन् ।

    उनले भारतको केरल राज्यमा निर्वाचित सबैभन्दा कान्छी कम्युनिस्ट मेयरको प्रशंसा गरेको विषय चर्चामा थियो ।

  • कोलकातामा ममता बेनर्जीको मार्चपास, मतदाता सूची संशोधन विरुद्ध विरोध प्रदर्शन

    कोलकातामा ममता बेनर्जीको मार्चपास, मतदाता सूची संशोधन विरुद्ध विरोध प्रदर्शन

    काठमाडौं । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीको नेतृत्वमा मंगलबार कोलकाताको सडकमा वृहद प्रदर्शन गरिएको छ । मतदाता नामावली संशोधनका विषयमा भारतमा चलिरहेको विशेष गहन पुनरीक्षण (एसआईआर) का विरुद्ध ममता नेतृत्वको तृणमूल कांग्रेसले सडक प्रदर्शन गरेको हो ।

    ममताले पुनरीक्षण (संशोधन) अभियान भाजपा नेतृत्वको केन्द्र सरकारद्वारा चुनाव आयोगसँग मिलेर गरेको एउटा ‘मौन अदृश्य धाँधली’ भएको आरोप लगाएकी छन् । उनी आफ्ना भतिजा तथा पार्टीका राष्ट्रिय महासचिव रहेका अभिषेक बेनर्जीका साथ हजारौं समर्थकसँगै बीच शहरमा प्रदर्शनमा उभिएकी छिन् ।

    झण्डै ४ किलोमिटर लामो मार्च रेड रोडस्थित बीआर अम्बेडकरको प्रतिमाबाट सुरु भएको प्रदर्शन रविन्द्रनाथ टेगोरको पैतृक निवास जोडासान्को ठाकुरबाडीसम्म गरिएको छ । समाचार संस्था इन्डिया टुडेका अनुसार सडक तृणमूल कांग्रेसका कार्यकर्ताले भरिएको देखिएको छ । पार्टीका झण्डा फरफराइ रहेका छन् । नारा लागिरहेका छन् । मतदाता संशोधन प्रक्रियाको विरोध गरिएको छ ।

    सेतो सुती सारी र चप्पल लगाएकी मुख्यमन्त्री जुलुसको अघिअघि देखिएकी थिइन् । बीचबीचमा रोकिएर स्थानीयलाई अभिवादन गर्दैथिइन् । स्थानीय उनलाई हेर्न बाहिर निस्किएका थिए । अभिषेक बेनर्जी पनि उनको पछिपछि हिंड्दै थिए । अन्य वरिष्ड मन्त्री तथा पार्टी पदाधिकारीको उत्साहित भीड अभिभादन गर्दै थियो ।

    के भन्यो भाजपाले ?

    ममता बेनर्जीको प्रदर्शनलाई भाजपाले व्यङ्ग्य गरेको छ । पश्चिम बंगाल विधानसभाका विपक्षी नेता शुभेन्दु अधिकारीले मंगलबार निस्किएको मार्च ‘एउटा जमातको र्‍याली’ मात्र भएको बताए । र उनले यो कदम ‘भारतीय संविधानको मूल्य विरुद्ध’ रहेको प्रतिक्रिया दिए ।

    पश्चिम बंगाल भाजपाका अध्यक्ष समिक भट्टाचार्यले भने, ‘यदि ममताजीलाई केही भन्नु छ भने सर्वोच्च अदालतको ढोका ढक्ढक्याउँदा हुन्छ । पश्चिम बंगालमा पूर्ण रुपमा अराजकता भइरहेको छ र कानुन व्यवस्थाको सम्पूर्ण रुपले अभाव भइरहेको छ ।’

    भट्टाचार्यले जनसाङ्ख्यिकी परिवर्तन भइरहेको बताउँदै ममतामाथि आरोप लगाए । उनले भने, ‘ममता बेनर्जी रोहिंग्याहरूलाई राज्यमा बोलाउँदैछिन्, रोहिंग्यालाई मतदाता सूचीमा समावेश गर्न जनता चाहान्छन् ?’

    इन्डिया टुडेका अनुसार यो विरोध प्रदर्शन पश्चिम बंगालसहित १२ राज्य र केन्द्र शासित प्रदेशमा एसआईआर अभ्यासको दोस्रो चरण सुरु भएपछि भएको छ ।

    एसआईआर बुथ–स्तरीय अधिकारीद्वारा मतदाता सूचीलाई गहिरो गरी संशोधन गर्ने अभियान हो । यसको उद्देश्य डुप्लिकेट, मृतकहरू, प्रवासी र अवैध मतदाताहरूलाई हटाउनु हो । अन्तिम पटक यो अभियान दुई दशकअघि भारतमा सञ्चालन गरिएको थियो । विपक्षी दलले भने केही समुदायको नाम हटाउन यो अभियान चलाइएको आरोप लगाउँदै आएको छ ।

    यो अभियानका विरुद्धमा मामिला सर्वोच्च अदालतसम्म पुगेको थियो । पछि संशोधनसहित प्रक्रियालाई जारी राख्न अनुमति दिइएको थियो । यो अभियान राज्यहरूमा विस्तारित हुँदै गएपछि राजनीतिक विवाद बढ्दै गएको छ । तृणमूल कांग्रेसले यो विवादलाई सडकमा ल्याएको छ ।

  • पाकिस्तानी गुप्तचर अपरेशनमा भारत प्रायोजित आतङ्ककारी मारिएको दाबी

    पाकिस्तानी गुप्तचर अपरेशनमा भारत प्रायोजित आतङ्ककारी मारिएको दाबी

    काठमाडौं । पाकिस्तानी सुरक्षा बलले बलुचिस्तानको कलात जिल्लामा सञ्चालन गरेको गुप्तचर–आधारित अपरेशन (आईबीओ) मा चार भारत प्रायोजित आतङ्ककारी मारिएको खबर छ ।

    इन्टर– सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर) द्वारा जारी एक विज्ञप्तिमा जनाइएअनुसार नोभेम्बर १ को राति सुरक्षा बलहरुले भारतीय प्रोक्सी फितना अल हिन्दुस्तानका आतङ्ककारीहरू रहेको सूचनापछि गुप्तचर अपरेशन सञ्चालन गरिएको थियो ।

    पाकिस्तानभित्रको आतङ्कवाद र अस्थिरताका लागि भारतको कथित भूमिकालाई उजागर गर्न राज्यले बलुचिस्तानमा आधारित समूहहरूलाई फितना अल–हिन्दूस्तान भन्दै आएको पाकिस्तान समाचार संस्था डनले जनाएको छ ।

     

    ‘अपरेशन सञ्चालनको क्रममा सेनाले आतङ्ककारी रहेको स्थानमा प्रभावकारी आक्रमण गर्यो र फलस्वरुप चार भारतीय प्रायोजित आतङ्ककारीलाई नर्क पठायो ।’ जारी विज्ञप्तिमा भनिएको छ, ‘धेरै आतङ्कवादी गतिविधिमा संलग्न आतङ्ककारी मारिएका छन्, उनीहरूबाट हतियार र गोला बारुद पनि बरामद गरिएको छ ।’

    ‘यस क्षेत्रमा भेटिएका अन्य कुनै पनि भारतीय प्रायोजित आतङ्कवादीलाई हटाउन स्यानिटाइजेशन अपरेशनहरू सञ्चालत भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सुरक्षा बल र कानून प्रवर्तन एजेन्सीहरूले देशबाट विदेशी प्रायोजित र समर्थित आतङ्कवादलाई मेटाउन काम जारी राख्नेछ ।’

    पाकिस्तान राष्ट्रपति आसिफ अली जरदारीले आतङ्ककारीहरूलाई समाप्त पारेकामा सुरक्षा बलहरूलाई बधाई दिए । उनले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेका छन् । ‘अपरेशन अज्म–ए–इस्तेहकाम अन्तर्गत आतङ्कवादलाई जरैदेखि उखेल्ने दृढ संकल्पमा राष्ट्र आफ्नो सेनाका साथ दृढतापूर्वक उभिएको छ ।’

     

    प्रधानमन्त्री शेहबाज शरीफले पनि सशस्त्र सेनाको प्रशंसा गरेका छन् । उनले मातृभूमिको रक्षा गर्न अटल संकल्पका साथ सम्पूर्ण राष्ट्र उनीहरुको समर्थनमा उभिएको बताएका छन् । खैबर पख्तुनख्वामा दुई छुट्टाछुट्टै कारबाहीमा कम्तीमा तीन आतङ्ककारी मारिएको आईएसपीआरले बताएको एक दिनपछि यो घटना भएको हो ।

    डनले पाकिस्तानमा आतङ्कवादी हमलाहरूमा वृद्धि भएको उल्लेख गरेको छ । विशेष गरी केपी र बलुचिस्तानमा प्रहरी, कानून प्रवर्तक कर्मचारी र सुरक्षा बललाई लक्षित गरिएको छ । प्रतिबन्धित तहरीक–ए–तालिबान पाकिस्तानले सन् २०२२ मा सरकारसँगको युद्धविराम सम्झौता उल्लंघन गरेपछि यस्ता घटना घट्दै आएको उल्लेख गरिएको छ ।

  • उत्तर कोरियाको सर्वोच्च जनसभाका पूर्वअध्यक्ष किम योङ नामको निधन

    उत्तर कोरियाको सर्वोच्च जनसभाका पूर्वअध्यक्ष किम योङ नामको निधन

    काठमाडौं । उत्तर कोरियाको सुप्रिम पिपुल्स असेम्बली (सर्वोच्च जनसभा) स्थायी समतिका पूर्वअध्यक्ष किम योङ नामको निधन भएको छ । ९७ वर्षको उमेरमा क्यान्सर रोगका कारण नामको निधन भएको उत्तर कोरियाली केन्द्रीय समाचार संस्था केसीएनए वाचले जनाएको छ ।

    ३ नोभेम्बर दिउँसो १२ बजे मृत्यु भएका नेता नामको जन्म विदेशी साम्राज्यवादको औपनिवेशिक कालमा भएको र उनले कठिन अवस्थाको सामना गर्दै आफ्नो युवा अवस्थामा स्वतन्त्रताको स्वागत गरेको केसीएनएले उल्लेख गरेको छ ।

    १७ वर्षको उमेरदेखि नेता नाम सामाजिक गतिविधि र देशको समृद्धिका लागि समर्पित रहेको समाचारमा जनाइएको छ । ८० बर्से क्रान्तिकारी गतिविधिका क्रममा उनले पार्टी, देश र जनताको समृद्ध ज्ञान र उच्च दायित्वबोधका साथ गणतन्त्रको गौरवशाली इतिहासलाई अगाडि बढाएको उल्लेख छ ।

    स्थानीय समयअनुसार मंगलबार दिउँसो १ बजे कोरिया वर्कर्स पार्टीका महासचिव तथा डेमोक्रेटिक पिपुल्स रिपब्लिक अफ कोरियाका राज्य मामिलाका अध्यक्ष किम जोङ उनले पार्थिव शरीरमा पूष्पाञ्जली अर्पण गरेको र संवेदना व्यक्त गरेको केसीएनएले जनाएको छ ।

  • न्युयोर्क मेयर चुनाव : कम्युनिष्ट उम्मेदवारलाई भोट नहाल्न ट्रम्पको धम्की, ममदानीले जिते सहायता रोक्ने

    न्युयोर्क मेयर चुनाव : कम्युनिष्ट उम्मेदवारलाई भोट नहाल्न ट्रम्पको धम्की, ममदानीले जिते सहायता रोक्ने

    काठमाडौं । अमेरिकाको न्युयोर्क शहरको मेयर निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रपति डोनाल्ड ट्रम्पले मतदाता प्रभावित गर्ने गरी उम्मेदवार जोहरान ममदानीलाई भोट नदिन धम्की दिएका छन् ।

    उनले ममदानीलाई रोक्नु पर्ने या आफ्नो निर्णय भुक्तान गर्नुपर्ने धम्की दिएका हुुन् । ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले भनेका छन्, ‘यदि कम्युनिस्ट उम्मेदवार जोहरान ममदानी न्युयोर्क शहरका मेयरमा निर्वाचित हुन्छन् भने, म आफ्नो प्यारो पहिलो घरका लागि आवश्यक्ताअनुसार न्युनतम राशीबाहेक संघीय राशिको कुनै पनि योगदान गरुँ । यो निकै सम्भावना छ ।’

    उनले भनेका छन्, ‘म राष्ट्रपतिका रुपमा बेकारमा राम्रो धन राशी पठाउन चाहान्नँ ।’

    उनको टिप्पणी आइतबार सीबीएसको ६० मिनेट कार्यक्रममा प्रसारण गरिएको टिप्पणीसँग मेल खाएको छ । उनले कार्यक्रममा भनेका थिए– ‘राष्ट्रपतिका रुपमा मैले न्युयोर्कलाई धेरै पैसा दिन कठिन छ । किनभने यदि न्युयोर्कलाई कम्युनिस्टले चलाइरहन्छन् भने त्यहाँ तपाईंले पठाउने धन बर्बाद गरिरहनु भएको हुन्छ ।’

    सञ्चार माध्यम द गार्जियनका अनुसार राष्ट्रपतिले कुन शहरलाई संघीय सरकारबाट कति रकम प्राप्त हुन्छ भन्ने कुरा निर्धारण गर्दैनन् । यो विनियोजन कंग्रेसको संवैधानिक कार्य हो । बजेट खर्च वा रोक संघीय कानून अनुसार हुने स्पष्ट छ । यसमाथि नियन्त्रण गरिनु कानुनी विवाद बढ्नु हो ।

    ट्रम्प प्रशासन मतगणनाअघि नै खतरा नियन्त्रण गर्ने दिशामा अघि बढेको छ । ह्वाइट हाउसले यो वर्षको सुरुवातमा न्युयोर्कमा यातायातका लागि भीडभाड शुल्क लागू गर्ने योजनामा राज्य सरकारसँग बहस गरेको थियो । ह्वाइट हाउसले एउटा सुरुङ परियोजनाका लागि १८ अर्ब डलर रोकेको थियो । त्यस्तै न्युयोर्कमा आतंकवाद नियन्त्रणका लागि विनियोजित ३.४ करोड डलर कटौती रद्द गर्न एक संघीय न्यायाधीशले संघीय सरकारलाई आदेश दिएको थियो ।

    ट्रम्पको पोस्टमा ममदानीका सहयात्री उम्मेदवार रिपब्लिकन मेयर पदका उम्मेदवार कर्टिस स्लिवाका लागि भोट दिनइनू ‘ममदानीका लागि भोट’ भनिएको थियो । र स्वतन्त्र उम्मेदवार, न्युयोर्कका पूर्व गभर्नर एन्ड्र्यु कुओमोका लागि संकेत गरिएको थियो ।

    ट्रम्प लेख्छन्, – ‘म एक डेमोक्रेट विजय भएको मन पराउँछु । जोसँग सफलताको रेकर्ड छ । न कि यस्ता कम्युनिस्ट जोसँग कुनै अनुभव छैन र जसको रेकर्ड सम्पूर्ण रुपले अफसल छ ।’

    कुओमो, जो आजीवन डेमोक्रेट थिए । तर यो वर्ष मेयर पदको चुनावमा डेमोक्रेटिक प्राइमरीलाई पाखा लगाउनका लागि उनी स्वतन्त्र उम्मेदवारका रुपमा उठेका छन् । उनले ट्रम्पको पोस्टको केही क्षणपछि ७७डब्ल्यूएबीसी रेडियोसँग कुराकानी गर्दै राष्ट्रपतिको कुरालाई दोहोर्.याएका थिए । उनले भने, ‘अब यो रिपब्लिकनमा निर्भर छ र मलाई आशा छ कि उनीहरूले राष्ट्रपतिको कुरा सुन्नेछन् ।’

    फक्स न्युजमा दिइएको एउटा अन्तर्वार्तामा कुओमोले भने, ‘हामीलाई एक यस्तो मेयरको आवश्यक्ता छ जसले डोनाल्ड ट्रम्पको सामना गर्न सक्छ ।’ उनले न्युयोर्क शहरलाई फन्डिङ बन्द गर्ने र नेशनल गार्ड पठाउने ट्रम्पको धम्की दोहोर्.याएका थिए । कुओमोले भने, ‘ट्रम्पले ममदानीलाई यसरी चिर्नेछन् जसरी मख्खनमा तातो चक्कु’

    सोमबार ममदानीले क्वीन्सस्थित एसेरियामा आयोजित एउटा अभियानमा ट्रम्पको टिप्पणीमाथि सार्वजनिक प्रतिक्रिया व्यक्त गरे । उनले भने, ‘महिनौंअघिदेखि थाहा थियो ट्रम्पले कुओमोलाई समर्थन गर्छन् ।’

    न्युुयोर्क टाइम्सका अनुसार ममदानीले भने, ‘यो अन्तिम दिनमा जुन अफवाह थियो, जे आशंका थियो त्यो नांगो र सार्वजनिक भयो । मागा मुभमेन्ट्सपछि एन्ड्र्यु कुओमोलाई अपनाउनु डोनाल्ड ट्रम्पको विचार बुझ्न सकिन्छ, उनका लागि कुओमो राम्रा मेयर हुन्छन् होला, न्युयोर्क शहरका लागि होइन, डोनाल्ड ट्रम्प र उनको प्रशासनका लागि सबैभन्दा राम्रा मेयर हुनसक्छन् ।’

    ममदानीले यो ट्रम्पको धम्की एउटा खतरा भए पनि कानुन नभएको बताए । उनले भने, ‘हामी प्राय डोनाल्ड ट्रम्पको मुखबाट निस्कने कुरालाई पहिलेदेखि नै बनेको कानुन हो कि भन्ने रुपमा लिन्छौं, तर त्यसो होइन ।’

    बजेट डोनाल्ड ट्रम्पले हामीलाई न्युयोर्क शहरमा दिएका होइनन् । यो न्युयोर्कले प्राप्त गर्ने बजेट हो । सर्वेक्षणका अनुसार ममदानीलाई दुई प्रतिद्वनद्वीभन्दा १० अङ्कले बढी मत प्राप्त हुनेछ । ३० अक्टुबरमा समाप्त भएको एटलस इन्टेल सर्वेक्षणका अनुसार ममदानी ४१ प्रतिशत समर्थनका साथ अगाडि छन् । कुओमो ३४ प्रतिशत र स्लिवालाई २४ प्रतिशत समर्थन प्राप्त छ ।

  • विहार चुनावको पूर्वसन्ध्यामा नेपाल-भारत सीमा बन्द, यस्तो छ दुई गठबन्धनको मत सर्वेक्षण

    विहार चुनावको पूर्वसन्ध्यामा नेपाल-भारत सीमा बन्द, यस्तो छ दुई गठबन्धनको मत सर्वेक्षण

    काठमाडौं । विहार विधानसभा निर्वाचनको २ दिनअघि नै नेपाल भारत सीमाक्षेत्र बन्द गरिएको छ । चुनावका बेला गडबडी फैलिने सूचनापछि सुरक्षा एजेन्सीले नेपाल-भारत बोर्डर हाइ अलर्टमा राखेको र ३ देखि ७ नम्बरको सीमा पूरै सील गरिएको भारतीय समाचार एजेन्सीहरूले जनाएका छन् । विहार विधान सभाको निर्वाचनका लागि नोभेम्बर ६ अर्थात बिहीबार मतदान हुँदैछ ।

    भारतको सबैभन्दा ठूलो प्रान्तमध्येको विहार चुनावले सिंगो देशको राजनीतिक उथलपुथल समेत गर्ने भएकाले अहिले भारतीय सत्ता राजनीतिका हस्तिहरू विहार केन्द्रित छन् । प्रधानमन्त्री नरेन्द्र मोदी र विपक्षी दलका नेता राहु गान्धीले विहारमै डेरा जमाएका छन् ।

    विहारमा लामो समयदेखि मुख्यमन्त्री चलाइरहेका जनता दल युनाइडेटका नेता नितिशकुमार फेरि एकपटक सोही पदको प्रतिस्पर्धामा छन् । उनलाई नरेन्द्र मोदीको भारतीय जनता पार्टी र रामविलाश पासवानका छोरा चिराग पासवानलगायतको साथ छ ।

    टाइम्स अफ इण्डियाका अनुसार पछिल्लो मत सर्वेक्षणमा मुख्यमन्त्री पदमा व्यक्तिगतरूपमा जनताको पहिलो रोजाईमा परेका छन् लालु यादवका छोरा तेजस्वी यादव । उनको पक्षमा ३३ प्रतिशत जनताले मत दिदा नितिश कुमारको पक्षमा २६ प्रतिशतको सर्वेक्षण छ ।

    तर गठबन्धनको हिसाबले बिजेपी र नितिश गठबन्धनको धेरै सीट आउने प्रक्षेपण गरिएको छ । भाजपा एक्लैले ७० देखि ८१ सीट जित्दा नितिशको पार्टीले ४१ देखि ४८ सीट जित्ने प्रक्षेपण छ । यो मत सर्वेक्षण २ दिनअघिको हो ।

    उता कांग्रेस, कम्युनिस्ट र लालु यादवका छोरा तेजश्वी यादव नेतृत्वको जनता दल युनाइडे पछिल्लो सर्वेक्षणमा केही सीट पछाडि छ । यो गठबन्धनबाट तेजश्वीको पार्टीले ७० देखि ७८ सीट र कम्युनिस्ट पार्टीका तीनवटा घटकले १२ देखि १७ सीट तथा कांग्रेस आइले पनि त्यसकै हाराहारीमा जित्ने सर्वेक्षण छ ।

    एनडीए गठबन्धन

    भारतीय जनता पार्टी : ७०–८१ सीट

    जनता दल युनाइटेडः ४२–४८ सीट

    लोक जनशक्ति पापर्टीः ५–७ सीट

    अन्य साना क्षेत्री दलः ३–४ सीट

    मुख्यमन्त्री- नितिशकुमार- २६ प्रतिशत

    महागठबन्धन

    राष्ट्रिय जनता दल (लालु यादव): ७०–७८ सीट

    भारतीय कम्युनिस्ट पार्टी मालेः १२–१४ सीट

    अल इण्डिया कंग्रेस पार्टीः ९–१७ सीट

    कम्युनिस्ट पार्टी अफ इण्डियाः २–३ सीट

    मुख्यमन्त्री–तेजश्वी यादव ३३ प्रतिशत

  • पाकिस्तानको सर्वोच्च अदालतमा विष्फोट

    पाकिस्तानको सर्वोच्च अदालतमा विष्फोट

    काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालत (सुप्रिम कोर्ट) इस्लामावादमा विष्फोट भएको खबर छ । स्रोतलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चार माध्यम समाटिभीले जनाए अनुसार अदालतको केन्द्रीय वातानुकूलित प्रणाली मर्मतका क्रममा विष्फोट भएको हो ।

    समाचार अनुसार अचानक भएको विष्फोटनले त्रास सिर्जना भएको छ । अदालत परिसरमा धक्का महसुस गरिएको छ । त्यहाँ रहेका वकिल, न्यायाधीश र कर्मचारीहरू सुरक्षित स्थानतर्फ लागेका छन् ।

    विष्फोटका कारण कोर्ट नम्बर ६ क्षतिग्रस्त भएको छ । समाचारका अनुसार विष्फोटन अघि न्यायाधीशहरू अली बकर नजफी र शहजाद मलिकको सुनुवाइ रहेको थियो ।

    घाइते मजदुरहरूलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको छ । घाइतेको अवस्था सामान्य छ । विष्फोटनको कारण पत्ता लगाउने काम भइरहेको समाचारमा जनाइएको छ ।

    समाचार संस्था डनका अनुसार अदालतको भवनका केही भाग क्षतिग्रस्त भएका छन् । घाइतेहरुलाई बाहिर निकालिएको छ ।

  • पूर्व प्रधानमन्त्रीलाई शरण दिएको विरोधमा पेरुले तोड्यो मेक्सिकोसँग कूटनीतिक सम्बन्ध

    पूर्व प्रधानमन्त्रीलाई शरण दिएको विरोधमा पेरुले तोड्यो मेक्सिकोसँग कूटनीतिक सम्बन्ध

    लिमा ।  पेरु सरकारका विदेशमन्त्री ह्युगो डे जेलाले सोमबार राजधानी लिमामा आयोजित पत्रकार सम्मेलनमा पेरुले मेक्सिकोसँगको कूटनीतिक सम्बन्ध तोड्ने निर्णय गरेको घोषणा गरेका छन् ।

    उक्त निर्णय पेरुकी पूर्व प्रधानमन्त्री श्रीमती बेट्सी चाभेजले मेक्सिकोबाट शरण मागेपछि गरिएको हो । चावेजमाथि हाल विद्रोहसम्बन्धी मुद्दामा अनुसन्धान चलिरहेको छ।

    विदेशमन्त्री डे जेलाका अनुसार मेक्सिकोको लिमास्थित राजदूतावासले चाभेजलाई शरण प्रदान गर्ने निर्णय लिँदा दुई देशबीच पहिले नै रहेको राजनीतिक तनावलाई अझ चर्काउने ‘अत्यन्तै प्रतिकूल कार्य’ गरेको हो । उनले मेक्सिकोले पेरुको आन्तरिक मामिलामा बारम्बार हस्तक्षेप गर्दै आएको आरोप लगाए ।

    यसैबीच राष्ट्रपति जोसे जेरीको कार्यलयबाट जारी विज्ञप्तिमा पनि मेक्सिको सरकारमाथि पेरुको आन्तरिक विषयमा अनावश्यक र बारम्बार हस्तक्षेप गरेको आरोप लगाइएको छ ।

    अधिकारीहरूका अनुसार सन् २०२२ मा तत्कालीन राष्ट्रपति पेड्रो क्यास्टिलोले संसद् विघटन र आपतकाल घोषणा गर्ने असफल प्रयासमा संलग्न भएको अभियोगमा चाभेजमाथि अनुसन्धान भइरहेको छ । त्यसबेला सेनाको समर्थन नपाएपछि क्यास्टिलो तत्कालै संसद्द्वारा पदच्युत भएका थिए । त्यसपछि उनलाई विद्रोह उक्साएको अभियोगमा पक्राउ गरिएको थियो ।

    महान्यायाधिवक्ताको कार्यालयले चाभेजमाथि राज्यसत्ताविरुद्धको विद्रोहको अपराधमा सहयोगीको रूपमा आरोप लगाएको छ र उहाँका लागि २५ वर्षसम्म कैद सजायको माग गरेको छ ।

    विदेशमन्त्री डे जेलाले भने, “आज हामीले गहिरो खेदका साथ थाहा पायौँ कि तत्कालीन राष्ट्रपति पेड्रो क्यास्टिलोद्वारा गरिएको कू प्रयासकी सह–लेखिका पूर्व प्रधानमन्त्री बेट्सी चाभेजलाई लिमास्थित मेक्सिकाली दूतावासमा शरण दिइएको छ ।”

    मेक्सिको सरकारले भने अन्तर्राष्ट्रिय कानूनअनुसार शरण प्रदान गरिएको बताउँदै पेरुको निर्णयप्रति खेद प्रकट गरेको छ । मेक्सिकोको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “मेक्सिकोले पेरुको एकपक्षीय निर्णयलाई अत्यधिक र असमान प्रतिक्रिया मानेको छ । यो कुनै पनि रूपमा पेरुको आन्तरिक मामिलामा हस्तक्षेप होइन ।”

    यसअघि पनि मेक्सिकोले पूर्व राष्ट्रपति पेड्रो क्यास्टिलोप्रति सहानुभूति प्रकट गर्दै उनकी श्रीमती र सन्तानहरूलाई शरण दिएको छ । क्यास्टिलो वामपन्थी मञ्चमार्फत सत्तामा पुगेका थिए ।  र सन् २०२२ डिसेम्बरमा संसद् विघटनको घोषणा गरेपछि पदच्युत  भएका थिए ।

    गत अक्टोबरमा मेक्सिकाकी राष्ट्रपति क्लाउडिया सेनबामले क्यास्टिलोप्रति समर्थन व्यक्त गर्दै उनलाई ‘कूको सिकार’ भएको बताउनुका साथै निष्पक्ष सुनुवाइ र रिहाइको माग गरेकी थिइन् ।

    पेरुको विदेश मन्त्रालयले सोमबार प्रकाशित अर्को विज्ञप्तिमा भनिएको छ, “सन् २०२२ डिसेम्बरको घटनादेखि नै मेक्सिको सरकारले पेरुको आन्तरिक मामिलामा अस्वीकार्य र व्यवस्थित हस्तक्षेप गर्दै आएको छ ।”

    पेरुले आफ्नो सार्वभौम अधिकारको सम्मान गर्न पटक–पटक आग्रह गर्दा पनि मेक्सिकोले आफ्नो ‘अस्वीकार्य र गैरकूटनीतिक’ व्यवहार परिवर्तन नगरेको मन्त्रालयले बताएको छ ।

     

  • अल फसरको पतनपछि सुडानको डार्फरबाट ३६ हजार मानिस पलायन, स्थानीय भन्छन्, ‘झडपको डरले खेतमा जान छाड्यौं’

    अल फसरको पतनपछि सुडानको डार्फरबाट ३६ हजार मानिस पलायन, स्थानीय भन्छन्, ‘झडपको डरले खेतमा जान छाड्यौं’

    काठमाडौं । अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेसले अल फसरशहर नियन्त्रणमा लिएको एक हप्तापछि शनिबारदेखि सुडानको डार्फरको पूर्वमा रहेको कोर्डोफान क्षेत्रबाट ३६,००० भन्दा बढी मानिसहरू पलायन भएको संयुक्त राष्ट्रसंघको आप्रवासन एजेन्सीले जनाएको छ ।

    देशको डार्फर प्रान्तहरू र पूर्वमा राजधानी सहितको खार्तुम–नदी क्षेत्र बीचको रणनीतिक केन्द्रीय क्षेत्र, हालैका हप्ताहरूमा सुडानी सशस्त्र बल (एसएएफ) र अर्धसैनिक समूह बीचको दुई वर्षे गृहयुद्धको पछिल्लो युद्धभूमि बनेको छ।

    ‘अक्टोबर २६, जुन दिन एल फासर आरएसएफको नियन्त्रणमा आयो, र अक्टोबर ३१ को बीचमा उत्तरी कोर्डोफान राज्यका पाँचवटा क्षेत्रबाट अनुमानित ३६,८२५ जना पलायन भएका छन् ।’ अन्तर्राष्ट्रिय आप्रवासन संगठनले आइतबार अबेर भनेको छ ।

    धेरैजसो मानिसहरू पैदलै हिँडेर अल फसरको पश्चिममा रहेको शहर ताविलातिर लागे, जहाँ ६,५२,००० भन्दा बढी विस्थापित मानिसहरूलाई आश्रय दिइएको संयुक्त राष्ट्रसंघले उल्लेख गरेको छ । सोमबार उत्तरी कोर्डोफानका बासिन्दाहरूले राज्यका शहर र गाउँहरूमा आरएसएफ र सेनाको उपस्थितिमा भारी वृद्धि भएको बताएका छन् ।

    दुबै सेनाहरू उत्तरी कोर्डोफान राज्यको राजधानी र डार्फरलाई खार्तुमसँग जोड्ने प्रमुख रसद र कमाण्ड हब एल ओबेदको लागि प्रतिस्पर्धा गरिरहेका छन्, जहाँ विमानस्थल पनि छ।

    ‘आज, हाम्रा सबै सेनाहरू बारा मोर्चामा एकजुट भएका छन् ।’ आइतबार अबेर आरएसएफले जारी गरेको भिडियोमा आरएसएफका एक सदस्यले एल ओबेदको उत्तरमा रहेको शहरलाई उल्लेख गर्दै भने । आरएसएफले गत हप्ता बारालाई नियन्त्रणमा लिएको दाबी गरेको थियो ।

    समूहले एल फाशेर कब्जा गरेपछि आरएसएफ सवारी साधनको संख्या बढेको छ। ‘झडपको डरले हामीले खेतमा जान छोड्यौं ।’ एल ओबेदको पश्चिममा रहेको उम स्मेमाका बासिन्दा सुलेमान बाबिकरले एजेन्स फ्रान्स प्रेसलाई भने ।

    ‘विगत दुई हप्तामा एल ओबेदको पश्चिम र दक्षिणमा सेनाका सवारी साधन र हतियारहरूमा ठूलो वृद्धि भएको छ।’ सुरक्षाको कारणले नाम न छाप्ने सर्तमा अर्का बासिन्दाले भने ।

    अफ्रिकाका लागि संयुक्त राष्ट्र संघका सहायक महासचिव मार्था पोबीले गत हप्ता बारामा आरएसएफद्वारा गरिएको ‘ठूलो मात्रामा अत्याचार’ र ‘जातीय रूपमा प्रेरित प्रतिशोध’ बारे चिन्ता व्यक्त गरिन् ।

    उनले डार्फरमा जस्तै घटना घट्न सक्नेमा सचेत गराइन् । जहाँ अल फसरको पतन पछि गैर–अरब जातीय समूहहरू विरुद्ध सामूहिक हत्या, यौन हिंसा र अपहरणको आरोप लगाइएको छ।

    ‘नागरिकहरूमाथि आक्रमण र मानवीय सहायतामा अवरोधले अस्वीकार्य पीडा निम्त्याइरहेको छ ।’ आइतबार पोप लियोले सुडानमा तत्काल युद्धविराम र मानवीय कोरिडोरहरू खोल्न अपील गर्दै भनेका छन् ।

    इजिप्टका लागि सुडानका राजदूत इमादेल्डिन मुस्तफा अदावीले आइतबार अल फसरमा आरएसएफले युद्ध अपराध गरेको आरोप लगाए । उनले सुडानी सरकारले अर्धसैनिक समूहसँग वार्ता नगर्ने र अन्तर्राष्ट्रिय समुदायलाई यसलाई आतंकवादी संगठनको रूपमा तोक्न आग्रह गरेका छन् ।

    द गार्जियन/ एएफपी को सहयोगमा