
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दिवंगत यौन अपराधी जेफ्री एपस्टाइनको अनुसन्धानका फाइलहरू जारी गर्न न्याय विभागलाई निर्देशन दिनसक्ने विधेयकमा हस्ताक्षर गरेका छन् ।
उनले डेमोक्रेटिक विरोधी र ट्रम्पका रुढीवादी समर्थकहरुको संयुक्त दबाबका अगाडि आत्मसमर्पण गरेको द गार्जियनले उल्लेख गरेको छ । राष्ट्रपतिको रूपमा कागजातहरू आफैं जारी गर्ने अधिकार भए पनि त्यसो नगर्ने निर्णय गरेका ट्रम्पका लागि यो हस्ताक्षरले तीव्ररुपमा उल्टो सङ्केत गरेको समाचारमा जनाइएको छ ।
डेमोक्रेट्सहरुले फाइलमाथिको विवाद र यसका सम्भावनाका विषयमा खुसी प्रकट गरेका छन् । उनीहरुले भनेका छन् – ‘एपस्टिनसँग मित्रता भएकाहरुसँग ती फाइलका कारण ट्रम्पले सम्झौता गर्नुपर्ने हुन सक्थ्यो ।‘ सन् २०१९ मा यौन तस्करीको आरोपमा मुद्दा चलिरहेका बेला एपस्टिनको मृत्यु भएको थियो ।
द गार्जियनले लेखेको छ– ट्रम्पले ट्रुथ सोसलमा गरेको पोस्टमा विधेयकमाथिको हस्ताक्षरपछि ‘पटकथा‘लाई पल्टाउने प्रयास गरिएको छ जसमा एपस्टिनसँगको डेमोक्रेटिक पार्टीको सम्बन्धतर्फ संकेत गरेको थियो ।
ट्रम्पले बुधबार लेखेका थिए– ‘शायद यी डेमोक्रेट्स र जेफरी एपस्टिनका बीच उनीहरुको सम्बन्धका बारेमा सत्यता चाँडै नै अगाडि आउने छ, किनकि मैले एपस्टिन फाइल जारी गर्नका लागि विधेयकमा हस्ताक्षर गरेको छु ।‘
न्याय विभागसँग रहेका एपस्टिनसँग सम्बन्धित सबै फाइल जारी गर्ने समय ३० दिन बाँकी छ । त्यसमा संघीय कारागारको कोठरीमा उनको आत्महत्यासम्बन्धी अनुसन्धानको विषय पनि सभावेश छ ।
कानूनले पीडितहरूको पहिचान जानकारी सम्पादन गर्न अनुमति दिएको छ तर विशेष गरी अधिकारीहरूलाई ‘लज्जा, प्रतिष्ठामा हानि वा राजनीतिक संवेदनशीलता‘ का विषय खुलासा गर्ने विषयमा रोक लगाउन सक्छ ।
ट्रम्पले वर्षौंसम्म यस मुद्दामा अड्कलबाजी गरे र अन्ततः राजनीतिक दबाबमा झुके । चुनावी अभियानमा उनले एपस्टाइन फाइलहरू सार्वजनिक गर्ने वाचा गरेका थिए । पदमा आएपछि, उनले आफ्नो अडान परिवर्तन गरे । यस मुद्दालाई ‘छल‘ भने र कागजातहरू सार्वजनिक गर्न चाहनेहरूको विरोध गरेका थिए ।
तर प्रतिनिधि सभाले कानून पारित गर्ने कुरा स्पष्ट भएपछि उनले हालैका दिनहरूमा बाटो परिवर्तन गरे । ‘हामीसँग लुकाउन केही छैन‘ र ‘डेमोक्रेट बेन‘ मा हाम्रो हालैको विजयसहित रिपब्लिकन पार्टीको ठूलो सफलताबाट विचलित हुन कट्टरपन्थी वाम पागलहरूले गरेको यो डेमोक्रेट छलबाट अगाडि बढ्ने समय आएको छ‘ भनेका थिए ।
ट्रम्पले विधेयकलाई अनुमोदन गर्ने संकेत गरेपछि रिपब्लिकन समर्थकहरूले यसलाई तुरुन्तै सदन र त्यसपछि सिनेटमा सारेका थिए । अमेरिकी सदनका सभामुख माइक जोनसनले महिनौंसम्म विधेयकलाई रोकेका थिए र सदनले पारित गरेपछि, सिनेटले यसलाई संशोधन गर्ने जोनसनको विश्वास थियो ।
न्याय विभागले यस वर्षको सुरुमा एपस्टाइनका बारेमा अनुसन्धानमा बाधा पुर्याउने वा पीडितहरूका बारेमा जानकारी खुलासा नगरी सम्भव भएसम्मका सबै कागजातहरू जारी गरेको बताएको थियो ।
‘धेरैजसो सामग्री अदालतले आदेश दिएको छाप लगाउने विषय हो,‘ जुलाई महिनामा न्याय विभागद्वारा जारी ज्ञापनपत्रमा भनिएको छ, ‘यदि एपस्टाइन मुद्दामा गएको भए यो सामग्रीको एक अंश मात्र सार्वजनिक रूपमा प्रसारित हुने थियो, किनकि छापले पीडितहरूलाई जोगाउन मात्र काम गर्यो र गैरकानूनी गलत कामको आरोपमा कुनै पनि थप तेस्रो पक्षलाई पर्दाफास गरेन ।‘
विधेयकको प्रतिक्रियामा विभागले के जारी गर्नेछ भन्ने कुरा स्पष्ट छैन । विधेयकमा महान्यायाधिवक्तालाई एपस्टाइनसँग सम्बन्धित अवर्गीकृत कागजातहरू ‘खोज्न सकिने र डाउनलोड गर्न सकिने ढाँचामा‘ सार्वजनिक रूपमा उपलब्ध गराउन आह्वान गरिएको छ, जसमा एपस्टाइन, उनका सहयोगी घिसलेन म्याक्सवेल, उडान लग र यात्राका रेकर्डहरू, उनका अपराधहरूसँग सम्बन्धित सबै अनुसन्धानहरू, उनको बेचबिखन वा वित्तीय सञ्जालहरूसँग सम्बन्धित संस्थाहरू, उन्मुक्ति सम्झौताहरू र अन्य याचिका सम्झौताहरू, आरोप लगाउने निर्णयहरू बारे आन्तरिक सञ्चार, उनको हिरासत र मृत्युको कागजात र कुनै पनि फाइल मेटाउने विषयका विवरणहरू छन् ।











































































