Tag: विश्वासको मत

  • कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत, एमाले सांसद अनुपस्थित

    कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत, एमाले सांसद अनुपस्थित

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् । मंगलबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत पाएका हुन् ।

    प्रदेशसभा बैठकमा उनको पक्षमा २२ मत परेको सभामुख राजबहादुर शाहीले घोषणा गरे । मुख्यमन्त्री शाहीलाई माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र राप्रपा नेपालले समर्थन गरेको छ ।

    कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका ६, माओवादी केन्द्र १२, नेकपा (एकीकृत समाजवादी) तीन र राप्रपा नेपालका एक जना सांसद छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद अनुपस्थित भएपछि विपक्षमा भने मत नै परेन ।

    राप्रपाको पनि समर्थन

    पहिलोपटक राप्रपा नेपालले मुख्यमन्त्री शाहीलाई समर्थन दिएको छ । राप्रपा सांसद शोसिला शाहीले कर्णालीका मुख्यमन्त्रीलाई परिणाममुखी काम गर्न समर्थन गरेको बताइन् ।

    ‘हामीले पाँच वर्षसम्मका लागि अघिल्लो सरकारलाई समर्थन गर्‍याैँ। तर, परिणाम आउन सकेन । अघिल्लो सरकार जस्तो नहोस् । यो सरकारले परिणाममुखी काम गर्न मुख्यमन्त्रीलाई आग्रह गर्दैछु,’ मत दिएपछि उनले भनिन् ।

  • कर्णालीका मुख्यमन्त्री शाहीले मागे विश्वासको मत

    कर्णालीका मुख्यमन्त्री शाहीले मागे विश्वासको मत

    सुर्खेत । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशसभाामा विश्वासको मतका लागि प्रस्ताव पेश गरेका छन् । उक्त प्रस्तावमाथि मत विभाज भने भोलि बस्ने प्रदेशसभा बैठकमा गराइने सभामुख राजबहादुर शाहीले बताए ।

    आजको प्रदेशसभा बैठकमा प्रतिपक्षी एमालेका सांसद उपस्थित भएनन् । प्रतिपक्षी दलका सांसद उपस्थित नभएको भन्दै बैठक भोलिसम्मका लागि स्थगित गरिएको सभामुख शाहीले बताए ।

    भोलिको बैठकमा एमाले पनि सहभागी हुने बताइएको छ ।

  • कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

    कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिने भएको छन् । विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो १ः०० बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ ।

    प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता शाही निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले असोज १५ गते राजीनामा दिएपछि १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थानुसार आज उनले विश्वासको मत लिन लागेका हुन् ।

    प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) भने अनुपस्थित रहने भएको छ । एमालेको मङ्सिर १० गतेदेखि चितवनमा जारी १०औँ राष्ट्रिय महाधिवेशनमा भाग लिन सौराह पुगेका कारण आफूहरु सहभागी हुन नसक्ने प्रदेशसभामा एमाले संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिए।

    मुख्यमन्त्रीले विश्वासको मत नलिँदा संवैधानिक जटिलता आउने भएकाले बैठक नरोकिने कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले जानकारी दिए। प्रमुख प्रतिपक्षी दल एमाले अनुपस्थित भए पनि बैठक अगाडि बढ्ने उनको भनाइ छ ।

  • नयाँ मुख्यमन्त्रीले विश्वासको मत लिन कर्णाली सभाको बैठक आव्हान

    नयाँ मुख्यमन्त्रीले विश्वासको मत लिन कर्णाली सभाको बैठक आव्हान

    सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि मंसिर १४ गते प्रदेशसभा अधिवेशन आव्हान गरेका हुन् ।

    शाही १६ कात्तिकमा मुख्यमन्त्री नियुक्त भएका थिए । प्रदेशसभा सचिवालयले १४ गते दिउँसो १ बजे बैठक बोलाइएकाले उपस्थितिका लागि सबै सदस्यलाई सूचित गरेको छ ।

  • मुख्यमन्त्री राईले पाए विश्वासको मत, पक्षमा ५० (भिडिओ)

    मुख्यमन्त्री राईले पाए विश्वासको मत, पक्षमा ५० (भिडिओ)

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । सत्तारुढ गठबन्धनबाट मुख्यमन्त्री राईले कांग्रेस, माओवादी केन्द्र लगायतको सर्मथन पाएका हुन् ।

    बुधबार प्रदेशभामा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुँदा पक्षमा ५० मत पाए भने एमालेले विपक्षमा मत हाल्यो । उनको विपक्षमा २९ मत पर्‍यो । ९२ सदस्यीय प्रदेशसभामा सभामुखबाहेक ७९ जना उपस्थित थिए ।

    विश्वासको मत लिनुअघि तत्कालीन मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि राई १६ कात्तिकमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

     

     

  • राई नेतृत्वको सरकारलाई विश्वासको मत दिन्छौं : कोइराला

    राई नेतृत्वको सरकारलाई विश्वासको मत दिन्छौं : कोइराला

    काठमाडौं । नेपाली कांग्रेस प्रदेशसभा १ संसदीय दलका नेता राजीव कोइरालाले संविधान र लोकतन्त्रको पक्षमा ५ दलीय गठबन्धन बनेको भन्दै राजेन्द्र राई नेतृत्वको सरकारलाई विश्वासको मत दिन जरुरी रहेको बताएका छन् ।

    मुख्यमन्त्री राईले विश्वासको मत लिन राखेको प्रस्तावउपर प्रदेशसभामा बोल्दै कोइरालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री छँदा प्रस्तुत गरेको सर्वसत्तावादी नीतिविरुद्ध गठबन्धन उभिएको बताए ।

    ‘हामीलाई जनादेश विपक्षमै बस्ने थियो तर एमालेको नेतृत्वले देखाएको असंवैधानिक र अलोकतान्त्रिक चरित्रका कारण ५ दलीय गठबन्धन बन्यो । त्यसैले संविधान र लोकतन्त्रको खातिर यो प्रदेश सरकारलाई कांग्रेसले विश्वासको मत दिन्छ’, कोइरालाले भने ।

    राई नेतृत्वको सरकारले प्रदेश १ का जनताको चाहना र आवश्यकता बुझेर काम गर्ने विश्वास कोइरालाले व्यक्त गरे ।

  • मुख्यमन्त्री राईले मागे विश्वासको मत, सबैलाई साथ लिएर जाने प्रतिबद्धता

    मुख्यमन्त्री राईले मागे विश्वासको मत, सबैलाई साथ लिएर जाने प्रतिबद्धता

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पक्ष, विपक्ष नभनी सबैलाई मिलाएर लैजाने भन्दै आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । बुधबार प्रदेसभामा विश्वासको मत माग्दै उनले यो सरकार संविधानसम्मत ढंगले बनेको बताए ।

    ‘संविधानसम्मत ढंगले बनेको सरकार हो,’ राईले भने, ‘त्यसकारण सबैबाट हामीलाई सर्मथन हुने छ भन्ने विश्वास लिएको छु ।’ पूर्वमुख्यमन्त्री भीम आचार्यले सहकार्यको प्रस्ताव गरेको भन्दै मिलेर जाने कुरामा आफू पनि सकारात्मक भएको राईले बताए ।

    अहिले बैठकमा राजनीतिक दलका प्रतिनिधिहरूले धारणा राखिरहेका छन् ।

  • एमाले सहभागी हुने गरी प्रदेशसभा बैठक सार्ने सहमति, मतदान आज नहुने

    एमाले सहभागी हुने गरी प्रदेशसभा बैठक सार्ने सहमति, मतदान आज नहुने

    काठमाडौं । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको वागमती प्रदेशसभाको बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ ।

    यसअघि १ बजे बोलाइएको बैठकमा सत्तारुढ एमालेले अनुपस्थित हुने चेतावनी दिएपछि बैठक केही समयलाई सारिएको हो । प्रदेशसभाका प्रवक्ता विनोद अमात्यले दिउँसो ३ बजे प्रदेशसभा बैठक बस्ने गरि सूचना टाँस गरिएको र अब कार्यसूची पनि सार्वजनिक गरिने नेपाल प्रेसलाई जानकारी दिए ।

    पार्टी स्थानीय अधिवेशनमा व्यस्त हुनु परेको भन्दै एमालेले कार्तिक ११ यता बैठक नराख्न सभामुखलाई आग्रह गरेको थियो । त्यसलाई विपक्षी गठबन्धनले सत्ता लम्बयाउने चाल भन्दै विरोध जनाएका थिए ।

    सभामुख सानुकुमार श्रेष्ठले छलफल गरेर ३ बजेलाई बैठक सारेपछि बैठकमा सहभागी हुन एमाले तयार भएको हो । वागमती प्रदेशकी आर्थिक योजना मन्त्री एवम् एमाले सांसद रचना खड्काले बैठकमा एमाले पनि सहभागी हुने जानकारी दिइन् ।

    अनावश्यक सत्ता लम्ब्याउने र असंवैधानिकरूपमा आफूहरू एक मिनेट पनि सरकारमा नबस्ने भन्दै खड्काले एमाले बैठकमा सहभागी हुने बताइन् । ‘समान्यतया पार्टी कार्यक्रम र संसद बैठक नजुधाउने प्रचलन हो,’ नेपाल प्रेससँग उनले भनिन्, ‘६ गते वडा र ९ गते पालिका अधिवेशन भएकाले हामीले त्यसै अनुसार बैठक बोलाउन आग्रह गरेका मात्रै हौं । त्यसमा अन्यथा केही होइन् ।’

    आज बैठक बसे पनि विश्वासको प्रस्तावमाथि मतदान भने नहुने भएको छ । वडा र पालिका अधिवेनशनका लागि एमाले सांसदहरू गाउँ-गाउँमा पुगेकाले मतदानका लागि केही समय लम्ब्याउनुपर्ने एमाले मागमा सभामुख पनि सकारात्मक देखिएका छन् ।

    आज मुख्यमन्त्रीले जवाफ दिएपछि अनुकूल समयमा मतदान हुनेछ ।

  • वागमती प्रदेश : मुख्यमन्त्रीमाथि विश्वासको मतदान समय सार्न एमालेको आग्रह

    वागमती प्रदेश : मुख्यमन्त्रीमाथि विश्वासको मतदान समय सार्न एमालेको आग्रह

    काठमाडौं । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यमाथि विश्वासको मतमा मतदान गर्ने समय केही दिन पर सार्न नेकपा (एमाले) ले आग्रह गर्ने भएको छ ।

    एमाले वागमती प्रदेश संसदीय दलले पार्टीको वडा अधिवेशनका कारण नेता, कार्यकर्ता व्यस्त हुने भएकाले भोलि लिने भनिएको विश्वासको मतदानलाई केही दिन सार्न प्रदेश संसद सचिवालयलाई पत्रसमेत लेख्ने निर्णय गरेको छ।

    उक्त पत्र लिएर एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक दीपक निरौला सभामुख सानुकुमार श्रेष्ठलाई भेट्न गएका छन् । पत्रमा ११ गते मतदानको समय तोक्न आग्रह गरिएको छ ।

    मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने प्रक्रिया दसैँअघि नै सुरू भएको भए पनि मतदान भने दसैँपछि गर्ने निर्णय भएको थियो । उक्त सहमतिअनुसार विश्वासको मतका लागि भोलि मतदान गर्ने समय निर्धारण गरिएको थियो ।

    एमाले विभाजन भइ नेकपा एस बनेपछि शाक्य अल्पमतमा परेकी छन् । विपक्षी गठबन्धनले मुख्यमन्त्रीमा नेकपा एसका संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अघि सारेको छ । यस्तो अवस्थामा शाक्यले विश्वासको मत पाउन कठिन हुने देखिएको छ।

  • वागमती प्रदेश : केहीबेरमा विश्वासको मत लिँदै मुख्यमन्त्री शाक्य

    वागमती प्रदेश : केहीबेरमा विश्वासको मत लिँदै मुख्यमन्त्री शाक्य

    हेटौंडा । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आजै विश्वासको मत लिने भएकी छिन् ।

    प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन प्रस्ताव दर्ता गरेको र आजकै बैठकमा निर्णय लिइने जानकारी दिएका छन् ।

    प्रदेशसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

  • मुख्यमन्त्री लालबाबुले पाए विश्वासको मत, सत्ता गठबन्धनलाई दुई तिहाई बहुमत

    मुख्यमन्त्री लालबाबुले पाए विश्वासको मत, सत्ता गठबन्धनलाई दुई तिहाई बहुमत

    काठमाडौं । प्रदेश नम्बर २ का मुख्यन्त्री लालबाबु राउतले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । जसपा विभाजनपछि उनले संवैधानिक प्रावधानअनुसार विश्वासको मत लिएका हुन् ।

    राउतलाई नेकपा एमाले र लोकतान्त्रिक समाजवादीबाहेक अन्य दलले समर्थन गरेका कारण उनको सरकार सुरक्षित भएको हो । प्रदेशसभामा भएको मतदानमा राउतले ७७ मत प्राप्त गरेका छन् । विपक्षमा २३ मत परेको छ । १०४ सदस्यीय प्रदेश सभामा ४ जना सांसद भने अनुपस्थित भएका छन् । 

    प्रदेश नम्बर २ को प्रदेशसभा जम्मा १०८ सदस्यीय रहेकामा चार जना माओवादी सांसदले एमाले रोजेर कारवाहीमा हाल १०४ सांसदमात्र छन् । तीमध्ये ४ जना अनुपस्थित हुँदा राउतको पक्षमा दुई तिहाई वहुमत आएको हो । उनको पक्षमा जसपा,कांग्रेस,नेकपा एस उभिएका छन् ।

  • छिटै विश्वासको मत लिँदै लुम्बिनीका मुख्यमन्त्री, सांसद भाँडिने डर

    छिटै विश्वासको मत लिँदै लुम्बिनीका मुख्यमन्त्री, सांसद भाँडिने डर

    रुपन्देही । साउन २८ गते नियुक्त भएका लुबिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिने तयारी थालेका छन् ।

    नेकपा एमालेबाहेकका दलको गठबन्धनबाट मुख्यमन्त्री भएका केसीले गण्डकी र संघीय सरकारको सिको गर्दै आफू बलियो बन्न विश्वासको मत लिने तयारी गरेका हुन् ।

    गठबन्धनमा रहेका सांसदहरु पछि प्रभावित भएर समस्या आउनसक्ने आंकलन गर्दै सरकारले यस्तो तयारी गरेको अनुमान सरकार निकटहरुले गरेका छन् । सरकारका प्रवक्ता कृष्णध्वज खड्काले सरकारले सुरुमै विश्वासको मत लिने तयारी गरेको बताए । उनले भने– हिउँदे अधिवेशन आह्वान भएको छ, यो नियमित प्रकृयाजस्तै त भयो, पहिलो दिन त नहोला तर लिनुपर्छ विश्वासको मत ।

    प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको हिउँदे अधिवेशन भदौ १ गते बस्नेगरी आह्वान गरिसकेका छन् । प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गरेको जानकारी दिए ।

    साउन २७ गते शंकर पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेशमा संविधानको धारा १६८(२) बमोजिम गत साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका कुलप्रसाद केसीले तीस दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

  • विश्वासको मत लिने तयारीमा लुम्बिनीका मुख्यमन्त्री

    विश्वासको मत लिने तयारीमा लुम्बिनीका मुख्यमन्त्री

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने भएका छन् । जनता समाजवादी पार्टीको अधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि अप्ठ्यारोमा परेका पोखरेलले विश्वासको मत लिन लागेका हुन् ।

    सरकारका प्रवक्ता बैजनाथ चौधरीले तयारी शुरू गरिएको र केही दिनभित्रै विश्वासको मत लिने जानकारी दिए। ‘केही दिनभित्रै प्रदेश सरकारले विश्वासको मत लिन्छ’,प्रदेश सरकारले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा चौधरीले भने, ‘प्रदेश सरकारले छिट्टै विश्वासको मत लिन्छ । त्यसको तयारी पनि शुरू भइसकेको छ । विश्वासको मत पाए सरकार चलाउँछौँ, नपाए विपक्षमा बस्छौँ ।’

    ८३ सदस्यीय प्रदेशसभामा एमालेका ३८ र जसपाको महन्थ ठाकुर पक्षका तीन सांसदको समर्थन प्रदेश सरकारलाई थियो । जसपाको विवाद टुंगिएर यादव पक्षले पार्टीको आधिकारिकता पाएपछि ठाकुर पक्षका तीन सांसदको मत पनि विपक्षी गठबन्धनलाई हुने ठानिएको छ ।

    विपक्षी गठबन्धनबाट कुलप्रसाद केसी मुख्यमन्त्रीमा प्रस्ताव भएका छन्।

  • गगन थापा समेत झुक्किने प्रतिनिधिसभाको २ मतको रहस्य के थियो ?

    गगन थापा समेत झुक्किने प्रतिनिधिसभाको २ मतको रहस्य के थियो ?

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेका २२ जना सांसदको लिस्टमा कृष्णलाल महर्जनको नाम पनि छ । एमाले कार्यकर्ताले गद्दार २२ जना भन्दै कारवाहीको माग गरेकाहरूमा उनी पनि छन् ।

    तर, संघीय संसद सचिवालयको विश्वासको मतका पक्षमा मतदान गर्ने सांसदहरूको सूचीमा १६३ जनामात्र छन् । १६५ जनाले विश्वासको मत दिएकोमा १६३ मात्र किन भयो ?

    यो संख्याले कांग्रेस सांसद गगन थापालाई समेत झुक्याएको थियो । उनले संसदमा मतदान सकिएलगत्तै मत सच्याउन सभामुखले समय दिनुअघि ट्वीट गरे- १६३ ।

    कतिपय मिडियाले समेत गगनलाई आधार मानेर देउवालाई १६३ सांसदले विश्वासको मत दिएको भनेर समाचार प्रकाशन प्रसारण गरे । तर, अन्तिम मत परिणाम सुनाउँदा सभामुखले विश्वासको मतको पक्षमा १६५ सांसद रहेको बताए ।

    आखिर २ जना कहाँबाट थपिए ? यसको खास कारण थियो कोभिड संक्रमित दुई सांसदलाई अलग्गै मतदानको व्यवस्था । १६३ जना विश्वासको मत दिने सूचीमा सत्तारुढ माओवादीकी सांसद धर्मशीला चापागाईले पनि हस्ताक्षर गरेकी छन् ।

    माधव नेपाल पक्षधर ललितपुर २ बाट निर्वाचित सांसद कृष्णलाल महर्जनले नेपाल प्रेससँग कुरा गर्दै आफू र धर्मशीला चापागाई कोभिड संक्रमित भएकाले अलग्गै मतदान गरेकाले शुरूमा १६३ को समाचार प्रवाह भएको बताए ।

    उनले भने, ‘मैले देउवालाई नै विश्वासको मत दिएको हुँ । संक्रमित भएकाले माओवादी सांसद धर्मशीलाजी र मलाई अलग्गै व्यवस्था गरिएको थियो । त्यसैले शुरूमा १६३ मात्र गणना हुँदा धेरै झुक्किएछन् ।’

  • गोहीको आँसु चुहाएर केपी ओलीलाई अब कसैले पत्याउँदैन: प्रचण्ड

    गोहीको आँसु चुहाएर केपी ओलीलाई अब कसैले पत्याउँदैन: प्रचण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एउटै प्रधानमन्त्रीले छोटो समयमा दुई-दुई पटक संसद विघटन गरेको नेपाली इतिहास नभएको बताएका छन् ।

    प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने प्रक्रियाका लागि जारी छलफलमा भाग लिँदै प्रचण्डले दलभित्रको आन्तरिक झगडाका कारण संसदलाई ‘भिक्टिम’ बनाउन नपानइने बताए।

    ‘पाँच वर्ष नपुग्दै दुई-दुई पटक विघटन र अदालतबाट पुर्नस्थापित भएको अनुभव नेपालको इतिहासमा थिएन,’ प्रचण्डले भने, ‘दुई तिहाई भएको प्रधानमन्त्रीले संसद विघटन गरेर आफ्नै दल विभाजन गर्ने काम इतिहासमा पहिलो चोटी हो ।’

    आफू नै पार्टी एकताको प्रस्तावक भएको भन्दै उनले अहिले संसदमा यस्तो यस्तो कुरा आफैंलाई दुःख लागेको उनको भनाइ थियो । ‘यस्तो दुरदशा यति छिटो देख्नुपर्छ भन्ने लागेको भए मैले किन पार्टी एकताको प्रस्ताव लैजान्थे होला ?,’ प्रचण्डले भने, ‘किन गठबन्धनको प्रस्ताव लैजान्थे होला ।’

    प्रचण्डले सपथ ग्रहणमा नगएकोबाट निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको भिन्न मतलाई स्वीकार नगर्ने स्वभाव देखिएको आरोप लगाए ।

    सदनमा ओलीको अनुपस्थितिबारे पनि प्रचण्डले टिप्पणी गरे । ‘यो सदनले पनि केपी जीको मुखबाटै कुरा सुन्न चाहेको थियो,’ उनले भने, ‘देशले पनि निवर्तमान प्रधानमन्त्रीले के भन्नुहोला भन्ने कुरा सुन्न चाहेको थियो । यो मलाई स्वभाविक लागेको छैन् । यो अस्वभाविक र अलोकतान्त्रिक पनि हो ।’

    ओलीको दम्भ र अहंकारको जाँतोमा आफूहरू पिसिएको भन्दै उनले अब उनका कुरा नपत्याइने बताए।

    ‘हामी केपीजीको दम्भ, अहंकार र अत्याचारको जाँतोमा नपिसिएको हुन्थ्यो भने उहाँले भनेको पनि केही हो कि जस्तो लाग्थ्यो,’ उनले भने, ‘भन्ने एउटा, गर्ने अर्को । गोहीको आँसु चुहाएर कसैले पत्याउँछ तपाईंलाई ?’

    पार्टीभित्रको विवादका कारण संसदलाई शिकार बनाउन नपाउने उनको भनाइ छ । ‘पहिलो चोटी संसद विघटन गर्दा केपी जीले भनेको कुरा के थियो भने पार्टीभित्र काम गर्न दिएन त्यसैले संसद विघटन गरेँ,’ प्रचण्डले भने, ‘पार्टीभित्रको कुराले संसदलाई ‘भिक्टिम’ गर्न पाइन्छ ? यो कुन चाहिँ लोकतन्त्र हो यो ? पार्टी भित्रको बहुमतलाई किच्न खोज्ने कुन चाहिँ लोकतान्त्रिक संस्कार हो ?’

    आफूलाई युद्ध हारेर आएको भनिएको भन्दै प्रचण्डले आक्रोस पोखे । उनले आगोसँग नखेल्न पनि चेतावनी दिए । सर्वोच्च अदालतले नेपालको संविधानको रक्षा गर्ने काम गरेको भन्दै उनले धन्यावाद थिए । विवेक प्रयोग गरेर सबैले देउवालाई विश्वासको मत दिन आग्रह गरे ।

  • ओलीलाई अदालतले होइन अहंकारले हराएको हो : मिनेन्द्र रिजाल

    ओलीलाई अदालतले होइन अहंकारले हराएको हो : मिनेन्द्र रिजाल

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले केपी शर्मा ओलीको सरकार अदालतबाट नभइ अहंकारबाट अपदस्थ भएको बताएका छन् । प्रतिनिधिसभामा बोल्दै कांग्रेस सांसद रिजालले सरकारबाट बाहिरिएपछि अदालतलाई गाली गर्ने प्रवृत्ति गलत रहेको टिप्पणी गरे ।

    ‘अदालतले प्रधानमन्त्री नियुक्त गरेको होइन । मिलेमतोमा संविधान मिच्नेहरूलाई सम्झाउन खोजेको मात्रै हो । अदालतले होइन अहंकारले तपाईंलाई हराएको हो’, डा. रिजालले भने ।

    प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन आग्रह गर्दै नेता रिजालले नेकपा एमालेका नेताहरूलाई ‘धेरै उड्ने वा धेरै गिर्ने’ काम नगर्न सचेत गराए । ‘मेरो सुझाव छ तपाईंहरूलाई, धेरै उड्ने पनि नगर्नुस् धेरै तल पनि नजानुस् । एउटा सीमाभित्र बस्नुस् । हामीलाई कुनै उन्माद छैन, सत्ताबाहिर हुनेले पनि मनमा तिक्तता नलिनुस्’, रिजालले भने ।

  • प्रदीप ज्ञवालीको टिप्पणी- उहिले देउवालाई श्री ५ ले नियुक्त गरे, अहिले श्रीमान् ५ ले

    प्रदीप ज्ञवालीको टिप्पणी- उहिले देउवालाई श्री ५ ले नियुक्त गरे, अहिले श्रीमान् ५ ले

    काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले प्रधानमन्त्री देउवालई श्री पाँच (राजा) ले न्याय दिएको र अहिले श्रीमान् ५ (पाँच न्यायाधीश) ले न्याय दिएर प्रधानमन्त्री बनेको टिप्पणी गरेका छन् ।

    प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रयोजनसम्बन्धी छलफलमा नेकपा (एमाले) को प्रतिनिधित्व गर्दै ज्ञवालीले देउवा तीन-तीन पटक नेपाली कांग्रेसभित्रको विभाजनको शिकार भएको स्मरण गरे ।

    ‘तीन-तीन चोटी दलीय विभाजनको शिकार भएका देउवा आज धारा ५ को अपव्याख्याको सहारा लिएर प्रधानमन्त्री बन्दै हुनुहुन्छ,’ उनले भने, ‘इतिहास दुई चोटी दोहोरिन्छ भनिन्छ । उहाँ आफैं दलीय विजभानको शिकार हुनुहुन्थ्यो ।’

    उनले गृहमन्त्री हुँदा र दुई पटक प्रधानमन्त्री हुँदा नेपाली कांग्रेसभित्रको विभाजनको शिकार भएको भन्दै देउवा अरुको पार्टी विभाजन गरेर प्रधानमन्त्री बन्न लागेको आरोप लगाए ।

    ज्ञवालीले दलीय प्रणाली कमजोर हुने दावी गरे । ‘आज एमालेलाई अप्ठ्यारो होला,’ उनले भने, ‘एकछिनलाई जित-हार होला । हामी त्यसमा पनि चिन्तित छैनौं । तर, दलीय प्रणाली कमजोर भयो भने हामी कसैलाई फाइदा हुँदैन ।’

    संविधानको अनौठो व्याख्या भएको भन्दै ज्ञवालीले भने, ‘संविधानको अजिव व्याख्या भयो । हामी त्यसप्रति चिन्तित छौं । सर्वोच्चको आदेशले प्रतिनिधिसभाका हरेक सांसदलाई ह्वीप नलाग्ने भयो । यसले राजनीतिक विभाजन ल्याउँछ ।’

  • विश्वासको मत माग्दै देउवाले भने- साझा चुनौती सामना गर्न सबैसँग सहकार्य गर्छु

    विश्वासको मत माग्दै देउवाले भने- साझा चुनौती सामना गर्न सबैसँग सहकार्य गर्छु

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत मागेका छन् । प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै देउवाले राजनीतिक विचार र दलका आधारमा प्रतिस्पर्धा स्वभाविक भएपनि साझा चुनौती सामना गर्न सरकारले सबैसँग सहकार्य गर्ने बताए ।

    ‘बहुदलीय व्यवस्थामा फरक राजनीतिक विचार, दल र प्रतिस्पर्धा स्वभाविक हुन् । यी आवश्यक पनि छन् । तर, हाम्रा केही साझा चुनौती , गन्तव्य र उद्देश्य छन् । त्यसका लागि हामीले सहकार्य गर्नैपर्छ । नेपालको संविधानको संरक्षण र यसको कार्यान्वयन हाम्रो साझा गन्तव्य हो’, देउवाले भने ।

    पटक-पटकको प्रतिनिधिसभा विघटनको कारण देशमा राजनीतिक अन्योल र अनिश्चितताको अवस्था देखिएको भन्दै प्रधानमन्त्री देउवाले अब जनताका समस्या समाधान गर्न सरकार केन्द्रित हुने बताए । निवर्तमान प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका राम्रा कामलाई आफूले निरन्तरता दिने भन्दै देउवाले अहिलेसम्म गरेका असल कामका लागि ओलीलाई धन्यवादसमेत दिए ।

    कोभिड १९ को रोकथामका लागि सरकारले सम्पूर्ण प्रयत्न गर्ने भन्दै प्रधानमन्त्री देउवाले सबै राजनीतिक दल र प्रतिनिसिभाबाट सरकारले सहयोगको अपेक्षा राखेको बताए ।

  • प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रक्रिया शुरू

    प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रक्रिया शुरू

    काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रक्रिया शुरू भएको छ ।

    जारी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विश्वासको मत माग्नेछन् । देउवालाई नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधव नेपाल पक्षको समर्थन प्राप्त हुने देखिएको छ ।

    प्रतिनिधिसभामा हाल २ सय ७१ सदस्य कायम छन् । विश्वासको मत हासिल गर्न कम्तीमा १ सय ३६ सांसदको समर्थन आवश्यक पर्छ ।
  • देउवाले महन्थसँग मागे विश्वासको मत

    देउवाले महन्थसँग मागे विश्वासको मत

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरसँग विश्वासको मत मागेका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले औपचारिक पत्र लेखेरै ठाकुरसँग विश्वासको मत मागेका हुन् ।

    जसपाको ठाकुर पक्ष केपी ओली नेतृत्वको सरकारमा सहभागी भएको थियो ।

    प्रधानमन्त्री देउवाले लेखेको पत्रमा भूमिका नबाँधी विश्वासको मत मात्रै मागिएको छ । ‘प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने कार्यक्रम रहेकोले उक्त प्रस्तावमा यहाँ र यहाँ सम्वद्ध माननीय सदस्यहरुको तर्फबाट समर्थन गर्न गराईदिनुहुन हार्दिक अनुरोध गर्दछु’ देउवाले ठाकुरलाई पठाएको पत्रमा उल्लेख गरिएको छ ।

    देउवाले पत्र पठाएपनि ठाकुरसहितका सांसदहरूले विश्वासको मत नदिने निर्णय गरिसकेका छन् । उनीहरू प्रतिनिधिसभाको जारी बैठकमा प्रतिपक्षको लहरमा बसेका छन् ।

     

  • विश्वासको मतमा माधव पक्ष विभाजित, यी हुन् देउवालाई मत दिन तयार सांसद

    विश्वासको मतमा माधव पक्ष विभाजित, यी हुन् देउवालाई मत दिन तयार सांसद

    काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने सन्दर्भमा सांसदहरूलाई स्वविवेक प्रयोग गर्न दिने छलफल भएको छ । माधव समूहमै दुइथरी मत आएपछि नेता नेपालसहितका अधिकांस सांसदले मत दिने भएका छन् ।

    कार्यदलमा रहेका नेताहरूले समूहले निर्णय गरेर शेरबहादुर देउवालाई विश्वासको मत दिँदा पार्टी एकताको ढोका आफैंले बन्द गरेको सन्देश जाने भन्दै त्यसो नगर्न आग्रह गरेका छन् । उनीहरूले १० बुँदे बमोजिम संस्थागत निर्णयको पक्षमा बोलेका छन् ।

    कार्यदलमा रहेका र नरहेका स्थायी कमिटी सदस्यहरूसँग वरिष्ठ नेता नेपालले छलफल गरेका थिए । भीम आचार्य, गोकर्ण विष्टलगायतका नेताले एमाले मिल्न लाग्यो भनेर हतार-हतार विश्वासको मत लिन खोजिएको र देउवा-प्रचण्डको नियत एमाले फुटाउने प्रष्ट देखिएको बताएका थिए ।

    माधव नेपाल पक्षबाट कार्यदल संयोजकसमेत रहेका उपाध्यक्ष भीम रावल र सुरेन्द्र पाण्डेलगायतका नेता पनि संस्थागत निर्णय गरेर जाने १० बुँदे सहमतिको स्पिरिटविपरीत हुने भनेर पछि हटेका छन् ।

    तर, माधव नेपालसहित सांसदहरू मेटमणी चौधरी, झपट रावल, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, यज्ञराज सुनुवार, निरा जैरु, सरला यादव, पुष्पा कर्ण कायस्थ, दीपकप्रकाश भट्ट, मुकुन्द न्यौपाने, कलिला खान, लक्ष्मी चौधरी, कल्याणी खड्कालगायतले विश्वासको मत दिने भएका छन् ।

    झलनाथ खनाल बिरामी परेर दिल्लीमा छन् । उनले विश्वासको मत दिन आह्वान गरिसकेका छन् । कार्यदलमै रहेका घनश्याम भुसाल पनि संसद जोगाउन आफूहरू अदालत गएकाले त्यसको पक्षमा मतदान गर्नुपर्ने पक्षमा छन् ।

    कतिपय ओली पक्षका सांसदले समेत विश्वासको मत दिने दावी नेपाल पक्षले गरेको छ । माधव नेपालले कार्यदलका नेताहरूसँग आफू एक्लै भने पनि विश्वासको मत दिने पक्षमा रहेको बताएका थिए ।

    एमालेले देउवालाई विश्वासको मत दिनेहरू आजैबाट एमाले नरहने निर्णय गरिसकेको छ ।

  • दिल्लीबाट झलनाथले भने- देउवा सरकार दुई वर्ष निर्वाध चल्नुपर्छ

    दिल्लीबाट झलनाथले भने- देउवा सरकार दुई वर्ष निर्वाध चल्नुपर्छ

    काठमाडौं । दिल्लीमा उपचाररत पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारप्रति समर्थन जनाएका छन् । यो सरकार दुई वर्ष निर्वाध चल्नुपर्ने उनको धारणा छ ।

    खनालले एमाले संसदीय दलका सबै सदस्यहरूलाई ‘कुनै अलमल र आक्रोशबाट प्रभावित नभइकन’ देउवा सरकारलाई विश्वासको मत दिन आग्रहसमेत गरेका छन् ।

    खनालको नाम र हस्ताक्षरसहित आजैको मितिमा जारी विज्ञप्तिमा भनिएको छ, ‘मेरो मत पनि विश्वासको मत लिँदा देउवा सरकारकै पक्षमा रहनेछ ।’

    सकेसम्म पार्टीले सर्वसम्मत रूपबाटै देउवालाई विश्वासको मत दिनुपर्ने खनालको राय छ । त्यो भएन भने विधिपूर्वक अन्तरपार्टी वैचारिक बहसहरु सञ्चालन गर्नुपर्ने उनले बताएका छन् ।

    उनी थप्छन्, ‘लोकतान्त्रिक आन्दोलनका सहयोग देउवाको नेतृत्वमा बनेको सरकार दुई वर्ष निर्वाध चल्नुपर्छ । यो सरकार सबै लोकतान्त्रिक, देशभक्त, प्रगतिशील र वामपन्थिहरुको साझा सरकार बन्नुपर्छ ।’

    वरिष्ठ नेता खनाल स्वास्थ्यमा समस्या आएपछि दिल्लीमा उपचारका लागि गएका थिए । उनको मिर्गौला फेल भएको छ ।

  • एमालेले देउवा सरकारलाई विश्वासको मत नदिने, माधव पक्षले दिए व्यक्तिगत निर्णय हुने

    एमालेले देउवा सरकारलाई विश्वासको मत नदिने, माधव पक्षले दिए व्यक्तिगत निर्णय हुने

    काठमाडौं । नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई समर्थन नगर्ने र विश्वासको मत पनि नदिने निर्णय गरेको छ ।

    स्थायी कमिटीको बुधबार बसेको बैठकले सर्वोच्च अदालतको परमादेशबाट बनेको सरकारको जनमतमा वैधानिकता नरहेको ठहर गरेको छ ।

    एमालेले अलोकतान्त्रिक र अस्वस्थ विधिबाट गठित सरकारलाई समर्थन नगर्ने र विश्वासको मत नदिने निर्णय गरेको छ । पार्टीका सबै प्रतिनिधिसभा सदस्यहरुलाई यो निर्णयको पालना गर्न निर्देशन समेत दिएको छ ।

    बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सरकारलाई विश्वासको मत दिने कुरा सोच्न पनि नसकिने बताए । ज्ञवालीले एमाले सशक्त प्रतिपक्षका रूपमा रहने र अदालतको आदेशबमोजिम विश्वासको मतमा मतदान गर्नेहरूको निर्णय व्यक्तिगत हुने बताए ।

    ज्ञवालीले भने–पार्टीले प्रतिपक्षमा उभिने निर्ण गरेको छ । कोही साथीहरु सरकारको पक्षमा उभिनु हुन्छ भने सर्वोच्च अदालतले त्यो बाटो खुला गरिदिएको छ उहाँहरु जान सक्नुहुन्छ । तर पार्टीले सबै प्रतिनधिसिभा सदस्यलाई विश्वासको मत नदिन निर्देशन गरेको छ । कोही उता जानु भयो भने व्यक्तिगत निर्णय हुन्छ ।

    आजको संसदीय दलको बैठक पनि नरोकिने उनले प्रष्ट पारे ।

  • मुख्यमन्त्री पोखरेलको आग्रह- प्रदेशसभा दुर्घटनामा पर्न नदिन विश्वासको मत दिनुस्

    मुख्यमन्त्री पोखरेलको आग्रह- प्रदेशसभा दुर्घटनामा पर्न नदिन विश्वासको मत दिनुस्

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले प्रदेशसभामा विश्वासको मत मागेका छन् । विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै मुख्यमन्त्री पोखरेलले राजनीतिक स्थायित्व र संघीयताको सुदृढीकरणका लागि आफूलाई विश्वासको मत दिन अनुरोध गरे ।

    ‘यो सरकारले विश्वासको मत नपाउँदा प्रदेशसभा नै दुर्घटनामा पर्ने अवस्था आउने भएकोले त्यस्तो संवैधानिक अप्ठ्यारो आउन नदिन पनि मलाई विश्वासको मत दिनुहुन अनुरोध गर्दछु’, मुख्यमन्त्री पोखरेलले भने । उनले सरकार गठनको १ सातामै नीति तथा कार्यक्रम र बजेटमार्फत लोककल्याणकारी योजना ल्याउन सफल भएको दावी दावी गरे ।

    ‘नीति तथा कार्यक्रम र बजेटमा राखिएका लोककल्याणकारी योजनाको सफल कार्यान्वयनका लागि मलाई विश्वासको मत दिन अनुरोध गर्दछु’, पोखरेलले भने । उनले आफूलाई समर्थन गर्ने गठबन्धनका दलबाहेक प्रतिपक्षमा रहेका दललाई पनि सरकारलाई समर्थन गरेर सकारात्मक सन्देश दिन अनुरोध गरे ।

  • गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

    गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

    काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिँदै छन् । केहीबेरमा शुरू हुने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने कार्यसूची छ ।

    संविधानको धारा १६८ को ५ बमोजिम गण्डकी प्रदेश प्रमुख सीता पौडेलले गत जेठ २९ मा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । संविधानमा मुख्यमन्त्रीले सपथ लिएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

    विश्वासको मत लिन पोखरेलले प्रदेशसभा सचिवालयलाई लिखित जानकारी गराइसकेका छन् । पोखरेल मुख्यमन्त्री हुँदा कांग्रेससहित, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा नेपाल, जनता समाजवादी पार्टी र स्वतन्त्र १ सांसद गरी ३१ सांसदको समर्थन जुटाएका थिए ।

  • पूर्णकार्यकालका लागि विश्वासको मत दिन मुख्यमन्त्री गुरुङको आग्रह

    पूर्णकार्यकालका लागि विश्वासको मत दिन मुख्यमन्त्री गुरुङको आग्रह

    कास्की । गण्डकी प्रदेशसभाका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । प्रदेशसभामा विश्वासको मत माग्दै मुख्यमन्त्री गुरुङले प्रदेशसभाको पूर्णकार्यकाल र संघीयताको सबलीकरणका लागि आफूलाई मत दिन आग्रह गरेका हुन् ।

    ‘कहिलेकाहीँ राजनीति तरल बन्छ । यतिबेला सबै संयम हुनुपर्छ । म प्रदेशसभा पूर्णकार्यकाल चलोस् र संघीयता सबल होस् भन्ने चाहन्छु । यसप्रति प्रदेशसभा सदस्यहरुले विचार गर्नुहुने विश्वास लिएको छु’, गुरुङले भने । उनले जनमतकै आदेश अनुसार आफू मुख्यमन्त्री भएको र आफ्नो कार्यकालमा जनअपेक्षा अनुसार काम गर्न प्रयास गरेको बताए ।

    आफ्नो कार्यकालका कामहरूबारे अधिक समय चर्चा गरेका मुख्यमन्त्री गुरुङले विश्वासको मत पाएमा सबैलाई एकतावद्ध बनाएर लैजाने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । गुरुङ गत बैशाख २९ गते प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतामा दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

  • मुख्यमन्त्री भट्टले पाए विश्वासको मत, एमालेको ओली पक्ष र जसपामात्र विपक्षमा

    मुख्यमन्त्री भट्टले पाए विश्वासको मत, एमालेको ओली पक्ष र जसपामात्र विपक्षमा

    कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् । आज प्रदेशसभामा भएको मतदानमा एमालेको माधव नेपाल पक्षले समर्थन गरेपछि भट्टको सरकार जोगिएको छ ।

    मतदानमा सरकारको पक्षमा ३० मत र विपक्षमा ९ भोटमात्रै पर्‍यो । एमालेको ओली पक्षका ७ जना र जनता समाजवादी पार्टीका दुईजनाले सरकारको विपक्षमा भोट हालेका थिए । कांग्रेसले मतदानमा भाग लिएन ।

    बैठकमा ५१ जना सांसद उपस्थित भएका थिए । उनीहरूमध्ये १२ जना मतदानमा सहभागी नभएको सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए ।

    सुदूरपश्चिम सरकारलाई समर्थन गर्ने सवालमा एमाले संसदीय दल विभाजित भएको थियो । माधव नेपाल पक्षले बहुमतका आधारमा सरकारको समर्थनमा मत हाल्ने निर्णय लिए पनि ओली पक्षका संसदले केन्द्रको निर्देशन अनुसार विपक्षमा भोट हालेका छन् ।

  • लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने मागबारे के भन्छन् कानूनविद् ?

    लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने मागबारे के भन्छन् कानूनविद् ?

    रुपन्देही । लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनमा रहेका ४ दलले मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिनुपर्ने माग गरिरहेको समयमा कानुनविद्हरुले भने अहिले यो आवश्यक नरहेको बताएका छन् ।

    वरिष्ठ अधिवक्ता विनोद गौतमले विपक्षी दलका सांसदहरूले संविधानको गहिराईमा नपुगी गरिएको स्टन्टबाजी भएको तर्क गरेका छन् । ‘मुख्यमन्त्रीले धारा १६८ को उपधारा १ बमोजिम सपथ लिएपछि विश्वासको मत लिन आवश्य छैन, कानूनमा त्यो प्रष्ट छ, गण्डकीमा त्यो आवश्यक छ तर लुम्बिनीमा कानूनले त्यो आवश्यक देखाउँदैन, यो उहाँहरुको स्टन्टबाजीमात्रै हो अनावश्यक बखेडा हो’ उनले भने । उनले सपथ लिने प्रक्रिया अगाडि नै दलहरूले त्यो प्रकृया पुर्‍याउन नसकेपछि अहिले बखेडा निकाल्न आवश्यक नहुने तर्क गरे ।

    वरिष्ठ अधिवक्ता शालिकराम बन्जाडेले पनि सपथ लिनुनपर्ने जनाए । विपक्षी दलहरूले मुख्यमन्त्री पोखरेलले सपथ लिने समयमै त्रुटी गरेकाले यो कुरा उठाएको हुनसक्ने उनको भनाइ छ । ‘सपथ लिने समयमा नै बहुमत र अल्पमतको कुरा आएको थियो, यो त्यतिबेलैबाट उठेको विषय हो’, उनले भने ।

    नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाल संविधानको धारा १६८ को उपधारा १ बमोजिम बनेको सरकारले तत्काल विश्वासको मत लिनु नपर्ने जिकिर गर्छन् । यसअघिको सरकार उपधारा २ बमोजिम बनेको उल्लेख गर्दै उपधारा १ बमोजिम पहिलो पटक बनेको सरकारले २ वर्षसम्म विश्वासको मत लिनु नपर्ने कानूनमा प्रष्ट उल्लेख गरिएको ढकालको दावी छ ।

    प्रदेशसभाको बैठकमा विधेयकसम्बन्धी, कानून निर्माणका नियमित र प्रक्रियागत गतिविधिहरू मात्र हुने विश्वास अविश्वास लगायतका विषयमा कुनै कुरा नहुने ढकालको भनाइ छ । उनले भने,‘सरकारसँग स्पष्ट बहुमत छ, सरकार गठनका बेला बहुमत रहेको र त्यसपछिका घटना र गतिविधिले प्रभाव पार्दैन ।’

    तर नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्धिन खानले मुख्यमन्त्रीको पुनः नियुक्तिकै समयमा आफूले यो कुरा उठाएकाले संसदमा दर्ता भएको अविश्वासको प्रस्तावमा जसरी पनि छलफल हुनुपर्ने स्पष्ट अडान रहेका बताएका छन् ।

  • यी हुन् प्रधानमन्त्रीलाई विश्वासको मत दिन अनुपस्थित हुने एमाले सांसद (सूचीसहित)

    यी हुन् प्रधानमन्त्रीलाई विश्वासको मत दिन अनुपस्थित हुने एमाले सांसद (सूचीसहित)

    काठमाडौं । नेकपा एमालेका २८ जना सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन अश्वीकार गरेका छन् ।

    संसदीय दलको ह्वीपविपरीत माधव नेपाल, झलनाथ खनालसहित २० जना प्रत्यक्ष निर्वाचित र ८ जना समानुपातिक सांसद सोमबारको प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएका हुन् ।

    अनुपस्थित हुने सांसदहरू:

    १. योगेश भट्टराई

    २. झलनाथ खनाल

    ३. पवित्रा निरौला खरेल

    ४. भवानी खापुङ

    ५. जयकुमार राई

    ६ . यज्ञराज सुनुवार

    ७. गणेश पहाडी

    ८. विरोध खतिवडा

    ९. कृष्णलाल महर्जन

    १०. माधवकुमार नेपाल

    ११. जीवनराम श्रेष्ठ

    १२. नारायण खतिवडा

    १३. घनश्याम भुसाल

    १४. गोकर्ण विष्ट

    १५. सोमप्रसाद पाण्डे

    १६. मेटमणी चौधरी

    १७. झपट रावल

    १८. भीमवहादुर रावल

    १९. दिपकप्रकाश भट्ट

    २०. सुरेन्द्र पाण्डे

    २१. रामकुमारी झाँक्री

    २२. सरला यादव

    २३. पुष्पाकुमारी कर्ण

    २४ं कल्याणी खड्का

    २५.निरादेवी जैरु

    २६. कलिला खान

    २७. लक्ष्मीकुमारी चौधरी

    २८. मुकुन्द न्यौपाने

  • प्रधानमन्त्रीलाई विश्वासको मत दिन माधव पक्षका ७ सांसद संसदमा

    प्रधानमन्त्रीलाई विश्वासको मत दिन माधव पक्षका ७ सांसद संसदमा

    काठमाडौं। नेकपा एमालेको माधव नेपाल पक्षका सातजना सांसद प्रतिनिधिसभाको बैठकमा उपस्थित भएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा नेपाल पक्ष अनुपस्थित हुने निर्णय गरेको थियो ।

    संसदमा उपस्थित हुनेहरूमा राजबहादुर बुढा, ध्रुव शाही, गंगा चौधरी, समिना हुसेन, पार्वती विसुंखे, हिराचन्द्र केसी र बिना बुढाथोकी मगर छन् । सातमध्ये बुढा, शाही र केसी प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

    सांसद कलिला खातुन भने केही समय बैठक स्थलमा गएर फर्किएकी थिइन् ।

  • विश्वासको मत लिने प्रस्तावमाथि मत विभाजन शुरू, तटस्थ बस्नेलाई पनि लवीको व्यवस्था

    विश्वासको मत लिने प्रस्तावमाथि मत विभाजन शुरू, तटस्थ बस्नेलाई पनि लवीको व्यवस्था

    काठमाडौं । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधिसभामा मत विभाजनको प्रक्रिया शुरू भएको छ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन, विपक्षी दलका नेताहरुको सम्बोधन र त्यसमाथि पुनः ओलीको जवाफपछि संसदमा मत विभाजनको प्रक्रिया शुरू भएको हो।

    मतदानका लागि तीनवटा लवीको व्यवस्था गरिएको संघीय संसद सचिवालयले जनाएको छ । ‘हुन्छ, हुन्न र मत दिन्न’गरी तीन स्थानमा मतदान गर्न सकिने व्यवस्था गरिएको छ।

    कोरोना संक्रमित सांसदका लागि पनि ल्होत्से हलमा छुट्टै मतदानको व्यवस्था गरिएको छ ।

    नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र-बाबुराम पक्षले विश्वासको मतको विपक्षमा उभिने बताएका छन् । एमालेको माधव नेपाल पक्षका सांसद भने अनुपस्थित छ । जसपाको महन्थ ठाकुर पक्षका सांसद तटस्थ बस्ने भएको छ । साना दल नेमकिपा र राष्ट्रिय जनमोर्चा पनि विपक्षमा उभिने भएको छ ।

  • प्रधानमन्त्रीको जवाफ- विश्वासको मत दिँउ, संसद विघटन हुनबाट जोगाउँ (भिडियो)

    प्रधानमन्त्रीको जवाफ- विश्वासको मत दिँउ, संसद विघटन हुनबाट जोगाउँ (भिडियो)

    काठामडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत दिए संसद विघटन नहुने बताएका छन् । संसदमा आफूप्रति उठेका प्रश्नको जवाफ दिँदै ओलीले भने, ‘संसद विघटन होला भन्ने चिन्ता छ । मत दिनुहोस् न कसरी हुन्छ ? आफैं विश्वासको मत नदिएर विघटनतिर लैजाने ?’

    आफैंले मुद्दा जितेर ल्याएको संसद भोट दिए जोगिने भन्दै उनले विपक्षीसँग विश्वासको मत मागे । ‘विश्वासको मत दिँउ,’ ओलीले भने, ‘मुद्दा लडेर फिर्ता ल्याएको संसद बचाउँ । भोट दिँउ। काम चाहिँ उही भएपछि म के गरौं ?’

    ओलीले चुनाव हुँदैमा लोकतन्त्र खतरामा नपर्ने बताए। ‘चुनाव हुँदा लोकतन्त्र खतरामा पर्दैन,’ उनको भनाइ छ, ‘बोरिस जोनसोनले अस्ति चुनाव गराउनु भयो । बेलायतमा लोकतन्त्र खतारमा परेन ।’

    ओलीले ढिलोमा पनि अबको डेढ वर्षमा चुनाव हुने बताए।

  • संसदमा जसपाको दुई लाइन : ठाकुर तटस्थ, विपक्षमा यादव (भिडियो)

    संसदमा जसपाको दुई लाइन : ठाकुर तटस्थ, विपक्षमा यादव (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने वा नदिने भन्नेमा जनता समाजवादी पार्टी (जसपा) नेपालको विवाद प्रतिनिधिसभा बैठकमै प्रस्तुत भएको छ ।

    जसपा अध्यक्ष महन्थ ठाकुरले प्रतिनिधिसभाको बैठकमा आफ्नो पार्टी विश्वासको मत दिने वा नदिने दुवै पक्षमा नउभिने बताए । जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादवले भने प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नसकिने बताए । ‘विश्वासको पक्षमा मत दिन सक्दैनौं, विपक्षमा मतदान गर्छौं ।’

    जसपाले विश्वासको मत सम्बन्धी प्रस्तावबारे हुने मतविभाजनमा आफ्ना सांसदहरूलाई ह्वीप नलगाउने निर्णय गरेको थियो ।

    प्रतिनिधिसभाको बैठकमा भने दुवै अध्यक्षको फरक-फरक धारणा व्यक्त भएको हो । यसबाट ठाकुर पक्षका सांसदहरू तटस्थ रहने र यादव पक्षका सांसदहरूले विश्वासको मतको विपक्षमा मत दिने सम्भावना बढेको छ ।

  • प्रधानमन्त्रीप्रति आभारी छु, उहाँले हाम्रो कुरा सुनेर काम अघि बढाउनुभयो : महन्थ ठाकुर (भिडियाे)

    प्रधानमन्त्रीप्रति आभारी छु, उहाँले हाम्रो कुरा सुनेर काम अघि बढाउनुभयो : महन्थ ठाकुर (भिडियाे)

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना कुरा सुनेर माग पूरा गर्न अग्रसरता लिएकोमा धन्यवाद दिएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै ठाकुरले राजनीतिक आन्दोलनका दौरान मुद्दा चलाइएका केहीको मुद्दा फिर्ता लिइएपनि सबैको मुद्दा फिर्ता हुनुपर्ने माग गरे ।

    आफूहरु प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्तावको पक्ष वा विपक्ष दुवैमा नभएको उनले प्रष्ट्याए । ठाकुरले संविधान र लोकतन्त्र आएपनि आफ्ना नेता कार्यकर्ता आजपनि जेलभित्र भएकोले प्रस्तावको पक्ष/विपक्ष उभिने स्थिति नभएको बताए । ‘हाम्रो सांसद रेशम चौधरीलाई हामी यो बैठकमा हेर्न चाहान्थ्यौं तर उहाँ जेलमा हुनुहुन्छ । हाम्रा धेरै साथीहरु तारेखमा हुनुहुन्छ किनकी यही संविधानको कारणले’, ठाकुरले भने ।

    उनले संविधानले प्रधानमन्त्रीलाई कमजोर बनाएको भन्दै संविधानमा व्यापक सुधार गर्नुपर्ने बताए । ‘यो संविधानमा गम्भीर त्रुटीहरु छन् । हामी संविधान संशोधनको माग फेरि राख्छौं’, ठाकुरले भने ।

    ‘अहिलेपनि हामी विभेद र भेदभावको शिकार भइरहेका छौं । अहिलेपनि हामीले विविधतालाई मानेका छैनौं । यो लोकतन्त्र हो कि विभेद हो ?’, ठाकुरले प्रश्न गरे ।