Tag: विश्वप्रकाश शर्मा

  • कांग्रेस महामन्त्री शर्मा भन्छन्: माओवादीलाई भोट माग्नु रहर होइन, बाध्यता हो

    कांग्रेस महामन्त्री शर्मा भन्छन्: माओवादीलाई भोट माग्नु रहर होइन, बाध्यता हो

    रुपन्देही । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले माओवादी भोग्नु माग्नु आफूहरुको रहर नभएर बाध्यता भएको बताएका छन् । नेपाली कांग्रेस कमजोर भएर गठबन्धन नगरेको बताउँदै उनले संविधान रक्षाका लागि बाध्य भएर गर्नुपरेको तर्क गरेका हुन् । उनले तालमेलबाट उम्मेदवार बनेका सबैलाई मतदान गर्न आग्रहसमेत गरेका छन् ।

    स्थानीय तहमा पाँच दलबीच भएको तालमेललाई इमान्दारीपूर्वक पालना गर्न आग्रह गर्दै उनले आ–आफ्नो दलको प्रचारमा हिँडेका कार्यकर्ताले अन्य दलमा मतदान गर्न मनले नमाने पनि एकचित्त बुझाएर तालमेल गरेका उम्मेदवारलाई जिताउन आग्रह गरे ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्र मिलेर बनेको गठबन्धनको संयुक्त आमसभामा महामन्त्री शर्माले भने, ‘नेपाली कांग्रेसको प्रचारमा हिंडेका कार्यकर्तालाई माओवादीलाई भोट माग्दा अफ्ठ्यारो महसुस हुन्छ, तर पनि संबिधानको रक्षाको लागि एकदिन मन थामेर तालमेलका उम्मेदवारलाई मतदान गर्नुहोस् । ’

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको घोषणापत्रको धज्जी उडाएको बताउँदै अहिलेको समयमा कांग्रेस र एमालेको दुवैको घोषणापत्र पढेर मतदान गर्न उनको आग्रह छ ।

  • रेणु यादवलाई कांग्रेस महामन्त्रीले दिए तीन विकल्पः क्षमायाचनादेखि पदमुक्तसम्म

    रेणु यादवलाई कांग्रेस महामन्त्रीले दिए तीन विकल्पः क्षमायाचनादेखि पदमुक्तसम्म

    काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मन्त्री रेणु यादवले पछिल्लो समय दिएको हिंसात्मक अभिव्यक्तिमाथि टिप्पणी गर्दै तीनवटा विकल्प अघि सारेका छन् । शर्माले दिएका तीन विकल्पमा क्षमायाचनादेखि पदमुक्त गर्नुपर्नेसम्मका छन् ।

    उनले दिएको पहिलो विकल्पमा पदीय मर्यादाविपरीत अभिव्यक्ति दिने यादवले भुल सुधार र क्षमायाचना गर्नुपर्नेछ । त्यस्तै दोस्रो विकल्पमा उनले सम्बन्धित दलले पहलकदमी लिएर पदबाट राजीनामा गराउनुपर्ने छ । त्यस्तै तेस्रो विकल्पमा उनले भनेका छन्, पदीय मर्यादाविपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्रीद्वारा पदमुक्त ।

    उनले राज्यको जिम्मेवारीमा बस्नेको अभिव्यक्ति र व्यवहार तुलनात्मक रुपले बढी जिम्मेवार हुनै पर्दछ भन्दै हिंसा भड्काउने अभिव्यक्ति स्वीकार्य नहुने पनि बताएका छन् । ‘विगतको हिंसा देशका लागि गम्भीर पाठ बन्नुपर्छ, रोमान्सको अभिव्यक्ति बन्नुहुन्न’, उनले भनेका छन् ।

    मन्त्री यादवले केही दिनअघि मधेसको एक कार्यक्रममा फेरि गौर हत्याकाण्ड जस्तै अर्को घटना हुने बताएकी थिइन् । जनमत पार्टीका अध्यक्ष सीके राउतलाई लक्षित गर्दै उनले फेरि त्यस्तै हत्याकाण्ड हुनसक्ने चेतावनी दिएकी थिइन् । उनको उक्त अभिव्यक्तिको अहिले चौतर्फी आलोचना भइरहेको छ ।

  • गगन-विश्वले के गर्न सक्छन्, के सक्दैनन् ?

    गगन-विश्वले के गर्न सक्छन्, के सक्दैनन् ?

    नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट मूल नेतृत्व परिवर्तन नभएपनि पुस्तान्तरणको सन्देश गएको अधिकांशको आँकलन छ । खासगरी पदाधिकारी र केन्द्रीय समितिमा युवा नेताहरूको वर्चस्वले कांग्रेस रुपान्तरणको प्रक्रिया प्रारम्भ भएको दाबी गर्नेहरूलाई बल पुगेको छ ।

    पुस्तान्तरण र रुपान्तरणको चर्चाको केन्द्रभागमा कांग्रेसका नवनिर्वाचित २ जना महामन्त्री रहेका छन् । कांग्रेसबाहिर पनि चर्चा कमाएका गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित भएका छन् । उनीहरूको जितले कांग्रेसभित्र नयाँ तरंग पैदा गरेको छ । यद्यपि मिडिया, नागरिक समाज र सामाजिक सञ्जालमा ‘टक अफ दी टाउन’ बनेका महामन्त्रीद्वयको कार्यसम्पादनको वास्तविक परीक्षण भने अब सुरू हुनेछ ।

    गगन-विश्वको परीक्षा

    आजसम्म मूल नेतृत्वलाई प्रश्न गर्ने भूमिकामा रहेका २ युवा नेता कांग्रेसको शीर्ष नेतृत्वमा पुगेका छन् । कांग्रेसको आन्तरिक जीवनमा महामन्त्रीलाई प्रभावशाली र कार्यकारी पदका रूपमा लिइन्छ । निर्वाचित दुवै महामन्त्री चुनावी प्रतिस्पर्धामा सभापति शेरबहादुर देउवाविरुद्धको प्यानलमा थिए । निर्वाचित भएपछि दुवैले सभापतिसँग सहकार्य गरेर कांग्रेसलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    भावी नेतृत्वका लागि प्रत्यासी रहेका कारण महामन्त्रीका रूपमा आफ्नो शक्ति सञ्चय र सुदृढ गर्ने प्रयत्न दुवैले गर्नेछन् । दुवै नेताको ‘सार्वजनिक छवि’ उस्तै खालको भएकाले पनि ‘व्यक्तित्वको टकराव’ नआउला भन्न सकिँदैन ।

    राजनीतिक वृत्तमा कांग्रेसले मात्रै नभएर समाजले नै अपेक्षा गरेका नेतामध्येमा गगन-विश्व पर्दछन् । उनीहरूले राजनीतिमा निर्माण गरेको भाष्यप्रति आम नागरिकको चासो बढेको पाइन्छ । राजनीति नरुचाउने मात्रै होइन कांग्रेस नै नरुचाउनेले पनि गगन-विश्वको कामलाई धैर्यताका साथ मूल्यांकन गर्नेछन् । यसर्थ गगन-विश्व दुवैले कांग्रेस महामन्त्रीका रुपमा अबका ४ वर्ष व्यक्तिगत र पार्टी दुवैको राजनीतिक जीवनलाई उपलब्धीपूर्ण बनाउने गरी काम देखाउनुपर्नेछ ।

    के गर्न सक्छन् गगन-विश्वले ?

    पार्टीभित्र विधि पद्दतिबारे सवाल उठाउँदै आएका दुवै नेता महामन्त्रीको जिम्मेवारीमा छन् । महामन्त्रीका रूपमा अब सवाल उठाउने होइन कि ‘सवाल नउठ्नेगरी’ काम गर्नुपर्ने अवस्था महामन्त्रीद्वयलाई छ । त्यस्तो काम व्यक्तिगत रुची वा लहडबाट नभइ कांग्रेसको विधानद्वारा निर्देशित हुनुपर्नेछ ।

    कांग्रेस विधानले दिएका १२ काम, कर्तव्य र अधिकार नै महामन्त्रीद्वयको जिम्मेवारीको वैधानिक आधार हो । कांग्रेस विधानले पार्टीको केन्द्रीय कार्यालय महामन्त्री मातहत रहने व्यवस्था गरेको छ । त्यस्तै महाधिवेशन, महासमिति, केन्द्रीय समिति र कार्यसम्पादन समितिलगायतको निर्णय कार्यान्वयन गर्ने अधिकार पनि विधानले महामन्त्रीलाई दिएको छ ।

    त्यस्तै दैनिक कार्यसञ्चालमा सभापतिलाई सघाउने र आवश्यक जानकारी र सुझाव दिने जिम्मेवारी पनि महामन्त्रीकै हो । कांग्रेस विधानले महामन्त्रीलाई संगठनसँग सम्बन्धित बढी जिम्मेवारी प्रदान गरेको छ । पार्टीको केन्द्रीय समिति, महासमिति र महाधिवेशनमा प्रतिवेदन र प्रस्ताव पेश गर्ने दायित्व पनि महामन्त्रीकै हो ।

    कांग्रेसवृत्तमा गगन-विश्वको जितलाई रुपान्तरणको सुरूआतका रूपमा व्याख्या गर्ने गरेको पाइन्छ । यद्यपि कांग्रेसजस्तो पार्टीमा व्यक्तिको प्रयत्न रुपान्तरणका लागि काफी हुँदैन । कुनै व्यक्तिको हार वा जितले कांग्रेसको पतन वा उत्थानको निर्धारण गर्न सक्दैन । यसर्थ जितको उन्मादभन्दा जिम्मेवारीको आत्मबोधसहित अघि बढ्नु नै दुवै नेताका लागि हितकर हुनेछ ।

    यो अर्थमा पार्टीको आन्तरिक समीक्षा र राजनीतिक धार निर्माणमा महामन्त्रीले योगदान गर्न सक्छन् । विधानले महामन्त्रीद्वयलाई पार्टीको केन्द्रीय निकायका निर्णयहरू प्रमाणित गर्ने अधिकार दिएको छ भने क्रियाशील सदस्यताबारे विशेष अधिकार दिएको छ ।

    कांग्रेस विधानमा सभापतिले तोकेको महामन्त्रीको संयोजकत्वमा तीनजना केन्द्रीय सदस्य सम्मिलित ‘सदस्यता व्यवस्थापन केन्द्रीय समिति’ रहने व्यवस्था गरेको छ । सो समितिले देशभरीको सदस्यको अभिलेख राख्ने, सम्बन्धित निकायलाई अभिलेख राख्न लगाउने, सदस्यता वितरण र नवीकरणको अनुगमन गर्ने र आवश्यक निर्देशन दिने विधानमा उल्लेख छ । मुख्यतः यसबाहेकका अधिकारहरू तोकिएबमोजिम हुने व्यवस्था कांग्रेस विधानले गरेको छ ।

    विधानले दिएका अधिकारहरुको कार्यान्वयनले कांग्रेसको आन्तरिक व्यवस्थान, सदस्यता प्रणाली र संगठ सुदृढीकरणमा महामन्त्रीद्वयले योगदान गर्न सक्छन् । त्यसबाहेक कांग्रेसको पदाधिकारीका हैसियतले उनीहरूले राष्ट्रिय राजनीतिक र सार्वजनिक जीवनमा प्रस्तुत गर्ने व्यवहारले पनि पार्टीप्रति जनताको ‘छवि’ निर्माण हुन मद्दत पुग्दछ ।

    सभापति नरिझाइ सुखै छैन

    कांग्रेस विधानमा बहुपदको व्यवस्था भए पनि सभापति सबैभन्दा शक्तिशाली छन् । सामुहिक नेतृत्व भनिए पनि सभापतिको तजविजी अधिकारले त्यसलाई सहज हुन दिँदैन । पदाधिकारी र केन्द्रीय सदस्यहरूको कार्यविभाजनको मुख्य अधिकार नै सभापतिमा निहित रहेको छ । कांग्रेस विधानको दफा २५ को ४ मा ‘केन्द्रीय कार्यसमितिका पदाधिकारीको कार्य विभाजन गर्ने अधिकार’ सभापतिलाई दिइएको छ ।

    जसअनुसार विधानले महामन्त्रीलाई दिएका मुख्य अधिकारहरू गगन र विश्वमध्ये कसलाई प्रत्यायोजन गर्ने भन्ने अधिकार सभापति देउवामै निहित छ ।

    यसकारण ‘पर्फमेन्स’ देखाउन महामन्त्रीले सभापतिलाई रिझाउनुको विकल्प छैन ।

    अघिल्लो कार्यसमितिमा सभापति देउवाले निर्वाचित महामन्त्री डा. शशांक कोइरालालाई भन्दा मनोनीत महामन्त्री पूर्णबहादुर खड्कालाई बढी जिम्मेवारी प्रत्यायोजन गरेका थिए । यसपटक दुवै महामन्त्री निर्वाचनबाट आएकाले जिम्मेवारी लिनकै लागि पनि सभापतिलाई रिझाउन जरुरी छ ।

    महामन्त्रीमा मात्रै होइन उपसभापतिमा पनि त्यस्तै अवस्था छ । कांग्रेस विधानमा उपसभापतिको काम, कर्तव्य र अधिकारसमेत उल्लेख छैन । उपसभापतिको नेतृत्वमा रहने नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुख २ मध्ये कुन उपसभापतिलाई तोक्ने भन्ने अधिकार सभापतिमै छ ।

    गगन-विश्व सहकार्य कि टकराव ?

    १४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित दुवै युवा नेतालाई भविष्यमा कांग्रेस हाँक्ने नेताको रुपमा कांग्रेस वृत्तमा चित्रण गर्ने गरिन्छ । विद्यार्थी राजनीतिदेखि नै अघिपछि गर्दै आएका दुईमध्ये को पहिले पार्टी सभापति बन्लान् ? भन्नेमा धेरैको चासो छ ।

    दुवै नेतालाई १५ औं महाधिवेशनमा सभापतिको आकांक्षीका रूपमा हेरिएको छ । दुवैले अलग-अलग गुटको अगुवाइसमेत गर्दै आइरहेका छन् । महामन्त्री भएपछि दुवै नेताले एक-अर्कासँग सहकार्य गरेर अगाडि बढ्ने बताएका त छन् तर त्यसमा ढुक्क हुनसक्ने अवस्था छैन ।

    भावी नेतृत्वका लागि प्रत्यासी रहेका कारण महामन्त्रीका रूपमा आफ्नो शक्ति सञ्चय र सुदृढ गर्ने प्रयत्न दुवैले गर्नेछन् । दुवै नेताको ‘सार्वजनिक छवि’ उस्तै खालको भएकाले पनि ‘व्यक्तित्वको टकराव’ नआउला भन्न सकिँदैन ।

    पार्टीभित्र विधि पद्दतिबारे सवाल उठाउँदै आएका दुवै नेता महामन्त्रीको जिम्मेवारीमा छन् । महामन्त्रीका रूपमा अब सवाल उठाउने होइन कि ‘सवाल नउठ्नेगरी’ काम गर्नुपर्ने अवस्था महामन्त्रीद्वयलाई छ । त्यस्तो काम व्यक्तिगत रुची वा लहडबाट नभइ कांग्रेसको विधानद्वारा निर्देशित हुनुपर्नेछ ।

    अन्त्यमा, कांग्रेसवृत्तमा गगन-विश्वको जितलाई रुपान्तरणको सुरूआतका रूपमा व्याख्या गर्ने गरेको पाइन्छ । यद्यपि कांग्रेसजस्तो पार्टीमा व्यक्तिको प्रयत्न रुपान्तरणका लागि काफी हुँदैन । कुनै व्यक्तिको हार वा जितले कांग्रेसको पतन वा उत्थानको निर्धारण गर्न सक्दैन । यसर्थ जितको उन्मादभन्दा जिम्मेवारीको आत्मबोधसहित अघि बढ्नु नै दुवै नेताका लागि हितकर हुनेछ ।

    ‘पब्लिक एटेन्सन’ भन्दा माथि उठेर कांग्रेस र राष्ट्रिय राजनीतिमा योगदान गर्ने अवसरलाई महामन्त्रीद्वय गगन-विश्वले सदुपयोग गरेमात्रै गगनले भनेझैं ‘कांग्रेसमा पुनर्जागरण’ वा विश्वले भनेझैं ‘राजनीतिमा रुपान्तरण’ हुनसक्छ ।

  • सिटौलाको घर पुगेर विश्वप्रकाशले लिए आशीर्वाद

    सिटौलाको घर पुगेर विश्वप्रकाशले लिए आशीर्वाद

    काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग भेटेर आशीर्वाद लिएका छन् ।

    लामो समयदेखि तिक्ततापूर्ण सम्बन्ध रहेको भनिएका सिटौलालाई भेट्न शर्मा निवासमै पुगेका थिए । चण्डोलस्थित सिटौला निवासको आँगनमा सिटौलाले शर्मालाई खादा र अबिर लगाइदिएर शुभकामना दिए । सो क्रममा सिटौलाले सफल कार्यकालको शुभकामना दिए ।

    कांग्रेसको आन्तरिक राजनीतिमा सिटौला-शर्मा सम्बन्ध सुमधुर छैन । सिटौलाकै कारण शर्माले सुशिल कोइराला नेतृत्वको टिम छाड्न बाध्य भएको बताइन्छ । १४ औं महाधिवेशनमा शर्मालाई रोक्नकै लागि सिटौलाले शेरबहादुर देउवासँग सहमति गरेपछि शर्मा प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए ।

    महामन्त्रीमा निर्वाचित भएपछि शर्माले सिनियर नेताहरुलाई भेटेर आशीर्वाद लिइरहेका छन् ।

  • गगन-विश्वको विजय: बुढो रुखलाई फिस्टाको काँध

    गगन-विश्वको विजय: बुढो रुखलाई फिस्टाको काँध

    सत्तारुढ गठबन्धन आफ्नो कुरुप अनुहार छोप्ने मुकुण्डको खोजीमा थियो । शेरबहादुर देउवा र रामचन्द्र पौडेलको लालची राजनीतिको छिद्रहरुको भरपूर उपयोग गरी विश्वप्रकाश शर्मा र गगनकुमार थापा कांग्रेसको महामन्त्री चुनिएपछि सत्तारुढ गठबन्धनले एमालेको करिश्मालाई विषयान्तर गर्ने मेलो भेटाएको छ ।

    एमालेसँग भएको सुदृढ वैचारिक एकता र कांग्रेसमा झांगिएको आत्मकेन्द्रित गुटबदलु प्रवृत्तिले देखाउँछ कि एमालेको उत्थान र कांग्रेसको पतन कसैले रोक्न सक्ने छैन ।

    नेपाली कांग्रेसको ओरालो यात्रा र एमालेको विजययात्राका आधार र जराहरु एकाएक टुसाएका होइनन् । एक शक्ति केन्द्रको निर्माण, उत्थान र पतनमा लामो सिलसिलाले काम पाएको हुन्छ । कांग्रेसको पतनको मूल जरो देउवा–पौडेलको पुस्तामा रोपिएको छ ।

    २०४६ सालको परिवर्तनपछि कांग्रेसले देशको पोल्टामा समृद्धि, सामाजिक न्याय, तीव्र विकास, सुशासनको सौभाग्य थमाउन सक्ने सुन्दर अवसर थियो । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसादलाई मिल्न नदिएर, कांग्रेस-एमालेको सहकार्य हुन नदिएर, माओवादीलाई जंगल पठाएर, देशका उद्योगहरु बेचेर, भ्रष्टाचार गरेर, देशको राजनीतिक अस्थिरताको प्रमुख कारक तत्व बनेर, भारतको दलाली गरेर, वैदेशिक हस्तक्षेप निम्त्याएर, एमालेको जनपक्षीय छवि र जनप्रिय कामबाट जलेर देउवा-पौडेलको पुस्ताले नेपाली कांग्रेसलाई जनताको कोपको भुँग्रोमा हाल्यो ।

    नेपाली कांग्रेस नेपाली जनताको सुखदुःखको सहारा, उकालीको बिसौनी बन्न सक्थ्यो तर राजनीतिको खोल ओढेर नाफा कमाउन आएको कांग्रेसको यही पुस्ताका कारण जनताले पटक पटक धोका मात्र पाए ।

    एमाले र नेपाली जनताको योग, एकता, मेहनत, निष्ठा, साधना, हिम्मत, योजना र सपनामा पानी खन्याउन कांग्रेस युगदेखि युगसम्म अग्रसर रह्यो । देशका लागि अवान्छित तत्वको जोहो गर्ने अपराध सिलसिला पचासको दशकदेखि कांग्रेसले गर्दै आएको छ ।

    एमालेको नेतृत्वमा जनताको चिसो चुल्होमा आगो बलेकोमा कांग्रेसको चित्त दुख्छ, मन रुन्छ र ह्रदय जल्छ । लोकतन्त्र र राज्य आम जनताको बनेकोमा संकीर्ण सोचको कांग्रेसलाई मन पर्दैन । एमालेको उदय देखेर कांग्रेसलाई छटपटी हुन्छ । देशको उन्नति, लय र प्रगति रोक्न कांग्रेसले एमालेका विरुद्धमा देशको सीमाभित्र र बाहिरका अवान्छित तत्वलाई आमन्त्रित गर्छ, कपटमा उत्रिन्छ र खलनायकी चरित्र देखाउँछ ।

    एमालेको एकतामा छिनो चलाउन कांग्रेस कहिलै चुकेको छैन । आफ्नो सामर्थ्यले नपुगेपछि विदेशी ‘प्रभु’ बोलाउँछ । देशको स्वाभिमान बन्धकीमा राख्छ । आफ्नो यसप्रकारको आदर्शच्युत, विवेकशून्य, देशघाती अनुहार लुकाउन र विषयान्तर गर्न कांग्रेस अफ्ना नेताहरुको महिमा मण्डन गर्ने गर्छ ।

    केही दशक कांग्रेसले बीपी, गणेशमान, कृष्णप्रसाद र गिरिजाप्रसादको नाम भजाएर खायो । गत तेह्रौं महाधिवेशनबाट शशांक कोइराला महामन्त्री निर्वाचित भएपछि शशांकको नाम उछालियो । यसपटक पुस्तान्तरणको तुष्टिकरणमा कांग्रेस लठ्ठिएको छ ।

    ढल्न लागेको रुखलाई फिस्टाको काँध

    देउवा र पौडेलको जुम्ल्याहा ठग जोडीको अगाडि कांग्रेसका नवनिर्वाचित महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाको नियति निवर्तमान महामन्त्री डा. शशांक कोइरालाको भन्दा भिन्न हुने छैन । यसरी नै अपेक्षा त शशांकबाट पनि धेरैले धेरै नै राखेका थिए । यसरी नै हौवा पिटिएकै हो ।

    त्यस्ता भन्दा कस्ता खायो बनका बाघले भनेझै सेटिङ र चिटिङ मिलाएर दुईतिहाई बहुमतको सरकार, ओली जस्तो लौहपुरुष र शक्ति पृथकीकरणको सर्वव्यापी सिद्धान्तको चीरहरण गर्न सक्ने, लाजपचाइसकेका खल्लीसँग शर्मा र थापाको सीप नचल्ने निश्चित छ ।

    शर्मा, थापा र देउवा(एसटीडी) त्रिकोण कांग्रेसका लागि देखाउने दाँत मात्र हुनेछ । देउवाको चपाउने दाँत सत्तारुढ गठबन्धनको माधव, रामचन्द्र र प्रचण्ड(एमआरपी) त्रिकोण नै हुनेछ । सत्तारुढ गठबन्धनको लक्ष्य र उद्देश्य गृह निमार्ण होइन दुःखी आत्माहरुको क्लबको रुपमा रहेको एमआरपी गुटको अतिरिक्त आकांक्षा पूरा गर्नु हो ।

    राम्रो राम्रो मिलेर खाँण र कपुर नराम्रो नराम्रो मिलेर भांङधतुर । देउवा, रामचन्द्र, प्रचण्ड र माधवको साँठगाँठको भांङधतुरोबाट देश र कांग्रेसलाई चाहिएको उन्मुक्ति दिने आँट र चेत विश्वप्रकाश शर्मा र गगन थापासँग छैन । यसैले शर्मा र थापाको उफ्रिपाफ्रीबाट कांग्रेसको ओरालो यात्रा र अनिबार्य पतन रोकिने छैन । घरमूली बाबु होस् कि छोरो महत्वपूर्ण कुरा होइन, महत्वपूर्ण कुरा घर साधुको हो कि चोरको, उद्यमीको हो कि अल्छीको कसको भन्ने हुन्छ ।

    मकै पिस्दा घुन पिसिएझै देउबा र पौडेलको पुस्ताका कारण कांग्रेसदेखि जनताले पालेको कोपको भागेदार कांग्रेसको सबै पुस्ताले हुनुपर्ने छ । यसैले समस्याको पोको कांग्रेसको उद्धार गर्ने शर्मा र थापाको हुटहुटी ढल्न लागेको थोत्रो र जर्जर रुखलाई फिस्टे चराले थापेको काँध भन्दा भिन्न छैन ।

    देखाउने दाँत एसटीडी, चपाउने दाँत एमआरपी

    शर्मा, थापा र देउवा(एसटीडी) त्रिकोण कांग्रेसका लागि देखाउने दाँत मात्र हुनेछ । देउवाको चपाउने दाँत सत्तारुढ गठबन्धनको माधव, रामचन्द्र र प्रचण्ड(एमआरपी) त्रिकोण नै हुनेछ । सत्तारुढ गठबन्धनको लक्ष्य र उद्देश्य गृह निमार्ण होइन दुःखी आत्माहरुको क्लबको रुपमा रहेको एमआरपी गुटको अतिरिक्त आकांक्षा पूरा गर्नु हो ।

    सत्तारुढ गठबन्धनले जनता रिझाउनु छैन । बल मिच्याईं गरेर लिपुलेकदेखि लिम्पियाधुरा कब्जा गरिरहेको छिमेकीलाई हरहर महादेव गरेर रिझाउनु रहेको छ । महाधिवेशनबाट कांग्रेस नयाँ जोश र नयाँ सोचका साथ आएको खुबै ढोल पिट्ने देखिन्छ । एसटीडी त्रिकोणको आवरणमा सत्तारुढ गठबन्धनको प्रमुख घटक नेपाली काग्रेसले नयाँ बोतलमा पुरानो रक्सी खपत गर्ने चलाखी गर्ने छ । परिणती भने देश र जनताले माधव, रामचन्द्र र प्रचण्ड(एमआरपी) त्रिकोणको कष्टसाध्य बोझ बोक्नु हुनेछ ।

    के अब अनन्तकालसम्म प्रचण्डले ओलीका रिसले आलोपालो सत्ता साझेदारीको माग दाबी छोड्लान् त ? या त एउटाको रिसले अर्काेलाई बोक्ने प्रचण्ड र त्यति नै पदलोलुप माधव नेपालको तृष्णा मेट्न सिंगो कांग्रेस राजी होला ? जता सत्ता त्यतै विग्रहको नियतिले काग्रेसलाई लपेट्ने संभावना पनि बलियो छ ।

    देउवाको प्राथमिकतामा कांग्रेस महाधिवेशनको म्याण्डेट हृुनेछैन । नेपालको राष्ट्रिय समस्या एमआरपी गुट नै पर्ने देखिन्छ । किनकी सत्ता राजनीतिका धुर्त खेलाडी देउबाले शर्मा र थापाको संभावनालाई गोडमेल गर्ने छैनन् । माधव, रामचन्द्र र प्रचण्डको मन दुःखाउनु नै आफ्नो निष्कण्टक सत्ता यात्रा तगारो हुन् भन्ने देउबालाई राम्रैसँग थाह छ ।

    माधव नेपाल एमालेद्वेषी भैदिनु, कांग्रेसमा रामचन्द्रले देउवाा बिरोधी खेमाको अगुवाई गर्न नसक्नु र प्रचण्डलाई ओलीदेखि रिस उठ्नु परिणाम राज्यसत्ता र कांग्रेस पार्टी सत्ता देउवाको पोल्टामा परेको छ । यी मध्ये प्रचण्डको रिसको पारो र अस्थिर चरित्र नै देउवाको प्रमुख टाउको दुःखाई हुनेछ ।

    कसैलाई मन पराएको आधारमा समबन्ध निर्माण नगरी एउटाको रिसले अर्काको भर्‍याङ बन्न पछि नपर्ने जटिलपुरुष प्रचण्डको प्रवृत्ति रहेको छ । एमालेको रिसले दरबार, दिल्लीको चरणचुम्बन गर्नु, कांग्रेस, त्यसमा पनि कोइराला खेमाको रिसले २०७२ सालमा ओलीलाई प्रधानमन्त्रीका लागि समर्थन गर्नु र ओलीको रिसले दुई दुई पटक देउवालाई वामपन्थी सरकार सुम्पिनु दृष्टान्तहरु हुन् ।

    के अब अनन्तकालसम्म प्रचण्डले ओलीका रिसले आलोपालो सत्ता साझेदारीको माग दाबी छोड्लान् त ? या त एउटाको रिसले अर्काेलाई बोक्ने प्रचण्ड र त्यति नै पदलोलुप माधव नेपालको तृष्णा मेट्न सिंगो कांग्रेस राजी होला ? जता सत्ता त्यतै विग्रहको नियतिले काग्रेसलाई लपेट्ने संभावना पनि बलियो छ ।

    कृष्णप्रसाद, गिरिजाप्रसादबाट सत्ता खोस्ने देउवा, पालो पर्खी रहेका अन्य कांग्रेसी हस्तीहरुलाई के निराश नपार्लान् त ? ठगिएका र रिसाएका प्रचण्डले लिने यु टर्न मोड कस्तो होला ? हेर्दा लाग्छ, आगामी चुनावमा सत्तारुढ गठबन्धनबाट जनताले स्थिरताको आशा गर्ने ठाउँ छैन ।

    उत्तरकुमारको हालत

    भन्नु र गर्नुमा आकाश जमिनको अन्तर छ । अहिले कांग्रेसका दुई महामन्त्रीको डंका पिटाई र गरिएको अपेक्षा यथार्थमा आधारित छैन । शर्मा र थापाको हौसला महाभारतमा पाइने उत्तरकुमारको मिथकसँग मेल खान्छ ।

    पाण्डवहरु विराटनगरमा गुप्तबासमा रहँदा द्रौपदीमाथि आँखा लगाएकाले भीमले किचकको वध गर्छन् । कौरवहरुले किचकको बध गर्ने सामर्थ्य राख्ने मध्ये एक जना भीम भएकाले पक्कै पनि पाण्डवहरु विराटनगरमा लुकेको हुनुपर्ने अनुमान लगाउँछन् ।

    सत्तारुढ गठबन्धनका पतनका लागि एमाले यज्ञ, ओली लहर र जनताको सत्तारुढ गठबन्धनकाप्रतिको कोप पाण्डवहरुको जस्तै महाभारत युद्धको व्यवस्थित तयारी हो । एमाले यज्ञलाई छायामा पार्ने गरी शर्मा र थापाले हाँक्ने गरेका गुड्डीहरु महिला गणको अगाडि उत्तरकुमार गरेको फुर्तीजस्तै हो ।

    गुप्तवासको एक वर्ष नपुग्दै पाण्डवहरु भेटिएमा फेरि बाह्र वर्ष वनवास जाने शर्त भएकाले कौैरवहरुले विराटनगरमा हमला गर्छन् । कौरव सेनाको एक टुकडीले गौशालाबाट गाई हरण गर्छ । राजा विराट त्यसको प्रतिरोधमा जान्छन् । अर्कोपट्टिबाट राजधानी हमला गर्न कौरव महारथिहरु आएको सूचना आउँछ ।

    महिला गणको बीचमा कौरव महारथीको मुकाबिला आफूले गर्न सक्ने भन्दै किशोर अवस्थाका युवराज उत्तरकुमार कौरव महारथिहरुको मुखले तेजोवध गर्छन् । जब युद्ध मैदानमा आम्नेसाम्नेको घडी आउँछ, भीष्म, द्रोण, कर्ण, दुर्योधन, अश्वस्थामा, दुःशासन जस्ता महारथिका अगाडि म बालकको सीप चल्दैन भन्दै उत्तरकुमार मैदान छोड्दै भाग्छन् । वृहन्नलाको रुपमा छिपिएर रहेका अर्जुनले छोपेर उत्तरकुमारको शाख जोगाउँछन् ।

    सत्तारुढ गठबन्धनका पतनका लागि एमाले यज्ञ, ओली लहर र जनताको सत्तारुढ गठबन्धनकाप्रतिको कोप पाण्डवहरुको जस्तै महाभारत युद्धको व्यवस्थित तयारी हो । एमाले यज्ञलाई छायामा पार्ने गरी शर्मा र थापाले हाँक्ने गरेका गुड्डीहरु महिला गणको अगाडि उत्तरकुमार गरेको फुर्तीजस्तै हो ।

    कांग्रेसी महाभारत र महारथिहरुको लेखाजोखा

    आन्तरिक प्रतिष्पर्धाका दौरानमा कांग्रेसी हस्तीहरुको निर्वस्त्रीकरण यस महाधिवेशनमा जति कहिलै देखिएन । कांग्रेसी महाभारतका महारथिहरुको नैतिक निर्वस्त्रीकरण, अवसरवाद, नग्नता र झुर प्रदर्शनको बिस्कुन लागेको छ । रणमैदानमा देउवाको प्रदर्शन भेडाहरुको बथानको महाशेर सेनापतिको जस्तो रहन गयो ।

    गिरिजाप्रसाद र सुशील कोइरालाबाट प्रशिक्षित र संगठित कांग्रेसको दह्रो साथ र समर्थन पाएर पनि नेता पौडेलको झुर राजनीति सिंहको बथानको भेडो सेनानायक सरहको टिठलाग्दो देखियो । पिता बीपी, छोरा धोती न टोपी होलान् भन्ने कसैले नगरेको अनुमान वास्तविकता भएर आयो ।

    पिता गिरिजा, पुत्री देउबा क्याम्प जा भएको देखियो । गणेशमान पुत्र प्रकाशमानलाई महाबेइमानका रुपमा लोकले चिन्यो । महेन्द्रनारायण निधिका पुत्रका गतिविधि पनि पिताले छोडेको विरासत अनुकूल रहेनन् । यस कांग्रेसी महाभारतको शल्य सेनापतिको फेटा गिरिजाप्रसादबाट पुल्पुल्याइएका कृष्णप्रसाद सिटौलाई परेको देखियो ।

    देउबा क्याम्पका आधा दर्जन मन्त्रीले विराटनगरमा बसेर प्रदेश नम्बर १ को सभापति निर्वाचनमा चक्रब्युह रचे र गुरुराज घिमिरेलाई कांग्रेसी महाभारतको अभिमन्यु बनाए । मनी, मशल, धनवाद, डनवाद, गनवाद जस्ता एमालेलाई उडाउन बुनिएका शब्दहरु काग्रेसका दैनिकी, जीवनशैली र पहिचान बने ।

    विश्वको विश्वास छैन, गगनको ठेगान छैन

    यी तीन महाधिवेशनमा गगन थापाले बदलेका तीन वटा क्याम्प र गएको एक हप्तामा विश्वप्रकाश शर्माले हानेको तीन घुम्ती हेर्दा कांग्रेसका नवनिर्वाचित महामन्त्रीद्वयको नियती पनि निवर्तमान महामन्त्री शशांक कोइरालाको भन्दा भिन्न नहुने देखिन्छ ।

    गणेशमान सिंहले प्रधानमन्त्री पद कृष्णप्रसाद भट्टराईलाई दिएको देखेका देउवाले यसपाली रामचन्द्रलाई यदि सभापतिका रुपमा अघिसार्दा हुन् त देउबाको उचाईँ र महिमा बीपी र गणेशमानको हाराहारीमा पुग्ने थियो ।

    बाह्रौं महाधिवेशनमा कोइराला र देउबा दुबै क्याम्पको दोहोरो लिष्टमा नाम परेर केन्द्रीय सदस्यमा डेब्यु गरेका थापा तेह्रौं महाधिवेशनमा सिटौला पक्षबाट महामन्त्री उठ्नु र यस पटक शेखर कोइराला पक्षमा घुस्नु खपतका लागि गरिएको अवसरवाद थियो । नाकाबन्दीलाई नाकाबन्दी नभन्ने, भारतका लागि कम्फरटेबल हुने प्रचण्डको लहडमा सहीछाप लगाउने कांग्रेसको युवापुस्ता पनि हो ।

    सेटिङ र परमादेशको सरकारको रक्षा र वकालतमा कांग्रेसको युवा पुस्ता झन् अगाडि छ । मुद्दा, मूल्य, नैतिकता, साधना र निष्ठालाई तपशीलमा राखेर प्राप्त भएको सफलता दिगो हुँदैन । अबका दिनमा आफ्नै अविश्वासी छवि र प्रवृति शर्मालाई भारी पर्न सक्छ र खपतका लागि समूहहरुसँगको समन्ध निर्माण र विग्रहको रफ्तार थापालाई महंगो पर्न सक्छ ।

    न नियन्त्रण न नेतृत्व हस्तान्तण

    एमालेमा अध्यक्ष ओलीका प्रतिको विश्वास, भरोशा र श्रद्धालाई खिल्ली उडाउने कांग्रेस आफू भने न नेतृत्व युवा पुस्तामा हस्ताहरण न नियन्त्रणको घनचक्करमा फसेको छ । त्यागी र दूरदर्शी नेतृत्वले मात्र पार्टीमा सकारात्मक नियन्त्रण, अनुशासन र अदप कायम गर्न सक्छ ।

    यस्तो विलक्षण क्षमता बीपीमा थियो । सुरुवाती अवस्थामा बीपीले डिल्लीरमण रेग्मीसँग कांग्रेस सभापतिको पदका लागि टसल पर्दा आफु पछि हटेर मात्रिकाप्रसाद कोइराला, महेन्द्रविक्रम शाह र सुवर्ण समशेरलाई क्रमशः सभापति, महामन्त्री र कोषध्यक्ष बनाउनु, पछि सुवर्ण समशेर र गणेशमान सिहंलाई प्रतिष्पर्धा गर्न दिएर आफू बारम्बार सभापति नहुने निष्कर्षमा पुग्नु बीपीको त्याग र दूरदर्शिताका उदाहरण थिए ।

    गणेशमान सिंहले प्रधानमन्त्री पद कृष्णप्रसाद भट्टराईलाई दिएको देखेका देउवाले यसपाली रामचन्द्रलाई यदि सभापतिका रुपमा अघिसार्दा हुन् त देउबाको उचाईँ र महिमा बीपी र गणेशमानको हाराहारीमा पुग्ने थियो ।

    देउबा र रामचन्द्र दुबै माग्न जान्ने दिन नजान्ने रसायनले बनेका हुनाले न कांग्रेसमा अनुशासन छ न कांग्रेसका दुबै खेमामा मर्यादा र शर्म छ ।

    एमाले अध्यक्ष ओलीले त्याग गर्ने दिनमा त्याग र अनुशासन र नियन्त्रण कायम गराउनु पर्ने दिन सफल नेतृत्व प्रदान गर्न सकेकाले एमालेको आन्तरिक जीवन अन्य दलको तुलनमा सरल, सहज र सफल छ । मदन, मनमोहन, सीपी, माधव, झलनाथ सबैलाई साथ दिएर, काँध थापेर तथा प्रचण्ड, माधव, झलनाथ र वामदेवहरुको घेराबन्दी ब्यूहको बहादुरीका साथ भेदन गरेर आएकाले एमालेमा ओलीको मान, शान, नियन्त्रण, विश्वास, भरोशा र श्रद्धा चरम उत्कर्षमा छ ।

    यसरी जनताको समर्थन, विचारको राजनीति, गृह निर्माणको हुटहुटी, सुखी नेपाली र समृद्ध नेपालको योजना र सपना, देशलाई स्वाभिमानको मेरुदण्ड दिन सक्ने नेता पाएकाले एमाले निरन्तर उदय, उत्थान र उत्कर्षमा छ भने उसका जोरिपारीहरु भिरको डिलमा पुगेको स्थिति छ ।

    जसको सिंंङ छैन उसको नाम तिखे

    विचार, जनमत, निष्ठा, त्याग, संंघर्ष, आदर्शको वलमा कुनै बेला कांग्रेस नेपाल नायकको भूमिकामा थियो । अस्ताचलमा पुगेको आजको कांग्रेसले भोग्नु परेको सबैभन्दा ठूलो क्षति उसले गुमाएको नेपाल नायकको धर्म हो । जसको सिंङ छैन उसैको नाम तिखे भनेझै कांग्रेस आफुलाई विचार र आदर्शबाट निर्देशित पार्टी रहेको दाबी गर्छ । जबकी कांग्रेस बासी विचार, थोत्रा तर्क र सन्दर्भ गुमेका शब्दजालमा जकडिएको छ ।

    प्रजा शब्दले सार्वभौमसत्ता सम्पन्न जनता जनार्दनको शान, मान, सर्वोपरिता, ओज र अर्थलाई बोक्न नसक्ने हुनाले हामीले प्रजातन्त्र शब्दलाई लोकतन्त्र शब्दमा संस्करण गर्‍यौं । नेपाली कांग्रेस मात्र यस्तो जडभगत पार्टी हो जसले उहिल्यै बीपीले भनेको प्रजातान्त्रिक समाजवादको पुनव्र्याख्या गरी लोकतान्त्रिक समाजवाद नामाकरण गरेर अपडेट गर्न सकेको छैन ।

    एमालेले मार्क्सवादको पुनर्व्याख्या गरी नेपाली संस्करणको मार्क्सवादका रुपमा जनताको बहुदलीय जनवाद अघि सारी जनसमुदाय र विश्व समुदायलाई विश्स्त पारिसक्तासम्म प्रदीप गिरी जस्ता कांग्रेसी चिन्तकहरु कुम्भकर्ण निद्रामा सुकला रहेको स्थिति छ । यसले देखाउँछ एमालेको तेज र तीक्ष्णता र कांग्रेसको सुस्तता र जडता ।

    जुन पार्टीका महाधिवेशन प्रतिनिधि वडा, पालिका, जिल्ला, प्रदेशका अधिवेशन र महाधिवेशनको दुई चुनाव गरी दश पटक बिक्री हुन्छन् त्यो पार्टीप्रति जनताको मोहभंग हुनु स्वभाविक छ । पैसाको लागि देश र धर्म बेच्न तयार रहेको पार्टी भनेर आफूमाथि लागेको आक्षेपलाई कांग्रेसले नाकाबन्दी र धर्म निरपेक्षताको बहसको बेला खण्डन गर्न सकेन । कुनै बेला कांग्रेस महानायकीय भूमिकामा अवश्य थियो । यी यस्ता संकेतहरु हुन् जसले कांग्रेसको पुनरुत्थानको प्रयासलाई विफल पार्ने छन् ।

    (शाही नेकपा एमालेका केन्द्रीय सदस्य हुन्)

  • तस्बिरमा गगन-विश्वप्रकाशको विजयोत्सव

    तस्बिरमा गगन-विश्वप्रकाशको विजयोत्सव

    काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा विजयी भएका छन् ।

    कांग्रेस महामन्त्रीमा गगनकुमार थापा सर्वाधिक मत ल्याएर विजयी भए । उनीसँगै विश्वप्रकाश शर्मा पनि महामन्त्रीमा विजयी भए । उनीहरू दुवैजनाले कार्यकर्तासँग खुसी साटेका छन् ।

    निर्वाचन समितिका अनुसार ४६८२ मत गणना हुँदा गगनकुमार थापा ३०२३ मत प्राप्त गरे। १९८४ मत ल्याएर विश्वप्रकाश शर्मा दोस्रो बने । गगन शेखर कोइराला र विश्वप्रकाश प्रकाशमानको प्यानलबाट महामन्त्री लडेका थिए । ४३ मत बदर भएको छ ।

    सभापतिमा विजयी शेरबहादुर देउवा प्यानलका उम्मेदवारहरू प्रकाशशरण महतले १५५६ र प्रदीप पौडेलले १३९३ मत ल्याए ।
    उनीहरू दुवैजना देउवाइतरको छुट्टाछुट्टै प्यानलबाट उठेका थिए । नेतृत्व परिवर्तनको वकालत गरिरहेका नेताहरू नै दोस्रो चरणको चुनावमा देउवाका लागि भोट माग्न उभिए । तर, कम्तीमा महामन्त्री पद युवा पुस्तामा सरेको छ ।

     

  • विश्वप्रकाशलाई देउवाले भने- बुढापाकालाई अर्ती दिने होइन (भिडिओ)

    विश्वप्रकाशलाई देउवाले भने- बुढापाकालाई अर्ती दिने होइन (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता सुवर्णशमशेर राणामाथि लेखिएको ‘राजनेता सुवर्णशमशेर’ नामक पुस्तक मंगलबार सार्वजनिक भयो ।

    प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा रामचन्द्र घिमिरेद्वारा लिखित पुस्तक लोकार्पण गरे । कार्यक्रमका सहभागीको मुख्य चासो भने प्रवक्ता विश्वप्रकाश शर्माको मन्तव्य र त्यसमाथि देउवाको जवाफमा केन्द्रित देखियो ।

    कांग्रेस प्रवक्ता शर्माले मन्तव्यका क्रममा आफूले महामन्त्रीको उम्मेदवारी घोषणा गरेपछि राखेको राजनीतिक प्रस्तावको व्याख्या गरे । सभापति देउवालाई ‘एउटा सल्लाह दिन चाहन्छु’ भन्दै शर्माले १ पटकभन्दा बढी राष्ट्रपति, २ पटकभन्दा बढी प्रधानमन्त्री, ३ पटकभन्दा बढी मन्त्री र ४ पटकभन्दा बढी सांसद बन्न नपाउने प्रस्ताव आफ्नो पुस्ताका लागि गरेको बताए ।

    ‘मैले राजनीति बदल्ने प्रस्ताव बोकेर धेरै जिल्ला पुग्दा साथीहरूले शेरबहादुर देउवा त ५ पटक प्रधानमन्त्री भइसके विश्वप्रकाशको पुस्ताले त्यो अवसर र क्षमता राख्छ त ? भनेर सोध्नुहुन्छ । हाम्रो सभापतिलाई ज्योतिषले ७ पटक प्रधानमन्त्री बन्ने भनेको होला तर मैले मेरो पुस्तालाई २ पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने प्रस्ताव गरेको छु’, शर्माले भने ।

    प्रमुख अतिथिका रूपमा मन्तव्य दिँदै गर्दा प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले प्रवक्ता शर्माको जवाफ फर्काए । शर्माले ‘सल्लाह दिन्छु’ भनेको तर्फ संकेत गर्दै देउवाले अर्ती दिने काम बुढापाकाको भएको बताए । ‘बुढापाकालाई अर्ति दिने होइन, बुढापाकाको अर्ती सुन्ने हो । हतार नगर्नुस्, अर्ती दिने हैन लिनुस्’, देउवाले भने ।

    उनले शर्माको प्रस्ताव ‘भन्न सजिलो तर गर्न गार्‍हो’ रहेको बताए । ‘अरुलाई भन्न त सजिलो छ आफ्नो लागि हो भने गार्‍हो छ । हतार नगर्नुस् क्या पालो आउँछ’, देउवाले भने । देउवाले शर्माको जवाफ फर्काउँदा सभागृहमा हाँसो गुञ्जिएको थियो ।

    कार्यक्रममा बोल्ने क्रममा सह-महामन्त्री डा. प्रकाशशरण महतले पार्टीमा सहमतिका नाममा निर्णय ढिलो हुँदा पार्टीमा समस्या आएको बताएका थिए । महतलाई जवाफ दिँदै देउवाले आफू हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने नेता नभएको बताए ।

    ‘निर्णय भन्या जथाभावी गरेर भएन नि । हतारमा निर्णय गरेर पछुताउनु भएन नि । सोच विचार गरेर गर्ने हो निर्णय भनेको’, देउवाले भने ।
    सो क्रममा देउवाले एमालेको चर्चा गर्नतिर भन्दा आफ्नो पार्टी सुधार्नतिर ध्यान दिन कार्यकर्तासँग आग्रह गरे ।

  • ओलीलाई विश्वप्रकाशको जवाफ- कांग्रेसको आलोचना गर्दा एमालेको हालत नर्बिसनु

    ओलीलाई विश्वप्रकाशको जवाफ- कांग्रेसको आलोचना गर्दा एमालेको हालत नर्बिसनु

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसमाथि आरोप लगाउँदा आफ्नो पार्टीको अवस्था हेक्का राख्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुझाएका छन् ।

    एमालेको वडा अधिवेशन उद्घाटनका क्रममा एमाले अध्यक्ष ओलीले आफूलाई लोकतान्त्रिक भन्ने कांग्रेसजस्तो पार्टीले ५ वर्षसम्म महाधिवेशन गर्न नसकेको भनी टिप्पणी गरेका थिए ।

    सामाजिक सञ्जालमार्फत् जवाफ फर्काउँदै कांग्रेस प्रवक्ता शर्माले कांग्रेसभन्दा पहिले एमालेको महाधिवेशन भएको तथ्य नबिर्सन आग्रह गरेका हुन् ।

    ‘कांग्रेसले ५ वर्षभित्र महाधिवेशन गर्न सकेन भन्ने कमरेड केपी शर्मा ओलीको आलोचना स्वीकार्य, आलोचना गर्दा तथ्यको हेक्का नराख्नु भने लज्जास्पद । कांग्रेसको २०७२ फागुनमा महाधिवेशन हुनुभन्दा २० महिनाअघि एमालेको २०७१ असारमा भएको थियो महाधिवेशन’, शर्माले भनेका छन् । उनले कांग्रेसलाई एक औला चेस्र्याउँदा बाँकी औला ओलीतिरै तेर्सिएको उल्लेख गरेका छन् ।

  • देशको प्रतिष्ठा अभिवृद्धि गर्न खेलाडी समर्पित छन्, विशेष कार्ययोजना आवश्यक: विश्वप्रकाश शर्मा

    देशको प्रतिष्ठा अभिवृद्धि गर्न खेलाडी समर्पित छन्, विशेष कार्ययोजना आवश्यक: विश्वप्रकाश शर्मा

    काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले खेलाडीहरू देशको प्रतिष्ठा अभिवृद्धिका लागि समर्पित रहेकाले उनीहरूको क्षमता अभिवृद्धि गर्न विशेष कार्ययोजना तय गरिनु पर्ने बताएका छन् ।

    हालै माल्दिभ्समा सम्पन्न दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपको उपविजेता बनेको नेपाली टोलीालाई बधाई दिँदै शर्माले विशेष कार्ययोजना आवश्यक रहेको बताएका हुन् ।

    अक्टोबर १ देखि गत शनिबारसम्म माल्दिभ्समा भएको साफ च्याम्पियनसिपको १३औं संस्करणमा नेपालले इतिहासमै पहिलो पटक फाइनल यात्रा तय गरेको थियो । यद्यपि, फाइनलमा नजिकको प्रतिद्वन्दी भारतसँग ३-० गोलको नतिजामा पराजित हुँदै नेपाल उपविजेता बनेको थियो ।

    उपविजेता बनेर सोमबार बिहान स्वदेश फर्किएको नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज तथा समर्थकले विमानस्थलमा भव्य स्वागत गरेका थिए ।

    सरकारले साफ उपविजेता टोलीलाई जनही पाँच लाख रूपैयाँ पुरस्कार दिने घोषणा गरिसकेको छ ।

    सत्तारूढ दल काँग्रेसका प्रवक्ता शर्माले सरकारको त्यो निर्णय स्वागतयोग्य रहेको बताउँदै सरकारलाई धन्यवाद र ‘टीम नेपाल’लाई ट्वीटरमार्फत बधाई दिएका हुन् ।

  • टिम छाड्न लागेका निधि र शर्मासंग देउवाको छुट्टाछुट्टै छलफल

    टिम छाड्न लागेका निधि र शर्मासंग देउवाको छुट्टाछुट्टै छलफल

    काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनमा सभापति र महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका उपसभापति विमलेन्द्र निधि र प्रवक्ता विश्वप्रकाश शर्मासंग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । शुक्रबार साँझ देउवाले निधि र शर्मासंग छुट्टाछुट्टै भेट गरेका हुन् ।

    देउवाले नै निधिलाई उपसभापति र शर्मालाई प्रवक्ताको जिम्मेवारी दिएका थिए । १४ औं महाधिवेशनमा सभापतिमा आफूलाई सघाउन देउवाले यसअघि नै निधिसंग भनिसकेका छन् । निधिले भने आफू सभापतिको उम्मेदवारीबाट पछाडि नहट्ने बताउँदै आएका छन् ।

    शर्माले पनि भदौ २४ गते महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका थिए । उपसभापति निधिले देउवासंगको भेटमा जनकपुर–जयनगर रेल तत्काल सञ्चालनमा ल्याउन आग्रह गरेको जनाएका छन् ।

    ‘आजको भेटमा मुख्यतः जनकपुर–जयनगर रेलसेवा तत्काल सञ्चालनमा ल्याउनेबारे कुरा भयो । प्रधानमन्त्रीले रेलसेवा सुरु गर्ने विषयमा आवश्यक कदम चाल्ने बताउनुभएको छ’, भेटबारे निधिको सचिवालयले बताएको छ ।

    भेटमा पार्टीको १४ औं महाधिवेशन र सरकार विस्तारको विषयमा पनि छलफल भएको बताइएको छ । त्यस्तै प्रवक्ता शर्माले प्रधानमन्त्रीसंगको भेटमा १४ औं महाधिवेशन, सरकारका कामकारवाही र कमजोरीबारे लामो संवाद भएको जनाएका छन् ।

    सो क्रममा शर्माले पार्टीको प्रचार विभागले ‘चिन्तन चौधौ महाधिवेशन’ कार्यक्रम आयोजना गर्न लागेको बारे सभापति देउवालाई अवगत गराएका थिए । सभापति र महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका निधि र शर्माबीच महाधिवेशनमा सहकार्यको चर्चा कांग्रेसवृत्तमा चुलिदो छ ।

    आसन्न महाधिवेशनमा आफ्नो समूहमा नरहने निश्चित भएका नेतासंग देउवाले भेट गर्नुलाई अर्थपूर्ण मानिएको छ । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री एवं सभापति देउवाले दुवै नेतालाई समेटेर लैजान आफू तयार भएकोले एकपटक सभापतिमा सहयोग गर्न आग्रह गरेका छन् ।

  • कांग्रेस बैठक : हिमाली जिल्लाका पालिकास्तरीय अधिवेशन अनुमति लिएर सार्न सकिने

    कांग्रेस बैठक : हिमाली जिल्लाका पालिकास्तरीय अधिवेशन अनुमति लिएर सार्न सकिने

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सकिएको छ ।

    सिंहदरवारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको बैठकमा मंसिर ९-१३ को निर्धारित मितिमै महाधिवेशन गर्ने निर्णय भएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । बैठकमा महाधिवेशनको मिति सार्ने प्रस्ताव पार्टीका कुनै पनि पदाधिकारीले नगरेको पनि जानकारी गराइएको छ ।

    ‘जुन मिति निर्धारण गरेका छौं । त्यसबारेमा अहिले कसैलाई कुनै कन्फ्यूजन नराख्नका लागि र बैठकमा महाधिवेशन मंसिरबाट अलि पछाडि जाने होकि कसैले प्रस्ताव पो राख्नु भयो कि भनेर खासगरी महामन्त्रीज्यूको नाम भनेर पनि आयो,’ बैठकपछि प्रवक्ता शर्माले भने, ‘त्यो प्रकारको विषयमा अहिले हामी गएका छैनौं । जानुपर्ने खण्ड आयो भने पनि केन्द्रीय समितिमा हामी विधिवतरूपमा जान्छौं ।’

    बैठकले भोलि ९ गते निर्धारित समयमै पालिकास्तरीय अधिवेशन हुने र त्यसलाई सफलतापूर्वक सम्पन्न गराउन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरेको छ । हिमाली जिल्लालगायत कतिपय जिल्लामा पालिकास्तरीय अधिवेशनको मिति सार्नुपर्ने अवस्था आएमा पार्टी जिल्ला कार्य समितिको भावना अनुसार केन्द्रीय निर्वाचन समितिबाट अनुमति लिएर गर्न सकिने निर्णय पनि बैठकले गरेको शर्माले जानकारी दिए ।

    बैठकले बाँकी रहेका १३ जिल्लाको क्रियाशील सदस्यतासम्बन्धी विवाद तत्काल समाधान गर्ने निर्णय पनि गरेको छ ।

  • विश्वप्रकाशको अवधारणा- तीन दिन पार्टीलाई, चार दिन रोटीलाई (पूर्णपाठ)

    विश्वप्रकाशको अवधारणा- तीन दिन पार्टीलाई, चार दिन रोटीलाई (पूर्णपाठ)

    काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदका प्रत्यासी विश्वप्रकाश शर्माले आफ्नो उम्मेदवारी पुष्टी गर्न राजनीतिक अवधारणा सार्वजनिक गरेका छन् ।

    गृह जिल्ला झापामा आयोजित कार्यक्रमबीच शर्माले ‘हिजो राजनैतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन’ विषयक अवधारणा सार्वजनिक गरेका हुन् । जसमा उनले समग्र राजनीतिबारे आफ्ना धारणा र प्रस्ताव प्रस्तुत गरेका छन् । शर्माले आफ्नो पुस्तालाई प्रस्ताव भन्दै ‘वान, टु , थ्री फोर’ सूत्रससहित शासन संस्कार पद्धती अघि सारेका छन् ।

    उनले एक राजनीतिकर्मीले आफ्नो जीवनकालमा एकपटक राष्ट्रपति, दुईपटक प्रधानमन्त्री, तीनपटक मन्त्री र चारपटक सांसदको सपथ लिने प्रस्ताव गरेका छन् । यसबाट राजनीतिक नेतृत्वमा आगमन र वहिर्गमनको भिन्न प्रणाली निर्माण हुने शर्माको दावी छ ।

    शर्माले सात पृष्ठ लामो अवधारणामा संविधान बनाउनेले संविधानप्रति इमान राख्नुपर्ने, राजनीतिक अव्यवस्था अन्त्य गर्नुपर्ने , साझा परराष्ट्र नीति हुनुपर्ने, लोकतान्त्रिक संस्थाहरूको विश्वसनीयता बढाउनुपर्ने, न्यायको तीव्र अनुभूति गराइनुपर्ने, राजनीतिकर्मीहरू स्वावलम्बी हुनुपर्नेलगायतका प्रस्ताव उल्लेख छन् ।

    उनले पार्टीभित्र ‘३ दिन पार्टीका लागि, चार दिन रोटीका लागि’ भन्ने नारासमेत अघि सारेका छन् ।

    यस्तो छ शर्माको अवधारणाको पूर्णपाठ:-

  • राजनीतिक अवधारणा सार्वजनिक गर्दै विश्वप्रकाश

    राजनीतिक अवधारणा सार्वजनिक गर्दै विश्वप्रकाश

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं महामन्त्री पदका प्रत्यासी विश्वप्रकाश शर्माले आज आफ्नो अवधारणा सार्वजनिक गर्दैछन् ।

    वीपी जयन्तीको दिन सुन्दरीजलबाट महामन्त्री पदमा लड्ने घोषणा गरेका शर्माले गृहजिल्ला झापामा आयोजित कार्यक्रमबाट आफ्नो अवधारणा सार्वजनिक गर्ने भएका हुन् ।

    ‘हिजो राजनैतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन’ भन्दै शर्माले आफ्नो अवधारणा सार्वजनिक गर्न लागेका हुन् । कांग्रेसको महामन्त्रीका रूपमा आफूले उम्मेदवारी घोषणा गरेसँगै राजनीतिक अवधारणा सार्वजनिक गर्नु अपरिहार्य ठानेको शर्माले बताए ।

    ‘नेपाली जनताको ७ दशक लामो सपना साकार भएर संविधानसभाबाट संविधान बनेको दिन मेरो जन्मभूमि झापाका जनताको माझबाट राजनीतिबारे मेरा अवधारणा सार्वजनिक गर्न चाहेको हुँ’, शर्माले नेपाल प्रेससँग भने ।

    कांग्रेसको महाधिवेशन मंसिर ९ गतेदेखि १३ गतेसम्म हुँदैछ । सभापति शेरबहादुर देउवाका विश्वासपात्र शर्माले एकल उम्मेदवारी घोषणा गरेसँगै उनी उपसभापति विमलेन्द्र निधिसँग नजिकिएको चर्चा कांग्रेसवृत्तमा भइरहेको छ ।

  • मत माग्न जाँदा अनिवार्य मास्क लगाउन विश्वप्रकाशको आग्रह

    मत माग्न जाँदा अनिवार्य मास्क लगाउन विश्वप्रकाशको आग्रह

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४ आँै महाधिवेशनको प्रक्रिया भदौ १८ गतेबाट शुरु हुने बताएका छन् ।

    बुधबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता शर्माले देशभर एकसाथ वडाहरुको अधिवेशन प्रारम्भ हुने दिनबाट पार्टीको महाधिवेशनको श्रृंखला प्रारम्भ हुने बताएका हुन् ।

    उनले कांग्रेसका क्रियाशील सदस्य, अन्य सदस्य र पार्टीमा आवद्ध पदाधिकारीहरुले महाधिवेशनमा भेटघाट गर्दा र कार्यक्रम गर्दा सबैलाई मास्क लगाउन पनि अपील गरे ।

    महाधिवेशन गर्नुपर्ने बाध्यता र कोरोनाबाट पनि जोगिनु पर्ने कारणले आफू जोगिन र समाजलाई पनि जोगाउनु पर्ने कर्तव्य नेपाली कांग्रेसको भएकोले मत माग्न जाँदा अनिवार्य मास्क लगाउन उनले अनुरोध गरे । १८ गतेबाट महाधिवेशन शुरु गर्ने भनिएपनि ५६ वटा जिल्लाका मात्रै क्रियाशील सदस्यहरुको सूची सार्वजनिक भएको र कोरोनाको जटिलता रहेकोले महाधिवेशनका लागि अझै २ वटा जटिलता रहेको उनले बताए ।

    प्रवक्ता शर्माले १८ गतेबाट पार्टी महाधिवेशन शुरु हुँदै गर्दा कोरोना, अन्य केही जटिलता तथा क्रियाशील सदस्यताको विवरण नटुंगिएको खण्डमा त्यो जिल्लाका केन्द्रीय निर्वाचन प्रतिनिधिहरुले केन्द्रीय निर्वाचन समितिसँग समन्वय गरेर अनुकुलता बमोजिम सार्न सक्ने बताए । यी समस्या बाहेकका जिल्लाहरुमा भने कांग्रेसले भदौ १८ गते नै महाधिवेशनको प्रक्रिया शुरु गर्ने तयारी गरेको प्रवक्ता शर्माले जानकारी दिए ।

    उनले भने,‘कुनै भूगोलमा कारणवश १८ गते शुरु हुँदै गर्दा कोरोनाको जटिलता वा अन्य केही जटिलता र क्रियाशील सदस्यता नटुंगिएको खण्डमा तद् जिल्लाका केन्द्रीय निर्वाचन प्रतिनिधिहरुले केन्द्रीय निर्वाचन समितिसँग सम्पर्क, समन्वय गरेर अनि अनुमति लिएर ती जिल्लाको अधिवेशनलाई १८ बाट १९,२०,२१ आफ्नो अनुकुलता अनुसार गर्न सक्नुहुनेछ, त्यो कोरोनाको विषय, क्रियाशील सार्वजनिक नभएको विषय र प्रतिनिधि पुग्दै गर्दा कारणवश ढिलाइ भएको विषयको वस्तुगत स्थिती भन्दा बाहेक हामी १८ गतेबाट नै महाधिवेशनको प््रक्रिया शुरु गर्नेछौँ, त्यसकारण सबैको जोड १८ गते छ, भदौ १८, २०७८ साल यो अधिवेशनको सबैले गम्भीरतापूर्वक लिएका छौँ ।’

    प्रवक्ता शर्माले अधिवेशन गर्न जाँदै गर्दा नेतृत्वको चयन गरेर नेतृत्वलाई लिएर आउने दायित्व र पार्टीलाई उर्जा भरेर रुपान्तरित काँग्रेस, रुपान्तरित देश बनाउने अठोट र अभियानमा एकले अर्कोलाई सहयोग गर्नुपर्ने आवश्यक्ता रहेको बताए ।

    महाधिवेशन संयमता र हार्दिकताका साथ गर्नुपर्ने बताउँदै प्रवक्ता शर्माले कोरोनाको जोखिम भएकोले अधिवेशनमा उत्हास पूर्वक सहभागि बन्न तर भीडभाड र भेटभाट कार्यक्रममा मास्कको अनिवार्य प्रयोग गर्न सुझाए ।

  • प्रधानमन्त्रीको किचन क्याबिनेटमै किचलो

    प्रधानमन्त्रीको किचन क्याबिनेटमै किचलो

    काठमाडौं । प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको ३ साता बितिसक्दा पनि मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेका शेरबहादुर देउवाको ‘किचेन क्याबिनेट’ मै किचलो बढेको छ ।

    गठबन्धनमा न्यूनतम साझा कार्यक्रम, मन्त्रालय बाँडफाँट र पार्टीभित्र महाधिवेशन र भागबण्डाको तनावमा रहेका प्रधानमन्त्री देउवालाई आफ्नै निकटस्थहरूको ‘किचलो’ समेत मिलाउनुपर्ने झमेला आइलागेको छ ।

    नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले आफ्नो सचिवालय समेत गठन गर्न सकेका छैनन् । देउवाको सचिवालयमा बस्न चाहनेहरूको सूचीमात्रै होइन स्वार्थसमेत बाझिन थालेको छ । सचिवालय गठन गरिनसक्दै निकटस्थहरूको विवादले बालुवाटारलाई तनाव दिएको छ । देउवा प्रधानमन्त्री भएसँगै सामाजिक सञ्जालमा उनको सक्रियता बढेको थियो ।

    फेसबुक, ट्वीटर, इन्स्टाग्राम र भाइबरमा सक्रियता बढाएका देउवालाई सामाजिक सञ्जाललाई टाउको दुखाइको विषय बनेको छ । देउवाको अघोषित सचिवालयबाट ‘मलाई शेरबहादुर देउवा मनपर्छ किनभने’ शीर्षकका भिडियो सार्वजनिक भएसँगै देउवाको ‘किचन क्याबिनेट’ मा किचलो शुरू भएको हो ।

    देउवाको सचिवालयले उनको गुणगान गाउँदै बनाएको भिडियो सन्देश कांग्रेसवृत्तमा हाँसो र विवादको विषय बनेको समाचार सबैभन्दा पहिले नेपाल प्रेसले लेखेको थियो । त्यसयता थप २ भिडियो सार्वजनिक भए । जसमध्ये एकमा ललितपुरकी बेबी राजभण्डारीले देउवाकै पहलमा नेपालमा ‘महिलालाई ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको’ बताएकी छिन् । अर्को भिडियोमा माइती नेपालकी संस्थापक एवं वागमती प्रदेशकी पूर्वप्रमुख अनुराधा कोइरालाले ‘देउवा चौबिसै घण्टा खटिने र सबैलाई रिझाउने’ स्वभाव मनपर्ने बताएकी छिन् ।

    यी भिडियोबारे सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । यसैबीचमा देउवाका विश्वासपात्र मानिने कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का र प्रवक्ता विश्वप्रकाश शर्माले नै प्रधानमन्त्रीको सचिवालयप्रति सार्वजनिकरूपमा कटाक्ष गरेका छन् । महामन्त्री खड्काले त प्रधानमन्त्रीको सचिवालयको कामलाई ‘गाईजात्रा’ भनी टिप्पणी गरेका छन् । ‘शेरबहादुर देउवाज्यूका बारेमा सामाजिक सञ्जालमार्फत शुरू गरिएको भिडियो गाईजात्रा तत्काल बन्द गर्न प्रधानमन्त्रीको सचिवालयलाई विशेष अनुरोध गर्दछु’, खड्काले फेसबुकमा लेखेका छन् ।

    खड्का स्वयं सरकार सञ्चालमा सहयोग गर्न गठित सर्वदलीय कार्यदलका संयोजक हुन् । दिनहुँ बालुवाटार पुग्ने खड्काले सामाजिक सञ्जालमै प्रधानमन्त्रीको सचिवालयको कामको आलोचना गर्नुलाई कांग्रेसवृत्त ‘असमान्य घटना’ का रूपमा लिइएको छ । त्यस्तै प्रवक्ता शर्माले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले राम्रो काम गरे जनता वा पार्टी आफैले भिडियो बनाउने भन्दै प्रधानमन्त्रीको सचिवालयको ध्यानाकर्षण गराएका छन् । देउवाको ‘किचन क्याबिनेट’ कै दुई मुख्य नेताको आलोचना बालुवाटारभित्रै बढ्दो विवादको उदाहरण मात्रै हो ।

    ‘अरुले गरेको भए जे भने पनि हुन्थ्यो तर पार्टीको महामन्त्री र प्रवक्ताले नै प्रधानमन्त्रीको सचिवालयको कामबारे आलोचना गर्नु भनेको गम्भीर विषय हो । यो विषय बालुवाटारभित्रै सल्टिनुपर्ने थियो तर सार्वजनिक भएकाले विवाद चर्कै छ भन्ने बुझ्नुपर्छ’, देउवानिकट एक नेताले भने । ती नेताका अनुसार देउवा पक्षमा विगतदेखि नै ‘उपगुट’ हरूको द्वन्द्व भएपनि सत्तामा पुगेसँगै छताछुल्ल हुन थालेको हो । महामन्त्री र प्रवक्ताको टिप्पणीबारे पनि सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । अधिकांशले आफ्ना सभापति र प्रधानमन्त्रीलाई भेटेरै सुझाव दिनुको साटो किन सार्वजनिक गरियो ? भनेर प्रश्नसमेत गरेका छन् ।

    प्रधानमन्त्रीको अघोषित सचिवालयमा सक्रिय रहेकाहरू भने केही व्यक्तिले अनावश्यक विवाद झिक्न खोजेको बताउँछन् । ‘हामी प्रधानमन्त्रीसँग सल्लाह गरेरै काम गरिरहेका छौ । कतिपयलाई प्रधानमन्त्रीको काम हामीले गरेको नै चित्त बुझेको छैन । त्यसैले हामीलाई गलत देखाउन दुष्प्रचार भइरहेको छ’, बालुवाटारमा सक्रियमध्येका एकले भने ।

    कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाको गुट विगतमा झै ‘एकतावद्ध’ छैन । संस्थापन समूहमै उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का र सहमहामन्त्री डा.प्रकाशशरण महत लगायतको आ-आफ्नै उपगुट सक्रिय छन् । पछिल्लो समय गृहमन्त्री बालकृष्ण खाणले समेत बालुवाटारको कामकारवाहीमा प्रत्यक्ष सरोकार राखेका छन् ।

    ‘अहिले बालुवाटारमा कसले प्रभाव जमाउने भन्ने लडाइँ छ । सबैलाई मैले नै शेरबहादुरलाई बनाएको भन्ने छ । प्रधानमन्त्रीले नै हस्तक्षेप नगर्ने हो भने बालुवाटारमा वितण्डा हुनसक्छ’, देउवा समूहकै एक नेताले भने ।

  • विश्वप्रकाश शर्मा भन्छन्- प्रधानमन्त्रीबाट अदालतमाथि चेतावनीयुक्त भाषा प्रयोग भयो (भिडियो)

    विश्वप्रकाश शर्मा भन्छन्- प्रधानमन्त्रीबाट अदालतमाथि चेतावनीयुक्त भाषा प्रयोग भयो (भिडियो)

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले अहंकारको जगमा उभिएर अदालतलाई जवाफ दिएको टिप्पणी गरेका छन् । प्रधानमन्त्रीको जवाफमा प्रयुक्त भाषा चेतावनीयुक्त रहेको भन्दै उनले आपत्ति व्यक्त गरेका छन् ।

    संविधानको व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतको भएको भन्दै शर्माले प्रधामन्त्रीले अदालतको आदेशलाई ‘संविधानविपरीत’ भनी टिप्पणी गर्नु नहुने बताए । सर्वोच्चको आदेशलाई सत्तापक्ष, सरकार वा विपक्षी दल सबैले स्वीकार गर्नुपर्ने उनको तर्क छ ।

    शर्माले भने, ‘प्रधानमन्त्रीजीले अदालतलाई अहिले जवाफ दिँदैगर्दा अहंकारको जगमा उभिएर दिनुभयो । अदालतले चाहीँ संविधानको जगमा उभिएर उहाँलाई सन्देश दिएको छ । त्यसकारण संविधान, कानुन, मानवीय कोणबाट समाजलाई हेरिराखेर सवैधानिक इजलासबाट संविधानलाई पुनर्जीवन दिने फैसला आउने आशा र विश्वासमा हामी छौं ।’

    पछिल्लो मन्त्रीमण्डल पुनर्गठनका विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाका सम्बन्धमा सर्वोच्चलाई लिखित जवाफ दिदै प्रधानमन्त्रीले सर्वोच्चको आदेश संविधान विपरित भएको बताएका थिए ।

    सर्वोच्च अदालतलाई दिएको जवाफजस्तै प्रधानमन्त्री ओलीका भ्रमपुर्ण र चेतावनीयुक्त विचारहरु लिखित रुपमा र मौखिक रुपमा सार्वजनिक भईरहेको उल्लेख गर्दै प्रवक्ता शर्माले न्यायालयको आदेशलाई सबैले मान्नुपर्नेतर्फ सचेत गराए ।

    उनले भने, ‘आदेशलाई उहाँले संविधानविपरित भन्नुभएको छ । नेपाली कांग्रेस पार्टीको टिप्पणी यसमा केबल यत्ति छ कि हामीले निर्माण गरेको संविधानले कार्यपालिकाको प्रमुखलाई होइन न्यायपालिकालाई संविधानको व्याख्या गर्ने अधिकार दिएको छ । त्यो विधिलाई हामी विपक्षीले पनि स्वीकार गरेर चल्छुपर्छ र सत्ताले पनि त्यसलाई स्वीकार गरेर चल्नुपर्छ ।’

    कतिपयले नेपाली कांग्रेस पार्टी निर्दलियताको अभ्यासमा जान खोजेको टिप्पणी गरेको भन्दै उनले त्यसबारे लाञ्छित गर्ने कुरा आफुहरुलाई स्वीकार्य नहुने चेतावनी दिए ।

    उनले भने, ‘एउटा प्रक्रियामा मुलुक जाँदैगर्दा त्यसलाई निर्दलिय अभ्यासमा जान खोजियो भनेर नेपाली कांग्रेस पार्टीमाथि पनि आरोप लगाइयो । जबकि संविधानको धारा ७६ को ५ मा ४७ सालको संविधानमा गरिएका ३ प्रकारका सरकारहरुभन्दा चौंथो प्रकारको सरकारको व्यवस्था हामीले गरेका थियौं । जसमा संसदलाई सांसदहरुले मात्रै पनि जोगाउन सक्ने । त्यसैले ७६, ५ को कार्यान्वयन गर्ने कुरामा कसैले कसैलाई आरोपित गर्ने, लाञ्छित गर्ने कुरामा हाम्रो विमति छ ।’

    राष्ट्रपतिको निर्णय अदालतले बदर गर्न मिल्दैन भन्न्ने भनाई बालुवाटार र शीतल निवासबाट निरन्तर सार्वजनिक भइरहेको उल्लेख गर्दे उनले प्रश्न गरे, ‘हामीले परिकल्पना गरेको व्यवस्था के त्यस्तो व्यवस्था हो ? जहाँ संविधानको व्याख्या गर्न सर्वोच्च अदालतलाई दिइन्छ । सँगै हामीले यस्तो राष्ट्रपति बनाएका छौ जसको निर्णय अदालतमा परीक्षण हुन सक्दैन । उहाँको निर्णय उल्टिन सक्क्तैन । जबकि सक्रिय राजतन्त्रकालमा राजाको निर्णयलाई पनि शाही आयोगलाई खारेज गरेर सर्वोच्च अदालतले राजाको निर्णयलाई उल्टाएको अभ्यास विगतमा हामीले गर्‍यौं । अहिले राष्ट्रपतिको निर्णय परीक्षण हुन नसक्ने, बदर हुन नसक्ने भन्ने चाहीँ विल्कुलै हुँदैन । यसबीचमा अदालतलाई चेतावनीयुक्त भाषा जुन प्रयोग गरिएको छ, हामी आशा गर्दछौ र निष्ठापुर्वक विश्वास पनि गर्दछौ कि सम्मानित न्यायमुर्तिहरुले देशको संविधान, कानुन र मानविय कोणबाट देशको परिस्थितिलाई विश्लेषण गरेरै फैसला आउनेछ ।’

  • प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न- जातीय विभेदमा राज्य कहाँ उभिने ?

    प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न- जातीय विभेदमा राज्य कहाँ उभिने ?

    काठमाडौं । नेपाली कांग्रेसले जातीय विभेद गरेको आरोपमा प्रहरी हिरासतमा रहेकी घरधनीलाई छुटाउन शिक्षामन्त्री नै सहभागी भएको घटनाले राज्यकै भूमिकामाथि गम्भीर प्रश्न उब्जाएको भन्दै आपत्ति जनाएको छ ।

    एक विज्ञप्ति जारी गर्दै कांग्रेसले रुपा सुनार र सरस्वती प्रधानबीचको जातीय विभेद प्रकरणमा सरकारकै मन्त्रीको भूमिकाले एक पक्षधरताको प्रष्ट सन्देश दिन खोज्नु कानूनी र नैतिक कोणबाट प्रश्न उब्जिएको उल्लेख गरेको छ ।

    ‘राज्यको भूमिका जिम्मेवार बनाउन सकिन्न भने हिजो गाइएका समानताका गीत र आज संविधानमा लेखिएका न्यायका अक्षरको मूल्य के बाँकी रहन्छ प्रधानमन्त्रीज्यू ? प्रश्न रुपा सुनार र सरस्वती प्रधानबीचको संवाद र विवादको मात्रै होइन, प्रश्न यो प्रकरणले उजागर गरेको हाम्रो समग्र अनुहारको धुलो सफा गर्ने या ऐना पुछ्ने भन्ने हो’, प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी कस्तो समाज, कस्तो संस्कार र कस्तो न्याय प्रणाली स्थापित गर्न चाहन्छौं भन्ने प्रश्न हो । सस्तो राजनीति चाहन्छौं कि जिम्मेवार ढंगले विषयको उठान र निदान गर्ने राज्य व्यवस्था चाहन्छौं भन्ने पनि हो ।’

  • गण्डकीका मुख्यमन्त्रीलाई विश्वप्रकाशको सन्देश- समय संवेदनशील छ, फुकेर चल्नोस्

    गण्डकीका मुख्यमन्त्रीलाई विश्वप्रकाशको सन्देश- समय संवेदनशील छ, फुकेर चल्नोस्

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई ‘फुकेर चल्न’ र ‘सोचेर बोल्न’ सुझाव दिएका छन् ।

    पहिलो मन्त्रिपरिषद् बैठकमै सेवासुविधाको छलफल चलाएर आलोचित बनेका मुख्यमन्त्रीलाई विश्वप्रकाशले सो सुझाव दिएका हुन् ।

    ट्विटरमा उनले लेखेका छन्, ‘गण्डकी प्रदेशका मुख्यमन्त्रीज्यू ! राम्रो सावित हुन धेरैवटा राम्रो गर्नुपर्छ ! आलोचित हुन एक गल्ती या एक भ्रम काफी हुन्छ ! फुकेर चल्नोस्, सोचेर बोल्नोस्, सहि निर्णय गर्नोस्, समय संवेदनशील छ !’

    गण्डकीमा हालै सरकार परिवर्तन भएर कांग्रेसका पोखरेल मुख्यमन्त्री बनेका हुन् । कांग्रेसले पहिलोपटक प्रदेश सरकार हाँक्ने मौका पाउँदा मुख्यमन्त्री विवादमा परेपछि पहिलो गाँसमै झिँगा परेझैं भएको छ ।

  • कोरोना संक्रमण भएपछि कांग्रेस प्रवक्ता शर्मा होम आइसोलेसनमा

    कोरोना संक्रमण भएपछि कांग्रेस प्रवक्ता शर्मा होम आइसोलेसनमा

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ ।

    शर्माले सामाजिक सन्जालमार्फत संक्रमित भएको र डेरामा आइसोलेसनमा बसेको जानकारी दिएका छन् । अस्वस्थ महशुस गरी आइतबार स्टार अस्पतालमा परीक्षण गरिएकोमा आज विहान पोजेटिभ रिपोर्ट आएको हो ।

    टेकु अस्पतालका चिकित्सक अनुप बास्तोलाको निर्देशनअनुसार औषधि सेवन सुरु गरेको उनले जानकारी दिएका छन् । उनले ट्वीटमा भनेका छन्, ‘लक्ष्यणले च्यापेको छ तर मनोवल उच्च छ । सबैजना सजग बनौं ।’

  • कांग्रेसभित्र कुनै विवाद छैन : प्रवक्ता शर्मा

    कांग्रेसभित्र कुनै विवाद छैन : प्रवक्ता शर्मा

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसभित्र कुनै विवाद नभएको बताएका छन्।

    नेपाली कांग्रेस तथा नेविसङ्घ लमजुङ-काठमाडौँ सम्पर्क समितिले शनिबार आयोजना गरेको नयाँ वर्ष २०७८ को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले वर्तमान सरकारको विकल्प खोज्नेबारे कांग्रेसभित्र कुनै विवाद नभएको बताएका हुन् ।

    “कांग्रेसभित्र वर्तमान सरकारको विकल्प खोज्नेबारे सबै नेताहरुको एकमत रहेको छ, कांग्रेस सरकारको नेतृत्वमा निर्वाचनमा जानेबारे पार्टीभित्र एउटै धारणा छ”, उनले भने । बाहिर सञ्चारमाध्यममा आएजस्तो कांग्रेसभित्र कुनै विवाद नभएको उनको भनाइ छ ।

    कांग्रेस प्रचारप्रसार विभाग प्रमुखसमेत रहेका प्रवक्ता शर्माले नेपाली कांग्रेस राजनीति दल मात्र नभएर समाजको प्रतिनिधित्व भएको बताउँदै कांग्रेसले मात्र मुलुकलाई सही बाटोमा लैजाने बताए ।

    कांग्रेसको छवि बदलेर सङ्गठनात्मक स्वरुप बदल्नुपर्ने प्रवक्ता शर्माको भनाइ छ । उहाँले कांग्रेसभित्र सबैले आफ्नो जिम्मेवारीलाई सही ढङ्गले निभाउन सकेमात्र कांग्रेस रुपान्तरण हुने बताए ।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलबहादुर घर्तीले कांग्रेसलाई मजबुद र एकताबद्ध बनाए मात्र आगामी निर्वाचनमा जीत हासिल गर्न सकिने बताए । विगतका अनुभवलाई विचार गरेर नयाँ पिंढीलाई कांग्रेसबारे प्रशिक्षण गर्नुपर्ने उनको भनाइ थियो ।

    कांग्रेस लमजुङका सभापति भेषबहादुर पौडेलले पार्टीभित्र देखिएको गुट, उपगुटलाई अन्त्य गरेमात्र कांग्रेस बलियो हुने बताए । पूर्वसहायकमन्त्री डा रामचन्द्र अधिकारीले कांग्रेसभित्र साझा नेतृत्व आवश्यक रहेको उल्लेख गरे ।

    सम्पर्क समितिका अध्यक्ष प्रदीप अधिकारीले लमजुङमा कांग्रेसको सङ्गठन बलियो बनाउनका लागि एकजुट भएर लाग्नुपर्ने अवस्था आएको बताए ।

  • दुई कम्युनिष्ट पार्टीको एकता तोरी र कोदोको जस्तो : विश्वप्रकाश शर्मा

    दुई कम्युनिष्ट पार्टीको एकता तोरी र कोदोको जस्तो : विश्वप्रकाश शर्मा

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दुई कम्युनिष्ट पार्टीको एकता तोरी र कोदोको जस्तो भएको टिप्पणी गरेका छन् ।

    काठमाडौंले शुक्रबार नेपाल निजामति कर्मचारी युनियन संघको राष्ट्रिय भेला तथा विधान अधिवेशनमा बोल्दै उहाँले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता तोरी र कोदोको जस्तो भएको बताए ।

    उहाँले कोदो र तोरीले भिन्ना भिन्नै विशेषता बोकेको भएपनि एकैठाउँमा राखेर पेल्दा तेल नभई पिना मात्रै निस्कने भएकाले ३ वर्षको अवधिमा सिंहदरबारबाट पिना मात्रै निस्किएको टिप्पणी गरे । त्यही सरकारका मन्त्रीले पनि मौरी र झिंगाको भेद नदेखेको भन्दै मौरी भएर कर्मशील ढंगले सेवा प्रदान गर्न कर्मचारीहरुलाई सुझाव दिए ।

    उनले भने, ‘दुईवटैले मुठ्ठी बटारेका छन् । दुईवटैले लालसलाम भनेका छन् । उस्तै उस्तै लाग्यो । उहाँहरूले एकता गर्नुभयो । त्यो तोरी र कोदोको एकता जस्तो थियो । एउटा समयमा पुगेपछि यसरी नै टुंगिनु थियो । तोरी र कोदो मिलाएर तेल निकाल्न खोज्यो भने तेल निस्कदैन ।’

    बुधबार सिंहदरबारमा नेपाल सरकारका सचिवबीचको एक कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलले निजामती प्रशासन झिंगे टसाई सोचबाट मुक्तहुन नसकेको टिप्पणी गरेका थिए ।

    उनले सांसद अपहरणको आरोप लागेका सांसदलाई राज्य व्यवस्था तथा शुसासन समितिमा र सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोडको टेप काण्डका बारेमा सार्वजनिक लेखा समितिले छानबिन गरिरहेका पूर्व मन्त्रीलाई सोही समितिको सदस्य बनाईएको भन्दै सुशासन कायम गर्ने सम्बन्धमा प्रभावकारी ढंगले काम गर्न कर्मचारीलाई आह्वान गरे ।

    उनले भने, ‘केपी ओलीको सरकार निरन्तर रहिरह्यो भने, सार्वजनिक लेखा समितिमा लगेर त्यसैको दोषीलाई राखेजस्तै, राज्य व्यवस्था तथा शुसासन समितिमा लगेर अपहरणको मुद्धा लागेकालाई राखेजस्तै अपराध अनुसन्धानको नेतृत्व गर्ने ठाउँमा जेलबाट छुटाएर चार्ल्स शोभराजलाई राखेको दिन पनि यो देशले सुन्नुपर्ने हुनसक्छ ।’

  • माओवादी केन्द्र र जसपाको कारण नयाँ सरकार निर्माणको प्रक्रिया शुरु हुन सकेन: विश्वप्रकाश शर्मा

    माओवादी केन्द्र र जसपाको कारण नयाँ सरकार निर्माणको प्रक्रिया शुरु हुन सकेन: विश्वप्रकाश शर्मा

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा(माओवादी केन्द्र) र जसपाको कारण नयाँ सरकार निर्माणको प्रक्रिया शुरु हुन नसकेको बताएका छन् ।

    बिहीबार सञ्चारकर्मीसँगको कुराकानीमा प्रवक्ता शर्माले नेकपा(माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता नगरेको अवस्था र जसपा वर्तमान सरकारलाई विस्थापन गर्ने विषयमा ठोस निर्णयका साथ नआएको कारणले नयाँ सरकार गठनको प्रक्रिया आरम्भ हुन नसकेको बताएका हुन् ।

    माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गरेर र जसपा गणितिय रुपमा एकढिक्का भएर उभिएमा मात्रै नेपाली कांग्रेसको नेतृत्वमा अथवा अरु कसैको नेतृत्वमा सरकार बन्ने अवस्था आउने बताए ।

    उनले भने,‘माओवादी केन्द्रले सरकारको समर्थनको सन्दर्भमा केही टुङ्गो गर्नुपर्ने हो । कि समर्थन निरन्तर छ भन्ने उहाँहरुले निर्णय गर्नुपर्ने हो । समर्थन फिर्ता छ भने सार्वजनिक मञ्चबाट होइन लिखित रुपमा संसद सचिवालय मार्फतबाट सूचना जारी गरेर गर्नुपर्ने हो । त्यो परिस्थिति विकास भइसकेपछि स्वभाविक रुपमा प्रधानमन्त्रीजीले विश्वासको मत लिनुपर्ने हुन्छ ।’

    नेपाली कांग्रेसले विश्वासको मत वर्तमान सरकारलाई नदिने उनले बताए ।

    उनले थपे,‘संसदमा सरकारलाई दिएको समर्थन उहाँहरुले फिर्ता गरिसकेपछि बैठक बसेरै विधिवत् रुपमा यसको निर्णयमा पुग्नेछौँ । त्यसपछि विश्वासको मत प्राप्त हुने वर्तमान सरकारको अवस्था भएन भने नयाँ सरकारको लागि ढोका खुल्ने अवस्था हुन्छ । त्यो बेलामा सत्ता समिकरणको विषय ठिक समयमा परिपक्व ढङ्गले एउटा परिस्थितिको विकास भएर जान्छ । अनि सरकार बन्न सक्छ ।’

    प्रवक्ता शर्माले माओवादी केन्द्रले समर्थन फिर्ता नलिएको र जसपाले गणितीय रुपमा एकढिक्का भएर उभिने सङ्केत प्रष्ट नगरेको अवस्थामा नेपाली कांग्रेस प्रधानमन्त्री पदको लागि तयार नरहेको पनि बताए ।

  • प्रधानमन्त्री पदकै लागि हतार गर्दैनौं : प्रवक्ता शर्मा (भिडियो)

    प्रधानमन्त्री पदकै लागि हतार गर्दैनौं : प्रवक्ता शर्मा (भिडियो)

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नयाँ सरकार गठनका लागि राजनीतिक परिस्थिति निर्माण भइनसकेको बताएका छन् ।

    कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको चर्चा भइरहेका बेला प्रवक्ता शर्माले सरकारको नेतृत्व लिनकै लागि कांग्रेसले हतार नगर्ने बताएका हुन् ।

    ‘प्रधानमन्त्री पद लिनकै लागि कांग्रेसले अति अग्रसरता देखाएको छैन । राजनीतिक रुपमा त्यो वातावरण बनिसकेको पनि छैन । त्यस्तो परिस्थिति बनेछ भने कांग्रेसले विचार गर्छ’, शर्माले भने ।

    उनले सभापति शेरबहादुर देउवामा जसरी पनि प्रधानमन्त्री बन्नुपर्छ भन्ने भावना नरहेको बताए । कांग्रेस एक्लैले सरकार ढाल्ने वा बनाउने क्षमता नराख्ने र अन्य दलसँग कुरा मिलिनसकेकोले राजनीतिक निकासका लागि अझै समय लाग्ने शर्माको भनाइ छ ।

  • कांग्रेसले भन्यो- प्रधानमन्त्री पदले हाम्रो ढोका ढक्ढक्यायो, तर अहिले झ्यालबाटै हेर्छौं (भिडियो)

    कांग्रेसले भन्यो- प्रधानमन्त्री पदले हाम्रो ढोका ढक्ढक्यायो, तर अहिले झ्यालबाटै हेर्छौं (भिडियो)

    काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पदले आफ्नो ढोका ढक्ढक्याए पनि अहिले संयमतापूर्वक झ्यालबाटै हेर्ने तर ढोका खोली नहाल्ने भएको छ ।

    कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा जारी पदाधिकारी बैठकको छलफलका विषय सुनाउँदै प्रवक्ता विश्वप्रकाश शर्माले ढोका अहिले नै नखोलिने बताए ।

    उनले भने, प्रधानमन्त्री पदले कांग्रेसको ढोका ढक्ढक्याएको छ । तर कांग्रेसले ढोका खोलेर प्रधानमन्त्री पदलाई ग्रहण गरिसकेको छैन । हामीले संयमतापूर्वक झ्यालबाट हेरिरहेका छौं । यसबारेमा हाम्रो प्रस्तुति के हुन्छ भन्नेबारे छलफल हुँदैछ ।

    बैठकमा पूर्वपदाधिकारी पनि सहभागी छन् । नेकपाको प्रचण्ड-माधव पक्षले कांग्रेसलाई प्रधानमन्त्री प्रस्ताव गरिसकेको छ । बैठकले विप्लव समूहसँग सरकारको वार्ता सकारात्मक रहेको भन्दै त्यसका सहमतिबारे प्रमुख विपक्षीलाई जानकारी नदिएकोमा असन्तुष्टिसमेत जनाएको छ ।

  • प्रदेश प्रमुख हटाइएकोमा कांग्रेसको विरोध

    प्रदेश प्रमुख हटाइएकोमा कांग्रेसको विरोध

    काठमाडौं । नेपाली कांग्रेसले प्रदेश २ का प्रमुखको बर्खास्त र नियुक्तिको विरोध गरेको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा शुक्रबार प्रदेश २ का प्रमुख तिलक परियारलाई पदमुक्त गर्दै राजेश झालाई नियुक्त गरेकी थिइन् ।

    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै संसद् विघटनको असंवैधानिक कदमपश्चात् कामचलाउ स्थितिमा पुगेको सरकारले बर्खास्त, नियुक्तिलगायतका काम गर्न नमिल्ने भन्दै स्वेच्छाचारी ढंगले भइरहेका काम तत्काल रोक्न सरकारलाई चेतावनी दिएका छन् ।

  • कांग्रेस प्रवक्ताले गरे म्यानमार घटनाको विरोध

    कांग्रेस प्रवक्ताले गरे म्यानमार घटनाको विरोध

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्‍वप्रकाश शर्माले म्यानमार घटनाको विरोध गरेका छन् । सोमबार बिहान ट्वीट गर्दै शर्माले घटनाको विश्वव्यापी विरोध जरुरी रहेको उल्लेख गरेका छन् । ‘निर्वाचन निष्‍पक्षताको विवादित प्रश्नमा सैन्य प्रवेश निन्दनीय ! ‘

    नेतृ आङ सान सु चीलगायत उच्च पदस्थलाई गिरफ्तार गर्दै म्यानमारमा सेनाले सत्ता कब्जा गरेको छ ।

    शर्माले लेखेका छन्, ‘ यधपी रोहिङ्या समुदायमाथी सुकि सत्ताको ब्यवहारको पुरानो घटना अमानवीय थियो । तर मानवीयताको बाटो फेरिपनि लोकतन्त्रनै हो । हामी हरेक प्रतिगमन विरुद्ध छौं देशमा होस् या परदेशमा ।’

  • सिंहदरबार अगाडि उभिनु मात्रै शक्तिप्रदर्शन होइन : विश्वप्रकाश (भिडियो सहित)

    सिंहदरबार अगाडि उभिनु मात्रै शक्तिप्रदर्शन होइन : विश्वप्रकाश (भिडियो सहित)

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सिंहदरबारको अगाडि उभिनुमात्रै शक्तिप्रदर्शन नभएको बताएका छन् ।

    कांग्रेस केन्द्रीय समितिको बैठकपछि पत्रकारहरुसंग कुराकानी गर्दै प्रवक्ता शर्माले संसद विघटनविरुद्ध देशका हरेक कुनामा जनमत अभिव्यक्त हुनुपर्ने बताए ।

    संसद विघटनविरुद्ध कांग्रेसले गरेको आन्दोलनलाई कमजोर नआँक्न आग्रह गर्दै प्रवक्ता शर्माले देशभरका वडा– वडामा सरकारको कदम विरुद्ध कांग्रेसले आवाज उठाएको बताए ।

    ‘कांग्रेसको आन्दोलन कमजोर होइन । सिंहदरबार अगाडि उभिनुमात्रै शक्तिप्रदर्शन होइन । हरेक वडा– वडामा जनता उतारेर कांग्रेसले वास्तविक शक्ति प्रदर्शन गरेको छ ’, शर्माले भने ।

    उनले आन्दोलनका विभिन्न शैली हुने भन्दै अहिले कांग्रेस देशव्यापी आन्दोलनमा रहेको र आवश्यकता अनुसार काठमाडौं केन्द्रीत प्रदर्शन पनि हुने बताए ।

  • प्रधानमन्त्रीको अभिव्यक्ति स्वतन्त्रताविरुद्धको बर्बराहट : कांग्रेस

    प्रधानमन्त्रीको अभिव्यक्ति स्वतन्त्रताविरुद्धको बर्बराहट : कांग्रेस

    काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला अभिव्यक्तिहरुलाई स्वतन्त्रताविरुद्धको बर्बराहटको संज्ञा दिएको छ ।

    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार एक विज्ञप्ती जारी गर्दै ‘संसद विघटनको विरोध गर्नेहरु देशद्रोही हुन्’ भन्ने प्रधानमन्त्री ओलीको अभिव्यक्तिको आलोचना गरेको हो । ‘प्रधानमन्त्रीको यो अभिव्यक्ति अलोकतान्त्रिक त छ नै यसले उहाँमा रहेको अधिनायक आकांक्षालाई थप उजागर गरेको छ’, शर्माले भनेका छन् ।

    सर्वोच्च अदालतमा भइरहेको बहसलाई ‘तमासा’ को संज्ञा दिएकोमा पनि प्रवक्ता शर्माले आपत्ति जनाएका छन् । प्रधनमन्त्रीका पछिल्ला अभिव्यक्तिले पदको गरिमा घटाएको कांग्रेसको टिप्पणी छ । ‘प्रधानमन्त्रीका पछिल्ला कैयौ अभिव्यक्तिले प्रधानमन्त्री पदको गरिमालाई धुलिसात बनाउँदै लगेका छन् । आफ्नो कदमविरुद्ध उठेका स्वर र समुदाय हरेकलाई होच्याउने र अपमान गर्ने कर्म मार्फत उहाँले तिनको भन्दा बढी आफ्नै मर्यादित जिम्मेवारीको अमर्यादित ढंगले अपमान गरिरहनु भएको छ’, विज्ञप्तीमा भनिएको छ ।

    कांग्रेसले समाजको कुनैपनि वर्ग, पेशा वा समुदायलाई लाञ्छित र अपमानित गर्ने ढंगले अभिव्यक्ति नदिन प्रधानमन्त्रीलाई कांग्रेसले चेतावनी समेत दिएको छ ।

  • टीभी प्रस्तोता विश्वप्रकाश ! आमिर खानबाट कति प्रभावित ?

    टीभी प्रस्तोता विश्वप्रकाश ! आमिर खानबाट कति प्रभावित ?

    काठमाडौं । नेपालको राष्ट्रिय राजनीतिकै एक चर्चित पात्र हुन् विश्वप्रकाश शर्मा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको प्रवक्ताको भूमिकामा रहेका यी झापाली नेताको नाममा अब नयाँ परिचय थपिएको छ, टीभी प्रस्तोता ।

    सामाजिक विषयवस्तुमा आधारित कार्यक्रम ‘ऐना’ मार्फत विश्वप्रकाश नयाँ अवतारमा पेश भएका हुन् । होराइजन मल्टिमिडिया नामक कम्पनीद्वारा उत्पादित र चौधरी फाउन्डेसनद्वारा प्रवर्धित सो कार्यक्रमको बुधबार रातिबाट कान्तिपुर टीभीमा प्रशारण सुरु भएको छ ।

    कार्यक्रमको पहिलो एपिसोडमा बालिका बलात्कारको मुद्दालाई केही प्रतिनिधि घटनासहित उठान गरिएको थियो । बलात्कारपछि हत्या गरिएका बालिकाका अभिभावकलाई स्टेजमा निम्त्याएर विश्वप्रकाशले कुराकानी गरे । पीडितले सुनाएका घटना विवरणले दर्शकका आँखा रसाएका थिए । कार्यक्रममा नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक विश्वराज पोखरेललाई पनि अतिथिका रुपमा निम्त्याइएको थियो ।

    नयाँ विधा भए पनि टीभी प्रस्तोताको भूमिका विश्वप्रकाश सहज देखिए । उनको संवाद सम्प्रेषण र हाउभाउमा खासै खोट लगाउने ठाउँ छैन । उनले विज्ञसँग गरेको प्रश्नोत्तर भने सतही थियो । कार्यक्रम करिव एक घन्टा लामो भए पनि विषयको गहिराईसम्म पुग्न नसकेको प्रतीत भयो । कार्यक्रममा प्रस्तुत निर्मला हत्याकाण्ड लगायत घटनाहरु पनि मिडियामा छ्याप्छ्याप्ती आइसकेकाले दर्शकलाई धेरै बाँध्न सक्दैन ।

    ताली र गाली

    कार्यक्रम प्रशारण सुरु भएसँगै विश्वप्रकाशको प्रशंसा र आलोचना सुरु भएको छ । यूट्यूवमा आएका प्रारम्भिक प्रतिक्रियामध्ये धेरैजसो सकारात्मक भए पनि कतिपयले भारतीय अभिनेता आमिर खानले चलाएको टीभी कार्यक्रम ‘सत्यमेव जयते’को ठाडो नक्कल गरिएको आरोप लगाएका छन् । हुन पनि कार्यक्रमको प्रस्तुति र ढाँचा ‘सत्यमेव जयते’ सँग निकै मिल्दोजुल्दो छ ।

    सामाजिक मुद्दाको उठानमा प्रश्न गर्ने ठाउँ नभए पनि यो कार्यक्रमको सञ्चालन एउटा राजनीतिज्ञबाट किन ? भन्ने प्रश्न आलोचकहरुले गरेका छन् ।

    ‘देश र समाजका समस्या उजागर गर्ने काम सञ्चारकर्मीहरुको हो, नेताले त समस्याको समाधान खोज्नुपर्ने होइन ? सबैले आ–आफ्नो भूमिका र जिम्मेवारी राम्ररी निर्वाह गरिदिए हुने नि,’ एक दर्शकले यूट्यूबको कमेन्ट बक्समा लेखेका छन् ।

    अर्का दर्शक लेख्छन्, ‘आमिर खानको सत्य मेव जयतेजस्तै रहेछ । तर, जे भए पनि नेपालमा यस्तो कार्यक्रम आउनु राम्रो हो ।’

    कांग्रेसभित्रकै केही नेताहरुलाई विश्वप्रकारले टीभी कार्यक्रम चलाएको चित्त बुझेको छैन ।

    नाम उल्लेख नगर्ने शर्तमा एक केन्द्रीय सदस्यले भने, ‘राजनीतिमा यत्तिको हाइट बनाएको व्यक्ति निजी सस्थाद्वारा प्रवद्र्धित टीभी कार्यक्रमको होस्ट बन्न जानुलाई कसरी बुद्धिमानी मान्ने र ? यसले उहाँको प्रचारमुखी चरित्रलाई थप उजागर गरेको छ ।’

    पूर्वसञ्चारकर्मी हुन् शर्मा

    विश्वप्रकाश आफैंमा एक प्रखर वक्ता हुन् । लयात्मक पारामा धाराप्रवाह बोल्न सक्ने खुबी भएका उनका निम्ति टीभीमा बोल्नु कुनै नौलो अनुभव पनि होइन । तर, टीभी कार्यक्रम सञ्चालन चाहिँ उनका लागि नयाँ विधा हो । राजनीतिज्ञका रुपमा उनका कैयन टीभी अन्तरवार्ता हेरेका दर्शकलाई पनि उनले अरुको अन्तरवार्ता लिएको दृष्य नौलो लाग्छ ।

    त्यसो त विश्वप्रकाश पूर्वसञ्चारकर्मी हुन् । पञ्चायतकालमा उनी झापाबाट निस्किने साप्ताहिक आलोकमा कलम चलाउँथे । प्रजातन्त्र आएपछि उनी ०५१ सालतिर रेडियो कार्यक्रम ‘घटना र विचार’ मा सहप्रस्तोता बने, जसको संयोजन देवप्रकाश त्रिपाठीले गरेका थिए । पछि देवप्रकाशले नै निकालेको ‘घटना र विचार’ साप्ताहिकमा विश्वप्रकाश छोटो अवधि अवधि सम्पादकसमेत भएका थिए । अहिले उनी विभिन्न अखबारमा स्तम्भलेखन गर्छन् ।

    विश्वमा धेरै हाइ प्रोफाइल सेलिब्रिटीहरु टीभी प्रोग्रामको होस्ट बनेका छन् । उदाहरणका रुपमा भारतमा अमिताभ बच्चनदेखि नेपालका राजेश हमालसम्मको नाम लिन सकिन्छ । तर, एउटा चर्चित राजनीतिज्ञ टीभी होस्ट बनेको उदाहरण भने कमै छन् ।

    विश्वप्रकाशका लागि मूख्य चुनौति भनेको कुनै विषय उठाइसकेपछि त्यसलाई समाधानमुखी बनाउने हो । अरुले जस्तो पिडितहरुको घाउ कोट्याएर, दर्शक रुवाएर मात्रै उनको जिम्मेवारी निर्वाह हुँदैन । आफूले अगाडि ल्याएका पीडितलाई न्यायको अनुभूति गराउन उनले के-कस्तो पहल गर्नेछन् भन्ने महत्वपूर्ण हुनेछ । होइन भने टीभी प्रस्तोता बनेर विश्वप्रकाशले आफ्नो राजनीतिक अवमूल्यन गरेको मात्र ठहर्छ ।

    यो कार्यक्रम २६ एपिसोडसम्म विश्वप्रकाशले सञ्चालन गर्ने भनिएको छ । कार्यक्रमका लागि उनले लिएको पारिश्रमिक खुलाइएको छैन । कार्यक्रममा स्क्रिप्ट लेखन लेखिका आन्विका गिरीले गरेकी छन् भने निर्देशन अमनप्रताप अधिकारीको रहेको छ ।

  • कांग्रेस प्रवक्ता टेलिभिजन कार्यक्रमका होस्ट !

    कांग्रेस प्रवक्ता टेलिभिजन कार्यक्रमका होस्ट !

    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा टेलिभिजन कार्यक्रमका होस्ट बन्ने भएका छन् । उनले संचालन गर्ने कार्यक्रम कान्तिपुर टेलिभिजनबाट माघ ७ गतेदेखि प्रसारण हुने भएको छ ।

    सामाजिक मुद्दाको उठान गर्ने उक्त कार्यक्रमलाई अमनप्रताप अधिकारीले निर्देशन गर्ने भएका छन् । कार्यक्रमको नाम राखिएको छ –ऐना । विहिबार राजधानीमा आयोजित प्रेसमिटमा कार्यक्रमको औपचारिक घोषणा गरियो ।

    २६ श्रृंखलासम्म प्रसारण हुने कार्यक्रमलाई होराइजन मिडियाले निर्माण गर्ने भएको छ । प्रेसमिटमा बोल्दै निर्देशक अधिकारीले सामाजिक र मानवीय मुद्दालाई केन्द्रमा राखेर कार्यक्रम गरिने जनाए ।

    निर्माता कम्पनी होराइजन मिडियाका अनुसार स्थलगत अध्ययन र अवलोकन गरेर कार्यक्रम उत्पादन गरिनेछ । सरोकारवाला निकायसँग अन्तर्वार्तामूलक ढंगले कार्यक्रम चलाइने भएको छ । उक्त अवसरमा बोल्दै संचालक शर्माले टेलिभिजनमा काम गर्न लागेकोमा उत्साह व्यक्त गरे ।