Tag: विशेष अदालत

  • दुई न्यायाधीशको भरमा विशेष अदालत, न्याय सम्पादन प्रभावित

    दुई न्यायाधीशको भरमा विशेष अदालत, न्याय सम्पादन प्रभावित

    काठमाडौं । करिब दुई महिनादेखि दुईजना न्यायाधीशको भरमा विशेष अदालत चलिरहेको छ । असारको अन्त्यतिर अदालतका अध्यक्षसमेत रहेका न्यायाधीश प्रेमराज कार्कीसहित चार न्यायाधीशको एकैपटक काज सरुवा भएपछि विशेष अदालत विशेष अदालत दुईजना न्यायाधीशको भरमा चलेको हो ।

    कार्कीसँगै अदालतका सदस्य न्यायाधीश बालेन्द्र रुपाखेती, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको सरुवा भएको थियो । जसमा अध्यक्ष कार्कीको उच्च अदालत विराटनगरको अस्थायी इजलाश इलाममा, रुपाखेतीको उच्च अदालत पाटनमा, थापाको उच्च अदालत राजविराज र सारुको उच्च अदालत सुर्खेतमा काज सरुवा भएको थियो । अध्यक्ष कार्कीको विशेष अदालत आएको ८ महिनामै सरुवा भएको हो ।

    अहिले न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेय मात्र विशेष अदालतमा कार्यरत छन् । तीन न्यायाधीश बस्नुपर्ने इजलासमा समेत दुईजना मात्रै बस्न बाध्य छन् ।

    विशेष अदालतमा एक अध्यक्ष र पाँच सदस्यसहित ६ जना न्यायाधीश रहने व्यवस्था छ ।

    विषेश अदालतमा न्यायाधीशको दरबन्दी नहुने भए पनि मुलुकभरका उच्च अदालतमा कार्यरत न्यायाधीशलाई न्याय परिषद्को सिफारिसमा मन्त्रिपरिषद् बैठकले काज सरुवा गर्ने गरेको छ ।

    न्याय परिषद्ले सिफारिस नगरेका कारण मन्त्रिपरिषद् बैठकले उच्च अदालतमा न्यायाधीश पठाउने निर्णय गर्न सकेको छैन ।

    विशेष अदालतका प्रवक्तासमेत रहेका उपरजिष्ट्रार दीपेन्द्रनाथ योगीका अनुसार न्यायाधीश अभावमा न्याय सम्पदान प्रभावित भएको छ । ‘पहिला एकैदिन ६ वटासम्म मुद्दा फैसला हुन्थ्यो, अहिले एउटा फैसला हुन पनि मुस्किल छ ।’

    उनका अनुसार पछिल्लो एकसातामा तीनवटा मुद्दा मात्रै फैसला भएको छ । जसकारण सेवाग्राहीको गुनासो बढ्दो छ ।

    न्याय परिषद् सचिवालयका सहसचिव भीमकुमार श्रेष्ठका अनुसार तत्काल विशेष अदालतमा न्यायाधीशको काज सरुवा सिफारिस गर्नेबारे कुनै तयारी भएको छैन ।

    न्याय परिषद् सचिवालयका सहसचिव मानबहादुर कार्कीले पनि विशेष अदालतमा न्यायाधीश नियुक्ती गर्नेबारे कुनै छलफल नभएको बताए ।

    कांग्रेस नेता गच्छदार रिहाइको फैसलापछि कार्कीको सरुवा

    बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणका अभियुक्त कांग्रेस नेता विजयकुमार गच्छदारलाई धरौटीमा छाड्ने फैसला गरेको दुई दिनमा विशेष अदालतका अध्यक्ष कार्कीको सरुवा भएको थियो ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख रुपैयाँ बिगो दाबी गरेर मुद्दा चलाएका गच्छदारलाई १० लाख धरौटीमा छाडेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा असन्तुष्ट भएका कारण कार्कीको सरुवा भएको बताइन्छ ।

    सर्वोच्च अदालतले भने कार्कीको काज सरुवा र गच्छदारको मुद्दाको फैसलाबीच सम्बन्ध नभएको दावी गर्दै आएको छ ।

    प्रधानन्यायाधीश जबराले मूल्यांकन गरेर नै निर्णय लिएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले नेपाल प्रेससँग बताए ।

    के हो विशेष अदालत ?

    विशेष अदालत ऐन, २०५९ बमोजिम मिति २०५९ साल भदौ ६ गते विशिष्टिकृत अदालतका रुपमा विषेश अदालतको स्थापना भएको हो । अहिले यस अदालतलाई भ्रष्टाचार निवारण ऐन, २०५९ र सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तरगतका मुद्धाको कारवाही र किनारा गर्ने क्षेत्राधिकार दिइएको छ ।

    विशेष अदालत ऐनअनुसार खास किसिमका मुद्धाको कारवाही र किनारा छिटो, छरितो तथा प्रभावकारी ढंगले गराउन विशेष अदालत गठन भएको हो ।

    विषेश अदालतको प्रत्येक इजलासमा ३ सदस्य रहने गरी इजलाश कामय गरिने व्यवस्था छ ।

    इजलासमा ३ जना सदस्यको एकमत वा २ जना सदस्यको बहुमतलाई निर्णय मानिन्छ । तर अहिले न्यायाधीन नै दुईजना मात्रै हुँदा न्याय सम्पादन प्रभावित भएको छ ।

    नेपालको संविधानको धारा १ सय ४३ मा न्याय परिषदको सिफारिसमा प्रधानन्यायाधीशले न्यायाधीश सरुवा सिफारिस गर्ने व्यवस्था छ । तर न्याय परिषद् ऐन, २०७३ को दफा २७ को उपदफा १ मा भने साधारणतया एक अदालतमा २ वर्षको कार्यकाल पूरा गरी नसकेका उच्च अदालत वा जिल्ला अदालतको न्यायाधीशलाई सरुवा नगरिने भनिएको छ ।

  • देउवा प्रधानमन्त्री भएको भोलिपल्टै विजय गच्छदार विशेष अदालतमा हाजिर

    देउवा प्रधानमन्त्री भएको भोलिपल्टै विजय गच्छदार विशेष अदालतमा हाजिर

    काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लगेको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएपछि म्याद नबुझी फरार रहेका कांग्रेस उपसभापति विजय गच्छदार विशेष अदालतमा हाजिर भएका छन् ।

    विशेष अदालतमा म्याद नबुझी लामो समयदेखि हाजिर नभएका र अदालतले सार्वजनिक सूचना जारी गर्दा समेत नगएका गच्छदार शेरबहादुर देउवा प्रधानमन्त्री बनेको भोलिपल्टै बुधबार बिहान विशेष अदालतमा हाजिर भएका हुन् ।

    गच्छदारले यसअघि देउवालाई आफूमाथि अन्याय भएको भन्दै बालुवाटार प्रकरणबाट जोगाउन आग्रह गर्दै आएका थिए । देउवाले आफूले मिलाउने आश्वासन दिए पनि सत्तामा नरहेकाले गच्छदार अदालतको म्याद नबुझी बसिरहेका थिए । देउवा प्रधानमन्त्रीमा सपथग्रहण गरेलगत्तै गच्छदारले अदालतमा आत्मसमर्पण गर्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ । उनलाई थुनामा राखेर अनुसन्धान गर्ने कि धरौटीमा छाड्ने भन्ने सम्बन्धमा आज थुनछेकको बहस हुनेछ ।

    यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र ईश्वर खतिवडाको संयुक्त इजलासले बालुवाटार जग्गा प्रकरणमै मुछिएका गच्छदार भौतिक पूर्वाधार मन्त्री हुँदाका सचिव तथा पूर्वअख्तियार प्रमुख दीप बस्न्यातलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । दुवै न्यायाधीश रहेको संवैधानिक इजलासले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरे बमोजिम उनी प्रधानमन्त्री भइसकेका छन् ।

    गत वर्ष फागुनमा विशेषले १५ दिनभित्र अदालत उपस्थित हुनु भनी म्याद पठाएपछि गच्छदार उपस्थित नभई फरार थिए। उनको नाममा पुन: म्याद जारी गरेको थियो। अदालतले दोस्रोपटक गच्छदारको काठमाडौंको स्थायी ठेगानामा म्याद जारी गरेको थियो। यसअघि सुनसरीमा म्याद तामेल भएको थियो । तर, उक्त तामेल अवधिमा उपस्थित नभएपछि विशेष अदालतको इजलासले पुनः काठमाडौंको स्थायी ठेगानामा म्याद तामेल गर्न आदेश गरेको थियो। उक्त आदेशपछि काठमाडौंको स्थायी ठेगानामा तामेल गरिएको थियो ।
    गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । गच्छदारले सरकारी जग्गा व्यक्तिको बनाउन मन्त्रिपरिषद्मा प्रस्ताव लैजान विभागीय मन्त्रीको रूपमा गैरकानूनी कार्य गरेको अभियोग-पत्रमा उल्लेख छ। ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो।

     

  • चुडामणि शर्मासहित ३ जनाविरुद्ध मुद्दा दायर, एक अर्ब ३३ लाखभन्दा बढी बीगो दावी

    चुडामणि शर्मासहित ३ जनाविरुद्ध मुद्दा दायर, एक अर्ब ३३ लाखभन्दा बढी बीगो दावी

    काठमाडौं । आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणी शर्मासहित ३ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फछर्यौट आयोग, २०७१ का सदस्यसमेत रहेका शर्मासहित अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकालविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो । तीनजनाबाट विगोवापत एक अर्ब ३३ लाख २० हजार ३ सय ८५ कायम गरी आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बताएका छन् ।

    उनीहरूले अधिकारक्षेत्र बाहिर गई वदनियतपूर्वक करदाताहरुसँग कर फर्छ्यौट सम्झौता गरी राजस्व रकम चुहावट गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।

    ‘तत्कालीन कर फर्छ्यौट आयोगका पदाधिकारी रहेका प्रतिवादीहरूले कर फर्छ्यौट आयोग ऐन, २०३३ को दफा १७ बमोजिम असल नियतले आफ्नो कार्य सम्पादन नगरी आफ्नो व्यक्तिगत लाभ हुने तथा राज्यलाई हानिनोक्सानी पुर्‍याई बदनियतपूर्ण कार्य गरेको स-प्रमाण पुष्टि हुन आएकोराज्यलाई हानिनोक्सानी पुर्‍याई बदनियतपूर्ण कार्य गरेको स-प्रमाण पुष्टि’ हुन आएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

  • दुई सशस्त्र प्रहरी र फार्मेसी अधिकृतविरुद्व मुद्दा दायर

    दुई सशस्त्र प्रहरी र फार्मेसी अधिकृतविरुद्व मुद्दा दायर

    काठमाडौं । औषधी व्यवस्था विभाग बिराटनगर शाखाका फार्मेसी अधिकृत र सशस्त्र प्रहरी बल वेश क्याम्प, रुपन्देहीका कार्यालय प्रमुखसहित दुई जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

    सिल भएको फार्मेसी पसल खोलिदिने भन्दै विभागका विराटनगर शाखाका फार्मेसी अधिकृत सरोज सुवेदीले सेवाग्राहीसँग २ लाख रकम घुस लिएको अभियोगमा आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको थियो ।

    यस्तै सेवाग्राहीको फर्निचर उद्योग संचालनमा सहजीकरण गरिदिने भन्दै सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सशस्त्र प्रहरी नायब निरीक्षक राजेश पासीले ५० हजार रकम घुस लिने क्रममा आयोगको बुटवलबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

    सुवेदी विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुुसार दुइ लाख बिगोसहित र पौडेल तथा पासी विरुद्व ५० हजार विगोसहित विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिएका छन् ।

  • घुस लिएको अभियोगमा लेखा अधिकृत र इन्जिनियरविरुद्ध मुद्दा दायर

    घुस लिएको अभियोगमा लेखा अधिकृत र इन्जिनियरविरुद्ध मुद्दा दायर

    काठमाडौं । योजना सम्पन्न भई फरफारक गर्ने क्रममा घुस लिएको अभियोगमा धादिङ गंगाजमुना गाउँपालिकाका लेखा अधिकृत र इन्जिनियरविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

    ९५ हजार घुससहित पक्राउ परेकी पुजा कार्की र सेवाग्राहीसँग घुस लिन निर्देशन दिने लेखा अधिकृत अर्जुनप्रसाद सापकोटाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम जरिवाना र कैद सजाय दाबी गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिएका छन् ।

    ठेक्का सम्झौता अनुसारको काम सम्पन्न पश्चात बिल भुक्तानी र प्राविधिक परीक्षण प्रतिवेदन तयार गर्ने क्रममा घुस रकम माग गरिएको अख्तियारले जनाएको छ ।