Tag: विवेकशील साझा पार्टी

  • विवेकशील साझाले ‘महाकाली-मेची राष्ट्रिय एकता यात्रा’ गर्ने

    विवेकशील साझाले ‘महाकाली-मेची राष्ट्रिय एकता यात्रा’ गर्ने

    काठमाडौं । विवेकशील साझा पार्टीले ‘महाकाली-मेची राष्ट्रिय एकता यात्रा’ सुरू गर्ने भएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर यही पुस २७ मा कञ्चनपुरबाट यात्रा सुरू गरिने र माघ १६ गते शहीद दिवसको दिन झापामा अन्त्य हुने प्रवक्ता शरदराज पाठकले बताए ।

    जातीय, क्षेत्रीय तथा धार्मिक रूपमा बढ्दै गएको मनोवैज्ञानिक दूरी कम गर्न यात्रामार्फत ‘विचारभन्दा माथि देश’ नै हो भन्ने भावना प्रवर्द्धन गर्दै राष्ट्रिय एकता तथा देशको स्वाधीनता, शान्ति, स्थिरता, विकास र दूरगामी हितलाई सुनिश्चित गर्ने विवेकशील साझा पार्टीका एजेण्डा सर्वसाधारणसम्म पुर्‍याउने विवेकशीलले जनाएको छ ।

    देशको स्वार्थ भन्दा राजनीतिकर्मीको स्वार्थ प्रधान हुँदै जाँदा नेपालको स्वाभिमान क्षयीकृत हुँदै गएकोले सबैभन्दा माथि देश नै हो भन्ने भावना हामी प्रवर्द्धनको सुरूआतका लागि राष्ट्रिय एकता दिवस एकमात्र विकल्प भएको अध्यक्ष रवीन्द्र मिश्रले बताएका छन् ।

  • विवेकशील साझा पार्टीबाट मिलन पाण्डे निष्कासित (पत्रसहित)

    विवेकशील साझा पार्टीबाट मिलन पाण्डे निष्कासित (पत्रसहित)

    काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित भएका छन् । पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको आज बसेको बैठकले साे निर्णय गरेकाे हाे ।

    पाण्डेले विवेकशील साझा पार्टी सुदृढीकरण अभियानका नाममा हिजो २०१ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका थिए । यसलाई पार्टी विभाजनको प्रयासका रुपमा लिएर संस्थापन पक्षले पाण्डेलाई निश्काशित गरेको हो । पार्टीको संयोजक पदमा रहेका पाण्डेको कार्यकारी अधिकार भने यसअघि नै खोसिएको थियो ।

    विवेकशील साझा पार्टीले पाण्डेलाई लेखेको कारवाही सम्वन्धी पत्रमा पार्टीको नाम, लेटरहेड, छाप, चुनावचिन्ह लगायतका सामग्री प्रयोग नगर्न भनिएको छ । यदि प्रयोग गरेमा प्रचलित कानून बमोजिम कारवाही गरिने चेतावनी पनि दिइएको छ ।

    विवेकशील साझामा अध्यक्ष रवीन्द्र मिश्र र संयोजक पाण्डेबीच विचारधारात्मक संघर्ष थियो । मिश्रले संघीयता खारेजी र धर्मनिरपेक्षतामाथि जनमतसंग्रह गर्नुपर्ने एजेन्डा अघि सारेपछि पाण्डे असन्तुष्ट बनेका थिए । पार्टीको अत्यधिक बहुमतले मिश्रको एजेन्डालाई पारित गरिसकेको छ ।

    पाण्डेलाई कारबाही गरिएको जानकारी गराइएको पत्र यस्तो छः

    मितिः ६ पुस २०७८, मंगलबार

    श्री मिलन पाण्डे,
    काठमाडौं ।

    विषयः पार्टीको सदस्य समेत नरहने गरी निष्कासन गरिएको बारे।

    विवेकशील साझा पार्टीको संयोजकको जिम्मेवारीमा रहेका तपाईँले पार्टीलाई गम्भीर क्षति पु¥याउने गरी बदनियतपूर्वक पार्टी विधान र केन्द्रीय समितिका निर्णयहरू विपरीतको गतिविधि लगातार जारी राखेको तथा केन्द्रीय समितिको बैठकमा निरन्तर अनुपस्थित भएकोमा मिति २०७८ मङ्सिर २८ गते बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय अनुसार तपाईँसँग पुष ४ गतेसम्मको समय दिएर लिखित स्पष्टीकरण (च. सं. ५०१) माग गरिएको विदितै छ।

    पार्टीले दिएको उक्त समय सीमाभन्दा एक दिन ढिलो गरी सञ्चारमाध्यम समेतबाट सार्वजनिक तपाईँको स्पष्टीकरणमा तपाईँसँग सोधिएका प्रश्नको यथार्थ, तथ्यपरक र चित्तबुझ्दो जवाफ नआएको केन्द्रीय कार्य सम्पादन समितिको ठहर छ।

    तपाईँले बरु उल्टै पार्टीका निर्णय र नेतृत्वप्रति अनर्गल र भ्रमपूर्ण टिप्पणीसहित निकृष्ट व्यक्तिगत आरोप लगाउने कार्य जारी राखेको र समानान्तर समिति नै घोषणा गरेको देखिन्छ।

    अतः पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज मिति २०७८ पुष ६ गते बसेको बैठकले विवेकशील साझा पार्टीको विधान २०७८ को भाग ७ (३१.१) को अधिकार प्रयोग गर्दै तपाईँलाई आजकै मितिदेखि लागु हुने गरी पार्टीको सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको छ।

    तपाइँले प्रयोग गर्दै आउनुभएको पार्टीको नाम, लेटरहेड, छाप, चुनाव चिन्ह तथा पार्टीसँग सम्बन्धित कुनै पनि सामग्री आजैका मितिदेखि प्रयोग नगर्न र गरेमा प्रचलित कानुन बमोजिम कारबाही अघि बढाइने जानकारी पनि गराइन्छ।

  • न्यायपालिकामाथि हस्तक्षेप रोक्न माग गर्दै विवेकशील साझाको प्रदर्शन

    न्यायपालिकामाथि हस्तक्षेप रोक्न माग गर्दै विवेकशील साझाको प्रदर्शन

    काठमाडौं । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र न्यायाधीशहरूबीचको विवादलाई लिएर सडकमा पनि प्रदर्शन हुन थालेको छ । यसैक्रममा विवेकशील साझा पार्टीले माइतीघरमा प्रदर्शन गरेको छ ।

    विवेकशील साझाका कार्यकर्ताले न्यायालयमाथिको हस्तक्षेप बढेको भन्दै नेताहरूलाई खबरदारी गरेका छन् । प्रदर्शनकारीले प्रधानन्यायाधीशलाई राजीनामा गर्न सुझाएका छन् ।

  • विवेकशील-साझा विवाद: असन्तुष्ट पक्षको बैठकमा ४५ जना उपस्थित, ठोस निर्णय भएन

    विवेकशील-साझा विवाद: असन्तुष्ट पक्षको बैठकमा ४५ जना उपस्थित, ठोस निर्णय भएन

    काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले बोलाएको केन्द्रीय समितिको भर्चुअल बैठक सकिएको छ । बैठकमा विविध एजेन्डामा छलफल भए पनि ठोस निर्णय भएन ।

    पार्टीको केन्द्रीय सञ्चार विभागका उपप्रमुख हरिशप्रसाद भट्टका अनुसार बैठकमा ४५ जना केन्द्रीय सदस्यको उपस्थिति रहेको थियो । भोलि फेरि बस्ने गरी आजको बैठक स्थगित भएको उनले जानकारी दिए ।

    बैठकले पार्टी अध्यक्ष रवीन्द्र मिश्र लगायतमाथि कारवाहीको निर्णय गर्ने चर्चा चले पनि यो विषय एजेन्डामा थिएन । भट्टका अनुसार बैठक सञ्चालनको कार्यविधि बनाउन केही नेताहरूलाई जिम्मा दिइएको छ ।

    अहिले पार्टी अध्यक्ष रवीन्द्र मिश्रले डाकेको केन्द्रीय समिति बैठक जारी रहेको छ । पाण्डे समूहको बैठकमा सहभागी भएका केही नेता संस्थापन पक्षको बैठकमा पनि सहभागी रहेको बुझिएको छ ।

    पार्टीमा उत्पन्न वैचारिक मतभेदसँगै अध्यक्ष मिश्र र संयोजक पाण्डेले छुट्टछुट्टै बैठक बोलाएका थिए ।

  • विवेकशील-साझाको समानान्तर वैठक आज, अध्यक्षको चर्चित दस्तावेज पारित गर्ने संस्थापन पक्षको तयारी

    विवेकशील-साझाको समानान्तर वैठक आज, अध्यक्षको चर्चित दस्तावेज पारित गर्ने संस्थापन पक्षको तयारी

    काठमाडौं । वैचारिक विवादमा रुमल्लिएको विवेकशील-साझा पार्टीका दुई पक्षले समानान्तररुपमा बोलाएको केन्द्रीय समिति वैठकहरु आज बस्दैछन् । डेढ घन्टाको अन्तरमा बोलाइएका वैठकले केन्द्रीय सदस्यहरुको कित्ताकाट गर्ने र पार्टीलाई औपचारिक विभाजनतर्फ धकेल्ने छ ।

    अध्यक्ष रवीन्द्र मिश्रले आज साढे १२ बजेका लागि केन्द्रीय समिति वैठक बोलाएका थिए । त्यसलाई काउन्टर दिँदै संयोजक मिलन पाण्डेले आजै ११ बजेका लागि वैठक डाकेका छन् ।

    एकै दिन लगभग एकै समयमा भर्चुअल वैठक बोलाइएपछि केन्द्रीय सदस्यहरुले आफ्नो कित्ता स्पष्ट पार्नैपर्ने अवस्था आइपरेको छ । यद्यपि, केही केन्द्रीय सदस्यहरु दुवै वैठकमा सहभागी हुन सक्ने वा दुवै वैठकमा अनुपस्थित रहन सक्नेछन् ।

    विवेकशील साझामा हाल १ सय ३० सदस्यीय केन्द्रीय समिति रहेको छ । साझा र विवेकशील पार्टीबीच एकता गर्दा दुवै पक्षबाट ६५/६५ जना राखेर केन्द्रीय समिति बनाइएको थियो । तर, पछिल्लो विवादमा दुवैतर्फका केन्द्रीय सदस्य यताउता छ्यासमिस भएका छन् ।

    मिश्र नेतृत्वको संस्थापन पक्षले आफूहरुसँग स्पष्ट बहुमत रहेको दावी गरेको छ । पाण्डे समूह भने धेरै केन्द्रीय सदस्यहरु तटस्थ रहेकाले दुवैतर्फ बहुमत नपुग्ने बताउँछ ।

    संस्थापन पक्षले बोलाएको केन्द्रीय समिति वैठकमा अध्यक्षद्वारा सार्वजनिक गरिएको बहुचर्चित राजनीतिक दस्तावेजमाथि छलफल गर्ने एकसुत्रीय एजेन्डा छ । स्रोतका अनुसार बहुमत केन्द्रीय सदस्यहरुको समर्थनमा आजै आफ्नो दस्तावेज पारित गराउने तयारी अध्यक्ष मिश्रले गरेका छन् ।

    ‘हामीसँग केन्द्रीय समितिमा स्पष्ट बहुमत रहेकाले अध्यक्षको दस्तावेज पारित गराउन कुनै समस्या छैन,’ संस्थापन पक्षका एक नेताले बताए ।

    अर्कोतर्फ असन्तुष्ट पक्षले भने ‘पार्टीमा देखिएको वैचारिक विचलन र आगामी कार्यदिशाबारे’ छलफल गरिने जनाएको छ । वैठकले अध्यक्षको दस्तावेजको भर्त्सना गर्ने वा त्यसलाई खारेज गरेको निर्णय लिन सक्ने बताइएको छ ।

    साथै, पार्टीका प्रवक्तामाथि कारवाही गर्ने र अर्को प्रवक्ता नियुक्त गर्ने सम्भावना रहेको असन्तुष्ट पक्षका एक नेताले बताए ।

  • केन्द्रीय सदस्यलाई रवीन्द्र मिश्रको सन्देश : अनिर्णयको बन्दी बनिरहन सक्दैनौं (पत्रसहित)

    केन्द्रीय सदस्यलाई रवीन्द्र मिश्रको सन्देश : अनिर्णयको बन्दी बनिरहन सक्दैनौं (पत्रसहित)

    काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिका रूपमा आफूलाई उभ्याउन प्रयासरत विवेकशील साझा पार्टी फेरि एकपटक विभाजनतर्फ लम्किएको छ । अध्यक्ष रवीन्द्र मिश्रले अघि सारेको राजनीतिक दस्तावेजलाई लिएर पार्टीभित्र विवाद चुलिएको थियो । अहिले अध्यक्ष मिश्र र संयोजक मिलन पाण्डेले छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बोलाएका छन् ।

    अध्यक्ष मिश्रले केन्द्रीय सदस्यहरूलाई आइतबार इमेल गरी बिहीबारका लागि बैठक डाकेका थिए । त्यसलाई काउन्टर दिँदै मिलन पाण्डेले पनि सोही दिन बैठक डाकेका हुन् । समानान्तर बैठक आह्वान भएपछि केन्द्रीय सदस्यहरुबीच बाध्यात्मक कित्ताकाट हुने भएको छ ।

    पाण्डे पक्षले पार्टी एकीकरणको सम्झौताबमोजिम अध्यक्ष र संयोजकको समझदारीमा बैठक आह्वान हुनुपर्ने भए पनि मिश्रले त्यसलाई मिचेको आरोप लगाएको थियो । मिश्रले केन्द्रीय सदस्यहरूलाई पठाएको इमेलमा किन एकलरूपमा बैठक बोलाउनुपर्‍यो भन्ने स्पष्ट पारेका छन् । अध्यक्ष र संयोजकबीच समझदारी नबनेको अवस्थामा पार्टीलाई लामो समय अनिर्णयको बन्दी बनाउन नसकिने उनले बताएका छन् ।

    नेपाल प्रेसलाई प्राप्त मिश्रको पत्र यस्तो छ :-

    आदरणीय नेतृत्वगण,

    गत केही समययता यहाँहरूले केन्द्रीय समितिको बैठकका लागि निरन्तर जोड दिइरहनुभएको छ । हामीले समयमा केन्द्रीय समितिको बैठक बोलाउन नसकेककोमा म क्षमाप्रार्थी छु ।

    यो पत्रमा मैले हामी कसरी वैठक अवरूद्धताको स्थितिमा पुग्यौँ र अन्ततः ‘प्रचलित अभ्यास’ लाई आधार मानेर अध्यक्षका रूपमा म किन एकल निर्णयका आधारमा बैठक आह्वान गर्दैछु भन्ने छोटकरीमा व्याख्या गर्ने प्रयास गरेको छु । र, मिति २०७८ साल भदौ १७ गते बिहीबार दिनको १२.३० बजे केन्द्रीय समितिको जुम वैठक आह्वान गर्दछु ।

    पृष्ठभूमीः

    मैले गत असार ६ गते यहाँहरूलाई एउटा ईमेल लेख्दै ‘राष्ट्रिय हित (लबतष्यलब िष्लतभचभकत) मेरो राजनीति र पार्टी निर्माण यात्राको सबैभन्दा प्रधान विषय हो र त्यसैलाई केन्द्रमा राखेर आफ्ना धारणाहरू केन्द्रीय समितिको बठैकमा प्रस्तुत गर्ने जानकारी गराएको थिएँ । केन्द्रीय समितिमा सो धारणा राख्न सो विषयले एजेण्डा बन्नु पर्दथ्यो र एजेण्डा बन्न साझा पार्टी र विवेकशील नेपाली दल एकिकरणको संयुक्त प्रस्ताव अनुरूप त्यसमा पार्टी अध्यक्ष र संयोजकको सहमति आवश्यक पर्दथ्यो । मैले मौखिक र लिखितरूपमा राख्न खोजेको आफ्ना धारणासम्वन्धी एजेण्डा अघि बढाउने विषयलाई मिलनजीले सहज महशुस गर्नुभएन, जुन म बुझ्न सक्छु । उहाँले असहज महसुस गरेपछि मैले ईमेलमार्फत अनौपचारिकरूपमा साथीहरूलाई सो जानकारी दिने र त्यसलाई सार्वजनिक गर्ने उहाँलाई अवगत गराएको थिएँ ।

    ‍मैले गत साउन ११ गते यहाँहरूलाई ईमेलमार्फत आफ्ना धारणा पठाएँ । सो दस्तावेज स्वभाविकरूपमा सार्वजनिक हुने हुनाले मैले त्यसलाई व्यवस्थितरूपमा आफैँ सार्वजनिक पनि गरेँ । त्यसैको प्रतिउत्तरस्वरूप साउन १९ गते मिलनजी लगायत सचिवालयका ४ जना साथीहरूले आफ्ना धारणाहरू सार्वजनिक गर्नुभयो ।

    दोस्रो दस्तावेज सार्वजनिक भएको पनि झण्डै एक महिना हुन लागिसक्यो र यहाँहरूबाट केन्द्रीय समितिको बैठकका लागि निरन्तर दबाब आउनु स्वभाविक हो । यसबीच, मिलनजी र म कयौँपटक भेटघाट गर्यौँ र बैठक बोलाउनेबारे छलफल गर्यौँ । तर आउँदो बैठकका लागि तय गरिनु पर्ने एजेण्डा र एजेण्डाको प्राथमिकीकरणका सम्वन्धमा हाम्रो सहमति हुन सकिरहेको छैन । त्यसबाट केन्द्रीय समितिको बैठक नै बस्न नसक्ने अवस्था सृजना भएको देखियो । त्यस्तो हुँदा जटील अवस्था तन्किएर जाने तर समस्याहरू बल्झिनै रहने निश्चित देखिन्छ । ‘अब कयौँ महिना स्थिति यस्तै रहन्छ’ भन्ने टिकाटिप्पणी सुनिन पनि थालेको छ ।

    चिन्ताको विषयः

    चैतसम्ममा स्थानीय तहको निर्वाचन हुने पक्का छ । स्थानीय तहको निर्वाचनमा दरिलो उपस्थिति जनाउनु हाम्रा लागि अत्यावश्यक छ किनभने सो निर्वाचनको परिणामले तत्पश्चात एक वर्षभित्रमा हुने राष्ट्रिय निर्वाचनलाई प्रभावित पार्नेछ ।

    हाल हाम्रा लागि आम-माहोल अत्यन्त सकारात्मक देखिएको छ । त्यसलाई हामीले समयमै राजनीतिकरूपमा पुँजीकृत गर्न प्रयास गर्नुपर्छ र त्यसो गर्न सकिने प्रशस्त ठाउँ देखिन्छ । तर त्यसका लागि पार्टीभित्रको वर्तमान अन्यौलबाट सक्दो छिटो मुक्त भएर स्थानीय निर्वाचनको तयारीमा लाग्नु पर्ने हुन्छ । वर्तमान अवरुद्धता कायम रहेसम्म र त्यसले आउँदा दिनमा सृजना गर्ने अन्य समस्याको लहरोका माझ हामी अघि बढ्न सक्दैनौँ ।

    समस्याको निकासः

    जबसम्म सबै कुराहरू समझदारीमा समाधान हुन्छन्, तबसम्म समझदारीले नै काम गर्छ । तर जब समझदारी हुँदैन, त्यसपछि समस्या समाधान गर्न ‘प्रचलित अभ्यास वा कानूनी आधार’ खोज्नैपर्ने हुन्छ ।

    १. निर्वाचन आयोगमा हामीले साझा पार्टीको विधान (२०७४) को पहिलो संसोधन र हाम्रो केन्द्रीय समितिको पहिलो र दोस्रो बैठकका निर्णयहरू बुझाएका छौँ, जसले पार्टीको नाम परिवर्तनका साथसाथै केन्द्रीय समितिलाई १३० सदस्यीय बनाएको कुराको पुष्टी गरेको छ । एकीकरण संयुक्त प्रस्ताव र घोषणापत्र हाम्रो समझदारी÷सहमतिको दस्तावेज हो, तर त्यसलाई निर्वाचन आयोगले कानूनीरूपमा चिन्दैन । निर्वाचन आयोगले त्यो रेकर्ड राखेको पनि छैन । यद्यपि, हामीले सोही दस्तावेजमा उल्लेख भएअनुसार अध्यक्ष र संयोजकको समझदारी÷सहमतिमा पार्टीको बैठक आह्वान गर्ने, एजेण्डा तय गर्ने गर्दै आएका थियौँ ।

    २. तर हालको स्थिति भनेको अध्यक्ष र संयोजकबीच समझदारी÷सहमति हुन नसकेको अवस्था हो । यस्तो अवस्थामा पार्टी बन्धक बनेर रहन सक्दैन । तसर्थ ‘प्रचलित अभ्यास वा कानूनको सहारा’ लिनुपर्ने अवस्था आइपर्यो र कानूनविद्हरूको राय पनि त्यस्तै रह्यो । निर्वाचन आयोगले प्रमाणीकरण गरेको विधानमा महाधिवेशन नभएसम्मका लागि ‘अध्यक्ष र संयोजकको आपसी समझदारीमा पार्टीको काम कारबाही सञ्चालन गरिनेछ (धारा २०.१०)’ र ‘सहमति जुटाउन नसकेका विषयवस्तुमा सभाको सामान्य बहूमतको आधारमा निर्णय पारित गरी लागू गर्न सकिनेछ (धारा ६४.३)’ भनिएको छ ।

    ३. अध्यक्ष र संयोजकबीच समझदारी÷सहमति हुन नसकिरहेकाले ‘प्रचलित अभ्यास’ लाई अंगिकार गर्दै र पार्टी अध्यक्षमा सोहीअनुरुप निहित हुने अधिकारको उपयोग गर्दै बर्तमानको गाँठो फुकाउन माथि उल्लेखित मितिमा केन्द्रीय समितिको जुम वैठक बैठक आह्वान गरेको छु ।

    ४. देशमा हालिमुहाली गरेर बसेका दशकौँ पुराना पार्टीहरूले स्पष्टतः हामीले शुरूदेखि उठाउँदै आएका कतिपय मुद्दाहरू अंगिकार गर्न थालेका छन् । हाम्रो महत्व बढेर गएको छ र हाम्रालागि यो अत्यन्तै अनुकूल अवस्थामा हो । यस्तो बेलामा हामी बन्दी बनेर रहिरहन सक्दैनौँ । तसर्थ केन्द्रीय समितिका सम्पूर्ण सदस्यहरूलाई बैठकमा उपस्थतिका लागि विनम्र आग्रह गर्दछु ।

  • विवेकशील साझामा विभाजनको पूर्वाभ्यास, डेढ घण्टाको फरकमा समानान्तर बैठक आह्वान

    विवेकशील साझामा विभाजनको पूर्वाभ्यास, डेढ घण्टाको फरकमा समानान्तर बैठक आह्वान

    काठमाडौं । अध्यक्ष रविन्द्र मिश्रको दस्तावेजलाई लिएर विवादमा रुमल्लिएको विवेकशील साझा पार्टीमा विभाजनको कसरत शुरू भएको छ । अध्यक्षलाई काउन्टर दिँदै संयोजक मिलन पाण्डेले केन्द्रीय कमिटीको समानान्तर बैठक बोलाएका छन् ।

    अध्यक्ष मिश्रले बिहीबार साढे १२ बजेका लागि बैठक बोलाएका थिए । उनले मंगलबार नै सबै केन्द्रीय सदस्यलाई इमेलमार्फत बैठकको सूचना पठाएका थिए । तर, अध्यक्षले एकतर्फीरूपमा बैठक बोलाएको भन्दै असन्तुष्ट बनेका संयोजक मिलन पाण्डेले त्यही दिन समानान्तर वैठक बोलाएका हुन् ।

    अध्यक्ष र संयोजकले डेढ घण्टाको अन्तरमा फरक-फरक वैठक बोलाएपछि पार्टीका केन्द्रीय सदस्यहरुलाई आफ्नो कित्ता प्रष्ट पार्नैपर्ने बाध्यता भएको छ । यसले दुवै पक्षमा कति केन्द्रीय सदस्य छन् भन्ने पनि छर्लंङ्ग छ ।

    मिश्र पक्षकी केन्द्रीय समीक्षा बास्कोटाले संयोजकसँग सहमति हुन नसकेपछि अध्यक्षले पार्टीलाई अनिर्णयको बन्दी बन्न नदिन बैठक डाक्नुपरेको बताइन् ।

    ‘अध्यक्षले बोलाउनुभएको बैठक नै आधिकारिक हो,’ उनले भनिन्, ‘वैठकमा सबै केन्द्रीय सदस्यलाई खबर गरिएको छ र आउनुहुन्छ भन्ने विश्वास लिएका छौं ।’

    बैठकमा अध्यक्ष मिश्रले सार्वजनिक बहसमा ल्याएको प्रस्तावमाथि छलफल नहुने बास्कोटाको दावी छ । यद्यपि, पार्टीको गतिरोधका विषयमा छलफल गरेर निकास निकाल्ने प्रयास गरिने उनले बताइन् । बैठकका एजेण्डाहरू भने सार्वजनिक गर्न नमिल्ने उनको भनाइ छ ।

    यता, पाण्डे पक्षले भने अध्यक्षबाट दुई पार्टी एकीकरण हुँदाको सम्झौतापत्र मिचेर बैठक बोलाइएको भन्दै त्यसलाई आफूहरूले काउन्टर दिएको जनाएको छ ।

    ‘सम्झौतापत्रमा एकताको महाधिवेशन नहुँदासम्म अध्यक्ष र महासचिवले संयुक्तरूपमा बैठक बोलाउने भनिएको थियो,’ पाण्डे पक्षका केन्द्रीय सदस्य हरिश भट्टले भने, ‘तर, उहाँले एकतर्फीरूपमा बैठक बोलाएपछि समस्या आयो । संयोजकले इमेल गरेर वैठक रोक्न आग्रह गरे पनि सुनवाइ भएन ।’

    अध्यक्ष मिश्रले आफूसँग बहुमत भएकाले केन्द्रीय समितिबाटै आफ्नो दस्तावेज पारित गराउने उद्देश्य राखेको भट्टको भनाइ छ । आफ्नो दस्तावेजसँग असन्तुष्ट हुनेहरूलाई पार्टी फुटाउन मिश्रले आग्रह गरिरहेको पनि उनी बताउँछन् ।

    ‘पछिल्ला विभिन्न वैठकमा रवीन्द्र मिश्रले तपाईंहरु पार्टी फोड्नुस, म आफ्नो दस्तावेजबाट पछि हट्दिन भन्दै आउनुभएको छ,’ उनले भने, ‘हामीले चाहिँ अहिले दुवै दस्तावेज होल्ड गरेर महाधिवेशनबाट छिनोफानो गरौं भन्ने प्रस्ताव गरेका छौं ।’

  • रवीन्द्र मिश्रले मोलेको जोखिम र खोस्रेको अवसर

    रवीन्द्र मिश्रले मोलेको जोखिम र खोस्रेको अवसर

    काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले आन्तरिक छलफलका लागि अघि बढाएको एउटा दस्तावेजले लिएर उनको पार्टीभित्र र बाहिर राम्रै हलचल ल्याइदिएको छ । उक्त दस्तावेजमा मिश्रले नेपालमा संघीयता खारेजी गर्नुपर्ने र धर्मनिरपेक्षतामाथि जनमतसंग्रह गर्नुपर्ने बोल्ड प्रस्ताव राखेका छन् भने गणतन्त्रमाथि पनि प्रश्न उठाएका छन् ।

    केही वर्षअघि सञ्चारकर्मबाट पूर्णकालीन राजनीतिमा होमिएका मिश्रमाथि लगाइने गरेका केही सदावहार आरोपमध्ये एउटा थियो, प्रमुख राजनीतिक एजेन्डाहरुमा अस्पष्ट वा द्विविधाग्रस्त रहेको । नेपालमा परिवर्तनका एजेन्डा भन्ने गरिएका गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताका विषयमा फरक मत राख्ने मिश्र त्यसलाई खुलेर व्यक्त गर्न भने सकिरहेका थिएनन् । अब भने उनी लगभग प्रष्टरुपमा आएका छन् । उनीमाथिको एउटा आरोप मेटिएको छ । यद्यपि, यसमा कति अडिन सक्छन् भन्ने संशय चाहिँ बाँकी छ ।

    नेतृत्वदायी भूमिकामा रहेको कुनै पनि राजनीतिज्ञमा हुनेपर्ने सबैभन्दा आधारभूत चिज भनेकै वैचारिक स्पष्टता र त्यसमाथिको निरन्तर अडान हो । यहाँ लोकरिझ्याइँको राजनीति गर्ने धेरै ‘ग्ल्यामरस’ नेताहरु छन्, जो सामाजिक सञ्जालको ट्रेन्डका आधारमा दृष्टिकोण बनाउँछन् र बदल्छन् । उनीहरु भाषण गरेर भीड जम्मा गर्ने होइन, भीडको बीचमा घुसेर भाषण ठोक्न बढी पोख्त छन् । मिश्रमा पनि एकाधपटक त्यस्तै बहकाउ नदेखिएको होइन, तर आमरुपमा भने उनले आफूलाई सत्यकै पक्षमा उभ्याएको पाइन्छ ।

    आकारले सानो भए पनि विवेकशील साझा पार्टीप्रति एक हदसम्म जनचासो अझै कायम छ । मिश्रको व्यक्तिगत प्रभाव र क्रेज नै त्यो जनचासोको प्रमुख स्रोत हो । अन्यथा जनतामाझ बलियो प्रभाव एवं पहिचान बनाएका अरु नेता उनको पार्टीमा छैनन् । नेतृत्व पङ्तिमै रहेका धेरै नेताहरु राजनीति सिक्ने क्रममै छन् । केही परिचित अनुहारले मिश्रको साथ छोडे । तसर्थ, धेरैका लागि विवेकशील साझा भनेकै रवीन्द्र मिश्र हुन् । उनले अघि सारेको प्रस्तावलाई साझा विवकेशीलले स्वामित्व ग्रहण गर्‍याे भने राष्ट्रिय राजनीतिमै धेरै ठूलो उथलपुथल त नल्याउला, तर त्यसले परिवर्तनका पक्षधरहरुलाई एक धक्का चाहिँ दिने छ ।

    जोखिम र चुनौति

    मिश्रले जोखिम त मोलेकै हुन् । एक हिसाबले आफ्नो राजनीतिलाई नै उनले दाउमा लगाएका छन् भन्दा पनि हुन्छ । उनले आफूलाई ‘प्रतिगामी’ को ट्याग लाग्ने जानीबुझी नै यो प्रस्ताव सार्वजनिक गरेका छन् ।

    मिश्रको यो अवधारणाले उनको पार्टीमा विभाजनको रेखा कोरिन सक्छ । यदि पार्टीभित्र बहुमत कायम गरेर आफ्नो विचार पारित गराउन सकेनन् भने नैतिक संकटमा पर्न सक्छन् । अध्यक्षकै व्यक्तिगत विचार र पार्टीको आधिकारिक लाइन मिलेन भने व्यवहारिक रुपमा उनलाई नेतृत्वमा बस्न अप्ठेरो हुने छ । त्यो अवस्थामा उनले आफ्नो विचार समुहलाई समेटेर पार्टी विभाजन गर्नुको विकल्प हुन्न । विवेकशील साझा पार्टी एकपटक फुटिसकेर फेरि जोडिएको हो । फेरि दोस्रोपटक विभाजन भयो भने जनमानसमा अत्यन्त नकारात्मक सन्देश जान्छ ।

    विगतमा पनि मिश्रले एकाधपटक अन्तरवार्ताहरुमा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताका विषयमा आफ्नो फरक दृष्टिकोण राखेका थिए । आफ्नो पार्टीलाई नै यो लाइनमा लैजान नखोजेका पनि होइनन् । तर सफल भएनन् । यो पाली चाहिँ उनी सिधै जनतामाझ आएका छन् । त्यसैले अब यसबाट ब्याक हुन उनका निम्ति सजिलो छैन ।

    मिश्रको प्रतिवेदनलाई लिएर पार्टीको एउटा खेमाबाट असन्तुष्टिको स्वर आइसकेको छ । दोस्रो वरियतामा रहेका संयोजक मिलन पाण्डेले नै सामाजिक सञ्जालमा आफ्नो असन्तुष्टि पोखेका छन् । विवेकशील साझा लाई ‘प्रोग्रेसिभ’ पार्टी भएको भन्दै उनले मिश्रको अवधारणालाई ‘नितान्त व्यक्तिगत’ भनेर खारेज गरेका छन् ।

    देशका प्रमुख एजेन्डाहरुमा नै दुई प्रमुख व्यक्तिको विचार नमिल्दा भोलीका दिनमा पार्टी सञ्चालनमा अप्ठेरो परिस्थिति उत्पन्न हुने निश्चित छ । तसर्थ यसलाई चाँडोभन्दा चाँडो किनारा लगाउनुपर्ने वाध्यतामा छन् मिश्र । यद्यपि उनले आगामी महाधिवेसनबाट किनारा लगाउने गरी तत्काललाई ‘हाइ साउन्ड’ नगर्ने रणनीति लिने सम्भावना पनि छ ।

    अवसरको मैदान

    रवीन्द्र मिश्रले आफ्नो दस्तावेजमा कथित परिवर्तनका एजेन्डाहरुबारे जे-जस्ता धारणा राखेका छन्, ठीक त्यसैगरी सोच्ने जनसमूह निकै ठूलो र बढ्दो आकारमा छ । गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताप्रति चुलिँदो जनअसन्तुष्टि अब लुकाउन-छिपाउन सम्भव छैन । गणतन्त्र घिसिपिटी बनेको, संघीयता असफलताउन्मूख रहेको र धर्मनिरपेक्षताले देशको सांस्कृतिक पहिचान मेटाएको बुझाइ जनताको ठूलै तप्कामा छ ।

    यो तप्कालाई नेतृत्व गर्ने बलियो राजनीतिक शक्ति भने देशमा छैन । यी कथित परिवर्तनका एजेन्डाको विरोध गर्ने मुलधारको एक मात्र पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी हो । तर, यो पार्टीका नेताहरुको अनुहारले जनतामा कुनै आशा जगाउन सक्दैन । संघीयताको विरोध गर्ने राष्ट्रिय जनमोर्चा शक्तिहीन छ । संघीयताको विपक्षमा एमालेका केही नेताहरु छन् । एमाले अध्यक्ष केपी शर्मा ओली स्वयम् संघीयताका आलोचक मानिन्छन्, तर उनी खुलेर आउन सकेका छैनन् । हिन्दू राज्यको पक्षमा कांग्रेसका केही नेता छन्, उनीहरु निर्णायक छैनन् । तसर्थ, एउटा बलियो राजनीतिक शक्तिको लागि मैदान खाली छ, जसले यी एजेन्डाहरुको अगूवाइ गर्न सकोस । मिश्रसँग भएको सबैभन्दा ठूलो अवसर यही नै हो ।

    संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रविरोधी जनमतलाई एकीकृत गर्ने र त्यसलाई नेतृत्व गर्ने ध्येय मिश्रले राखेका छन् । तर, त्यो भूमिकामा पुग्नका निम्ति उनले निकै शक्ति आर्जन गर्नुपर्ने हुन्छ । विवेकशील साझा पार्टीमा आफ्नो लाइनलाई पारित गराउनुका साथै पार्टी बाहिर रहेका समान विचारका संगठित र असंगठित समूहहरुलाई एकीकृत गर्न सकेको खण्डमा आगामी चुनावसम्ममा उनले एउटा बलियो र वास्तविक वैकल्पिक शक्ति निर्माण गर्न असम्भव भने छैन ।

    त्यसो त मिश्रले संघीयता र धर्मनिरपेक्षताबारे जति स्पष्टता देखाएका छन्, गणतन्त्रका सन्दर्भमा भने अझै राम्ररी खुलेका छैनन् । उनले गणतन्त्रलाई ‘आयातित एजेन्डा’ का रुपमा चित्रण गरे पनि स्पष्टसँग ‘राजतन्त्रमा फर्किनुपर्ने’ वकालत गरेका छैनन् । बरु गणतन्त्र खतरामा रहेको औंल्याउँदै यसलाई जोगाउनका निम्ति केही सुझावहरु प्रस्तुत गरेका छन् । तसर्थ, राजतन्त्र कि गणतन्त्र भन्नेमा उनीबाट अझै स्पष्टताको माग हुन सक्छ ।

    पूर्वराजसंस्थाप्रति मिश्रको सदासयता भने स्पष्ट झल्किएको छ । उनले पूर्वराजा ज्ञानेन्द्रलाई एकताको प्रतिकका रुपमा जनताले स्वीकारेको बताएका छन् ।

    अबको बाटो

    मिश्रले आफ्नो प्रस्तावलाई बहस र छलफलका लागि ल्याएको बताएका छन् । अब उनले यसलाई कसरी अघि बढाउँछन् भन्ने महत्वपूर्ण हुनेछ ।

    आफ्नो दस्तावेज उनले पार्टी सदस्यहरुलाई वितरण नगरीकन सिधै वेवसाइटमार्फत सार्वजनिक गरिदिए । यसको अर्थ उनी यो बहस पार्टीभित्र मात्रै सिमित रहोस भन्ने चाहँदैनन् । अथवा, पार्टीबाट पारित गर्न नसक्नेमा ढुक्क भएर पनि हुन सक्छ ।

    साझा विवेकशीलको केन्द्रीय कमिटी १३० सदस्यीय छ, जसमा पूर्व साझा पार्टी र पूर्व विवेकशील दलका समान ६५-६५ जना छन् । मिश्रको प्रस्तावलाई पूर्वविवेकशील पक्षले खारेज गर्ने संकेत मिलिसकेको छ । पूर्वसाझातर्फका नेताहरु पनि सबै उनको पक्षमा छैनन् । यसर्थ यो प्रस्ताव पार्टीबाट अनुमोदन गराउनु मिश्रका लागि फलामको च्यूरा हुनेछ । तर, जे भए पनि अब उनले यसलाई यत्तिकै बहसका लागि छाडिदिएर आफू मौन बस्न भने सक्दैनन् । वार कि पार त गर्नैपर्छ ।

    मिश्रले आफ्नो प्रतिवेदनको पृष्ठभूमिमा उल्लेख गरेजस्तो, उनीमाथि एउटा कित्ताबाट प्रतिगामी, प्रतिक्रियावादी, दक्षिणपन्थी आदि अलंकारहरुको बौछार सुरु भइसकेको छ । ‘बरु कमल थापासँग एकता गर’, ‘बल्ल असली रुप देखाइस’, ‘देशमा गणतन्त्र आउँदा विदेशमा मोज गर्ने, अहिले ठूला कुरा गर्ने’ आदिजस्ता प्रतिक्रियाहरु विभिन्न राजनीतिक सामाजिक सञ्जालमा आउने अपेक्षित नै थियो । यद्यपि, यसले नै सिंगो जनमतको प्रतिनिधित्व भने गर्दैन ।

    मिश्रको प्रस्ताव औचित्यपूर्ण यस अर्थमा छ कि नेपालमा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता तीनवटै एजेन्डा जनअनुमोदित होइनन् । देशका लागि यति ठूला र दुरगामी निर्णयहरु गर्दा जनतालाई एक वचन सोधिएको छैन । जबसम्म जनअनुमोदित हुँदैनन्, तबसम्म प्रश्नहरु उब्जिरहन्छन् । यति महत्वपूर्ण विषय पनि जनअनुमोदित हुनु पर्दैन भने संविधानमा रहेको जनमतसंग्रहको प्रावधान केका लागि त ? यदि जनमतसंग्रह भएको खण्डमा यी एजेन्डाहरु असफल हुन सक्ने आशंकाले गर्दा नै परिवर्तनकारी भनिएका शक्तिहरु जनमतसंग्रहको उच्चरण नै गर्न चाहँदैनन् भन्ने स्पष्ट नै छ ।

    सामाजिक सञ्जालमा नारायण वाग्लेदेखि आङकाजी शेर्पासम्मको उफ्राई हेर्दा नै अनुभूत हुन्छ कि नेपालको ‘अग्रगमन’ कति कमजोर जगमा खडा भएको रहेछ । अन्यथा संसदमा राष्ट्रिय दलको मान्यतासमेत नपाएको एउटा सानो पार्टीका अध्यक्षले व्यक्तिगत स्तरमा अघि सारेको प्रस्तावसँग यत्ति आत्तिनुपर्ने थिएन । मिश्रले संविधानले दिएको स्वतन्त्रताको दायराभित्रै रहेर आफ्नो राजनीतिक विचार राखेका हुन् । उनले गरेका तर्कहरुलाई तर्कले जवाफ नदिइकन खाली प्रतिगामी भनेर दुत्कार्नुको कुनै तुक छैन ।

    ०००

    जुन उद्देश्य लिएर रवीन्द्र मिश्र राजनीतिमा होमिएका थिए, त्यो प्राप्त गर्नबाट धेरै टाढा छन् । उनले जुन गतिमा राजनीतिमा फड्को मार्ने सोचेका थिए, त्यो भइरहेको छैन । तसर्थ, केही न केही निराशा उनमा पक्कै छ । अब आफ्नो राजनीतिलाई नयाँ गति दिनका निम्ति उनले यति जोखिम मोल्नैपर्ने थियो । सफल हुन्छन् हुँदैनन्, त्यो चाहिँ भविष्यकै गर्भमा छ ।

    नितान्त आफ्नो व्यक्तिगत विचारका रुपमा प्रस्तुत गरे पनि मिश्रको प्रस्ताव सार्वजनिक बहसमा आइसकेको छ । अब सामाजिक सञ्जालमा आएको आँधीतुफानले आत्तिएर यसबाट ब्याक भए भने आगामी दिनमा उनको राजनीतिक धरातल कमजोर बन्ने छ ।

  • नेपालमा गणतन्त्र भारतको एजेन्डा, सात दल र माओवादी निमित्त नायक मात्र : रवीन्द्र मिश्र

    नेपालमा गणतन्त्र भारतको एजेन्डा, सात दल र माओवादी निमित्त नायक मात्र : रवीन्द्र मिश्र

    काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले नेपालमा संघीयता र धर्मनिरपेक्षता जस्तै गणतन्त्र पनि आयातित एजेन्डा भएको बताएका छन् । राजतन्त्र फ्याकेर गणतन्त्र स्थापना हुनुमा दक्षिणी छिमेकी भारतको हात रहेको उनको भनाइ छ ।

    आफ्नो पार्टीभित्र छलफलका लागि पेस गरेको डकुमेन्टमा मिश्रले संघीयता र धर्मनिरपेक्षता सँगसँगै गणतन्त्रमाथि पनि प्रश्न उठाएका हुन् । नेपालमा ‘बेबी किङ’ को भारतीय रणनीति असफल भएपछि भारत गणतन्त्रको पक्षमा पुगेको उनले दावी गरेका छन् ।

    मिश्रले भनेका छन्, ‘एकातिर नेपाललाई धर्मनिरपेक्ष बनाउन उद्दत पश्चिमा राष्ट्रहरू थिए भने अर्कोतिर नेपाललाई अब जसरी पनि गणतन्त्र बनाउनमा भारत उद्दत थियो । गणतन्त्रको आन्दोलन उत्कर्षमा पुगेको बेला भारतले राजा ज्ञानेन्द्रलाई विभिन्न किसिमका प्रलोभनहरू देखाएको र वाचाहरू गरेको बताइन्छ । यद्यपि, तिनका ठोस विवरण बाहिर आएका छैनन् ।’

    ‘तर बाहिर आएको एउटा तथ्य ‘बेबी किङ्ग’ को हो, जसअन्तर्गत राजा ज्ञानेन्द्रलाई हटाएर बाल राजाका रूपमा उनका नाती हृदयेन्द्रलाई गद्दीशीन गराउने भारतको चेस्टा थियो । राजा ज्ञानेन्द्रले प्रत्युत्तरमा ‘म मरे पनि त्यो हुन दिन्न’ भन्दै ‘गद्दी नेपालीको नासो हो, त्यो म नेपालीलाई जिम्मा लगाउँछु तर भारतले चाहे अनुरूप गर्दिन’ भनेर गद्दी त्यागको बाटो रोजेको बताउने जानकारहरू जीवित नै छन् ।’

    मिश्र लेख्छन्- ‘राजा ज्ञानेन्द्रको प्रत्युत्तरबाट चिढिएको भारत, बालराजाको अवधारणाबाट एक कदम अघि बढेर गणतन्त्रको पक्षमा पुगेको थियो । तत्पश्चात्, गणतन्त्रको भारतीय प्रस्तावलाई कतिपय पश्चिमा राष्ट्रहरूले तथा तिनै पश्चिमा राष्ट्रहरूको धर्मनिरपेक्षताको प्रस्तावलाई भारतले समर्थन गर्ने सहमति भएपछि आमरूपमा माग नै नभएको धर्म निरपेक्षताले सुवास नेम्वाङमार्फत वैधानिकता पायो । वास्तविकता त्यही हो ।’

    ‘त्यो वैधानिकतालाई नेपाली जनताले संविधान निर्माणका क्रममा तोड्ने प्रयास नगरेका होइनन् । २०७२ सालको संविधानको मस्यौदाबारे गरिएको राय संकलनमा अत्यधिक बहुमतले नेपाल हिन्दु राष्ट्र नै रहनुपर्ने राय दिएको सार्वजनिक भइसकेको छ । भन्ने बेलामा जनताको अभिमतका साथ जनचाहनाअनुरूप संविधान निर्माण गर्न संविधानसभा चाहिएको भनियो । तर धर्म निरपेक्षताविरोधी व्यापक जनआवाजलाई शीर्ष नेताहरूले पुरै बेवास्ता गरिदिए ।’

    पछिल्ला वर्षहरूमा धर्मनिरपेक्षता यो देशको धर्म र संस्कृति मास्नका लागि जस्केलाबाट घुसाइएको हो भन्ने धारणा प्रबल बन्दै गएको मिश्रले उल्लेख गरेका छन् ।

    संघीयता र धर्म निरपेक्षताजस्तै गणतन्त्रको आगमन पनि आयातित नै थियो भन्ने बग्रेल्ती प्रमाणहरू रहेको मिश्रले बताएका छन् । उनी लेख्छन्, ‘नेपालका सात दल र माओवादी निमित्त नायकमात्र थिए ।’

    गणतन्त्रबारेको जनभावना पछिल्ल्लो समय बदलिँदै गएको मिश्रको टिप्पणी छ ।

    उनले भनेका छन्, ‘पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थाका विरूद्ध असोचनीय स्तरको विष फैलाउँदा पनि विभिन्न जातजाती, भाषाभाषी, क्षेत्र, लिङ्ग, सबै तप्कामा एकताको प्रतिकका रूपमा राजाको स्वीकार्यता उच्च देखिन्छ । हो, उनको विरोध गर्नेहरू नभएका होइनन् तर उनी पूर्वदेखि पश्चिम, उत्तरदेखि दक्षिण, जहाँसुकै जाउन्, सबै जातजाती, भाषाभाषीहरूको ठूलो तप्कामा उनीप्रतिको श्रद्धा र उनको लोकप्रियता कुनै नेताको भन्दा कम देखिँदैन । उनको जयजयकार गर्न कुनै पार्टीको निर्देशनबिना जो स्वस्फूर्तरूपमा निस्कन्छन्, ती ‘प्रतिगामी’ को विल्ला भिर्न तयार भएर निस्किएका हुन् । प्रतिगामीको विल्ला लाग्ने डरले घरमै बसेर मौन समर्थन गर्नेहरूको त हिसाबकिताब नै भएको छैन । त्यो एउटा बदलिँदो परिवेशको संकेतमात्र हो ।’

    मिश्र थप्छन्- ‘माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपतिको संस्थाप्रति पूर्ण निराशा व्यक्त गर्दै ‘राजाहरूको त एउटा बेग्लै सान थियो, अहिले त सान पनि छैन, मान पनि छैन, इज्जत पनि छैन । कस्तो भयो त हामीले बनाएको संस्था’ भनेर गरेको टिप्पणी केवल एकछिनको भावनात्मक आक्रोशमात्र होइन । त्यो गणतन्त्रवादीहरूका लागि अशुभ संकेत हो । निकट भविष्यमा हुने कुनै पनि राष्ट्रपति, तुलनात्मकरूपमा अलि राम्रा डा. रामवरण यादव र पदीय मर्यादा ध्वस्त बनाएकी विद्यादेवी भण्डारीभन्दा तात्विकरूपमा फरक हुनेछन् भनेर अपेक्षा गर्ने आधार छैन ।’

  • विवेकशील साझाको निष्कर्ष- चुनाव घोषणा अमानवीय क्रुरता, ओली हटाउन नसक्नु विपक्षीको विफलता

    विवेकशील साझाको निष्कर्ष- चुनाव घोषणा अमानवीय क्रुरता, ओली हटाउन नसक्नु विपक्षीको विफलता

    काठमाडौं । विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटन तथा नयाँ निर्वाचनको घोषणा गर्नु कोभिड महामारीको बेला मानवीय संवेदनाहीन क्रुरता भनेको छ ।

    सो पार्टीको आकस्मिक बैठकले संसद् विघटनको कदम संविधान र लोकतन्त्रको हत्या गरी अधिनायकवादी शैलीमा शासन सत्ता संचालन गर्ने ओली र भण्डारीको पुरानै आाकांक्षाको सुनियोजित निरन्तरता भएको ठहर गरेको छ ।

    बैठकपछि प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा सर्वोच्च अदालतले संसद् विघटनबारे यसअघि जस्तै यस पटक पनि संवैधानिक सर्वोच्चता र लोकतन्त्रको पक्षमा फैसला गर्ने विश्वास लिएको जनाएका छन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘कोभिड १९ ले मुलुक आक्रान्त भएको बेला औषधी, अक्सिजन, अस्पताल/शैया नपाएर नागरिकहरू रोइरहेका बेला निर्वाचनको घोषणा गर्नु मानवीय संवेदनाहीन क्रूरता हो। विवेकशील साझा पार्टी अहिलेको अवस्थामा कोरोना विरुद्धको खोप सरकारको पहिलो प्राथमिकता हुनुपर्छ भन्नेमा प्रष्ट छ।’

    विवेकशील साझा पार्टीले मुलुकमा राजनीतिक अराजकता र विकृति यो हदसम्म मौलाउनुमा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी मात्र होइन प्रमुख प्रतिपक्षीसहित संसद्का दलहरू पनि त्यत्तिकै जिम्मेवार रहेको आरोप लगाएको छ । उसले परम्परागत राजनीतिक दलहरूको सामूहिक विफलताको चर्को मूल्य आज मुलुकले चुकाउनु परेको बताएको छ ।

    सो पार्टीले भनेको छ, ‘अघिल्लो पटक संसद् विघटन हुँदा विरोधको एकै स्वर बोलेका प्रतिपक्षी दलहरू ओलीलाई अविश्वासको प्रस्तावबाट हटाउन के कति स्वार्थले एक ठाउँ उभिन सकेनन् रु ओली र भण्डारीको सर्वसत्तावादबाट मुलुकलाई जोगाउन विपक्षी दलहरू कहाँ कहाँ र कसरी चुके रु यो प्रश्नको इमानदार जवाफ उनीहरूले दिनुपर्छ।’

  • राष्ट्रपतिमाथि महाअभियोग र प्रधानमन्त्रीको विकल्प खोज्न विवेकशील साझाको आग्रह

    राष्ट्रपतिमाथि महाअभियोग र प्रधानमन्त्रीको विकल्प खोज्न विवेकशील साझाको आग्रह

    काठमाडौं । विवेकशील साझा पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग लगाउन माग गरेको छ ।

    पार्टी प्रवक्ता शरदराज पाठकले शुक्रवार विज्ञप्ति जारी गर्दै संविधान र नागरिकको जीवन रक्षाका लागि राष्ट्रपतिमाथि महाअभियोग लगाउन र प्रधानमन्त्री केपी ओलीको विकल्प दिन संसदमा रहेका सबै विपक्षी दललाई आग्रह गरेका छन् ।

    विकेशील साझा पार्टीले राष्ट्रपति सरकारको रबर स्ट्याम्परह बनेको र असंवैधानिक कदम चालेको आरोप लगाएको छ ।

    वैकल्पिक सरकार गठनका लागि लगभग २० घण्टाको मा समय दिइनु ओलीलाई नै फेरि प्रधानमन्त्री बनाएर प्रधानमन्त्री बनाएर संसद विघटन गरी मध्यावधि चुनावको बहानामा मुलुकलाई अस्थिरतातर्फ होम्ने षडयन्त्र भएको आरोस सो पार्टीले लगाएको छ ।

  • विवेकशील साझाले आज कसैलाई भोट नदिने, अबदेखि मतपत्रमा ‘नो भोट’ को व्यवस्था गर्न माग

    विवेकशील साझाले आज कसैलाई भोट नदिने, अबदेखि मतपत्रमा ‘नो भोट’ को व्यवस्था गर्न माग

    काठमाडौं । विवकेशील साझा पार्टीले आज भइरहेकाे राष्ट्रियसभा उपनिर्वाचनमा कुनै पनि उम्मेदवारको पक्षमा मतदान नगर्ने भएको छ ।

    अहिले चुनावी मैदानमा रहेका कुनै पनि उम्मेदवारबाट पार्टीले अपेक्षा गरेको भूमिका निर्वाह नहुने ठहर गर्दै विवेकशील साझाले निर्वाचन प्रक्रियामा सामेल नहुने निर्णय गरेको हो ।

    साे पार्टीका वागमती प्रदेश संसदीय दलका नेता रमेश पौड्यालले आज प्रेस विज्ञप्ति जारी गर्दै विवेकशील साझा पार्टीले स्थापनाकालदेखि नै उठाउँदै आएको मतपत्रमा नो भोट को विकल्प शीघ्र लागु गर्न समेत निर्वाचन आयोग समक्ष आग्रह गरेका छन् ।

    वागमती प्रदेशमा विवकशील साझा पार्टीका तीन जना प्रदेश सभा सदस्य छन् ।

  • राष्ट्रियसभा चुनावमा कसलाई सघाउनेबारे विवेकशील छलफलमै

    राष्ट्रियसभा चुनावमा कसलाई सघाउनेबारे विवेकशील छलफलमै

    काठमाडौं । राष्ट्रिय सभाको बिहीबार हुने उप-निर्वाचनमा कसलाई मत दिने भन्नेबारेमा विवेकशील साझा पार्टी अझैं आन्तरिक छलफलमै छ । बागमती प्रदेशसभामा विवेकशील साझाका ३ जना सदस्य रहेका छन् ।

    कुल १ सय ४४ मतभार रहेको विवेकशील साझाको आज साँझ बस्ने बैठकले निर्णय लिने संसदीय दलका नेता रमेश पौडेलले जानकारी दिए ।

    ‘आज साँझ संसदीय दल र पार्टी नेतृत्वबीच भर्चुअल छलफल गर्दैछौं । त्यहीबाट निष्कर्ष दिनेछौं’, पौडेलले नेपाल प्रेससँग भने ।

    विवेकशील साझाभित्र विपक्षी गठबन्धनका उम्मेदवारलाई सघाउनुपर्ने मत बलियो रहेको छ । बागमती प्रदेशसभामा ३ सांसद रहेको राप्रपाले भने एमाले उम्मेदवारलाई सघाउने निर्णय गरिसकेको छ ।

  • कोभिड बिरामीलाई विवेकशील साझाको ‘तातो भात’

    कोभिड बिरामीलाई विवेकशील साझाको ‘तातो भात’

    पोखरा । गण्डकी प्रदेशको एकमात्र कोभिड अस्पतालमा बिरामीले बेड भरिएपछि अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पनि उस्तै चाप छ । दैनिक ठूलोमात्रामा कोरोना संक्रमितको संख्या थपिँदै जाँदा अस्पतालका बेडहरु पनि भरिँदै जान थालेका छन् ।

    कोभिड महामारी फैलिँदै जान थालेपछि जेठ ७ सम्मका लागि कास्की लकडाउनमा छ । लकडाउनमा अत्यावश्यकबाहेक होटल तथा रेस्टुरेन्टजन्य सम्पूर्ण गतिविधि बन्द गरिएको छ । यसले एकातिर कोरोना महामारीको ‘चेन ब्रेक’ गर्ने प्रशासनको दाबी छ भने अर्कातिर अस्पतालमा भर्ना भएका बिरामी र कुरुवालाई खाना बस्नको सकस परिरहेको छ ।

    यसको उदाहरण पश्चिमाञ्चल अस्पतालकै कोभिड आइसोलेसनमा भर्ना भएका संक्रमित र उनीहरूका कुरुवालाई लिन सकिन्छ । अस्पताल वरपरका होटल तथा रेस्टुरेन्ट पूर्ण रूपमा बन्द भएपछि विवेकशील साझा पार्टीले ‘कोभिड विरामीलाई तातो भात’ अभियान सञ्चालन गर्ने भएको छ ।

    साझाको उक्त अभियान अन्तर्गत अस्पतालमा भर्ना भएका कोभिड बिरामी, उनीहरूका कुरुवा र आइसोलेसन वार्डमा कार्यरत स्वास्थ्यकर्मी गरेर दैनिक २ सय छाक खाना खुवाउने तयारी रहेको विवेकशील साझा पार्टीका पोखरा महानगर संयोजक अजय श्रेष्ठले जानकारी दिए ।

    ‘कोभिड अस्पतालका अवस्था बुझ्दै जाँदा पश्चिमाञ्चलमा धेरै बिरामी भर्ना भएको पाइयो । नजिकका होटल, रेस्टुरेन्ट नहुँदा उनीहरू भोकै बस्नुपर्ने स्थिति रै’छ,’ श्रेष्ठले भने, ‘बिरामी र उनीहरूका आफन्तलाई केही भए पनि सहयोग होस् भनेर यो अभियान सुरु गरेका हौं ।’

    अस्पतालमा अहिले ७७ जना भन्दा बढी कोभिडका बिरामी उपचाररत छन् । भर्ना भएका अधिकांश कोभिड संक्रमितको अवस्था गम्भीर छ । अभियान अन्तर्गत आइतबार साँझदेखि नै सुरु खाना खुवाउन सुरु गर्ने संयोजक श्रेष्ठले बताए । प्रत्येक कोभिड संक्रमितका २ जना कुरुवा पनि हुने हुनाले कम्तिमा २ सय छाक दैनिक खुवाउने उनले सुनाए ।

    ‘पहिलो चरणमा हामीले १० दिनका लागि यो अभियान चलाएका हौं । हामीले साँझमात्रै खाना खुवाउने हो,’ श्रेष्ठले भने, ‘त्यसपछि हामीसँग अन्य मनकारी मनहरू पनि पक्कै जोडिनुहुनेछ । त्यहाँहरू जोडिइसकेपछि अझै धेरै समय लैजाने सोचमा छौं ।’

    कोभिड बिरामीका लागि लेकसाइडको गडफाडर पिज्जेरियाको भान्सामा खाना तयार पारिने श्रेष्ठले जानकारी दिए । उनले खानामा ६ दिन शाकाहारी र एक दिन मासु उपलब्ध गराउने योजना रहेको बताए । ‘उहाँहरूलाई हामीले प्याकेट खाना दिने हो । अस्पतालसँग समन्वय गरिसकेका छौं । अस्पतालको प्राङ्गणमा लगिसकेपछि उहाँहरूको आफन्त खाना लिन आउनुहुन्छ,’ उनले भने ।

    पार्टीका महानगर सहसंयोजक विपना कुँवरले पोखराकै गण्डकी मेडिकल कलेजमा पनि अभियान चलाउनेबारे योजना रहेको जानकारी दिइन् । ‘अहिले सरकारी अस्पतालाई नै मुख्य टार्गेटमा राखेका छौं । यहाँ धेरै टाढाका गाउँबाट पनि आउनु भएको रहेछ । उहाँहरूसँग सीमित आर्थिक स्रोत हुने भएकाले भार नपरोस् भन्ने हाम्रो चाहना हो,’ उनले भनिन्, ‘जिएमसीलाई पनि टार्गेट गरेका छौं । त्यहाँ पनि अभियान लैजाने योजना छ ।’

  • कोरोनाको कारण विवेकशील साझाको महाधिवेशन नहुने

    कोरोनाको कारण विवेकशील साझाको महाधिवेशन नहुने

    काठमाडौं । कोरोना संक्रमणको कारण विवेकशील साझा पार्टीको आगामी जेठ अन्तिम साता तोकिएको एकता महाधिवेशन नहुने भएको छ ।

    तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबीच गत मङ्सिर २४ गते एकता गर्दा ६ महिनाभित्र एकीकृत पार्टीको महाधिवेशन गर्ने घोषणा गरिएको थियो ।

    कोरोना भाइरसको संक्रमण तीव्र रुपमा वृद्धि भएसँगै ठूलो संख्यामा भेला हुने गरी महाधिवेशन आयोजनाको अवस्था नरहेकाले यही वैशाख २५ गते बसेको पार्टी केन्द्रीय समिति बैठकले जेठमा गर्न नसकिने निर्णय गरेको प्रवक्ता शरदराज पाठकले जानकारी दिए ।

    परिस्थिति सहज बनेपछि अनुकूलता हेरी केन्द्रीय समितिबाट महाधिवेशनको अर्को मिति तय गरिने जनाइएको छ । बैठकले कोरोना कहरले सिर्जना गरेको परिस्थितिसँग जुध्न सरकारलाई सक्दो मद्दत गर्ने निर्णयसमेत गरेको छ ।

    रासस

  • रविन्द्र मिश्रले ल्याए ‘राजनीतिसँगै राजकाज’

    रविन्द्र मिश्रले ल्याए ‘राजनीतिसँगै राजकाज’

    काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको पुस्तक ‘राजनीतिसँगै राजकाज’ सार्वजनिक भएको छ । शनिबार आयोजित एक कायक्रममा लेखक मिश्रसहित पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले पुस्तक सार्वजनिक गरे ।

    पुस्तक सार्वजनिक कार्यक्रममा तीनै जनाले राजनीति तथा राजकाजका विषयमा अन्तरसंवादसमेत गरेका थिए । पूर्वप्रधानमन्त्री डा. भट्टराईले राजनीति र राजकाज बेग्लाबेग्लै विषय नभइ एउटै विषयका हाँगा भएको बताए ।

    ‘राजनीति जंगल हो भने राजकाज एउटा रुख हो,’ उनले भने, यी दुईलाई फरक कोणबाट हेर्न मिल्दैन ।’ पुस्तकले उठाएको कल्याणकारी लोकतन्त्रको अवधारणा नेपाल जस्ता मुलुकका लागि उपयोगी रहेको उनले बताए । साथै, देशको राज्य सञ्चालनमा सबै जाति, वर्ग, लिंग र समूदायको बराबर प्रतिनिधित्व नभएसम्म लोककल्याणकारी राज्य अधुरो हुने उनको टिप्पणी थियो ।

    अर्का वक्ता वाग्लेले मिश्रको पुस्तक राजनीतिक नेतृत्वमा चासो हुने सबैका लागि उपयोगी रहेको बताए । ‘नेपालका लागि उदार कल्याणकारी राज्य, गतिशील निजी क्षेत्र र समतामूलक समृद्धिबीचको अकाट्य सम्बन्धको गहकिलो अर्थ–राजनीतिक दस्तावेज पनि हो, यो पुस्तक,’ उनले भने। यसले समाजलाई समृद्धिको बाटोमा अघि बढ्न मार्गनिर्देश गर्ने उनको भनाइ छ।

    कार्यक्रममा लेखक मिश्रले नेपालमा राजनीतिक परिवर्तन धेरै भए पनि जनताले त्यसको सकारात्मक अनुभूति गर्न नपाएको बताए । ‘हामीले राजनीति धेरै गर्यौ, तर राजकाजमा सधैं चुक्यौं,’ उनले भने, ‘अहिलेको नेतृत्व इमानदार, क्षमतावान् र दूरदृष्टिपूर्ण विचार राख्ने नभएसम्म देशको विकास हुन सक्दैन ।’

    मिश्रको प्रकाशित पुस्तकमा ‘कल्याणकारी लोकतन्त्रको प्रस्तावना’ लाई मूल निबन्ध बनाइएको छ । त्यसबाहेक शिक्षा, स्वास्थ्य, परराष्ट्र, अर्थतन्त्रलगायत समाजका विविध क्षेत्रको विश्लेषण ३८ ओटा स्तम्भ–निबन्धमार्फत गरिएको छ ।

  • स्थानीय तहको निर्वाचनमा चुनाव चिन्ह दिन विवेकशीलसहित साना १३ दलको माग

    स्थानीय तहको निर्वाचनमा चुनाव चिन्ह दिन विवेकशीलसहित साना १३ दलको माग

    काठमाडौं । स्थानीय तहको निर्वाचनमा आफ्नो दलीय चुनाव चिन्हसहित प्रतिस्पर्धा गर्न पाउने गरी कानुनमा आवश्यक संशोधन गर्न साना १३ दलले माग गरेका छन्।

    विवेकशील साझा पार्टीको आह्वानमा ललितपुरमा शुाक्रबार बसेको साना १३ दलको बैठकले संघीय संसदमा राष्ट्रिय दलको मान्यताप्राप्त दलको उम्मेदवारलाई मात्र निर्वाचन चिन्ह प्रदान गर्ने स्थानीय तह निर्वाचन ऐन, २०७३ को प्रावधान विभेदकारी र लोकतन्त्रको मर्म विपरीत रहेको भन्दै तत्काल संशोधनको माग गरेका हुन्।

    ‘कानुनले तोकेका सबै सर्त र मापदण्ड पुरा गरी निर्वाचन आयोगमा दर्ता भई राजनीतिक मैदानमा रहेका र लोकतान्त्रिक पद्धतिअनुरूप प्रतिस्पर्धामा उत्रन चाहने दलका उम्मेदवारलाई आफ्नै दलको चुनाव चिन्ह नदिई स्वतन्त्र हैसियतमा प्रतिस्पर्धा गर्न बाध्य पारिनु नेपालको संविधानको धारा ७४ ले प्रत्याभूत गरेको बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्थाको ठाडो विपरीत रहेको बैठकको ठहर छ,’ बैठकपछि विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठक जारी गरेको विज्ञप्तिमा भनिएको छ।

    बैठकमा विवेकशील साझा पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी कांग्रेस, नेपालवाद पार्टी, नेपाल समाजवादी पार्टी (लोहियावादी), आमूल परिवर्तन मसिहा पार्टी, नेपाली कांग्रेस (वीपी) राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक, गान्धीवादी पार्टी नेपाल, नेपाल परिवार दल, नेपाली जनता दल, नयाँ पिपुल्स पार्टी र आजाद जनता पार्टीका शीर्ष नेतृत्व तथा प्रतिनिधि सहभागी थिए।

  • कोरोना खोपमा ज्येष्ठ नागरिकलाई प्राथमिकता देऊ: विवेकशील साझा

    कोरोना खोपमा ज्येष्ठ नागरिकलाई प्राथमिकता देऊ: विवेकशील साझा

    काठमाडौं । कोभिड -१९ विरुद्धको खोप अभियानमा राज्यले ज्येष्ठ नागरिकहरूमाथि गरेको उपेक्षाप्रति विवेकशील साझाले आपत्ति जनाएको छ ।

    पार्टीको साझा ज्येष्ठ नागरिक संगठनले आइतबार विज्ञप्ति जारी गर्दै कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेमा सबैभन्दा उच्च जोखिममा रहेका ज्येष्ठ नागरिकहरूलाई सरकारले खोप अभियानको तेस्रो चरणसम्ममा पनि प्राथमिकतामा नपार्नु दुखद भएको बताएको हो ।

    संगठनले विश्वभर ज्येष्ठ नागरिकहरूलाई प्राथमिकतामा राखी कोभिड १९ विरुद्धको खोप दिइँदै गरिएकोमा नेपालमा यो वर्गमाथि सरकारले गरेको विभेदले सामाजिक न्याय र सुरक्षाप्रति सरकारी उदासीनता पुनः छर्लङ्ग भएको भन्दै आलोचना गरेको छ ।

    संगठनका संयोजक महेनमोहन श्रेष्ठले खोप अभियानको यसपछिको चरणमा ज्येष्ठ नागरिकलाई मुख्य प्राथमिकतामा राख्न  सरकारसँग माग गरेको बताए ।

     

     

  • माइतीघरमा जुत्ता झुण्ड्याएर विवेकशील साझाको प्रदर्शन (तस्बिरहरू)

    माइतीघरमा जुत्ता झुण्ड्याएर विवेकशील साझाको प्रदर्शन (तस्बिरहरू)

    काठमाडौं । प्रतिनिधिसभा विघटन र संवैधानिक परिषदका निकायका पदाधिकारीको नियुक्ति असंवैधानिक भन्दै विवेकशील साझा पार्टीले सोमवार राजधानीमा विरोध प्रदर्शन गरेको छ ।

    माइतीघर मण्डलामा फरक शैलीमा विवेकशील साझाका नेता कार्यकर्ताले प्रदर्शन गरेका थिए । उनीहरूले ‘विधि विधान नकुल्च’ भन्दै जुत्ता झुण्ड्याएर प्रदर्शन गरेका हुन् ।

  • विवेकशील साझाको आरोप- सरकार मुलुकलाई गम्भीर द्वन्द्वतर्फ धकेल्न उद्धत

    विवेकशील साझाको आरोप- सरकार मुलुकलाई गम्भीर द्वन्द्वतर्फ धकेल्न उद्धत

    काठमाडौं । विवेकशील साझा पार्टीले सरकार मुलुकलाई गम्भीर द्वन्द्वतर्फ धकेल्न उद्धत रहेको आरोप लगाएको छ ।

    विहीबार विवेकशील साझाले संसदीय सुनुवाइविनानै संवैधानिक आयोगहरूमा पदाधिकारीहरूको नियुक्ति र शपथ ग्रहण गराएकोप्रति आपत्ति प्रकट गर्दै यस्तो आरोप लगाएको हो।

    ‘संसद विघटन गरी मुलुकलाई ठूलो अस्थिरतातर्फ धकेलेको केपी ओली नेतृत्वको सरकारले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा गरेको उक्त नियुक्ति संविधानमाथिको फेरि अर्को घातक प्रहार हो,’ प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘श्रृंखलाबद्ध रूपमा असंवैधानिक कदमहरू चाल्दै यो सरकार मुलुकलाई गम्भीर द्वन्द्वतर्फ धकेल्न उद्धत रहेको छर्लङ्ग भएको छ।’

    पछिल्लो नियुक्तिपछि राष्ट्रपति र प्रधानन्यायाधीशमाथि पनि नैतिक प्रश्न खडा भएको विवेकशील साझाको टिप्पणी छ ।

    तत्काल संवैधानिक सर्वोच्चता र विधिको शासन पुनर्बहाली हुने कुरामा विश्वास प्रकट गर्दै विवेकशील साझाले सरकारको प्रतिकार गर्ने नाममा नागरिकलाई दुःख काम पनि गलत भएको बताएको छ।

    ‘प्रधानमन्त्री केपी ओलीको तानाशाही प्रवृत्तिको समर्थन गर्नु आफू र आफ्ना सन्ततिको भविष्यमाथि आफै बन्चरो प्रहार गर्नु हो,’ विज्ञिप्तमा भनिएको छ, ‘त्यसैगरी, विवेकशील साझा पार्टी सरकारको प्रतिकार गर्ने नाममा नागरिकलाई दुःख दिने र अर्थतन्त्रमा आघात पुग्ने बन्द, आमहड्तालजस्ता कार्य नगर्न सबै पक्षलाई आग्रह गर्दछ। एउटा कुकर्मको सुधार अर्को कुकर्मबाट हुन सक्दैन।’

  • विवेकशील साझा पार्टीद्वारा राजनीतिक संवाद समिति गठन

    विवेकशील साझा पार्टीद्वारा राजनीतिक संवाद समिति गठन

    काठमाडौं । विवेकशील साझा पार्टीले विभिन्न दल, समूह, अभियान र व्यक्तिसँग सम्भावित एकता, सम्मिलन र सहकार्यको अन्वेषण तथा वार्ता गर्न राजनीतिक संवाद समिति गठन गरेको छ ।

    पार्टी केन्द्रीय समितिको बैठकले नेतृत्वमा पुगेर सुसंस्कार र सुशासनद्वारा देश रूपान्तरणको लक्ष्य हासिल गर्न पार्टीको आकार र सामथ्र्यमा व्यापक वृद्धि गर्नुपर्ने निष्कर्षका साथ समिति गठन गरेको जनाइएको छ ।

    पार्टी केन्द्रीय सदस्य केशव दाहालका संयोजकत्वमा गठित समितिमा केन्द्रीय सदस्य रमेश पौड्याल, समीक्षा बाँस्कोटा, अनुपमान सैँजु, रञ्जु दर्शना र पुकार बम सदस्य रहेको पार्टी प्रवक्ता शरदराज पाठकले जानकारी दिए ।

    समितिका संयोजक दाहालले समितिले आफ्नातर्फबाट लिने अग्रसरताका साथै आफ्नो पार्टीसँग मिलेर अघि बढ्न चाहने दल, समूह, अभियान र व्यक्तिलाई समितिसँग सम्पर्क गर्न आग्रह गरेका छन् ।

  • विवेकशील साझा पार्टीको प्रवक्तामा पाठक

    विवेकशील साझा पार्टीको प्रवक्तामा पाठक

    काठमाडौं । विवेकशील साझा पार्टीको प्रवक्तामा केन्द्रीय सदस्य शरदराज पाठक चयन भएका छन् ।

    पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पाठकलाई प्रवक्तामा चयन गरिएको जानकारी दिएका छन् ।

    पाठक गत संघीय निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट पार्टीका उम्मेदवार थिए ।