Tag: विवेकशील साझा

  • रास्वपा र विवेकशीलको आज एकता घोषणा

    रास्वपा र विवेकशीलको आज एकता घोषणा

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझाको औपचारिक रूपमा आज पार्टी एकता घोषणा हुँदैछ । आइतबार दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।

    असल शासन र समुन्नतिसँग सरोकार राख्ने दुई दलबीच एकीकरण हुन लागेको रास्वपाले जनाएको छ । विवेकशीलले रास्वपाको नाम, नेतृत्व र चुनाव चिह्न स्वीकार गरी निःशर्त एकतामा जाने निर्णय गरेको थियो ।

    विसं २०६९ मा उज्ज्वल थापाको नेतृत्वमा विवेकशील अभियान शुरु भएको थियो । विसं २०७० मा विवेकशील नेपाली दल गठन भई चुनावी प्रतिस्पर्धामा गएको थियो । रास्वपा भने २०७९ असार ७ गते स्थापना भएको हो ।

  • विवेकशील-साझामा जुट–फुटको अन्तरकथा

    विवेकशील-साझामा जुट–फुटको अन्तरकथा

    पहिलो संविधानसभाबाट संविधान नबनी विघटन भएपछि नेपाली राजनीति अत्यन्त तरल र संक्रमणको स्थितिमा पुगेको थियो  ।आमनागरिकसँगै युवा समूहमा अन्योल बढिरहेको थियो । त्यहीं बेला सिर्जनशी युवा उज्ज्वल थापा नेतृत्वको एउटा समूहले ‘विवेकशील दल’को अवधारणा ल्यायो । र उक्त दलले दोस्रो संविधानसभा निर्वाचनमा कुकुर चिह्न लिएर चुनावी प्रतिस्पर्धा गर्यो ।

    नवीन राजनीतिका लागि साविक दलबाट सम्भव नभएको विश्लेषणसहित उक्त समूह अगाडि बढेको थियो । २०७३ सालको स्थानीय तहको चुनावमा काठमाडौंको मेयर पदमा २१ वर्षीया रञ्जु दर्शनाले ल्याएको मतले विवेकशीललाई वैकल्पिक दलको रुपमा जनताले अनुमोदन गरेको प्रष्ट हुन्छ । दर्शनाले त्यतिबेला २४ हजार मत ल्याएकी थिइन् ।

    स्थानीय तहको चुनावअगावै पनि बाबुराम भट्टराई, रवीन्द्र मिश्रलगायत विभिन्न व्यक्ति, समूहहरुसँग सहकार्य–एकताको निम्ति विवेकशीलले वार्ता गरेको थियो । रवीन्द्र मिश्रले विवेकशीलसँग वार्तामा छँदै साझा पार्टी दर्ता गरेर स्थानीय निकायको चुनावमा होमिए । तर नतिजा उनले सोचेअनुसार नआएपछि मात्रै पुनः विवेकशीलसँग वार्ता गर्न अग्रसर भएका थिए ।

    जनताको व्यापक आशा अनि दबाबपछि साझा र विवेकशील मिलेर दल एक भए । यी दुई पार्टीको विचारधारा पनि धेरै हदसम्म समान नै थियो । विभिन्न चरणको वार्तापछि दुई पार्टीबीच एकता भएर विवेकशील साझा बन्यो ।

    संविधानसभाबाट संविधान जारी भएपछि २०७४ को पहिलो प्रादेशिक तथा संघीय चुनावमा तराजु चिह्नबाट यस पार्टी प्रतिस्पर्धामा उत्रियो । रवीन्द्र मिश्र काठमाडौं– १ बाट प्रकाशमान सिंहसँग झिनो मतले पराजित भए भने अन्य स्थानमा पनि पार्टीले सम्मानजनक मत ल्याउन सफल भयो ।

    दुई लाख बढी मत ल्याएर राष्ट्रिय पार्टी बन्न ल्याउनु पर्ने कुल सदर मतको ३% मत र प्रत्यक्षमा १ सिटनिकट पुगेको थियो । ३ सांसद समानुपातिक मतमार्फत् वागमती प्रदेशमा जित्न भए ।

    त्यसपछि विवेकशीलको जोस र साझाको होसले पार्टी झन् विस्तार हुने अपेक्षा थियो । अनि चुनावअघि हतार–हतार गरिएको एकीकरणको व्यवस्थापन गर्नुपर्ने चरणमा पुग्यो, तब सुरु भयो खटपट । एकीकृत पार्टीमा महाधिवेशन नहुन्जेल समान ढंगले पार्टीका विभिन्न संरचनाहरूमा मनोनयन हुन पर्ने हो, तर भएन ।

    रवीन्द्र मिश्रका कोटका खल्तीबाट नाम निस्किन थाले । कांग्रेसका राधेश्याम अधिकारलाई विवेकशील साझाले राष्ट्रिय चुनावमा समर्थन गर्ने कुराले व्यापक हंगामा भयो । त्यसको पूर्वविवेकशीलहरु विरोध गरे ।

    विशेषतः अधिकारीले कुनै व्यक्ति भ्रष्टाचारी किटान भइ जेल सजाय भुक्तान गरेपश्चात सामान्य नागरिकसरह फेरि राजनीतिक अधिकारको प्रयोग गर्न पाउनुपर्ने भन्ने उनको अडानसँग अधिकांश विवेकशील साझा सदस्यहरूको असहमति थियो । विरोधका बाबजुत निर्णय भयो । सचिवालयको यस निर्णयबाट केन्द्रीय कमिटी पछि हट्यो । रवीन्द्र मिश्र र सांसद रमेश पौड्यालले पदबाट राजीनामा दिने भनेर केन्द्रीय कमिटीमा धारणा राखे । यसरी अधिकारीलाई समर्थन गर्ने निर्णय पारित गर्न केन्द्रीय कमिटीलाई बाध्य पारियो ।

    यसपछि शृङ्खलाबद्ध तरिकाले साझा पट्टिका मान्छेहरू धमाधम पार्टीका निकायहरुमा मनोनयनमा पर्ने तर विवेकशील पट्टिका कोही नपर्ने हुन थाल्यो । केन्द्रीय कमिटीका बैठकको निर्णयबारेमा सदस्यहरुलाई जानकारीबाट टाढा राख्न थालियो ।

    हुँदाहुँदै रवीन्द्र मिश्रको कोटको खल्तीबाट पार्टी चल्न थाल्यो । ‘बानेश्वर काण्ड’ भनेर पार्टी भित्र चर्चित घटनामा तात्कालीन विवेकशील साझाको वागमती प्रदेश कमिटीको मनोनयनमा भएको मिश्र पक्षको एकलौटीको व्यापक विरोध भयो । कार्यक्रममा पुलिस नै आउनपर्ने स्थिति बनेको थियो ।

    मिश्र समूहको यस प्रवृत्तिको विरोधस्वरुप पार्टी फुट्नु अगाडि स्वर्गीय उज्वल थापा देश दौडाहामा गए । १८ बुँदे असहमतिको दस्तावेज पार्टीमा बुझाए । छलफलको माग गरे । तर, छलफल हुने भनेर डाकिएको बैठकको एजेण्डाहरुमा थापाको दस्तावेज परेन । यसरी घुमाउरो तरिकाले उक्त बैठकबाट उज्वल थापालाई कारबाही गरेपश्चात उनको दस्तावेजमाथि छलफल हुने देखिएको थियो ।

    केन्द्रीय कमिटी बैठकमा उज्वल थापा सामेल भएमा पार्टी फुटाउन चाहिने ४० प्रतिशत र दुई सांसद आफूसँग नपुग्ने सम्भावना देखेपछि र विषेशगरी विवेकशीलबाट नै गएको तर मिश्र पक्षमा रहेका केही केन्द्रिय सदस्यहरू केन्द्रीय कमिटी बैठक कुरुन्जेल आफ्नो पक्षमा बहुमत नपुग्ने थापाले छनक पाएका थिए ।

    एकीकृत हुँदा ५०–५० प्रतिशत बराबर केन्द्रीय सदस्य दुवै पक्षको रहे पनि विवेकशीलबाट सामेल गरिएका केन्द्रिय सदस्य मिलन पाण्डे विवेकशील नेपाली दलमा कारबाही भोगेर ६ महिनाको निलम्बनमा थिए । सोही समयमा भने विवेकशीलबाट गएका कतिपयले रवीन्द्र मिश्रको कार्यशैलीको तीव्र अन्तरविरोधले गर्दा एकताको सुरुवाती कालमा नै पार्टी छाडिसकेका थिए । त्यसमाथि उज्वल थापा पनि कारबाहीमा परे भने पार्टी फुटाउँदा ४० प्रतिशत पुर्याउन असम्भवप्रायः थियो ।

    त्यसैले, केन्द्रीय कमिटी बैठक हुनुअगावै हतार हतार निर्वाचन आयोगमा दल फुटेको भनेर विवेकशीलपट्टिका १६ जना केन्द्रीय सदस्यहरूको हस्ताक्षरसहित विवेकशील नेपाली दल दर्ताको लागि निवेदन दिइयो ।

    निर्वाचन आयोगले ४० प्रतिशत नपुगेको भनेर विवेकशील नेपाली दल दर्ता हुन नसक्ने जानकारी दियो । निर्वाचन आयोगको यस निर्णयविरुद्ध उज्वल थापा सर्वोच्च गए । उनीद्वारा दायर मुद्धा आजसम्म सर्वोच्च अदालतमा विचाराधीन छ ।

    फुटपछिको चरण

    फुटपछि सदस्यहरुसँगको पहिलो छलफल काठमाडौंको सिफल चौरमा भयो थियो, जहाँ विवेकशील नेपाली दललाई अगाडि बढाउने बारेमा छलफल भएको थियो । साझाले पत्रकार सम्मेलन गरेर अप्रत्यासित घटना भनेको थियो । पत्रकार सम्मेलनमा डा. सूर्यराज आचार्य रोएको भिडियो त भाइरल नै भएको थियो । यता विवेकशील आफ्नो सबै सम्पत्ति साझामा रहेकाले सडकमा पुगेको थियो ।

    साझासँग फुटेपछि विवेकशीलको एक पक्ष फुट्नु गल्ती थियो भन्ने बुझाइमा थियो । उनीहरु अन्तिममा साझासँग मिल्नै पर्छ भन्ने लाइनमा थिए । अर्को पक्ष विवेकशीललाई नै अब सशक्त ढंगले अगाडि बढाउन पर्छ भन्नेमा थियो ।

    फेरि मिल्न पर्छ भन्ने स्वर तत्कालको लागि मलिनो थियो । अधिकांश सदस्यहरुमा विवेकशीललाई फेरि पुनर्जागृत गरौँ भन्ने भावना थियो । फुटको करिब एक वर्षपश्चात विवेकशीलले नीति सम्मेलन रोल्पामा गर्यो भने त्यसको ३ महिनापछि जनकपुरमा महाधिवेशन गर्यो । महाधिवेसनबाट मिलन पाण्डे विवेकशील नेपाली दलको अध्यक्षमा चुनिए भने, उज्वल थापाले उम्मेदवारी दर्ता गरेनन् ।
    उता साझाले पनि लुम्बिनीमा राष्ट्रिय कार्यकर्ता भेला गर्यो । भेलाबाट धर्मनिरपेक्षता र संघीयतामा जनमत संग्रह पार्टीको मुख्य एजेण्डा पारित गर्यो ।

    लगत्तै स्थानीय तहदेखि केन्द्रसम्म दोस्रो चरणको निर्वाचन थियो । मुख्यगरी कास्कीको पोखरा क्षेत्र, जहाँ रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि खाली रहेको निर्वाचन क्षेत्रमा उनकी श्रीमती विद्या भट्टराई एमालेबाट उठेकी थिइन् । त्यहाँ साझाबाट रजनी केसी र विवेकशीलबाट जमुना शर्माले चुनावमा भाग लिएका थिए । सबैको ध्यान त्यही चुनावी क्षेत्रमा केन्द्रित थियो । साझाको करिब ९०० मत आएको थियो भने विवेकशीलको १०० । यो नतिजाले दुवै वैकल्पिक भनेको दललाई गम्भीर ढंगले धक्का दियो ।

    विवेकशील नेपाली दलमा निर्वाचित केन्द्रीय कमिटी आएपश्चात जुन रफ्तारमा पार्टी अगाडि बढ्छ भन्ने सोचिएको थियो, त्यो भएन । पार्टी नेतृत्वलाई केन्द्रीय कार्यालयको भाडा जुटाउनै हम्मेहम्मे परिरहेको थियो ।

    त्यहीबेला विवेकशीलमा अन्य पार्टीसँग संवाद गर्न भनेर संवाद कमिटी बनाइयो, जसमा तत्कालीन विवेकशील नेपाली दलका महासचिव निर्देश सिलवाल, सांसद रमेश पौड्याल र नेतृ रञ्जु दर्शना सदस्य थिए । त्यतिबेला साझासँग फुट्नु गलत थियो भन्ने आवाज विस्तारै उठ्दै थियो । साझा पार्टीमा पनि वार्ता समूह बन्यो ।

    सोही समयमा मुमाराम खनाल र सूर्यराज आचार्यले साझा पार्टीबाट राजीनामा दिए । राजीनामा पछि दिएको अन्तर्वार्तामा सूर्यराज आचार्यले रवीन्द्र मिश्रप्रति कुनै आग्रह नरहेको तर विवेकशीलमा रहेर मिडियामा छाउने नेतृत्वहरु प्रति सचेत हुनुपर्ने बताएका थिए । ‘विवेकशीलको हालको नेतृत्वलाई सिंहदरबार पुर्याउन आफू राजनीतिमा आएको होइन’ भन्ने उनको भनाइ विभिन्न सञ्चारमाध्यममा आएका थिए ।

    ‘स्याल कराउनु र बाख्रा हराउनु सँगै’ भनेजस्तै सूर्यराजहरूको राजीनामा आएलगत्तै विवेकशीलतिरका मिलन पाण्डेसहितको समूह व्यापकरूपमा साझासँग एकताको लागि परिचालित हुन पुग्यो ।

    विवेकशीललाई नै अगाडि बढाउँछु भनेको नेतृत्व एकाएक साझासँग एकता गर्न भएभरको बल लगाएको जस्तो देखियो । र त्यसकै लागि लागिपर्यो ।

    साझा पार्टीको विधानले केन्द्रीय समितिलाई कुनै पनि दलसँग एकीकरणको लागि अधिकार दिएको थियो भने विवेकशीलमा दुईतिहाइ सदस्यको मतलाई अधिकार थियो । मिलन पाण्डेले विवेकशीलको विधानको यस प्रावधानलाई पहिला नै परविर्तन गर्न खोजेका थिए । तर केन्द्रीय कमिटीबाट उक्त संशोधन पास हुने नदेखिएपछि उनी रोकिएका थिए । मतबाट छिनोफानो हुने भएपछि एकीकरण पक्षधर पाण्डे समूह र हाल साझासँग एकीकरण गर्ने उपयुक्त समय होइन भन्ने कर्मा तामाङ समूहबीच तीव्र अन्तरविरोध हुन थाल्यो ।

    साझा र विवेकशीलको एकीकरण दस्तावेज आएपछि भने घोषित रूपमा नै दुई समुह देखिए । ३४ मध्येको १३ जना केन्द्रीय सदस्यहरूले संयुक्त विज्ञप्तिमार्फत् नै साझासँग विवेकशीलको एकीकरण हुन नहुने बताएका थिए ।
    त्यतिबेला उनीहरुको बुँदागत तर्क यस्तो थियो–

    – साझा पार्टीसँग हाल सहकार्य गर्न सकिने, तर एकीकरण हुन नसक्ने ।
    – एकीकरण पूर्व, साझा पार्टीले महाधिवेसन गरेर निर्वाचित कमिटीको रूपमा आउनपर्ने ।
    – साझाले विवेकशीलतर्फको एकीकरण पश्चात भोगचलन गर्दै आएको सम्पत्तिको बारेमा स्पष्ट धारणा दिनपर्ने ।
    – साझाले लुम्बिनी राष्ट्रिय भेलाबाट धर्मनिरपेक्षता र संघीयतामा जनमत संग्रह गर्नुपर्ने भनेर पारित गरेको एजेन्डाबाट पछि हट्नु पर्ने । एकीकरण दस्तावेजमा यस बारेमा प्रष्ट उल्लेख हुनपर्ने । हालको एकीकरण दस्तावेजमा संविधानको रक्षा गर्दै अघि बढ्ने भन्ने भाषा लेखिएको हुँदा यसलाई जसरी पनि बुझ्न मिल्ने हुनाले साझा पार्टीको प्रष्ट विचार आउन पर्ने ।
    – विवेकशील नेपाली दल निर्वाचन आयोगमा दर्ता नभएको, निर्वाचन आयोगविरुद्धको मुद्धा हाल पनि सर्वोच्च अदालतमा विचाराधीन रहेकोले, दल दर्तापश्चात मात्रै एकता हुनसक्ने ।

    त्यसैगरी तत्काल एकता गर्न पर्दछ भन्ने समूहको मुख्य दलील भनेको चुनावमा प्राप्त दुई लाख बढी मतको सम्मान, पार्टीभन्दा माथि देश, साझासँग नमिलेको राजनीतिक मुद्धाहरु एकीकरण पश्चात ६ महिना भित्र हुने महाधिवेसनसम्ममा मिलाइसक्ने भन्ने थियो ।

    एकीकरण दस्तावेज सार्वजनिक गरेपश्चात विवेकशील नेपाली दलका संस्थापक महासचिव गोविन्द नारायणले सदस्यहरूलाई सम्बोधन गर्दै साझासँगको पुनः गर्ने भनेको एकीकरणप्रति तीव्र असन्तुष्टि जनाएका थिए । संस्थापक अध्यक्ष स्वर्गीय उज्वल थापा त्यसबखत विवेकशील नेपाली दलको सदस्य थिएनन् र उनले मतदानमा भाग पनि लिएका थिएनन् ।

    मतदान भयो, । ४ मत बढीसहित एकता प्रस्ताव पारित भयो । विवेकशील भित्र त्यो बेलामा साझासँग मिल्न हुन्न भन्नेमा पनि दुई लाईन थियो । एक पक्ष एकीकरण प्रस्ताव पास गर्नेमा भोट हाल्ने, ताकि साझासँग जसरी पनि मिल्न पर्छ भन्ने समूह साझामा नै मिसिन जाउन् अनि बाँकी रहेकाले विवेकशीललाई अगाडि बढाउने । अर्को एकीकरण प्रस्ताव फेल गर्ने अनि नेतृत्वलाई राजीनामा दिन बाध्य पारेर वा विराटसभाबाट हटाएर नयाँ नेतृत्व ल्याउने ।

    एकीकरण पश्चात विवेकशील साझा गठन भयो । यता कर्मा तमाङसहितको साझासँगको एकीकरणमा नजाने समूह व्यापक छलफलमा जुटेर विवेकशील पार्टी बनाउने निचोडमा पुग्यो । हालै उनीहरूले नेपाल विवेकशील पार्टी भनेर निर्वाचन आयोगमा दर्ता गरेका छन् । पार्टी अध्यक्षमा कर्मा तमाङ रहेकी छिन् भने उपाध्यक्षमा अजिता राई (तत्कालीन विवेकशील नेपाली दलकी उपाध्यक्ष) छिन् ।

    एकीकरण पछिको ६ महिनामा विवेकशील साझामा महाधिवेसन हुन सकेन । तसर्थ पार्टीको संरचनामा आफ्नो मान्छे नियुक्त गर्नेमा विभिन्न पक्षबीचमा प्रतिस्पर्धा चल्न थाल्यो । विवेकशील साझाको युवा संघमा मिलन समूहको नियुक्ति गरे, जसमा निर्देश सिलवाल समूहलाई बाईपास गरिएको थियो । त्यस निर्णयबाट रुष्ट बनेका थिए, सिलवाल । सिलवाल र पाण्डेबीचमा रवीन्द्र मिश्र पछिको नेतृत्व कुन समूहले हत्याउने भन्ने प्रतिस्पर्धा थियो । मिलन समूहको विवेकशील साझाबाट बहिर्गमन र उनलाई साधारण सदस्य समेत नरहने गरी गरिएको कारबाही टकराबको अन्तिम रुप थियो ।

    सतहमा मिलन समूहले संविधानको रक्षा, धर्मनिरपेक्ष, संघीयता, गणतन्त्रको मुद्धा नमिलेपछि तीव्र अन्तरविरोध सुरु भएको भनेर भाष्य निर्माणको प्रयास गरे पनि तत्कालीन विवेकशीलमा यही मुद्धामा नै अन्तरविरोध भएर साझासँग मिल्नु अघि नै विवेकशील दल दुई चिरा परेको थियो । तत्कालीन समयमा सोही मुद्दालाई नजरअन्दाज गर्ने मिलन समूह नै अहिले ‘पानी माथिको ओभानो’ हुन खोजेको देखिन्छ ।

    रवीन्द्र मिश्रको केही समयअघि आएको मार्ग परिवर्तन ‘विचारभन्दा माथि देश’ तत्कालीन साझा पार्टीको लुम्बिनी राष्ट्रिय भेलाबाट पारित एजेण्डाको विस्तारित दस्तावेज मात्रै हो । विवेकशील अभियानका पुराना साराथीहरुमाझ एउटा भनाइ एकदम प्रचलित छ । र एउटा प्रश्न छ– विवेकशील अभियानलाई रवीन्द्र मिश्र समूह वा मिलन समूह, कुनबाट ज्यादा क्षति भयो ?

    (लेखक तत्कालीन विवेकशील नेपाली दलका प्रवास सचिव हुन् ।)

  • राप्रपा र विवेकशील साझाबीच एकताको पहल सुरु, तर पार लाग्न कठिन

    राप्रपा र विवेकशील साझाबीच एकताको पहल सुरु, तर पार लाग्न कठिन

    काठमाडौं । राजसंस्थाको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी र राजतन्त्रका विषयमा नरम दृष्टिकोण राख्ने विवेकशील साझा पार्टीबीच सम्भावित एकताको पहल सुरू गरिएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र विवेकशील पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबीच आज भएको भेटवार्तामा एकताका विषयमा छलफल भएको थियो ।

    लिङदेन नेतृत्वमा आएपछि राप्रपाले विचार मिल्नेहरूसँग सहकार्य र एकता गर्ने नीति लिएको छ । यसका लागि पार्टीको पहिलो केन्द्रीय समिति बैठकले महामन्त्री डा. धवलशम्शेर राणाको नेतृत्वमा वार्ता समिति समेत बनाएको थियो । यही सिलसिलामा लिङदेन र राणा आज मिश्रलाई भेट्न उनको निवासमै पुगेका थिए ।

    भेटघाटपछि नेपाल प्रेसलाई प्रतिक्रिया दिँदै मिश्रले दुई पार्टीबीच सम्भावित एकताको विषयमा अनौपचारिक कुराकानी भएको बताए । यद्यपि, यो सहज विषय नभएको उनको प्रतिक्रिया छ ।

    ‘राप्रपा विवेकशील साझामा आएर मिल्न सक्दैन, विवेकशील राप्रपामा मिल्न सक्दैन,’ मिश्रले भने, ‘तर, दुवै मिलेर नयाँ विकल्प सिर्जना गर्ने सम्भावनाको बारेमा हामी खुला छौं ।’

    राप्रपा महामन्त्री डा. राणाले एकताको लागि पहल सुरू भएको बताए ।

    उनले भने, ‘सामान विचार भएकाहरू एक ठाउँ उभिनुपर्छ भन्ने हाम्रो धारणा हो । विवेकशील-साझासँग यस विषयमा छलफलको सुरूआत भएको छ । तर, एकतासम्म पुग्न धेरै कुराहरू मिलाउनुपर्ने हुन्छ । हेर्दै जाउँ ।’

    डा. राणाले एकताका विषयमा आफ्नो पार्टीभित्र छलफल हुने बताए । मिश्रले पनि ठोस प्रस्ताव आएको खण्डमा पार्टीमा छलफल हुनसक्ने उल्लेख गरे ।

    विवेकशील साझाका अध्यक्ष मिश्रले केही समयअघि ‘विचारभन्दा माथि देश’ भन्दै नयाँ दस्तावेज सार्वजनिक गरेका थिए । उक्त दस्तावेजमा संघीयता उल्टाउनुपर्ने र धर्मनिरपेक्षतामाथि जनमतसंग्रह गर्नुपर्ने मिश्रले बताएका छन् । राजसंस्थाको विषयमा पनि सहानुभूति दर्शाइएको यो दस्तावेजलाई विवेकशील साझाको केन्द्रीय समितिले पारित गरिसकेको छ । यससँगै राप्रपा र विवेकशील साझा विचारधारात्मकरूपमा नजिकिएका हुन् ।

    संघीयता उल्टाउनुपर्नेमा राप्रपा र विवेकशीलको मत मिलेको छ । यस्तै, धर्मनिरपेक्षताका विषयमा पनि उनीहरू नजिक भएका छन् । राप्रपा धर्मनिरपेक्षता पनि उल्टाएर हिन्दू राज्यमा फर्किनुपर्ने पक्षमा छ भने विवेकशील साझाले सोझै त्यसो नभने पनि यसको निर्णय जनतालाई गर्न दिनुपर्ने भनेको छ ।

    राजसंस्थाको विषयमा भने दुई पार्टीमा अझै अन्तराल देखिन्छ । विवेकशील साझाले खुलेर राजसंस्थाको पक्षपोषण गरेको छैन । मिश्रको दस्तावेजमा नेपालमा गणतन्त्र आउनुमा विदेशीको हात रहेको औंल्याइए पनि गणतन्त्रलाई नै सुधारेर लैजानुपर्ने उल्लेख छ ।

    राप्रपा र विवेकशीलको एकतामा धेरै जटिलता छन् । राप्रपा पुरातनपन्थी र पूर्वपञ्चहरूको पार्टीका रूपमा परिचित छ । याे घाेषितरूपमा राजावादी पार्टी हाे  । विवेकशील साझामा भने शिक्षत र शहरीया युवापुस्ताको बढी झुकाव देखिन्छ । सानो आकारका बाबजुद सञ्चारमाध्यम र सामाजिक सञ्जालमा यस पार्टीले निकै स्पेस पाउने गरेको छ ।

    संगठनको हिसाबले राप्रपा देशव्यापी सञ्जाल रहेको पुरानो पार्टी हो । यसको नेतृत्वमा पनि हस्ति नेताहरु भरिभराउ छन् । विवेकशील तुलनात्मकरुपमा नयाँ भएकाले यसको सांगठनिक संरचना निर्माणाधीन छ । पार्टीमा राष्ट्रिय छवि बनाएका नेता मिश्र मात्रै हुन् । पार्टीमा उत्पन्न पछिल्लो विवादले एउटा समूह अलग्गिने क्रममा पनि छ ।

    गएको चुनावमा राप्रपाले भन्दा विवेकशीलले बढी मत ल्याएको थियो । संघीयता र धर्मनिरपेक्षताको विपक्षमा उभिएपछि पार्टीको जनमत ह्वात्तै बढेको र आगामी चुनावमा सुखद नतिजा आउने विश्वास विवेकशील साझाका नेताहरूले लिएका छन् । यद्यपि, एक्लैले ठूलो धक्का दिन सम्भव नभएकाले समान विचार भएकाहरू ध्रुवीकृत हुँदै जानुपर्ने पक्षमा मिश्र छन् ।

    यता राप्रपाले पनि लिङदेनको रूपमा युवा नेतृत्व पाएको छ । कमल थापालाई हराएर लिङदेन निर्वाचित हुँदा पार्टीबाहिर पनि सकारात्मक तरंग देखिएको थियो । यसले पार्टीपंतिमा उत्साह बढाएको छ । यद्यपि, महाधिवेशनपछि असन्तुष्ट बनेका कमल थापाले पार्टी फुटाउन सक्ने चर्चा पनि सुरू भएको छ ।

    वैचारिकरूपमा केही समानता भए पनि दुवै पार्टीकाे  आ–आफ्नै लिगेसी, अलग–अलग राजनीतिक धरातल तथा पुस्तान्तारणका कारण पनि याे एकता प्रयासले सार्थकता पाउन कठीन नै देखिन्छ । खासगरि राप्रपासँग एकताकाे विषय विवेकशीलकाे पार्टीपंतीलाइ रूचीकर नलाग्छ सक्छ ।

    राप्रपाले रवीन्द्र मिश्रको दस्तावेज पारित गरेपछि आलोचकहरुले उनलाई ‘बरू राप्रपासँग एकीकरण गर्न’ सुझाव दिएका थिए । व्यंग्यात्मकरुपमा यस्तो सुझाव दिइएको भए पनि राप्रपा र विवेकशील साझा साँच्चै एकताका लागि प्रयास हुनु नेपाली राजनीतिको रोचक प्रसंग हो ।

     

  • विवेकशील त्याग्दै रन्जुले भनिन्- मेरो पार्टीले वैकल्पिक राजनीतिको खोल ओढेर अत्यधिक फोहोर बढायो

    विवेकशील त्याग्दै रन्जुले भनिन्- मेरो पार्टीले वैकल्पिक राजनीतिको खोल ओढेर अत्यधिक फोहोर बढायो

    काठमाडौं । विवेकशील साझा पार्टीको नेता तथा काठमाडौं महानगरपालिको मेयरको उम्मेदवार बनेर तेस्रो भएपछि चर्चामा आएकी युवा रन्जु दर्शनाले सो पार्टी परित्याग गरेकी छन् ।

    उनले विहीबार प्रेस विज्ञप्तिमार्फत अन्य कुनै राजनीतिक निर्णय नलिएसम्म एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीतिकरूपमा सक्रिय रहने भन्दै आफ्नो नामको सँगै नेपाली युवा राखेकी छन् ।

    राजनीतिमा सके सफा गर्ने, नसके फोहोर नगर्ने भनेर प्रवेश गरेकी दर्शनाले आफू संलग्न पार्टीले नै वैकल्पिक राजनीतिको खोल ओढेर अत्यधिक फोहोर गरिरहेपछि परित्याग गरेको बताएकी छन् ।

    उनले विज्ञप्तिमा भनेकी छन्, ‘फोहोर सफा गर्ने जुन मैले कोसिस पनि गरेँ तर पूर्णरूपले सफा गर्न असमर्थ रहेँ । तसर्थ म यही संगठनमा बसेर नेपाली राजनीतिमा थप फोहोर बढाउन सक्दिन । म आफूले लिएको सम्पूर्ण जिम्मेवारी र हरेक पदबाट साधारण सदस्य समेत नरहने गरी विवेकशील साझा पार्टीसँगको संलग्नताबाट आफूलाई स्वतन्त्र पार्दछु ।’

  • ‘नेपाल बन्द सधैँका लागि बन्द गरौं’ भन्दै विवेकशील साझाको प्रर्दशन

    ‘नेपाल बन्द सधैँका लागि बन्द गरौं’ भन्दै विवेकशील साझाको प्रर्दशन

    काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आज आह्वान गरेको नेपाल बन्दको प्रभाव देशभर परेको छ ।

    नेपाल बन्दको कारण उपत्यकामा बिहानैदेखि यातायात देखि व्यापार व्यवसाय ठप्प छन् । मजदुरी गर्ने श्रमिकहरुलाई नेपालबन्दले मर्कामा पारेको भन्दै बन्द नगर्न बन्द विरोध भइरहेको छ ।

    विवेकशील साझा पार्टीले आज माइतीघरमा नेपाल बन्दको विरोधमा प्रदर्शन गरेका छन् । विवेकशीलले नेपाल खुल्ला छ भन्ने सन्देश दिने खालको व्यानर बोकेर माइतीघरमा प्रदर्शन गरेका हुन् ।

    उनीहरुले व्यवसायीको व्यवसाय गर्ने अधिकार बञ्चित नगर, नेपाल खुल्ला छ, गरि खान देउ, नेपाल बन्द सधैँका लागि बन्द गरौं, श्रमजीवीको श्रम गर्ने अधिकार बञ्चित नगर, बन्दले देश बन्दैन लगायतका व्यानर बोकेर प्रर्दशन उत्रिएका थिए ।

    तस्बिरहरु : गाैरव पाैडेल

  • विवेकशील साझा, जनता दरबार पार्टी र सिटिजन्स डिसकशन फोरमबीच एकता सहमति

    विवेकशील साझा, जनता दरबार पार्टी र सिटिजन्स डिसकशन फोरमबीच एकता सहमति

    काठमाडौं । वैकल्पिक शक्ति निर्माणको उद्घोषसहित राजनीतिमा होमिएका रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टी, सिटिजन्स डिसकशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीबीच एकीकरण हुने भएको छ ।

    विवेकशील साझा पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले दुई-तिहाइ बहुमतका साथ एकताको सहमतिपत्रलाई अनुमोदन गरेको हो । एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी नै रहने र, कार्यकारी अध्यक्ष रविन्द्र मिश्र नै रहने विवेकशीलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

    विवेकशील साझाका प्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तिअनुसार सिटिजन्स डिसकशन फोरम बृहत्तर राजनीतिक शक्ति निर्माणका लागि गत डेढ वर्षदेखि नियमित रूपमा बहस चलाउँदै आएको विभिन्न पेसाकर्मी, अभियानकर्मी र राजनीतिक पृष्ठभूमि भएका व्यक्तिहरूको समूह र २०७१ सालमा भ्रष्टाचारविरोधी अभियानका रूपमा स्थापना भएको राष्ट्रिय जनता दरबार अभियान यसै वर्ष गत वैशाखमा राष्ट्रिय जनता दरबार पार्टीमा परिणत भएको हो ।

    सिटिजन्स डिसकशन फोरमबाट ३५ जना र राष्ट्रिय जनता दरबार पार्टीबाट १९ जना गरी विवेकशील साझा पार्टीको नयाँ बन्ने केन्द्रीय समितिमा ५४ जना सामेल हुने बताइएको छ । यी दुवै पक्षबाट केन्द्रीय कार्य सम्पादन समितिमा ११ जनाको सहभागिता रहने छ। एकीकरण पश्चात् विवेकशील साझा पार्टीको केन्द्रीय समिति १७५ तथा केन्द्रीय कार्य सम्पादन समिति ३७ सदस्यीय हुनेछ ।

  • विवेकशील-साझामा अब रवीन्द्र मिश्रको एकल नेतृत्व, मिलन पाण्डे अधिकारविहिन

    विवेकशील-साझामा अब रवीन्द्र मिश्रको एकल नेतृत्व, मिलन पाण्डे अधिकारविहिन

    काठमाडौं । विवेकशील साझा पार्टीको संशोधित विधानलाई निर्वाचन आयोगले मान्यता दिएसँगै संयोजक मिलन पाण्डे अधिकारविहीन बनेका छन् । पार्टीले कार्यकारी अधिकार अध्यक्षमा केन्द्रित रहने गरी हालै विधान संशोधन गरेको थियो ।

    अध्यक्ष मिश्रले बोलाएको बैठकमा दुई तिहाइ केन्द्रीय सदस्यहरुले गरेको निर्णयलाई आयोगले मान्यता दिएको हो । संशोधित विधानअनुसार अब मिश्रले पार्टीको एकल नेतृत्व गर्ने छन् । पार्टीको संगठन, रणनीति, कार्यनीति र कार्य विभाजनमा उनले नेतृत्वदायी भूमिका निर्वाह गर्ने विधानले तोकेको छ ।

    संशोधित विधानमा केन्द्रीय अध्यक्षको काम कर्तव्य र अधिकारका ८ वटा बुँदा उल्लेख गरिएको छ । जसअनुसार अब अध्यक्षले आवश्यकता अनुसार पदाधिकारीहरूसँग परामर्श गरी केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय समितिको बैठक बोलाउन सक्नेछन् । ती बैठकहरूको अध्यक्षता पनि उनी स्वयम्ले गर्ने छन् ।

    केन्द्रीय समिति र केन्द्रीय कार्य सम्पादन समितिका कुनै प्रस्तवामा छलफल भइ मतदान हुँदा बराबर भएमा निर्णायक मत अध्यक्षले दिन सक्ने व्यवस्था गरिएको छ । बैठकका निर्णयहरु उनले नै प्रमाणीकरण गर्नेछन् । केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय सदस्यको पद रिक्त हुन त्यसको पदपूर्तिको अधिकार पनि अध्यक्षलाई दिइएको छ ।

    संयोजक अधिकारविहीन

    यसअघि विवेकशील साझा पार्टीमा अध्यक्ष र संयोजकलाई समानान्तर अधिकार दिइएको थियो । अब संयोजक मिलन पाण्डे अधिकारविहिन बनेका छन् ।
    अध्यक्ष र संयोजकको सहमतिमा मात्रै केन्द्रीय समिति बैठक बोलाउन मिल्ने प्रावधान रद्द भएको छ । मिश्रले अब एकल निर्णयमा बैठक बोलाउन सक्नेछन् । संशोधित विधानमा संयोजकलाई दुईवटामा मात्र अधिकार तोकिएको छ । पहिलो, अध्यक्षले बोलाएका केन्द्रीय समिति र केन्द्रीय कार्य सम्पादन समितिका बैठकहरूको सञ्चालन गर्ने । अध्यक्षसँगको समन्वयमा अन्य जिम्मेवारीहरू निभाउने ।

    विवेकशील पार्टी एक हुँदा पाण्डेलाई हैसियतभन्दा बढी भूमिका र अधिकार दिइएको भन्दै साझा पार्टीतर्फ असन्तुष्टि थियो । यद्यपि, मिश्रले भने एकताका लागि लचक हुनुपर्ने भन्दै पाण्डेलाई अधिकार दिन तयार भएका थिए । तर, दुईजनामा समान अधिकार हुँदा पार्टी गतिहीन भएपछि मिश्रले बोल्ड निर्णय लिएका हुन् ।

    पाण्डे समूहका विकल्प

    पछिल्लो विकास क्रमले पार्टीभित्र शक्तिहीन बनेका पाण्डे अप्ठेरो अवस्थामा पुगेका छन् । उनीसँग बहुमतको निर्णय स्वीकारेर तोकिएको जिम्मेवारी निभाउने, पार्टी छोड्ने वा कानूनी लडाइँ लड्ने तीन विकल्प छन् ।

    सो समूहका प्रवक्ता हरिश भट्टले एक विज्ञप्ति जारी गरी निर्वाचन आयोगको निर्णयलाई रहस्यमय बताएका छन् । अयाोगसँग आफूहरु संवादमा रहेको उनको भनाइ छ । तर, दुई तिहाइ सदस्यको स्पष्ट समर्थन मिश्रसँग रहेकाले पाण्डेले बलियो दावीविरोध गर्न सक्ने अवस्था देखिँदैन । विज्ञप्तिमा आगामी कदमबारे केही उल्लेख गरिएको छैन ।

    पाण्डे समूहको अप्ठेरो यो पनि छ कि उनीसँग केन्द्रीय समितिका ४० प्रतिशतको समर्थन छैन । ४० प्रतिशतको समर्थनबिना उनले पार्टी फुटाउँन सक्दैनन् । त्यसैले मिश्रसँग नमिलेको स्थितिमा पार्टी छोडेर नयाँ संगठन निर्माण गर्नुपर्ने हुन्छ ।

    स्रोतका अनुसार पाण्डे समूहले निर्वाचन आयोगको निर्णयविरुद्ध अदालत जाने मनस्थिति बनाएको छ ।

  • विवेकशील साझाको विवरण निर्वाचन आयोगमा अद्यावधिक, रविन्द्रसँग दुईतिहाई बहुमत

    विवेकशील साझाको विवरण निर्वाचन आयोगमा अद्यावधिक, रविन्द्रसँग दुईतिहाई बहुमत

    काठमाडौं । निर्वाचन आयोगले विवेकशील साझा पार्टीको बहुमतले गरेको निर्णय बमोजिम पार्टीको नयाँ विधान र केन्द्रीय कार्य समितिलाई आयोगको विवरणमा अद्यावधिक गरेको छ ।

    आयोगले बुधबार सो पार्टीलाई पत्र पठाएर यसबारे जानकारी गराएको प्रवक्ता शरदराज पाठकले बताएका छन् । अब विवेकशील साझाको केन्द्रीय अध्यक्ष रविन्द्र मिश्र र १२४ जना केन्द्रीय सदस्य आयोगको आधिकारिक विवरणमा रहेका छन् ।

    पाँचजनाको राजीनामा र एकजनाको निधनपछि अब सो पार्टीको केन्द्रीय समिति १२४ सदस्यीय भएको पाठकले बताए । मिलन पाण्डे समूहले भने सो निर्णय मानेको छैन ।

    प्रवक्ता पाठकले भने, ‘अब उप्रान्त हाम्रो काम कारबाही नयाँ विधानअनुरूप अघि बढ्नेछ । साथै केन्द्रीय समितिको कूल सदस्य सङ्ख्या १२४ मानिनेछ । अतः अब पार्टीको काम कारबाही अघि बढाउन कुनै कानुनी अवरोध छैन । अध्यक्ष रवीन्द्र मिश्रले फरक मत राख्ने पार्टीका साथीहरूलाई विमति भए पनि केन्द्रीय समितिको अत्यधिक बहुमत र निर्वाचन आयोगको निर्णयलाई सम्मान गर्न विनम्र आग्रह गर्नुभएको छ ।’

  • विभाजनतर्फ विवेकशील-साझाः मिलन पाण्डे पक्षको बैठक भोलि, यस्ता छन् एजेन्डा

    विभाजनतर्फ विवेकशील-साझाः मिलन पाण्डे पक्षको बैठक भोलि, यस्ता छन् एजेन्डा

    काठमाडौं । लामो विवादपछि विवेककशील–साझा पार्टी औपचारिक विभाजनतर्फ लम्केको छ । आज संस्थापन पक्षले पार्टीको केन्द्रीय समिति बैठक बोलाएर अध्यक्ष मिश्रको चर्चित दस्तावेज पारित गरायो भने भोलि असन्तुष्ट पक्षले बैठक डाकेको छ ।

    पार्टीमा अध्यक्ष र संयोजकले संयुक्तरुपमा वैठक बोलाउनुपर्ने प्रावधान भए पनि उनीहरुबीच आपसी सहमति नजुटेपछि अलग–अलग बैठक डाकेका हुन् । केन्द्रीय समितिमा मिश्रको बलियो पकड छ ।

    मिश्रले आजका लागि एकतर्फीरुपमा केन्द्रीय समिति बैठक डाकेपछि त्यसलाई काउन्टर दिँदै पाण्डेले भोलि २ बजे वैठक बोलाएका छन् । उनले बैठकका लागि ११ वटा एजेन्डा प्रस्तुत गरेका छन् । जसमा पार्टीभित्र बहसमा रहेका दस्तावेजहरु, अध्यक्ष र संयोजकको भूमिकाको समिक्षा, महाधिवेसन मिति घोषणा लगायत छन् ।

    संयोजक पाण्डेले केन्द्रीय सदस्यहरुर्लाइ पठाएको पत्रमा पार्टी अध्यक्षले एकीकरण घोषणापत्रको मर्मविपरित सचिवालयको बैठक राखेको र आफूले प्रयास गर्दागर्दै पनि संयुक्त केन्द्रीय समितिको बैठक बोलाउन नसकेको उल्लेख गरेका छन् ।

    ‘अब एकजना व्यक्तिको चरम महत्वाकांक्षाका निम्ति वैकल्पिक राजनीतिक बलि चढ्न सक्दैन,’ उनले भनेका छन्, ‘अब पार्टी अघि बढ्छ, बैकल्पिक राजनीति अघि बढ्छ ।’

    यता पार्टी प्रवक्ता शरदराज पाठकले समानान्तर गतिविधि गर्नेलाई पार्टीले कारवाही गर्ने संकेत गरे ।

    उनले भने, ‘उहाँहरुले यस्ता गतिविधि जारी राखे कठोरतापूर्वक निर्णय गर्नुपर्ने हुन्छ। तर, अझै हामी आशावादी छौं । उहाँहरुले पार्टी अनुशासनको दायराभित्र रहेर प्रक्रियासंगतरुपमा आफ्नो फरकमतलाई स्थापित गर्ने प्रयास गर्नुहुनेछ ।’

    पाण्डेले भने पार्टीको विधानले दिएको कार्यकारी अधिकार प्रयोग गरी आफूले आठौं केन्द्रीय कमिटि बैठक डाकेको  उल्लेख गरेका छन् ।
    बैठकका एजेन्डा यी हुन् ।

    बैठकमा प्रस्तावित एजेन्डाहरू:

    १. सङ्गठन सुदृढीकरण तथा विवेकशील साझा निर्माण अभियानबारे

    २. पार्टीमा बहसमा रहेका दस्ताबेजहरूबारे

    ३. न्याय तथा सुशासन आयोग गठनबारे

    ४. पार्टीमा अध्यक्ष र संयोजकको भूमिका समीक्षा गर्नेबारे

    ५. महाधिवेशन मिति घोषणाबारे

    ६. स्थानीय निर्वाचन परिचालन समिति गठनबारे

    ७. वृहत् लोकतान्त्रिक प्रोग्रेसिभ ध्रुवीकरणबारे

    ८. पार्टीको विधान पारित गर्नेबारे

    ९. बागमती प्रदेश सभामा पार्टीको भूमिकाबारे

    १०. पार्टी प्रवक्ता नियुक्तिबारे

    ११ . पार्टीले सञ्चालन गर्ने अभियानहरूबारे

  • विवेकशील साझामा पाण्डेको अधिकार खोसियो, कार्यकारी भूमिका अध्यक्षलाई मात्र

    विवेकशील साझामा पाण्डेको अधिकार खोसियो, कार्यकारी भूमिका अध्यक्षलाई मात्र

    काठमाडौं । विवेकशील–साझा पार्टीमा संयोजक मिलन पाण्डेको अधिकार खोसिएको छ । आज बसेको केन्द्रीय समिति वैठकले विधान संसोधन गर्दै पार्टीको सम्पूर्ण कार्यकारी अधिकार अध्यक्षलाई प्रदान गरेको हो ।

    अध्यक्ष र संयोजकको किचलोका कारण लामो समयदेखि पार्टी गतिहिन बनेको थियो । उनीहरुबीच सहमति नहुँदा केन्द्रीय समिति वैठक समेत बस्न सकेको थिएन ।

    अन्ततः मिश्रले एकतर्फीरुपमा वैठक डाकेर विधान संसोधन गराएका हुन् । अब उनलाई एकलरुपमै पार्टी सञ्चालन गर्न बाटो खुलेको छ ।
    आज बसेको वैठकमा अध्यक्ष र संयोजकलाई बराबरी कार्यकारी अधिकार रहँदा पार्टी सञ्चालन गर्न कठिनाइ उत्पन्न भएको केन्द्रीय सदस्यहरुले बताएका थिए ।

    वैठकले पार्टीलाई अब तुरुन्तै वृहत्तर ध्रुवीकरण र एकतामा लिएर जाने र राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी शक्ति निर्माण गर्न आक्रामकरुपमा अघि बढ्ने निर्णय पनि गरेको छ ।

  • रविन्द्र मिश्रको चर्चित दस्तावेज विवेकशील-साझाद्वारा पारित

    रविन्द्र मिश्रको चर्चित दस्तावेज विवेकशील-साझाद्वारा पारित

    काठमाडौं । विवेकशील-साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सार्वजनिक गरेको बहुचर्चित राजनीतिक दस्तावेजलाई सो पार्टीको केन्द्रीय समिति बैठकले पारित गरेको छ । केन्द्रीय समितिका दुईतिहाइ सदस्यहरूको समर्थनमा दस्तावेज पारित भएको हो ।

    मिश्रले केही समयअघि संघीयता खारेज गर्नुपर्ने तथा धर्मनिरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने मतसहितको राजनीतिक दस्तावेज सार्वजनिक गरेका थिए । उक्त दस्तावेजमा संयोजक मिलन पाण्डे असन्तुष्ट भएपछि विवाद बढेको थियो ।

    विवाद लम्बिँदै गएपछि मिश्रले एकलरुपमा केन्द्रीय कमिटी बैठक बोलाएर दस्तावेज पारित गराएका हुन् । पार्टीका दुईतिहाइ केन्द्रीय सदस्य मिश्रको पक्षमा छन् ।

    पार्टीका १२४ सदस्यमध्ये आज वैठकमा उपस्थित ९१ सदस्यले सर्वसम्मतिबाट दस्तावेज अनुमोदन गरेको प्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    पार्टी प्रवक्ता शरदराज पाठकले फरक मत राख्ने समूहलाई पनि आजको वैठकमा सहभागी गराउन हरसम्भव प्रयत्न गरिए तापनि सफल नभएको बताए ।

    ‘हामीले उहाँहरुलाई पार्टी वैठकमा आएर प्रक्रियागत ढंगले आफ्नो फरकमतलाई स्थापित गर्ने कोशिषमा लाग्न अनुरोध गरेका हौं । तर उहाँहरु आउनुभएन,’ उनले भने ।

    पार्टीलाई डेडलकको अवस्थाबाट निकाल्नका लागि अध्यक्षले बैठक डाकेर निर्णय लिनुपरेको उनको भनाइ छ ।

    ‘विवेकशील साझा पार्टी भनेको अध्यक्ष र संयोजक मात्र होइन, त्यसैले उहाँहरुको सहमति नहुँदा पार्टी नै अनिर्णयको बन्दी हुनुहुँदैन भन्ने अधिकांसको मत रहेको छ,’ उनले भने ।

  • विवेकशील-साझा नेतृत्वमा उत्पन्न संकट र मेरो प्रस्ताव

    विवेकशील-साझा नेतृत्वमा उत्पन्न संकट र मेरो प्रस्ताव

    पार्टीको पछिल्लो वैचारिक ध्रुविकरण र संकटका बारेमा आफूले अनुभूति गरेका विषय, आफ्ना भनाइ र विकल्पहरुबारे तपाईहरूसँग छलफलगर्न आवश्यक भएको कारण यो पत्र लेखिरहेको छु । यसलाई अवश्य नै मनन् गर्नुहुनेछ ।

    १. हाम्रो पार्टीमा पछिल्लो समय वैचारिक विमतिबाट सुरुभएको राजनीतिक ध्रुविकरण ब्यक्तिगत आरोप-प्रत्यारोपमा झरेको छ । एक अर्काप्रति तिब्र र घृणायुक्त गालीगलौज सुरुभएको छ । म माथी पनि सामाजिक संजाल र गुटका बैठकहरुमा अनेकन् आरोप र गाली गरिएको पाएको छु । राजनीतिक विमती र गालीको भेद छुट्याउन नसक्दा हुने यस्तै हो। त्यसबाट निश्चयनै मलाई दुःख लागेको छ, यद्यापी मैले यसलाई अन्यथा ठानेको छैन । मलाई लाग्छ, हामीले छलफल गर्नुपर्ने बिषय ब्यक्तिगत छैनन् राजनीतिक छन् । र, राजनीतिक बिषयमा हामीले साझा र एकिकृत निश्कर्षहरु निकाल्यौ भने अन्य बिषयहरु आफै समाधान हुनेछन् । अन्यथा राजनीतिक बिषय भन्दा आरोप प्रत्यारोप प्रधान भएर जानेछ । जसले हामीलाई कहिल्यौ निश्कर्षमा पुर्याउने छैन ।

    २. पार्टीको पछिल्लो संकट मार्ग परिवर्तन कि मुलबाटो भन्ने बिषयमा केन्द्रित छ । विचारमा हाम्रो मतएक्यता नहुनुनै हाम्रो संकटको मुख्य कारण हो । अतः पार्टीका बैठक र साथीहरुका प्रयत्न यि बिषयमा कसरी मतएक्यता सृजनागर्ने, कसरी वैचारीक ध्रुविकरण÷विभाजन रोक्ने र कसरी वैकल्पिक राजनीतिको मुख्य कार्यभारमा पर्टीलाई केन्द्रितगर्ने भन्नेमा संवेदनशिल हुनुपर्छ । बैठक, छलफलहरु बिषय केन्द्रित नहुने र यसको गम्भिरता नबुझ्ने हो भने त्यसको परिणाम कसैगरी सुखद हुदैन र हुनेछैन । गुदी छोडेर बोक्रोमा अल्झिनुले कसैलाई सहि ठाँउमा पुर्याउदैन । अतः यो बिषयमा गम्भिर हुन म साथीहरुलाई अनुरोध गर्दछु ।

    ३. केहि साथीहरुले यो समस्याको कारण कहाँ छ ? यो विभाजन र ध्रुविकरण कस्ले ल्यायो ? र, कस्ले पार्टीभित्र खेलिरहेको छ ? आदी प्रश्नहरु गर्नुभएको छ । यि निकै महत्वपुर्ण प्रश्नहरु हुन् । अतः यि प्रश्नका उत्तरहरु पनि महत्वपुर्ण ढंगलेनै खोज्नुपर्छ । मलाई लाग्छ, जो जो साथीहरु जानेर वा नजानेर पुर्वसाझा र पुर्वविवेकशिलको ध्रुविकरण गर्नुहुन्छ वा जो जो साथीहरु साझाको लुम्बिनी भेला र विवेकशीलको रोल्पा भेलाका प्रस्तावहरुमा पार्टीलाई लैजान चाहानुहुन्छ, खासमा समस्या, द्धन्द वा गतिरोध त्यहि छ । हामी न त विवेशील मात्र हौ, न त साझा मात्र । हामी विवेकशील साझा पार्टीमा छौ । यो हाम्रो आजको सत्य हो । लुम्बीनी वा रोल्पा भेला हाम्रो इतिहास हो । यी दुबै भेलालाई हामीले संमान गर्नुपर्छ । तर एकिकृत पार्टीको कार्ययोजना र कार्यदिशा लुम्बिनी वा रोल्पामा टेकेर बन्दैन । बरु यो हिजो हामीले बनाएको प्रारम्भिक र एकिकृत पार्टीको दस्तावेजमा टेकेर मात्र बन्नसक्छ । यो राजनीतिक तथ्यलाई ईन्कार गरेर ब्यक्ति ब्यक्तिमा गई, यसले यसो गर्यो वा त्यसले त्यसो गर्यो भन्नुको अर्थ छैन । समस्या जहाँ हो, समाधन त्यहि खोजौं ।

    ४. पार्टीको वैचारिक लाईन र कार्यदिशा बारेमा मैले पार्टी अध्यक्ष र संयोजकसँग निकै पटक कुरा गरेको छु । हाम्रा विचमा पछिल्लो पाँच, छ महिनादेखी कुराहरु भईनै रहेका थिए । तर पार्टीको मार्ग परिवर्तन गर्ने कि मुलबाटोमा जाने भन्ने बिषयमा हामी विच कुरा मिल्न सकेन । अन्ततः दस्तावेज आयो । दस्तावेज आएपछी स्वभावतः केहि साथीहरु मार्ग परिवर्तनको पक्षमा देखिनु भयो, केहि साथीहरु मुलबाटोको । संख्या कस्को पक्षमा कति छ भन्ने भन्दा बिषयको गम्भिर्यता के हो भन्ने मेरो चासो हो । अध्यक्षको प्रस्ताव सँगै अर्को प्रस्ताव आउनु अन्यथा होईन । तर यि प्रस्तावहरुलाई मिलाउन र साझा निश्कर्ष बनाउन पार्टीमा कसैले पनि प्रयत्न नगर्नु र एक अर्कोलाई दोषरोपण गरेर हाम्रो असिमित संभावनालाई विभाजन तर्फ लैजानु आजको मुख्य चिन्ता हो । यो बिषयमा अध्यक्ष ठिक, संयोजक बेठिक वा संयोजक ठिक अध्यक्ष बेठिक भनेर हुदैन। बरु कसरी साझा दृष्टिकोण निर्माण गर्ने ? त्यसमा हामी केन्द्रित हुनुपर्छ । अतः मेरो प्रश्न छ, ध्रुविकरणको पक्ष वा विपक्षमा नलागी विचमा बसेर दुवै पक्षलाई मिलाउन सक्ने साथीहरु हुनुहुन्छ ? वहाँहरुले वैचारिक एकताको प्रयत्न गर्नु राम्रो हुने मैले देखेको छु ।

    ५. पछिल्लो समय पार्टी केन्द्रका फरक फरक धारका दुईटा बैठकहरु भएका छन् । यो किन भयो ? अध्यक्षले यस्तो अवैधानिक बैठकको सुरुवात किन गर्नुभयो ? एउटा पक्षलाई दोष दिएर यसको कारण खोज्न सकिदैन । अध्यक्ष र संयोजकको बिश्वासको संकट हो यो । वहाँहरुको नेतृत्वको संकट हो यो । कतिपय साथीहरुले हामीलाई बैठकमा आउन र कुरा राख्न भन्नुभएको छ । अवश्यनै बैठकमा आउनु पर्छ र विचार राख्नुपर्छ । बैठकमा आउने नै हो, तर जव राजनीतिक मतमतान्तर बढ्छ त्यतिबेला सानासाना बिषयहरुले पनि अर्थ राख्दछन् । यसर्थ कस्तो बैठक गर्ने ? बैठकका ऐजेण्डाहरु के हुने ? र, बैठक कसरी बोलाउने ? यि बिषयहरु पनि अहिलेका लागि महत्वपुर्ण बिषय हुन् । अतः हाम्रो विधान, एकताको दस्तावेज र बैठक संचालनको विधी अनुसार बैठक बोलाउन सके, बैठकमा आउन कसैलाई पनि गाह्रो छैन । अतः म अध्यक्ष र संयोजकलाई संयुक्त बैठक बोलाउन अनुरोध गर्दछु । अन्यथा विधी र प्रकृया बाहिरको बैठकबाट निश्कर्ष आउदैन भन्नेकुरामा म साथीहरुलाई बिनम्रतापुर्वक ध्यानाकर्षण गर्न चाहान्छु ।

    ६. जहाँसम्म महाधिवेशनबाट वैचारिक निर्णय गरौं, अल्पमत र बहुमतबाट निश्कर्ष निकालौ भन्ने प्रस्ताव छ त्यो हेर्दा राम्रो तर अराजनीतिक प्रस्ताव हो । निश्चयनै महाधिवेशनले धेरै कुरा निर्णय गर्नसक्छ । पार्टीका कार्यक्रमहरु, कार्यनीतिहरु महाधिवेशनले टुंगोमा लैजान सक्छ । कतिपय प्राविधिक बिषयमा निर्णय दिन सक्छ । नेतृत्व छनौट गर्नसक्छ । तर बिपरित वैचारिक तथा राजनीतिक दृष्टिकोणहरुमाथी हामीले महाधिवेशनमा छलफल गरेर अल्पमत वा बहुमतबाट निर्णय गर्न चाह्यौ भने त्यसले पनि अन्ततः पार्टी विभाजन नै गर्छ । राजतन्त्र वा गणतन्त्र, धर्म निरपेक्षता वा हिन्दुधर्म सापेक्षता, एकात्मकता वा संघियता जस्ता बिषयहरु राज्यको रुप र चरित्र कस्तो बनाउने भन्ने महत्वपुर्ण र गम्भिर राजनीतिक बियषहरु हुन् । यि नितान्त दुई अलग घारहरु हुन् । यस्ता बिषयलाई अल्पमत वा बहुमतबाट निर्णय गर्न सकिदैन । एउटै पार्टीमा राजतन्त्रवादी वा गणतन्त्रवादी, धर्म निरपेक्षतावादी वा हिन्दुधर्म सापेक्षतावादी वा संघियतावादी वा एकात्मकतावादीहरु बस्न सक्दैनन् । यदि बस्छन् भने त्यहाँ राजनीति हुदैन । मात्र सत्ताको सौदावाजी हुन्छ । अतः यो हामीलाई बिभाजनगर्ने बिषय हो । हामी यता जानै हुदैन भन्ने मेरो प्रस्ताव हो । हामीले हिजो जे जस्ता प्रस्तावहरु साथ पार्टी निर्माण गर्यौ त्यसैले हामीलाई एकतावद्द बनाउछ र हाम्रो राजनीतिक स्पेस पनि त्यहि छ । यो कुरा साथीहरुलाई बुझाउन सकिएन वा साथीहरुले बुझ्न चाहानु भएन । त्यसैले हामी महाधिवेशन र सहभागीतामुलक लोकतन्त्रको कुरा गरेर बिषयको गम्भिर्यतालाई अवमुल्यन गरिरहेका छौ ।

    ६. जहाँसम्म अध्यक्षज्युले बोलाउनुभएको पछिल्लो एकतर्फी बैठकले समानान्तर गतिबिधी गर्ने साथीहरुलाई सचेत गर्ने वा कार्यवाही गर्ने निर्णय गरेको कुरा छ, संकट त्यहि नै हो । यो निर्णयले साथीहरुको सोचको प्रतिनिधित्व गर्छ भने त्यो निश्चय नै दुःखद कुरा हो । किनभने आजको आवश्यकता सचेत गर्ने वा कार्यवाही गर्ने होईन । आजको आवश्यकता किन दुई फरक समुहहरु बने, किन दुई फरक राजनीतिक दृष्टिकोणहरु बने, किन साथीहरुलाई बैचारिक एकतामा ल्याउन सकिएन र त्यसका लागी कसरी प्रयत्न गर्ने ? मुख्य बिषय यि प्रश्नहरुमा निहित छन् । अन्यथा पार्टीमा राजनीतिक वैचारिक संघर्षहरु चरेको वेला, प्राविधीक ढंगले एक वा अर्कोलाई सचेत गर्ने वा कार्यवाही गर्ने कुराले कुनै अर्थ राख्दैन । यो त परम्परागत पार्टीहरुकै तरिका हुन्छ । किनभने कार्यवाही कार्यवाहीको खेलले कसैलाई टुंगोमा पुर्याउदैन । बरु समस्यालाई अझ पेचिलो बनाउछ । यसर्थ कार्यवाही र विभाजन कि सम्वाद र एकता ? आजको आवश्यकता के हो ? रोजौं ।

    ७. पछिल्ला अनौपचारिक बैठकहरुमा धेरै हानी नगरी छुट्टिनु राम्रो भन्ने साथीहरुको प्रस्ताव पनि आएको छ । को छुट्टिने ? किन छुट्टीने ? म पार्टी विभाजनको विपक्षमा छु । यो पार्टीलाई विभाजीत गरेर हैन, एकताको महाधिवेशन गरेर अझ सुदृढ बनाउने बेला हो । आजको आवश्यकता एकता महाधिवेशन हो । पार्टी नेतृत्वको सफलता पनि त्यसैमा निहित छ । आज हाम्रो विवेक नपुग्दा पार्टी विभाजन त होला, तर त्यसपछी यसले उठ्नै नसक्नेगरी नागरिकहरुको प्रश्नको सामना गर्नुपर्ने छ। जसको जवाफ सजिलो हुनेछैन । अतः राजनीतिक रुपमा म यतिमात्र भन्छु, म पार्टी विभाजनको पक्षमा छैन । म पार्टीलाई वैचारिक ध्रुविकरण गर्ने पक्षमा छैन । म मार्ग परिवर्तन गरेर अहिले नै यसलाई छिन्नभिन्न बनाउने पक्षमा छैन । म निरन्तर संघर्ष र एकताको पक्षमा छु । अन्यथा वैधानिक रुपले एक अर्कोलाई कार्यवाही होला, तर राजनीतिक रुपले पार्टीमा समानान्तर गतिविधीहरु चलिनैरहने छन् र ति वैकल्पिक राजनीतिलाई अझ सुदृढ गर्ने दिशामा केन्द्रित हुनेछन् ।

    ८. अहिलेको समस्या समाधानको मुल पक्षनै हाम्रो वैचारिक एकताको संभावना खोज्नु हो । यसका लागि मेरा केहि प्रस्ताव छन् । पहिलो, अहिले आएका दुबै दस्तावेजलाई पार्टीको औपचारिक प्रकृयामा संलग्न नगरौं । यसलाई अझै केहि समय अनौपचारिक छलफलमा राखौं । तर हिजो हामीले जुन जमिनमा उभिएर पार्टी निर्माण गर्यौ, त्यसलाई अझ सुदृढ गर्दै महाधिवेशन गरौं । यो मेरो पहिलो प्रस्ताव हो । दोश्रो, अन्यथा दुबै प्रस्तावहरुलाई मिलाएर साझा बिन्दूहरुलाई जोडौ र एउटा दस्तावेज बनाउँ । यसो गर्दा दुबै दस्तावेजका विवादास्पद बिषयलाई अहिले छलफलमा नल्याउँ । यसका लागी दुबै पक्षले बिश्वास गरेका साथीहरुको कार्यदल बनाऔं ।

    तेश्रो, अहिलेको नेतृत्वले पार्टी अनुशासन उलंघन गरेको र अस्वभाविक ध्रुविकरणमा पार्टीलाई लगेको कारण यो नेतृत्वले महाधिवेशनसम्म पद छाडौं । पार्टीका महिला, युवा वा अरु नै कोही ब्यक्तिको नेतृत्वमा महाधिवेशन आयोजक समिति बनाऔं र त्यसले सबैकुरा नयाँ ढंगले सुरु गरोस् । नयाँ नेतृत्व, नयाँ प्रस्तावबाट पार्टीलाई महासधवेशनमा लैजाउ । चौथो, पार्टीको राजनीतिक तथा सांगठनीक जीवन गतिहिन भयो, अतः यसलाई बैकल्पिक राजनीति निर्माण अभियानमा रुपान्तरिक गरौं र तलबाट नयाँ ढंगले पार्टी संरचना उठाउदै माथीतिर अगाडी बढौं ।

    ९. साथीहरु राजनीतिक समस्याका समाधनहरु राजनीतिक रुपमा नै खोज्नुपर्छ । राजनीतिक भाष्य, राजनीतिक कार्यदिशा, राजनीतिक मुद्धाहरु अमुर्त आग्रह, पुर्वाग्रहमा बन्दैनन् । यसका लागी अनेक आयामहरुको गहिरो बिश्लेषण आवश्यक छ । त्यसका लागि जिम्मेवार ढंगले काम गरौं र पार्टीलाई बचाउँ । हामी एक अर्कोलाई गाली गरेर हैन, एक अर्कोलाई बुझेर अगाडी बढौं । हामी कोही पनि अनेक ब्यक्तिगत संभावनाहरु छोडेर पार्टी निर्माणमा होमिएका मान्छेहरु हौं । कोहि आज जोडिएका छौ, कोहिले बर्षौदेखी वैकल्पिक राजनीतिको अभियान गरेका हौं । अतः यो राजनीति हाम्रो उर्जाशिल जिवनको अभिन्न अंग हो । हाम्रो आस्था हो । हाम्रो बिश्वास हो । अतः यो पार्टी पुनः भत्किनु कसैको हितमा छैन । तर हाम्रो आफ्नै राजनीतिक बुझाई र पक्षघरताहरु पनि छन् । त्यसको संवेदनशिलता पनि छ । ब्यक्तिलाई ईन्कार गरेर वा आग्रह पुर्वाग्रहमा अल्झिएर ब्यवहार गर्दा अहिले त मजै हुन्छ, तर भबिश्यमा त्यसले राम्रो गर्दैन । साथीहरुलाई थाहैछ, समस्या एकातिर र औषधी अर्कोतिर गरेर रोगको उपचार हुदैन । यो बिषयमा हामी सबै सम्वेदनशिल हुनेनै छौं ।

    एउटा अनन्त संभावना भएको वैकल्पिक राजनीतिको अभियान जोगिनुपर्छ र यसले नेपाली राजनीतिको युगिन कार्यभार पुरा गर्नुपर्छ । यसका लागि समस्या जे हो, त्यहीँ उभिएर समाधान खोजौं । यो कामका लागी म स्वयं आफूले खेल्नुपर्ने भुमिका खेल्न तयार रहने छु ।

    (विवेकशील-साझाका सचिवालय सदस्य दाहालले छलफलका लागि अघिसारेको प्रस्तावका पूर्णपाठ)

  • अध्यक्षले अनुशासन तोडेको आरोपसहित विवेकशील साझाका चार नेताको जवाफी दस्तावेज

    अध्यक्षले अनुशासन तोडेको आरोपसहित विवेकशील साझाका चार नेताको जवाफी दस्तावेज

    काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेसहितका चार नेताले अध्यक्ष रवीन्द्र मिश्रलाई काउन्टर दिन जवाफी दस्तावेज सार्वजनिक गरेका छन् । मिश्रले उठाएका संघीयताको खारेजी र धर्मनिरपेक्षतामाथि जनमतसंग्रह पार्टीको मुद्दा नभएको दस्तावेजमा उल्लेख गरिएको छ ।

    चार नेताको दस्तावेजमा भनिएको छ, ‘जानी-नजानी पार्टीलाई पश्चगमनको मतियार बनाउने र यसलाई उल्टो बाटोमा हिँडाएर बदनाम गर्ने प्रयत्न भइरहेको छ ।’

    गणतन्त्रलाई सीधै खारेज गर भन्न नसकेर धर्मनिरपेक्षता उल्टाउनुपर्ने तर्क गरिएको दस्तावेजमा उल्लेख छ । धर्मनिरपेक्षतामा जनमत संगह गर्ने प्रस्तावलाई चार नेताहरूले अहंकारपूर्ण र अलोकतान्त्रिक ठहर गरेका छन् ।

    दस्तावेजमा भनिएको छ, ‘कतिपय मान्छेहरू धर्मनिरपेक्षतामा जनमत संग्रह आवश्यक छ भन्ने प्रस्ताव गर्दछन्, यो प्रस्ताव आफैंमा निकै अहंकारपूर्ण र आलकतान्त्रिक हो । धर्म, आरक्षण वा सकारात्मक विेभदका सन्दर्भमा जनमतसंग्रह गर्नु सामाजिक न्यायविरोधी कुरा हो । यसले आधुनिक लोकतन्त्रलाई कमजोर बनाउँछ । नागरिकको एकता र सद्भावलाई कमजोर बनाउँछ ।’

    अध्यक्षको प्रस्तावले पार्टीमा वैचारिक टकरावको स्थिति सिर्जना गरेको दस्तावेजमा उल्लेख गरिएको छ । पार्टीभित्र छलफलविना ‘व्यक्तिगत आलेख’ सार्वजनिक गर्दा अनुशासन उल्लंघन भएको तर्क गर्दै यो प्रस्ताव सच्याउनुपर्ने नेताहरूले बताएका छन् ।

    दस्तावेजमा मिलन पाण्डे, केशव दाहाल, रञ्जु दर्शना र डा. राजेन्द्र पंगेनीले हस्ताक्षर गरेका छन् ।

  • रवीद्र मिश्रको टिप्पणी- राजदूत नै प्रधानमन्त्रीको घर पुग्छ्न्, किन आउँछ समकक्षीको बधाई !

    रवीद्र मिश्रको टिप्पणी- राजदूत नै प्रधानमन्त्रीको घर पुग्छ्न्, किन आउँछ समकक्षीको बधाई !

    काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा छिमेकी राष्ट्रहरुले खुलेर बधाई नदिएको विषय अहिले चर्चामा छ । भारतले राजदूतमार्फत बधाईको औपचारिकता निभाएको छ भने चीनले अहिलेसम्म बधाई नै दिएको छैन ।

    विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र छिमेकी राष्ट्रहरुबाट भएको यस्तो व्यवहारलाई नेपालकै प्रधानमन्त्री तथा पूर्वप्रधानमन्त्रीहरूको कमजोरीको नतिजाका रूपमा लिन्छन् । नेपालका उच्चपदस्थहरू आफ्नो मर्यादामा नबस्दा विदेशीले हेप्ने गरेको उनको टिप्पणी छ ।

    फेसबुकमा मिश्रले लेखेका छन्, ‘नयाँ प्रधानमन्त्री नियुक्त हुँदा छिमेकी देशका समकक्षीबाट तुरुन्तै बधाईमात्र होइन भ्रमणको निम्ता समेत आउँथ्यो । अब नेपाल यति हलुका बनिसक्यो कि राजदूतले ट्विटरमा या सरासर घरमा गएर बधाई दिए हुने भयो ।’

    प्रधानमन्त्रीलाई विदेशी गुप्तचर निकायका प्रमुख आएर मध्यरातमा थर्काउने, भुतपूर्व प्रधानमन्त्रीहरू विदेशी कूटनीतिज्ञलाई भेट्न होटलमा लाइन लागेर उभिने तथा नेताहरु विदेशी दूतावास धाउने तथा राजदूतहरू नेताका घरघर धाउने गर्दा अन्तर्राष्ट्रिय कूटनीतिमा नेपालको सम्मान कायम नभएको मिश्रले उल्लेख गरेका छन् ।

    उनले लखेका छन्, ‘यी नेताले यो देशको हुर्मत यति लिए कि त्यसलाई पुन:स्थापना गर्न हम्मेहम्मे पर्नेछ। चारपटक पहिल्यै प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवाको त ढङ्ग छैन । अरुको के कुरा गर्नु !’

  • विवेकशील साझाका दुई युवा संगठनको समायोजन

    विवेकशील साझाका दुई युवा संगठनको समायोजन

    काठमाडौं । विवेकशील साझा पार्टीको युवा संगठन समायोजन कार्यदलले पार्टीका दुई युवा संगठनलाई समायोजन गरेको छ ।

    पूर्व साझा पार्टी निकट साझा युवा संगठन र पूर्व विवेकशील नेपाली दल निकटको नव युवा सञ्जाल समायोजन भई विवेकशील साझा युवा संगठन गठन भएको हो ।

    समायोजित संगठनमा दुवै पक्षबाट समानताका आधारमा ६ जना पदाधिकारी, केन्द्रीय सचिवालयमा २८ जना र केन्द्रीय समितिमा ६६ जना सदस्य रहनेछन् । प्रदेश र जिल्ला समितिहरु पनि सम्मानजनक सहभागिताका आधारमा समायोजन गरिने घोषणापत्रमा उल्लेख छ । २०७८ सालको आश्विनमा युवा संगठनको प्रथम महाधिवेशन सम्पन्न गर्ने तयारी गरिएको छ ।

    समायोजन घोषणापत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै पार्टी संयोजक मिलन पाण्डेले बैकल्पिक राजनीतिलाई सशक्त रुपमा अघि बढाउन र युवा वर्गमा आकर्षण ल्याउन विवेकशील साझा युवा संगठन क्रियाशील रहने बताए ।

    विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले दुई युवा संगठन समायोजनप्रति खुशी व्यक्त गर्दै यसबाट देश विदेशमा रहेका आम युवाहरुलाई पार्टीमा आकर्षित गर्न सघाउ पुग्ने आशा व्यक्त गरे ।

  • कतारमा विवेकशील साझा पार्टी एकीकरण

    कतारमा विवेकशील साझा पार्टी एकीकरण

    दोहा- विवेकशील साझा पार्टी कतारमा पनि एकीकरण भएको छ । कतार इकाइको संयोजकमा गणेश कार्की र सहसंयोजकमा जयशंकर शाह चयन भएका छन् ।

    दुबै दल एकीकृत भएपछि आयोजित कार्यक्रममा सँगै मिलेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको थियो । राष्ट्रिय अध्यक्ष रविन्द्र मिश्रले हिमाल, पहाड र तराईबाट प्रतिनिधित्व हुने किसिमले समावेशी कार्यसमिति गठन गरिएको बताए ।

  • ऐना देखाएर सरकारविरुद्ध प्रदर्शन (फोटो फिचर)

    ऐना देखाएर सरकारविरुद्ध प्रदर्शन (फोटो फिचर)

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध विवेकशील साझा पार्टीले माइतीरघर मण्डलामा प्रदर्शन गरेको छ। शुक्रबार बिहान भएको प्रदर्शनमा प्रदर्शनकारीले ऐना देखाएका थिए । सरकारलाई संविधानमा संसद विघटनसम्बन्धी व्यवस्था देखाउन बिम्बका रुपमा ऐना प्रयोग गरिएको प्रदर्शनकारीले जनाएका छन् ।

    कोरोना महामारी बढिहरेको भन्दै उनीहरुले अहिलेको समय कोरोना खोपको भएको र त्यसमा ध्यान दिनुपर्ने सन्देशको प्लेकार्ड बोकेका थिए।