Tag: विरोधसभा

  • सुर्खेतमा कांग्रेसको हुँकार : कम्युनिष्टले सत्ता चलाउन सकेन (तस्बिरहरू)

    सुर्खेतमा कांग्रेसको हुँकार : कम्युनिष्टले सत्ता चलाउन सकेन (तस्बिरहरू)

    सुर्खेत । नेपाली कांग्रेस सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्ने अधिकांश नेता/कार्यकर्ताले कम्युनिष्टहरूसँग सत्ता चलाउने सामर्थ्य नभएको टिप्पणी गरेका छन् ।

    ‘उहाँहरूसँग सत्ता सञ्चालन गर्नसक्ने सामर्थ्य नै छैन । चुनावअघि नै हामीले त्यो कुरा भन्दै आएका थियौं ।’ जिल्ला सभापति कमलराज रेग्मीले भने, ‘सत्तामा भएको समयमा चलाउन नसक्ने, प्रतिपक्षीमा भएको समयमा कुर्सी तोड्ने र रेलिङ्ग भत्काउने काममात्रै नेकपाको भएको प्रमाणित भइसकेको छ ।’

    नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शिवराज जोशीले नेकपाको सत्ता लुछाचुँडीका कारण संविधान धरापमा परेको बताए ।

    ‘उहाँहरुको आपसी लडाइले लोकतन्त्र धरापमा परेको छ । संविधानको उल्लंघन प्रधानमन्त्री ओलीले गरेका छन् ।’ उनले भने, ‘ओलीले चालेको प्रतिगमनकारी कदमका विरुद्ध संयमित भएर हामी आन्दोलनामा होमिएका हौं । मुलुकको मुहार फेर्ने जिम्मा फेरि नेपाली कांग्रेसको काँधमा आएको छ’, उनले प्रतिगमनका विरुद्ध सबै आन्दोलित हुनुपर्ने बताए ।

  • ‘पशुपति घुम्न पाइन्छ भनेर आएको, खाना मीठो लाग्यो !’

    ‘पशुपति घुम्न पाइन्छ भनेर आएको, खाना मीठो लाग्यो !’

    काठमाडौं । प्रचण्ड–माधव नेपाल पक्षले काठमाडौंमा गरेको विरोधसभामा सहभागी हुन आएकी विनिशा चौधरी नयाँबानेश्वरस्थित संसद भवनअघि भेटिइन् । सर्लाहीबाट पहिलोपटक काठमाडौं आएकी विनिशालाई आन्दोलनको कुनै मतलब थिएन । काठमाडौंको दृश्यमा भुलिरहेकी विनिशाले भनिन्– पहिलोचोटि काठमाडौं आएको रमाइलो लागिरहेको छ । मैले सोचेभन्दा काठमाडौ धेरै फरक रहेछ ।

     

    उनी विरोधसभामा मान्छे ल्याउन रिजर्भ गरिएको गाडी चढेर काठमाडौं आएकी हुन् । तर उनलाई कसले केका लागि निशुल्क काठमाडौं ल्यायो थाहा छैन । ‘गाउँका एकजना नेताले काठमाडौं जाऔं भने, आएँ’, सित्तैमा काठमाडौं देख्न पाउने भएपछि नआउने कुरै भएन ।’

    विनिशा आएको गाडी तीनकुनेमा पार्किङ गरियो । त्यहाँबाट हिंड्दै बानेश्वर थापागाउँस्थित अर्पण पार्टी प्यालेसमा लगियो । शहरको दृश्यमा रमाइरहेकी विनिशा पार्टी प्यालेसको खाना खान पाउँदा झन् मख्ख परिन् ।

    खाना खाएर विनिशाको एक टोली पशुपतिनाथ दर्शन गर्न जाने तयारीमा बानेश्वर चोक आएकाे थियाे । उनीहरु टेप्पो चढेर गौशालातिर गए ।

    प्रचण्ड–माधव समूहले सर्लाहीबाट मात्रै ७७ वटा गाडीमा मान्छे काठमाडौं ल्याएको थियो । रिजर्भ गाडीमा आउने धेरै मान्छे पहिलोपटक काठमाडौं आएका रहेछन् ।

    ०००

    थापा गाउँस्थित अर्पण पार्टी प्यालेसमै भेटिइन्, धनुषाकी पार्वती यादव । खाना खाएर सुस्ताइरहेकी पार्वतीको छेवैमा दुई–चार वटा झोला थिए । जुन उनले काठमाडौंमै कारखाना खोलेर बसेका छोराका लागि कोसेली ल्याइदिएकी रहिछन् ।

    पहिलोचोटि काठमाडौं आएकी यादवले भनिन्– छोरा यहीं आउँछु भनेको छ, त्यसैले कुरिरहेको ।

     

    उनलाई कसले कुन कार्यक्रममा लागि ल्याएको भन्ने थाहा छैन । गाडीभाडा नपर्ने, सित्तैमा खान पाइने र काठमाडौं हेर्न पाउने लोभमा लहैलहैमा काठमाडौं आएकी रहिछन् ।

    लामो बसको यात्रा गरेर आएका अधिकांश जुलुसमा जाने मनस्थितिमा थिएनन् । थकित मुद्रामा भेटिएका उनीहरुलाई जुलुसमा लैजान स्थानीय नेताले ताकेता गरिरहेका थिए ।

    धनुषाबाट मात्रै सभामा सहभागी गराउन ७० वटा बसमा मान्छे ल्याइएको थियो ।

    अर्पण पार्टी प्यालेसमा खाना खान पनि सजिलो भने थिएन । जिल्लैपिच्छेको फरक–फरक टिम रहेछ । टिकटको व्यवस्था भए पनि गाउँबाट आएकाहरु आफू कता जाने, कुन टोलीमा मिसिएर खाना खाने भन्ने अन्योलमा थिए ।

     

    पार्टी प्यालेस बाहिर जिल्लाका नेता कुन गाउँपालिकाबाट कति जना आए ? भन्दै हिसाब गरिरहेका थिए ।

    ०००

    खाना खाइसकेका एक हुल आन्दोलनमा सहभागी हुन भृकुटीमण्डपतिर लागे । उनीहरुलाई पछयाउँदै हिंड्यौं, हामी ।

    उनीहरु मञ्च अघिल्तिर गएर बसे । नेताले के बोले ? उनीहरुलाई मतलब थिएन । बरु एकछिन आराम गर्न पाएकोमा आनन्द लिइरहेका थिए ।

    अनुषादेवी पासवान पनि रातभर बसको यात्रा गरेर काठमाडौं आइपुगेकी हुन् । उनलाई पनि काठमाडौं आएका बेला पशुपति दर्शन गर्ने रहर रहेछ । तर, उनी जान पाइनन् । उनी पट्यारै मानेर भए पनि नेताका भाषण सुनिरहेकी थिइन् 

    ‘मेयरले जौं भनेर आएको हो’ पासवानले भनिन्, ‘आएको बेला काठमाडौं घुमौंला भन्ठानेको थिएँ, मिलेन ।’ उनलाई संसद भनेको के हो ? भन्ने पनि थाहा रहेनछ । तर उनले भनिन्, ‘मेरो छोराले प्रधानमन्त्रीले नराम्रो काम गरेको भन्नू भनेको छ ।’

    सभामै भेटिएकी विनिता यादव । स्थानीय निर्वाचनमा उपमेयर उठेर हारेकी उनी भन्दै थिइन्– विरोध पनि हुने, रमाइलो पनि हुने । अरु त त्यस्तै हो, खाना चैं खुब मीठो लाग्यो ।

    उनी दोस्रोपटक काठमाडौं आएकी रहिछन् ।

    ०००

    सिरहाको लहानबाट मंगलबार राति ९ बजे हिंडेको बस बुधबार बिहान १२ बजे काठमाडौं आइपुग्यो ।

    यी त केही प्रतिनिधि पात्र मात्रै हुन् । मधेशका जिल्लाबाट विरोधसभामा आएका अधिकांशलाई राजनीति वा आन्दोलनबारे खासै केही थाहा छैन । सित्तैमा घुम्ने, खाने र रमाइलो गर्ने उद्देश्यबाट धेरै मान्छे काठमाडौं आएका रहेछन् । कतिपयले काठमाडौं आएका बेला आफ्ना निजी काम पनि गर्ने योजना बनाएका रहेछन् ।

  • विरोधसभाको अघिल्लो दिन प्रचण्ड-माधव पक्षको मार्चपास

    विरोधसभाको अघिल्लो दिन प्रचण्ड-माधव पक्षको मार्चपास

    काठमाडौं । विभाजित नेकपाको प्रचण्ड-माधव पक्षले बुधबार (भोलि) गर्न लागेको विरोधसभाको प्रचारप्रसारको लागि मार्चपास गरेको छ ।

    प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलित प्रचण्ड-माधव पक्षले भोलिको विरोधसभा अहिलेसम्मकै वृहत हुने दाबी गरेको छ । त्यसको तयारीस्वरूप युवाहरूले काठमाडौंको वाल्मिकी क्याम्पस अगाडिबाट मार्चपास शुरू गरेर पुनः वाल्मिकी क्याम्पसमै आई सभामा परिणत भएको छ ।

    सभालाई प्रचण्ड-माधव पक्षका स्थायी कमिटी सदस्य एवम् केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले सम्बोधन गरेका थिए।