Tag: विप्लव

  • चुनावमा भाग लिने विप्लवको प्रस्ताव क्रान्ति विरोधी, फिर्ता नभए पार्टी विभाजनको चेतावनी

    चुनावमा भाग लिने विप्लवको प्रस्ताव क्रान्ति विरोधी, फिर्ता नभए पार्टी विभाजनको चेतावनी

    काठमाडौंं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको जारी केन्द्रीय समिति बैठकमा महासचिव नेत्रविक्रम चन्द विप्लवले पेश गरेको राजनीतिक प्रस्ताव क्रान्ति विरोधी र विभाजनकारी भएको नेताहरुले धारणा राखेका छन् ।

    शुक्रबार बाँडिएको प्रस्तावमा चुनावमा सहभागी हुने भनिएको थियो । उक्त प्रस्ताव अध्ययनको लागि भन्दै शनिबार केन्द्रीय सदस्यहरुलाई बाँडिएको थियो ।

    प्रस्तावमाथि धारणा राख्दै सचिवालय सदस्यहरुले नै प्रस्ताव क्रान्ति विरोधी र विभाजनकारी भएको आरोप लगाउँदै फिर्ता लिन सुझाव दिएका छन् ।

    आजको बैठकमा विप्लवले पेश गरेको प्रस्तावमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने भनिएको थियो । तर, बहुसंख्या केन्द्रीय सदस्यहरुले प्रस्तावमाथि सचिवालय सदस्यहरुकै धारणा आउनुपर्ने माग राखेका थिए ।

    सो मागअनुसार आज सचिवालय सदस्य धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश ओली र सन्तोष बुढाले धारणा राखिसकेका छन् । बास्तोला र ओलीले महासचिवको प्रस्ताव क्रान्ति विरोधी भएको बताउँदै फिर्ता लिन आग्रह गरेका छन् ।

    एक केन्द्रीय सदस्यका अनुसार नेता बास्तोलाले महासचिव विप्लवको प्रस्तावमाथि धारणा राख्दै भने, “महासचिव कमरेडको चुनावमा सहभागी हुनेगरी आएको राजनीतिक प्रस्ताव क्रान्ति विरोधी छ, पार्टी विभाजनकारी छ । प्रस्ताव फिर्ता लिएर क्रान्ति र पार्टीको रक्षा गर्नुस् ।” उनले चुनावमा सहभागी हुन सोँच क्रान्ति विरोधी भएको समेत बताए ।

    त्यसैगरी सचिवालय सदस्य ओलीले विप्लवको प्रस्ताव देश र जनताले अपेक्षाको विरुद्धमा भएको बताए । प्रस्तावले क्रान्तिकारी कार्यभार पूरा नगर्ने बताउँदै फिर्ता लिएर चुनाव बहिस्कारको कार्यक्रम बनाउनुपर्ने बताए ।

    ‘चुनावमा जाने महासचिवको प्रस्ताव देश र जनताले हामीसँग गरेको अपेक्षाको विरुद्धमा छ । यसले पार्टीलाई विभाजनमा लैजान्छ । यो प्रस्ताव फिर्ता लिएर चुनाव बहिस्कारको योजनासहितको प्रस्ताव ल्याउने आग्रह गर्दछु ।’ ओलीले भने ।

    अर्का सचिवलाय सदस्य बुढाले भने आज भनाई फेरेका छन् । सचिवालय बैठकमा विप्लवको प्रस्तावको विरुद्धमा बोलेका बुढाले नेतृत्वले धोका नदिने भन्दै चुनाव उपयोग गर्न सकिने धारणा राखे ।

    अब बैठकमा सचिवालय सदस्य खड्कबहादुर विश्वकर्मा र महासचिव विप्लवले बोल्ने बाँकी छ ।आज सचिवालय सदस्यहरुले बोलेपछि भोलिबाट केन्द्रीय सदस्यहरुले धारणा राख्ने एक नेताले जानकारी दिए । सदस्यहरुले बोलेपछि भोलिबाट केन्द्रीय सदस्यहरुले धारणा राख्ने एक नेताले जानकारी दिए ।

  • नयाँ क्रान्तिको सुरूआत गरेर जनयुद्धका उपलब्धीको रक्षा गर्नेछौं : विप्लव

    नयाँ क्रान्तिको सुरूआत गरेर जनयुद्धका उपलब्धीको रक्षा गर्नेछौं : विप्लव

    १० वर्षको सशस्त्र युद्ध र १७ वर्षको शान्तिपूर्ण राजनीतिक उतारचढाव पार गरेको यो अवस्थामा माओवादी आन्दोलनका संस्थापकहरु नै पाँचतिर लागेका छन् । सरकारको नेतृत्व, सदनको नेतृत्व सबै अनुभव संगालेको माओवादी नेतृत्वको सांगठनिक छिन्न भिन्नताले यसलाई अझै सपार्ने छैन तर पनि नेताहरुको दम्भ भने सेलाएको छैन ।

    २७ वर्षअगाडि २०५२ साल फागुन १ गते सरकारविरुद्ध सशस्त्र युद्धको घोषणा गर्दै नेकपा माओवादी भूमिगत भएको थियो । राजनीतिक दलको सहकार्यमा माओवादी आन्दोलनमा उठेका एजेण्डाहरु स्थापित त भए तर माओवादी आन्दोलन गम्भीर रक्षात्मक अवस्थामा पुगेको छ ।

    माओवादीकै सहभागितामा बनेको संविधान र यो व्यवस्थाप्रति नै असहमति जनाउँदै आन्दोलनमा रहेको नेकपा माओवादी विप्लव समूहको आगामी रणनीति के हो ? नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सँग फागुन १ अर्थात् जनयुद्ध दिवसको सन्दर्भमा गरेको कुराकानी  नेपाल टकमा ।

    – तपाईंहरू आज जनयुद्ध दिवस मनाइरहनु भएको छ । कसरी सम्झनुहुन्छ फागुन १ लाई ?

    खासगरी इतिहासमा कुनैकुनै दिनले नयाँ सुरुआतको सन्देश दिन्छन् । फागुन १ गते त्यस्तै ऐतिहासिक दिन हो, जसले देशको राजनीतिमा ऐतिहासिक र विशिष्ट महत्व राख्छ । यसलाई अर्को अर्थमा भन्दा यो एउटा उत्कर्षको दिन हो । एउटा राजनीतिक सन्दर्भमा उत्कर्षको दिन ।

    एउटा प्रक्रिया निषेध गरेर नयाँ प्रक्रिया सुरु भएको दिन हो यो । नेपालको राजनीतिमा जनयुद्धबाट आएको माओवादी पार्टीको नेतृत्व र संसदवादी पार्टीहरूको गठजोडबाट नेपालको राजनीतिमा प्रतिगमन वा पश्चगमन सुरु भयो, त्यसलाई तोडेको दिन हो । त्यसलाई निषेध गरेर कम्युनिस्ट आन्दोलनलाई एउटा मोड दिएको दिन हो । यो एउटा क्रमभङ्ग पनि हो, आरम्भ पनि हो । नेपाली जनताका लागि सुखद् एवम् गौरवपूर्ण दिन हो ।

    फागुन १ गते नेपाल र नेपाली जनताको गौरवको दिन हो । हामीले पनि यो दिनलाई गौरवको दिनका रुपमा मनाउँछाँै । पहिलो कुरा महान् जनयुद्ध राजनीतिको एउटा क्रमभङ्ग थियो । नयाँ सुरुआत थियो । एउटा थालनी थियो । त्यसको सार भनेको नेपालमा कायम रहेको सामन्ती सत्ता नोकरशाही तथा दलाल पुँजीवादी सत्तालाई आमूल परिवर्तन र नेपाली जनताको सत्ता नौलो जनवादहुँदै वैज्ञानिक समाजवादतिर देशलाई लैजाने एउटा सुरुआत थियो ।

    भारतले नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा गरेको अतिक्रमण, सीमा क्षेत्रमा गरेको ज्यादती, अमेरिकाले एमसिसीलाई नेपालमा जसरी पनि लाद्ने चेस्टा गर्दै अहिले साम्राज्यवादी, पुँजीवादी देशका रणनीतिले नेपाली जनताले दुःखकष्ट, चुनौतीको सामना गर्नुपरेको छ ।

    नेपालका श्रमिक जनताहरूको विद्रोहको प्रतिनिधित्व गर्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले जनविद्रोह सुरु गर्यो । त्यसले एउटा सफलता प्राप्त गर्दै जाँदा नेपालमा त जनताले जित्छन् भन्ने साबित गर्यो । त्यतिमात्रै होइन, सही विचार, सही कार्यदिशा, सही योजना र नेतृत्व रहँदा जुनसुकै परिस्थितिमा पनि सामन्तवाद, पुँजीवादलाई पल्टाउन सक्ने जनताको सामथ्र्य छ भन्ने साबित गरेको छ ।

    १० वर्षमा आइपुग्दाखेरि नेपालको इतिहासमा अभूतपूर्व परिणामहरू प्राप्त भए । जनताले पहिलोपटक आफ्नो सत्ता बनाए । सत्ता सामान्य औपचारिक मात्र होइन, व्यावहारिक र कामकाजी बनाए । उनीहरूले सत्ताभित्र आफ्नो न्याय बनाए, न्याय प्रणाली खडा गरे । उनीहरूले सुरक्षाका लागि एउटा विशाल जनमुक्ति सेना निर्माण गरे । त्यसपछि गएर प्रशासन खडा गरे । विभिन्न खालका राज्य र अङ्गहरू निर्माण गरे, प्रशासनिक निकायहरू निर्माण गरे, वित्तीय संस्थाहरू निर्माण गरे, उद्योगहरू निर्माण गरे ।

    शिक्षा र स्वास्थ्यका क्षेत्रमा नयाँ सुरुआतहरू गरे । यस्ता खालका अभूतपूर्व परिणामहरू दस वर्षमा प्राप्त भएर ती परिणामहरूले के साबित गर्‍यो भने जनता नै इतिहासको निर्माता हो र कम्युनिस्ट पार्टीले सही नेतृत्व दिन सक्दाखेरी जनताले रातारात एउटा कायापलट, एउटा ठूलो परिवर्तनलाई हेरफेर गर्न सक्छन् भन्ने प्रमाणित गर्‍यो ।

    श्रमिक जनताको प्रतिनिधित्व गरेको हाम्रो पार्टी पंक्तिले एउटा आत्मसमर्पणवादका विरुद्धमा, बिसर्जनवादका विरुद्धमा र संशोधनवादको विरुद्धमा पुनः एउटा क्रान्तिको झन्डा खडा गर्‍यौं । त्यो झन्डा सामान्य नभएर विश्वभरिका श्रमिक जनताका बारेमा देख्ने खालको झन्डा खडा गरेर आज हामी यहाँ आइपुगेका छौँ । फेरि एउटा नयाँ उज्यालो अभ्यास सुरु भएको छ । हामी यहाँ आइपुगेका छौँ र अहिले फेरि दलाल पुँजीपति वर्ग र नेपाली जनताको बीचमा नयाँ संघर्षका किरणहरू अथवा संघर्षका प्रक्रियाहरू अगाडि आएका छन् ।

    – तर, तपाईं त अझै क्रान्ति पूरा भएको छैन, क्रान्ति नै गर्नुपर्छ भनिरहनु भएको छ नि, किन ?

    क्रान्ति असम्भव होइन, अपरिहार्य आवश्यकता हो । जुन दिनसम्म नेपाली जनताले आफ्नो सत्ताको सुनिश्चित गर्न सक्दैनन्, नेपाल स्वाधीन बन्न सक्दैन, तबसम्म त्यो पुरानो प्रतिक्रियावादी, पुँजीवादी सत्ताका विरुद्धमा क्रान्ति अपरिहार्य र आवश्यक हुन्छ ।

    -माओवादी युद्धमा धरै ज्यान गुमाए, घाइते-अपाङ्ग भए । उनीहरूलाई के भन्नुहुन्छ ?

    जनयुद्ध एउटा गौरवपूर्ण विद्रोहको दिन हो । त्यसभित्र पनि आफ्नो रगत बलिदान गर्ने, प्राण दिने, नेपाली जनताको मुक्तिको लागि सम्मान र श्रद्धाका लागि हाम्रो पार्टीले जहिले पनि सम्मान गर्छ । यो धर्तीमा रहुन्जेलसम्म हामी जहिले पनि सहिदको सम्मान गर्छौं ।

    सहिद जन्माउने, आमाबाबु गुमाउने, छोराछोरी, जीवनसंगिनी गुमाउने, सहिदहरूप्रति सम्मान गर्छौं । क्रान्तिको हैरानीले गर्दा केही रुपरेखा देखा परे तापनि आज सहिदको बलिदान नभएको भए मुलुकमा गणतन्त्र स्थापना हुने थिएन । महत्वपूर्ण राजनीतिक अधिकारहरु प्राप्त हुने थिएनन् ।

    क्रान्तिको नेतृत्वमा आएको विचलनले गर्दा केही सहिदको सपनामा समस्या देखा परे पनि ती अपूर्ण सहिदका सपनालाई पूर्णता दिएर लक्ष्यका साथ हाम्रो पार्टीका नेता कार्यकर्ता त्याग, निष्ठाका साथ लाग्नुभएको छ । सहिद परिवारको पनि साथ सहयोगबाट हामी अगाडि बढेका छौ । देश परिवर्तनका लागि आफ्नो ज्यानको आहुति दिनुहुने सहिदहरुप्रति हामी जहिले पनि सम्मान गर्छौं ।

    -देशमा संघीयतासहितको गणतन्त्र आइसक्यो । तर तपाईं क्रान्तिको मात्रै कुरा गर्नु हुन्छ । अब केका लागि गर्नुपर्ने हो क्रान्ति चाहिँ ?

    क्रान्ति प्रतिकूल परिस्थतिसँग, इतिहाससँग लड्ने कुरा हो । जनताका उत्पीडन दमनसँग लड्ने कुरा हो । जनता जहिले पनि परिवर्तनको पक्षमा हुन्छन्, क्रान्तिको पक्षमा छन् ।

    जनताले क्रान्तिप्रति जुन विश्वास गरेर जनयुद्धमा आफ्नो बलिदान गरेका थिए, ती शोषित, पीडित जनताले अहिले पनि न्यायको अनुभूति गर्न सकेका छैनन् । ती शोषित पीडितलाई मुक्ति दिन न्यायको अनुभूति दिलाउनको लागि हामी अगाडि बढेका छौँ ।

    शोषित पीडित जनतालाई जबसम्म न्यायको अनुभूति हुँदैन त्यति बेलासम्म हामीले नेतृत्व गर्छांै । जनताप्रति विश्वासका साथ अगाडि बढेमा क्रान्तिका चरणमा आउने विभिन्न घटना र परिघटनालाई सजिलैसँग समाधान गर्न सकिन्छ ।

    -अब तपाईंको पार्टीको रणनीति के हो त ?

    दलाल पुँजीवादी संसदीय व्यवस्था असफल र संकटग्रस्ट भएका कारणले जनताले निकास पाउन सकेका छैनन्, जनताले दुःख पाएका छन्, कष्ट भोग्नुपरेको छ । जसका कारणले देशमा पुँजीवादी सत्ता निर्माण भए तापनि जनताले त्यसको आकार, ईकारको पहिचान गर्न सकेका छैनन् ।

    १० वर्षमा आइपुग्दाखेरि नेपालको इतिहासमा अभूतपूर्व परिणामहरू प्राप्त भए । जनताले पहिलोपटक आफ्नो सत्ता बनाए । सत्ता सामान्य औपचारिक मात्र होइन, व्यावहारिक र कामकाजी बनाए । उनीहरूले सत्ताभित्र आफ्नो न्याय बनाए, न्याय प्रणाली खडा गरे । उनीहरूले सुरक्षाका लागि एउटा विशाल जनमुक्ति सेना निर्माण गरे ।

    त्यसकारण जनताको सत्ता अर्थात् वैज्ञानिक समाजवादी सत्ता निर्माणको लागि हामी लागेका छौं । नेपालमा वैज्ञानिक समाजवादी सत्ता किसान, मजदुर, श्रमिक वर्गको हुनेछ । त्यसको लागि हामी निरन्तर लागिपरेका छौँ । नेपालमा नेपाली जनताको सत्ता वैज्ञानिक सत्ता हुँदै एकीकृत जनक्रान्तिमार्फत् पूरा हुन्छ ।

    -सरकारले चुनाव घोषणा गरिसक्यो, सबै दल चुनावी तयारीमा लागेका छन् । तपाईंहरु चाहिँ जनमत संग्रहको कुरा गर्नुहुन्छ । आम नागरिकले कसरी बुझ्ने ?

    जनमत संग्रह वस्तुस्थिति र जनताले चाहना गरेअनुसार हुने हो । नेपालमा संसदीय व्यवस्था सफल हुन सकेन, जसकारणले नेपाली जनताले विभिन्न बाधा अवरोध, दुःखकष्टको सामना गनुपर्‍यो । जनताका कुरालाई हामीले उजागर गर्दा राज्यले हामीलाई हत्या र हिंसाको संज्ञा दियो ।

    हामीले नेपालमा नेपाली जनताको आफ्नै व्यवस्था ल्याउनको लागि जनमत संग्रहको अवधारणा ल्याएका छौँ । नेपालमा अब नेता छान्ने चुनाव होइन व्यवस्था छान्ने चुनाव गरौँ, हामी तयार छौँ भनेर भन्दा राज्य जिम्मेवार बनेन । राज्य जनताप्रति उत्तरदायी बन्न सकेन, ३ बुँदे सहमति कार्यान्वयन गर्न सकेन । राज्यका क्रियाकलापले गर्दा हामी जिम्मेवार बनेका छौँ । लगत्तै केन्द्रीय समितिको बैठक बसेर चुनावबारे नयाँ रणनीति ल्याउँछौँ ।

    -अहिले देशमा एमसीसीको विषय चर्चामा छ । यसबारे तपाईंको पार्टीको धारणा के हो ?

    खासगरी विश्व भूमण्डलीकृत चरित्रमा पुगेको छ । सामाज्यवादी, पुँजीवादी देशले साना अविकसित देशलाई जहिले पनि उत्पीडन, दमनको सिकार बनाइराखेका छन् । त्यसको तीव्रता नेपालमा परेको छ ।

    भारतले नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा गरेको अतिक्रमण, सीमा क्षेत्रमा गरेको ज्यादती, अमेरिकाले एमसिसीलाई नेपालमा जसरी पनि लाद्ने चेस्टा गर्दै अहिले साम्राज्यवादी, पुँजीवादी देशका रणनीतिले नेपाली जनताले दुःखकष्ट, चुनौतीको सामना गर्नुपरेको छ ।

    जनताको सार्वभौमता, स्वाधीनतामा दिन प्रतिदिन समस्याको उजागर भएको छ । परिवर्तनको लागि हजारौँ जनताले बलिदान गर्नुभयो, लाखौँ जनताले साथ सहयोग गर्नुभएको छ । नेपाली जनताले राष्ट्रिय स्वाधीनता सार्वभौम रक्षाको लागि आन्दोलन गर्नुपर्छ, त्यसका लागि हामी तयार छौँ । अन्तर्राष्ट्रिय परिस्थतिको सामना गरेर नेपाल र नेपाली जनतालाई विदेशी उपनिवेशबाट मुक्त बनाउँछौं।

    -आन्दोलनका उपलब्धीको रक्षा गर्न के गर्नुपर्‍यो ? माओवादीको संगठन संरचना ध्वस्त हुनुलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

    जनयुद्धले नेपालको राजनीतिक इतिहासमा अभूतपूर्व इतिहास, सफलता र उपलब्धी हासिल गर्‍यो । नेपाली जनताले विजय हासिल गरे । नेपाली जनताले आफ्नै अर्थतन्त्र बनाए, सेना बनाए, प्रशासन बनाए, अदालत बनाए र सामन्तवाद र पुँजीवादका विरुद्धमा जनताले आफ्नै सत्ता स्थापना गरेर जनताले देशमा नयाँ सत्ता निर्माण गरे । मूलतः त्यो बेला जनयुद्धको मुख्य नेतृत्व गरेका भनेर चिनिने प्रचण्ड, बाबुराम र बादलहरू हुन् ।

    जनयुद्ध एउटा गौरवपूर्ण विद्रोहको दिन हो । त्यसभित्र पनि आफ्नो रगत बलिदान गर्ने, प्राण दिने, नेपाली जनताको मुक्तिको लागि सम्मान र श्रद्धाका लागि हाम्रो पार्टीले जहिले पनि सम्मान गर्छ । यो धर्तीमा रहुन्जेलसम्म हामी जहिले पनि सहिदको सम्मान गर्छौं ।

    जनयुद्धको नेतृत्व गरेका उनीहरूमा एकाएक त्यत्रो विचलन आयो । बाबुरामले माक्र्सवाद नै छोड्नुभयो । प्रचण्डजीले क्रान्ति छोड्नुभयो । जनयुद्धले उठाएका विषयले आज पूर्णता पाउन सकेनन् । प्रचण्ड, बाबुरामले जनयुद्धको आदर्श र प्राप्त उपलब्धीको रक्षा गर्न सक्नुभएन ।

    जनताले जुन उचाइमा सफलता प्राप्त गरे ती सफलताबाट पराजय हुनुपर्यो, रक्षा हुन सकेन । यो गौरवपूर्ण दिन विभिन्न घटना परिघटना हँुदै आज यहाँसम्म आएको छ । ती घटना र परिघटनाका शिक्षालाई आज एकीकृत जनक्रान्तिमा रुपान्तरण गरेर नेपालमा नयाँ क्रान्तिको सुरुवात गरेर जनयुद्धका उपलब्धीको रक्षा गर्नेछौँ ।

    -जनयुद्ध दिवसमा के सन्देश दिन चाहनुहुन्छ ?

    जनयुद्ध दिवस नेपाली जनताको मनमनमा भिजेको छ । सबैको जीवनमा बदलिसकेको पर्व नै हो, यद्यपि पछिल्लो समयमा केही समस्याहरू आए । तर पनि जनयुद्धमा कुनै न कुनै रूपले संलग्न नहुने नेपालमा मान्छे नै छैन । यद्यपि कांग्रेस–एमालेभित्रको पनि ठूलो पंक्ति कुनै न कुनै रूपले जनयुद्धमा संलग्न छ । जनयुद्ध दिवसलाई एउटा उत्सवका रूपमा मनाउनुपर्छ । पहिलो कुरा यो हो ।

    दोस्रो कुरा जनयुद्धको जगमा एकीकृत जनक्रान्तिको विकास हुँदै गएको छ । जनयुद्धलाई उत्सवका रूपमा मनाउँदै गर्दा एउटा नयाँ प्रतिबद्धता गर्न चाहन्छौँ- जनयुद्धको जुन अधुरो पाटो छ राज्यसत्तालाई आमूल परिवर्तन गरेर वैज्ञानिक समाजवाद निर्माण गर्ने जुन लक्ष्य छ, त्यो कार्यभारलाई पूरा गर्न हामी यो उत्सवमा एकीकृत जनक्रान्तिको कार्यभारलाई जोड्दै त्यही उचाइमा देश, परिवार, गाउँ, जिल्ला, क्षेत्र, देशभरि र अन्तर्राष्ट्रिय क्षेत्रमा समेत यसलाई उत्सवका रूपमा मनाउनुपर्छ ।

    यो गौरवको इतिहासलाई एकीकृत जनक्रान्तिको कार्यभारसँग जोड्नुपर्छ । एउटा नयाँ प्रतिबद्धतासँग जोड्नुपर्छ । गौरवको इतिहासलाई विजयको इतिहाससँग जोड्नुपर्दछ भन्ने अपिल छ ।

  • राजादेखि विप्लवसम्म अटाउने प्रणाली चाहियोः कमल थापा (भिडिओ)

    राजादेखि विप्लवसम्म अटाउने प्रणाली चाहियोः कमल थापा (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो पार्टी परिवर्तनको विरोधी नभएको दाबी गरेका छन् । तर, अहिलेको व्यवस्थाको समीक्षा हुनुपर्ने भन्दै उनले राजादेखि विप्लवसम्म अटाउने राजनीतिक प्रणाली देशलाई आवश्यक परेको बताए ।

    राप्रपाको एकता महाधिवेशन उद्घाटन समारोहमा बोल्दै थापाले राजसंस्थाको अस्तित्व नेपालको भूराजनीतिक वाध्यता भएको उल्लेख गरे । यदि यो वाध्यतालाई बिर्सिएमा नेपालको अस्तित्व खतरामा पर्ने उनको चेतावनी थियो ।

    ‘नेपालको राष्ट्रियता र एकताको प्रतिकका रुपमा, साझा संस्थाका रुपमा राजसंस्था हुनुपर्छ,’ थापाले भने । राजासंस्थाको कुरा गर्दा आफूहरूले ६३ सालभन्दा अगाडिको अवस्थामा फर्कन नखोजेको उनले बताए ।

    ‘हामी पुरानो व्यवस्थामा फर्किन खोजेको होइन । सबै नेपाली अटाउने मौलिक प्रजातन्त्रको कुरा गरेका हौं । राजादेखि विप्लवसम्म अटाउने राजनीतिक प्रणालीको निर्माण गरौं,’ थापाले भने ।

    उनले देशको राष्ट्रियता तथा राष्ट्रिय अस्मिता संकटपूर्ण अवस्थामा रहेको बताए । बाह्य शक्तिको प्रभाव बढेको र विदेशीको रणनीतिक प्रतिस्पर्धास्थल बन्ने खतरा भएको उनको भनाइ थियो । वीपी कोइरालाले भनेजस्तै अहिले पनि देशलाई राष्ट्रिय मेलमिलापको आवश्यकता भएकोमा उनले जोड दिए ।

    ‘परिवर्तनकारी शक्ति र विचार तथा परम्परागत शक्ति र विचारका बीचमा सामञ्जस्यता अहिलेको आवश्यकता हो,’ उनले भने ।

  • माओवादीसँग एकताको चर्चा चलिरहेका बेला विप्लवले भेटे प्रचण्ड

    माओवादीसँग एकताको चर्चा चलिरहेका बेला विप्लवले भेटे प्रचण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)सँग एकीकरणको चर्चा चलिरहेका बेला नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेचविक्रम चन्द ‘विप्लव’ले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन्।

    विप्लव शनिबार बिहान खुमलटारमा गएर प्रचण्डसँग भेटघाट गरेको बताइएको छ। प्रचण्डको निजी स्रोतले विप्लव र प्रचण्डबीच मुलुकको वर्तमान जटिल राजनीतिक अवस्थालाई निकास दिने गरि छलफल भएको बताइएको छ।

    भेटमा एकताका लागि पहल गरिरहेका माओवादी केन्द्रका प्रवक्तासमेत सहभागी थिए।

  • टायर बालेर बन्द गराउँदै हिँडेका विप्लवका कार्यकर्ता सुन्धाराबाट पक्राउ (तस्बिरहरू)

    टायर बालेर बन्द गराउँदै हिँडेका विप्लवका कार्यकर्ता सुन्धाराबाट पक्राउ (तस्बिरहरू)

    काठमाडौं । सुन्धाराबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा आव्हान गरिएको नेपाल बन्दमा सडकमा टायर बालेर सवारीसाधन संचालनमा अवरोध गरिरहेका कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

    बन्दको क्रममा विप्लवका कार्यकर्ताले देशभर प्रदर्शन गरेका छन् । केही ठाउँबाट बन्दकर्तालाई नियन्त्रणमा लिएको छ ।

  • नेपाल बन्दको प्रचारमा विप्लव माओवादीको मसाल जुलुस (तस्बिरहरू)

    नेपाल बन्दको प्रचारमा विप्लव माओवादीको मसाल जुलुस (तस्बिरहरू)

    काठमाडौं । पेट्रोलियम पदार्थको मुल्यवृद्धिविरुद्ध भोलि नेपाल बन्दको घोषणा गरेको नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बन्दको पूर्वसन्ध्यामा मसाल जुलुस निकालेका छन् ।

    कात्तिक २५ देखि चरणबद्ध आन्दोलनको घोषणा गरेको विप्लव नेकपाका कार्यकर्ताले काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँमा मसाल जुलुस निकालेका हुन् ।

    मूल्यवृद्धिबाट उपभोक्ता मारमा पर्ने भन्दै नेकपाले जनसरोकारको विषयमा मुकदर्शक भएर हेरिरहन नसक्ने भन्दै विप्लव नेकपाले विरोध गरेको छ । उसले मुल्यवृद्धि फिर्ता लिन पनि आग्रह गरेको छ ।

    काठमाडौंको डिल्ली बजारबाट पुतलीसडक चोकसम्म निस्किएको मसाल जुलुसका केही तस्बिरहरू:

  • प्रतिबन्ध फुकुवापछि विप्लवको पहिलो केन्द्रीय समिति बैठक

    प्रतिबन्ध फुकुवापछि विप्लवको पहिलो केन्द्रीय समिति बैठक

    काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठक शुरू भएको छ । शुक्रबार बिहानदेखि तनहुँको बन्दीपुरमा जारी बैठक प्रतिबन्ध फुकुवापछिको पहिलो केन्द्रीय बैठक हो ।

    पाँच दिनसम्म चल्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले नेपाल प्रेसलाई जानकारी दिए । फेरिएको परिस्थितिमा बैठकले नयाँ राजनीतिक लाइन तय गर्ने पनि उनले बताए ।

    विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति ६८ सदस्यीय छ ।

  • विप्लवले भेटे कमल थापा, तीन बुँदे सहमति कार्यान्वयन हुनुपर्ने राप्रपाको धारणा

    विप्लवले भेटे कमल थापा, तीन बुँदे सहमति कार्यान्वयन हुनुपर्ने राप्रपाको धारणा

    काठमाडौं । राजनीतिक भेटघाटलाई पछिल्लो समय तीव्र पारिरहेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राप्रपा अध्यक्ष कमल थापासँग भेट गरेका छन् ।

    विप्लव आफ्ना केही नेता लिएर थापालाई भेट्न गएका थिए । भेटमा समसामयिक राजनीतिक परिवेशबारे छलफल भएको बताइएको छ ।

    सोक्रममा राप्रपा अध्यक्ष थापाले केपी ओलीसरकारसँगको ३ बुँदे सहमति कार्यान्वयन हुनुपर्छ भन्ने आफ्नो पार्टीको धारणा रहेको प्रष्ट्याएका छन् ।

    विप्लवले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा नेता बाबुराम भट्टराईलगायतसँग भेट गरिसकेका छन् ।

  • प्रधानमन्त्री र विप्लवबीच बालुवाटारमा भेटवार्ता

    प्रधानमन्त्री र विप्लवबीच बालुवाटारमा भेटवार्ता

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रधानमन्त्री शेरबहादुर देउवा भेट्न बालुवाटार पुगेका छन् । विप्लवले पछिल्लो समय नेताहरूसँगको भेटघाटलाई तीव्रता दिएका छन् ।

    प्रधानमन्त्रीसँगको भेटवार्ताको क्रममा विप्लवको साथमा नेताहरू खड्गबहादुर विश्वकर्मा र धर्मेन्द बास्तोला पनि छन् । छलफलमा गृहमन्त्री बालकृष्ण खाण उपस्थित छन् ।

    शान्ति प्रक्रियामा आएसँगै अघिल्लो सरकारसँग भएको तीनबुँदे सम्झौता कार्यान्वयनका लागि विप्लवले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको बताइएको छ ।

    यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका नेता डा. बाबुराम भट्टराईलगायतका नेतासँग विप्लवले छलफल गरिसकेका छन् ।

  • लेखराजनिवासमा पूर्वमाओवादी नेतासँग विप्लवको भेटघाट, अदालतको आदेशप्रति असन्तुष्टि

    लेखराजनिवासमा पूर्वमाओवादी नेतासँग विप्लवको भेटघाट, अदालतको आदेशप्रति असन्तुष्टि

    कैलाली । एमालेका स्थायी कमिटी सदस्य लेखराज भट्टको निवास धापाखेलमा नेकपा अध्यक्ष नेत्रविक्रम चन्द विप्लवले पूर्वमाओवादी नेताहरुसँग भेटघाट गरेका छन् । भेटघाटमा अहिलेका एमाले नेताहरु टोप बहादुर रायमाझी, लेखराज भट्ट, मणि चन्द्र थापा र प्रभु शाह थिए ।

    भेटघाटमा विप्लवले कम्युनिस्ट आन्दोलन र देशबारे चिन्ता व्यक्त गरेको भेटघाटमा सहभागी एक नेताले बताए । सर्वोच्च अदालतले गरेको निर्णयप्रति पनि विप्लवले असन्तुष्टि व्यक्त गरेका थिए ।

    ‘संविधानमा समेत नभएको विषयमा सर्वोच्चले फैसला गर्यो’ विप्लवलाई उद्धृत गर्दै छलफलमा सहभागी भए नेताले भने, ‘तर, फैसला मान्ने पर्छ भन्ने कुरामा उहाँले जोड दिनुभयो ।’

    केही समयअघि विप्लवले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालसँग पनि भेटेका थिए ।

  • माधव नेपाल र विप्लवको छलफलमा कसरी भयो प्रचण्डको ‘इन्ट्री’ ?

    माधव नेपाल र विप्लवको छलफलमा कसरी भयो प्रचण्डको ‘इन्ट्री’ ?

    काठमाडौं । मोहन वैद्य, रामबहादुर थापा ‘बादल’ हरूलाई साथमा लिएर अलग भएको धेरै वर्षसम्म नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेनन् ।

    केपी शर्मा ओली नेतृत्वको सरकारसँग तीन बुँदे सम्झौता गरेर पछिल्लो भूमिगत राजनीतिक तोडेपछि पनि उनले प्रचण्डलाई भेटेनन् ।

    तर, बुधबार प्रचण्ड निवास खुमलटारमै गएर विप्लवले ‘सरप्राइज भेट’ गरे । पछिल्लो कालमा आफूले कटु आलोचना गर्ने प्रचण्डसँग घनिष्ट दोस्ती झैं उनले मुस्कुराएको फोटो खिचे ।

    यो सिलसिला विहीबार पनि चल्यो । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निवासमा प्रचण्ड र विप्लव एकसाथ उभिएर खिचेको फोटो सार्वजनिक भयो । तस्बिरमा हिजो प्रचण्डलाई भेट्दा साथमा रहेका माधव नेपालसहितको तस्बिरमा सबै (प्रचण्ड, माधव नेपाल, विप्लव र धर्मेन्द्र वास्तोला) खुब मुस्कुराएको देखिन्छ ।

    अचानक किन सक्रिय ?

    ओली नेतृत्वको सरकारसँग सम्झौता गरेपछि हिरासतमा रहेका आफ्ना पार्टीका नेताहरूलाई उनले भेटेका थिए । त्यस्तै आफ्ना पूर्वसहकर्मीहरू मोहन वैद्य, कृष्णबहादुर महरा, आहुतीलगायतसँग मात्रै विप्लवले राजनीतिक भेटघाट गरेका थिए ।

    तर, ओली सरकारबाट बाहिरिएलगत्तै उनले राजनीतिक भेटघाटलाई बढाए । यसबाट धेरैलाई आश्चर्य लागेको छ । यो भेटघाट तीन बुँदे राजनीतिक सहमति कार्यान्वयन लागि भएको विप्लव नेतृत्वको नेताहरू बताउँछन् ।

    हिजो भएको प्रचण्डसँगको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल गरेको र तीन बुँदे सहमति कार्यान्वयनबारे चासो राखेको बताइएको थियो । प्रचण्डसँगको भेटपछि बसेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सचिवालयको बैठकले पछिल्लो विकसित राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै सबै राजनीतिक शक्तिहरूसँग सम्वाद र छलफललाई तीव्रता दिने निर्णय गरेको थियो । त्यस्तै अघिल्लो सरकारसँग भएको तीन बुँदे सहमति वर्तमान सरकारले स्वामित्व लिनु पर्ने र कार्यान्वयन गर्नुपर्ने विषयमा छलफल भएको थियो ।

    उक्त बैठकको निर्णय अनुसारै विप्लव राजनीतिक भेटघाटमा सक्रिय रहेको भेटघाटहरूमासँगै रहेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र वास्तोला बताउँछन् । नेता नेपालसँगको भेटमा पनि यही विषयमा कुराकानी भएको उनले नेपाल प्रेसलाई जानकारी दिए ।

    ‘सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्नुपर्‍यो भन्ने कुरा हामीले राख्यौं,’ उनले भने, ‘अहिलेको राजनीतिक परिस्थिति के छ, कस्तो छ ? यसबारेको बुझाइ के छ भन्नेबारेमा पनि कुराकानी भयो ।’

    विप्लवसँगको छलफलमा नेता नेपालले चाहिँ सहमति कार्यान्वयन हुनुपर्छ र कार्यान्वयन गर्ने कुरामा आफूहरू सहमत भएको बताएका थिए ।

    प्रचण्ड कसरी मिसिए ?

    राजनीतिक घटनाक्रम तरल रहेको अवस्थामा प्रचण्ड, नेता नेपाल र विप्लव एकसाथ भेटेको तस्बिर सार्वजनिक भएपछि धेरैले अब उनीहरूबीच एकता हुन लागेको रूपमा बुझेका छन् ।

    कतिपय अब पूर्वमाओवादी घटकहरूबीच एकता हुने भन्दै आशावादी पनि भएका छन् । नेता नेपालले पनि पूर्वमाओवादीहरू मिल्नुहोस् भन्ने सुझाव दिएको खबर थाहा पाएर धेरै उत्साहित भएका छन् ।

    तर, अवस्था सोचिए जस्तै हो त ? सबैभन्दा पहिले तीन नेता एकसाथ देखिएको तस्बिर कसरी खिचियो भन्ने वास्तविकता बुझौं ।

    नेता नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार नेता नेपाल र विप्लवबीच करिब डेढ घण्टा छलफल चलेको थियो । नेपाल र विप्लवबीच वार्ता चलिरहेकै बेला प्रचण्ड नेपाल निवास छिरेका थिए। अनि माधव नेपालकै आग्रहमा तीनजनाबीच फोटो सेसन चलेको थियो।

    यसलाई पुष्टी गर्दै नेता वास्तोला भन्छन्, ‘नेपालजीलाई भेट्न सँगै गएको होइन, संयोग परेको । हामी गएर कुरा गर्दै थियौं, प्रचण्डजी पछि आउनुभयो । उहाँहरूको पनि बैठक रहेछ । उहाँ पुगेपछि माधवजीले बसौं न त, कमसेकम फोटो चाहिँ सँगै खिचाउँ भन्नुभयो । अनि तस्बिर खिचाइयो ।’

    अब पूर्वमाओवादीहरू मिल्नुहोस् भन्ने नेता नेपालवको सुझावलाई पछ्याउँदै अब तपाईंहरू मिल्नुहुन्छ त भन्ने प्रश्नमा बास्तोला भन्छन्, ‘पूर्वमाओवादीहरूबीच एकीकरणबारे खास कुरा भएको छैन् र हामीले अहिले नै त्यसरी सोचेका पनि छैनौं,’ उनी भन्छन्, ‘अहिले चाहिँ तीन बुँदे सहमति कार्यान्वयन गरौं र अहिलेको राजनीतिक विषयमा छलफल गरौं भन्ने हिसाबले भेटघाट बढाइरहेका छौं ।’

    माओवादी घटकहरूबीचको एकताबारे मात्रै हाललाई नसोचिएको भए पनि कम्युनिष्टहरूबीच एककताका लागि भने आफूहरू खुला रहेको बास्तोला बताउँछन् । तथापि आफूहरूको अहिलेको मुख्य जोड तीन बुँदे सहमति कार्यान्वन गराउनु नै भएको उनको भनाइ छ । त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटघाटको प्रयास भइरहेको बास्तोलाले बताए।

  • प्रचण्डसँग विप्लवको प्रस्ताव- पूर्व माओवादी घटकहरुबीच एकता गरौं

    प्रचण्डसँग विप्लवको प्रस्ताव- पूर्व माओवादी घटकहरुबीच एकता गरौं

    काठमाडौं । पछिल्लो भूमिगत जीवनबाट सार्वजनिक भएको लामो समय भइसक्दा पनि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका थिएनन् । तर, उनले अचानक बुधबार खुमलटार गएर प्रचण्डसँग भेटघाट गरे।

    सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र अन्य दुई केन्द्रीय सदस्यसहित प्रचण्ड निवास खुमलटार पुगेका विप्लवले पूर्व माओवादी घटकहरुबीच एकताको प्रस्ताव प्रचण्डसँग गरेका छन् ।

    ‘बदलिएको परिस्थितिमा सहकार्य र साझेदारीको प्रस्ताव लिएर प्रचण्डलाई भेट्न विप्लव खुमलटार जानु भएको हो,’ खुमलटारनिकट स्रोत भन्छ, ‘पुरानो माओवादीहरुबीचमा एकीरकणबारे छलफल भएको हो । पुरानो एमाले मिल्छ भने पुरानो माओवादी पनि मिल्नुपर्‍यो नि।’

    पूर्व माओवादी घटकहरुबीच एकताको विषयमा कुरा भएको हो भन्ने प्रश्नमा प्रचण्डको निजी सचिवालयका एकजना सदस्यले भने-‘सबै कम्युनिष्टहरु ध्रुविकृत हुनुपर्छ, केन्द्रिकृत हुनुपर्छ भनेर अध्यक्ष्यले सार्वजनिक रुपमा आह्वान गरिरहनु भएको छ । यो विषयमा कुरा नहुने भन्ने हुँदैन।’

    माओवादी विद्रोहको महत्वपूर्ण समयमा साथमै रहे पनि विप्लव पछिल्लो समय प्रचण्डको कटु आलोचक मानिन्छन् । उनले लामो समय प्रचण्डसँग भेटवार्ता गरेका थिएनन् । प्रचण्डको पहलमा शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेको भोलिपल्ट प्रचण्ड भेट्न विप्लव खुमलटार पुग्नुलाई धेरैले अर्थपूर्ण मानेका छन् ।

    तर, प्रचण्डको निजी सचिवालय भने आज भेट्नुका पछाडि विशेष कारण नभएको बताउँछ। ‘अहिलेका समसामयिक विषयमा कुराकानी भयो,’ ती सदस्य भन्छन्, ‘भेटौं भन्ने कुरा पहिले नै भइरहेको थियो, आज समय मिलेर भेटेको हो । अरु यसको कारण केही छैन् ।’

    अब दुई नेताहरुबीच नियमित भेटघाट हुने बताइएको छ । भेटघाटको पहल दुवै तर्फबाट भएको थियो । पूर्व पोलिटव्युरो सदस्य एवम् प्रदेशसभा सदस्य बीबी खराल, पूर्वमाओवादी बाल सैनिक संगठनका अध्यक्ष लेनिन विष्टलगायतले भेटघाटको पहल गरेका थिए।

    गत फागुन २१ गते निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र विप्लवबीच तीन बुँदे सहमति भएको थियो। विप्लवले ओली सरकारले उक्त सहमति पालना नगरेर धोका दिएको भन्दै नयाँ सरकारले आफूसँगका सहमति कार्यान्वयन गर्नुपर्ने माग समेत प्रचण्डसँग गरेका थिए।

  • चुनाव हैन, जनमत संग्रहतिर जाऔं : विप्लव

    चुनाव हैन, जनमत संग्रहतिर जाऔं : विप्लव

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले अब जनमत संग्रहमा जानका लागि सबैलाई आग्रह गरेका छन् ।

    शनिबार विज्ञप्तिमार्फत् संसद् विघटन र मध्यावधि चुनावबारे आफ्नो धारणा सार्वजनिक गर्दै उनले संसदीय व्यवस्था सफल नभएकाले वैज्ञानिक समाजवादले मात्र निकास दिन सक्ने बताए । ‘जनमत संग्रहका लागि राजनीतिक पार्टीहरू तयार हुने हो भने त्यसका लागि हाम्रो पार्टी संयुक्त सरकार बनाएर निकासका लागि सहकार्य गर्न तयार रहेको स्पष्ट पार्छौं,’ विज्ञप्तिमा लेखिएको छ ।

    अहिलेको समस्या कुनै पार्टी, व्यक्ति वा सरकारको मात्र नभएर संसदीय व्यवस्थाकै समस्या भएको उनको ठहर छ ।  त्यसकारण चुनावमा जानु झन् ठूलो संकट निम्तनु उनकाे तर्क छ ।

    ‘यो सत्ता र व्यवस्थाको संकटलाई सरकारको मात्र असफलता बताएर फेरि पनि संसदीय व्यवस्थाकै चुनाव घोषणा गर्नु भनेको समस्यालाई समाधान गर्ने नभई झन् ठूलो अन्तर्विरोध र संकटमा धकेल्नु हो,’ विप्लवले भनेका छन् ।

     

  • महरालाई भेट्न पुगे विप्लव

    महरालाई भेट्न पुगे विप्लव

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रचण्ड-पक्षीय नेकपाका नेता एवं पूर्वसभामुख कृष्णबहादुर महरासँग भेट गरेका छन् ।

    महरालाई भेट्न विप्लव आइतबार उनकै निवास पुगेका थिए । विप्लवसँग सरकारसँगको वार्ताका लागि गठित समितिका सदस्य तथा केन्द्रीय सदस्य उदय चलाउने ‘दीपक’ पनि पुगेका थिए । उनीहरूबीच समसामयिक राजनीतिक परिवेशमा छलफल भएको बताइएको छ ।

    सरकारसँगको वार्तामा ३ बुँदे सहमतिसँगै शान्तिपूर्ण खुला राजनीतिमा आएदेखि विप्लवले राजनीतिक भेटघाटलाई तीब्र पारेका छन् ।

    शनिबार बिहान गृहमन्त्री रामबहादुर थापा बादलसँग भेट गरेका उनले संयुक्त रणनैतिक मोर्चामा रहेका दलका नेताहरूसँग छलफल गरेका थिए ।

    तत्कालीन माओवादीमा विप्लव र महरा सँगै थिए ।

  • काठमाडौंमा विप्लवको दौडधुप : बादल र वलीपछि वैद्यलाई भेट्दै

    काठमाडौंमा विप्लवको दौडधुप : बादल र वलीपछि वैद्यलाई भेट्दै

    काठमाडाैं । सरकारसँग सहमति भएपछि खुला भएका नेत्रविक्रम चन्द ‘विप्लव’ले राजनीतिक सक्रियता बढाएका छन्।सरकारसँग तीनबुँदे सहमति गरेको भोलिपल्ट शनिबार बिहानै विप्लवले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग भेट गरेका थिए।

    गृहमन्त्रीसँग कार्यकर्ता रिहाइबारे कुरा गरेपछि विप्लव नख्खु कारागारमा रहेका नेता हेमन्तप्रकाश वलीलाई भेट्न पुगे ।

    यही सिलसिलामा विप्लवले आफ्ना राजनीतिक गुरु मोहन वैद्य ‘किरण’सँग पनि भेटघाट गर्ने भएका छन्। यो भेट संयुक्त रणनीतिक मोर्चाको बैठकका सन्दर्भमा हुने भएको हो।

    मोर्चामा रहेका विश्वभक्त दुलाल ‘आहुति’ले विप्लव खुला राजनीतिमा आएको परिवेशमा यसबारे छलफल हुन लागेको बताए। ‘एकछिन भेटघाट गर्ने कार्यक्रम छ’ नेपाल प्रेससँग उनले भने, ‘उहाँ खुला भएको हुनाले भेटघाट गर्ने कार्यक्रम राखिएको हो ।’

    छलफल वैद्य नेतृत्वको पार्टी कार्यालय रहेको कुपण्डोलस्थित नेवाः राज्य कार्यालयमा हुन लागेको हो। अघिल्लो महिना संसद बाहिर रहेका चार कम्युनिष्ट पार्टीको संयुक्त रणनीतिक मोर्चा बनेको थियो ।

    उक्त मोर्चामा वैद्य नेतृत्वको नेकपा– क्रान्तिकारी माओवादी, विप्लव नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी क्रान्तिकारी पार्टी र ऋषि कट्टेल नेतृत्वको नेकपा रहेका छन्।

  • नेता सुदर्शनलाई भेट्न नख्खु कारगारमै पुगे विप्लव

    नेता सुदर्शनलाई भेट्न नख्खु कारगारमै पुगे विप्लव

    काठमाडौं । आफ्ना पार्टीका नेता भेट्न नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नख्खु कारगार पुगेका छन्। विप्लवले शनिबार नख्खु कारगारमा थुनामा रहेका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई भेटेका हुन्।

    ओलीलाई भेट्न विप्लवसहित खड्गबहादुर विश्वकर्मा र उदयबहादुर चलाउने समेत गएका थिए। शुक्रबार सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको तीनबुँदे सहमतिमा सबैलाई रिहा गर्ने सहमति भएको थियो ।

    नख्खुस्थित एनसेल कार्यालयको गेटमा भएको बम विस्फोटमा संलग्न भएको आरोपमा ओली पक्राउ परेका थिए। २०७५ चैतमा काभ्रेबाट पक्राउ परेका उनी त्यसयता पुर्पक्षका लागि थुनामा छन्।

    सरकारले प्रक्रिया पुरा गरेर थुनामा रहेका विप्लवका सबै कार्यकर्तालाई रिहा गर्ने बताएको छ।

  • मन्त्री निवास पुगेर विप्लवले भेटे बादल, कार्यकर्ता रिहाइ र मुद्दा फिर्ताबारे छलफल

    मन्त्री निवास पुगेर विप्लवले भेटे बादल, कार्यकर्ता रिहाइ र मुद्दा फिर्ताबारे छलफल

    काठमाडौं । सरकारसँग तीनबुँदे सहमति गरेको भोलिपल्ट नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग उनकै निवासमा पुगेर भेटेका छन् । शनिबार बिहान गृहमन्त्री निवास पुल्चोकमा करिब एक घण्टा छलफल भएको हो।

    छलफलमा कार्यकर्ता रिहा, मुद्दा फिर्ता लगायतका विषयमा कुराकानी भएको गृहमन्त्री थापाका प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी दिए।

    ‘समसामयिक विषयमा छलफल भएको हो,’ उनले नेपाल प्रेससँग भने, ‘कार्यकर्ता रिहा, मुद्दा फिर्ता लगायत अन्य कानूनी कुरा कसरी सल्टाउने भन्ने विषयमा कुराकानी भयो ।

    सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच शुक्रबार तीन बुँदे सहमतिमा हस्ताक्षर भएको थियो।

    उक्त सहमतिमा विप्लवले शान्तिपूर्ण राजनीतिको बाटो अँगाल्ने र सकारले विप्लवको पार्टीमाथि लगाएको प्रतिबन्ध फुकवा गरेर गिरफ्तार भएका कार्यकर्ता रिहा गरिदिने लगायतका विषय छन्।

  • विप्लवको प्रशंसा गर्दै ओलीले भने- साहसिक काम गर्नुभयो, बधाई छ

    विप्लवको प्रशंसा गर्दै ओलीले भने- साहसिक काम गर्नुभयो, बधाई छ

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी शान्तिपूर्ण राजनीतिमा आउनु ऐतिहासिक काम भएको बताएका छन् । उनले नेपाल ‘अन्तिम किस्तामा’ शान्तिपूर्ण युगमा प्रवेश गरेको घोषणा गरे ।

    विप्लव समूहसँग सरकारले गरेको तीनबुँदे सम्झौतामा हस्ताक्षरपछि बोल्दै ओलीले यस्तो घोषणा गरेका हुन् ।

    उनले भने, ‘ऐतिहासिक काम भएको छ । अब नेपालमा हिंसात्मक द्वन्द्व छैन । नेपालमा हिंसात्मक आन्दोलनको कार्यदिशा कसैले पनि अवलम्बन गरिरहेको छैन । अर्थात् नेपाल शान्तिपूर्ण देश हो र यहाँ शान्ति छ ।’ केही दिनअघि संयुक्त राष्ट्रसंघको मूल्यांकनमा नेपाल शान्तिको पारामिटरमा अगाडि देखिएको सन्दर्भ उनले प्रस्तुत गरे ।

    ‘राष्ट्रसंघको शान्ति पारामिटरमा नेपाल शान्तिको मापदण्डमा अमेरिका, भारत, पाकिस्तानजस्ता देशहरुभन्दा धेरै अगाडि थियो । झन् भरे बेलुका राष्ट्रसंघले मूल्यांकन गर्‍यो भने के भन्ला ?’

    कार्यक्रममा ओलीले विप्लवको प्रशंसा गर्दै उनले साहसिक कदम चालेको बताए ।

    ‘म विप्लवजीलाई बधाई दिन चाहन्छु, उहाँले साहसिक कदम चाल्नुभएको छ । एउटा बाटोमा हिंडिरहँदा कार्यकर्तालाई मोड्न गाह्रै हुन्छ । उहाँले सफलतापूर्वक गर्नुभयो । यो फोर्सल्यान्डिङ होइन, क्रयासल्यान्डिङ होइन, सेफल्यान्डिङ हो ।’

    ओलीले १०/१२ वर्ष अगाडि नै विप्लवसँग भेटेर आफूले लामो छलफल गरेको खुलासा गरे ।

    ‘हामीबीच त्यो बेला एक/डेढ घण्टा गहन छलफल भएको थियो । हामीबीच विश्वासको बीउ रोपिएको त्यही छलफलबाट हो’, ओलीले भने ।

    सम्वोधनको शुरूआतमा नै ओलीले भर्खरै जेलबाट छुटेर आएका विप्लव समूहका नेता धमेन्द्रलाई बधाई दिएका थिए । ठट्टा गर्दै ओलीले भने, ‘धमेन्द्रजीलाई बधाई छ, यति छिट्टै जेलबाट निस्कन पाए पो । आफू त १४ वर्ष…’

  • विप्लवले भने – कम्युनिष्ट शान्तिदूत पनि हुन्, तीनबुँदेमा प्रतिबद्ध छौं (भिडियो)

    विप्लवले भने – कम्युनिष्ट शान्तिदूत पनि हुन्, तीनबुँदेमा प्रतिबद्ध छौं (भिडियो)

    काठमाडौं । मूलधारकाे राजनीतिमा प्रवेश गरेको नेत्रविक्रम चन्द विप्लवले कम्युनिष्टहरु विद्रोही मात्र नभएर शान्तिदूत पनि भएको बताएका छन् । सरकारसँग तीनबुँदे सहमतिमा हस्ताक्षर लगत्तै भाषण गर्दै उनले यसलाई ‘घाम र जूनको मिलन’ को संज्ञा दिए ।

    राष्ट्रिय सभागृहमा आयोजित हस्ताक्षर समारोहमा बोल्दै विप्लवले भने, ‘हामी कम्युनिष्टहरु विद्रोही हौं । तर बदलिएको परिस्थिति र राज्यले आफ्नो भूमिका पूरा गरेको अवस्थामा कम्युनिष्टहरु शान्तिका दूत पनि हुन् ।’

    उनले तीनबुँदेमा नेकपा प्रतिबद्ध रहेको बताए । ‘यसमा आशंका र कुतर्क गर्न जरुरी छैन । हामी तीनबुँदेमा प्रतिवद्ध छौं,’ उनले भने ।

    उनले एउटा देउडा गीतलाई उद्धृत गर्दै अहिलेको सन्दर्भलाई ‘घाम र जूनको भेट’ का रुपमा संज्ञा दिए । प्रधानमन्त्री केपी ओलीसँग यसअघि पनि भेट र कुराकानी भएको उनले बताए ।

    उनले सुनाए, ‘मैले उहाँलाई भनेको थिएँ, तपाईंहरूले नेतृत्व गर्नुस् । हामी कसैको भाग खोसेर, हमला गरेर होइन, जनताको श्रममाथि उभिएर देश बनाउनेछौं । हाम्रो छलफल भएको थियो ।’

    सरकार र आफूहरु दुवैले जिम्मेवारी पूरा गरेको महसूस भएको उनले बताए । विप्लवले शहीदको सपना मर्न नदिने प्रतिबद्धता पनि जनाएका छन् ।

  • सरकार र विप्लव समूहबीच तीनबुँदे सहमतिमा हस्ताक्षर

    सरकार र विप्लव समूहबीच तीनबुँदे सहमतिमा हस्ताक्षर

    काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीबीच तीनबुँदे सहमतिमा हस्ताक्षर भएको छ ।

    सहमति अनुसार विप्लव नेतृत्वको नेकपाले आफ्नो शान्तिपूर्णरुपमा सञ्चालन गर्न तयार भएको छ ।

    सहमतिको पहिलो बुँदामा दुवै पक्ष देशका राजनीतिक समस्या वार्ता र संवादबाट समाधान गर्न सहमत भएको उल्लेख छ । दोस्रो बुँदामा नेकपाले आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्णरुपमा सञ्चालन गर्न भनिएको छ ।

    यस्तै तेस्रो बुँदामा विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने, कारागारमा रहेका कार्यकर्ताको रिहाइ गर्ने र सम्पूर्ण मुद्दा खारेज गरिने भनिएको छ ।

    सहमतिपत्रमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र विप्लव समूहका तर्फबाट खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् ।

  • जब भयो बालुवाटारमा विप्लवको इन्ट्री (तस्बिरहरु)

    जब भयो बालुवाटारमा विप्लवको इन्ट्री (तस्बिरहरु)

    दुई वर्षपछि सार्वजनिक भएका नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रधानमन्त्री केपी शर्मा ओलीबीच एक्ला-एक्लै वार्ता भएको छ ।

    दुईजनाबीच भेटपछि सहमतिपत्रमा हस्ताक्षरका लागि आयोजित विशेष समारोहमा दुवैजना राष्ट्रिय सभागृह गएका छन् ।

  • विप्लव बालुवाटारमा, प्रधानमन्त्रीकै गाडीमा सभागृह जाँदै

    विप्लव बालुवाटारमा, प्रधानमन्त्रीकै गाडीमा सभागृह जाँदै

    काठमाडौं । २ वर्षपछि सार्वजनिक भएका नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रधानमन्त्री केपी शर्मा ओलीबीच एक्ला-एक्लै वार्ता भएको छ ।

    काठमाडौं आएलगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता टोली सहित पुगेका विप्लवले प्रधानमन्त्रीसँग भने एक्लै भेट गरेका हुन् ।

    केहीबेर दुई नेताबीच वार्तापछि सँगै राष्ट्रियसभागृहमा जाने तयारी भइरहेको बालुवाटार स्रोतले जनाएको छ । विप्लव र प्रधानमन्त्री एउटै गाडी चढेर सभागृहमा संयुक्त हस्ताक्षर र सम्बोधनका लागि जाँदैछन् ।

  • रिहाइलगत्तै काठमाडौंमा विप्लवलाई भेट्न पुगे धर्मेन्द्र

    रिहाइलगत्तै काठमाडौंमा विप्लवलाई भेट्न पुगे धर्मेन्द्र

    काठमाडौं । सरकारले प्रतिबन्ध फुकुवा गरेपछि रिहा भएका विप्लव समूहका नेता धर्मेन्द्र बास्तोलाले महासचिव नेत्रविक्रम चन्दलाई भेटेका छन् । धर्मेन्द्र चन्दपछिका दोस्रो तहका नेता हुन् ।

    सरकारसँग वार्तामा तीन बुँदे सहमति भएसँगै सार्वजनिक हुन काठमाडौं आइपुगेका विप्लवलाई भेट्न धर्मेन्द्र काभ्रेबाट सीधै काठमाडौं आएका हुन् ।

    विप्लव केही बेरअघि काठमाडौं आइपुगेका छन् । नवलपरासीबाट आएर सामाखुसी बसेका विप्लवलाई सरकारसँगको वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’,उदय चलाउने ‘दीपक’ ले पनि भेटेका छन् ।

    केहीबेरपछि सरकारसँग भएको सहमतिमा हस्ताक्षर गर्दै विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एकै मञ्‍चबाट सम्बोधन गर्दैछन् ।

    तस्बिर : प्रकाश डुम्रे

  • विप्लवपछिका नेता धर्मेन्द्र बास्तोला काभ्रेबाट रिहा

    विप्लवपछिका नेता धर्मेन्द्र बास्तोला काभ्रेबाट रिहा

    काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोला सरकारकासँगको सहमति बमोजिम शुक्रवार काभ्रेबाट रिहा भएका छन् । उनलाई माथिको निर्देशन बमोजिम काभ्रे प्रहरीले रिहा गरेको हो ।

    शुक्रबार ११ औं दिनमा बास्तोला काभ्रे प्रहरीको हिरासतबाट रिहा भएका हुन् । बास्तोलालाई उनकी श्रीमती हिमा र ज्वाइँ गणेश भण्डारीको जिम्मा लगाएर प्रहरीले पठाएको छ ।

    यसअघि सर्वोच्च अदालतले बास्तोलालाई रिहा गर्न आदेश दिए पनि गेटबाटै पुनः पक्राउ गरी काभ्रे पुर्‍याइएको  थियो ।

    बिहीबार सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भएसँगै गृहमन्त्रालयले सो समूहका नेताहरुलाई रिहा गर्न सर्कुलर गरेको थियो ।

  • नवलपरासीमा सार्वजनिक भए विप्लव, दिउँसो काठमाडौं आइपुग्ने

    नवलपरासीमा सार्वजनिक भए विप्लव, दिउँसो काठमाडौं आइपुग्ने

    काठमाडौं । सरकारसँगको वार्ता सफलपछि प्रतिबन्ध हटेको नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव आज नवलपरासीबाट सार्वजनिक भएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीसँगै सहमतिमा हस्ताक्षर गर्न काठमाडौं आउन लागेका विप्लवलाई नवलपरासीका पार्टी कार्यकर्ता र शहीद परिवारले स्वागत गरेका छन् ।

    उनी त्यहाँ शहीद परिवारलाई भेटेर काठमाडौं आउन लागेको विप्लव सम्बद्ध पत्रकार संगठनका निवर्तमान अध्यक्ष प्रकाश डुम्रेले बताएका छन् ।

    विप्लवलाई सरकारले हेलिकोप्टर लिन पठाउने भने पनि उनी गाडीबाट अपरान्ह १२ बजेसम्म काठमाडौं आउने तय भएको छ । आजै २ बजे दिउँसो प्रधानमन्त्री ओली र महासचिव विप्लवले सहमतिपत्रमा हस्ताक्षरसहित एउटै मन्चबाट सम्बोधन गर्दैछन् ।

  • संसद बैठकअघि नै वार्ता टुंग्याउने तयारी, बहसमा अन्तरिम सरकार !

    संसद बैठकअघि नै वार्ता टुंग्याउने तयारी, बहसमा अन्तरिम सरकार !

    काठमाडौं । सरकार र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबीच फागुन २३ को संसद अधिवेशन शुरु हुनुअघि नै शान्ति वार्ता टुंग्याउने गरी छलफल अघि बढेको छ । वार्ताबाट हुने सहमतिको मस्यौदा पहिले नै तयार भइसकेको छ, जसलाई दुवै पक्षले वार्ता टुंगो नलागी ‘लिक नगर्ने’ समझदारी गरेका छन् ।

    जसरी वार्ता टोली गठन र वार्ता शुरुवात एकाएक गरियो त्यसैगरी सहमति पनि आश्चर्यजनक ढंगबाट सार्वजनिक गर्ने समझदारी बनेको वार्ता टोली सम्बद्ध स्रोतले जनाएको छ । स्रोतका अनुसार सकेसम्म प्रतिनिधिसभाको बैठक बस्नुअघि नै सरकार र विद्रोही पक्षबीच वार्ता सफल भएको घोषणा गरिनेछ ।

    स्रोतले भन्यो–हामीले सबै तयारी र होसियारीसाथ कदम चालेका छौं । अहिले केही कुरा बाहिर नलाने सहमति छ तर पनि एक दुई दिनभित्रै हामी जनतालाई एउटा सकारात्मक समाचार दिन्छौं । हुनसक्छ संसद अधिवेशन अघि नै त्यो आउँछ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ता टोलीलाई संसद अधिवेशनमा जाँदाखेरि यो महत्वपूर्ण उपलब्धि पनि जनतालाई सुनाउने गरी वार्ता अघि बढाउन निर्देशन दिएको बताइन्छ । आफ्नै पार्टीबाट विभाजित पक्षले (विशेषतः प्रचण्ड)ले यो वार्ता नहोस् भन्ने चाहेको बेला दुवै पक्ष सहमति नजिक पुगिएकाले यसबाट मुलुकको राजनीतिले अर्को कोर्ष लिन सक्ने दावी एक मन्त्रीले गरे ।

    उनले भने–यो वार्ता नहोस् भनेर भाँड्न प्रचण्डजीले धेरै सूत्र परिचालन गर्नुभएको थियो । त्यसैले हामीले सबै कुरा गोप्य ढंगले अघि बढायौं र अब सहमति पनि सकारात्मक दिशाबाटै हुन्छ भन्ने छ । विप्लवजीहरुले अन्तरिम सरकारको कुरा गर्नुभएको छ त्यसमा बाबुराम भट्टराईको संकेत राम्रो आइसक्यो,अब कांग्रेसलगायत अन्य दलसँग पनि छलफल गर्नुपर्ने हुन्छ ।

    सिके राउतको पृथकतावादबाट मुलुकलाई मुक्त गरेजस्तै अब विप्लवको हिंसाबाट शान्तिपूर्ण राजनीतिमा ल्याउन मूलधारका शक्तिले ‘केही स्पेस’ दिनुपर्ने सरकारका ती मन्त्रीले बताए । त्यो स्पेस भनेको सबै राजनीतिक दल र शक्ति सम्मिलित अन्तरिम सरकार हुँदै निर्वाचनमा जाने हुनसक्ने उनको भनाइ छ ।

    यी बाहेक विप्लव समूहका जेलमा रहेका नेता कार्यकर्ता छुटाउने, मुद्दा फिर्ता लिने र विप्लव समूहले हतियार बुझाउनु पर्ने जस्ता प्राविधिक विषयमा कुनै समस्या नरहेको वार्ता टोलीका सदस्यहरु बताउँछन् । अदालतमा मुद्दा चलिरहेकाको हकमा प्रक्रिया पुर्याउनुपर्ने भएकाले त्यसले केही समय लिनसक्छ ।

    जघन्य अपराधको मुद्दा खेपिरहेकाको हकमा सरकारले मुद्दा फिर्ता लिन सक्दैन । त्यसबाहेक धेरै कुरा मिलिसकेको र एक दुई दिनभित्रै सकारात्मक परिणाम आउने बताइएको छ ।

    सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा (बादल)ले धेरै सैद्धान्तिक र प्राविधिक विषय सहमति नजिक रहेको र केही विषयमा छलफल जारी रहेकाले छिट्टै सुखद परिणाम आउने बताएका छन् ।

    दुवै वार्ता टोलीबीच बुधबारै दुई चरणमा वार्ता भएको थियो । विप्लव वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा र उदय चलाउने दुवैजना विगतमा बादल समूहकै नेता रहेकाले पनि वार्तामा कुनै पनि असहजता नदेखिएको स्रोतले जनाएको छ ।

  • विप्लवका एजेण्डा- संयुक्त सरकारदेखि जनमत संग्रहसम्म, कति लचक बन्ला सरकार ?

    विप्लवका एजेण्डा- संयुक्त सरकारदेखि जनमत संग्रहसम्म, कति लचक बन्ला सरकार ?

    काठमाडौं । प्रतिबन्ध लगाएको दुई वर्षपछि सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ दुवै पक्षले आज वार्ता टोली सार्वजनिक गरेका छन् ।

    औपचारिकरूपमा वार्ता टोली सार्वजनिक भएसँगै सशस्त्र संघर्ष गरिरहेको चन्द नेतृत्वको नेकपा खुला राजनीतिसँगै शान्तिपूर्ण प्रक्रियामा आउने वातावरण देखिएको छ ।

    सरकारी वार्ता टोलीमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ संयोजक र प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई सदस्य छन् । विप्लव नेतृत्वको नेकपाले प्रवक्ता खड्गबहादुर विश्वकर्मा संयोजक रहने गरी केन्द्रीय सदस्य उदय चलाउने ‘दीपक’सदस्य रहेको दुई सदस्यीय वार्ता टोली सार्वजनिक गरेको छ ।

    विप्लवले फागुन ८ गते विज्ञप्तिमार्फत सहज वातावरण बने वार्ताको लागि तयार रहेको सार्वजनिक गरेसँगै सरकार र चन्द समूहबीच वार्ताको गृहकार्यले सघनरूप लिएको थियो । तर, मन्त्री र सो समूहका नेतृत्वबीच केही महिनादेखि अनौपचारिक छलफल भइरहेको थियो ।

    माघ २० गते खानेपानीमन्त्री मणि थापा र नख्खु कारागारमा रहेका विप्लव समूहका नेता हेमन्तप्रकाश वलीको भेटघाट वार्ताको वातावरण बनाउनेतर्फ केन्द्रित थियो ।

    प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापाले विप्लव समूहलाई चाँडै मूलधारमा ल्याइने बताइरहेका थिए । सँगै प्रधानमन्त्रीले विप्लवसँग वार्ता गरेर सरप्राइज दिन लागेको उच्चस्तरीय केही बैठकमा खुलाएका थिए ।

    तीन महिनाअघि मंसिर २०-२८ मा बसेको केन्द्रीय कमिटी बैठकबाटै राजनीतिक दलहरूसँग छलफल र आवश्यक परे सरकारसँगै संवाद अघि बढाउन विप्लव समूहले प्रकाण्डको नेतृत्वमा सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र उपत्यका ब्यूरो इन्चार्ज चिरन पुन रहेको एक उच्चस्तरीय कार्यदल बनाएको थियो । तर, धर्मेन्द्र हाल प्रहरी हिरासतमा रहेकाले वार्ता टोली सदस्यमा हेरफेर भएको हो ।

    तर, बास्तोला पक्राउ परेपछि वार्ता प्रक्रिया केही ‘ब्रेक’लागेको सगरमाथा ब्यूरोका एक नेता बताउँछ । वार्तामा सरकार कत्तिको गम्भीर हुन्छ त्यसैले यो वार्ता सफल हुने/नहुने भर पर्ने उनले नेपाल प्रेससँग भने ।

    ‘दोस्रो तहकै नेता ‘डाइलग’ मा बस्न लाग्नुभएको छ । वार्ताप्रति हाम्रो गाम्भीर्य कति छ भन्ने यसले नै पुष्टि गर्छ । अब बल सरकारको कोर्टमा छ’, उनले भने ।

    विप्लवको माग- संयुक्त सरकारदेखि जनमत संग्रहसम्म

    विप्लव समूहले पार्टीमाथि लगाइएको प्रतिबन्ध फुकुवा हुनुपर्ने, जेल र हिरासतमा रहेका नेता/कार्यकर्ताहरूलाई रिहा गर्नुपर्ने । उनीहरूमाथिको मुद्दा फिर्ता लिइनुपर्नेलगायतका सर्त अघि सारेको छ ।

    अग्रगामी राजनीतिक निकासको लागि अग्रगमन चाहने प्रगतिशीलहरूको संयुक्त अन्तरिम सरकार सो समूहको प्रमुख राजनीतिक एजेण्डा छ । जनयुद्ध दिवसको दिन गत फागुन १ मा विप्लवले जारी गरेको वक्तव्यमा संसदीय व्यवस्था असफल भएकोले पुन: त्यही दिशामा लैजाने ‘जनअपेक्षित निकास’ हुन सक्दैन भनेका छन् ।

    विज्ञप्तिमा विप्लवले ‘सार्वभौमसम्पन्‍न जनताको जनमतबाट वैज्ञानिक समाजवाद र पूँजीवादको फैसला गर्ने नेतृत्व दिनसक्ने वैकल्पिक सरकारको आवश्यकता’ औंल्याएका छन् ।

    तीनै मुद्दालाई सशक्तरूपमा उठाउन भनी मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्टसँग विप्लव नेतृत्वको नेकपाले संयुक्त रणनीतिक मोर्चा निर्माण गरेको थियो ।

    ‘वार्ताकै माध्यमबाट समाधान खोज्न हामी तयार छौं । तर, यसका लागि सहज वातावरण बनाउने काम सरकारको हो । सबैभन्दा पहिले हाम्रो पार्टीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्छ । पक्राउ परेका कार्यकर्ताको रिहा र लगाइएको मुद्दा खारेज हुनुपर्छ, ब्यूरो स्रोतले भन्यो ।’

    मागबारे के भन्छ सरकार ?

    वार्ता टोली सार्वजनिक गर्दै सरकारका प्रवक्ता सूचना तथा संचार मन्त्री पार्वत गुरुङले विप्लव समूहले उठाएका सबै माग वार्ताकै क्रममा टुंगो लाग्ने बताएका छन् । ‘यो सबै वार्तामार्फत नै टुंगिन्छ’ उनको भनाइ छ, ‘कसरी जाने, के गर्ने ? उहाँलाई लागेको मुद्दा होस् । उहाँको हतियारको कुरा होस् । यी सबैलाई अन्तिम प्रक्रियामा पुर्‍याउनका निम्ति वार्ता टोली गठन गरिएको हो । वार्ताभन्दा अघि नै सबै कुरा गर्ने हो भने वार्ताको औचित्य नै समाप्त हुन्छ ।’

    वार्ता टोलीका सदस्य राजन भट्टराई पनि विप्लवको माग वार्ताकै टेबलबाट सम्बोधन गर्ने बताउँछन् । ‘हामीले उहाँहरूको पत्र पाइसकेका छौं । उहाँहरूको एजेण्डाबारे अन्दाजको भरमा अहिले टिप्पणी गर्नु हतारो हुन्छ । वार्तामा बसिसकेपछि के एजेण्डा आउँछ छलफल त्यही अनुसार अगाडि बढ्छ’, भट्टराईले नेपाल प्रेससँग भने ।

    श्याम श्रेष्ठको टिप्पणी- स्वार्थपूर्ण वार्ता !

    वाम विश्लेषक श्याम श्रेष्ठले भने दुवै पक्षले वार्तालाई आ-आफ्नो स्वार्थको रूपमा लिएको टिप्पणी गरेका छन् ।

    ‘वार्ता के निष्कर्षमा टुंगिन्छ भन्ने केही भन्न सक्ने अवस्था छैन विप्लवले आफूलाई वैधता प्राप्त गर्न वार्ता गर्न लागेको देखिन्छ । ओलीले पनि सबैतिरबाट अवैध भएर एक्लिएको बेला वार्ता गरेर जस लिन खोजेको देखिन्छ’, श्रेष्ठले भने ‘प्रतिक्रान्तिको नायक भनेर सबैतिरबाट आलोचित भइसकेका ओलीसँग क्रान्तिकारी विप्लवको वार्ता के र कसरी ? यो प्रश्न चाहीँ उठ्छ । मिडिया, नागरिक समाज, बाैद्धिक समुदाय र सबै पार्टीबाट एक्लिएको छ सरकार । यो बेला उद्देश्य अर्कै राखेर वार्ता गर्न खोजेको देखिन्छ ।’

    दुई वर्षमा दुई हजार बढी पक्राउ, १४४ जना अझै थुनामा

    श्रृंखलावद्ध विस्फोट र टेलिफोन टावरमा आगजनीपछि सरकारले दुई वर्षअघि २०७५ फागुन २८ गते विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धित अवस्थामा सो समूहले निकै क्षति व्यहोरेको छ । प्रतिबन्ध लगाउनु १८ दिनअघि फागुन १० यता हिजोसम्म सो समूहका २ हजार ९८ नेता/कार्यकर्ता पक्राउ परेका छन् ।

    प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरका अनुसार यो अवधिमा सबैभन्दा बढी लुम्बिनी प्रदेशबाट ३७६ जनालाई पक्राउ गरिएको छ । त्यस्तै २ हजार ७ वटा मुद्दा दर्ता गरिएको छ । १ हजार ८६४ जना मुद्दाको किनारा लागेर छुटिसकेका छन् । प्रहरीको तथ्यांक अनुसार १२६ जनालाई पुर्पक्षका लागि थुनामा राखिएको छ । अहिले १८ नेता तथा कार्यकर्ता विभिन्न जिल्लाका प्रहरी हिरासतमा छन् ।

    यही बीचमा १६ जना नेता तथा कार्यकर्ताहरूको मृत्यु भएको छ । मृत्यु हुनेमा बढी विस्फोटबाट ७ जना छन् । प्रहरी कारवाहीमा ४ जना मारिएका छन् ।

  • प्रचण्डविरुद्धको मोर्चामा बादल- विप्लव सम्बन्धका उतारचढाव

    प्रचण्डविरुद्धको मोर्चामा बादल- विप्लव सम्बन्धका उतारचढाव

    काठमाडौं । माओवादी सशस्त्र युद्धका दुई कमाण्डर रामबहादुर थापा ‘बादल’ र नेत्रविक्रम चन्द ‘विप्लव’को एउटा निकै चर्चित तस्बिर छ ।

    तस्बिरमा बादल थकित भएर बसिरहेका छन् भने विप्लव लट्ठी टेकेर हाँसिरहेका देखिन्छन् । पत्रकार जीवन हमालले कैद गरेको यो तस्बिरले उनीहरूबीच सम्बन्धको हार्दिकताको तह पनि झल्काउँछ ।

    यद्यपि यो तस्बिर हालको नभई करिब आठ वर्ष अघिको हो । २०६९ को जनयुद्ध दिवस मनाउन बादल, विप्लव, सीपी गजुरेल र इन्द्रमोहन सिग्देल रोल्पाको थवाङ जाँदै गर्दा त्यहाँको भेडीखर्कको खोलामा उनीहरूले विश्राम लिइरहेका बेलाको तस्बिर कैद भएको थियो ।

    राजनीतिमा ‘स्थायी शत्रु र मित्र’ हुँदैनन् भनिन्छ । विप्लव र बादलबीचको सम्बन्धमा पनि धेरै उतारचढाव आए । तस्बिरमा देखिए जस्तो हार्दिकता भने स्थायी रहेन ।
    हुन त उतिबेलै विप्लवले ठट्टायुक्त शैलीमा बादलका लागि चुनौतीको संकेत गरेका थिए । विप्लवले भनेका थिए, ‘तपाईंजस्ता सिनियरलाई उकाली–ओरालीले समस्या गरायो । अब पार्टी युवालाई जिम्मा लगाउनुप¥यो, होइन र बादल दाइ ?’ जवाफमा बादलले मौनता मात्रै प्रकट गरेका थिए ।

    त्यसयता पनि राजनीतिमा धेरै उथलपुथल आइसकेको छ । बादल–विप्लवको राजनीतिक सम्बन्धले पनि धेरै उकाली–ओराली पार गरिसकेको छ ।

    बादलकै नेतृत्वमा प्रतिबन्ध र वार्ता

    माथि नै भनियो, बादल–विप्लवको राजनीतिक सम्बन्धमा एकनाशको हार्दिकता छैन । बादल नै हुन्, जसले विप्लव नेतृत्वको पार्टीमाथि प्रतिबन्ध लगाएका थिए भने अहिले उनैसँग वार्ताको जिम्मा पाएका छन् ।

    विप्लवसँग वार्ता गर्न सरकारले मंगलबार गृहमन्त्री बादलको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली बनाएको छ । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई टोलीको सदस्य छन् ।

    विप्लवले पनि पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को नेतृत्वमा दुई सदस्य रहेको वार्ता टोली बनाएको छ । वार्ता टोलीका अर्का सदस्यमा उदय चलाउने ‘दीपक’ रहेका छन् ।

    पछिल्लो कालखण्डमा बादल–विप्लवबीचको राजनीतिक सम्बन्धमा नमीठोपना मात्रै बेसी छ । बादलले गृह मन्त्रालयको कमाण्ड सम्हालेकै बेला २८ फागुन २०७५ मा सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगायो ।
    सरकारले विप्लवलाई पक्राउ गर्न ‘वारेन्ट’ नै जारी गर्यो । त्यसको प्रत्युत्तरमा विप्लवले पनि प्रधानमन्त्री केपी शर्मा ओली र आफ्ना पूर्व सुप्रिमो पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध पक्राउ पुर्जी जारी गरे ।

    प्रतिबन्धको यो दुई वर्षमा विप्लवलाई नै बढी क्षति भयो । खुला राजनीतिक क्रियाकलाप गर्न विप्लवलाई सकस भयो । उच्च तहका नेतादेखि सामान्य कार्यकर्ता गरी दुई हजारभन्दा बढीको गिरफ्तारीले उनलाई रक्षात्मक अवस्थामा पुर्यायो । बम बनाउने क्रममा आन्तरिक दुर्घटना र प्रहरी कारबाहीमा धेरै कार्यकर्ताले ज्यान गुमाए ।

    यही मेसोमा अहिले सरकार र विप्लव वार्तामा जुटेका छन् । यसलाई धेरैले सकारात्मक रूपमा समेत लिएका छन् । तर, यसलाई राजनीतिक दाउपेचका रूपमा कतै प्रयोग गर्न खोजिएको त होइन भन्ने आशंका पनि छ ।

    ‘सरकार र विप्लव समूह वार्ता टोली गठन गर्दै संवाद राजनीतिक समस्याको निकास खोज्न अग्रसर हुनु सकारात्मक छ’, प्रचण्ड–माधव पक्षीय केन्द्रीय सदस्य विष्णु रिजालको भनाइ छ, ‘वार्तालाई दाउपेचका रूपमा नभई परिणाममुखी बनाउन सफलताको कामना गरौं ।’

    सरकारले विप्लवसँग यसअघि पनि वार्ताको प्रयास गरेको थियो । नेकपा नेता सोमप्रसाद पाण्डेको नेतृत्वमा वार्ता टोली बनाइएको भए पनि त्यसले सफलता पाउन सकेन । अहिले देशको राजनीति तरल रहेका बेला पुनः दुवै पक्ष वार्ताका लागि तयार भएका छन् ।

    पूर्व माओवादी विद्यार्थी नेता एवम् हाल प्रचण्ड–माधव पक्षीय के्न्द्रीय सदस्य रहेका रामदीप आचार्य दुवै पक्ष आफ्नो डुब्न लागेको साख बचाउन र लोकप्रियताको खोजीका लागि वार्तामा जुटेको विश्लेषण सुनाउँछन् ।

    विप्लव तयार हुनुको कारणबारे उनको विश्लेषण छ– विप्लवले भनेको एकीकृत क्रान्ति अमूर्त, अपरिभाषित र गन्तव्यविहीन थियो । त्यसैले उहाँलाई कुनै न कुनै किसिमको ‘सेफ ल्यान्डिङ’को आवश्यकता पर्यो होला । उहाँलाई आफूले भनेको एकीकृत क्रान्तिको ढाँचा पूरा हुँदैन भन्ने लाग्यो होला । त्यसैले अहिले धेरै लाभ लिनभन्दा पनि शक्ति क्षय भएका बेला शक्ति बटुल्ने रणनीति हुनसक्छ ।’

    अनि सरकार तयार हुनुको कारणबारे विश्लेषण गर्दै उनी भन्छन्– ‘सरकारले चालेको पछिल्लो कदमलाई सर्वोच्चले बदर गरिसकेपछि सरकार चौतर्फी घेराबन्दी र संकटमा परेको छ । यही बेला सहानुभूति बटुल्न यो प्रयत्न गरेको हो ।’

    बादल–विप्लव सम्बन्धको विगत

    कुनै समय एकै स्कूलिङबाट हुर्किएका यी दुई नेताबीच करिब १२ वर्ष उमेरको फरक छ । त्यत्तिकै अन्तर राजनीतिमा पनि छ ।

    विप्लव र बादलले १६ वर्ष एउटै पार्टीको केन्द्रीय कमिटीमा बसेर काम गरे । बादल तत्कालीन नेकपा मशाल (मोटो मशाल) हुँदै २०४२ सालमा केन्द्रीय सदस्य बने भने विप्लव त्यसको १३ वर्षपछि २०५५ सालमा मात्रै माओवादीको केन्द्रीय समितिमा पुगेका थिए ।

    विप्लवले विद्यार्थी मोर्चाबाट राजनीति शुरू गरेका थिए भने बादलले पार्टी आन्तरिक मोर्चाबाट । बादलले माओवादीले जनयुद्ध शुरूआत गर्नुअघि चलाएको रोल्पा–रुकुममा ‘सिज’ अभियानको नेतृत्व गरेका थिए ।

    जसले माओवादी सशस्त्र युद्धको आधार तयार गर्न सहयोग पुर्याएको ठानिन्छ भने त्यही अभियानले बादल माओवादी जनयुद्धको सर्वाधिक लोकप्रिय फिगर बने । विप्लव भने त्यो बेला काठमाडौंमा थिए । उनी त्यो बेला विद्यार्थी संगठनको केन्द्रीय उपाध्यक्ष तथा पार्टी ललितपुर जिल्ला सेक्रेटरी थिए ।

    दुवैलाई चिन्ने बादल र विप्लवबीचको सम्बन्ध पहिल्यैदेखि नै त्यति गाढा र घनिष्ट नभएको बताउँछन् । माओवादी शान्ति प्रक्रियामा आएपछि बनेको चर्चित धोबीघाट गठबन्धनपछि मात्रै उनीहरूबीच हिमचिम बढेको हो।

    हाल लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रहेका कुलप्रसाद केसी बादल र विप्लव दुवैसँग नजिकको सम्बन्धमा थिए । उनी दुवै नेताको फरक स्वभावको विश्लेषण राम्ररी गर्छन् ।

    उनका अनुसार सबै कुरा आफैंमा केन्द्रीकरण गर्न खोज्ने र आफूलाई लागेको काममा दृढ भएर लागिपर्ने स्वभाव विप्लवको छ । उनका अनुसार बादलमा भने बहसमा राम्रोसँग सहभागी हुने, निर्णायक बेलामा बीचको भूमिका खेल्ने र अन्तिममा ‘बोल्ड डिसिजन’ लिने स्वभाव छ ।

    जनुयद्धकालमा सँगै बसेर काम गर्न नपाएकाले उनीहरूबीच खासै मतभेद पनि थिएन । तर, शान्ति प्रक्रियामा आएपछि भने त्यो अदृश्य रूपमा देखापर्यो ।
    २०६९ असार ३ गते प्रचण्ड नेतृत्वको माओवादीमा विभाजन आयो । सोही वर्ष भएको महाधिवेशनले मोहन वैद्य ‘किरण’लाई अध्यक्ष र बादललाई महासचिव बनायो । विप्लव सचिव भए ।

    मूलतः विप्लवकै जोडबलका कारण किरण र बादल प्रचण्डबाट अलग हुने निर्णयमा पुगेका थिए । नेकपा–माओवादीले २०७० को दोस्रो संविधानसभा निर्वाचन बहिष्कार गर्यो । यसको मुख्य योजनाकार पनि विप्लव नै थिए ।

    विप्लव चुनावलाई नै असफल बनाउन चाहन्थे भने बादल, देव गुरुङ, पम्फा भुसाललगायत नेता केवल प्रचण्डलाई हराउन मात्रै चाहन्थे । यहींबाटै विप्लव र बादलबीच अन्तर संघर्ष शुरू भइसकेको थियो । विप्लव तत्काल क्रान्ति अगाडि बढाउनुपर्ने बताउँथे भने बादल क्रान्ति ‘रोमान्स’मा नहुने तर्क गर्थे ।

    किरणलाई पार्टी संरक्षक बनाएर बादललाई अध्यक्ष र आफू महासचिव बन्ने योजनाले सफलता नपाएका कारणबाट पनि विप्लव असन्तुष्ट थिए । त्यही असन्तुष्टिसँगै नेकपा–माओवादीलाई पनि २०७१ मंसिरमा फुटाए । किरण र बादललाई छाडेर उनले नेकपा गठन गरे र महासचिव बने ।

    अर्कोतिर बादल भने किरणलाई छाडेर पुनः प्रचण्डसँग फर्किए । अहिले बादल प्रचण्ड छाडेर केपी ओलीतिर लागेकै बेला विप्लवले अचानक सरकारसँग वार्ता गर्न चाहनुले कतै प्रचण्डविरुद्धको मोर्चामा बादल र विप्लव फेरि नजिकिएका त होइनन् ? यो प्रश्न पनि उठेको छ ।

    माओेवादी जनयुद्धलाई उत्कर्षमा पुर्याउन पूर्वी मोर्चाबाट बादल र आधार इलाकाबाट विप्लवले निर्णायक भूमिका खेलेका थिए । यी दुवै नेता अनुदारवादी मानिन्थे ।

    आठ वर्षअघि प्रचण्डलाई कमजोर बनाउन एक ठाउँमा उभिएर पार्टी फुटाएका बादल र विप्लव पुनः फरक मोर्चामा सँगै भेटिंदैछन् । यी दुई पक्षबीचको वार्ता यस्तो बेला हुँदैछ, जतिबेला प्रचण्डले केपी ओलीलाई सत्ताच्युत गर्न सबै अस्त्र प्रयोग गरिरहेका छन् ।

    के बादल र विप्लवले प्रचण्डलाई यसपटक पनि कमजोर बनाउन सहकार्य गर्लान् ? यो अनुत्तरित प्रश्न हो ।


    सरकारले विप्लवविरुद्ध जारी गरेको प्रक्राउ पुर्जी ।


    विप्लवले प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध जारी गरेको वारेन्ट ।

  • विप्लवलाई प्रधानमन्त्रीको आग्रह – शान्तिपूर्ण मूलधारको बाटोमा आउनुस्, जनताले जयजयकार गर्छन्

    विप्लवलाई प्रधानमन्त्रीको आग्रह – शान्तिपूर्ण मूलधारको बाटोमा आउनुस्, जनताले जयजयकार गर्छन्

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ लाई शान्तिपूर्ण मूलधारको बाटोमा आउन आह्वान गरेका छन् ।

    सोमबार गण्डकी प्रदेशस्तरीय पार्टीको कार्यकर्ता भेलालाई पोखरामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शान्तिपूर्ण मूलधारको बाटोमा आए विप्लवलाई जनताले जयजयकार गर्ने समेत टिप्पणी गरे।

    ‘विप्लवलाई पनि भन्न चाहन्छु, उहाँहरू हिंडिरहेको बाटो काम लाग्दैन’ प्रधानमन्त्रीको आह्वान छ, ‘त्यो बाटो उचित छैन । यसबाटोमा आउनुहोस् । शान्तिपूर्ण मूलधारको बाटोमा आउनुहोस् तपाईंहरूलाई जनताले जयजयकार गर्छन् । त्यो गलत बाटोमा किन लाग्नुहुन्छ ?’

    विप्लवसँग सरकारले वार्ता गर्ने तयारी भइरहेको चर्चा चलिरहेका बेला ओलीले देशलाई समृद्ध बनाउने बाटोमा लाग्न पनि विप्लवलाई आग्रह गरे । उनको आग्रह छ, ‘सुतली बम पड्काएर किन बस्नुहुन्छ ? देश विकासमा लाग्नुहोस् न । देशलाई समृद्ध बनाउने अभियानमा लाग्नुहोस् न । मान्छेलाई भयरहित बनाउने, एउटा सभ्य देश बनाउने अभियानमा लाग्नुहोस् न । किन तर्साउने अभियानमा लाग्नुहुन्छ ?’

    आफूले विप्लवसँग छिट्टै वार्ता गर्न चाहेको भन्दै ओलीले भने, ‘सरकार तपाईंलाई साथ दिन तयार छ, यो सकारात्मक कदमका लागि । आउनुहोस्, वार्ता गरौं । म चाहन्छु, छिट्टै नै हाम्रो उहाँहरूसँग कुराकानी हुनेछ। र, उहाँहरूले पनि सही बाटो समाउनु हुनेछ ।

  • प्रधानमन्त्री ओलीले भने- विप्लवसँग वार्ताबाटै छिट्टै समस्या समाधान गर्छौं

    प्रधानमन्त्री ओलीले भने- विप्लवसँग वार्ताबाटै छिट्टै समस्या समाधान गर्छौं

    झापा। प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द समूहसँग वार्ताद्वारा समस्याको समाधान छिट्टै हुने बताएका छन् ।

    झापामा ‘नेपाल-चीन मैत्री औद्योगिक पार्कको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले वार्ताबाटै समस्या समाधान हुन दृढता जनाए ।

    प्रधानमन्त्री ओलीले यसअघि पनि विप्लव नेतृत्वको नेपाल कम्युनिष्टलाई मूलधारमा ल्याउने बताएका थिए ।

    महासचिव विप्लवले शनिबार वक्तव्य जारी गरी सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग वार्ताको लागि सकारात्मक रहेको जनाएका हुन् ।

    सरकारले विप्लव समूहलाई वार्तामा आउन सहज वातावरण बनाइदिने मन्त्रीहरूले बताउँदै आएका छन् ।

  • सरकार-विप्लव सघन संवादमा, मन्त्री भन्छन्-भरे भोलि परिणाम देखिन्छ

    सरकार-विप्लव सघन संवादमा, मन्त्री भन्छन्-भरे भोलि परिणाम देखिन्छ

    काठमाडौं । सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबीच अनौपचारिक वार्ता जारी रहेको छ । स्रोतका अनुसार विप्लवको वार्ता टोलीका सदस्य र सरकारका प्रतिनिधिबीच केही दिनयता भइरहेको वार्तापछि विप्लवले शनिबार वार्तामा बस्न सकारात्मक रहेको वक्तव्य जारी गरेका हुन् ।

    वार्ता प्रगतिमा रहे पनि ठोस परिणाम देखिएपछि मात्रै सार्वजनिक गर्ने तयारी दुवै पक्षको छ । ‘अहिले वार्ता चलिरहेको छ, अलि राम्रो सन्देश दिनेगरी निष्कर्षमा पुगेपछि मात्रै बाहिर बोल्ने कुरा भएको छ’ एक प्रभावशाली मन्त्रीले नेपाल प्रेससँग भने ।

    उनका अनुसार विप्लवसँग पनि सम्पर्क भइरहेको छ । विशेषगरी प्रचण्ड पक्षले वातावरण बिगार्नका लागि चलखेल गर्न सक्ने भएकाले देखिने र जनतालाई बुझाउने खालको वातावरण बनेपछि मात्र आधिकारिक कुरा बाहिर ल्याउन चाहेको ती मन्त्रीले बताए ।

    यसको संकेत प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले गरेका छन् । आइतवार दहचोकमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले विप्लवलाई प्रयोग गरेर अस्थिरता र हिंसा मच्चाउन खोज्नेहरू वार्तामा आउने कुराले डराएको टिप्पणी गरे ।

    विप्लव पक्षसँग सावधानीपूर्वक संवाद चलिरहेको र हिंसा त्यागेर शान्तिपूर्ण राजनीतिमा समाहित हुने सहमति भएमा प्रतिबन्ध फुकुवा गरेर वार्ता हुने ती मन्त्रीले बताए । त्यसका लागि सरकारले पनि वार्ता टोली गठन गर्नेछ ।

    विप्लव समूहले यसअघि नै खड्गबहादुर विश्वकर्माको संयोजकत्वमा वार्ता टोली गठन गरिसकेको छ । आज भोलिमै अनौपचारिक सहमति भएपछि हाल प्रहरी हिरासतमा रहेका विप्लवपछिको दोस्रो नेता धर्मेन्द्र बास्तोलालाई प्रक्रिया पूरा गरेर रिहा गरिने भएको छ ।

    विप्लव नेतृत्वको नेकपाका एक केन्द्रीय सदस्यले केपी ओली जतिको शक्तिशाली प्रधानमन्त्रीकै पालामा आफ्ना माग पूरा गराउन सकिने नत्र अरुले नसक्ने निष्कर्षमा सो पार्टी छ ।

    प्रचण्ड र विप्लवबीच वार्ता गराउने प्रयास पनि यसबीचमा भएको तर उनले सरकारसँगै वार्ता गरेर प्रतिबन्ध फुकुवा गराउन चाहेको ती नेताले बताए । ओली पनि विप्लवलाई समेत शान्तिपूर्ण राजनीतिमा ल्याएर सिके राउतदेखि विप्लवसम्मको सेफ ल्याण्डिङको जस लिएर चुनावमा जाने दाउमा छन् ।

    सरकारले विप्लव समूहलाई वार्तामा आउन सहज वातावरण बनाइदिने परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपाल प्रेसलाई बताए । विप्लव समूहले प्रतिबन्ध फुकुवा तथा जेल तथा हिरासतमा रहेका नेता कार्यकर्ताको रिहाइलाई शर्त बनाएको छ ।