Tag: विपी प्रतिष्ठान

  • विपी प्रतिष्ठानमा अनियमितता गर्नेलाई कारवाही गर्छु : स्वास्थ्य राज्यमन्त्री

    विपी प्रतिष्ठानमा अनियमितता गर्नेलाई कारवाही गर्छु : स्वास्थ्य राज्यमन्त्री

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक अनियमितामा संलग्नमाथि कारवाही गर्ने प्रतिवद्धता जनाएका छन् ।

    प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबारको बैठकमा छानविन समिति गठन गरेर कारवाही अघि बढाउने बताएका हुन् । उनले भने ‘विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विषयमा सरकारले छिट्टै सिनेट बैठक बोलाई छानविन समिति गठन गर्नेछ । छानविन समितिले दिएको प्रतिवेदनको आधारमा दोषीमाथि कडा कारवाही हुन्छ ।’

    राज्यमन्त्री श्रेष्ठले जनस्वास्थ्यजस्तो संवेदनशील विषयमा खेलबाड गर्नेहरूमाथि कडा कारबाही गर्न सरकारले मन्त्रालयमा छुट्टै अनुगमन इकाई बनाउन लागेको जानकारी गराए । सार्वजनिक महत्वको संस्थाहरूलाई जथाभावी गर्न नदिन अनुगमन संयन्त्र बनाउनुपर्ने आश्वश्यकता औंल्याउँदै त्यसतर्फ सहयोग गर्न उनको आग्रह थियो ।

    बैठकमा समितिका सदस्यहरूले जनस्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बन्द, हडताल गर्ने कर्मचारीमाथि कडा कारवाही गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए ।

    समितिका सदस्य एवम् पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले आन्दोलन गरेर प्रतिष्ठानलाई बन्द गराउने कर्मचारीमाथि कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । भ्रष्टहरूले स्वास्थ्य सेवा दिने संस्थाहरूमा समेत जरो गाडेर बस्दा पनि सरकार गम्भीर नभएको उनको आरोप छ ।

    समितिका अर्का सदस्य एवम् पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतिष्ठानका उपकूलपतिलाई दिइएको असीमित अधिकार तत्काल कटौती गर्न सरकारलाई सचेत गराए ।

  • विपी प्रतिष्ठान बचाउन माग गर्दै प्रदर्शन (तस्बिरहरू)

    विपी प्रतिष्ठान बचाउन माग गर्दै प्रदर्शन (तस्बिरहरू)

    काठमाडौं । राजनीतिक दबाबले विपी कोइराला प्रतिष्ठानमा बेथिति बढेको भन्दै नागरिक अगुवासहितका युवाले विरोध प्रदर्शन गरेका छन् । अभियन्ता नारायण वाग्लेसहितका व्यक्तिले काठमाडौंको माइतीघरमा सांकेतिक रूपमा भकुण्डो प्रदर्शनसमेत गरे ।

    प्रतिष्ठान तथा विश्वविद्यालयमा पदाधिकारी नियुक्तिमा नातावाद, कृपावाद हावी भएको भन्दै प्रदर्शनकारीले दबाबमूलक नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेका थिए ।

    उनीहरूले फुटबलमा ‘झेली गरे रेड कार्ड, राजनीतिमा झेली गरे नियुक्ति’ भन्दै सरकारमाथि व्यंग्य गरेका छन् ।

    धरान विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान चिकित्सक, विद्यार्थी एवं कर्मचारीहरूले केही सातादेखि चरणबद्ध आन्दोलन गरिरहेका छन् । प्रतिष्ठान सुधारको माग गर्दै उनीहरूले उपकुलपतिसहितका पदाधिकारीको राजीनामा माग गरिरहेका छन् ।