Tag: विपक्षी दल

  • कांग्रेस दक्षिणपन्थी होइन, केपी ओली वामपन्थी होइनन् : प्रचण्ड

    कांग्रेस दक्षिणपन्थी होइन, केपी ओली वामपन्थी होइनन् : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलहरुको गठबन्धन दीर्घकालीन हुनेमा शंका नगर्न आग्रह गरेका छन् । सम्पादकहरुसंगको अन्तरक्रियामा बोल्दै दाहालले राजनीतिक र सैद्धान्तिक धरातलमा उभिएको गठबन्धन भएकाले लामो समयसम्म सहकार्य हुने बताए ।

    संविधान, लोकतन्त्र, राष्ट्रियता र जनताको पक्षमा उभिन गठबन्धनमा रहेका सबै दलबीच न्यूनतम सहमति बनेको भन्दै अध्यक्ष दाहालले सरकार बनाउन वा एउटा निर्वाचन जित्नका लागि मात्रै गठबन्धन नगरिएको स्पष्ट पारे । ‘एउटा चुनाव जित्न वा ओली हटाउनका लागि मात्रै नभएर दीर्घकालीन रुपमा संविधान, लोकतन्त्र र राष्ट्रियता जोगाउन गठबन्धन निरन्तर रहन्छ’, दाहालले भने ।

    गठबन्धनमा रहेका दलमध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चामा आन्तरिक राजनीतिक समस्या नरहेको भन्दै दाहालले विद्रोहको झण्डा बोक्ने एमालेका माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवका समस्या पनि गठबन्धनको साझा हुने बताए । ‘कांग्रेस, जनमोर्चा र हामीमा समस्या छैन । माधवजी र उपेन्द्रजीहरुलाई परेको अप्ठ्याराहरुमा हामी संगै छौं। त्यसलाई गठबन्धनले साझा रुपमा लिन्छ’, दाहालले भने ।

    नेपालको भूराजनीतिक जटिलताका कारण यसको आफ्नै समस्या भएपनि राष्ट्रको स्वतन्त्रता र सार्वभौमसत्ता रक्षा गठबन्धनको साझा एजेण्डा रहेको बताए । प्रधानमन्त्री केपी ओलीले दक्षिणपन्थी शक्तिसंग मिलेर वामपन्थी सिध्याउन लागेको आरोप लगाएको भन्दै दाहालले प्रतिवाद गरे ।

    ‘कांग्रेस संविधान र लोकतन्त्र बचाउन हिडेको छ । केपी ओली संविधान र लोकतन्त्र सिध्याउन हिड्नुभएको छ । कांग्रेसले ओलीजीलाई विदेशीको टाङमुनि छिरेको आरोप लगाएको छ । ओलीजी विदेशी दलालको टाङमुनि नै हुनुहुन्छ । त्यसैले कांग्रेस दक्षिणपन्थी होइन, ओलीजी वामपन्थी होइन’, उनले भने ।

  • राष्ट्रपतिलाई विपक्षीको आग्रह- बहुमतको सरकार गठन प्रक्रिया थालियोस्

    राष्ट्रपतिलाई विपक्षीको आग्रह- बहुमतको सरकार गठन प्रक्रिया थालियोस्

    काठमाडौं । विपक्षी दलहरुले नयाँ सरकार गठनका लागि संविधानको धारा ७६ को २ अनुसार प्रक्रिया थाल्न राष्ट्रपतिसँग आग्रह गरेका छन् ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गरी दुई वा दुईभन्दा बढी दलका बहुमत सांसदहरूको समर्थन प्राप्त नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेगरी प्रक्रिया थाल्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आह्वान गरेका हुन् ।

  • विपक्षी गठबन्धनको आरोप- लुम्बिनी प्रदेश प्रमुख एमाले कार्यकर्ताको भूमिकामा

    विपक्षी गठबन्धनको आरोप- लुम्बिनी प्रदेश प्रमुख एमाले कार्यकर्ताको भूमिकामा

    रुपन्देही । शंकर पोखरेललाई पुनः नियुक्ति भएपछि लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धन दल प्रदेश प्रमुख धर्मनाथ यादवसँग आक्रोशित भएका छन् ।

    आफ्नो पक्षमा स्पष्ट बहुमत भएको अनुरोध गरिरहँदा पनि प्रदेश प्रमुखले नेकपा एमाले संसदीय दलका नेता शंकर पोखरेललाई सपथ खुवाएको भन्दै उनीहरूले आपत्ति जनाए ।

    मुख्यमन्त्री पोखरेलले आफ्नो पक्षमा पार्टीका ४१ जना सांसदहरूको हस्ताक्षरसहितको पत्र बुझाएपछि प्रदेश प्रमुख यादवले उनलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । कांग्रेस, माओ‌वादीलगायतका विपक्षी गठबन्धनले पोखरेल पुन: मुख्यमन्त्री नियुक्त भएको जानकारी पाएपछि प्रदेश प्रमुखलाई ध्यानाकर्षण गराएपनि प्रदेश प्रमुख यादवले बहुमत सांसदको हस्ताक्षरलाई आधार मानेर प्रकृया अगाडि बढाएको प्रदेश प्रमुख कार्यालय स्रोतले जनाएको छ ।

    आइतबारको नियुक्तिलाई लिएर नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुदिन खानले प्रदेश प्रमुखले विधि पद्दति मिचेर गरेको कानूनी उपहास भएको टिप्पणी गरे ।

    ‘हामीले सबै विषय प्रष्ट पार्दा पनि प्रदेश प्रमुखले इमान्दारिता देखाउनुभएन, एमालेको कार्यकर्ताजस्तै शंकर पोखरेलले जे भन्यो त्यही गर्नुभयो, यस्तो कामले राजनीतिक बेइमानी देखाएको छ, उहाँले आफू कुन पदमा छु भन्ने कुरा बिर्सनुभयो’, खानको आरोप छ । प्रदेश प्रमुखको यो कामले मुठभेडको राजनीति शुरू भएको र उनले जिकिर गरे ।

    माओवादी केन्द्रका सचेतक तुलाराम घर्तीले प्रदेश प्रमुखको कदम संविधानको कानुनकोविपरीत भएको बताए । प्रदेश प्रमुखले एमालेको कार्यकर्ताजस्तो भएर हामीलाई जबर्जस्ती बाहिर निकाल्नुभयो, उनको टिप्पणी छ ।

    यता सपथ खुवाउन नदिने भनेर प्रदेश प्रमुख कार्यालयमा धर्नामा बसेका विपक्षी दलका सांसदहरूले सुरक्षा निकायमा जिम्मेवारी व्यक्तिले आफूहरूमाथि असभ्य व्यवहार देखाएको आरोप लगाएका छन् । उनीहरुले जबरजस्ती लछारपछार गरेर प्रहरीले दुर्व्यवहार गरेको भन्दै छानविनको माग गरे ।

    कांग्रेस सचेतक निर्मला शर्माले प्रहरीले आफूमाथि गरेको दुर्व्यवहार मुख्यमन्त्रीको निर्देशनमा भएको भन्दै मानअधिकारमाथिको हनन भएको बताएकी छन् ।