Tag: विनोद चौधरी

  • विनोद चौधरीको दाबी- विधिसम्मत जितेको हुँ, निर्वाचितलाई लाञ्छित गर्नु कार्यकर्ताको अपमान हो

    विनोद चौधरीको दाबी- विधिसम्मत जितेको हुँ, निर्वाचितलाई लाञ्छित गर्नु कार्यकर्ताको अपमान हो

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफू पार्टीको विधान र विधिवतरूपमा सम्पूर्ण प्रक्रिया पूरा गरेर पार्टीको १४औँ महाधिवेशनमा निर्वाचित भएको बताएका छन् ।

    महाधिवेशनका विधिसम्मत प्रक्रियाहरूमार्फत् नेतृत्व छनौटका लागि भएको निर्वाचनमा आफैं सहभागी हुने र निर्वाचन हारेपछि विधिसम्मत थिएन भनेर प्रश्न उठाउनु अलोकतान्त्रिक र अराजनीतिक चरित्र भएको उनको भनाइ छ ।

    ‘महाधिवेशनमा निर्वाचन समितिले उम्मेदवारी दर्ता पछि विधिवत रूपमा दाबी विरोधको समय उपलब्ध गराएको थियो । यदि म अयोग्य थिएँ भन्ने कसैलाई लागेको थियो भने त्यो समयमा किन दाबी विरोध गरिएन ?’ केन्द्रीय सदस्य चौधरीले भने, ‘आफैं सोही निर्वाचनमा उम्मेदवार हुने र विजय हुन नसकेपछि विधिसम्मत भएन भनेर रोईलो गर्नुको कुनै अर्थ छैन । नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा यस्तो व्यवहार अपेक्षित मानिँदैन ।’

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनको निर्वाचनमा चौधरी केन्द्रीय सदस्य (मधेशीतर्फ) दोस्रो धेरै मत २२०६ प्राप्त गरी विजय भएका थिए । सोही पदका लागि प्रतिस्पर्धामा रहेका सिरहाका सुभाषचन्द्र यादव पराजित भएका थिए । निर्वाचनमा पराजय भएको तीन सातापछि यादवले विधानमाथि प्रश्न उठाएका छन् । यस्तो व्यवहारलाई नेपाली कांग्रेसका नेता र कार्यकर्ताहरूले समेत रूचाएका छैनन् ।

    ‘यसलाई मैले मेरो राजनीतिक सक्रियताबाट आत्तिएकाहरूको मनोदशाका रूमा लिएका छुँ । मेरो सपना समृद्ध नेपाल निर्माण गर्ने हो । यस अभियानमा नेपाली कांग्रेसको नेतृत्वलाई हदैसम्मको साथ दिन म राजनीतिमा आएको हुँ ’, चौधरीले भने, ‘म नेपाली कांग्रेसका होनहार कार्यकर्ताहरूबाट अनुमोदन भएर केन्द्रीय सदस्य पदमा निर्वाचित भएको हुँ । यसैगरी निर्वाचित हुने हक हरेक उम्मेदवारलाई थियो । तर, निर्वाचनमा पराजय भएपछि निर्वाचितहरूलाई लाञ्छित गर्नु भनेको आम कार्यकर्ताहरूको अपमान पनि हो ।’

    केन्द्रीय सदस्यमा निर्वाचित हुनुअघि चौधरी कांग्रेस महासमिति सदस्य थिए । उनी सांसद पनि हुन् ।

    राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा ख्यातीप्राप्त उद्यमी चौधरी नवलपुर जिल्लाबाट राजनीतिमा उदाएका हुन् । कांग्रेसको १४औँ महाधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि चुनिएपछि पार्टीभित्र उनको चर्चा चुलिएको थियो । चौधरी नेपालका एकमात्र डलर अर्बपति हुन् ।

  • कांग्रेसको कोषाध्यक्षमा विनोद चौधरीको सम्भावना, चर्चामा चित्रलेखा पनि

    कांग्रेसको कोषाध्यक्षमा विनोद चौधरीको सम्भावना, चर्चामा चित्रलेखा पनि

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोषाध्यक्षको जिम्मेवारी कसलाई देलान् ? कांग्रेस वृत्तमा अहिले चासोको विषय छ ।

    कांग्रेस विधानको दफा २१ को ४ मा ‘केन्द्रीय सभापतिले केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्यमध्येबाट नाम प्रस्ताव गरी निर्वाचित केन्द्रीय कार्यसमितिबाट निर्वाचित कोषाध्यक्ष’ रहने व्यवस्था छ । १३ औं महाधिवेशनमा १ सभापति, १ महामन्त्री र १ कोषाध्यक्षको निर्वाचन हुने व्यवस्था थियो ।

    यसपटक संशोधित विधानअनुसार सभापतिसहित उपसभापति, महामन्त्री र सहमहामन्त्री निर्वाचनबाटै चयन भइसकेका छन् । विधानले दिएको अधिकार प्रयोग गरेर सभापति देउवाले अब निर्वाचित केन्द्रीय सदस्यमध्ये १ जनालाई कोषाध्यक्षको जिम्मेवारी दिनुपर्नेछ ।

    कोषाध्यक्षका लागि अहिले सबैभन्दा बढी चर्चामा छन्, केन्द्रीय सदस्य विनोद चौधरी । नेपालका एकमात्रै डलर अर्बपतिसमेत रहेका चौधरीलाई यसअघि नै देउवाले कोषाध्यक्ष मनोनीत गर्ने वचन दिइसकेको बताइन्छ । अघिल्लो कार्यकालमा प्रतिनिधिसभा सदस्यसमेत रहेका चौधरीलाई देउवाले लगानी, पूर्वाधार र रोजगारसम्बन्धी विशेष समितिको संयोजक बनाएका थिए ।

    कांग्रेस विधानले कोषाध्यक्षलाई पार्टीका निम्ति आवश्यक आर्थिक स्रोत-साधनको व्यवस्था गर्ने, त्यसको संरक्षण सम्वद्र्धन गर्ने तथा सम्पूर्ण आयव्ययको अद्यावधिक अभिलेख राख्ने लगायतका जिम्मेवारी दिएको छ । चौधरीलाई कोषाध्यक्षको जिम्मेवारी दिदा पार्टी सञ्चालन, लेखा प्रणाली व्यवस्थापन र स्रोत जुटाउनसमेत सहज हुने देउवाको बुझाइ छ । तीनवटै तहको निर्वाचन नजिकिएका कारण उद्यमी व्यवसायीसँग सहकार्य गर्नपनि चौधरीलाई जिम्मेवारी दिन उचित हुने देउवाको बुझाइ रहेको निकटस्थहरू बताउँछन् ।

    ‘अहिलेसम्मको अवस्था हेर्दा कोषाध्यक्षमा विनोदजीकै सम्भावना बढी छ । टिमभित्र अधिकांशको सहमति पनि छ’, देउवानिकट एक नेताले भने । चौधरीले मधेशी खुला तर्फबाट देउवा प्यानलको उम्मेदवार रहँदै केन्द्रीय सदस्यमा विजयी भएका हुन् । निवर्तमान महामन्त्री डा. शशांक कोइरालाको साथ समेत चौधरीलाई रहेको छ ।

    देउवा समूहमा कोषाध्यक्षमा चौधरीको विकल्पको रुपमा चित्रलेखा यादवलाई लिइएको छ । उनी सुशिल कोइराला नेतृत्वको कार्यसमितिको कोषाध्यक्ष समेत हुन् । पूर्व पदाधिकारी भएपनि यादव यसपटक प्रदेश २ तर्फको महिला केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् । मधेशी महिलालाई पदाधिकारीमा अवसर दिँदा सकरात्मक सन्देश जाने भन्दै कोषाध्यक्षमा चित्रलेखाको नामसमेत चर्चामा रहेको हो ।

  • कांग्रेसको भविष्यका लागि यो महाधिवेशन महत्वपूर्ण छ : सांसद चौधरी

    कांग्रेसको भविष्यका लागि यो महाधिवेशन महत्वपूर्ण छ : सांसद चौधरी

    काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले पार्टीको अधिवेशनबाट आफू निकै उत्साहित रहेको बताएका छन् ।
    नवलपरासी बर्दघाट सुस्तापूर्वको देवचुली नगरपालिकाको नेतृत्वका लागि मतदान गरेपछि चौधरीले १४ औं महाधिवेशनले पार्टीको भविष्य र आगामी बाटो निर्धारण गर्ने बताएका हुन् ।

    ‘हामी सम्पूर्णरूपले महाधिवेशनमा होमिएका छौं । पार्टीको भविष्य र आगामी बाटो निर्धारण गर्ने यो उल्लासमय राजनीतिक महोत्सवलाई लिएर म निकै उत्साहित छु’, चौधरीले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

    नेपाली कांग्रेसको लगानी, पूर्वाधार र रोजगार दृष्टिकोण एवं दिगो परियोजना विशेष समितिको संयोजक समेत रहेका चौधरी १४ औं महाधिवेशनमा पदाधिकारीको प्रत्याशी बन्ने तयारीमा छन् । उनको नेतृत्वमा ‘गरिखाने अभियान’ सञ्चालित छ ।

    महाधिवेशनको सन्दर्भमा सामाजिक सञ्जालमार्फत उनले कार्यकर्तालाई आफ्नै खुट्टामा उभ्याउन र देशलाई आर्थिक रुपमा समृद्ध बनाउन राजनीतिले योगदान गर्नुपर्नेमा जोड समेत दिएका छन् ।

  • भौतिक रूपमा परीक्षाभन्दा विद्यार्थीको स्वास्थ्य महत्वपूर्ण : सांसद चौधरी

    भौतिक रूपमा परीक्षाभन्दा विद्यार्थीको स्वास्थ्य महत्वपूर्ण : सांसद चौधरी

    काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले कोरोना महामारीको जोखिम उच्च रहेका बेला भौतिकरूपमा परीक्षा लिने निर्णय पुनर्विचार गर्नुपर्ने बताएका छन् ।

    नेपाललगायत छिमेकी मुलुकहरूमा कोरोना महामारीको जोखिम बढिरहेकाले अत्यन्तै सावधान र सचेत रहनुपर्ने चौधरीको भनाइ छ । सामाजिक सञ्जालमार्फत उनले अभिभावकका लागि आफ्ना सन्तानको स्वास्थ्यभन्दा ठूलो केही नरहेको समेत उल्लेख गरेका छन् ।

    ‘यस्तो बेला अनावश्यक जोखिम लिनु बुद्धिमानी हुँदैन । जीवन रहे पढाइ र परीक्षाका लागि अवसर आउँछन् नै । त्यसैले भौतिकरूपमै परीक्षा सञ्चालन गर्ने निर्णयमा तत्काल पुनर्विचार गरिनु आवश्यक छ, यसमा कत्ति अबेर नगरौं’, चौधरीले भनेका छन् ।

  • अर्थ र परराष्ट्रमन्त्रीमा विनोद चौधरीको चर्चा

    अर्थ र परराष्ट्रमन्त्रीमा विनोद चौधरीको चर्चा

    काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आज साँझदेखि पाँचौपटक प्रधानमन्त्री पदको कार्यभार सम्हाल्दैछन् । नेकपा माओवादी र जनता समाजवादी पार्टीलाई समेत सरकारमा सहभागी गराउने देउवाको तयारी छ ।

    आजै सानो आकारको मन्त्रिपरिषद् गठनको तयारीमा रहेका देउवाले पार्टीभित्र र गठबन्धनमा परामर्श गरिरहेका छन् । । नयाँ सरकार गठनको प्रक्रिया शुरू भएसँगै नेपाली कांग्रेसभित्र सम्भावित मन्त्रीको नामबारे चासो बढेको छ । यही चासोका बीच कांग्रेस सांसदसमेत रहेका अर्बपति विनोद चौधरीलाई मन्त्री बनाउनेबारे पनि कांग्रेसमा छलफल शुरू भएको छ ।

    समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य रहेका चौधरीको सवै शीर्ष नेतासँग राम्रो सम्बन्ध रहेको बताइन्छ । कांग्रेसका केही सांसद र योजना आयोगका पूर्वपदाधिकारीहरुले चौधरीलाई मन्त्री बनाउँदा सकरात्मक सन्देश जाने बताएका छन् ।

    ‘उद्यमशीलताको क्षेत्रमा विश्वमै सफल सावित भइसकेकोले नयाँ सरकारमा उहाँलाई उपयुक्त भूमिका दिइनुपर्छ । हामीले शीर्ष नेताहरुलाई बिनोदजीलाई मन्त्री बनाउन आग्रह गरेका छौं’, योजना आयोगका एक पूर्वपदाधिकारीले भने । सीजी कर्प ग्लोबलका अध्यक्षसमेत रहेका चौधरीले नेपालका एकमात्रै डलर अर्बपति हुन् ।

    चौधरीलाई मन्त्री बनाउनेबारे सभापति देउवासहितका नेताले सकरात्मक प्रतिक्रिया दिए पनि निर्णय गरिसकेका छैनन् । गठबन्धनमा मन्त्रालय बाँडफाँड हुँदा कांग्रेसको भागमा कुन-कुन मन्त्रालय पर्ने निश्चित भइसकेको छैन । आफ्नो विशेषज्ञताको क्षेत्र भएकोले अर्थ वा परराष्ट्र मन्त्रालयको नेतृत्व गर्न तयार रहेको चौधरीले शीर्ष नेताहरूलाई अवगत गराएका छन् ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग व्यक्तिगत सम्बन्ध रहेका चौधरी कांग्रेसको लगानी, पूर्वाधार र रोजगार दृष्टिकोण एवं दीगो परियोजना विशेष समितिका संयोजक समेत हुन् । उनको नेतृत्वमा कांग्रेसभित्र गरिखाने अभियान सञ्चालित छ ।

  • धनाढ्य सूची : अमेजनका मालिक पुनः एक नम्बरमा, विनोद चौधरी खस्किए

    धनाढ्य सूची : अमेजनका मालिक पुनः एक नम्बरमा, विनोद चौधरी खस्किए

    काठमाडौं । अमेजन मालिक जेफ बेजोस सन् २०२१ का संसारकै धनी व्यक्ति घोषित भएका छन् । फोर्ब्सले प्रकाशित गरेको सूचीअनुसार यस वर्ष उनको कूल सम्पत्ति १७७ बिलियन अमेरिकी डलर पुगेको छ । गतवर्ष पनि उनी पहिलो स्थानमै थिए ।

    रकेट कम्पनी स्पेस-एक्स र कार उत्पादक टेस्ला कम्पनीका मालिक इलोन मस्क धनाढ्य सूचीको दोस्रो स्थानमा छन् । बेजोसको सम्पत्ति १५१ बिलियन डलर छ ।

    फोब्र्सको ३५ औं वार्षिक सूचीमा ४९३ जना नयाँ अर्बपति थपिएका छन् । उनीहरुमध्ये २१० जना चीन र हङकङका छन् ।

    सूचीको तेस्रो नम्बरमा पेरिसका लक्जरी वस्तु उत्पादक धनाढ्य बर्नान्ड आर्नोल्ट छन् । माइक्रोसफ्ट मालिक बिल गेट्स चौंथो स्थानमा छन् भने फेसबुक संस्थापक मार्क जुकरबर्ग ९७ बिलियन डलरसहित पाँचौ स्थानमा छन् ।

    वारेन बफेट छैठौ, ल्यारी एलिसन सातौं, गुगल मालिक ल्यारी पेज आठौं, गुगलकै सर्जी ब्रिन नवौं र भारतीय धनाढ्य मुकेश अम्बानी ८४.४ बिलियन डलरसहित दशौं स्थानमा छन् । अम्बानी एसियाकै धनी व्यक्तिको रुपमा दरिएका छन् ।

    सूचीमा रहेका एक मात्र नेपाली विनोद चौधरीको स्थान निकै खस्किएको छ । उनी गत वर्ष १५१३ स्थानमा रहेकोमा यसपाली २ हजार १ सय ४१ औं स्थानमा ओर्लिएका छन् । उनको सम्पत्ति भने १ं.४ बिलियन डलरमा स्थिर देखिएको छ ।

  • संघ र प्रदेशको खिचातानीले जनकपुरमा सोलार प्लान्ट स्थापना हुन सकेन : विनोद चौधरी

    संघ र प्रदेशको खिचातानीले जनकपुरमा सोलार प्लान्ट स्थापना हुन सकेन : विनोद चौधरी

    जनकपुरधाम । संघ र प्रदेशको खिचातानीका कारण जनकपुर छेउँछाउँमा सोलार प्लान्ट राख्ने सपना अधुरो रहेको उद्योगपति बिनोद चौधरीले बताएका छन् ।

    उद्योगपति बिनोद चौधरीले संघ र प्रदेशको खिचातानीका कारण जनकपुर छेउँछाउँमा सोलार प्लान्ट राख्ने सपना अधुरो रहेको उनको भनाइ छ ।
    जनकपुरमा बुधबारबाट शुरु भएको ‘जनकपुर साहित्य महोत्सव’मा प्रमुख वक्ताको रुपमा बोल्दै उनले भने, ‘दुई सय मेगावाटको सोलार प्लाण्ट स्थापना गर्ने योजना थियो । मुख्यमन्त्री लालबाबु राउतले पनि धेरै प्रयास गर्नुभयो । तर, जग्गा संघले उपलब्ध गराउने कि प्रदेशले भन्ने विवादले प्लाण्ट स्थापना हुन सकेन,’ उनले भने ।

    उद्योगपति चौधरीले प्रदेश २ ठूलो सम्भावना बोकेको क्षेत्र भएको बताए । मुख्यमन्त्रीलाई उनले भने, ‘प्रदेश २ लाई प्रकृतिले जुन सम्भावना दिएको छ, त्यसलाई अगाडि बढाउनु होस् ।  यस प्रदेशमा उद्योगको बाढी ल्याउने वातावरण बनाउनु होस् । चिन्ता नगर्नुस् । यस्तो परिस्थितिको सृजना गर्नुस् कि कसैले रोक्न खोज्दा पनि रोख्न नसकोस् ।’

    उनले भने, ‘संघ र प्रदेश सरकारबीच देखिएको विवादले सम्पूर्ण विकास निर्माण नै अवरुद्ध भएको भन्ने डर थियो । तर यहाँ आउँदा भौतिक पूर्वाधार निर्र्माणको अवस्था हेर्दा खुशी लाग्यो ।’

    उनले राणाको पालामा सबभन्दा बढी उद्योग विराटनगरमा लगाउने काम गरेको भन्दै प्रदेश २ नेपाल उद्योग र व्यापारको उद्गम स्थल भएको बताए ।

    ‘वीरगञ्ज व्यापारी नगरी हो भने जनकपुरको त आफ्नै महिमा छ– उनले भने । धार्मिक मूल्यमान्यता बोकेको शहर जनकपुर भएकाले यस क्षेत्रको विकास गर्न समय लाग्ने उनको भनाइ छ ।

    नेपालमा उद्यमी र पूँजीको कमी नभएको भन्दै उनले भने, ‘लगानीकर्तालाई सहयोग चाहियो । काम गर्ने वातावरण बनाइदिनु प¥यो । मात्र विजुली, सुरक्षा र जग्गा उपलब्ध गराउने जस्ता कार्य भयो भने लगानीकर्ताको कमी हुँदैन ।’

    उनले आफू मधेसी कोटाबाटै दुईपटक सांसद बनेको भन्दै मधेशको मुद्दा सम्बोधन गर्न संसदमा पटक–पटक आवाज उठाएको समेत उनले बताए ।

    उनले भने, ‘मधेशको मुद्दा सामाजिक हो राजनितिक होइन । यो मुद्दा सम्बोधन गर्नुपर्छ ।’ प्रदेश २ ले आफूलाई सबल र समृद्ध बनाउन सके, त्योभन्दा ठूलो काम केहि नहुने उनको भनाइ छ ।